शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८७१६ - बहुबिवाह

भाग: ५३ साल: २०६८ महिना: फागुन अंक: ११

ने.का.प. २०६८,           अङ्क ११

निर्य नं. ८७१६

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी

माननीय न्यायाधीश श्री भरतराज उप्रेती

०६५CR–०४६४

फैसला मितिः २०६८।८।२२।५

मुद्दा : वहुबिवाह 

पुनरावेदक प्रतिवादीः काठमाडौं जिल्ला, का.म.न.पा. वडा नं. ३४ बस्ने कमलमोहन चापागाई समेत

विरुद्ध

प्रत्यर्थी वादीः देव चापागाईको जाहेरीले नेपाल सरकार

 

शुरु फैसला गर्ने :

मा.न्या.श्री शिवनारायण यादव

पुनरावेदन फैसला गर्ने :

मा.न्या.श्री कृष्णप्रसाद बस्याल

मा.न्या.श्री हरिप्रसाद घिमिरे

 

§  वस्तुतः नजीरको पालना र प्रयोग न्यायिक निरन्तरता, निश्चितता र न्यायिक अनुशासन कायम राख्नका लागि आवश्यक हुन्छ । तर यसमा सतर्कता अपनाउनु पनि उत्तिकै आवश्यक तत्व हुन्छ । समान तथ्य भएको कुनै विवादको विषयमा कायम भएको कानूनी सिद्धान्त त्यस्तै तथ्य भएको अर्को बिवादको विषयमा लागू हुन्छ । फरक तथ्य र फरक परिस्थितिको मुद्दामा कायम भएको नजीर विषयको समानता वा पछिल्लो मुद्दाको नामाकरणमा समानताको आधारमा मात्र पहिलाभन्दा विल्कुलै फरक तथ्य भएको मुद्दाको निर्णय गर्दा प्रयोग गर्न वा लागू गर्न मिल्ने होइन । यसकारण नजीरको पालना र प्रयोगमा पनि न्यायिक विवेकको प्रयोग गर्दै सतर्कता अपनाउनु पर्ने 

(प्रकरण नं.८)

§  बहुविवाह मुद्दा गर्नका लागि सीमित समयावधिको हदम्याद कानूनले निर्धारित गरेकोमा कुनै विवाद छैन । बहुविवाह मुद्दा दायर गर्ने खुल्ला वा असीमित हदम्याद वा जहिले पनि दायर गर्न सकिने भन्ने ऐनले व्यवस्था नगरेकोले सीमित हदम्यादभित्रै बहुविवाह मुद्दा दायर गर्नुपर्ने ऐनको व्यवस्था र उद्देश्य स्पष्ट छ । यसलाई एक वा अर्को तर्क वा कारणको आधारमा असीमित वा खुल्ला हदम्यादको रुपमा परिणत वा परिभाषित गर्न नमिल्ने 

(प्रकरण नं.९)

§  वैवाहिक सम्बन्धलाई समाजले मान्यता प्रदान गरिसकेको, छोरा, छोरी जन्मिसकेको, तिनीहरूको जन्मदर्ता पनि गरिसकेको अवस्थामा पनि पहिलो पत्नी वा अनुसन्धान र मुद्दा गर्ने सरकारी निकायले थाहा नपाउनु भनेको सीमित हदम्यादसम्बन्धी कानूनी व्यवस्थाको बेवास्ता वा उपेक्षा हुन जाने 

(प्रकरण नं.१०)

§  बहुविवाहमा जहिले पनि नालिस लाग्छ भनी सोच्नु वा अर्थ गर्नु भनेको बिहावारी ऐनको हदम्यादसम्बन्धी कानूनी व्यवस्था र यसको उद्देश्यलाई र विधायिकाको मनसायलाई पनि पराजीत गर्नु हो । जहिलेसुकै पनि अभियोग दावी गर्न सकिने भए बिहावारीको ११ नं. मा तीन महिने हदम्यादको सीमा नै उल्लेख गर्नुपर्ने अवस्था नआउने 

(प्रकरण नं.११)

पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता उत्तमप्रसाद सापकोटा

वादी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता महेश शर्मा पौडेल

अवलम्बित नजीरः

§  नेकाप २०६३, अङ्क ५ नि.नं. ७६९४, पृ. ५५४

सम्बद्ध कानूनः

§  विहावारीको महलको ६, , ९ र ११ नं.

 

फैसला

न्या.ताहिर अली अन्सारीः पुनरावेदन अदालत, पाटनको मिति २०६५।२।३० को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को खण्ड (१) को देहाय (क) र (ख) बमोजिम मुद्दा दोहोर्‍याई पाऊँ भनी परेको निवेदनमा यस अदालतबाट मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान भै पुनरावेदनको रोहमा पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार रहेको छ :

म जाहेरवालीको कमलमोहन चापागाईसँग २०२८ सालमा विवाह भै २ छोरा र १ छोरीको जायजन्म भएकोमा १ छोरा र १ छोरीको आफ्नै कालगतिले मृत्यु भएको श्रीमानले मलाई मादक पदार्थ सेवन गरी कुटपीट गरी खान लाउन नदिएकोले काठमाडौं जिल्ला अदालतमा अंश मुद्दा दायर गरी विचाराधीन अवस्थामा छ । म २०५७ सालमा बिरामी परी काम गर्न नसकेपछि घरायसी काम गर्नको लागि मासिक रु.४००।दिने शर्तमा राखेकी चन्द्रमाया धामीले काठमाडौं जिल्ला अदालतमा अंश मुद्दा दायर गरी मिति २०६३।१।१५ गते मलाई म्याद बुझाउन ल्याउँदा विपक्षीहरू बीच वैवाहिक सम्बन्ध भएको थाहा भयो । विपक्षीहरू कमलमोहन चापागाई र चन्द्रमाया धामीलाई विहावारीको महलबमोजिम बहुविवाहमा कारवाही गरिपाऊँ भन्ने देबु चापागाईको जाहेरी दरखास्त 

कमलमोहन चापागाईले मलाई २०४८ सालमा विवाह गरी मैतीदेवीस्थित कोठामा राख्नु भयो । २०५० सालमा र २०५५ सालमा दुई छोरीको जन्म भएपछि मिति २०५७ सालमा म र २ छोरीलाई निज पतिले घरमा ल्याउनु भयो । घरमा सासू तथा श्रीमान्‌को सेवा गरी बसेको करीव १ महिनापछि मेरो श्रीमान्‌को पहिलेको श्रीमती देबु चापागाई पनि घरमा आउनु भयो । जाहेरवालीले दिएको अंश मुद्दामा अंशियारमा मेरो नाम उल्लेख नभएकोले श्रीमान् श्रीमतीले सल्लाह गरी मैले पनि अंश मुद्दा दायर गरें । २०६२ साल फागुन महिनातिर श्रीमान् कमलमोहन चापागाई र मेरो विवाह दर्ता भएको छ । बच्चाहरूको जन्म दर्ता पनि गरिसकेको छु । मैले प्रतिवादी कमलमोहन चापागाईसँग दोस्रो विवाह गरेको हो भन्ने प्रतिवादी चन्द्रमाया धामीले मौकामा अधिकार प्राप्त अधिकारीसमक्ष गरेको बयान कागज 

प्रतिवादी कमलमोहन चापागाईलाई मिति २०६३।३।१४ गते पक्राउ गरी जिल्ला अदालतबाट म्याद थप समेत भै अनुसन्धानको क्रममा प्रहरी हिरासतमा रहेकोमा अदालतको आदेशानुसार निज प्रतिवादी कमलमोहन चापागाईलाई स्वास्थ्य परीक्षणको लागि वीर अस्पतालमा लिई गएकोमा निजको स्वास्थ्यमा खराबी भएकोले उपचारको लागि जमानीमा छाडेको कागज 

जाहेरवालीको जेठी श्रीमती हुँदाहुँदै प्रतिवादी कमलमोहन चापागाईले चन्द्रमाया धामीसँग दोस्रो विवाह गरी बहुविवाह गरेको र प्रतिवादी चन्द्रमाया धामीले प्रतिवादी कमलमोहन चापागाईको जाहेरवाली जेठी श्रीमती छ भन्ने कुरा थाहा छँदाछँदै निज प्रतिवादीको कान्छी श्रीमती बनी बसेकोमा मलाई विश्वास लाग्छ भन्ने गंगाकुमारी के.सी. र लक्ष्मी मास्के समेतले गरेको एकै मिलानको कागज 

मलाई घरमा श्रीमती हुँदाहुँदै अर्को दोस्रो श्रीमती विवाह गरी बहुविवाह गरेकोमा कारवाही हुन्छ भन्ने थाहा थियो तर जाहेरवालीले मेरो स्याहार सुसार नगर्ने, भनेको नमान्ने गरेको हुँदा मैले प्रतिवादी चन्द्रमाया धामीसँग दोस्रो विवाह गरेको हो भन्ने प्रतिवादी कमलमोहन चापागाईले मौकामा अधिकार प्राप्त अधिकारीसमक्ष गरेको बयान   कागज 

यसमा अनुसन्धानको सिलसिलामा संकलित जाहेरी दरखास्त, प्रतिवादीहरूले अधिकार प्राप्त अधिकारीसमक्ष गरेको बयान कागज, मौकामा बुझिएका गंगाकुमारी के.सी., लक्ष्मी मास्के समेतको कागज प्रमाणबाट प्रतिवादी चन्द्रमाया धामीसँग कमलमोहन चापागाईले दोस्रो विवाह गरेको र घरमा कमलमोहनको जेठी श्रीमती छ भन्ने जानकारी हुँदाहुँदै प्रतिवादी चन्द्रमाया धामीले कमलमोहनसँग दोस्रो विवाह गरेको हुँदा प्रतिवादीहरूलाई मुलुकी ऐन, विहावारीको १० नं. विपरीतको कसूरमा सोही १० नं. बमोजिम सजाय गरिपाऊँ भन्ने समेतको अभियोग पत्र 

जाहेरवालीसँग २०२८ सालमा विवाह भएकोमा २०४८ सालमा मलाई छोडी हिंडी कहाँ गई थाहा भएन । जाहेरवालीले छोडेपछि २०४८ सालमा नै मैले विवाह गरेको हुँ । चन्द्रमायालाई घरमा श्रीमती छ भन्ने कुरा भनेको थिइन । मैले चन्द्रमायालाई श्रीमती छैन भनी ढाँटी विवाह गरेको हुँ । जाहेरवालीले २०४८ सालमा नै मलाई छोडी गएकी हुँदा मैले चन्द्रमायालाई विवाह गरेको हुँदा बहुबिवाहमा सजाय हुन पर्ने होइन भन्ने समेत व्यहोराको प्रतिवादी कमलमोहन चापागाईले अदालतमा गरेको बयान 

प्रतिवादी कमलमोहन चापागाईसँग २०४८ सालमा मेरो विवाह भएको हो । मेरो उहाँसँगको संसर्गबाट २ छोरीको जन्म भएको छ । जेठी छोरी १३ वर्ष र कान्छी ७ वर्षकी छन्, हामीहरू सँगै बस्छौं । कमलमोहन चापागाईको अर्को श्रीमती र छोराछोरी छन् भन्ने कुरा मैले २०५७ सालमा श्रीमान्‌को बानेश्वरस्थित घरमा आएपछि मात्र थाहा पाएको हुँ । मैले कमलमोहनको पहिलो श्रीमती छन् भन्ने थाहा नभई विवाह गरेको हुँदा मलाई सजाय हुनुपर्ने होइन, अभियोग दावीबाट सफाइ पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी चन्द्रमाया धामीले अदालतमा गरेको बयान 

आदेशानुसार जाहेरवाली देबु चापागाई, मौकामा बुझिएकी गंगाकुमारी के.सी., लक्ष्मी मास्के, प्रतिवादी कमलमोहन चापागाईको साक्षी सरस्वती खरेल, प्रतिवादी चन्द्रमाया धामीको साक्षी सञ्जू धामीको बकपत्र भै मिसिल सामेल रहेको 

प्रतिवादीहरूले अभियोग दावीबमोजिम कसूर गरेको ठहर्छ । विहावारीको महलको तत्कालीन ९ र १० नं. आकर्षित हुने अवस्था हुँदा प्रतिवादी कमलमोहन चापागाई र चन्द्रमाया धामीलाई जनही १ महिना कैद र रु.१,०००।जरीवाना हुने ठहर्छ भन्ने काठमाडौं जिल्ला अदालतबाट मिति २०६४।२।३ मा भएको फैसला 

जाहेरवालीलाई २०५७ सालमै थाहा भएको विवाहलाई हदम्यादविपरीत ६ वर्ष पछाडि मात्र जाहेरी दरखास्त लिई कारवाही गरेको हदम्यादविहीन मुद्दाबाट इन्साफ गरी म पुनरावेदक प्रतिवादीलाई सजाय गर्ने गरेको शुरु फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला बदर गरी अभियोग दावीबाट सफाइ दिलाई पाऊँ भन्ने समेत व्यहोराको कमलमोहन चापागाईले पुनरावेदन अदालत पाटनमा दिएको पुनरावेदनपत्र 

२०५७ सालमा थाहा भएको विवाहलाई ६ वर्षपछि मात्र जाहेरी लिई कारवाही गरेको र विवाह हुँदा म २२ वर्ष पुगिसकेकी हुँदा विवाहवारीको २ नं. को परिभाषाविपरीत अर्थ लगाई हचुवाको आधारमा म पुनरावेदिकालाई सजाय गर्ने गरेको शुरु फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला बदर गरी पूर्ण सफाइ पाऊँ भन्ने समेतको प्रतिवादी चन्द्रमायाले पुनरावेदन अदालत, पाटनमा दिएको पुनरावेदन पत्र 

यसमा शुरु फैसला फरक पर्न सक्ने हुँदा प्रत्यर्थी झिकाई नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालत, पाटनको मिति २०६४।८।१३ को आदेश 

प्रतिवादीहरूले २०४८ सालमा बहुविवाह गरेको पुष्टि भएकोले विहावारीको ९ र १० नं. बमोजिम प्रतिवादीहरू कमलमोहन चापागाई र चन्द्रमाया धामीलाई जनही १ महिना कैद र रु.१,०००।जरीवाना हुने ठहरी शुरु काठमाडौं जिल्ला अदालतबाट भएको २०६४।२।३ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत पाटनको मिति २०६५।२।३० को फैसला 

मैले जाहेरवाली देबु चापागाईसँग २०२८ सालमा विवाह गरेको हुँ । देबु चापागाई २०४८ सालमा घर छोडी गएपछि चन्द्रमाया धामीलाई विवाह गरेको हुँ । मैले चन्द्रमायासँग विवाह गर्दा मेरो श्रीमती छैन भनी विवाह गरेको   हुँ । जाहेरवाली मेरो घर छोडी हिंडेको कारणबाट मैले चन्द्रमायासँग विवाह गरेकोले बहुविवाहको कसूरमा सफाइ पाउनुपर्छ भन्ने प्रतिवादी कमलमोहन चापागाई एवं मलाई कमलमोहनले २०४८ सालमा विवाह गरी काठमाडौं मैतीदेवीस्थित कोठामा ल्याई राख्नु भयो । २०५० सालमा जेठी छोरी सिर्जना र २०५५ सालमा कान्छी छोरी अर्चना चापागाईको जायजन्म भएपछि उहाँले मलाई २०५७ सालमा आफ्नो घर बानेश्वरमा ल्याएपछि कमलमोहनको दोस्रो श्रीमती रहिछन् भन्ने कुरा थाहा पाएको हुँ । मैले कमलमोहनको श्रीमती छन् भन्ने कुरा थाह नभई विवाह गरेकी हुँदा मलाई वहुविवाहमा सफाइ दिनु पर्नेमा जनही १ महिना कैद र रु.१,०००।जरीवाना हुने गरी शुरु काठमाडौं जिल्ला अदालतको फैसला सदर हुने ठहर्‍याई पुनरावेदन अदालत, पाटनबाट भएको फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी अभियोग दावीबाट सफाइ पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादीहरूको तर्फबाट संयुक्त रुपमा यस अदालतमा मुद्दा दोहोर्‍याई पाऊँ भनी परेको निवेदन 

यसमा प्रतिवादी चन्द्रमाया धामीले प्रतिवादी कमलमोहन चापागाईको घरमा जाहेरवाली अर्को श्रीमती रहे भएको भन्ने कुरा जानी जानी दोस्रो विवाह गरेको भन्ने कुरा मिसिल संलग्न सबूद प्रमाणबाट यकीन रुपले पुष्टि हुन नसकेको र २०५० र २०५५ सालमा छोरीहरूको जायजन्म समेत भएको सम्बन्धमा २०६३।३।७ मा दिएको जाहेरी दरखास्तको आधारमा कारवाही चलाई प्रतिवादीहरूलाई सजाय गर्ने गरेको पुनरावेदन अदालत पाटनको फैसलामा प्रमाण ऐन, २०३१ को दफा ३, ५४ र विवाहवारीको ११ नं. समेतको व्याख्यात्मक प्रश्न उपस्थित भएकोले न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) को आधारमा प्रस्तुत मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान गरिदिएको छ । नियमबमोजिम गर्नु भन्ने यस अदालतको मिति २०६५।११।६ को आदेश 

नियमबमोजिम पेसी सूचीमा चढी इजलाससमक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीहरूको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री उत्तमप्रसाद सापकोटाले प्रतिवादी कमलमोहन चापागाईको पहिली श्रीमती देबु चापागाईले घर छोडी गएको हुँदा चन्द्रमाया धामीसँग २०४८ सालमा विवाह गरेको हो । कमलमोहन चापागाई र चन्द्रमायाबाट २०५० सालमा र २०५५ सालमा २ छोरीको जायजन्म भै जन्मदर्ता एवं विवाह दर्ता समेत भएको अवस्था छ । कमलमोहन र चन्द्रमायाबीच २०४८ सालमा विवाह भएको कुरा धेरै अगाडि थाहा पाए पनि जाहेरवाली देबु चापागाईले प्रस्तुत वहुविवाहको जाहेरी २०६३ सालमा दिएको पाइन्छ । विवाहवारीको ११ नं. बमोजिमको हदम्यादभित्र प्रस्तुत मुद्दाको नालिस परेको छैन । यसको अतिरिक्त प्रतिवादी कमलमोहनको अर्की श्रीमती छन् भन्ने कुरा चन्द्रमाया धामीलाई जानकारी छैन । काठमाडौं जिल्ला अदालतमा जाहेरवाली देबु चापागाई र प्रतिवादीहरू बीच चलेको अंश मुद्दामा मिति २०६३।११।२७ मा मिलापत्र समेत भई २०४८ सालमा पति र चन्द्रमाया धामीबीच विवाह भएको कुरा देबु चापागाईले स्वीकार गरेकी छन् । हाल प्रतिवादी कमलमोहन चापागाईको मृत्यु समेत भइसकेको अवस्था छ । यस्तो स्थितिमा प्रतिवादीहरूलाई अभियोग दावीबमोजिम बहुविवाहमा कसूरदार ठहर्‍याई सजाय गर्ने गरी शुरु एवं पुनरावेदन अदालतबाट भएको फैसला त्रुटिपूर्ण हुँदा प्रतिवादीहरूले सफाइ पाउनु पर्छ भन्ने समेत व्यहोराको वहस प्रस्तुत गर्नुभयो 

वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान सहन्यायाधिवक्ता महेश शर्मा पौडेलले प्रतिवादी कमलमोहन चापागाईले अधिकार प्राप्त अधिकारी एवं अदालतमा आई गरेको बयानमा घरमा अर्की श्रीमती हुँदाहुँदै चन्द्रमायालाई विवाह गरेको हुँ भनी कसूरमा सावित रहेका छन् । त्यसैगरी प्रतिवादीमध्येकी चन्द्रमाया धामीले समेत अधिकार प्राप्त अधिकारीसमक्षको बयानमा आफूले कमलमोहन चापागाईसँग दोस्रो विवाह गरेको भनी कसूर स्वीकार गरेकी छन् । प्रतिवादी दीपक पाण्डे विरुद्ध वादी नेपाल सरकार भएको बहुविवाह मुद्दामा (नेकाप २०६३, नि.नं. ७६९४, पृ. ५५४) मिति २०५२।८।१६ मा विवाह भएको व्यहोरा पहिले नै थाहा भएको भन्ने आधारमा विहावारीको ११ नं. को हदम्याद नघाई अभियोग पत्र दायर भएको मान्न नमिल्ने भनी सिद्धान्त प्रतिपादन भएको छ । अभियोक्ताले थाहा पाएको मितिलाई नै थाह पाएको मिति कायम हनुपर्छ । थाहा पाएको मितिबाट हदम्याद शुरु हुने हुँदा प्रतिवादीहरूलाई वहुविवाहमा कसूरदार ठहर्‍याई शुरु एवं पुनरावेदन अदालतबाट भएको फैसला सदर कायम होस् भन्ने समेत व्यहोराको वहस प्रस्तुत गर्नुभयो 

विद्वान कानून व्यवसायीहरूले गर्नुभएको वहस सुनी पुनरावेदन सहितको मिसिल अध्ययन गरी हेर्दा प्रस्तुत अभियोग दावी ऐनको हदम्यादभित्र छ, छैन भन्ने प्रश्नको निरोपण गर्दै पुनरावेदन अदालत, पाटनको फैसला मिलेको छ, छैन, प्रतिवादीहरूको पुनरावेदन जिकीर पुग्न सक्छ, सक्दैन सो सम्बन्धमा निर्णय दिनु पर्ने देखिन आयो 

२. निर्णयतर्फ विचार गर्दा प्रतिवादी कमलमोहन चापागाईले घरमा श्रीमती हुँदाहुँदै प्रतिवादी चन्द्रमाया धामीसँग दोस्रो विवाह गरी मुलुकी ऐन, विहावारीको महलको ९ नं. विपरीतको कसूर गरेको हुँदा सोही महलको १० नं. बमोजिम सजाय हुन र प्रतिवादी चन्द्रमाया धामीले पनि प्रतिवादी कमलमोहनको घरमा श्रीमती छ भन्ने जानकारी हुँदाहुँदै निजसँग विवाह गरेको हुँदा निजलाई मुलुकी ऐन, विहावारीको १० नं. विपरीतको कसूरमा सोही १० नं. बमोजिम सजाय गरिपाऊँ भन्ने अभियोग माग दावी रहेकोमा सर्वप्रथम हदम्याद तर्फ नै विचार गर्नुपर्ने देखियो 

३. प्रतिवादी कमलमोहन चापागाईको पहिलेको श्रीमती देबु चापागाईले आफू समेतलाई विपक्षी बनाई प्रतिवादी मध्येको चन्द्रमाया माया धामीले काठमाडौं जिल्ला अदालतमा अंश मुद्दा दायर गरी आफ्नो नाउँमा म्याद बुझाउन ल्याउँदा २०६३।१।१५ मा पति कमलमोहन चापागाई र निज चन्द्रमाया धामीबीच विवाह भएको थाहा पाएकोले २०६३।१।१५ लाई थाहा पाएको मिति कायम गराई २०६३।३।७ मा प्रस्तुत मुद्दाको जाहेरी दिएको देखिन्छ । मुलुकी ऐन, विहावारीको महलको ११ नं. ले विहावारीको ६ र ७ नं. को कुरामा भए गरेको मितिले र अरुमा थाहा पाएको मितिले तीन महिनाभित्र नालिस नदिए लाग्न सक्दैनभनी हदम्याद सम्बन्धमा कानूनी व्यवस्था गरेको   पाइन्छ 

४. प्रतिवादी चन्द्रमाया धामीले अधिकार प्राप्त अधिकारी एवं अदालतमा आई गरेको बयानमा प्रतिवादी कमलमोहन चापागाईले आफूलाई २०४८ सालमा विवाह गरी काठमाडौं मैतीदेवीस्थित कोठामा राखेको र २०५० सालमा छोरी सिर्जना र २०५५ सालमा छोरी अर्चनाको जायजन्म भएपछि २०५७ सालमा पतिले आफ्नो वानेश्वरस्थित घरमा ल्याएको भनी लेखाएको देखिन्छ । त्यसैगरी प्रतिवादी मध्येका कमलमोहन अधिकारीले समेत अनुसन्धान अधिकारी एवं अदालतमा आई गरेको बयानमा आफूले २०४८ सालमा नै चन्द्रमाया धामीसँग विवाह गरेको भनी लेखाएको मिसिलबाट देखिन्छ । मौकामा बुझिएकी गंगाकुमारी के.सी. ले प्रतिवादी कमलमोहन चापागाईले चन्द्रमाया धामीलाई छोरीसहित २०५७ सालमा घरमा ल्याएपछि कमलमोहनकी पहिलेकी श्रीमती देबु चापागाई अलग्गै बसेको भनी बकपत्र गरेको पाइन्छ । जाहेरवाली देबु चापागाईले यी प्रतिवादी कमलमोहन चापागाईउपर आफूलाई कुटपीट गरी घरबाट निकाला गरेकोले अंश पाऊँ भनी काठमाडौं जिल्ला अदालतमा २०६२।१२।३ मा अंश चलन मुद्दा दिएको प्रमाणमा प्राप्त मिसिलबाट देखिन आउँछ 

५. प्रतिवादी कमलमोहन चापागाई तथा श्रीमती चन्द्रमाया चापागाईको छोरी सिर्जना चापागाईको मिति २०५०।४।१ मा जन्म भएको र अर्चना चापागाईको २०५५।१२।१ मा जन्म भई मिति २०६२।१२।१५ मा जन्म दर्ता गर्नुको साथै कमलमोहन चापागाई र चन्द्रमाया धामीबीच मिति २०४८।६।३ मा सामाजिक परम्पराअनुसार विवाह भएको भनी मिति २०६२।१२।७ मा विवाह दर्ता गरेको भन्ने पनि मिसिल संलग्न विवाह दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपिबाट देखिन्छ । यी सबै घटनाक्रम प्रस्तुत मुद्दाको जाहेरी दरखास्त पर्नुभन्दा पहिला नै सम्पन्न भइसकेको अवस्था छ । किनभने जाहेरी दरखास्त २०६३।३।७ मा दर्ता भई मिति २०६३।३।३० मा मात्र अभियोग पत्र दर्ता भएको रहेछ 

६. प्रत्यर्थी वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान सहन्यायाधिवक्ताले वहसको क्रममा अभियोक्ताले थाहा पाएको मितिलाई थाहा पाएको मिति कायम हुनुपर्छ भनी पुनरावेदक प्रतिवादी दीपक पाण्डे समेत विरुद्ध वादी सरस्वती पाण्डे (अधिकारी) को जाहेरीले नेपाल सरकार भएको वहुविवाह मुद्दा (नेकाप २०६३, अङ्क ५ नि.नं. ७६९४, पृ. ५५४) मा व्याख्या भएको छ भनी जिकीर लिएको पाइन्छ 

७. यस्तो अवस्थामा उक्त नजीरसँग सम्बन्धित बहुविवाह मुद्दाका तथ्यहरू हेर्नु पर्ने सान्दर्भिक हुन आउँछ । उक्त नि.नं. ७६९४ सँग सम्बन्धित पुनरावेदक प्रतिवादी दीपक पाण्डे विरुद्ध नेपाल सरकार भएको बहुविवाह मुद्दाका प्रतिवादी र जाहेरवाली सरस्वती पाण्डे (अधिकारी) बीच २०५१ साल फागुनमा बिवाह सम्पन्न हुन्छ । त्यसपछि २०५२।८।१६ प्रतिवादी दीपक पाण्डेले उषा पाण्डेसँग दोस्रो बिवाह गरेको देखिन्छ । उक्त दोस्रो बिवाह सम्बन्धमा कारवाहीका लागि जेठी श्रीमती सरस्वती पाण्डेले २०५३।४।१० मा आफ्नो पतिले दोस्रो बिवाह गरेको थाहा पाएको भनी २०५३।५।१७ मा जाहेरी दरखास्त दिएको पाइन्छ । दीपक पाण्डे र निजकी जेठी पत्नी सरस्वती पाण्डेबीच २०५३।२।१४ मा बण्डापत्रको एउटा घरसारमा लिखत खडा भएको भन्ने दीपक पाण्डेको भनाई रहेपनि त्यसको अस्तित्वलाई जाहेरवाली सरस्वती पाण्डेले इन्कार गरेको अवस्था छ । यसरी उक्त नि.नं. ७६९४ को मुद्दामा प्रतिवादीहरू बीच दोस्रो विवाह भएको मितिले लगभग ८ महिनाभित्र थाहा पाएको भनी नवौं महिनामा जाहेरी दरखास्त दिएको र सोही मितिबाट बिहावारीको ११ नं. को हदम्यादभित्र अभियोग पत्र दायर भएको रहेछ । यसमा दोस्रो विवाह दर्ता भएको छैन, दोस्रो श्रीमती भनिएकी उषा पाण्डेबाट अभियोग दायर हुँदासम्म कुनै सन्तानको जायजन्म भएको छैन । दोस्रो बिवाह भएको एक वर्ष भित्र अभियोग पत्र दायर भैसकेको छ 

८. यसको विपरीत प्रस्तुत मुद्दामा यी प्रतिवादीहरू बीच बिवाह भएको लगभग १५ वर्ष पछि जाहेरी दरखास्त दर्ता भएको छ । यस अवधिमा प्रतिवादीहरूका दुई सन्तान जन्मेर तिनीहरूको पनि जन्म दर्ता भइसकेको अवस्था छ । यस्तो अवस्थामा उक्त नि.नं. ७६९४ मा प्रतिपादित नजीरलाई निरपेक्ष ढंगले प्रत्येक बहुबिवाह मुद्दामा लागू गर्दै जाने होइन । उक्त नजीर वा प्रतिपादित सिद्धान्तको यस्तो प्रयोजन पनि होइन । वस्तुतः नजीरको पालना र प्रयोग न्यायिक निरन्तरता, निश्चितता र न्यायिक अनुशासन कायम राख्नका लागि आवश्यक हुन्छ । तर यसमा सतर्कता अपनाउनु पनि उत्तिकै आवश्यक तत्व हुन्छ । समान तथ्य भएको कुनै विवादको विषयमा कायम भएको कानूनी सिद्धान्त त्यस्तै तथ्य भएको अर्को बिवादको विषयमा लागू हुन्छ । फरक तथ्य र परिस्थितिको मुद्दामा कायम भएको नजीर विषयको समानता वा पछिल्लो मुद्दाको नामाकरणमा समानताको आधारमा मात्र पहिला भन्दा विल्कुलै फरक तथ्य भएको मुद्दाको निर्णय गर्दा प्रयोग गर्न वा लागू गर्न मिल्ने होइन । यसकारण नजीरको पालना र प्रयोगमा पनि न्यायिक विवेकको प्रयोग गर्दै सतर्कता अपनाउनु आवश्यक छ 

९. प्रस्तुत मुद्दामा प्रतिवादी कमलमोहन चापागाई र प्रतिवादीमध्येको चन्द्रमाया धामीले २०४८ सालमा विवाह गरी २०५० सालमा र २०५५ सालमा दुई जना छोरीको जायजन्म भै २०५७ सालमा जाहेरवाली समेत बसी आएको पतिको घर बानेश्वरमा भित्र्याएको अवस्था छ । साथै छोरीहरूको मिति २०६२।१२।१५ मा जन्म दर्ता गर्नुको साथै प्रतिवादीहरूको २०६२।१२।७ मा विवाह दर्ता समेत भएको पाइन्छ । यी तथ्यहरू र तथ्यसँग सम्बन्धित मितिको सम्बन्धमा कुनै विवाद छैन । विवाह भएको कुरा थाहा पाएको मितिको सम्बन्धमा मात्र विवाद रहेको पाइन्छ । यस सम्बन्धमा घटनाक्रम हेर्दा प्रतिवादी कमलमोहन चापागाईले प्रतिवादी चन्द्रमाया धामीलाई २०४८ सालमा विवाह गरी २०५७ सालमा २ जना छोरीसहित दोस्री श्रीमतीलाई आफ्नो बानेश्वरस्थित घरमा ल्याएको अवस्थामा सोही घरमा बसी आएकी जाहेरवालीले उसै बेला थाहा पाएको नै स्वाभाविक अनुमान गर्नुपर्ने देखिन्छ । तर त्यसको विपरीत २०६३।१।१५ लाई थाहा पाएको मिति कायम गरी २०६३।३।७ मा जाहेरी दरखास्त दिएको देखिन्छ । यस्तो स्थितिमा हदम्यादसम्बन्धी कानूनको उद्देश्य र आवश्यकतातर्फ विचार गर्नु पनि जरुरी देखिन्छ । कुन काम वा क्रियालाई फौजदारी कानून भनी मान्नुपर्ने हो, कुन कसूरको लागि कति सजाय गर्नुपर्ने हो र कुन कसूरको सम्बन्धमा कति समयावधि भित्र उजूरी वा अभियोग दायर गरी सक्नु पर्ने हो भन्ने समेतका कुराहरू विधायिकाले ऐनद्वारा निर्धारित गर्ने कुरा हुन् । कुनै कसूरको सम्बन्धमा मुद्दा वा दावी गर्ने हदम्याद सीमित नरहने गरी खुल्ला राख्न र कुनै वा केही कसूरका लागि सीमित हदम्यादको व्यवस्था पनि ऐनमा विधायिकाले नै गर्ने कुरा हो । यी सबै विधायिकी कार्यक्षेत्र (Legislative Function) भित्रका कुरा हुन् । तर ऐनले हदम्यादसम्बन्धी गरेको व्यवस्था सबैले मान्नु र लागू गर्नुपर्ने हुन्छ । बहुविवाहको क्रियालाई बिहावारीको ऐनले सजायभागी फौजदारी कानूनको रुपमा परिभाषित गरी सो सम्बन्धमा अभियोग दावी गर्ने वा मुद्दा गर्ने समयावधिको सीमा पनि सोही महलको ११ नं. ले निर्धारित गरेको छ । अर्थात् बहुविवाह मुद्दा गर्नका लागि सीमित समयावधिको हदम्याद कानूनले निर्धारित गरेको छ । यसमा कुनै विवाद छैन । बहुविवाह मुद्दा दायर गर्ने खुल्ला वा असीमित हदम्याद वा जहिले पनि दायर गर्न सकिने भन्ने ऐनले व्यवस्था नगरेकोले सीमित हदम्यादभित्रै बहुविवाह मुद्दा दायर गर्नुपर्ने ऐनको व्यवस्था र उद्देश्य स्पष्ट छ । यसलाई एक वा अर्को तर्क वा कारणको आधारमा असीमित वा खुल्ला हदम्यादको रुपमा परिणत वा परिभाषित गर्न मिल्दैन 

१०. एउटा पुरुष र एक जना महिला लोग्नेस्वास्नी भएर बस्छन् वा आफ्नो सामाजिक रीत, परम्परानुसार बैवाहिक सम्बन्ध गाँसेर बस्दछन्; सो घटनाको अधिकार प्राप्त निकायमा दर्ता गराउँछन्; बैवाहिक सम्बन्धबाट एक वा अनेक सन्तानको जायजन्म हुन्छ, फेरि एक अर्काबीच मुद्दा मामिला हुन्छ । यी सब हुँदा गर्दा पनि न सँगै रहेकी पहिलो श्रीमतीले थाहा पाउँछिन् र न त अनुसन्धान गरी मुद्दा दायर गर्ने अख्तियारी पाएका सरकारी संयन्त्रले थाहा पाउँछ । यस्तो स्थितिको कल्पना बिहावारीसम्बन्धी कानूनले गरेको पाइँदैन । केही समयसम्म बहुविवाह गर्नेहरूले आफ्नो सम्बन्धलाई लुकाउन नसक्ने भन्ने पनि होइन । त्यसकारण केही समयसम्म थाहा नपाउन सक्ने पनि हुन्छ । केही समय भन्नाले केही दिन वा महिना हुन सक्दछ । वा एक दुई सालसम्म पनि हुन सक्दछ । तर त्यसको आडमा बिवाह गर्नेहरूले अनिश्चितकालसम्म आफ्नाबीचको सम्बन्धलाई लुकाई राख्ने भन्ने कुराको कल्पना गर्दै निश्चित र सीमित हदम्यादलाई अनिश्चित वा असीमित बनाउन पाइने होइन । किनभने लोग्नेस्वास्नी भएर बस्नु वा विवाह गरी बस्नु भनेको समाजमा पति र पत्नीको रुपमा स्थापित हुनु पनि हो । वैवाहिक सम्बन्धलाई सामाजिक मान्यता प्राप्त गर्नु पनि हो । समाजले मान्यता प्रदान गरिसकेको, छोरा, छोरी जन्मी सकेको, तिनीहरूको जन्मदर्ता पनि गरिसकेको अवस्थामा पनि पहिलो पत्नी वा अनुसन्धान र मुद्दा गर्ने सरकारी निकायले थाहा नपाउनु भनेको सीमित हदम्यादसम्बन्धी कानूनी व्यवस्थाको वेवास्ता वा उपेक्षा गर्नु हो 

११. कुनै पतिपत्नीमाथि आजीवन बहुविवाहको अभियोग दायर हुन सक्ने भन्ने ऐनले व्यवस्था गरेको छैन । त्यसकारण बहुविवाहमा जहिले पनि नालिस लाग्छ भनी सोच्नु वा अर्थ गर्नु भनेको बिहावारी ऐनको हदम्यादसम्बन्धी कानूनी व्यवस्था र यसको उद्देश्यलाई र विधायिकाको मनसायलाई पनि पराजीत गर्नु हो । जहिलेसुकै पनि अभियोग दावी गर्न सकिने भए बिहावारीको ११ नं. मा तीन महिने हदम्यादको सीमा नै उल्लेख गर्नु पर्ने थिएन । यसर्थ यस अदालतबाट निर्णय नं. ७६९४ मा पूर्ण इजलासबाट हदम्याद सम्बन्धमा प्रतिपादित कानूनी सिद्धान्तलाई विहावारीको ११ नं. लाई निष्क्रिय वा निष्प्रयोजन गर्ने गरी अर्थ, व्याख्या वा प्रयोग गर्न मिल्ने देखिँदैन । उक्त नजीरसँग सम्बन्धित मुद्दामा यस अदालतले त्यस्तो हुने गरी फैसला गरेको पनि छैन । त्यसलाई आफूखुशी ऐनको उद्देश्य विपरीत हुने गरी व्याख्या गर्न मिल्दैन । प्रस्तुत मुद्दाको परिस्थिति र तथ्यहरू उक्त नजीरको मुद्दासँग बिल्कुल फरक रहेको देखिँदा हदम्याद सम्बन्धमा प्रतिपादित उपरोक्त नजीर प्रस्तुत मुद्दामा आकर्षित हुने वा प्रयोग हुने अवस्था देखिन आएन 

१२. विहावारीको ११ नं. ले विहावारीको ६ र ७ नं. का कुरामा भए गरेका मितिले र अरुमा थाहा पाएको मितिले तीन महिनाभित्र नालिस नदिए लाग्न सक्दैन भन्ने कानूनी व्यवस्था गरेको परिप्रेक्ष्यमा प्रतिवादीहरू कमलमोहन चापागाई र चन्द्रमाया धामीबीच २०४८ सालमा विवाह भएको र २०५० र २०५५ सालमा दुई छोरीहरूको जायजन्म भई २०५७ सालमा बानेश्वरस्थित घरमा बसेको देखिन्छ । साथै छोरीहरूको जन्मदर्ता एवं आफूहरूको विवाह दर्ता समेत भैसकेको अवस्थामा तबसम्म सँगोलमा नै रहेको भनी दावी गर्ने जाहेरवालीलाई प्रतिवादीहरू बीच विवाह भएको कुरा २०६३।१।१५ मा थाहा पाएको भनी २०६३।३।७ मा जाहेरी दरखास्त दिएको र मिति २०६३।३।३० मा अभियोग दायर भएको देखिँदा उल्लिखित कानूनको हदम्यादभित्र प्रस्तुत अभियोगपत्र दायर भएको देखिन आएन 

१३. अतः प्रतिवादीहरूमध्ये कमलमोहन चापागाईको मिति २०६७।७।७ मा मृत्यु भइसकेको देखिए पनि निज र चन्द्रमाया थामीबीच २०४८ सालमा विवाह भई २०५० सालमा र २०५५ सालमा दुई छोरीहरूको जायजन्म भै आफूहरूको विवाह दर्ता र छोरीहरूको जन्म दर्ता समेत भइरहेको देखिँदा हदम्याद नाघी दायर भएको प्रस्तुत अभियोग दावी खारेज गर्नुपर्नेमा नगरी प्रतिवादीहरू कमलमोहन चापागाई र चन्द्रमाया धामीलाई कसूरदार ठहर्‍याई जनही १ महिना कैद र रु.१,०००।जरीवाना गर्ने गरेको काठमाडौं जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत, पाटनको मिति २०६५।२।३० को फैसला नमिलेकोले उल्टी भई हदम्याद नाघी परेको प्रस्तुत अभियोग दावी खारेज हुने ठहर्छ । अरु तपसीलबमोजिम गर्नू 

 

तपसील

प्रतिवादी कमलमोहन चापागाई र चन्द्रमाया धामीलाई वहुविवाहको कसूरमा जनही १ महिना कैद र रु.१,०००।जरीवाना हुने गरी शुरु काठमाडौं जिल्ला अदालतको फैसलालाई सदर गर्ने गरी पुनरावेदन अदालत पाटनबाट भएको फैसला उल्टी भै अभियोग दावी खारेज हुने ठहरी फैसला भएकोले शुरु काठमाडौं जिल्ला अदालतमा प्रतिवादीहरूको नाउँको कैद र जरीवानाको लगत कायम नरहने हुँदा सो लगत कट्टा गर्नु भनी शुरु काठमाडौं जिल्ला अदालतमा लेखी पठाउनू ––––

काठमाडौं जिल्ला अदालतको आदेशानुसार प्रतिवादी कमलमोहन चापागाईले रसिद नं. १००९, मिति २०६३।३।३० मा रु.५,०००।– (पाँच हजार रुपैयाँ) धरौटी राखेको मिसिलबाट देखिँदा धरौटी रकम फिर्ता पाऊँ भनी कानूनका म्यादभित्र निज प्रतिवादीको दरखास्त परे उक्त धरौटी रकम फिर्ता दिनु भनी शुरु काठमाडौं जिल्ला अदालतमा लेखी पठाउनू –––––

पुनरावेदक प्रतिवादी चन्द्रमाया धामी चापागाईले पुनरावेदन अदालत पाटनमा पुनरावेदन गर्दा सो अदालतको आदेशानुसार र.नं. १३०३, मिति २०६४।४।२४ मा जरीवानाबापत रु.१०००।– (एक हजार रुपैयाँ) र कैदबापत र.नं. ०५१, मिति २०६४।४।२४ मा रु.३५०।– (तीनसय पचास रुपैयाँ) धरौटी राखेको देखिँदा सो रकम फिर्ता पाऊँ भनी कानूनका म्यादभित्र निज प्रतिवादीको दरखास्त परे उक्त रकम फिर्ता दिनु भनी पुनरावेदन अदालत पाटनमा लेखी पठाउनू –––––

दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनू –––

 

उक्त रायमा म सहमत छु 

 

न्या.भरतराज उप्रेती

 

इति संवत् २०६८ साल मंसिर २२ गते रोज ५ शुभम्

इजलास अधिकृत : हरि कोइराला

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु