शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९३३४ - कर्तव्य ज्यान

भाग: ५७ साल: २०७२ महिना: बैशाख अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री दीपकराज जोशी

माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र

फैसला मिति : २०७१।८।२४।

०६-CR-०२९

 

 

मुद्दा : कर्तव्य ज्यान ।

 

पुनरावेदक/प्रतिवादी : सुनसरी जिल्ला,ाँचकन्या गाउँ विकास समिति वडा नं. ५ घर भै हाल कारागार कार्यालय, चितवनमा थुनामा रहेका वर्ष २४ का एनस भन्‍ने प्रकाश राई

विरूद्ध

 

प्रत्यर्थी/वादी : प्रेमकुमार गजमेरको जाहेरीले नेपाल सरकार

 

०६-CR-४९७

 

पुनरावेदक/वादी : प्रेमकुमार गजमेरको जाहेरीले नेपाल सरकार

विरूद्ध

 

प्रत्यर्थी/प्रतिवादी : सुनसरी जिल्ला, पाँचकन्या गाउँ विकास समिति वडा नं. ५ घर भै हाल कारागार कार्यालय, झुम्कामा रहेका एनस भन्‍ने प्रकाश राईसमेत

 

  • आत्मरक्षाको अधिकारको दावीगर्दाका बखत वारदातको समयमा शक्तिको प्रयोग अनिवार्य भएको तथ्य दावी गर्ने पक्षले नै स्थापित गर्न सक्नुपर्दछ । त्यस्तो शक्तिको प्रयोग अनिवार्य रहेको तथ्य नै स्थापित नगरी केवल आपराधिक दायित्वबाट बच्ने मनसायले लिएको जिकिरले कानूनीरूपमा पक्षलाई सहयोग गर्न सक्तैन ।

(प्रकरण नं.२)

  • प्रतिवादीहरू सुनिल श्रेष्ठ र किरण मोक्तान वारदातमा संलग्न रहेको भनी अदालतसमक्ष लेखाइ नदिएको अवस्थामा वारदातमा अभियुक्तद्वयको संलग्नता रहेको मान्‍न सकिएन । स्वतन्त्र सबुद प्रमाणहरूबाट अभियुक्तद्वय विरूद्धको अभियोग दावी पुष्‍टि भएको नदेखिँदा नेपाल सरकारको पुनरावेदन जिकिरकै आधारमा प्रतिवादीहरू सुनिल श्रेष्‍ठ र किरण मोक्तानलाई वारदातमा संलग्न रहेको मानी सजाय गर्न मिल्ने देखिएन ।

(प्रकरण नं.८)

वादीको तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता शंकरबहादुर राई

प्रतिवादीको तर्फबाट :

अवलम्बित नजिर :

सम्बद्ध कानून :

  • मुलुकी ऐन,ज्यानसम्बन्धीको महलको १ र १३(१) नं.
  • मुलुकी ऐन,अ. बं. १८८ नं
  • प्रमाण ऐन, २०३१ को दफा १८()

 

सुरू तहमा फैसला गर्ने :

                        मा.जि.न्या. श्री कोषकुमार नेम्वाङ

पुनरावेदन तहमा फैसला गर्ने :

                        मा.मु.न्या. श्री गोपाल पराजुली

                        मा.न्या. श्री रामचन्द्र यादव

 

फैसला

न्या. दीपकराज जोशी : पुनरावेदन अदालत, विराटनगरबाट मिति २०६८।१।१३ मा भएको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम पुनरावेदनको रोहमा दायर भै पेस हुनआएको प्रस्तुत मुद्दाको सङ्‌क्षिप्त तथ्य एवम् ठहर यसप्रकार छः-

१. जाहेरी दरखास्त :

मिति २०६५।११।१३ गतेका दिन मेरो छोरा मिलन जनमजदुरी गर्न भनी धरान १५ स्थित सदन रोड हुँदै भानुचौतर्फ जाँदै गरेको अवस्थामा प्रतिवादीहरू प्रकाश राईसमेतले धारिलो हतियार बोकी मेरो घरकोठामा समेत आई मिलनलाई खोजेपछि फेला नपार्दा खोज्दै घटना भएको स्थानमा फेला पारेपछि आफूहरूसँग बोकेको हतियारले प्रहार गर्दा मिलन घाइते भएको र उपचारको क्रममा मृत्यु भएकाले निज प्रतिवादीहरूलाई पक्राउ गरी आवश्यक कारवाही गरिपाउँ भन्‍नेसमेत व्यहोराको प्रेमकुमार गजमेरले इलाका प्रहरी कार्यालय, धरानमा दिएको जाहेरी दरखास्त ।

२. अनुसन्धानसँग सम्बन्धित कागजातहरु :

जिल्ला सुनसरी, धरान नगरपालिका १५ स्थित पूर्वमा सेउतखोला, पश्‍चिममा सदन स्कुल जाने बाटो, उत्तरमा जाल्पादेवी चक र दक्षिणमा रितु भुजेलको घर यति चार किल्लाभित्र निज प्रतिवादीहरूले धारिलो हतियार प्रहार गरी घाइते बनाएको भन्‍ने घटनास्थल मुचुल्का ।

मृतक मिलन गजमेरको शरीरको दाहिनेतर्फको चाकको भागमा धारिलो हतियारले काटेको दुई इन्च लम्बाईको घाउँ, सोबाट रगतसमेत बगेको देखिएको भन्‍नेसमेत व्यहोराको लास प्रकृति मुचुल्का ।

जिल्ला सुनसरी, धरान नगरपालिकास्थित प्रतिवादी दीपक राईको जस्ताले छाएको घर र सो घरको पूर्वपट्टि रहेको पहिलो कोठाभित्र टेबुलमुनि १ फुट ५ सुता लम्बाईको कालो बिड भएको फलामको छुरी बरामद भएको भन्‍ने बरामदी मुचुल्का ।

धारिलो हतियारको प्रहारको कारण लागेको चोटबाट मृतक मिलन गजमेरको मृत्यु भएको हो भन्‍नेसमेत व्यहोराको मृतक मिलन गजमेरको शव परीक्षण प्रतिवेदन ।

मृतक मिलन गजमेरले मसँग पटकपटक पैसा माग्ने गरेको र जाँड रक्सी खुवाउनुपर्छ नत्र मर्लास् भनी मार्ने धम्की दिँदै आएकोमा मैले सोही रिसइबिमा मेरा साथहरू किरण मोक्तान, सुनिल श्रेष्‍ठसमेतसँग सल्लाह गरी निजलाई मारेमा सधैँका लागि सन्चो हुने भनी धारिलो हतियार छुरले निजलाई प्रहार गरी मारेका हौं । भाग्ने क्रममा उक्त छुरी हामहरूले दीपक राईलाई राख्‍न दिएका थियौँ भन्‍नेसमेत व्यहोराको प्रतिवादी एनस भन्‍ने प्रकाश राईले अनुसन्धान अधिकृतसमक्ष गरेको बयान ।

मृतक मिलनलाई मार्ने कार्यमा मेरोसमेत सहमति थियो, निजलाई मार्नका लागि घटनाका दिन र समयमा छुरीसमेत बोकी खोजी गर्दैजाँदा घटनास्थल मुचुल्कामा उल्लिखित स्थानमा फेला पारी म तथा साथी सुनील श्रेष्‍ठले निजलाई पक्रि पछाडिबाट प्रकाश राईले छुरी प्रहार गरेको हो भन्‍नेसमेत व्यहोराको प्रतिवादी किरण मोक्तानले अनुसन्धान अधिकृतसमक्ष गरेको बयान ।

मृतक मिलन गजमेरले प्रकाश राईलाई सधैँ दुःख दिने गरेको कारण प्रकाशले यसलाई ठीक पार्नुपर्छ भनी मसमेतसँग भनेकाले सहमत भै छुरा प्रहार गरी हामीहरूले कर्तव्य गरी मारेका हौं भन्‍नेसमेत व्यहोराको प्रतिवादी सुनील श्रेष्‍ठले अनुसन्धान अधिकृतसमक्ष गरेको  बयान ।

प्रकाश राईलाई म राम्रोसँग चिन्दछु । मिति २०६५।११।१३ गते म तथा माया गजमेर घरमा रहेको अवस्थामा प्रकाश राईसमेतका मानिसहरू म भएको ठाउँमा आई मिलन कहाँ छ भनी सोधेको र निजको हातमा धारिलो हतियारसमेत थियो । त्यसपछि निजहरू स्कुलतर्फ गएका हुन्, त्यसको डेढ घण्टापछि मेरो देवर मिलनलाई छुरी प्रहार गरी घाइते बनाएका छन् भन्‍ने सुनी गई हेर्दा रगताम्मे अवस्थामा देखेको हुँदा देवर मिलनलाई मार्ने कार्यमा जाहेरीमा लेखिएका प्रतिवादीहरू नै संलग्न छन् भन्‍नेसमेत व्यहोराको बुझिएकी मिना गजमेरको कागज ।

मिति २०६५।११।१३ गते म सदन स्कुलतर्फबाट माछामौतर्फ जाने क्रममा चौबीसे चौकमा पुग्दाको अवस्थामा निज मिलन गजमेर खुट्टा घिसार्दै निराजन वस्तीतर्फ गएको देखेको हुँ । सोही स्थानबाट प्रतिवादी प्रकाश राईसमेत हातमा खुकुरी लिई भाग्दै गरेको देखेको हुँदा निज प्रतिवादीहरूले नै  मिलनलाई कर्तव्य गरी मारेकोमा विश्‍वास लाग्छ भन्‍नेसमेत व्यहोराको चन्द्र खड्‍गीको कागज ।

मिलन नातामा मेरो दाजु पर्नुहुन्छ । मिति २०६५।११।१३ गते म र मेरो भाउजु सँगै बसिरहेको अवस्थामा दाजुलाई को कसले छुरी हानी घाइते बनाएका छन् भन्‍ने सुनी वारदातस्थलमा ग हेर्दा घाइते अवस्थामा देखि उपचारको लागि अस्पताल लगेकोमा सोही क्रममा निजको मृत्यु भएको हो । वारदातको समयअगाडि प्रतिवादीहरूले हातमा धारिलो हतियार बोक मिलन कहाँ छ भनी सोधेको  र निजलाई आजै नमारी छाड्दिन भनी सदन स्कुलतर्फ गएको हुँदा आरोपित प्रतिवादीहरूले नै मेरो दाजुलाई छुरा प्रहार गरी मारेकोमा विश्‍वास लाग्छ भन्‍नेसमेत व्यहोराको बुझिएकी माया गजमेरको कागज ।

प्रतिवादीहरूले मृतक मिलन जमेरलाई चौबीसे चोक नजिकै घेरा हाली छुरा प्रहार गरी मरणासन्‍न अवस्थामा छाडी भागेको हुँदा उपचारको क्रममा निजको मृत्यु भएको हो भन्‍नेसमेत व्यहोराको बुझिएक फुलमाया राई र वस्तुस्थिति मुचुल्कामा कागज गर्ने टेकबहादुर मगरसमेतको कागज ।

३. अभियोग पत्रः

प्रतिवादी प्रकाश राईले मृतक मिलनले आफूसँग पैसा माग्ने, रक्सी खुवाउनुपर्छ भनी बारम्बार दुःख दिने गरेको हुँदा रिसइबि राखी मार्ने सोच बनाई विरूद्ध खण्डका अन्य सहअभियुक्तहरूसमेतसँग छलफल गरी सबै प्रतिवादीको मिलेमतोमा मिति २०६५।११।१३ गते दिउँसो सामूहिक र सङ्गठीतरूपमा धारिलो हतियार छुरा प्रहार गरी मृतक मिलनलाई घाइते बनाई सोही चोटपीडाबाट उपचारको क्रममा निजको मृत्यु भएको देखिँदा निज प्रतिवादीहरू प्रकाश राई, सुनिल श्रेष्‍ठ, किरण मोक्तान र दीपक राईसमेतको कार्य मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ नम्बर तथा १३(१) नम्बर बर्खिलाप भएको हुँदा सोही कसुरमा निज प्रतिवादीहरूलाई ऐ महलको १३(१) नम्बरबमोजिम सजाय हुन माग दावीसहित जिल्ला सरकारी वकिल कार्यालय, सुनसरीको तर्फबाट मिति २०६५।१२।१० मा सुनसरी जिल्ला अदालतसमक्ष पेस भएको अभियोगपत्र ।  

४. प्रतिवादीहरूको अदालतसमक्ष भएको बयानः-

म प्रतिवादीमध्येका किरण मोक्तानलाई मात्र चिन्दछु, अन्य प्रतिवादीहरूलाई मैले चिनेको छैन । मिति २०६५।११।१३ गतेको दिन म घरमा थिएँ, प्रतिवादीहरू कसैसँग मेरो भेट भएन । जाहेरवालालाई मैले चिन्दिन मृतकलाई मसमेतले धारिलो हतियार प्रयोग गरी मारेको होइन । प्रहरीमा भएको बयान मैले भनेबमोजिम लेखिएको होइन । प्रकाश राईले मिलनलाई छुरी रोपेको मैले क्यारेमबोर्ड खेलिरहेको अवस्थामा पसलबाट देखेको हुँ । प्रकाश राईले प्रहरीमा गरेको बयान सुनेँ किन त्यस्तो व्यहोरा लेखाए थाहा भएन । मिलन गजमेरलाई प्रकाश राईले छुरी रोपी मारेको र सो कार्यमा मेरो संलग्नता नरहेको हुँदा अभियोग माग दावीबमोजिम मैले सजाय पाउनुपर्ने होइन भन्‍नेसमेत व्यहोराको प्रतिवादी सुनिल श्रेष्‍ठले सुनसरी जिल्ला अदालतसमक्ष गरेको बयान ।

जाहेरवाला तथा प्रतिवादीहरू प्रकाश राई र सुनिल श्रेष्‍ठलाई मैले चिन्दछु, अरूलाई चिन्दिन । मिति २०६५।११।१३ गते १० बजेको समयमा क्याम्पस गई ३ बजेमात्र घरमा आई म घरमा नै बसिरहेकोछु, सुनिल श्रेष्‍ठ र प्रकाश राईसँग मेरो सो दिन भेट भएन । जाहेरी दरखास्तमा पोल गरे अनुसार मैले मिलनलाई मारेको होइन, निजलाई मार्ने कार्यमा मेरो कुनै संलग्नता छैन । अरूले के गरे मलाई थाहा भएन मेरोसमेत संलग्नता रहेको जाहेरी व्यहोरा झुट्ठा हो । प्रकाश राईले प्रहरीमा किन झुट्ठा बयान गरे थाहा छैन । मिलन राईलाई कर्तव्य गरी मार्ने कार्यमा मेरो संलग्नता नहुँदा अभियोग माग दावीबाट सफाइ पाउनुपर्छ भन्‍नेसमेत व्यहोराको प्रतिवादी किरण मोक्तानले सुनसरी जिल्ला अदालतसमक्ष गरेको बयान ।

जाहेरवाला तथा प्रतिवादीहरू सबैलाई चिन्दछु । मिति २०६५।११।१३ गतेका दिन बिहान ५ बजे मैले धरान ३ मा रहेको मेरो पसल खोली बिहान १०/११ बजेसम्म पसलमा नै थिएँ । उक्त दिन बाह्र एक बजेको समयमा मृतक मिलन गजमेर मेरो पसलमा आए, उनले अघिल्लो दिनसमेत पसलमा आई मसँग पैसा मागेका र पैसा नदिए मार्ने धम्कीसमेत दिएका थिएँ । घटनाको दिन वारदातस्थलमा मिलन गजमेर मलाई पर्खिबसेका रहेछन । निजले मलाई देखी हिजो पैसा माग्दा किन दिइनस्, तँलाई मारिदिन्छु भनी आफूले बोकी ल्याएको छुरी देखाए । निजले मादक पदार्थसमेत सेवन गरेका र छुरीसहित मउपर हातपात गर्न खोजेकाले मलाई नै मार्छन् कि भनी मैले आत्मारक्षाका लागि आफूसँग बोकेको तरकारी काट्‍ने छुरीले निजलाई प्रहार गरेको थिएँ । निजलाई मार्ने उद्देश्य मेरो थिएन, मैले छुरी प्रहार गर्दा निजको तिघ्रामा चोट लागेको थियो । अन्य प्रतिवादीहरूको उक्त वारदातमा संलग्नता छैन । निजलाई छुरी प्रहार गरिसकेपछि म पसलमा फर्किआउँदा मेरो पसलमा दीपक राई रहेको हुँदा निजलाई रगत लागेको छुरी दिई म वेलबारीतर्फ लागेको हुँ । वस्तुस्थिति मुचुल्का तथा ठाडो कागज गर्ने व्यक्तिहरूले लेखाई दिएको व्यहोरा झुट्ठा हो । प्रहरीमा भएको मेरो बयान स्वेच्छाले भएको होइन, उक्त घटनामा किरण मोक्तान र सुनिल श्रेष्‍ठको कुनै संलग्नता छैन । सुनिल र किरणले प्रहरीमा किन साबित भै बयान गरे मलाई थाहा भएन । मैले आफ्न आत्मारक्षाका लागि छुरी प्रहार गर्दा मिलनको मृत्यु भएकाले अभियोग दावीबमोजिम सजाय हुनुपर्ने होइन भन्‍नेसमेत व्यहोराको प्रतिवादी एनस भन्‍ने प्रकाश राईले सुरू अदालतसमक्ष गरेको बयान ।

५. सुरू जिल्ला अदालतको फैसलाः-

प्रतिवादी दीपक राई फरार रही बसेको देखिँदा निज प्रतिवादी हाजिर भएपछि तथा ऐनको म्याद नाघेपछि जगाई कारवाही गर्ने गरी अ.बं. १९० नं. बमोजिम मुलतबिमा राखिदिने र अन्य प्रतिवादीमध्ये एनस भन्‍ने प्रकाश राईले मैले छुरी प्रहार गर्दा मृतक मिलन गजमेरको मृत्यु भएको र वारदातमा अन्य प्रतिवादीहरूको संलग्नता नभएको भनी बयान गरेको देखिँदा र मृतक मिलन गजमेरको मृत्युको कारण छुरा प्रहारबाट भएको भन्‍ने कुरामा विवाद नदेखिँदा निज नस भन्‍ने प्रकाश राईलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ र १३(१) नम्बर बर्खिलाप कसुर गरेको देखिएको हुँदा निजलाई ऐ. महलको १३(१) नम्बरबमोजिम सर्वस्वसहित जन्मकैद हुने र प्रतिवादी सुनिल श्रेष्‍ठ र गोरे भन्‍ने किरण मोक्तानको हकमा सहअभियुक्त प्रकाश राईले निजहरूको संलग्नता नरहेको भनी अदालतमा बयान गरेका र अभियुक्तहरूले समेत आफूहरूको वारदातमा संलग्नता नरहेको भनी बयान गरेको देखिँदा निजहरूले अभियोग दावीबाट सफाइ पाउने ठहर्छ भन्‍नेसमेत व्यहोराको सुनसरी जिल्ला अदालतको मिति २०६६।८।२८ को फैसला ।

६. प्रतिवादी प्रकाश राईको पुनरावेदनपत्र :

मैले मृतकलाई मार्ने उद्देश्यले छुरी प्रहार गरेको होइन, प्रतिवादीले मउपर आक्रमण गर्नलाग्दा निजको प्रहारबाट बच्न निजउपर छुरी प्रहार गरेको हुँ । खोलाको छेउमा एकान्त स्थानमा छुरी प्रहार गरी मउपर आक्रमण गर्ने र मेरो ज्यान लिनेसम्मको जोर जुलुम गर्न लागेकोमा मैले निजलाई तत्‍काल पक्राउ गरी वा गुहार मागी निजको पन्जाबाट उम्कन नसक्ने अवस्था हुँदा आफ्नो ज्यान बचाउनका लागि घाइतेमात्र हुने गरी मृतक मिलनको तिघ्रामा छुरी प्रहार गरेको र तत्काल उपचार हुन नसकी रक्तश्राव भै मृत्यु भएको हुँदा प्रचलित ज्यानसम्बन्धीको महलको कानूनी व्यवस्थाका आधारमा मलाई अभियोग मागदावीबमोजिम सजाय गर्ने गरी सुनसरी जिल्ला अदालतबाट भएको फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी अभियोग दावीबाट सफाइ पाउँ भन्‍नेसमेत व्यहोराको प्रतिवादी एनस भन्‍ने प्रकाश राईको तर्फबाट पुनरावेदन अदालत, विराटनगरमा परेको पुनरावेदनपत्र ।

 

७. नेपाल सकारकोतर्फबाट पेस भएको पुनरावेदनपत्र :

अधिकारप्राप्‍त अधिकारीसमक्ष मिलन गजमेरलाई मार्नमा आफूहरू संलग्न भएको भनी दुबै अभियुक्तहरूले आरोप स्वीकार गरेका छन् । प्रतिवादीहरू सुनिल श्रेष्‍ठ, गोरे भन्‍ने किरण मोक्तानसमेतले छुरा प्रहार गरी मिलन गजमेरलाई कर्तव्य गरी मारेको भन्‍ने कुराको किटानी जाहेरी दरखास्त परेको छ । प्रहरीमा कागज गर्ने तथा वस्तुस्थिति मुचुल्कामा बस्ने मानिसहरू र स्वयम् यी प्रतिवादीहरूको अधिकारप्राप्‍त अधिकारीसमक्ष भएको साबिती बयानसमेतबाट कसुरमा निजहरूको संलग्नता प्रष्‍ट भैरहेको अवस्थामा प्रतिवादीद्वयले कसुरमा इन्कार रह बयान गरेको तथा म एक्लैले कसुर गरेको भनी प्रतिवादी एनस भन्‍ने प्रकाश राईले अदालतमा गरेको असान्दर्भिक बयान व्यहोरालाई आधार मानी कसुरबाट निज प्रतिवादीहरू सुनिल श्रेष्‍ठ र गोरे भन्‍ने  किरण मोक्तानलाई सफाइ दिने गरी भएको सुरू फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी अभियोग माग दावीबमोजिम यी प्रतिवादीहरूलाई समेत सजाय गरिपाउँ भन्‍नेसमेत व्यहोराको वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन अदालत, विराटनगरमा परेको पुनरावेदनपत्र ।

८. पुनरावेदन अदालतको फैसला :

प्रतिवादी एनस भन्‍ने प्रकाश राईले अदालतसमक्ष बयान गर्दा मृतक मिलन गजमेरलाई छुरा प्रहार गरेको कारण निजको मृत्यु भएको भनी प्रष्‍ट बयान गरेको र मृतकको लास जाँच मुचुल्काबाट निजको तिघ्रामा धारिलो हतियारले काटेको र शव परीक्षण प्रतिवेदनमा समेत मृत्युको कारण धारिलो हतियार छुराको प्रहार भएको भन्‍ने व्यहोरा उल्लेख भएको हुँदा प्रतिवादी एनस भन्‍ने प्रकाश राईलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको ११३(१) नम्बरबमोजिम सर्वस्वसहित जन्मकैद ठहर्‍याउने गरी भएको सुरू फैसला मुनासिब देखिँदा सदर हुने साथै मृतकको शरीरमा १ भन्दा बढ्ता घाउँ चोट नदेखिएको र मुख्य प्रतिवादीले मृतकलाई मार्नमा आफूबाहेक अरूको संलग्नता नरहेको भनी अदालतसमक्ष बयान गरेको देखिँदा प्रतिवादीहरू सुनिल श्रेष्‍ठ र किरण मोक्तानको प्रस्तुत कर्तव्यमा संलग्नता रहेको भनी मान्‍न नसकिएकाले प्रतिवादी सुनिल श्रेष्‍ठ र किरण मोक्तानलाई सफाइ दिने गरी भएको सुरू फैसला मिलेकै अन्य प्रतिवादीहरू सुनिल श्रेष्‍ठ र गोरे भन्‍ने किरण मोक्तानले अभियोग दावीबाट सफाइ पाउने ठहर्‍याई भएको सुरू सुनसरी जिल्ला अदालतको मिति २०६६।८।२८।१ को फैसला मिलेको देखिँदा सदर हुने प्रतिवादी प्रकाश राईले कसुरमा साबित भै अनुसन्धान र अदालतलाई समेत सहयोग पुर्‍याएको, घटना घट्दाका अवस्थामा प्रतिवादीको उमेर, घटना घट्नुपूर्वको रिसइबि नहुनु, पटकपटक मृतकले पैसा मागेको कारणबाट घटना घट्नु र मृतकमाथि परेको चोटको प्रकृति आदि कारणले ऐनअनुसार सजाय गर्दा चर्को पर्ने हुँदा निजलाई भएको सजायमा ५ वर्ष कैद घटाई १५ वर्ष कैद हुन मनासिब भनी अ.बं. १८८ नं. बमोजिम रायसमेत व्यक्त भै भएको पुनरावेदन अदालत, विराटनगरको मिति २०६८।१।१३ को फैसला ।

९. यस अदालतसमक्ष परेको पुनरावेदन :

            मृतक मिलन गजमेरले मेरो पसलमा आई मसँग बारम्बार पैसा माग्ने नदिए कुट्ने धम्की दिने गर्दथे । घटना भएको दिन मिलन मलाई बाटामा पर्खिबसेका थिएँ । मलाई देख्‍नासाथ बाटोभन्दा अलिक मास्तिर लगी पैसा किन नदिएको तँलाई मारी दिन्छु भनी आफूले बोकेको छुरी देखाएको हुँदा मारिहाल्छन् कि भनी डर लागी आत्मरक्षाको लागि तरकारी काट्ने छुरीले एक पटक मात्र निजमाथि प्रहार गरेको हुँ । प्रस्तुत मुद्दामा वादी पक्षका साक्षीहरूको बकपत्र प्रमाण ऐन, २०३१ को दफा १८ बमोजिम प्रमाणित हुन सकेको छैन । खोलाछेउको एकान्त स्थानमा ज्यान लिनेसम्मको जोरजुलुम गर्न लागेकोमा तत्काल पक्राउ र गुहार मागी निजको पन्जाबाट उम्कन सक्ने अवस्था नभएको हुँदा निजको आक्रमणबाट आफू बच्नको लागि एक पटक मात्र छुरी प्रहार गरेको हुँदा ज्यानसम्बन्धी प्रचलित कानूनी व्यवस्थाको आधारमा मलाई सजाय गर्न नमिल्नेमा सजाय गर्ने गरी भएको सुरू फैसला सदर गर्ने पुनरावेदन अदालत, विराटनगरको फैसला उल्टी गरी अभियोग दावीबाट सफाइ पाउँ भन्‍नेसमेत व्यहोराको पुनरावेदक एनस भन्‍ने प्रकाश राईको यस अदालतसमक्ष परेको पुनरावेदनपत्र

       प्रतिवादीहरू सबैको मिलेमतोमा मृतकको हत्या भएको भनी प्रतिवादीहरू सुनिल श्रेष्ठ र किरण मोक्तानउपरसमेत किटानी जाहेरी परेको छ । प्रकाश राईले मौकामा आफूसमेत साबित भै यी सहअभियुक्तसमेतउपर पोल गरेको अवस्था छ । मौकामा बयान गर्दा अभियुक्तद्वय सुनिल श्रेष्ठ र किरण मोक्तानले कसुरमा साबित भ बयान गरेका र सो समर्थित हुने गरी मौकामा कागज गर्ने चन्द्र खड्‍गी र मीना गजमेरले यी दुबैलाई प्रकाश राईका साथ भाग्दै गरेको देखेको भन्‍ने व्यहोरा लेखाइदिएको अवस्था छ । एकान्त स्थलमा प्रकाश राईले मात्र एक्लै मृतकलाई मार्न सक्ने सम्भावना नै नभएको हुँदा आर्थिक प्रलोभन लगायतका अन्य प्रलोभनमा परी अन्य प्रतिवादीलाई जोगाउन मुख्य अभियुक्त प्रकाश राईले झुट्ठो बयान गरेका र सोही बयानलाई आधारमानी सुनिल श्रेष्ठ र किरण मोक्तानलाई सफाइ दिने गरी भएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी अभियोग माग दावी अनुसार सजाय गरिपाउँ भन्‍नेसमेत व्यहोराको पुनरावेदक नेपाल सरकारको तर्फबाट यस अदालतसमक्ष परेको पुनरावेदनपत्र ।

१०.  यस अदालतको ठहर :  

नियमबमोजिम साप्‍ताहिक तथा दैनिक मुद्दा पेसीसूचीमा चढी निर्णयार्थ पेस हुनआएको प्रस्तुत मुद्दामा पुनरावेदक नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान्‌ उपन्यायाधिवक्ता श्री शंकरबहादुर राईले प्रतिवादीहरू प्रकाश राई, सुनिल श्रेष्‍ठ र किरण मोक्तानसमेतका सबै प्रतिवादीहरू विरूद्व किटानी जाहेरी परेको र मौकामा बयान गर्दा मुख्य अभियुक्त प्रकाश राईले सहअभियुक्तउपर घटनाक्रमसमेत उल्लेख गरी पोल गरेको अवस्थामा अन्य प्रतिवादीहरूको समेत वारदातमा संलग्नता रहेको अवस्था पुष्‍टि भइरहेकोमा अभियोग मागदावी अनुसार सजाय नगरी सहअभियुक्तहरू सुनिल श्रेष्ठ र किरण मोक्तानलाई सफाइ दिने गरी भएको सुरू फैसला सदर गर्ने पुनरावेदन अदालत, विराटनगरको फैसला फरक पर्न सक्ने अवस्था रहेको हुँदा विपक्षी झिकाउने आदेश हुनुपर्दछ भनी बहस प्रस्तुत गर्नुभयो ।

मिति २०६५।११।१३ गतेका दिन मेरो छोरा मजदुरी गर्न भानुचोकतर्फ जाँदै गरेको अवस्थामा प्रतिवादीहरू प्रकाश राई, सुनिल श्रेष्‍ठ, किरण मोक्तान र दिपक राईले धारिलो हतियार प्रहार गरी घाइते बनाएको र उपचारको क्रममा छोराको मृत्यु भएको हुँदा निज प्रतिवादीहरूलाई पक्राउ गरी कारवाही गरिपाउँ भनी मृतकका बाबु प्रेमकुमार गजमेरको जाहेरी दरखास्त परेपश्‍चात् प्रस्तुत मुद्दामा अनुसन्धान प्रारम्भ भइ सुरू तथा पुनरावेदन अदालतबाट प्रतिवादी एनस भन्‍ने प्रकाश राईलाई सर्वस्वसहित जन्मकैद र अन्य प्रतिवादीहरू सुनिल श्रेष्ठ र किरण मोक्तानलाई सफाइ दिने गरी भएको फैसलाउपर दुबै पक्षको यस अदालतसमक्ष पुनरावेदन परेकोमा विद्वान्‌ उपन्यायाधिवक्ताको बहस जिकिर, प्रतिवादी एनस भन्‍ने प्रकाश राई तथा नेपाल सरकारको पुनरावेदन जिकिर र मिसिल संलग्न कागजात अध्ययन गरी निर्णयतर्फ विचार गर्दा प्रस्तुत मुद्दामा देहायका प्रश्‍नहरूको निरूपण गरी निर्णय दिनुपर्ने देखिन आयो ।

(क) पुनरावेदक प्रतिवादी एनस भन्‍ने प्रकाश राईको वारदातमा भएको संलग्नता विशुद्धरूपमा आत्मरक्षाको लागि भएको हो, होइन ?

(ख)  सहअभियुक्तहरू सुनिल श्रेष्ठ र किरण मोक्तानको वारदातमा संलग्नता छ छैन ?

(ग)  पुनरावेदन अदालत, विराटनगरको फैसला मिलेको छ छैन ? पुनरावेदक नेपाल सरकार र एनस भन्‍ने प्रकाश राईको पुनरावेदन जिकिर पुग्न सक्ने हो होइन ?

२. यसमा पहिलो प्रश्‍नतर्फ विचार गर्दा प्रतिवादीमध्येका एनस भन्‍ने प्रकाश राईले वारदातमा संलग्न भएको भनी अनुसन्धान अधिकारी तथा अदालतसमक्षसमेत कसुर स्वीकार गरी बयान गरेको देखिँदा वारदातमा पुनरावेदकको संलग्नता सम्बन्धमा विवेचना गर्नुपर्ने देखिएन । प्रस्तुत वारदात आफूले मृतक मिलन गजमेरको आक्रमणबाट बच्न आत्मरक्षाको लागि गरेको प्रतिकारात्मक कारवाहीको कारण घट्न गएको हो भन्‍नेतर्फ विचार गर्दा आत्मरक्षाको सम्बन्धमा ज्यानसम्बन्धीको महलको ७(१) नं. मा रहेको कानूनी व्यवस्था विचार गर्नुपर्ने देखियो । “कसैले हातहतियार लिई वा नलिई आफ्नो ज्यान लिनेसम्मको जोरजुलुम गर्न लागेकोमा त्यस्तालाई पक्राउ गर्न वा गुहार माग्न नसकिने वा मागे पनि बखतमा मद्दत पुग्न नसक्ने, बचाउनसमेत फुर्सद नपाउने अवस्थामा आफूले केही नगरे आफ्नो ज्यान रहदैन भन्‍ने पूरा विश्‍वास भई ज्यान बचाउनका खातिर उसै मौकामा केही गर्दा सो जुलुमीको ज्यान मरेमा ज्यानमाराको बात लागदैन ।” यसरी विद्यमान रहेको कानूनी व्यवस्थालाई हेर्दा आत्मरक्षाको अधिकार सबै अवस्थामा अधिकारकोरूपमा प्रयोग गर्न मिल्ने नभई आफू विरूद्ध वारदात घटाउन खोज्ने जुलुमीबाट बच् निजलाई पक्राउ गर्न वा गुहार मद्दत माग्न नसकिने अवस्थामा मात्र यसको प्रयोग गर्न सकिने देखियो । आफूउपर हुन लागेको आक्रमण विफल बनाउने अन्य कुनै उपाय नभएको र आफूउपर भएको आक्रमण विफल नभएमा आफ्नो ज्यान जान सक्ने अवस्था प्रमाणित भएको अवस्थामा मात्र कानून अनुसार आपराधिक दायित्वबाट छुट पाउन उपर्युक्त कानूनी व्यवस्था आकर्षित हुन सक्ने देखियो । आत्मरक्षाको अधिकारको दावीगर्दाका बखत वारदातको समयमा शक्तिको प्रयोग अनिवार्य भएको तथ्य दावी गर्ने पक्षले नै स्थापित गर्न सक्नुपर्दछ । त्यस्तो शक्तिको प्रयोग अनिवार्य रहेको तथ्य नै स्थापित नगरी केवल आपराधिक दायित्वबाट बच्ने मनसायले लिएको जिकिरले कानूनीरूपमा पक्षलाई सहयोग गर्न सक्तैन ।

 ३. मिसिल संलग्न घटनास्थल मुचुल्कामा घटनास्थल नजीक चौबाटो र रितु भुजेलको घर भएको देखाइएको हुँदा यी प्रतिवादीले मृतकको आक्रमणबाट जोगिन वारदात स्थलबाट भाग्न सक्ने तथा गुहार माग्न सक्ने अवस्था रहेको देखियो । सहअभियुक्तमध्येका सुनिल श्रेष्‍ठले सुरू अदालतसमक्ष बयान गर्दा मृतकलाई प्रकाश राईले छुरी हानेको आफूले क्यारेमबोर्ड खेल्दै गरेको अवस्थामा पसलबाट देखेको भनी उल्लेख गरेको हुँदा वारदातस्थल एकान्त र भाग्न उम्कन तथा अरूको सहायता लिन नसकिने खालको नभई खुल्ला र तत्काल अरूको सहायताप्राप्त हुन सक्ने भन्‍ने देखियो, यस्तो अवस्थामा आक्रमणकारीको पञ्‍जाबाट भाग्न उम्कन र बचाउको लागि मद्दत माग्नुपर्ने प्राथमिक उपाय अवलम्बन नगरी मृतकलाई यी प्रतिवादीले आफ्नो साथमा रहेको छुरी जस्तो घातक हतियार प्रहार गरेको देखिँदा यी प्रतिवादी एनस भन्‍ने प्रकाश राईले लिएको जिकिरमा वैध प्रतिरक्षाको अवस्था देखिन आएन । मिसिल संलग्न कागजातबाट कानून अनुसार आत्मरक्षाको सुविधाप्राप्‍त हुन सक्ने निर्धारित अवस्थाको विद्यमानता देखिन नआएको अवस्थामा प्रतिवादी एनस भन्ने प्रकाश राईको वारदातमा रहेको संलग्नता आत्मरक्षाको लागि भएको भनी मान्‍न मिल्ने देखिएन ।

४. अब दोस्रो प्रश्‍नतर्फ विचार गर्दा जाहेरी दरखास्तमा एनस भन्‍ने प्रकाश राईसमेतका सबै प्रतिवादीहरूका विरूद्ध किटानी जाहेरी परी भएको अनुसन्धानको क्रममा तयार भएका घटनास्थल मुचुल्का, वस्तुस्थिति मुचुल्का, मौकामा कागज गर्ने व्यक्तिहरूले सहअभियुक्त सुनिल श्रेष्‍ठ र किरण मोक्तानका विरूद्धसमेत वारदातमा संलग्न भएको व्यहोरा लेखाइदिएको देखिन्छ । तर जाहेरवालालगायतका अनुसन्धानका क्रममा बुझिएका कुनै पनि व्यक्तिहरूले अदालतसमक्ष उपस्थित भइ जाहेरी र अनुसन्धानको क्रममा लेखाइदिएको व्यहोरा समर्थित गरी दिएको पाइदैन । प्रमाण ऐन, २०३१ को दफा १८() मा "कुनै काम घटना वा अवस्थाका सम्बन्धमा भएको तहकिकात वा जाँचबुझको सिलसिलामा प्रचलित नेपाल कानूनबमोजिम तयार भएको कुनै लिखतमा उल्लेख भएको कुनै कुरा सो कुरा व्यक्त गर्ने व्यक्तिले साक्षीकोरूपमा अदालतमा उपस्थित भै बयान गरेमा प्रमाणमा लिन हुन्छ ।" यसरी कानूनमा उल्लेख भए अनुसार अनुसन्धानको क्रममा तयार भएको लिखत प्रमाणकोरूपमा ग्राह्य हुन त्यसरी लेखाइदिने व्यक्तिले अदालतसमक्ष उपस्थित भ आफ्नो भनाइ समर्थित हुने गरी बयान बकपत्र गरिदिनुपर्ने हुन्छ । यसरी मिसिल संलग्न कागजातबाट अनुसन्धानको क्रममा तयार भएका लिखतको व्यहोरा अदालतमा उपस्थित भै समर्थित गरेको नदेखिएको अवस्थामा त्यसलाई प्रमाणकोरूपमा ग्रहण गर्न मिल्ने देखिएन । तीनजना आरोपित व्यक्तिहरूमध्ये पुनरावेदक प्रतिवादी एनस भन्‍ने प्रकाश राईले वारदातमा आफूमात्र संलग्न भएको भनी अन्य प्रतिवादीको संलग्नतालाई अस्वीकार गरी अदालतसमक्ष साबिती यान गरेको र अभियोग लागेका सहअभियुक्त सुनिल श्रेष्‍ठ र किरण मोक्तानले समेत अदालतमा उपस्थित भै वारदातमा आफू संलग्न भएको तथ्यमा इन्कार रही बयान गरेका तथा वारदातको सम्बन्धमा जानकार अन्य कुनै पनि व्यक्तिले प्रतिवादीहरू सुनिल श्रेष्ठ र किरण मोक्तान वारदातमा संलग्न रहेको भनी अदालतसमक्ष लेखाइ नदिएको अवस्थामा वारदातमा अभियुक्तद्वयको संलग्नता रहेको मान्‍न सकिएन । स्वतन्त्र सबुद प्रमाणहरूबाट अभियुक्तद्वय विरूद्धको अभियोग दावी पुष्‍टि भएको नदेखिँदा नेपाल सरकारको पुनरावेदन जिकिरकै आधारमा प्रतिवादीहरू सुनिल श्रेष्‍ठ र किरण मोक्तानलाई वारदातमा संलग्न रहेको मानी सजाय गर्न मिल्ने देखिएन ।

५. तेस्रो तथा निर्णायक प्रश्नतर्फ विचार गर्दा माथि पहिलो र दोस्रो प्रश्‍नको विवेचना गर्दाका बखत पुनरावेदक प्रतिवादी एनस भन्‍ने प्रकाश राईको आत्मरक्षाको जिकिर तथ्ययुक्त नदेखिएको र सहअभियुक्त सुनिल श्रेष्ठ तथा किरण मोक्तान वारदातमा संलग्न रहेको तथ्य मिसिल संलग्न प्रमाण कागजबाट पुष्टि भएको नदेखिँदा पुनरावेदन अदालत, विराटनगरबाट प्रतिवादी एनस भन्‍ने प्रकाश राईलाई ज्यानसम्बन्धीको महलको १३(१) नं. बमोजिम सजाय गर्ने र अन्य अभियुक्त सुनिल श्रेष्ठ तथा किरण मोक्तानलाई सफाइ दिने गरी भएको सुरू फैसला सदर गर्ने पुनरावेदन अदालत, विराटनगरको फैसला मिलेकै देखिन आयो ।

६. प्रतिवादी एनस भन्‍ने प्रकाश राई कसुरमा साबित भै अनुसन्धान र अदालती कारवाहीमा सहयोग पुर्‍याएको, घटना घटदाको समयमा प्रतिवादीको उमेर, मृतक मिलन गजमेर र प्रतिवादीबीच कुनै पूर्व रिसइबि नरहेको, पटकपटक पैसा मागेको विषयमा विवाद भ घटना घटेको देखिएको तथा मृतकमाथि परेको चोटको प्रकृति  जस्ता कारणबाट ऐन अनुसार सजाय गर्दा चर्को पर्ने भनी ५ वर्ष कैद घटाउने गरी अ. बं. १८८ नं अनुसार पुनरावेदन अदालत, विराटनगरबाट पेस भएको राय मिसिल संलग्न प्रमाण कागजातहरूबाट तथ्यमा आधारित देखिँदा प्रतिवादी एनस भन्‍ने प्रकाश राईलाई १५(पन्ध्र) वर्ष कैद गर्ने गरी पेस भएको राय मनासिब भै सदर हुने ठहर्छ ।

७. तसर्थ माथि विवेचित आधार र कारणबाट कर्तव्य ज्यानसम्बन्धी कसुरमा संलग्न रहेको भनी प्रतिवादी एनस भन्‍ने प्रकाश राईलाई ज्यानसम्बन्धीको महलको १ र १३(१) नं. को कसुरमा ऐ महलको १३(१) नं. बमोजिम सर्वस्वसहित जन्मकैद गर्ने र अन्य प्रतिवादी सुनिल श्रेष्‍ठ  र किरण मोक्तानलाई सफाइ दिने गरी भएको पुनरावेदन अदालत, विराटनगरको मिति २०६८।१।१३ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक नेपाल सरकार र प्रतिवादी एनस भन्‍ने प्रकाश राईको पुनरावेदन जिकिर पुग्न सक्तैन । प्रस्तुत दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू । अरूमा तपसिलबमोजिम गर्न

तपसिल

माथि ठहर खण्डमा पुनरावेदक प्रतिवादी एनस भन्‍ने प्रकाश राइलाई सर्वस्वसहित जन्म कैद गर्ने गरी भएको सुरू फैसला सदर गर्ने पुनरावेदन अदालत, विराटनगरको मिति २०६८।१।१३ को फैसला सदर भै मुलुकी ऐन, अ.बं. १८८ नं. अनुसार प्रतिवादी प्रकाश राईको हकमा १५(पन्ध्र) वर्ष कैद हुने ठहरेकाले सुरू जिल्ला अदालतको तपसिल खण्ड (१) कायम नरहने हुँदा अनुसन्धानको क्रममा पक्राउ परी मिति २०६१११४ देखि थुनामा रहेका यी प्रतिवादीलाई अन्य कारणले थुनामा राख्‍नु नपर्ने भए मिति २०८०१११४ गते थुनामुक्त गरी दिनु भनी संशोधित कैदीपुर्जी कारागार कार्यलय, चितवनमा पठाइदिनु भनी सुनसरी जिल्ला अदालतमा लेखी पठाउनू --

                                   

उक्त रायमा सहमत छु ।

न्या. ओमप्रकाश मिश्र                                                    

 

इति संवत् २०७१ साल मङ्िर २४ गते रोज ४ शुभम्

 

इजलास अधिकृत : चन्द्रप्रकाश तिवारी

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु