निर्णय नं. ९३४८ - लेनदेन

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय
माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल
फैसला मिति : २०७१।१०।१२।२
०६७-CI-११८२
मुद्दाः- लेनदेन
पुनरावेदक/प्रतिवादी : जिल्ला धनुषा, गिद्धा गा.वि.स.वडा नं.९ बस्ने गंगाप्रसाद मण्डल
विरूद्ध
प्रत्यर्थी/वादी : जिल्ला धनुषा, गिद्धा गा.वि.स.वडा नं.९ बस्ने यमुनाप्रसाद मण्डल
लिखतमा ऋणीलाई ऋणको रकम बुझाउन भाखा दिएकामा सो अवधिसम्म धनीले ऋणीलाई रकम नमाग्ने वाचा गरेकोसम्म हो । तर सो अवधिभित्र धनीलाई रकमको आवश्यकता पर्यो भने आफ्नो रकम माग्नै नहुने भनी प्रतिबन्धित गर्ने र त्यसरी मागेमा थैली भुस हुनेकुरा गर्नु न्यायोचित नहुने ।
मुद्दा गर्ने हदम्याद रहेसम्म साहुको नालेस गर्ने हक रहन्छ । भाखाभित्रै धनीले ऋणमा लगानी गरेको रकममा ऋणीलाई कचकच गर्न नहुने भन्नेसम्म कुरामा भाखाको अवधि समाप्त हुनुपूर्व नालेस परेकामा ऋणमा लगानी गरेको रकममा साहुको हक नै नहुने आसामीले ऋण तिर्नै नपर्ने भन्ने
होइन । साहुले ऋणमा लगानी गरेको रकममा लगानी गरेको मितिबाट कानूनले हदम्याद नसकिएको अवस्थासम्म हक रहिरहेको हुन्छ । लिखतको भाखापूर्व धनीको हक नपुग्ने, नालेस गर्न नपाइने, नालेस गरेमा लिखतको रकम ऋणीले बुझाउनु नपर्ने र थैली भुस हुने अर्थ लगाउन मिल्ने नदेखिने ।
(प्रकरण नं.५)
पुनरावेदक/प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता जयकान्तलाल दास
प्रत्यर्थी/वादीका तर्फबाट :
अवलम्बित नजिर :
सम्बद्ध कानून :
सुरू तहमा फैसला गर्ने –
मा.जि.न्या. श्री प्रेमबहादुर के.सी.
पुनरावेदन तहमा फैसला गर्ने –
मा.न्या. श्री लोकेन्द्र मल्लिक
मा.न्या. श्री टिकाबहादुर हमाल
फैसला
न्या.बैद्यनाथ उपाध्याय : पुनरावेदन अदालत, जनकपुरको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) (ग) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम् ठहर यसप्रकार छ :
प्रतिवादीले मसँग घर खर्च भनी मिति २०६३।७।३० गतेमा रू.२,००,०००।– (दुई लाख रूपैयाँ) ऋण कर्जा लिई सोको सयकडा १० का दरले ब्याज लगाई एकमुष्ट रूपैयाँ ६ महिनाभित्र बुझाउने भाखा राखी प्रतिवादीले मलाई कपाली तमसुक गरी दिनु भएको थियो । प्रतिवादीलाई लिखतअनुसारको रकम बुझाई दिनु भनी बारम्बार तर ताकेता गर्दा आलटाल गरी बदनियत चिताई नदिएकाले साह्रै अन्यायमा परी सम्मानित अदालतको शरणमा आएको छु । प्रतिवादीलाई झिकाई मेरा प्रमाण बुझी उक्त साँवा र फिराद दर्ता गर्दाका मितिसम्मको ब्याज रू.८,४९९।९९ समेत जम्मा रू.२,०८,४९९।९९ तथा फिरादपत्र दर्ता गर्दा राखेको कोर्ट फी अन्य दस्तुर र बिगो भरी भराउ हुने दिनसम्मको ब्याजसमेत प्रतिवादीबाट दिलाई पाउँ भन्नेसमेत व्यहोराको मिति २०६४।१।३ गतेको फिरादपत्र ।
विपक्षी वादीका छोरा वसन्तकुमार मण्डलसँग रू.५०,०००।- मिति २०६३।७।३० मा लिई कपाली तमसुक गरिदिएको हुँ । सो तमसुकमा धनी निज वसन्तका पिता वादी यमुनाप्रसाद मण्डलको नाम उल्लेख छ र धनी ऋणीको उमेर वर्ष खाली छ । अन्तर साक्षीमा ऋणीको छोरी रन्जना कुँवर छन् भने लेखक साक्षीमा व्रजकिशोर झा छन् । निज लेखक साक्षी व्रजकिशोर झा कै हस्ताक्षरबाट उक्त कपाली तमसुक तयार भई मिति पुछार मुनि साँवा रू.५०,०००।– अक्षरेपी रू.पचास हजारमात्र भनी अङ्क र व्यहोरा जनाइएको छ । सोही मितिका दिन निज वादीका छोरा वसन्तकुमार मण्डलले गराइदिएको सो लिखतको छायाँप्रति यसै साथ पेस गरेको छु, जसबाट सत्य तथ्य अवगत हुन्छ । लिखतमा आजका मितिले ६ महिनाभित्र साँवा ब्याजसमेत बुझाउने छु भनी भाखा उल्लेख भएको प्रस्ट छ । फिराद दर्ता गर्ने हक लेनदेन व्यवहारको २ नं. ले प्रदान गर्दैन, भाखाभित्र नै प्रस्तुत फिराद दर्ता नभएको र लिखत नै शङ्कास्पद भएकाले सक्कल लिखत हेर्न सुन्न पाएको बखत अ.बं.७८ नं. बमोजिम सनाखत बयान गर्ने छु भन्नेसमेत व्यहोराको प्रतिउत्तर जिकिर ।
लिखतमा उल्लिखित भाखाको ज्यादै महत्त्व रहन्छ । वादीले फिरादमा उल्लेख गरेका कुरा स्वभाविक तथ्यमा आधारित रहेको छैन । लिखतले तोकेको भाखाभित्र ऋण नबुझाएको अवस्थामा मात्र साहुले प्रतिवादीउपर फिराद दिने कानूनी बाटो खुल्ने अवस्था हुन्छ । प्रतिवादीले पनि प्रतिउत्तरपत्रको खण्ड २ ख मा विपक्षी वादीले अवलम्बन गरेको आधारको लिखतमा आजका मितिले ६ महिनाभित्र साँवा ब्याजसमेत बुझाउने छु भनी भाखा उल्लेख भएको प्रस्ट छ । भाखाभित्र विपक्षी वादीले फिरादपत्र दायर गर्ने अधिकार नभएको भन्ने व्यहोरा प्रतिउत्तरपत्रमा उल्लेख गरेको अवस्थामा वादी दावी खारेज हुने ठहर्छ भनी मिति २०६४।३।२८।५ को धनुषा जिल्ला अदालतको फैसला ।
प्रस्तुत मुद्दामा भाखाको कुरालाई लिएर मेरो बिगो नै डुब्ने र सारवान हक मानै असर पुग्ने गरी सुरू अदालतबाट फैसला भएकोछ । मैले प्रतिवादीले गरिदिएको कपाली तमसुकका आधारमा दायर गरेको कानूनसम्मत् फिरादमा समूचित विवेचना नै गरिएन । विवादरहित तमसुकबमोजिमको मेरो लेनदेन व्यवहार डुब्ने गरी भएको सुरू फैसला त्रुटिपूर्ण रहेकाले सो फैसला बदर वातिल भरी वादी दावीबमोजिम इन्साफ प्रदान गरिपाउँ भन्ने व्यहोराको पुनरावेदक वादी यमुनाप्रसाद मण्डलको पुनरावेदनपत्र ।
यसमा विपक्षी प्रतिवादीका नाउँमा म्याद जारी हुँदा भाखा नाघिसकेको अवस्था हुँदा सुरू जिल्ला अदालतले गरेको फैसला फरक पर्न सक्ने अवस्था रहेकाले छलफलका लागि मुलुकी ऐन, अ.बं.२०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ नं. बमोजिम प्रत्यर्थी झिकाई आएपछि वा अवधि नाघेपछि नियमानुसार पेस गर्नु भन्ने पुनरावेदन अदालत, जनकपुरको मिति २०६६।८।९ को आदेश ।
यसमा अ.बं.७८ नं. बमोजिम तमसुक सनाखत गराई पाउँ भन्ने प्रतिवादीको जिकिर भएको देखिँदा सक्कल लिखत वादीबाट दाखिल गराई उक्त लिखत प्रतिवादीलाई अ.बं.७८ नं. बमोजिम देखाई सुनाई कागज गराई नियमबमोजिम पेस गर्नु भन्ने पुनरावेदन अदालतको मिति २०६७।१।१३।२ को आदेश ।
वादीका छोरा वसन्तकुमारबाट रू.५०,०००।- मात्र लिई रू.२,००,०००।- को कागज गरिदिएको हो । लिखतमा लागेको सहिछाप मेरै हो । लिखत सद्दे हो, किर्ते जालसाजी होइन भन्ने प्रतिवादीका वारेस हरिकृष्णलालले अ.बं.७८ नं. बमोजिम गरेको बयान ।
प्रतिवादीले मबाट रू.२,००,०००।- लिएर कपाली तमसुक गरिदिएका हुन् । रू.५०,०००।- मात्र लिएर रू.२,००,०००।- को कागज गरिदिएको होइन भन्ने वादीले अ.बं. ७८ नं. बमोजिम गरेको बयान ।
प्रतिवादीले अ.बं.७८ नं.बमोजिम बयान गर्दा रू.५०,०००।- मात्र लिई दुई लाख रूपैयाँको लिखत गरिदिएको हो । लिखतमा लागेको सहिछाप सद्दे हो, लिखत सहीरूपमा तयार भएको हो भनी बयान गरेको देखिन्छ तर रू.५०,०००।– मात्र लिएको तथ्य मिसिल संलग्न लिखत प्रमाणबाट समर्थित भएको देखिँदैन । प्रतिवादीले लिखतबमोजिमको साँवा ब्याज वादीलाई बुझाएको नदेखिएको अवस्थामा वादी दावी खारेज हुने ठहर्याएको धनुषा जिल्ला अदालतको फैसला मिलेको नदेखिँदा उल्टी भई वादी दावीको साँवा ब्याज वादीले प्रतिवादीबाट भरी पाउने ठहर्छ भन्ने पुनरावेदन अदालत, जनकपुरको मिति २०६७।३।२४ को
फैसला ।
पुनरावेदन अदालतको उक्त फैसलामा चित्त बुझेन गाउँघरको चलनअनुसार साँवाको चार गुणा बढी रकम उल्लेख गरी आपसी समझदारीमा लिखत गरिदिएको हो।लिखतको पुछारमा पचासहजार मात्र लिएको हो भन्ने प्रस्ट उल्लेख भएको छ । लिखतमा ६ महिनाभित्र रकम बुझाउने छु भनी उल्लेख भएकामा सो अवधि व्यतित नभई कानूनीरूपमा फिराद लाग्ने अवस्था रहदैँन । पुनरावेदन अदालतले मिसिल संलग्न सबुद प्रमाणहरूको समूचित मूल्याङ्कन नगरी गरेको त्रुटिपूर्ण फैसला बदर गरी झुठा दावीबाट अलग्ग फुर्सद गराई पाउँ भन्ने प्रतिवादी गंगाप्रसाद मण्डलको पुनरावदेनपत्र ।
नियमबमोजिम पेसी सुचीमा चढी निर्णयार्थ यस इजलाससमक्ष पेस भएको प्रस्तुत मुद्दामा पुनरावेदकका तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री जयकान्तलाल दासले लिखत दुईलाखको भएपनि वास्तविक लेनदेन कारोवार रू.५०,०००।– मात्र भएको हो । ऋण लिएको रकम ६ महिनाभित्र बुझाउने गरी भाखा राखिएकामा सो अवधि व्यतित नै नभई बाँकी रहेको अवस्थामा कानूनविपरीत फिराद दायर गरिएको छ । वादीलाई फिराद दायर गर्ने हकदैया नै नभएको अवस्थामा दायर गरेको फिराद खारेज गर्नुपर्नेमा वादीदावी पुग्ने ठहर्याएको पुनरावेदन अदालतको त्रुटिपूर्ण फैसला उल्टी गर्नका लागि प्रत्यर्थी झिकाई पाउँ भनी बहस प्रस्तुत गर्नुभयो ।
उपरोक्तबमोजिम विद्वान् कानून व्यवसायीको तर्कपूर्ण बहसलाई मनन् गरी पुनरावेदन अदालतको फैसला फरक पर्न सक्ने नसक्ने, तथा पुनरावेदन जिकिर पुग्न सक्ने हो होइन, सो सम्बन्धमा निर्णय गर्नुपर्ने देखियो ।
२. निर्णयतर्फ विचारगर्दा, रू.५०,०००।- लिएर दुई लाख रूपैयाँको लिखत गरिदिएको हो । साँवा ब्याज बुझाउने अवधि बाँकी हुँदै पेस गरेको फिराद दायर हुनै सक्तैन । पुनरावेदन अदालतले मिसिल संलग्न प्रमाणहरूको समूचित मूल्याङ्कन नगरी लिखतबमोजिम साँवा ब्याज भराउने ठहर्याएको त्रुटिपूर्ण फैसला उल्टी गरी झुठा दावीबाट मुक्त गराइपाउँ भन्ने प्रतिवादी गंगाप्रसादको पुनरावेदन जिकिर रहेको देखियो ।
३. प्रतिवादी गंगाप्रसाद मण्डलले मिति २०६३।७।३० मा गरिदिएको लिखित कपाली तमसुक हेर्दा रू.२,००,०००।- (दुई लाख) घर खर्च गर्नका लागि लिइएको ठीक साँचो हो भनी लिखत गरिदिएको पाइन्छ भने प्रतिवादीका वारेस हरेकृष्ण लाल कर्णले अ.बं. ७८ नं. बमोजिम बयान गर्दा लिखतमा लागेको सहीछाप मेरै हो, उक्त कपाली तमसुक सद्दे हो, किर्ते जालसाजी होइन भनी लिखतको औचित्य र व्यहोरालाई स्वीकार गरी मिति २०६७।२।२६ मा बयान गरेको पाइन्छ । निजले केवल रकमको अङ्कमा मात्र रू.२,००,०००।- को लेनदेन नभई रू.५०,०००।- को मात्र लेनदेन भएको हो भन्नेसम्मको मात्र जिकिर लिएको देखिन्छ ।
४. प्रतिवादीले रू.५०,०००।– मात्र लिएको भए किन दुई लाख रूपैयाँ घर खर्च गर्न ऋण लिएको ठीक साँचो हो भनी कपाली तमसुकको लिखत कागज गरिदिएको हो सो को वस्तुपरक आधार, कारण र प्रमाण प्रतिवादीले प्रतिउत्तरपत्रमा खुलाउन सकेको
देखिएन । जबर्जस्ती करकापमा कागज गराएको वा झुक्याई कागज गराएको हो भन्ने भनाइ पनि प्रतिवादीको रहेको देखिँदैन । गाउँघरको चलनअनुसार साँवाको चार गुणा बढी रकम उल्लेख गरी आपसी समझदारीमा लिखत गरिदिएको हो भन्ने प्रतिवादीको जिकिर मिसिल संलग्न स्वतन्त्र र वस्तुनिष्ठ प्रमाणले पुष्टि गरेको छैन । फगत अनुमानका आधारबाट मुद्दाको निर्णय गरिनु हुँदैन । एक पटक कुनै लिखतमा जानी बुझी मन्जुरी साथ सहिछाप हाली सकेपछि त्यो लिखतको व्यहोरालाई त्यस्तो होइन भनी भन्न मिल्ने कुरा
होइन । प्रतिवादीले रू.२,००,०००।- लिएर तमसुक गरी दिएका हुन भन्ने वादीले लिएको दावीलाई वादीका वारेस मनोजकुमार ठाकुरले अ.बं.७८ नं.को बयान गर्दा प्रतिवादीले रू.२,००,०००।- लिएर लिखत गरी दिएका हुन् भनी दावीलाई पुष्टि हुने गरी बयान गरेको पाइन्छ । प्रतिवादीले वादीबाट रू.५०,०००।– मात्र लिइएको हो भन्ने तथ्यलाई पुष्टि र समर्थन गर्ने तथ्ययुक्त प्रमाण तथा देखीजान्ने साक्षीसमेत पेस गर्न सकेको देखिँदैन । तसर्थ लिखतबमोजिमको ऋण लिनु दिनु भएकै हो भनी मान्नुपर्ने देखिन आयो ।
५. हदम्याद सुरू हुनुपूर्व नै वादीको नालेस परेकाले फिराद दावी खारेज हुनुपर्ने भन्ने पुनरावेदकको जिकिरतर्फ विचार गर्दा लिखत मिति २०६३।७।३० मा तयार भएको र वादीको फिरादपत्र मिति २०६४।१।३ मा दायर भएको देखिन्छ । लिखतमा ६ महिनाको भाखा राखेको र ६ महिना पूरा हुन केही दिन पूर्व नै नालेस दर्ता गरेकाले भाखाभित्र नालेस गर्न नपाईने र फिरादपत्र खारेज हुनुपर्ने भन्ने नै पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर रहेको देखियो । लिखतमा ऋणीलाई ऋणको रकम बुझाउन भाखा दिएकामा सो अवधिसम्म धनीले ऋणीलाई रकम नमाग्ने वाचा गरेकोसम्म हो । तर सो अवधिभित्र धनीलाई रकमको आवश्यकता पर्यो भने आफ्नो रकम माग्नै नहुने भनी प्रतिबन्धित गर्ने र त्यसरी मागेमा थैली भुस हुनेकुरा गर्नु न्यायोचित हुँदैन । ऋण लिएपछि साँवा ब्याज बुझाउनुपर्ने नै हुन्छ । साहुले ऋणमा लगानी गरेको रकममा साहुको हक स्वतः मेटिदैन । मुद्दा गर्ने हदम्याद रहेसम्म साहुको नालेस गर्ने हक रहन्छ नै । भाखाभित्रै धनीले ऋणमा लगानी गरेको रकममा ऋणीलाई कचकच गर्न नहुने भन्नेसम्म कुरामा भाखाको अवधि समाप्त हुनुपूर्व नै नालेस परेको अब त्यतिकैमा ऋणमा लगानी गरेको रकममा साहुको हक नै नहुने आसामिले ऋण तिर्नै नपर्ने भन्ने होइन । साहुले ऋणमा लगानी गरेको रकममा लगानी गरेको मितिबाट कानूनले हदम्याद नसकेको अवस्थासम्म हक रही नै रहेको हुन्छ । लिखतको भाखापूर्व धनीको हक नपुग्ने, नालेस गर्न नपाइने, नालेस गरेमा लिखतको रकम ऋणीले बुझाउनु नपर्ने र थैली भुस हुने अर्थ लगाउन मिल्ने देखिएन ।
६. लिखत मिति २०६३।७।३० मा तयार भएको र ६ महिनाको भाखा २०६४।१।२९ सम्म पनि प्रतिवादीले ऋण वादी साहुलाई बुझाएको देखिँदैन । सो ६ महिनाको भाखा समाप्त भएपछिमात्र प्रतिवादी गंगाप्रसाद मण्डलको नाममा मिति २०६४।२।९ मा म्याद तामेल भएको देखिन्छ । यसरी लिखत अनुरूपको ६ महिनाको भाखा नाघी सकेको र सो अवधिमासमेत प्रतिवादीले वादीलाई लिखत अनुरूपको रकम बुझाएको देखिएन । लिखतअनुसारको भाखाभन्दा अघि नै फिराद दायर हुँदैमा लिखत अनुरूपको प्रतिवादीको देवानी दायित्व समाप्त भयो भनी अर्थ गर्न मिल्ने देखिँदैन । तथापि भाखा नाघेपछि म्याद प्रतिवादीको नाममा तामेल भएको स्थिति छ । के कतिको ऋण रकम हो भन्ने तर्फ पनि दुईलाख कारोबार भएको मिसिल संलग्न प्रत्यक्ष लिखत कपाली तमसुकबाट देखिएको अवस्थामा रू.५०,०००।– मात्र ऋण लिएको भन्ने प्रतिवादीको पुनरावेदन जिकिर विश्वास लायक
देखिएन ।
७. अतः माथि विवेचित आधार र कारणसमेतबाट वादी दावी खारेज हुने ठहर्याएको सुरू धनुषा जिल्ला अदालतको मिति २०६४।३।२८ को फैसला उल्टी गरी वादी दावीबमोजिमको साँवा ब्याज वादीले प्रतिवादीबाट भराई लिन पाउने ठहर्याएको पुनरावेदन अदालत, जनकपुरको मिति २०६७।३।२४ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्तैन । प्रस्तुत मुद्दाको दायरीबाट लगत कट्टा गरी मिसिल नियमानुसार बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या.जगदीश शर्मा पौडेल
इति संवत् २०७१ साल माघ १२ गते रोज २ शुभम् ।
इजलास अधिकृत :-प्रेमप्रसाद न्यौपाने