निर्णय नं. ९३२९ - ठगी

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री सुशीला कार्की
माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ
फैसला मिति : २०७१।९।७।२
संवत् २०६७ सालको स.फौं.पु.नं. ०६७- CR–०१३७
मुद्दा : ठगी ।
पुनरावेदक/प्रतिवादी : जिल्ला भोजपुर, टक्सार गा.वि.स.वडा नं.६ बस्ने दयाप्रसाद घिमिरे
विरूद्ध
प्रत्यर्थी/वादी : भीमबहादुर विष्टको जाहेरीले नेपालल सरकार
§ कुनै एक पक्षले मात्र दोहोरो सुविधा पाउने गरी फैसला हुनु न्यायसङ्गत हुने नदेखिएकाले सो बिगो भराइदिनुपर्ने अवस्था नहुँदा जग्गा फिर्ता भैसकेको अवस्थामा हकवालालाई बिगो भराइदिने ठहराएको र बिगोको दामासाहीले जरिवाना गर्नुपर्नेमा जनही बिगोबमोजिम जरिवाना हुने ठहराएको हदसम्मको फैसला मिलेको देखिन नआउने ।
(प्रकरण नं. २)
§ मुलुकी ऐन, ठगीको महलको १ र २ नं.मा आफ्नो हक नपुग्ने अर्काको चलअचल धनमाल मेरो हो, मेरो भएको छ भनी लिखत गरी वा नगरी बिक्री व्यवहार गरेको ठगी गरेको ठहर्छ भनी उल्लेख भएको हुँदा प्रस्तुत मुद्दा ठगीको परिभाषाभित्र पर्दैन भन्ने प्रतिवादीको पुनरावेदन जिकिरसँग सहमत हुन नसकिने ।
(प्रकरण नं. ३)
पुनरावेदक/प्रतिवादीको तर्फबाट : विद्वान् अधिवक्ता देशबहादुर सार्की
प्रत्यर्थी/वादीको तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता संजिवराज रेग्मी
अवलम्बित नजिर :
सम्बद्ध कानून :
- मुलकी ऐन, ठगीको महलको १, २ नं.
सुरू तहमा फैसला गर्ने :
मा.न्या. श्री श्यामप्रसाद लावती
पुनरावेदन तहमा फैसला गर्ने :
मा.न्या. श्री हरिप्रसाद घिमिरे
मा.न्या. श्री ऋषिराज मिश्र
फैसला
न्या. सुशीला कार्की : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम पुनरावेदन अदालत धनकुटाको मिति २०६५।१२।३० को फैसलाउपर प्रतिवादीको तर्फबाट यस अदालतमा पुनरावेदन परी निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम् ठहर यसप्रकार छ :
जिल्ला भोजपुर, वोया गा.वि.स. वडा नं. ७ बस्ने हस्तबहादुर विष्टको नामको कि.नं.२५१, कि.नं.२८७ को जग्गा अभियुक्त तिर्थनाथ दाहाल, कोइलबहादुर रायमाझी, दयाप्रसाद घिमिरेसमेतले झुट्ठा विवरण बनाई नभएको कुरालाई हो भन्ने बनाई हस्ताक्षरसहित औंलाको ल्याप्चेसमेत किर्ते गरी स्रेस्ता मिलाई रामबहादुर विष्टको नाममा बेपत्ते नामसारी दा.खा.गराई सो जग्गा तिर्थनाथ दाहालले आफ्नो नाममा राजीनामा पारित गरी आर्थिक लाभ प्रलोभनमा परी वोया-७ बस्ने पन्चबहादुर तामाङलाई रू.१,७५,०००।- मा बेच बिखन गरी ठगी गरेको हुँदा निजहरूलाई सजाय गरिपाउँ भन्ने जाहेरी दरखास्त ।
हस्तबहादुर विष्टका नाउँमा रहेको उल्लिखित कि.नं.२५१, २८७ का जग्गा रामबहादुर विष्टका नाउँमा नामसारी दा.खा.गर्ने गरी मालपोत कार्यालय, भोजपुरका कार्यालय प्रमुख मालपोत अधिकृत डम्बरकुमार न्यौपानेले गरेको मिति २०६३।३।११ को निर्णय पर्चा ।
प्रतिवादीहरू दयाप्रसाद घिमिरे, तिर्थनाथ दाहाल, कोइलबहादुर रायमाझीसमेतले वोया -७ बस्ने हस्तबहादुर विष्टका नाउँमा रहेको जग्गा झुट्ठा विवरण बनाई स्रेस्तासमेत किर्ते गरी कोइलबहादुर रायमाझी आफैँ रामबहादुर विष्ट बनी म रामबहादुर विष्टलाई उक्त कुरा थाहा नदिई मेरो नागरिकता मेरी श्रीमतीलाई झुक्याई मागी ल्याई रामबहादुर विष्टको नाममा नामसारी गराई तिर्थनाथ दाहालले आफ्नो नाममा पारित गरी पन्चबहादुर तामाङलाई बेचबिखन गरी ठगी गरेको हुँदा सजाय गरिपाउँ भन्ने व्यहोराको रामबहादुर विष्टले दिएको जाहेरी दरखास्त ।
हाल पक्राउ परेका तिर्थनाथ दाहाल, कोइलबहादुर रायमाझी, दयाप्रसाद घिमिरेसमेतको मिलेमतोबाट नभएको कुरालाई हो भन्ने बनाई झुट्ठा विवरणको स्रेस्ता बनाई किर्ते सहिछाप गरी हामीसमेतलाई थाहा नदिई मेरोसमेत सहिछाप किर्ते गरी हस्तबहादुर विष्टको नामको जग्गा तिर्थनाथ दाहालले आफ्नो नाममा लिई जग्गा किनबेचसमेत गरेको हुँदा सजाय गरिपाउँ भनी कुमार तामाङ, जङ्गबहादुर तामाङले मौकामा गरेको कागज ।
वोया गा.वि.स. वडा नं.७ बस्ने हस्तबहादुर विष्टका नाउँको कि.नं.२५१ र २८७ को जग्गा म कोइलबहादुर रायमाझी, तिर्थनाथ दाहाल, दयाप्रसाद घिमिरेसमेतको मिलेमतोबाट तिर्थनाथ दाहालको सल्लाह अनुसार मैले हेलौछा गा.बि.स वडा नं.४ बस्ने रामबहादुर विष्टको नाउँको नागरिकता मागी ल्याई म आफैँ रामबहादुर विष्ट बनी दयाप्रसाद घिमिरले स्रेस्ता मिलाई दिएअनुसार नभएको कुरालाई हो भनी सबै सहिछाप किर्ते गरी उक्त जग्गा रामबहादुर विष्टका नाउँमा बेपत्ते नामसारी गरी मैले तिर्थनाथ दाहालको नाममा मिति २०६३।४।२९ गते राजीनामा पारित गराई दिएको हुँ र तिर्थनाथ दाहालले उक्त जग्गा पन्चबहादुर तामाङलाई रू.१,७५,०००।– मा बेचबिखन गरेको हो भनी कोइलबहादुर रायमाझीले मौकामा अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान कागज ।
वोया गा.वि.स वडा नं.७ बस्ने हस्तबहादुर विष्टका नाउँमा रहेको कि.नं.२५१ र २८७ को जग्गा मैले २०१७ सालदेखि नै व्याज मराउनीमा भोग चलन गर्दै आइरहेको थिएँ । हाल उक्त जग्गा मेरो नाममा कसरी आउन सक्छ भनी दयाप्रसाद घिमिरेसँग भेटी निजसँग राय सल्लाह मागी निजले दिएको सल्लाह अनुसार कोइलबहादुर रायमाझीलाई रामबहादुर विष्टको नागरिकता माग्न लगाई निजलाई रामबहादुर विष्ट बनाई किर्ते स्रेस्ता मिलाई उक्त जग्गा रामबहादुर विष्टको नाउँमा बेपत्ते नामसारी गराई मिति २०६३।४।२९ मा मेरा नाउँमा राजीनामा पारित गराई मैले पन्चबहादुर तामाङलाई रू.१,७५,०००।- मा बेचबिखन गरेको हो भनी दयाप्रसाद घिमिरे, कोइलबहादुर, म तिर्थनाथ दाहालसमेत भई लोभ लालचमा परी उक्त कार्य गरेको हो भनी प्रतिवादी तिर्थनाथ दाहालले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
वोया गा.वि.स वडा नं.७ बस्ने हस्तबहादुर विष्टका नाउँमा दर्ता रहेको कि.नं.२५१ र २८७ को जग्गा म रामबहादुर विष्टलाई थाहा नै नदिई तिर्थनाथ दाहाल, कोइलबहादुर रायमाझी, दयाप्रसाद घिमिरेसमेतले मिली उक्त जग्गा म रामबहादुरका नाउँमा बेपत्ते नामसारी गराई र तिर्थनाथ दाहालको नाउँमा राजीनामा पारित गराई ठगी गरी बेचबिखन गरेको हुँदा दोषीउपर कारवाही गरिपाउँ भनी रामबहादुर विष्टले मौकामा गरेको कागज ।
प्रतिवादी दयाप्रसाद घिमिरे, तिर्थनाथ दाहाल, कोइलबहादुर रायमाझीसमेतले आर्थिक लोभ लालचमा परी झुट्ठा विवरण बनाई नभएको कुरालाई हो भन्ने पारी स्रेस्ता सबै किर्ते बनाई सहिछापसमेत किर्ते गरी बेपत्ते नामसारी गराई उक्त हस्तबहादुर विष्टको जग्गा बेपत्ते नामसारी दा.खा.गराई निज तिर्थनाथ दाहालको नाममा राजीनामा पारित गराई बेचबिखन गरेको हो भनी काजीबहादुर राई, मिनबहादुर थापा, टीकाप्रसाद दाहालसमेतले मौकामा गरेको कागज ।
हस्तबहादुर विष्टको नाउँमा रहेको कि.नं.२५१ र २८७ को जग्गा म दयाप्रसाद घिमिरे, कोइलबहादुर रायमाझी, तिर्थनाथ दाहालको नाममा राजीनामा पारित गराई सो जग्गा तिर्थनाथ दाहालले वोया ७ बस्ने पन्चबहादुर तामाङलाई रू.१,७५,०००।– मा बेचबिखन गरीदिएको हो भनी अभियुक्त दयाप्रसाद घिमिरेले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान कागज ।
पक्राउ परेका तिर्थनाथ दाहाल, कोइलबहादुर रायमाझी, दयाप्रसाद घिमिरेसमेतले कोही कसैले थाहा नपाउने गरी हस्तबहादुर विष्टका नाउँमा रहेको उल्लिखित कि.नं.२५१, २८७ का जग्गा रामबहादुर विष्टले थाहा नपाउने गरी कोइलबहादुर रायमाझीलाई रामबहादुर विष्ट वनाई झुट्ठा विवरण कागज बनाई स्रेस्ता खडा गरी रामबहादुरका नाउँमा नामसारी गराई उक्त जग्गा तिर्थनाथ दाहालको नाममा राजीनामा पारित गराई किनबेच गरेको हुँदा कानूनबमोजिम होस भनी गोकुलबहादुर थापा, कालुमान राई, कुमार राईसमेतले मौकामा गरेको कागज ।
प्रतिवादी दयाप्रसाद घिमिरे, तीर्थनाथ दाहाल, कोइलबहादुर रायमाझीसमेतले २०६२।१०।१६ गते झुट्ठा विवरण व्यहोरा लेखी तयार गरेको कागज ।
बेपत्ते नामसारी दा.खा. गरिपाउँ भनी कोइलबहादुर रायमाझीले आफैँ रामबहादुर विष्ट बनी मालपोत कार्यालय, भोजपुरमा दिएको निवेदन ।
पक्राउ परेका कोइलबहादुर रायमाझीले आफैँ रामबहादुर विष्ट बनी हस्तबहादुर विष्टका नाउँमा रहेको कि.नं. २५१ र २८७ को जग्गा मेरो नाउँमा नामसारी गराई पाउँ भनी स्रेस्ता मिलाई ल्याएको कागज प्रमाणको आधारमा उक्त रामबहादुर विष्टको नाममा बेपत्ते नामसारी दा.खा. गराई दिएको हो र स्रेस्ता मिलेकै आधारमा रामबहादुर विष्टबाट तिर्थनाथ दाहालले राजीनामा पारित गरी जग्गा किनबेच गरेको हो । हाल बुझ्दा निज प्रतिवादी दयाप्रसाद, तिर्थनाथ दाहाल, कोइलबहादुर रायमाझीले जालपरिपन्च मिलाई ठगी गरेको भन्ने बुझिएकाले दोषीउपर कारवाही गरिपाउँ भनी बलराम दाहाल, धनबहादुर कार्कीसमेतले मौकामा गरेको कागज ।
अभियुक्त प्रतिवादी दयाप्रसाद घिमिरे, तिर्थनाथ दाहाल, कोइलबहादुर रायमाझीले झुट्ठा विवरणको कागज मिलाई स्रेस्ता सबै किर्ते गरी हस्तबहादुर विष्टको नामको कि.नं. २५१ र २८७ को जग्गा कार्यालयलाई समेत झुक्याई तिर्थनाथ दाहालका नाउँमा पारित गराई ठगी गरी जग्गा किनबेच गरेको हुँदा अभियुक्तहरूलाई ठगीमा कारवाही गरिपाउँ भन्ने प्र.नि.मुकुन्द मरासिनीको प्रतिवेदन ।
म दयाप्रसाद घिमिरे, कोइलबहादुर रायमाझी, तिर्थनाथ दाहालसमेतले हस्तबहादुर विष्टको नाउँमा कि.नं. २५१ र २८७ का जग्गा किर्ते कागज खडा गरी ठगी गरेको हो कानूनले हुने सजाय भोग्न मञ्जुर छौँ भनी दयाप्रसाद घिमिरे, तिर्थनाथ दाहाल, कोइलबहादुर रायमाझीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान कागज ।
पक्राउ परेका तिर्थनाथ दाहाल, दयाप्रसाद घिमिरे, कोइलबहादुर रायमाझीले झूट्ठा विवरणको कागज बनाई नभएको कुरालाई हो भन्ने बनाई कोइलबहादुर रायमाझीलाई रामबहादुर विष्ट बनाई विभिन्न जाल परीपञ्च मिलाई हस्तबहादुर विष्टको माथि उल्लिखित कि.नं. का जग्गा बेपत्ते नामसारी दा.खा.गराई तिर्थनाथ दाहालको नाममा राजीनामासमेत पारित गराई जग्गा किनबेच गरी ठगी गरेको हुँदा सजाय गरिपाउँ भन्ने व्यहोराको वस्तुस्थिति मुचुल्का ।
प्रतिवादी तिर्थनाथ दाहाल, दयाप्रसाद घिमिरे, कोइलबहादुर रायमाझीसमेतले झुट्ठा विवरण कागज बनाई कार्यालयलाई समेत झुक्यानमा पारी ठगी गरेकाले कानूनबमोजिम सजाय गरिपाउँ भन्ने मालपोत कार्यालय, भोजपुरका मालपोत अधिकृत अच्युतप्रसाद दाहालले मौकामा गरेको कागज ।
दयाप्रसाद घिमिरे, तिर्थनाथ दाहाल, कोइलबहादुर रायमाझीले जानीजानी अरूका हकको अचल सम्पत्ति कि.नं. २५१ र २८७ का जग्गा लोभ लालचमा परी झुट्ठा विवरण बनाई सम्पूर्ण व्यहोरा किर्ते गरी कोइलबहादुर रायमाझी आफैँ रामबहादुर विष्ट बनी मालपोत कार्यालयलाई समेत झुक्याई दूषित बेपत्ते नामसारी गराई सोका आधारमा नक्कली रामबहादुर बनेका कोइलबहादुर रायमाझीसमेत तीनजनालाई नै मुलुकी ऐन, ठगीको महलको ४ नं. बमोजिम सजाय गरी दूषित किर्ते कागज खडा गरी बेपत्ते नामसारी र सोको आधारमा भएको दर्ता बदर गरी हस्तबहादुर विष्टका नाउँमा कि.नं.२५१ र २८७ का जग्गा हस्तबहादुर कै नाउँमा यथावत नै राखिपाउँ । साथै, मालपोत कार्यालयका कार्यालय प्रमुख अच्यूतप्रसाद दाहाल, तत्कालीन कार्यालय प्रमुख डम्बरकुमार न्यौपाने र अन्य कर्मचारी खरिदार बलराम दाहाल, खरिदार धनबहादुर कार्कीसमेतलाई अनुसन्धानको क्रममा माल तथा मालपोत निर्देशिका २०४५, जग्गा प्रशासन निर्देशिका २०५८ ले नाता प्रमाणित गरी गर्नुपर्ने फोटो प्रमाणितको किटानी सिफारिस संलग्न राख्नुपर्ने स्पष्ट निर्देशन गरेको पाइन्छ । उक्त कि.नं.को जग्गामा आवश्यक प्रमाण थियो थिएन कानूनले निर्देशन गरेबमोजिम गर्नुपर्ने हो गल्ती भयो भनी गरेको कागजसमेत अनुसार किनबेच गर्न आउनेको मुख हेरी नागरिकतासमेत भिडाई सनाखत गर्नुपर्नेमा सो नगरी हचुवाको भरमा गरेको फाइदा तत्कालीन कार्यालय प्रमुख डम्बरकुमार न्यौपाने, हालका कार्यालय प्रमुख अच्यूतप्रसाद दाहाल, खरिदार धनबहादुर कार्की खरिदार वलराम दाहाललाई पदीय दायित्वतर्फ थप अनुसन्धान भई निज कर्मचारीहरूउपर आवश्यक यथोचित कारवाही हुनको लागी निर्देशन हुन अनुरोध छ भन्ने अभियोगपत्र मागदावी ।
प्रहरीमा गरेको बयान मेरो स्वइच्छाले गरेको हो । दयाप्रसाद सिफारिस गर्ने, तिर्थनाथ जग्गा खाने, तिर्थनाथलाई रामबहादुर विष्ट बनी जग्गा बिक्री गर्ने म कोइलबहादुर नै हो । मेरो लिने खाने उद्देश्य थिएन । दयाप्रसाद घिमिरेले १२ वर्ष बेपत्ता भएपछि कानून लाग्दैन भनेपछि मैले रामबहादुर विष्टसँग नागरिकता मागेर ल्याएँ । दयाप्रसाद र तिर्थनाथ दाहालसमेत भई सर्जमिन खडा गरी सकेपछि मलाई कतै सही गराए, मालपोतमा नामसारी गराउने सल्लाह भई दयाप्रसादले मालपोत कार्यालयमा दरखास्त पेस गरी मेरा नाममा जग्गा रामबहादुर भनी नामसारी भएपछि मैले तिर्थनाथलाई के कति थैली राखेर दयाप्रसादले लेख्न लगाए थाहा भएन र तिर्थनाथले पन्चबहादुरलाई बिक्री गरेको मलाई थाहा भएन । हकदार छ भन्ने थाहा नभएको हुँदा माग दावीबमोजिम सजाय पाउनुपर्ने होइन भनी प्र.कोइलबहादुर रायमाझीले सुरू अदालतमा गरेको २०६३।११।१० गतेको बयान ।
हस्तबहादुर विष्टको नाममा दर्ता रहेको कि.नं. २५१ र २८७ को जग्गा मैले २०१७ सालदेखि नै ब्याज मराउनीमा खाँदै आएको हो । म भोजपुरमा आई दयाप्रसाद घिमिरेलाई मैले यसोभन्दा अर्थात बेपत्ते नामसारी हुन्छ हुँदैन भन्दा हुन्छ भन्नुभयो र मैले चिनेको कोइलबहादुर रायमाझीलाई मैले भनें कोइलबहादुर हुन्छ म उपलब्ध गराउँछु भनी निजले ल्याए । के नामको थियो मलाई थाहा भएन । उक्त कि.नं. २५१ र २८७ को जग्गा केमकसरी दा.खा. गराए मलाई थाहा भएन । सबैकाम दयाप्रसाद घिमिरेले नै गरेका हुन् । कोइलबहादुर नै रामबहादुर विष्ट भएर नामसारी गराएको भन्ने कुरा मलाई थाहा भएन । उक्त जग्गा मेरा नाममा पारित गर्दा कोइलबहादुर नै रामबहादुर विष्ट बनी गरेको हो । कोइलबहादुरले ल्याएको रामबहादुरको नागरिकताको फोटोकपि पेसगरी पास भएको हुँदा स्वयम् मानिस नचाहिने रहेछ भन्ने मलाई लाग्यो । उक्त जग्गा मैले पन्चबहादुरलाई मिति २०६३।९।६ गते रू.१५००००।– मा बिक्री गरेको हुँदा रू.५,०००।– मात्र लिएको छु । अरू रकम दिएको छैन रू १,७५,०००।– भनी अङ्क बढाएर राखेको हो ।उक्त जग्गा बिक्री गरेबापत कोइलबहादुरलाई रू.२०००।– दिन्छु भनेको थिएँ दिएको छैन । दयाप्रसादले रू.१६,०००।– खर्च भएको छ भनी भनेकाले निजलाई रू.१६,०००।– दिएको हुँ । रूपैयाँको लोभमा परी किर्ते काम गरी राजीनामा पास गरेको हो । गल्ती भएको हो एक पटकलाई माफी पाउँ । मैले पन्चबहादुरबाट रूपैयाँ नलिएको हुँदा बिगो तिर्नुपर्ने होइन । ठगीको ४ नं. बमोजिम सजाय पाउनुपर्ने होइन सफाइ पाउँ भनी तिर्थनाथ दाहालले मिति २०६३।११।१० गते सुरू अदालतमा गरेको बयान ।
वोया-७ बस्ने तिर्थनाथ दाहालले बेपत्ते नामसारी गरी दिनुहोस् भनी म वोया गा.वि.स.को सचिव भएकाले पटकपटक भनेकाले र मैले कसको जग्गा भन्दा हस्तबहादुर विष्टको जग्गा मैले २०१७ सालदेखि खाएको भन्नुभएकाले निज हकदार रामबहादुर विष्टको नाममा नामसारी गर्ने सिफारिस गरेको हुँ । मैले २०६२ साल माघ १६ वा १७ गते सिफारिस गरी दिएको हो । २०६३ साल वैशाख १० गते म घरमै छु । २०६२ साल चैत्र २२, २४ गतेदेखि अवकाश पाएर बसेको हुँदा मैले २०६२।७।१ देखी अवकाश पाएको छैन । २०६२।१०।१६ र १७ गते वोयाको सचिवमा काम गरी बसेको छु । मैले कुनै प्रलोभनमा नपरी सर्जमिन मुचुल्का खडा गरेको र उक्त मुचुल्का मैले लेखेको हो । उक्त मुचुल्कामा लेखिएका मानिसको सही कसले गर्यो मलाई थाहा भएन । तिर्थनाथले कसलाई गराए । गा.वि.स.को कार्यालय, वोयाबाट मालपोत कार्यालयलाई लेखेको पत्र मैले लेखेको हो । त्यतिखेर म अवकाश भइसकेको भए पनि अवकास हुनुभन्दा पहिले नै सूचना टाँस गरेको पत्र लेखेको थिएँ । उक्त पत्रको अध्यक्ष सचिव भन्ने ठाउँमा सही कसले गरेको हो मलाई थाहा भएन । पत्र मैले पहिले नै लेखेकोमा कानूनले जो ठहर्छ सहन तयार छु । मौकामा गरेको बयानमा मैले सही छाप गरेको हो । कोइलबहादुरसमेतले मलाई किन पोल गरे म जान्दिन । मैले सचिवको नाताले सिफारिस गरेको हुँदा अभियोग दावीबाट सफाइ पाउँ भनी प्र.दयाप्रसाद घिमिरेले मिति २०६३।११।१० मा सुरू अदालतमा गरेको बयान ।
मिति २०६३।११।२४ को सुरू अदालतका आदेशानुसार साक्षी सर्जमिनका मानिसको बकपत्र भई उक्त बकपत्र मिसिल सामेल रहेको रहेछ ।
म २०५३ सालदेखि मालपोत कार्यालयमा कार्यरत रही मुद्दा फाँटमा काम गरी आएको छु । मिति २०६३।३।११ र १२ गते म बिदामा बसेको हुँदा रामबहादुर विष्टको नाममा नामसारी भएको मलाई थाहा छैन । मिति २०६३।१।७ गतेको ३५ दिने सूचना मैले फाँटवालाको हैसियतले तयार गरेको हुँ । आदेशानुसार तयार गरेको हुँ । सो कार्यको लागि गा.वि.स.को सिफारिस सर्जमिन मुचुल्का निवेदकको नागरिकता भिडाएर सोको फोटोकपि धनीपुर्जा रसिद आवश्यक पर्छ । निवेदन दिन रामबहादुर विष्ट मै हुँ भनी सनाखत गरेको हो तर सो व्यक्ति रामबहादुर विष्ट नभई अन्य व्यक्ति नै रहेछ । नामसारीको लागि निवेदन दिन आउने मानिस र निजले पेस गरेको नागरिकता भिडाउनुपर्छ तर नामसारीको निवेदन दिन आएको बेला मानिसहरूको भीड भएकाले नागरिकता भिडाउन नसकिएको हुँदा सो कार्य हुनगएछ । सो बेलाको कार्यालय प्रमुख डम्बरकुमार न्यौपाने हुनुहुन्थ्यो । नागरिकता र मानिस भिडाउनुपर्नेमा कामको चापाचापले गर्दा नागरिकता भिडाउन असमर्थ भई नामसारी गर्ने कार्य भएको हुँदा गल्ती भएको हो । एकपटकलाई माफी पाउँ भनी मालपोत कार्यालय, भोजपुरका खरिदार बलराम दाहालले मिति २०६३।१२।१ मा गरेको बयान ।
म मालपोत कार्यालय, भोजपुरमा २०५० सालदेखि कार्यरत छु । हाल मोठ फाँटमा छु । हस्तबहादुर विष्टका नाउँको कि.नं.२५१ र २८७ को जग्गा रामबहादुर विष्टको निवेदनसमेत कागजातका आधारमा तत्कालीन कार्यालय प्रमुख डम्बरकुमार न्यौपानेको पालामा मैले पेस गरेको हो । रामबहादुर मै हुँ भनी झुक्याई गरेछन् । सो कुरा पछिमात्र थाहा भयो । नागरिकता पुरानो लत्पतिएको फोटोकपि हुँदा सनाखतसमेत गरी दिएकाले सो काम हुन गएको हो । दयाप्रसाद घिमिरेको नामसारीको सिफारिस भएको हदम्याद पुगेको हुँदा नामसारीको लागि पेस गरेको हुँ । फोटो टाँस गर्नुपर्नेमा निर्देशिकाविपरीत भएको हो । दयाप्रसादलाई चिन्दछु । मैले कागज प्रमाण कै आधारमा काम गरेको र पदीय दायित्व पूरा गरेको हुँदा अभियोग दावीबाट सफाइ पाउँ भनी मालपोत कार्यालय, भोजपुरका खरिदार धनबहादुर कार्कीले सुरू अदालतमा गरेको बयान ।
म २०६३ साल साउन ११ गतेदेखि मालपोत कार्यालय, भोजपुरमा हाजिर भई काम काज गरी आएको छु । हस्तबहादुर विष्टका नाउँको जग्गा नामसारी तत्कालीन कार्यालय प्रमुख डम्बरकुमार न्यौपानेका पालामा भएको रहेछ । जग्गाधनी दर्ता प्रमाणपुर्जा चाहिँ मैले दिएको हो । वोया गा.वि.स. को फाँट हाल खरिदार सावित्रा कट्टेलको फाँटमा पर्छ । मैले रामबहादुर विष्टका नाउँमा धनीपुर्जा बनाइदिएको हुँ । धनीपुर्जा दिँदा नागरिकता र नामसारी गर्ने मानिसलाई हेरी मात्र धनीपुर्जा दिने काम हुँदा धनीपुर्जा दिँदाभन्दा पारित गर्दा राम्ररी भिडाइन्छ । उक्त धनीपुर्जा दिँदा फाँटवालाले दिँदा फाँटवालाले भिडाई फोटो टाँसी नागरिकता ल्याउँछ । नागरिकता भिडाई धनीपुर्जा दिने गरेको हुँदा मैले मानिसको अनुहार नहेरी धनीपुर्जा दिएको हो । रामबहादुरले तिर्थनाथलाई जग्गा पारित गरीदिँदा उक्त दिन भीडभाड भएको र सनाखतसमेत भइसकेको हुँदा निजले पेस गरेका नागरिकता र रामबहादुर बन्ने कोइलबहादुर रायमाझीको अनुहारमा फरक देख्न नसकेकाले पारित गरी दिएको हो । फोटोको सम्बन्धमा म मालपोत कार्यालयमा कार्यरत भएको थोरै दिनमात्र भएको हुँदा मेरो पनि केही कमीकमजोरी भएको हो । म कार्यालयमा हाजिर भएको ७, ८ दिनमात्र भएको फाँटवालाको विश्वासमा काम गरेको हो । मैले लापरवाही नगरेको हुँदा अभियोगपत्र मागदावीबाट सफाइ पाउनुपर्छ भनी मालपोत कार्यालय, भोजपुरका मालपोत अधिकृत अच्युतप्रसाद दाहालले २०६३।१२।१ मा सुरू अदालतमा गरेको बयान ।
वोया-७ बस्ने हस्तबहादुर विष्टका नाउको जग्गा रामबहादुरका नाउँमा नामसारी गर्दा म कार्यालय प्रमुख थिएँ । मेरो पालामा नामसारी भएको हो । रामबहादुर विष्टको निवेदन सिफारिससमेतको आधारमा रामबहादुरको नाममा नामसारी गरिदिएको हो । दयाप्रसाद पनि त्यहाँ आएका थिए होलान् । मैले नामसारी गरी दिँदा लापरवाही गरेको हैन अभियोग दावीबाट सफाइ पाउँ भनी तत्कालीन मालपोत अधिकृत डम्बरकुमार न्यौपानेले मिति०६३।१२।१ मा सुरू अदालतमा गरेको बयान ।
म २०६० साल वैशाख १५ गतेबाट मालपोत कार्यालयमा हाजिर भई काम गरी आएकी छु । म मालपोत कार्यालयको १ नं. मोठ फाँटमा काम गर्छु । मोठ फाँटमा सक्कल धनीपुर्जाहरू रहन्छन् । व्यक्तिको ठेगाना हेलौंछा गा.वि.स. भएकाले र हेलौंछा १ नं.मोठमापर्ने हुँदा नामसारी गरेको मिसिल १ नं.मोठमा भएको हुँदा मैले मिसिल बुझी राखेको थिएँ । मिति २०६३।४।१९ गते सचिव दयाप्रसाद घिमिरेले मिसिल खोजिदिनु भनेकाले मिसिल झिकी दिई र फाँटवाला कृष्णबहादुर बस्नेत नआएको हुँदा मैले धनीपुर्जा बनाइ दिएको हुँ । अफिसमा राख्ने प्रति तयार गरी राखेकी हुँ । व्यक्तिलाई चाहिँ दिएको होइन । दयाप्रसाद घिमिरे आई उक्त जग्गा आजै पारित गरिदिन्छन् स्रेष्ता मात्रै बनाइदिनु भनेकाले बनाइदिएको हुँ । धनीपुर्जामा दयाप्रसादले फोटो नटाँस्नु टाँस्नु पर्दैन भनेपछि मैले फोटो नटाँसेको हो । मैले दया पनि कर्मचारी भएको हुँदा विश्वासमा परी स्रेष्ता तयार गरिदिएको हुँ । मैले जानीजानी उक्त कार्य नगरेको हुँदा अभियोग दावीबाट सफाइ पाउँ भनी मालपोत कार्यालय, भोजपुरको खरिदार सावीत्रा कट्टेलले मिति २०६३।१२।२ मा सुरू अदालतमा गरेको बयान ।
मैले तिर्थनाथ दाहालबाट पारित गरी लिएको जग्गा साविकमा कसको थियो मलाई थाहा छैन । उक्त जग्गा मैले कमाएको १६ वर्ष भयो । उक्त जग्गामा घरसमेत भएको र तिर्थनाथ दाहालले कमाउन दिएकाले ठेक्कामा कमाई सोही घरमा बसी आएको छु । मैले उक्त जग्गा तिर्थनाथ दाहालबाट २०६३।९।६ गते राजीनामा गरी लिएको हो । उक्त जग्गा रू१,५०,०००।– दिने सर्तमा रू.१,७५,०००।- को थैली राखी पारित गरेको हो । मैले तिर्थनाथ दाहाललाई रू.५,०००।–मात्र दिएको छु । रू १,४५,०००।– दिन बाँकी नै छ । बाँकी रकमको मैले तमसुक गरेको छु । मलाई तिर्थनाथले जग्गा लिनेभए लिनु नत्र म अन्तै बिक्री गर्छु भनेकाले लिएको हुँ । मैले तिरेको पास खर्च रू. ५०००।– समेत दिलाई भराइपाउँ भनी बुझिएका पन्चबहादुर तामाङले मिति २०६३।१२।६ गते गरेको बयान ।
सुरू अदालतमा मिति २०६४।२।१ का आदेशानुसार जाहेरवाला भीमबहादुर विष्टको बकपत्र भई उक्त बकपत्र मिसिल सामेल रहेको रहेछ ।
प्रतिवादीहरू स्वयम्ले हस्तबहादुर विष्टका नामको जग्गा किर्ते जालसाज गरी पन्चबहादुर तामाङलाई बिक्री गरेको कुरा स्वीकार गरेको अवस्था छ भने साक्षी सर्जमिनका मानिसहरूले यी प्रतिवादीहरूले नै ठगी गरेका हुन् भनी बकपत्र गरिदिएको र केन्द्रीय विधिविज्ञान प्रयोगशालाबाट प्राप्त परीक्षण प्रतिवेदनमा समेत सर्जमिन गर्ने व्यक्तिहरूको दस्तखत तथा औंठाछाप नमिल्ने भनी प्रतिवेदन प्राप्त भएको देखिँदा प्रस्तुत वारदातमा प्रतिवादीहरू दयाप्रसाद घिमिरे, तिर्थनाथ दाहाल र कोइलबहादुर रायमाझी नै संलग्न भएको देखिँदा निज प्रतिवादीहरूलाई ठगीको महलको १, २ नं. बमोजिमको कसुरमा ऐ.को ४ नं.अनुसार जनही ६ महिना कैद सजाय हुने ठहर्छ । जरिवानाको हकमा निजहरूले रकम लिनुखानु गरेको नदेखिँदा केही गर्नु परेन भन्ने सुरू भोजपुर जिल्ला अदालतको मिति २०६४।८।४ को फैसला ।
उक्त फैसलामा चित्त बुझेन प्रस्तुत मुद्दामा ठगीको १ नं. ले गरेको परिभाषा अनुसार कसले कसलाई के कुन परिबन्दबाट के कसरी ठगी गरी लिए खाएको हो र ठगिने व्यक्ति को हो सोको स्पष्ट माग दावी नभएकाले प्रस्तुत अपराध ठगीको वारदात नभएको र हस्तबहादुरको नाम दर्ताको जग्गा बेपत्ते नामसारी गरिपाउँ भनी रामबहादुर विष्टको नामबाट मालपोत कार्यालय, भोजपुरमा निवेदन दिँदा प्र.कोइलबहादुर रायमाझीले रामबहादुर विष्टको नामबाट प्र.तिर्थनाथ दाहाललाई राजीनामा पारित गर्दा पनि प्र.कोइलबहादुर नै रामबहादुर विष्ट बनी राजीनामा पारित गरेको कुरा किर्ते कागजको महलको १, ७, १३ नं. ले किर्ते कारवाहीसम्म भएको रहेछ भन्ने कुरा स्पष्ट देखिन आएकोमा त्यस्तो किर्तेको वारदातलाई ठगी मुद्दामा दायर गरेको अभियोगपत्र नै दावी नपुगी खारेज हुनेमा ठगी गरेको ठहराई मलाई सुरू भोजपुर जिल्ला अदालतबाट ६ महिना कैद गर्ने गरी भएको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला बदर गरी अभियोग दावीबाट सफाइ पाउँ भन्नेसमेत व्यहोराको पुनरावेदक प्रतिवादी दयाप्रसाद घिमिरेको भोजपुर जिल्ला अदालतमार्फत पुनरावेदन अदालतमा दायर हुन आएको पुनरावेदनपत्र ।
उक्त फैसलामा चित्त बुझेन । ठगीको महलको १ र २ नं.को कसुर ठहर भइसकेपछि ऐ ४ नं.अनुसार सजाय गर्दा ठगीको बिगोबमोजिम जरिवाना र कैद दुबै सजाय गर्नुपर्नेमा सो नगरी कैदतर्फ मात्र सजाय गरेको सुरू फैसला बदरभागी भएको र यी प्रतिवादीहरूले बिगो रू.१,७५,०००।– बराबरको जग्गा ठगी गरी नामसारी तथा बेचबिखन गरेको हुँदा ठगीको बिगो स्पष्ट खुलिरहेको अवस्थामा बिगोबमोजिम जरिवाना गर्नुपर्नेमा सो नगरी कैदतर्फमात्र सजाय गर्ने गरेको सुरू फैसला बदर गरी सम्पूर्ण प्रतिवादीहरूलाई अभियोग दावीबमोजिम ठगीको बिगोबमोजिम जरिवानासमेत गरिपाउँ भन्ने वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन अदालतमा दायर हुन आएको पुनरावेदनपत्र ।
यसमा मुलुकी ऐन, ठगीको महलको ४ नं. अनुसार ठगीको कसुरमा सजाय गर्दा ठगीको बिगो खुलेमा बिगोबमोजिम जरिवाना र कैद दुबै सजाय गर्नुपर्ने कानूनी व्यवस्था रहेकोमा र बिगोसमेत खुलिरहेकोमा सोतर्फ केही गरिरहनु परेन भनी गरेको सुरू फैसला फरक पर्नसक्ने देखिँदा अ.बं.२०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम विपक्षी झिकाउनुका साथै प्र.मध्येको दयाप्रसाद घिमिरेले यसै अदालतमा पुनरावेदन गरेको देखिँदा वादी नेपाल सरकारको पुनरावेदनको जानकारी निज प्रतिवादीलाई र निज प्रतिवादी दयाप्रसाद घिमिरेको पुनरावेदनको जानकारी वादी नेपाल सरकारलाई दिई कार्य सम्पन्न भएपछि नियमबमोजिम पेस गर्नु भन्ने पुनरावेदन अदालतबाट २०६५।३।१८ मा भएको आदेश ।
यसमा सुरू अदालतको मिति २०६४।८।४ को फैसलामा प्रतिवादीमध्येका कोइलबहादुर रायमाझी र तिर्थनाथ दाहाललाई यो फैसलामा चित्त नबुझे ७० दिनभित्र पुनरावेदन अदालत, धनकुटामा पुनरावेदन गर्नु भनी सुनिपाएको कागज गराई निस्सा मिसिल सामेल राख्नु भनी उल्लेख भएकोमा निजहरूले फैसला सुनिपाएको कागज मिसिल संलग्न भएको नदेखिँदा निजहरूले फैसला सुनिपाएको कागज गरेको छ छैन, भए सो कागज नै र सो फैसलाको राय किताबमा निजहरूले सही छाप गरेको छ छैन गरेको भए सोको फोटोकपि पठाइदिनु भनी सुरू भोजपुर जिल्ला अदालतमा लेखिपठाउनु र प्रतिवादीहरूको पुनरावेदन परेको छ छैन भनी पुनरावेदन दर्ता शाखामा बुझी नियमानुसार गरी पेस गर्नु भन्ने पुनरावेदन अदालतबाट २०६५।९।१६।४ मा भएको आदेश ।
ठगीको ४ नं.मा ठगी गर्नेलाई ठगी लिएको बिगो कायम भएमा हक पुग्नेलाई बिगो भराई बिगोबमोजिम जरिवाना र ५ वर्षसम्म कैद हुने अवस्थामा सोबमोजिम जरिवाना गरी बिगोसमेत हक पुग्नेलाई भराई दिनुपर्ने भनी बाध्यात्मक व्यवस्था भएकोमा सोबमोजिम नगरेकोसम्म सुरूको फैसला मिल्न आएको देखिएन । तसर्थ प्रतिवादी कोइलबहादुर रायमाझी, तिर्थनाथ दाहाल र दयाप्रसाद घिमिरेलाई मुलुकी ऐन, ठगीको महलको १, २ नं. को कसुरदार ठहर गरी ऐ.को ४ नं. बमोजिम ६ महिनाका दरले कैद सजाय गर्ने गरेको हदसम्मको सुरू भोजपुर जिल्ला अदालतको मिति २०६४।८।४ को फैसला सदर हुने ठहर्छ । मिति २०६३।९।६ को राजीनामामा जग्गाको मोल रू.१,७५,०००।– उल्लेख हुँदा प्रतिवादीहरूलाई ठगीको ४ नं. बमोजिम उक्त बिगोबमोजिम जरिवाना गरी जाहेरवालालाई बिगोसमेत भराई दिनुपर्नेमा सो नगरेको हदसम्म सुरूको इन्साफ केही उल्टी भई प्रतिवादी कोइलबहादुर रायमाझी, तिर्थनाथ दाहाल र दयाप्रसाद घिमिरेलाई जनही रू.१,७५,०००।– का दरले जरिवानासमेत हुने ठहर्छ । सोही नं. बमोजिम जाहेरवालालाई बिगोसमेत भराई दिने ठहर्छ भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत धनकुटाबाट भएको मिति २०६५।१२।३० को फैसला ।
पुनरावेदन अदालत, धनकुटाको उक्त फैसलामा चित्त बुझेन । प्रस्तुत मुद्दामा अड्डाका कर्मचारीसमेत संलग्न रहेको विवादमा अ.बं.२९(८ ) ले पुनरावेदन अदालतमा फिराद दायर गर्नुपर्ने प्रष्ट छ । सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा १८ ले सम्बन्धित अदालतमा मात्र भनेकाले जिल्ला अदालतमै मुद्दा दायर हुने हो भन्ने निष्कर्षमा पुग्न मिल्दैन । प्रारम्भिक कथनको ४ नं. ले छुट्टाछुट्टै विषयमा लेखिएकोमा सोहीबमोजिम र नलेखिएकोमा मुलुकी ऐनबमोजिम नै हुने प्रष्ट कानूनी व्यवस्था छ । सरकारी कर्मचारीसमेत संलग्न रहेको विवाद जिल्ला अदालतको अधिकार क्षेत्रभित्र पर्दैन । आफ्नो अधिकार क्षेत्रभित्र नपर्ने विषय जिल्ला अदालतले ग्रहण गरी भएको फैसलामा न्याय प्रशासन ऐन, २०४८ को दफा ७, अ.बं.२९(८), प्रारम्भिक कथनको ४ नं. समेतको प्रत्यक्ष त्रुटि रहन गएकाले बदरभागी छ ।
प्रस्तुत जग्गाको सन्दर्भमा तहतह हस्तान्तरण भएको छ । जो जाहेरवाला हुन् । निजका नाममा नापी दर्ता भएको जग्गा होइन । निजको हक प्रमाण छैन । जाहेरवालालाई ललाई फकाई निजका नामको सम्पत्ति लिएको भन्ने पनि होइन । पारित भएको लिखत सन्दर्भमा नालिस गर्ने छुट्टै लेनदेन व्यवहारको महल तथा किर्ते कागजको महलमा व्यवस्था छ । लिखत पारित भएको विषयमा हकदैया प्राप्त व्यक्तिले नालिस गर्नसक्ने प्रष्ट कानूनी व्यवस्था छँदाछँदै ठगीको नामकरण गरी दायर भएको अभियोगपत्रको आधारमा हुनगएको फैसला बदरभागी छ ।
जग्गा हस्तबहादुर विष्टका नाउँमा रहेको भन्ने तथ्यलाई जाहेरवालाले स्वीकार गरेका छन् । हस्तबहादुर विष्टको कुनै उजुर बाजुर छैन । हस्तबहादुरको हकमा भीमबहादुरले जाहेर गरिदिनका लागि निजको वारिसनामा लिएको वा संरक्षकको नाताले अ.बं. ८३ नं. बमोजिम जाहेरी गरेको अवस्थासमेत छैन । यस्तो अवस्थामा हस्तबहादुरले दिएको जाहेरी हकदैया विहीन भएकाले खारेज गर्नुपर्नेमा नगरेको फैसला त्रुटिपूर्ण रहेकाले बदरभागी छ । बिगोबमोजिम जरिवाना गरी बिगो भीमबहादुरलाई भराई दिनसमेत कुनै पनि कानूनले मिल्ने होइन, फैसला त्रुटिपूर्ण रहेको छ ।
प्रस्तुत मुद्दामा सरकारी छाप दस्तखत किर्ते मुद्दामा जाहेरी दरखास्त लिई सम्पूर्ण तहकिकात पूरा भएपछि ठगीमुद्दामा परिवर्तन गरी अभियोगपत्र दायर गरेको प्रत्यक्षतः कानून विपरीतको छ । यसरी मुद्दा परिवर्तन गर्न पाउने अधिकार वादी नेपाल सरकारलाई कुनै कानूनी प्रावधानले नदिएकोमा त्यस्तो कानूनविपरीत मुद्दा परिवर्तन गरी दायर गरेको अभियोगपत्रलाई स्वीकार गरि ठगी गरेको ठहर्याई जनही कैद महिना ६ गर्ने गरी सुरू भोजपुर जिल्ला अदालतले गरेको फैसला बदर गर्नुपर्नेमा तत्सम्बन्धमा निरूपण नगरी बिगो भराई बिगोबमोजिम जरिवानासमेत हुने भनी भएको पुनरावदेन अदालतको फैसलामा न्यायिक मनको प्रयोग भएको छैन । उक्त फैसलामा प्रमाण ऐन, २०३१ को दफा ५४, अ.बं. १८४क, सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ र ठगीको १, २ नं. समेतको प्रत्यक्षतः त्रुटि रहेकाले बदरभागी छ । जिल्ला अदालतको फैसलामा जसको नामको जग्गा हो उसैको नाममा स्रेस्ता गैसकेको हुँदा पुनरावेदन अदालत धनकुटाले मलाई रू.१,७५,०००।– जरिवाना गरेको हुँदा उक्त फैसला बदर गरी मेरो पुनरावेदन जिकिरबमोजिम सफाइ पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादीमध्येका दयाप्रसाद घिमिरेको तर्फबाट यस अदालतमा परेको पुनरावेदनपत्र ।
यसमा हस्तबहादुर विष्टको जग्गा यी प्रतिवादीहरूले किर्ते कागज बनाई जग्गा पारित गरी लिई ठगी गरेको भनी अन्य व्यक्ति भीमबहादुर विष्टले जाहेरी दिई कारवाही चलेकोमा ठगी गरेको ठहर्याई जग्गाधनी नभएको उनाउ जाहेरवालालाई बिगो भराई दिनेसमेत फैसला भएको देखिन्छ । यी पुनरावेदक गा.वि.स.सचिव भएको र कार्यालयसम्बन्धी कामको सिलसिलामा जग्गा पास गरिदिने सिफारिससमेत गरिदिएको र आपराधिक कार्यमा निजको संलग्नता वा मिलेमतो रहेको देखिने स्पष्ट प्रमाण नभएको अवस्था एकातिर विद्यमान छ भने अर्कोतिर ठगी गरेका प्रतिवादीहरूबाट ठगीको ४ नं. बमोजिम जरिवाना गरी दामासाहीबाट असुल गर्नुपर्नेमा प्रतिवादीहरूबाट कानूनविपरीत जनही जरिवाना गर्ने ठहर्याएको पुनरावेदन अदालत, धनकुटाको फैसला मिलेको नदेखिँदा मुलुकी ऐन, अदालती बन्दोवस्तको महलको २०२ नं. बमोजिम महान्यायाधिवक्ताको कार्यालयलाई सूचना दिई नियमानुसार पेस गर्नु भन्ने यस अदालतको मिति २०७०।८।१८ को आदेश ।
नियमबमोजिम दैनिक पेसीसूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको सुरू र पुनरावेदन मिसिलसमेत अध्ययन गरी पुनरावेदक प्रतिवादीको तर्फबाट उपस्थित विद्वान् अधिवक्ता देशबहादुर सार्कीले मेरो पक्षले गरेको कसुर ठगीको परिभाषाभित्र पर्दैन । निजले कार्यालयको कामकाजको सिलसिलामा सिफारिससम्म गरिदिएको हो । लामो समयसम्म जागिर खाएको मान्छे हो । उ मुख्य योजनाकार होइन । मालपोतमा जग्गा पास गरिदिने मान्छेले सफाइ पाउने मेरो पक्षले सिफारिस मात्र गरेकोमा मुख्य अभियुक्तसरह ठगीमा ठहर गरेको मिलेको छैन । मेरो पक्षले गा.वि.स. सचिवको हैसियतले जग्गा बिक्री गर्न सिफारिस गरेको मात्र हो, सफाइ पाउनुपर्दछ भनी गर्नुभएको बहस जिकिरसमेत सुनियो ।
त्यस्तै नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता संजिवराज रेग्मीले ल्याप्चे जाँच गर्न पठाएकोमा मिलेको छैन । गा.वि.स. सचिवबाट अवकाश लिएपछि सिफारिस गरेको छ । सीधासीधै ठगीको काम गरेको हुँदा पुनरावेदन अदालतबाट भएको फैसला सदर हुनुपर्दछ भनी गर्नुभएको बहस जिकिरसमेत सुनियो ।
विद्वान् कानून व्यवसायीहरूको बहस जिकिरसमेत सुनी पुनरावेदन अदालत, धनकुटाबाट भएको फैसला मिले नमिलेको के रहेछ सोही सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।
२. निर्णयतर्फ विचार गर्दा यी प्रतिवादीहरू दयाप्रसाद घिमिरे, तिर्थनाथ दाहाल र कोइलबहादुर रायमाझीले हस्तबहादुर विष्टको नामको जग्गा किर्ते ठगी गरी अरू व्यक्तिलाई बेच बिखन गरेकाले ठगीको महलको १, २ नं. बमोजिमको कसुर गरेको हुँदा निजहरूलाई ठगीको ४ नं. अनुसार सजाय गरिपाउँ भन्ने अभियोग मागदावी भई सुरू जिल्ला अदालतले प्रतिवादीहरूलाई ६ महिना कैदको सजाय गरेकोमा पुनरावेदन अदालतले ६ महिना कैद सदर गरी बिगोबमोजिम जरिवाना तथा बिगोसमेत भराइदिने भनी फैसला गरेको देखिन्छ । मिसिल संलग्न प्रमाण हेर्दा प्रतिवादीहरू मौकामा र अदालतमा समेत साबित रहेकाछन् । केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशालाको परीक्षण प्रतिवेदनमा पनि सर्जमिनका व्यक्तिको सही तथा औंठाछाप नमिलेको भनी लेखिआएको पाइन्छ । यस सम्बन्धमा भएको कानूनी व्यवस्थालाई हेर्दा मुलकी ऐन, ठगीको महलको १ नं.मा " कसैले आफ्नो हक नपुग्ने अर्काको हकको चल अचल धनमाल हक पुग्नेलाई वा जसका जिम्मामा रहेको छ उसलाई ललाइ फकाइ वा जाल परिपञ्च गरी वा आफ्नो हक नभएको सम्पत्तिमा आफ्नो हक पुग्ने किर्ते कागज बनाई दिई वा पेस गरी वा आफूसँग नभएको कुरा आफूसँग छ भनी झुक्याइ वा झुट्ठो कुरालाई सद्दे हो भनी झुक्याइ वा अरू जुनसुकै व्यहोरासँग धोका दिई गफलतमा पारी आफ्नो हक नपुग्ने अर्काको हकको चल-अचल धनमाल लिएदिए दिलाएमा वा अर्काको माल मेरो हो भनी वा मेरो भएको छ भनी लिखत गरी वा नगरी सोही माल लिएदिए बिक्री व्यवहार गरेमा वा सट्टापट्टा गरी लिएमा ठगी गरेको ठहर्छ " भनी उल्लेख भएको देखियो । त्यस्तै सोही ऐनको २ नं. बमोजिम "कसैले आफ्नो नाउँ ढाँटी सो नाउँ मेरो होइन, अर्कैको हो भनी वा सो मानिस म होइन अर्कै हो भनी र अर्को मानिसको नाउँलाई मेरो हो सो मानिस मैँ हुँ भनी भन्नु वा त्यस्तो कुरा अर्काबाट जानीबुझी भनाउनु भनीदिनु इत्यादि जुनसुकै कुरो गरी होस् कसुर सजायबाट बच्नाका लागि वा बेइमानीको नियतसँग अरू कसैलाई धोका , गफलत वा झुक्यानमा पारी अर्काको नोक्सान वा आफ्नो फाइदा हुने काम गरेमा ठगी गरेको ठहर्छ " भन्ने उल्लेख छ । यस्तो कानून भएको र यी प्रतिवादीहरूले आफ्नो हक नपुग्ने हस्तबहादुर विष्टका नाउँमा दर्ता रहेको वोया-७ को कि.नं.२५१ को रोपनी ५-९-१-१ र कि.नं.२८७ को रो.२०-५-१-१ अचल सम्पत्ति बिक्री गरी आर्थिक लाभ प्राप्त गरी लिनेखाने उद्देश्यले आफ्नो हक छ भनी अरूलाई झुक्याइ वा झुट्ठो कुरालाई सद्दे हो भनी गफलतमा पारी निज हस्तबहादुरको हकदार जाहेरवाला भीमबहादुर विष्टका बाबु रामबहादुर विष्ट भएको भनी प्र.मध्येको कोइलबहादुर आफैँ रामबहादुर विष्ट बनी झुट्ठा स्रेस्ता मिलाई किर्ते ल्याप्चे छाप गर्ने, सर्जमिन सिफारिस गर्ने गराउने कार्य गरी प्र.मध्येका दयाप्रसाद घिमिरेले तिर्थनाथ दाहालसमेतसँग मिली उक्त जग्गा प्र.कोइलबहादुर रायमाझीले प्र.तिर्थनाथ दाहालका नाउँमा र.नं. ६१ मिति २०६३।३।१९ मा राजीनामा पारित गरी दिई पुनः प्र.तिर्थनाथले पन्चबहादुर तामाङलाई र.नं. ६६० मिति २०६३।९।६ मा राजीनामा गरिदिएको देखिन्छ । यसरी यी प्रतिवादीहरूले अर्काको अचल सम्पत्ति मेरो हो भनी लिखत गरी बिक्री व्यवहार गरेको देखिन आयो । प्रतिवादी दयाप्रसाद घिमिरे आफैँ गा.वि.स. सचिव भएको र निजले मिति २०६२।७।१ देखि अवकाश पाएको भन्ने जिल्ला विकास समितिको कार्यालयको मिति २०६३।१०।२२ को पत्रबाट देखिन्छ । आफूले सेवाबाट अवकाश लिइसकेपछि मिति २०६२।१०।१७ मा मालपोत कार्यालयमा नामसारीको लागि सिफारिस गरेको देखिन आयो । त्यस्तै यी प्रतिवादीहरूले आफ्नो नाउँसमेत ढाँटी अर्को मानिसको नाउँलाई मेरो हो र सो मानिस मैँ हुँ भनी त्यस्तो कुरा जानीबुझी बेइमानीको नियतसँग अरू कसैलाई गफलत वा झुक्यानमा पारी अर्काको नोक्सान वा आफ्नो फाइदा हुने काम गरेको देखिन्छ । सो कुरालाई यी प्रतिवादीहरूले मौकामा तथा अदालतमा गरेको बयान, केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशालाबाट हस्ताक्षर तथा औँठाछाप जाँच गर्दा नमिलेको भनी प्राप्त भएको प्रतिवेदन र दयाप्रसाद घिमिरेले १२ वर्ष बेपत्ता भएपछि कानून लाग्दैन भनेपछि मैले रामबहादुर विष्टसँग नागरिकता मागेर ल्याएँ । दयाप्रसाद र तिर्थनाथ दाहालसमेत भई सर्जमिन खडा गरी सकेपछि मलाई कतै सही गराए, मालपोतमा नामसारी गराउने सल्लाह भई दयाप्रसादले मालपोत कार्यालयमा दरखास्त पेस गरी मेरा नाममा जग्गा रामबहादुर भनी नामसारी भएपछि मैले तिर्थनाथलाई के कति थैली राखेर दयाप्रसादले लेख्न लगाए थाहा भएन र तिर्थनाथले पन्चबहादुरलाई बिक्री गरेको मलाई थाहा भएन भनी स्वयम प्रतिवादीमध्येका कोइलबहादुरले अदालतमा आई गरेको बयानका क्रममा भनेबाट पनि मनसायपूर्वक जानीबुझी एक आपसमा सरसल्लाह गरी सो कार्य गरेको कुरा पुष्टि भएको छ । सोबाट यी प्रतिवादीहरूले जानीबुझी ठगीको कार्य गरेका रहेछन् भन्ने कुरा स्पष्टरूपमा देखिन आयो । यसरी हेर्दा यी प्रतिवादीहरूले उक्त जग्गा लिनेखाने उद्देश्यले आफ्नो हक नपुग्ने सम्पत्ति मेरो हो भनी अर्को मानिसको नाउँ मेरो हो भनी नक्कली मानिस खडा गरी सहिछाप सर्जमिन सिफारिस गराइ ठगीको १ तथा २ नं. बमोजिमको कसुर गरेको भन्ने कुरामा विवाद छैन । पुनरावेदन अदालत, धनकुटाबाट जनही रू.१७५०००।- जरिवाना हुने र जनही रू.५८३३३।- बिगो भराइदिने भनी ठहराएकोमा सोतर्फ विचार गर्दा हस्तबहादुर विष्टका नामको जग्गा पन्चबहादुर तामाङका नाममा रजिस्ट्रेसन भएको देखिँदा उक्त लिखत बदर गरी हस्तबहादुर विष्टकै नाममा पुनः दर्ता कायम हुने ठहर्छ भनी सुरू जिल्ला अदालतबाट फैसला भएको अवस्थामा पुनरावेदन अदालत, धनकुटाले जनही रू.५८३३३।- बिगोसमेत भराइदिने भनी भएको फैसलाबमोजिम बिगो भराइदिने हो भने जग्गाधनीलाई जग्गा पनि फिर्ताप्राप्त हुने र सो जग्गाको बिगो पनि प्राप्त हुने हुँदा दोहोरो सुविधा पर्नजाने हुन्छ । यसरी कुनै एक पक्षले मात्र दोहोरो सुविधा पाउने गरी फैसला हुनु न्यायसङ्गत हुने नदेखिएकाले सो बिगो भराइदिनुपर्ने अवस्था नहुँदा जग्गा फिर्ता भैसकेको अवस्थामा हकवालालाई बिगो भराइदिने ठहराएको र बिगोको दामासाहीले जरिवाना गर्नुपर्नेमा जनही बिगोबमोजिम जरिवाना हुने ठहराएको हदसम्मको पुनरावेदन अदालत, धनकुटाको फैसला मिलेको देखिन आएन ।
३. अब पुनरावेदक प्रतिवादीले वारदात किर्ते हुँदा ठगीमा सजाय गर्न मिल्दैन भनी लिएको जिकिरतर्फ हेर्दा मुलुकी ऐन, ठगीको महलको १ र २ नं.मा आफ्नो हक नपुग्ने अर्काको चलअचल धनमाल मेरो हो, मेरो भएको छ भनी लिखत गरी वा नगरी बिक्री व्यवहार गरेको ठगी गरेको ठहर्छ भनी उल्लेख भएको हुँदा प्रस्तुत मुद्दा ठगीको परिभाषाभित्र पर्दैन भन्ने प्रतिवादी दयाप्रसाद घिमिरेको पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन ।
४. तसर्थ माथि उल्लेख भएबमोजिमका आधार प्रमाण र कारणबाट सुरू जिल्ला अदालतले प्रतिवादीहरूले ठगीको १, २ नं.को कसुर गरेको ठहर्याई सोही ऐनको ४ नं. बमोजिम जनही ६ महिना कैदको सजाय गर्ने गरी भएको फैसलालाई सदर गरेको पुनरावेदन अदालत, धनकुटाको फैसला मिलेकै देखिँदा सो हदसम्म सदर हुने ठहर्छ ।
५. यसका साथै सुरू जिल्ला अदालतका फैसलाले जग्गा हस्तबहादुर विष्टकै नाममा पुनः दर्ता कायम हुने ठहरेकाले बिगो असुलउपर गरिरहनुपर्ने अवस्था नभएकोमा बिगो भराएको र जरिवानाको हकमा दामासाहीले जरिवाना गर्नुपर्नेमा जनही जरिवाना गर्ने गरेको हदसम्म पुनरावेदन अदालत, धनकुटाको मिति २०६५।१२।३० को फैसला मिलेको नदेखिँदा केही उल्टि भई पुनरावेदक प्रतिवादी दयाप्रसाद घिमिरे र अ.बं. २०५ नं. बमोजिम पुनरावेदन नगर्ने अन्य प्रतिवादीहरू तिर्थनाथ दाहाल र कोइलबहादुर रायमाझीको हकमा समेत जग्गाको बिगो रू. १,७५,०००।- भन्ने देखिएकाले सोको दामासाहीले जरिवाना हुने र बिगो भराइदिनु नपर्ने ठहर्छ । पुनरावेदक प्रतिवादी दयाप्रसाद घिमिरेको पुनरावेदन जिकिर पुग्न सक्तैन । अरूमा तपसिलबमोजिम गर्नू ।
तपसिल
माथि इन्साफ खण्डमा लेखिएबमोजिम पुनरावेदन अदालत, धनकुटाको फैसला केही उल्टि भएको र जग्गाको बिगो रू.१,७५,०००।– भन्ने देखिनुका साथै देहायका प्रतिवादीहरूलाई सो बिगोको दामासाहीले जरिवानासमेत हुने ठहरेकाले पहिले जनही रू १,७५,०००।– जरिवाना भनी राखेको लगत कट्टा गरी यस अदालतको फैसलाबमोजिम निम्नानुसारको लगत कसी असुलउपर गर्नु भनी सुरू भोजपुर जिल्ला अदालतमा लेखी पठाइदिनू .............१
प्रतिवादी दयाप्रसाद घिमिरेके जरिवाना रू.५८,३३३।३४
प्रतिवादी कोइलबहादुर रायमाझीके जरिवाना रू.५८,३३३।३३
प्रतिवादी तिर्थनाथ दाहालके जरिवाना रू.५८,३३३।३३
कैदको हकमा यस अदालतबाट फैसला हुँदा पनि सुरू सदर हुने ठहराएको पुनरावेदन अदालत धनकुटाकै फैसला सदर हुने ठहरेकाले सोहीबमोजिम लगत कसी असुलउपर गर्नू भनी सम्बन्धित अदालतमा लेखिपठाइदिनू ..................२
पुनरावेदन अदालत, धनकुटाबाट बिगो भराइदिने गरी फैसला भएकोमा यस अदालतबाट फैसला हुँदा हकवालालाई बिगो भराइदिनु नपर्ने ठहरेकाले सो सम्बन्धमा लगत राखेको भए लगतकट्टा गरिदिनु भनी सम्बन्धित अदालतमा लेखिपठाइदिनू .......३
प्रतिवादी दयाप्रसाद घिमिरेले यस अदालतमा पुनरावेदन गर्दा जेथा जमानी राखेकोमा पछि सो जेथा फिर्ता गरी सो जेथाबापतको रकम रू २२११२५।- यस अदालतको र.नं. १७४१ मिति २०६९।४।१७ मा धरौटी राखेको देखिँदा निजलाई लागेको जरिवाना यसै रकमबाट असुलउपर गरी सदरस्याहा गर्ने र बाँकी हुन आएको रकम प्रतिवादीले फिर्तापाउँ भनी निवेदन दिएमा फिर्ता भुक्तानी दिनु भनी सम्बन्धित निकायमा लेखिपठाइदिनू ...........४
यो फैसलाको जानकारी पुनरावेदन नगर्ने प्रतिवादीहरू तथा महान्यायाधिवक्ताको कार्यालयलाई दिई प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी अभिलेख शाखामा बुझाइदिनू ............५
उक्त रायमा सहमत छु ।
न्या. देवेन्द्र गोपाल श्रेष्ठ
इति संवत् २०७१ साल पुस ७ गते रोज २ शुभम्
इजलास अधिकृत : हेमबहादुर सेन