निर्णय नं. ९३१३ - कर्तव्य ज्यान
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय
माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल
फैसला मिति : २०७१।०७।२४।२
०६७-CR-००४६
मुद्दा : कर्तव्य ज्यान ।
पुनरावेदक/प्रतिवादी : जिल्ला मोरङ, वेलबारी गा.वि.स. वडा नं. २ बस्ने मनोजकुमार जोशी
विरूद्ध
प्रत्यर्थी/वादी : धनबहादुर राईको जाहेरीले नेपाल सरकार
§ सँगै बसी रक्सी खाएका मृतक र प्रतिवादी मात्रै रातको समयमा सँगै साथै हिँड्नु र साथै हिँडेकामध्ये एकजना सर्वाङ्ग नाङ्गै भई रगताम्मे अवस्थामा राजमार्गमा रहेको कल्भर्टमा घाइते अवस्थामा भेटिनु तथा अर्को अर्थात पुनरावेदक प्रतिवादी घरमा गई सुत्नु जस्ता कार्यकारणसमेतबाट पुनरावेदक प्रतिवादीकै कार्यबाट मृतकको मृत्यु हुन पुगेको तथ्यमा शङ्का गर्ने ठाउँ नरहने ।
(प्रकरण नं. ६)
पुनरावेदक/प्रतिवादीको तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता संजिवराज रेग्मी
प्रत्यर्थी/वादीको तर्फबाट :
अवलम्बित नजिर :
सम्बद्ध कानून :
§ मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(३) नं.
सुरू तहमा फैसला गर्ने :
मा.न्या. श्री भरतप्रसाद अधिकारी
पुनरावेदन तहमा फैसला गर्ने :
मा.न्या. श्री जनार्दनबहादुर खड्का
मा.न्या. श्री द्वारिकामान जोशी
फैसला
न्या. जगदीश शर्मा पौडेल : पुनरावेदन अदालत, विराटनगरको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अनुसार यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य र ठहर यसप्रकार छ :
महेन्द्र राजमार्गबाट अ.१५ मि. उत्तरमा गुम्बा जाने बाटो भएको, सो बाटोको पश्चिमपट्टि पीपलको रूख, सोदेखि उत्तर गाईवस्तु बाँध्ने ठाउँ, सो ठाउँबाट केही माडिए जस्तो भएको जिल्ला मोरङ, वेलबारी २ बस्ने मणि भन्ने मनकुमार राई बेहोस, घाइते र नग्न अवस्थामा भएको भनिएको घटनास्थल मुचुल्का ।
दुबै आँखा बन्द भएको, आँखाको डिलको पूरै भाग नीलो भएको, दुबै हात तन्किएको, दुबै हातको मुठी खुल्ला भएको, पछाडि ढाडमा नीलडाम भएको, नाक र मुखबाट रगत निस्केको, गालाको दुबैपट्टि कन्चट्मा कोरिएको खोस्रिएको घाउहरू भएको, घाँटीमा कोतारिएका घाउहरू भएको समेत व्यहोराको घटनास्थल लास प्रकृति मुचुल्का ।
In my opinion cause of death is head injury भन्ने व्यहोरा उल्लेख भएको पोस्टमार्टम रिपोर्ट ।
मिति २०६४।८।१० गते अं.१९ बजेको समयमा मृतक मणि भन्ने मनकुमार राई घरबाट हिँडेकोमा फर्की नआएपछि घरपरिवारका मानिसहरू भई खोजी गर्ने क्रममा वेलबारी २ स्थित गुम्बा जाने बाटोमा घाइते अवस्थामा फेला पारी उपचारको लागि घोपा, धरानमा लगेकोमा त्यहाँ उपचार हुन नसकी भारत सिलुगढीतर्फ लैजाँदैगर्दा बाटोमा मृत्यु भएकाले सो सम्बन्धमा बुझ्दा प्रतिवादी मनोजकुमार जोशी पहिलेदेखि नै गाउँघरमा अत्यधिक मादक पदार्थ सेवन गर्ने प्रवृत्तिको व्यक्ति भएको र २०६४ सालको दसैंमा मृतक मनकुमार राईलाई मनोज जोशीले कुटपीट गरेको, निज प्रतिवादीले मृतकको दाजु दिलिप राईलाई पनि पहिले भारतमा कुटपीट गरेका थिए । मनोजकुमार जोशी मिति २०६४।८।१० गतेको राति मृतकसँगै बसी रक्सी खाँदै हिँडेका र पूर्व रिसइबिका कारण मृतकलाई कुटपीट गरी सोही कुटाइको कारणबाट उपचारको क्रममा मृतक मणि भन्ने मनकुमार राईको मिति २०६४।८।११ मा मृत्यु भएकाले कानूनबमोजिम कारवाही गरिपाउँ भन्नेसमेत व्यहोराको प्र.ना.नि. मुरली श्रेष्ठले इलाका प्रहरी कार्यालय वेलबारी, मोरङमा दायर गरेको प्रतिवेदन ।
प्रतिवादी मनोजकुमार जोशी र मेरो श्रीमान् दिलिप राई भारत, दिल्लीमा एउटै कम्पनीमा काम गर्दथे । करिब २ वर्षअगाडि मेरो श्रीमान् कोठामा एक्लै भएको अवस्थामा प्रतिवादी आई रक्सी खाई घुम्न जाँउ भन्दा नमानेपछि निजले कुटपीट गरेका थिए । घटनाको दिन प्रतिवादी र मृतक रातिसम्म सँगै बसी रक्सी खाई हिँडेको, मृतक घरमा नआएपछि खोजी गर्ने क्रममा गुम्बा जाने बाटोको छेउमा रहेको पीपलको रूख नजिक बेहोस भई रगताम्मे र नग्न अवस्थामा फेला पारी उपचारको लागि घोपा, धरान लगेकोमा उपचार हुन नसकी मृत्यु भएको भन्ने सुनेको हुँ । मृतकलाई प्रतिवादीले पहिले पनि कुटपीट गर्ने गरेको हुँदा निज प्रतिवादीकै कुटाइबाट मृतकको मृत्यु भएको हो भन्नेसमेत व्यहोराको विन्दा राईले गरेको घटना विवरण कागज ।
मिति २०६४।८।१० गते बिहान मेरो दाजु मणि भन्ने मनकुमार राई जिल्ला मोरङ, वेलबारी २ बस्ने गर्जबहादुर मगरको छोरा पथरी गएको र पथरीबाट बेलुकी फर्की आएपछि प्रतिवादी मनोजकुमार जोशी, मृतक र युवराज राईसमेत सँगै बसी रक्सी खाएकोमा सो अवस्थामा प्रतिवादीले मृतकलाई छिटोछिटो रक्सी खाएर हिँड् भन्दा मृतकले आज मनोजले मलाई यसो भन्दैछ, मलाई केही भयो भने यसलाई समात्नु भनेको र त्यहाँबाट सँगै हिँडी महेन्द्र राजमार्गमा रहेको कल्भर्टमा बसेको र मृतक घरबाट हिँडेपछि फर्की नआएपछि खोज तलास गर्ने क्रममा सोही मितिको अं.२२:१५ बजेको समयमा मृतक भाइ बेहोस र रगताम्मे अवस्थामा फेला पारी उपचारको लागि घोपा, धरान लगेकोमा उपचार हुन नसकी भारत सिलुगढीतर्फ लैजाँदैगर्दा बाटो मै मृत्यु भएकोमा निज प्रतिवादी मनोजकुमार जोशीले पूर्व योजना बनाई कुटपीट गरेकै कारण मृतकको मृत्यु भएको हुँदा कानूनबमोजिम सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको धनबहादुर राईले इलाका प्रहरी कार्यालय वेलबारी, मोरङमा दायर गरेको जाहेरी दरखास्त ।
मिति २०६४।८।१० गते राति म आफ्नै गाउँमा विहे भएकाले हेर्न भनी गएको थिएँ । सोही राति अ.२१.०० बजेको समयमा म एक्लै आफ्नो घरतर्फ आउँदा वेलबारी २ स्थित दुर्गा मन्दिरको साइडको कल्भर्टमा मनोजकुमार जोशी बसी रहेको, मृतक गुम्बा जाने बाटो छेउमा रहेको पीपलको रूख नजिकै बसिरहेको अवस्थामा देखेको, मृतकलाई प्रतिवादीले पहिले पनि कुटेको, सो रात पनि सँगै बसी रक्सी खाई हिँडेको, निज प्रतिवादी पहिलादेखि गाउँघरमा अत्यधिक मादक पदार्थ सेवन गरी हिँड्ने फटाहा प्रवृत्तिका व्यक्ति हुनुका साथै पूर्व रिसइबिको कारण योजना बनाई मृतकलाई कुटपीट गरेको हुँदा उपचारको क्रममा मृत्यु भएको हो भन्नेसमेत व्यहोराको केवल मगरले गरेको घट्ना विवरण कागज ।
मिति २०६४।८।१० गते वेलबारी-२ बस्ने गर्जबहादुर मगरको घरमा गएको र त्यहाँ पदम माझी, गर्जबहादुर मगर, मणि भन्ने मनकुमार राईसमेत बसिरहेका थिए । मलाई पनि बस भनेकाले म पनि त्यहीं बसी १ बोतल रक्सी ल्याई सबैजना भई खायौं । रक्सी खाई सकेपछि मृतक आफ्नो घरतर्फ लागे भने म र पदम माझीका बीचमा चोरको स्वर बुझाउने कुरामा सामान्य विवाद भयो । त्यसपछि हामी त्यहाँबाट हिँड्यौं । हिँड्दा बेलुका ८:०० बजेको थियो होला, निज मृतक नजिकै बाहिर उभिइरहेका थिए । म र मृतक मणि भन्ने मनकुमार राई भई युवराज राईको घरतर्फ गयौं । त्यहाँ युवराजको श्रीमतीलाई निगार दिनु भन्दा छैन, मैले बेच्दिन भनेकीले रक्सी ल्याई दिनु भनी रू.२०। - युवराज राईलाई दिएपछि निजले किनी ल्याइदिए । म, मृतक र युवराज तीनजना भई उक्त रक्सी खायौं । रक्सी खाई सकेपछि मृतकलाई छिटो जाऊँ भनें र दुबैजना त्यहाँबाट घरतर्फ
हिँड्यौं । सँगै हिँडेकोमा मैले देवान राईको चिया पसलमा राखेको साइकलको चाबी खोल्न लगाई साइकल चढ्न लाग्दा मृतक मनकुमार राई त्यहाँ थिएनन् । मृतकको भाइ धनबहादुर राई आई तिमी मातेका छौं हिँड घर पुर्याई दिन्छु भनी राजमार्गतिर गए । मेरो सालो युवराज प्रधान आई मलाई घरमा लगेका हुन् । खाना खाई म सुतें । गाउँमा झैं झगडा भएको कारण मेरी श्रीमती झगडातिर गएपछि म पुन: आएको ठाउँ राजमार्गतर्फ लागें । सो कल्भर्ट छेउमा निज मृतक मनकुमार राई बसिरहेको अवस्था मैले जिस्काएर भूइँमा भएको ढुङ्गाले हानें । के कहाँ लाग्यो मलाई थाहा भएन । मृतक उठी म भएको ठाउँमा आई वादविवाद हुँदा हात हालाहाल भयो । मैले निजको अनुहारतिर हातले हानें, के कहाँ लाग्यो थाहा भएन । त्यसपछि निज त्यही भूइँमा लडी त्यहाँबाट हिंडे भन्नेसमेत व्यहोराको प्रतिवादी मनोजकुमार जोशीले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान ।
वारदातको मिति र समयमा म आफ्नै घरमा थिएँ । म, पदम माझी र मनकुमार राईसमेतका व्यक्तिहरू पथरी गई काम सकी घर फर्की गफ गरी बसेको अवस्था निज प्रतिवादी मनोजकुमार जोशी पनि मेरो घरमा आएका थिए । हामी सबैजना भई एक बोतल रक्सी खाएपछि सबै जना आआफ्ना घरमा जानु भनेपछि मृतक उठेर घरतर्फ जान लागे । प्रतिवादी मनोजकुमार जोशीले पनि चोरको स्वर कसरी बुझायौ भनी पदम माझीसँग वाद विवाद गर्न थालेपछि पदम माझी पनि घरतर्फ लागे र प्रतिवादी मनोजकुमार पनि त्यहाँबाट हिँडे । हामी घरपरिवार सुत्यौं । मिति २०६४।८।११ गते बिहान मृतक मनकुमार राई अघिल्लो दिन अर्थात मिति २०६८।८।१० गते राति महेन्द्र राजमार्गदेखि उत्तर पीपलको रूखमुनि बेहोस रगताम्मे अवस्थामा फेला पारी घरमा ल्याई उपचारको क्रममा भारतको सिलुगढी लैजाँदैगर्दा बाटैमा मृत्यु भएको भन्ने सुनेको हुँ । मृतक र प्रतिवादी सो रातसँगै बसी रक्सी खाएका, प्रतिवादीले पहिल्यै मृतकको दाजु दिलिप राईलाई भारतमा बस्दा कुटपीट गरेका, मृतकलाई प्रतिवादीले दसैंमा पनि कुटपीट गरेका र सोही रिसइबि लिई निजले नै मृतकलाई कुटपीट गरेको हुनुपर्छ । निज पहिलेदेखि नै अत्यधिक मात्रामा रक्सी सेवन गरी हिँड्ने फटाहा प्रवृत्तिका व्यक्ति हुन् । प्रतिवादी मनोजकुमार चौधरीले नै मृतकलाई मारेकोमा शङ्का लाग्दछ । युवराज राईको संलग्नता छैन भन्नेसमेत व्यहोराको गर्जबहादुर राईले गरेको घटना विवरण कागज ।
वारदातको दिन मिति २०६४।८।१० गते अं.२१:३० बजे म आफ्नै घरमा थिएँ । सो दिनको बिहान सन्जे मगरको चोरको स्वर बुझाउन भनी म, गर्जबहादुर मगर र मृतकसमेत भई पथरीमा गई चोरको स्वर बुझाई गर्जबहादुरको घरमा आई गफ गरी बसेका अवस्था मनोज कुमार जोशी पनि आएकाले एक बोतल रक्सी सबैले खाई मृतक त्यहाँबाट आफ्नो घरतर्फ लागे । त्यसपछि प्रतिवादी मनोजकुमार जोशीले चोरको स्वर कसरी बुझायौ सोबारेमा मलाई किन भनेनौ भन्दा तँलाई के को मतलब भनी मसँग सामान्य विवाद भएपछि म आफ्नो घरतर्फ लागेँ । मिति २०६४।८।११ गते बिहान मृतक मनबहादुर राई कुटपीटबाट घाइते भई उपचारका लागि लगेकोमा बाटो मै मृत्यु भयो भन्ने सुनेको हुँ । मृतक रगताम्मै भएको र अनुहार सुनिएको अवस्थामा मृतकलाई देखेको हुँ । मृतक र प्रतिवादी सो रात सँगै बसी रक्सी खाई हिँडेका, प्रतिवादीले पहिला मृतकको दाजु दिलिप राईलाई पनि भारतमा कुटपीट गरेका, गत दसैंमा मृतकलाई पनि कुटपीट गरेको हुँदा प्रतिवादीले कुटपीट गरेकै कारण उपचारको क्रममा मृत्यु भएको हो । यसमा युवराज राईको संलग्नता छैन भन्नेसमेत व्यहोराको पदम माझीले अनुसन्धानको क्रममा गरेको कागज ।
मिति २०६४।८।१० गते अं. २१:३० बजेको समयमा म आफ्नै घरमा बसेको थिएँ । सो रात परिवारसहित सुत्नलाग्दाको अवस्थामा बाहिरबाट मृतक मणि भन्ने मनकुमार राईले ढोका ढक्ढक् गरी ढोका खोल्नुहोस् भनेपछि ढोका खुल्ला नै छ धकेलेर पस्नुस् भनेपछि मनोजकुमार जोशी र मृतक घरभित्र पसे । मनोजकुमार जोशीले निगार मागे । हाम्रो घरमा जाँड रक्सी निगार केही छैन भनेपछि मनोजकुमार जोशीले रू.२०।- दिई देवान राईको घरबाट एक बोतल रक्सी ल्याई म, मृतक र मनोजकुमार जोशी भई खायौं । निजहरू मेरो घरमा २०६४।८।१० गते राति अं.७:०० बजेको समयमा आई अं.८:०० बजेतिर दुबैजना सँगै गएका हुन् । निजहरू मातेका थिए । मृतक मणि भन्ने मनकुमार राई सोही राति १० बजेको समयमा घरमा घटना स्थलमा बेहोस रगताम्मे, नग्न अवस्थामा फेला पारी घरमा ल्याई उपचारको क्रममा लाँदैगर्दा मृत्यु भएको भन्ने सुनेको हुँ । मेरो घरमा रक्सी खाँदा छिटोछिटो रक्सी खाई हिंड जाउँ भनी मनोजले भन्दा मृतकले यसले आज मलाई छिटोछिटो रक्सी खाउँ हिंड भन्दैछ भोलि मलाई केही भयो भने यसलाई समात्नु भनेका थिए । मृतकलाई गत दसैंमा कुटपीट गरेको, मृतकको दाजु दिलिप राईलाई पनि भारतमा पहिल्यै कुटपीट गरेको हुँदा प्रतिवादीको कुटपीटका कारण उपचार हुन नसकी मृतकको मृत्यु भएको हो । प्रतिवादी पहिलेदेखि नै अत्यधिक मात्रामा मादक पदार्थ सेवन गरी हिँड्ने फटाहा प्रवृतिका व्यक्ति हुनाले निजले नै मृतकलाई मारेकोमा विश्वास लाग्छ भन्नेसमेत व्यहोराको युवराज राईले मौकामा गरेको कागज ।
वारदातको मिति र समयमा म आफ्नै घरमा थिएँ । सो दिन रातको ७:३० बजेको समयमा युवराज राई मेरो घरमा आई रू.२० । - दिई १ बोतल रक्सी लगेका हुन् । भोलिपल्ट मृतक, प्रतिवादी र युवराज राईले निजकै घरमा रक्सी खाएको, युवराज आफ्नै घरमा बसेको, मृतक र प्रतिवादी त्यहाँबाट गएकोमा सोही राति ९:४५ बजेतिर मृतक घरमा नआएपछि खोज तलास गर्दा महेन्द्र राजमार्गको उत्तरपट्टि पीपलको रूखमुनि बेहोस, रगताम्मे र नग्न अवस्थामा फेला पारी घरमा ल्याएको र उपचारको लागि भारतको सिलुगढी लैजाँदैगर्दा मृत्यु भएको हो । मृतक र प्रतिवादीसँगै बसी रक्सी खाई बसेको र मृतकको दाजु दिलिप राईलाई पहिले भारतमा कुटपीट गरेका, मृतकलाई पनि दसैंमा कुटपीट गरी घाइते बनाएको भन्ने कुरा सुनेको छु । प्रतिवादीले मृतकलाई कुटपीट गरी सोही क्रममा मृतकको मृत्यु भएको हुनुपर्छ भन्नेसमेत व्यहोराको देवान राईले मौकामा गरिदिएको कागज ।
वारदातको मिति र समयमा म आफ्नै घरमा थिएँ । सोही मितिको बेलुका अं.१५ बजे दोकान चोकमा उभिइरहेको अवस्थामा प्रतिवादी मातेको अवस्थामा साइकल चढी आउँदा मलाई साइकलले ठोक्याउन खोज्दा के गरेको तैले आँखा देखिनस् भन्दा म मातेको हैन एक्टिङ्ग मात्रै गरेको भनेपछि मृतकको भाइ धनबहादुर राईले तपाईं मात्नुभएको छ म घर पुर्याइदिन्छु भनी लिएर गएका थिए । प्रतिवादी र मृतकसमेत भई युवराज राईको घरमा बसी रक्सी खाएको, सो अवस्थामा मनोज जोशीले मृतकलाई छिटोछिटो रक्सी खाएर हिँड भनेपछि मृतकले आज यसले मलाई यसो भन्दैछ भोलि केही भयो भने यसलाई समात्नु भनेको सुनेको हुँ सो दिन गाउँमा विवाह भएको कारण म विवाहमा गई सोही रातको अं.९:३० बजेको समयमा आफ्नो घरतर्फ फर्की आउँदा उक्त वारदात स्थलमा नग्न अवस्थामा मान्छे देखी निजको घरमा गई भनेपछि मसमेत उक्त घटनास्थलमा जाँदा मृतक बेहोस भई रगताम्मे भई नग्न अवस्थामा फेला पारी उपचारको लागि घोपा, धरानमा लगेकोमा उपचार हुन नसकी सिलुगढीतर्फ जाँदै गर्दा बाटोमा नै मृत्यु भएको भन्ने दिगम्बर राईले गरिदिएको घटना विवरण कागज ।
प्रतिवादी मनोजकुमार जोशी हाम्रो घरमा आई रक्सी मागेकोमा रक्सी नभएकाले गाउँबाट १ बोतल रक्सी किनी ल्याई सबैजनाले खाएपछि मनोजकुमार जोशी पदम माझीसँग विवाद गर्न थालेपछि आमा कराएकाले निजहरू घरबाट हिँडेका हुन् । मृतक मणि भन्ने मनकुमार राईलाई मिति २०६४।८।१० गते राति बेहोस र रगताम्मे अवस्थामा फेला पारी मिति २०६४।८।११ गते उपचार गर्न लैजाने क्रममा मृत्यु भएको भन्ने सुनेको हुँ । मनोजकुमार जोशी पहिलेदेखि नै फटाहा प्रवृत्तिका व्यक्ति हुन् । यिनैले कर्तव्य गरी मृतकलाई मारेका हुन् भन्नेसमेत व्यहोराको सन्जे मगरले गरिदिएको घटना विवरण कागज ।
मिति २०६४।८।१० गते रातको ७:३० बजे मृतक मनकुमार राई र प्रतिवादी मनोजकुमार जोशी मेरो घरमा आई मनोज कुमार जोशीले मागेको कुरा मेरो घरमा नभएको कारण मेरो श्रीमान्लाई किनी ल्याउन भनी पैसा दिएँ । मेरो श्रीमान् युवराज राईले देवान राईको घरमा गई १ बोतल रक्सी किनी ल्याई तीनजना भई उक्त रक्सी खाए । रक्सी खाँदाका अवस्थामा मनोजकुमार जोशीले मृतक मनकुमार राईलाई छिटोछिटो रक्सी खाई हिँड भन्दै थिए र मृतकले आज छिटोछिटो खाएर हिँड भन्दै छन् मलाई केही भयो भने यसलाई पक्रिनु भनी रक्सी खाई निस्की गएका हुन् । त्यसपछि कता गए थाहा भएन । हामी सुत्यौं । मिति २०६४।८।११ गते बिहान गाउँमा मृतक मनकुमार राईलाई राजमार्गको छेउमा नग्न, रगताम्मे र बेहोस अवस्थामा फेला पारी उपचारको लागि घोपा, धरानमा लगेकोमा त्यहाँ उपचार हुन नसकी भारतको सिलुगढीतर्फ लाँदैगर्दा बाटो मै मृतकको मृत्यु भएको भन्ने कुरा सुनेको हुँ । एम्बुलेन्समा रहेको मृतकको लास देख्दा मुखबाट रगत बगिरहेको, अनुहार सुनिएको अवस्थामा देखेको हुँ । प्रतिवादीले मृतकलाई र मृतकको दाजुलाई पनि कुटपीट गरेका थिए । प्रतिवादीको पिटाइबाट नै मृतकको मृत्यु भएको हो । यस घटनामा अन्य कसैको संलग्नता छैन भन्नेसमेत व्यहोराको अनिता राईले गरिदिएको घटना विवरण कागज ।
राति मृतक र प्रतिवादीसँगै रक्सी खाई हिँडेका, रक्सी खाएको अवस्थामा मृतकलाई हप्काएको, मृतकले मलाई केही भए यसैलाई समाउनु भनी मृत्युपूर्व भनेका थिए । प्रतिवादी खराब चरित्रको व्यक्ति भएको, पहिला पनि मृतकलाई कुटपीट गरेको, प्रतिवादीले नै मृतकलाई कुटपीट गरी सख्त घाइते बनाएकाले उपचारको क्रममा मृतकको मृत्यु भएको हो भन्नेसमेत व्यहोराको एकै मिलान हुने गरी बुझिएका रामबहादुर तामाङ, जानुका कटुवालसमेतले लेखाइदिएको पृथकपृथक घटना विवरण कागजहरू ।
मिसिल संलग्न तथ्यगत आधार प्रमाणहरूबाट विरूद्ध खण्डका प्रतिवादी मनोज जोशीले मृतकको दाजुलाई पहिले पनि कुटपीट गरेको, २०६४ सालको दशैंमा प्रतिवादीले मृतकलाई पनि कुटपीट गरेको, प्रतिवादी मादक पदार्थ सेवन गरी फट्याइँ गरी हिँड्ने खराब प्रवृत्तिका मानिस भएको भनी जाहेरीलगायत बुझिएका सबै मानिसहरूको कागज व्यहोराबाट खुली आएको
छ । वारदातको दिनको राति प्रतिवादी र मृतकसँगै रक्सी खाई हिँडेको, पहिले गर्जबहादुर मगरको घरमा त्यसपछि युवराज राईको घरमा रक्सी खाई मृतकसँगै प्रतिवादी रातिको ८ बजेको समयमा घटनास्थलतर्फ हिँडेको, रक्सी खाँदाको अवस्थामा प्रतिवादीले मृतकलाई हप्काएको, सोपश्चात मृतकले यसले आज मलाई केही गर्छ केही भएमा यसलाई पक्रनु भनेको, मृतक र प्रतिवादीलाई रातिको ९ बजेको समयमा घटनास्थलमै देखे भेटेको र घटनास्थलमै मृतकलाई प्रतिवादीले ढुङ्गा टिपी हानेको, वादविवाद तथा हात हालाहालसमेत भै प्रतिवादीले जत्रतत्र हात मुक्काले हानी लडाई प्रतिवादी भागेको अवस्था देखिन आएको, साथै घटनाको सम्बन्धमा जान्ने बुझ्ने मानिसहरूसमेत सबैले मृतकलाई प्रतिवादीले नै कुटपीट गरी घाइते बनाएको र सोही चोटका कारणबाट मृतकको मृत्यु भएको हो भनी कागज गरी दिएको समेतका तथ्यगत आधार र परिस्थितिजन्य प्रमाणहरूबाट विरूद्ध खण्डका प्रतिवादी मनोज जोशीले मृतकलाई पूर्व रिसइबिसमेत साधी हात मुक्कासमेतले कुटपीट गरी सख्त घाइते तुल्याई लडाई दिएको, मृतकको शरीरको यत्रतत्र एवम् टाउको समेतमा घा चोट लागी सोही चोटका कारण मृतकको मृत्यु भएको अवस्था देखिँदा निज प्रतिवादी मनोजकुमार जोशीलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ र १३(३) नं. बर्खिलाप कसुर अपराध गरेको हुँदा निजलाई सोही महलको १३(३) नं. अनुसार सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको वादी नेपाल सरकारले मोरङ जिल्ला अदालतमा दायर गरेको अभियोगपत्र ।
मिति २०६४।८।१० गतेको दिन म र साथी मृतक मणि भन्ने मनकुमार राई भई देवानको दोकानमा १/१ गिलास लोकल रक्सी खाएको, गर्जबहादुर मगरको घरमा पनि १/१ गिलास रक्सी खाएको हो । त्यसपछि युवराजको घरमा रू.२०।- को एक बोतल रक्सी किनी म, मृतक र युवराजसमेत भई खाएका हौं । त्यसपछि म मातेकाले गाउँकै राम तामाङले साइकलको चाबि खोली दिएपछि साइकल लिई घर जाँदै गर्दा साइकलबाट लडें । मृतकको त्यही नजिक घर भएकाले जान्छु भनी गए भने म पनि आफ्नै घरतर्फ लागें । मृतकलाई कसले घाइते बनायो मलाई केही थाहा भएन । म साइकलबाट लडेपछि मृतक मनकुमारकै भाइले मलाई साइकलसहित हिँडाएर मेरो सालोको जिम्मा लगाई घर पठाएको हो अरे । मैले मृतकलाई कुटपीट गरेको होइन । निजसँगै बसी रक्सी खाएको भए पनि निजलाई मैले कुटपीट गरेको भन्ने कुरा साँचो होइन । मौकामा मैले गरेको बयान पढी बाँची नसुनाई सहीछाप गराइएको हो । मैले मृतकलाई कुटपीटसमेत नगरेको हुँदा अभियोग माग दावीबाट सफाइ पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी मनोजकुमार जोशीले सुरू अदालतमा गरेको बयान ।
प्रतिवादी मनोज कुमार जोशीले मृतक मणि भन्ने मनकुमार राईलाई कुटपीट गरी कर्तव्य गरी मारेको हो । मेरो व्यहोरा सबै अनुसन्धानको क्रममा भएको कागजमा उल्लेख गरिदिएको छु भन्नेसमेत व्यहोराको मौकामा कागज गर्ने युवराज राईले गरेको बकपत्र ।
मृतक मनकुमार राईलाई मिति २०६४।८।१० गते वेलबारी ३ बस्ने मनोजकुमार जोशीले रक्सी पिएर मृतकलाई टाउकोमा ढुङ्गाले हानी भागी गएको थाहा पाएपछि पीपलको रूखमुनि रगताम्मे र सर्वाङ्ग नाङ्गो भएको अवस्थामा फेलापारी साससम्म रहेकाले उपचार गर्न भनी धरान लगेकोमा त्यहाँ उपचार हुन नसकी भारतको सिलुगढीतर्फ लैजादै गर्दा बाटैमा मृत्यु भएको हो । प्रतिवादी मनोजकुमार जोशीले हानेकै चोटबाट (स.ज.४) मृतकको मृत्यु भएको हो । मृतकको टाउकोमा ढुङ्गाले हानेको चोट थियो । मुखबाट रगत बगिरहेको थियो भन्नेसमेत व्यहोराको जाहेरवाला धनबहादुर राईले गरिदिएको बकपत्र ।
जाहेरवालाको दाजु मणि भन्ने मनकुमार राईलाई मृतक र मनोजकुमारसँगै हिँडेको देखिएकाले मृतक मनोजकै कर्तव्यबाट मरेको हुनुपर्छ । मृतकको टाउको, घुँडा, खुट्टा, तथा ढाडमा समेत चोट लागेको थियो । अनुसन्धानको क्रममा सबै व्यहोरा खुल्ने गरी मैले कागज गरिदिएको छु भनी प्रहरीमा कागज गर्ने पदमबहादुर माझीले गरिदिएको बकपत्र ।
मृतक र प्रतिवादी मिति २०६४।८।१० गते सँगसँगै हिँडेका थिए । मृतकको मृत्यु के कसरी भयो थाहा भएन । अनुसन्धानको क्रममा भएको कागज र सहीछाप मेरै हो । युवराज राई मेरो घरमा आई रक्सी किनी आफ्नै घरमा लगी खाएका थिए भन्नेसमेत व्यहोराको मौकामा कागज गर्ने देवान राईको बकपत्र ।
वादी पक्षका अन्य गवाह धनबहादुर राई, जानुका कटुवाल र प्रतिवादीका साक्षी युवराज प्रधानले गरिदिएको छुट्टाछुट्टै बकपत्र मिसिल सामेल रहेको ।
प्रतिवादीउपरको किटानी जाहेरी, किटानी बकपत्र, प्रतिवादीले ढुङ्गालेसमेत हानेको हुँ भनी अनुसन्धान अधिकृतसमक्ष भएको साबिती बयान, लास प्रकृति मुचुल्कासमेतका मिसिल संलग्न कागज प्रमाणका आधारमा प्रतिवादीले मृतकलाई ढुङ्गा तथा हात मुक्कासमेत प्रहार गरी पीडा चोट पुर्याई सोही चोट पीडाको कारण मृतक मणि भन्ने मनकुमार राईको उपचारको क्रममा मुत्यु हुन गएको पुष्टि भएकाले प्रतिवादी मनोजकुमार जोशीले ज्यानसम्बन्धीको महलको १ र १३(३) नं. बर्खिलाप कसुर अपराध गरी मृतकलाई कर्तव्य गरी मारेको ठहर्छ । सो ठहर्नाले निज प्रतिवादी मनोजकुमार जोशीलाई ज्यानसम्बन्धीको महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर्छ भन्नेसमेत व्यहोराको मोरङ जिल्ला अदालतले मिति २०६६।५।१४ मा गरेको फैसला ।
लास प्रकृति मुचुल्का एवम् शव परीक्षण प्रतिवेदनमा मृतकको शरीरमा जत्रतत्र घा चोट भएको तथा कुटपीट गरी मृतकको टाउकोमा पर्न गएको चोटका कारण मृतकको मृत्यु भएको भनिएको छ । अदालतमा आई बकपत्र गरेका मानिसहरू तथा स्वयम् जाहेरवाला र प्रहरीमा बुझिएको व्यक्तिहरूसमेतले मृतकलाई प्रतिवादीले कुटपीट गरेको देखिन, निजहरूबीच पूर्व रिसइबि पनि भएको थाहा छैन, निजहरू साथी भाइ हुन् तर प्रतिवादीले मारेकोमा शङ्का लाग्छ भनी गरेको कागज र निज जाहेरवालाको बकपत्रलाई आधार लिई प्रमाण कानून तथा फौजदारी कानूनको मान्य सिद्धान्तविपरित हुने गरी भएको सुरू मोरङ जिल्ला अदालतको त्रूटिपूर्ण फैसला खारेज गरिपाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी मनोजकुमार जोशीले कारागार कार्यालय, विराटनगरमार्फत पुनरावेदन अदालत, विराटनगरमा दायर गरेको पुनरावेदनपत्र ।
प्रतिवादीको मृतकलाई मारौं भन्नेसम्मको पूर्व रिसइबि रहेको भन्ने मिसिल संलग्न कागजबाट नदेखिएको, प्रतिवादी स्वयम् मृतकसँग रक्सी सेवन गरी मात्तिएको भनी लेखाएको अवस्थामा अभियोग दावीबमोजिम सजाय गर्ने गरेको सुरू मोरङ जिल्ला अदालतको मिति २०६६ । ५ । १४ को फैसला फरक पर्न सक्ने देखिँदा अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ प्रयोजनार्थ पुनरावेदन सरकारी वकिल कार्यालय, विराटनगरलाई जानकारी दिई नियमबमोजिम पेस गर्नु भनी पुनरावेदन अदालत, विराटनगरबाट मिति २०६६ । ११ । १९ मा भएको आदेश ।
मिसिल संलग्न प्रमाणबाट प्रतिवादीले मृतकलाई ढुङ्गा तथा हात मुक्कासमेत प्रहार गरी सोही चोट पींडाबाट मृतक मणि भन्ने मनकुमार राई उपचारको क्रममा मृत्यु भएको तथ्य पुष्टि भएकाले निज प्रतिवादी मनोजकुमार जोशीलाई ज्यानसम्बन्धीको महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर्याएको मोरङ जिल्ला अदालतको मिति २०६६।५।१४ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्तैन भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, विराटनगरबाट मिति २०६६।१२।१० मा भएको फैसला ।
तथ्य र अपराधको पृथकतातर्फ पुनरावेदन अदालतबाट फैसलाको ठहर खण्डमा कुनै विवेचनासमेत गर्न सकेको पाइँदैन । फौजदारी मुद्दामा अभियोजन पक्षले अभियोग लगाउनुमात्र पर्याप्त हुँदैन । प्रमाण ऐन, २०३१ को दफा २५ बमोजिम अभियोजन पक्षले प्रस्तुत गरेको प्रमाण कागजहरू निर्विवाद शङ्कारहित तवरको हुनुपर्दछ । शङ्कारहित प्रमाणले अभियोग दावी पुष्टि भएको हुनुपर्दछ । एक आपसमा बाझिएको प्रमाण कागजहरू नै मेरो विरूद्धमा लगाई भएको फैसला बदरभागी छ । तथ्य स्वीकार गरेको आधारमा मात्र ज्यान जस्तो कसुरमा दोषी ठहर गर्न मिल्ने होइन । यो फौजदारी न्यायको सर्वमान्य सिद्धान्त पनि हो । ज्यानसम्बन्धीको महलको १३(३) नं. बमोजिमको सजाय मागदावी लिने वादी पक्षले प्रतिवादीबाट ज्यान मार्ने आपराधिक कार्य गरेको हो भन्ने पुष्टि गर्न सकेको पनि छैन । मृतक मनकुमार राईसँगै बसी मित्रतापूर्ण हिसाबले रक्सी खाएकोसम्म सत्य हो तर मृतक मनकुमार राईलाई मैले मारेको होइन । मृतक मनकुमार र मसमेत भई रक्सी खाई मातेको अवस्थामा थियौं जबकि मैले चलाएको साइकलसमेत मैले लैजान सक्ने अवस्था थिएन । साइकलको चाबिसमेत खोल्न नसक्ने अवस्थाको मानिसले ज्यान मारेको भन्ने अभियोग दावी बिलकुलै झुट्ठा देखिएको छ । प्रमाण ऐन, २०३१ को दफा १०, दफा ३६ को प्रतिकूल हुने गरी सुरू जिल्ला अदालतले मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर्याएको फैसलालाई सदर गरेको पुनरावेदन अदालत, विराटनगरको फैसला उल्टी गरी अभियोग दावीबाट सफाइ पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी मनोजकुमार जोशीले यस अदालतमा दायर गरेको पुनरावेदनपत्र ।
प्रतिवादी मनोजकुमार जोशीले मौकामा बयान गर्दा सामान्य विवाद भए पनि कर्तव्य गरेकोमा साबित भएको नदेखिएको, अदालतसमक्ष बयान गर्दा कसुरमा पूर्णतः इन्कार रहेतर्फ विचार नगरी साबित भएको भनी अनुमान गरी कसुर ठहर गरी सजाय गर्ने गरेको पुनरावेदन अदालत, विराटनगरको निर्णय फरक पर्न सक्ने देखिँदा प्रस्तुत मुद्दामा छलफलका निम्ति मुलुकी ऐन, अ.बं. २०२ नं. बमोजिम प्रत्यर्थी झिकाउनु भनी यस अदालतबाट मिति २०६८।६।२५ मा भएको आदेश ।
नियमबमोजिम दैनिक पेसीसूचीमा चढी इजलाससमक्ष पेस भएको प्रस्तुत मुद्दामा पुनरावेदनसहितका मिसिल संलग्न कागजहरूको अध्ययन गरियो ।
प्रत्यर्थी नेपाल सरकारको तर्फबाट विद्वान् सहन्यायाधिवक्ता श्री संजिवराज रेग्मीले वारदातको मिति र समयमा मृतक र प्रतिवादीसँगै बसी ठाउँठाउँमा गई रक्सी खाएको, मृतकलाई ढुङ्गा लात मुक्का प्रहार गरेको भनी अनुसन्धानको क्रममा साबित भएको, अदालतमा भएको प्रतिवादीको इन्कारी बयानलाई वादी पक्षका साक्षीको बकपत्रले खण्डन गरेको पाइन्छ । पुनरावेदक प्रतिवादीले मृतक र मृतकका दाजुलाई समेत कुटपीट गरेको, प्रतिवादी फटाहा र अत्यधिक रक्सी खाने प्रवृतिका व्यक्ति भएको तथ्य मिसिलबाट स्थापित भइसकेको हुँदा प्रतिवादीलाई सुरू अदालतले गरेको सजायलाई सदर गरेको पुनरावेदन अदालत, विराटनगरको फैसला मिलेकै हुँदा सदर गरिपाउँ भनी बहस गर्नुभयो ।
प्रत्यर्थी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् सहन्यायाधिवक्ताले गर्नुभएको बहससमेतलाई मध्यनजर राखी प्रतिवादी मनोजकुमार जोशीलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय हुने ठहर्याएको फैसला सदर गरेको पुनरावेदन अदालत, विराटनगरको फैसला मिलेको छ छैन अभियोग माग दावीबाट सफाइ पाउँ भन्ने प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्छ सक्तैन सोही विषयमा मिसिल संलग्न कागजात हेरी निर्णय दिनुपर्ने देखिन आयो ।
२. निर्णयतर्फ विचार गर्दा प्रतिवादी मनोजकुमार जोशी र मृतक सँगै बसी ठाउँठाउँमा रक्सी खाएका र दाजु मणि भन्ने मनकुमार राईलाई पूर्व योजना बनाई कुटपीट गरेको कारण उपचारका लागि लैजाँदालैजाँदै बाटोमै मृत्यु भएकाले प्रतिवादी मनोजकुमार जोशीलाई कारवाही गरिपाउँ भनी पुनरावेदक प्रतिवादीका विरूद्धमा जाहेरी परेको देखिन्छ । महेन्द्र राजमार्गमा रहेको कल्भर्ट छेऊमा दिसा गर्न भनी बसिरहेका मृतकलाई जिस्किएर भूइँबाट ढुङ्गो उठाई हानेपछि निजसँग वादविवाद भई हात हालाहालसमेत भयो । मैले निजको अनुहारमा हातले हानेँ कहाँ लाग्यो थाहा भएन मानिसले थाहा पाउँछन् कि भनी म आफ्नो घरमा गएँ भनी प्रतिवादी मनोजकुमार जोशीले अधिकारप्राप्त अधिकारीसमक्ष (स.ज.७) गरेको बयानमा उल्लेख भएको पाइन्छ । प्रतिवादीले मृतकलाई कुटपीट गरेको कारणबाट मृतकको मृत्यु भएको हो भनी मृतक र प्रतिवादीका साथसँगै बसी रक्सी खाने गर्जबहादुर माझी, पदम माझी र युवराज राईसमेतका व्यक्तिहरूले मौकामा कागज गरेको देखिन आयो ।
३. प्रतिवादी अदालतमा कसुरमा इन्कार रही बयान गरेको भए तापनि स.ज.४ मा मिति २०६४।८।१० गतेका दिन म र मृतक मणि भन्ने मनकुमार राई दुबैजना भई देवानको दोकानमा बसी १/१ गिलास लोकल रक्सी खाएको, त्यसपछि गर्जबहादुर माझीको घरमा पनि १/१ गिलास रक्सी खाएको, पुनः युवराज राईको घरमा रू.२०। - को १ बोतल रक्सी किनेर ल्याई मृतक, युवराज र मसमेत भई खाएपछि म साइकल चढी घरमा गएँ भने मृतक पनि आफ्नो घरतर्फ गएका हुन् भनी कसुरमा तथ्य स्वीकार गरी बयान गरेको पाइयो ।
४. वारदातको मिति र समयमा प्रतिवादी र मृतक सँगसाथै बसी रक्सी खाई हिँडेका थिए । प्रतिवादीले हानेको चोटका कारण मृतकको मृत्यु भएको हो भनी प्रतिवादी तथा मृतकसँग बसी रक्सी खाने तथा मौंकामा कागज गर्ने युवराज राई, दिगम्बर राई, अनिता राई, पदमबहादुर माझीसमेतका व्यक्तिहरूले बकपत्र उल्लेख गरेको पाइयो भने मौकामा कागज गर्न देवान राईले युवराज राई मेरो पसलमा आई १ बोतल रक्सी लगी निजकै घरमा बसी मृतक र प्रतिवादी सँगै बसी खाएका हुन् भनी लेखाइदिएको पनि पाइयो ।
५. मृतक र मृतकको दाजुमाथि पनि पुनरावेदक प्रतिवादीले बरोबर कुटपीट गरेको मिसिलबाट देखिन्छ । मृतकलाई गएको दसैंमा कुटपीट गरेको र मलाई केही भयो भने यसलाई समात्नु भनी मृतकले भनेका थिए भनी मौकामा कागज गर्ने युवराज राईसमेतका व्यक्तिहरूले लेखाई उक्त कागज व्यहोरा मेरो हो भनी अदालतमा गरेको बकपत्रमा समेत उल्लेख भएको
पाइयो । मौकामा कागज गर्ने व्यक्तिहरूको बकपत्र तथा मृतकको मृत्यु टाउकोमा लागेको चोटका कारण भएको हो भनी लासजाँच प्रतिवेदन (Autopsy Report) मा उल्लेख भएको र प्रतिवादीले पनि मृतकलाई ढुङ्गाले हानेको कुरामा मौकामा साबित भएको देखिँदा पुनरावेदक प्रतिवादीको वारदातमा प्रत्यक्षरूपमा संलग्नता रहे भएको पाइयो ।
६. पुनरावेदक प्रतिवादी र मृतक बरोबर सँगै बसी खाने, वारदातको मिति र समयमा पनि मृतक र प्रतिवादी सँगै बसी ठाउँठाउँमा रक्सी खाएको तथ्यमा विवाद देखिँदैन । मृत्युपूर्व मृतकले मलाई केही भएमा यी प्रतिवादीलाई समात्नु भनी भनेका थिए भनी युवाराज राईसमेतले कागज गरेका तथा साथी भाइ भएकाले रक्सी खाँदा कहिले कहीं वादविवाद भइहाल्थो (स.ज.५) भनी प्रतिवादीको अदालतसमक्ष भएको बयानमा उल्लेख भएको तथा प्रतिवादीले मृतक र मृतकका दाजुलाई समेत यसपूर्व पनि कुटपीट गर्ने गरेको मिसिलबाट देखिन आउँछ । सँगै बसी रक्सी खाएका मृतक र प्रतिवादीमात्रै रातको समयमा सँगै साथै हिँड्नु र साथै हिँडेकामध्ये एकजना सर्वाङ्ग नाङ्गै भई रगताम्मे अवस्थामा राजमार्गमा रहेको कल्भर्टमा घाइते अवस्थामा भेटिनु तथा अर्को अर्थात पुनरावेदक प्रतिवादी घरमा गई सुत्नु जस्ता कार्य कारणसमेतबाट पुनरावेदक प्रतिवादीकै कार्यबाट मृतकको मृत्यु हुनपुगेको तथ्यमा शङ्का गर्ने ठाउँ रहेन ।
७. अतः प्रतिवादी मनोजकुमार जोशीले मृतक मणि भन्ने मनकुमार राईलाई ढुङ्गा तथा मुक्कासमेत प्रहार गरी सोही चोट पीडाबाट मृतकको उपचारको क्रममा मृत्यु भएको तथ्य पुष्टि भएकाले निज प्रतिवादी मनोजकुमार जोशीलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय गर्ने गरेको मोरङ जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत, विराटनगरको मिति २०६६।१२।१० को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्तैन । फैसलाको जानकारी थुनामा रहेका प्रतिवादीलाई दिई दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या. बैद्यनाथ उपाध्याय
इति संवत् २०७१ साल कात्तिक २४ गते रोज २ शुभम् ।
इजलास अधिकृत : लोकनाथ पराजुली