निर्णय नं. ९३१५ - मिलापत्र बदर गरी हक कायम गरिपाउँ
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री गोपाल पराजुली
माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा.
फैसला मिति : २०७१।५।१८।४
०६६-CI-१२६७
मुद्दा : मिलापत्र बदर गरी हक कायम गरिपाउँ ।
निवेदक/प्रतिवादी : चितवन जिल्ला, भरतपुर नगरपालिका वडा नं. ३ बस्ने भैरवकुमार पियासमेत
विरूद्ध
प्रत्यर्थी/वादी : चितवन जिल्ला, भरतपुर नगरपालिका वडा नं. ३ बस्ने श्यामकुमार पिया
§ मुलुकी ऐन, स्त्री अंशधनको महलको १ र ५ नं. को कानूनी मान्यतालाई हेर्दा सो महलको १ नं. मा "कन्या वा सधवा वा विधवा स्वास्नी मानिसले आफ्नो आर्जनको चल अचल आफ्नो खुस गर्न पाउँछन् " भनी उल्लेख भएको देखिन्छ । यस कानूनी व्यवस्थाअन्तर्गत आफ्नो आर्जनको सम्पत्तिभित्र कुनै स्त्रीले प्राप्त गरेको सम्पत्ति पर्न आउँदछ । अंशबन्डाबाट प्राप्त भएको, दाइजो, पेवा, दानबकस वा अपुतालीबाट किन नहोस् जुनसुकै तवरबाट प्राप्त भएको सम्पत्ति यसअन्तर्गत पर्दछ । अंशबन्डाबाट आफ्नो हक भोग तथा स्वामित्वमा रहेको सम्पत्ति जुनसुकै व्यहोराबाट पनि जो कोहीलाई दिन हक हस्तान्तरण गर्न पाइने कुरामा दुईमत हुन नसक्ने ।
(प्रकरण नं. २)
§ मुद्दाका वादी प्रतिवादीबीच सगोलमा रहेको भनी सहमति हुन्छ भने अदालतले निजहरू सगोलमा नरही बेग्लै रहेको भन्न मिल्ने अवस्था रहेन । पक्षहरू स्वयम्ले आफूहरू सगोलमा रहेको भनी अदालतमा पेस गरेको लिखतबाट स्वीकार गरेको अवस्थामा अंशबन्डाको महलबमोजिम मानो जोडिएको लिखतको अभावमा सगोलमा रहेको भन्न मिल्दैन भन्ने प्रत्यर्थी वादीको भनाइसँग सहमत हुन सकिएन । यस्तो स्थितिको व्यवहारलाई अंशबन्डाको महलको कानूनी व्यवस्थाविपरीत भएको व्यवहार भनी भन्न मिल्ने पनि नदेखिने ।
(प्रकरण नं. ५)
§ अंशबन्डाबाट प्राप्त हुन आएको स्त्रीअंशधनअन्तर्गतको सम्पत्ति आफूलाई पालन पोषण एवम् हेरचाह गर्ने छोरा बुहारी एवम् नातिसमेतलाई बकसपत्र वा मिलापत्र जुनसुकै व्यहोराबाट पनि हक हस्तान्तरण गर्न सक्ने कानूनी अवस्था भएको र मिलापत्रबाट हक हस्तान्तरण भएको स्थितिलाई मान्यता दिनुपर्नेमा सोलाई बदर गर्ने गरी जिल्ला अदालतबाट भएको फैसला सदर गर्ने गरी पुनरावेदन अदालतबाट भएको फैसला मिलेको नदेखिँदा सुरू जिल्ला अदालतबाट भएको फैसला सदर गर्ने गरिएको पुनरावेदन अदालतको फैसला उल्टी भै वादी दावी पुग्न नसक्ने ।
(प्रकरण नं. ६)
निवेदक/प्रतिवादीको तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताद्वय शम्भु थापा र बालकृष्ण न्यौपाने
प्रत्यर्थी/वादीको तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताद्वय हरिहर दाहाल र श्यामप्रसाद खरेल
अवलम्बित नजिर :
सम्बद्ध कानून :
मुलुकी ऐन, स्त्री अंशधनको महलको १ र ५ नं.
सुरू तहमा फैसला गर्ने :
मा.जि.न्या. श्री विष्णुदेव पौडेल
पुनरावेदन तहमा फैसला गर्ने :
मा.न्या. श्री राजेन्द्रप्रसाद राजभण्डारी
मा.न्या. श्री गिरीराज पौडेल
फैसला
न्या. चोलेन्द्र शमशेर ज.ब.रा. : न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) र (ख) बमोजिम मुद्दा दोहोर्याउने निस्सा प्रदान भै पुनरावेदन दायरीमा दायर हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य र ठहर यसप्रकार रहेको छ :
बाजे त्रिभुनारायणका छोराहरूमा क्रमशः जेठो फिरादकर्ता तथा विपक्षहरू भैरवकुमारसमेतका बुबा स्व. रेवतीप्रसाद पिया, माइलो कोमल नारायण पिया, साहिँला स्व. सूर्यनारायण पिया, काइँलो उदयकुमार पिया र कान्छो पन्चकुमार पियासमेतका अंशियारहरू गत २०२० सालमा कानूनबमोजिम छुट्टिभिन्न हुनुभएको हो । स्व. बुवा रेवतीप्रसाद र स्व. आमा भुकुमारी पियाका सन्तानहरूमा म फिरादी श्यामकुमार पिया, प्रतिवादी भैरवकुमार पिया, उत्तमकुमार पिया र स्व. ध्रुवकुमार पियासमेतका अंशियार मिति २०५१।३।२ मा कानूनको रीत पुर्याई छुट्टिभिन्न हुँदा आमा भुकुमारी पियाको अंश भागमा कि.नं. ३१७२, ३१८०, ३१८१, ३१९०, ३१५१, ३१८६, ३१५९, ३६८३, ३६८७, ३६९८, ३७०३, ३६८४ का जग्गाहरू परेकोमा आमा भुकुमारीको मिति २०६२।६।३ मा र भाइ ध्रुवकुमार पियाको मिति २०६१।४।२ मा मृत्यु भएको हो । भाइ ध्रुवकुमारका कुनै सन्तान छैनन् । मिति २०५१।३।२ मा रीतपूर्वक छुट्टिभिन्न भइसकेकी आमा भुकुमारी पियासमेतलाई प्रतिवादी बनाई विपक्षी भैरवकुमार पियाको श्रीमती निममाया पियाले चितवन जिल्ला अदालतमा अंश मुद्दा दिई आमाका भागमा परेको माथि उल्लिखित सम्पूर्ण जग्गा विपक्षी भैरवकुमार पियाको नाउँमा राखी मिति २०५८।५।२४ मा विपक्षीहरूको मिलेमतोबाट मिलापत्र गरी सोही मिलापत्रबमोजिम मालपोत कार्यालय, चितवनबाट दा.खा. नामसारीसमेत गराएको कुरा नक्कल सारी हेर्दा थाहा पाएको हुँदा मुलुकी ऐन, अ.बं. ८६ नं. बमोजिम उक्त मिति २०५८।५।२४ को मिलापत्रमा चितवन जिल्ला, साविक नारायणगढ वडा नं. ६/ख कि.नं. ३१७२ को उत्तरतर्फबाट, कि.नं. ३१८० र ३१८१ को दक्षिणतर्फबाट, कि.नं. ३१५९ को पश्चिमतर्फबाट, कि.नं. ३१७० को दक्षिणतर्फबाट, कि.नं. ३१५१ को उत्तरतर्फबाट कि.नं. ३१८६ पूर्वतर्फबाट, कि.नं. ३१९० को पूर्वतर्फबाट, कि.नं. ३६८३ को उत्तरतर्फबाट, कि.नं. ३६८७, ३६९८, ३७०३ र ३६८४ को पूर्वतर्फबाट मेरो हकजति ३ भागको १ भाग बदर गरी सो मिलापत्रको आधारमा विपक्षी भैरवकुमार पियाको नाउँमा भएको दा.खा. नामसारीसमेत बदर गरी मेरो नाउँमा हककायम गरिपाउँ भन्नेसमेत व्यहोराको वादी दावी ।
स्व. भुकुमारी पियालाई बाचुन्जेल हामीहरूले नै रेखदेख पालनपोषण औषधि उपचार गरी आएको र निजको मृत्युपश्चात म भैरवकुमार पियाले नै दाहसंस्कार काजकिरिया गरी सम्पूर्ण खर्च म भैरवकुमार पियाले गरेको हुँदा र उक्त जग्गाहरू २०५२ सालतिरै आमाले म भैरवकुमार पिया र उत्तमकुमार पियासमेतलाई शेषपछिको बकसपत्र गरिदिनुभएको थियो । पछि अंशबन्डाको मिलापत्र हुँदा मेरो भागमा परेको उक्त जग्गा दा.खा. नामसारी गराएको हुँदा विपक्षीको गैरकानूनी औचित्यहीन फिराद दावी खारेज गरिपाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी भैरवकुमार पियासमेत जना ४ को संयुक्त प्रतिउत्तर जिकिर ।
सुरू अदालतका आदेशानुसार वादीका साक्षी दीपक प्रधान र प्रतिवादीका साक्षी महेन्द्र श्रेष्ठको बकपत्र भई मिसिल सामेल रहेछ ।
यसमा प्रतिवादी भैरवकुमार पियाले फिरादपत्रमा उल्लेख गरेअनुसार आमा भुकुमारी पियाको नाउँको जग्गा मिति २०५८।५।२४ मा मिलापत्र गरी आफ्नो एकलौटी अंश भागमा राखेको देखिन आएको र सो सम्पत्तिमा यी वादीसमेतको हक लाग्ने सम्पत्ति देखिन आएकाले फिरादपत्रमा उल्लेखित ३ भागको १ भाग यी वादीको हकजतिको मिलापत्र बदर भै वादी दावी अनुसार ३ भागको १ भाग भैरवकुमार पियाको नाउँमा भएको दा.खा. नामसारी बदर गरी यी वादीको नाउँमा हक कायम हुने ठहर्छ भन्ने चितवन जिल्ला अदालतबाट मिति २०६३।११।१६ मा भएको फैसला ।
सुरू अदालतबाट भएको फैसलामा चित्त बुझेन । प्रत्यर्थी श्यामकुमारको श्रीमती छोराहरूले पहाडतर्फको जग्गाहरू लिई तनहुँ जिल्लातर्फका जग्गाहरू पनि पृथकपृथक अंशियार बीच पृथकपृथक भागबाट लिने सहमति गरी आमा भुकुमारी पियाको नाउँको चितवन नारायणगढतर्फको जग्गा भैरवकुमारले लिने गरी मिलापत्र भएको
हो । सो सम्पत्तिमा वादीहरूको कुनै हक दावी लाग्ने होइन । सो सम्पत्ति भुकुमारीले आफूखुस गर्न पाउने हो । आमा भुकुमारी बाचुन्जेल वादीले पालनपोषण गरेकै छैन । काजकिरिया पनि म भैरवकुमार र उत्तमकुमार भई गरियो । सो सम्पत्तिमा उत्तमकुमार पियाले दावी गर्न सकेको छैन, दावी नगरेबाट पनि मैले भाग लिन खान पाउने कुरामा विवाद छैन । तसर्थ सुरू त्रुटिपूर्ण फैसला बदर गरी प्रतिउत्तर जिकिरबमोजिम न्याय इन्साफ पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादीहरूको पुनरावेदन अदालत, हेटौंडामा परेको पुनरावेदनपत्र ।
यसमा यसै लगाउको मुद्दामा प्रत्यर्थी झिकाउने आदेश भएकाले प्रस्तुत मुद्दामा पनि अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थी झिकाई नियमानुसार पेस गर्नु भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, हेटौंडाको आदेश ।
मिलापत्र वादी प्रतिवादीबीच सहमतिबाट हुनेमा उक्त मिलापत्रबाट प्रतिवादी भुकुमारीले मिति २०५१।३।२ मा अंशबन्डाबाट प्राप्त गरेका सम्पत्तिहरू प्रतिवादी भैरवकुमार पियासमेतले अंशबापतमा लिन पाउने गरी मिलापत्र गरेको पाइन्छ । यसबाट यो मिलापत्र प्रतिवादी-प्रतिवादी बीचसमेत भएको पाइन्छ । त्यस्तो मिलापत्रको कानूनी मान्यता शून्य हुने हुँदा प्रतिवादी भुकुमारीका नाउँको सम्पत्ति सो मिलापत्रका आधारमा प्रतिवादीहरूले बन्डा गरिलिन सक्ने देखिँदैन । प्रतिवादी भुकुमारीको सम्पत्ति निजको मृत्युपश्चात सबै छोराहरूमा बराबर हक लाग्ने देखिएको हुँदा मिति २०५८।५।२४ मा भएको उक्त मिलापत्र कानूनबमोजिम भए गरेको नदेखिँदा वादी श्यामकुमार पियाको हकजतिको हदसम्मको उक्त मिलापत्र बदर हुने नै हुँदा पुनरावेदन जिकिर तथा पुनरावेदक प्रतिवादीहरूतर्फका विद्वान् अधिवक्ताको बहस जिकिरसमेत कानूनसम्मत नहुँदा सहमत हुन सकिएन । तसर्थ उपर्युक्त विवेचित आधार प्रमाणसमेतका आधारमा सुरू चितवन जिल्ला अदालतबाट वादी दावी अनुसार ३ भागको १ भाग भैरवकुमार पियाको नाउँमा भएको मिलापत्र, दा.खा. नामसारी बदर गरी वादीको नाउँमा हक कायम हुने ठहर्याई मिति २०६३।११।१६ मा भएको फैसला मिलेकै हुँदा सदर हुने ठहर्छ भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, हेटौंडाको मिति २०६६।५।९ को फैसला ।
आमा भुकुमारीसमेतका अंशियारमा मिति २०५१।३।२ मा अंशबन्डा भएको र सो बन्डाबमोजिम आमा भुकुमारी अलग भिन्न भएको तथ्यमा विवाद छैन । वादी उदयकुमार पियासमेतले विपक्षी श्यामकुमार पियासमेतलाई विपक्षी बनाई चितवन जिल्ला अदालतमा भएको मिति २०५८।५।२४ को मिलापत्र मुलुकी ऐन, अ.बं. ८६ नं. बमोजिम बदर गरिपाउँ भनी नालिस परेको र सो मुद्दामा हालका यी वादी श्यामकुमारले मिति २०५९।३।२४ मा प्रतिउत्तर दिनुभएको, सो प्रतिउत्तरको प्रकरण नं.१(ख) मा "प्रतिवादीहरूबीच मिति २०५८।५।२४ मा यसै अदालतबाट अंश मुद्दामा मिलापत्र गरी अंशबन्डा गरिलिनु दिनु भई भोगमा रहेकाले विपक्षीहरूको झुट्ठा फिराद दावी खारेजभागी छ" भन्नेसमेतको व्यहोरा रहेको छ । विपक्षी वादी भएको मिति २०६३।१।६ मा चितवन जिल्ला अदालतमै दर्ता भएको प्रस्तुत मिलापत्र हक कायम भन्ने फिरादको प्रकरण नं. ८ समेतमा मिति ०५८।५।२४ को मिलापत्र दा.खा.नामसारीसमेत बदर गरिपाउँ भन्ने व्यहोरा भई मुलुकी ऐन, अ.बं. ८६ नं. को हदम्यादको कानूनी आधार लिइएको छ । "मिलापत्रले जसको हक जाने रहेछ त्यसैले थाहा पाएको पैतीस दिनभित्र नालिस दिए इन्साफ गरिदिनुपर्छ" भन्ने सोही ऐनको ८६ नं. मा कानूनी व्यवस्था भएकोमा मिति ०५८।५।२४ को मिलापत्रको जानकारी विपक्षीले मिति ०५९।३।२४ मै प्रतिवाद गर्दा थाहा पाइसक्नुभएको र सो विवादमा झुट्ठा फिरादपत्र खारेज गरिपाउँ भन्नेसमेतको व्यहोरा रहेको हुँदा अ.बं. ८६ नं. को ३५ दिने हदम्याद गएको नालिसलाई खारेज गर्नुपर्नेमा इन्साफ गरेको सुरू र पुनरावेदन अदालतको फैसला मिति २०५९।३।२४ को प्रतिउत्तर व्यहोराको विपरीत छ ।
आमा भुकुमारी पिया मिति २०५१।३।२ को बन्डाले आफ्नो अंश भाग लिई भिन्न भएको तथ्यमा विवाद छैन र विपक्षीले फिरादमा दावी गरेका जग्गा आमाको अंश भागमा परेको आमाको एकलौटी आफूखुस गर्न पाउने सम्पत्ति हो । भुकुमारीको अंश भागमा परेको सम्पत्ति आफ्नो जीवनकालमा जसलाई जुन व्यहोराले जसरी पनि दिन खुवाउन सक्नुहुन्छ । यसमा भुकुमारीबाहेक अरू कसैको हकमा खटनपटन हुँदैन । भुकुमारीको अंश भागको सम्पत्ति विपक्षी वादीलाई दिने खुवाउने इच्छा उहाँको हैन । मिति २०५१।३।२ मा अंशबन्डा भएपछि विपक्षीको फिरादमा उल्लेख भएकै कि.नं. ३१७२, ३१८०, ३१८१, ३१५९, ३१५१, ३१५६, ३१८६ र ३१९० समेतका जग्गाहरू "मेरो अंश भागको आफूखुसी गर्न पाउने जग्गा तिमी छोराहरू भैरवकुमार पिया र उत्तमकुमार पियाले आजका मितिसम्म मलाई स्याहार सम्भार गरी रिझाई आएको र अब उप्रान्त पनि यसैगरी स्याहार सुसार गर्दै गएमा मेरो शेषपछि तिमीहरू २ जनाले खान पाउने गरी दिएँ" भन्ने व्यहोरामा दिने उनै भुकुमारी लिने निवेदक भैरवकुमार भएको मालपोत कार्यालय, चितवनबाट र.नं. ३६९४ को शेषपछिको बकसपत्र मिति २०५२।७।१९ मा पारित भएको र यही जग्गाहरू निवेदक भैरवकुमार पियालाई मात्र हालैदेखि खान पाउने गरी दिने इच्छा भएकाले मिति २०५८।५।२४ मा मिलापत्रमार्फत आमाले निवेदक भैरवकुमार पियालाई हक हस्तान्तरण गरिदिनुभएको हो । शे.ब. दिनेलाई हालैदेखि खान पाउने गरी मिलापत्रमार्फत हक छाड्नुमा कुनै कानून र व्यवहारको विपरीत हुँदैन । तसर्थ सुरू र पुनरावेदन अदालतको फैसला प्रमाण ऐन, २०३१ को दफा ३ र ५४ समेतको विपरीत छ ।
अंश नहुँदै पनि कुनै अंशियारले आफ्नो अंश भागमा पछि आउन सक्ने सम्पत्ति शेषपछिको लिखत गरिदिन सक्छन् । बन्डामा कुनै सर्त बन्देज भए पनि अंशको नैसर्गिक हकबाट प्राप्त सम्पत्तिलाई अरूले खटनपटन गर्न सक्तैनन् । "बन्डामा शेषपछि खान पाउने भने पनि जिउनीको जग्गा बाबुले सौतेनी आमालाई दिन पाउने" भन्ने सर्वोच्च अदालत बुलेटिन वर्ष १५, अङ्क ११, पृष्ठ ७ मा तथा आफ्नो हकसम्म बकस गर्न पाउने भन्ने नेकाप २०५५ को पृष्ठ ४५१ मा र आखिरसम्म स्याहार सम्भार पुर्याउनेलाई बकस दिन हुने भन्ने नेकाप २०५१ को पृष्ठ ८२४ मा नजिर कायम छ । आफ्नो अंश हकको सम्पत्ति भनेको मन परेका तथा स्याहार सम्भार गरी रिझाएका अंशियार हकवाला तथा बाटो हिड्ने बटुवालाई पनि दिन पाउने सम्पत्ति हो । यो अधिकार नदिने हो भने वृद्ध रोगी असहाय र विरामीको स्याहार सम्भार कसैले गर्दैन । सम्पत्तिका लोभले नै त्यस्ता वृद्ध रोगीहरूको स्याहार सम्भार पुग्ने हुन्छ । आमा भुकुमारीको आखिरसम्म निवेदकले स्याहार सम्भार गरी रिझाएको भन्ने कुरा मिति २०५८।५।२४ को मिलापत्रमार्फतको हक हस्तान्तरण र मिति २०५२।७।१९ को शेषपछिको लिखत र सो लिखतमा भएको व्यहोरा पनि प्रमाणित भएको छ । सो कारणले पनि सुरू र पुनरावेदन अदालतको फैसला उल्लिखित नजिरसमेतको विपरीत छ ।
तसर्थ चितवन जिल्ला अदालतको मिति २०६३।११।१६ को फैसलालाई सदर गर्ने गरी भएको पुनरावेदन अदालत, हेटौंडाको मिति २०६६।५।९ को फैसला मिलेको नहुँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) बमोजिम मुद्दा दोहोर्याई हेर्ने अनुमति पाउँ भन्ने प्रतिवादीहरूको निवेदन व्यहोरा ।
यसमा निवेदक प्रतिवादी तथा विपक्षी वादीकी आमा भुकुमारीले आफ्नो अंश भागको विवादित सम्पत्ति अंश मुद्दामा मिलापत्र गरिदिन नमिल्ने भन्ने अवस्था नभएको र विपक्षी वादीले सो मिलापत्रको जानकारी विवादित मिलापत्र बदर गरी पाउन परेको उदय कुमार पियाको फिरादपत्रमा प्रतउत्तर फिराउँदा २०५९ सालअगावै थाहा पाइसकेको अवस्थामा २०६३ सालमा थाहा पाएँ भनी परेको फिरादपत्रमा उठेको हदम्यादतर्फको प्रमाणको मूल्याङ्कन नगरी सुरूको इन्साफ सदर गर्ने गरी भएको पुनरावेदन अदालत, हेटौंडाको इन्साफमा मुलुकी ऐन, अ.बं. ८६, १८४क, १८५ अंशबन्डाको महलको १९(४) तथा यस अदालतबाट नेकाप २०६०, पृष्ठ १६०, नेकाप २०५६, नि.नं. ६७२९, पृष्ठ ३९२ समेतमा प्रतिपादित सिद्धान्तसमेतको त्रुटि देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) बमोजिम मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गरिदिएको छ । विपक्षी र सुरू, रेकर्ड तथा भए प्रमाण मिसिलसमेत झिकाई नियमानुसार गरी पेस गर्नु भन्ने यस अदालतको आदेश ।
मिति २०५१ सालमा गरिएको बन्डाबमोजिम आमा भुकुमारीका अंश भागमा विवादको कि.नं. ३१७२, ३१८०, ३१८१, ३१५०, ३१५१, ३१८६, ३१९०, ३६८३, ३६८७, ३६९८, ३७०३, ३६८४ हुन् भन्ने तथ्य निर्विवाद छ । २०५१ सालको बन्डाबाट भिन्न भएपछि पुनः सगोलको अंशियार कायम हुनको लागि रजिस्ट्रेसनको १ नं. बमोजिम पारित भएको लिखत हुन अनिवार्य छ । वस्तुतः २०५१ सालमा भिन्न भएपछि पुन: सगोलमा बसेको कुनै प्रमाण नभएकोबाट माता भुकुमारी, उहाँको छोरा म श्यामकुमार, स्व.ध्रुवकुमार तथा भैरवकुमार र उत्तमकुमार एकासगोलको नभई भिन्न भएको अंशियार रहेको प्रष्ट छ ।
पारित लिखतबाट अंशबन्डा भैसकेको तथ्यलाई लुकाई भैरव कुमारको श्रीमती निममायासमेतले अंश मुद्दाको फिराद चितवन जिल्ला अदालतमा दायर गरी मिति २०५८।५।२४ मा दूषितरूपले मिलापत्र भएको रहेछ । उक्त मुद्दाको मिलापत्रमा म संलग्न छैन । मूल अंशियारले जिल्ला अदालतमा मुद्दासमेत गरेको अवस्था छ । मैले पहिल्यै थाहा पाएको होइन फिरादमा उल्लेख गरेको मितिमा मात्र थाहा पाएको हुँ । उक्त मिलापत्रमा माताका अंशहकको बहुमूल्य पर्ने जग्गा रहेको तथ्यलाई लुकाई माता भुकुमारीलाई बाटो नभएको गोरखा जिल्ला, गाईखुर १ को दुई कित्ता कि.नं. ६०२ र ६०५ को जग्गा अंश भागमा राखी माताका नामको जग्गा भैरव कुमारको अंश भागमा परेको भनी कथित मिलापत्र भएको छ । २०५१ सालको अंशबन्डा लिखत यथावत रहेकोमा उनै अंशियारसमेत बीच पुनः अंश अंशबन्डा गर्ने गरी मिलापत्र हुनै सक्तैन । सो मिलापत्र दूषित रहेको र त्यस्तो मिलापत्रले कानूनी मान्यता पाउन नसक्ने र हदम्यादसमेत बाधक नहुने प्रष्ट छ । लगाउको अपुताली हक कायम मुद्दामा उत्तमकुमार र विपक्षीमध्येका भैरवकुमारले यसै अदालतमा दायर गरेको निवेदनपत्रको प्रकरण ३ मा आमा र हामी छोराहरूबीच ०५१।३।२ मा बन्डा भएको तथ्यमा विवाद छैन भनी उल्लेख गरेबाट २०५१ को बन्डालाई स्वीकार गर्न पुगेकाछन् भने प्रस्तुत मुद्दामा लगाएको प्रतिउत्तरपत्रको प्रकरण (ङ) मा फिरादपत्रमा ०५१।३।२ मै कानूनको रीत पुर्याई छुट्टिभिन्न भएको भनी लेखिएको फिराद व्यहोरा शत प्रतिशत झुट्टा हो भन्ने उल्लेख गरेबाट विपक्षीले नियतवश उक्त मुद्दामा २०५१ को बन्डा लिखतविपरीत मुद्दा पारी मिलापत्र गराएको र प्रस्तुत मुद्दामा यथार्थ तथ्य लुकाई अदालतलाई समेत जानाजानी गुमराहमा पार्न खोजी २०५१ को बन्डा लिखतबाट माताका अंश भागमा परेको सम्पत्ति जसरी पनि आफूले एकलौटी गरी मलाई उक्त सम्पत्तिबाट वञ्चित गर्ने उद्देश्य राखेको स्वतः सिद्ध छ ।
माताको देहान्तपछि सबै छोराले बराबर खान पाउने सम्पत्तिलाई एकलौटी पार्ने कलुषित भावनाबाट दूषितरूपले एकपटक कानूनबमोजिम अंशबन्डा भैसकेको प्रमाण कागजलाई खण्डित गर्ने गरी त्यस्तो वस्तुनिष्ठ प्रमाणको प्रतिकूल हुने गरी मिलापत्र गर्न मिल्दैन । देखादेखी प्रमाण र कानूनको विपरीत गरिएको मिलापत्र बदरयोग्य रहेको र जिल्ला र पुनरावेदन अदालतबाट वादी दावीबमोजिम बदर हुने ठहर गरेको फैसलामा कुनै त्रुटि रहेको छैन ।
विपक्षीहरूबीच मुद्दा परी भएको मिलापत्रको म वादी प्रतिवादी होइन । उक्त मिलापत्रमा म संलग्न छैन । सो मिलापत्र पहिल्यै नै मैले थाहा पाएको अवस्था छैन । छुट्टै सुन्तली पियाले मसमेतउपर दिएको मुद्दामा मैले मिलापत्र गरेको कारणबाट विवादको मिलापत्र थाहा पाएको ठहर हुनै सक्तैन । उदयकुमार पियाले मिलापत्र बदर गरिपाउँ भनी फिराद दिएको वादी सुन्तली पिया भएको मुद्दाको मिलापत्र बदर गरिपाउँ भन्ने हो मैले सोही मुद्दाको मिलापत्र बदर गरिपाउँ भनी दिएको फिराद औचित्यहीन एवम् झुट्ठा हो भनी उदयकुमारसमेतसँगको मुद्दामा दिएको प्रतिउत्तरबाट विपक्षीहरूबीच भएको मिलापत्र थाहा पाएको निष्कर्षमा पुग्न मिल्दैन । मुद्दा दोहोर्याई पाउँ भनी दिएको निवेदनपत्रको प्रकरण ४ समेतमा उल्लेख गरेका कथन र त्यस्तो तथ्यविपरीतको दावी जिकिरको आधारमा मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गरिँदा लिएको आधार मिलेको छैन ।
तत्काल प्रचलित कानूनबमोजिम माता भुकुमारी पियाले आफ्नो अंशहकको सम्पत्तिसमेत आफूखुस गर्न नपाउने प्रष्टै छ । त्यसका अतिरिक्त विवादको मिलापत्र हुँदा भुकुमारी पियासमेतका विपक्षीहरूले २०५१ सालको बन्डा लिखतबमोजिम भुकुमारी पियाको अंश भागमा परेको जग्गा हुँदा भैरवकुमार पियाले पाउने गरी लियौं दियौं भनी मिलापत्र भएको समेत होइन । सम्पूर्ण तथ्य लुकाई निर्विवाद बन्डा लिखतको प्रतिकूल मिलापत्र गरिएको हुँदा अंशबन्डाको १९(४) को अवस्था प्रस्तुत विवादमा रहेकै छैन । निस्सा प्रदान गर्दा उल्लिखित नेकाप २०६०, पृ. १६० सामुदायिक वनको कर असुलीसँग सम्बन्धित विवादमा कायम भएको सिद्धान्त हो । त्यस्तै नेकाप २०५६, नि.नं. ६७२९, पृ. ३९२ मा स्थापित सिद्धान्त विवादरहित शेषपछिको बकसपत्र लिखतबाट पाएको सम्पत्ति पाउनेको एकलौटी हुने कि बन्डा लाग्ने भन्ने सिद्धान्त कायम भएको हो । प्रस्तुत विवाद त्यस्तो प्रकृतिको नभएको र गरिएको मिलापत्र बदरमा दावी रहेको हुँदा जुन कानून तथा सिद्धान्तको आधारमा निस्सा प्रदान भएको हो सो निस्सा आधार नै नमिलेको हुँदा विपक्षीको पुनरावेदनपत्र ग्रहणयोग्य छैन ।
माथिका प्रकरणमा उल्लेख गरेबमोजिम विपक्षीहरूले २०५१ सालमै अंशबन्डा भैसकेको तथ्यलाई लुकाई अंश मुद्दा गरी दूषितरूपले माताका अंश भागको जग्गा विपक्षीका भागमा राख्ने गरी भएको मिलापत्र दूषित कानूनप्रतिकूलको मिलापत्र हुँदा सुरू जिल्ला र पुनरावेदन अदालतबाट सबै प्रमाण बुझी प्रमाणको मूल्याङ्कन गरी मिलापत्र बदर हुने आधार कारणसमेत देखाई गरेको फैसलामा कुनै त्रुटि नरहेको र न्यायको दृष्टिले समेत परिवर्तनयोग्य रहेको नहुँदा विपक्षीको पुनरावेदन जिकिरबमोजिम गर्न मिल्ने होइन । तल्ला अदालतबाट भएको फैसला नै यथावत सदर कायम गरी न्याय पाउँ भन्ने वादी श्यामकुमार पियाको लिखित प्रतिवाद ।
नियमबमोजिम पेसीसूचीमा समावेश भै इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीहरूको तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री शम्भु थापा, श्री बालकृष्ण न्यौपानेले वादी प्रतिवादीहरू मिति २०५१।३।२ मा बन्डापत्र पास गरी छुट्टिभिन्न भएकोमा विवाद छैन । कानूनबमोजिम छुट्टिभिन्न भै बसेका अंशियारहरूले आफ्नो अंश भागमा परेको सम्पत्ति जुनसुकै तवरबाट पनि जो कसैलाई दिन सक्ने कानूनी व्यवस्था हो । सोबमोजिम यी पुनरावेदक प्रतिवादीहरूलाई आमा भुकुमारीले मिलापत्र गरी दिएको कार्य कानूनविपरीतको होइन । छुट्टिभिन्न भएको आमाले आफ्नो अंशबापतको सम्पत्ति आफूलाई पालन पोषण एवम् हेरचाह गर्ने छोरा बुहारीलाई दिन मिल्दैन भन्न मिल्ने होइन । २०५१ सालको बन्डापत्रलाई वादीले प्रश्च उठाउन सकेको अवस्था छैन । सो बन्डापत्रमा आमाको सम्पत्तिको बारेमा कुनै सर्त राखेको अवस्था पनि छैन । आमाले आफ्नो भागको सम्पत्तिको हक हस्तान्तरण गर्न छुट्टिभिन्न भै बेग्लै बसेका छोराहरूको मञ्जुरी लिनुपर्ने अवस्था पनि होइन । तसर्थ सुरू चितवन जिल्ला अदालत तथा पुनरावेदन अदालत, हेटौंडाबाट भएको फैसलामा कानूनी त्रुटि भएको हुँदा उल्टी गरी वादी दावी खारेज हुनुपर्दछ भनी बहस गर्नुभयो ।
प्रत्यर्थी वादीको तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री हरिहर दाहाल र श्री श्यामप्रसाद खरेलले आमा भुकुमारी पिया तथा तिनका छोराहरूबीच मिति २०५१।३।२ मा बन्डापत्र भएकोमा विवाद छैन । बन्डापत्र हुँदाको अवस्था तथा त्यसपछि पनि आमा भुकुमारी पिया कुनै छोरा बुहारीसँग मानो जोडिएर सगोलमा बसेको अवस्था छैन । सगोलमा नरहेर बेग्लै बसेकी आमाले आफ्नो अंश भागको सम्पत्ति एउटा छोरालाई मात्र दिन मिल्दैन । सबै छोराहरूलाई बराबर हक लाग्दछ । फेरि प्रतिवादीहरूले मात्र आमाको पालनपोषण एवम् संरक्षण गरेको अवस्था पनि छैन । सगोलमा नरहेका छोरा बुहारीलाई सगोलमा रहे भएको जस्तो गरी सम्पत्ति दिएको मिलेको छैन । मुद्दा दोहोर्याउने निस्सा प्रदान गर्दा उल्लेख गरिएका नजिरहरू यसमा आकर्षिक हुने होइनन् । तसर्थ सुरू चितवन जिल्ला अदालतबाट वादी दावीबमोजिम हुने गरिएको फैसला सदर गर्ने गरी भएको पुनरावेदन अदालत, हेटौंडाको फैसला मिलेको हुँदा सदर हुनुपर्दछ भनी बहस गर्नुभयो ।
मिसिल अध्ययन गर्दा बाबु रेवतीप्रसाद र आमा भुकुमारीको तर्फबाट हामी छोराहरू श्यामकुमार पिया, भैरवकुमार पिया, उत्तमकुमार पिया र ध्रुवकुमार पियाको जायजन्म भै आमा र हामीबीच मिति २०५१।३।२ मा अंशबन्डा गरी बेग्लाबेग्लै बसेकोमा सगोलमा नरहेकी आमा भुकुमारीले आफ्नो जग्गा भैरवकुमार र उत्तमकुमार पियासमेतलाई मिति २०५८।५।२४ मा मिलापत्र गरी हक हस्तान्तरण गर्नुभएको रहेछ । आमाको शेषपछि सो सम्पत्तिमा मेरो पनि अंश हक रहने र मेरो हक मेटाउने उद्देश्यले गरेको मिलापत्र बदर गरी दावीबमोजिम हक कायम गरिपाउँ भन्ने भैरवकुमार पियाको फिराद दावी र वादी दावी झुट्ठा हो, हामीहरू मिति २०५१।३।२ मा बन्डा गरी बेग्लाबेग्लै बसेकोमा आमा भुकुमारीलाई दाजु भैरवकुमार पियाले पालन पोषण गरेको होइन । हामीहरूले हेरचाह पालनपोषण गरी आएको अवस्थामा निममाया पियाले अंश मुद्दा हालेपश्चात आमाले मिति २०५८।५।२४ मा मिलापत्रबाट निजको अंश हकबाट प्राप्त सम्पत्ति हामीलाई दिनुभएको हो । यसमा वादीको हक लाग्ने होइन । अंशहकबाट प्राप्त सम्पत्ति आमाले आफूखुस गर्न पाउने हुँदा वादी दावी खारेज गरिपाउँ भन्ने प्रतिउत्तर जिकिर भएकोमा वादी दावीबमोजिम आमाको अंश भागमा परेको सम्पत्तिमा वादी श्यामकुमार पियाको समेत हक लाग्ने हुँदा निजको हक लाग्ने ३ भागको एक भाग भैरवकुमार पियाको नाउँमा भएको दा.खा. नामसारी बदर गरी वादीको नाउँमा हक कायम हुने ठहर्छ भन्ने चितवन जिल्ला अदालतबाट भएको फैसला सदर गर्ने गरी पुनरावेदन अदालत, हेटौंडाबाट भएको फैसला मिलेन भनी प्रतिवादीहरूको यस अदालतमा मुद्दा दोहोर्याई हेरी पाउँ भन्ने निवेदन परी मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान भै प्रस्तुत मुद्दा पुनरावेदन दायरीमा दर्ता हुन आएको देखिन्छ ।
मिसिल अध्ययन गरी पुनरावेदक प्रतिवादी तथा प्रत्यर्थी वादी दुबै पक्षको तर्फबाट उपस्थित विद्वान् कानून व्यवासायीहरूको बहससमेत सुनी निर्णयतर्फ विचार गर्दा निम्न प्रश्नहरूको निरूपण गर्नुपर्ने हुन आयो :
१. छुट्टिभिन्न भै बेग्लै बसेकी आमाले बन्डापत्रबाट प्राप्त भएको सम्पत्ति आफूखुसी गर्न पाउने हो होइन ?
२. वादी दावीबमोजिम हुने गरी चितवन जिल्ला अदालतबाट भएको फैसला सदर गर्ने गरी पुनरावेदन अदालत, हेटौंडाबाट भएको फैसला मिले नमिलेको के हो ?
३. प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो होइन ?
२. अब, बन्डापत्र पारित गरी छुट्टिभिन्न भएको आमाले आफ्नो अंश भागमा परेको सम्पत्ति आफूखुस हक हस्तान्तरण गर्न पाउने हो कि त्यसमा बेग्लै बसेका सबै छोराहरूको समेत हक लाग्ने हो भन्ने पहिलो प्रश्नको सम्बन्धमा विचार गर्दा, सर्वप्रथम मुलुकी ऐन, स्त्री अंशधनको महलको १ र ५ नं. को कानूनी मान्यता हेर्नुपर्ने हुन्छ । सो महलको १ नं. मा "कन्या वा सधवा वा विधवा स्वास्नी मानिसले आफ्नो आर्जनको चल अचल आफ्नो खुस गर्न पाउँछन्" भनी उल्लेख भएको देखिन्छ । यस कानूनी व्यवस्थाअन्तर्गत आफ्नो आर्जनको सम्पत्तिभित्र कुनै स्त्रीले प्राप्त गरेको सम्पत्ति पर्न आउँदछ । अंशबन्डाबाट प्राप्त भएको, दाइजो, पेवा, दानबकस वा अपुतालीबाट किन नहोस जुनसुकै तवरबाट प्राप्त भएको सम्पत्ति यसअन्तर्गत पर्दछ । अंशबन्डाबाट आफ्नो हक भोग तथा स्वामित्वमा रहेको सम्पत्ति जुनसुकै व्यहोराबाट पनि जो कोहीलाई दिन हक हस्तान्तरण गर्न पाइने कुरामा दुईमत हुन सक्तैन ।
३. प्रस्तुत मुद्दामा स्व. रेवतीप्रसादका श्रीमती भुकुमारी र छोराहरू श्यामकुमार पिया, भैरवकुमार पिया, उत्तमकुमार पिया र ध्रुवकुमार पियाको बीचमा अंशबन्डा भै मिति २०५१।३।२ मा बन्डापत्र पारित गरिएको अवस्था देखिन आएकोछ । सो बन्डापत्रबाट आफ्नो नाममा रहन गएको सम्पूर्ण सम्पत्ति वादी प्रतिवादीहरूकी आमा भुकुमारीले सो स्त्रीअंशधनको महलको कानूनी व्यवस्थाबमोजिम आफूखुस गर्न र जुनसुकै तवरबाट जो कसैलाई पनि दिन पाउने सम्पत्ति रहेको देखिन्छ ।
४. विवादीत सम्पत्ति आमाको शेषपछि मैलेसमेत पाउने हो भन्ने वादी श्यामकुमार पियाको दावी रहेको देखिन्छ । आमालाई पालन पोषण एवम् स्याहार सुसार हामीले गरेकाले आमाले मिलापत्रबाट मसमेतलाई दिनुभएको हो भन्ने प्रतिवादी भैरवकुमार पियाको भनाई रहेको देखिन्छ । अंशबन्डापछि आमाको जीउ छउन्जेल मैले पालन पोषणा एवम् स्यहार सुसार गरेको हो भन्नसमेत वादी श्यामकुमार पियाले फिरादपत्रमा कहिँ कतै उल्लेख गर्न सकेको देखिँदैन । विवादित सम्पत्ति मलाई पालन पोषण एवम् स्याहार सुसार गरेको भनी मिति २०५२।७।१९ मा शेषपछिको बकसपत्र एवम् मिति २०५८।५।२४ को मिलापत्रको लिखतमा उल्लेख भएको देखिन आएको छ । जसलाई वादीले अन्यथा भन्न सकेको नहुँदा आमा भुकुमारीको पालन पोषण एवम् स्याहार सुसार प्रतिवादीहरूले नै गरेको देखिन आएको छ । स्त्री अंशधनको महलको ५ नं. बमोजिम पनि भुकुमारीले विवादित सम्पत्ति आफूलाई पालन पोषण गर्ने छोरा बुहारीलाई दिन मिल्ने नै देखिन आएको छ ।
५. वादी र प्रतिवादीहरू आमा भुकुमारी पियासँग २०५१।३।२ मा अंश बन्डा गरी बेग्लै भए तापनि छोराहरू उत्तमकुमार र भैरवकुमार पिया आमासँग साथमा रहेको कुरा मिति २०५८।५।२४ मा भएको मिलापत्रबाट देखिएको छ । यस मुद्दाका प्रतिवादी भैरव कुमार पियाको श्रीमती निममाया पिया वादी र भुकुमारी पियासमेत प्रतिवादी भएको सो मितिको मिलापत्रको व्यहोरा हेर्दा "हामीबीच मिति २०५८।२।२७ मा मानो छुट्टिएको र हालसम्म अंशबन्डा नभएकाले बन्डा गर्न मञ्जुर छौं" भनी उल्लेख भएको देखिन आएको छ । मुद्दाका वादी प्रतिवादीबीच सगोलमा रहेको भनी सहमति हुन्छ भने अदालतले निजहरू सगोलमा नरही बेग्लै रहेको भन्न मिल्ने अवस्था रहेन । पक्षहरू स्वयम्ले आफूहरू सगोलमा रहेको भनी अदालतमा पेस गरेको लिखतबाट स्वीकार गरेको अवस्थामा अंशबन्डाको महलबमोजिम मानो जोडिएको लिखतको अभावमा सगोलमा रहेको भन्न मिल्दैन भन्ने प्रत्यर्थी वादीको भनाइसँग सहमत हुन सकिएन । यस्तो स्थितिको व्यवहारलाई अंशबन्डाको महलको कानूनी व्यवस्थाविपरीत भएको व्यवहार भनी भन्न मिल्ने पनि देखिएन ।
६. यसरी अंशबन्डाबाट प्राप्त हुन आएको स्त्रीअंशधनअन्तर्गतको सम्पत्ति आफूलाई पालन पोषण एवम् हेरचाह गर्ने छोरा बुहारी एवम् नातिसमेतलाई बकसपत्र वा मिलापत्र जुनसुकै व्यहोराबाट पनि हक हस्तान्तरण गर्न सक्ने कानूनी अवस्था भएको र मिलापत्रबाट हक हस्तान्तरण भएको स्थितिलाई मान्यता दिनुपर्नेमा सोलाई बदर गर्ने गरी सुरू चितवन जिल्ला अदालतबाट मिति २०६३।११।१६ मा भएको फैसला सदर गर्ने गरी मिति २०६६।५।९ मा पुनरावेदन अदालत, हेटौंडाबाट भएको फैसला मिलेको देखिएन । तसर्थ सुरू जिल्ला अदालतको सो फैसला सदर गर्ने गरिएको पुनरावेदन अदालतको फैसला उल्टी भै वादी दावी पुग्न नसक्ने ठहर्छ । अरू तपसिलबमोजिम गर्नू ।
तपसिल
यसमा वादी माथि ठहर खण्डमा उल्लेख भएबमोजिम भुकुमारी पियाको नाममा रहेको सम्पत्तिको १/३ भागमा वादी श्यामकुमार पियाको अपुताली हक कायम हुने गरी सुरू चितवन जिल्ला अदालतको फैसला सदर गर्ने गरी पुनरावेदन अदालत, हेटौंडाबाट भएको फैसला उल्टी भै वादी दावी पुग्न नसक्ने गरी फैसला भएकाले सुरू जिल्ला अदालतबाट भएको फैसलाको तपसिल खण्डको औचित्य नरहेकाले सो तपिसलको लगत कट्टा गर्नु भनी सुरू चितवन जिल्ला अदालतमा लेखिपठाउनू ---------------------------- १
यसमा ठहर खण्डमा उल्लेख भएबमोजिम वादी दावीबमोजिम गर्ने गरी सुरू चितवन जिल्ला अदालतबाट भएको फैसला सदर हुने गरी पुनरावेदन अदालत, हेटौंडाबाट भएको फैसला उल्टी भै वादी दावी पुग्न नसक्ने गरी फैसला भएकाले प्रतिवादीले पुनरावेदन अदालत, हेटौंडामा पुनरावेदन गर्दा राखेको सुरू कोर्ट फि रू.२१५२९।५० बापत उत्तमकुमार पियाको नाममा रहेको जग्गाहरू जेथा जमानतमा राखेको देखिँदा सो जेथाबापतको सम्पत्ति फुकुवा गरिदिनु भनी सम्बन्धित अदालतमा लेखिपठाउनू ------------------------ २
दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाइदिनू ------------------------ ३
उक्त रायमा सहमत छु ।
न्या. गोपाल पराजुली
इति संवत् २०७१ साल भदौ १८ गते रोज ४ शुभम् ।
इजलास अधिकृत : चाणकमणि अर्याल