शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९३४१ - बहुविवाह

भाग: ५७ साल: २०७२ महिना: जेष्ठ अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह

माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ

फैसला मिति : २०७१।१।२३।३

०६७-CR-०१७७

 

मुद्दाः बहुविवाह ।

 

पुनरावेदक/वादी : बुद्धलक्ष्मी श्रेष्ठको जाहेरीले नेपाल सरकार 

विरूद्ध

प्रत्यर्थी/प्रतिवादी : जिल्ला भक्तपुर, भक्तपुर नगरपालिका वडा नं. १४ घर भई हाल भक्तपुर जिल्ला, कटुन्जे गाउँ विकास समिति वडा नं. ८ बस्ने कृष्णा दुवाल (सुवाल)

 

०६७-CR-०७९२

पुनरावेदक/प्रतिवादी : जिल्ला भक्तपुर, भक्तपुर नगरपालिका वडा नं. १४ घर भई हाल भक्तपुर जिल्ला, कटुन्जे गाउँ विकास समिति वडा नं. ८ बस्ने लक्ष्मीसुन्दर सुवाल 

विरूद्ध

प्रत्यर्थी/प्रतिवादी : बुद्धलक्ष्मी श्रेष्ठको जाहेरीले नेपाल सरकार 

 

श्रीमतीले अंश लिई भिन्न भई बसेको अवस्थामा लोग्नेले अर्को विवाह गर्न पाउने भए पनि अंश लिई छुट्टिभिन्न हुनुअघि नै अर्को विवाह गर्न पाउने छुट कानूनले प्रदान गरेको छैन । अर्को विवाह गरिसकेपछि अंश मुद्दा दिएको वा अंश प्राप्त गरेका कारणले पहिलो श्रीमती छुट्टिभिन्न नहुँदै अर्को विवाह गर्नेले बहुविवाहको कसुरबाट उन्मुक्ति पाउन नसक्ने ।

(प्रकरण नं. ११)

 

वादीको तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता राम घिमिरे

प्रतिवादीको तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपाने

अवलम्बित नजिर : 

नेकाप २०६४, पुस, नि.नं. ७८८४, पृ. १२

सम्बद्ध कानून : 

मुलुकी ऐन, बिहावरीको महलको ९ नं. र १० नं. 

प्रमाण ऐन, २०३१ को दफा २५

फैसला

न्या. रामकुमार प्रसाद शाह : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको प्रस्तुत मुद्दाको सङ्‍‍क्षिप्त तथ्य एवम् ठहर यसप्रकार छ :

लक्ष्मीसुन्दर सुवाल र मेरोबीच २०६०।११।२३ मा सामाजिक परम्परा अनुसार विवाह भएपछि श्रीमान्‌‌ श्रीमती भै बसी घर व्यवहार गर्दै आएकामा निज श्रीमान्‌‌ले दिएको सल्लाह अनुसार जागिरको लागि सोलुखुम्बु जिल्लाको पासाङ्गल्हामु अस्पतालमा कार्यरत रहिरहेकी थिएँ । म जागिरको सिलसिलामा सोलुखुम्बु गई घरमा नभएको अवस्थामा म श्रीमती हुँदाहुँदै बिनाकारण निज श्रीमान्‌‌ले कृष्णा दुवाललाई कान्छी श्रीमती बनाई घरमा ल्याई राखेको कुरा थाहा पाई मिति २०६४।३।१८ गते घरमा आई हेर्दा निजहरू दुवैजना श्रीमान्‌‌ श्रीमती बनी घरमा बसी रहेको अवस्थामा फेला परेकाले कानूनबमोजिम गरिपाउँ भन्नेसमेत व्यहोराको बुद्धलक्ष्मी श्रेष्ठको जाहेरी दरखास्त । 

जाहेरवाली बुद्धलक्ष्मी श्रेष्ठ र प्रतिवादी लक्ष्मीसुन्दर सुवालबीच मिति २०६०।११। २३ गते विवाह भएकामा निज जाहेरवाली आफ्नो घरमा बस्ने र बेलाबेलामा माइती घरमा पनि आउने जाने गर्दै 

थिइन् । श्रीमान्‌‌को सल्लाह अनुसार उनी एक वर्षअगाडि जागिरको सिलसिलामा सोलुखुम्बु जिल्लाको पासाङ्गल्हामु अस्पतालमा काम गर्न गएकीमा निजको श्रीमान्‌‌ लक्ष्मीसुन्दर सुवालले बिनाकारण कृष्णा दुवाललाई कान्छी श्रीमती बनाई घरमा ल्याई राखी बहुविवाह गरेको कुरा ठीक हो । निज जाहेरवाली कुनै दीर्घरोगी छैनन्, प्रतिवादीले अर्को विवाह गर्नुपर्ने कुनै कारणसमेत थिएन भन्नेसमेत व्यहोराको सरिता खाती, तुम्ला गोसाई र रूविना गोसाईले प्रहरीमा गरेको 

कागज । 

लक्ष्मीसुन्दर सुवालले जेठी श्रीमती बुद्धलक्ष्मी श्रेष्ठ छँदाछँदै कृष्णा दुवाललाई कान्छी श्रीमती बनाई बहुविवाह गरेको हो भनी सुस्मिता घिसिङ्गले प्रहरीमा गरेको कागज । 

म र मेरो श्रीमान्‌‌ लक्ष्मीसुन्दर सुवालबीच मिति २०६४।३।९ गते शनिबार भक्तपुर सूर्य विनायक मन्दिरमा टिकाटालो गरी सिन्दुर हाली विवाह भएको हो । मेरो श्रीमान्‌‌ लक्ष्मीसुन्दर सुवालकी अर्की जेठी श्रीमती बुद्धलक्ष्मी श्रेष्ठ पनि छन् भन्ने कुरा मलाई थाहा थिएन । सो कुरा हाल मात्र थाहा पाएको हुँ भन्ने व्यहोराको प्रतिवादी कृष्णा दुवालले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान । 

जाहेरवाली बुद्धलक्ष्मी श्रेष्ठसँग मेरो २०६० साल फागुन महिनामा विवाह भएकामा निज घरमा नबसी मलाई नसोधी नोकरी गर्न गएकी र निजलाई पटकपटक घरमा आउ भनी बोलाउँदा पनि आउँदिन आफ्नो बाटो गर्नु भनेकीले मैले कृष्णा दुवाललाई कान्छी श्रीमती बनाई घरमा ल्याएको हुँ । मेरो घरमा जेठी श्रीमती भएको कुरा कान्छी श्रीमतीलाई बताएको थिएन भन्नेसमेत व्यहोराको प्रतिवादी लक्ष्मीसुन्दर सुवालले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान । 

जाहेरवाली बुद्धलक्ष्मी सुवाल मेरो छोरा लक्ष्मीसुन्दर सुवालकी जेठी श्रीमती हुन् । निज बुहारी घरमा नबसेकीले छोराले कृष्णा भन्ने केटीलाई कान्छी श्रीमती बनाई घरमा ल्याएकामा उनलाई ल्याएको ४-५ दिनपछि नै पक्राउमा परेका हुन् भनी रत्नबहादुर सुवालले प्रहरीमा गरेको कागज । 

प्रतिवादी लक्ष्मीसुन्दर सुवालले मुलुकी ऐन, विहावरीको महलको ९ नं. विपरीत बहुविवाह गरेको र कृष्णा दुवाल (सुवाल) ले ऐ.को १० नं. विपरीत लक्ष्मीसुन्दर सुवालसँग जानीजानी दोस्रो पत्नी भई गएकीले निजहरू दुवैजनालाई सोही महलको १० नं. बमोजिम सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको अभियोगपत्र । 

मैले मिति २०६०।११।२३ मा बुद्धलक्ष्मीसँग विवाह गरेको हुँ । विवाह गरेपछि घरमा २-४ दिन र माइतीमा २-४ दिन बस्ने गर्दथिन् । उनी २०६१ सालमा माइत गएपछि नआएकीले लिन जाँदा तिमी आफ्नो घरबार अर्कैसँग गर, म तिमीसँग बस्दिन, म अर्कैसँग विवाह गर्छु भनी उनी जागिरको सिलसिलामा लुक्ला गइछन् । सो कुरा मैले २०६३ सालमा मात्र थाहा पाएँ र फोनमा कुरा हुँदा मैले विवाह गरेर बसी सकें, तिमीले पनि अर्को विवाह गरे हुन्छ भनेकीले मिति २०६४।३।९ गते कृष्णा दुवाललाई विवाह गरेको हुँ भन्ने व्यहोराको प्रतिवादी लक्ष्मीसुन्दर सुवालले अदालतमा गरेको बयान । 

म र लक्ष्मीसुन्दर सुवालबीच २०६४।३।९ मा सूर्य विनायक मन्दिरमा विवाह भएको हो । हाल हामी दुवैजना लक्ष्मीसुन्दरको घरमा सँगै बसेका 

छौँ । लक्ष्मीसुन्दरसँग मेरो विवाह हुनुअघि निजकी अर्की श्रीमती छन् भन्ने कुरा मलाई थाहा थिएन भन्ने व्यहोराको प्रतिवादी कृष्णा दुवाल (सुवाल) अदालतमा गरेको बयान । 

मेरो लक्ष्मीसुन्दर सुवालसँग २०६०।११।२३ गते विवाह भएको हो । म कामको सिलसिलामा लुक्ला गएको बेलामा उनले २०६४ साल असारमा कृष्णा दुवालसँग अर्को विवाह गरेको थाहा पाएकीले घरमा आएर हेरी बुझी जाहेरी दिएकी हुँ । लक्ष्मीसुन्दरको म जेठी श्रीमती छु भन्ने कुरा कृष्णा दुवाललाई पनि थाहा थियो भन्नेसमेत व्यहोराको जाहेरवाली बुद्धलक्ष्मी श्रेष्ठले अदालतमा गरेको बकपत्र । 

लक्ष्मीसुन्दरले कृष्णा दुवालसँग विवाह गरे नगरेको मलाई थाहा छैन । प्रहरीमा कागज गर्दा जाहेरवाली दीर्घ रोगी छैनन्, जागिरका लागि सोलुखुम्बु गएकी छन् भनेको हो अरू कुरा थाहा छैन भन्नेसमेत व्यहोराको प्रहरीमा कागज गर्ने सरिता खातीले अदालतमा गरेको बकपत्र । 

जाहेरवाली जेठी श्रीमती हुँदाहुँदै लक्ष्मीसुन्दरले कृष्णा दुवालसँग दोस्रो विवाह गरेको भन्ने कुरा प्रतिवादीहरू दुवैजना लक्ष्मीसुन्दरको घरमा सँगै बस्ने गरेकाले थाहा पाएकी हुँ । के कारणले अर्को विवाह गर्नुपरेको हो सो कुरा थाहा छैन भन्नेसमेत व्यहोराको रूविना गोसाईले अदालतमा गरेको बकपत्र । 

लक्ष्मीसुन्दरसँग विवाह गरेपछि जाहेरवाली कामको लागि लुक्ला गै बसेकी हुन् । मसमेत भै निजलाई फोन गर्दा म घरमा आउँदिन, तिमी पनि अर्को विवाह गर भनेर लक्ष्मीसुन्दरलाई भनेकी 

थिइन् । पछि लक्ष्मीसुन्दरले अर्को विवाह गरे नगरेको मलाई थाहा छैन भन्नेसमेत व्यहोराको प्रतिवादी लक्ष्मीसुन्दर सुवालको साक्षी सत्यनारायण ध्वजुले अदालतमा गरेको बकपत्र । 

२०६४ साल जेठ महिनामा मैले कृष्णा र लक्ष्मीसुन्दरसँगै आउँदा भेटी कृष्णालाई यो केटा को हो भनी सोध्दा उनले मेरो केटा साथी हो भनिन् । त्यसपछि हाम्रो भेट भएन । २०६४ साल असार ९ गते उनीहरूले विवाह गरेको कुरा उनी थुनामा बसेको बेलामा मात्र थाहा भयो । कृष्णालाई लक्ष्मीसुन्दरको जेठी श्रीमती छ भन्ने कुरा थाहा थिएन भन्नेसमेत व्यहोराको प्रतिवादी कृष्णा दुवालको साक्षी प्रदिपा दुवालले गरेको बकपत्र । 

किटानी जाहेरी दरखास्त, जाहेरवालीको अदालतसमक्षको बकपत्र, बुझिएका साक्षीको बकपत्रसमेतबाट यी प्रतिवादीहरू कसुरदार होइनन् भन्न मिल्ने नदेखिँदा प्रतिवादीहरू लक्ष्मीसुन्दर सुवाल र कृष्णा दुवाललाई अभियोग माग दावी अनुसार मुलुकी ऐन, विहावरीको महलको १० नं. बमोजिम जनही १ वर्ष कैद र रू.१०,०००।- जरिवानासमेत हुने ठहर्छ भन्ने भक्तपुर जिल्ला अदालतको मिति २०६४।६।९ को फैसला । 

जाहेरवाली बुद्धलक्ष्मी श्रेष्ठसँग विवाह भएपश्चात्‌ म बेरोजगार भएकाले मलाई थाहा नदिई उनी २०६१ सालतिर माइत गएर बसी अर्कैसँग विवाह गरेर बसेकी छु भनी जवाफ दिएकीले म लक्ष्मीसुन्दर सुवालले मिति २०६४।३।९ गते अर्को विवाह गरेको र लक्ष्मीसुन्दर सुवालकी जेठी श्रीमती छन् भन्ने म कृष्णा दुवाललाई थाहा जानकारी नभएकाले परम्परा अनुसार विवाह गरी घरमा श्रीमती भई गएकी हुँदा अभियोग माग दावीबमोजिम कसुरदार ठहर गरी सजायसमेत गरेको भक्तपुर जिल्ला अदालतको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी अभियोग दावीबाट सफाइ पाउँ भन्ने व्यहोराको प्रतिवादीहरूले पुनरावेदन अदालत, पाटनमा दिएको संयुक्त पुनरावेदनपत्र । 

प्रतिवादीमध्येकी कृष्णा दुवाल (सुवाल) ले अधिकारप्राप्त अधिकारी तथा अदालतमा समेत प्रतिवादी लक्ष्मीसुन्दर सुवालकी जेठी श्रीमती भएको कुरा जानाजान कान्छी श्रीमती भै विवाह गरेको भन्ने कुरामा इन्कार रही बयान गरेको अवस्थामा प्रमाण मूल्याङ्कनको रोहमा सुरूको फैसला फरक पर्न सक्ने भएकाले अ.बं. २०२ नं. बमोजिम छलफलको लागि पुनरावेदन सरकारी वकिल कार्यालयलाई सूचना दिई नियमानुसार पेस गर्नु भन्ने पुनरावेदन अदालत, पाटनको मिति २०६६।५।२४ को आदेश । 

प्रतिवादी लक्ष्मीसुन्दर सुवालले जाहेरवालीसँग सहमति लिई अर्को विवाह गरेको हुँ भने पनि सोको कुनै प्रमाण पेस गरी दाबी प्रमाणित गर्न सकेको देखिँदैन । मिसिल संलग्न रहेको जाहेरी दरखास्त, जाहेरवालीको बकपत्र र प्रतिवादीको बयानसमेतबाट घरमा जेठी श्रीमती बुद्धलक्ष्मी श्रेष्ठ छँदाछँदै निजको मन्जुरीबेगर पुनरावेदक/प्रतिवादी लक्ष्मीसुन्दर सुवालले दोस्रो विवाह गरेको देखिन 

आयो । अर्का प्रतिवादी कृष्णा दुवाल (सुवाल) को हकमा विचार गर्दा प्रतिवादीले मौकामा र अदालतसमक्ष बयान गर्दा प्रतिवादी लक्ष्मीसुन्दरको घरमा जेठी श्रीमती छ भन्ने निजले नभनेको र आफूलाई थाहा नभएको भनी उल्लेख गरेको पाइन्छ भने प्रतिवादी लक्ष्मीसुन्दरले आफ्नो बयानमा घरमा जेठी श्रीमती छ भन्ने जानकारी गराएको थिइन भनी उल्लेख गरेबाट यी प्रतिवादीले जानीजानी दोस्रो विवाह गरेकी रहिछन् भन्न मिलेन । तसर्थ माथि उल्लिखित सबुद प्रमाणसमेतबाट प्रतिवादी लक्ष्मीसुन्दर सुवाललाई बहुविवाह गरेको ठहर गरी निजलाई १ वर्ष कैद र रू.१०,०००।-जरिवाना गर्ने गरी भएको फैसला मिलेकै देखिन आयो । अर्का प्रतिवादी कृष्णा दुवाल (सुवाल) ले जानीजानी प्रतिवादी लक्ष्मीसुन्दरसँग दोस्रो विवाह गरेको वस्तुनिष्ठ प्रमाणबाट प्रमाणित हुन नआएको अवस्थामा निजलाई कसुरदार ठहर गरी सजाय गर्ने गरी भएको मिति २०६४।६।९ को फैसला सो हदसम्म मिलेको नदेखिँदा केही उल्टी हुने 

ठहर्छ । प्रतिवादी लक्ष्मीसुन्दर सुवालको पुनरावेदन जिकिर पुग्न सक्तैन भन्ने पुनरावेदन अदालत, पाटनको मिति २०६६।८।११ को फैसला । 

प्रतिवादी लक्ष्मीसुन्दर सुवालकी अर्की श्रीमती छन् भन्ने जानीजानी प्रतिवादी कृष्णा दुवाल (सुवाल) ले निजसँग विवाह गरेको भन्ने किटानी जाहेरी रहेकामा उक्त जाहेरी व्यहोरालाई समर्थन हुने गरी जाहेरवालाले अदालतमा बकपत्र गरेको तथा लक्ष्मीसुन्दरको घर र प्रतिवादी कृष्णा दुवाल (सुवाल) को माइती घर ११/२ कि.मी. को दूरीमा भई त्यति दूरीमा रहेका व्यक्तिको बारेमा नबुझी निजले विवाह गरेको भन्न नसकिने भएकाले निज प्रतिवादी कृष्णा दुवाल (सुवाल) लाई सफाइ दिने ठहर्‍याएको पुनरावेदन अदालत, पाटनको फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी अभियोग दावीबमोजिम सजाय गरिपाउँ भन्ने व्यहोराको वादी नेपाल सरकारले यस अदालतमा दिएको पुनरावेदनपत्र । 

विवाह गरेको २-४ दिनमा नै माइत गई जागिर खान लुक्ला गएकी जाहेरवालीले घर परिवारको हेरविचार नगरेकी, जाहेरवालीबाट सन्तान नभएको तथा निजले मलाई अर्को विवाह गर्न सहमति दिएकीसमेतका कारणले दोस्रो विवाह गरेको हुँ । हाल जाहेरवालीले मेरा विरूद्ध अंश मुद्दासमेत दिइसकेकी हुँदा पुनरावेदन अदालत, पाटनको फैसला उल्टी गरी अभियोग दाबीबाट सफाइ पाउँ भन्ने व्यहोराको प्रतिवादी लक्ष्मीसुन्दर सुवालको पुनरावेदनपत्र । 

नियमबमोजिम दैनिक पेसीसूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी पुनरावेदक/वादीतर्फका विद्वान् उपन्यायाधिवक्ता राम घिमिरेले प्रतिवादीहरू लक्ष्मीसुन्दर सुवालको घर र कृष्णा दुवाल (सुवाल) को माइती घर ११/२ कि.मी. को दूरीमा रहेकाले त्यति दूरीमा बस्ने व्यक्तिहरूबीच विवाह हुनुअघि पहिले विवाह गरेको थियो थिएन भन्ने कुरा थाहा नपाउने अवस्था हुँदैन । प्रतिवादी कृष्णा दुवाल (सुवाल) ले प्रतिवादी लक्ष्मीसुन्दरकी अर्की श्रीमती छन् भन्ने जानीजानी विवाह गरेकी हुन् भनी जाहेरवालीले जाहेरी व्यहोरालाई समर्थन गरी अदालतमा बकपत्रसमेत गरेकी हुँदा निज प्रतिवादी कृष्णा दुवाल (सुवाल) लाई सफाइ दिएको पुनरावेदन अदालत, पाटनको फैसला मिलेको छैन भनी बहस गर्नुभयो । यस्तै प्रतिवादी लक्ष्मीसुन्दर सुवालका तर्फबाट विद्वान् वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले जाहेरवाली नोकरीको लागि बाहिर गएको कुरामा विवाद छैन । घर बाहिर जागिरमा जाने श्रीमतीले घरको हेरचाह र रेखदेख गर्न सक्तैन । जाहेरवालीले प्रतिवादी लक्ष्मीसुन्दरलाई अर्को विवाह गर्न सहमति दिएको भन्ने प्रतिवादीका साक्षीको बकपत्रसमेतबाट देखिएको छ । जाहेरवालीले प्रतिवादी लक्ष्मीसुन्दर (सुवाल) उपर अंश मुद्दा दिई सो मुद्दामा जाहेरवालीले अंश पाउने गरी मिलापत्रसमेत भइसकेको अवस्था हुँदा मुलुकी ऐन, बिहावारीको महलको ९ नं. बमोजिम निज प्रतिवादीले सफाइ पाउने अवस्था हुँदा निजलाई कसुरदार ठहर्‍याएको पुनरावेदन अदालत, पाटनको फैसला मिलेको छैन भनी बहस गर्नुभयो । 

घरमा जेठी श्रीमती हुँदाहुँदै प्रतिवादीहरूले मुलुकी ऐन, बिहावरीको महलको ९ नं. र १० नं. विपरीत विवाह गरेका हुँदा निजहरूलाई सोही महलको १० नं. बमोजिम सजाय गरी पाउन माग दावी लिई अभियोगपत्र दायर भएकामा भक्तपुर जिल्ला अदालतले उक्त महलको १० नं. बमोजिम दुवैजना प्रतिवादीहरूलाई जनही एक वर्ष कैद र रू.१०,०००।- जरिवाना हुने ठहर्‍याई फैसला गरेकामा पुनरावेदन अदालत, पाटनबाट भक्तपुर जिल्ला अदालतको उक्त फैसला केही उल्टी गरी प्रतिवादीमध्येकी कृष्णा दुवाल (सुवाल) ले आरोपित कसुरबाट सफाइ पाउने तथा अर्का प्रतिवादी लक्ष्मीसुन्दर सुवालको हकमा भक्तपुर जिल्ला अदालतको फैसला सदर हुने ठहर्‍याई फैसला गरेउपर वादी नेपाल सरकार र प्रतिवादी लक्ष्मीसुन्दर सुवालका तर्फबाट अलगअलग पुनरावेदन पर्न आएको छ । 

२. निर्णयतर्फ विचार गर्दा प्रतिवादी लक्ष्मीसुन्दर सुवाल र जाहेरवाला बुद्धलक्ष्मी सुवालबीच २०६०।११।२३ मा विवाह भएको र निजहरूबीच सम्बन्ध विच्छेद नभई तथा अंश लिई छुट्टिभिन्न पनि नभई मिति २०६४।९।३ मा यी प्रतिवादी लक्ष्मीसुन्दर सुवालले कृष्णा दुवाल (सुवाल) लाई अर्को विवाह गरेको कुरामा विवाद छैन । 

३. सर्वप्रथम प्रतिवादी लक्ष्मीसुन्दरकी कान्छी पत्नी कृष्णा दुवाल (सुवाल) लाई सफाइ दिने ठहर्‍याएको पुनरावेदन अदालतको फैसला मिलेको छैन भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिर सम्बन्धमा हेर्दा यी प्रतिवादी कृष्णा दुवाल (सुवाल) र प्रतिवादी लक्ष्मीसुन्दरको बीचमा विवाह हुनुअघि यी प्रतिवादीलाई लक्ष्मीसुन्दरकी पहिलो श्रीमती भएको कुरा थाहा हुँदाहुँदै निजसँग दोस्रो विवाह गरी विहावरीको महलको १० नं. विपरीतको कसुर गरेकाले सोही नं. बमोजिम सजाय गरिपाउँ भन्ने अभियोग दाबी रहेको छ । तर प्रतिवादी कृष्णाले आफूले लक्ष्मीसुन्दर सुवालसँग विवाह गर्नुअघि निज लक्ष्मीसुन्दरले जाहेरवालीसँग विवाह गरिसकेको भन्ने कुरा थाहा नभएको भनी अनुसन्धान अधिकारी र अदालतमा समेत बयान गरेकी छन् । यस्तै लक्ष्मीसुन्दर सुवालले पनि आफूले जाहेरवालीसँग पहिले नै विवाह गरिसकेको कुरा प्रतिवादी कृष्णालाई भनेको थिएन भन्ने व्यहोरा उल्लेख गरी अनुसन्धान अधिकारी र अदालतमा समेत बयान गरेको देखिएको छ । मौकामा बुझिएका सरिता खाती, रूविना गोसाईसमेतले अदालतमा आई बकपत्र गर्दा लक्ष्मीसुन्दरकी पहिलो श्रीमती भएको कुरा थाहा हुँदाहुँदै यी प्रतिवादीले निज लक्ष्मीसुन्दरसँग विवाह गरेको भनेका छैनन् भने प्रतिवादीकी साक्षी प्रदीपा दुवालले अदालतमा बकपत्र गर्दा पनि यी प्रतिवादीलाई लक्ष्मीसुन्दरकी अर्की श्रीमती भएको कुरा थाहा थिएन भनी लेखाएको पाइन्छ । 

४. प्रमाण ऐन, २०३१ को दफा २५बमोजिम प्रतिवादीउपरको कसुर प्रमाणित गर्ने भार वादीमा रहने हुन्छ तर प्रतिवादीहरूले अनुसन्धान अधिकारी र अदालतमा गरेको बयान, वस्तुस्थिति मुचुल्काका व्यक्तिले अदालतमा आई गरेको बकपत्र तथा प्रतिवादीका साक्षीले अदालतमा गरेको बकपत्रसमेतबाट लक्ष्मीसुन्दर सुवालकी अर्की श्रीमती छन् भन्ने जानीजानी प्रतिवादी कृष्णा दुवाल (सुवाल) ले लक्ष्मीसुन्दर सुवालसँग विवाह गरेको भन्ने कुरा वादीले तथ्यपूर्ण एवम् निश्चयात्मक प्रमाणबाट प्रमाणित गर्न सकेको देखिन आउँदैन । 

५. जहाँसम्म प्रतिवादी लक्ष्मीसुन्दरको घर र कृष्णाको माइती घरको दूरी ११/२ कि.मी. को फरकमा रहेकाले यी प्रतिवादीलाई लक्ष्मीसुन्दरको विवाह पहिले नै भइसकेको थाहा थियो भन्ने पुनरावेदन जिकिर छ त्यस सम्बन्धमा हेर्दा प्रतिवादीले अनुसन्धान अधिकारीसमक्ष आफू विवाहअघि लक्ष्मीसुन्दरको घर गएको थिइन भनी बयान गरेकी छन् । विवाहअघि पनि प्रतिवादी लक्ष्मीसुन्दरको घरमा आउजाउ गर्ने गरेको भन्ने कुनै पनि तथ्यपूर्ण प्रमाण वादी पक्षबाट पेस हुन सकेको पनि देखिँदैन । ११/२ कि.मी. को दूरीमा घर हुने व्यक्तिहरूका बीचको पारिवारिक र वैवाहिक स्थितिका बारेमा एक अर्कालाई जानकारी हुन्छ भन्ने कुरा त्यस्ता व्यक्तिहरू बीचको सम्पर्क र सम्बन्धले निर्धारण गर्ने कुरा हो । कतिपय अवस्थामा धेरै टाढाको दूरीमा घर वा बसोवास भएका व्यक्तिहरूका बीचको पारिवारिक एवम् वैवाहिक सम्बन्धको बारेमा जानकारी हुने गर्दछ भने कतिपय अवस्थामा नजिकको दूरीमा घर वा बसोवास भएका व्यक्तिहरूका बीचको पारिवारिक एवम् वैवाहिक सम्बन्धका बारेमा जानकारी नहुन सक्दछ । यस्तो कुरा जिकिर लिने पक्षले नै तथ्ययुक्त प्रमाण पेस गरी प्रमाणित गर्न सक्नुपर्दछ । तर मिसिलबाट उक्त तथ्य प्रमाणित हुने कुनै पनि किसिमको प्रमाण वादीले पेस गर्न सकेको देखिन आउँदैन । मिसिलबाट प्रमाणित हुन नसकेको तथ्यलाई पुनरावेदकले पुनरावेदन जिकिर लिएको भरमा अथवा अनुमान र कल्पनाका भरमा मात्र कसुरदार ठहर गर्ने आधार बनाउनु कानून र न्यायसङ्गत नहुने हुँदा पुनरावेदकको उक्त पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन । 

६. यसरी प्रतिवादी कृष्णा दुवाल (सुवाल) ले प्रतिवादी लक्ष्मीसुन्दर सुवालकी अर्की श्रीमती छन् भन्ने जानीजानी निजसँग विवाह गरेको ठोस र तथ्ययुक्त प्रमाण वादीतर्फबाट पेस हुन सकेको नदेखिँदा स्पष्ट र तथ्यपूर्ण प्रमाणको अभावमा निज प्रतिवादी कृष्णा दुवाल (सुवाल) लाई सफाइ दिने ठहर्‍याएको पुनरावेदन अदालतको फैसला मिलेकै देखिँदा परिवर्तन गरिरहन परेन । 

७. अब पुनरावेदक/प्रतिवादी लक्ष्मीसुन्दर सुवालको हकमा विचार गर्दा निजले आफूले जाहेरवालीसँग विवाह गरेपछि निज जाहेरवाली प्राय: माइतीमा नै बस्ने गरेकी, आफ्नो स्वीकृतिबेगर अन्य जिल्लामा जागिर खान गई आफूलाई अर्को विवाह गरे हुन्छ भनी अर्को विवाह गर्न सहमति दिएकीले अर्को विवाह गरेको भन्ने प्रतिवादी लक्ष्मीसुन्दर सुवालले अनुसन्धान अधिकारी र अदालतमा समेत बयान गरेको देखिएको छ । 

८. प्रस्तुत मुद्दामा प्रतिवादीउपर मुलुकी ऐन, विहावरीको ९ नं. को कसुरको अभियोग रहेको र विहावरीको ९क. बमोजिम पहिलो श्रीमतीको सहमतिमा अर्को विवाह गरेको भन्ने प्रतिवादीको जिकिर रहेको परिप्रेक्ष्यमा उक्त नं. मा भएको कानूनी व्यवस्था उद्धृत गर्नु सान्दर्भिक हुन आउँछ :

विहावरीको ९ नं. - देहायका अवस्थामा बाहेक लोग्ने मानिसले आफ्नी स्वास्नी जीवित छँदै वा कानूनबमोजिम लोग्ने स्वास्नीको सम्बन्ध विच्छेद नहुँदै अर्की स्वास्नी मानिससँग विवाह गर्न वा अर्की स्वास्नी राख्न हुँदैन ।

स्वास्नीलाई यौनसम्बन्धी कुनै सरूवा रोग भई निको नहुने भएमा ...............१

स्वास्नी निको नहुने गरी बौलाएमा ......१

स्वास्नीको कारणबाट सन्तान नभएको भन्ने नेपाल सरकारबाट मान्यताप्राप्त मेडिकल बोर्डबाट प्रमाणित भएमा .......१

स्वास्नी हिँडडुल गर्न नसक्ने गरी कुँजी भएमा .........................................१

स्वास्नी दुवै आँखा देख्न नसक्ने अन्धी भएमा .........................................१

अंश बन्डाको महलको १० नं. बमोजिम स्वास्नीले अंश लिई भिन्न बसेमा .......१

 

विहावरीको ९क नं. - यसै महलको ९ नं. बमोजिम विवाह गर्दा स्वास्नी निको नहुने गरी बौलाएको र अंश लिई छुट्टिभिन्न बसेकामा बाहेक अन्य अवस्थामा स्वास्नीको सहमति लिनुपर्नेछ ।

९. उक्त ९ र ९क नं.मा भएको व्यवस्था अनुसार स्वास्नी निको नहुने गरी बौलाएमा वा अंश लिई छुट्टिभिन्न भएको अवस्थामा मात्र लोग्नेलाई स्वास्नीको सहमतिबिना अर्को विवाह गर्ने छुट कानूनले प्रदान गरेको छ । तर निको नहुने यौनसम्बन्धी कुनै सरूवा रोग भएमा, स्वास्नीको कारणबाट सन्तान नभएको भन्ने नेपाल सरकारबाट मान्यता प्राप्त मेडिकल बोर्डबाट प्रमाणित भएमा, हिडँडुल गर्न नसक्ने गरी कुँजी भएमा र दुवै आँखा देख्न नसक्ने अन्धी भएको स्थितिमा भने स्वास्नीको सहमति लिएर मात्र लोग्नेले अर्को विवाह गर्न पाउने हुन्छ ।

१०. प्रस्तुत मुद्दामा एकातिर माथि उल्लेख भएबमोजिम जाहेरवालीलाई निको नहुने यौनसम्बन्धी कुनै सरूवा रोग भएको, निजको कारणबाट सन्तान नभएको भन्ने नेपाल सरकारबाट मान्यता प्राप्त मेडिकल बोर्डबाट प्रमाणित भएको, निज हिँडडुल गर्न नसक्ने गरी कुँजी भएको वा दुवै आँखा देख्न नसक्ने अन्धी भएको स्थिति र अवस्था नभई जाहेरवालीको सहमति भए पनि यी प्रतिवादीले अर्को विवाह गर्न पाउने अवस्था नै देखिएको छैन भने अर्कोतिर प्रतिवादीलाई अर्को विवाह गर्नका लागि निजको पहिलेकी श्रीमती एवम् जाहेरवालीले सहमति दिएको पनि कहीँ कतैबाट देखिँदैन । प्रतिवादीकी पहिलो श्रीमती अर्थात्‌ जाहेरवाली निको नहुने गरी बौलाएको वा निजले अंश लिई छुट्टिभिन्न भएको अवस्था पनि देखिएको छैन । यसरी विहावरीको महलको ९ नं. र ९क. नं. मा वर्णित कुनै पनि अवस्था विद्यमान नरहँदानरहँदै पनि जेठी श्रीमती बुद्धलक्ष्मीसँग वैवाहिक सम्बन्ध कायम छँदाछँदै कृष्णा दुवाल (सुवाल)लाई विवाह गर्ने प्रतिवादीको कार्य उक्त ९ नं. विपरीतको कसुरजन्य कार्य देखिन आयो । 

११. प्रतिवादीतर्फका विद्वान् वरिष्ठ अधिवक्ताले जाहेरवालीले प्रतिवादीका विरूद्ध अंश मुद्दा दिई सो मुद्दामा अंश पाउने गरी मिलापत्रसमेत भइसकेको हुँदा विहावरीको महलको ९ नं. बमोजिम सफाइ पाउनुपर्छ भनी बहस गर्नु भएको छ । उक्त महलको ९ नं.मा “अंश बन्डाको महलको १० नम्बरबमोजिम स्वास्नीले अंश लिई भिन्न बसेमा” अर्को विवाह गर्न पाउने व्यवस्था रहेको छ । श्रीमतीले अंश लिई भिन्न भई बसेको अवस्थामा लोग्नेले अर्को विवाह गर्न पाउने भए पनि अंश लिई छुट्टिभिन्न हुनुअघि नै अर्को विवाह गर्न पाउने छुट कानूनले प्रदान गरेको 

छैन । अर्को विवाह गरिसकेपछि अंश मुद्दा दिएको वा अंश प्राप्त गरेका कारणले पहिलो श्रीमती छुट्टिभिन्न नहुँदै अर्को विवाह गर्नेले बहुविवाहको कसुरबाट उन्मुक्ति पाउन सक्तैन । 

१२. यसै सन्दर्भमा रहेको नेपाल सरकार विपक्षी कुमार थपलिया भएको बहुविवाह मुद्दामा “विहावरीको महलको ९ नं.ले स्वास्नी मानिसले अंश मुद्दा दायर गर्दैमा लोग्नेले अर्को विवाह गर्न पाउने छुट दिएको छैन । ... यदि अंश मुद्दा परेको छ भने अंश पाउने ठहरी भएको फैसला कार्यान्वित भएर अंश छुट्ट्याई सकेपछि मात्र त्यस्ती स्वास्नीले “अंश लिई भिन्न बसेको” भन्न र मान्न सकिन्छ । त्यो भन्दा अगावै अर्को पक्ष अर्थात्‌ लोग्नेको सुविधा र पारिवारिक वा अन्य आवश्यकतालाई औचित्यको मापदण्ड बनाएर “अंशमा नालिस परेको” वा “त्यसै अलग बसेको” वा “मानो छुट्टिएर अलग बसेको” अवस्थालाई अंश लिई भिन्न बसेको भनेर मान्न वा विहावरीको ९ नं. को विस्तारित व्याख्या गर्न नमिल्ने” भनी (नेकाप २०६४, पुस, नि.नं. ७८८४, पृ. १२६८) यस अदालतबाट भएको ब्याख्या प्रस्तुत मुद्दामा पनि आकर्षित र सान्दर्भिक देखिन आउँछ ।  

१३. यसरी मुलुकी ऐन, विहावरीको महलको ९ र ९क नं.मा भएको कानूनी व्यवस्था तथा यस अदालतबाट प्रतिपादित सिद्धान्तसमेतका आधारमा प्रतिवादी लक्ष्मीसुन्दर श्रेष्ठले निजकी श्रीमती एवम् जाहेरवाली बुद्धलक्ष्मी श्रेष्ठसँग सम्बन्ध विच्छेद नगरी तथा निजले अंश लिई छुट्टिभिन्न नहुँदै वैवाहिक सम्बन्ध कायम रहँदारहँदै कृष्णा दुवाल (सुवाल) सँग अर्को विवाह गरेको देखिन आएकाले निज प्रतिवादी लक्ष्मीसुन्दर श्रेष्ठलाई कसुरदार ठहर गरी सोही महलको १० नं. बमोजिम सजायसमेत हुने ठहर्‍याएको पुनरावेदन अदालत, पाटनको फैसला मिलेको देखिन आयो । 

१४. तसर्थ, माथि विवेचित आधार र प्रमाणहरूबाट प्रतिवादी कृष्णा दुवाल (सुवाल) ले प्रतिवादी लक्ष्मीसुन्दर श्रेष्ठकी अर्की श्रीमती भएको कुरा जानीजानी निजसँग विवाह गरेको कुनै पनि प्रमाणबाट देखिन नआएकाले निजलाई आरोपित कसुरबाट सफाइ दिने र अर्का प्रतिवादी लक्ष्मीसुन्दर श्रेष्ठले जेठी श्रीमती हुँदाहुँदै र निजहरूबीच सम्बन्ध विच्छेद नभई तथा अंश लिई भिन्न नहुँदै प्रतिवादी कृष्णा दुवाल (सुवाल) लाई दोस्रो विवाह गरेको देखिएकाले निजलाई मुलुकी ऐन, विहावरीको महलको ९ नं. को कसुरमा सोही महलको १० नं. बमोजिम १(एक) वर्ष कैद र रू.१०,०००।- (दशहजार) जरिवाना हुने ठहर्‍याई पुनरावेदन अदालत, पाटनबाट मिति २०६६।८।११मा भएको फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक/वादी नेपाल सरकार र पुनरावेदक/प्रतिवादी लक्ष्मीसुन्दर सुवालको पुनरावेदन जिकिर पुग्न सक्तैन । अरूमा तपसिलबमोजिम गर्नू । 

तपसिल

प्रतिवादी लक्ष्मीसुन्दर सुवालके, माथि इन्साफ खण्डमा लेखिएबमोजिम निज प्रतिवादीलाई विहावरीको महलको १० नं. बमोजिम १ वर्ष कैद र रू.१०,०००।– जरिवाना हुने ठहर्‍याएको पुनरावेदन अदालत, पाटनको फैसला सदर हुने ठहरी फैसला भएकाले निज मिति २०६४।३।२१ गतेदेखि २०६४।३।३२ गतेसम्म जम्मा ११(एघार) दिन पुर्पक्षको निमित्त थुनामा रहेको देखिँदा उक्त पुर्पक्षको निमित्त थुनामा रहेको अवधि अ. बं. १२० नं. बमोजिम मिनाहा दिई बाँकी १ वर्ष ९ महिना १९ दिन कैद र रू. १०,०००।– जरिवानासमेत निजबाट असुल गर्नू, असुल हुन नसके निज रत्नबहादुर सुवालका नाउँको जिल्ला भक्तपुर, छालिङ गाउँ विकास समिति वडा नं. ४ कि.नं. १५५१ को ०-१५-१-० जग्गा जेथा राखी तारिखमा रहेको देखिँदा सोही जेथाबाट कानूनबमोजिम असुलउपर गर्नु भनी सुरू भक्तपुर जिल्ला अदालतमा लेखी पठाउनू .१

निज प्रतिवादी लक्ष्मीसुन्दर सुवाललाई लागेको कैद र जरिवाना असुलउपर भएपछि निजले जेथाबापत राखेको उक्त जग्गा फुकुवा गरी दिनु भनी सुरू भक्तपुर जिल्ला अदालतमा लेखी पठाउनू .......................२

प्रतिवादी कृष्णा दुवाल (सुवाल) ले अभियोग दावीबाट सफाइ पाउने ठहरी फैसला भएकाले निजको हकमा थप अरू केही गरिरहन परेन ..............................३

फैसलाको जानकारी महान्यायाधिवक्ताको कार्यालयलाई दिई दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनू ...................................४

 

उक्त रायमा सहमत छु ।

न्या. कल्याण श्रेष्ठ 

 

इति संवत् २०७१ साल वैशाख २३ गते रोज ३ शुभम् 

इजलास अधिकृत: किशोर घिमिरे

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु