निर्णय नं. ९३५३ - जिउनी जग्गामा हक कायम

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री दीपकराज जोशी
माननीय न्यायाधीश श्री ओम प्रकाश मिश्र
फैसला मिति : २०७१।११।३।१
०६७-CI-१३३७
मुद्दा : जिउनी जग्गामा हक कायम
पुनरावेदक/प्रतिवादी : पाँचथर जिल्ला, फिदिम गाउँ विकास समिति वडा नं. १ घर भई भेडेटार प्रहरी चौकी धनकुटामा कार्यरत वर्ष ४७ को मानबहादुर विश्वकर्मा
विरूद्ध
प्रत्यर्थी/वादी : पाँचथर जिल्ला, फिदिम गाउँ विकास समिति वडा नं. १ बस्ने पदमबहादुर विश्वकर्मा
०६७-CI-१३३८
पुनरावेदक/वादी : पाँचथर जिल्ला, फिदिम गाउँ विकास समिति वडा नं. १ बस्ने पदमबहादुर विश्वकर्मा
विरूद्ध
प्रत्यर्थी/प्रतिवादी : पाँचथर जिल्ला, फिदिम गाउँ विकास समिति वडा नं. १ घर भई भेडेटार प्रहरी चौकी धनकुटामा कार्यरत वर्ष ४७ को मानबहादुर विश्वकर्मा
अंश र अपुताली फरकफरक प्रयोजनका लागि व्यवस्थित साम्पत्तिक अधिकार भएको हुँदा पहिले अंश लिएको आधारमा अपुतालीको २ नं. अनुसार सबै हकवालाले समानरूपमा प्राप्त गर्न सक्ने अपुताली हकबाट अंशियारको रूपमा रहेका कुनैपनि हकवालालाई बञ्चित गर्न मिल्ने नदेखिने ।
(प्रकरण नं.५)
पुनरावेदक/प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता माधव बास्कोटा र विद्वान् अधिवक्ता सुरज अधिकारी
प्रत्यर्थी/वादीका तर्फबाट : विद्वान् अधिवक्ता चन्द्रप्रसाद घिमिरे
अवलम्बित नजिर :
सम्बद्ध कानून :
मुलुकी ऐन, अपुतालीको महलको २, ७ र ११ नं.
मुलुकी ऐन, अंशबन्डाको महलको १ नं.
सुरू तहमा फैसला गर्ने :
मा.जि.न्या. श्री महेन्द्रराज गौतम
पुनरावेदन अदालतमा फैसला गर्ने :
मा.न्या. श्री मोहनबहादुर कार्की
मा.न्या.श्री रेवन्तबहादुर कुँवर
फैसला
न्या.दीपकराज जोशी : पुनरावेदन अदालत, इलामबाट मिति २०६७।१।१३ मा भएको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम पुनरावेदनको रोहमा दायर भै पेस हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम् ठहर यसप्रकार छ :
पिता धनबहादुर विश्वकर्माका ४ भाइ छोराहरूमा जेठा रामचन्द्र, माहिला नरबहादुर, साहिँला म फिरादी पदमबहादुर र कान्छा विपक्षी मानबहादुर
हुन् । पिता धनबहादुर जीवित छँदै हामी चारै भाइ अंशियारले आ-आफ्नो भागको अंश हक कानूनबमोजिम नरमगरम मिलाई बाँडफाँड गरी बन्डा गरी लियौं । दाजु रामचन्द्रले हामीभन्दा अघि २०३२।२।१३ गते नै अंश हक बुझी सकेको हुँदा स्व. पिता धनबहादुरका नाममा जिउनी रहेको पाँचथर, फिदिम-१(क) कि.नं. १६९० को जग्गामा हामी तीनै भाइ विपक्षी मानबहादुर, फिरादी पदमबहादुर र दाजु नरबहादुर विश्वकर्मासमेतको हक हुने हुँदा हामीहरूको नाउँमा गोश्वारा हक कायम गरी हाम्रा नाममा स्रेस्ता जनिने गरी मालपोत कार्यालय, पाँचथरबाट दा.खा. नामसारी हुने गरी निर्णयसमेत गरिपाउँ भन्नेसमेत व्यहोराको वादी पदमबहादुर विश्वकर्माको तर्फबाट मिति २०६५।६।६ मा सुरू पाँचथर जिल्ला अदालतसमक्ष परेको फिरादपत्र ।
यी फिरादीले आफूले प्राप्त गरेको आफ्नो अंशको जग्गा बिक्री गरिसकेको छन् । म साबालक भई मिति २०५५।१२।१७ मा मेरो पाउने अंश भाग पिता धनबहादुरले बन्डा पास गरिदिनु भएकामा यी फिरादीले यसै सम्मानित अदालतमा उजुर गरी कारवाही हुँदा मति २०३४।९।१८ को घरसारको बन्डापत्र कागजलाई किर्ते जालसाजी हो भनी बयान गरेबाट त्यसमा रेखा जाँचसमेत भै यी वादीलाई
किर्ते जालसाजतर्फ जरिवाना हुने ठहरी मिति २०५७।७।२१ मा फैसला भएको र सो फैसला अन्तिम भएर बसेको हुँदा उक्त मिति २०३४।९।१८ गतेको बन्डापत्रअनुसार मैले एकलौटी हक पाउने विवादित कि.नं. १६९० को जिउनी जग्गामा यी फिरादीले अनावश्यक विवाद खडा गरेको हुँदा फिरादीको दावी झुठ्ठा ठहर गरिपाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी मानबहादुर विश्वकर्माको तर्फबाट परेको प्रतिउत्तरपत्र ।
पाँचथर जिल्ला अदालतको मिति २०६४।१०।१७ गतेको आदेशअनुसार बुझिएका वादीका साक्षी शम्भुनाथ फुयाल, नरबहादुर धमला विश्वकर्मा र भक्तिमान राईले फिराद दावीबमोजिम जिउनी जग्गा ३ भाइले बराबरी बाँडी खान पाउने हो भन्ने र प्रतिवादीका साक्षी गजाधर भट्टराई र हर्क मोक्तानले २०३४ सालको बन्डापत्रअनुसार जिउनी जग्गा प्रतिवादी मानबहादुरले एकलौटी खान पाउने हो भन्नेसमेत व्यहोरा उल्लेख गरिदिएको बकपत्र मिसिल सामेल रहेको ।
पाँचथर जिल्ला अदालतको मिति २०६४।१०।१७ गतेको आदेशानुसार वादीले पेस गरेको मिति २०३२।२।१६ र २०५६।३।२५ गतेको सक्कल लिखतसमेत थान २ र प्रतिवादीले पेस गरेको मिति २०३४।९।१८ गतेको बन्डापत्र सक्कल कागज मिसिल सामेल रहेको ।
मालपोत कार्यालय, पाँचथरको च.नं. २५८ मिति २०६५।१०।१२ गतेको पत्रसाथ प्राप्त मिति २०५५।१२।१७ गतेको र.नं. १९८० को अंशबन्डाको लिखतको प्रमाणित प्रतिलिपि मिसिल सामेल रहेको ।
अंशबन्डाको १५ नं. ले जिउनी पनि एक प्रकारको अंश नै हुने र आफ्नो अंश हकको जग्गा शेषपछि यसले खानु भनी दिन कानूनले निषेध नगरेको स्थितिमा तत्काल प्रचलित कानूनबमोजिम मान्यता प्राप्त मिति २०३४।९।१८ को बन्डापत्रले किटान गरी प्रतिवादीलाई उक्त जिउनी जग्गा प्रदान गरेकाले पछि पारित भएको बन्डापत्रमा जिउनीसम्बन्धी कुनै कुरा उल्लेख नभएकै कारणले मात्र पूर्वबन्डाबमोजिमको सर्त फेरबदल भएको भनी तर्क गर्न नमिल्ने हुन्छ । अघिको मितिमा बाबुआमाको शेषपछि एकलौटी खानु भनी आफूसमेतले लिखित मन्जुरी व्यक्त गरी सकेको अवस्था सिद्ध भएपछि सोही जग्गामा आफ्नोसमेत हक लाग्ने हो भन्नलाई प्रमाण ऐन, २०३१ को दफा ३४ ले वादी विबन्धित हुने हुनाले जिउनी जग्गामा हक कायम हुनुपर्छ भन्ने वादीको फिराद दावी पुग्न सक्तैन भन्नेसमेत व्यहोराको सुरू पाँचथर जिल्ला अदालतको मिति २०६५।११।२२ गतेको फैसला ।
विपक्षीले जिकिर नै नलिएको तथ्यमा प्रवेश गरी सुरू अदालतबाट मिति २०५५।१२।१७ को बन्डापत्र लिखतलाई मिति २०३४।९।१८ को बन्डापत्रको पूरक लिखतको रूपमा लिइएको छ, उक्त लिखत सुरू अदालतमा आधार लिए जस्तो पूरक लिखत नभई स्वतन्त्रका अस्तित्व भएको लिखत हो । पछिल्लो लिखतमा नभएको व्यहोरा फैसलाको आधार हुन सक्तैन । बाबुबाजेको सम्पत्तिमा अपुताली परेपछि लिखत नभएकामा सबैको बराबर हक हुने हो । प्रस्तुत मुद्दामा २०३४ सालको घरसारको बन्डापत्र र लिखत पारित भएको २०५५ सालको बन्डापत्र, रजिस्ट्रेसनको ३४ नं, अपुतालीको ३ नं, अंशबन्डाको ३० नं. को अन्तिम वाक्यांशसमेतको व्याख्याको प्रश्न समावेस रहेकामा सुरू अदालतबाट उल्लिखित कानूनी प्रश्नको व्याख्या र विवेचना नगरी फैसला गरिएको छ । दावी तथा जिकिरमा उठाइएका कानूनी प्रश्नको निरूपण नै नगरी तथा विबन्धन नै लागू नहुने अवस्थामा सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तहरू समेतको प्रतिकूल हुने गरी भएको सुरू फैसला बदर उल्टी गरी मेरो सुरू फिराद मागदावीबमोजिम हुने गरी निर्णय गरिपाउँ भन्नेसमेत व्यहोराको वादीका तर्फबाट पुनरावेदन अदालत, इलामसमक्ष परेको पुनरावेदनपत्र ।
यसमा मिति २०५५।१२।१७ को पारित बन्डापत्र लिखतले बाबुको जिउनी भाग अपुताली प्रत्यर्थीले मात्र एकलौटी खान पाउने सर्त उल्लेख भएको नदेखिएको अवस्थामा सुरूको फैसला फरक पर्न सक्ने देखिँदा छलफलका लागि अ.बं. २०२ नं. र पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थी झिकाई आएपछि वा अवधि नाघेपछि नियमानुसार पेस गर्नु भन्ने पुनरावेदन अदालत, इलामको मिति २०६६।७।११ को आदेश ।
अंश र जिउनी दुई अलग-अलग शब्द भए तापनि जिउनीलाई अंश भन्दा भिन्दै हो भनी मान्न नमिल्ने, अघि अंशबन्डा गरी भिन्न भए पनि आफ्नो पिताको अपुतालीमा सबै छोराहरूको समान हक हुने अवस्थामा पिता धनबहादुर स्वर्गे हुँदा निज कुनै छोरासँग बसेको नदेखिँदा अपुतालीको २ नं. बमोजिम चारवटै छोराहरू उक्त सम्पत्तिको समान हकदार भएको स्पष्ट देखिँदा मिति २०३४।९।१८ को बन्डापत्रलाई मिति २०५५।१२।१७ को बन्डापत्रले निरन्तरता नदिएको अवस्थामा पिता धनबहादुरको अपुतालीमा चार भाग लगाई सोको १ भागमा पुनरावेदक वादीको हक कायम हुने ठहर गर्नुपर्नेमा फिराद दावी पुग्न नसक्ने ठहराई सुरू पाँचथर जिल्ला अदालतबाट मिति २०६५।११।२२ मा भएको फैसला मिलेको नदेखिँदा उल्टी हुने ठहर्छ भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, इलामको मिति २०६७।१।१३ को फैसला ।
मिति २०३४।९।१८ को बन्डापत्रमा उल्लेख भएअनुसार कि.नं.१६९० को ०-६-३-० रोपनी जग्गा मेरो मात्र एकलौटी हक हुने भनी सुरू अदालतबाट फैसला भएकामा मिति २०५५।१२।१७ को बन्डापत्रले मिति २०३४।९।१८ को बन्डापत्रलाई निरन्तरता नदिएको हुँदा जिउनी जग्गामा ४ जना अंशियारको समान अंश भाग लाग्ने गरी भएको पुनरावेदन अदालतको फैसला मिलेको छैन । सबुद कायम रहेको मिति २०३४।९।१८ को बन्डापत्र बदर नभै सदर कायम रही रहेको अवस्थामा त्यसको भावना विपरीत जिउनी जग्गामा बन्डा लगाई दा.खा. नामसारी गर्ने गरी भएको फैसला उल्टी गरी सुरू फैसला सदर कायम गरिपाउँ भन्नेसमेत व्यहोराको पुनरावेदक प्रतिवादी मानबहादुर विश्वकर्माको तर्फबाट मिति २०६७।९।१२ मा पुनरावेदन अदालत, इलाममार्फत यस अदालतसमक्ष परेको पुनरावेदनपत्र ।
हामीमध्येका जेठा दाजु रामचन्द्रले मिति २०३२।२।१३ मा अंश बुझी सकेको र दाजुले आफूलाई जिउनी हकको जग्गा चाहिँदैन भनी हक नखोजेको अवस्थामा ४ भागको १ भाग कायम हुने गरी पुनरावेदन अदालतबाट भएको फैसला मिलेको नहुँदा उक्त जिउनी जग्गालाई ३ भाग लगाई उक्त ३ भागको एक भाग दिलाई दा.खा. नामसारीसमेत गरिपाउँ भन्नेसमेत व्यहोराको पुनरावेदक वादी पदमबहादुर विश्वकर्माको तर्फबाट मिति २०६७।११।१५ मा पुनरावेदन अदालत, इलाममार्फत यस अदालतसमक्ष परेको पुनरावेदनपत्र ।
नियमबमोजिम साप्ताहिक तथा दैनिक पेसी सूचीमा चढी निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीको तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री माधव बास्कोटा र विद्वान् अधिवक्ता श्री सुरज अधिकारीले मिति २०३४।९।१८ को बन्डापत्र लिखतमा बाबु आमाको जिउनी कान्छा छोरा यी पुनरावेदक मानबहादुरले पाउने भनी उल्लेख भएको र मिति २०५५।१२।१७ को बन्डापत्रले त्यसलाई निष्क्रिय नगरेको अवस्थामा उक्त बन्डापत्रको वैधानिकता जीवित साबुद रहेको मान्नुपर्नेमा सोको विपरीत जिउनी जग्गामा चार भाग लाग्ने गरी सुरू फैसला उल्टी गर्ने पुनरावेदन अदालत, इलामको फैसला न्यायको रोहमा उपयुक्त नदेखिँदा उक्त फैसला उल्टी भई सुरू फैसला सदर हुनुपर्छ भनी बहस प्रस्तुत गर्नुभयो । त्यसैगरी पुनरावेदक वादीका तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री चन्द्रप्रसाद घिमिरेले मिति २०५५।१२।१७ मा भएको बन्डापत्र लिखतमा वादी मानबहादुरले जिउनी जग्गा एकलौटी खानु भनी उल्लेख नभएको हुँदा मिति २०३४।९।१८ को लिखतको निरन्तरता भएको मान्न मिल्दैन, लिखतमा नै यसले खानु भनी उल्लेख नभएको अवस्थामा पिताको सम्पत्तिमा सबै छोराहरूको बराबर हक लाग्ने अवस्था भएको हुँदा जिउनी जग्गामा ४ भाग लाग्ने गरी भएको पुनरावेदन अदालतको फैसला सदर हुनुपर्दछ भन्नेसमेत व्यहोराको बहस जिकिर प्रस्तुत गर्नुभयो ।
विद्वान् कानून व्यवसायीहरूको बहस जिकिर सुनी दावीअनुसार पिताको जिउनीमा अंश भाग नलाग्ने गरी भएको सुरू फैसला उल्टी गरी उक्त जिउनी जग्गामा ४(चार) भाइ छोराहरूको समान हक लाग्ने गरी भएको पुनरावेदन अदालत, इलामको फैसला मिले नमिलेको सम्बन्धमा मिसिल संलग्न कागजातहरू अध्ययन गरी निर्णयतर्फ विचार गर्दा प्रस्तुत मुद्दामा देहायका प्रश्नहरूको निरूपण गरी निर्णय दिनुपर्ने देखियो ।
(क) अंशबन्डाको दुई लिखत कागज कायम रहेको अवस्थामा कुन कागजको प्रमाणिक महत्त्व बढी हुन्छ ?
(ख) अंश र अपुतालीसम्बन्धी अधिकार एउटै वा फरक कस्तो अधिकार हो ? पहिले अंश लिएको आधारमा मात्र कुनै अंशियारलाई अपुताली हक प्राप्त गर्नबाट बञ्चित गर्न मिल्छ, मिल्दैन ?
(ग) पुनरावेदन अदालत इलामको फैसला मिलेको छ छैन ? पुनरावेदक वादी तथा प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो, होइन ?
२. यसमा पहिलो प्रश्नतर्फ विचार गर्दा स्व. धनबहादुर वि.क.को हक स्वामित्वमा रहेको हाल कायम कि.नं. १६९० को ०-६-३-० रोपनी जिउनी जग्गा बाबुको जीवनकालभरी बाबुआमाकै सँगसाथमा रहने र बाबुआमाको शेषपछि कान्छा भाइ मानबहादुरले लिई खाएमा मन्जुर भएको भनी पुनरावेदक वादी पदमबहादुर विश्वकर्मासमेत मन्जुर भई मिति २०३४।९।१८ मा घरसारको अंशबन्डाको लिखत भएको पाइन्छ । पुनरावेदक प्रतिवादी मानबहादुर बालिग भएपश्चात् पुनः मिति २०५५।१२।१७ मा मालपोत कार्यालय, पाँचथरमा मानबहादुर र निजका पिता धनबहादुरका बीच अर्को बन्डापत्रको लिखत भएकामा उक्त लिखतमा बाबुको जिउनी भाग बाबुकै जिम्मा राख्ने भन्ने पेटबोलीमा व्यहोरा उल्लेख भएपनि निजहरूको शेषपछि उक्त सम्पति कसले खाने भन्ने उल्लेख भएको पाइँदैन ।
३. यसरी मानबहादुर र निजका पिता धनबहादुरका बीच दुई पटक बन्डापत्रको लिखत भएकामा पहिलो लिखतमा बाबुको जिउनी यसले खाने भनी स्पष्टरूपमा उल्लेख गरिएको भएपनि दोस्रो लिखतमा त्यस्तो सर्त बन्देज रहे भएको देखिँदैन । पुनरावेदक मानबहादुरले २०३४ सालको लिखतको आधारमा बाबुबाट सम्पत्ति पाएको नभई २०५५ सालको बन्डापत्रको लिखतअनुसार आफ्नो अंश भाग पाएको देखिँदा प्रस्तुत विवादमा २०५५।१२।१७ मा भएको लिखतको महत्त्व पुरानो लिखतभन्दा बढी हुने देखियो । यसरी जुन बन्डापत्रको लिखतको आधारमा पुनरावेदक प्रतिवादी मानबहादुर वि.क.ले अंश बापतको सम्पत्ति प्राप्त गरेका हुन् सोही लिखतमा बाबुको जिउनी बाबुको स्वर्गेपश्चात् यसले पाउने भन्ने स्पष्ट उल्लेख नभएको अवस्थामा अघिल्लो लिखतको व्यहोरालाई प्रामाणिक महत्त्व दिई निर्णय गर्न मिल्ने देखिएन । समान अवस्थाका दुई लिखतको विद्यमानता रहेको अवस्थामा जुन लिखतले पक्षको अधिकारको सिर्जना गरेको देखिन्छ सोही लिखतले नै आधिकारिक मान्यता पाउने हुन्छ । यसमा पुनरावेदक प्रतिवादीले आफ्नो अंश हक प्राप्त गरेको लिखत मिति २०५५।१२।१७ को अंशबन्डाको लिखत देखिएको र उक्त लिखतमा जिउनी जग्गा बाबुको शेषपछि यसले खाने भनी उल्लेख्य नभएको देखिँदा अंशबन्डाको सम्बन्धमा भएको पहिलो लिखत कागजको भन्दा पछिल्लो लिखतको प्रमाणिक महत्त्व बढी हुने देखियो ।
४. दोस्रो प्रश्नतर्फ विचार गर्दा मुलुकी ऐन, अंशबन्डा र अपुतालीको महलमा उल्लिखित कानूनी व्यवस्था हेर्नुपर्ने देखियो । अंशबन्डाको १ नं. मा "यो नम्बर प्रारम्भ भएपछि अंशबन्डा गर्दा यस महलका अन्य नम्बरहरूको अधीनमा रही बाबु, आमा, लोग्ने, स्वास्नी, छोराछोरीहरूको जीयजीयको अंश
गर्नुपर्दछ ।" भन्ने रहेको छ भने अपुतालीको २ नं. मा
"यस महलको अन्य नम्बरहरूको अधीनमा रही अपुताली पर्दा मर्नेको लोग्ने स्वास्नी छोरा, अविवाहिता छोरी, छोराको छोरा वा निजको अविवाहिता छोरी भएसम्म अरूले अपुताली पाउँदैन..." यसैगरी अपुतालीको ७ नं. मा "भिन्न भई बसेका लोग्ने स्वास्नी छोरा, अविवाहिता छोरी वा छोराको छोरा वा अविवाहिता छोरीले हेरचाह नगरी एकै बाबुबाट जन्मिएका दाजुभाइ वा दिदीबहिनीले स्याहार सम्भार गरी पालेका रहेछन् भने त्यसरी पालेका दाजुभाइ वा दिदीबहिनीको अपुताली पाल्ने दिदीबहिनी वा दाजुभाइले पाउँछन् । अरूले पाउँदैन ।" साथै अपुतालीको ११ नं. मा "यस महलको अन्य नम्बरहरूमा जुनसुकै कुरा लेखिएको भए तापनि अपुताली पर्दा मर्नेको स्याहार सम्भार नजिकको हकवालाले नगरी अन्य व्यक्तिले गरेको रहेछ भने त्यस्तो व्यक्तिको अपुतालीको सबै चल अचल सम्पत्ति स्याहार सम्भार गर्नेले पाउँछ ।" भन्नेसमेतको कानूनी व्यवस्था प्रचलनमा रहेको पाइन्छ ।
५. माथि उल्लिखित कानूनी व्यवस्था अनुसार अंश र अपुताली एउटै नभै फरकफरक अधिकार भन्ने देखियो । अंश अंशियारहरूकाबीच जीयजीयको रूपमा गर्नुपर्ने हुँदा व्यक्तिको नैसर्गिक अधिकारको रूपमा रहेको देखियो । तर अपुताली अंश जस्तो अधिकार नभई सम्पत्तिको स्वामीको स्याहार सम्भार गरेको आधारमा स्याहार गर्ने व्यक्तिले प्राप्त गर्ने साम्पत्तिक अधिकार मात्र हो भन्ने स्पष्ट हुन आयो । यस्तो अधिकार हकवाला भएको नाताले स्वतः प्राप्त हुन नसक्ने भै यसमा सेवा टहल गर्नेले प्रमाण गुजारी त्यस्तो हकमा अधिकार स्थापित गर्नुपर्ने हुन आउँछ । प्रस्तुत मुद्दामा पुनरावेदक वादी तथा प्रतिवादी दुवैले आफूले बाबुको स्याहार सम्भार गरेको भनी दावी जिकिर नलिएको र हकवालाबाहेक बाहिरका मानिसले समेत आफूले सेवा टहल गरेको भनी विवादित सम्पत्तिमाथि दावी गरेको नदेखिँदा अपूतालीको २ नं. अनुसार मर्नेको छोराहरूले अपुताली पाउने
देखियो । पुनरावेदकहरूसहित स्वर्गीय धनबहादुरका ४ भाइ छोराहरूमध्ये कसैले पनि आफूले बाबुको अपुताली नखाने भनी लिखत कागज गरिदिएको नदेखिँदा निजहरू अपुताली खाने अधिकारप्राप्त व्यक्तिको रूपमा देखिए । प्रस्तुत मुद्दामा पुनरावेदक वादी पदमबहादुरले आफ्ना दाजु रामचन्द्रले मिति २०३२।२।१३ मा अंश बुझी जिउनी हकको जग्गा चाहिँदैन भनी हक नखोजेको भनी जिकिर लिएकामा निजले अंश बुझेको देखिए पनि जिउनी हक नखोजेको भन्ने लिखत कागज मिसिल संलग्न रहेको भएको पाइँदैन । यस्तो अवस्थामा पुनरावेदक मात्रको कथनकै आधारमा अरू छोराहरूले जिउनी हक नखोजेको भनी मान्न सकिएन अंश र अपुताली फरकफरक प्रयोजनका लागि व्यवस्थित साम्पत्तिक अधिकार भएको हुँदा पहिले अंश लिएको आधारमा अपुतालीको २ नं. अनुसार सबै हकवालाले समानरूपमा प्राप्त गर्न सक्ने अपुताली हकबाट अंशियारको रूपमा रहेका कुनैपनि हकवालालाई वञ्चित गर्न मिल्ने देखिएन ।
६. माथि पहिलो र दोस्रो प्रश्नमा विवेचना हुँदाका बखत अंशबन्डाका सम्बन्धमा रहेका दुई लिखतमध्ये अधिकारको सिर्जना गर्ने लिखतले मान्यता पाउने र पहिले अंशलिई भिन्न भैसकेको आधारमा अपुतालीको हकबाट कुनै पनि हकवाला वञ्चित हुन नपर्ने भनी विवादित प्रश्नको निरूपण भएको देखिँदा सुरू फैसला उल्टी गरी स्व.धनबहादुर वि.क. को जिउनी अपुतालीमा निजका ४ भाइ छोराहरूको समान हक हुने भनी भएको मिति २०६७।१।१३ को पुनरावेदन अदालतको फैसला मिलेकै देखिन आयो ।
७. तसर्थ माथि विवेचित आधारमा सुरू फैसला उल्टी हुने गरी स्व. धनबहादुरका चार भाइ छोराहरूमा बाबुको जिउनीबापतको सम्पत्ति बराबर हक लाग्ने गरी भएको पुनरावेदन अदालत, इलामको मिति २०६७।१।१३ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । सुरू फैसला सदर कायम गरिपाउँ भन्ने पुनरावेदक प्रतिवादी र जिउनी जग्गामा ३ भागमात्र कायम गरिपाउँ भन्ने पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्न सक्तैन । प्रस्तुत दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
ओमप्रकाश मिश्र
इति संवत् २०७१ साल फागुन ३ गते रोज १ शुभम् ।
इजलास अधिकृतः चन्द्रप्रकाश तिवारी