शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६६४४ - निषेधाज्ञा

भाग: ४० साल: २०५५ महिना: चैत्र अंक: १२

निर्णय नं. ६६४४           ०५५, ने.का.प.       अङ्क १२

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी

माननीय न्यायाधीश श्री राजेन्द्रराज नाख्वा

सम्बत २०५३ सालको दे.पु.नं. .... ३७४७

आदेश मिति : २०५४।१२।५।४

 

मुद्दा : निषेधाज्ञा ।

 

पुनरावेदक/निवेदक : जनकपुर अंचल धनुषा जिल्ला जनकपुर नगरपालिका वडा नं. ११ बस्ने राम किसुन मण्डल

विरुद्ध

प्रत्यर्थी/विपक्षी : जनकपुर अंचल धनुषा जिल्ला अन्तर्गत जनकपुर नगरपालिका कार्यालय जनकपुर धाम

§  कुनै नागरिकको निर्विवाद सम्पत्तिमा अर्को व्यक्तिद्वारा आघात पार्ने आशंकाको स्थिति विद्यमान भएको अवस्थामा सो रोकी पहिले जुन अवस्थामा जुन चिज थियो सोही अवस्थामा रहन दिन निषेधाज्ञाको आदेश जारी हुने हो । प्रस्तुत मुद्दामा निवेदकको हक स्वामित्व नै नभएको जग्गामा पसल राखि आएकोमा जनकपुर नगरपालिका कार्यालयबाट पसल हटाउनु भनी पत्र लेखेको कार्यबाट निवेदकको नागरिक अधिकार ऐन, २०१२ अन्तर्गतको सम्पत्ति भोग गर्ने अधिकारमा कानून विपरित आघात पुर्‍याउने आशंका भएको भन्न सकिने अवस्था नदेखिँने ।

(प्र.नं. ८)

पुनरावेदक तर्फबाट : x

प्रत्यर्थी तर्फबाट : x

अवलम्बित नजिर : x

 

फैसला

      न्या. कृष्णजंग रायमाझी : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) अन्तर्गत पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त उतार र ठहर यस प्रकार छ ।

      २. जिल्ला धनुषा जनकपुर नगरपालिका वडा नं. ११ महाविर मन्दिर र सोहि मन्दिर र देखि दक्षिण कुटि देखि पूर्व सडक देखि पश्चिम र वाटो देखि उत्तर यति चार किल्ला भित्रको जग्गामा तत्कालीन जनकपुर नगर पंचायतबाट २०४२ साल श्रावण ३० गते चिया चमेनाको विक्री गर्न इजाजत पत्र लिई सोही वखत देखि नै चिया पसल थापि गुजारा गरि आएको पसल हो । सो पसल राखेको जग्गालाई जि. धनुषा ठेरा कचुरी गा.वि.स. वडा नं. ९ बस्ने जगदेवले मेरो नम्बरी जग्गा हो । सो जग्गामा विपक्षीले घर बनाएकोले घर उठाई चलन चलाई पाउँ भन्ने २०४८ सालको दे.नं. १०४१ को घर उठाई खिचोला चलन मुद्दा दिएकोमा मैले आनो उक्त व्यहोराकै प्रतिवाद गर्दा आखिर वादी दावी नपुग्ने गरि धनुषा जिलला अदालतबाट भएको मिति ०४९।३।३ गते को फैसलामा विपक्षी जगदेव झा को पुनरावेदन पर्दा शुरु फैसला सदर हुने ठहरी पुनरावेदन अदालत जनकपुर बाट मिति ०५०।५।२ मा फैसला हुन गयो । उक्त फैसला अन्तिम अन्तिम हुन गएको यस्तो स्थितिमा सो जग्गामा मैले निर्विवाद रुप्मा चिया पसल थापि उपभोग गर्दै आइरहेको घर पसल भएकोमा जग्गा सम्बन्धमा ७ दिन भित्र उपस्थित हुन आउनु भनि विपक्षी कार्यालयबाट मेरो नाउँमा म्याद जारी भएकोमा सो म्यादमा उपस्थित हुन नसकेपनि आनो व्यहोरा खुलाई ०५१।१२।७ गतेमा निवेदन दर्ता गराएको सोही कार्यालयमा छ । हालमा आएर घर हटाउने कार्य नगर्नु भन्ने अन्तरिम आदेश जारी भै निषेधाज्ञाको आदेश समेत जारी गरि पाउँ भन्ने समेत व्यहोराको राम कसुन मण्डलको निवेदन पत्र ।

      ३. यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिमको आदेश किन जारी हुन नपर्ने हो जारी हुन नपर्ने कुनै कारण भए बाटोको म्याद बाहेक १५ दिन भित्र आफै वा आनो प्रतिनिधि वा कानून व्यवसायी मार्फत लिखित जवाफ लिई उपस्थित हुन भनि विपक्षीका नाउँमा म्याद पठाउनु भन्ने समेत पुनरावेदन अदालत जनकपुरको एक न्यायाधीशको इजलासबाट मिति २०५२।२।२४ मा भएको आदेश ।

      ४. नगरपालिकाले विपक्षीले गर्ने गरेको कुनै रोजगार पेशा वा उद्योग व्यापारमा हस्तक्षेप गर्ने गरेको छैन । विपक्षीले जनकपुर नगरपालिकाको कुनै स्वीकृति नै नलिई सार्वजनिक ऐलानी जग्गामा विपक्षीले फुसको घर बनाएकोले ०४९ सालमा उजुर परि विपक्षीलाई बोलाई किन त्यस्तो गरेको भनि सोधनी गर्दा जि. धनुषा, जनकपुर न.पा. वडा नं. ११ महावीर मन्दिर देखि दक्षिण राम चन्द्र ठाकुर, र कुटि देखि पूर्वको जग्गा सार्वजनिक भै नगरपालिका कै हो । न.पा. को इजाजत नलिई छाप्रो बनाएको छु । न.पा.ले दिएको आदेशलाई पालना गरी छाप्रो उठाई दिने छु भन्ने व्यहोराको निजले मिति ०४३।२।२७ गते बयान गरेकाले उक्त घर उठाई लैजाने आदेश भएकोमा विपक्षीले छाप्रो नहटाई चिया पसल संचलन गरि रहेको छ नगरपालिकाको इजाजत बेगर सार्वजनिक जग्गामा रोजगार व्यवसाय गर्न विपक्षीलाई अधिकार प्रदान गरेको छैन । सार्वजनिक सम्पत्ति हात पार्ने उद्देश्य विना इजाजत फुसको छाप्रो बनाएको झुठो उजुरी खारेज गरि पाउँ भन्न समेत जनकपुर नगरपालिकाको लिखत जवाफ ।

      ५. आनो निर्विवाद हकभोग नरहेको सार्वजनिक जग्गामा निवेदकको दावी बमोजिम निषेधाज्ञाको आदेश जारी गर्नुपर्ने अवस्थामा विद्यमानता रहेको नदेखिँदा निवेदकको निषेधाज्ञा जारी गरि पाउँ भन्ने निवेदन खारेज हुने ठहर्छ भन्ने समेत पुनरावेदन अदालत जनकपुरको फैसला ।

      ६. पुनरावेदन अदालत जनकपुरको फैसला चित्त बुझेन । सो फैसला बदर गरि शुरु माग दावी बमोजिमको आदेश जारी पाउँ भनि निवेदकको यस अदालतमा पर्ने आएको पुनरावेदन पत्र ।

      ७. यसमा नियम बमाजिम दैनिक पेशी सूचीमा पेश हुन आएको प्रस्तुत पुनरावेदन सहितको मिसिल अध्ययन गरि पुनरावेदन अदालत जनकपुरले गरेको फैसला मिले नमिलेको के रहेछ निर्णय दिनु पर्ने देखिन आयो ।

      ८. निर्णयतर्फ विचार गर्दा मैले २०४२ साल श्रावण ३० गते देखि चिया चमेनाको विक्रीगर्न नगर पंचायतबाट इजाजत लिई चिया पसल राखेको घर पसललाई विपक्षीले हटाउने गरि पत्र पठाएकोले घर पसल हटाउने कार्य नगर्नु भन्ने आदेश जारी गरी पाउँ भन्ने निवेदकको मुख्य माग दावि भएको पाइन्छ । सार्वजनिक जग्गामा चिया पसल राखि आएको भन्ने कुरा लाई निवेदकले निवेदनमै स्वीकार गरेको देखिन्छ । सार्वजनिक जग्गा सम्बन्धित नगरपालिकाले संरक्षण रेखदेख गर्नुपर्ने कुरा नगरपालिका ऐन, २०४८ को दफा ४०, ६१ समेतका कानूनी व्यवस्थाहरुबाट पनि देखिन आउँछ । कुनै नागरिकको निर्विवाद सम्पत्तिमा अर्को व्यक्तिद्वारा आघात पार्ने आशंकाको स्थिति विद्यमान भएको अवस्थामा सो रोकी पहिले जुन अवस्थामा जुन चिज थियो सोही अवस्थामा रहन दिन निषेधाज्ञाको आदेश जारी हुने हो । प्रस्तुत मुद्दामा निवेदकको हक स्वामित्व नै नभएको जग्गामा पसल राखि आएकोमा जनकपुर नगरपालिका कार्यालयबाट पसल हटाउनु भनी पत्र लेखेको कार्यबाट निवेदकको नागरिक अधिकार ऐन, २०१२ अन्तर्गतको सम्पत्ति भोग गर्ने अधिकारमा कानून विपरित आघात पुर्‍याउने आशंका भएको भन्न सकिने अवस्था नदेखिदा निवेदन खारेज गरेको पुनरावेदन अदालत जनकपुरको फैसला मिलेको देखिँदा मुनासिव ठहर्छ । पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्तैन । मिसिल नियमानुसार गरि बुझाई दिनु ।

 

उक्त रायमा सहमत छु ।

 

न्या. राजेन्द्रराज नाख्वा

 

इति सम्बत २०५४ साल चैत्र ५ गते रोज ४ शुभम् ...... ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु