शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६६३२ - ज्यान

भाग: ४० साल: २०५५ महिना: फागुन अंक: ११

निर्णय नं. ६६३२           अङ्क ११           ने.का.प. २०५५

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य

माननीय न्यायाधीश श्री राजेन्द्रराज नांख्वा

सम्बत् २०५४ सालको साधक नं. .... १८५

फैसला मिति : २०५४।१२।१७।२

 

मुद्दा : ज्यान ।

वादी : माझी थारुको जाहेरीले श्री ५ को सरकार ।

विरुद्ध

प्रतिवादी : मोरङ प्रवली मध्ये रामपुरको गढवालपुर बस्ने करविर बस्नेत क्षेत्री ।

 

§  तत्काल प्रचलित मुलुकी ऐन ज्यान सम्बन्धी महलको २५(३) नं. ले ज्यानको बदला ज्यान लिने सजाय हुने व्यवस्था भएको देखिन्छ । केही फौज्दारी मुद्दा खारेज गर्ने र दण्ड सजाय मिनाहा दिने ऐन, २०२० को दफा ४(३) मा कुनै काम कुरामा साविकको मुलुकी ऐन, अन्तर्गत कुनै अपराधको अभियोग लागि अदालतबाट कसुरदार ठहराई यो ऐन प्रारम्भ हुँदाका बखत कुनै व्यक्तिले सजाय भोगी रहेको वा निजलाई सजाय हुने गरी फैसला वा आदेश भैरहेकोमा त्यस्तो काम कुरा अनुसुचीमा उल्लेख भएका नेपाल ऐन, अन्तर्गत पनि अपराध ठहरीने रहेछ र त्यसमा साविकको मुलुकी ऐन बमोजिम भएको सजाय भन्दा अनुसूचीमा उल्लेख भएका नेपाल ऐनमा कम सजाय तोकिएको रहेछ भने सो बढी भए जति सजाय स्वतः मिनाहा भएको मानिनेछ भन्ने उल्लेख भएबाट सो मुलुकी ऐन अनुसूचीमा २०२० साल भाद्र १ गते देखि लागू हुने गरी भएको मुलुकी ऐन पनि उल्लेख भैरहेकोले तत्काल प्रचलित मुलुकी ऐन ज्यान सम्बन्धी महलको २५(३) नं. को अपराधलाई बर्तमान मुलुकी ऐनले पनि सदर नै कायम गरेको र सजायको हकमा ज्यानको सजाय नभै सर्वश्व सहित जन्म कैदको सजायको व्यवस्था भएकोले प्रस्तुत मुद्दामा प्रतिवादी करविर बस्नेतलाई तत्काल प्रचलित मुलुकी ऐनको ज्यान सम्बन्धी महलको २५(३) नं. ले मृत्यु दण्डको सजाय हुने नभई वर्तमान मुलुकी ऐनको ज्यान सम्बन्धी महलको १३(३) नं. अन्तर्गत सर्वश्व सहित जम्माकैद हुनु पर्ने ।

(प्र.नं. १२)

 

वादी तर्फबाट : उपसरकारी अधिवक्ता श्री लेखनाथ ढकाल ।

प्रतिवादी तर्फबाट : x

अवलम्बित नजिर : x

 

फैसला

न्या. राजेन्द्रराज नांख्वा : पुनरावेदन अदालत विराटनगरको मिति २०५२।१२।७।४ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा १०(२) बमोजिम साधक सदरको लागि पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा एवं ठहर यसप्रकार छ ।

२. यही २०१८।८।५।२ का दिन साँझ अं. ७/८ बजेको समयमा म विरामी भई म र बावु आफ्नै घरको वसरामा ओछ्यान लगाई बसी रहेको अवस्था करविर हातमा मुठी भरीको कुन जातको लाठी लिई ए हुदाई भनि वोलाएपछि बाबु हुदाईले कि कइछी भनि जाँदा करविरले ल्याएको लाठीले वावुलाई टाउकोमा हानी सोही चोटको तासिरबाट औषधी समेत गर्न नपाई मिति ०१८।८।६।३ का दिन साँझ ५ बजे बाबु हुदाई मरेकोले लास कुर्न लगाई जाहेर गर्न आएको छु । ऐन, सवाल बमोजिम सरजमीन बुझि लास जाँच गरी कारवाही गरी पाउँ भन्ने जाहेरवाला माझी थारुको मिति २०१८।८।८।५ को जाहेरी दरखास्त ।

३. २०१८।८।५ गतेका दिन मर्ने हुदाई लाई करविर बस्नेतले लाठीले कुटी २०१८।८।६ मा मरेकोमा शंका लाग्छ भन्ने समेत मगंल दास थारु समेतको सर्जमीन मुचुल्का ।

४. २०१८।८।१०।७ को लास रिपोर्ट र पोष्टमार्टम समेत मिसिल सामेल रहेको । यस्मा करविरले कुटेकोबाट हुदाई मर्‍यो भन्ने दावी भएको र बुझिएका सर्जमीनले कुटेको मौकामा नदेखेपनि टाउकोबाट रगत बगीरहेको र केही बोल्न नसकेको करविर कै कुटाईबाट मरेकोमा शंका लाग्छ भनि सर्जमीन सवैले लेखिदिएको करविर फेला नपरेको र सफाईको सवूद समेत पुग्न नआएकोले समेत ज्यान सम्बन्धीको २५ नं. का ऐन अन्तर्गत अभियुक्त उपर मुद्दा चल्ने देखिन्छ भन्ने २०१८।८।२६।२ का पुलिस रिर्पोट ।

५. अभियुक्त करविर बस्नेत क्षेत्रीका नाममा मिति २०१८।१२।६।२ मा तामेल भएको विराटनगर विशेष अदालतबाट जारी भएको ३ महिने म्याद गुजारी बसेको ।

६. मृतक हुदाइलाई प्र. करविरले कुटपिट गरी कर्तव्यबाट ज्यान मारेको ठहर्छ । तत्कालिन प्रचलित मुलुकी ऐन, ज्यान सम्बन्धीको २५(३) बमोजिम सजाय हुन्छ भन्ने समेत शुरु सुनसरी जि.अ. बाट मिति ०५२।३।४ मा भएको फैसला ।

७. मिति ०५२।८।१९ मा साधक फौज्दारी दायरीमा दर्ता गरी पेश गर्नु भन्ने समेत पुनरावेदन अदालत विराटनगरको आदेश ।

८. किटानी पोल र टाउकाकै चोटबाट मृत्यु भएकोभन्ने शव परीक्षण प्रतिवेदन र सर्जमीनका मंगल दास थारुले मृतक हुदाईको मृत्यु करविर कै कुटाईबाट भएको भनी किटानी पोल गरी अदालत समेतमा आई वकपत्र गरेकोबाट प्रतिवादी उपरका कसुर प्रमाणित भै रहेकोले तत्काल प्रचलित मुलुकी ऐन ज्यान सम्बन्धीको २५.३ अन्तर्गत सजाय गर्ने गरी शुरु सुनसरी जिल्ला अदालतले मिति २०५२।२।३।४ मा गरेको जाहेरी फैसला मिलेकै देखिँदा मनासिव ठहर्छ । साधक निकासाको लागि सम्मानित सर्वोच्च अदालतमा जाहेरी गरी पठाउनु भन्ने मिति २०५२।१२।७ को पुनरावेदन अदालत विराटनगरको फैसला ।

९. तत्काल प्रचलित मुलुकी ऐन ज्यान सम्बन्धीको २५.३ अन्तर्गत सजाय गर्ने गरी शुरु सुनसरी जिल्ला अदालतको मिति २०५२।२।४ मा गरेको जाहेरी फैसला सदर गर्ने गरी भएको पुनरावेदन अदालत विराटनगरको मिति २०५२ को फैसला उपर यस अदालतमा मिति २०५४।१।९।२ मा जाहेर हुन आएको साधक ।

१०. यस्मा शुरुले तत्कालिन ज्यान सम्बन्धीको महलको २५(३) नं. को कसुर गरेको ठहर्‍याई दण्ड सजायको ६ नं. अनुसार २४ वर्ष कैद हुने भन्ने तपसिल खण्डमा उल्लेख भएको देखियो । केही फौज्दारी मुद्दा खारेज गर्ने र दण्ड सजाय मिनाहा दिने ऐन, २०१९ को दफा ४(३) नं. मा नयाँ ऐनले कम सजाय हुने भएमा कम भए जति सजाय मिनाहा भएको मानिने व्यवस्था गरेको पाइन्छ । शुरुवाट २०५२।१२।७ मा फैसला हुँदा विद्यमान मुलुकी ऐनमा ज्यानको बदला ज्यान सजाय गर्ने व्यवस्था नभएकोले २० वर्षसम्म कैद हुनेमा २४ बर्ष कैद हुने गरी तपसिल खण्डमा लेखिएको समेतबाट शुरु सदर गर्ने गरेको पुनरावेदन अदालत विराटनगरको फैसला मिलेको नदेखिँदा अ.बं. २०२ नं. बमोजिम महान्यायाधिवक्ताको कार्यालयलाई सूचना दिई नियमानुसरा गरी पेश गर्नु भन्ने मिति २०५४।३।६।६ को आदेश ।

११. नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन सहितको मिसिल अध्ययन गरी दावी श्री ५ को सरकार तर्फबाट उपसरकारी अधिवक्ता श्री लेखनाथ ढकालले केही फौज्दारी मुद्दा खारेज गर्ने र दण्ड सजाय मिनाहा दिने ऐन, २०२० ले बढी सजाय मिनाहा हुने हुँदा इन्साफ सदर हुनु पर्छ भन्ने समेत जिकिर लिई बहस गर्नु भएकोले शुरुवाट तत्काल प्रचलित मुलुकी ऐन ज्यान सम्बन्धी महलको २५(३) नं. ले ज्यानको बदला ज्यान सजाय हुनेमा वर्तमान मुलुकी ऐनको दण्ड सजायको ६ नं. ले मृत्यु दण्डको २४ वर्ष कैद हुने भन्ने शुरुको इन्साफ सदर गर्ने गरेको पुनरावेदन अदालत विराटनगरको इन्साफ मिले नमिलेको के रहेछ निर्ण हुनुपर्ने देखियो । तसर्थ त्यसतर्फ विचार गर्दा वावु हुदाईलाई प्र. करविरले मुठी भरको लाठीले टाउकोमा कुटेको र भोलीपल्ट सोही चोटबाट मृत्यु भएको भनी किटानी जाहेरी परेको देखिन्छ । जाहेरी अनुसार लास प्रकृति मुचुल्काबाट मृतकको टाउकोमा १लामो घाउ देखिएको छ साथै लास जाँच प्रतिवेदनबाट Fracture of the skull Bones भन्ने उल्लेख भएबाट मृत्यु टाउकोको चोटबाट भएको देखिन्छ । सर्जमीनका व्यक्ति मंगलदास थारुले अदालतमा बकपत्र गर्दा समेत प्रतिवादी करविरले हुदाईलाई कुटपिट गरी मारेको भनी किटानीसाथ लेखाई दिएको पाइन्छ । तसर्थ प्रतिवादी करविरकै कुटाइको चोटबाट हुदाईको मृत्यु भएको देखिँदा निजलाई तत्काल प्रचलित मुलुकी ऐन ज्यान सम्बन्धी महलको २५(३) नं. अन्तर्गत कसुरदार ठहर्‍याई सजाय गर्ने गरेको शुरुको इन्साफ सदर गर्ने गरेको पुनरावेदन अदालतको इन्साफ मनासिव हुँदा साधक सदर हुने ठहर्छ ।

१२. तर तत्काल प्रचलित मुलुकी ऐन ज्यान सम्बन्धी महलको २५(३) नं. ले ज्यानको बदला ज्यान लिने सजाय हुने व्यवस्था भएको देखिन्छ । केही फौज्दारी मुद्दा खारेज गर्ने र दण्ड सजाय मिनाहा दिने ऐन, २०२० को दफा ४(३) मा कुनै काम कुरामा साविकको मुलुकी ऐन, अन्तर्गत कुनै अपराधको अभियोग लागि अदालतबाट कसुरदार ठहराई यो ऐन प्रारम्भ हुँदाका बखत कुनै व्यक्तिले सजाय भोगी रहेको वा निजलाई सजाय हुने गरी फैसला वा आदेश भैरहेकोमा त्यस्तो काम कुरा अनुसुचीमा उल्लेख भएका नेपाल ऐन, अन्तर्गत पनि अपराध ठहरीने रहेछ र त्यसमा साविकको मुलुकी ऐन बमोजिम भएको सजाय भन्दा अनुसूचीमा उल्लेख भएका नेपाल ऐनमा कम सजाय तोकिएको रहेछ भने सो बढी भए जति सजाय स्वतः मिनाहा भएको मानिनेछ भन्ने उल्लेख भएबाट सो मुलुकी ऐन अनुसूचीमा २०२० साल भाद्र १ गते देखि लागू हुने गरी भएको मुलुकी ऐन पनि उल्लेख भैरहेकोले तत्काल प्रचलित मुलुकी ऐन ज्यान सम्बन्धी महलको २५(३) नं. को अपराधलाई बर्तमान मुलुकी ऐनले पनि सदर नै कायम गरेको र सजायको हकमा ज्यानको सजाय नभै सर्वश्व सहित जन्म कैदको सजायको व्यवस्था भएकोले प्रस्तुत मुद्दामा प्रतिवादी करविर बस्नेतलाई तत्काल प्रचलित मुलुकी ऐनको ज्यान सम्बन्धी महलको २५(३) नं. ले मृत्यु दण्डको सजाय हुने नभई वर्तमान मुलुकी ऐनको ज्यान सम्बन्धी महलको १३(३) नं. अन्तर्गत सर्वश्व सहित जम्माकैद हुनुपर्ने देखिन्छ । तसर्थ प्र. करविर वस्नेतलाई मृत्युदण्डको सजाय कायम गरी २४ वर्ष कैद गर्ने गरेको हदसम्मको सजाय मिलेको देखिएन । निज प्र. करविर बस्नेतलाई वर्तमान मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३(३) नं. ले सर्वश्वसहित जन्मकैद हुने ठहर्छ । अरुमा तपसिल बमोजिम गर्नु ।

 

तपसिल

माथि इन्साफ खण्डमा लेखिए बमोजिम शुरुले मिति २०५२।२।३ गते गरेको फैसलाले तत्काल प्रचलित मुलुकी ऐन, ज्यान सम्बन्धीको २५(३) नं. तथा दण्ड सजायको ६ नं. बमोजिम प्रतिवादी करविर बस्नेतलाई २४ वर्ष कैद गर्ने गरी राख्ने गरेको लगत कट्टा गरी वर्तमान मु. ऐ. ज्यान सम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वश्व सहित जन्मकैद हुने ठहरी फैसला भएकोले सो बमोजिम लगत राख्नु भनी शुरु जिल्ला अदालतमा लेखी पठाई दिनु ............. १

मिसिल नियमानुसार गरी बुझाई दिनु .............. २

 

उक्त रायमा म सहमत छु ।

 

न्या. अरविन्दनाथ आचार्य

 

इति सम्बत् २०५४ साल चैत्र १७ गते रोज २ शुभम् .... ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु