शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६६३० - कुत दिलाई मोही निष्कासन

भाग: ४० साल: २०५५ महिना: फागुन अंक: ११

निर्णय नं. ६६३०           अंक ११            ने.का.प. २०५५

संयुक्त इजलास

माननीय न्यायाधीश श्री कृष्णजंग रायमझी

माननीय न्यायाधीश श्री उदयराज उपाध्याय

सम्वत २०५१ सालको दे.पु..नं........२३८९

फैसला मितिः २०५५।०५।८।२

मुद्दाः कुत दिलाई मोही निष्कासन ।

पुनरावेदक/प्रतिवादीः जिल्ला सप्तरी गा.वि.स. पन्सेरा वडा नं. ६ बस्ने महमुद मिया ।

विरुद्ध

प्रत्यर्थी /वादी : ऐ.ऐ. बस्ने सदिक मिया ।

§  वादी दावीको जग्गाहरुको जग्गाधनी र प्रतिवादी मोही भएको कुरामा विवाद देखिदैन । २०४७ सालको कुत बाली प्रतिवादीले कानून बमोजिम समय मै जग्गावालालाई बुझाएको भरपाइ पेश नभएको र जग्गावालाले नबुझेबाट धरौटी राखेको भन्ने देखिन आएन । विवाद परे पछिका २०४८ र २०४९ सालको कुतबाली भूमि सुधार कार्यालय सप्तरीमा धरौट राखेकोमा जग्गावालाले उक्त धरौट बुझि लिएको कुरा मिसिल संलग्न धरौट रसिदको प्रतिलिपिबाट देखिन्छ । उक्त कुत बापतको धरौट रहेको रकम बुझी लिएको कारणबाट जग्गावालाले प्रतिवादीलाई मोही मानेको हो कि भन्नलाई अधिकार प्राप्त अदालत वा निकाय बाट मुद्दामा मोही निष्कासन हुने नहुने ठहर नभए सम्म जग्गावालाले मोहीलाई जग्गा भोग गर्न बाट हस्तक्षेप गर्न मिल्ने अवस्था नहुने र मोहीले जग्गा कमाइ रहेको अवस्थामा आफ्नो जग्गाको कृतवाली खान पाउने हक जग्गावालाको भएकोले धरौटी रहेको कुतवाली जग्गावालाले बुझेकै कारणबाट विवाद परेको साल पछि पनि मोही स्वीकार गरेको भन्न नमिल्ने ।

(प्र.नं. १३)

पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री वालकृष्ण न्यौपाने

वादी तर्फबाटः विद्वान अधिवक्ता श्री मदन मोहन चौधरी

अवलम्वित नजिरः २०५१ सालको दे.पु.नं २५९५ चेथरु मण्डल विरुद्ध रानी दिल कुमारी राणा भएको कुत दिलाई मोही निश्काषन मुद्धामा प्रतिपादित सिद्धान्त ।

फैसला

      न्या.कृष्णजंग रायमाझी : पुनरावेदन अदालत, राजविराजको २०५०।१२।३० को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अन्तर्गत यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्धाको संक्षिप्त विवरण तथा ठहर यस प्रकार छः

      २. मेरा नाउ दर्ताको सप्तरी गा.वि.स. पसेरा वार्ड नं. ६ (क) कि.नं. ४६७ को ०-४-२ १/२ ऐ. कि.नं. ४६८ को ०-४-२ १/२ दोयम जग्गाको विपक्षी मोहीले २०४७ सालको हुने कुत वाली मलाई नदिई धरौट समेत नराखेकोमा हुने कुत ४-२९-० दिए धानै नदिए प्रतिमन रु.१४४ ले हुने रु.६८४। दिलाई भराई मोहीबाट समेत निष्कासन गरी पाउ भन्ने वादी दावी ।

      ३. दाविको कुत नाप तौल गरी बुझाई दिएको छु, लेख्ने मानिस भए पछि ल्याई दिउला भनेको हुँदा विश्वासमा थिए वादीलाई कुत बुझाउन बाँकी छैन भन्ने प्रतिउत्तर जिकिर ।

      ४. यसमा बिना भरपाई वाली बुझाए भन्न नमिल्ने, मोही निष्काशन गरी दिदा सुध्रिने मौका बाट वंचित हुने भएकोले मोही हक यथावत राखी कुत रु. ६८४। वादीले प्रतिवादी बाट भराई लिन पाउने ठहर्छ भन्नेसमेत भू.सु का सप्तरीको ०५०।३।२० को फैसला ।

      ५. सुरुले मलाई हराई गरेको फैसलामा चित्त बुझेन, आफ्नो दायित्व प्रति उदासिन रहेकोल विपक्षको मोही हक यथावत राख्ने भनी टेकेको आधार आत्मपरक मात्र नभइ भु.सु. ऐन, २०२१ को दफा २९(१) को त्रुटिपूर्ण हुँदा सुरु निर्णय सो हद सम्म उल्टी गरी दावी बमोजिम इन्साफ पाउ भन्नेसमेत पु.वे. वादीको पुनरावेदन जिकिर ।

      ६. यसमा कुत दिलाइ मोही निष्काशन गरी पाउ भन्ने दावी भएकोमा मोहीलाई सुध्रने मौका दिने भनी कृत भराइ मोही निष्काशन नहुने ठहराएको सुरु निर्णय भु.सु. ऐन, २०२१ को दफा २९(१) प्रतिकूल भै फरक पर्न सक्ने देखिदा छलफल निमित्त अ.वं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, ०४८ बमोजिम प्रत्यर्थी प्रतिवादीलाई झिकाइ नियम अनुसार पेश गर्नु भन्ने ०५०।११।१७ को पुनरावेदन अदालत राजविराजको आदेश ।

      ७. म मोहीले जग्गाधनी प्रति गर्नु पर्ने कर्तव्य समेत पालन गर्दै आएको र ०४७ साल देखि अगाडिको र पछाडिको वर्षको कुत वाली समय मै बुझाएको ०४७ सालको कुत बुझ्न नमानी म्याद गुजारी दिएको हो । सुरु फैसला कायम राखी मोही हक सुरक्षित गरी पाउ भन्ने प्रत्यर्थी प्रतिवादीको लिखित प्रतिवाद जिकिर ।

      ८. मोहीले कुनै साल विना कारण कुतवाली नबुझाएमा त्यस्तो मोहीलाई सुध्रने मौका दिदै वादीले कृत भरी पाउने गर्न सकिने भूमि सम्वन्धी ऐन, २०२१ ले केही कतै व्यवस्था गरेको देखिदैन । वरु ऐनको दफा २९ (१) अनुसार मोही निष्काशन गरेको अवस्थामा मात्र ऐ. ऐनको दफा २९(३) अनुसार वाली समेत भ।राइ लिन सक्ने कानूनी प्रावधान रहेको देखिन आउछ । वादीले कुत भरी पाउने ठहरे तर्फ प्रतिवादीले चित्त बुझाई पुनरावेदन समेत गर्न आएको देखिदैन । यस्तो कानून विपरित गरी वाली सम्म भराइ दिने गरेको सुरुको फैसला कानूनतः त्रुटिपूर्ण देखिदा मोही निष्काशन नहुने ठहराएको हदसम्म केही उल्टी हुन्छ । प्रतिवादी वादीको जग्गाको मोहीहरु बाट निष्काशन हुने ठहर्छ भन्ने पुनरावेदन आदलत राजविराजको २०५०।१२।३० को फैसला ।

      ९. पुनरावेदन अदालतको उक्त मोही हकबाट निष्काशन हुने ठहराएको उक्त फैसलामा चित्त बुझेन म मोही भएकोले प्रत्येक सालको कुतवाली जग्गा धनीलाई बुझाई आएको छु । २०४८ र २०४९ सालको धरौटी राखेको कुत वाली वादीले बुझी लगेका छन् । २०५० सालको कुतबाली भु.सु. कार्यालयमा धरौटी राखेको छु । कुत बालीमा मुद्दा परे पछिको सालको कुत वाली जग्गा धनीले बुझी लिएको अवस्थामा वादीले मोही स्वीकार गरेको मानिन्छ । मोहीले जग्गा जोती साल सालको कुत बाली जग्गा धनीले बुझिरहेको अवस्थामा मोही निष्कासन गर्ने ठहराएको पुनरावेदन अदालतको त्रुटिपूर्ण फैसला वदर गरी मेरो मोही हक यथावत कायम राखी पाउ भन्ने पुनरावेदक प्रतिवादीको यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।

      १०. यसमा २०४७ सालको बालीमा मोही निष्कासनको मुद्दा परेपछि २०४८ र २०४९ सालको कुत बाली प्रतिवादीले धरौटी राखेको मा सो कुतबाली जग्गा धनीले बुझी लिएको देखिदा र ने.का.प. २०४८ को नि.नं. ४३३४ मा प्रतिपादित सिद्धान्तको आधारमा समेत पुनरावेदन अदालत राजविराजको इन्साफ फरक पर्ने देखिदा अ.वं. २०२ नं. र सर्वोच्च अदालत, नियमावली, २०४९ बमोजिम विपक्षी झिकाई नियम अनुसार पेश गर्नु भन्ने यस अदालतको २०५४।२।२७ को आदेश ।

      ११. नियम बमोजिम दैनिक पेश सूचिमा चढी निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदकका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री बालकृष्ण न्यौपानेले २०४७ सालको कुत बाली जग्गा धनीले बुझेका छन् । विवाद परेपछि २०४८, २०४९ सालको धरौटी राखेको कुत बाली जग्गा धनीले बुझी प्रतिवादीलाई मोही स्वीकजार गरको अवस्थामा मोही, निष्काशन समेत गरेको पुनरावेदन अदालत राजविराजको त्रुटिपूर्ण फैसला वदर गरी प्रतिवादीको मोही हक यथावत कायम राखी पाउ भनी वहस प्रस्तुत गर्नु भयो । प्रत्यर्थी वादीका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री मदन मोहन चौधरीले प्रतिवादीले २०४७ सालको कुत बाली जग्गा धनीलाई बुझाएको छैन । कुत बाली नबुझाई आफ्नो दायित्व पुरा नगर्ने प्रतिवादीको मोही हक समाप्त हुने भएकोले पुनरावेदन अदालतको फैब्सला सदर गरी पाउ भनी बहस प्रंस्तुत गर्नु भयो ।

      १२. उपरोक्त बमोजिम दुवै तर्फका विद्वान कानून व्यवसायीहरुको वहस जिकिर समेत सनी निर्णय तर्फ विचार गर्दा वादीका नाममा दर्ता रहेको कि.नं. ४६७ र ४६८ को जग्गाको प्रतिवादी मोहीले २०४७ सालको कुत वाली नबुझाएको तथा सम्वन्धित निकायमा धरौटी समेत नराखेकोले तथा सम्वन्धित निकायमा धरौटी समेत नराखेकोले वाली जग्गाधनीलाई बुझाएकोमा भरपार्इ दिएनन् । मोही निष्काशन हुन पर्ने होइन भन्ने प्रतिउत्तर जिकिर भएको प्रस्तुत मुद्दामा मोही निष्काशन नगरी प्रतिवादीलाई सुध्रने मौका दिइ मोही हक कायम राखी कुत वापत रु.६८४ वादीले प्रतिवादी बाट भरी पाउने ठहराइ २०५०।३।२० मा भूमि सुधार कार्यालय सप्तरी बाट निर्णय भएको पाइन्छ । सो फैसला उपर वादीले पुनरावेदन अदालत राजविराजमा पुनरावेदन गरेकोमा मोही निष्काशन नगर्ने गरेको सुरु भुमि सुधार कार्यालयको निर्णय केही उल्टी गरी मोही निष्काशन समेत हुने ठहराएको पुनरावेदन अदालत राजविराजको २०५०।१२।३० को फैसला उपर पुनरावेदक प्रतिवादी महमुद मियाको यस अदालतमा पुनरावेदन परेको देखिन्छ ।

      १३. यसमा वादी दावीको जग्गाहरुको जग्गा धनि र प्रतिवादी मोही भएको कुरमा विवाद देखिंदैन । २०४७ सालको कुत वाली प्रंतिवादीले. कानून बमोजिम समयमै जग्गावालालाई बुझाएको भरपाइ पेश नभएको जग्गावालाले नबुझेबाट धरौटी राखेको भन्ने देखिन आएन । विवाद परे पछिका २०४८ र २०४९ सालको कुत वाली भूमिसुधार कार्यालय सप्तरीमा धरौट राखेकोमा जग्गावालाले उक्त धरौ्रट बुझि लिएको कुरा मिसिल संलग्न धरौट रसिदको प्रतिलिपि बाट देखिन्छ । उक्त कुत वापतको धरौट रहेको रकम बुझि लिएको कारण बाट जग्गावालाले प्रतिवादीप्लाई मोही मानेको हो की भन्नलाई अधिकार प्राप्त अदालत वा निकायबाट मुद्दामा मोही निष्काशन हुने नहुने ठहर नभए सम्म जग्गावालाले मोहीलाई जग्गा भोग गर्न बाट हस्तक्षेप गर्न मिल्ने अवस्था नहुने र मोहीले जग्गा कमाइ रहेको अवस्थामा आफ्नो जग्गाको कुतवाली खान पाउने हक जग्गावालाको भएकोले धरौटी रहेको कुतवाली जग्गावालाले बुझेके कारण बाट विवाद  परेको साल पछि पनि मोही स्वीकार गरेको भन्न मिल्ने आवस्था आएन । विवाद परेको २०४७ सालको कुतवाली प्रतिवादीले वादीलाई बुझाएको भरपाइ प्रमाणको अभावमा मोहीयानिहक हक बाट निष्काशन नहुने भन्न मिल्ने अवस्था देखिएन । २०५१ सालको दे.पु.नं. २५९५ को पुनरावेदक प्रतिवादी चेथरु मण्डल प्रत्यर्थी वादी रानी दिल कुमारी राणा भएको कुत दिलाई मोही निष्काशन मुद्दामा प्रतिपादित सिद्धान्त समेतका आधारमा विवाद परेकोसाल पछि प्रतिवादीले धरौटी राखेको रकम वादीले बुझ्दैमा मोही स्वीकार गरेका भन्न मिल्दैन । तसर्थ पुनरावेदन अदालत राजविराजले प्रतिवादीलाई मोही हक बाट निष्काशन गर्ने गरेको मिति २०५०।१२।३० को इन्साफ मनासिव देखिदा सदर हुने ठहर्छ । पुनरावेदकको प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियम अनुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.उदयराज उपाध्याय

 

इति सम्वत् २०५५ साल भाद्र ८ गते रोज २ शुभम्........।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु