शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९३२३ - निर्णय दर्ता बदर हक कायम

भाग: ५७ साल: २०७२ महिना: बैशाख अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

सम्माननीय प्रधानन्यायाधीश श्री रामकुमार प्रसाद शाह

माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल

फैसला मिति : २०७१।७।११।३

०६३-CI-०७०८

 

मुद्दा : निर्णय दर्ता बदर हक कायम ।

 

पुनरावेदक/प्रतिवादी : गुठी संस्थान केन्द्रीय कार्यालय, डिल्लीबजार, काठमाडौंको तर्फबाट सेमन्तराज चापागाईंसमेत

विरूद्ध

विपक्षी/वादी : ललितपुर जिल्ला, हरिसिद्धि गा.वि.स. वडा नं. ३ बस्ने राम मुकुन्द महर्जनसमेत

 

  • सर्भे नापीको कैफियतमा राजगुठीको जग्गा भनी व्यहोरा उल्लेख हुँदैमा सोहीमात्र आधार हक प्राप्त गर्ने स्रोत हुन सक्तैन । फिल्डबुकको कैफियतमा उल्लेख भएको व्यहोरालाई अन्य प्रमाणले पुष्‍टि गरेको हुनुपर्दछ । उक्त फिल्डबुकमा उल्लेख भएको व्यहोराको आधार के हो भनी पुनरावेदक पक्षबाट कुनै प्रमाण पेस भएको छैन । यस अदालतबाट पटकपटक भएको आदेशबाट मालपोत कार्यालय र नापी कार्यालयलाई फिल्डबुकमा राजगुठी भनी उल्लेख भएको व्यहोरा के कुन आधार र निर्णयबाट गरिएको भनी बुझिएकोमा सो सम्बन्धमा कुनै आधार वा निर्णय भएको भनी खुलाइएको देखिँदैन । विवादित जग्गाको नापीको फिल्डबुकको कैफियतमा हरिसिद्धि भवानी गुठी दर्ता भनी उल्लेख भएको एकमात्र आधारमा विवादित जग्गा राजगुठीको भएको मान्‍न नमिल्ने

(प्रकरण नं. १०)

 

पुनरावेदक/प्रतिवादीको तर्फबाट : विद्वान्‌ अधिवक्ता ज्ञानेन्द्र पोखरेल

विपक्षी/वादीको तर्फबाट : विद्वान्‌ वरिष्‍ठ अधिवक्ताद्वय श्याम खरेल, मुक्ति प्रधान विद्वान्‌ अधिवक्ता विश्वप्रकाश भण्डारी

अवलम्बित नजिर :

  • नेकाप २०६६ चैत, नि.नं. ८२८६, पृष्ठ २०४४

सम्बद्ध कानून :

 

फैसला

न्या. गिरीशचन्द्र लाल : पुनरावेदन अदालत, पाटनको मिति २०६३।१।२४ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम प्रतिवादीहरूको तर्फबाट यस अदालतमा पुनरावेदन परेको प्रस्तुत मुद्दाको सङ्‌क्षिप्त तथ्य र ठहर यसप्रकार छ :

हरिसिद्धि गाउँ विकास समिति वडा नं. ३(क) कि.नं. २६ को क्षेत्रफल २-८-०, ऐ. कि.नं. २७ को क्षेत्रफल २-१४-०, ऐ. कि.नं. १८८ को क्षेत्रफल ३-०-०समेत ३ कित्ता जग्गा वादीमध्येका तनलाल महर्जनका बाबु सिलाल महर्जनसमेतका २२६ जना गुठियार रहने गरी विष्‍णुलाल ज्यापूबाट संव २००० साल वैशाख १९ गते दानपत्र पारित गरी लिई सोही जग्गाको आयस्ताबाट मुर्दा गुठी चलाई आएकोमा उक्त जग्गा गुठी संस्थानअन्तर्गत हरिसिद्धि भवानी गुठीको नाममा दर्ता गर्ने गरी मालपोत कार्यालय, ललितपुरबाट मिति २०४२।९।७ मा निर्णय भई सो निर्णयको आधारमा हरिसिद्धि भवानी गुठीको नाममा दर्ता भएकाले उक्त दर्ता बदर गरी हामी फिरादीसमेत साविकदेखि २२६ गुठियारहरूले सञ्चालन गरी आएको हरिसिद्धि निजी मुर्दा गुठीको नाममा उल्लेखित ३ कित्ता जग्गाको हक कायम हुने ठहर्‍याई निजी गुठीको तर्फबाट सो गुठीको अध्यक्ष तथा सचिव क्रमशः हामी फिरादीहरूको नाममा उक्त जग्गा निजी गुठी जनाई दर्ता गरी जग्गाधनी प्रमाणपुर्जासमेत पाउँ भन्‍नेसमेत व्यहोराको फिरादपत्र ।

            हरिसिद्धि गा.वि.स. वडा नं. ३(क) कि.नं. २६, २७ र १८८ को जग्गा गुठी संस्थान हरिसिद्धि भवानी गुठीको नाउँमा कायम भै पुर्जा प्राप्‍त भएकाले सो जग्गा राजगुठीको जग्गा भएको प्रमाणित भै रहेको छ । गुठी संस्थानको शाखा कार्यालय, ललितपुरबाट मालपोत कार्यालय, ललितपुरलाई मिति २०५७।९।२१ मा लेखेको पत्रमा समेत उक्त ३ कित्ता जग्गाहरू हरिसिद्धि भवानी गुठीको नाउँमा २०४२ सालमा दर्ता प्रमाणित भै रहेको देखिन आई कारवाहीको सिलसिलामा गुठी संस्थान केन्द्रीय कार्यालयमा पेस हुँदा गुठी संस्थान सञ्चालक समितिको मिति २०५२।५।३० को निर्णयको दफा ३ आकर्षित हुने भनी लेखी आएकोमा सो मिति २०५२।५।३० मा गुठी संस्थान सञ्चालक समितिको निर्णयको दफा ३ मा "गुठी उल्लेख भै जग्गाधनी प्रमाणपुर्जा प्राप्‍त भएको तर पुर्जामा किटान भै गुठी नखुलेको जग्गाको हकमा निजी गुठी भनी दावी विरोध भएमा अदालतबाट हक कायम गरी ल्याएका बखत फैसलाबमोजिम गर्ने" भनी उल्लेख भएको देखिँदा सोही व्यहोरा लेखी पठाउने भनी २०५७।८।२९ मा निर्णय भएकाले जानकारीको लागि लेखी पठाउने भनी मालपोत कार्यालयलाई लेखी पठाएको अवस्था  छ । यसरी विपक्षीको कुनै हकमा आघात नपुगेको हुनाले फिरादीको फिरादपत्र खारेज गरिपाउँ भन्‍नेसमेत व्यहोराको गुठी संस्थान शाखा कार्यालय, ललितपुरको प्रतिउत्तरपत्र ।

            फिल्डबुक व्यहोरासमेतका आधार प्रमाणबाट हरिसिद्धि भवानी गुठीका नाममा दर्ता प्रमाणित भरहेको अवस्था हुँदा राजगुठीको जग्गा हो भनी जनिसकेको जग्गालाई निजी मुर्दा गुठीको जग्गा कायम गर्न नमिल्ने हुँदा वादी दावी पुग्‍न नसक्ने ठहर्छ भन्‍ने ललितपुर जिल्ला अदालतको मिति २०६०।५।२४ को फैसला ।

            सुरू अदालतको फैसलामा चित्त बुझेन । हामीहरूको निजी गुठीको जग्गालाई राजगुठी कायम गरी गरेको फैसला निराधार तथा सबदको मूल्याङ्कनको अभावमा भएको हुँदा हामीहरूको फिराद दावीबमोजिम निजी गुठीको ठहराई मुर्दा गुठी कायम गरी इन्साफ पाउँ भन्‍नेसमेत व्यहोराको वादीको पुनरावेदन अदालत, पाटनमा परेको पुनरावेदनपत्र । 

            यसमा संवत् २००० साल वैशाख १९ गते रोज १ को पारित दानपत्र अनुसार विवादित जग्गामा वादी पक्षको हक कायम भै दर्ता बदर हुने हो होइन त्यसतर्फ विवेचना र छानबिन नगरी सो जग्गा राजगुठीभित्रको देखिन्छ भनी वादी दावी पुग्‍न नसक्ने भनी गरेको सुरूको फैसला प्रमाणको मूल्याङ्कनको परिप्रेक्ष्यमा फरक पर्न सक्ने हुँदा छलफलको लागि अ.बं. २०२ नं.बमोजिम प्रत्यर्थीलाई झिकाई पेस गर्नु भन्‍ने पुनरावेदन अदालत, पाटनको आदेश ।

            विवादित जग्गा राजगुठीको जग्गा हो भन्‍ने आधार साविक लगत दर्तासमेतका प्रमाण कागजात केही देखिँदैन । वादीहरूले सप्रमाण हरिसिद्धि मुर्दा निजी गुठीको जग्गा हो र सो गुठीका सञ्चालक हामीहरू भएको हुनाले हामीहरूको नाममा दर्ता गरिपाउँ भन्‍ने फिराद दावी सबुद प्रमाणबाट पुष्‍टि भरहेको देखिन्छ । तसर्थ सुरू ललितपुर जिल्ला अदालतको ०६०।५।२४ को फैसला उल्टी भई पुनरावेदक वादीहरूको दावी अनुसार राजगुठीमा दर्ता गर्ने गरेको निर्णय बदर भई विवादको जग्गा मुर्दा गुठीको निजी गुठीमा दर्ता हुने ठहर्छ भन्‍ने पुनरावेदन अदालत, पाटनको मिति २०६३।१।२४ को फैसला ।

            पुनरावेदन अदालतको फैसलामा चित्त बुझेन । कानूनले तोकेको म्यादभित्र साविक पोता लगतको जग्गा विपक्षीले रैकर परिणत गराएको प्रमाण पेस गर्न नसकेबाटै उक्त लगतको आधारमा प्रस्तुत जग्गामा नालिस गर्न पाउने हकाधिकार विपक्षीलाई छैन । अर्कोतर्फ विर्ता उन्मूलन ऐन, २०१६ को तत्कालीन दफा ७(४) को प्रतिबन्धात्मक वाक्याँशले रैकर परिणत गराउन नसकेको गुठीको जग्गा राजगुठीमा दर्ता गरिनेछ भन्‍ने किटानी व्यवस्था गरिरहेको र सो कानूनी व्यवस्था प्रचलनमा रहेकै बखत राजगुठीमा दर्ता भसकेको कारणसमेतबाट पनि विपक्षीलाई उक्त जग्गामा दावी गर्न पाउने हकाधिकार नै छैन । हकदैया विहन विपक्षीको फिराद खारेज गरिनुपर्नेमा नगरी उल्टै हरिसिद्धि भवानी गुठी (राजगुठी) का नाममा भएको दर्ता बदर गर्ने गरी भएको फैसला त्रुटिपूर्ण छ । सुरू ललितपुर जिल्ला अदालतको फैसला उल्टी हुने ठहर्‍याई भएको पुनरावेदन अदालत, पाटनको फैसला प्रत्यक्ष नै त्रुटियुक्त हुँदा उक्त फैसला बदर गरी सुरू फैसला सदर गरिपाउँ भन्‍ने गुठी संस्थान केन्द्रीय कार्यालय डिल्लीबजार र गुठी संस्थान शाखा कार्यालय ललितपुरको तर्फबाट यस अदालतमा परेको संयुक्त पुनरावेदनपत्र ।

            यसमा विवादित जग्गाको फिल्डबुकमा किसानको व्यहोरामा हरिसिद्धि राजगुठीको भन्‍ने उल्लेख भएको देखिएको, उल्लिखित जग्गाहरू मिति २०४२।९।७ मा मालपोत कार्यालयले हरिसिद्धि भवानी राजगुठी कायम गरी निर्णय गरेको भनी वादीले फिरादपत्रमा उल्लेख गरेकोमा मिति २०५८।४।३० मामात्र फिराद परेको देखिएको, गुठी संस्थान ऐन, २०३३ को दफा १९(क)बमोजिम विवादित जग्गाहरू निजी गुठीका जग्गा हुन् भनी निजी गुठीको लगत गुठी संस्थानमा दिएको अवस्था नदेखिएको, विवादित जग्गाहरू साविक पोता विर्ताअन्तर्गतको भन्‍ने देखिएकोमा विर्ता उन्मूलन ऐन, २०१६ को दफा ७क बमोजिम रैकरमा परिणत गराएको पनि नदेखिएको र सोही ऐनको दफा १२क बमोजिम विर्ता जग्गा रैकर परिणत गर्ने म्याद २०४९ साल आषाढ मसान्तमा समाप्‍त भएको समेत अवस्थामा पनि विवादित जग्गाहरूलाई निजी गुठी मानी सुरूको फैसला उल्टी हुने ठहर्‍याएको पुनरावेदन अदालत, पाटनको फैसला फरक पर्नसक्ने देखिँदा अ.बं. २०२ नं.बमोजिम विपक्षी झिकाउनु भन्‍ने यस अदालतको मिति २०६७।१२।१ को आदेश ।

            यसमा प्रस्तुत जग्गा राजगुठी तथा निजी गुठी कुन लगतमा जनिएको छ, सो लगतको विवरण गुठी संस्थान शाखा कार्यालय, भद्रकाली, काठमाडौंबाट झिकाउने र प्रस्तुत जग्गा सम्बन्धमा गुठी संस्थान केन्द्रीय कार्यालयबाट मिति २०४२।९।७ मा निर्णय भएको भए सो निर्णयसहितको मिसिल र निर्णय नभएको भए सोही अनुसारको एकिन जवाफ लिई पेसीको दिन उपस्थित हुनु भनी गुठी संस्थान केन्द्रीय कार्यालयलाई लेखी नियमानुसार पेस गर्नु भन्‍ने यस अदालतको मिति २०६८।४।२३ को आदेश ।

            यसमा कि.नं. २६ र १८८ को फिल्‍डबुको मिसिल संलग्‍न प्रतिलिपि हेर्दा मालपोत कार्यालयको च.नं. २०३६ मिति २०४२।९।७ को पत्रबमोजिम हरिसिद्धि भवानी गुठी दर्ता भनी जनिएको पाइन्छ । सोबमोजिम भवानी गुठी जनाउने गरी उक्त मिति २०४२।९।७ को पत्रमा उल्लेख भएको निर्णय मालपोत कार्यालयबाट आउन सकेको नदेखिएकाले नापी शाखाले फिल्डबुकमा सो व्यहोरा जनाएको हुँदा नापी शाखा ललितपुरबाट मालपोत कार्यालयको सो च.नं. २०३६ मिति २०४२।९।७ को पत्रको प्रमाणित प्रतिलिपि तथा उक्त कि.नं. २६ र १८८ का जग्गा नापी हुँदाको अवस्था फिल्डबुकमा जे जस्तो व्यहोरा तथ्य जनिएको छ सो देखिने गरी फिल्डबुकको प्रमाणित फोटोकपिसमेत नापी कार्यालय, ललितपुरबाट झिकाउनु । त्यस्तै मालपोत कार्यालयको उक्त च.नं. २०३६ मिति २०४२।९।७ को पत्रको कार्यालयमा रहने अफिस कपिको फोटोकपि र त्यसमा उल्लेख भएको हरिसिद्धि भवानी गुठी जनाउने भन्‍ने निर्णयसहितको मिसिल मालपोत कार्यालयबाट झिकाउनु । त्यस्तै उक्त कि.नं. २६ र १८८ को जग्गा के कुन निर्णय पत्र वा लगतको आधारमा राजगुठी भनी दावी गरी स्रेस्ता तयार गरेको हो र राजगुठीको जग्गा भनी देखिने आधार के हो सोको धिकारिक र तथ्यपूर्ण स्रेस्ताको प्रमाण भए पेस गर्नु भनी गुठी संस्थान केन्द्रीय कार्यालयलाई लेखी पठाउनु भन्‍ने यस अदालतको २०६८।१०।२४ को आदेश ।

            यसमा कि.नं. २६, २७ र १८८ को जग्गाहरू हक कायम गरिपाउँ भनी वादीहरूको दावी रहेको र उक्त जग्गाहरू नापी हुँदा फिल्डबुकमा हरिसिद्धि भवानी राजगुठीको जग्गा भनी मोहीले कैफियत महलमा लेखाएको देखिएकाले उक्त जग्गाहरू राजगुठी वा वादीहरूको कथनबमोजिम निजी गुठीको जग्गा के हो सो सम्बन्धमा उक्त फिल्डबुकमा जोताहा भनी जनिएको व्यक्तिहरू बुझी निर्णय गर्नुपर्ने देखिएकाले निज जोताहाहरू बुझी पेस गर्नु भन्‍ने यस अदालतको आदेश ।

            कि.नं. २७ को जग्गा पिता बुलालले निजी मुर्दा गुठीलाई बाली बुझाई कमाई आएको हो । निज बाबुको शेषपछि म नन्दबहादुर महर्जनले जोती कमाई भोगी आएको छु । उक्त जग्गा राजगुठीको जग्गा होइन, हरिसिद्धि निजी मुर्दा गुठीको हो । निजी हरिसिद्धि मुर्दा गुठीलाई बाली बुझाएको छु भन्‍ने अ.व. १३९ नं.बमोजिम बुझिएको नन्दबहादुर महर्जनले यस अदालतमा गरेको बयान ।

            कि.नं. २६ को जग्गाको साविक मोही मेरो बाजे शिवशंकर घिमिरेले कमाई जोती आएकोमा निजको शेषपछि पिता भरतप्रसाद घिमिरेले र पिताको शेषपछि म ऋषिराम घिमिरेले जग्गा जोतभोग गरी सालसालै बाली हरिसिद्धि मुर्दा गुठीलाई बुझाई आएको छु । यो जग्गा राजगुठी नभई हरिसिद्धि निजी मुर्दा गुठीको हो भन्‍ने अ.बं. १३९ नं.बमोजिम बुझिएका ऋषिराम घिमिरेले यस अदालतमा गरेको बयान ।

            कि.नं. १८८ को जग्गाको साविक मोही पिता बहादुर महर्जन भई निजको शेषपछि म दशराम महर्जनले जोती सालसालको बाली हरिसिद्धि निजी मुर्दा गुठीलाई बुझाई आएको छु । सो जग्गा राजगुठीको नभई हरिसिद्धि निजी मुर्दा गुठीको हो भन्‍ने अ.बं.१३९ नं.बमोजिम बुझिएका दशराम महर्जनले यस अदालतमा गरेको बयान ।

            यसमा अ.बं. १३९ नं.बमोजिम बयान गर्ने ऋषिराम घिमिरे, नन्दबहादुर महर्जन र दशराम महर्जन कारणीसरह देखिँदा तारिखमा राख्‍नु भन्‍ने यस अदालतको मिति २०६९।६।२५ को आदेश ।

            यसमा गुठी संस्थान केन्द्रीय कार्यालयबाट यस जग्गा सम्बन्धमा मिति २०५२।५।३० र मिति २०५७।८।२९ मा भएको निर्णय झिकाई नियमानुसार पेस गर्नु भन्‍ने यस अदालतको मिति २०६९।८।१८ को आदेश ।

            यसमा मालपोत कार्यालय, ललितपुरका तत्कालीन मालपोत अधिकृत धर्ममप्रसाद गौतमले मिति २०४१।६।११ मा गरेको मिसिल संलग्‍न निर्णयमा गुठी अधनस्थ जग्गाको माग भएबमोजिम दर्ता बाँकी स्रेस्ताहरू भिडाई दर्तावाला र जोताहा मोही खुलाई जग्गाधनी दर्ता पुर्जा तयार पारी कार्यालयको स्रेस्तामा कैफियत जनाई मागबमोजिम मिलेजतिको हकमा गुठी संस्थानलाई गुठी अधनस्थ जग्गाको प्रमाणपुर्जा पटकपटक माग हुन आए दिने भन्‍ने उल्लेख भएकाले सो निर्णयबमोजिम के कुन जग्गाको दर्ता पुर्जाको लागि माग भई आएको र दर्ता भएको हो, सो देखिने गरी तत्सम्बन्धी सम्पूर्ण कारवाही फायल तथा गुठी संस्थानबाट मिति २०५२।५।३० मा विभिन्‍न नाम गरेका गुठीका सम्बन्धमा लगत कायम गरी वक्यौता असल गर्ने भनी भएको निर्णय र सोही अनुसार विभिन्‍न नाम गरेका गुठी जग्गाहरू पछि अदालतबाट भएको निर्णयबमोजिम गर्ने गरी गुठी संस्थानको नाममा दर्ता गर्ने भनी गुठी जनिएजतिको दर्ता पुर्जा बनाई पठाउन भनी २०३७ सालमा गरिएको परिपत्रसम्बन्धी निर्णयसमेत गुठी संस्थान केन्द्रीय कार्यालयबाट झिकाई आएपछि नियमानुसार पेस गर्नु भन्‍ने यस अदालतको मिति २०७०।१।२२ को आदेश ।

            नियमबमोजिम दैनिक पेसीसूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदकतर्फबाट उपस्थित विद्वान्‌ अधिवक्ता श्री ज्ञानेन्द्र पोखरेलले विवादित जग्गाहरू गुठी संस्थानअन्तर्गतको हरिसिद्बि भवानीको राजगुठीको जग्गा हो । साविकमा मोहीले बाली बुझाउँदा पनि हरिसिद्धि भवानी गुठी भनी भरपाईमा उल्लेख छ । हरिसिद्धि मुर्दा गुठी र हरिसिद्धि भवानी गुठी अलगअलग हुन । हरिसिद्धि भवानी गुठी पनि गुठीयारामार्फत् नै जग्गा भोग भएको राजगुठीको जग्गा भएकाले राजगुठीको जग्गामा दावी गर्ने हकाधिकार प्रत्यर्थीलाई छैन । गा.वि.स. को सिफारिसको आधारमा जग्गाको स्वामित्‍वको निर्धारण हुन नसक्ने अवस्थामा पुनरावेदन अदालतले गा.वि.स.को सिफारिसलाई आधार मानी विवादित जग्गालाई निजी गुठी ठहराएको फैसला त्रुटिपूर्ण भएकाले उल्टी हुनुपर्छ भन्‍नेसमेत बहस गर्नुभयो ।

            प्रत्यर्थीतर्फबाट उपस्थित विद्वान्‌ वरिष्‍ठ अधिवक्ताहरू श्री श्याम खरेल र श्री मुक्ति प्रधान एवम् विद्वान्‌ अधिवक्ता श्री विश्वप्रकाश भण्डारीले विवादित जग्गाको गुठी संस्थानसँग आफ्नो कुनै लगत छैन । उक्त जग्गाको आफ्नो हकको स्रोत के हो भन्‍ने खुलाउन सकेको छैन । केवल नापीको फिल्डबुकमा व्यहोरा लेखाएको आधारमा हकको स्रोत हुन सक्तैन । विवादित जग्गा निजी गुठी कायम हुने गरी २००० सालमा दानपत्र पारित गरी लिएको लगत प्रत्यर्थीसँग छ । सो जग्गाको साविक मोहीले तथा मोही हकदारहरूले समेत मुर्दा गुठीलाई बाली बुझाई आएका छन् । उक्त जग्गा हरिसिद्बि मुर्दा निजी गुठीको हो भनी मोहीका हकदारहरूले यस अदालतमा आई बयान गरेको अवस्था छ । यस अवस्थामा विवादित जग्गा राजगुठी नभई हरिसिद्धि मुर्दा निजी गुठी भएकाले निजी गुठीमा दर्ता हुने ठहराएको पुनरावेदन अदालतको फैसला मिलेको हुँदा सोही सदर हुनुपर्छ भन्‍नेसमेत हस गर्नुभयो ।

            आज निर्णय सुनाउन तोकिएको प्रस्तुत मुद्दामा बहससमेत सुनी मिसिल संलग्‍न कागजातहरूको अध्ययन गरी पुनरावेदन अदालत, पाटनबाट भएको मिति २०६३।१।२४ को फैसला मिलेको छ वा छैन र प्रतिवादीको पुनरावेदन जिकिर पुग्‍ने हो वा होइन भन्‍ने निर्णय दिनुपर्ने देखियो ।

            २. निर्णयतर्फ विचार गर्दा हरिसिद्धि गा.वि.स. वडा नं. ३(क) कि.नं. २६ को क्षेत्रफल २-८-०, कि.नं. २७ को क्षेत्रफल २-१४-०, कि.नं. १८८ को क्षेत्रफल ३-०-०समेत ३ कित्ता जग्गाको आयस्ताबाट मुर्दा गुठी चलाई आएकोमा उक्त जग्गा हरिसिद्धि निजी मुर्दा गुठीको कायम गरी जग्गाधनी प्रमाणपुर्जा पाउन मालपोत कार्यालय, ललितपुरमा निवेदन दिँदा सो कार्यालयबाट मिति २०४२।९।७ मा उक्त जग्गा हरिसिद्धि भवानी राजगुठीको नाममा दर्ता गरेको जानकारी प्राप्त भएकाले हाम्रो निजी गुठीको जग्गालाई हरिसिद्धि भवानी राजगुठीको भएको भनी मालपोत कार्यालयले गरेको दर्ता बदर गरी साविकदेखि २२६ जना गुठीयारले सञ्चालन गरी आएको हरिसिद्धि निजी मुर्दा गुठीको जग्गा निजी गुठी कायम हुने गरी वादीहरूको नाममा दर्ता गरी जग्गाधनी प्रमाणपुर्जासमेत दिलाई पाउँ भन्‍नेसमेत वादीहरूको दावी रहेको पाइन्छ ।

            ३. प्रतिवादीको प्रतिउत्तरपत्रमा उक्त जग्गा हरिसिद्धि भवानी गुठीका नाममा २०४२ सालमा दर्ता प्रमाणित भई हरिसिद्धि भवानी गुठीका नाउँमा जग्गाधनी प्रमाणपुर्जा प्राप्‍त भएकाले सो जग्गा राजगुठी भएको प्रमाणित भएको हुँदा वादीहरूको हक अधिकारमा आघात नपुगेकाले फिराद खारेज गरिपाउँ भन्‍ने जिकिर लिइएको पाइन्छ ।

            ४. सुरू ललितपुर जिल्ला अदालतले वादीको दावी पुग्‍न नसक्ने ठहराएकोमा पुनरावेदन अदालत, पाटनले सुरू फैसला उल्टी गरी वादी दावीबमोजिम विवादित जग्गा राजगुठीमा दर्ता गर्ने गरेको मालपोत कार्यालयको निर्णय बदर गरी वादी दावीबमोजिम मुर्दा गुठीको निजी गुठीमा दर्ता हुने ठहराएको फैसलाउपर प्रतिवादीको तर्फबाट यस अदालतमा पुनरावेदन परी निर्णयार्थ यस इजलाससमक्ष पेस हुन आएको रहेछ ।

            ५. यस सम्बन्धमा मिसिल संलग्‍न कागजातहरू अध्ययन गरी हेर्दा वादीहरूले दावी लिएको कि.नं. २६, २७ र १८८ का तीन कित्ता जग्गा वादीमध्येका तनलाल महर्जनका बाबु सिलाल महर्जनले निजसमेतका २२६ जना गुठीयार रहने गरी विष्‍णुलाल ज्यापूबाट संवत् २००० साल वैशाख १९ गते दानपत्र पारित गरी लिई उक्त जग्गा साविक लगत नं. १४४०।१६६० मा निज सिलाल महर्जनका नाममा दर्ता भई २०२१ सालको नापीमा कि.नं. २६, २७ र १८८ कायम भएको भन्‍ने वादीको कथन रहेको पाइन्छ । विवादित ३ कित्ता जग्गाहरू वादीको कथनबमोजिम २००० सालमा दानपत्रबाट प्राप्‍त गरेको मुर्दा गुठीको जग्गा हो वा पुनरावेदकको दावीबमोजिम राजगुठीको जग्गा हो भन्‍ने नै प्रस्तुत मुद्दामा निरूपण हुनुपर्ने विषयवस्तु रहेको देखिएकाले सो सम्बन्धमा विचार गर्नुपर्ने देखिन आयो ।

            ६. वादीहरूले वादीमध्येका तनलाल महर्जनका पिता सिलाल महर्जनका नाममा साविक रै.नं. १४४०/१६६० मा दर्ता भई सर्भे नापीमा कि.नं. २६, २७ र १८८ कायम भएको जग्गा हरिसिद्धि निजी मुर्दा गुठीको भई उक्त जग्गाको आयबाट गुठी चलाई आएकोमा हालसम्म जग्गा दर्ता गरी जग्गाधनी प्रमाणपुर्जा लिन बाँकी भएकाले जग्गा दर्ता गरी प्रमाणपुर्जा पाउन भनी मालपोत कार्यालय, ललितपुरमा मिति २०५४।९।३ मा निवेदन दिएको देखिन्छ । सो निवेदन सम्बन्धमा मालपोत कार्यालय, ललितपुरबाट कारवाही हुँदा उल्लिखित जग्गाहरू हरिसिद्धि भवानी गुठीमा दर्ता भएको देखिँदा गुठी कार्यालयअन्तर्गतको लगतभित्र पर्छ पर्दैन भनी गुठी संस्थान शाखा कार्यालय, ललितपुरलाई मालपोत कार्यालय, ललितपुरबाट मिति २०५४।९।२४ को पत्रद्बारा सोधिएकोमा "गुठी उल्लेख भई जग्गाधनी प्रमाणपुर्जा प्राप्‍त भएका तर पुर्जामा किटान भई गुठी नखुलेका जग्गाको हकमा निजी गुठी भनी दावी विरोध भएमा अदालतबाट हक कायम गराई ल्याएको अवस्थामा फैसलाबमोजिम गर्ने" भनी गुठी संस्थान सञ्चालक समितिको मिति २०५२।५।३० को निर्णयको दफा ३ मा उल्लेख भएकाले प्रस्तुत विषयमा समेत सोही मिति २०५२।५।३० को निर्णयको दफा ३ आकर्षित हुने भनी गुठी संस्थान केन्द्रीय कार्यालयबाट मिति २०५७।८।१९ मा निर्णय भएको भनी गुठी संस्थान शाखा कार्यालय, ललितपुरबाट मालपोत कार्यालय, ललितपुरमा लेखी पठाइएको देखिन्छ । गुठी संस्थान शाखा कार्यालयको पत्रमा उल्लेख भएको व्यहोराबमोजिम निवेदकहरूलाई जानकारी दिने भनी मालपोत कार्यालयले मिति २०५७।११।३० मा निर्णय गरेकोमा सोउपर निवेदकहरूले जिल्ला अदालतमा फिराद दिएको देखिन्छ ।

            ७. वादी तनलाल महर्जनले निजका बाबु सिलाल महर्जनसमेतका २२६ जना गुठीयारले निजी गुठी राख्‍ने प्रयोजनका लागि विष्णु ज्यापुसँग संवत् २००० साल वैशाख १९ गते रजिस्ट्रेसन अड्‍डामार्फत् दानपत्र गरी पारित गरी सिलाल महर्जनको नाममा साविक लगत नं. १४४०/१६६० मा दर्ता रहेको ८ रोपनी जग्गा २०२१ सालको नापीमा कि.नं. २६, २७ र १८८ कायम भई कि.नं. २६ को मोही शिवशंकर पाध्या, कि.नं. २७ को मोही बुलाल महर्जन र कि.नं. १८८ को मोही बहादुर महर्जन कायम रही सोही जग्गाको आयस्ताबाट मुर्दा गुठी चलाई आएको भन्‍ने उल्लेख गरी विवादित जग्गाका मोहीहरूले विभिन्‍न सालको बाली मुर्दा गुठीलाई बुझाएको भरपाईसमेत पेस गरेको देखिन्छ । सुरू ललितपुर जिल्ला अदालतको मिति २०५८।८।२५ को आदेशानुसार मालपोत कार्यालय, काठमाडौंको मिति २०५८।१०।१ को पत्रसाथ प्राप्‍त मिति २०००।१।१९ मा पारित भएको लिखतको प्रतिलिपि हेर्दा विवादित जगगा सिलालसमेत २२६ जनाको निजी गुठी कायम हुने गरी विष्णुलाल ज्यापबाट दानपत्र पारित गरिलिएको देखिन्छ । वादीले दावी गरेको मिति २०००।१।१९ को पारित दानपत्रको लिखतको सम्बन्धमा प्रतिवादी गुठी संस्थानको तर्फबाट अन्यथा प्रतिवाद लिइएको देखिँदैन । त्यस्तै वादीले सोही पारित लिखतबमोजिमको जग्गा नै २०२१ सालमा नापी हुँदा कि.नं. २६, २७ र १८८ कायम भएको भनी दावी गरेकोमा सो तथ्यलाईसमेत प्रतिवादी पक्षबाट प्रमाणद्बारा खण्डन गर्न सकेको देखिँदैन ।

            ८. त्यसका अतिरिक्त यस अदालतको आदेशानुसार अ.बं. १३९ नं. बमोजिम बुझिएका विवादित जग्गाका साविक मोहीका हकदारहरूले यस अदालतमा बयान गर्दा उल्लिखित जग्गा राजगुठीको नभई हरिसिद्धि निजी मुर्दा गुठीको भएको र साविकदेखि नै मोहीहरूले हरिसिद्धि मुर्दा गुठीलाई जग्गाको बाली बुझाई आएको भन्‍ने उल्लेख गरेको पाइन्छ । त्यस्तै गुठी संस्थान शाखा कार्यालय, ललितपुरबाट प्राप्‍त प्रमाण मिसिल हर्दा सो कार्यालयले पनि विवादित जग्गाका मोहीहरूलाई बुझेको देखिन्‍छ । जसमा कि.नं. १८८ को जग्गाको मोही बहादुर महर्जनको छोरा दशराम महर्जन र कि.नं. २७ को जग्गाको मोही बुलाल महर्जनका छोरा नन्दबहादुर महर्जनले विवादित जग्गा निजी मुर्दा गुठीको भई सालसालको बाली पनि मुर्दा गुठीलाई नै बुझाई आएको भनी मिति २०५४।११।२१ मा निवेदन दिई मुर्दा गुठीलाई विभिन्‍न सालको बाली बुझाएको भरपाईसमेत पेस गरेको उक्त मिसिलबाट देखिन्छ ।

            ९. पुनरावेदक गुठी संस्थानतर्फबाट यस अदालतमा दायर भएको पुनरावेदनपत्रमा विवादित जग्गा नापी हुँदा फिल्डबुकमा राजगुठी भनी जनिएको र मिति २०४२।९।७ मा हरिसिद्धि भवानी गुठीमा दर्ता भई उक्त गुठीका नाममा जग्गाधनी दर्ता प्रमाण पुर्जासमेत प्राप्‍त भएकाले सर्भे नापीबाट नै राजगुठी देखिएको जग्गा निजीगुठीको हुन नसक्ने भनी लिइएको जिकिर सम्बन्धमा विचार गर्दा विवादित जग्गाको नापीको फिल्डबुक हेर्दा कि.नं. २६ र कि.नं. १८८ को जग्गा सम्बन्धमा सो जग्गा हरिसिद्धि राजगुठीको भन्‍ने उल्लेख भए पनि कि.नं. २७ को जग्गालाई हरिसिद्धि मुर्दा गुठी भनी किसानको व्यहोरामा उल्लेख भएको पाइन्छ । सोही फिल्डबुकको कैफियत महलमा कि.नं. २६, २७ र २८ को जग्गा मालपोत कार्यालयको च.नं. २०३६ मिति २०४२।९।७ को पत्रबमोजिम हरिसिद्धि भवानी गुठीमा दर्ता भएको भन्‍ने व्यहोरासम्म जनिएको देखिन्छ । तर उल्लिखित जग्गा के कुन कार्यालय वा निकायको के कुन निर्णय वा लगतको आधारमा राजगुठीमा दर्ता भएको भन्‍ने मिसिल संलग्‍न कागजातबाट देखिँदैन । फिल्डबुकको कैफियतमा उल्लेख भएको मालपोत कार्यालयको च.नं. २०३६ मिति २०४२।९।७ को पत्रबमोजिम राजगुठीमा जग्गा दर्ता भएको भन्‍ने व्यहोरा के कुन निर्णय वा लगतको आधारमा जनिएको हो सोको आधिकारिक तथा तथ्यपूर्ण स्रेस्ता वा निर्णय पठाउन भनी यस अदालतबाट पटकपटक आदेश भएकोमा मालपोत कार्यालय ललितपुर, नापी कार्यालय ललितपुर र गुठी संस्थान केन्द्रीय कार्यालयसमेतबाट उक्त च.नं. २०३६ मिति २०४२।९।७ को पत्रको आधार पेस गर्न सकेको पाइदैन । यसबाट विवादित जग्गाको फिल्डबुकमा उल्लेख भएको मालपोत कार्यालयको च.नं. २०३६ मिति २०४२।९।७ को व्यहोराको कुनै आधार रहे भएको देखिन आएन । प्रस्तुत विवादमा प्रत्यर्थी वादीले आफ्नो साविकदेखिको लगत दर्तासमेतका हकको स्रोत देखाई साविकमा पनि निजी मुर्दा गुठीको जग्गा भएकाले मुर्दा गुठीकै नाममा दर्ता गरी पाउन दावी गरेको अवस्था छ भने पुनरावेदक गुठी संस्थानले विवादित जग्गा आफ अधनस्थ राजगुठीको जग्गा हो भन्‍ने देखिने कुनै प्रमाण प्रस्तुत गर्न सकेको देखिँदैन । नापीको फिल्डबुकमा मालपोत कार्यालयको पत्रबमोजिम राजगुठी भएको भन्‍ने जनिएको देखिए पनि सो मालपोत कार्यालयको पत्रको आधार के हो भन्‍ने खुल्न आएको छैन । 

            १०. वस्तुतः सर्भे नापीको कैफियतमा राजगुठीको जग्गा भनी व्यहोरा उल्लेख हुँदैमा सोहीमात्र आधार हक प्राप्त गर्ने स्रोत हुन सक्तैन । फिल्डबुकको कैफियतमा उल्लेख भएको व्यहोरालाई अन्य प्रमाणले पुष्‍टि गरेको हुनुपर्दछ । उक्त फिल्डबुकमा उल्लेख भएको व्यहोराको आधार के हो भनी पुनरावेदक पक्षबाट कुनै प्रमाण पेस भएको छैन । यस अदालतबाट पटकपटक भएको आदेशबाट मालपोत कार्यालय र नापी कार्यालयलाई फिल्डबुकमा राजगुठी भनी उल्लेख भएको व्यहोरा के कुन आधार र निर्णयबाट गरिएको भनी बुझिएकोमा सो सम्बन्धमा कुनै आधार वा निर्णय भएको भनी खुलाइएको देखिँदैन । विवादित जग्गाको नापीको फिल्डबुकको कैफियतमा हरिसिद्धि भवानी गुठी दर्ता भनी उल्लेख भएको एकमात्र आधारमा विवादित जग्गा राजगुठीको भएको मान्‍न मिल्दैन ।

            ११. यस्तै विषयवस्तु समावेश भएको नेकाप २०६६ चैत, नि.नं. ८२८६, पृष्ठ २०४४ मा प्रकाशित पुनरावेदक गुठी संस्थान केन्द्रीय कार्यालयसमेत प्रत्यर्थी गणेशबहादुर पाण्डेसमेत भएको गुठी कायम मुद्दामा यस अदालतबाट "साविक स्रोतबिनाको पुर्जालाई दर्ताको संज्ञा दिई सो बदर गराउनुपर्ने भन्‍ने प्रतिवादी गुठी संस्थानको पुनरावेदन जिकिरलाई न्यायसङ्गत मान्‍न मिल्दैन । कसैका नाउँमा कुनै जग्गा दर्ता हुन निश्‍चित स्रोत र आधार चाहिन्छ । फिल्डबुकको कथन नै एक र एकमात्र दर्ताको आधार हुन सक्तैन । राजगुठी वा छुट गुठी भएको कुनै आधार र स्रोत बिना आफ्नै परिपत्रको भरमा उब्जेको जग्गाधनी प्रमाणपुर्जाले दर्ताको आधिकारिक स्वरूप ग्रहण गर्न नसक्ने" भन्‍ने सिद्धान्त प्रतिपादन भएको पाइन्छ । प्रस्तुत मुद्दामा पनि विवादित जग्गा राजगुठीको भन्‍ने देखिने साविक लगत दर्तासमेतका सबुद प्रमाण पुनरावेदक पक्षबाट प्रस्तुत हुन नसकेकाले विवादित जग्गा राजगुठीको नभई निजी गुठीको देखिन आएकाले यस अदालतबाट भएको विपक्षी झिकाउने आदेशसँग सहमत हुन सकिएन । कि.नं. २६, २७ र १८८ को जग्गा प्रत्यर्थी वादीहरूको निजी गुठीको भएको भन्‍ने प्रमाणबाट पुष्‍टि भएकाले राजगुठीमा दर्ता गर्ने निर्णय बदर गरी निजी मुर्दा गुठीमा दर्ता हुने ठहराएको पुनरावेदन अदालत, पाटनको फैसला मनासि देखिन आयो ।

            १२. तसर्थ विवादित जग्गाहरू के कुन आधारमा राजगुठी कायम भएको भन्ने कुराको प्रमाण पुनरावेदक प्रतिवादीहरू गुठी संस्थान केन्द्रीय कार्यालय एवम् शाखा कार्यालय, तः वहाल ललितपुरबाट प्रस्तुत हुन नसकेको, उक्त जग्गा २२६ जना गुठीयारहरू रहने गरी मिति २०००।१।१९ गतेमा दानपत्र पारित भै हरिसिद्धि मुर्दा गुठी कायम भएको भन्‍ने देखिएको कुराको प्रतिवादी पुनरावेदकहरूबाट खण्डन हुन नसकेको साथै माथि उल्लिखित भए अनुसार साविक मोहीका हकदारहरूसमेतले यस अदालतमा गरेको बयान र बाली बुझाएको भरपाईसमेतबाट विवादित जग्गाहरू मिति २०००।१।१९ गते पारित भएको कागज अनुसारको हरिसिद्धि मुर्दा गुठी नै रहेको भन्‍ने कुरा पुष्‍टि भएको समेत देखिनाले सम्बन्धित प्रमाणहरूको मूल्याङ्कन गरी दावीबमोजिम विवादित जग्गाहरूलाई राजगुठी कायम गरेको ललितपुर जिल्ला अदालतको मिति २०६०।५।२४ को फैसलालाई उल्टी गरी सो जग्गाहरूलाई हरिसिद्धि मुर्दा गुठी भनी निजी गुठी ठहर गरेको पुनरावेदन अदालत, पाटनको मिति २०६३।१।२४ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्‍न सक्तैन । दायरी लगत कट्टा गरी मिसिल नियमानुसार बुझाइदिन

             

उक्त रायमा सहमत छु ।

प्र.न्या. रामकुमार प्रसाद शाह                                              

 

सम्वत् २०७१ साल ‍‍‍‍‍‍कात्तिक ११ गते रोज ३ शुभम्

 

इजलास अधिकृत: विश्‍वनाथ भट्टराई

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु