शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९३४५ - अंश चलन

भाग: ५७ साल: २०७२ महिना: जेष्ठ अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल

माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल

फैसला मिति : २०७१।८।२३।३

०६६-CI-०३५६

 

मुद्दाः अंश चलन । 

 

पुनरावेदक / वादी : जिल्ला मोरङ, विराटनगर उपमहानगरपालिका, वडा नं. ९ बस्ने सुरजमल सुराना

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : जिल्ला मोरङ, विराटनगर उपमहानगरपालिका, वडा नं. ९ बस्ने दिपचन्द सुरानासमेत

 

वादीले अंशबन्डा भएको लिखत छैन भन्ने मात्रै दावीको आधारमा मान्यता दिँदै जाने हो भने कहिल्यै पनि विवादको निरूपणको निश्चितता नै नहुने अवस्था उत्पन्न 

हुन्छ । अदालतले कानूनको व्याख्या गर्दा यस्तो अनिश्चयताको बढावा हुने गरी व्याख्या गर्न हुँदैन । अदालतले कानूनको व्याख्या गर्दा विवादको निरूपण हुने गरी सिर्जनात्मक व्याख्या गर्नुपर्छ । मुलुकी ऐन, अंशबन्डाको ३० नं. ले गरेको कानुनी व्यवस्थाको उद्देश्य र प्रत्याभूति पनि यही हुन आउने ।

(प्रकरण नं.१५)

पुनरावेदक/वादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता सतिसकृष्ण खरेल, माधवप्रसाद बास्कोटा, अधिवक्ताहरू सतिस कुमार झा र सुरज अधिकारी

प्रत्यर्थी/प्रतिवादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ताहरू हरिहर दाहाल, वसन्त राम भण्डारी र अधिवक्ता युवराज भण्डारी

अवलम्बित नजिर :

नेकाप २०४५, नि.नं.३६०२, अङ्क २, पृ.९८२

नेकाप २०४५, नि.नं.३६२५, अङ्क १०, पृ.१०९६

नेकाप २०६६, नि.नं.७२२७

नेकाप २०७०, अङ्क २, नि.नं.८९६४, पृ.२४२

सम्बद्ध कानून :

मुलुकी ऐन, अंशबन्डाको महलको ३० नं.

 

सुरू तहमा फैसला गर्ने : 

मा.जि.न्या. श्री तेजबहादुर कार्की

पुनरावेदन तहमा फैसला गर्ने : 

मा.न्या. श्री भिमेन्द्रबहादुर कार्की

मा.न्या. श्री बिनोदप्रसाद ढुङ्गेल

 

फैसला

न्या.जगदीश शर्मा पौडेल : न्याय प्रशासन ऐन, २०४८ को दफा १२ बमोजिम पुनरावेदन अदालत, विराटनगरको मिति २०६५/१/१० को फैसला दोहोर्‍याई पाउँ भनी निवेदन परेकामा यस अदालतबाट निस्सा प्रदान भै पुनरावेदनको रोहमा पेस हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम्‌ ठहर यसप्रकार  छ :

पिता लालचनका जीवित छोराहरूमा जेठो दिपचन सुराना, माहिलो म फिरादी सुरजमल सुराना र कान्छो निरज सुराना हुन् । पिताको २०१० सालमा नै स्वर्गारोहण भएको र आमा हुलासी देवी मेरो साथमा रहँदा बस्दा २०५७ सालमा इलाज गराउँदा गराउँदै दिल्लीमा स्वर्गारोहण पश्चात्‌ मेरै खर्चमा विराटनगर घरमा काजक्रिया भएको थियो । हामी एकासगोलमा बस्दा परिवार बढ्न गएकाले २०४६ सालमा, भएको चल सम्पत्ति दाजु दिपचन सुराना जिम्मा र आमा नाउँमा रहेको सम्पत्ति आमा जिम्मा राखी मानो छुट्याई आ-आफ्नो खती उपती व्यहोर्ने गरी भात भान्सा अलग गरी सबै दाजुभाइले आ-आफ्नो उद्योग व्यवसाय गरी आएका छौं । म फिरादीको छोरा विजय सुरानाले पनि पहिले नै नगद अंश बुझी लिई हिँड्नुभएको छ । विपक्षी मध्येका मुख्य व्यक्ति दिपचन सुरानालाई आमा हुलासी देवी सुरानासमेतका जिम्माको सम्पत्तिबाट अंश माग गर्दा विपक्षी दाजुले अंश दिन इन्कार गरेकाले २०४६ सालभन्दा अगाडिको सम्पत्तिको तायदाती फाँटवारी लिई ३ भागको १ भाग अंश दिलाई पाउँ भन्ने सुरजमल सुरानाको मिति २०६१/३/२७ को फिराद पत्र । 

वादीले उल्लेख गरेको नातासम्म ठिकै 

हो । दावी गरे अनुसार म बाट अंश पाउने होइन । पिता लालचन सुराना २०१० सालमा र आमा हुलासी देवी २०५७/८/२७ मा दिल्ली स्थित अस्पतालमा परलोक हुनु भएको हो । वादीले भने अनुसार विपक्षीको घरमा आमा परलोक हुनुभएको हैन । म २०२८ सालमा नै आमाबाट चल सम्पत्ति बाँडी लिई अलग भिन्न भएको हुँ । अचल सम्पत्ति आमा हुलासी देवीकै नाउँमा छ । मेरो नाउँमा हालसम्म कुनै पैतृक सम्पत्ति छैन । २०३० सालमा हंशराज सुरानाबाट बकसपत्र प्राप्त गरेको विराटनगर उपमहानगरपालिका वडा नं. ५ कि.नं. ३० को ०–२–१२ जग्गा पनि जेठो छोरा राकेश सुरानालाई र कान्छो छोरा सुशील सुरानालाई अंश भरपाई गरी दिइसकेको छु । यसरी छोराहरूको पनि अंशबन्डा भइसकेको छ । सो जग्गासम्बन्धमा नापीको समयमा विराटनगर नगरपालिकासँग विवाद परी यसै अदालतमा फिराद परी कोशी अञ्चल अदालतसमेतबाट मिति २०४७/७/२७ गते फैसला भै मेरो एकलौटी कायम भएको जग्गा हो । स्वर्गीय आमाका नाउँको जग्गा हामी तीनै भाइ छोराहरूको नाममा नामसारी दर्ता हुन बाँकी रहेको कुरालाई वास्तै नगरी परेको प्रस्तुत झुठ्ठा फिराद दावीबाट अलग फुर्सद गरिपाउँ भन्ने मिति २०६१/७/२५ को प्रतिवादी दिपचन सुरानाको प्रतिउत्तरपत्र ।

प्रतिवादीमध्येका निरज सुरानाका नाउँमा अदालतबाट जारी भएको ३० दिने म्याद मिति २०६१/१०/४ मा टाँस तामेल भएकामा म्यादभित्र प्रतिउत्तर नै नगरी सुरू म्यादै गुजारी बसेको देखिन्छ ।

मेरा बाबु दिपचन सुराना २०२८ सालदेखि नै आफ्नो व्यापार व्यवसाय भात भान्सा बिजुली, पानी, टेलिफोन अलग गरी भिन्न भई बसेका हुन् । काकाहरूको पनि छुट्टै व्यवसाय नोकरी छ । मेरो हजुरआमा स्व. हुलासी देवीका नाउँको विराटनगरको जग्गा नामसारी भएको छैन । हंशराजबाट बाबुले बकस पाएको जग्गा निजी भएको र त्यसबाट म र भाइले अंशबन्डासमेत पाइसकेका छौं । सुनसरी खनारमा रिलाइन्स थर्मोपोली नाउँको मेरो छुट्टै उद्योग व्यापार छ । वादी सुरजमल सुरानाको पनि प्लाष्टिक मेटकम ट्रेडर्स नाउँको छुट्टै व्यवसाय छ । मैले बाबुसँग अंश लिई सकेको हुँदा हामी कोही पनि सगोलका अंशियार होइनौं । स्व. हुलासी देवी सुरानाको नाउँका घर जग्गा बाबुहरूले अलगअलग भोग गरेको छ । त्यसमा वादी प्रतिवादी हकवाला हुन् । मेरो भनाइ पुष्टि गर्ने अंश छोडपत्रको कागज लगाउको लिखत दर्ता बदर मुद्दामा छ बुझी पाउँ भन्ने व्यहोराको अ.ब.१३९ नं. बमोजिम बुझिएका प्रतिवादी राकेश सुरानाको मिति २०६२/२/१ को बयान ।

वादी प्रतिवादी २०२८ सालदेखि नै अलग भिन्न बसेका छन् । म सुशील सुराना प्रतिवादी दिपचन सुरानाको छोरा हुँ । निज बुबासँग २०५९ सालमा अंश लिई छुट्टिई भिन्न भएको छु । हजुरआमा स्व. हुलासी देवी नाउँको विराटनगर-९ स्थित १० कठ्ठा जग्गा हालसम्म कसैका नाउँमा नामसारी भएको 

छैन । यस कुराको प्रमाण दे.नं. ८०९ को अंश भरपाई बदर मुद्दा बुझी पाउँ भन्ने व्यहोराको अ.ब. १३९ नं. बमोजिम बुझिएका प्रतिवादी सुशील सुरानाको मिति २०६२/२/२ को बयान ।

वादी प्रतिवादी बीच अंशबन्डा भएको छैन । २०४६ सालमा घर सल्लाहले भात भान्सा व्यापार व्यवसाय अलग भएकोसम्म हो । हुलासी देवी नाउँको सम्पत्ति निजकै नाउँमा कायमै छ । विराटनगरको सबै सम्पत्ति बन्डा लाग्ने हो । सो सम्पत्ति हाल राकेश सुराना र सुशील सुरानाको नाउँमा छ भन्ने सुनेको छु । मैले आफ्ना बाबुसँग २०६१ साल असारमा अंश लिई सकेको छु । मैले अंश पाउन बाँकी छैन भन्ने व्यहोराको अ.ब. १३९ नं. बमोजिम बुझिएका प्रतिवादी विजय सुरानाको मिति २०६२/६/१३ को बयान ।

वादी प्रतिवादीहरू दाजुभाइ नाताका मानिस हुन् । २०४६ सालमा यी वादी प्रतिवादी छुट्टिएका 

हुन् । घर भित्रको सम्पत्ति के गरे मैले भित्र हेरेको छैन भन्ने वादीका साक्षी पारसमल लालवानी र विजय कुमार राठीको पृथकपृकथ बकपत्र ।

वादी प्रतिवादीहरू २०२८ सालदेखि भात भान्सा घरद्वार सम्पूर्ण व्यापार व्यवसाय अलग गरी बसी आएका छन् । लिखत गरी छुट्टि भिन्न भएका हुन् होइनन् मलाई थाहा छैन भन्ने व्यहोराको प्रतिवादीका साक्षी गुहेश्वरीप्रसाद लोहनी र निर्मलकुमार दुगडले गरेको पृथकपृथक बकपत्र । 

सुरजमल सुराना वि. राकेश सुरानासमेत भएको दे.नं. ८०८ र ८०९ को अंश भरपाई लिखत दर्ता बदर मुद्दाका मिसिलहरू साथै पेस भएको 

देखिन्छ । 

वादी प्रतिवादी सगोलकै रहेको भन्ने वादीको भनाइ मनासिब र कानूनसङ्गत देखिएन । स्वर्गीय आमा हुलासी देवी सुरानाको नाउँमा रहेको घर जग्गाको कुरामा निज मृतकउपर अंशको दावी लाग्ने व्यवस्था नहुँदा मर्नेका हकवालाले प्रमाण पुर्‍याई कानूनबमोजिम अपुतालीतर्फ दावी गरेका बखत ठहरेबमोजिम हुने नै हुँदा प्रतिवादी दिपचन सुरानाबाट अंश दिलाई पाउँ भन्ने प्रस्तुत मुद्दाको फिराद दावी पुग्न नसक्ने ठहर्छ भन्नेसमेत व्यहोराको मोरङ जिल्ला अदालतको मिति २०६२/८/२७ को फैसला ।

पैतृक सम्पत्ति भएको कुरा प्रमाणद्वारा देखिएको अवस्थामा त्यसलाई अंशियारबीचमा दा.खा. दर्ता नभै रहेको अवस्थासमेत देखिएपछि अंशबन्डा लिखत पनि नभएको, दा.खा. दर्ता व्यवहार प्रमाणबाट अंश छुट्टिएको पनि नदेखिएको अवस्थामा अंशको वादी दावी नपुग्ने ठहर गरी गरिएको फैसला कानून र न्यायिक सिद्धान्तविपरीत भएबाट उक्त फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी वादी दावीबमोजिम इन्साफ गरिपाउँ भन्नेसमेत व्यहोराको वादीको पुनरावेदनपत्र ।

यसमा वादी र प्रतिवादी बीच कानूनबमोजिम अंशबन्डा नभएको तथ्यमा विवाद नभै रहेको अवस्थामा अंशतर्फ तायदाती फाँटवारी माग गरी पैतृक सम्पत्तिको सम्बन्धमा समेत एकिन गरी मात्र अंश पाउने नपाउने निर्णय गर्नुपर्नेमा पैतृक सम्पत्ति नै एकिन नगरी अंशमा दावी नपुग्ने गरी भएको सुरू जिल्ला अदालतको निर्णय अंशबन्डाको ३० नं. को कानूनी व्यवस्थाको परिप्रेक्ष्यमा समेत नमिलेको देखिँदा छलफल निमित्त मुलुकी ऐन, अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थी झिकाई पेस गर्नु भन्ने पुनरावेदन अदालत, विराटनगरको मिति २०६४/६/२२ को आदेश ।

अंशमा वादी दावी पुग्न नसक्ने गरी मोरङ जिल्ला अदालतबाट मिति २०६२/८/२७ मा भएको फैसला मिलेकै देखिँदा सो हदसम्म मनासिब 

ठहर्छ । वादीको पुनरावेदन जिकिर पुग्न सक्तैन भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, विराटनगरको मिति २०६५/१/१० को  फैसला ।

मिति २०२९/५/७ मा निज विपक्षी दिपचन सुरानाले प्रतिवादीमध्येको भाइ निरजकुमार सुरानालाई एकाघर सगोलको भाइ भनी नागरिकता प्रमाणपत्र प्राप्तीको क्रममा सनाखत गर्नुभएको छ । संवत् २०६० सालसम्म मतदाता नामावलीमा एकाघर परिवार भनी उल्लेख छ । वादी प्रतिवादीबीच कानूनबमोजिम अंशबन्डाको लिखत पारित नभएको तथ्यमा दुवै पक्षमा विवाद नहुनुका साथै स्वयम्‌ अदालतबाट सो तथ्यलाई स्वीकार गरिएको छँदाछँदै पनि वादी दावी प्रतिकूल भएको फैसला देखादेखी त्रुटिपूर्ण छ । अतः सुरू मोरङ जिल्ला अदालतको त्रुटिपूर्ण फैसलालाई मुनासिब ठहर्‍याई श्री पुनरावेदन अदालत, विराटनगरले गरेको फैसला बदर गरी वादी दावीअनुसार न्याय पाउँ भन्ने व्यहोराको यस अदालतमा मुद्दा दोहोर्‍याइ हेरी पाउँ भनि परेको वादीको निवेदनपत्र ।

यसमा सम्बन्धित सुरू, रेकर्ड र भए प्रमाण मिसिलसमेत झिकाई आएपछि नियमबमोजिम पेस गर्नु भन्ने यस अदालतको मिति २०६५/६/१३ को 

आदेश ।

यसमा निवेदक सुरजमल सुराना र प्रत्यर्थीहरू दिपचन सुराना र निरजकुमार सुराना लालचनका छोराहरू भै एकअर्का अंशियार भएकामा विवाद देखिएन । २०४६ सालमा भातभान्सा अलग गरी खति उपति अलगअलग गर्दै मानो छुट्टिएको भन्दै वादी सुरजमलले २०४६ सालभन्दा अगाडिको सम्पत्तिबाट ३ भागको १ भाग अंश छुट्याई पाउँ भन्ने दावी लिई आएकामा अंशियारबीच कानूनबमोजिम बन्डा भई अंश छुट्टि सकेको देखिने मुलुकी ऐन, रजिस्ट्रेसनको महलको १ नं. बमोजिम आधिकारिक लिखतको अभाव हुनुको अतिरिक्त अ.बं. १३९ नं. बमोजिम बुझिएका दिपचनका छोरा राकेश सुराना र सुशील सुरानाले अदालतमा आई बयान गर्दा पिता र काकाहरू गरी ३ जना अंशियार भएको, हजुरआमाको नाममा रहेको पैतृक सम्पत्ति मात्र बन्डा भएको 

छैन । दिपचन सुराना, सुरजमल सुराना र निरज कुमार सुराना ३ जना दाजुभाइले आफ्नो व्यापार व्यवसाय नोकरी गरी आफ्नो भात भान्सा अलगअलग गरी बसी आएका छन् भनी बयान गरेबाट प्रस्तुत मुद्दाका वादी र प्रतिवादीका बीच आधिकारिक बन्डापत्र भएको भन्ने देखिन आएन । यस्तो अवस्थामा पनि मुलुकी ऐन, अंशबन्डाको महलमा भएको कानूनी प्रावधान अनुरूप मानो छुट्टिएको मिति कायम गरी वादी प्रतिवादीले बन्डा छुट्याई लिन पाउने सम्पत्ति के कति हो दुवै पक्षबाट तायदाती माग गरी इन्साफ गर्नुपर्नेमा अंशतर्फको दावी पुग्न नसक्ने ठहराएको सुरू फैसला सदर हुने ठहराएको पुनरावेदन अदालत, विराटनगरको फैसला मुलुकी ऐन, अंशबन्डाको ३० नं., अ.ब. १८४क, १८५ नं. को प्रत्यक्ष त्रुटि भै ने.का.प. २०५१ पृ. ३५९ नि.नं. ४९०९ मा प्रतिपादित नजिर सिद्धान्त प्रतिकूल हुँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) का आधारमा मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान गरिएको छ । नियमानुसार पेस गर्नु भन्ने यस अदालतको मिति २०६६/७/१३ को आदेश ।

यसमा २०४६ सालमा भातभान्सा अलग राखी खति उपति अलग अलग गर्दै मानो छुट्टिएको भन्दै वादी सुरजमल सुरानाले २०४६ साल भन्दा अगाडिको सम्पत्तिबाट ३ भागको १ भाग अंश छुट्याई पाउँ भन्ने दावी लिई आएकामा अंशियारबीच कानूनबमोजिम बन्डा भई अंश छुट्टि सकेको देखिने मुलुकी ऐन, रजिस्ट्रेसनको महलको १ नं. बमोजिमको आधिकारिक लिखतको अभाव हुनुको अतिरिक्त अ.बं. १३९ नं. बमोजिम बुझिएका दिपचनका छोरा राकेश सुराना र सुशील सुरानाले अदालतमा आई बयान गर्दा पिता र काकाहरू गरी ३ जना अंशियार भएको, हजुरआमाको नाममा रहेको पैतृक सम्पत्ति मात्र बन्डा भएको छैन । दिपचन सुराना, सुरजमल सुराना र निरज कुमार सुराना ३ जना दाजुभाइले आफ्नो व्यापार व्यवसाय नोकरी गरी आफ्नो भातभान्सा अलगअलग गरी बसी आएका छन् भनी बयान गरेबाट प्रस्तुत मुद्दाका वादी प्रतिवादीबीच आधिकारिक बन्डा भएको नदेखिँदा फिराद परेको मिति २०६१/३/२७ भन्दा अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी वादी प्रतिवादी दुवै पक्षबाट अंशबन्डा हुनुपर्ने ऋण धन सम्पत्तिको मुलुकी ऐन, अंशबन्डाको महलको २०, २१ र २२ को प्रक्रिया पुर्‍याई तायदाती फाँटवारी लिई २०६२ को दे.पु.नं. ८४८९, ८५६२, ०६४–CI–०७१७, ०७१८ ०६६–CI–०३५६, ०३५७, ०३५८ र ०६७–CI–१२८७ का लगाउका मुद्दाहरू समेत साथै राखी नियमानुसार पेस गर्नु भन्ने यस अदालतको मिति २०७०/६/१३ को आदेश ।

यसमा निवेदकले आफ्नो आर्थिक अवस्था कमजोर भई विवादित सम्पत्तिबाहेक आफूसँग अन्य कुनै सम्पत्ति नभएकाले फैसलाले ठहरेबमोजिमको कोर्ट फी पछि बुझाउने गरी कोर्ट फी ऐन, २०१७ को दफा २३ बमोजिम सुविधा पाउँ भनी मिति २०७१/४/२१ मा यस अदालतमा निवेदन दिएको देखिन्छ । निज कोर्ट फी तिर्न असमर्थ रहेको भन्ने विराटनगर उपमहानगरपालिकाको सिफारिसपत्रसमेत पेस गरेको देखिँदा निजको आर्थिक अवस्थासमेतलाई विचार गर्दा पछि फैसलाले ठहरेबमोजिम कोर्ट फी बुझाउने गरी कोर्ट फी ऐन, २०१७ को दफा २३ बमोजिमको सुविधा प्रदान गरिदिएको छ । नियमानुसार गर्नु भन्ने यस अदालतको मिति २०७१/४/२७ को आदेश ।

नियमबमोजिम इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी तर्फबाट उपस्थित विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री सतिसकृष्ण खरेल, श्री माधवप्रसाद बास्कोटा, अधिवक्ताहरू श्री सतिसकुमार झा र सुरज अधिकारीले वादी प्रतिवादी बीच अंशबन्डा भएको छैन । पैतृक सम्पत्तिमा अंश मागेको छ । मानो छुट्टिएको मितिमा विवाद भएपछि फिराद परेको अघिल्लो दिनलाई आधार बनाई तायदाती माग्ने आदेश भएको छ । पुनरावेदन अदालतको फैसला उल्टी गरी फिराद दावीबमोजिम अंश पाउँ भन्नेसमेत व्यहोराको बहस प्रस्तुत गर्नुभयो । त्यस्तै प्रतिवादीतर्फबाट उपस्थित विद्वान्‌ वरिष्ठ अधिवक्ताहरू श्री हरिहर दाहाल, श्री वसन्त राम भण्डारी र अधिवक्ता श्री युवराज भण्डारीले हुलासी देवीको नाउँको सम्पत्ति पैतृक हो । हंशराजबाट दिपचन सुरानालाई बकसपत्र दिएको सम्पत्ति पैतृक होइन । विपक्षी बनाइएकी आमा हुलासी देवीको २०५७ सालमा मृत्यु भै सकेको छ । निजको नाउँको सम्पत्ति दा.खा. गरिपाउँ भनी मुद्दा चली रहेको अवस्था छ । चल सम्पत्ति बुझी छुट्टि सकेको अवस्था तायदाती माग्ने आदेश बाध्यकारी 

छैन । तसर्थ पुनरावेदन अदालत, विराटनगरबाट भएको फैसला मिलेको हुँदा सदर गरिपाउँ भनी बहस गर्नुभयो ।

प्रस्तुत मुद्दाको मिसिल हेर्दा दाजु दिपचन सुराना र आमा हुलासी देवी नाउँ दर्ताको पैतृक सम्पत्तिमा ३ खण्डको एक खण्ड अंश दिलाई पाउँ भन्ने फिराद दावी, आमाको नाउँको जग्गा नामसारी हुन बाँकी रहेको छ सो बाहेक वादीलाई अंश दिनुपर्ने छैन भन्ने प्रतिउत्तर जिकिर रहेकामा अपुतालीतर्फ दावी गरेका बखत ठहरेबमोजिम हुने र अंश दिलाई पाउँ भन्ने दावी नपुग्ने भन्ने सुरू मोरङ जिल्ला अदालतको फैसला । सो इन्साफउपर वादीको पुनरावेदन अदालत, विराटनगरमा पुनरावेदन पर्दा सुरू इन्साफ सदर हुने ठहरी फैसला भए उपर वादीको यस अदालतमा मुद्दा दोहर्‍याई पाउँ भनी निवेदन पर्दा यस अदालतबाट निस्सा प्रदान भएबाट प्रस्तुत मुद्दा पुनरावेदनको रोहमा निर्णयार्थ पेस हुन आएको देखियो ।

यसमा पुनरावेदनसहितको मिसिल अध्ययन गरी विद्वान्‌ कानून व्यवसायीहरूले गर्नुभएको बहस बुँदाहरूसमेत सुनी प्रतिवादीतर्फबाट पेस भएको बहसनोटसमेत अध्ययन गरी निर्णयतर्फ विचार गर्दा  वादी प्रतिवादीबीच बन्डा भएको छ वा छैन्, मानो छुट्टिई अलग बसेको कहिलेदेखि हो र प्रतिवादी दिपचनका नाउँको विराटनगरको कि.नं. ३० को ज.वि. ०-२-१२ जग्गा सम्पत्ति पैतृक हो होइन, पुनरावेदन अदालत, विराटनगरको फैसला मिलेको छ छैन ? पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो, होइन यिनै विषयमा विवेचना गरी निर्णय दिनुपर्ने देखियोः

२. निर्णयतर्फ विचार गर्दा वादीले आफ्नो फिराद दावीमा २०४६ सालभन्दा पूर्वको आमा हुलासी देवीका नाउँको र दाइ दिपचन सुरानाको नाउँको पैतृक सम्पत्तिबाट मात्र अंश पाउँ भनी दावी गरेको र प्रतिवादी दिपचन सुरानाले आफ्नो प्रतिउत्तरमा आफू २०२८ सालमै मानो छुट्टि भिन्न व्यवहार गरी बसेको आफूसँग अंश दिनुपर्ने सम्पत्ति छैन भनी र आमाको नाउँको जग्गा ३ वटै भाइ दिपचन सुराना, सुरजमल सुराना र निरजकुमार सुरानाको नाममा नामसारी दर्ता हुनुपर्ने हो भनी प्रतिउत्तर दिएबाट आमाको नाउँको सम्पत्ति पैतृक भएको भन्नेमा विवाद देखिएन । आमाको नाउँको जग्गा बन्डा लाग्नेमा प्रतिवादीको पनि मुख मिलेको र सो जग्गा सम्बन्धमा यसै लगाउको ०६७-CI-१२८७ को हक कायम नामसारी मुद्दा मा आजै यसै इजलासबाट तीन भागको एक भाग वादीको नाममा हक कायम नामसारी हुने ठहरी निर्णय भएको हुदाँ सोतर्फ यस मुद्दामा बोलिरहनु परेन ।

३. पुनरावेदक वादी सुरजमल सुरानाले आफ्नो फिराद दावीमा २०४६ सालभन्दा पूर्वको अचल पैतृक सम्पत्तिमा मात्र दावी गरेको र प्रतिवादी दिपचन सुरानाले २०२८ सालमै मानो छुट्टिई अलगअलग बसेको भनी दावी गरेको देखिएबाट प्रस्तुत मुद्दामा मानो छुट्टिई वादी प्रतिवादी अलगअलग बसी आ-आफ्नो व्यवहार गरेको भन्ने कुरामा मुख मिलेको देखियो । तर मानो छुट्टिई अलग बसेको मिति वादीले दावी गरेको २०४६ साल हो कि प्रतिवादीले जिकिर लिएको २०२८ साल मध्ये कुन हो ? निज वादी प्रतिवादीबीच व्यवहार प्रमाणहरूबाट निजहरू कहिलेदेखि अलग भई बसेका हुन् भन्ने सम्बन्धमा पारित लिखत नभएकाले मुलुकी ऐन, सातौं संशोधन, २०३४ भन्दा पहिलाका अवस्थामा मानो छुट्टिएको अंश लिएको कागजलाई रजिस्ट्रेसन गर्नुपर्ने बाध्यात्मक कानूनी व्यवस्था नहुँदा त्यस भन्दा पहिलेका अवस्थाका व्यवहार प्रमाणबाट अंश छुट्टिएको छ, छैन हेर्नुपर्ने देखियो ।

४. प्रतिवादी दिपचन सुरानाले वादी दावीको कि.नं. ३० को जग्गा आफूले काकाको छोरा हंशराजबाट २०३० सालमा बकसपत्र पाएको, आफू र भाइहरू मिति २०२८/१/४ मा आमा हुलासी देवी सुरानाले कि.नं. ४६६ को ज.वि. ०-२-१२ जग्गा बिक्री गरेबाट प्राप्त भएको नगद ३ जना छोरालाई हातहातमा दिई लिई सोही मितिबाट मानो छुट्टिइएको हो । त्यही समयदेखि हामी वादी/प्रतिवादीहरू अलगअलग बसोबास व्यापार, व्यवसाय उद्योग गर्न थालेका हौं भनी जिकिर लिएका देखिन्छ । प्रतिवादी दिपचन सुरानाले मिति २०२८/१२/१ मा वाणिज्य कार्यालयबाट द.नं. ३९२३/०२८ मा आयात निर्यात फर्म दर्ता गरी आफ्नो व्यापार व्यवसाय सुरू गरेको साथै आफ्नो नाउँमा २०२८ साल देखि नै बिजुली, पानी, टेलिफोनसमेत छुट्टै दर्ता गरी अलग्गै बसेको देखिन्छ । वादी सुरजमल सुरानाले २०४६ देखि मानो छुट्टि भिन्न भएको भने पनि निजले २०२९ साल देखि नेपाल स्ट्रा वोडमा जागिर गरी अलग बसोबास गरी मिति २०३६/१०/४ देखि प्लाष्टिक मेटाकेम ट्रेडर्स दर्ता गरी अलगै बिक्री व्यवसायसमेत गरी बसेको देखिएको छ । त्यस्तै अर्का प्रतिवादी निरजकुमार सुरानाले २०३० सालदेखि धान चामलको निकासी व्यापार गरी आएको र २०३३/६/१३ मा स्वदेशी केवुल इन्डष्ट्रिज दर्ता गरी आफ्नो अलगअलग व्यापार व्यवसाय गरी बसेको र निजले आफ्नो नाउँमा अलगै धारा, बिजुली, टेलिफोन जडान गरी प्रयोग गरी बसेको देखिन्छ ।

५. वादी सुरजमल सुरानाले मिति २०४६ साललाई मानो छुट्टिएको मिति कायम गरी मिति २०६१/३/२७ मा फिराद गर्दा आमा हुलासी देवी र दिपचन सुरानाका नाउँको पैतृक सम्पत्ति मात्र दावी गरी आएका तर प्रतिवादी निरज कुमार सुरानाका नाउँमा काठमाडौं सिनामंगलमा रहेको कि.नं. १३६ को २-१४-२ जग्गामा दावी गरेको पनि देखिन 

आएन । यसका अतिरिक्त वादी प्रतिवादीहरू सगोलका अंशियार भएका भए प्रतिवादी दिपचन सुरानाले २०२८ साल देखि उद्योग, व्यापार गरेकामा सोमा समेत दावी गर्नुपर्नेमा सोमा दावी गर्न नसकेको देखिँदा यी वादी प्रतिवादीहरू २०२८ सालमै आमा हुलासी देवीबाट चल सम्पत्ति बाँडी लिई अलग बसेका हौं भन्ने प्रतिवादी जिकिरलाई पुष्टि गरेको देखिन आयो ।

६. अब वादी दावीको कि.नं. ३० को ज.वि. ०-२-१२ जग्गा वादी/प्रतिवादीको बीचमा बन्डा लाग्ने सगोलको सम्पत्ति हो, होइन भन्नेतर्फ विचार गर्दा प्रतिवादी दिपचन सुरानाले २०३० सालमा बकसपत्र पाएको जग्गाको श्रोत हेर्दा उक्त कि.नं. ३० को जग्गा काका केशरीको छोरा हंशराज जैनले उर्मिला देवी उपाध्यायबाट खरिद गरेको सो जग्गा नै प्रतिवादी दिपचनलाई २०३० सालमा बकसपत्र गरी दिएको देखिन्छ । सो जग्गा बाबु, बाजेको नामबाट नामसारी भएर आएको देखिँदैन । २०१० साल भन्दा अघि नै बाबु एवम्‌ काकाहरू छुट्टी सकेका भनि फिरादीले आफ्नो फिरादमा उल्लेख गरेको अवस्थामा २०३० सालमा काकाका छोरा हंशराज जैनले यी प्रतिवादीलाई बकसपत्र दिएको देखिन्छ । त्यस्तै सो जग्गा यी प्रतिवादीले कान्छा भाइ नीरज सुरानाको स्वदेसी केबुल इन्डष्ट्रिजको लागि रा.वा. बैङ्कमा २०३५।७।१ मा धितो राख्दा एकलौटी हक भोगको भनी धितोबन्धक पास भएको सो लिखतमा भाइ नीरज कुमार सुराना साक्षी बसेका छन् सो कुरा मिसिल संलग्न उक्त लिखतको छायाँप्रतिबाट देखिन्छ । सोबाट पनि वादी प्रतिवादी छुट्टिई भिन्न रहेको भन्ने जिकिरलाई पुष्टि  गरेको देखिन्छ ।

७. जग्गा नापीको समयमा विराटनगर नगरपालिका र दिपचन सुरानाको बीचमा मिति २०४३ सालमा उक्त कि.नं. ३० को जग्गाको सम्बन्धमा दर्ता बदर ऐलानी कायम गरिपाउँ भन्ने मुद्दा चल्दा दिपचनका वारेस पशुपति नेपालले अदालतमा मिति २०४३/१०/१३ मा बयान गर्दा हंशराजबाट उक्त कि.नं. ३० को जग्गा अंशबापत प्राप्त गरेको भनी बयान कागज गरेको देखिए तापनि, सुरजमल सुरानालगायतका यी वादीसमेतको अंशियारको हक लाग्ने जग्गा हो भनी भनेका छैनन् । मिति २०३०/११/२२ को सो लिखतको स्वरूप हेर्दासमेत उक्त जग्गा बकसपत्रबाट आएको देखिँदा अंशबाट प्राप्त भएको यी वादीसमेतको अंश हक लाग्ने सगोलको जग्गा हो भनी मान्न मिल्ने अवस्थासमेत रहेको देखिन आएन ।

८. २०३० सालमा बकसपत्र पाएपछि उक्त जग्गामा मिति २०५३/१२/१० सालमा यी प्रतिवादीले घर, पर्खाल बनाउने नक्सा पास प्रक्रियाको लागि विराटनगर उपमहानगरपालिकामा आवेदन गरेको  देखिन्छ । उक्त नक्सा पास गर्ने क्रममा नगरपालिकाले दावी विरोधको लागि सार्वजनिक सूचना प्रकाशित गर्ने, साँध सँधियार बुझ्ने लगाएको प्रक्रिया पुर्‍याउने गर्दछ । सो अनुसार नक्सा पास गर्ने प्रक्रियामा यी वादी तथा अन्य कसैको दावी उजुर नपरेबाट विराटनगर उपमहानगरपालिकाबाट पर्खाल, घर बनाउने इजाजत दिएको देखिँन्छ । सो नक्सा निर्विवाद पास भएको अवस्था छ । 

९. साथै उक्त कि.नं. ३० को ०-२-१२ जग्गामध्येबाट र.नं.१८६६ बाट क्षेत्रफल ०-१-६ जग्गा प्रतिवादी दिपचन सुरानाले २०५४/१०/२७ मा जेठा छोरा राकेश सुरानालाई अंश भरपाई गरिदिएको र सोही कि.नं. ३० मध्येबाट कि.का. गरी कायम कि.नं.१०४ क्षेत्रफल ०-१-६ को जग्गा मिति २०५९/१०/२६ मा कान्छा छोरा सुशिल सुरानालाई अंश भरपाई 

गरिदिएको देखिन्छ । सोउपर वादीले समयमा नै उजुर गर्न सकेको देखिँदैन । वादीले मिति २०६१/३/२७ मा दिएको अंश मुद्दामा प्रतिवादी दिपचन सुरानाले प्रतिउत्तरपत्र फिराए पछिमात्र थाहा पाएको भनी उक्त अंश भर्पाइको विषयमा मिति २०६१/९/२६ मा फिराद दर्ता भएको देखिन्छ । एकै परिसरभित्र छुट्टाछुट्टै बसोबास गर्ने यी वादीलाई प्रतिवादीका छोराहरूको बीचमा अंश भरपाई पास भएको कुरा सोही समयमा थाहा नभएको भन्ने भनाइसमेत विश्वसनिय देखिँदैन ।

१०. त्यसै गरी वादी सुरजमल सुराना र निजको छोरा विजय सुरानाबीच मिति २०६१/३/२५ मा अंश लिई दिई अंश भरपाई पास गरेको देखिन्छ । उक्त अंश भरपाई कागज गर्दा आफ्ना सगोलका अंशियारमा वादी सुरजमल सुराना, निजकी पत्नी चम्पादेवी सुराना तथा निजका छोराहरू विजय सुराना र जयन्त सुराना गरी ४ जनामात्र अंशियार भनी उल्लेख गरेका छन् । उक्त अंश भरपाईमा प्रतिवादी दिपचन सुरानासमेतका मूल अंशियारबीचमा अंशबन्डा हुन बाँकी रहेको भन्ने व्यहोरा उल्लेख गर्न सकेको देखिएन । सोबाट समेत पुनरावेदक वादीको प्रत्यार्थी प्रतिवादी दिपचन सुराना सगोलको अंशियार भएको नदेखिदा निजबाट अंश पाउँ भन्ने जिकिर सत्य साँचो देखिएन ।

११. उक्त मिति २०६१/३/२५ को अंश भरपाई गरेको दुई दिनपछि अर्थात्‌ मिति २०६१/३/२७ मा वादी सुरजमल सुरानाको अंश मुद्दाको फिराद परेको देखिन्छ । प्रतिवादी दिपचन सुरानाले आफ्ना छोराहरूलाई अंश छोडपत्र भरपाई पारित गरिदिएउपर यी वादीले अंशबन्डाको महलको ३२ नं. र ऐ. ३५ नं. को म्याद कायम हुनुपर्ने भनी अदालत प्रवेश गरेको भए तापनि निजको उक्त फिराद ऐनले निर्दिष्ट गरेको तीन महिनाको हदम्यादभित्र परेको मान्न  मिलेन । साथै अंशबन्डाको महलको ३५ नं. ले अंश भरपाई बदर हुने कानूनी व्यवस्थासमेत गरेको देखिँदैन ।

१२. वादी सुरजमल सुराना र प्रतिवादी दिपचन सुरानाले आ-आफ्ना छोराहरूलाई समेत अंश भरपाई गरी दिई सकेको अवस्थामा निजहरूबीच अंशबन्डा हुन बाँकी रहेको भन्ने वादीको फिराद दावी विश्वास लाएक देखिन आएन । प्रस्तुत सन्दर्भमा ने.का.प. २०७० अङ्क २ पृष्ठ २४२ नि.नं.८९६४ (राजेश्वर महतो वि. कलिया देवी थरूनी) भएको अंश दर्ता मुद्दामा “मुद्दाका पक्षहरूबीच समयसमयमा भएका विभिन्न घटनाक्रमहरूबाट नै अलगअलग व्यवहार भएको तथ्य स्थापित हुने हुँदा त्यसरी अलगअलग व्यवहार तथा कारोबार भएको देखिनु नै अंशबन्डा भएको कुरामा अदालत विश्वस्त हुने आधार हुने” भन्ने  सिद्धान्तसमेत प्रतिपादन भएको छ ।

१३. २०१० साल भन्दा अघि नै वादी सुरजमल सुराना र प्रतिवादी दिपचन सुरानाका बाबु एवम्‌ काकाहरू छुट्टी सकेका भनि फिरादीले आफ्नो फिरादमा उल्लेख गरेको अवस्थामा २०३० सालमा काकाका छोरा हंशराज जैनले यी प्रतिवादी दिपचन सुरानालाई निजी तवरबाट बकसपत्र गरी दिएको जग्गा आफ्नोसमेत अंश हक लाग्ने जग्गा हो भन्ने वादीले दावी लिए पनि कागज प्रमाणको अभावमा निज वादीको फिराद दावी पुष्टि हुन सकेको देखिन 

आएन । अतः उपरोक्त प्रमाणबाट निज वादी प्रतिवादीबाट भएको अलगअलग व्यापार र व्यवसायको कारोबार हेर्दा निजहरू आ-आफ्नो तरिकाले खती उपती गरी बसी आएको देखिएको अवस्थामा वादीले २०४६ सालदेखि अलग बसी आएको भनेको तर मानु छुट्टिएको मिति स्पष्ट भन्न नसकेको र प्रतिवादीले २०२८ साल देखि मानो छुट्टिई अलग बसी आएको भनी जिकिर लिएको अवस्थामा वादी एवम्‌ प्रतिवादीका उल्लिखित व्यवहारबाट अंशबन्डाको महलको ३० नं. अनुसार २०३० साल पूर्व नै वादी प्रतिवादीको बीचमा मानो छुट्टिइ व्यवहार प्रमाणबाट अलग भएको मान्नुपर्ने देखियो । 

१४. अंशबन्डाको महलको ३० नं. मा अंशबन्डाको लिखत रजिस्ट्रेसन हुनुपर्ने र सोबमोजिम नभएको बन्डा सदर नहुने उल्लेख हुनुका साथै मुलुकी ऐन, सातौं संशोधन, २०३४ भन्दा पहिलाका अवस्थामा मानो छुट्टिएको अंश लिएको कागजलाई रजिस्ट्रेसन गर्नुपर्ने बाध्यात्मक कानूनी व्यवस्था नहुँदा त्यस भन्दा पहिलेका अवस्थाका व्यवहार प्रमाणबाट बन्डा भैसकेको ठहरेमा सो लाई कानूनी मान्यता दिएको देखिन्छ । साथै यस अदालतबाट ने.का.प. २०४५, नि.नं.३६०२, अङ्क २, पृष्ठ ९८२ मा “व्यवहार प्रमाणबाट भिन्नभएको देखिन्छ भने मानो छुट्टिएको लिखत आवश्यक नपर्ने” भन्ने र ने.का.प.२०४५, नि.नं.३६२५, अङ्क १०, पृष्ठ १०९६ मा “स्वतन्त्ररूपले आ-आफ्नो व्यवहार चलाएकामा बन्डा गरेको छैन भन्न नमिल्ने” भन्ने सिद्दान्त प्रतिपादन भएको देखिँदा यस अदालतको मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान गर्ने आदेश र फाँटवारी माग्ने आदेशसँग सहमत हुन सकिएन । साथै यससम्बन्धमा पुनरावेदक वादी पुष्करप्रसाद वाग्ले विरूद्ध राधादेवी वाग्लेसमेत (नेकाप २०६६, नि.नं. ७२२७) भएको अंशचलन मुद्दामा “बन्डा भएको कुरा अंशियारले स्वीकार गर्ने माध्यम लिखत, आपसी व्यवहार, आपसी कारोबार, अलगअलग बासस्थान र समयको अस्वाभाविक अन्तराल हुन्, यी तत्त्वमध्ये एक वा एकभन्दा बढी अवस्थाको विद्यमानताले अंशबन्डाको ३० नं. को आवश्यकता पूरा गर्दछ, यस कसीमा जति बढी तत्त्वलाई प्रमाणले अङ्गिकार गर्दछ त्यती बढी व्यवहार प्रमाणबाट अंशबन्डा भइसकेको कुरामा अदालत विश्वस्त हुने” भनी यस अदालतबाट सिद्धान्त प्रतिपादन भइरहेको तथा अंशियारहरू बीच भएको अलगअलग व्यवहार प्रमाणबाट अंशबन्डा भएको देखिएको अवस्थामा सो कुरा मान्य हुने भन्ने सम्बन्धमा अन्य विभिन्न सिद्धान्तहरू समेत कायम भएका देखिन्छन्  । 

१५. उल्लिखित विवेचित आधारबाट पुनरावेदक वादीले अंशबन्डा भएको लिखत छैन भन्ने मात्रै दावीको आधारमा मान्यता दिँदै जाने हो भने कहिल्यै पनि विवादको निरूपणको निश्चितता नै नहुने अवस्था उत्पन्न हुन्छ । अदालतले कानूनको व्याख्या गर्दा यस्तो अनिश्चयताको बढावा हुने गरी व्याख्या गर्न हुँदैन । अदालतले कानूनको व्याख्या गर्दा विवादको निरूपण हुने गरी सिर्जनात्मक व्याख्या गर्नुपर्छ । मुलुकी ऐन, अंशबन्डाको ३० नं. ले गरेको कानुनी व्यवस्थाको उद्देश्य र प्रत्याभूति पनि यहि नै हो ।

१६. उल्लिखित कानुनी व्यवस्था, प्रतिपादीत सिद्धान्त, तथ्य एवम्‌ विवेचनासमेतको आधारमा वादी प्रतिवादीको बीचमा व्यवहार प्रमाणबाट २०३० साल पूर्व नै छुट्टि भिन्न भै सकेको देखिँदा वादी दावी पुग्न नसक्ने ठहरी सुरू मोरङ जिल्ला अदालतले गरेको फैसला सदर हुने ठहर्‍याई पुनरावेदन अदालत, विराटनगरले मिति २०६५/१/१० मा गरेको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । अरूमा तपसीलबमोजिम गर्नू ।

तपसील

माथि ठहर खण्डमा उल्लेख भएबमोजिम कि.नं. ३० को क्षेत्रफल ०-२-१२ जग्गामा वादी दावी नपुग्ने ठहरी फैसला भएकाले वादीले यस अदालतको मिति २०७१/४/२७ को आदेशानुसार कोर्ट फी ऐन, २०१७ को दफा २३ बमोजिम सुविधा पाई कोर्ट फी दाखिला गरेको नदेखिँदा वादी दावीको कि.नं. ३० को जग्गाको कानूनबमोजिम लाग्ने कोर्ट फी रू.३५,५००।- (पैतीस हजार पाँचसय मात्र) सरकारी बाँकीसरह वादीबाट असूल उपर गर्नु भनी सुरू मोरङ जिल्ला अदालतमा लगत दिनु ....................................................१

दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ............................२

 

उक्त रायमा सहमत छु ।

न्या.गिरीश चन्द्र लाल

 

इति संवत् २०७१ साल मङ्सिर २३ गते रोज ३ शुभम् ।

इजलास अधिकृत :- टेकराज जोशी

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु