निर्णय नं. ८७१७ - कर्तव्यज्या र ज्यान मार्ने उद्योग ।

ने.का.प. २०६८, अङ्क ११
निर्णय नं. ८७१७
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी
माननीय न्यायाधीश श्री भरतराज उप्रेती
पुनरावेदन नं.०६६–CR–०७०७
पुनरावेदन नं.–०६७– CR–०५१८
फैसला मितिः २०६८।४।२५।४
मुद्दा : कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग ।
पुनरावेक प्रतिवादीः दोलखा जिल्ला, खारे गा.वि.स., वडा नं. ६ घर भै काठमाडौं जिल्ला स्वयम्भू बस्ने हाल कारागार कार्यालय, जगन्नाथ देवल त्रिपुरेश्वरमा थुनामा रहेको उमेश गुरुङ
विरुद्ध
प्रत्यर्थी वादीः बरुण लिम्बू समेतको जाहेरीले नेपाल सरकार
पुनरावेदक वादीः बरुण लिम्बू समेतको जाहेरीले नेपाल सरकार
विरुद्ध
प्रत्यर्थी प्रतिवादीः काठमाडौं जिल्ला, गोंगबु गा.वि.स., वडा नं. ६ बस्ने साजन महर्जन दोलखा जिल्ला, खारे गा.वि.स., वडा नं. ६ घर भै काठमाडौं जिल्ला स्वयम्भू बालाजु बस्ने उमेश गुरुङ
शुरु फैसला गर्ने
मा.न्या.श्री तेजबहादुर कार्की
पुनरावेदन फैसला गर्ने :
मा.न्या.श्री तेजबहादुर के.सी.
मा.न्या.श्री मीरा खड्का
§ तथ्यगत परिस्थितिले प्रतिवादीको घटनामा संलग्नता देखाइसकेको अवस्थामा त्यसको विपरीत साक्षीले गरेको बकपत्र सत्य कुरामा आधारित नदेखिएको अवस्थामा कसूरदारले सफाइ पाउन नसक्ने ।
(प्रकरण नं.९)
§ तथ्यपरक र तर्कसंगत आधारबिना नै परेको प्रहरी कर्मचारीको प्रतिवेदनको आधारमा कसैउपर फौजदारी मुद्दामा अभियोग लगाउँदैमा अभियोजन पक्षको कर्तव्य पूरा भएको मान्न नमिल्ने ।
§ एउटै नाम भएका धेरै व्यक्ति हुन सक्ने भएकोले कसूरमा संलग्न रहेको व्यक्ति पहिचान नगरी नाम मिलेकै आधारमा प्रमाणबिना अभियोग लगाउनु अभियोजन पक्षको दायित्व नहुने ।
(प्रकरण नं.१७)
§ शंका, अनुमान र मनोगत विश्वासको आधारमा वारदातको स्थापना गरिँदैन । फौजदारी कानूनअनुसार कसूर गरेको भन्ने स्वतन्त्र प्रमाणबाट स्थापित भएमा मात्र सम्बन्धित कसूरदारलाई सजाय गर्न सकिने भएकोले प्रमाणबाट कसूर गरेको भन्ने स्थापित हुन नसकेको अवस्थामा कसैलाई पनि कसूरदार ठहराउन वा सजाय गर्न नमिल्ने ।
(प्रकरण नं.१८)
पुनरावेदक वादी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता कृष्णजीवी घिमिरे
पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ताहरू लभकुमार मैनाली, मोहनबहादुर बन्जारा, डा. रजितभक्त प्रधानाङ्ग र निर्मला शाक्य
अवलम्बित नजीरः
सम्बद्ध कानूनः
§ मुलुकी ऐन, ज्यान सम्बन्धी महलको १ र १३(१)
§ अदालती बन्दोबस्तको १९० नं.
§ अ.बं. १८८ नं.
फैसला
न्या.ताहिर अली अन्सारीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ख) बमोजिम पुनरावेदन अदालत, पाटनको फैसलाउपर पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर निम्नबमोजिम छ :–
मेरो भाई राकेश लिम्बूले काठमाडौँ जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं. ११ सुन्धारामा बेबिलोन डिस्को सञ्चालन गर्दै आएका थिए । यसैगरी राजेन्द्रबहादुर गोर्खालीले पनि काठमाडौँ जिल्ला, काठमाडौँ महानगरपालिका १ स्थित दरबार मार्गमा द रोयल डिस्को सञ्चालन गर्दै आइरहेका थिए । दुवै जनाको एउटै व्यवसाय भएको र बेबिलोन डिस्को बढी मात्रामा चलेको र राजु गोर्खाली भन्ने राजेन्द्र गोर्खालीको द रोयल डिस्को कम चल्ने भएकोले बेबिलोन डिस्कोलाई बदनाम गराई बन्द गराउने उद्देश्य लिई राजु गोर्खालीले समय–समयमा आफ्नो व्यक्तिहरू लगाई डिस्कोमा झैंझगडा गरी गराई बन्द गर्ने षड्यन्त्र रची हुलदंगा गर्न पठाई रहेका थिए । मेरो भाइले राजु गोर्खालीलाई फोन गरी यसो नगर्न अनुरोध गर्दा निज राजु गोर्खालीले मेरो डिस्कोमा आऊ र यही छलफल गरौंला भनेकाले मेरो भाई सुनील कार्की समेतका साथीहरूसँगै डिस्कोमा पुगी छलफल गरिरहेको अवस्थामा सुनियोजित तरिकाले लुकाई राखेको धारिलो हतियारले राजु गोर्खालीले सोफामा खाली हात बसिरहेका भाई राकेश लिम्बू, सुनील कार्की, राजेश लेप्चा समेतलाई ज्यानै मार्ने उद्देश्यले टाउको तथा शरीरका विभिन्न ठाउँमा निर्ममता पूर्वक प्रहार गर्दा भाई राकेश लिम्बूको उपचार गर्न वीर अस्पताल लगी डाक्टरलाई देखाउँदा मुत्यु भइसकेको रहेछ । घाइते भएका राजेश लेप्चा र सुनील कार्कीको सोही अस्पतालमा उपचार भइरहेको अवस्था छ । राजु गोर्खाली भन्ने राजेन्द्रबहादुर गोर्खाली समेतका व्यक्तिहरूले पूर्व रिसइवि लिई ज्यानै मार्ने मनसायले प्रेरित भई सुनियोजित तरिकाले धार भएको जोखिमी हतियार प्रयोग गरी ज्यान मारेकोले राजु गोर्खाली भन्ने राजेन्द्रबहादुर गोर्खाली समेतका व्यक्तिहरूलाई पक्राउ गरी मुलुकी ऐन, ज्यान सम्बन्धी महलअनुसार कारवाही गरी सजायसमेत गरिपाऊँ भन्ने व्यहोराको मिति २०५९।१०।४ को बरुण लिम्बूको जाहेरी दरखास्त ।
राकेश लिम्बूले डिस्कोमा झगडा भएको छ भनेपछि मिलापत्रको बारेमा कुरा गर्न भनी राकेश लिम्बू र म रोयल डिस्कोमा जाँदा राजु गोर्खालीसँग भेट भई के भयो भनी कुराकानी गर्न खोज्दा एक्कासी राजु गोर्खालीका मानिसहरूले धारिलो हतियार प्रहार गरी अन्धाधुन्ध राकेश र मलाई प्रहार गर्न थालेपछि मैले रोक्ने प्रयास गर्दा मेरो देव्रे हातको बुढी औंला, चोर औंला र माझी औंला समेतमा निजहरूको प्रहारबाट काटिई घाइते भई उपचारको लागि वीर अस्पतालमा आएको छु, निजहरू के कति जना थिए भन्न सक्तिन भन्ने समेत व्यहोराको राजेश लेप्चाको कागज ।
काठमाडौँ जिल्ला, काठमाडौं महानगरपालिका, लालदरवारस्थित पूर्वमा याक एण्डेस यति होटेल, पश्चिममा निर्मल तुलाधरको घर, उत्तरमा याक एण्ड यति होटेलको कम्पाउड, दक्षिणमा सिंघे होटल । यति चार किल्लाभित्र रोयल डिस्को रहेको, डिस्को अगाडि रगतको छिर्का रहेको, बार्दलीमा रगतका छिटाहरू भएको, काठको बोर्ड राख्ने ठाउँमा रगतको आहाल रहेको, कोठामा यत्रतत्र कागज देखिएको र रगत लागेको, कोठाको कार्पेटमाथि सिसा तथा हिटर फुटी छरपस्ट देखिएको भन्ने समेत व्यहोराको घटनास्थल मुचुल्का ।
मृतक राकेश लिम्बूको लासमा दाहिने आँखाको आँखीभौंमाथि साढे दुई ईञ्च लामो, दुई से.मी चौडाई र १ ईञ्च गहिरो धारिलो हतियारले काटेको घाउ; तालुको भागमा एक–एक ईञ्चको कपालको छाला ताछीएको; निधारको बीच भागदेखि माथि धारिलो हतियारले काटिएको ४ ईञ्च लामो, १ से.मी. चौडाई, १ ईञ्च गहिराईको घाउ देखिएको; टुप्पीतर्फ धारिलो हतियारले काटिएको ३ ईञ्च लामो, १ से.मी. चौडाई, १ से.मीं गहिराईको घाउ; बाया कानदेखि माथि २ ईञ्च लामो, १ से.मी. चौडाइ, १ से.मी. गहिराईको धारिलो हतियारले काटेको घाउ रहेको; सो घाउमाथि ३ ईञ्च लामो, १ से.मीं चौडाई, १ ईञ्च गहिराईको धारिलो हतियारले काटेको घाउ रहेको; पेटको भागमा रगत लतपतिएको, बायाँ खुट्टाको पैतालादेखि माथि अगाडिको नली हाडको भाग काटिएर नली हाड देखिएको भन्ने समेत व्यहोराको मिति २०५९।१०।४ को लास जाँच मुचुल्का ।
मिति २०५९।१०।३ गतेको दिउँसो रोयल डिस्कोका सञ्चालक राजु गोर्खालीले मेरो डिस्कोमा मनोरञ्जन गर्न आउनु भनी म तथा राकेश लिम्बू समेतलाई फोन गरी बोलाएका थिए । म, राकेश लिम्बू समेतका साथीहरू त्यहाँ आउँदा राजु गोर्खाली तथा निजका अन्य साथीहरू जम्मा भई बसेका थिए । हामी डिस्कोमा पुग्नासाथ आउनुहोस् भित्र जाऊँ, कुरा गर्नु छ भनी अफिस कोठाको ढोका बन्द गरी लुकाई राखेको तरवारले हामीहरूलाई अन्धाधुन्ध प्रहार गर्न थाले । राजु गोर्खालीले एक्कासी तरवार प्रहार गर्न थालेपछि अरुले पनि हतियार प्रहार गर्न थालेका हुन् । म बाहिर निस्कनासाथ राकेश लिम्बूले हेल्प–हेल्प भनेकाले पुनः भित्र गई मेरा साथी दुई जनालाई बाहिर तानी चार जना भागी ट्याक्सी खोजी अस्पतालमा आएकोसम्म थाहा छ । उक्त घटना घटाउने मुख्य व्यक्ति राजु गोर्खाली नै हुन् । उक्त घटना हामीहरूलाई मार्ने नियतबाट घटाइएको हो । राजु गोर्खाली बाहेकका अन्य २।४ जनालाई देखेमा चिन्दछु भन्ने समेत व्यहोराको सुनील कार्कीको कागज ।
रोयल डिस्कोमा काम गर्ने केटा आई बेबिलोनमा झैंझगडा गर्न खोजेको रहेछ । राजु गोर्खालीले सोबारेमा कुरा गरौं, मेरो डिस्कोमा आउ भनी फोनबाट बोलाएकोले राकेश लिम्बूले म, राजु बोगटी, साम्राज्य श्रेष्ठ, राजेश लेप्चा, सुनील कार्कीलाई रोयल डिस्कोमा कुरा गर्न जाउँ भनी भनेकोले त्याँहा पुग्दा राजु गोर्खाली तथा निजका साथीहरूले एक्कासी कोठामा भएको तरवार हो वा खुँडा हो यकीन भएन, धारिलो हतियारले एक्कासी प्रहार गर्न खोजेकोले म, साम्राज्य श्रेष्ठ, राजेश लेप्चा त्यहाँबाट बाहिर भाग्यौं । राजु गोर्खालीले राकेश लिम्बूलाई टाउको समेतमा धारिलो हतियार प्रहार गर्दा सो कार्यबाट बचाउन सुनील कार्की अफिस कोठामा जाँदा निज समेतलाई मरणासन्न अवस्थामा पुर्याएकोले म बेबिलोन गई खवर गरी वीर अस्पतालमा आउँदा राकेश लिम्बूको मृत्यु भई सकेको र सुनील कार्की र राजेश लेप्चा सख्त घाइते भई उपचार भइरहेको रहेछ भन्ने समेत व्यहोराको राजु बोगटीको कागज ।
मिति २०५९।१०।३ गते राति म बेबिलोन डिस्कोमा जाँदा बाहिर राजेश लेप्चा भन्ने साथी भेट भयो । निज साथीले राकेश लिम्बू र सुनील कार्की कारमा दरवारमार्ग स्थित द रोयल डिस्कोमा छलफल गर्नका लागि राजु भन्ने राजेन्द्र गोर्खालीले बोलाएकोले त्यसतर्फ गएका छन्, हामी मोटरसाइकलमा जाउँ भनेकोले गयौं । राकेश लिम्बू र राजेश लेप्चासमेत रोयल डिस्कोको अफिस कोठामा राजु भन्ने राजेन्द्र गोर्खालीलगायत नाम थाहा नभएका अन्य ८ जना व्यक्तिहरूको साथमा थिए । राजु गोर्खाली र राकेश लिम्बूबीच बेबिलोन डिस्कोमा राजु गोर्खालीको मानिसले बबाल गरेको सम्बन्धमा डिस्कस हुँदै थियो । राजु भन्ने राजेन्द्र गोर्खालीले सोही अफिस कोठामा लुकाई राखेको लामो हतियार निकाली प्रहार गर्न लागेको देखें । मभन्दा अगाडि राजु बोगटी कोठाबाट निस्किएको र त्यसपछि म पनि कोठाबाट बाहिर निस्की चोकमा आउँदा निज राजु बोगटी कता गयो थाहा पाइन । राजेश लेप्चा मेरो हात गयो भनी कराउँदै चोकमा आएकोले मैले निजलाई ट्याक्सी खोजी वीर अस्पतालसम्म उपचारको लागि लगेको हुँ । त्यसको लगतै राकेश लिम्बू तथा सुनील कार्कीलाई उपचारको लागि वीर अस्पतालमा पुर्याई उपचार गराई रहेका थिए । राजेश लिम्बूको मृत्यु भई सकेको थियो भन्ने साम्राज्य श्रेष्ठको कागज ।
म राजु गोर्खालीले सञ्चालन गरेको रोयल डिस्कोमा १०।१५ दिन अगाडिदेखि वेटरको काम गर्न आएको थिएँ । मिति २०५९।१०।३ गते राति महेश्वर श्रेष्ठले डिस्को बन्द गर भनेपछि डिस्को बन्द भयो । बाहिर झगडा भयो भन्ने थाहा पाएपछि बाहिर निस्कँदा ग्राउण्डमा एकजना र अफिसको बार्दलीमा एकजना रगताम्य भई भूईंमा लडिरहेको देखेको हुँ । उमेश गुरुङ, धनबहादुर गुरुङ, राजु गोर्खाली त्यहाँबाट छिटो–छिटो हिँड्दै कम्पाउण्ड बाहिर निस्केका थिए । त्यसको केही पछाडि प्रहरीको भ्यान आई घाइतेहरूलाई प्रहरीले लिई गएको हो । बुझ्दा राजु गोर्खाली, धनबहादुर गुरुङले धारिलो घातक हतियार प्रहार गरी राकेश लिम्बूको मृत्यु भएको हो भन्ने व्यहोराको अभिमन्यु भण्डारीको कागज ।
म द रोयल डिस्कोमा करीव ८ महिना अगाडिदेखि सुरक्षागार्ड पदमा काम गर्दै आएको थिएँ । मिति २०५९।१०।३ गते राति म डिउटीमै रहँदाको अवस्थामा डिस्को मेनेजरको निर्देशनमा डिस्को बन्द भएपछि सबैजना भागाभाग भयो । यसैक्रममा मलगायत मसँगै काम गर्ने राजु थपलिया र सन्तोष खत्रीसमेत ३ जना बाहिर निस्कँदा चोकमा एकजना मानिस रगताम्य अवस्थामा लडिराखेको र सो बाहिरपट्टि कार क्षतिग्रस्त अवस्थामा भई चोक तथा अफिसको भर्याङ्ग समेतमा रगत लतपतिएको अवस्थामा देखी हामी तीनैजना ग्रुप ४ को अफिसमा गै घटनाको बारेमा जानकारी गराएको हो भन्ने समेत व्यहोराको भोजराज विष्टको कागज ।
म द रोयल डिस्कोमा सुरक्षागार्ड पदमा करीव ४ महिना अघिदेखि काम गर्दै आएको हुँ । मिति २०५९।१०।३ गते डिउटीमै भएको अवस्थामा राजु गोर्खाली भन्ने राजेन्द्रबहादुर गोर्खाली, बन्सर धनबहादुर गुरुङ र बन्सर उमेश गुरुङ सो डिस्को हलभित्र जाने आउने गरिरहेका थिए । अन्दाजी २२.३५ बजेको समयमा डिस्को मेनेजर महेश्वरको निर्देशनमा म्यूजिक तथा बत्ती बन्द भैसकेपछि सबैजना भागाभाग गरेकोले मलगायत मसँगै ड्युटी गर्ने भोजराज विष्ट र सन्तोष खत्रीसमेत बाहिर निस्की हेर्दा चोकमा एकजना मानिस रगताम्य अवस्थामा लडिरहेको र सोही ठाउँमा एउटा कार क्षतिग्रस्त अवस्थामा रहेको देखेपछि ग्रुप ४ को अफिसमा उक्त घटनाको बारेमा जानकारी गराएका हौं भन्ने समेत व्यहोराको राजु थपलियाको कागज ।
म द रोयल डिस्कोमा सुरक्षागार्ड पदमा काम गर्दै आएको व्यक्ति हुँ । मिति २०५९।१०।३ गते राति २२.३५ बजेको समयमा डिउटीमै भएको अवस्थामा राजु गोर्खाली भन्ने राजेन्द्रबहादुर गोर्खाली, बन्सर धनबहादुर गुरुङ र बन्सर उमेश गुरुङ समेतका अन्य व्यक्तिहरू सो डिस्को हलभित्र तथा अफिस कोठाभित्र जाने आउने गरिरहेका थिए । अन्दाजी २२.३५ बजेको समयमा डिस्को मेनेजर महेश्वरको निर्देशनमा म्यूजिक तथा बत्ती बन्द भैसकेपछि सबैजना भागाभाग गरेकोले मलगायत मसँगै ड्युटी गर्ने तीनैजना बाहिर निस्की हेर्दा चोकमा एकजना मानिस रगताम्य अवस्थामा लडिरहेको र अफिस तथा चोकतिर रगत लतपतिएको अवस्थामा देखेपश्चात् ग्रुप ४ को अफिसमा गई सो घटनाको जानकारी गराएको हुँ । घटना अवलोकन गर्दा धारिलो हतियार प्रहार गरी मानिसलाई काटेको जस्तो थियो । बुझ्ने क्रममा राकेश लिम्बूको मृत्यु भएको र अन्य २ जना घाइते भएको थाहा भएको हो भन्ने समेत व्यहोराको सन्तोष खत्रीको कागज ।
काठमाडौँ जिल्ला, काठमाडौँ महानगरपालिका, दरवारमार्गस्थित रोयल डिस्कोको कोठाबाट फलामको खुँडा १, स्टीलको चक्कु १, फलामको पाइप १ समेत फेला परेको भन्ने व्यहोराको खान तलासी तथा बरामदी मुचुल्का ।
उक्त दिन म टिकट काउण्टर नजिक बसेको थिएँ । अन्दाजी १०:३० बजेको समयमा रातो रगंको गाडीमा र मोटरसाइकलमा मानिसहरू आई सरासर अफिस कोठमा जानुभयो । कोठामा झगडा परेजस्तो आवाजबाट जानकारी पाई गई हेर्दा राजु दाई, उमेश गुरुङ, हेम गुरुङ, साजन श्रेष्ठ समेतका व्यक्तिहरूको उपस्थितिमा हात काटी रगताम्य अवस्थामा देखेको हुँ । राकेश लिम्बूलाई राजु गोर्खाली, उमेश गुरुङ, हेम गुरुङ र साजन श्रेष्ठ समेतका व्यक्तिहरूले हत्या गरेको हो भन्ने सुनी थाहा पाएको हुँ भन्ने समेत व्यहोराको प्रदीप आचार्यको कागज ।
मिति २०५९।१०।३ गते मोवाइल गस्तीमा थिएँ । ड्युटीमा अधिकृतको आदेशअनुसार द रोयल डिस्कोमा पुग्दा एकजना व्यक्ति रातो रंगको कार नजिक रगताम्य अवस्थामा देखी कन्ट्रोलमा जानकारी दिई पीडितलाई तत्काल वीर अस्पतालमा लगेको हुँ । घटनाको बारेमा बुझ्दा द रोयल डिस्कोका साहू राजु गोर्खाली र बेबिलोन डिस्कोका साहू राकेश लिम्बूबीच झगडा हुँदा राजु गोर्खालीलगायतका व्यक्तिहरूले धारिलो हतियारबाट हमला गरेको हो भन्ने व्यहोरा खुल्न आएको हुँदा राजु गोर्खाली समेतका व्यक्तिहरूलाई कारवाही होस् भन्ने समेत व्यहोराको वासु खरेलको कागज ।
मिति २०५९।१०।३ गते म डिस्को हलमा आफ्नो काममा व्यस्त नै थिएँ । झगडा भएपछि उक्त स्थानबाट भागी ट्याक्सी चढी मूलपानी घरमा गएको थिएँ । भोलिपल्ट रोयल डिस्कोमा हत्या भयो भन्ने कुरा रेडियो सुनी थाहा पाएको हुँ । मैले थाहा पाएअनुसार राजु गोर्खाली, उमेश गुरुङ, हेम गुरुङ र साजन समेतले धारिलो हतियार प्रहार गरी कर्तव्य गरी मारेका हुँदा निजहरूलाई कारवाही होस् भन्ने समेत व्यहोराको श्याम वयलकोटीको कागज ।
मिति २०५९।१०।३ गते म रोयल डिस्कोमा राजु गोर्खालीसँग छोराको बरखीको लागि पैसा माग्न गएको थिएँ । डिस्को सकियोस् पैसा दिन्छु भनी भन्दा म डिस्को हलतिर नै गएँ । राजु गोर्खाली अफिसमै बस्नु भयो । एक्कासी राति २२ः०० बजेको समयमा डिस्कोमा हो–हल्ला भई भागाभाग भयो । बाहिर के भयो भनी आएर हेर्दा रगतले लतपतिएको अवस्थामा उमेश गुरुङको हातमा खुँडा, हेम गुरुङको हातमा बम्पर, साजन श्रेष्ठको हातमा खुकुरी र राजु गोर्खालीको हातमा खुँडा देखें । मैले कुरा नबुझ्दै निजहरूले राकेश लिम्बू, राजेश लेप्चा र सुनील कार्की (हाल नाम थाहा पाएअनुसार) लाई निजहरूले बोकी रहेको हतियारले प्रहार गर्दा राकेश लिम्बू भूईंमा ढले अन्य २ जनालाई मैले देख्न सकिन । राजु गोर्खालीले डिस्को बन्द गर भनेपछि म ट्याक्सीमा चढी गएँ भन्ने समेत व्यहोराको ज्ञानबहादुर सार्कीको कागज ।
राजु गोर्खालीलाई १२ बर्षदेखि चिन्दछु । निजलाई ४।५ लाख सापटी पनि दिएको हुँ । राजु गोर्खाली समेतका व्यक्तिहरूले राकेश लिम्बू भन्ने व्यक्ति समेतलाई धारिलो हतियार प्रयोग गर्दा राकेश लिम्बूको मृत्यु भएको हो भन्ने कुरा एफ.एम. रेडियो तथा टि.भि.को समाचारबाट थाहा जानकारी हुन आएको हो । राजु गोर्खाली त्यस्तो आपराधिक गतिविधिमा संलग्न व्यक्ति हुन् भन्ने कुरा पछि मात्र थाहा पाएको हुँ । निज गोर्खालीले के कति कारण र रिसइवीले निज राकेश लिम्बू समेतलाई धारिलो हतियार प्रहार गरी राकेश लिम्बूको हत्या गरे, थाहा जानकारी भएन भन्ने समेत व्यहोराको बन्दी निमा शेर्पाको कागज ।
मिति २०५९।१०।३ गते म रोयल डिस्कोमा स्पीकर लाईट र साउण्ड बिग्रिएको हुँदा मर्मतको लागि गएको थिएँ । बाहिर झगडा परेकोले साउण्ड बन्द गरी दिनुहोस् भनेपछि मैले साउण्ड सिष्टम बन्द गरी दिएको थिएँ । राकेश लिम्बूलाई खुँडाले प्रहार गरी राजु गोर्खाली, उमेश गुरुङ, हेम गुरुङ र साजन श्रेष्ठ समेतका व्यक्तिहरूले कर्तव्य गरी मारेको सुनी थाहा पाएको हुँ भन्ने समेत व्यहोराको रमेश थापाको कागज ।
एउटै टोलवासी राजु गोर्खलीलाई म चिन्दछु । मृतक राकेश लिम्बूलाई चिन्दिन । गुण्डागर्दी गर्दै हिँड्ने राजु गोर्खालीलगायत उमेश गुरुङ, हेम गुरुङ र साजन श्रेष्ठले धारिलो हतियार प्रहार गरी राकेश लिम्बूलाई मार्नुको साथै राजेश लेप्चा र सुनील कार्कीलाई सख्त घाइते बनाएको लाग्दछ भन्ने व्यहोराको विष्णु रंजितकारको कागज ।
मिति २०५९।१०।३ गतेको राति राजु गोर्खालीले कुरा गर्न राकेश लिम्बूलाई बोलाएकोमा राकेश लिम्बू, म जाहेरवाला, सुनील कार्की, साम्राज्य श्रेष्ठ, राजे वोगटी रोयल डिस्कोमा गएका थियौं । त्यहाँ हामीलाई काट्ने मार्ने सुनियोजित तरिकाले तरवार, खुँडा राखी बसेका रहेछन् । हामी पुग्नासाथ राकेश लिम्बू सुब्बाले राजु गोर्खालीलाई तपाइँको मानिस बेबिलोनमा झगडा गर्न पठाउनु भएन भन्नासाथ तँलाई के मतलब भनी तरवार खुँडा लिएर ज्यानै मार्ने नियतले प्रहार गर्न थाले । राजु गोर्खालीले मेरो गर्धनमा ताकी तरवारले प्रहार गर्दा मैले बायाँ हातले छल्दा बायाँ हातको तीनवटा औंला छिनियो । म भागी बाहिर निस्किएँ । सुनील कार्कीलाई टाउकोमा धने, साजन र राजु गोर्खालीले प्रहार गर्दा चोट लागी बाहिर निस्किए । पछि राजु गोर्खालीले पटक–पटक प्रहार गरी लडाएपछि हल्ला भई प्रहरी आई उपचारको लागि वीर अस्पताल ल्याउँदा राकेश लिम्बूको मृत्यु भयो । निज राजु भन्ने राजेन्द्रबहादुर गोर्खालीले म समेतलाई बोलाई षडयन्त्रपूर्वक धारिलो हतियार प्रहार गरी सख्त घाइते तुल्याई ज्यान मार्नेसम्मको उद्योग गरेकोले निज राजु गोर्खाली, धने भन्ने, साजन भन्नेलाई पक्राउ गरी ज्यानसम्बन्धी महलको १५ नं. बमोजिम कारवाही गरिपाऊँ भन्ने समेत व्यहोराको राजेश लेप्चाको जाहेरी दरखास्त ।
मृतक राकेश लिम्बूको मृत्युको कारण Multiple (Sharp Force) chop wounds to the head भन्ने समेत व्यहोराको राकेश लिम्बूको शव परीक्षण प्रतिवेदन ।
मिति २०५९।१०।३ गते राति अं. २२:३५ बजेको समयमा राजु गोर्खाली, धन गुरुङ, उमेश गुरुङ, हेम गुरुङ, साजन श्रेष्ठ र यादव श्रेष्ठ समेतका व्यक्तिहरूले राकेश लिम्बूलाई धारिलो हतियार प्रहार गरी ज्यान मार्नुको साथै राजेश लेप्चा र सुनील कार्कीलाई धारिलो हतियार प्रहार गरी मरणासन्न घाइते तुल्याएको भन्ने भोलिपल्ट सुनी थाहा पाएको हुँ भन्ने समेत व्यहोराको मधुकर गुरुङको कागज ।
राजु गोर्खाली भन्ने राजेन्द्रबहादुर गोर्खालीले काठमाडौँबाट कवाडी सामान निकासी गर्ने ठेक्का पाएका थिए । सोही कामको सिलसिलामा निजसँग चिनाजान भएको हुँदा कामको सिलसिलामा रोयल डिस्कोमा बारम्बार जाने आउने गर्दथें । उक्त मिति २०५९।१०।३ गतेको दिन २ बजे रकम लिन आउनु भनी बोलाएकोमा जाँदा राति १२ बजेसम्म बस्नु, व्यापारबाट उठेको रकम लिई जानुहोला भनेबमोजिम म बाहिर फर्की डिस्कोमा पुग्दा निजको शरीरमा रगत लागेको थियो भन्ने समेत व्यहोराको सहदेव बस्नेतको कागज ।
मिति २०५९।१०।३ गते अं. राति १२ बजेको समयमा रोयल डिस्कोको मेनेजर महेश्वर डंगोलले रोयल डिस्कोमा झगडा पर्यो, मलाई यहाँ बस्न देऊ अनि कपडामा लागेको रगत पनि धोई पखाली गरी दिनु भने । निज ४।५ दिनसम्म मेरो घर कोठामा बस्नु भएको हो । मलाई जानकारी भएअनुसार राकेश लिम्बूलाई राजु गोर्खाली, साजन महर्जन, हेम गुरुङ, उमेश गुरुङ र धनबहादुर गुरुङ समेतका व्यक्तिहरूले मारेर फरार भएका हुन् भन्ने समेत व्यहोराको खेमकुमारी गुरुङ भन्ने अनीता गुरुङको कागज ।
म रोयल डिस्कोको एकाउण्टेण्ट हुँ । मिति २०५९।१०।३ गते म रोयल डिस्कोमा नै थिएँ । रातो रङ्गको वा.१.च ५०५ नं. को कारमा र मोटरसाइकलमा मानिसहरू आई सरासर राजु दाई, उमेश गुरुङ, हेम गुरुङ, साजन महर्जन र धनबहादुर गुरुङसमेत भएको अफिस कोठामा पुग्दा हातमा खुकरी, खुँडा, फलामे छडले कुटपीट गरी भागाभाग भएको अवस्थामा १ जना केटा अचेत अवस्थामा भुर्इंमा लडेको देखें । कार्यालय कोठाको बार्दलीमा १ जना व्यक्ति रगताम्य भै मरणासन्न अवस्थामा देखें । म अनीता गुरुङको घरमा राति १२ बजेको समयमा भागी रगत लागेको कपडासमेत धोई पखाली गरी ५।६ दिनसम्म बसेको हुँ । थाहा जानकारी भएअनुसार राकेश लिम्बूलाई राजु दाई, धन गुरुङ, उमेश गुरुङ, हेम गुरुङ, साजन महर्जन समेतले धारिलो हतियारले हत्या गर्नुका साथै राजेश लेप्चा र सुनील कार्की समेतलाई घाइते बनाएको हो भन्ने समेत व्यहोराको महेश्वर डंगोलको कागज ।
काटेको घाउ कडा खालको भन्ने व्यहोराको राजेश लेप्चाको वीर अस्पतालबाट प्राप्त घाउ जाँच केश फाराम ।
राकेश लिम्बू समेतका व्यक्तिहरू रोयल डिस्कोमा आउनु भएकोमा निजहरूको कुराकानी नमिलेपछि राजु गोर्खाली, धनबहादुर गुरुङ, हेम गुरुङ, उमेश गुरुङ समेतका व्यक्तिहरूले राकेश लिम्बूलाई एक्कासी धारिलो खुँडा प्रहार गरी हत्या गर्नुका साथै सुनील कार्की र राजेश लेप्चालाई घाइते बनाई फरार हुनुभएको भन्ने सुनी थाहा पाएको हुँ भन्ने समेत व्यहोराको राम प्रजापतीको कागज ।
रोयल डिस्कोमा काम गर्ने मैले मिति २०५९।१०।३ गते अं. ४ बजे दिउँसो तलव रु.५,०००।– लिई आफ्नो घर तर्फ फर्किंदा राजु गोर्खालीले फोन गरी हिजो बेलुका डिस्कोमा झगडा भएकोले तिमीलाई प्रहरीले समाउन सक्छ, लुकेर बस भनेका हुन् । के कुन कुरामा रिसईवी राखी राकेश लिम्बूलाई धारिलो हतियार प्रयोग गरी कर्तव्य गरी मारेका हुन् थाहा छैन भन्ने समेत व्यहोराको साजन महर्जनको कागज ।
मिति २०५९।१०।३ गते म रोयल क्यासिनोमा थिएँ । मैले आफ्नो वा.१२.प ९२७८ नं. को मोटरसाइकल लिन जाँदा डिस्को बन्द भैसकेपछि राजु गोर्खाली, हेम गुरुङ, धन गुरुङ समेतले राकेश लिम्बूलाई कर्तव्य गरी मारेको र राजेश लेप्चा र सुनील कार्कीसमेत घाइते भएको कुरा थाहा पाएको हो भन्ने समेत व्यहोराको बाबा भन्ने ज्ञानेन्द्र श्रेष्ठको कागज ।
म समेतको टोलीले मोवाइल गस्ती गर्ने क्रममा बरुण लिम्बूको जाहेरी परेको हुलियासँग मेल खाने व्यक्ति देखी शंका लागि निजसँग सोधपुछ गर्दा उमेश गुरुङ नाम बताएकोले पक्राउ गरी दाखिला गरेको भन्ने समेत व्यहोराको प्र.ना.नि. केशव सिंह थापा समेतको प्रतिवेदन ।
वरुण लिम्बूको जाहेरीमा अपराध गर्ने व्यक्तिको नाम, थरको महलको (३) मा उल्लिखित व्यक्ति यिनै हुन् । यिनी समेत जाहेरीमा उल्लिखित प्रतिवादीहरूले जाहेरवालाको भाई राकेश लिम्बूलाई खुँडा समेतले प्रहार गरेका हुन् । देखाउँदा देखें, चिनें भन्ने समेत व्यहोराको राजु बोगटीले गरी दिएको सनाखत कागज ।
सो वारदातमा खुँडा प्रहार गरी राकेश लिम्बूको हत्या गर्ने तथा मसमेत सुनील कार्कीलाई घाइते बनाउने व्यक्ति यिनै हुन् । दायाँ कञ्चटमा खत तथा माथिल्लो अगाडिको छिचारो दाँत समेतको हुलियाले चिनें भन्ने राजेश लेप्चाको सनाखत कागज ।
यी उभिएका उमेश गुरुङले नै राकेश लिम्बू, राजेश लेप्चा र म समेतलाई धारिलो हतियार प्रहार गरी राकेश लिम्बूको हत्या भएको हो भन्ने सुनील कार्कीले गरेको सनाखत कागज ।
यी उभिएका उमेश गुरुङले नै राकेश लिम्बू, राजेश लेप्चा र सुनील कार्की समेतलाई धारिलो हतियार प्रहार गरी राकेश लिम्बूको हत्या भएको हो । राकेश लिम्बूको कर्तव्य ज्यान वारदातमा धारिलो हतियार प्रहार गर्ने निज उमेश गुरुङलाई देखाउँदा देखें, चिने भन्ने साम्राज्य श्रेष्ठले गरेको सनाखत कागज ।
मिति २०५९।१०।३ गते राति २२:३० बजेको समयमा रोयल डिस्कोमा राकेश लिम्बू, राजेश लेप्चा, राजु बोगटी, साम्राज्य श्रेष्ठ समेतका व्यक्तिहरू रातो गाडीमा आई अफिस कोठामा बसेकोमा निजहरूलाई मलगायत राजु गोर्खालीसमेत मिली हतियारले हिर्काएका हौं । दुवैपक्षबीच हानाहान हुँदा मेरो शरीरमा समेत चोट लाग्न गएको हो । राकेश लिम्बूको मृत्यु म समेतको चोटबाट भएको हो भन्ने समेत ब्यहोराको प्रतिवादी उमेश गुरुङको अधिकारप्राप्त अधिकारीसमक्ष भएको वयान ।
परीक्षण गर्न पठाइएका मध्ये परीक्षण नं. १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, र ११ मा लागेको रगत मानवको हो । १, २, ३, ६, ७, ९, १० को रगत ग्रुपको हो भन्ने केन्द्रीय प्रहरी वैज्ञानिक प्रयोगशालाको परीक्षण प्रतिवेदन ।
राकेश लिम्बू, राजेश लेप्चा, सुनील कार्की, राजु बोगटी समेतका ४।५ जना मानिसहरू कुराकानी गर्न भनी रोयल डिस्को गएका थिए । राजु गोर्खालीले सुनियोजितरुपले धारिलो हतियार प्रहार गरी राकेश लिम्बूको हत्या गरेको र राजेश लेप्चा र सुनील कार्कीलाई सख्त घाइते बनाई दिएको कुरा राजु बोगटी समेतले भनेबाट थाहा पाएको हो । राजु गोर्खालीको नेतृत्वमा उमेश गुरुङ समेतले वारदात घटाएका हुन् भन्ने केशव खड्काको कागज ।
राजेन्द्र गोर्खालीले राकेश लिम्बूलाई आफ्नो डिस्कोमा बोलाई उमेश गुरुङ समेतका मानिसहरूले षड्यन्त्रपूर्वक धारिलो हतियार प्रयोग गरी राकेश लिम्बूको हत्या गरेको तथा राजेश लेप्चा र सुनील कार्कीलाई ज्यान मार्नेसम्मको घाइते बनाएका हुन् भन्ने रामकुमार महर्जनको कागज ।
रोयल डिस्कोमा षडयन्त्रपूर्वक बसेका राजु गोर्खाली समेतका मानिसहरूले राकेश लिम्बूको हत्या गरेका हुन् । राजेश लेप्चा र सुनील कार्कीलाई सख्त घाइते तुल्याई दिएको कुरा राजु बोगटी आई बताएकोले थाहा पाएको हुँ । राजेन्द्र गोर्खाली, उमेश गुरुङ समेतका व्यक्तिहरूले ज्यान मार्ने सम्मको कार्य गरेकोले कारवाही होस् भन्ने व्यहोराको सुवास पालुङेको कागज ।
उमेश गुरुङ समेतका मानिसहरूले धारिलो हतियार प्रयोग गरी राकेश लिम्बूको हत्या गरेको र राजेश लेप्चा र सुनील कार्कीलाई ज्यान मार्ने उद्योग गरेका हुन् भन्ने व्यहोराको पशुपति ठाकुरले गरेको कागज ।
उक्त वारदातमा म थिएँ । दुई पक्षबीच झगडा भएपछि हाम्रो पक्षका मानिसहरूले धारिलो हतियार समेतले राकेश लिम्बू पक्षबाट आएका मानिसहरूलाई प्रहार गरी सख्त घाइते तुल्याई दिएको हो । सो वारदातमा सँगै आएका सुनील कार्की, राजेश लेप्चासमेत घाइते भएको हुन् । राजु गोर्खाली र मसमेतले हतियारले राजेश लेप्चा, सुनील कार्कीलाई हिर्काएको हो । मसमेत भई वारदात घटाएको हो भन्ने व्यहोराको प्रतिवादी उमेश गुरुङको ततिम्वा वयान ।
मिसिलसंलग्न सबूत प्रमाणहरूबाट प्रतिवादी उमेश गुरुङ, राजु गोर्खाली भन्ने राजेन्द्रबहादुर गोर्खाली समेतका व्यक्तिहरू भै जाहेरवाला बरुण लिम्बूको भाई राकेश लिम्बूलाई जोखिमी हतियार प्रहार गरी कर्तव्य गरी मारेको तथा राजेश लेप्चा तथा सुनील कार्कीको ज्यान मार्ने उद्योगको वारदात गरेको स–प्रमाण स्थापित हुन आएकोले निज प्रतिवादीहरूले मुलुकी ऐन, ज्यान सम्बन्धी महलको १ र १३(१) नं. को कसूर गरेको हुँदा प्रतिवादीहरू राजेन्द्रबहादुर गोर्खाली र उमेश गुरुङलाई ऐ. ज्यान सम्बन्धी महलको १३(१) अनुसार सजाय हुन र निजै विरुद्ध खण्डका प्रतिवादीहरूसमेत भई राजेश लेप्चा र सुनील कार्कीको ज्यान मार्ने उद्योग गरी ऐ. महलको १ र १५ नं. को कसूर अपराध गरेकोले सोही ऐनको १५ नं. बमोजिम सजाय गरिपाऊँ भनी फेला परेका प्रतिवादी उमेश गुरुङलाई यसै अभियोगपत्र साथ पेश गरिएको छ । प्रतिवादी राजेन्द्रबहादुर गोर्खालीलाई सम्मानीत अदालतबाट म्याद पूर्जी जारी गरिपाऊँ र वारदातमा संलग्न देखिएको धने भन्ने धनबहादुर गुरुङ, हेम गुरुङ, साजन श्रेष्ठ, साजन महर्जन, यादव श्रेष्ठ समेतका व्यक्तिहरूको हकमा यकीन वतन खुली आएका बखत वा पक्राउ परी आएका बखत छुट्टै अभियोग दायर गरिने छ भन्ने समेत व्यहोराको मिति २०६०।१२।९ को अभियोगपत्र ।
मिति २०५९।१०।३ गते रोयल डिस्कोका सञ्चालक राजु भन्ने राजेन्द्रबहादुर गोर्खाली डिस्कोमा नभएकोले डिस्कोको हिसाब किताव सबै मैले नै हेरिरहेको थिएँ । राति करीव १०:३० बजेतिर करीव ८ जना जतिले एक्कासी गोर्खाली खोई भनी थर्काएर सोधे । मैले आदरपूर्वक राजु दाई २।३ दिनदेखि बाहिर जानु भएको छ, केही काम थियो कि भनी सोध्दा मलाई बेबिलोन डिस्कोमा दादागिरी देखाउने तैं होइनस् भन्दै पछि मृतक भएका व्यक्तिले कुटपीट गर्न थाले । डिस्कोमा होहल्ला बढी भयो । मृतक स्वयम्ले स्थिति साम्य पार्नेतर्फ नलागी स्टाफ र ग्राहकहरू तिर पनि कुटपीट गर्न थाले । मलाई अगाडिबाट एकजनाले खुकुरीबाट टाउकोमा प्रहार गर्दा मैले मेरो टाउको घुमाएर छलें । एकपटक छल्दा मलाई ताकेको खुकुरी राकेश लिम्बूको टाउकोमा लागेपछि निज त्यहीं ढले । अध्यारो भएकाले कसले कसलाई हान्यो, थाहा भएन । मसमेत भई राकेश लिम्बूलाई मार्नु पर्ने र सुनील कार्की र राजेश लेप्चाको ज्यान मार्ने उद्योग गर्नुपर्ने कुनै कारण, रिसइवि, मनसाय केही पनि थिएन र छैन । मृतकको मृत्यु हुनुमा र अन्य व्यक्ति घाइते हुनुमा मेरो कुनै संलग्नता छैन । को कसरी मर्यो, को कसरी घाइते भयो, मलाई केही पनि थाहा छैन । जाहेरीको व्यहोरा झूठा हो । राजु गोर्खाली वारदात स्थलमा थिएनन् । मैले कसैलाई कर्तव्य र ज्यान मार्ने उद्योग गर्नुपर्ने कुनै मनसाय नभएकोले अभियोग दावीबमोजिम सजाय हुनुपर्ने होइन भन्ने समेत व्यहोराको प्रतिवादी उमेश गुरुङले मिति २०६०।१२।९ मा अदालतमा गरेको वयान ।
मिति २०५९।१०।३ गतेका दिन म राजु दाईको डिस्कोमा जाँदा उक्त दिन वहाँ कहाँ जानु भएको थियो, मलाई थाहा भएन । उक्त दिन राजु गोर्खाली डिस्कोमा नभएकोले वहाँले मृतक तथा घाइतेहरूलाई कुटपीट गरेको भन्ने कुरा झूठो हो । कागजमा लेखिएको व्यहोरा मैले भनेअनुसार लेखिएको होइन । करीव रातको १० बजेतिर राजु गोर्खाली खोई भन्दै तीनवटा मोटरसाइकलमा आई अफिस कोठामा पसेर तोडफोड गर्न थाले । को कसको बीचमा कुटपीट भयो, मैले नचिनेको हुँदा भन्न सक्दिन । राजेन्द्र गोर्खाली दुई दिन अगाडि नै काठमाडौं बाहिर जान्छु भनेर जानु भएको थियो । वहाँलाई कुटपीट भएको ठाउँमा देखिन भन्ने समेत व्यहोराको मौकामा कागज गर्ने ज्ञानबहादुर सार्कीको बकपत्र ।
को–कसबाट कसरी राकेश लिम्बूको मृत्यु तथा राजेश लेप्चा घाइते भए, सो कुरा मलाई थाहा भएन । कागजमा के व्यहोरा लेखिएको थियो, प्रहरीले मलाई पढी नसुनाई यो कागजमा सही गर, छाडी दिन्छौं भनी कागजमा सही गराएका हुन् । मैले राजु गोर्खालीलाई भेटिन । वहाँले मसँग २।३ दिन बाहिर जान्छु भनी फोनमा भन्नु भएको थियो । झगडा गर्ने मानिसहरू हान–हान भन्दै दोहोरो हानाहान गरिरहेको थिए । के विषयमा झगडा गरे, सो कुरा मलाई थाहा भएन भन्ने समेत व्यहोराको मौकामा बुझिएका मानिस सहदेव बस्नेतको बकपत्र ।
मिति २०५९।१०।३ गते म रोयल डिस्कोमा नै थिएँ । म त्यही डिस्कोको स्टाफ हुँ । राति करिव ९:३० बजेतिर करीव ३०, ३२ जना मानिसहरू गाडीबाट ओर्लेर अफिसतिर राजु गोर्खाली खोई भनी हातमा तरवार, खुँडा लिएर भित्र पसेको केही समयपछि हो हल्ला भयो । मार–मार भनेको हल्ला सुनियो । कसले कसलाई हान्यो, थाहा भएन । मिति २०५९।१०।२ देखि राजेन्द्रबहादुर गोर्खाली डिस्कोमा आउनु भएको थिएन । वहाँ ३ गतेको दिन डिस्कोमा नभएकोले वहाँले मृतकलाई कुटपीट गरेको भन्ने कुरा झूठा हो भन्ने व्यहोराको मौकामा बुझिएका मानिस बुद्ध पोडेको बकपत्र ।
पहिले म रोयल डिस्कोमा क्यासियर पदमा नोकरी गर्दथें । मिति २०५९।१०।३ गतेको राति त्यही रोयल डिस्कोमा नै थिएँ । राजेन्द्रबहादुर गोर्खालीले हामी काम गर्ने स्टाफहरूलाई म डिस्कोको लाइट किन्नको लागि एक हप्ताको लागि बाहिर जाँदैछु, तपार्इंहरूले यहाँ राम्रोसँग काम गर्नुहोला भन्नु भएको थियो । वहाँ मिति २०५९।१०।१ गते राति नै बाहिर जानु भएकोले ३ गतेको रात डिस्कोमा हुनुहुन्न थियो । राकेश लिम्बूलाई मैले चिनेको छैन । हुलमुलमा कसले कसलाई कुटपीट गर्यो, मलाई थाहा भएन भन्ने व्यहोराको मौकामा बुझिएका मानिस पशुपति ठाकुरको बकपत्र ।
म रोयल डिस्कोमा काम गर्छु । घटना भएको राति म त्यही डिस्कोमा थिएँ । राजेन्द्रबहादुर गोर्खालीले हामी डिस्कोमा काम गर्ने स्टाफहरूलाई २, ४ दिनको लागि सामान लिन बाहिर जान्छु भनी जानु भएको थियो । त्यो दिन राजेन्द्रबहादुर गोर्खाली त्यहाँ हुनुहुन्नथ्यो । म राति त्यहाँभित्र काम गरिरहेको थिएँ । राति ११ बजेको समयमा बत्ती निभा भन्ने आवाज सुनियो । त्यसपछि बत्ती निभ्यो । डिस्कोमा आएका सबै गेष्टहरू बाहिर निस्के । म पनि बाहिर चौकमा निस्कें । त्यहाँ के भयो मैले देखिन । कसको बीचमा कुटपीट भयो, सो सम्बन्धमा मलाई केही थाहा भएन भन्ने व्यहोराको मौकामा बुझिएका मानिस श्याम वयलकोटीको बकपत्र ।
मिति २०५९ माघ ३ गते शुक्रबारको रात रोयल डिस्कोमा झगडा भयो भन्ने कुरा मैले भोलिपल्ट सुनेर थाहा पाएको हुँ । प्रतिवादी उमेश गुरुङ त्यही डिस्कोमा काम गर्ने मानिस हुन् । प्रतिवादी राजेन्द्रबहादुर गोर्खाली समाजसेवी मानिस हुन् । मैले राजेन्द्रसँग फोनमा कुरा गर्दा १ गते सामान लिनको लागि बाहिर जाँदैछु भनेका थिए । त्यही १ गतेको बेलुका सामान लिन उनी बाहिर गएको कुरा मैले सुनेको हो । मृतक राकेश लिम्बू र डिस्कोमा आउने मानिसहरूबीच झगडा भएको कुरा सुनेको हुँ । दुई पक्षबीच कुटपीट हानाहान हुँदा मृतकको मृत्यु भएको भन्ने कुरा सुनेको हुँ भन्ने व्यहोराको मौकामा बुझिएका मानिस राम प्रजापतीको बकपत्र ।
सो रात डिस्कोमा नाच्नको लागि गएको हो । घटना भएको देखें । ६, ७ जना केटाहरू हातमा तरवार लिई ४ जना माथि र २ जना तल उभिएको देखेको र उमेशलाई के भयो, के गरिरहेका होलान् भनी हेर्न जाँदा उमेशलाई ३, ४ जनाको समूहले धारिलो हतियारसमेत प्रयोग गरी हानी रहेका थिए । उमेश गुरुङलाई मैले चिनेको ६, ७ वर्ष जति भयो । उसको आचरण, बानी व्यवहार, घरायसी वातावरण राम्रो भएको हुँदा सो घटनामा उसको कुनै पनि संलग्नता रहेको छैन । उमेश गुरुङलाई उल्टै मार्ने नियतले आक्रमण गरेको देखेको हुँ भन्ने व्यहोराको प्रतिवादी उमेश गुरुङको साक्षी दिनेश डंगोलको बकपत्र ।
म रोयल डिस्कोको अफिस कोठामा बसिरहेको थिएँ । त्यसै समयमा राजु गोर्खालीलाई देउ भनी फोन आयो । मैले राजु गोर्खाली त हुनुहुन्न, किन भन्नुस्, म भनी दिन्छु भन्दा हाम्रो बेबिलोन डिस्कोमा झैं–झगडा गरेको छ, हामी त्यसलाई छाड्दैनौं, पछि थाहा पाउँछस् भनी फोन राखी दियो । घटना घट्नुभन्दा अगाडि नै राजेन्द्र गोर्खाली डिस्कोको सामान किन्नको लागि बाहिर जानु भएको थियो । ४।५ जना केटाहरू गाडीबाट हातमा हतियार लिएर राजु खोई भन्दै अफिस कोठामा पसेको ३, ४ मिनेटपछि झगडा भएको आवाज आएको थियो र झगडाले ठूलो रुप लियो । अर्को दिन विहान रेडियोमा रोयल डिस्कोमा घटना भएको सुन्दा मलाई दुःख लाग्यो भन्ने व्यहोराको मौकामा बुझिएका मानिस प्रदीप आचार्यको बकपत्र ।
मिति २०५९।१०।३ गते राति अं. १० बजेतिर गाडीबाट ३, ४ जना झरेर तेरो गोर्खाली खै कहाँ छ भनेर मलाई हकारेर सोधे । मैले आदरपूर्वक दाई त हुनुहुन्न भनें । सोही समयमा तिनीहरू मध्येका दुईजनामा एकजनाले खुकुरी र एकजनाले खुँडा निकाली अफिस कोठाभित्र छिरे । बाहिरबाट मैले डाङडुङ भएको आवाज सुनें । त्यहाँभित्र दोहोरो भिडन्त भएछ । कसले कसलाई हान्यो, सबै कुरा मलाई थाहा भएन । प्रतिवादी उमेश गुरुङ समेतले मृतकलाई कर्तव्य गरी ज्यान मारेको र अन्यलाई ज्यान मार्ने उद्योग गरेको होइन भन्ने व्यहोराको मौकामा बुझिएका मानिस महेश्वर डंगोलको बकपत्र ।
मिति २०५९।१०।१७ को कागजमा भएको सही मेरो हो । तर, उक्त कागजमा लेखिएको व्यहोरा मैले भनेअनुसार लेखिएको होइन । प्रहरीले लेखेर तयार पारेको कागजमा व्यहोरा मलाई पढी नसुनाई सही गराएको हो । रोयल डिस्कोमा झगडामा राकेश लिम्बू भन्नेको मृत्यु भयो भन्ने कुरा सुनें । तर घटना कसरी भयो भन्ने मलाई थाहा भएन भन्ने व्यहोराको मौकामा बुझिएका मानिस विष्णु रंजितकारको कागज ।
मिति २०५९।१०।३ गते राति रोयल डिस्कोमा घटना घटेको रहेछ । मलाई प्रहरीले घटना भएको २।३ दिन पछि सोधपुछको लागि हनुमानढोकामा लगेपछि मात्र थाहा भएको हो । मृतक पक्षको केही समूहहरू रोयल डिस्कोमा राजु गोर्खाली खोई भन्दै खोज्दै गएका रहेछन् । त्यहाँ उक्त दिनु राजु गोर्खाली नभएको थाहा पाएपछि अफिस कोठामा गई सामानहरू तोडफोड गरेका रहेछन् । सोही समयमा रोयल डिस्कोमा आएका ग्राहकहरू र मृतक पक्षका बीच हानाहान भई मृत्यु भएको भन्ने कुरा सुन्नमा आएको हो । घटना भएको दिन राजु गोर्खाली डिस्कोमा थिएनन् भन्ने व्यहोराको मौकामा बुझिएका मानिस मधुकर गुरुङको बकपत्र ।
उक्त घटनापछि उमेश गुरुङसँग देख भेट कुराकानी भएको हो । घटना घटेको दिन राति म उमेशको डेरा कोठामा गएको थिएँ । वहाँ रगताम्मे हुनु भएको थियो । मैले नै राति औषधि लिन गएर मलमपट्टि गरी दिएको हुँ । मृतकलाई उमेश गुरुङले मारेको भन्ने कुरा निराधार हो । उमेश गुरुङले मारेको होइन कि उसलाई नै मार्ने उद्देश्यले उसैमाथि लाठी र ईंटा बर्साएका थिए । वादी दावी सरासर झूठा हो । मृतकको समूहले धारिलो हतियारको प्रयोग गरी आक्रमण गरिरहेका थिए । उसले आफ्नो प्रतिरक्षा मेचले छेकेर गरेको थियो । उमेश गुरुङसमेत भई मृतक राकेश लिम्बूलाई कर्तव्य गरी मारेको र राजेश लेप्चा समेतको ज्यान मार्ने उद्योग गरेको भनी लाएको आरोप गलत हो । राकेश लिम्बूको कर्तव्य गरी ज्यान मार्ने कार्यमा निजको संलग्नता रहेको छैन भन्ने व्यहोराको प्रतिवादी उमेश गुरुङको साक्षी सुमन खड्गी र विष्णु क्षेत्रीको बकपत्र ।
वरुण लिम्बूको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी राजेन्द्रबहादुर गोर्खालीसमेत भएको राकेश लिम्बूलाई मिति २०५९।१०।३ गते कर्तव्य गरी मारेको भन्ने ज्यान मुद्दामा हाल पक्राउमा परी लागू औषध मुद्दामा हिरासतमा रहेका गोगंबु ६ बस्ने साजन महर्जनको संलग्नता रहेको भन्ने बुझिएकाले निज प्रतिवादीउपर कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गरिपाऊँ भन्ने समेत व्यहोराको पूरक अभियोगसम्बन्धी कारवाहीको सम्बन्धमा प्र.ना.नि. दिलबहादुर थापाले मिति २०६४।३।२४ मा दिएको प्रतिवेदन ।
वरुण लिम्बूको जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी राजेन्द्रबहादुर गोर्खालीसमेत भएको कर्तव्य ज्यान मुद्दामा हाल पक्राउ परेका साजन महर्जनलाई सनाखत गराउनु पर्ने भएकोले जाहेरवाला वरुण लिम्बू र घाइते राजेश लेप्चा, सुनील कार्कीलाई उपस्थित गराई दिनु भनी प्र.नि. यादवराज उप्रेतीले महानगरीय प्रहरी परिसर ललितपुरलाई मिति २०६४।४।२ मा लेखेको च.नं. १६ को पत्र ।
लागू औषध मुद्दामा पक्राउ परेका प्रतिवादी साजन महर्जन मिति २०५९।१०।३ गते राति रोयल डिस्कोमा धारिलो हतियारले काटी राकेश लिम्बूलाई कर्तव्य गरी मारेको ज्यान मुद्दा र ज्यान मार्ने उद्योग गरेको भन्ने मुद्दामा संलग्न व्यक्ति होइन भन्ने व्यहोराको घटनामा घाइते भएको राजेश लेप्चा र सुनील कार्कीको मिति २०६४।४।४ को छुट्टाछुट्टै सनाखत कागज ।
म रोयल डिस्कोमा काम गर्ने व्यक्ति भएकोले मिति २०५९।१०।३ गते तलव लिन गएको थिएँ । साँझ घरमा गएको हुँदा राजु गोर्खालीसमेतले धारिलो हतियारले काटी राकेश लिम्बूलाई मारेको र राजेश लेप्चालाई घाइते बनाएको कुरा भोलिपल्ट पत्रिका पढेर थाहा पाएको हुँ । म वारदातमा संलग्न थिइन । मैले राकेश लिम्बूलाई काटी मारेको र राजेश लेप्चालाई ज्यान मार्ने उद्देश्यले धारिलो हतियारले हानेको पनि होइन । उमेश गुरुङ समेतले बयान कागजमा मेरो नाम किन लेखाए, थाहा भएन भन्ने समेत व्यहोराको प्रतिवादी साजन महर्जनले अधिकारप्राप्त अधिकारीसमक्ष मिति २०६४।४।६ मा गरेको बयान ।
अभियोजनार्थ पेश हुन आएको प्रस्तुत मुद्दामा प्रतिवादी उमेश गुरुङको बयान र मिसिलसंलग्न प्रतिवादी साजन महर्जनले गरेको बयान समेतका आधार प्रमाणहरूबाट प्रतिवादी राकेश लिम्बूलाई कर्तव्य गरी मारेको र राजेश लेप्चा समेतलाई ज्यान मार्ने उद्योग गरेको वारदात पुष्टि भएको हुँदा प्रतिवादी साजन महर्जनको उक्त कार्य मुलुकी ऐन, ज्यान सम्बन्धी महलको १ नं. को ऐ. १३(१) र १५ नं. बमोजिमको कसूर अपराध हुँदा निज प्रतिवादी साजन महर्जनलाई ऐ. १३ (१) र १५ नं. बमोजिम सजाय हुन माग दावी लिइएको छ । प्रतिवादी साजन महर्जन लागू औषध मुद्दामा कारागार शाखा, जगन्नाथ देवलमा थुनामा रहेकोले त्यहाँबाटै झिकाई बयान गरिपाऊँ भन्ने व्यहोराको मिति २०६४।४।१३ को पूरक अभियोगपत्र ।
रोयल डिस्कोमा घटना भएको भन्ने मैले पत्रिका पढेर र सुनेर थाहा पाएको हुँ । के कसरी घटना भयो, के कसको मृत्यु भएको र घाइते भएको हो, सो सम्बन्धमा मलाई थाहा भएन । सो घटनामा म संलग्न नभएकोले त्यसबारे केही भन्न सक्दिन । मृतकलाई म चिन्दिन । मैले मिति २०५९।१२।१९ मा गरेको कागजमा त्यही बेला जो भएको सत्य व्यहोरा लेखाई दिएको छु । अरु व्यक्तिहरूले गरेको कागज व्यहोरा सम्बन्धमा मलाई केही थाहा छैन । राकेश लिम्बू भन्ने व्यक्तिलाई मार्ने, हत्या गर्ने कार्यमा मेरो संलग्नता छैन । मउपरको दावी गलत हो । मेरा साक्षी प्रमाणहरू बुझी अभियोग दावीबाट सफाइ दिलाई पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी साजन महर्जनले अदालतमा गरेको बयान ।
साजन महर्जन रोयल डिस्कोमा काम गर्ने गर्दथे । रोयल डिस्कोबाट पाउनु पर्ने तलव दिनको करीव ४ बजेतिर बुझी सकेपछि उनले मलाई फोन गरी बोलाएको र अर्का साथी रामकृष्ण सेढाईंसमेत र अन्य २, ३ जना साथीहरू भई खाजा खाँदै बाहिर बसेका थियौं । रामकृष्ण र साजन साथै गए । म र अन्य साथीहरू पनि अलग्गियौं । निज साजन महर्जन घटनामा संलग्न नभएको हुँदा अभियोग दावीबाट सफाइ पाउनुपर्छ भन्ने प्रतिवादी साजन महर्जनका साक्षी सानुकाजी प्रजापतीको बकपत्र ।
मिति २०५९ माघ ३ गते तलव बुझी घर आई मैले डिस्को छोडें, आज बस्नु पर्छ भनी फोन गरेकोले साजन महर्जनसमेत हामी रातको ११ बजेसम्म खाना खाई बसिरहेका थियौं । मैले उनलाई उनको घरसम्म छाडी गएको हुँ । भोलिपल्ट पत्रिका पढी घटनाको बारेमा थाहा भयो । उक्त घटनामा साजनको कुनै संलग्नता छैन । निजमाथि लागेको आरोप झूठा हो भन्ने प्रतिवादी साजन महर्जनका साक्षी रामकृष्ण सेढाईको बकपत्र ।
म्यादी पूर्जीमा उपस्थित नभई फरार रहेको प्रतिवादी राजु गोर्खाली भन्ने राजेन्द्रबहादुर गोर्खालीको हकमा मुलुकी ऐन, अ.बं. १९० नं. बमोजिम मुद्दा मुल्तवी राखी दिएको छ । प्रतिवादी उमेश गुरुङउपरको अभियोग दावीसम्बन्धमा विचार गर्दा घटनास्थलको प्रकृति र मृतकको शरीरमा देखिएको चोटपटक समेतबाट यी प्रतिवादीउपर मृतकले वा अरु कसैले हतियार प्रहार गरेको भन्ने कुरा तथ्ययुक्त रुपबाट पुष्टि हुन नसकी प्रतिवादी उमेश गुरुङ रही बसेको ठाउँमा निज मृतक लगायतका व्यक्तिहरू आई झगडा गरेको र सोहीक्रममा प्रतिवादी उमेश गुरुङले पनि धारिलो हतियार चलाएको भन्ने कुरा अनुसन्धानको क्रममा खुल्न आएको देखिन्छ । सोही वारदातमा राकेश लिम्बूको टाउकोमा समेत धारिलो हतियारले चोट लागी मृत्यु भएको अवस्था मिसिलमा मौजुद ब्गतयउकथ च्भउयचत लगायतका कागजहरूबाट समर्थित भएको देखिएबाट प्रतिवादी उमेश गुरुङले कर्तव्य गरी मारी मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. १३ नं. को देहाय १ को कसूर गरेको ठहर्छ । सो ठहर्नाले निज प्रतिवादी उमेश गुरुङलाई ऐ. १३(१) नं. बमोजिम सर्वश्वसहित जन्मकैदको सजाय हुने ठहर्छ । अपराधको अवस्था विचार गर्दा जाहेरीलगायतका कागजातहरूबाट मर्ने राकेश लिम्बू र यी प्रतिवादी उमेशबीच कुनै रिसइवी नभएको, निज लिम्बूलाई मार्नकै लागि प्रतिवादी उमेश गुरुङ क्रियाशील नभई पिडीतपक्ष नै हुलहुज्जत गरी प्रतिवादी रहे बसेको ठाउँमा आई झगडा बखेडा गरेको भन्ने कुरा कागज प्रमाणहरूबाट देखिएको र आत्मरक्षाको पूर्णत पुष्टि नभए पनि त्यस्तो सम्भावना रहेको भन्ने कुरा मिसिल कागजहरूबाट देखिएकोले सर्वश्वसहित जन्मकैदको सजाय निजका हकमा चर्को पर्ने चित्तले देखेको कारण निज प्रतिवादी उमेश गुरुङद्धको हकमा अपराधको परिस्थिति विचार गर्दा घटी सजाय गर्नु उपर्युक्त देखिएकोले प्रतिवादीलाई १०(दश) वर्ष कैद सजाय गर्न उचित हुने देखी साधक सदरको लागि अ.बं. १८८ नं. बमोजिम राय पेश गरेको छु । राजेश लेप्चालाई मार्ने प्रतिवादीको मनसाय रहेको भन्ने कुरा तथ्ययुक्तरुपमा पुष्टि हुन नसकेबाट ज्यान मार्ने उद्योगतर्फको अभियोग दावीबाट प्रतिवादी उमेश गुरुङले सफाइ पाउने ठहर्छ भन्ने काठमाडौं जिल्ला अदालतको मूल अभियोग दावी सम्बन्धमा मिति २०६४।१२।१३ मा भएको फैसला ।
अनुसन्धानक्रममा वारदातका प्रत्यक्षदर्शी एवं पिडितको रुपमा बुझिएको राजेश लेप्चाको मिसिलसंलग्न सनाखत कागज व्यहोरा हेर्दा देखाइएको साजन महर्जन घटनास्थलमा उपस्थित व्यक्ति होइनन् र मेरो जाहेरीमा उल्लेख भएको साजन भन्ने व्यक्ति अर्कै हो भनी व्यक्त गरेको र अर्का पीडित सुनील कार्कीले पनि निज प्रतिवादी साजन महर्जन घटना वारदातमा थिएनन् भनी अभियोजनकै विरुद्धमा प्रमाण लाग्ने गरी कागज गरिदिएको देखिँदा निज साजन महर्जनको विरुद्धमा अभियोजनपक्षले प्रमाणित गर्न नसकेबाट सबूत प्रमाणको अभावमा शंका र अनुमानको भरमा कसूरदार कायम गर्न नमिल्ने देखिँदा प्रतिवादी साजन महर्जनले सफाइ पाउने ठहर्छ भन्ने व्यहोराको मिति २०६४।१२।१३ मा काठमाडौँ जिल्ला अदालतबाट पूरक अभियोग सम्बन्धमा भएको फैसला ।
जिल्ला अदालतले कथित वारदातमा मेरो भूमिकाको सम्बन्धमा आत्मरक्षाको सम्भावना देखिएको कारणबाट अ.बं. १८८ नं. बमोजिम राय पेश गरिएको पाइन्छ । वादी पक्षबाट प्रस्तुत गरिएका प्रमाणहरूउपर अदालत स्वयंले शंका उठाएर फैसला गरिएको पाइन्छ । प्रस्तुत मुद्दाको वादी दावी मृतकलाई मसमेतले कर्तव्य गरी मारेको भन्ने भएको हुनाले अदालतले केवल सोमा मात्र सीमित रहेर मैले वादी दावीबमोजिम कसूर गरेको हो वा होइन भनी वादी पक्षबाट प्रस्तुत ग्राह्य प्रमाणहरूको आधारमा फैसला गर्नुपर्नेमा घटनास्थलको प्रकृति र मृतकको शरीरमा देखिएको चोटपटकलाई आधार प्रमाणको रुपमा ग्रहण गरिएको छ । अर्कोतर्फ कथित वारदात भएको एक वर्ष पछाडि मलाई बयान गराउँदा आफूलाई लागेको घाउ चोटपटक र दाग सम्बन्धमा उल्लेख गरेकोमा विशेषज्ञबाट जाँच नगराई हचुवाको भरमा मेरो विरुद्धमा फैसला भएको छ । मेरो अधिकारप्राप्त अधिकारीसमक्षको बयानलाई समर्थित गर्ने कुनै पनि स्वतन्त्र र विश्वासनीय प्रमाण मिसिलमा छैन । तसर्थ अदालतले अनुसन्धानको क्रममा तयार पारिएका आधार प्रमाणहरूलाई मेरो विरुद्ध ग्रहण गरी मलाई कसूरदार कायम गरी गरेको फैसला प्रमाण ऐन, २०३१ को दफा ९(२)क, १८, २३, सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त एवं फौजदारी न्यायका मान्य सिद्धान्त समेतको विपरीत भएको प्रष्ट छ । मृतकको शरीरमा परेका चोटहरू मेरो आपराधिक कार्यको परिणाम हो भन्ने प्रमाण वादी पक्षबाट पेश हुन सकेको छैन । कसूर प्रमाणित गर्ने भार वादीको हुने र दावी प्रमाणित नभएसम्म कसूरदार कायम गर्न नमिल्ने हुँदा ग्रहण गर्न नमिल्ने प्रमाणलाई ग्रहण गरी जिल्ला अदालतले गरेको फैसला मुद्दाको तथ्य, प्रचलित कानून, फौजदारी न्यायका मान्य सिद्धान्त, प्रमाण कानून एवं सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तहरू समेतको आधारमा बदर गरी मलाई सफाइ दिलाई पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी उमेश गुरुङको मिति २०६५।७।१५ मा पुनरावेदन अदालतमा परेको पुनरावेदनपत्र ।
अदातलकै फैसलाले प्रतिवादी उमेश गुरुङ वारदातमा संलग्न रहेको स्वीकार गरिसकेको छ । धारिलो हतियारको प्रयोग असल मनसायले गरेको भन्ने कल्पनासम्म पनि गर्न सकिँदैन । हातका औंलाहरू गुमाएका राजेश लेप्चाले तत्काल संयोगले उपचार पाई मात्र बाँचेको अवस्थामा मर्नेसम्मको अवस्था नरहेको, मार्ने मनसाय नरहेको भनी प्रतिवादीलाई ज्यान मार्ने उद्योगतर्फ सफाइ दिने गरी भएको फैसला त्रुटिपूर्ण हुँदा सो फैसला बदर गरी प्रत्यर्थी प्रतिवादीलाई अभियोग माग दावीबमोजिम सजाय गरिपाऊँ भन्ने समेत व्यहोराको वादी नेपाल सरकारको तर्फबाट प्रतिवादी उमेश गुरुङलाई ज्यान मार्ने उद्योगमा सफाइ दिएउपर मिति २०६५।११।१ मा पुनरावेदन अदालतमा परेको पुनरावेदन ।
वारदातमा डिस्कोमा राकेश लिम्बूको मृत्य र अन्य व्यक्तिहरू घाइते भएको कुरामा विवाद छैन । घटनाको केहीबेर अघिसम्म आफू र अर्का प्रतिवादी राजेन्द्र भन्ने राजु गोर्खाली घटनास्थलमा रहेको, त्यहाँको जागिर छोडी रकम बुझेको र सहप्रतिवादी राजु गोर्खालीले पटक–पटक फोन गरी घटनाका सम्बन्धमा प्रहरीले पक्रन सक्छ भनेको भनी घटनामा संलग्नाता स्वीकार गरी प्रतिवादी साजन महर्जनले बयान गरेका छन् । यी प्रतिवादीउपर मौकामै किटानी जाहेरी परेको, सहअभियुक्त प्रतिवादी उमेश गुरुङले वारदातमा यी प्रतिवादीको पूर्ण संलग्नता छ भनी लेखाई दिएको अवस्थासमेत हुँदा वारदात घटाई लुकी छिपि हिँडेर घटनामा घाइते व्यक्तिहरूलाई आफ्नो पक्षमा बोल्न लगाएको आधारमा पछि संकलित प्रमाणहरूको बेवास्ता गरी प्रतिवादीको भनाईलाई आधारमानी प्रतिवादी साजन महर्जनलाई सफाइ दिने गरी भएको फैसला त्रुटिपूर्ण हुँदा सो हदसम्म फैसला बदर गरी प्रत्यर्थी प्रतिवादीलाई अभियोग माग दावीबमोजिम सजाय गरिपाऊँ भन्ने समेत व्यहोराको वादी नेपाल सरकारको तर्फबाट पूरक अभियोगका प्रतिवादी साजन महर्जनलाई सफाइ दिएको हकमा मिति २०६६।१।२० मा पुनरावेदन अदालतमा परेको पुनरावेदनपत्र ।
यसमा उमेश गुरुङले ज्यान मार्ने उद्योगतर्फको अभियोग दावी नपुग्ने भनी पीडितको घाउ चोटको प्रकृतिबाट मर्नेसम्मको कुनै अवस्था नदेखिएको भनी फैसला भएको, तर घाउ चोटको के कस्तो प्रकृति रहेको र अदालत उक्त निर्क्यौलमा पुगेको सो आधार खुलेको नदेखिई शुरु फैसला फरक पर्न सक्ने हुँदा छलफलको निमित्त प्रत्यर्थीलाई आदेशको प्रतिलिपि र पुनरावेदनपत्रको प्रतिलिपिसमेत पठाई नियमानुसार गरी पेश गर्नु भन्ने प्रतिवादी उमेश गुरुङलाई सफाइ दिएको फैसलाउपर परेको वादी नेपाल सरकारको पुनरावेदनमा पुनरावेदन अदालतबाट मिति २०६६।६।२७ मा भएको आदेश ।
यसमा यसै लगाउको फौ.पु.नं. ११३५ र १३०९ मा प्रत्यर्थी झिकाउने आदेश भएको हुँदा उक्त मुद्दासँग प्रस्तुत मुद्दा अन्तरप्रभावी भएकोले प्रत्यर्थी भिकाई आएपछि वा अवधि नाघेपछि नियमानसार गरी पेश गर्नु भन्ने पुनरावेदन अदालतबाट प्रतिवादी साजन महर्जनको हकमा परेको पुनरावेदनमा मिति २०६६।६।२७ मा भएको आदेश ।
किटानी जाहेरी, मौकाको घटनास्थल प्रकृति मुचुल्का, पोष्टमार्टम रिपोर्ट, घटनाबाट पीडित व्यक्तिहरू सुनील र राजेशको मौकाको भनाईबाट प्रतिवादीको मौकाको अधिकारप्राप्त अधिकारीसमक्षको सावितीलाई समर्थन र पुष्टि गरेको हुँदा ती कागज र प्रमाणहरूको एक अर्काबीचको सामञ्जस्यताले मृतक राकेशको मृत्यु प्रतिवादीमध्ये उमेश गुरुङ समेतको कर्तव्यबाट हुन गएको पुष्टि हुन आउँछ । निजलाई मुलुकी ऐन, ज्यान सम्बन्धी महलको १ नं. को कसूरमा ऐ. को १३(१) बमोजिम सर्वश्वसहित जन्मकैद सजाय हुने गरी शुरु काठमाडौं जिल्ला अदालतबाट भएको फैसलालाई अन्यथा मान्नु पर्ने अवस्था देखिन आएन । दोहोरो झडपबाट प्रतिवादी उमेश गुरुङको उपस्थितिमा वारदात भै मृतक राकेशको मृत्यु भएको अपराध हुँदाको परिस्थिति समेतलाई ध्यानमा राखी निज प्रतिवादी उमेश गुरुङलाई ठहर भएको उपरोक्तानुसार सर्वश्वसहित जन्मकैदको सजाय चर्को पर्ने चित्तमा लागी घटी सजाय गर्न उपयुक्त देखिँदा निजको हकमा अ.बं. १८८ बमोजिम १० वर्ष मात्र कैद गर्ने गरी काठमाडौँ जिल्ला अदालतबाट प्रस्तुत गरिएको रायसमेत सदर हुने ठहर्छ । निज प्रतिवादी उमेश गुरुङलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १५ नं. बमोजिम ज्यान मार्ने उद्योगतर्फको दावी सम्बन्धमा दोहोरो आक्रमण र झडप भएको हुँदा कुनै छेकवार गर्न पर्ने आवश्यकता नै देखिँदैन । तेस्रो पक्षको उपस्थितिले ज्यान मर्न नपाएको भन्ने कुनै अवस्थै छैन । घाइतेको घाउ चोट मर्नेसम्मको प्रकृतिको नदेखिएको अवस्थाबाट निज प्रतिवादी उमेश गुरुङलाई ज्यान सम्बन्धी महलको १५ नं. बमोजिम ज्यान मार्ने उद्योगतर्फको अभियोग दावीबाट सफाइ दिने गरी शुरु काठमाडौँ जिल्ला अदालतबाट भएको मिति २०६४।१२।१३ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत, पाटनबाट प्रतिवादी उमेश गुरुङको हकमा मिति २०६६।११।१८ मा भएको फैसला ।
कुनै पनि प्रत्यक्ष र अप्रत्यक्ष प्रमाणसमेतले यी प्रतिवादीले आरोपित कसूर गरेका हुन् भनी प्रमाणित गर्न नसकेको अवस्थामा निजलाई ज्यान सम्बन्धी महलको दफा १ विपरीतको कसूरमा ऐ.को १३(१) बमोजिम कर्तव्य ज्यान र ऐ.को दफा १५ नं.बमोजिम ज्यान मार्ने उद्योगतर्फको अभियोग दावीको कसूरबाट सफाइ दिने गरी भएको शुरु काठमाडौँ जिल्ला अदालतको मिति २०६४।१२।१३ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । वादी नेपाल सरकारको पुनरावेदन जिकीर पुग्न सक्दैन भन्ने मिति २०६६।११।१८मा पुनरावेदन अदालत पाटनबाट प्रतिवादी साजन महर्जनका उपरमा परेको पुनरावेदनमा भएको फैसला ।
पुनरावेदन अदालतले मेरो विरुद्ध निर्णयाधारको रुपमा लिइएका आधारहरू त्रुटिपूर्ण छन् । वारदातबाट पीडित भनिएका चश्मदिद सुनील कार्की र राजेश लेप्चाको मौकाको कागजबाट मेरो उपस्थिति देखाइएको पाइँदैन । निजहरूको कागजमा मेरो यस्तो आपराधिक कार्य थियो भन्ने उल्लेख हुन सकेको छैन । अधिकारप्राप्त अधिकारीसमक्षको बयान स्वेच्छाबाट भएको नहुँदा सो निश्चयात्मक प्रमाण हुन सक्तैन । मैले अपराध गरेको भन्ने तथ्य प्रमाण ऐन, २०३१ को दफा २५ अनुसार वादीले प्रमाणित गर्नुपर्दछ । वादीले दफा २५ अनुसार दावी प्रमाणित गर्न नसकेको अवस्थामा सो ऐनको दफा २७ बमोजिम प्रतिवादीले प्रमाण पुर्याउनु पर्ने भार क्रियाशील हुँदैन । म प्रतिवादी वारदात स्थलमा उपस्थित हुनु नै अपराध गरेको भन्न मिल्दैन । अदालतमा गरेको बयानको केही अंशलाई प्रमाण ग्रहण गर्ने र बाँकी अंशलाई प्रमाणमा ग्रहण नगर्ने स्वविवेकीय अधिकार अदालतलाई हुँदैन । मृतकको टाउकोको चोटको संख्यासँग मेरो आत्मरक्षाको प्रयास तुलना गर्न मिल्दैन । घटनास्थल प्रकृति मुचुल्का र पोष्टमार्टम रिपोर्टले मेरो निर्दोषिता प्रमाणित गरी दिएका छन् । वारदातस्थल सार्वजनिक स्थल डिस्को भएको र मृतकपक्षबाट हतियार प्रहार हुन थालेपछि हो–हल्ला भै डिस्कोमा आएका व्यक्तिहरू र मृतक पक्षबीच कुटाकुट र हानाहान भएको स्थिति मिसिलबाट देखिएको छ । पुनरावेदन अदालतको फैसलाअनुरूप उक्त वारदातमा म पुनरावेदकको आपराधिक कार्य प्रमाणित भएको खण्डमा पनि मनसायबिनाको कार्यलाई अपराधको संज्ञा दिन नमिल्ने हुँदा पुनरावेदन अदालतको फैसला फौजदारी न्यायका प्रचलित सिद्धान्त, प्रचलित कानूनी व्यवस्था र सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त समेतको विपरीत हुनाले उक्त फैसला बदर गरी सफाइ दिलाई पाऊँ भन्नेसमेत व्यहोराको प्रतिवादी उमेश गुरुङको कारागार कार्यालय, जगन्नाथ देवल, त्रिपुरेश्वरमार्फत् यस अदालतमा मिति २०६७।२।२१ मा दर्ता भएको पुनरावेदन पत्र ।
प्रतिवादी समेतले ढोका बन्द गरी रड तथा धारिलो हतियारद्वारा प्रहार गर्दा राकेश लिम्बूको मृत्यु भएको र सुनील कार्की घाइते भई राजेश लेप्चाको दाँया हातको औंलाहरू काटिएको छ । सह–अभियुक्तले आफू कसूरमा सावित भई यी प्रतिवादीसमेत भई घटनास्थलमा धारिलो हतियारले प्रहार गरेको भनी लेखाई दिएको समेतको आधारबाट प्रतिवादी साजन महर्जनलाई अभियोग दावीबाट सफाइ दिएको र प्रतिवादी उमेश गुरुङलाई ज्यान मार्ने उद्योगतर्फको दावीबाट सफाइ दिएको शुरु फैसलालाई सदर गरेको पुनरावेदन अदालत, पाटनको फैसला त्रुटिपूर्ण हुँदा सो हदसम्म बदर गरी अभियोग दावीबमोजिम सजाय गरिपाऊँ भन्ने वादी नेपाल सरकारको तर्फबाट मिति २०६७।८।२२ मा यस अदालतमा दर्ता भएको पुनरावेदनपत्र ।
यसमा पुनरावेदक प्रतिवादीले अदालतमा कसूरमा इन्कार भई बयान गरेका र अदालतमा आई बकपत्र गर्ने प्रत्यक्षदर्शीहरूले यिनै प्रतिवादी उमेश गुरुङले हतियार प्रयोग गरी मारेको भनी किटानीसाथ बकपत्र गर्न नसकेको अवस्थामा कसूर ठहर गरेको पुनरावेदन अदालत, पाटनको फैसला फरक पर्न सक्ने हुँदा महान्यायाधिवक्ताको कार्यालयलाई पेशीको सूचना दिई नियमानुसार गरी पेश गर्नु भन्ने पुनरावेदक प्रतिवादी उमेश गुरुङले दायर गरेको पुनरावेदनपत्रको रोहमा यस अदालतबाट मिति २०६७।५।२३ मा भएको आदेश ।
यसमा घाइतेहरूलाई चोट लागेको तथा प्रतिवादीहरू वारदात स्थलमा उपस्थित भएको देखिएको, घाइतेलाई लागेको चोट अन्य कुनै कारणले लाग्न गएको भन्ने कतैबाट देखिएको अवस्था समेत नभएको स्थितिमा कुटपीटमा समेत परिणत नगरी सफाइ दिने गरी भएको पुनरावेदन अदालत, पाटनको मिति २०६६।११।१८ को फैसला फरक पर्न सक्ने देखिँदा विपक्षी झिकाई पेश गर्नु भन्ने वादी नेपाल सरकारको पुनरावेदनपत्रको रोहमा यस अदालतबाट मिति २०६७।१२।२३ मा भएको आदेश ।
नियमबमोजिम पेसी सूचीमा चढी पेश भएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी पुनरावेदक वादीको तर्फबाट विद्वान सहन्यायाधिवक्ता कृष्णजीवी घिमिरेले, पुनरावेदक प्रतिवादी उमेश गुरुङको तर्फबाट विद्वान अधिवक्ताहरू लभकुमार मैनाली र मोहनबहादुर बन्जाराले तथा प्रत्यर्थी प्रतिवादी साजन महर्जनको तर्फबाट विद्वान अधिवक्ताहरू डा. रजितभक्त प्रधानाङ्ग र निर्मला शाक्यले गर्नु भएको बहस सुनियो ।
विद्वान सहन्यायाधिवक्ताले मृतक र राजु गोर्खालीको बीचमा डिस्कोको कारण झगडा भएको तथ्य मिसिलबाट देखिन्छ । प्रतिवादीपक्षले मृतकपक्षलाई छलफलको निहुँमा बोलाई सांघातिक आक्रमण गरेको भन्ने देखिन्छ । दोहोरो झडप भए प्रतिवादीपक्षका व्यक्तिहरूलाई पनि चोटपटक लाग्नु पर्नेमा कसैलाई चोटपटक नलागेबाट प्रतिवादीपक्षले सुनियोजितरुपमा डिस्को सम्बन्धी विवादको इवि साधन गर्न छलफलको निहुँ गरी बोलाई आक्रमण गरेको पुष्टि हुन्छ । प्रतिवादी उमेश गुरुङले मौकामा कसूर स्वीकार गरी सावित भएका छन् । निजको अनुसन्धानकै क्रममा घा जाँच गरिएकोमा निजलाई कुनै चोटपटक लागेको देखिँदैन । निज वारदातपश्चात भागेको स्पष्ट हुन आउँछ । अदालतमा कोरा इन्कारी बयान गरेकै भरमा कसूरबाट रिहाई दिन मिल्दैन । राजेश लेप्चा र सुनील कार्कीलाई पनि यी प्रतिवादी समेतले ज्यान मार्ने नियतले आक्रमण गरेको भन्ने कुरा निजहरूको सनाखत कागजले पुष्टि गर्दछ । घाइतेलाई तत्काल उपचारको लागि अस्पतालमा लगिएको हुँदा ज्यान बँच्न गएकोसम्म हो । प्रतिवादीहरूलाई ज्यान मार्ने उद्योगमा सफाइ दिन नमिल्नेमा पनि कसूरबाट सफाइ दिने ठहर्याइएको फैसला मिलेको नहुँदा उल्टी भई अभियोग दावी अनुसार सजाय हुनुपर्दछ भन्ने समेत गर्नु भएको बहस सुनियो ।
पुनरावेदक प्रतिवादी उमेश गुरुङको तर्फका विद्वान अधिवक्ताहरूले लासको प्रकृतिबाट मृतकको मृत्यु कर्तव्यबाट भएको भन्ने देखिए पनि प्रतिवादी उमेश गुरुङको कर्तव्यबाटै भएको भन्ने स्थापित भएको छैन । वारदातस्थलमा दोहोरो झडप भएको छ । यी पुनरावेदक फरार रहेका प्रतिवादी राजु गोर्खालीको रोयल डिस्कोमा काम गर्ने सामान्य कामदारसम्म हुँदा उनी मृतक समेतका बेबिलोन डिस्कोका सञ्चालक समेतलाई छलफलमा बोलाई छलफल गर्ने हैसियतका व्यक्ति होइनन् । निजले मृतकपक्षलाई बोलाएको वा मृतकको घर, ठाउँमा गएको नभै मृतकपक्ष नै आई रोयल डिस्कोमा आक्रमण र तोडफोड गरेको भन्ने महेश्वर डंगोल, पशुपती ठाकुर लगायतका वादी पक्षका साक्षीहरूको बकपत्रबाट देखिन्छ । प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान पुष्टि गर्ने प्रमाणको अभाव छ । वादीका साक्षीहरूको बकपत्रबाट मृतकलाई पुनरावेदक प्रतिवादीले हतियार प्रहार गरेको देखिएको छैन । यी प्रतिवादीउपर नै आक्रमण गरिएकोले आफ्नो ज्यान बचाउनका लागि भागी गाउँमा गई उपचार गराएको अवस्था छ । यी पुनरावेदक प्रतिवादीले राजेश लेप्चाको ज्यान मार्ने उद्योग गरेको भन्ने कतैबाट पुष्टि भएको छैन । जसलाई ज्यान मार्ने उद्योग गरेको भनिएको छ, निजले नै यी प्रतिवादीले हतियार प्रहार गरेको भनी भनेका छैनन् । मिसिलबाट पुनरावेदक प्रतिवादी निर्दोष देखिएको अवस्थामा पनि कर्तव्य ज्यान मुद्दामा कसूरदार ठहर्याएको शुरु तथा पुनरावेदन अदालतको फैसला नमिलेको हुँदा सो हदसम्म उल्टी भई सफाइ दिनुपर्छ र ज्यान मार्ने उद्योगबाट सफाइ दिएको फैसलासम्म मिलेको हुँदा सदर हुनुपर्दछ भन्ने समेत बहस गर्नुभयो ।
त्यस्तै प्रत्यर्थी प्रतिवादी साजन महर्जनका तर्फबाट विद्वान अधिवक्ताहरू डा. रजितभक्त प्रधानाङ्ग र निर्मला शाक्यले यी प्रत्यर्थी प्रतिवादीको रोयल डिस्कोको घटनासँग कुनै सम्बन्ध छैन । यी प्रतिवादीउपर किटानी जाहेरी परेको छैन । यी प्रतिवादीले राजेश लेप्चा समेतलाई प्रहार गरेको होइन भनी निजले सनाखत कागज गरी दिएबाट साजन भन्ने नाम गरेका अन्य व्यक्तिहरू समेत भएको मिसिलबाट देखिएको अवस्थामा नाम मिलेको भन्ने आधारमा कसूर पनि गरेको भन्न मिल्दैन । प्रतिवादीको आपराधिक मनसाय र आपराधिक कार्य स्थापित भएको छैन । यी प्रतिवादीले अपराध गरेको पुष्टि हुने स्वतन्त्र प्रमाणको अभावमा अभियोग दावीबाट सफाइ दिएको फैसला मिलेको हुँदा सदर हुनु पर्छ भन्ने समेत गर्नु भएको बहस सुनियो ।
दुवै पक्षका तर्फबाट प्रस्तुत भएको बहस सुनी मिसिलबाट देखिएको तथ्यलाई दृष्टिगत गर्दा, यी पुनरावेदक प्रतिवादी उमेश गुरुङलाई कर्तव्य ज्यानको अभियोगमा दावीबमोजिम कसूर गरेको ठहर्याएको र प्रतिवादी साजन महर्जनलाई सफाइ दिएको तथा ज्यान मार्ने उद्योगतर्फको दावीमा दुवै प्रतिवादीहरूलाई सफाइ दिएको शुरु फैसलालाई सदर गर्ने गरेको पुनरावेदन अदालतको फैसला मिलेको छ वा छैन भनी निर्णय दिनुपर्ने देखियो ।
यसमा, प्रतिवादीहरू राजु गोर्खाली भन्ने राजेन्द्रबहादुर गोर्खाली, उमेश गुरुङ तथा यकीन वतन नखुलेका फरार धने भन्ने धनबहादुर गुरुङ समेतले जोखिमी हतियार प्रहार गरी मृतक राकेश लिम्बूलाई कर्तव्य गरी मारेकोतर्फ प्रतिवादीहरू राजु गोर्खाली भन्ने राजेन्द्रबहादुर गोर्खाली र उमेश गुरुङ समेतले मुलुकी ऐन, ज्यान सम्बन्धी महलको १ र १३(१) नं. को कसूर गरेको पुष्टि भएको भनी निज प्रतिवादीहरूलाई सोही महलको १३(१) नं. अनुसार सजाय हुन माग दावी लिएको देखिन्छ । साथै निज प्रतिवादीहरूले नै राजेश लेप्चा र सुनील कार्कीको ज्यान मार्ने उद्योग समेत गरेको भनी सोही महलको १५ नं. बमोजिम सजाय हुन समेत माग दावी लिई अभियोगपत्र दायर भएको देखियो । त्यसैगरी सोही घटना वारदातमा कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा प्रतिवादी साजन महर्जनसमेत संलग्न भएको भनी प्रतिवादी साजन महर्जनउपर पूरक अभियोगपत्रसमेत दायर भएको रहेछ ।
शुरु जिल्ला अदालतले कर्तव्य ज्यानतर्फ फरार रहेका प्रतिवादी राजु गोर्खाली भन्ने राजेन्द्रबहादुर गोर्खालीको हकमा मुलुकी ऐन, अदालती बन्दोबस्तको १९० नं. बमोजिम मुलतवी राखेको र पुनरावेदक प्रतिवादी उमेश गुरुङलाई ज्यान मार्ने उद्योगतर्फ सफाइ दिई कर्तव्य ज्यानमा अभियोग दावीबमोजिम कसूर गरेको भनी सर्वश्वसहित जन्मकैदको सजाय गरी अ.बं. १८८ नं. बमोजिम दश वर्ष मात्र कैद गर्न राय जाहेर गरेको तथा प्रतिवादी साजन महर्जनलाई कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग दुवै अभियोगबाट सफाइ दिएको फैसलालाई पुनरावेदन अदालतले सदर गरेको पाइयो । प्रतिवादी उमेश गुरुङलाई ज्यान मार्ने उद्योगमा र प्रतिवादी साजन महर्जनलाई कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा सफाइ दिएउपर वादी नेपाल सरकारको र कर्तव्य ज्यान मुद्दामा पुनरावेदन अदालतले गरेको फैसलाउपर प्रतिवादी उमेश गुरुङको पुनरावेदन परी दुवै पुनरावेदनहरू निर्णयार्थ पेश भएको रहेछ ।
यसमा, प्रतिवादी राजु गोर्खाली भन्ने राजेन्द्रबहादुर गोर्खाली समेतका व्यक्तिहरूले छलफल गर्न भनी २०५९।१०।३ गते बोलाई सुनियोजित तरिकाले लुकाई राखेको धारिलो जोखिमी हतियारले प्रहार गरी भाई राकेश लिम्बू, सुनील कार्की, राजेश लेप्चा समेतलाई रगतपक्ष पारी प्रहार गर्न नछाडेकाले भाईसँग गएका व्यक्तिले तानी बाहिर ल्याई उपचारको लागि वीर अस्पतालमा ल्याई डाक्टरले जाँच परीक्षण गर्दा भाई राकेश लिम्बूको मृत्यु भएको घोषणा गरेको भनी बरुण लिम्बूको मिति २०५९।१०।४ मा जाहेरी परेको र तत्कालै प्रहरीलाई खवर भई अनुसन्धान प्रारम्भ भएको देखिन्छ । त्यस्तै राजु गोर्खाली भन्ने राजेन्द्रबहादुर गोर्खाली समेतका व्यक्तिले रोयल डिस्कोमा कुरा गर्न बोलाई राकेश लिम्बू, सुनील कार्की, साम्राज्य श्रेष्ठ र आफू समेतलाई तरबार, खुँडा समेतले आक्रमण गरेको, आफूलाई राजु गोर्खालीले प्रहार गरेकोमा बायाँ हातले छल्दा ३ वटा औंला छिनेको र सुनील कार्कीलाई टाउकोमा हानेकोमा पछि प्रहरी आई उपचारको लागि वीर अस्पतालमा लग्दा राकेश लिम्बूको मृत्यु भएको हुँदा आफू समेतलाई ज्यान मार्न सक्ने सम्मको कार्य गरेको भनी मिति २०५९।१०।१६ मा ज्यान मार्ने उद्योगतर्फ समेत राजेश लेप्चाको जाहेरी परेको पाइन्छ । अभियोगपत्र दर्ता भैसकेपछि उक्त कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगको वारदातमा प्रतिवादी साजन महर्जनको समेत संलग्नता रहेको भनी पूरक अभियोग दर्ता भएको पनि देखिन्छ ।
२. कर्तव्य ज्यानतर्फ विचार गर्दा मिसिलसंलग्न लास प्रकृति मुचुल्कामा मृतकको दाहिने हातको माझी औंलाको बीच आँखलाबाट धारिलो हतियारले काटी छालाले मात्र झुण्डिएको, चोरी औंलाको बीच आँखलामा १ ईञ्च गोलाइको धारिलो हतियारले काटेको घाउ भएको, बायाँ खुट्टाको पैतालाको जोर्नीभन्दा माथि नली हाडको भाग धारिलो हतियारले काटिएको, दाहिने आँखीभौं माथि साढे दुई ईञ्च लामो, दुई से.मी चौडाई र १ ईञ्च गहिरो धारिलो हतियारले काटेको, तालुको भागमा एक–एक ईञ्चको कपालको छाला ताछिएको, निधारको बीच भागदेखि माथि धारिलो हतियारले काटिएको ४ ईञ्च लामो, १ से.मी. चौडाई, १ ईञ्च गहिराईको घाउ देखिएको, टुप्पीतर्फ धारिलो हतियारले काटिएको ३ ईञ्च लामो, १ से.मी. चौडाई, १ से.मीं गहिराईको घाउ देखिएको, बाया कानदेखि माथि २ ईञ्च लामो, १ से.मी. चौडाइ, १ से.मी. गहिराईको धारिलो हतियारले काटेको घाउ रहेको, सो घाउमाथि ३ ईञ्च लामो, १ से.मीं चौडाई, १ ईञ्च गहिराईको धारिलो हतियारले काटेको घाउ रहेको, पेटको भागमा रगत लतपतिएको भन्ने समेत मृतकको शरिरका अन्य विभिन्न भागमा काटिएको असामान्य प्रकृति देखिन आउँछ । शव परीक्षण प्रतिवेदनबाट मृत्युको कारणमा टाउकोमा धार भएको हतियारले काटिएका विभिन्न घाउँहरू बाट भएको भन्ने देखिएको छ । यसबाट राकेश लिम्बूलाई कर्तव्यबाट मारिएको भन्ने तथ्य स्थापित भएको र पुनरावेदक प्रतिवादीले यस तथ्यमा विवाद उठाएको नहुँदा मृतकको मृत्युको कारणको सम्बन्धमा थप विवेचना गरिरहनु पर्ने अवस्था रहेन । मृतकको मृत्यु कर्तव्यबाटै भएकोमा विवाद रहेन । साथै काठमाडौं महानगरपालिका, लालदरवारस्थित याक एण्ड यति होटल छेउको रोयल डिस्को सञ्चालन भएको घर वारदात स्थल भएको तथ्य पनि निर्विवाद छ ।
३. प्रस्तुत मुद्दामा शुरु तथा पुनरावेदन अदालतले प्रतिवादी उमेश गुरुङलाई कर्तव्य ज्यान मुद्दामा कसूरदार ठहर्याई ज्यान मार्ने उद्योग मुद्दाबाट सफाइ दिएको र अर्का प्रतिवादी साजन महर्जनलाई दुवै अभियोगबाट सफाइ दिएको हुँदा दुवै प्रतिवादीको सम्बन्धमा अलग–अलग विचार गर्नु उपयुक्त हुने देखिन्छ ।
४. सर्वप्रथम प्रतिवादी उमेश गुरुङको हकमा विचार गर्दा प्रस्तुत मुद्दाको वारदात मिति २०५९।१०।३ गते राति घटित भएको भन्ने देखिए पनि यी पुनरावेदक प्रतिवादी मिति २०६०।११।१२ मा हुलियाको आधारमा शंका लागी पक्राउ परेको भन्ने प्रहरीले दिएको प्रतिवेदनबाट देखिन्छ । पक्राउ परेपछि यी प्रतिवादीको प्रस्तुत मुद्दाको वारदातमा संलग्नता सम्बन्धमा सुनिश्चितताको लागि सो वारदातमा घाइते भएका व्यक्तिहरूद्वारा सनाखत गराइएको भन्ने कुरा मिति २०६०।११।१३ र २०६०।११।१५ को सनाखत कागजबाट देखिन्छ । सनाखतको क्रममा यी प्रतिवादी समेतले मृतक राकेश लिम्बूलाई धारिलो हतियार खुँडाले प्रहार गरेका हुन् भनी राजु बोगटी, राजेश लेप्चा, सुनील कार्की र साम्राज्य श्रेष्ठले सनाखत गरिदिएको देखिन्छ । पुनरावेदक प्रतिवादीको अनुसन्धानको चरणमा भएको बयान हेर्दा, २०५९ साल माघ ३ गते राति २२:३० बजेको समयमा मृतक राकेश लिम्बू, राजेश लेप्चा, राजु बोगटी, साम्राज्य श्रेष्ठ समेतका व्यक्ति रातो गाडीमा र तीनवटा जति मोटरसाइकलमा रोयल डिस्कोमा आएका थिए, तिनीहरूबीच र हामीहरू बीच डिस्को अफिसभित्र झगडा भएको हो, मसमेत भई मेच, कम्प्युटरको भोल्टेज कभर, रड समेतले हिर्काई सकेपछि निजहरूसँग भएको हतियारसमेत खोसी हामीसँग भएको हतियार समेतले हिर्काएको हो, ग्रुपमा झगडा भएकोले कस कसले कस कसलाई हिर्काए, यकीन भएन । मैले धारिलो हतियारले राकेश लिम्बू, राजेश लेप्चा समेतलाई हिर्काएको हो, दुवै पक्षबीच हानाहान हुँदा मेरो शरीरमा समेत चोट लाग्न गएको थियो, राकेश लिम्बूको ग्रुपलाई धारिलो हतियार रड समेतले हिर्काएपछि घाइते बनाई भागेका हौं भन्ने उल्लेख गरेको देखिन्छ ।
५. निजले अदालतमा गरेको बयानमा मिति २०५९।१०।३ गते राति करीव १०:३० बजे ३ वटा मोटरसाइकल र रातो गाडीमा करीव ८ जना जति अफिसमा आएका र अरु ५।६ जना तल नै पर्खि बसेका थिए, अफिसमा आएका आठ जनाले गोर्खाली खोई भनी थर्काइ “बेबिलोन डिस्कोमा दादागिरी देखाउने तैं होइनस्” भन्दै कुटपीट गर्न थाले, ४।५ जनाले धन गुरुङलाई हान्न थाले, ४।५ जनाले मलाई इँटा, रड, छुरासहितका हतियारले प्रहार गर्न थाले, मैले कुर्सीको काठले उनीहरूको प्रहारको प्रतिरक्षा गर्दै थिएँ, मृतकले मलाई पछाडिबाट दुवै हात नचल्ने गरी समाई अर्का निजका साथीलाई “यसलाई हान्” भन्दै सिकाउँदै थिए, २।३ पटक मलाई अगाडिबाट एकजनाले खुकुरीले टाउँकोमा प्रहार गर्दा मैले मेरो टाउको घुमाएर छलें, एकपटक छल्दा मलाई ताकेको खुकुरी राकेश लिम्बूको टाउकोमा लागेपछि निज त्यहीँ ढले, मलाई पनि कुटपीटबाट घाउचोट भएकाले ट्याक्सी चढी घरतर्फ लागेको भन्ने समेत उल्लेख गरेको पाइन्छ । यसरी यी प्रतिवादीले मृतक राकेश लिम्बू र निजसँगै आएको समूह तथा यी प्रतिवादी समेतको समूहबीच झगडा र हानाहान भएको कुरालाई स्वीकार गर्दै मृतकलाई मृतकको ग्रुपमा आएका व्यक्तिले यी प्रतिवादीलाई गरेको खुकुरी प्रहार छल्दा राकेश लिम्बूलाई लागेको हो । आफूले राकेश लिम्बूमाथि कुनै साँघातिक हतियारले प्रहार नगरेकोले आरोपित ज्यान मार्ने अपराध नगरेको भनी सो हदसम्म इन्कारी बयान गरेको देखियो । तर निजले अधिकारप्राप्त अधिकारीसमक्ष भएको साविती बयानलाई प्रहरीले कुटपीट गरी पढ्नसमेत नदिई जवर्जस्ती सहिछाप गराएको भन्ने उल्लेख गरेको भए पनि यी पुनरावेदकलाई प्रहरीले कुटपीट गरेको भन्ने तथ्य प्रमाणित हुन सकेको छैन । वारदातपछि निज भागी अन्यत्र गएको र पछि प्रहरीद्वारा पक्राउ परेको घटनाक्रम समेतले निजले अदालतमा गरेको आंशिक इन्कारी बयान खण्डित भइरहेको छ ।
६. यी प्रतिवादीको मौकाको बयानबाट रोयल डिस्कोको अफिसमा प्रतिवादीको समूह र मृतक संलग्न रहेको बेबिलोन डिस्कोसँग सम्बन्धित समूहकाबीच दोहोरो झडप भएको भन्ने देखिन आउँछ भने अदालतमा गरेको बयानबाट बेबिलोन डिस्कोसँग सम्बन्धित मृतक संलग्न समूहले नै आफू समेतउपर आक्रमण गरेको भनेको पाइन्छ । मृतक बेबिलोन डिस्कोका सञ्चालक राकेश लिम्बूको मृत्यु भएको छ भने राजेश लेप्चा समेतका व्यक्तिहरू घाइते भएको भन्ने देखिन आउँछ । उक्त वारदातमा मृतकपक्षका व्यक्तिहरूले आफू र धनबहादुरउपर ४।५ जनाले खुँडा समेतका हतियारले आक्रमण गरेको र आफूलाई चोट परेको तथा आफूलाई प्रहार गरेको हतियार आफूले छलेको अवस्थामा मृतकलाई लागी ढल्न गएको भनी यी पुनरावेदक प्रतिवादीले अदालतमा आफ्नो बचाउ गरी बयान गरेको भए पनि मृतकको शरीरमा एउटै हतियारको चोट नभई मृतकको टाउको लगायतका भागमा १५ वटा चोटहरू रहेको शव परीक्षणबाट देखिन्छ । मृतकको शवमा देखिएका हतियारका चोटहरूको संख्या र प्रकृतिबाटै पुनरावेदक प्रतिवादीले अदालतमा गरेको बयान खण्डित भैरहेको देखिन आउँछ । मृतकको समूहले हतियारसहित गरेको आक्रमणको एउटै प्रहार मृतकलाई लागेको भन्ने यी प्रतिवादीको भनाई वास्तविक भए मृतकको शरीरमा एउटा मात्र चोट हुनु पर्ने हो । तर त्यस्तो देखिन आएको छैन । वारदातमा यी प्रतिवादीले आत्मरक्षाको लागि मृतक समेतका उपरमा हतियार प्रहार गरेको भन्ने प्रतिवादीको बयानबाट देखिन आउँदैन । निर्दोषिताको जिकीर लिने यी पुनरावेदक प्रतिवादीले सो घटना वारदात सम्बन्धमा आफूलाई घाइते पार्नेउपर कारवाही गर्न प्रहरीलाई मद्दत गर्नुको सट्टा वारदातपश्चात् भागेको अवस्था देखिएको छ ।
७. यसको साथै यी पुनरावेदकले आफ्नो बचाउको लागि राखेका साक्षीको बकपत्र हेर्दा विष्णु क्षेत्रीले बकपत्र गर्दा ४।५ जनाको समूहले धारिलो हतियारसमेतले आक्रमण गरिरहेका र मेचले छेकेर प्रतिवादीले प्रतिरक्षा गरिरहेको बेला अन्य ४।५ जना आई हामीलाई लखेटेको भन्ने उल्लेख गरेको देखिन्छ । प्रतिवादीका अर्का साक्षी दिनेश भिन्डे (डंगोल)ले पनि सोहीबमोजिम वकपत्र गरेको देखिन्छ भने निजको साला नाता पर्ने सुमन खड्गीले बकपत्र गर्दा भिनाजुलाई ४।५ जनाले रड, तलवारले हानिरहेका र भिनाजुले कुर्सीले टाउको छोपी बचाउ गर्नु भएको थियो, यत्तिकैमा ढोकातर्फ आएका मानिसलाई खेद्न थाल्यो, सोही समयमा त्यहाँ बत्ती गयो, भिनाजु कसरी बाहिर निस्कनु भयो, थाहा भएन, भिनाजुको टाउकोमा रगत बगेको, निधारमा पनि रगत देखिन्थ्यो, २०५९।१०।३ गते राति रोयल डिस्को थेकमा मानिस मरेको भनी भोलिपल्ट थाहा पाएको र सो घटनालाई लिएर मेरो भिनाजु उमेश गुरुङलाई खोजेको भन्ने जानकारी पाई मैले भिनाजुलाई भनेको र सोही कारणले भिनाजु गाउँ घर जानु भएको हो भन्ने समेत उल्लेख गरेको पाइन्छ । यसबाट यी प्रतिवादीलाई वारदातको सम्बन्धमा प्रहरीले खोजेको भन्ने थाहा पाएपछि प्रहरीलाई मद्दत नगरी गाउँतर्फ भागेको देखिन्छ । यी प्रतिवादीलाई तरवार र रड समेतका हतियारले आक्रमण गरेको भन्ने निजको भनाई र निजलाई वारदात स्थलमा देख्ने र मलमपट्टि गर्ने सुमन खड्गीको भनाईअनुरूप प्रतिवादीको टाउको तथा निधारसमेतको भागमा चोट लागि रगत बगेको भए ती हतियार प्रहारबाट परेका चोटका खतहरू तत्–तत् ठाउँमा रहेको हुनुपर्ने र निर्दोषिताको जिकीर लिनेले मौकामै घा जाँच केश फाराम गराई आफूउपर भएको अत्याचारउपर कानूनबमोजिम कारवाही चलाउन सक्नुपर्ने हो । तर, त्यस्तो केही भएको देखिएको छैन ।
८. यी पुनरावेदकलाई सनाखत गर्ने क्रममा वारदातमा घाइते भएका राजेश लेप्चाले यी प्रतिवादीको वारदातको अवस्थामा दायाँ कञ्चटमा खत रहेको हुलियाको आधारमा चिनेको भनी सनाखत गरेको देखिन्छ । पुनरावेदक पक्राउ परेपछि शारीरिक परीक्षण गर्न चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा पठाउँदा पनि दाहिने आँखी भौंमाथि ५ सेन्टिमिटरको खत रहेको र अन्य खत नरहेको भन्ने शारीरिक परीक्षणको प्रतिवेदनमा उल्लेख भएको पाइन्छ । यी प्रतिवादीको भनाइअनुसार निजलाई धेरैजनाले तरवारसहितका हतियारले आक्रमण गरेको भन्ने छ तर धेरै जनाको हतियार प्रहारको घाउ चोटहरूको एउटा मात्र खत रहने अवस्था हुँदैन । फेरि सो खत पनि वारदातमा मृतकपक्षबाट प्रहार भएको हतियारले लाग्न गएको भन्ने तथ्यलाई पुष्टि गर्ने प्रमाण पेश गरेको देखिँदैन । वारदातको समयमा नै यी प्रतिवादीको निधारमा खत रहेको भन्ने सनाखत कागजबाट देखिएको छ । त्यसलाई प्रतिवादीको शारीरिक परीक्षणले पुष्टि गरेको भए पनि सो घाउ यसै वारदातमा आफूलाई लागेको भन्ने प्रमाण पेश गर्न नसकेको अवस्थामा सोही वारदातमा आफूलाई मृतकपक्षले हानेर पारेको घाउलाई काठमाडौँमा सुबिधा सम्पन्न अस्पताल हुँदाहुँदै गाउँमा गई उपचार गराएको भनी प्रतिवादीले अदालतमा लिएको अपुष्ट जिकीर विश्वास गर्न नसकिने निराधार देखिन आयो । प्रतिवादीले अदालतमा गरेको बयानअनुरूप हतियार सहितका ५।५ जनाले आक्रमण गर्दा निःशस्त्र र निहत्था अवस्थामा रहेका यी प्रतिवादीलाई केही नहुनु तर हतियार बोकेका व्यक्तिहरू नै कोही मर्ने र कोही घाइते हुने भन्ने कुरा तर्कसंगत देखिएन ।
९. फौजदारी मुद्दामा प्रतिवादी पक्ष सवल र मुद्दामा आउने साक्षीहरूलाई आफू वा आफ्ना गठमेलका व्यक्तिमार्फत् सकारात्मक र नकरात्मक प्रभाव पार्न सक्ने अवस्थाको हुन्छ भने कतिपय अवस्थामा मौकामा बुझिएका व्यक्तिहरू सोही प्रभावको कारण अदालतमा उपस्थित नहुने र उपस्थित भए पनि प्रतिवादी कै समर्थनमा बकपत्र गर्ने हुन्छन् । तर पनि मिसिलबाट देखिएको तथ्य र परिस्थितिले प्रतिवादीको दोषलाई देखाइरहेको हुन्छ । तथ्यगत परिस्थितिलाई तोडमोड गर्न नसकिने हुँदा तथ्यगत परिस्थितिले नै कतिपय अवस्थामा बास्तविकतालाई दशाई रहेको हुन्छ । प्रस्तुत घटनाक्रममा मौकामा बुझिएका व्यक्तिहरू कोही अदालतमा उपस्थित नभएका र उपस्थित भएकाहरूले पनि मौकामा व्यक्त गरेको कुराहरूको विपरीत प्रतिवादीको कसूरको गाम्भीर्यता (Gravity) लाई कम गर्ने गरी बकपत्र गरेको देखिन्छ । मिसिलबाट देखिएको तथ्यगत परिस्थितिले प्रतिवादीको कसूरलाई देखाइरहेको र प्रतिवादीले अदालतमा गरेको बयानबाटै निजको भनाईमा सत्यता नरहेको भन्ने कुरा माथि विवेचित तथ्यहरूबाट पुष्टि भैसकेको देखिन्छ । तथ्यगत परिस्थितिले प्रतिवादीको प्रस्तुत घटनामा संलग्नता देखाई सकेको अवस्थामा त्यसको विपरीत साक्षीले गरेको बकपत्र सत्य कुरामा आधारित देखिएन । साक्षीहरूले गरेको झूठा वकपत्रको आधारमा कसूरदारले सफाइ पाउन सक्ने हुँदैन ।
१०. तसर्थ मिसिल संलग्न तथ्य र परिस्थितिको समग्रतामा विश्लेषण र विवेचना एवम् उपलब्ध प्रमाणहरूको मूल्याङ्कन गरी हेर्दा प्रतिवादी उमेश गुरुङ राकेश लिम्बूको ज्यान मार्ने कसूरदारमध्ये एक भएको पुष्टि भई सकेकोछ । निजको भनाई अनुसार निजकै जिम्मामा वारदात भएको दिन सञ्चालनमा रहेको रोयल डिस्कोभित्र ठूलो वारदात हुन्छ, त्यसमा मानिस मरेको छ, कतिपय मानिस घाइते भएका छन् त्यस वारदातबारे प्रहरीलाई खबर समेत नगरी वारदातमा लागेको घाउ निको गराउन गाउँमा बसी उपचार गराएको भन्ने उमेश गुरुङको भनाई र निजमाथि गरिएको प्रहार एकपटक छल्दा राकेश लिम्बूलाई लागी निजको मृत्यु भएको भन्ने यी दुवै कुरा शत–प्रतिशत झूठा देखिन आएको समेतबाट निज उमेश गुरुङले आरोपित कसूर गरेको शंकारहित ढंगबाट प्रमाणित भई रहेकोले निजले आरोपित कसूर गरेको ठहराई जिल्ला अदालत र पुनरावेदन अदालतबाट भएको फैसला निजको हकमा मुनासिव देखिँदा सदर हुन्छ ।
११. अब प्रस्तुत मुद्दाको घटनाक्रमलाई विचार गर्दा यी प्रतिवादीसमेत मृतक पक्षलाई आक्रमण गर्न आवश्यक तयारीका साथ मृतक भएको ठाउँमा गएको भन्ने मिसिलबाट देखिँदैन । मृतकपक्ष नै प्रतिवादी संलग्न रहेको रोयल डिस्कोमा रातको समयमा वार्तालापको लागि आएको र सोही क्रममा एक आपसमा विवाद भै घटना घटेको भन्ने तथ्य मिसिलबाट देखिन आएको छ । यी प्रतिवादीले राकेश लिम्बूलाई मार्नु पर्नेसम्मको पुरानो रिसइवी भएको पनि देखिन आएको छैन । वारदातको स्वरुप हेर्दा मृतक एक्लै नभई समूहमा आएको अवस्थामा दुई पक्षबीच भएको विवादको क्रममा दोहोरो झडप भएको रहेछ । सोही क्रममा प्रतिवादीले समेत हतियारको प्रयोग गरेबाट मृतकको मृत्यु भएको देखिन आएको छ । यसरी घटनाको अवस्था र प्रकृतिलाई विचार गर्दा यी पुनरावेदकलाई कानूनबमोजिमको सजाय गर्दा निजले गरेको कसूरको अनुपातमा र न्यायपूर्ण नभई चर्को पर्न जाने देखिन्छ । यस अवस्थामा शुरुले यी प्रतिवादीले अभियोग दावीबमोजिम कसूर गरेको ठहर गरी मुलुकी ऐन, ज्यान सम्बन्धी महलको १३(१) नं. बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय हुने ठहराई अ.बं. १८८ नं. बमोजिम १० वर्ष कैदको सजाय गर्न उचित हुने भनी राय व्यक्त गरेकोलाई सदर गरेको पुनरावेदन अदालतको इन्साफ अन्यथा भन्न मिल्ने देखिन आएन । निज उमेश गुरुङलाई दश वर्ष कैद हुन्छ ।
१२. अब यी प्रतिवादीउपरको ज्यान मार्ने उद्योगको कसूर सम्बन्धमा विचार गर्दा, यी प्रतिवादी उमेश गुरुङ समेतले सोही वारदातको क्रममा राजेश लेप्चा र सुनील कार्कीलाईसमेत जोखिमी हतियार प्रयोग गरी ज्यान मार्ने उद्योगको समेत कसूर गरेको भनी अभियोग लगाइएको देखिन आउँछ । घाइते भनिएका राजेश लेप्चाले मिति २०५९।१०।१६ मा ज्यान मार्ने उद्योगतर्फ दिएको जाहेरी हेर्दा “...राजु गोर्खालीको अफिस कोठामा राजु गोर्खाली, धने, साजन बसेका रहेछन्, हामी पुग्नासाथ राकेश लिम्बू सुब्बाले राजु गोर्खालीलाई तपाईंको मानिस बेबिलोनमा झगडा गर्न पठाउनु भएन भनी अनुरोध गर्नासाथ तँलाई के मतलव भनी तरवार, खुँडा लिएर ज्यान मार्ने नियत लिई तरबार खुँडाले मलाई, राकेश लिम्बूलाई र सुनील कार्कीलाई प्रहार गर्न थाले, राजु गोर्खालीले मेरो गर्धनमा ताकी तरवारले प्रहार गर्दा बायाँ हातले छलेकोमा बायाँ हातको ३ वटा औंला छिनियो, म भागी बाहिर निस्किएँ, सुनील कार्कीलाई टाउकोमा धने, साजन र राजु गोर्खालीले प्रहार गर्दा चोट लागी बाहिर निस्के....” भन्ने समेत उल्लेख गरेको देखिन्छ । सो जाहेरीमा यी प्रतिवादीले निजलाई के कस्तो चोट पारे भन्ने कुरा उल्लेख गरेको देखिँदैन । निजको घा जाँच केश फारामबाट निजको बायाँ हातका बीचका तीनवटा औंलाहरू काटिएको भन्ने देखिन्छ । निज घाइतेलाई निजको जाहेरीअनुसार फरार रहेका प्रतिवादी राजु गोर्खालीले प्रहार गरेको हतियारबाट हातका औंलाहरू काटिएपछि निज बाहिर भागेको भन्ने देखिएको र निज घाइतेका औंलाहरू काटिएबाहेक अन्य घाउ चोटहरू रहेको भन्ने देखिएको छैन । निजले अदालतमा उपस्थित भई वकपत्र गरेको समेत देखिएन ।
१३. सोही वारदातमा घाइते भएका भनिएका सुनील कार्कीको मौकाको कागज व्यहोरामा राजु गोर्खालीले मेरो डिस्कोमा मनोरन्जन गर्न आउनु भनी दिउँसो भनेकाले राति ९:३० बजेको समयमा आफू, राकेश लिम्बू, राजेश लेप्चा तथा राकेशको साथीसमेत चारजना गएकोमा हामीलाई अफिस कोठामा लगि ढोका थुनी लुकाई राखेको तरवारले राजु गोर्खालीले अन्धाधुन्द प्रहार गर्न थाले, म बाहिर निस्कनसाथ राकेश लिम्बूले हेल्प–हेल्प भनी कराउन थालेपछि पुनः कोठामा छिरी साथीलाई बाहिर तानी भागी टेक्सी खोजी वीर अस्पताल आएको भन्ने उल्लेख गरेको पाइन्छ । निजले आफूलाई को–कसले के कुन हतियार कहाँ प्रहार गरे भन्ने खुलाएको देखिँदैन भने निज अदालतमा उपस्थित भई वकपत्र गरेको नदेखिनुको साथै निजको घा जाँच केश फाराम भएको भन्ने मिसिलबाट नदेखिएकोले निजलाई के कस्तो प्रकृतिको चोट लागेको थियो भन्ने नै स्पष्ट भएन ।
१४. प्रस्तुत मुद्दाको घटनास्थलमा घाइते भनिएका व्यक्तिहरूको मौकाको जाहेरी तथा कागजबाट यी प्रतिवादीले पनि निजहरूलाई ज्यान मार्ने नियतले हतियार प्रहार गरेको भन्ने देखिन नआएको र यी प्रतिवादीले घाइतेहरूलाई ज्यान मार्ने नियतले हतियार प्रहार गरेको भनी अभियोजनपक्षका कुनै साक्षीहरूले वकपत्र समेत गरेको पाइएन । घटना स्थलमा दुई समूहबीच भएको झगडामा यी प्रतिवादीले कर्तव्य ज्यानतर्फ मृत्यु भएका राकेश लिम्बूलाई हतियार प्रहार गरी मारेको भनी सो हत्यामा देखाएको संलग्नताकै आधारमा निश्चयात्मक प्रमाणद्वारा पुष्टि नभई घाइते भनिएका व्यक्तिहरूलाई पनि ज्यान मार्ने उद्योग गरेको भन्न मिल्ने भएन । यस अवस्थामा यी प्रतिवादीलाई ज्यान मार्ने उद्योगतर्फ सफाइ दिने गरी भएको शुरु फैसला सदर गरेको पुनरावेदन अदालतको फैसला मिलेकै देखियो ।
१५. अब प्रत्यर्थी प्रतिवादी साजन महर्जनलाई लगाइएको अभियोगको सम्बन्धमा विचार गर्दा, यी प्रतिवादी साजन महर्जन लागू औषध मुद्धामा पक्राउ परेको अवस्थामा बरुण लिम्बूको जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी राजेन्द्रबहादुर गोर्खालीसमेत भएको ज्यान मुद्दामा निजको संलग्नता रहेको भन्ने बुझिएको भनी प्र.ना.नि. दिलबहादुर थापाले दिएको मिति २०६४।३।२४ को प्रतिवेदनबाट यी प्रतिवादीका उपरमा समेत छानवीन अगाडि बढेको र मृतक राकेश लिम्बूलाई ज्यान मारेको भन्ने कर्तव्य ज्यान र सोही वारदातमा घाइते भएकाहरूको ज्यान मार्ने उद्योग गरेको भनी दुवै कसूरमा संलग्न भएको अभियोग लगाएको देखियो ।
१६. यी प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान कागज हेर्दा आफू रोयल डिस्कोमा शुक्रबार, शनिवार र आइतवार दिउँसो डिजे बजाउने काम गर्ने गरेको र मिति २०५९।१०।३ गते दिउँसो ४ बजेतिर तलव लिन उक्त डिस्कोमा गई राति ८:३० बजे तिर घर फर्केकोले वारदातको समयमा त्यहाँ नरहेको भनी इन्कारी रहेको देखिन्छ । निजले अदालतमा सोहीबमोजिम बयान गरेको पाइन्छ । वारदात घटनामा घाइते भनिएका राजेश लेप्चा र सुनील कार्कीलाई झिकाई मौकामा सनाखत गराउँदा उल्लिखित घटना भएको राति घटनास्थलमा भएको साजन भन्ने व्यक्ति यी प्रतिवादी नभएको भनी उल्लेख गरेको देखिन्छ । मिसिलबाट उल्लिखित वारदातको समयमा साजन श्रेष्ठ, साजन भन्ने व्यक्ति रहेको भन्ने देखिए पनि कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगको वारदातमा सक्रिय भएको साजन भन्ने व्यक्ति यिनै प्रतिवादी भएको भन्ने तथ्यलाई पुष्टि गर्ने स्वतन्त्र र विश्वासिलो प्रमाण अभियोजनपक्षले पेश गरेको देखिन आएन । अभियोजनपक्षले प्रस्तुत गरेका र अदालतमा उपस्थित गराएका कुनै पनि साक्षीहरूले यी प्रत्यर्थी प्रतिवादीको उक्त कसूरमा संलग्नता रहेको भनी भन्न सकेको देखिन आएन ।
१७. प्रस्तुत मुद्दाको वारदातको सम्बन्धमा अनुसन्धानको क्रममा यी प्रतिवादीलाई अभियोजनपक्षले बुझेको र कागज गराई छोडेको देखिन्छ । सो कागजमा समेत यी प्रतिवादीले आफूले दिउँसो अं. ४ बजे तलव लिई आफ्नो घर तर्फ फर्केको भन्ने समेत व्यहोरा उल्लेख गरेको देखिन्छ । मिति २०५९।१०।३ को घटनालाई लिएर एकपटक आफैंले बुझेर छाडेपछि पुनः लामो समयको अन्तरालपछि मिति २०६४।३।२४ मा यी प्रतिवादीको पनि उक्त घटनामा संलग्नता रहेको बुझिएको भनी तथ्यपरक र तर्कसंगत आधारबिना नै परेको प्रहरी कर्मचारीको प्रतिवेदनको आधारमा कसैउपर फौजदारी मुद्दामा अभियोग लगाउँदैमा अभियोजनपक्षको कर्तव्य पूरा भएको मान्न मिल्ने हुँदैन । एउटै नाम भएका धेरै व्यक्ति हुन सक्ने भएकोले कसूरमा संलग्न रहेको व्यक्ति पहिचान नगरी नाम मिलेकै आधारमा प्रमाणबिना अभियोग लगाउनु अभियोजन पक्षको दायित्व होइन ।
१८. शंका, अनुमान र मनोगत विश्वासको आधारमा वारदातको स्थापना गरिँदैन । फौजदारी कानूनअनुसार कसूर गरेको भन्ने स्वतन्त्र प्रमाणबाट स्थापित भएमा मात्र सम्बन्धित कसूरदारलाई सजाय गर्न सकिने भएकोले प्रमाणबाट कसूर गरेको भन्ने स्थापित हुन नसकेको अवस्थामा कसैलाई पनि कसूरदार ठहराउन वा सजाय गर्न मिल्ने हुँदैन । कसैउपर कुनै अभियोग लगाउँदा सो अभियोगलाई पुष्टि गर्नलाई शंका रहित प्रमाण पेश गर्न सक्नु पर्दछ । विवादित वा अनुमानित आधारमा कसैलाई सजायभागी बनाउन मिल्दैन । तसर्थ यी प्रतिवादी साजन महर्जनउपर लगाइएको कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगको अभियोग प्रमाणित नभएको अवस्थामा यी प्रतिवादीलाई कसूरदार ठहर्याउन मिल्ने नहुँदा निजलाई दुवै अभियोगबाट सफाइ दिएको पुनरावेदन अदालतको इन्साफलाई अन्यथा भन्ने देखिन आएन ।
१९. अतः माथि प्रकरण प्रकरणमा विवेचना गरिएबमोजिम पुनरावेदक प्रतिवादी उमेश गुरुङलाई ज्यान मार्ने उद्योगतर्फ सफाइ दिई कर्तव्य ज्यान सम्बन्धी अपराधमा निज प्रतिवादीलाई मुलुकी ऐन, ज्यान सम्बन्धी महलको १३(१) नं. बमोजिम सर्वश्वसहित जन्मकैदको सजाय हुने ठहराई अ.बं. १८८ नं. बमोजिम १० वर्ष कैदको सजाय गर्न उचित हुने भनी राय व्यक्त गरेको शुरु काठमाडौँ जिल्ला अदालतको मिति २०६४।१२।१३ को फैसलालाई रायसहित सदर गरेको पुनरावेदन अदालत, पाटनको मिति २०६६।११।१८ को फैसला सदर हुन्छ । साथै पूरक अभियोग लगाई प्रतिवादी कायम गरिएका प्रत्यर्थी प्रतिवादी साजन महर्जनलाई कर्तव्य ज्यान तथा ज्यान मार्ने उद्योगमा लिइएको अभियोग दावीबाट सफाइ दिने गरी शुरु काठमाडौँ जिल्ला अदालतबाट मिति २०६४।१२।१३ मा गरेको फैसलालाई सदर गरेको पुनरावेदन अदालत, पाटनको मिति २०६६।१२।१८ को फैसला समेत मनासिव देखिँदा सदर हुन्छ । अभियोग दावीबाट सफाइ पाऊँ भन्ने पुनरावेदक प्रतिवादी उमेश गुरुङको र प्रतिवादी साजन महर्जनलाई कर्तव्य ज्यान तथा ज्यान मार्ने उद्योगमा र प्रतिवादी उमेश गुरुङलाई ज्यान मार्ने उद्योगमा समेत सजाय गरिपाऊँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकीर पुग्न सक्तैन । दायरीको लगत कट्टा गरी प्रतिवादी उमेश गुरुङलाई सर्वश्वसहित जन्मकैदको सजाय हुने ठहर भए पनि अ.बं. १८८ नं. बमोजिम कैद वर्ष १० (दश) हुने ठहर भएकोले सोहीबमोजिम लगत कितावमा जनाई कैदमा राख्न कैदी पूर्जी संशोधन गरी कैद म्याद ठेकी सम्बन्धित कारागार शाखामा पठाउनु भनी शुरु जिल्ला अदालतमा लेखी पठाई मिसिल नियमानुसार बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या.भरतराज उप्रेती
इति संवत् २०६८ साल साउन २५ गते रोज ४ शुभम्
इजलास अधिकृत : दीपककुमार दाहाल