शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९३४२ - लिखत बदर मिलापत्र बदर

भाग: ५७ साल: २०७२ महिना: जेष्ठ अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ

माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय

फैसला मिति : २०७१।२।१९।२

०६६-CI-०५७८

 

मुद्दा : लिखत बदर मिलापत्र बदर ।

 

पुनरावेदक/वादी : जिल्ला सप्तरी, पोर्ताहा गा.वि.स. वडा नं. ५ हाल ऐ. वडा नं. १ बस्ने दिनाई माझी 

विरूद्ध

प्रत्यर्थी/प्रतिवादी : जिल्ला सप्तरी, पोर्ताहा गा.वि.स. वडा नं. ३ बस्ने बेचन खडगासमेत 

वादीले आफूले राजीनामा गरी लिएको जग्गामा दोहोरो तेहोरो लिखत खडा भइसकेकामा थाहा नपाएको भनी २०३३ साल र २०४५ सालमा पारित लिखतलाई बदर गरी माग्न मिति २०५८/१/२३ मा उक्त कार्यहरूको नक्कल सारी थाहा भएको भनी मिति २०५८/१/२५ मा मात्रै फिराद लिई अदालत प्रवेश गरेको 

देखिन्छ । यस्तो अवस्थामा वादी कानूनले निर्धारण गरेको हदम्यादभित्र अदालत प्रवेश गरेको भन्न नमिल्ने ।

(प्रकरण नं. ३)

मुद्दामा दोहोरो लिखतको मात्रै प्रश्न नरही तेस्रो लिखत खडा भई तेस्रो व्यक्तिले  वादीदावीको जग्गामा घर निर्माणसमेत गरी बसिसकेको कुरालाई एकै ठाउमा बसोवास गर्ने वादीलाई थाहा जानकारी नै भएन  होला भन्ने कुरा पनि विश्वासयोग्य नदेखिई आफूले लिएको जग्गामा दोहोरो तेहोरो लिखत खडा भइसकेकामा कानूनमा उजुर गर्ने हदम्याद निश्चित भइरहेकोलाई सो विषयमा जहिलेसुकै उजुर गर्न मिल्छ भन्ने अर्थ गरी हदम्याद नघाई फिराद गर्न आउने वादीलाई कानूनले जहिलेसुकै पनि सहयोग गर्न सक्छ भन्न मिल्दैन । आफ्नो सम्पत्ति नोक्सान भएकामा पनि समयमै नालिस गरी उपचार माग्न नजानेलाई कानूनले पर्खिरहन नसक्ने । 

अमूक कुरामा नालिस गर्नको लागि कानूनमा निश्चित भएको हदम्यादलाई व्यक्तिको सुविधालाई हेरेर खुम्च्याउन र विस्तार गर्न सकिने कुरा पनि हुँदैन । हदम्यादको सिद्धान्त अनिश्चिततातर्फ नभई निश्चिततातर्फ नै लक्षित रहेको हुन्छ । लेनदेन व्यवहारको महलको ४० नं. को व्यवस्था प्रस्तुत मुद्दामा आकर्षित नहुने भन्न मिल्दैन । आफूले २०३३ सालमा राजीनामा गरी लिएको जग्गा सोही सालमा दोस्रो व्यक्तिलाई र दोस्रो व्यक्तिले पनि २०४५ सालमा लिखत गरी तेस्रो व्यक्तिलाई बिक्री गरी सो जग्गामा तेस्रो व्यक्तिले घर निर्माण गरी सक्दा पनि उक्त कुरा धेरैपछि मात्रै थाहा भएको भन्ने वादीको भनाइको आधारमा लिखत भए गरेको मितिले २ वर्षभित्र नालिस गरी सक्नुपर्ने लेनदेन व्यवहारको महलको ४० नं.को हदम्याद पनि सोही वादीलाई सुविधा हुने गरी विस्तारित हुँदै जाने भन्ने कुरा पनि नहुने ।

(प्रकरण नं. ४)

मुलुकी ऐन, लेनदेन व्यवहारको महलको २५ नं. ले हदम्यादविहीन अवस्थाको परिकल्पना गरेको छैन । अनिश्चित र अनन्त कालसम्म पनि आफूलाई असर परेको कुरामा इन्साफ माग्न नआउने पक्षले आफैँले आफैँलाई जोखिममा राखेको हुन्छ । यस्तो अवस्थामा त्यस्तो व्यक्तिको हकमा कानून जहिलेसुकै असहाय नै बन्नेगर्छ । यसकारण वादीले पाएको ०–३–८ जग्गामध्ये दक्षिणतर्फको ०–२–१२–० जग्गाको सम्बन्धमा २०४५ सालबाट लेनदेन व्यवहारको महलको ४० नं. अनुसार २ वर्षको हदम्यादभित्र नालिस नगरी हदम्याद नघाई फिराद गर्न आएको देखिएकोलाई सो हदसम्मको फिरादावी खारेज गरेको सुरूको निर्णयलाई सदर गरेको पुनरावेदन अदालतको इन्साफलाई अन्यथा भन्न नमिल्ने । 

(प्रकरण नं. ५)

जग्गा पजनीको महलको २(क) को कानूनी व्यवस्थाअनुसार दाताको दर्ता हक कायम रहेसम्म निजको नामबाट जहिलेसुकै दा.खा. नामसारी गरी माग्नलाई नालिस गर्ने हदम्याद कायम रहने भन्ने हो । तर यो कानूनी व्यवस्थाको अर्थ दाताबाट अर्कै व्यक्तिको नाममा जग्गा हक हस्तान्तरण भई दर्ता स्रेस्ता अर्कै व्यक्तिको नाममा बनिसकेको अवस्थामा पनि जहिलेसुकै उक्त जग्गामा दावी गरी दा.खा. दर्ता गरी माग्न जाने गरी हदम्यादको विस्तार भएको छ भन्न  नमिल्ने । 

(प्रकरण नं. ६)

 

पुनरावेदक/वादीको तर्फबाट : विद्वान् अधिवक्ता खम्बबहादुर खाती

प्रत्यर्थी/प्रतिवादीको तर्फबाट : 

अवलम्बित नजिर : 

सम्बद्ध कानून : 

लेनदेन व्यवहारको महलको २५, २७, २८ र ४० नं. 

 

सुरू तहमा फैसला गर्ने :

मा.जि.न्या. श्री चण्डीराज ढकाल

पुनरावेदन तहमा फैसला गर्ने : 

मा.मु.न्या. श्री शारदा श्रेष्ठ

  मा.न्या. श्री लक्ष्मणमणि रिसाल

फैसला

न्या. कल्याण श्रेष्ठ : पुनरावेदन अदालत, राजविराजको मिति २०६०/३/९ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन दायर हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य र ठहर देहायबमोजिम छ :

तथ्य खण्ड :

फिरादपत्रको सङ्क्षिप्त व्यहोरा : 

म फिरादी दिनाई माझीले विपक्षी महेन्द्र, सुरेन्द्र, वीरेन्द्रका स्व.बाबु दानी खिडहरीबाट मिति २०३३/१२/५ मा र.नं. १६७३ बाट निज दानी नाउँदर्ताको जिल्ला सप्तरी, गा.वि.स. पोर्ताहा वडा नं. २ को कि.नं. ५ को ०–१२–५ मध्येबाट 

०–३–८ जग्गा थैली रू.४,०००।– तिरी मा.पो.का. बाट राजीनामा पास गराई भोग चलन गरी आएको दा.खा. गराउने कार्य बाँकी   थियो । सोही जग्गा विपक्षी महेन्द्र, सुरेन्द्र, वीरेन्द्रका स्व. बाबु दानी खिडहरीले विपक्षी बेचन खडगालाई २०३३/१२/१० मा र.नं. १७५५ थैली रू.५,०००।– राखी राजीनामा गरी दिए र बेचन खडगाले जानीजानी दोहरो लिखत गराई लिएको कुरा थाहा भएन । उल्लिखित ०–३–८ जग्गामध्ये ०–२–१२ जग्गा बेचनलाई राजीनामा गरी दिएको र बाँकी ०–०–१६ जग्गा वादी महेन्द्र खिडहरी प्रतिवादी सुरेन्द्र, वीरेन्द्रसमेत भएको सा.दे.नं. २१२० को अंश दर्ता मुद्दा अंश लिई दिई मिलापत्र गरेको उक्त राजीनामामा भोग गरी आएको दा.खा. गर्न बाँकी रहेको हुँदा जग्गा पजनीको महलको २(क) नं. अनुसार दा.खा. जहिलेसुकै गरी लिने हुँदा मालपोत कार्यालय, सप्तरीमा २०५७/१०/१६ मा द.नं. १८००३ मा राजीनामाबमोजिमको जग्गा दा.खा. दर्ता गरी ज.ध. दर्ता प्रमाणपुर्जा पाउँ भनी मिति २०५८/१/५ मा दिएको निवेदनमा आदेश हुँदा सो जग्गा हाल ऋणीको नाउँमा नरहेकाले दा.खा. दर्ता गर्न नमिल्ने भनी आदेश भएको रहेछ । सो आदेशको नक्कल २०५८/१/९ गते लिँदा थाहा भएको हुँदा वास्तवमा के भएको हो पत्ता लगाउँदा र.नं. १७५५ को राजीनामाको नक्कल २०५८/१/२३ मा र वादी महेन्द्र खिडहरी यादव प्रतिवादी सुरेन्द्र खिडहरीसमेत भएको सा.दे.नं. २१२० को अंश दर्ता मुद्दामा २०५६/११/२९ मा भएको मिलापत्रको नक्कल मिति २०५८/१/९ मा लिँदा र बेचन खडगाले सोही जग्गा रूकमिनिया राउतलाई २०४५/१/७ मा र.नं. ३२५२ बाट बिक्री गरेको राजीनामाको नक्कल २०५८/१/२३ मा लिँदा थाहा पाई अन्यायमा परी फिराद गर्न आएको  छु । साथै कि.नं. ५ को कि.का. भई बाँकी कित्ताको मिलापत्र मेरो हकसम्म बदर गरी २०३३/१२/५ मा र.नं. १६७३ बमोजिमको जग्गा कायम हुने गरी लिखत बदर मिलापत्र बदर गरी मेरा नाउँमा दा.खा. दर्ता हुने गरी हक इन्साफ गरिपाउँ र जानी बुझी राजीनामा गराई लिने दिने अन्य विपक्षीहरूलाई कानूनबमोजिम दण्ड सजाय गरिपाउँ ।

 

प्रतिवादी रूकमिनिया देवी राउतको प्रतिउत्तरको सङ्‌क्षिप्त व्यहोरा : 

एक व्यक्तिको लिखत बदर र अर्को व्यक्तिको मिलापत्र बदर एउटै मुद्दामा लेखी मुद्दा दायर गरिएको छ । यस मुद्दामा ०–२–१२ को लागि लिखत बदर म प्रतिवादी रूकमिनिया राउतउपर र अंश मुद्दाको मिलापत्र बदरको लागि प्रतिवादीमध्येका महेन्द्र, वीरेन्द्र र सुरेन्द्रउपर दायर गरेको देखिन्छ । यी दुवै मुद्दा एउटै फिरादबाट हेर्न मिल्दैन । छुट्टाछुट्टै निर्णय भएको छ, व्यक्ति पनि अलगअलग, मिति पनि अलगअलग, जग्गा, सम्पत्ति पनि अलगअलग, मुद्दाको विषय पनि अलग रहेको पाइन्छ । हदम्याद विहीन छ र प्रतिवादीले साविक जग्गाधनी बेचन खडगाबाट रू.५,०००।– मा बेचन नाउँ दर्ताको जि.स., गा.वि.स. पोर्ताहा वडा नं. २ को कि.नं. १९५ को ०–२–१२ जग्गा २०४५/१/७ मा र.नं. ३२५२ बाट राजीनामा गरी लिएको जग्गा विपक्षीको होइन । कि.नं. १९५ को जग्गा विपक्षीको हो भन्ने प्रमाणित पनि विपक्षीले गर्न सकेका 

छैनन् । साविक जग्गाधनी र हाल मैले जग्गा खरिद गरी भोग चलन गरी घर बनाई बसोवास गरिआएको कुरा विपक्षीलाई जग्गा खरिद गरेदेखि नै थाहा छ । थाहा हुँदाहुँदै पनि उक्त जग्गा विपक्षीको भए त्यसै समयमा दा.खा. गराउनुपर्ने मैले भोग चलन गरी आएकामा सोउपर कारवाही चलाउनुपर्ने सोसमेत केही नगरी थाहा जानकारी हुँदाहुँदै लेनदेन व्यवहारको महलको ३५ नं. बमोजिम म्याद नाघेपछि आएको फिरादबाट लिखत बदर हुने अवस्था छ । फिराद खारेज गरिपाउँ । 

 

प्रतिवादी बेचन खडगाले सप्तरी जिल्ला अदालतमा दिएको प्रतिउत्तरको सङ्‌क्षिप्त व्यहोरा :

म प्रतिवादी बेचनले उक्त जग्गाको लिखत पास गरिसकेपश्चात्‌ भोग चलन गर्न जाँदा जग्गाधनी स्व. दानी खिडहरीले विपक्षी दिलाई माझीदेखि उत्तर म प्रतिवादी बेचनलाई मौखिक छुट्याई दिई सो जग्गा भोग आवाद गर्दै आइरहेकाले सो जग्गा रूकमिनिया देवीलाई लिखत पारित गरी दिएको छु । स्व. दानी खिडहरीले उक्त कि.नं. ५ को ज.वि.०–१२–५ मध्ये दक्षिणतर्फबाट ०–३–८ जग्गा दिनाई माझीलाई बिक्री गरी दिएकामा आफ्नो एकासगोलका परिवारका दाजुभाइसमेतका घर दरवाजा बनाई भोग आवाद गर्दै आइरहेको हुँदा म प्रतिवादीको जग्गा छुट्याई न्याय निरुपण गरिपाउँ ।

 

प्रतिवादी सुरेन्द्र खिडहरी यादवसमेतले सप्तरी जिल्ला अदालतमा दिएको प्रतिउत्तरको सङ्‌क्षिप्त व्यहोरा :

लेनदेन व्यवहारको महलको १० नं. बमोजिम वादीले हाम्रो अंश हकको जग्गामा हाम्रो मन्जुरी लिई राजीनामा गराई नलिएकाले २०३३ सालमा जग्गा खरिद गरेको भन्ने दावीउपर हाल २०५८ सालमा मुद्दा दायर गरेको हुँदा वर्षौंसम्म हाम्रो पिता जीवित छँदै वादीको दर्ता हक कायम हुन नसकेको जग्गामा हाल हामीउपर यो नालिस दिएको वादीले नै लेनदेन व्यवहारको महलको प्रतिकूल काम कुरा गरेको हुँदा हाम्रो अंश हकको जग्गा वादीलाई दिनु दिलाउनु पर्ने होइन । हाम्रो मिलापत्र दर्तासमेत बदरभागी छैन ।

 

सुरू सप्तरी जिल्ला अदालतबाट मिति २०५९/१/३ मा भएको फैसला : 

यसमा राजीनामा तथा मिलापत्रको लिखतको नक्कलहरू २०५८/१/२३ मा लिएको भनी दोहोरो पारी लिखत भएकोलाई जग्गा पजनीको महलको २(क) ले जहिलेसुकै दा.खा. को लागि आउन पाउने भनी दावी गर्दैमा हदम्यादभित्रको मानी इन्साफ गर्न मिलेन । वादी दावी अ.ब.१८० नं. ले खारेज हुने 

ठहर्छ ।

 

वादी दिनाई माझीले पुनरावेदन अदालत, राजविराजमा दिएको पुनरावेदनको सङ्‌क्षिप्त व्यहोरा : 

मैले र.नं. १६७३ मिति २०३३/१२/५ मा दानी खिडहरीबाट कि.नं. ५ को ज.वि. ०–१२–५ मध्ये दक्षिणतर्फबाट ०–३–८ जग्गा राजीनामा पारित गरी लिई घर दरवाजाको रूपमा भोग गरी आएको कुरा निर्विवाद छ । सो मैले राजीनामा गराई लिएको जग्गा दा.खा. सम्म नभएको अवस्थामा दाताले दोहोरो लिखत गरिदिएको र बाँकी जग्गा दाताका छोराहरूले मुद्दा मिलापत्र गरी बन्डा गराई लिएकाले सो कुरा नक्कल सारी थाहा पाएपछि जालसाजीतवरबाट भएको दोहोरो लिखत र मिलापत्र बदरतर्फ जग्गा पजनीको महलको २(क) नं. समेतको हदम्यादको आधारमा परेको मेरो फिराद दावी हदम्यादबाहिरको भनी खारेज गर्ने गरेको सुरूको फैसला त्रुटिपूर्ण हुँदा सो बदर गरी फिराद दावीबमोजिम इन्साफ गरिपाउँ ।

 

पुनरावेदन अदालत, राजविराजबाट मिति २०५९/९/१५ मा भएको आदेश : 

यसमा विवादित जग्गा मिति २०३३/१२/५ मा यी पुनरावेदक वादीले राजीनामाबाट खरिद गरेका र सोही जग्गालाई नै प्रतिवादीमध्येका दानी खिडहरीले बेचन खडगालाई मिति २०३३/१२/१० मा ०–२–१२ क्षेत्रफल जग्गा बिक्री गरेको र बाँकी ०–०–१६ क्षेत्रफल आपसमा अंश मुद्दामा मिलापत्र गरेको देखियो । ज.प. को महलको २ नं. ले जहिलेसुकै पनि वादीले दा.खा. गर्न पाउने व्यवस्था गरेकामा बन्डापत्र भइसकेको भन्नेसमेतका आधारमा सुरू जिल्ला अदालतले वादी दावी खारेज गर्ने गरेको फैसला ज.प.को महलको २(क) को व्याख्याको प्रश्नमा त्रटिपूर्ण भई फरक पर्न सक्ने देखिँदा अ.ब. २०२ नं. बमोजिम प्रत्यर्थीलाई झिकाई नियमानुसार पेस गर्नू ।

 

प्रतिवादी रूकमिनिया देवी राउतले पुनरावेदन अदालत, राजविराजमा गरेको लिखित प्रतिवादको सङ्‌क्षिप्त व्यहोरा  : 

विपक्षीको फिराद हदम्यादभित्रको छैन । २५ वर्षपछि आएको फिराद हदम्यादविहीन भएको भनी सुरू सप्तरी जिल्ला अदालतले खारेज गर्ने गरेको फैसला कानूनसम्मत भएकाले सदर होस् भन्नेसमेत व्यहोराको प्रत्यर्थी रूकमिनिया देवी राउतको लिखित प्रतिवाद ।

 

पुनरावेदन अदालत, राजविराजबाट मिति २०६०/३/९ मा भएको फैसलाको सारसङ्क्षेप  : 

मिलापत्र बदरको दावीका सम्बन्धमा इन्साफ गर्नुपर्नेमा पूरै वादी दावी खारेज गरेको सुरू सप्तरी जिल्ला अदालतको मिति २०५९/१/३ को फैसला सो हदसम्म मिलेको नदेखिएकाले केही उल्टी भई मिति २०५६/११/२९ को मिलापत्रमा उल्लिखित सप्तरी जिल्ला, पोर्ताहा वडा नं. २ कि.नं. १९६ को क्षेत्रफल ०–९–१३ मध्ये दक्षिणतर्फ ०–०–१६ धुर जग्गाको हदसम्म मिलापत्र बदर भई त्यसमा वादीको हक कायम दर्तासमेत हुने ठहर्छ ।

 

वादी दिनाई माझीले यस अदालतमा दायर गरेको पुनरावेदनपत्रको सङ्‌क्षिप्त व्यहोरा : 

दोहोरो पारी लिखत गरिदिएकामा जेठो लिखतले नै मान्यता पाउने कानूनी व्यवस्थालाई विचारै नगरी लेनदेन व्यवहारको महलको २५, २७, २८ र ४० नं. को व्याख्यात्मक त्रुटि गरी गरेको पुनरावेदन अदालत, राजविराजको फैसलामा चित्त बुझेन उक्त फैसला बदर गरी सुरू फिराद दावी अनुसार नै न्याय इन्साफ पाऊँ ।

 

इन्साफ खण्ड :

पुनरावेदकको तर्फबाट प्रस्तुत भएको बहस जिकिर :

नियमबमोजिम पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदकको तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री खम्बबहादुर खातीले एकचोटि वादीलाई राजीनामा गरी दिएको जग्गा पुनः अन्य व्यक्तिलाई हक हस्तान्तरण गर्दै जाने हक दातालाई हुँदैन । त्यसरी हक हस्तान्तरण गरी दिएको अवस्थामा पनि जेठो लिखतले मान्यता पाउने कानूनी व्यवस्था रहेकै अवस्थामा लेनदेन व्यवहारको महलको २५, २७, २८ र ४० नं. को व्याख्यामा गम्भीर त्रुटि गरी पुनरावेदन अदालतबाट फैसला भएको छ । उक्त त्रुटिपूर्ण फैसला कायम रहन नसक्ने हुँदा उल्टी गरी वादीको सुरू फिराद दावीबमोजिम हक इन्साफ दिलाई पाउँ भन्ने जिकिर लिँदै गर्नुभएको बहस जिकिरसमेत सुनियो ।  

उल्लिखित बहस जिकिरलाई मनन गरी मिसिल संलग्न पुनरावेदनपत्रसहितका प्रमाण कागजातहरूको अध्ययन गरी पुनरावेदन अदालत, राजविराजले गरेको इन्साफ मिलेको छ छैन र वादीको पुनरावेदन जिकिर पुग्न सक्छ सक्तैन भन्ने सम्बन्धमा हेरी निर्णय गर्नुपरेको छ ।

यसमा वादीको फिराद जिकिरमा प्रतिवादीले मलाई राजीनामा गरी दिएको जग्गा अन्य व्यक्तिलाई पुनः दोहोरो पारी हक हस्तान्तरण गरेको हुँदा सो लिखत बदर गरीपाउँ र बाँकी रहेको ०–०–१६ जग्गा पनि दाताका छोराहरूले आपसमा मिली अंश मुद्दा पारी मिलापत्र गरेकाले सो मिलापत्र बदर गरी मेरा नाउँमा दा.खा. दर्ता हुने गरी न्याय पाउँ भन्ने देखिन्छ । फिरादको खण्डनस्वरूप प्रतिवादीहरूबाट पेस भएको प्रतिउत्तर जिकिरमा वादीले दाताको जीवनकालमा मुद्दा गर्न नसकेका र हामीले जग्गा किनी भोग चलन गरी बसोवास गरेको वादीले देखिरहेकामा तत्कालै मुद्दा गर्न नसकेको हुँदा वादी दावी झुट्ठा र हदम्यादविहीनको हुँदा फिराद खारेजभागी रहेको छ भन्ने रहेकामा सुरूले हदम्यादको अभाव देखाई फिराद खारेज गरेको र सोउपर वादीको पुनरावेदन परेकामा पुनरावेदन अदालतबाट मिलापत्र बदरतर्फ इन्साफ नगरी पूरै वादी दावी खारेज गरेको हदसम्म सुरूको फैसलामा केही उल्टी गरी वादीको दावीमध्ये आंशिक दावीमात्र पुग्ने गरी फैसला भएउपरमा वादीको तर्फबाट यस अदालतमा पुनरावेदन पर्न आएको देखियो ।

२. निर्णयतर्फ विचार गर्दा, वादीले फिरादसाथ पेस गरेको राजीनामाको लिखतबाट वादीले २०३३/१२/५ मा स्व. दानी खिडहरीबाट ०–३–८ जग्गा राजीनामा पास गरी लिएको भन्नेमा विवाद देखिँदैन । उक्त जग्गाको दा.खा. बाँकी रहेकामा दाता दानी खिडहरीले वादीलाई बिक्री गरेकै जग्गा मध्येबाट ०–२–१२ पुनः दोहोरो लिखत गरी दोस्रो व्यक्ति बेचन खडगालाई बिक्री गरेको र बेचन खडगाले पनि आफूले लिएको उक्त क्षे.फ ०–२–१२ जग्गा रूकमिनिया देवी राउतलाई बिक्री गरेकामा सो जग्गामा रूकमिनिया देवीले घर बनाई बसोवास गरेको अवस्था देखिएको छ । मुलुकी ऐन, लेनदेन व्यवहारको महलको २५ नं. ले एकालाई लिखत गरिदिएको अचल सम्पत्ति दोहोरो पारी अरूलाई कुनै व्यहोराले लेखिदिने कार्यलाई निषेध गरेको छ । यसरी दाहोरो लिखत भएकामा जसको लिखतको मिति अघिल्लो छ उसैको लिखत सदर हुन्छ भन्ने कानूनी व्यवस्था रहेको छ ।

३. यसरी वादीले आफूले राजीनामा गरी लिएको जग्गामा दोहोरो तेहोरो लिखत खडा भइसकेकामा थाहा नपाएको भनी २०३३ साल र २०४५ सालमा पारित लिखतलाई बदर गरी माग्न मिति २०५८/१/२३ मा उक्त कार्यहरूको नक्कल सारी थाहा भएको भनी मिति २०५८/१/२५ मा मात्रै फिराद लिई अदालत प्रवेश गरेको देखिन्छ । यस्तो अवस्थामा वादी कानूनले निर्धारण गरेको हदम्यादभित्र अदालत प्रवेश गरेको भन्न मिल्दैन ।

४. प्रस्तुत मुद्दामा दोहोरो लिखतको मात्रै प्रश्न नरही तेस्रो लिखत खडा भई तेस्रो व्यक्तिले  वादीदावीको जग्गामा घर निर्माणसमेत गरी बसिसकेको कुरालाई एकै ठाउँमा बसोवास गर्ने यी वादीलाई थाहा जानकारी नै भएन  होला भन्ने कुरा पनि विश्वासयोग्य देखिँदैन ।  फेरि आफूले लिएको जग्गामा दोहोरो तेहोरो लिखत खडा भइसकेकामा कानूनमा उजुर गर्ने हदम्याद निश्चित भइरहेकोलाई सो विषयमा जहिलेसुकै उजुर गर्न मिल्छ भन्ने अर्थ गरी हदम्याद नघाई फिराद गर्न आउने वादीलाई कानूनले जहिलेसुकै पनि सहयोग गर्न सक्छ भन्न मिल्दैन । आफ्नो सम्पत्ति नोक्सान भएकामा पनि समयमै नालिस गरी उपचार माग्न नजानेलाई कानूनले पर्खिरहन  सक्तैन । कुनै अमूक कुरामा नालिस गर्नको लागि कानूनमा निश्चित भएको हदम्यादलाई व्यक्तिको सुविधालाई हेरेर खुम्च्याउन र विस्तार गर्न सकिने कुरा पनि हुँदैन । हदम्यादको सिद्धान्त अनिश्चिततातर्फ नभई निश्चिततातर्फ नै लक्षित रहेको हुन्छ । लेनदेन व्यवहारको महलको ४० नं. को व्यवस्था प्रस्तुत मुद्दामा आकर्षित नहुने भन्न मिल्दैन । आफूले २०३३ सालमा राजीनामा गरी लिएको जग्गा सोही सालमा दोस्रो व्यक्तिलाई र दोस्रो व्यक्तिले पनि २०४५ सालमा लिखत गरी तेस्रो व्यक्तिलाई बिक्री गरी सो जग्गामा तेस्रो व्यक्तिले घर निर्माण गरिसक्दा पनि उक्त कुरा धेरैपछि मात्रै थाहा भएको भन्ने वादीको भनाइको आधारमा लिखत भए गरेको मितिले २ वर्षभित्र नालिस गरी सक्नुपर्ने लेनदेन व्यवहारको महलको ४० नं. को हदम्याद पनि सोही वादीलाई सुविधा हुने गरी विस्तारित हुँदै जाने भन्ने कुरा पनि हुँदैन ।

५. मुलुकी ऐन, लेनदेन व्यवहारको महलको २५ नं. ले हदम्यादविहीन अवस्थाको परिकल्पना गरेको छैन । अनिश्चित र अनन्त कालसम्म पनि आफूलाई असर परेको कुरामा इन्साफ माग्न नआउने पक्षले आफैँले आफैँलाई जोखिममा राखेको 

हुन्छ । यस्तो अवस्थामा त्यस्तो व्यक्तिको हकमा कानून जहिलेसुकै असहाय नै बन्नेगर्छ । यसकारण वादीले पाएको ०–३–८ जग्गामध्ये दक्षिणतर्फको ०–२–१२–० जग्गाको सम्बन्धमा २०४५ सालबाट लेनदेन व्यवहारको महलको ४० नं. अनुसार २ वर्षको हदम्यादभित्र नालिस नगरी हदम्याद नघाई फिराद गर्न आएको देखिएकोलाई सो हदसम्मको फिराद दावी खारेज गरेको सुरूको निर्णयलाई सदर गरेको पुनरावेदन अदालतको इन्साफलाई अन्यथा भन्न मिलेन । 

६. प्रस्तुत मुद्दामा जग्गा पजनीको महलको २(क) नं. को व्याख्याको प्रश्न पनि उपस्थित भएको देखिन्छ । उक्त जग्गा पजनीको महलको २(क) को कानूनी व्यवस्थाअनुसार दाताको दर्ता हक कायम रहेसम्म निजको नामबाट जहिलेसुकै दा.खा. नामसारी गरी माग्नलाई नालिस गर्ने हदम्याद कायम रहने भन्ने हो । तर यो कानूनी व्यवस्थाको अर्थ दाताबाट अर्कै व्यक्तिको नाममा जग्गा हक हस्तान्तरण भई दर्ता स्रेस्ता अर्कै व्यक्तिको नाममा बनिसकेको अवस्थामा पनि जहिलेसुकै उक्त जग्गामा दावी गरी दा.खा. दर्ता गरी माग्न जाने गरी हदम्यादको विस्तार भएको छ भन्न  मिल्दैन । तर वादीले राजीनामा गरी लिएको 

०–३–८ को जग्गा मध्येबाट दाताले दोहोरो लिखत गरी ०–२–१२–० जग्गा प्रतिवादीमध्येको बेचन खडगालाई बिक्री गरी बाँकी रहेको ०–०–१६ जग्गामा वादीको दावी पुग्ने नपुग्ने सम्बन्धमा सम्म विचार गर्नुपर्ने देखिएको छ । उक्त १६ धुर जग्गा वादीका दाता स्व. दानी खिडहरीका छोराहरू प्रतिवादीमध्येका सुरेन्द्र, महेन्द र वीरेन्द्रले मिति २०५६/११/२९ मा अंश मुद्दामा मिलापत्र गरी लिएको अवस्था भए पनि दाताको हक खाने छोराहरूकै नाममा उक्त जग्गा बाँकी रहेको देखिन आएको हुँदा सो जग्गासम्ममा वादीलाई फिराद गर्न हदम्याद नरहने भन्न मिल्दैन ।  वादीलाई बिक्री गरेको जग्गामध्येबाट बेचन खडगालाई  दोहोरो लिखत खडा गरी बिक्री गरी बाँकी रहेको जग्गामा नै वादीका दाता दानी खिडहरीका छोराहरूले परस्परमा अंश मुद्दामा मिलापत्र गरी हक प्राप्त गरेको अवस्था देखिनुको साथै उक्त जग्गा वादीले दानी खिडहरीबाट मिति २०३३/१२/५ मा र.नं. १६७३ खरिद गरी लिएको ०–३–८ जग्गामध्येकै प्रतिवादीमध्येको बेचन खडगालाई बिक्री गरेर बाँकी रहेको जग्गा देखिएको र सो जग्गा वादीका दाताका हक खाने छोराहरूकै नाउँमा कायम रहिरहेको अवस्थामा  त्यस्तो जग्गा मिति २०५६/११/२९ मा मिलापत्र गरी लिएको कुरा यी वादीले मिति २०५८/१/९ मा नक्कल सारी थाहा पाएको भनी अ.ब. ८६ नं. को हदम्याद देखाई २०५८/१/२५ मा गरेको फिराददावीलाई हदम्यादभित्र नपरेको भनी खारेज गर्न   मिल्दैन । यस्तो अवस्थामा प्रतिवादीमध्येका सुरेन्द्र, महेन्द र वीरेन्द्रले मिति २०५६/११/२९ मा अंश मुद्दामा मिलापत्र गरी हक प्राप्त गरेको सो मिलापत्रमा उल्लिखित ०–०–१६ जग्गाको हदसम्म सो मिति २०५६/११/२९ को मिलापत्र बदर भई वादीको हक स्थापित हुने भनी गरेको पुनरावेदन अदालत, राजविराजको फैसला न्यायको रोहमा मिलेकै देखिन आई परिवर्तन गर्न परेन ।

७. अतः मिलापत्र बदरको दावीका सम्बन्धमा इन्साफ गर्नुपर्नेमा पुरै वादी दावी खारेज गरेको सुरू सप्तरी जिल्ला अदालतको मिति २०५९/१/३ को फैसला सो हदसम्म मिलेको नदेखिएकाले केही उल्टी गरी मिति २०५६/११/२९ को मिलापत्रमा उल्लिखित ०–०–१६ धुर जग्गाको हदसम्म सो मिलापत्र बदर भई त्यसमा वादीको हक कायम दर्तासमेत हुने ठहर्‍याएको पुनरावेदन अदालत, राजविराजको मिति २०६०/३/९ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । अन्य कुरामा वादीको पुनरावेदन जिकिर पुग्न सक्तैन । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाइदिनू । 

 

उक्त रायमा सहमत छु ।

न्या. गोविन्दकुमार उपाध्याय

 

इति संवत् २०७१ साल जेठ १९ गते रोज २ शुभम् 

इजलास अधिकृत (रा.प.द्वितीय) : बाबुराम सुवेदी

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु