शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६६३७ - हक कायम समेत

भाग: ४० साल: २०५५ महिना: चैत्र अंक: १२

निर्णय नं. ६६३७           अंक १२            ने.का.प. २०५५

पूर्ण इजलास

माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय

माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा

माननीय न्यायधधीश श्री नरेन्द्रबहादुर न्यौपाने

माननीय न्यायाधीश  श्री टोपबहादुर सिंह

माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय

सम्वत् २०५२ सालको दे.पु.इ.नं. ......४८

मुद्दा : हक कायम समेत ।

पुनरावेदक/वादी : वदु निसाको मु.स. गर्ने जिल्ला काठमाडौँ का.न.पा. वडा. नं. २२ बस्ने मदिना बानु मिया ।

विरुद्ध

विपक्षी/प्रतिवादी : काठमाडौँ जिल्ला का.न.पा. वडा नं. १९ बस्ने पूर्णकुमारी खड्गी समेत ।

§  भोगवन्धकी जग्ग धनीले जहिले पनि निखनलाई लिन पाउँने नै हुन्छ । यसरी निखनाइ लिन जति दिएको हो त्यतिमा नै दावी गर्न पाउँछ । लिखत बमोजिमको जग्गा अन्यत्र भनी प्रतिवादीले देखाउन नसकेको अवस्थामा रीत पूर्वकको लिखतबाट देखिई रहेको जग्गा लोप हुने गरी अन्यत्र छ भन्नु न्यायिक र विवेकपूर्ण तर्क हुन सक्दैन ।

(प्र.नं. २८)

पुनरावेदक वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी

विपक्षी प्रतिवादी तर्फबाट : विद्वान अभिवक्ता श्री सुधानाथ पन्त

अवलम्वित नजिरः

फैसला

      न्या.केदारप्रसाद उपाध्याय : श्री ५ महाराजधिराज सरकारका हजुरमा सर्वोच्च अदालत पूर्ण इजलास बाट २०४६।५।२७ मा भएको निर्णय दोहोराई पाउँ भनी चढाएको विन्तिपत्र प्राप्त भै इजलास समक्ष पेश हुँदा दोराई हेर्ने निस्सा प्रदान भै यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :

      २. मेरो हक भोगको घर  जग्गा विपक्षी शुभरत्नको बाबु जितबहादुर खड्गीलाई रु. २५। म मिति २००४।४।२१ म घरसारमा भोग सम्वन्धी गरी दिई नालेश परी फैसला गराएको निज साहू परलोक भए पछि थैली बुझाउन जादा लिई नदिएको बाट निखनी पाउँन भूमि प्रशासन कार्यालयमा नालेश दिएको निखन्न पाउँने गरी मिति २०२९।५।२६ मा निर्णय भएको सो उपसुर पुनरावेदन परी भएका आदेश बमोजिम हक कायमतर्फ नालेश गर्न मिति २०३९।९।१५ मा सूचना पाएको । सो वन्धकी घरु जग्गा घर भत्की पाताल भएको र विपक्षीहरुको लोग्ने बाबु जीतबहादुरले वेनिस्सा भनी आफ्ना नाम दर्ता गरी मेनुका रावल र पूर्ण मानलाई विक्री गरी दिएकोमा मेरो फिराद परी मुलतवी रहेको छ । मेरो भोग बन्धकी घर जग्गा नापी हुँदा स्वयम्भु डल्लु गा.पं. वडा नं. १ कि नं. १९ मा १-०-२ क्षेत्रफल भएको जग्गा मेरो हक कायम भई धरौटी थैली बुझ्न लगाई वन्धकी निखनाई मेरो नाम दर्ता गरी सो जग्गा दालत बाट चलन समेत पाउँ भन्ने समेत व्यहोरा बढु निसाको फिराद पत्र ।

      ३. वादीले उल्लेख गरेको जग्गा वादीले होइन । हामीहरुका पुर्खाकै हक भोगको जग्गा हुँदा रैकरमा परिणत भइ विक्री गरेको हो । वन्धकी जग्गा बाटोमा परी सकेको छ । वादीले हक कायम तर्फ उजुर दिने हद म्याद नाघी सकेको हुँदा झुठाले दावी बाट फुर्सद गरी पाउँ भन्ने समेत व्यहोराको शुभरत्न र पूर्णकुमारी खड्गीको संयुक्त प्रतिउत्तर पत्र ।

      ४. वादीले आठ आना दश दामभोग बन्धकी दिएको २००४ सालको लिखतबाट देखिदा सो लिखतमा भएजति जग्गा जीतबहादुरको दर्ता मध्येको वादीको हक कायम हुने भई निखनी लिन पाउँने ठहर्छ भन्ने समेत व्यहोराको काठमाडौँ जिल्ला अदालतको मिति २०४०।६।१० गतेको  फैसला ।

      ५. काठमाडौँ जिल्ला अदालतको उक्त फैसलामा चित्त बुझेन सो फैसला वदर गरी न्याय पाउँ भन्ने वादीको र काठमाडौ जिल्ला अदालतको फैसला चित्त बुझेन सो फैसला वदर वातिल गरी न्याय पाउँ भन्ने समेत व्इहोराको प्रतिवादी समेतको तत्कालीन बागमती अंचल अदालतमा परेका पुनरावेदन पत्र ।

      ६. भोगबन्धकी दिँदाका अवस्थामा कायम रहेको जग्गा सम्म निखन्ने गरी हक कायम हुने समेत ठहराएको सुरुको इन्साफ मनासिव हुँदा पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत व्यहोराको तत्कालीन बागमती अंचल अदालतको मिति २०४१।७।२१ ग्तेको फैसला ।

      ७. अंचल अदालतको फैसला त्रुटिपूर्ण हुँदा पुनरावेदनको अनुमति पाउँ भनी परेको निवेदनमा कि.नं. १९ को जग्गा मध्ये कतपट्टीको जग्गा भोगबन्धकीको भई हक कायम हुने हो सो समेत नबोलेको बाट बागमती अंचल अदालतको फैसला अ.वं. १९२ नं. समेतको त्रुटी देखिएकोले कानूनी रुपले त्रुटिपूर्ण हुँदा न्याय प्रशासन सुधार ऐन २०३१ के दफा १३(३) को खण्ड (ख) र (ग) को आधारमा पुनरावेदनको अनुमती प्रदान गरिएको छ भन्ने समेत व्यहोराको मध्यमान्चल क्षेत्रीय अदालत सिंगल वेन्चको मिति २०४२।२।१७ गतेको आदेश ।

      ८. बागमती अंचल अदालतले गरेको फैसलामा चित्त बुझेन प्रत्यक्षतः उक्त फैसला कानूनको त्रुटी भइ जित्ने हार्ने भनी पूर्ण कुमार खड्गी समेतले श्री मध्यमान्चल क्षेत्रीय अदालतमा दिएको निवेदन पत्र ।

      ९. विवादको कि.नं. १९ को जग्गा मध्ये पतापट्टीको जग्गा वादीको हक कायम हुने हो फैसलामा उल्लेख नभएकोले वादी प्रतिवादी वीचमा हक निश्चित गरिएको नदेखिदा बागमती अंचल अदालतको फैसला कानूनी त्रुटिपूर्ण हुँदा न्याय प्रशासन सुधार ऐन, २०३१ के दफा १३(३) को खण्ड (ख) र (ग) को आधारमा पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत व्यहेराको मध्यमान्चल क्षेत्रीय अदालत सिंगल वेन्चको मिति २०४२।२।१७ गतेको आदेश ।

      १०. चन्दु निसाले जीतबहादुरलाई लम्वाई हात ११ र गर्न हात ७ को घर र सो घरका चारैतर्फ अन्दाजी आठ आना दुई पैसा दुईदाम समेत भोगबन्धकी दिएको कुरामा विवाद नदेखिएको हाल सो घर नभएको भन्ने हुँदा हिसाव वाट सो घरले ओगटेको जग्गा दुई पैसा देखिनाले भोगबन्धकी गएको कुल जग्गा ०।९।०।२ नौ आना दुई दाम हुन आयो । विवादित जग्गा भन्दा बढी नै जग्गा देखिन आयो । सो भोग बन्धकी फर्छ्यौट भई वादीले जग्गा प्राप्त गरी सकेको छ भन्ने प्रतिवादीतर्फ बाट जिकिर लिई पुष्ट्याईँ गर्न सकेको देखिदैन । भोगवन्धकी फर्छ्यौट भई वादीले जग्गा प्राप्त गरी सकेको छ भन्ने पुष्टि गर्न सकेको देखिदैन । भोग बन्धकी लिए दिए भनेको जग्गा विवादित जग्गा बाहेकको जग्गा हो भन्न सकिने भरपर्दो एवम् ठोस आधार पनि कहि छैन । लिखतमा उल्लेखित किल्लाबाट विवादित जग्गा भित्र नै भोग बन्धकीको जग्गा पर्ने तथ्यको खण्डन हुन सकेको छैन । आफ्नो स्ववासी जग्गा दर्ता गरएको भन्ने प्रतिवादीको जिकिर हुँदा स्ववासी जग्गा र भोग बन्धकी जग्गा समेत मिसाई प्रतिवादीले दर्ता गराएको मान्नुपर्ने भयो । भोगबन्धकी लिखत बाट उत्तर दक्षिण वारी र पूर्वतर्फ बाटो रहेको देखिन्छ । नक्सा बाट विवादित जग्गाको उत्तर पूर्व बाटो रहेको देखिएको र भोग बन्धकी लिखतको उत्तर तर्फको किल्लामा वा वारी भन्ने हुँदा सो बाटो सम् मभोग बन्धकी लिखतको जग्गा रहेछ भन्ने प्रतिवादीतर्फको स्ववासी जग्गा रहेछ भन्नु पर्ने हुँदा विवादित १-०-२ जग्गाको दक्षिणतर्फ बाट ०-२-०-२ जग्गा भोग बन्धकीको जग्गा रहेछ भन्ने देखिन आयो । तसर्थ विवादित जग्गा मध्ये दक्षिण तर्फ बाट ०-९-०-२ नौ आना दुई दाम जग्गामा वादीको हक कायम भई सो जग्गा वादीले दर्ता गराउन पाउँने खिनी लिन पाउँन र चलन चलाउन पाउँने समेत ठहर्छ सुरुको सदर गरेको बागमती अंचल अदालतको इन्साफ केही उल्टी हुन्छ भन्ने समेत व्यहोरा तत्कालीन मध्यमान्चल क्षेत्रीय अदालतको मिति २०४२।८।१२।४ को फैसला ।

      ११. विवादित कि.नं. १९ क्षेत्रफल १।०।२ मध्ये दक्षिण तर्फ बाट क्षेत्रफल ०-९-०-२ मलाई जिताएको हद सम्म मध्यमान्चल क्षेत्रीय अदालतको निर्णय मिलेको जति सदरै गरी वाँकी उत्तरतर्फको ७-०-१ जग्गाको हक जति मात्र मध्यमान्चल क्षेत्रीय अदालतबाट मलाई हराएको हदसम्म मध्यमान्चल क्षेत्रीय अदालतको निर्णय वदसर गरी पाउँन पुनरावेदन गर्ने अनुमतिको आदश पाउँ भन्ने वादी बन्दु निसा मियाले यस अदालतमा गरेको निवेदन पत्र ।

      १२. न्याय प्रशासन सुधार ऐन, २०३१(५)(ख) बमोजिम वादी बन्दु निसा मियालाई पुनरावेदन गर्ने अनुमति प्रदान भएको सर्वोच्च अदालत डिभिजन वेन्चको मिति २०४२।१०।२।४ को आदेश ।

      १३. मध्यमान्चल क्षेत्रीय अदालतको मिति २०४२।८।१२।४ को फैसला उपर पुनरावेदनको अनुमति पाउँ भनी प्रतिवादी शुभरत्न खड्गी र पूर्णकुमारी खड्गीको सर्वोच्च अदालतमा दिएको निवेदन पत्र ।

      १४. न्याय प्रशासन सुधार ऐन, २०१३ को दफा १३(५) (ख) बमोजिम प्रतिवादी पुनरावेदन गर्ने अनुमति प्रदान गरिएको छ भन्ने समेत सर्वोच्च अदालत डिभिजन वेन्चको मिति २०४२।१०।२।४ को आदेश ।

      १५. पास भएको भोग बन्धकबाट वादीले घर र त्यसको चर्चेको लगापात प्रतिवादी लोग्नेलाई भोग बन्धकी दिएको मान्नु पर्ने हुन आएकोले विवादले कि.नं. १९ मध्ये भोग बन्धकी लिखत बमोजिम को घरले चर्चेको जग्गा र सो घरले चर्चेको लगापातसम्म भोगबन्धकीको कायम हुने ठहर्छ । भोग बन्धकी लिखतमा घर ११ हात लम्वाई र ७ हात चौडाई भन्ने उल्लेख भएको लगापात यति भन्ने उल्लेख भएको देखिदैन । घरको बलेसी भित्रको जग्गालाई लगापातको रुपमा लिदा बलेसी भित्र ३ फुट जग्गा सम्म पर्ने भएकोले चारै तर्फको बलेसी हिसाव गर्दा लम्वाई चार हात र चौडाइ चार हात बढ्न जाने भई घर र बलेसी समेत जम्मा लम्वाई १५ हात र चौडाई ११ हात पुग्ने हुँदा त्यसको ईन्च फुटमा हिसाब गर्दा लम्वाई २२ फुट चौडाई १६ फुटको हुने भर्इ जम्मा ३७१।२५ वर्गफिट जग्गा चन्द्रकुमारी क्षेत्रीको जग्गा बाट उत्तर तर्फ कि.नं. १९ को पूर्व बाट पश्चिम सम्म उक्त क्षेत्रफलको जग्गासम्म भोगबन्धकीको जग्गा भन्नुपर्ने देखिएकोले सो हद सम्मको जग्गामा वादीको हक कायम भर्इ निखनी पाउँने ठहरी सुरु र अंचल अदालतले निखनी पाउँने ठहराएको जग्गामा घरको क्षेत्रफल समेत थपी ०–९-०-२ मा वादीको हक कायम हुने ठहराई निखनाई पाउँने ठहराएको क्षेत्रीय अदालतको इन्साफ गल्ती ठहर्छ भन्ने समेत व्यहोराको सर्वोच्च अदालत संयुक्त इजलासको मिति २०४३।१२।२२ गतेको फैसला ।

      १६. संयुक्त इजलासको फैसला त्रुटिपूर्ण भएकोले इन्साफ जाँच गरी दिनु भन्ने हु. प्र. वक्स पाउँ भन्ने समेत व्यहोराको वादी बढुनिसाले श्री ५ महाराजाधिराजका हजुरमा चढाएको विन्तिपत्र ।

      १७. पूर्ण इजलासले हेरीदिनु भन्ने ह. प्र. वक्स भै प्राप्त हुन आएकोले प्रस्तुत मुद्दा पूर्ण इजलासको लगतमा दर्ता गरी पेश गर्नु भन्ने समेत व्यहोराको सम्माननीय प्रधान न्यायाधीशको मिति २०४४।११।१४ को आदेश ।

      १८. घर र घरले चर्चेको लगापात सम्मभोग बन्धकी कायम गरी सो घर र लगायतको नापफुटबाट ३७१।२५ वर्गफिट जग्गा चन्द्रकुमारी क्षेत्रीको उत्तरतर्फ कि.नं. १९ को पूर्वबाट पश्चिम सम्म उक्त क्षेत्रफलको जग्गामा वादीको हक कायम भई वादीले निखन्न पाउँने ठहराएको सर्वोच्च अदालत संयुक्त इजलासको मिति २०४३।१२।२२ गतेको फैसला मनासिव ठहर्छ भन्ने समेत व्यहोराको २०४६।५।२७ को पूर्ण इजलासको फैसला ।

      १९. मिति २०४६।५।२७ को निर्णय दोहोर्याई जाँची कानून बोजिम हक इन्साफ गरी पाउँ भनी वादीहरुको श्री ५ महाराजाधिराज सरकारका हजुरमा चढाएको विन्तिपत्र ।

      २०. पूर्ण इजलासको बहुमतको राय घर र लगापातहको नाप फुट बाट ३७१।२५ वर्गफिट जग्गा चन्द्रकुमारी क्षेत्रीको उत्तरतर्फ कि.नं. १९ को पूर्वबाट पश्चिमसम्म उक्त क्षेत्रफलको जग्गामा मात्र वादीको हक कायम भै वादीले निखन्न पाउँने ठहराएको सर्वोच्च अदालतको २०४६।५।२७ को इन्साफ हु.प्र. बमोजिम छानवीन गरी हेर्दा नमिलेकोले प्रस्तुत मुद्दामा दोहर्‍याउने निस्सा प्रदान गरिएको छ भन्नेसमेत व्यहोराको यस अदालत संयुक्त इजलासको मिति २०५२।३।१६ को आदेश ।

      २१. नियम बमोजिम दैनिक मुद्दा पेशी सूचिमा चढी यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीको तर्फबाट उपस्थित हुनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीले भोग बन्धकी लिखतमा जग्गा पास नभए पनि सो लिखतमा लेखिएको जग्गा वादीको भएकोमा प्रतिवादीहरुको लोग्ने तथा बाबुले स्वीकार गरइी रहेको कुरा लिखत पास मुद्दाबाट स्पष्ट देखिरहेको छ, जसबाट कि.नं. १९ को जग्गा वादीको भोग बन्धकीको घर जग्गा हो भन्ने देखिन्छ । सबै जग्गामा वादीको हक कायम गर्नु पर्नेमा ३७१।२५ वर्गफुट जग्गामा सम्म हक कायम गर्ने गरेको संयुक्त इजलासको फैसला सदरस गरेको पूर्ण इजलासको इन्साफ मिलेको छैन भन्ने प्रतिवादीका तर्फबाट रहनु भएका विद्वान अधिवक्ता सुधानाथ पन्त ले वादीले दावी गरेको जग्गा प्रतिवादीहरुको दर्ता हक भोगको जग्गा हो । सो दर्ता उपर म्याद भित्र उजुर गर्न सकेको छैन । विवादको जग्गामा वादीको दावी लाग्ने होइन । भन्दै २०४६।५।२७ को पूर्ण इजलास फैसला मिलेको हुँदा सदर हुनु पर्दछ भन्ने समेत व्यहोराको वहस प्रस्तुत गर्नुभयो ।

      २२. आज निर्णय सुनाउन तारिख तोकिएकोमा अध्ययन गरी हेर्दा सर्वोच्च अदालत पूर्ण इजलास बाट २०४६।५।२७ मा भएको फैसलामा दोहोर्‍याई पाउँ भनी श्री ५ महाराजाधिराज सरकारका हजुरमा परेको विन्तिपत्र यस अदालतमा प्राप्त भै इन्साफ जाँचको लागि निस्सा प्रदान भै पेश हुन आएको देखिन्छ ।

      २३. उपयुक्त तथ्य रहेको प्रस्तुत मुद्दामा पूर्ण इजलास बाट भएको फैसला मिलेको छ, छैन सो सम्वन्धमा निर्णय दिनुपर्ने हन आयो ।

      २४. निर्णयतर्फ विचार गर्दा प्रतिवादी पूर्णकुमारी खड्गीको लोग्ने तथा प्रतिवादी शुभरत्न खड्गीका पिता स्व. जीतबहादुर खड्गीलाई मिति २००४।४।२१ म गरिएको भोग बन्धकी लिखत बमोजिमका जग्गाको बन्धक निखनाई हाल कायम रहेको विवादित कि.नं. १९ को जग्गाको हक कायम समेत गरी पाउँ भन्ने वादीको मुख्य फिराद दावी देखिन्छ । लिखत बमोजिमको जग्गा यो होइन भन्ने प्रतिवादी प्रतिउत्तर जिकिर रहेको पाइन्छ । यस अदालतको पूर्ण इजलास बाट यी वादीको ३७१।२५ वर्गफीट जग्गा सम्ममा हक कायम हुने ठहराई गरेको फैसला उपर पुनरावेदक वादीको चित्त नबुझी श्री ५ महारसाजाधिराज सरकारका हजुरमा चढाएको विन्तपत्रमा समेत विवादित कि.नं. १९ को सम्पूर्ण १–०-२ जग्गा नै आफ्ना नाममा हक कायम हुनुपर्ने उल्लेख गरेको देखिन्छ । विवादित जग्गा यी पुनरावेदक वादीले भाग बन्धकी दिएको जग्गा उक्त कि.नं. १९ को हो भन्ने कुरामा यस अदालतबाट भएको ठहर उपर प्रत्यर्थी प्रतिवादीहरुको कानून बमोजिको निवेदन समेत परेको नदेखिदा त्यसतर्फ विचार गरिरहनु पर्ने अवस्था देखिन आएन । यस अदालतको पूर्ण इजलास बाट कायम गरेको जग्गाको क्षेत्रफलको हकमा सम्म चित्त नबुझी विन्तिपत्र चढाएको पाइन्छ । सोतर्फ विचार गर्दा यी पुनरावेदक वादीले स्वर्गीय जीतबहादुर खड्गीलाई गरिदिएको भनिएको २००४।४।२१ के भोग बन्धक लिखत हेर्दा पूर्व बाटो, पश्चिम बाटो उत्तर वारी दक्षिण वारी यति चार किल्ला भित्रको ।।.।।२ जग्गा भोग बन्धकीको लागि वादीले लेखी दिएको देखिन आउछ । उक्त भोग बन्धकी जग्गा भोग गर्न नदिएकाले भोग गर्न पाउँ भनी निज जीतबहादुरले राजधानी काठमाडौँ देवानी अदालत पहिलामा दिएको नालेशमा समेत घर साहित ।।.।। २ जग्गा भोग चलनको लागि माग गरेको देखिन आउँछ । सोही चौहद्धी भित्रको जग्गा समेत मिलाई प्रत्यर्थी प्रतिवादीले २०२३।४।५ मा रैकरमा परिणत गरी कि.नं. १९ मा ज.रो. १–०–२ कायम भै दर्ता गरेको अवस्था समेत रहेको पाइयो । जग्गा भोग बन्धकी लिए दिएकोमा विवाद नभएको भोग बन्धकी लिएको जग्गा सम्वन्धित जग्गाधनीले निखनाई लिन नपाउँने भन्न मिल्ने अवस्था समेत देखिन आउँदैन । भोग बन्धकी लिएको जग्गा धनीले जहिले पनि फिर्ता गसरी लिन पाउँने नै हुन्छ । बन्धकी दिने व्यक्तिको हक मर्ने गरी प्रत्यर्थी प्रतिवादीको तर्फबाट २००४।४।२१ के भोग बन्धकीको लिखतमा उल्लेख भएको जग्गासमेत दर्ता गराएको देखिदा त्यस्तो दर्ता कानून बमोजिमको नभएबाट से दर्ता वदर भइ साविक जग्गा धनीको नाउँमा फर्कने नै हुन्छ के कति जग्गा वदर हुने भन्ने सम्वन्धमा माथि गरिएको विवेचना अनुसार राजधानी काठमाडौँ देवानी अदालतमा पसरेको नालेश समेतका कागजातहरु बाट भोग बन्धकीमा लिखतको चौहद्धी भित्र ।।.।।२ (०-८-२-२) जग्गा उल्लेृख भएको जति जग्गा भोग बन्धकीमा दिएको हो, त्यति नै फिर्ता पाउँने नै हुँदा प्रतिवादीहरुले गराएको सम्पूर्ण दर्ता वदर हुने अवस्था देखिन आएन । यी पुनरावेदक वादीले २००४।४।२१ म गरिदिएको भोगबन्धकी लिखतमा उल्लेख भएकै ०-८-२-२ जग्गा सम्म पुनरावेदक वादीको हक स्वामित्वको देखिन आयो ।

      २५. निर्णय तर्फ विचार गर्दा प्रस्तुत मुद्दा मा भोग बन्धकी लिखत बमोजिम निखनाई पाउँने भोग बन्धकीको जग्गा विवादित कि.नं. १९ को जग्गा मध्येकै हो भन्नेमा यस अदालत पूर्ण इजलासको निर्णय बाट निरोपण भई अन्तिम रहेबाट त्यसतर्फ विचार गरी रहनु पर्ने अवस्था देखिएन ।

      २६. फिराद दावी र श्री ५ महाराजाधिराजका हजुरमा परेको विन्तिपत्रमा समेत वादीले विवादित कि.नं. १९ को सम्पूर्ण जग्गा अर्थात ज.रो. १-०-२ मा हक कायम गरी निखनाई पाउँनु पर्ने जिकिर लिएको देखिन्छ । यस अदालत पूर्ण इजलास बाट ३७१।२५ वर्गफिट जग्गामा सम्म वादीको हक कायम हुने ठहर गरेको पइन्छ । यस परिप्रेक्ष्यमा वादीले कति जग्गा भोग बन्धकीमा दिएको र लिन पाउँने हो सो हद सम्ममा यस इजलास बाट इन्साफ हुनु पर्ने अवस्था देखिन आएको छ ।

      २७. सो तर्फ विचार गर्दा वादी वदु निसाले गरिदिएको भनिएको मिति २००४।४।२१ के भोगबन्धकी लिखत हेर्दा पनि बाटो, पश्चिम बाटो, उत्तर वारी दक्षिण वारी यति चार किल्ला भित्रको ।।.।।२ जग्गा भोग बन्धकीका लागि प्रतिवादीका पिता पति जीतबहादुरलाई भोग बन्धकी चलन पाउँ भनी राजधानी काठमाडौँ देवानी अदालत पहिलामा दिएको नालेशमा समेत घर समेत ।।.।।२ जग्गा नै भोग चलनको लागि माग गरी फिराद गरेको पाइन्छ । सोही भोग बन्धकी लिखतमा र फिरादमा उल्लेख भएको चौहद्धी भित्रको जग्गा समेत मिसाई रैकर परिणत गरेको र कि.नं. १९ मा ज.वि. १-०-२-० निज जीतबहादुरको नाउँमा दर्ता भएको भन्ने निजले भरेको उखडा दर्तासम्वन्धी निवेदनबाट पुष्टि हुन आएको देखिन्छ । सोही कि.नं. कोद जग्गा निज जीतबहादुरको शेषपछि प्रतिवादी मध्येकी पूर्णकुमारीले नामसारी गरी विक्री वितरण समेत गरेको देखिन आउँछ ।

      २८. भोग बन्धकी जग्गा धनीले जहिले पनि निखनाई लिन पाउँने नै हुन्छ । यसरी निखनाइ लिन जति दिएको हो त्यतिमा नै दावी गर्न पाउँछ । लिखत बमोजिमको जग्गा अन्यत्र भनी प्रतिवादीले देखाउन नसकेको अवस्थामा रित पूर्वकको लिखतबाट देखिई रहेको जग्गा लोप हुने गरी अन्यत्र छ भन्नु न्यायिक र विवेकपूर्ण तर्क हुन सक्दैन ।

      २९. माथि गरिएको विवेचना अनुसार वादी स्वयंले गरिदिएको लिखतमा ।।.।।२ अर्थात ०-८-२-२ जग्गा उल्लेख भएको राजधानी काठमाडौँ देवानी अदालतमा परेको नालेशबाट पनि वादीले उल्लेख गरेको चौहद्धी भित्र ०-८-२-२ जग्गा नै उल्लेख भएको र सोजग्गा समेत मिसाई प्रतिवादीले दर्ता गरेको देखिदा ज.रो. ०-८-२-२ सम्म वादीको हकभोगको जग्गा देखिन आयो ।

      ३०. २०३५।७।५ को नक्सा बाट विवादित जग्गाको उत्तर र पूर्वतर्फ बाटो रहेको र भोग बन्धकीको लिखतमा उत्तरतर्फको किल्लामा वारी भन्ने उल्लेख भएको हुँदा सोबाटो सम्मभोग बन्धकी लिखतको जग्गा भन्न मिल्ने नहुँदा विवादित कि.नं. १९ को १-०-२ जग्गाको दक्षिण तर्फ बाट ०-८-२-२ आठ आना दुई पैसा दुई दाम जग्गामा पुनरावेदक वादीको दावी ठहर गर्नु पर्नेमा घर र घरले चर्चेको लगापात सम्म ३७१।२५ वर्गफिट भोग बन्धकीको जग्गा वादीको हक कायम भै निखनी लिन पाउँने र दर्ता समेत वदर हुने ठहर गरेको संयुक्त इजलासको फैसला सदर गरेको यस अदालतको ३ सदस्यीय पूर्ण इजलासको मिति २०४६।५।२७ को फैसला सोहदसम्म नमिलेकोले केही उल्टी हुन्छ । विवादित कि.नं. १९ को १।०।२ जग्गा मध्ये दक्षिणतर्फबाट ०।८।२।२ जग्गामा यी वादीको हक कायम भै निखनी लिनसमेत पाउँने ठहर्छ । मिसिल नियमअनुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा हामी सहमत छौं ।

 

न्या. कृष्णकुमार वर्मा

न्या. नरेन्द्रबहादुर न्यौपाने

न्या. हरिश्चन्द्रप्रसाद उपाध्याय

न्या. टोपबहादुर सिंह

 

इति सम्बत २०५४ साल फाल्गुण १ गते रोज ६ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु