निर्णय नं. ६६३१ - जग्गा निखनाई पाउँ, हक सफा

निर्णय नं. ६६३१ अंक ११ ने.का.प. २०५५
संयुक्त इजलास
माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ
माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय
सम्वत २०५२ सालको दे.पु..नं........३६३४
आदेश मितिः २०५५।०३।१७।४
मुद्दाः जग्गा निखनाई पाउँ, हक सफा ।
पुनरावेदक/वादीः जि.मोरङ रंगेली गा.वि.स. वडा नं. ६ बस्ने तिनकौडी केवरत
विरुद्ध
प्रत्यर्थी /प्रतिवादी : ऐ.ऐ. बस्ने वृजलाल मण्डल केवरत समेत जना २ ।
§ राजिनामाको लिखतमा घरवारीको लागि खरिद गरेको भन्ने उल्लेख नभएको घरबारीकै लागि खरिद गरेको भए जग्गा राजिनामा गर्दाका वखत उक्त राजिनामाको कैफियत महलमा घरबारीको प्रयोजनको लागि भन्ने कुरा खुलाउन पर्ने थियो । सो को अभावमा केवल प्रतिउत्तर पत्रमा घरबारीको लागि खरिद गरेको भनी लेख्दैमा र साक्षीको भनाइको आधारमा मात्र घरबारीको लागि खरिद गरेको भन्न र मान्न कानून व्यवहार र प्रमाणबाट मिल्ने देखिदैन । त्यसैगरी प्रतिवादीको प्रतिउत्तर पत्र हेर्दा सो जग्गा आफ्ना नाममा दर्ता गराई सो जग्गामा ०४७ माघ १४ गतेमा राम्रो साइत हुँदा सोही मितिमा उक्त दावीको जग्गामा आफ्नो काँटा लगाइ बन्द व्यापार शुरु गरेको भनि प्रष्ट रुपमा बन्दव्यापारको लागि खरीद गरेकोलाई स्वीकारेकै पाइन्छ । बन्द व्यापार र घरबारी शव्द भिन्दाभिन्दै अर्थ र प्रयोजन लाग्ने शव्द हुन् । तसर्थ विवादको जग्गा प्रतिवादीलेृ घरबारीको लागि लिएको भनी मान्न नमिल्ने हुँदा निखनाई नपाउने ठहराएको पुनरावेदन अदालत विराटनगरको इन्साफ उल्टी भै निखन्न पाउने ठहराएको सुरु मोरङ जिल्ला अदालत इन्साफ सदर हुने ।
(प्र.नं. ११)
पुनरावेदक तर्फबाटः विद्वान अधिवक्ता द्वय श्री हरिहर दाहाल र युवराज भण्डारी ।
प्रत्यर्थी तर्फबाट : विद्वान अधिवक्ता श्री कमल नारायण दाश ।
अवलम्वित नजिर :
फैसला
न्या.गोविन्दबहादुर श्रेष्ठः पुनरावेदन अदालत विराटनगरको मिति ०५२।२।२८ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) अन्तर्गत दायर भइ पेश हुन आएको पनरावेदन सहित को मुद्दाको संक्षिप्त व्यहोरा एवं ठहर यस प्रकार छ ।
२. प्रतिवादी मध्येका शिवानन्द केवरतका नाममा दर्ता रहेको जि. मोरङ रंगेली गा.वि.स. वार्ड नं. ६(क) कि.नं. २०१ को ज.वि. ०–१-१० को म मोही भएकोमा सो जग्गा निज जग्गाधनी विपक्षी शिवानन्द केवरतले विपक्षी मध्येका वृजलाल केवरतलाई मिति २०४७।१०।९ मा मालपोत कार्यालय मोरङमा रु.४०००। मा विक्री गरी दिनु भएकोमा मोहीको हैसियतले जग्गा निखनाइ हक सफा गराइ पाउन लाई थैली रु.४०००। रजिष्ट्रेशन दस्तुर १५०। समेत जग्गम रु.४१५०। मालपोत कार्यालय मोरङमा धरौटी राखी हक सफा मुद्दा दायर गरेकोमा ०४७।१०।९ मा राजिनामा लेनदेन भएको रंगेली गा.वि.स. वार्ड नं. ६(क) कि.नं. २०१ को ज.वि. ०–१-१० दावी गरेकोमा वादी मोही भएतापनि वादीले हक सफा गर्नाउने ऐनको दफा गलत दावी गरेको भन्ने र उक्त जग्गामा प्रतिवादी मध्ये वृजलाले प्र. मध्यकै शिवानन्द बाट घरबारीको लागि किनेको हुँदा लेनदेन व्यवहारको १२(१) को प्रतिवन्धात्मक वाक्यांश घरबारीको लागि किनेको जग्गा वादीलेृ हक सफा गर्न नपाउने भनी प्रतिउत्तर व्यहोरा भै घरबारी हो होइन भन्ने प्रमाण बुझी ठहर गर्नुपर्ने अवस्था देखिएकोले यस स्थितिमा प्रमाण बुझि निर्णय दिन यस कार्यालयको अधिकार क्षेत्र भित्र नपर्ने हुँदा भू.सु.ऐन, रजिष्ट्रेशनको ३५ नं. बमोजिम म्याद भित्र अदालतमा जानु भनी वादीलाई सुनाई दिने भन्ने ०४८।८।६ मा मालपोत कार्यालय मोरङ बाट निर्णय भएको हुँदा म्याद भित्र फिरा गर्न आएको हुँ भन्ने मिति २०४८।९।११ को तिनकौडी केवरतको फिराद दावी ।
३. म वृजलाल मण्डलले शिवानन्द केवरत नाउँ दर्ता तिरोको जि. मोरङ रंगेली गा.वि.स. वार्ड नं. ६(क) को कि.नं. २०१ को जग्गा वि. ०-१-१० मा रु. ४०००। मा मिति २०४।१०।९ मा राजिनामा पारित गरी गराइ खरिद गरी लिएको ठीक हो । वृजलाल व्यापारी भएको हुँदा सो जग्गा घर गोदाम आदि बनाइ खरीद गरी लिएको र ०४७।१०।१४ देखि उक्त जग्गामा काँटा लगाइ व्यापार सुरु गरेको हो । जग्गा खरिद गर्दा फलाना कामको लागि भन्ने उल्लेख गर्न नपर्ने हुँदा राजिनामामा उल्लेख नभएको हो । तसर्थ मैले खरिद गरी लिएको जग्गा वादीले निखनाइ लिन पाउने होइन भन्ने वृजलालको व्यहोरा र वृजलालले आफ्नो प्रतिउत्तर व्यहोरामा उल्लेख गरे बमोजिम घर गोदाम बनाइ वन्द व्यपार गर्नको लागि उक्त जग्गा म बाट खरिद गरी लिएको हुँदा विपक्षीले दावी गरे बमोजिम हक निखनाइ पाउने होइन । तसर्थ दावीको जग्गा घरबारीको लागि खरिद गरी लिएको हुनाले लेनदेन व्यवहारको दफा १२(१) को प्रतिवन्धात्मक वाक्यांश बमोजिम विपक्षीले सो जग्गा निखन्ने हक अधिकार नभएको दर हद म्याद नघाइ थैली धरौट राखेको हुँदा विपक्षीले दावीको जग्गा निखन्न नपाउने हुँदा झुठा दावी बाट फुर्सद गराई पाउ भन्नेसमेत मित ०४८।११।६ को वृजलाल र शिवनन्दको संयुक्त प्रतिउत्तर पत्र ।
४. मोही भएको जग्गामा निजको हक समाप्त नभएको र मंजुरी समेत नलिएको अवस्थामा वादीको भोगको जग्गामा प्रतिवादीले भोग गर्न जाने अवस्था समेत नदेखिदा तिनकौडी केवरतले मा.पो.का. मोरङमा धरौट राखी निखनाइ पाउ भन्ने दावा लिएको देखिएकोले समेतले लेनदेन व्यवहारको १२(१) नं. ले वादीले दावी लिएको जि. रंगेली वार्ड नं. ६(क) कि.नं. २०१ को ०-१-१० विवादित जग्गा मोहीको हैसियतले निखनाई लिन पाउने ठहर्छ भन्ने मोरङ जिल्ला अदालतको ०५०।३।१४ को फैसला ।
५. मोरङ जि.अ.को मिति ०५०।३।१४ को फैसलामा चित्त बुझेन । घर बसोबास वन्द व्यपारको लागि जग्गा लिनु दिनु गरेको हुँदा हक सफा गर्न पाउने भनी भएको फैसला त्रुटिपूर्ण हुँदा वदर गरी इन्साफ पाउ भन्ने पुनरावेदन पत्र ।
६. यसमा घर बसोबासको लागि जग्गा खरिद गरेको भन्ने प्रतिवादीको जिकिरलाई समर्थन गर्ने गरी निजका साक्षीहरुको वक्सपत्र देखिएको र लेनदेन व्यवहारको १२(१) को प्रतिवन्धात्मक वाक्यांशको व्याख्याको परिप्रेक्ष्यबाट समेत सुरु फैसला विचारणीय हुँदा अ.वं. २०२ नं. बमोजिम विपक्षी झिकाई पेश गर्नु भन्ने पु.वे.अ. विराटनगरको मिति ०५१।६।११ को आदेश ।
७. विवादित जग्गा प्रतिवादीले घरबारीको प्रयोजनका लागि किनेको हो भन्ने कुरा निजको साक्षीको वकसपत्र बाट समर्थन भै रहेकोमा निखनाइ दिनुपर्ने ठहर गरेको सुरु जिल्ला अदालतको फैसला नमिलेको उल्टी हुन्छ । निखनाइ पाउ भन्ने वादी दावी पुग्न सक्दैन उल्टी हुने ठहर्छ भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत विराटनगरको मिति ०५२।२।२८ को फैसला ।
८. पुनरावेदन अदालतको फैसलामा अ.वं. १८४(क) प्रमाण ऐन, २०३१ को दफा ३.५४ समेतको त्रुटि विद्यामान भएकोले उक्त फैसला वदर गरी सुरु मोरङ जिल्ला अदालतको फैसला सदर गरी न्याय पाउ भन्नेसमेत व्यहोराको वादीको यस अदालतमा परेको पुनरावेदन पत्र ।
९. यसमा मिति २०४७।१०।९ को राजिनामा पास लिखतमा घरबारीको प्रयोजनका लागि खरिद गरेको भन्ने नदेखिएको वन्द व्यपार गर्ने प्रयोजनका लागि गोदाम घर बनाउन किनेको भन्ने साक्षीको बकाइ भइ सो खरिद भएको जग्गाको विषय लेनदेन व्यवहारको १२ नं. को देहाय दफा १ को प्रतिवन्धात्मक वाक्यांशमा उल्लेख घरबारीको परिभाषाभित्र पर्ने नदेखिदा निखनाइ दिन नमिल्ने भनी पुनरावेदन अदालत विराटनागरबाट भएको फैसला नमिली फरक पर्ने देखिदा अ.वं. २०२ नं. बमोजिम विपक्षी झिकाई आएपछि पेश गर्नु भन्ने यस अदालतको मिति ०५४।७।१९ को आदेश ।
१०. नियम बमोजिम दैनिक पेशी सूचिमा चढी पेश हुन आएको पुनरावेदन सहितको कागजात मिसील अध्ययन गरी पुनरावेदन तर्फबाट विद्वानद्वय अधिबक्ता श्री हरिहर दाहाल एवं युवराज भण्डारीले प्रतिउत्तर पत्रमा घरवारी उल्लेख गरेकै कारण्बाट विवादित जग्गालाई विपक्षीले घरवारीको लागि खरीद गरेको हो भन्न मिल्दैन । घरवारको लागि खरीद गर्दा राजिनामाको कागजमा घरवारको प्रयोजनको लागि भनि उल्लेख हुनु पर्दथ्यो । लिखतमा लेखिएको कुरामा पछि आएर अर्को थोक भनी अर्थ लगाउन र दावी गर्न समेत मिल्दैन तसर्थ पुनरावेदन अदालतको फैसला उल्टी गरी शुरु मोरङ जिल्ला अदालतको फैसला सदर गरी पाउँ भनि र प्रत्यर्थी तर्फबाट उपस्थित विद्वान अधिबक्ता श्री कमल नारायणदाशले जग्गा लिंदा प्रयोजन खुलाई लिनु पर्ने कुनै कानूनी व्यवस्था छैन, घरवासको लागि लिएको साक्षीको बकपत्रबाट समर्थित छ, तसर्थ पुनरावेदन अदालतले विराटनगरको इन्साफ सदर गरी पाउँ भनि गर्नु भएको वहस जिकिर समेत सुनि निर्णयतर्फ विचार गर्दा विवादित जग्गा वादीले निखनी लिन पाउने ठहर गरेको शुरु मोरङ जिल्ला अदालतको फैसला उल्टी गरी निखनी लिन नपाउने ठहर्याएको पुनरावेदन अदालत विराटनगरको फैसला मिले नमिलेको के रहेछ सो सम्बन्धमा निर्णय दिनुपर्ने हुन आयो ।
११. यसमा मालपोत कार्यालय मोरङमा मिति ०४७।१०।९ मा भएको राजिनामाको लिखतमा नभएको घरबारीको लागि खरिद गरेको भन्ने उल्लेख नभएको घरबारीकै लागि खरिद गरेको भए जग्गा राजीनामा गर्दाका वखत उक्त राजिनामाको कैफियत महलामा घरबारीको प्रयोजनको लागि भन्ने कुरा खुलाउन पर्ने थियो । सो को अभावमा केवल प्रतिउत्तर पत्रमा घरबारीको लागि खरिद गरेको भनी लेख्दैमा र साक्षीको भनाइको आधारमा मात्र घरबारीको लागि खरिद गरेको भन्न र मान्न कानून व्यवहार र प्रमाणबाट मिल्ने देखिदैन । त्यसैगरी प्रतिवादीको प्रतिउत्तर पत्र हेर्दा सो जग्गा आफ्ना नाममा दर्ता गराइ सो जग्गामा ०४७ माघ १४ गतेमा राम्रो साइत हुँदा सोही मितिमा उक्त दावीको जग्गामा आफ्नो काटा लगाइ वन्द व्यापार सुरु गरेको भनी प्रष्ट रुपमा वन्द व्यपारको लागि खरिद गरेकोलाई स्वीकारेकै पाइन्छ । वन्द व्यापार र घरबारी शव्द भिन्दा भिन्दै अर्थ र प्रयोजन लाग्ने शव्द हुन् । तसर्थ विवादको जग्गा प्रतिवादीले घरवरीको लागि लिएको भनी मान्न नमिल्ने हुँदा निखनाइ नपाउने ठहराएको पुनरावेदन अदालत विराटनगरको इन्साफ उल्टी भै निखन्न पाउने ठहराएको सुरु जिल्ला अदालत मोरङको इन्साफ सदर हुने ठहर्छ । अरु तपसिल बमोजिम गर्नु ।
तपसिल
माथि इन्साफ खण्डमा लेखिए बमोजिम सुरु जिल्ला अदालतको फैसला उल्टी गरेको पुनरावेदन अदालत विराटनगरको फैसला उल्टी भै सुरु जिल्ला अदालत विराटनगरको फैसला इन्साफ सदर हुने ठहरेकोले प्रतिवादी वृजलाल केवरतलाई शिवानन्द केवरतले मिति ०४७।१०।९ मा.पो.का. मोरङमा रु.४०००। मा राजिनामा पारित गरी दिएको जि. मोरङ रंगेली गा.वि.स. वडा नं. ६ (क) कि.नं. २०१ को ०-१-१० जग्गा लेनदेन व्यवहारको १२(१) बमोजिम मोहीको हैसियतले वादीले निखनी लिन पाउने ठहरेकोले उल्लेखित जग्गा प्रतिवादी वृजलाल मण्डलका नाम बाट वादी तिनकौडी केवरतका नाममा निखनाई हक सफा गरी दिनु भनी वादीले धरौटी राखेको जग्गाको मोल रु.४०००। र रजिष्ट्रेशन दस्तुर रु.१५०। समेत मा.पो.का. मोरङमा धरौटी राखिएको देखिदा कानूनको रित पुराई प्रतिवादी वृजलाल मण्डल केवरतलाई फिर्ता दिनु भनी मालपोत कार्यालय मोरङमा लेखी पठाइ दिनु...................१
वादीले फिराद दर्ता गर्दा राखेको कोर्टफि रु.१८६। र यस अदालतमा पुनरावेदन गर्दा राखेको कोर्ट फि रु.२७।९० समेत जम्मा रु.२१०।९० प्रतिवादी बाट अदालत विराटनगरमा पुनरावेदन गर्दा कोर्टफि समेत २१३।९० दाखिल गरी सकेको देखिदा उक्त कोर्ट फि समेत रकम दिलाई पाउ भनी वादीको कानूनका म्याद भित्र दर्खास्त परे भराई फिर्ता दिनु भनी सम्वन्धित जिल्ला अदालतमा लेखी पठाई दिनु...............१
मिसिल नियम अनुसार गरी बुझाई दिनु...........................१
उक्त रायमा म सहमत छु ।
न्या. हरिश्चन्द्र उपाध्याय
इति सम्वत् २०५५ साल आषाढ १७ गते रोज ४ शुभम् ...............।