शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९३३० - अंश

भाग: ५७ साल: २०७२ महिना: बैशाख अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय

माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय

फैसला मिति :  २०७१।१०।२०।३

०६७CI०१७७

 

मुद्दा : अंश

 

पुनरावेदक/वादी : जिल्ला कपिलवस्तु, गा.वि.स. गोटिहवा वडा नं.१ दलदलहा बस्ने सन्तराम कुर्मी

विरूद्ध

प्रत्यर्थी/प्रतिवादी : जिल्ला कपिलवस्तु, गा.वि.स. गोटिहवा वडा नं. १ दलदलहा बस्ने राजकुमार कुर्मी

 

§  वादी सन्तरामले मिति २०५९।८।१८ मा सुरू अदालतमा गरेको कागजमा आमा सूर्यमती जीवित नै रहेको भनी स्पष्‍ट उल्लेख गरेको अवस्थामा मिसिलबाटसमेत देखिन आएको सरोकारवाला (अंशियार) व्यक्ति निज सूर्यमतीलाई बुझी इन्साफ गर्नुपर्नेमा नबुझी अदालतले आफ्नो जिम्मेवारी वहन नगर्ने, नाता सम्बन्धको निर्णायक प्रमाण नबुझ्ने अनि फिरादपत्रका कमी कमजोरीमात्र देखाई सो आधारमा नकारात्मक धारणा बनाई नाता सम्बन्ध जस्तो व्यक्तिको स्थिति (Status) मा नै प्रभाव पर्ने गरी फैसला गर्ने कार्यलाई न्यायिक जिम्मेवारी बोधको अभाव भन्नुपर्छ । यसमा पुनरावेदन र सुरू अदालतका न्यायकर्ताबाट गम्भीर लापरवाही भएको मान्नुपर्ने

(प्रकरण नं. १०)

§  आफू काशीरामको एक मात्र छोरा भनी प्रतिवादीले नितान्त झुट्ठा कुरा गरेको अवस्थामा प्रतिवादीको अरू कथनमा विश्वास गर्न यो इजलासलाई असजिलो भएको छ । राजकुमारका दाजु रामलखन के भए त,  निजको विवाह भयो भएन, निजबाट सन्तान जन्म्यो जन्मेन जस्ता यावत कुरालाई प्रतिवादीले लुकाउन दबाउन खोजेको स्थिति छ भने अर्कोतिर वादी आफू निजै रामलखनको छोरा भएको भनेर सरजमिन र मतदाता नामावलीलगायतका निश्चयात्मक प्रमाणका साथ उपस्थित भएको स्थिति विद्यमान छ । प्रतिवादीको भ्रामक अनि ठाउँठाउँमा शृङ्खलाको कडी खुस्केको निजको सन्देहास्पद अभिकथनलाई आधार बनाई वादीलाई बाबु आमाको अत्तोपत्तो नभएको अवैध व्यक्ति भन्नु कदापि मनासिब नहुने ।

(प्रकरण नं. ११)

 

 

पुनरावेदक/वादीको तर्फबाट : विद्वान्‌‌ अधिवक्ता नरेन्द्रकुमार के.सी.

प्रत्यर्थी/प्रतिवादीको तर्फबाट : विद्वान्‌‌ अधिवक्ता सुनिलकुमार पोखरेल

अवलम्बित नजिर :

सम्बद्ध कानून :

§  मुलुकी ऐन, अ.बं. ७८, १३३ नं.

§  प्रमाण ऐन, २०३१ को दफा २६

 

सुरू तहमा फैसला गर्ने :             

                        मा.जि. न्या. श्री विनोदमोहन आचार्य

पुनरावेदन तहमा फैसला गर्ने :

                        मा.न्या. श्री राजेन्द्रप्रसाद कोराला

मा.न्या. श्री रामप्रसाद खनाल 

                       

फैसला

            न्या. गोविन्दकुमार उपाध्याय : पुनरावेदन अदालत, बुटवलको मिति २०६२।१।१९ गते भएको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा १ को खण्ड क बमोजिम मुद्दा दोहोर्‍याउने निस्सा प्रदान भई पुनरावेदनमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको सङ्‌क्षिप्त तथ्य एवम्‌ ठहर यसप्रकार छ :

आमा बाबुहरू स्वर्गीय भै सकेका छन् । प्रतिवादी दाजु राजकुमार कुर्मी र वादी म सन्तराम कुर्मी एकघर सगोलमा बस्दै आउँदा संवत् २०३४।१।१ मा म वादी मानोसम्म छुट्टिई अन्य सबै कुरा सगोलमै राखी भोग गर्दै उँदा २०५८।१।१ मा अंशबन्डा गरी दर्तासमेत छुट्ट्याई देऊ भन्दा प्रतिवादीले नमानेकाले २०३४।१।१ गतेलाई मानो छुट्टिएको मिति कायम गरी सम्पूर्ण सम्पत्तिको तायदात फाँटवारी लिई मेरो हुने आध अंश अड्‍डाबाट छुट्ट्याई दिलाई पाउँ भन्‍नेसमेत व्यहोराको सन्तराम कुर्मीको फिरादपत्र

मिति २०५८।५।८ मा दायर भएको अंश मुद्दाको प्रतिवादीको बाबुको नाउँ काशीराम कायम गर्न र फिरादमा उल्लिखित प्रकरण १ २ मा रहेको दाजु भन्‍ने शब्दको ठाउँमा काका कायम रहने गरी निवेदनमा मागबमोजिम संशोधन गरिदिएको भन्‍नेसमेत व्यहोराको मिति २०५८।५।२४ को कपिलवस्तु जिल्ला अदालतको आदेश

वादी मेरो कुनै नाता पुस्ताको व्यक्ति हइनन् काशीरामको छोरा ममात्र हो बाबुको मृत्यु भइसकेको र मेरो २ वटा छोरा ् । विपक्षी कहाँ बस्ने कसका छोरा हुन् थाहा छैन झुट्ठा वादी दावीबाट अल फुरसद गरी न्याय पाउँ भन्‍नेसमेत व्यहोराको प्रतिवादी राजकुमार कुर्मीको प्रतिउत्तर जिकिर

ल पुर्खा छोटन कुर्मी,  छोटन कुर्मीको छोरा काशीराम कुर्मी भएको, काशीराम कुर्मीको छोरामा जेठा मेरो बाबु रामलखन कुर्मी, कान्‍छा यी विपक्षी काका राजकुमार कुर्मी हुन् भनी अ.बं. ८० नं. बमोजिम वादीले आदेशानुसार नातातर्फ गरेको बयान ।

काशीरामको एक छोरा राजकुमार कुर्मी, राजकुमारको श्रीमत जितमत कुर्मीनी, राजकुमार र जितमती कुर्मीनीबाट जन्‍मेका दुई छरा जेठा अमरसिंह कुर्मी, कान्छा मरसिंह कुर्मी हुन यी वादी मेरो नाता पुस्ताका व्यक्ति होइनन भन्‍नेसमेत व्यहोराको प्रतिवादीले अ.बं.८० नं. बमोजिम नातातर्फ गरेको बयान

काशीरामको एक मात्र छोरा राजकुमार हुन् । राजकुमारको २ छोरा अमरसिंह र उमरसिंह हुन भन्नेसमेत व्यहोराको प्रतिवादीका साक्षी लैश मोहम्मद मुसलमानले कपिलवस्तु जिल्ला अदालतमा गरेको बकपत्र ।

काशीराम कुर्मीका २ छोरा रामलखन र राजकुमार हुन् । रामलखनको छोरा वादी सन्तराम हुन् भन्नेसमेत व्यहोराको वादीका साक्षी बिजयनाथ तिवारीले कपिलवस्तु जिल्ला अदालतमा गरेको कपत्र ।

वादी प्रतिवादी मेरो कुनै नाता पुस्ता सम्बन्धका व्यक्ति होनन् । वादी काशीरामको नाति रामलखनको छोरा हुन् । मेरो बाबुको नाम रामदुलारे हो भनी अ.बं. १३९ नं. बमोजिम बुझिएका रामलखन कुर्मीले कपिलवस्तु जिल्ला अदालतमा गरेको बकपत्र ।

आदेशानुसार २०४९।१२।२२ मा परासहिय मौजा र दलदलाहा मौजामा अलगअलग भएको दुई थान सरजमिन मुचुल्‍का मिसिल संलग्न रहेको

वादीले पेस गरेको मृत्यु दर्ता प्रमाणपत्र, घरक रसिदसमेतका कागजात देखाउँदा वादी प्रतिवादी भै मुद्दा चलिरहेको अवस्थामा प्रतिवादीको अंश मार्ने नियतले जालसाजीपूर्ण काम गरी कागजातहरू पेस गरेका हुन् विपक्षीले घरकर रसिदमा आफ्ना बाबुको नाम रामलखन चौधरी लेखाएका हुन् सक्‍कल प्रति देख्‍न पाएका बखत थाहा एकिन हुने भनी प्रतिवादीले अ.बं.७८ नं. बमोजिम गरेको बयान

मेरो नागरिकता लिँदा मेरो जन्‍म रङ्गपुर गा.वि.स.मा भएकाले त्यहाँको वतन देखाई नागरिकता लिएको हो घरकर रसिदमा रामलखन चौधरी लेखिएको भएता पनि चौधरी कुर्मी एउटै हो मैले पेस गरेको लिखत सद्दे व्यहोराबाट लिएको हुँदा कुनै किसिमको जालसाजी गरेको छैन मृत्यु दर्ता, नागरिकता आदि सबै सद्दे व्यहोराबाट लिएको हो भनी वादीका वारिसले कपिलवस्तु जिल्ला अदालतमा गरेको अ.बं.७८ नं. बमोजिमको सनाखत बयान

प्रतिवादीलाई सुरूमा दाजु भनी सम्बोधन गरेको र पछि भूलसुधारका लागि छुट्टै निवेदन दिएको, वादीले पेस गरेको नागरिकता प्रमाणपत्रमा उल्लिखित ठेगाना रङ्गपुर परसोहिया भन्ने उल्लेख भएको तर फिरादपत्रमा भने गोटिहवा दलदलाहा उल्लेख गरेको, फिरादपत्रमा आमा स्वर्गीय भनी लेखेकोमा अ.बं. १३३ नं. बमोजिम कागज गर्दा आमा सूर्यमती जीवित नै रहेको भनी उल्लेख गरेको तर गोटिहवा दलदलाहाको मतदाता नामावलीमा निजको नाम उल्लेख नभएको, प्रतिवादीले यी वादी रङ्गपुर परसोहिया बस्ने रामलखनका छोरा सन्तराम हुन् भनी नातामा विवाद उठाएको समेतबाट यी वादी गोटिहवा दलदलाहा बस्ने काशीरामको नाति, रामलखनका छोरा सन्तराम कुर्मी नै हुन् भनी मान्न सकिने स्थिति देखिएन तत्‍म्बन्धमा वादीले अन्य तथ्ययुक्त तथा खम्बिर प्रमाण पेस गरी प्रमाण ऐन, २०३१ को दफा २६ अनुसार दावी प्रमाणित गर्ने भार विवादरहित तवरमा प्रमाणित गर्न नसकेकाले अरू तथ्यमा प्रवेश गरी इन्साफ गरिरहन परेन फिरादमा लेखिएको पुस्तेवारी नातालाई नै वादीले विवादरहितरूपमा प्रमाणित गर्न नसकेको देखिँदा यी वादी प्रतिवादीबीचमा भतिजा काकाको नाता पर्छ भनी भन्न मिल्ने नदेखिएको हुँदा अंश पाउँ भन्‍ने वादी दावी नपुग्‍ने ठहर्छ भन्‍नेसमेत व्यहोराको कपिलवस्तु जिल्ला अदालतबाट २०६०।१२।२२ मा भएको फैसला।

साफी गर्दाको भूलले फिरादमा काकालाई दाजु लेखिएको हो म दलदलहा बस्ने रामलखनको छोरा हुँ भन्‍ने कुरा परसोहिया बस्ने रामलखनको बयानसमेतबाट देखिन्छ । नागरिकताको प्रमाणपत्र, मतदाता नामावली, सरजमिन मुचुल्‍का, काका राजकुमारका नामको जग्गाको मैले मालपोत बुझाएको रसिदसमेतबाट दावी पुष्‍टि भएको छ फिरादमा फरक परेको व्यहोरा संशोधन गर्ने आदेश भइसकेपछि त्यसलाई आधार बनाउन मिल्‍ने होइन प्रतिवादीले पनि मेरो दावी खण्डन हुन सक्‍ने कुनै ठोस प्रमाण प्रस्तुत गर्न सकेको स्थिति छैन यस्तो अवस्थामा वादी दावी नपुग्‍ने ठहराएको फैसला त्रुटिपूर्ण छ, दर गरी दावीबमोजिम नाता कायम गरी अंश पाउँ भन्‍नेसमेत व्यहोराको वादी सन्तराम कुर्मीको पुनरावेदन अदालत, बुटवलमा परेको पुनरावेदनपत्र

वादी रामलखन कुर्मीसमेत प्रतिवादी विजयबहादुर चौधरीसमेत भएको २०५८ सालको दे.नं.१४२५ को अंश मुद्दाको प्रमाण मिसिल र यिनै पुनरावदेक प्रत्यर्थीका बीचमा चलेका लगाउका दायरी मुद्दाका मिसिलसमेत साथै पेस भएको ।

वादीले मिति २०५८।५।८ मा फिरादपत्र दिदा बाबु आमाको नाम, मृत्यु भएको मिति उल्लेख गर्न नसकेको र प्रतिवादीलाई दाजु भनी सम्बोधन गरेकोमा पछि काका नाताका भन्दै संशोधनका लागि निवेदन दिएको, फिरादमा आमाको समेत मृत्यु भइसकेको भनेकोमा कागज गराउँदा आमा सूर्यमती जीवित छन् भनी लेखाए पनि निजको भाग हिस्सातर्फ केही उल्लेख नगरेको समेतबाट वादीले जान्न सक्ने र जान्नुपर्ने कुराहरूसमेत स्पष्‍ट गर्न सकेको देखिदैन । वादीले पेस गरेको नागरिकताको प्रमाणपत्रमा बाबु रामलखन लेखिए पनि वतन परसोहिया लेखिएको, सो ठाउ रङ्गपुर गा.वि.स.अन्तर्गत पर्नेमा वादीले आफ्नो वतन गोटिहवा गा.वि.स. वडा नं. १ दलदलाहा लेखाएको छ । यसरी वतन फरक हुनुको तथ्ययुक्त कारण प्रस्तुत हुन नसकेको तथा वादीको साक्षीको कपत्र र सरजमिन व्यहोराबाट पनि वादी दलदलाहा बस्ने काशीका नाति तथा रामलखनका छोरा हुन् भन्ने कुरा विवादरहित तबरबाट पुष्‍टि हुन सकेको छैन । वादी दावीबमोजिम नाता कायम भई अंश पाउन सक्ने ठोस सबुद प्रमाणको अभामा वादीको दावी पुग्न सक्ने देखिएन । अतः वादी दावी पुग्न नसक्ने ठहर्‍याई कपिलवस्तु जिल्ला अदालतले गरेको फैसला मिलेकै देखिदा सदर हुने ठहर्छ भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, बुटवलबाट मिति २०६२।१।१९मा भएको फैसला ।

सरजमिन मुचुल्काका अधिकांश मानिसले म र विपक्षी भतिजा काका हुन् भनीलेखाइदिएका छन् । नातातर्फ बयान गराउँदा विपक्षी काकाले म परसोहिया बस्ने रामलखनको छोरा हो भनी लेखाइदिएको आधारमा निजलाई झिकाई बयान गराउँदा म निजको नाताभित्रको नभएको भनी बयान गरेका छन् । यिनै आधार प्रमाणको साथै २०५१ सालको मतदाता नामावलीको १४२ देखि १४५ सम्मका नामहरू फिराद दावीको पुस्तवारीसँग मिल्ने भएको आधारमा पनि म र विपक्षी भतिजा काका नाताभित्रको हो भन्ने तथ्य पुष्‍टि भएको छ । मैले प्राप्‍त गरेको नागरिकता र नागरिकता प्राप्‍त गर्नको लागि भरेको क्र.सं. १३२० को नागरिकताको अस्थायी निस्सासमेतमा आफ्नो पिताको नाम रामलखन कुर्मी भरी जनी कायम भई अरू सम्पूर्ण व्यवहार काशीरामको नाति रामलखन कुर्मीको छोरा भनी चलाई आएको छु । यदि म काशीरामको नाति, रामलखनको छोरा र निज विपक्षीको भतिजा नपर्ने भए मेरो त्यस्तो व्यवहारउपर नालिस गरी बदर गराउन सक्नुपर्ने थियो । यस्तो नभएको अवस्थामा मैले फिरादमा उल्लेख गरेको पुस्तेवारी अनुसार निज विपक्षी मेरो काका हो भन्ने कुरा पुष्‍टि भएको छ । हामीबीच कुनै पनि प्रकारबाट अंश भागबन्डा नभएको अवस्थामा पैतृक सम्पत्तिबाट मैले अंश पाउनु नैसर्गिक अधिकार हो, जसबाट कसैले पनि ञ्‍चित गर्न सक्तैन । बसोवास गर्ने वादी प्रतिवादीको स्थान अलगअलग देखिएता पनि अंश भागबन्डा भएको प्रमाणित हुन नआएमा अंश हकबाट कदापि ञ्‍चित गर्न मिल्दैन । यसरी म र विपक्षी भतिजा काका कायम हुन नसकेकाले अंश पाउन नसक्ने भनी मेरो अंश हकबाट ञ्‍चित गरी पुनरावेदन अदालत, बुटवलबाट भएको फैसलामा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)क को अवस्था विद्यमान भएकाले सोबमोजिम दोहोर्‍याई हेरी सुरू अदालतको फैसला सदर गर्ने गरेको पुनरावेदन अदालत, बुटवलको फैसला बदर गरी दावी अनुसार गरिपाउँ भन्नेसमेत व्यहोराको वादी सन्तराम कुर्मीको यस अदालतमा परेको पुनरावेदनपत्र ।

प्रतिवादी राजकुमार कुर्मीले अ.बं. ८० नं. बमोजिम नाता सम्बन्धमा बयान गर्दा यी वादी सन्तराम कुर्मी रामदुलारेको नाति, रामलखनको कान्छो छोरा भएकाले आफ्‍नो नाता पुस्ताको व्यक्ति नभएको भनी उल्लेख गरेको रहेछ । निज प्रतिवादीले उल्लेख गरे अनुसारको रामलखनलाई अ.बं.१३९ नं. बमोजिम बुझ्‍दा वादी सन्तराम आफ्‍नो छोरा नभई काशीरामको नाति रामलखनको छोरो भएको, वादीको बाबु रामलखन आफू नभई अर्कै व्यक्ति भएको भनी बयान गरेको पाइन्‍छ । अर्कोतर्फ वादीले पाएको नागरिकताको प्रमाणपत्र, जग्गाधनी प्रमाणपर्जा र मतदाता नामावलीबाट वादी सन्तराम कुर्मीको बाबु रामलखन कुर्मी भन्ने देखिएको अवस्था छ । यस्तो अवस्थामा नाता कायम हुने नदेखिएको भनी अंश नपाउने ठहर्‍याएको सुरू जिल्ला अदालतको फैसला सदर हुने ठहराएको पुनरावेदन अदालत, बुटवलको फैसलामा प्रमाण ऐन,२०३१ को दफा ३,५४ र अ.बं. १८४ (क) नं. को त्रुटि देखिदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) बमोजिम मुद्दा दोहोर्‍याउने निस्‍सा प्रदान गरिदिएको छ भनी यस अदालतबाट मिति २०६७।४।१६ मा भएको आदेश ।

वादी सन्तराम कुर्मीले २०५९।८।१८ मा सुरू अदालतमा कागज गर्दा आमा सूर्यमती जीवित छन भनी लेखाएको भनी जिल्ला अदालतको २०६०।१०।७ को आदेशमा उल्लेख भए पनि अंश मुद्दामा आमा स्वयम्‌ अंशियार हुने र नातातर्फ आमाको भनाईले महत्त्वपूर्ण भूमिका खेल्‍नेमा आमाको वतन खुलाउन लगाई निजलाई झिकाई बयान गराएको देखिएन । अब वादी सन्‍तराम कुर्मीलाई अ.बं. १३३ नं. बमोजिम कागज गराई आमा जीवित छन छैनन्, छन् भने कहाँ छन् स्पष्‍ट वतन खुलाउन लगाई वतन खुलेमा अ.बं.१३९ नं. बमोजिम झिकाई बयान गराई कारणीसरह देखिएमा तारेखमा राखी लगाउका मुद्दा साथै राखी नियमानुसार पेस गर्नु भनी यस अदालतबाट मिति २०६८।१।७ मा भएको आदेश । 

नियमबमोजिम दैनिक पेसीसूचीमा चढी निर्णयार्थ इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको सुरू एवम् पुनरावेदन अदालतको रेकर्ड मिसिलसमेतको अध्ययन गरी पुनरावेदकका तर्फबाट उपस्थित विद्वान्‌‌ अधिवक्ता श्री नरेन्द्रकुमार के.सी.ले वादीको नागरिकताको प्रमाणपत्र, सरजमिन र मतदाता नामावलीसमेतका आधारमा वादी दावीबमोजिम नाता कायम भई अंश पाउनुपर्नेमा दावी नपुग्‍ने ठहराएको सुरू फैसला सदर गरेको पुनरावेदन अदालत, बुटवलको २०६२।१।१९ को फैसला नमिलेकाले उल्टी गरिपाउँ भनी र प्रत्यर्थी प्रतिवादीको तर्फबाट उपस्थित विद्वान्‌‌ अधिवक्ता श्री सुनिलकुमार पोखरेलले वादी दलदलाहा गोटिहवा बस्ने काशीरामका नाति तथा रामलखनका छोरा हुन भन्‍ने कुरा विवादरहित किसिमबाट पुष्‍टि हुन सकेको छैन । वादीको नागरिकता प्रमाणपत्र र फिरादमा उल्लिखित वतनसमेत फरकफरक रहेको अवस्थामा दावीबमोजिम नाता कायम भई अंश नपाउने हुँदा वादी दावी नपुग्ने गरी भएको सुरू फैसला सदर गरेको पुनरावेदन अदालत, बुटवलको फैसला सदर गरिपाउँ भनी प्रस्तुत गर्नुभएको बहस सुनियो ।

यसमा प्रतिवादी राजकुमार कुर्मी र वादी सन्तराम कुर्मी एकघर सगोलमा रही २०३४।१।१ मा मानोसम्म छुट्ट्याई बसी आएकोमा अंशबन्डा गरी दर्ता छुट्ट्याई देऊ भन्दा प्रतिवादीले नमानेकाले २०३४।१।१ गतेलाई मानो छुट्टिएको मिति कायम गरी आध अंश दिलाई पाउँ भन्‍ने फिराद दावी र वादी मेरो नाता पुस्ताको व्यक्ति हइनन, काशीरामको छोरा ममात्र हो, विपक्षी कहाँ बस्ने कसका छोरा हुन् थाहा छैन भन्ने प्रतिउत्तर जिकिर रहेकोमा वादी दावी पुग्न नसक्ने ठहरी कपिलवस्तु जिल्ला अदालतबाट भएको फैसलालाई सदर गरी पुनरावेदन अदालत, बुटवलबाट भएको फैसलाउपर मुद्दा दोहोर्‍याई हेरी पाउँ भन्ने निवेदन दायर भै यस अदालतको मिति २०६७।४।१६ को आदेशले मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान भएको देखिन्छ ।

अब वादी दावी पुग्न नसक्ने ठहर्‍याएको सुरू फैसला सदर गरेको पुनरावेदन अदालत, बुटवलको फैसला मिलेको छ छैन तथा वादीको पुनरावेदन जिकिर पुग्ने नपुग्ने के रहेछ सोही सन्दर्भमा निर्णय दिनुपर्ने देखियो ।

२. निर्णयतर्फ विचार गर्दा फिरादपत्रमा वादीले प्रतिवादीलाई सुरूमा दाजु भनी सम्बोधन गरेको र पछि भूलसुधारका लागि छुट्टै निवेदन दिएको, वादीले पेस गरेको नागरिकता प्रमाणपत्रमा उल्लिखित ठेगाना रङ्गपुर परसोहिया भन्ने उल्लेख भएको तर फिरादपत्रमा भने गोटिहवा दलदलाहा उल्लेख गरेको, फिरादपत्रमा आमा स्वर्गीय भनी लेखेकोमा मुलुकी ऐन, अ.बं. १३३ नं. बमोजिम कागज गर्दा आमा सूर्यमती जीवित नै रहेको भनी उल्लेख गरेको, गोटिहवा दलदलाहाको मतदाता नामावलीमा वादीको नाम उल्लेख नभएको, प्रतिवादीले यी वादी रङ्गपुर परसोहिया बस्ने रामलखनका छोरा सन्तराम हुन भनी नातामा विवाद उठाएको समेतबाट यी वादी गोटिहवा दलदलाहा बस्ने काशीरामको नाति, रामलखनका छोरा सन्तराम कुर्मी नै हुन् भनी मान्न सकिने स्थिति देखिएन । तत्‍सम्बन्धमा वादीले अन्य तथ्ययुक्त खम्बिर प्रमाण पेस गरी प्रमाण ऐन, २०३१ को दफा २६ अनुसार दावी प्रमाणित गर्ने भार विवादरहित तवरमा प्रमाणित गर्न नसकेकाले वादी दावी पुग्न नसक्ने भनी कपिलवस्तु जिल्ला अदालतले तथा आफ्नो नाता सम्बन्धका कुराहरू जान्नैपर्ने अवस्थामा पुस्तेवारी पनि नखुलाएको, सुरूमा प्रतिवादीलाई दाजु भनी फिरादमा सम्बोधन गरेको, आमाको मृत्यु भएको भनी लेखाएको तर पछि जीवित छन् भनी लेखाएको भन्नेसमेतको आधारहरू लिदै पुनरावेदन अदालत, बुटवलले सुरू फैसला सदर गरेको देखिन्छ ।

३. प्रस्तुत मुद्दामा जिल्ला तथा पुनरावेदन अदालतले वादीले सावधानीपूर्वक सबै कुरा खुलाई फिराद नदिएको भन्ने कुरामा बढी केन्द्रित भई वास्तविक न्याय प्रदान गर्न इन्कार गरेको स्पष्‍ट अनुभूति हुन्छ । पूरै फैसला वादीको फिरादपत्रको कमी कमजोरी देखाउनमा मात्र केन्द्रित छ तर न्याय माग्ने पक्षहरू सबै होशियार र चतुर हुँदैनन । विज्ञ  हुँदैनन । गरीबीको मारले पिल्सिएका नेपाली नागरिकहरूले सही सल्लाह पाउन सक्तैनन् । कानून व्यवसायीको शुल्कको विचार गरी पक्षहरू न्याय माग्न बाध्य हुन्छन् र कतिपयलाई त कानून व्यवसायीसमेत उपलब्ध हुन नसकी अदालतसम्म पनि आउन सक्तैनन् । यसर्थ अदालतमा दायर हुन आउने फिरादपत्रमा ठूलो स्तरको अपेक्षा गर्दै त्यो स्तर पूरा नगर्ने व्यक्तिलाई वास्तविक न्यायको हकबाट वञ्चित गरिदिने हो भने अदालत भन्ने कुरा सिर्फ विद्वान्‌‌ चतुर र सामर्थ्यवान्‍को लागि मात्र न्याय प्रदान गर्ने माध्यम हुनपुग्दछ । तर्क र कोरा प्राविधिक स्तरमा मात्र न्याय रूमल्लिनु र हराउनुहुँदैन ।

४. व्यक्तिको नातासम्बन्धी मुद्दा अरू मुद्दा जस्तो होइन यसमा दावी प्रमाणित गर्ने भारलाई शुद्ध प्राविधिकरूपमा मात्र हेर्नु उपयुक्त हुँदैन । यो मुद्दा व्यक्तिको पहिचान, अस्तित्व र उसको सम्पूर्ण जीवनसँग सम्बन्धित मुद्दा हो । यसमा सबै कानूनी अवधारणा र सिद्धान्तहरू दावीकर्ता व्यक्ति खास को हो भन्ने कुरा पत्ता लगाउनको लागि केन्द्रित हुन्छन् र हुनुपर्छ । व्यक्तिको पहिचानसम्बन्धी सोही अहम् कुरालाई मध्यनजर राख्दै विवन्धन, फिरादको रीत बेरीत, फिराद संशोधन आदि कुराहरूको विचार हुनु आवश्यक हुन्छ । तदनुसार सर्वप्रथम यो हेर्नुपर्छ कि यी वादी को हुन् । यस मुद्दामा अदालतहरूले वादीलाई न त गोटिहवा दलदलाहाको काशीरामको नाति, रामलखनको छोरा भनेर ठहर गर्न सक्यो न त रङ्गपुर परसोहियाको रामलखनको छोरा भनी ठहर गर्न सकेको देखिन्छ । फिराद दायर गर्दाको अवस्थामा वादीले आफ्नो जीवित आमालाई मरेको, प्रतिवादीलाई दाजु भनेको आदि नचाहिने काम गरेको कुरामा विमति राख्‍ने ठाउँ छैन तर त्यसको दण्ड वादीको अस्तित्व नै लोप हुने गरी दिन मिल्दैन । के कुन प्रयोजनको लागि यी वादीले आफ्नो जीवित आमा सूर्यमतीलाई स्वर्गीय भएको भनी उल्लेख गरे त्यसमा अलमलिनु भन्दा यी वादीको आमा आखिर को हुन् भन्ने कुरामा ध्यान दिनु न्यायसङ्गत हुन्छ । वादीको आमाको सम्बन्धमा प्रतिवादीबाट कुनै विवाद आउन सकेको छैन । सायद वादीकी आमाले वादीको पिताको कुनै वास्ता नगरेकाले वादीले आमाको नाम उल्लेख गर्न आवश्यक नठानेको होस वा अन्य जुनसुकै कारणले होस तत्‍सम्बन्धमा वादीले छुटाएको कुराकै कारणबाट तिमी न्याय पाउँदैनौ भनी वादीलाई भन्न मिल्दैन । यथार्थमा प्रतिवादीको प्रतिउत्तरपत्र तथा नाता कायमको बयानमा पनि प्रतिवादीले आफूलाई काशीरामको एकमात्र छोरा भनेको अवस्था छ जबकि मतदाता नामावलीबाट पनि काशीराम कुर्मीका २ छोरा अर्थात रामलखन कुर्मी र प्रतिवादी राजकुमार कुर्मी देखिन्छन् । यसरी प्रतिवादीको जिकिरसमेत सन्देहास्पद रहेको र नाता कायमको विवादमा वादीलाई बढी प्रतिवादीलाई कम प्रमाणको भार हुने भन्ने यान्त्रिक आधार भन्दा पनि वादीबाट खासखास आधारभूत प्रमाणहरू पेस भएको खण्डमा त्यसको सन्तोषजनक खण्डन गर्ने दायित्व प्रतिवादीउपर रहने र सन्तोषजनक प्रमाणबाट (Satisfactory Evidence) खण्डन नभएमा वादीबाट प्रस्तुत प्रमाणले निर्णायक प्रमाण (Conclusive Evidence) को स्थान लिने भन्ने मापदण्ड ग्रहण गर्नु न्यायसम्मत हुन्छ ।

५. उक्त आधारमा प्रस्तुत मुद्दामा विचार गर्दा फिरादपत्रका साथ वादीले २०३९।४।१६ मा लिएको नागरिकता प्रमाणपत्र पेस गरेको देखिन्छ भने नाता कायममा बयान गर्दा पुनः नागरिकताको प्रमाणपत्र, रङ्गपुर वडा नं. १ हाल गोटिहवा वडा नं. १ उल्लेख भएको बाबुको नाम रामलखन र बाजेको नाम काशीराम जनिएको जग्गाधनी दर्ता प्रमाणपुर्जा, २०५१ सालमा बनेको गोटिहवा गा.वि.स. को नामावली र मतदाता परिचयपत्र, घरकर रसिदसमेतको प्रमाण पेस गरेको देखिन्छ । उक्त मतदाता नामावलीको क्रम सङ्ख्या १४२ मा राजकुमार कुर्मी, पिता काशीराम कुर्मी, क्र.सं. १४३ मा चन्द्रावती कुर्मी, पति सन्तराम कुर्मी, क्र.सं. १४४ मा रामलखन कुर्मी, पिता काशीराम कुर्मी, क्र.सं. १४५ मा सन्तराम कुर्मी, पिता रामलखन कुर्मी उल्लेख भएको र ती सबैको घर नं. क २० जनिएको देखिन्छ । सुरू अदालतले वादी सन्तराम कुर्मीले नागरिकताको प्रमाणपत्र लिदा दिएको दरखास्त, सिफारि, सनाखत तथा ३ पुस्ते नाम थरसमेत खुल्ने लिखत झिकाउने भनी गरेको आदेशानुसार जिल्ला प्रशासन कार्यालय, कपिलवस्तुबाट प्राप्‍त नागरिकताको अस्थायी निस्सासमेत पेस हुन आएको देखिन्छ । यी प्रमाणहरू मुद्दा परेपछि सिर्जित भएको प्रमाणहरू देखिदैनन्  न त प्रस्तुत मुद्दा गर्ने उद्देश्यका लागि खडा भएका प्रमाण हुन् भन्ने प्रतिवादीको जिकिर देखिन्छ । यिनै प्रमाणहरूको आधारमा पनि अधिकांश यस्ता मुद्दामा नाता कायम ठहरेको पाइन्छ । ती प्रमाणहरूले वादीको पक्षमा सन्तोषजनक आधारभूत प्रमाण देखाएको कुरामा दुविधा मान्नुपर्ने अवस्था छैन ।

६. त्यसैगरी यी वादीले २०५९।५।१८ मा नयाँ तथा महत्त्वपूर्ण प्रमाण भनी २०१६।२।१३ को खजहनी माल तहबिल दाखिल लिखतमा समेत रामलखन कुर्मीको नाम उल्लेख भएको तथा २०४६।२।१३ मा पारित र.नं. ५२६९ को राजीनामामा सन्तराम कुर्मीको पिता रामलखन कुर्मी, बाजे काशीराम कुर्मी, वतन रङ्गपुर वडा नं. १ हाल गोटिहवा दलदलाहा भनी उल्लेख भएको देखिन्छ । पिता रामलखन कुर्मीको मृत्यु २०५७।६।२ मा भएको र आमा सूर्यमती एवम् मामा हरिद्वार कुर्मी जीवित रहेको भनी वादी सन्तराम कुर्मीले अदालतको आदेशानुसार कागज गरी पिता रामलखन कुर्मीको मृत्युदर्ताको प्रमाणपत्रसमेत पेस गरेको देखिन्छ ।

७. वादीको नाता सम्बन्ध एकिन गर्नका लागि सुरू अदालतको आदेशानुसार मिति २०५९।१२।२२ मा भएको सरजमिनमा रहेका गोटिहवा दलदलाहाका कुल १३ व्यक्तिमध्ये ७ व्यक्तिले वादी सन्तराम कुर्मी र प्रतिवादी राजकुमार कुर्मी भतिजा काका नाता पर्ने भनी उल्लेख गरेको र बाकी ६ ले नाता पर्दैन भनेको देखिन्छ । उक्त सरजमिनको रोचक पक्ष के देखिन्छ भने वादी पक्षका सातैजना मानिस हिन्दू देखिन्छन् भने प्रतिवादी पक्षका ४ जना मुसलमान र २ जना हिन्दू देखिन्छन् ।

८. वादी सन्तराम कुर्मीको नामको नागरिकता प्रमाणपत्रसमेतका लिखतहरू मुलुकी ऐन, अ.बं. ७८ नं. बमोजिम प्रतिवादीले सनाखत गर्दा ती लिखतहरू सद्दे भएको तर त्यसमा उल्लेख भएबमोजिम यी वादी परसोहिया वडा नं. १ बस्ने रामलखनका छोरा हुन् भन्नेसमेतको कुराहरू उल्लेख गरेको देखिन्छ भने आफूले नेपाली नागरिकता लिदा आफ्नो जन्म रङ्गपुर गा.वि.स.मा भएकाले त्यहीको वतन देखाई लिएको हुँ बाबु रामलखन कुर्मीले गोटिहवा वडा नं. १ मा घर बनाई बसोवास गर्दै आएका हुन्, उक्त प्रमाणपत्रलगायतका सबै लिखतहरू सद्दे हुन् भनी वादीले सनाखत गरेको देखिन्छ ।

९. प्रतिवादीको साक्षीले वादी सन्तराम कुर्मीको बाबु बाजेको नाम आफूले बताउन सक्तिन भनी खास कुरा छल्न खोजेको देखिन्छ भने वादीको साक्षी विजयनाथ तिवारीले काशीराम कुर्मीको २ छोरा रामलखन र राजकुमार हुन्, रामलखनको छोरा वादी सन्तराम हुन्, २०३४।१।१ देखि खानुमानु छुट्टिई आधा घर र जग्गा लिई दिई बसेका हुन् ।२०५८ सालमा प्रतिवादीले बन्डा गर्न न्कार गरेको भनी स्पष्‍ट बकपत्र गरिदिएको देखिन्छ ।

१०. प्रतिवादीले वादीलाई परसोहिया वडा नं. १ बस्ने रामदुलारेको नाति, रामलखनको छोरा हुन् भनी विवाद खडा गरेको सन्दर्भमा निज रामलखन कुर्मीलाई मुलुकी ऐन, अ.बं. १३९ नं. बमोजिम बुझ्दा निजले स्पष्‍टतवरमा वादी मेरो कुनै नाता सम्बन्ध पुश्तेवारीका होनन्, मेरो एकमात्र छोरा विजयबहादुर कुर्मी र एकमात्र छोरी लक्ष्मी हुन्, गोटिहवा दलदलाहा बस्ने सन्तरामलाई चिन्दछु, निज काशीरामको नाति र रामलखनको छोरा हुन, म र वादीको बाबु रामलखन एउटै व्यक्ति होइन, निज २ वर्ष पहिला नै मरिसकेका छन् भनी उल्लेख गरेको देखिन्छ । वादी सन्तरामले मिति २०५९।८।१८ मा सुरू अदालतमा गरेको कागजमा आमा सूर्यमती जीवित नै रहेको भनी स्पष्‍ट उल्लेख गरेको अवस्थामा मिसिलबाटसमेत देखिन आएको सरोकारवाला (अंशियार) व्यक्ति निज सूर्यमतीलाई बुझी इन्साफ गर्नुपर्नेमा नबुझी अदालतले आफ्नो जिम्मेवारी वहन नगर्ने, नाता सम्बन्धको निर्णायक प्रमाण नबुझ्ने अनि फिरादपत्रका कमी कमजोरीमात्र देखाई सो आधारमा नकारात्मक धारणा बनाई नाता सम्बन्ध जस्तो व्यक्तिको स्थिति (Status) मा नै प्रभाव पर्ने गरी फैसला गर्ने कार्यलाई न्यायिक जिम्मेवारी बोधको अभाव भन्नुपर्छ । यसमा पुनरावेदन र सुरू अदालतका न्यायकर्ताबाट गम्भीर लापरवाही भएको मान्नुपर्दछ ।

११. यसरी वादी सन्तरामको पक्षमा सरजमिनको बहुमत, प्रतिवादीले वादीको बाबु भनेका रामलखन कुर्मीको खण्डन बयानसमेतको मौखिक प्रमाणको बाहुल्यता हुनुको अतिरिक्त निजले पेस गरेको जग्गाधनी प्रमाणपुर्जाहरूमा गोटिहवा दलदलाहा भन्ने वतन उल्लेख भएको, मतदाता नामावलीबाट काशीरामको छोराहरू रामलखन र राजकुमार कुर्मी देखिएको, मतदाता नामावलीमा उल्लिखित व्यक्तिहरूको घर सङ्ख्या एउटै रहेको समेतको लिखित प्रमाणको पनि बाहुल्यता रहेको देखिन्छ । आफू काशीरामको एकमात्र छोरा भनी प्रतिवादीले नितान्त झुट्ठा कुरा गरेको अवस्थामा प्रतिवादीको अरू कथनमा विश्वास गर्न यो इजलासलाई असजिलो भएको छ । राजकुमारका दाजु रामलखन के भए त,  निजको विवाह भयो भएन, निजबाट सन्तान जन्म्यो जन्मेन जस्ता यावत कुरालाई प्रतिवादीले लुकाउन दबाउन खोजेको स्थिति छ भने अर्कोतिर वादी आफू निजै रामलखनको छोरा भएको भनेर सरजमिन र मतदाता नामावलीलगायतका निश्चयात्मक प्रमाणका साथ उपस्थित भएको स्थिति विद्यमान छ । प्रतिवादीको भ्रामक अनि ठाउँठाउँमा शृङ्खलाको कडी खुस्केको निजको सन्देहास्पद अभिकथनलाई आधार बनाई वादीलाई बाबु आमाको अत्तोपत्तो नभएको अवैध व्यक्ति भन्नु कदापि मनासिब हुँदैन । प्रमाणको बाहुल्यता वादीको पक्षमा छ । प्रतिवादीको पक्षमा कुनै पनि प्रमाण छैन भने पनि हुन्छ । प्रतिवादीले सिर्फ वादीका कमजोरीहरू मात्र देखाएर उन्मुक्ति पाउने प्रयास गरेको पाइन्छ ।

१२. परसोहियाका जुन रामलखन कुर्मीलाई वादीका पिता भनी प्रतिवादीले उल्लेख गरेका छन् ती रामलखन कुर्मी यी वादीका पिता रहेका भए तिनले वादीलाई आफ्नो छोरा भनी स्वीकार गर्न अलमल गर्नुपर्ने कुनै कारण थिएन । निज रामलखनले उचालेरै वादीले मुद्दा दिएका हुन् भन्ने कुरा पनि मिसिलमा आउन सकेको छैन । वादीकी आमा सूर्यमती र निज रामलखनबीच अवैध सम्बन्ध रहेको भन्ने पनि छैन । ती रामलखनकी श्रीमतीको नाम सूर्यमती नभई पार्वती रहेको देखिन्छ । यदि वादी निज रामलखन र उनकी श्रीमती पार्वतीबाट जन्मेको भए पार्वती छँदाछँदै रामलखनले सन्तरामलाई परित्याग गर्ने र झुट्ठा मुद्दा दिन लगाउने कुरा पत्याउनै सकिदैन । निज रामलखन वादीको बाबु भएको भए सम्पत्तिको हिसाबले पनि वादीले यी राजकुमारउपर यो मुद्दा हाल्नुपर्ने अवस्था हुँदैन । वादीको आमा सूर्यमती होइनन् भनी प्रतिवादीबाट विवाद खडा भएको छैन । आखिर ती सूर्यमतीको पति को हुन् त प्रतिवादीबाट यो प्रश्‍नको जवाफ आएको देखिदैन ।

१३. यसर्थ प्रस्तुत मुद्दामा निर्णयको लागि केन्द्रित हुनुपर्ने विषयवस्तुमा केन्द्रित नरही वादीबाट भएका सामान्य त्रुटिहरूलाई निर्णायक महत्त्व दिई सो आधारमा वादीको वंशावली नै लोप गरी वादी दावी नपुग्ने ठहराएको कपिलवस्तु जिल्ला अदालतको मिति २०६०।१२।२२ को र त्यसैलाई सदर गरेको पुनरावेदन अदालत, बुटवलको मिति २०६२।१।१९ को फैसला मिलेको नदेखिदा ती फैसलाहरू उल्टी हुने ठहर्छ । पुनरावेदन अदालत, बुटवलसमेतको फैसला उल्टी हुने ठहरेकाले प्रस्तुत मुद्दामा सुरू कपिलवस्तु जिल्ला अदालतले मिति २०६०।४।२० मा दुबै पक्षबाट फिराद परेको अघिल्लो दिनसम्मको बन्डा गर्नुपर्ने श्रीसम्पत्तिको तायदाती फाँटवारी माग गरेबमोजिम वादीबाट तायदाती फाँटवारी पेस भएको तर प्रतिवादीबाट तायदाती नआउदै पुनरावेदन अदालत, बुटवलको मिति २०६०।६।२९ को आदेशबाट सुरूले तायदाती माग गरेको २०६०।४।२० को आदेश बदर भएकाले प्रतिवादीबाटसमेत कानूनको रीत पुर्‍याई तायदाती फाँटवारी लिई कोर्ट फिसमेत दाखिल गराई कानूनबमोजिम वादीलाई अंशबन्डा गरिदिनु भनी प्रस्तुत मिसिल कपिलवस्तु जिल्ला अदालतमा पठाइदिने ठहर्छ । अरूमा तपसिलबमोजिम गर्नू ।

 

तपसि

माथि ठहर खण्डमा लेखिएबमोजिम अंश पाउँ भन्ने वादी दावी पुग्न नसक्ने ठहर्‍याएको सुरू जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत, बुटवलको फैसला उल्टी भई वादीले प्रतिवादीबाट दावीबमोजिम अंश पाउने ठहरेकाले वादीले फिराद दायर गर्दा कपिलवस्तु जिल्ला अदालतमा राखेको कोर्ट फि रू.१००। पुनरावेदन अदालत, बुटवलमा पुनरावेदन गर्दा राखेको कोर्ट फि रू. १००। र यस अदालतबाट मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान भई पुनरावेदन दर्ता हुँदा राखेको कोर्ट फि रू. १७।समेत गरी रू २१७। वादीले प्रतिवादीबाट भरी पाउने ठहरेका हुँदा प्रतिवादीबाट भराई पाउँ भनी प्रतिवादीको यसै सरहदभित्रको जेथा देखाई ऐनका म्यादभित्र दरखास्त दिन आए कानूनबमोजिम भराई दिनु भनी कपिलवस्तु जिल्ला अदालतमा लेखी पठादिन....१  

प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी नियमानुसार गरी मिसिल बुझादिनू ....१

 

उक्त रायमा सहमत छु ।

न्या. बैद्यनाथ उपाध्याय

 

इति संवत्  २०७१ साल माघ गते रोज शुभम्

 

इजलास अधिकृत :ना गुरूङ 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु