शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४९५४ - बन्दी प्रत्यक्षीकरण

भाग: ३६ साल: २०५१ महिना: मंसिर अंक:

निर्णय नं. ४९५४        ने.का.प २०५१                   अङ्क ८

 

पूर्ण इजलास

सम्माननीय प्रधान न्यायाधीश श्री विश्वनाथ उपाध्याय

माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह

माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह

सम्वत् २०५० सालको रि.पु.नं. ४२

आदेश मितिः-२०५१।१।९।६

 

विषयः- बन्दी प्रत्यक्षीकरण ।

 

निवेदकः- का.जि.का.न.पा.वडा नं. २ लाजिम्पाट बस्ने गंगा नानी भन्ने गंगा देवी प्रधानको हकमा ऐ.ऐ बस्ने प्रसन्नध्वज प्रधान ।

विरुद्ध

विपक्षीः- का.जि.का.न.पा. वडा नं. २९ वांगेमुढा टोल बस्ने भक्तध्वज प्रधान ।

ऐ.ऐ बस्ने राजेशध्वज प्रधान ।

ऐ.ऐ बस्ने अमिरध्वज प्रधान ।

ऐ.ऐ वडा नं. २३ चिंकमुगल बस्ने उमेश मास्के ।

का.जि.का.न.पा. वडा नं. २९ नयाँ बजार बस्ने रामानन्द वैद्य ।

प्रमुख जिल्ला अधिकारी जि.प्र.का.काठमाडौं ।

 

§  गंगादेवी प्रधानका संरक्षक को हुने भन्ने तत्सम्बन्धी विवाद जिल्ला अदालतको विचारधीन रहेकोले त्यसैबाट सो विवाद निरोपण हुने भएकले त्यो मुद्दामा असर पर्ने गरी अहिले रिट क्षेत्रबाट कहाँ भन्न मिल्दैन । तर गंगादेवी प्रधानलेको वृद्धा अवस्थाले गर्दा होस ठेगाना समेत नभएको देखिंदा तत्काल रुपमा उन्को हेरविचार स्याहार सम्भार,स्वास्थ्य, कोबाट हुने भन्ने सम्म यस रिट निवेदनबाट हेर्नु पर्ने हुन्छ । जहाँ सम्म प्रेमध्वज प्रधान छोरा भएको नाताले उनी नै गंगादेवीका प्राकृतिक संरक्षक हो भन्ने रिट निवेदक तर्पबाट कानून व्यवसायीहरुको जिकिर भएकोमा कानूनमा स्पष्ट यस्तो व्यवस्था रहे भएको पाइन्न तापनि हाम्रो समाजको सामाजिक संरचना तथा परम्परा समेतलाई  दृष्टिगत गर्दा सौतेनी छोरालाई सौतेनी आमाको प्राकृतिक संरक्षक मान्न नमिल्ने देखिन्न ।

(प्र.नं. १४)

§  वृद्धा अवस्थाले गर्दा होस ठेगाना नभएकी विधवा स्वास्नी मानिसको संरक्षकत्वबारे प्रचलित कानूनमा कुन स्पष्ट व्यवस्था भएको पाइन्न । साधारणतः यस्ता व्यक्तिको अपुताली खान हकवालाले मै हेरचाह र सेवा सुश्रुवा गर्नु पर्ने हुन्छ । यस स्थितिमा लिखितबाट अन्यथा हुनेमा बाहेक त्यस्ता व्यक्तिको संरक्षण गर्ने दायित्व पनि अपुताली खान पाउने व्यक्ति उपर नै हुने।

(प्र.नं. १४)

§  वृद्धा अवस्थामा वा कडा रोगले गर्दा होस ठेगाना नभएको यस्ता व्यक्तिको हकमा निजको तर्फबाट नालेस उजुर वा मुद्दामा प्रतिनिधित्व गर्ने तात्पर्यको लागि अदालतबाट अनुमति लिई एकाघरको १६ वर्ष पुगेको हकवालाले पाउने व्यवस्था मुलुकी ऐन अ.वं.८३ नं.मा रहे भएको पाइन्छ ।उक्त कानूनी व्यवस्थाबाट पनि यस्ता असक्त व्यक्तिको तर्फबाट कानूनी हक संरक्षणको लागि एकाघरका हकवालालाई कानूनतः अधिकार तथा दायित्व ताकि राखेको पाइन्छ । संरक्षणत्व सम्बन्धी स्पष्ट कानूनी व्यवस्थाका अभावमा यस्ता असक्त व्यक्तिको हेरविचार स्याहार सम्भार गर्ने समेतको अभिभारा लिखतद्वारा अन्यथा भएमा बाहेक सबैभन्दा नजिकको हकवालामा नै रहेको मान्नु पर्ने।

(प्र.नं. १४)

§  गंगादेवी प्रधानको सबैभन्दा नजिकको हकवाला प्रेमध्वज प्रधान हुन भन्ने कुरामा विवाद देखिन्न । यस स्थितिमा अदालतमा परिरहेको मुद्दाबाट अन्यथा नभए सम्म गंगादेवी प्रधानको पतिको मृत्यु पश्चात निजको हेरचाह गर्ने जिम्मेवारी प्रेमध्वज प्रधान भैरहने कुरा निर्विवाद छ । गंगादेवी प्रधान निजको पतिको मृत्यु हुनुभन्दा पहिले पति संग लाजिम्पाट बसेको देखिन्छ । पतिको मृत्यु पश्चात सो ठाउँबाट प्रत्यर्थीहरुले निज गंगादेवीलाई नघलमा लगेर राखेको देखिन्छ । संरक्षक सम्बन्धी विवादको टुङ्गो नलागेसम्म गंगादेवीलाई निजले बसोबास गरी आएकै घरमा छोरा प्रेमध्वज प्रदानले हेरविचार गर्ने गरि वापस गर्नु उपयुक्त हुने देखिंदा निज गंगादेवी प्रधानलाई निवेदकको बुबा प्रेमध्वज प्रधानको जिम्मा लगाई दिनु । साथै गंगादेवी प्रधानको नाममा प्रशस्त चल अचल सम्पत्ति रहे भएको देखिनाले निजको हक हित विपरीत निजको सम्पत्ति हिनामिना हुन सक्ने स्थिति समेतलाई दृष्टिगत गरी निजको सम्पत्ति हुन नपाउने गरी संरक्षण गर्न समेत आवश्यक देखिनाले गंगादेवीको स्याहार सम्भारको लागि आवश्यक खर्च गर्न बाहेक जिल्ला अदालतमा विचाराधीन संरक्षकत्व संम्बन्धी मुद्दाको अन्तिम टुंगो नलागेसम्म अदालतको स्वीकृति बेगर कुनै किसिमले सम्पत्ति बेचबिखन वाहेक छाडी दिने गरी लिखत समेत नगर्नु नगराउनु भन्ने समेत आदेश जारी हुन ।

(प्र.नं. १४)

 

निवेदक तर्फबाटः- विद्वान वरिष्ठ अधिवक्ता श्री गणेश राज शर्मा,विद्वान अधिवक्ता श्री बालकृष्ण न्यौपाने,विद्वान अधिवक्ता श्री प्रकाश वस्ती

प्रत्यर्थी तर्फबाटः- विद्वान वरिष्ठ अधिवक्ता श्री  वासुदेव ढुंगाना,विद्वान अधिवक्ता श्री शम्भु थापा,विद्वान अधिवक्ता श्री हरिहर दाहाल

अवलम्बित नजीरः-X

आदेश

 

          न्या.सुरेन्द्र प्रसाद सिंहः- नेपाल अधिराज्यको संविधान,२०४७ को धारा ८८ (२) अर्न्तगत दर्ता हुन आएको प्रस्तुत तिट निवेदनक संक्षिप्त व्यहोरा यस प्रकार छः-

२.      रत्नध्वज प्रधानको २ पत्नी भएकोमा जेठी प्राण देवी र कान्छी गंगा नानी भन्ने गंगा देवी प्रधान भएकोमा मेरो बुवा प्रेमध्वज प्रधानको प्राण देवी तर्फबाट जायजन्म भएको हो मेरो बुवा प्रेमध्वज प्रधान बाहेक अरु कोही पनि छोरा छोरीको जायजन्म भएको छैन । गंगा देवी प्रधान तर्फबाट कुनै जायजन्मनै भएको छैन ।प्राणदेवीको २०४७ सालमा र रत्नध्वज प्रधानको २०४९।३।४ मा परलोक भयो । म निवेदक गंगा देवीको नाति र प्रेमध्वज प्रधानको एकासगोलको छोरा हुं । हामीहरु बीच कुनै किसिमको अंश बण्डा भएको छैन । रत्नध्वज प्रधानको जिवनकालमा बजै गंगा देवि र बुवा प्रेमध्वज प्रधान समेत लजिम्पाटको घरमा एकासगोलमै रही बसी आएका थियौं । मेरो बुवा आमा र म समेतले बाजे रत्नध्वज तथा बजै गंगादेवीको सेवाटहल गरी आइरहेको र हाल मेरो बाजे परलोक हुन भएको ३ दिन भयो । यस अवस्थामा मेरो पिताले दाह संस्कार गरी लाजिम्पाटमा कृयामा बसिरहन  भएको छ। मेरो बजैको नाममा प्रसस्त सम्पति छ । मेरो पिता गंगा मायाको हकवाला र संरक्षक हुनुहुन्छ,गंगादेवी १०/१२ वर्ष अगाडी देखि मानसिक सन्तुलन ठीक नभै पागल अवस्थामा हुनुहुन्छ । अहिले वहाँको होश ठैगानमा छैन । बाजे रत्नध्वजको दाहसंस्कार लागि पशुपति आर्यघाटमा लगेकोमा म समेत भै बजै गंगादेवीलाई वाजेकोअन्तिम दर्शनको लागि लगेका थियौं ।यस अवस्थामा  प्रत्यर्थीहरु आई बजै गंगादेवीलाई खोसी अपहरण गरी गाडीमा राखी प्रत्यर्थीको वांगेमुढा स्थित घरमा लगी बजैलाई बन्दी सरह थूनामा राखी राखेका छन । बाजेको काज कृया समेतबाट बजैलाई वंचित गरियो । मेरो पिता बाजेको मृत्युको सोकाकुल अवस्थामा रही काज कृयामा बस्नु भएको छ । यसरी कुनै पनि व्यक्तिलाई कसैले वा कुनै निकायले गैर कानूनी तवरले थुनामा राख्न वा बन्दी बनाउन नपाउने कुरालाई संविधानको धारा ११ (१) बमोजिम समानताको हक र धारा १२ बमोजिम स्वतन्त्रताको हक धारा १४ बमोजिम फौज्दारी न्याया सम्बन्धी हकको  रुपमा ग्यारेन्टी प्रदान गरी राखेको छ  भने अर्कोतर्फ  विपक्षीको गैर कानूनी थूनाबाट काजकृया गर्ने धारा १९ द्वारा प्रत्याभूत धर्म सम्बन्धी हकमा समेत आघात परेको छ । तसर्थ धारा ८८ (२) बमोजिम प्रत्यर्थी मेरो बजै गंगादेवीलाई कृया समेत बस्न नदिई प्रत्यर्थीहरुकै घरमा थुनामा वा बन्दी स्वरुप गैर कानूनी रुपले राखेका हुनाले मेरो बजैलाई गैर कानूनी थुनाबाट मुक्त गरी यस अदालत समक्ष उपस्थित गराई म निवेदक लगायत मेरो परिवारको जिम्मा लगाई दिनु भन्ने आदेश समेत जारी गरी पाँउ भन्ने समेत रिट निवेदन जिकिर रहेछ ।

३.      यस्मा के कसो  भएको हो विपक्षीहरुबाट लिखित जवाफ मगाई आएपछि वा अवधि नाघेपछिनियम बमोजिम पेश गर्नु भन्न यस अदालत एक न्यायाधीशको इजलासको २०४९।४।११ को आदेश ।

४.      दाजु स्व.रत्नध्वज र म भक्तध्वज बीच अंशबण्डा नभई हाम्रो सगोलमा रहे भएकै अवस्थामा दाजुको मृत्यु पूर्व दाजुको सेवा,पालन पोषण,हेरचाह म र मेरो परिवारका अन्य सदस्यहरुले गरी आएको हो। चौतारा,लाजिम्पाट,नगल बाँगेमुढा हामिहरुको घर भएता पनि खास हामिहरु बागेमुढा बस्ने गर्छौं। गंगादेवी भाउजु हुनु भएकोले दाजुका जीवन कालमा जसरी उहाँका हेरचाह र पालन पोषण गरी आएका थियौं  तदनुरुप पनि अहिले पनि हाम्रो साथमा भउजु रहनु भएका छ । विपक्षीका बुवा प्रेमध्वज र बजै प्राणदेवीले दाजुसंग अंश लिई बागबजारमा घर बनाई बसेका छन् । भाउजु पक्षघात भै बोल्न नसक्ने भएकाले सदैव वहाँको स्याहार सु-स्याहार हामिले नै गर्दै आएका थियौं। भाउजुलाई हामीले नै पशुपतिलगी दाजुका अन्तिम दर्शन गराई रिट अनुसार दागवत्ती काजकृया गरी गराएको हो। विपक्षीका पिताले भाउजु गंगादेवीको हेरचाह गरेका छन् । रत्नध्वज प्रधान जिवित रहनु भएकै समयमा २०४५।२।६ मा दाजु रत्नध्वज प्रधान संरक्षक बसी भाउजु गंगादेवीले मिरध्वजलाई शेष पछिको वकसपत्र पारित गरी दिनु भएको थियो । उक्त वकसपत्रमा स्पष्टतः बाचुन्जेल हेरविचार गर्ने र परलोक भएपछी हामी दुवै जनाको काजकृया पिण्ड पानी गरी गराई भन्ने उल्लेख गराएको छ । उक्त लिखत अनुसार पनि रत्नध्वजको मृत्युपछि गंगादेवीको संरक्षक मेरो छोरा अमिरध्वज रहे भएकोमा विवाद छैन । विना आधार व्यक्ति विरुद्ध बन्दी प्रत्यक्षीकरणका आदेश जारी हुन पनि सक्दैन । यसर्थ उल्लेख भए बमोजिम गंगादेवीलाई थुनामा राखेको नहुंदा प्रस्तुत रिट निवदेन खारेज गरी पाउं भन्ने समेत एक मिलानको तर भिन्दा भिन्दै अमिरध्वज प्रधान तथा भक्तध्वज प्रधानको लिखित जवाफ रहेछ ।

          ५.      रत्नध्वजको पत्नी गंगादेवीलाई अपहरण गरी गैर कानूनी थुनामा राखिएको नभै आफ्नो पुर्खेउली घर नघल भै रही बसी रहनु भएको हुंदा झूठ्ठा व्यहोरा उल्लेख गरी दिएको रिट निवेदन खारेज गरी पांउ भन्ने समेत रमानन्द वैद्यको लिखित जवाफ रहेछ ।

          ६.      प्रेमध्वज प्रधानले शान्ति सुरक्षा गरी पाउं भनी यस कार्यालयमा निवेदन दिएकोमा बाहेक अन्य विष्यमा कुनै निवेदन नपरेको र कारबाही समेत नभएको हुंदा प्रस्तुत रिट निवेदन खारेज होस् भन्ने समेत जि.प्र.का.काठमाडौं लिखित जवाफ रहेछ ।

७.      मूल रुपमा व्यक्तिलाई प्रत्यर्थी बनाई व्यक्तिहरुले थुनामा रखेको भन्ने रिट निवेदकको भनाई भएकोमा यसरी बिना आधार व्यक्तिका विरुद्ध रिट जारी हुन नसक्ने स्पष्ट छ । निवेदनमा उल्लेख भए बमोजिम गंगादेवीलाई हामीले अपहरण र बन्दी समेत बनाएको नहुंदा प्रस्तुत रिट निवेदन खारेज गरी पाउं भन्ने समेत उमेश मास्के तथा राजेशध्वज प्रधानको संयुक्त लिखित जवाफ रहेछ ।

          ८.      गंगादेवी प्रधान निवेदक वा विपक्षी कस्को सरक्षकत्व रही बसेको भन्ने कुराको निर्विवाद रुपमा पुष्टि हुन सकेको नभै गंगादेवीको हेरविचार छोराको हैसियतबाट मेरो बुवाले गरी आउनु भएको भन्ने रिट निवेदक र २०४५।२।६ को रत्नध्वज संरक्षक भै गंगादेवीले गरिदिएको  शेषपछिको वकसपत्रका आधारमाबाट गंगादेवीको संरक्षक अमिरध्वज  भएको भन्ने प्रत्यर्थीको भनाई भएको र २०४५।२।६ को लिखित वदर गरी गंगादेवीको संरक्षक मलाई कायम गरी पाउँ भनि प्रेमध्वज प्रधानले प्रत्यर्थी समेत उपर काठमाडौं जिल्ला अदालतमा मुद्दा दिएको र सो मुद्दा अध्यापी अदालतका विचाराधीन छ । यसरी अदालतको विचाराधीन मुद्दामा असर गर्ने गरी सबूद प्रमाण  बुझी त्यस्को मूल्यांकन गरी रिट क्षेत्रबाट  संरक्षकत्वको निरोपण गर्न मिल्ने होइन। गंगादेवी असन्तुलित अवस्थामाको हुनुको साथै आफ्नो मंजूरी दिन नसक्ने स्थितिको देखिन्छ। रत्नध्वज प्रधान जीवित रहदैको अवस्थामा आफू संरक्षक भै गंगादेवी र आफू समेतको हेरविचार अमिरध्वजले गर्नु भनी २०४५।२।६ को शेषपछिको वकसपत्रमा लेखि दिएकोले स्व.रत्नध्वज र गंगादेवीले आफ्नो इच्छा व्यक्त गरी अभिनिश्चित गरी राखेको पाइन्छ ।यस।तो होस् ठेगाना नभएको आफ्नो मंजुरी  दिन नसक्ने व्यक्तिको हेरविचार कसबाट राम्रोसंग हुन सक्दछ सो भै अदालतले मूलभूत रुपमा विचार गर्नु पर्ने हुन्छ ।जो बाट हेरविचार  सेवा सुस्यार हुन सक्दैन उस्लाई संरक्षकत्व प्रदान गर्न निरर्थक हुन जान्छ ।  आफ्नो हेरविचार कसबाट हुन सक्दछ सो कुरा लिखतबाट व्यक्त भैसकेको छ । यसरी उनीहरुको इच्छा र आसय विपरीत गंगादेवीको नजिकको हकवाला प्रेमध्वज भएकोले गंगादेवीलाई निजकै जिम्मा लगाई दिनु भन्नु इच्छा व्यक्त गर्ने व्यक्तिको अभिव्यक्तिको विपरीत हुन्छ । प्रचलित नेपाल कानूनमा यस्तो व्यक्तिको संरक्षक हुने भन्ने  सम्बन्धमा स्पष्ट कानूनी व्यवस्था रहे भऐको पइन्न ।नजिकका हकवाला यस्तो व्यक्तिको संरक्षकको हुन्छ भन्ने कतै लेखिएको छैन । अ.बं. ८३ नं. को व्यवस्था मुद्दामा प्रतिनिधित्व गर्ने सम्बन्धमा हो । यसर्थ रत्नध्वजको संरक्षकत्वमा गंगादेवीको हेरविचार गर्न अमिरध्वजलाई मिति २०४५।२।६ को लिखितद्वारा मंजूरी व्यक्त गरिसकेको अवस्थामा प्रेमध्वज गंगादेवीको नजिकको हकवाला भन्ने आधारमा  हाल गंगादेवीलाईप्रेमध्वजको जिम्मा लगाई दिन मिल्ने नहुंदा प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ भन्ने समेत मा.न्या.श्री त्रिलोक प्रताप राणाको राय ।

९.      वन्दी प्रत्यक्षीकरणको उपचार असाधारण उपचारहरु मध्य पनि असाधारण उपचार हो। तसर्थ अन्य उपचारको विद्यमानता अनुचित विलम्व,सबूद प्रमाण बुझ्न र मूल्याङ्कन गरेर निर्णय गर्न नहुने आदि कुराहरू वाधक मानिन्न । यस्मा कस्ले थुनामा राख्यो भन्ने कुरा गौण हुन्छ । कानूनी औचित्य बेगर थुनामा राखेको छ वा छैन भन्ने कुरा नै प्रमुख र निर्णायक हुन्छ ।तसर्थ साधारण व्यक्ति उपर बन्दी प्रत्यक्षकरणको रिट आर्कषित नहुने भन्ने कुरा सिद्धान्तः अन्य रिटमा झै लागू हुन्न।नियमित अदालतमा संरक्षक सम्बन्धी विवाद रहे भएको कारणबाट बन्दी प्रत्यक्षीकरण जस्तो सार्वभौम उपचार निश्प्रभावित हुन सक्दैन । प्रेमध्वज प्रधान गंगादेवीको सौतेनी छोरा नाताको हो भन्ने कुरामा विवाद छैन । संरक्षक हुँ भन्ने प्रत्यर्थी मध्येका अमरध्वज प्रधान देवरको छोरा भतीजा नाताको  देखिन्छ । यसरी गंगादेवीको सबैभन्दा नजिकको हकवाला प्रेमध्वज नै रहे भएकोमा विवाद देखिन्न । संरक्षक सम्बन्धी छुट्टै कानूनका अभावमा प्रचलित  कानूनमा भएको हकवाला सम्बन्धी कानूनी व्यवस्थाकै आधारमा यस्को निरोपण हुनुपर्ने हुन्छ ।गंगादेवीको पति रत्नध्वज रहे भए सम्म निज नै गंगादेवीको संरक्षक भएको र निज रत्नध?वजको मृत्यु पश्चात यस्तो असक्त व्यक्तिको हकमा निजको संरक्षकत्व निजको नजिकको हकवाला स्वतः सर्ने स्पष्ट छ। रिट निवेदकका पिताले गंगादेवीलाई आफ्नो संरक्षकत्वमा लिन रिट निवेदन गर्नु पर्ने कारण मुख्य रुपले दुईटा देखिएको छ । प्रथमतः विपक्षीहरूले सम्पत्ति खान लिखत गराउने आशंका भएको भन्ने र सा आशका गुठी पत्र र शेषपछिको वकसपत्र गराउने प्रतिपक्षको आचरणबाट देखिन आएको र विपक्षीहरुको साथमा रही रहेमा गंगादेवीको जिउ समेत असुरक्षित हुन सक्ने आंशका विपक्षीहरुमा रहनु स्वभाविक समेत देखिन्छ । गंगादेवीको नजिकको हकवाला तथा संरक्षक सौतेनी छोरा प्रेमध्वजबाट छुटाई,अलग्याई राख्ने कार्य भएबाट यस्तो अवस्थालाई गैर कानूनी थुना मान्नु पर्ने  हुँदा बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरी गंगादेवीलाई यस अदालतको कर्मचारीको रोहवरमा प्रेमध्वज प्रधानको जिम्मा लगाई दिनुपर्ने ठहर्छ भन्ने मा.न्या.श्री लक्ष्मण प्रसाद अर्यालको छुट्टै राय भै यस इजलास समक्ष पेश हुन आएको पाइन्छ ।

१०.    नियम बमोजिम पेश हुन आएको प्रस्तुत रिट निवेदनमा रिट निवेदक तर्फबाट उपस्थित हुनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री गणेश राज शर्मा,विद्वान अधिवक्ता श्री बालकृष्ण न्यौपाने तथा विद्वान अधिवक्ता श्री प्रकाश वस्तीले रत्नध्वजका २ पत्नी गंगादेवी  र प्राणमाया भएकोमा प्राणमाया तर्फबाट प्रेमध्वजको जन्म भै गंगादेवी तर्फबाट कुनै जायजन्म नभएको । रत्नध्वज गंगादेवी , प्रेमध्वज कै संग साथमा निजकै हेरविचार रेखदेखमा रहेका थिए। रत्नध्वजको २०४९।३।२१ मा परलोक हुँदा दाहसंस्कारको लागि पशुपति आर्यघाटमा गएको अवस्थामा मानसिक रुपमा विक्षीप्त अवस्थाकी गंगादेवीलाई हकवालाबाट छुटाई जबरजस्ती लग्न कानूनतः मिल्दैन ।गंगादेवी असक्त र अतिवृद्ध भएबाट वहाँको वैक्तिक स्वतन्त्रताको सुरक्षा गर्ने जिम्मा वहाँको नजिकको हकवाला हो। निवेदक प्रेमध्वज प्रधान गंगादेवीका सबैभन्दा नजिकको हकवाला भएकोमा विवाद छैन । यस्तो अवस्थामा संरक्षकको जिम्माबाट जबरजस्ती छुटाई लग्नुलाई थुनाको रुपमा मान्नु पर्ने हुँदा निवेदकको माग बमोजम आदेश हुनु पर्ने भनी बहस गर्नु भयो।

११.    प्रत्यर्थी अमिरध्वज प्रधान समेतका तर्फबाट उपस्थित हुनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री वासुदेव ढुंगाना,विद्वान अधिवक्ता श्री शम्भु थापा तथा विद्वान अधिवक्ता श्री हरिहर दाहालले गंगादेवी अन्यत्र कतै रहे भएको नभै निज नघल स्थित आफ्नै पुरानो घरमा रहनु बस्नु भएको छ । जबरजस्ती हकवालाबाट छुटाई लग्ने कार्य भएको छैन । निवेदकको बुवा प्रेमध्वज रत्नध्वजको जीवन कालमै छुट्टी भिन्न भै अलग बस्नु भएको छ । गंगादेवी प्रधानको हेरविचार स्याहार सम्भारको कार्य रिट निवेदकको पिताले कहिलै गरेको छैन । मिति २०४५।२।६ को लिखतद्वारा रत्नध्वज संरक्षक भै गंगादेवी  र आफ्नो समेत हकमा बांचुन्जेल हेरविचार स्याहार सम्भार  र मरेपछि क्रिया पिण्ड पानी समेत दिने गरी अमिरध्वज प्रधानलाई संरक्षक मानी गंगादेवी प्रधान तथा रत्नध्वज प्रधानले लिखित रुपमा आफ्नो इच्छा अभिव्यक्ति गरेका छन् । सो लिखितमा अभिव्यक्त इच्छा विपरित हकवालालाई संरक्षक मान्न मिल्दैन । त्यस्मा पनि हाम्रा सामाजिक संरचना  अनुसार पनि सौतेनी छोरा कुनै पपनि हालतमा संरक्षक  हुन सक्दैन। बन्दी प्रत्यक्षीकरणको रिट निवेदन व्यक्ति विशेषका विरुद्ध जारी हुन्न । यस्मा गंगादेवी प्रधानलाई बन्दी बनाएको वा नबनाएको भन्ने प्रश्न भन्दा प्रस्तुत मुद्दामा छ । संरक्षक को हुने भन्ने यहि प्रश्नको  सम्बन्धमा जिल्ला अदालतमा  मुद्दा परी अद्यापी विचाराधीन छ । यस्तो विवादको विषयमा सबूद प्रमाण संकलन  गरी मूल्याङ्कन गरी ठहर गर्नु पर्ने हुन्छ ।  यस्तो विवादास्पद विषयमा रिट क्षेत्र आकर्षित नहुनुको साथै तल्लो अदालतमा विचाराधीन मुद्दामा असर पर्ने गरी रिट क्षेत्रबाट बोल्न समेत नमिल्ने हुंदा प्रस्तुत रिट निवेदन खारेज होस भनी बहस प्रस्तुत गर्नु भयो ।

१२.    आज निर्णय सुनाउन तोकिएको प्रस्तुत रिट निवेदनमा निर्णय तर्फ हेर्दा यस्मा बाजे रत्नध्वज प्रधानको पाटन अस्पतालमा उपचार गराँउदा गराउँदै अवस्थामा २०४९।३।२१ मा मृत्यु भै वहाँको पत्नी तथा मेरो बजै गंगाचदेवीलाई दाह संस्कारको सिलसिलामा अन्तिम दर्शनको लागि पशुपति आर्यघाट लगेकोमा त्यहाँबाट हामी संरक्षकहरुबाट छुटाई होस हवास नभएका वृद्धा गंगादेवीलाई अपहरण गरी लगी प्रत्यर्थीहरुले गैर कानूनी तवरबाट बन्दी बनाई राखेका हकवाला तथा संरक्षकको मंजूरी बेगर बजैबाट विपक्षीले लिखत खडा गरी सम्पत्ति खाने षडयन्त्र समेत रची रहेको बुझिएकोले गैर कानूनी थूनामा रहेकी बजैलाई थुनाबाट मुक्त गरी हकवाला संरक्षक जिम्मा लगाई पाउँ भन्ने समेत व्यहोराको रिट निवेदन जिकिर ।

          १३.    रत्नध्वज प्रधान जीवित रहेको समयमा २०४५।२।६ मा निज आफैं संरक्षक बसी गंगादेवीले भक्तध्वज प्रधानका छोरा अमिरध्वज प्रधानलाई शेषपछिको वकसपत्र पारीत गरी दिएकोबाट अमिरध्वज संरक्षक भएको प्रष्ट छ। यसर्थ गंगादेवी नघलको आफ्नो घरमा संरक्षक साथ रहे बसेको हुंदा बन्दी बनाएको होइन भन्ने लिखित जवाफ भएको पाइन्छ ।

१४.    यी रिट निवेदनले २०४५।२।६। को लिखित वदर गरी गंगादेवी प्रधानको संरक्षक  मलाई कायम गरी पाउँ भनी काठमाडौं जिल्ला अदालतक विचाराधीन रही रहेको भनी विद्वान कानून व्यवसायीहरुले वहसका सिलसिलामा तथा वहस नोटमा समेत उल्लेख  गरेको पाइन्छ ।      यसरी गंगादेवी प्रधानका संरक्षक को हुने भन्ने तत्सम्बन्धी विवाद जिल्ला अदालतको विचारधीन रहेकोले त्यसैबाट सो विवाद निरोपण हुने भएकले त्यो मुद्दामा असर पर्ने गरी अहिले रिट क्षेत्रबाट कहाँ भन्न मिल्दैन । तर गंगादेवी प्रधानलेको वृद्धा अवस्थाले गर्दा होस ठेगाना समेत नभएको देखिंदा तत्काल रुपमा उन्को हेरविचार स्याहार सम्भार,स्वास्थ्य, कोबाट हुने भन्ने सम्म यस रिट निवेदनबाट हेर्नु पर्ने हुन्छ । जहाँ सम्म प्रेमध्वज प्रधान छोरा भएको नाताले उनी नै गंगादेवीका प्राकृतिक संरक्षक हो भन्ने रिट निवेदक तर्पबाट कानून व्यवसायीहरुको जिकिर भएकोमा कानूनमा स्पष्ट यस्तो व्यवस्था रहे भएको पाइन्न तापनि हाम्रो समाजको सामाजिक संरचना तथा परम्परा समेतलाई  दृष्टिगत गर्दा सौतेनी छोरालाई सौतेनी आमाको प्राकृतिक संरक्षक मन्न नमिल्ने देखिन्न । वृद्धा अवस्थाले गर्दा होस ठेगाना नभएकी विधवा स्वास्नी मानिसको संरक्षकत्वबारे प्रचलित कानूनमा कुन स्पष्ट व्यवस्था भएको पाइन्न । साधारणतः यस्ता व्यक्तिको अपुताली खान हकवालाले मै हेरचाह र सेवा सुश्रुवा गर्नु पर्ने हुन्छ । यस स्थितिमा लिखितबाट अन्यथा हुनेमा बाहेक त्यस्ता व्यक्तिको संरक्षण गर्ने दायित्व पनि अपुताली खान पाउने व्यक्ति उपर नै हुन्छ। वृद्धा अवस्थामा वा कडा रोगले गर्दा होस ठेगाना नभएको यस्ता व्यक्तिको हकमा निजको तर्फबाट नालेस उजुर वा मुद्दामा प्रतिनिधित्व गर्ने तात्पर्यको लागि अदालतबाट अनुमति लिई एकाघरको १६ वर्ष पुगेको हकवालाले पाउने व्यवस्था मुलुकी ऐन अ.वं.८३ नं.मा रहे भएको पाइन्छ ।उक्त कानूनी व्यवस्थाबाट पनि यस्ता असक्त व्यक्तिको तर्फबाट कानूनी हक संरक्षणको लागि एकाघरका हकवालालाई कानूनतः अधिकार तथा दायित्व ताकि राखेको पाइन्छ । संरक्षणत्व सम्बन्धी स्पष्ट कानूनी व्यवस्थाका अभावमा यस्ता असक्त व्यक्तिको हेरविचार स्याहार सम्भार गर्ने समेतको अभिभारा लिखतद्वारा अन्यथा भएमा बाहेक सबैभन्दा नजिकको हकवालामा नै रहेको मान्नु पर्ने हुन्छ । गंगादेवी प्रधानको सबैभन्दा नजिकको हकवाला प्रेमध्वज प्रधान हुन भन्ने कुरामा विवाद देखिन्न । यस स्थितिमा अदालतमा परिरहेको मुद्दाबाट अन्यथा नभए सम्म गंगादेवी प्रधानको पतिको मृत्यु पश्चात निजको हेरचाह गर्ने जिम्मेवारी प्रेमध्वज प्रधान भैरहने कुरा निर्विवाद छ । गंगादेवी प्रधान निजको पतिको मृत्यु हुनुभन्दा पहिले पति संग लाजिम्पाट बसेको देखिन्छ । पतिको मृत्यु पश्चात सो ठाउँबाट प्रत्यर्थीहरुले निज गंगादेवीलाई नघलमा लगेर राखेको देखिन्छ । संरक्षक सम्बन्धी विवादको टुङ्गो नलागेसम्म गंगादेवीलाई निजले बसोबास गरी आएकै घरमा छोरा प्रेमध्वज प्रदानले हेरविचार गर्ने गरि वापस गर्नु उपयुक्त हुने देखिंदा निज गंगादेवी प्रधानलाई निवेदकको बुबा प्रेमध्वज प्रधानको जिम्मा लगाई दिनु । साथै गंगादेवी प्रधानको नाममा प्रशस्त चल अचल सम्पत्ति रहे भएको देखिनाले निजको हक हित विपरीत निजको सम्पत्ति हिनामिना हुन सक्ने स्थिति समेतलाई दृष्टिगत गरी निजको सम्पत्ति हुन नपाउने गरी संरक्षण गर्न समेत आवश्यक देखिनाले गंगादेवीको स्याहार सम्भारको लागि आवश्यक खर्च गर्न बाहेक जिल्ला अदालतमा विचाराधीन संरक्षकत्व संम्बन्धी मुद्दाको अन्तिम टुंगो नलागेसम्म अदालतको स्वीकृति बेगर कुनै किसिमले सम्पत्ति बेचबिखन वाहेक छाडी दिने गरी लिखत समेत नगर्नु नगराउनु भन्ने समेत आदेश जारी हुन ठहर्छ। मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा हामी सहमत छौं ।

 

प्र.न्या.विश्वानाथ उपाध्याय

न्या. पृथ्वी बहादुर सिंह

 

इति सम्वत २०५१ साल वैशाख ९ गते रोज ६ शुभम.....

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु