निर्णय नं. ९३५१ - अंश चलन

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री गोपाल पराजुली
माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ
फैसला मिति : २०७१।७।५।५
०६७-CI-०७९७
मुद्दाः अंश चलन ।
पुनरावेदक/प्रतिवादी : जिल्ला सुनसरी, इनरूवा नगरपालिका वडा नं. २ बस्ने दुर्गादेवी साह तेली
विरूद्ध
प्रत्यर्थी/वादी : जिल्ला सुनसरी, इनरूवा नगरपालिका वडा नं. २ बस्ने तपेश्वर साह
मुद्दा पर्नुअघिसम्म यी वादी प्रतिवादी सगोलमै रहेको अवस्था भएको र वादीको समेत प्रयासबाट छोरीबाट बकस पाएको जग्गामा घरसमेत बनाई सगोलमै बसी अएको अवस्था देखिँदा त्यस्तो सम्पत्ति प्रतिवादीहरूको मात्र अर्जनको हो भन्ने मानी प्रतिवादी जिकिरसित सहमत भई वादीलाई अंश जस्तो नैसर्गिक हकबाट बञ्चित गर्ने अवस्था हुन नसक्ने ।
परिवारका कोही सदस्य सबल र कोही दुर्बल हुनु सामान्य कुरा हो । परिवारका सगोलका सदस्यमध्ये कसैको पैतृक सम्पत्ति हुदैमा या नहुँदैमा वा कोही सबल र कोही दुर्बल हुँदैमा सगोलका परिवारका सदस्य एकै घर परिवारमा रही बसेको अवस्थामा आर्जन भएको सम्पत्तिमा परिवारका कुनै सदस्यको मात्र हक हुन्छ भनी अर्थ गर्नु कदापी न्यायोचित हुन
सक्तैन । परिवारका कुनै सदस्यको पैतृक सम्पत्ति नहुँदैमा सगोलमा आर्जित सम्पत्तिमा अंश भाग लाग्न सक्तैन भनी अर्थ गर्न नमिल्ने ।
(प्रकरण नं.२)
पुनरावेदक/प्रतिवादीका तर्फबाट :
प्रत्यर्थी/वादीका तर्फबाट :
अवलम्बित नजिर :
नेकाप २०६४, अङ्क २, पृष्ठ १४०
स.अ.बुलेटिन, अङ्क ५, वर्ष २४, पृष्ठ २४
सम्बद्ध कानून :
मुलुकी ऐन, अंशबन्डाको महलको १८ नं.
सुरू फैसला गर्नेः
मा.न्या. श्री हरिबहादुर बस्नेत
मा.न्या. श्री द्वारिकामान जोशी
फैसला
न्या.गोपाल पराजुली : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अनुसार यस अदालतमा दायर भै निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य र ठहर यसप्रकार छ ।
म वादीको एकमात्र श्रीमती दुर्गादेवी हुन । हामीबाट एक छोरा एक छोरीको जायजन्म भएकामा छोरा मनोज र छोरी ममताको विवाह भई सकेकामा म वादी, पत्नी र छोरा गरी ३ अंशियार हौं, हामी सगोलमा बसी आएका छौं । म वादीले इनरूवा बजारमा ग्लास कर्नरको पसल गरी कमाई पत्नीका नाममा घडेरी किनी घर बनाई बसी आएको र सगोलबाटै उद्योग खोली गाडी, मोटरसाइकल किनी आएकामा पारिवारिक विवाद भै २०६१ सालमा दे.दा.नं. ९२० को अंश चलन मुद्दा गरेको थिएँ । उक्त मुद्दामा सगोलमा बस्ने गरी मिलापत्र भएको थियो । मिति २०६३।६।२२ गते प्रमाणका मानिस राखी अंशबन्डा गरी दिनु भन्दा अंश दिन इन्कार गरेकाले घरमा भएका विभिन्न सामान रूख, विरूवा, टेबुल, फर्निचरलगायतका दुर्गादेवीका नाममा दर्ता रहेको इनरूवा नगरपालिका वडा नं. २ को कि.नं. १९१,१३९ को ०-०-१५ जग्गा र त्यसमा भएको घर र अन्य जग्गाहरू समेतबाट ३ भागको १ भाग अंश पाउँ भन्नेसमेत व्यहोराको वादीको मिति २०६३।८।२४ को फिरादपत्र ।
पति पिताको साथमा कुनैपनि पैतृक सम्पत्ति नभएको पिताले आफ्ना दाजुभाइउपर अंश चलन मुद्दा गरेकामा कुनै अचल सम्पत्ति नभएकाले अंश पाउनुभएको थिएन, म मनोज साहले रू.१२,०००।- सापट मागी हामी दुवै प्रतिवादीले २०५४ सालमा आफ्नै प्रोप्राइटरमा ग्लास कर्नरको व्यवसाय थाली
हाम्रो लगनशीलताले व्यवसाय सफल हुँदै जाँदा र २०५७ सालमा छोरी ममताले ०-०-१० जग्गा बकसपत्र गरी दिएपछि व्यवसायबाट आएको पैसाले बिस्तारै घर बनाई बसोबास गरी आएका छौं । उक्त व्यवसायबाटै हामी प्रतिवादीमध्येकी आमाका नाममा अन्य स-साना घडेरी जग्गाहरू किनेका हौं वादीसमेतको सगोलको आर्जनको तथा वादीको अंश लाग्ने कुनैपनि सम्पत्ति हामी जिम्मा नभएकाले वादीलाई हामीले अंश दिनुपर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादीहरूको संयुक्त प्रतिउत्तरपत्र ।
पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी सो भन्दा अघिको बन्डा गर्नुपर्ने श्री सम्पत्तिको तायदाती फाँटवारी दाखेल गराउनु भन्नेसमेत व्यहोराको आदेश भई दुवै पक्षबाट तायदाती फाँटवारी दाखेल भै मिसिल सामेल रहेको ।
फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी माग गरेको तायदाती फाँटवारीमा उल्लिखित वादी प्रतिवादीहरूको नाममा रहेको श्रीसम्पत्तिलाई (प्रतिवादी दुर्गादेवी साहु तेलीको नाममा रहेको बकसपत्रबाट पाएको कि.नं. १३९ र कि.नं. १९२ बाहेक) तथा तायदाती फाँटवारीमा उल्लेख नभएको कि.नं. १९१ को सम्पत्तिलाई (जग्गालाई) ३ भाग लगाई सो को १ भाग वादीले प्रतिवादीहरूबाट अंश दिलाई भराई, वादीले भराई पाउने सम्पत्तिलाई चलनसमेत चलाई लिन पाउने ठहर्छ । तायदाती फाँटवारीमा ऋणसमेत उल्लेख भएको देखिएकाले ऋणका हकमा साहुको उजुरी परेका बखत कानूनबमोजिम हुने ठहर्छ भन्नेसमेत सुरू सुनसरी जिल्ला अदालतको मिति २०६५।३।९ को फैसला ।
सुरूले कि.नं. १३९ र १९२ को जग्गा वाहेक अरू सम्पत्ति ३ भागको १ भाग अंश ठहर गरेपनि फैसलाको तपसिल खण्डमा सगोलमा म पुनरावेदकले निर्माण गरको घरमा म पुनरावेदको अंश ठहर गरेको छैन । मैले तायदातीमा देखाएको २ तले पक्की घर निर्माण गरेको र उक्त घरहरू सगोलको भएकाले उक्त घरमा मलाई अंश हकबाट बञ्चित गरी सुरूले गरेको फैसला प्रमाणको मूल्याङ्कन नगरी अ.बं. १८४(क) नं. विपरीत त्रुटिपूर्ण फैसला भएकाले वादी दावीबमोजिम ठहर नगरेको हदसम्म उल्टी गरी पुनरावेदन जिकिरबमोजिम इन्साफ पाउँ भन्नेसमेत व्यहोराको वादीको पुनरावेदन जिकिर ।
प्रतिवादीले निजी तवरबाट बकस पाएको हो होइन, त्यसतर्फ विवेचना नै नभई भएको सुरूको फैसला फरक पर्न सक्ने भएकाले प्रत्यर्थीलाई छलफलका लागि झिकाउने गरी भएको पुनरावेदन अदालत, विराटनगरको आदेश ।
यी वादी प्रतिवादीबीच नातामा विवाद नरहेको, कि.नं. १३९ को जग्गा र सोमा बनेको घर प्रत्यर्थी दुर्गादेवीका नाममा सगोलमा रहेको अवस्थामा छोरी ममता साहबाट हालै देखिको बकसपत्र पाएको मिसिल संलग्न लिखतको प्रतिलिपिबाट देखिन आएकाले सगोलको परिवारबाट पाएको बकसपत्रको सम्पत्तिलाई मुलुकी ऐन, अंशबन्डाको महलको १८ नं. अनुसार निजी आर्जन मानी बन्डा नलाग्ने भन्न कानूनसम्मत पनि नदेखिँदा सो कि.नं. १३९ को घर जग्गा बन्डा नलाग्ने गरी भएको सुरू सुनसरी जिल्ला अदालतको मिति २०६५।३।९ को फैसला सो हदसम्म केही उल्टी भै उपरोक्त घरजग्गाबाट पनि यी पुनरावेदक वादीले अंश छुट्टयाई लिन पाउने ठहर्छ भन्नेसमेत पुनरावेदन अदालत, विराटनगरको मिति २०६६।८।९ को फैसला ।
विपक्षी वादी मेरा पति हुनुहुन्छ त्यसमा विवाद छैन । मेरा नाउँ दर्ताको कि.नं. १३९ को जग्गा र त्यसमा भएको घर मेरी छोरी ममताले बकसपत्र दिएको विषयलाई फैसलामा सगोलको परिवारबाट पाएको बकसपत्रको सम्पत्तिलाई मुलुकी ऐन, अंशबन्डाको महलको १८ नं. अनुसार निजी आर्जन मानी बन्डा नलाग्ने भन्न कानूनसम्मत नदेखिने भनी मिसिल संलग्न प्रमाण एवम् मैले पाएको बकसपत्रको लिखतमा नै निज छोरीका पति सन्तोषकुमारको नाउँ उल्लेख भएबाट निज छोरी ममता हाम्रो सगोलकी परिवार तथा अंशियार नभै विवाह भै गै सकेकी छोरीले आमा म पुनरावेदकलाई बकसपत्र गरी जग्गा दिएको हुँदा उक्त जग्गा मुलुकी ऐन, अंशबन्डाको महलको १८ नं. तथा स्त्री अंशधनको महलको १,५ (१) नं. बमोजिम आफूखुश गर्न पाउने बन्डा गर्न कर नलाग्ने निजी आर्जनको सम्पत्ति रहे भएको कुरा प्रस्ट हुँदाहुँदै विवाह भएको छोरीलाई पनि एकासगोलको परिवार मानी निजबाट बकसको सम्पत्ति भनी बन्डा लगाइदिने गरी भएको फैसला मुलुकी ऐन, अंशबन्डाको महलको १८ नं. एवम् स्त्री अंशधनको महलको १,४,५ नं. विपरीत भै कानूनी त्रुटिपूर्ण हुँदा बदर गरी सुरू सुनसरी जिल्ला अदालतको फैसला सदर हुने गरी इन्साफ पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादीको पुनरावेदन जिकिर ।
पुनरावेदक प्रतिवादी दुर्गादेवी साह तेलीले बकपत्रबाट प्राप्त गरेको कि.नं. १३९ को जग्गासमेत बन्डा लाग्ने गरी प्रमाणको सही मूल्याङ्कन नगरी भएको पुनरावेदन अदालत, विराटनगरको फैसला फरक पर्न सकिने देखिँदा अ.बं. २०२ नं. बमोजिम विपक्षी झिकाउने गरी भएको यस अदालतको मिति २०६८।२।५ को आदेश ।
नियमबमोजिम आजको दैनिक मुद्दा पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरियो ।
यसमा यी पुनरावेदकवादीले प्रत्यर्थी प्रतिवादीबाट वादीकी पत्नी दुर्गादेवी नामको कि.नं., १९१, १३९, १९२ को जग्गाहरू र सो जग्गाहरू मध्येमा बनेको घरसमेतबाट ३ भागको १ भाग अंश पाउँ भनी फिराद दिएकामा सुरूले प्रतिवादीले बकसपत्र बाट पाएको जग्गा र सोमा बनेको घर बन्डा नलाग्ने र कि.नं. १९१ को जग्गाबाट मात्र वादीले अंश पाउने ठहर गरी गरेको फैसलाउपर वादीको पुनरावेदन परी पुनरावेदन अदालत, विराटनगरले सुरूको फैसला केही उल्टी गरी कि.नं १३९ मा बनेको घर जग्गासमेतबाट वादीले अंश पाउने ठहर्याई गरेको फैसला उपर चित्त नबुझाई प्रतिवादीहरूको प्रस्तुत पुनरावेदन पर्न आएको पाइयो ।
२. निर्णयतर्फ विचार गर्दा तायदाती फाँटवारीमा उल्लिखित कि.नं. १३९ को जग्गा विवाहित छोरीबाट बकस पाई आफ्नै आर्जनबाट घरसमेत बनाएकाले सो घर जग्गा आफूखुस गर्न पाउने बन्डा गर्न कर नलाग्ने निजी आर्जनको भएकाले बन्डा हुनुपर्ने हैन भन्ने प्रतिवादीको पुनरावेदन जिकिर देखिन्छ । यी पुनरावेदक र प्रत्यर्थी वादी एकाघर सगोलका लोग्ने स्वास्नी नाताका अंशियारमा भएकामा विवाद रहेन । अंशको फाँटवारीमा पेस हुन आएको सुनसरी जिल्ला इनरूवा नगरपालिकाको कि.नं. १३९ को ०-०-१० को जग्गा यी पुनरावेदक प्रतिवादीले आफ्नी छोरी ममताबाट हालैको बकसपत्रबाट पाएको भन्ने पनि मिसिल संलग्न पारित हालैको बकसपत्रको प्रतिलिपिबाट देखिन आउँछ । तथापि उक्त जग्गा आफ्नोसमेतको प्रयासबाट छोरीबाट प्राप्त भएको भनी वादीले लिएको जिकिरलाई यी प्रतिवादी पुनरावेदकले अन्यथा भन्न सकेको छैन भने प्रतिवादीहरूले उक्त जग्गामा बनेको घर प्रतिवादीहरूले मात्र कमाएको सम्पत्तिबाट बनाएको हो भन्ने जिकिर लिए तापनि यी वादी प्रतिवादी सगोलमा रहि बसेको अवस्थामा आर्जन गरी कमाएको सम्पत्तिबाट बनाएकामा वादी प्रतिवादी सहमत नै रहेको देखिन्छन । वादीको कुनै पनि पैतृक सम्पत्ति थिएन निजले आफ्ना दाजुभाइबाट अंश मुद्दा गरी कुनै चल अचल प्राप्त नगरेकाले सो सम्पत्ति हामी प्रतिवादीहरूले बकसपत्रसमेतबाट पाएको आफ्नो निजी आर्जनको हो भन्ने पनि प्रतिवादीको जिकिर देखिन्छ । मुद्दा पर्नु अघिसम्म यी वादी प्रतिवादी सगोलमै रहेको अवस्थामा भएको र वादीको समेत प्रयासबाट छोरीबाट बकस पाएको जग्गामा घरसमेत बनाइ सगोलमै बसी अएको अवस्था देखिँदा त्यस्तो सम्पत्ति प्रतिवादीहरूको मात्र अर्जनको हो भन्ने मानी प्रतिवादी जिकिरसित सहमत भै वादीलाई अंश जस्तो नैसर्गिक हकबाट वञ्चित गर्ने अवस्था हुन सक्तैन । परिवारका कोही सदस्य सबल र कोही दुर्बल हुनु सामान्य कुरा हो । परिवारका सगोलका सदस्यमध्ये कसैको पैतृक सम्पत्ति हुँदैमा या नहुँदैमा वा कोही सबल र कोही दुर्बल हुँदैमा सगोलका परिवारका सदस्य एकै घर परिवारमा रही बसेको अवस्थामा आर्जन भएको सम्पत्तिमा परिवारका कुनै सदस्यको मात्र हक हुन्छ भनी अर्थ गर्नु कदापि न्यायोचित हुन सक्तैन । परिवारका कुनै सदस्यको पैतृक सम्पत्ति नहुँदैमा सगोलमा आर्जित सम्पत्तिमा अंश भाग लाग्न सक्तैन भनी अर्थ गर्न मिल्दैन । मुलुकी ऐन, अंशबन्डाको १८ नं. ले मानो नछुट्टिई सँग बसेको अंशियार छन् भने जुनसुकै अंशियार सगोलको सम्पत्तिबाट वा खेती व्यापार आदिबाट बढेबढाएको सगोलको आर्जन र लगाएको ऋण बराबर भाग लाग्छ भन्ने कानूनी व्यवस्था गरेको देखिएको र यी वादी प्रतिवादी अंश मुद्दा पर्नुभन्दा अघिल्लो दिनसम्म सगोलमै रहेको देखिएको एवम् सोही अवस्थामा छोरीबाट हालैको बकसपाएको जमिनमा सगोलकै आर्जनको सम्पत्तिबाट घर बनाएको देखिएकाले त्यस्तो घर जग्गासमेतमा प्रतिवादीहरूले निजी तबरले बकस पाएको अर्थ गरी यी वादीको अंश लाग्दैन भन्ने अर्थ गर्नु न्यायोचित नहुनुको साथै मुलुकी ऐन, अंशबन्डाको महलको १८ नं. को कानूनी व्यवस्थाको मर्म र भावनाको प्रतिकूल हुन जाने देखिन्छ । लोग्नेको अवस्था सुदृढ भएकामा लोग्नेबाट र स्वास्नीको अवस्था सुदृढ भएकामा स्वास्नीबाट तिनीहरूको आयस्थामा हिस्सेदार हुन पाउनु नै वर्तमान अंशबन्डासम्बन्धी कानूनी व्यवस्था र वर्तमान नेपाली पारिवारिक कानुनको मर्म हो भन्ने बुझ्न जरूरी हुन्छ । यी वादी प्रतिवादीबीच प्रस्तुत मुद्दाबाट मुद्दा परेको अघिल्लो दिन अर्थात् २०३३।८।२५ मा मानो छुट्टिएको देखिएको, मेरोसमेत प्रयासबाट छोरीबाट बकस पाएको भन्ने वादीको दावी भै त्यस्तो दावीलाई तथ्ययुक्त प्रमाणबाट खण्डन नहुनुको साथै छोरीले गरी दिएको बकसपत्रमा समेत सगोलका बाबुआमा भाइमध्ये आमालाई मात्र निजी तबरले प्रयोग गर्ने गरी बकस दिएको भन्ने पनि नदेखिएको र यी वादी प्रतिवादी सगोलमा रहँदाकै अवस्थामा बकसपत्रबाट प्राप्त जग्गामा घर बनेको अवस्थामा सो सम्पत्तिमा यी वादीको अंश लाग्दैन भन्न मिल्ने देखिएन । यस्तै सन्दर्भमा सगोलमा रहँदाको अवस्थामा घर बनेकाले त्यस्तो घर सम्पत्तिमा निजी सम्पत्ति हो भन्न सकिने प्रमाणको अभावमा सगोलका अंशियारको भाग लाग्ने नै देखिन्छ भनी भरतराज जोशी विरूद्ध ज्ञानुबाबु जोशीसमेत भएको अंश मुद्दामा (स.अ. बुलेटिन अङ्क ५, वर्ष २४, पृ.२४) साथै “अंश पाउने कुरामा आफ्नो निजि आर्जन स्वरूप पाएको बकसपत्रको सम्पत्ति अरूलाई भाग नलाग्ने तर आफूले अंश दिनुपर्ने हुन आएको अवस्थामा मैले सो सम्पत्ति बकस पाएको हो म कसैलाई दिन्न भन्न पाउने अवस्था आउँदैन” भनी सावित्रीसमेत विरूद्ध पार्वती थापासमेत भएको अंश चलन मुद्दामा (नेकाप २०६४, अङ्क २, पृ.१४०) यस अदालतबाट प्रतिपादित सिद्धान्तसमेतको परिप्रेक्ष्यमा वादी दावीको कि.नं. १३९ को जग्गा घर जग्गामा समेतबाट वादीलाई अंश दिनुपर्नेसमेत ठहर गरी गरेको पुनरावेदन अदालत, विराटनगरको मिति २०६६।८।९ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । प्रतिवादी पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्तैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाइदिनू ।
उक्त रायमा सहमति छ ।
न्या.देवेन्द्र गोपाल श्रेष्ठ
इति संवत् २०७१ साल कात्तिक ५ गते रोज ५ शुभम् ।
इजलास अधिकृत- उमानाथ गौतम