निर्णय नं. ९३२५ - मोही नामसारी

सर्वोच्च अदालत, संयुक्त इजलास
सम्माननीय प्रधानन्यायाधीश श्री रामकुमार प्रसाद शाह
माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल
फैसला मिति : २०७१।६।३१।६
०६९-CI-११८३
मुद्दा : मोही नामसारी ।
पुनरावेदक/प्रतिवादी : सर्लाही जिल्ला, मलङ्गवा न.पा. वडा नं. ९ बस्ने गोविन्दहरि अमात्य
विरूद्ध
विपक्षी/वादी : सर्लाही जिल्ला, जब्दी गा.वि.स.वडा नं.७ बस्ने शिवनारायण चौधरीसमेत
- मोही बाँडफाँटसम्बन्धी कानूनी व्यवस्था भूमिसम्बन्धी ऐन, २०२१ ले गरेको छ । उक्त ऐनको दफा २६(१) मा...मोहीले कमाई आएको जग्गामा मोहीसम्बन्धी निजको हक निजपछि निजको एकासगोलका पति, पत्नी, छोरा, छोरी, आमा, बाबु, धर्मपुत्र, धर्मपुत्री छोरा, बुहारी, नाति, नातिनी बुहारी, दाजुभाइ वा दिदी बहिनीहरूमध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई प्राप्त हुनेछ भन्ने कानूनी व्यवस्था रहेको देखिन्छ । उक्त कानूनी व्यवस्थाबाट मोहियानी लागेको जग्गामा जग्गाधनीले पत्याएको मोहीको हकदारको नाममा मोही हक नामसारी हुने देखिने ।
- मोही दामोदर चौधरीको एकासगोलका अरू हकदार भएको देखिँदैन । अरू हकदार नभई दुई छोरा हकदार भएको र एक भाइ छोरा भगलुले हक त्याग गरेको अवस्थामा जग्गाधनीले नपत्याएको भएता पनि वादीको नाममा नामसारी हुनसक्ने देखिन्छ । मोही हक नामसारीको लागि मुद्दा कारवाही चलिरहेकोमा त्यो निर्णय नभइरहन पनि सक्तैन । फिरादीले पेस गरेको प्रमाण तथा सम्बन्धित निकायबाट प्राप्त सम्बद्ध प्रमाणको आधारमा निर्णय गर्नु सम्बन्धित निकायको कर्तव्य हो । जग्गाधनीले वादीलाई मोहीमा नपत्याएको भएता पनि मोही लागेको जग्गाको मोही नामसारी नगरी राख्दा नामसारी प्रक्रिया शून्यमा पुग्न सक्ने अवस्था हुने ।
(प्रकरण नं. ५)
- जग्गा बाँडफाँट नगरी जग्गावाला, मोही तथा मोहीका हकदारको सहमतिमा जग्गाको मूल्य बराबरको रकम लिई पूरै जग्गा कुनै एकको नाममा पनि कायम हुन सक्छ । प्रस्तुत विवादमा जग्गाधनी र मोहीका हकदारहरूबीच सहमतिमा बाँडफाँट गर्ने गराउने जस्ता काम कारवाही नभएको भएता पनि मोही नामसारीको लागि मोहीको शेषपछिका दुईजना हकदारमध्ये एकजना हकदारको मञ्जुरीनामाले अर्को हकदारले प्रक्रियागतरूपमा मोही नामसारीको काम कारवाही अगाडि बढेको देखिन्छ । मोहियानी हक मोहीका हकदारमध्ये एकजनालाई मात्र प्राप्त हुने कुरामा विवाद छैन । त्यसै गरी मोही हक शून्यमा परिणत पनि हुन नसक्ने ।
- भूमिसम्बन्धी ऐन, २०२१ दफा २६ को उपदफा (१) को कानूनी व्यवस्था जग्गाधनीले पत्याएको मोहीको एकाघरको हकदारको नाममा मोही नामसारी गर्नुपर्ने भन्ने हो । प्रतिवादीले जग्गाधनीको तर्फबाट वादी शिवनारायण चौधरीलाई मोहीमा नपत्याएको भएता पनि साविक मोहीको मृत्युपछि यिनै वादीले जग्गा कमाई कुत बालीबापत रकम धरौट राखेको अवस्थामा वास्तविक जोताहाको नाममा नामसारी गर्न इन्कार गर्दा सो कानूनी व्यवस्थाको अर्थ र परिभाषा निष्क्रिय हुन्छ । कानूनका व्यवस्थाको अर्थ र परिभाषालाई निष्क्रिय हुने गरी अदालतले व्याख्या गर्न मिल्दैन । अदालतले सन्दर्भ र परिप्रेक्ष्यको आधारमा कानूनको उद्देश्य, परिणाम र भावनामा प्रतिकूल असर नपर्ने गरी व्याख्या गर्नुपर्ने ।
(प्रकरण नं. ७)
निवेदकको तर्फबाट : विद्वान् अधिवक्ता शिवकुमार श्रेष्ठ
विपक्षीको तर्फबाट : विद्वान् अधिवक्ताद्वय विजयकुमार सिंह, विष्णुभक्त भट्टराई (खत्री)
अवलम्बित नजिर :
सम्बद्ध कानून :
- भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६
सुरू तहमा फैसला गर्ने :
भूमि सुधार अधिकारी श्री रामजिनीस राउत
पुनरावेदन तहमा फैसला गर्ने :
मा.मु.न्या. श्री अलि अकवर मिकरानी
मा.न्या. श्री टीकाबहादुर हमाल
फैसला
न्या. जगदीश शर्मा पौडेल : न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) बमोजिम यस अदालतको अधिकार क्षेत्रभित्र रही दायर भएको मुद्दा दोहोर्याई पाउँ भन्ने निवेदनउपर निस्सा प्रदान भै पुनरावेदनकोरूपमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम् ठहर यसप्रकार छ :
जग्गाधनी गोविन्दहरि अमात्यको नाममा रहेको सर्लाही जिल्ला, जदी गा.वि.स.वडा नं.७ (ख) अन्तर्गतको कि.नं. ३३ को जग्गाको मेरो बुबा दामोदर चौधरी मोही हुन् । निजको मृत्यु भएपछि निजको श्रीमती अनुपीयादेवी शेषपछिको हकदार हुनुहुन्थ्यो । उहाँको पनि मिति २०३९।९।७ मा मृत्यु भइसकेको छ । बुबाआमा दुबैजनाको मृत्युपछि हक खाने हामी भगलु चौधरी र शिवनारायण चौधरी दुईजना छोरा छौं । उक्त जग्गाको मोही हक नामसारी गर्न दाजु भगलु चौधरीले मलाई मञ्जुरी दिएको हुँदा सो कि.नं ३३ को जग्गा मेरा नाममा मोही नामसारी गरिपाउँ भन्नेसमेत व्यहोराले प्रत्यर्थी शिवनारायण चौधरीले भूमि सुधार कार्यालय, सर्लाहीमा पेस गरेको निवेदनपत्र ।
कि.नं ३३ को जग्गा शिवनारायण चौधरीको नाममा मोही नामसारी भएमा मलाई मञ्जुर छ भन्नेसमेत व्यहोराको भगलु चौधरीले भूमि सुधार कार्यालय, सर्लाहीमा पेस गरेको निवेदन ।
शिवनारायण चौधरीको वादी दावी झुट्ठा हो । निजका बुबाले स्थायी मोही हक प्राप्त गर्न सक्नु भएको छैन । भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३४ बमोजिम मोही हुन मोही कबुलियत गरेको हुनुपर्दछ । कबुलियतको अभावमा मोहीयानी हक कायम हुन नसक्ने हुँदा सरजमिनको भनाई र बाली बुझाएको भरपाईको आधारमा मात्र मोही कायम गर्न हुँदैन । भरपाईलाई कबुलियतको मान्यता दिन मिल्दैन । जग्गा आफैँले जोतकोड गर्दै आएको छु । वादीले जोतकोड गरेको छैन तसर्थ, वादी दावी नपुग्ने गरी निर्णय गरिपाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी गोविन्दहरि अमात्यले पेश गरेको प्रतिउत्तरपत्र ।
भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१)बमोजिम वादी भगलु चौधरीलाई मैले मोहीमा पत्याएको हुँदा निजको नाममा मोही नामसारी हुने गरी मिलापत्र गराई पाउँ भन्नेसमेत व्यहोराले भगलु चौधरी र प्रतिवादी गोविन्दहरि अमात्यले मिलापत्रको लागि भूमि सुधार कार्यालय, सर्लाहीमा पेस गरेको संयुक्त निवेदनपत्र ।
मोही दामोदर चौधरीको मृत्युपछि निजका २ भाइ छोरामध्ये जेठा छोरा भगलु चौधरीले भाइलाई मोही नामसारीको लागि मञ्जुरी दिई निवेदन पेस गरेको देखिन्छ । जग्गाधनीले प्रतिउत्तरपत्रमा वादीको बुबा मोही होइनन् । जग्गा आफैँले जोतकोड गरी आएको भनी प्रतिवाद गरेको भएता पनि पछि मञ्जुरीनामाबाट आफ्नो हक छोडिसकेका भगलु चौधरीलाई मोहीमा पत्याई मोही नामसारी गरी पाउन भगलु चौधरी र प्रतिवादीले संयुक्तरूपमा निवेदन गरेको देखिन्छ । एक पटक मोही नामसारीको लागि भाइ शिवनारायण चौधरीलाई मञ्जुरीनामा दिइसकेको र भगलु चौधरी वादी नै नरहेको अवस्थामा वादी भनी मिलापत्रको लागि निवेदन पेस गरेको कार्यलाई कानूनसम्मत भन्न मिलेन । जग्गाधनीले कुत बुझेको नदेखिएता पनि वादी शिवनारायण चौधरीले कुतबापत धरौटी राखेको देखिँदा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) बमोजिम वादी शिवनारायण चौधरीको नाममा मोही नामसारी हुने ठहर्छ भन्नेसमेत व्यहोराको भूमि सुधार कार्यालय, सर्लाहीको मिति २०६७।१।२१ को निर्णय ।
मैले झुक्यानको कारण शिवनारायण चौधरीलाई मोही नामसारीको लागि मञ्जुरीनामा दिएको हुँ । जग्गाधनीले मलाई मोहीमा पत्याएको हुँदा मेरो नाममा मोही हक नामसारी हुने गरी निर्णय गर्नुपर्नेमा शिवनारायण चौधरीको नाममा नामसारी गर्ने सुरू भूमि सुधार कार्यालयको त्रुटिपूर्ण निर्णय बदर गरी मेरो नाममा मोही नामसारी गरिपाउँ भनी भगलु चौधरीले पुनरावेदन अदालत, जनकपुरमा पेस गरेको पुनरावेदनपत्र ।
मैले भगलु चौधरीलाई विवादित जग्गाको मोही पत्याएको हुँदा निजको नाममा मोही नामसारी नगरी मैले मोहीमा नपत्याएको शिवनारायण चौधरीको नाममा मोही नामसारी गर्ने गरी भएको भूमि सुधार कार्यालय, सर्लाहीको निर्णय मिलेको छैन । भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) बमोजिम मोही मरेपछि मोही हक निजका हकदारमध्ये कसलाई पत्याउने भन्ने अधिकार म पुनरावेदक जग्गाधनीको हो । तर त्यो व्यवस्थालाई भूमि सुधार कार्यालय सर्लाहीको निर्णयले सङ्कुचन गरेको छ । भगलु चौधरीलाई मोही हक नामासारी हुने गरी भएको निर्णय बदर गरी भगलु चौधरीलाई मोही पत्याई मिलापत्रको लागि संयुक्त दरखास्त गर्दा समेत त्यसतर्फ विचार नगरी शिवनारायण चौधरीको नाममा नामसारी हुने गरी भएको निर्णय बदर गरी भगलु चौधरीको नाममा मोही हक नामसारी होस् भनी प्रतिवादी गोविन्दहरि अमात्यको तर्फबाट पुनरावेदन अदालत, जनकपुरमा पेश भएको पुनरावेदनपत्र ।
शिवनारायण चौधरीले भगलु चौधरीको मञ्जुरीले आफ्नो नाममा मोही नामसारीको लागि निवेदन र भगलु चौधरीले वादी शिवनारायण चौधरीको नाममा नामसारी होस् भनी मञ्जुरनामा पनि दिएको देखिन्छ । विवादित जग्गाको जग्गाधनीलाई बुझाउनुपर्ने कुत बालीबापत पनि वादी शिवनारायण चौधरीले भूमि सुधार कार्यालयमा नगद धरौटी राखेको देखिएबाट शिवनारायण चौधरीले जग्गा जोती रहेको भन्ने पुष्टि हुने हुँदासमेत वादी शिवनारायण चौधरीको नाममा मोही हक नामसारी हुने गरी भूमि सुधार कार्यालय, सर्लाहीले गरेको निर्णय मिलेको देखिँदा सदर हुने ठहर्छ भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, जनकपुरको मिति २०६७।१२।२२ को फैसला ।
मैले मोहीमा नपत्याएको व्यक्ति शिवनारायण चौधरीको नाममा मोही नामसारी हुने ठहर्याएको सुरू भूमि सुधार कार्यालय, सर्लाहीको निर्णय सदर गरेको पुनरावेदन अदालत, जनकपुरको फैसला भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) को कानूनी व्यवस्था र नेकाप २०४२, पृष्ठ ६१२ मा प्रकाशित सिद्धान्तको विपरीत हुँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख)बमोजिम दोहोर्याई हेर्ने निस्सा पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी गोविन्दहरि अमात्यको तर्फबाट यस अदालतमा पेस भएको निवेदनपत्र ।
यसमा यसै लगाउको दो.नि.नं. ०६८-RI-०७८८ को मुद्दामा मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान भएको र प्रस्तुत मुद्दाको तथ्य र विषयवस्तु पनि उक्त मुद्दाकै समान भई सो मुद्दाको निर्णयबाट अन्तरप्रभावी हुने देखिएकोले प्रस्तुत मुद्दामा समेत न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) बमोजिम प्रस्तुत मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गरिएको छ भन्नेसमेत व्यहोराको यस अदालतको मिति २०७०।२।३ को आदेश ।
जग्गाधनीले मलाई मोहीमा पत्याएको र जोतकोड पनि मैले नै गरेको हुँदा शिवनारायण चौधरीको नाममा नामसारी हुने गरी भएको फैसला बदर गरी मेरो नाममा मोही नामसारी गरिपाउँ भन्नेसमेत व्यहोराले भगलु चौधरीले यस अदालतमा पेस गरेको लिखित प्रतिवाद ।
नियमबमोजिम दैनिक पेसीसूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीको तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री शिवकुमार श्रेष्ठले मोहियानी जग्गाको मोही नामसारी विवादमा जग्गाधनीले मोहीको शेषपछि निजका हकदारमध्ये जसलाई पत्याउने हो, उसको नाममा मोही नामसारी हुने हो । तर प्रस्तुत विवादमा पुनरावेदक विवादित जग्गाको जग्गाधनी भएको तथ्यमा विवाद छैन । यी जग्गाधनीले वादी शिवनारायण चौधरीलाई मोहीकोरूपमा पत्याएको छैन । मोहीको रूपमा वादी शिवनाराण चौधरीको दाजु भगलु चौधरीलाई पत्याएको र सोबमोजिम मिलापत्र गर्ने भनी संयुक्तरूपमा दरखास्त गरेकोमा त्यसतर्फ केही विचारै नगरी भूमि सुधार कार्यालय, सर्लाहीले गरेको निर्णय सदर गरेको पुनरावेदन अदालत, जनकपुरको फैसला भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६ को उपदफा (१) को विपरीत हुँदा बदर गरिनुपर्दछ भन्नेसमेत व्यहोराको बहस प्रस्तुत गर्नुभयो ।
मोही शिवनारायण चौधरीको तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री विजयकुमार सिंहले भगलु चौधरीले आफ्नो मोही हक भूमि सुधार कार्यालयमा पेस गरेको मञ्जुरनामाले समाप्त भइसकेको छ । भगलु चौधरीले प्रतिवादीसँग मिली आफ्नो नाममा मोही नामसारी हुने गरी मिलापत्रको लागि निवेदन दिइएको भए तापनि आफ्नो हक छोडेको व्यक्तिसँग कानूनतः मिलापत्र हुन नसक्ने हुँदा वादी शिवनारायण चौधरीको नाममा मोही हक नामसारी हुने गरी गरेको फैसला मिलेको हुँदा सदर हुनुपर्दछ भन्नेसमेत व्यहोराको बहस प्रस्तुत गर्नुभयो ।
प्रत्यर्थी भगलु चौधरीको तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री विष्णुभक्त भट्टराई (खत्री) ले भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) ले जग्गाधनीले जसलाई मोहीमा पत्याउँछ, उसैको नाममा मोही हक नामसारी हुने हो । यस विवादमा जग्गाधनी गोविन्दहरि अमात्यले भगलु चौधरीलाई मोही पत्याई निजको नाममा नामसारी गरी पाउन निवेदन गरेको तर्फ पुनरावेदन अदालतले केही विचार नै नगरी भूमि सुधार कार्यालयको निर्णय सदर गरेको पुनरावेदन अदालतको फैसला नमलेको हुँदा सो फैसला बदर हुनुपर्दछ भन्नेसमेत व्यहोराको बहस प्रस्तुत गर्नुभयो ।
उपरोक्त व्यहोराले गर्नुभएको कानून व्यवसायीहरूको बहस सुनी मिसिल संलग्न कागजात अध्ययन गरी पुनरावेदन अदालत, जनकपुरको फैसला मिलेको छ छैन र पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्ने हो, होइन भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।
२. निर्णयतर्फ विचार गर्दा वादी शिवनारायण चौधरीले सर्लाही जिल्ला, जब्दी गा.वि.स.वडा नं.७ (ख) अन्तर्गतको कि.नं. ३३ को जग्गाको मोही मेरो बुबा हुनुभएकोमा उहाँको र उहाँको हकदार श्रीमतीको पनि मृत्यु भइसकेको हुँदा हकदार हामी दुई छोरा भएकोमा दाजु भगलु चौधरीले मेरो एकलौटी नाममा नामसारी गर्न मञ्जुरनामा दिएको हुँदा मेरो नाममा मोही नामसारी गरिपाउँ भनी भूमि सुधार कार्यालय, सर्लाहीमा मिति २०६४।८।१२ मा निवेदन दिएको देखिन्छ । निवेदन दिएपछि दाजु भगलु चौधरीले भूमि सुधार कार्यालय, सर्लाहीमा उपस्थित भई उक्त कि.नं.३३ को जग्गा भाइ शिवनारायण चौधरीको नाममा मोही नामसारी भएमा मेरो मञ्जुरी छ भनी मञ्जुरनामा दिएको भन्ने कुरा मिसिल संलग्न मिति २०६४।९।२ को निवेदनबाट देखिन्छ । प्रतिवादी गोविन्दहरि अमात्यले उक्त जग्गा आफैँले जोतकोड गरी आएको छु । वादीसमेतले जोतकोड गरेको छैन । कुतबाली बुझाएको भरपाई पनि नगरेको हुँदा वादीका नाममा मोही नामसारी हुनुपर्ने होइन भन्ने व्यहोराको प्रतिउत्तरपत्र पेस भएको प्रस्तुत मुद्दामा भूमि सुधार कार्यालय, सर्लाहीले वादी शिवनारायण चौधरीको नाममा मोही नामसारी हुने ठहर्याई निर्णय गरेकोमा पुनरावेदन अदालत, जनकपुरले सो निर्णय सदर गरेउपर प्रतिवादी गोविन्दहरि अमात्यले मुद्दा दोहोर्याई पाउँ भनी यस अदालतमा निवेदन गरेकोमा यस अदालतबाट मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान भई पुनरावेदनकोरूपमा दर्ता भई निर्णयार्थ यस इजलाससमक्ष पेस हुन आएको देखिन्छ ।
३. वादी शिवनारायण चौधरी र भगलु चौधरी मोही दामोदर चौधरीको छोरा भएको तथ्यमा विवाद छैन । मिसिल संलग्न रहेको नापी शाखा, सर्लाहीको फिल्डबुक उतारको प्रतिलिपिको जोताहाको नाम थर, वतन महलमा दामोदर चौधरी थारू उल्लेख भएको देखिएबाट विवादित जग्गाको मोही वादीका बुबा दामोदर चौधरी भएको देखिन्छ । निज मोही दामोदर चौधरीको मिति २०३५।१।१० र निजको श्रीमती अनुपियादेवीको मिति २०३९।९।७ मा मृत्यु भएको भन्ने कुरा गाउँ विकास समितिको कार्यालय जब्दी, सर्लाहीबाट मिति २०६४।२।११ मा जारी भएको मृत्यु दर्ताको प्रमाणपत्रबाट देखिन्छ । मोही तथा अनुपियादेवीको मृत्युपश्चात् वादी शिवनारायणले सो जग्गा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६ (१) बमोजिम आफ्ना नाममा नामसारी गरी पाउन निवेदन गरेको देखिन्छ ।
४. मुद्दा कारवाहीको अवस्थामा वादी शिवनारायण चौधरीको नाममा नामसारी गरिदिएमा मेरो मञ्जुर छ भनी मञ्जुरनामा दिने भगलु चौधरी र प्रतिवादी गोविन्दहरि अमात्यले उक्त जग्गाको मोहीमा वादी शिवनारायण चौधरीलाई नपत्याई भगलु चौधरीलाई मोहीमा पत्याएको हुँदा भगलु चौधरीको नाममा मोही नामसारी गर्ने गरी मिलापत्र गरिपाउँ भन्ने व्यहोराको संयुक्त निवेदन दिएको देखिन्छ । प्रस्तुत मुद्दामा उपरोक्त तथ्यहरूसमेतका आधारमा हेर्दा भगलु चौधरीले आफ्नो मोहियानी हक परित्याग गरी सो अधिकार भाइ वादी शिवनारायण चौधरीलाई दिइसकेको अवस्थामा जग्गाधनीले हक परित्याग गर्नेलाई नै मोहीमा पत्याउँछु, निजको नाममा नामसारी होस् भन्ने जग्गाधनी प्रतिवादीको निवेदनबाट देखिँदा त्यस परिप्रेक्ष्य, सन्दर्भ र यस अदालतको पूर्वइजलासले निस्सा प्रदान गर्दा लिएका आधारलगायतका समग्रमा हेरी विवादित जग्गाको मोही हक भगलु चौधरी र वादी शिवनारायण चौधरीमध्ये कसको नाममा नामसारी हुने हो भन्ने सम्बन्धमा निरूपण हुनुपर्ने देखिन आएको छ ।
५. मोही बाँडफाँटसम्बन्धी कानूनी व्यवस्था भूमिसम्बन्धी ऐन, २०२१ ले गरेको छ । उक्त ऐनको दफा २६(१) मा...मोहीले कमाई आएको जग्गामा मोहीसम्बन्धी निजको हक निजपछि निजको एकासगोलका पति, पत्नी, छोरा, छोरी, आमा, बाबु, धर्मपुत्र, धर्मपुत्री छोरा, बुहारी, नाति, नातिनी बुहारी, दाजुभाइ वा दिदी बहिनीहरूमध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई प्राप्त हुनेछ भन्ने कानूनी व्यवस्था रहेको देखिन्छ । उक्त कानूनी व्यवस्थाबाट मोहियानी लागेको जग्गामा जग्गाधनीले पत्याएको मोहीको हकदारको नाममा मोही हक नामसारी हुने देखिन्छ । पुनरावेदक प्रतिवादी विवादित जग्गाको जग्गाधनी भएको तथ्यमा पनि विवाद छैन । जग्गाधनीले नपत्याएको व्यक्तिको नाममा मोही नामसारी हुन सक्तैन । तर, वादी शिवनारायण चौधरीलाई जग्गाधनीले मोहीमा नपत्याएको भए तापनि मोहीका हकदार दुई भाइ छोरामध्ये जेठा छोराले कान्छा छोरा भाइ शिवनारायण चौधरीको नाममा मोही हक नामसारी होस् भनी मञ्जुरनामा गरी आफ्नो हक परित्याग गरिसकेको देखिन्छ । मिसिलको अध्ययन गर्दा मोही दामोदर चौधरीको एकासगोलका अरू हकदार भएको देखिँदैन । अरू हकदार नभई दुई छोरा हकदार भएको र एक भाइ छोरा भगलुले हक त्याग गरेको अवस्थामा जग्गाधनीले नपत्याएको भएता पनि वादीको नाममा नामसारी हुनसक्ने देखिन्छ । मोही हक नामसारीको लागि मुद्दा कारवाही चलिरहेकोमा त्यो निर्णय नभइरहन पनि सक्तैन । फिरादीले पेस गरेको प्रमाण तथा सम्बन्धित निकायबाट प्राप्त सम्बद्ध प्रमाणको आधारमा निर्णय गर्नु सम्बन्धित निकायको कर्तव्य हो । जग्गाधनीले वादीलाई मोहीमा नपत्याएको भएता पनि मोही लागेको जग्गाको मोही नामसारी नगरी राख्दा नामसारी प्रक्रिया शून्यमा पुग्नसक्ने अवस्था हुन्छ ।
६. वस्तुतः भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) को व्यवस्था भनेको साविक मोहीको मृत्युपश्चात् मोहीको हकदार धेरैजना भएको अवस्थामा हकदारमध्ये कसले मोहीको हक पाउने हो भन्नका लागि जग्गाधनीलाई पत्याउने अधिकार दिएको अवस्था हो । तर, मोहीपछि मोहियानी हक प्राप्त गर्ने दुईजना हकदारमध्ये एकले आफ्नो हक स्वेच्छाले परित्याग गरी अर्कोलाई सुम्पिन्छ भने त्यस्तो अवस्थामा जग्गाधनीले सोही हक सुम्पिइएको व्यक्तिलाई पत्याउन नपर्ने छुट उक्त कानूनी व्यवस्थाले दिएको हो भनी मान्न मिल्ने हुँदैन । त्यसमा पनि साविक मोही मरेपछि निजका छोरा वादी शिवनारायणले जग्गा कमाई कुत बाली जग्गाधनीलाई बुझाई जग्गाधनीले बुझ्न इन्कार गरेको सालको कुतबापतको धरौटी भूमि सुधार कार्यालय, सर्लाहीमा राखेको समेत देखिन्छ । मोहीको छोरा शिवनारायणले जग्गा कमाएको र जग्गा कमाए बापत कुतसमेत बुझाएको तथ्यलाई अन्यथा भन्न सकिने अवस्था छैन । यसबाट वादी शिवनारायण चौधरीले जग्गा कमाइरहेको तथ्य स्पष्ट हुन आएको छ । मोहीका अर्का छोरा भगलु चौधरीले उक्त जग्गा कमाएको र जग्गाधनीलाई कुत बाली बुझाएको देखिँदैन । त्यसमा पनि भगलु चौधरीले भूमि सुधार कार्यालयमा स्वयम् उपस्थित भई भाइ शिवनारायण चौधरीलाई मोही हक नामसारी गरी दिन मञ्जुर भएको भनी निवेदन दिई उक्त निवेदन सनाखतसमेत गरेको देखिन आएबाट आफ्नो मोही हक त्याग गरेको मान्नुपर्ने देखिन आयो ।
७. भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६ख. ले तोकिएको अधिकारीले दफा २६ग, २६घ, २६घ२ र २६ङ को अधीनमा रही मोही लागेको जग्गा, जग्गावाला र मोहीलाई बाँडफाँट गर्न सक्ने व्यवस्था गरेको छ । त्यसै गरी बाँडफाँटको प्रक्रिया पनि निर्धारण गरेको पाइन्छ । जग्गा बाँडफाँट नगरी जग्गावाला, मोही तथा मोहीका हकदारको सहमतिमा जग्गाको मूल्य बराबरको रकम लिई पूरै जग्गा कुनै एकको नाममा पनि कायम हुन सक्छ । प्रस्तुत विवादमा जग्गाधनी र मोहीका हकदारहरूबीच सहमतिमा बाँडफाँट गर्ने गराउने जस्ता काम कारवाही नभएको भएता पनि मोही नामसारीको लागि मोहीको शेषपछिका दुईजना हकदारमध्ये एकजना हकदारको मञ्जुरीनामाले अर्को हकदारले प्रक्रियागतरूपमा मोही नामसारीको काम कारवाही अगाडि बढेको देखिन्छ । मोहियानी हक मोहीका हकदारमध्ये एकजनालाई मात्र प्राप्त हुने कुरामा विवाद छैन । त्यसै गरी मोही हक शून्यमा परिणत पनि हुन सक्तैन । ऐनको दफा २६ को उपदफा (१) को कानूनी व्यवस्था जग्गाधनीले पत्याएको मोहीको एकाघरको हकदारको नाममा मोही नामसारी गर्नुपर्ने भन्ने हो । प्रतिवादीले जग्गाधनीको तर्फबाट वादी शिवनारायण चौधरीलाई मोहीमा नपत्याएको भएता पनि साविक मोहीको मृत्युपछि यिनै वादीले जग्गा कमाई कुत बालीबापत रकम धरौट राखेको अवस्थामा वास्तविक जोताहाको नाममा नामसारी गर्न इन्कार गर्दा सो कानूनी व्यवस्थाको अर्थ र परिभाषा निष्क्रिय हुन्छ । कानूनका व्यवस्थाको अर्थ र परिभाषालाई निष्क्रिय हुने गरी अदालतले व्याख्या गर्न मिल्दैन । अदालतले सन्दर्भ र परिप्रेक्ष्यको आधारमा कानूनको उद्देश्य, परिणाम र भावनामा प्रतिकूल असर नपर्ने गरी व्याख्या गर्नुपर्दछ ।
८. प्रस्तुत विवादमा समावेश भएको तथ्य र उल्लिखित कानूनी व्यवस्थाको परिवेशमा हेर्दाका अवस्थामा मोहीको हकदार एउटा छोरा भगलु चौधरीले भाइ वादी शिवनारायण चौधरीलाई मोही नामसारीको लागि मञ्जुरीनामा दिई भूमि सुधार कार्यालय, सर्लाहीको रोहबरमा सनाखत गरी आफ्नो हक त्यागी सकेपछि पुनः जग्गाधनीले मोहीमा पत्याएको भन्ने आधारमा मात्र भगलु चौधरीको नाममा मोही नामसारी गर्दा परिणाम शून्य हुने हुँदा यस अदालतको मिति २०७०।२।३ को मुद्दा दोहोर्याई हेर्न निस्सा प्रदान गर्ने आदेशसँग सहमत हुन सकिएन ।
९. अतः वादी शिवनारायण चौधरीको नाममा मोही नामसारी हुने गरी सुरू भूमि सुधार कार्यालय, सर्लाहीले मिति २०६७।१।२१ गते गरेको निर्णय सदर गर्ने गरेको पुनरावेदन अदालत, जनकपुरको मिति २०६७।१२।२२ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्तैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी नियमानुसार मिसिल बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
प्र.न्या. रामकुमार प्रसाद शाह
इति संवत् २०७१ साल असोज ३१ गते रोज ६ शुभम्
इजलास अधिकृत : भीमबहादुर निरौला