निर्णय नं. ९३२८ - वन पैदावार नोक्सान

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री सुशीला कार्की
माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय
फैसला मिति : २०७०।१०।१२।१
०६६-CR-००९१
मुद्दा : वन पैदावार नोक्सान ।
पुनरावेदक/वादी : तिलकराम क्षेत्रीको जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी/प्रतिवादी : जिल्ला बाँके, खासकुस्मा गा.वि.स. वडा नं. ६ भवानीपुर बस्ने लेखराज डाँगीसमेत
२०६६ सालको स.फौ.नं. ०६६–CR–०३३१
पुनरावेदक/प्रतिवादी : बाघखोर रेञ्जपोष्ट कुसुम, बाँकेमा कार्यरत भीमप्रसाद पौडेल
विरूद्ध
विपक्षी/वादी: तिलकराम क्षेत्रीको जाहेरीले वादी नेपाल सरकार
२०६६ सालको स.फौ.नं. ०६६–CR–०८६१
पुनरावेदक/प्रतिवादी : जिल्ला धनुषा, लामा गाडागुडी गा.वि.स. वडा नं. ७ घर भै हाल जिल्ला वन कार्यालय, सुर्खेतमा कार्यरत लेखिए तापनि जिल्ला वन कार्यालय, हुम्लामा कार्यरत श्याममणिप्रसाद मण्डल
विरूद्ध
विपक्षी/वादी : नेपाल सरकार
२०६६ सालको स.फौ.नं. ०६६–CR–०८९१
पुनरावेदक/प्रतिवादी : जिल्ला सिरहा, फुलकाहा कट्टी गा.वि.स. वडा नं. ८ घर भै हाल जिल्ला वन कार्यालय सुर्खेत, वीरेन्द्रनगरमा कार्यरत जिवछ यादव
विरूद्ध
विपक्षी/वादी : वन रक्षक तिलकराम क्षेत्रीको जाहेरीले नेपाल सरकार
- पुनरावेदन गर्न पाउने हक कानूनी हक भएकाले मुद्दाका सम्बन्धित पक्षलाई कानूनबमोजिम पुनरावेदन गर्नु भनी कुनै पनि माध्यमबाट जारी गरिएको म्याद सम्बन्धित पक्षले प्राप्त गरेको छ भने सोही मितिबाट पुनरावेदन गर्ने म्याद सुरू हुन्छ । म्याद जारी नगरिएको अवस्थामा सम्बन्धित पक्षले अर्को माध्यमद्वारा फैसलाको नक्कल लिएको छ भने सो नक्कल लिएको मितिबाट पुनरावेदन म्याद सुरू हुने हुँदा पक्षले पहिला कुन माध्यमबाट जानकारी पाएको छ त्यो बाट नै पुनरावेदन गर्ने दिनको गणना हुने हो । पुनरावेदन गर्ने म्याद प्राप्त भएपछि नक्कल लिएको मितिलाई आधिकारिक मान्ने हो भने पुनरावेदनको म्याद जारी गर्नुको कुनै औचित्य नै नरहने र कानूनमा भएको पुनरावेदनसम्बन्धी कानूनी व्यवस्था नै पराजित हुन जाने हुँदा पक्षले जुन माध्यमबाट पहिला जानकारी प्राप्त गरेको छ । सो मितिबाट नै पुनरावेदनको म्याद सुरू हुने हो तर फैसलाको आधिकारिक जानकारी प्राप्त गरेपश्चात् पुनः फैसलाको नक्कल लिई पुनरावेदनको म्याद कायम गरी दायर हुन आएको वादी नेपाल सरकारको पुनरावेदन कानूनसम्मत देखिन नआउने ।
(प्रकरण नं. ५)
- बरामद भएका काठहरू जिल्ला वन कार्यालय, बाँकेबाट प्राप्त छोडपुर्जीबाहेक अन्य कहिं कतैबाट लोड गरिएको कुनै प्रकारको टाँचा लागेको भन्ने देखिएको छैन । तसर्थ बरामद भएका काठहरू यी प्रतिवादीहरूले व.वि. टाँचासमेत लगाई पठाएका काठबाहेकको काठ हो भनी तर्क गर्न मिल्ने देखिन नआउने ।
(प्रकरण नं. ९)
§ ९४४.२६ क्यु. फिट काठको छोडपुर्जी अनुसार सोही परिमाणमा सिमित रही बिक्री टाँचा लगाई पठाउनुपर्नेमा १४२१ क्यु. फिट भन्दा बढी काठमा टाँचा लगाई ४७६.७४ क्यु. फिट भन्दा बढी हिसाब लुकाई नियतवश वन पैदावारको हानि नोक्सानी गरेको तथ्यमा विवाद भएन । यस्तो स्थितिमा कर्मचारी भएको नाताले वन ऐन, २०४९ को दफा ४९ को कसुरमा कारवाही हुन नसक्ने भन्ने पुनरावेदक प्रतिवादीहरूको जिकिरसँग सहमत हुन नसकिने ।
(प्रकरण नं. १२)
वादीको तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता हरिप्रसाद जोशी
प्रतिवादीको तर्फबाट : उपस्थित विद्वान् अधिवक्ताहरू राजन निरौला र ईश्वरीप्रसाद ज्ञवाली
अवलम्बित नजिर :
सम्बद्ध कानून :
- वन ऐन, २०४९ को दफा ४९, ५०, ६५
सुरू तहमा फैसला गर्ने :
मा. जि.न्या. श्री विरेन्द्रकुमार बाटाजु
पुनरावेदन तहमा फैसला गर्ने :
मा.न्या. श्री शान्तिराज सुवेदी
मा.न्या. श्री केदारप्रसाद चालिसे
फैसला
न्या. बैद्यनाथ उपाध्याय : पुनरावेदन अदालत, नेपालगन्जको मिति २०६५।१२।२५ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ (१) (ग) बमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम् ठहर यसप्रकार छ :
वादी नेपाल सरकार प्रतिवादी ओम खाद्य भण्डारका प्रतिनिधि सुरेश भन्ने सुरेन्द्रबहादुरसमेत भएको वन पैदवार लिन पुर्जी पाएकोमा पुर्जीको सर्त उल्लङ्घन गरी बढी वन पैदवार निकासी गर्यो भन्ने मुद्दामा जिल्ला वन कार्यालय, बाँकेको च.नं. ३९३१ को मिति २०५९।३।५ को छोडपुर्जी अनुसार साल गोलिया थान ९२ को हुने आयतन ९४४,२६ क्यु.फिट मध्ये ना. २ अ. ३५३८ नम्बरको ट्रकमा २३ थान, ना. २ ख ३०२३ नम्बरको ट्रकमा २४ थान र लु. १ त. २०७० नम्बरको ट्रकमा ३३ थान सालका गोलिया निकासी गरी ल्याएको अवस्थामा पश्चिमाञ्चल क्षेत्रीय वन निर्देशनालय, पोखराको च.नं. ५१४ मिति २०५९।३।५ को पत्र अनुसार कपिलवस्तु जिल्लाको निरीक्षणमा रहेको अवस्थामा मिति २०५९।३।८ गतेका दिन जिल्ला वन कार्यालय, बाँकेको उल्लिखित छोडपुर्जी अनुसारको साल जातको गोलिया काठ छानबिनको क्रममा शङ्का लागि पुनः नाप जाँच गर्नुपर्ने भएकाले उक्त कामको लागि गोलिया काठ सुरक्षितसाथ पोखरा लगी पश्चिमाञ्चल क्षेत्रीय वन निर्देशनालय, पोखरामा अग्रिम सम्पर्क गरी निर्देशनालयको आदेश अनुसार कामकाज गर्नु हुन भनी सहायक वन अधिकृत रामानन्दप्रसाद कुर्मीले टुरमुकाम कपिलवस्तुबाट सशस्त्र वन रक्षक तिलकराम क्षेत्रीलाई ट्रक जिम्मा लगाई पठाउनुभएको मिति २०५९।३।९ को पत्रको फोटोकपि ।
स.व.ज. रामानन्दप्रसाद कुर्मी टुरमुकाम कपिलवस्तु मिति २०५९।३।९ मा जिल्ला वन कार्यालय, बाँकेको च.नं. ३९३१ मिति २०५९।३।५ को पत्रानुसार श्री ओम खाद्य भण्डार नेपालगन्जमा प्र.स.श्री सुरेन्द्रबहादुर भण्डारीको नाममा भएको छोडपुर्जी अनुसारको सालको गोलिया थान ९२ को क्यु.फि. ९४४,२६ मध्ये ना.२ ख. ३५३८ मा गिण्डा थान २३, ना.२ ख. ३०२२ मा गिण्डा २४ र लु. १ ख २०७० मा गिण्डा थान २३ गरी जम्मा गिण्डा थान ७० लोड भई आएको गाडी शङ्का लागि छानबिनको क्रममा गोलियाबाट सुरक्षित साथ पोखरा लगी मध्यपश्चिमाञ्चल क्षेत्रीय निर्देशनालयको आदेशानुसार गर्न मलाई तोकी पठाए अनुसार उक्त काठ र ट्रक अमरसिंह चोकस्थित पोखरा काठ उद्योगको कम्पाउण्डमा राखी यो जाहेरी गरेको छु भन्ने व्यहोराको सहायक वनरक्षक तिलकराम क्षेत्रीले पश्चिमाञ्चल क्षेत्रीय वन निर्देशनालय, पोखरामा चढाएको मिति २०५९।३।११ को प्रतिवेदन ।
यसमा उक्त तीनवटा ट्रकमा जिल्ला वन कार्यालय, बाँकेको छोडपुर्जी अनुसार ल्याएको गिण्डा थान ७० गोलिया काठ पोखरा काष्ठ उद्योग एरियाबाट सो ट्रकहरू कुँडहर इलाका वन कार्यालयमा ल्याई अनलोड गराई २०५९।३।१६ मा जाँचबुझ छानबिन गर्दा ना. २ ख ३५३८ नं. को ट्रक अनलोड गरी नापी गर्दा गोलिया थान २३ को क्यु.फि. ४२३,९९ लु. १ ख २०७० मा अनलोड गरी चेक गर्दा साल गोलिया थान २३ को क्यु.फि. ३६६, ५३समेत जम्मा ११४१.८५ क्यू.फी. काठको आयतन पोखरा उ.म.नगरपालिका वडा नं. १२ बस्ने वर्ष ५३ का भिमबहादुर थापासमेत जना ५ को उपस्थितिमा र वडा प्रहरी कार्यालय, राम बजारका प्र.स.नि.श्री सूर्यप्रकाश थापा र जवान मदन बस्नेत तथा पोखरा उपमहानगरपालिका वडा नं. १२ का वडा सदस्य होमप्रसाद कोइरालाको रोहबरमा नाप पैमाइस गरी छानबिन गरिएको मिति २०५९।३।१६ को मौका मुचुल्का ।
काठमा टाँचा लगाएको र छोडपुर्जी भएको काठ भएकाले मैले वडा टोल नजिकको घाट गद्दी स्थानबाट बाँके जिल्ला वन कार्यालयका कर्मचारीको रोहबरमा २४ थान गोलिया उठाई दरपीठ गराई ल्याएको हुँ । भाडा रू.२०,३२५।– हो । यसमा मेरो कुनै दोष छैन भनी मक्रहर–८ बस्ने वर्ष २१ को ना.२ ख. २०२३ नं. को ट्रकका ड्राइभर तेजबहादुर कुँवरले मिति २०५९।३।१६ मा गरेको बयानको व्यहोरा र मिति २०५९।४।६ मा गरेको ततिम्बा बयानमा घाटगद्दी स्थानबाट काठ लोड गर्ने समयमा कोहलपुर गा.वि.स. वडा नं. ३ अस्थायी बसोवास गर्ने कल्याण बराललगायत ५/७ जना मानिसहरू थिए । धामपुर रेञ्जरपोष्ट तथा बाखखोर रेञ्जरपोष्टमा पर्ने वन पैदावार चेक पोष्टहरूमा निज कल्याण बरालले नै दरपीठ गराई ल्याएका हुन् कुन दर्जाको कुनकुन कर्मचारीबाट दरपीठ गराई ल्याएका हुन् निजलाई नै थाहा होला भन्नेसमेत व्यहोराको तेजबहादुर कुँवरको बयान ।
काठको छोडपुर्जी र गोलिया काठमा टाँचा लागेको सुरेन्द्रबहादुर भण्डारीको काठ वन कर्मचारीले छोडपुर्जीमा दरपीठ गरेको हो । सो काठ पोखरासम्म लैजान भाडा रू २२,०००।– दिन्छु भनेकाले २३ थान गोलिया काठ ल्याएको हुँ । गाडी तुल्सीपुर नगरपालिका वडा नं. ६ दाङ् बस्ने भिमप्रसाद छन्त्यालको हो भन्ने व्यहोरा खुलाई दाङ् फूलवारी गा.वि.स. वडा नं. १ बस्ने ना. २ ख ३५३८ को ट्रक ड्राइभर शालिकराम के.सी.ले मिति २०५९।३।१६ मा गरेको बयानको अतिरिक्त मिति २०५९।४।६ मा तेजबहादुर कुँवरले नै गरेको बयानसँग मिल्दोजुल्दो व्यहोरासमेतको शालिकराम के.सी.को बयान ।
काठको छोडपुर्जी तथा टाँचा लगाइएको गोलिया काठ सुरेन्द्रबहादुर भण्डारीको हो, ठेकेदारले पोखरा ल्याएबापतको भाडा रू.१९,४२६।– दिन्छु भनी भन्नुभएको हो र छोडपुर्जी दिएर पठाउनुभएको हुँदा घाटगद्दी स्थानमा वन कर्मचारीको रोहबरमा दरपीठ गराई २३ थान साल गोलिया ल्याएको हुँ भनी लु.१. ख २०७० नं. को ट्रक चालक मक्रहर–८, रूपन्देही बस्ने वर्ष २३ का भिष्मनाथ कुँवरले गरेको बयान व्यहोराको साथै मिति २०५९।४।६ मा तेजबहादुर कुँवरले गरेको ततिम्बा बयानसँग मिल्दोजुल्दो व्यहोराको भिष्मनाथ कुँवरको बयान ।
म ठेकेदारको प्रतिनिधि भएर सो काठ पोखरासम्म ल्याउँदा कति खर्च लाग्छ, सो खर्च बाटोमा गरी काठ पोखरा लैजान भनी ट्रकमा लोड गरेर ल्याएको थिएँ । पोखरा काष्ठ उद्योगका प्रतिनिधि टीका कार्कीको काठ भएकाले निजको पनि प्रतिनिधि कल्याण बराल भन्ने ठेगाना थाहा नभएकोलाई गाडी नं. ३५३८ को गाडी भाडा र भत्ता रू २३,८३८।– ना. २ ख २०२३ को गाडी भाडा रू.२१,८२७।– र लु.१. ख २०७० को गाडी भाडा र भत्ता रू २०,९२६।– लिई आउने भनेर कल्याण बरालले टीका कार्कीलाई लेखेको पत्र लिएर गाडी साथ आएको हुँ । कुँडहर इलाकामा अनलोड गरी नापी मेरो रोहबरमा गरेको हो । काठ नापी गर्ने र उठाउने समयमा म थिइन भन्नेसमेत व्यहोराको ठेकेदार प्रतिनिधि लेखराज डाँगीले गरेको बयान ।
जिल्ला वन कार्यालय, बाँकेको च.नं. ३९२१ मिति २०५९।३।५ को छोडपुर्जी अनुसार निकासी भएकोमध्ये ७० थान गोलिया जिल्ला बाँके, कोहलपुर गा.वि.स. वडा नं. ३ बस्ने कल्याण बराल भन्ने व्यक्तिसँग फोनमा सम्पर्क भए अनुसार र काठ पोखरा काष्ठ उद्योगमा झरेपछि नापी गरी ठहरेको क्यु. फिटको प्रति क्यु. फिट रु.४१५।– का दरले मैले खरिद गरेको हुँ, निकासी हुन बाँकी २२ थान गोलिया मेरो मिलमा झरेको छैन भन्नेसमेत व्यहोराको मिति २०५९।३।३० मा पोखरा काष्ठ उद्योग प्रा. टीकाबहादुर कार्कीले गरेको बयान ।
ना. २ ख. ३०२८ को ट्रक मेरो सहोदर भाइ दिलबहादुर छन्त्याललाई ओम्नी प्रा.लि. ले हायर पर्चेज कर्जा अर्न्तगत झिकेको र सोको सञ्चालक मैले गर्न अधिकारपत्र दिएको हो । म सधैँ ट्रक चालकलाई जिम्मा दिन्छु उसको र मेरो भेट १५/२० दिनमा हुन्छ । सोही बखत गाडीको कमाई मलाई दिन्छन् । वन कार्यालयबाट छोडपुर्जी भएको र टाँचा लागेको वन कर्मचारीको रोहबरमा काठ लोड गरेको हो भन्ने कुरा ड्राइभरले जानकारी दिएपछि थाहा पाएको हुँ । टाँचा लागको छोडपुर्जी भएको वन कर्मचारीको रोहबरमा लोड भएको काठ भएकाले ट्रक ड्राइभर साथै मेरो पनि कुनै गल्ती छैन । म ट्रक व्यवसायी भएकाले मलाई खाने साधन सो ट्रक नै भएकाले ट्रक र ड्राइभरसमेत छोडी पाउँ भनी मिति २०५९।३।२० मा ट्रक मालिक भिमप्रसाद छन्त्यालले गरेको बयान ।
ना. २ ख. २०२३ नं. को ट्रक ओम्नी प्रा. लि.मार्फत ऋणी मेरो आमा श्रीमती किशनदेवी श्रेष्ठको र लु. १ ख. २०७० नं. को ट्रक दुर्गालक्ष्मी शाहीबाट मेरो सहोदर भाउजु बुटवल नगरपालिका वडा नं. ६ लक्ष्मीनगर बस्ने श्रीमती गगनलता श्रेष्ठले किनेर सो ट्रक मलाई चलाउनको लागि सम्पूर्ण जिम्मेवारी दिनुभएको हो । मनकामना ट्रान्सपोष्ट नेपालगन्ज सम्पूर्ण सरकारी कागजात र टाँचा लागेको काठ पोखरा लैजानुहुन्छ । त्यसबापतको भाडा एउटा ट्रकको रू.१९,४२६।– र अर्को ट्रकको रू.२०,३२५।– भाडा दिने भनेपछि नियमानुसार भए काठ पोखरा पुर्याइदिनु भनेको हुँ । मेरो दुबै गाडी ट्रान्सपोर्टमार्फत चलेका हुन् । यसमा मेरा ट्रक र ड्राइभरको कुनै दोष छैन भन्नेसमेत व्यहोरा खुलाई ट्रक मालिक बुटवल नगरपालिका वडा नं. ५, ज्योतिनगर बस्ने वर्ष २९ का अनिल श्रेष्ठले गरेको बयान ।
पक्राउ परेका ठेकेदारका प्रतिनिधि लेखराज डाँगी मिति २०५९।३।२९ गतेको रातको समयमा निजलाई सुरक्षित साथ हिरासतमा राखिएको कोठाको ढोकामा लगाएको चुकुल बङ्गयाई ढोका खोल्न सफल भएको र हालसम्म शङ्कास्पद ठाउँमा खोजी कार्य भै रहेको तर फेला नपरेको कारण जानकारीको लागि अनुरोध छ भनी सशस्त्र वन रक्षक नगेन्द्रबहादुर के.सी. र दिलबहादुर क्षेत्रीले मिति २०५९।३।३० गते दिउँसो ४:०० बजे इलाका वन कार्यालय, कुँडहरमा दिएको निवेदन ।
पोखरामा बरामद भएका ७० थान गोलिया तथा घाटगद्दी स्थानबाट उठाउन बाँकी २२ थान काठ मेरो रोहबरमा विमार्का भएका काठ होइनन् । मिसिलमा संलग्न नापी तालिका मैले गरेको नापी तालिका होइन । अर्को राखिएको छ भन्ने कुरा बुझेको छु । मैले सही गरेको विमार्का नापी तालिका किन संलग्न नगरेको हो विमार्का गर्ने अधिकारी श्री श्याममणिप्रसाद मण्डललाई नै थाहा होला । मेरो रोहबरमा विमार्का हुँदा साल गोलिया थान ९२ को ९४४.२९ क्यु. फिट काठमा मात्र विमार्का भएको हो । जुनजुन थान र परिमाणका काठमा विमार्का हुनुपर्ने हो त्यो भएपछि मेरो जिम्मेवारी पूरा भयो र म आफ्नो कार्य क्षेत्रमा फर्किएँ । विमार्का गर्ने टाँचा निमित्त सहायक वन अधिकृत श्याममणिप्रसाद मण्डलसँग धेरै दिनसम्म रहनुको के औचित्य । निजले पछि गरेको बद्नियतपूर्ण काममा म जिम्मेवार हुने प्रश्न नै आँउदैन । उसले कुनकुन काठमा टाँचा हानि पठाए सही सत्य काठ कहाँ गयो त्यो सम्पूर्ण कुरा सम्बन्धित रेञ्जपोष्टका रेञ्जर जिवछ यादव र टाँचाको जिम्मेवार कर्मचारी श्याममणिप्रसाद मण्डललाई नै बुझ्न हुन अनुरोध छ । यस कार्यमा म निर्दोष छु । मेरो मिलोमतो छैन भन्नेसमेत व्यहोराको रेञ्जर भिमप्रसाद पौडेलले मिति २०५९।४।७ मा गरेको बयान ।
जिल्ला वन कार्यालय, बाँकेको च.नं. ३९३१ मिति २०५९।३।५ को छोडपुर्जी अनुसार काठ बाघखोर रेञ्जरपोष्टअर्न्तगतको राजमार्गमा रहेको चेकपोष्टमा म आफैँले मिति २०५९।३।७ गते बिहान ११:३० बजे चेकजाँच गरी छोडपुर्जीको पछाडिपट्टि मैले हस्ताक्षर गरी तीनवटा ट्रकमा १० थान साल गोलिया छाडिदिएको ठीक हो । छोडपुर्जी अनुसारको ९२ थान मध्ये १० थान मात्र निकासी भएको हो, सबै गोलियामा ज.वि. २०३ टाँचा लागेको थियो । उक्त काठहरू ट्रकमा लोड भएकाले नाप्न अप्ठायारो भएको र परिमाण क्यु.फिट हिसाब गर्न भने मलाई आउँदैन, तोकिएको म्यादभित्रै निकासी भएकाले चेकजाँच गरी छाडेको हुँ । काठ कति क्यु. फिट बढी वा घटी थियो मलाई थाहा छैन । यसमा मेरो कसैसँग मिलोमतो छैन । लोभलालचमा परी बढी काठ छोडी दिएको होइन म निर्दोष छु भन्नेसमेत व्यहोरा खोली बाघखोर र रेञ्जरपोष्टअन्तर्गत कुसुम भन्ने ठाउँमा रहेको वन पैदावार चेकपोष्टमा खटिएका वन रक्षक रामसमुझ कुम्हारको मिति २०५९।४।१७ को बयान ।
मिति २०५९।३।४ मा भएको विमार्का मुचुल्कामा मैले सहिछाप गरेको हो । छोडपुर्जीको पछाडि धामपुर रेञ्जरपोष्टबाट मैले दरपीठ गरेको होइन । उक्त दरपीठ जिल्ला दाङ्, उहरी गा.वि.स. वडा नं. ४ बस्ने अमरबहादुर डाँगीले आफैँ गरेको रहेछ भनी तत्कालीन निमित्त सहायक वन अधिकृत श्याममणिप्रसाद मण्डलले म र मनबहादुर खत्रीको अगाडि भन्नुभएको हुँदा उक्त दरपीठ निज डाँगीले नै गरेको हुनुपर्छ । काठ लोड पनि मेरोअगाडि भएको होइन । कुन समयमा काठ लोड गरी दरपीठसमेत आफैँ गरी लगे मलाई थाहा छैन । मिति २०५९।३।४ मा विमार्का हुँदा रेञ्जर भिमप्रसाद पौडेल, तत्कालीन निमित्त सहायक वन अधिकृत श्याममणिप्रसाद मण्डल, रेञ्जर जिवछ यादव, वन रक्षक मनबहादुर खत्री, वनरक्षक तिलकराम कुम्हार म, जिल्ला दाङ् उरहरी गा.वि.स. वडा नं. ४ बस्ने अमरबहादुर डाँगी र जिल्ला बाँके खासकुस्मा गा.वि.स. वडा नं. ५ बस्ने प्रकाशकुमार के.सी.समेत त्यहाँ उपस्थित थिए । काठ मैले नापेको होइन, २/४ दिनअगाडि रेञ्जर जिवछ यादव र श्याममणिप्रसाद मण्डलले नापी गरेका हुन् । अब यो ९२ थान गोलियामा टाँचा लगाउ भनी तत्कालीन निमित्त सहायक वन अधिकृत श्याममणिप्रसाद मण्डलले आदेश गरेको हुँदा मनबहादुर खत्री र तिलकराम कुम्हारले पालो गरी टाँचा हाने, मैले टाँचा हानेको काठमा गोलो चिह्न लगाउने काम गरेको हुँ । काठ किन बढी भयो मलाई थाहा छैन रेञ्जर जिवछ यादव र श्याममणिप्रसाद मण्डललाई थाहा होला, मेरो कसैसित मिलेमतो र सलंग्नता छैन भन्नेसमेत व्यहोराको वन रक्षक वासुदेव आचार्य, मनबहादुर खत्री र तिलकराम कुम्हारले मिति २०५९।४।२१ मा गरेको छुट्टाछुट्टै बयान ।
जिल्ला वन कार्यालय, बाँकेअन्तर्गत धामपुर रेञ्जपोष्टका प्लट नं. ८० को काठ दाउरा मैले सुरेन्द्रबहादुर भण्डारीबाट रू. ३,५०,०००।- मा खरिद गरेको हुँ । खरिद बिक्री गरेको लिखित प्रमाण छैन । विश्वासका आधारमा किनमेल भएको हो । उक्त छोडपुर्जीमध्येको ७० थान साल गोलिया काठ तीनवटा ट्रकमा लोड गरी पोखरा काष्ठ उद्योगमा बिक्री गर्न पठाएको हो । पोखरामा लगी बेच्ने कार्यमा कल्याण बरालले मलाई सहयोग गरेका हुन् । सो सहयोग गरेबापत प्रति क्यु.फिट रू.५।– का दरले निजलाई कमिसन दिने सर्त भएको हो । काठको परिमाण बढी कसरी भयो मलाई थाहा छैन । कुनै पनि कर्मचारीसँग मेरो मिलेमतो छैन भन्नेसमेत व्यहोराको अमरबहादुर डाँगीले मिति २०५९।५।२० मा अनुसन्धान अधिकृतसमक्ष गरेको बयान ।
अमरबहादुर डाँगीले मलाई पोखरामा काठ किन्ने एउटा राम्रो व्यापारी खोज्नको लागि भनेको हुँदा मैले चिनेको टीकाबहादुर कार्कीलाई फोनबाट अमरबहादुरसँग परिचय गराई दिएको हुँ । उहाँहरू दुईबीच कुरा भई उक्त काठ पोखरा काष्ठ उद्योगको प्रो. टीकाबहादुर कार्कीले प्रति क्यु. फिट रू.४१५।– का दरले किन्ने बन्दोवस्त भएको कुरा पछि अमरबहादुर डाँगीले मलाई बताएका हुन् । किन बेचको लागि सम्पर्क गराई दिएबापत मलाई प्रति क्यु. फिट रू. ५।– का दरले दिने कुरा भएको हो । तर बीचमा उक्त काठ तथा ट्रक पक्राउ परी मुद्दा चलिरहेकाले सो रकम पनि मैले आजसम्म पाएको छैन । ९२ थान सालमध्ये तीनवटा ट्रकमा ७० थान लगिएको र बाँकी २२ थान लैजान बाँकी नै छ भन्नेसमेत व्यहोराको कल्याण बरालले मिति २०५९।६।३ मा गरेको बयान ।
वन पैदावर हानि नोक्सानी गर्ने कार्यमा संलग्न प्रतिवादीहरू श्याममणिप्रसाद मण्डल, जिवछ यादव, भिमप्रसाद पौडेल, वासुदेव भण्डारी, अमरबहादुर डाँगी, लेखराज डाँगी, प्रकाशकुमार के.सी., कल्याण बराल, टीकाबहादुर कार्की, भिष्मनाथ कुँवर, तेजबहादुर कुँवर र शालिकराम के.सी.समेतलाई वन ऐन, २०४९ को दफा ४९ को देहाय (घ) र (ज) को कसुरमा सोही ऐनको दफा ५ को (१) (घ) (४) बमोजिम निजहरूले अनियमीतता गरी नोक्सान गरेको बिगो रू.९५,३९८।– को दोब्बर रू.१,९०,७९६।– जनही जरिवाना तथा एक वर्ष कैद गरी अवैध काठ ४७६.९९ क्यु.फिट जफत गरिपाउँ । उक्त अनियमित काठ ओसारपसारमा प्रयोग भएका बरामद ट्रकहरू सोही ऐनको दफा ६६बमोजिम जफत गरिपाउँ । साथै कसुरदार लेखराज डाँगीलाई हिरासतमा भगाउने नगेन्द्र के.सी. र दिलबहादुर क्षेत्रीलाई सोही ऐनको दफा ५ बमोजिम सजाय गरी पाउन प्रतिवादी अमरबहादुर डाँगी, कल्याण बराल, भिमप्रसाद पौडेल, वासुदेव आचार्य, मनबहादुर, तिलकराम कुँवर, शालिकराम के.सी. भिष्मनाथ कुँवर र तेजबहादुर कुँवरलाई यसै अभियोगसाथ प्रस्तुत गरेको छ । फरार रहेका प्रतिवादीहरू अलकादेवी जलान, सुरेन्द्रबहादुर भण्डारी, प्रकाशकुमार के.सी., लेखराज डाँगी, टीकाबहादुर कार्की, श्याममणिप्रसाद मण्डल र जिवछ यादवलाई यसै सम्मानित अदालतबाट समाह्वान जारी गरिपाउँ भन्ने व्यहोराको अभियोग माग दावी ।
सुरेन्द्रबहादुर भण्डारीबाट लकडीको हैसियत जे जस्तो अवस्थामा छ, सोही अवस्थामा उठाउने गरी नाप पैमाइस नगरी एकमुष्ट रू.३,५०,०००।– मा विश्वासको आधारमा मैले काठ खरिद गरेको हुँ । उक्त काठ बिक्री वितरण गर्नको लागि कल्याण बरालमार्फत पोखराका टीकाबहादुर कार्कीसँग सम्पर्क भई निजले काठ लिने तय भएपछि नपुग काठ मिलमै नाप्ने सर्तमा कल्याण बराललाई काठ पुर्याउने जिम्मा लगाई आफू गए र कल्याण बरालले तीनवटा ट्रक बुक गरी उक्त ट्रकमा ७० वटा गोलिया काठ लोड गरी पोखरातर्फ गएका हुन् । त्यसरी लैजाने क्रममा इलाका वन कार्यालयहरूमा जाँच गराउने सिलसिलमा सहायक वन अधिकृत रामानन्दप्रसाद कुर्मीले कपिलवस्तुमा ट्रक चेक गरी शङ्का लागी वनरक्षक तिलकराम क्षेत्रीलाई उक्त ट्रक साथै पोखरा पठाएका रहेछन् भन्ने व्यहोराको प्रतिवादी अमरबहादुर डाँगीको बयान ।
मैले अमरबहादुर डाँगीलाई टीकाबहादुर कार्कीसँग परिचय गराई दिएको र बाँकी अरू कुरा अमरबहादुर र टीकाबहादुरले के के गर्नुभयो मलाई थाहा छैन । शालिकराम के.सी.लाई ड्राइभर भएकाले चिनेको हुँ । लेखराजसँग पहिला पनि मेरो सामान्य परिचय रहेको र निजले म पनि पोखरा जान्छु भनी मसँग भन्नुभयो र मैले हुन्छ जानुस् भनी छोडपुर्जीसमेत लेखराजलाई दिई पठाएको हुँ । तीनवटा ट्रक थियो नम्बर थाहा भएन ७० वटा गिण्डा थियो भन्ने व्यहोराको प्रतिवादी कल्याण बरालको बयान ।
कल्याण बरालले मेरो लकडी (साल जातको गोलिया काठ) कुसुममा छ । सो काठ पोखरासम्म ढुवानी गरी लिनुपर्यो छुट पुर्जीको काठ हो भनी भनेकाले मेरो ट्रकमा २४ थान साल जातको गोलिया काठ लोड गरेको हुँ । लु. १ ख. २०७० को ट्रकमा पनि कल्याण बरालको पुर्जीको काठ २३ थान लोड गरिएको हो । ना. २ ख. २५३८ को ट्रकमा लोड गरेको काठ कसको हो भन्न सक्दिन । सो ट्रकमा पनि २३ थान गोलिया लोड गरिएको थियो र उक्त तीनवटा ट्रकहरू साथै चलाई पोखरा जाने क्रममा चन्द्रौटा भन्ने ठाउँमा पुगेपछि वन कार्यालयका कर्मचारीहरूले पक्राउ गरी ट्रक र सोमा भएको गोलिया काठ सहित तीनवटा ट्रक र हामी तीनजना ड्राइभर म तेजबहादुर कुँवर, शालिकराम के.सी. र भिष्मनाथ कुँवरलाई पक्राउ गरेको हो भन्नेसमेत व्यहोराको प्रतिवादी तेजबहादुर कुँवर योगीको बयान ।
जुन पक्राउ भै बरामद भएका काठहरू छ्न् ती काठहरू बैजापुर इलाका वन कार्यालयअन्तर्गत धामपुर रेञ्जपोष्टको वन क्षेत्रबाट कटान भै कुसुम इलाका वन कार्यालयको सौरी रेञ्जपोष्टको वडा टोल गाँउमा घाटगद्दी भएको र त्यहाँबाट नै तीनवटा ट्रकमा काठहरू लोड भै पोखरातिर लगिएको भन्ने मैले सुनेको हुँ भन्ने व्यहोराको प्रतिवादी भिमप्रसाद पौडेलको बयान ।
अमरबहादुर डाँगी र कल्याण बरालले मनकामना ट्रासपोर्टमा आई लोड गरेको काठको अनुपातमा भाडा दिउँला भनी भनेको हुनाले पक्राउ परेका तीनवटै ट्रकलाई लिई प्रतिवादी अमरबहादुर डाँगी र कल्याण बराल गोलिया काठ भएको ठाउँमा गै उक्त लोड गर्ने काठ हेर्दा टाँचा लागेको देखिँदा मेरो २०७० को ट्रकमा २३ थान गोलिया लोड गरिएको हो । उक्त काठ अमरबहादुर डाँगी र कल्याण बरालले आफ्नो भनी लोड गराएका हुन् । पलियामा गएपछि छोडपुर्जी कोसँग छ भनी सोध्दा लेखराज डाँगीले छोडपुर्जी निकालेका र भण्डारीको छोडपुर्जी हो भनी भन्दथे । चन्द्रौटा भन्ने ठाउँमा तीनवटा ट्रक वनले जाँच गर्दा वनको एकजना मानिस साथ नै पोखरा वन कार्यालयमा बुझाएको हो भन्ने व्यहोराको प्रतिवादी भिष्मनाथ कुँवरको बयान ।
कल्याण बरालले पोखरा बस्ने टीका कार्कीका मिलमा लाने भनेर बेरिया पुलदेखि दक्षिणतर्फबाट रू.२२,०००।– भाडा दिने गरी ना. २ ख. ३५३८ नं. को ट्रकमा निज बरालले भनेबमोजिम २३ वटा साल जातको गोलिया काठ लोड गरिएको र मेरो ट्रकबाहेकका अन्य दुईवटा ट्रकमा पनि साल जातको गोलिया काठ लोड गरी तीनवटै ट्रक साथसाथै चलाई ट्रकमा लेखराज डाँगी बसी तीनवटै ट्रकलाई अगाडि बढाउने क्रममा अमिलियाको वनको बेरियरमा २ जना ड्राइभरको रोहबरमा दरपीठ गराई त्यसपछि पोखरातर्फ जाने क्रममा कालाकाटीमा दरपीठ गर्यौं । त्यसपछि चन्द्रौटामा दरपीठ गराउन जाँदा चन्द्रौटाबाट एकजना वनका कर्मचारीको साथ लगाई तीनवटै ट्रकलाई पोखराको टीका कार्कीको मिलमा लगियो । त्यहाँ अनलोड गर्न नदिएपछि ३/४ दिनपछि इलाका वन कार्यालयमा ट्रकसहित राखी थुनामा राखिएको हो । हामी पक्राउ पर्दा लेखराज डाँगी साथमा थिए भन्ने व्यहोराको प्रतिवादी शालिकराम के.सी. को बयान ।
धामपुर रेञ्जपोष्टअन्तर्गत मंकाको जङ्गलमा सुख्खा, ढला पडा काठ (साल काठ) को कटान भै कुसुम इलाका वनअन्तर्गतको वडा टोल भन्ने ठाउँमा घाटगद्दी भएको हो । नापजाँच पैमाइसमा रेञ्जर जिवछ यादव नै संलग्न हुनुहुन्थ्यो, के कति काठ परिमाण थियो मलाई थाहा छैन । काठ गोलिया ९२ वटा विमार्का छ भनी अधिकृत श्याममणिप्रसाद मण्डलले मलाई जानकारी गराउनुभएको हो । कसले त्यहाँबाट उठायो मलाई थाहा छैन । काठ उठाउने तथा लिलाम गर्नेसम्बन्धी रेञ्जरलाई थाहा हुने कुरा हुन् भन्ने व्यहोराको प्रतिवादी वासुदेव आचार्यको बयान ।
धामपुर रेञ्जपोष्टअन्तर्गतको मंका नामको जङ्गलमा ढलापडारूपमा रहेका सुख्खा काठ कटान गरेको हो । त्यहाँबाट काठहरू कुसुम इलाका वन कार्यालयअन्तर्गत बाघखोर रेञ्जपोष्टमा घाटगद्दी गर्न वडा गाउँ टोलमा राखिएको थियो । त्यहाँबाट पैमाइस हुँदा ९२ थान काठ थिए । उक्त काठको नाप पैमाइसमा जम्मा ९४४.२६ क्यु. फिट काठ रहेको र सोही काठको विमार्कासमेत भएको थियो । सो विमार्कामा भएको सहिछापसमेत मेरो हो । सनाखत गरी लिएका काठ कसले कहिले उठायो थाहा भएन । काठमा टाँचा मार्दा ६१ वटा धोधर रहेका र ३१ वटा बिनाधोधरका काठ थिए । तत्काल हामीले घाटगद्दीमा काठ नलेखे पनि मैले समेत प्रतिवेदन दिएको हुँ हाल थाहा भए अनुसार ७० गिण्डा काठ ३ वटा ट्रकमा पोखरातर्फ लगेकोमा पक्राउ परी प्रस्तुत मुद्दा चलेको हो भन्ने थाहा भएको हो भन्ने व्यहोराको प्रतिवादी मनबहादुर खत्रीको बयान ।
मिति २०५९।३।३ गतेदेखि मिति २०५९।३।६ गतेसम्म धामपुर, देउपुरा माइको वन जङ्गलमा टुर गस्ती गरेको र मिति २०५९।३।७ गतेदेखि ऐ. ९ गतेसम्म बैजापुर, शिवलालपुर, कुम्भपुरको वनमा टुर गस्ती गर्न खटाइएकाले टुर गस्ती गर्न गएको थिएँ । धामपुर रेञ्जपोष्टअन्तर्गत मंका नामको जङ्गलमा रहेको सुकेका ढलापडा काठ कटान गरी कुसुम इलाका वनअन्तर्गत वडा टोल गाउँमा घाटगद्दी गरी राखेको र त्यसरी राखेका काठमध्ये गोलिया काठ नाप पैमाइस गरी सोको हुने नाप ९४४.२६ क्यु.फिट उल्लेख गरी ज. वि. नामक विमार्का मूल्य टाँचा लगाई सोमा सहिछापसमेत गरेको हुँ । उक्त विमार्का मुचुल्कामा भएका काठ कहाँ कसको रोहबरमा कसले लगे मलाई थाहा छैन रेञ्जर र अधिकृतलाई थाहा होला काठ कहिले पठाएको हो सो पनि थाहा छैन भन्ने व्यहोराको प्रतिवादी तिलकराम कुम्हारको बयान ।
धामपुर रेञ्जपोष्टअर्न्तगत वडा टोल नजिकको चौर जहाँ काठको घाटगद्दी विमार्का नाप पैमाइस भएको थियो सो ठाउँमा ढुङ्गा रहेकाले ढुङ्गा बटुल्ने क्रममा म त्यहाँ लेवरहरूसमेत लिएर गएको थिएँ । काठ विमार्का नाप जाँच पैमाइस कार्यका लागि म त्यहाँ गएको होइन । मैले काठ नाप जाँच पैमाइस विमार्का हुँदाका अवस्था देखिन र काठ ट्रकमा लोड गराएको समेत होइन । किन काठ लोड गराएको भनी लेखिन गयो सो भन्न सक्दिन भन्ने व्यहोराको प्रतिवादी प्रकाशकुमार के.सी.ले गरेको बयान ।
बाँके, बैजापुर र खासकुस्माअन्तर्गतको धामपुर रेञ्जपोष्टको प्लट नं. ५ को ८० को जिल्ला वन कार्यालय, बाँकेले ओम खाद्य भण्डारको प्रतिनिधि सुरेन्द्रबहादुर भण्डारीको लागि उक्त धामपुर रेञ्जपोष्ट प्लट नं. ८० को काठहरू र दाउरा पोखरासम्म लैजानको लागि छोडपुर्जी दिएको कुरा मैले छोडपुर्जी दिएको २/४ दिनपछि थाहा पाएको हुँ । जिल्ला वन कार्यालय, बाँकेले ओम खाद्य भण्डारको प्रतिनिधि सुरेन्द्रबहादुर भण्डारीलाई छोडपुर्जी दिएको काठहरू म कार्यरत इलाका वन कार्यालय, मेहमानपुरकै प्लट नं. ८० को हो भन्ने व्यहोराको प्रतिवादी श्याममणिप्रसाद मण्डलको बयान ।
धामपुर रेञ्जपोष्टअन्तर्गतको प्लट नं. ५ को मंका नामका जङ्गलमा ढलापडारूपमा रहेको काठहरू कटान मुछान गरी कुसुम इलाका वन कार्यालयअन्तर्गतको वडा टोल नजिकको चौरमा घाटगद्दी भएको साल गोलिया थान ९२ को ९४४.२६ क्यु. फिट काठको ओम खाद्य भण्डारको नाममा जिल्ला वन कार्यालयले पोखरासम्म लैजानका लागि छोडपुर्जी दिएको थियो । काठ इलाका वन अधिकृतको हैसियतले श्याममणिप्रसाद मण्डलले नापी मेरो नाप साइजलाई ठीक छ भनी प्रमाणित गर्नु भएको र सोही नाप जाँचलाई जिल्ला सहायक वन अधिकृत दिनप्रसादसमेतले नापी ठीक छ भनी प्रमाणित गरी जिल्ला वन कार्यालयमा प्रतिवेदन दिई टिप्पणीसमेत उठेको हो । सो कागजात प्रस्तुत मिसिल सामेल नहुँदा झिकाई पाउँ नाप साइज कसरी फरक पर्न गयो मलाई थाहा छैन भन्ने व्यहोराको प्रतिवादी जिवछ यादवको बयान ।
ओम खाद्य भण्डार नामका मेरो व्यवसायी फर्म छ । सो फर्मबाट विभिन्न किसिमका थोक व्यापार व्यवसाय सञ्चालन गरी आएको छु । मेरो उक्त व्यवसायिक फर्मले जिल्ला वन कार्यालय, बाँकेबाट विभिन्न इलाका वन कार्यालयअन्तर्गतका रेञ्जपोष्टबाट काठ खरिद गर्नका लागि टेन्डर आह्वान गरेको थियो । सोही अनुसार मेरो फर्मको नामबाट पनि टेन्डर हालेकोमा मेरो उक्त ओम खाद्य भण्डार नामक फर्मलाई टेन्डर परेकाले कानूनबमोजिम बुझाउनुपर्ने सम्पूर्ण खालका रकमहरू बुझाउन र काठ उठाई लिन सुरेन्द्र भण्डारीलाई अख्तियारी दिएको हुँ । सो सबै खालका अख्तियारीका कुराहरू कागजातमा छन् । उक्त ठाउँबाट मेरो ओम खाद्य भण्डार नामक फर्मले ९२ थान गोलिया काठ र ३ चट्टा दाउरा खरिद गरेको हो । त्यो गोलिया काठको के कति क्यु. फिट थियो हाल याद भएन । के कसरी काठ नाप फरक पर्यो भन्न सक्दिन भन्ने व्यहोराको प्रतिवादी अलकादेवी जलानको बयान ।
प्रतिवादी लेखराज डाँगीले तीनवटा ट्रकमा काठ लोड गराई जानुभएको थियो । उक्त तीनवटा ट्रकमा ७० थान गोलिया साल जातका काठ लोड गरेर गएका थिए । प्रतिवादी लेखराज डाँगीलाई कास्कीको इलाका वन कार्यालय, कुँडहरले तीनवटा ट्रकहरूमा काठ लोड गराई लगेका कारण उक्त काठ अवैध के कस्ता हुन् नाप पैमाइस दुरूस्त छ, छैन छानबिनका लागि हिरासतमा लिएको थियो । लेखराज डाँगीलाई म नगेन्द्रबहादुर के.सी., तिलबहादुर क्षेत्री र लक्ष्मी कोइरालाको जिम्मामा हिरासतमा लिइएको हो । लेखराज डाँगी मिति २०५९।३।२९ गते राति हिरासतबाट भागेका हुन् भन्ने व्यहोराको प्रतिवादी नगेन्द्रबहादुर के.सी. को बयान ।
कल्याण बरालसँग टेलिफोनमा कुरा भएअनुसार मालको अवस्था हेरी प्रति क्यु. फिट रू. ४१५।– सम्म दिने कुरा भए अनुसार पोखरामा रहेको मेरो उद्योगमा लगिएको भन्ने सुनेको थिएँ । काठ मेरो उद्योगसम्म पुगेन । कसको नाममा छोडपुर्जी थियो मलाई थाहा भएन । ४ हजार क्यु. फिट साल जातको काठ लिने कुरा भएको थियो । मेरो उद्योगमा काठ पुगी सकेपछि नाप गरी लिने कुरा भएको हो । नाप जाँचमा के कसरी फरक पर्यो म भन्न सक्तिन भन्नेसमेत व्यहोराको प्रतिवादी टीकाबहादुर कार्कीको बयान ।
प्रतिवादी लेखराज डाँगीलाई नगेन्द्रबहादुर के.सी. र लिलबहादुर खत्रीको भगाउने कार्यमा संलग्नता छैन । बिरामी भएँ भन्ने निहुँ पारी भागेका हुन् । प्रलोभन पनि केही छैन । पहिला लेखराज डाँगीसँग प्रतिवादी नगेन्द्रबहादुर र लिलबहादुरको परिचय चिनजान केही थिएन भन्ने व्यहोराको प्रतिवादी नगेन्द्रबहादुर के.सी. र लिलबहादुर खत्रीको साक्षी रामराज ढुङ्गानाको बकपत्र ।
यी प्रतिवादी भिमप्रसाद पौडेलको चालचलन आचरण राम्रो छ । प्रस्तुत मुद्दाको प्रकृति अनुसार यी प्रतिवादी भिमप्रसादउपर उक्त मुद्दा चल्नुपर्ने होइन भन्ने व्यहोराको प्रतिवादी भिमप्रसाद पौडेलको साक्षी दिपबहादुर शाहीको बकपत्र ।
टीकाबहादुर कार्की राम्रो संस्कारमा हुर्केका राम्रा चरित्र भएको सामाजिक काम गर्ने व्यक्ति हुन् । काठ तस्करी गरेर काठ मिल सञ्चालन गर्ने मानिस होइनन् भन्ने प्रतिवादी टीकाबहादुर कार्कीको साक्षी गिरीराज बरालको बकपत्र ।
यी प्रतिवादी जिवछ यादव, मनबहादुर खत्री, वासुदेव आचार्य र तिलकराम कुम्हारले पुर्जी सर्त उल्लङ्घन गरी बढी काठ नोक्सान गरेका होइनन् र गर्ने खालका व्यक्ति पनि होइनन् भन्ने प्रतिवादी जिवछ यादव, मनबहादुर खत्री, वासुदेव आचार्य र तिलकराम कुम्हारको साक्षी प्रेमराज पौडेलको बकपत्र ।
सबै काम सुरेशले नै गरे गराएका हुन् । प्रतिवादी अलकादेवी जलानले लिलाममा सकार गरेको भन्दा बढी काठ पैमाइस गरी लिएको भन्ने दावी झुट्ठा हो । प्रतिवादी अलकादेवीको चालचलन राम्रो छ । कुनै फौजदारी मुद्दामा सजाय पाएका छैन भन्ने प्रतिवादी अलकादेवी जलानको साक्षी अशोकजङ्ग राणाको बकपत्र ।
प्रतिवादी श्याममणिप्रसाद मण्डलले प्लट नं. ८० धामपुर रेञ्जपोष्टको ९२ थान गोलिया काठ कटान, छपान र घाटगद्दीलगायतका कार्यहरू गरेको होइन । जिवछ यादव सम्बन्धित रेञ्जपोष्टको कर्मचारी हुँदा उहाँले नै गरेका हुन् भन्ने प्रतिवादी श्याममणि प्रसाद मण्डलको साक्षी गुड्डु खाँको बकपत्र ।
प्रतिवादी अमरबहादुर डाँगीले ठेकेदार सुरेन्द्र भण्डारीबाट रू.३,५०,०००।– मा खरिद गरी निज अमरबहादुर डाँगीबाट कल्याण बरालले टीका कार्कीलाई बिक्री गराई टीका कार्कीले रू.२,००,०००।– अमरबहादुरको बैङ्क खातामा जम्मा गरी दिई पठाएका रहेछन् भन्ने प्रतिवादी अमरबहादुर डाँगीका साक्षी कविराज अधिकारीको बकपत्र ।
रेञ्जर जिवछ यादव, नि.स. वन अधिकृत श्याममणिप्रसाद मण्डल र रेञ्जर भिमप्रसाद पौडेल तीनजनाले जानीजानी वन पैदावार लिन पाएको पुर्जीमा उल्लेख भएका सर्तहरू उल्लङ्घन गरी वन पैदावार नोक्सान गरेको हुँदा निजहरूको उक्त कार्य वन ऐन, २०४९ को दफा ४९ को (घ) (ङ) र (ज) अन्तर्गतको हुँदा निजहरू तीनजनालाई वन ऐन, २०४९ को दफा ५० को १(घ)(४) बमोजिम निजहरूले अनियमीतता गरी आफूलाई फाइदा र राष्ट्रको सम्पत्ति वन पैदावार नोक्सान गरेको हुँदा बिगो रू.९५,३९८ को दोब्बर रू.१,९०,७९६।– जनही जरिवाना हुने ठहर्छ ।
प्रतिवादी वन रक्षक वासुदेव आचार्य, मनबहादुर खत्री र तिलकराम कुम्हार ३ जना वन रक्षकहरू वन नोक्सान गर्ने कार्यमा संलग्नता भएको भन्ने नदेखिँदा अभियोग दावीबाट सफाइ पाउने ठहर्छ । प्लट नं. ८० को ठेक्का पट्टा लिने ओम खाद्य भण्डारका मालिक अलकादेवी जलानको पनि कहिंकतै संलग्नता रहेको देखिँदैन । आफू घाटगद्दी गर्दा एवम् टाँचा विमार्का गर्ने ठाउँमा समेत नआएको भन्ने कुरा बयानबाट समेत देखिन आएबाट निजले सफाइ पाउने ठहर्छ । सुरेश भन्ने सुरेन्द्रबहादुर भण्डारीले वन ऐन, २०४९ को दफा ४९ (घ) (ङ) र (ज) को कसुर गरेको हुँदा ऐ. को दफा ५० (१) को (घ) (४) बमोजिम बिगो रू.९५,३९८।– को दोब्बर १,९०,७९६।– जरिवाना हुने ठहर्छ ।
प्रतिवादी अमरबहादुर डाँगीको हकमा विचार गर्दा निजले सुरेन्द्रसँग छोडपुर्जी मुताबिक ९२ थान गिण्डा काठ लिएको जसमा जिल्ला वन कार्यालयको टाँचा लागेको र सोमध्ये ७० थान गिण्डा पोखरामा हालसम्म रहिरहेको र २२ वटा बाँकेमा रहेको मिसिलबाट देखिन आएबाट यिनले उक्त ९२ थान टाँचा नलगाइएको लिएको भन्ने वादी पक्षको दावी नहुँदा निजले जानीजानी वनलाई हानि पुर्याउने कार्य गरेको भन्न मिलेन । अभियोग दावी अनुसारको कसुर यी अमरबहादुर डाँगीले गरेको नहुँदा सफाइ पाउने ठहर्छ । पोखराबाट प्राप्त मुचुल्काबाट परिमाण ११४१.२५ मध्ये यिनले छोडपुर्जी मुताबिकको ९४४.२६ क्यु. फिट काठ वैध काठ नै हुँदा ७० गिण्डामध्येबाट हिसाब गरी ९४४.२६ क्यु.फिट काठ फिर्ता पाउने ठहर्छ । पोखरामा भएको ७० थान मध्येबाट ९४४.२६ क्यु.फिट कटाई बाँकी हुने काठहरू र बाँके घाटगद्दीमा रहेका २२ थान गिण्डासमेत वन ऐन नियमबमोजिम जफत हुने ठहर्छ ।
अन्य प्रतिवादीहरू लेखराज डाँगी प्रकाशकुमार के.सी., कल्याण बराल, टीकाबहादुर कार्की, भिष्मनाथ कुँवर, तेजबहादुर कुँवर, शालिकराम के.सी. को हकमा विचार गर्दा यी प्रतिवादीहरूले उक्त वन पैदावर नोक्सान गरेको भन्ने यथेष्ट सबुद प्रमाण वादी पक्षले पेस गर्न सकेको नदेखिँदा यी प्रतिवादीहरूले पूर्णरूपले सफाइ पाउने ठहर्छ ।
वन रक्षक प्रतिवादी नगेन्द्रबहादुर के.सी. सशस्त्र वन रक्षक लिलबहादुर के.सी. को हकमा लेखराज डाँगीलाई थुनाबाट भगाएको भन्ने अभियोसम्म हुँदा प्रस्तुत मुद्दामा निजको संलग्नता नभएको हुँदा दुबैले पूर्णरूपमा सफाइ पाउने ठहर्छ ।
वन ऐन, २०४९ को दफा ६६ अनुसार बरामद भएको बोझा बाहक साधन जफत हुने कानूनी प्रावधान भए पनि जफत गर्दा अन्याय पर्न सक्ने चर्को सम्भावनालाई मध्यनजर राखी र चालकहरूले जानीजानी अवैध काठ बोकेको नहुँदा वादी दावी अनुसार तीनवटा ट्रकहरू जफत नहुने ठहर्छ भन्ने समते व्यहोराको सुरू बाँके जिल्ला अदालतको मिति २०६०।१०।२ को फैसला ।
जिल्ला वन अधिकृतले आफ्नो गल्ती कमजोरी लुकाई उहाँले नै लाए अह्राएको काम गरी दिने हामी निमुखा कर्मचारीलाई अनाहकमा असान्दर्भिक पुर्जीको सर्त उल्लङ्घन गरेको ठहर गरी सजाय गर्न मिल्ने होइन । कर्मचारीले आफूले पाएको जिम्मेवारी वा अख्तियारी पूरा नगरेको वा दुरूपयोग गरेको अवस्थामा वन ऐनबमोजिम कारवाही गर्नुपर्नेमा अनाहकमा यथार्थ कुरा नबुझी ठेकेदारसरह म पुनरावेदकसमेतलाई सजाय गर्ने गरी भएको सुरू फैसला अन्यायपूर्ण रहेकाले बदर गरी मलाई सफाइ दिई न्याय इन्साफ गरिपाउँ भन्नेसमेत व्यहोराको पुनरावेदक/प्रतिवादी श्याममणिप्रसाद मण्डलको पुनरावेदन अदालत, नेपालगन्जमा परेको पुनरावेदनपत्र ।
समान प्रकृतिको अभियोग दावीमा अन्य प्रतिवादीहरूले सफाइ पाइसकेको अवस्थामा पुर्जि सर्त उल्लङ्घन मबाट नभएको भनी मेरो साक्षीसमेतले किटानी गरी म कसुरमा नरहेको प्रमाणित गरी बकपत्रसमेत गरेकोमा सोतर्फ विश्लेषण नै नगरी हचुवा तवरबाट मसमेतलाई कसुरदार ठहर्याएको फैसला मनोगत रहेको प्रष्ट हुँदा सुरू फैसला उल्टी गरी आरोपित कसुरबाट सफाइ पाउँ भन्नेसमेत व्यहोराको पुनरावेदक/प्रतिवादी जिवछ यादवको पुनरावेदन अदालत, नेपालगन्जमा परेको पुनरावेदनपत्र ।
सुरू अदालतले मेरो बुझ्नुपर्ने प्रमाणहरू नबुझी नबुझ्नुपर्ने प्रमाणहरू बुझी प्रस्तुत मुद्दामा विमार्का रोहबर साक्षीबाहेक कुनै संलग्नता नरहेको व्यक्तिलाई मुख्य कारणीसरह जरिवाना गरी मलाई हराई गरेको फैसला त्रुटिपूर्ण भै बदरभागी हुँदा बदर गरी पूर्ण सफाइ पाउँ भन्नेसमेत व्यहोराको पुनरावेदक/प्रतिवादी भिमप्रसाद पौडेलको पुनरावेदन अदालत, नेपालगन्जमा परेको पुनरावेदनपत्र ।
यसमा प्रतिवादीमध्येका जिवछ यादवले आफ्नो जिम्माको नं. १५५ को टाँचा लगाएको काठ भन्दा पृथक काठ बरामद भएकोमा निजलाई समेत कसुरदार ठहर्याएको वन कार्यालयले प्रतिवादीलाई ९४४.२६ क्यु.फिट काठ लान अनुमति दिएकोमा ३ वटा ट्रकबाट ११४१.२५ क्यु.फिट काठ बरामद भएकोमा १९६.९९ क्यु.फिटमात्र बढी बरामद भएको देखिएकाले त्यक्तिकै काठको बिगो कायम गर्नुपर्नेमा घाटगद्दी गरेको स्थानमा नै रहेको र प्रतिवादीले नलगेको र फैसलाबाट जफत गर्ने ठहर्याएको काठसमेतको बढी बिगो कायम गरी प्रतिवादीहरूलाई जरिवाना गर्ने ठहर्याएको समेत बाँके जिल्ला अदालतको फैसला त्रुटिपूर्ण देखिएकाले सो फैसला फरक पर्न सक्ने हुँदा अ.बं. २०२ नं. र पुनरावेदन अदालत नियमावली, २०४८ बमोजिम छलफलका निमित्त पुनरावेदन सरकारी वकिल कार्यालय, नेपालगन्जलाई पेसीको सूचना दिई नियमबमोजिम पेस गर्नु भन्ने मिति २०६१।१०।१३ मा पुनरावेदन अदालत, नेपालगन्जबाट भएको आदेश ।
वादी पक्षको माग दावीबमोजिम सुरू फैसलाबाट सफाइ पाउने प्रतिवादीहरूका हकमा सम्म बदर गरी सुरू अभियोगपत्र माग दावीबमोजिम विरूद्व खण्डमा उल्लिखित प्रतिवादीहरूलाई सजाय गरी बरामद भएका ट्रकहरूसमेत जफत गरिपाउँ भन्नेसमेत व्यहोराको वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन अदालत,नेपालगन्जमा परेको पुनरावेदनपत्र ।
यसमा वन कार्यालयले अनुमति दिएभन्दा बढी काठ विमार्का गरेको, बढी काठलाई कम परिमाण देखाई लोड गरी दिएको काठ लिलामका सकार गर्ने अलकादेवी जलानले कम परिमाणको काठ सकार गरी बढी परिमाण काठ लगेको भन्ने र प्रतिवादी नरेन्द्रबहादुर के.सी. र लिलबहादुर क्षेत्रीलाई प्रतिवादी लेखराज डाँगीलाई हिरासतबाट थुनुवा भगाएको कसुरमा अभियोग लागेकोमा निजहरूलाई कसुरबाट सफाइ दिएको समेत देखिँदा विरूद्व खण्डका १४ जना प्रतिवादीहरूका हकमा भएको सुरू फैसलामा सबुद प्रमाणको मूल्याङ्कन एवम् विश्लेषण हुन सकेको नदेखिएकाले सो फैसला फरक पर्न सक्ने देखिँदा अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थी झिकाई नियमानुसार पेस गर्नु भन्ने पुनरावेदन अदालत, नेपालगन्जको मिति २०६३।२।२२ को आदेश ।
पुनरावेदक/प्रतिवादी भिमप्रसाद पौडेल, जिवछ यादव र श्याममणि प्रसाद मण्डलले वन ऐन, २०४९ को दफा ४९ को देहाय (घ) (ङ) र (ज )को कसुर गरेको ठहर गरी सोही ऐनको दफा ५० को उपदफा (१) को खण्ड घ(४) बमोजिम बिगोको दोब्बर जरिवाना गर्ने गरेको हदसम्म सुरू बाँके जिल्ला अदालको फैसला मिलेकै देखियो । सो जरिवाना कसुर ठहर भएका प्रतिवादीहरूलाई दामासाही लगाई जरिवाना तोक्नुपर्नेमा अन्यथा गरेको हदसम्म नमिलेकाले केही उल्टी हुने ठहर्छ । सुरू म्यादै गुजारी बस्ने सुरेश भन्ने सुरेन्द्रबहादुर भण्डारीका हकमा समेत मुलुकी ऐन, अ.बं. २०५ नं. बमोजिम उक्त जरिवाना दामासाही लगाई लगत कस्नु र सुरू फैसलाबाट सफाइ पाउने अन्य प्रतिवादीहरू टीकाबहादुर कार्की, अमरबहादुर डाँगीसमेतका हकमा जिल्ला वन कार्यालय, बाँकेका नाउँमा जारी भएको पुनरावेदनको मिति २०६०।१२।१६ मा पुनरावेदन म्याद बुझेकोलाई वादी नेपाल सरकारको तर्फबाट अन्यथा भन्न सकेको अवस्थासमेत नहुँदा मिति २०६०।१२।१६ मा पुनरवेदनको म्याद पाएको सो मितिले कानूनको म्याद नघाई पुनरावेदन दायर हुन आएको प्रस्तुत पुनरावेदन खारेज हुने ठहर्छ भन्ने पुनरावेदन अदालत, नेपालगन्जको मिति २०६६।१२।२५ को फैसला ।
सुरूबाट भएको फैसला मिति २०६१।११।११ मा पुनरावेदकले लिई सारी सो मितिमा थाहा पाई कानूनले निर्दिष्ट गरेको म्यादभित्रै वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन परेको अवस्थामा सोतर्फ विचार नगरी सुरू अदालतले जिल्ला सरकारी वकीलको कार्यालय, बाँकेलाई पुनरावेदन म्याद दिनुपर्नेमा नदिई जिल्ला वन कार्यालय, बाँकेले सुरू फैसलाको पुनरावेदनको म्याद मिति २०६०।१२।१६ मा बुझेको देखिँदा सोलाई नै वादी नेपाल सरकारले पुनरावेदनको जानकारी पाएको मान्नुपर्ने भनी वादी नेपाल सरकारको तर्फबाट परेको पुनरावेदनपत्र खारेज हुनेसमेत गरी भएको उक्त फैसलामा गम्भीर कानूनी त्रुटि हुँदा उक्त फैसला बदरभागी छ ।
नेपाल सरकारको कर्मचारी प्रतिवादी वासुदेव आचार्य, मनबहादुर खत्री, तिलकराम कुम्हार जना ३ का हकमा निम्नस्तरका वन कर्मचारी भएकाले लाए अह्राएको काम गर्ने र क्यु. फिटको हिसाब गर्न नजान्ने भन्ने झिनो तर्क लिई सफाइ दिने आधार बनाइएको छ ।
प्रतिवादीलाई थुनामा राख्ने जिम्मा लिने वन कर्मचारी लिलबहादुर क्षेत्री र नगेन्द्रबहादुर के.सी. यी प्रतिवादीहरूलाई सफाइ दिएको फैसलामा कानूनी त्रुटि भई न्यायको रोहमा मिलेको छैन ।
बरामद सम्पूर्ण काठहरूमध्ये केही वैध र केही अवैध भन्ने खुल्न आएको अवस्थामा सामान बुझी लिने व्यक्तिले जाँची बुझी एकिन गरी लिनुपर्नेमा सो नगरी वन कर्मचारीहरूसँगको मिलोमतो साँठगाँठ गरी लिए दिएको भन्ने पनि मिसिल संलग्न कागजातहरूबाट स्पष्ट खुल्न आएको अवस्था हुँदा प्रतिवादी अमरबहादुर डाँगीलाई सफाइ दिएको फैसला कानूनी विपरीत भई बदरभागी हुँदा बदर गरिपाउँ भन्ने वादी नेपाल सरकारको तर्फबाट मिति २०६६।६।१६ मा यस अदालतमा परेको पुनरावेदनपत्र ।
म पुनरावेदक प्रतिवादी इलाका वन कार्यालय, बैजापुरअन्तर्गत धामपुर रेन्ज पोष्टको अख्तियार पाएको रेन्जर कर्मचारी नभै इलाका वन कार्यालय, कुसुमअन्तर्गत बाघखोर रेन्जपोष्टको अख्तियारप्राप्त रेन्जर हुँ । पोखरा लैजाँदै गर्दा तीनवटा ट्रकहरूबाट कपिलवस्तुमा बरामद भएका कथित साल गिण्डाहरू म पुनरावेदक प्रतिवादीसमेत रोहबरमा बसी तयार गरिएको विमार्का मुचुल्काबमोजिम लगाइएका ब.वि. टाँचा अनुसारका गोलिया काठ होइनन् । मलाई इलाका वन कार्यालय, बैजापुर धामपुर रेन्जपोष्टअन्तर्गत वडा टोल घाटगद्दी स्थलमा गै विमार्का हुँदाका अवस्थामा विमार्का मुचुल्कामा रोहबर साक्षी बस्नु होला” भन्ने पत्रादेशबमोजिम विमार्का मुचुल्काको रोहबर साक्षीसम्म बसेको हुँ । तसर्थ सुरू फैसला र सो फैसलालाई सदर गर्ने पुनरावेदन अदालत, नेपालगन्जको फैसला बदर गरी पूर्ण सफाइ पाउँ भन्ने मिति २०६६।८।३ मा पुनरावेदक प्रतिवादी भीमप्रसाद पौडेलको यस अदालतमा परेको पुनरावेदनपत्र ।
म पुनरावेदकले कानूनद्वारा प्रदत्त अधिकार क्षेत्रभित्र रही कटान र घाटगद्दीको सम्म काम गरेको हो । मैले घाटगद्दी गराएकै काठहरू नै बरामद भएको भन्ने स्पष्ट नभएको अवस्था रहेको र उक्त कुरा बरामदी मुचुल्काका व्यक्तिहरूले समेत अदालतमा आई बयान गरेको अवस्था नभएको तथा सो बरामदी मुचुल्कालाई सही र सत्य हो भनी ठोसरूपमा भन्न नसकिने हुँदा सोही बरामदी मुचुल्कालाई मात्र आधार बनाई मलाई सजाय गर्ने गरेको र त्यही कार्यमा संलग्न अरूलाई सफाइ दिने गरी भएको बाँके जिल्ला अदालत तथा पुनरावेदन अदालत, नेपालगन्जको फैसला बदरभागी छ बदर गरिपाउँ भन्ने व्यहोराको पुनरावेदक प्रतिवादी जिवछ यादवको मिति २०६६।११।२६ मा यस अदालतमा परेको पुनरावेदनपत्र ।
यसमा जिल्ला वन अधिकृतले आफ्नो गल्ती, दोष र कमजोरी लुकाई उहाँले नै लाए अह्राएको काम गरी दिने हामी निमुखा कर्मचारीलाई अनावश्यक असान्दर्भिक पुर्जिको सर्त उल्लङ्घन गरेको ठहर गरी सजाय गर्न मिल्ने होइन । कर्मचारीले आफूले पाएको जिम्मेवारी वा अख्तियारी पूरा नगरेको वा दुरूपयोग गरेको अवस्थामा मात्र वन ऐनबमोजिम कारवाही गर्नुपर्नेमा अनाहकमा म पुनरावेदकसमेतलाई सजाय गर्ने गरी भएको फैसला कानूनविपरीत भएकाले पुनरावेदन अदालत, नेपालगन्जबाट भएको फैसला उल्टी गरी म पुनरावेदक प्रतिवादीलाई पूर्ण सफाइ हुने ठहर गरी न्याय गरिपाउँ भन्ने पुनरावेदक प्रतिवादी श्याममणिप्रसाद मण्डलको यस अदालतमा परेको पुनरावेदनपत्र ।
नियमबमोजिम दैनिक पेसीसूचीमा चढी निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित उपन्यायाधिवक्ता श्री हरिप्रसाद जोशीले प्रतिवादीहरू लिलबहादुर क्षेत्री र नगेन्द्रबहादुर के.सी. ले प्रतिवादीहरूलाई कैदबाट भगाउन मद्दत गरेका छन् । प्रतिवादीलाई कैदबाट भगाउन मद्दत गरेको अवस्थामा समेत सफाइ दिएको तथा अन्य प्रतिवादीहरू प्रकाशकुमार के.सी., कल्याण बराल, टीकाबहादुर कार्कीसमेतको उक्त वारदातमा संलग्न भएको भन्ने कुरा खुल्न आएको अवस्थामा प्रतिवादी अमरबहादुर डाँगीलगायतका व्यक्तिहरूलाई सफाइ दिने ठहर गरेको पुनरावेदन अदालत, नेपालगन्जको त्रुटिपूर्ण हुँदा फैसला बदर हुनुपर्छ भन्ने बहस प्रस्तुत गर्नुभयो ।
त्यसैगरी पुनरावेदक प्रतिवादी जिवछ यादवको तर्फबाट उपस्थित विद्वान् अधिवक्ताहरू श्री राजन निरौला र ईश्वरीप्रसाद ज्ञवालीले यी पुनरावेदक प्रतिवादी जिवछ यादवको अधिकारभित्र पर्ने व.वि. १५५ टाँचा लागेको काठभन्दा पृथक काठ व.वि. १०३ नं. टाँचा मात्र लागेको काठ बरामद भएकोमा सो तथ्यको विवेचना नगरी भएको सुरू तथा पुनरावेदन अदालतको फैसला उल्टी गरी पुनरावेदकहरूले आरोपित कसुरबाट सफाइ पाउनुपर्दछ भन्नेसमेत व्यहोराको बहस प्रस्तुत गर्नुभयो ।
पुनरावेदक प्रतिवादीहरू तथा पुनरावेदक वादी नेपाल सरकारको तर्फ दुबै पक्षबाट विद्वान् कानून व्यवसायीहरू एवम् उपन्यायाधिवक्ताले प्रस्तुत गर्नुभएको बहससमेत सुनी मिसिल अध्ययन गरी हेर्दा पुनरावेदन अदालत, नेपालगन्जको फैसला मिलेको छ छैन सोही विषयमा निर्णय दिनुपर्ने देखिन आयो ।
२. निर्णयतर्फ विचार गर्दा प्रतिवादीहरू लेखराज डाँगीसमेतका १४ जनाका हकमा परेको नेपाल सरकारको पुनरावेदन कानूनले तोकेको म्यादभित्रको नहुँदा पुनरावेदन खारेज हुने ठहर्याएको पुनरावेदन अदालत, नेपालगन्जको फैसलाउपर वादी नेपाल सरकारको तर्फबाट र कसुरदार ठहर भएका प्रतिवादीहरूमध्ये भीमप्रसाद पौडेल, श्याममणिप्रसाद मण्डल र जिवछ यादवको छुट्टाछुट्टै पुनरावेदन परी निर्णयार्थ पेस हुन आएको देखियो ।
३. प्रतिवादीहरू लेखराज डाँगी, टीकाबहादुर कार्की, अमरबहादुर डाँगीसमेतका १४ जनाको हकमा आरोपित कसुरबाट सफाइ पाउने गरी सुरूबाट भएको फैसला सदर गर्ने गरी पुनरावेदन अदालत, नेपालगन्जबाट भएको फैसला बदर गरी अभियोग मागदावीबमोजिम प्रतिवादीहरूलाई सजाय गरी बरामद ट्रकसमेत जफत गरिपाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिरतर्फ विचार गर्दा प्रतिवादीहरू अमरबहादुर डाँगीसमेत १४ जनाको हकमा वन ऐन, २०४९ को दफा ४९ को कसुरमा सोही ऐनको दफा ५० (१) (घ) ४ बमोजिम र नगेन्द्र के.सी. र दिलबहादुर क्षेत्रीलाई सोही ऐनको दफा ५० बमोजिम सजायको माग दावी भई अभियोग दायर भएकोमा निज प्रतिवादीहरूले आरोपित कसुर गरेको तथ्य स्थापित हुन नआएबाट सुरू बाँके जिल्ला अदालतबाट मिति २०६०।१०।२ मा फैसला भएको देखिन्छ ।
४. बाँके जिल्ला अदालतबाट भएको उक्त मिति २०६०।१०।२ को फैसलाउपर चित्त नबुझे ३५ दिनभित्र पुनरावेदन अदालत, नेपालगन्जमा पुनरावेदन गर्नु भनी पुनरावेदनको म्यादसहितको जानकारी बाँके जिल्ला अदालतको च.नं. ४४६५ मिति २०६०।१२।१२ को पत्रबाट जिल्ला वन कार्यालय, बाँकेलाई दिएकोमा जिल्ला वन कार्यालय, बाँकेले मिति २०६०।१२।१६ मा उक्त पुनरावेदनको म्याद बुझेको देखिन आएको छ । तर उक्त फैसलाको नक्कल २०६१।११।११ मा लिई फैसला भएको थाहा पाएको भनी मिति २०६१।११।३० मा पुनरावेदन दायर भएको देखिन आयो ।
५. पुनरावेदन गर्न पाउने हक कानूनी हक भएकाले मुद्दाका सम्बन्धित पक्षलाई कानूनबमोजिम पुनरावेदन गर्नु भनी कुनै पनि माध्यमबाट जारी गरिएको म्याद सम्बन्धित पक्षले प्राप्त गरेको छ भने सोही मितिबाट पुनरावेदन गर्ने म्याद सुरू हुन्छ । म्याद जारी नगरिएको अवस्थामा सम्बन्धित पक्षले अर्को माध्यमद्वारा फैसलाको नक्कल लिएको छ भने सो नक्कल लिएको मितिबाट पुनरावेदन म्याद सुरू हुने हुँदा पक्षले पहिला कुन माध्यमबाट जानकारी पाएको छ त्योबाट नै पुनरावेदन गर्ने दिनको गणना हुने हो । पुनरावेदन गर्ने म्याद प्राप्त भएपछि नक्कल लिएको मितिलाई आधिकारिक मान्ने हो भने पुनरावेदनको म्याद जारी गर्नुको कुनै औचित्य नै नरहने र कानूनमा भएको पुनरावेदनसम्बन्धी कानूनी व्यवस्था नै पराजित हुन जाने हुँदा पक्षले जुन माध्यमबाट पहिला जानकारी प्राप्त गरेको छ सो मितिबाट नै पुनरावेदनको म्याद सुरू हुने हो तर फैसलाको आधिकारिक जानकारी प्राप्त गरेपश्चात् पुनः फैसलाको नक्कल लिई पुनरावेदनको म्याद कायम गरी दायर हुन आएको वादी नेपाल सरकारको पुनरावेदन कानूनसम्मत देखिन आएन ।
६. जिल्ला वन कार्यालय, बाँकेले मिति २०६०।१२।१६ मा पुनरावेदनको म्याद बुझेकोलाई वादी नेपाल सरकारको तर्फबाट अन्यथा भन्न सकेको अवस्थासमेत नहुँदा मिति २०६०।१२।१६ मा पुनरावेदनको म्याद पाएकोमा सो मितिले वन ऐन, २०४९ को दफा ६५ मा उल्लिखित ३५ दिनको म्यादभित्र वादी नेपाल सरकारको पुनरावेदन परेको नदेखिँदा सोही आधारमा पुनरावेदन खारेज हुने ठहर्याएको पुनरावेदन अदालत, नेपालगन्जको मिति २०६६।१२।२५ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्तैन ।
७. अब, प्रतिवादीहरू जिवछ यादव, श्याममणिप्रसाद मण्डल र भीमप्रसाद पौडेलको पुनरावेदनको हकमा विचार गर्दा रूख कटान गरी ९४ थान साल जात काठको घाटगद्दी पासिङ टाँचा लगाएको भन्ने कुरा स्वीकार गरेका र सोही काठलाई पुनरावेदक /प्रतिवादी श्याममणिप्रसाद मण्डलले विमार्का टाँचा लगाएको र त्यसको परिमाण ९४४.२६ क्यु. फिट रहेको भनी छोडपुर्जीबाट देखिएको छ । यसरी उक्त छोडपुर्जीबमोजिम लोड गरिएको तीनवटा ट्रकमा ११४.८५ क्यु. फिट काठ बरामद भएको कुरा मिति २०५९।३।१६ मा भएको बरामदी मुचुल्काबाट देखिन्छ । उक्त काठहरू जिल्ला वन कार्यालय, बाँकेले दिएको च.नं. ३९३१ को छोडपुर्जीका आधारमा लगेको भनिएको छ । बरामद भएको काठहरूमा टाँचा लागेको र छोडपुर्जीसमेत भएकाले भाडाका ट्रकहरूमा पोखरातर्फ लैजाँदै गरेको कुरा ट्रकका चालक, भीष्मनाथ कुँवर, शालिकराम के.सी., तेजबहादुर कुँवरको मौकामा भएको कागजहरूबाट देखिएको छ । उक्त काठको जाँचबुझ गरी व.वि. १०३ को टाँचा लगाउने काममा पुनरावेदक प्रतिवादी श्याममणिप्रसाद मण्डल, भीमप्रसाद पौडेलसमेत सलंग्न रहेको कुरामा अन्यथा देखिएन ।
८. बरामद भएको काठ यी पुनरावेदकहरूलाई सनाखत नगराइएको, निजहरूले लगाएको टाँचाको काठबाहेकका काठ बरामद भएको, काठको परिमाण छोडपुर्जी बढी देखिए सो बढी देखिएको हकमा राजस्व असुली गरीनुपर्ने, कर्मचारीउपर वन ऐन, २०४९ को दफा ४९ अन्तर्गतको कसुरमा मुद्दा दायर हुन नसक्नेसमेतको जिकिर लिएको देखिन्छ । यी पुनरावेदक प्रतिवादीहरूबाटै टाँचा लागी छोडपुर्जी भएका काठहरू नै लोड गरी तीनवटा ट्रकहरू पोखरातर्फ लैजाँदै गर्दा बाटोमा पक्राउ परेको कुरा ट्रक चालक शालिकराम के.सी.समेतको मौकामा भएको कागजातबाट पुष्टि हुन आएको छ ।
९. बरामद भएका काठहरू जिल्ला वन कार्यालय, बाँकेबाट प्राप्त छोडपुर्जीबाहेक अन्य कहिं कतैबाट लोड गरिएको कुनै प्रकारको टाँचा लागेको भन्ने देखिएको छैन । तसर्थ बरामद भएका काठहरू यी प्रतिवादीहरूले व.वि. टाँचासमेत लगाई पठाएका काठबाहेकको काठ हो भनी तर्क गर्न मिल्ने देखिन आउँदैन ।
१०. यी प्रतिवादीहरूले ९४४.२६ क्यु. फिट काठको छोडपुर्जी तयार गरी १४२१.२५ क्यु. फिट काठमा टाँचा लगाई ट्रकमा पठाइएको अवस्था हुनाले काठ नापी गर्दा सामान्यरूपमा काठको परिमाण घटीबढी भएको अवस्था नभई बद्नियतसाथ छोडपुर्जीमा उल्लेख भएभन्दा बढी काठमा टाँचा लगाई पठाइएको देखिन्छ ।
११. के कस्तो कार्य गरेमा अपराध हुने भनी वन ऐन, २०४९मा व्यवस्था गरिएको छ । उक्त व्यवस्था देहायबमोजिम छः
दफा ४९ “कसैले पनि यो ऐन वा यस ऐनअन्तर्गत बनेका नियममा अन्यथा व्यवस्था भएकोमाबाहेक राष्ट्रिय वनमा देहायका काम कारवाही गर्न गराउन र सो गर्ने गराउने उद्योगसमेत गर्न हुँदैन । त्यस्तो कुनै काम कारवाही गरेमा कसुर गरेको मानिनेछ :
दफा ४९(घ) “वन क्षेत्रबाट वन पैदावार हटाउन। ओसार पसार गर्न वा बिक्री वितरण गर्ने” दफा ४९ (ङ) “रूख वा विरूवा काट्न, हाँगा बिँगा छिमाल्न, खोटो वा बोक्रा झिक्न वा कुनै पनि प्रकारले नोक्सानी गर्न”
दफा ४९(ग) मा “वन पैदावार लिन पुर्जी पाएकोमा पुर्जी सर्त उल्लङ्घन गरी वन पैदावार नोक्सानी गर्न ” भन्ने उल्लेख छ ।
१२. उक्त दफामा उल्लिखित विवादका कार्य यी प्रतिवादीहरूबाट भएको हो होइन भन्नेतर्फ विचार गर्दा ९४४.२६ क्यु. फिट काठको छोडपुर्जी अनुसार सोही परिमाणमा सिमित रही बिक्री टाँचा लगाई पठाउनुपर्नेमा १४२१ क्यु. फिट भन्दा बढी काठमा टाँचा लगाई ४७६.७४ क्यु. फिट भन्दा बढी हिसाब लुकाई नियतवश वन पैदावारको हानि नोक्सानी गरेको तथ्यमा विवाद भएन । यस्तो स्थितिमा कर्मचारी भएको नाताले वन ऐन, २०४९ को दफा ४९ को कसुरमा कारवाही हुन नसक्ने भन्ने पुनरावेदक प्रतिवादीहरूको जिकिरसँग सहमत हुन सकिएन । निज प्रतिवादी भीमप्रसाद पौडेल, जिवछ यादव र श्याममणिप्रसाद मण्डलले वन ऐन, २०४९ को दफा ४९ को देहाय घ, ङ र ज को कसुर गरेको ठहर गरी को सोही ऐनको दफा ५० को उपदफा (१) को खण्ड घ (४)बमोजिम बिगोको दोब्बर जरिवाना गर्ने गरेको हदसम्म सुरू बाँके जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत, नेपालगन्जको फैसला मिलेकै देखियो ।
१३. अतः माथि विवेचित आधार कारणबाट प्रतिवादीहरू अमरबहादुर डाँगी लगायतका १४ जनाको हकमा सुरू जिल्ला अदालतबाट सफाइ पाउने गरी भएको फैसलाउपर वादी नेपाल सरकारको पुनरावेदन म्यादभित्रको नहुँदा पुनरावेदन खारेज हुने र अन्य प्रतिवादीहरू भीमप्रसाद पौडेल, जिवछ यादव र श्याममणिप्रसाद मण्डलको हकमा वन ऐन, २०४९ को दफा ४९ को देहाय (घ) (ङ) र (ज) को कसुरमा ऐ.ऐनको दफा ५० को उपदफा (१) को खण्ड घ (४)बमोजिम बिगोको दोब्बर जरिवाना गरी जरिवाना हुने ठहर भएका प्रतिवादीहरूलाई दामासाही लगाई जरिवाना तोक्नुपर्नेमा अन्यथा गरेको हदसम्म बाँके जिल्ला अदालतको मिति २०६०।१०।२ को फैसला सो हदसम्म केही उल्टी हुने ठहर्याएको पुनरावेदन अदालत, नेपालगन्जको मिति २०६६।१२।२५ को फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । वादी नेपाल सरकार र प्रतिवादीहरू भीमप्रसाद पौडेल, श्याममणिप्रसाद मण्डल र जीवछ यादवको पुनरावेदन जिकिर पुग्न सक्तैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या. सुशीला कार्की
इति संवत् २०७० साल माघ १२ गते रोज १ शुभम्
इजलास अधिकृत : शकुन्तला कार्की