शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९३५४ - कर्तव्य ज्यान

भाग: ५७ साल: २०७२ महिना: जेष्ठ अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय

माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र

फैसला मिति : २०७१।११।२५।२ 

२०६८-CR-०८८६

 

मुद्दा :- कर्तव्य ज्यान

 

पुनरावेदक/वादी : भुपालमान थापाको जाहेरीले नेपाल सरकार

विरूद्ध

विपक्षी/प्रतिवादी : मोरङ जिल्ला विराटनगर उप.म.न.पा. वडा नं. १ घर भई काठमाडौं जिल्ला का.म.न.पा. वडा नं. ७ चावहिल गंगाहिटी बस्ने मुरारी धमलासमेत 

२०६८-CR-१२३६

पुनरावेदक/प्रतिवादी : विश्वनाथ धमलाको छोरा मोरङ जिल्ला विराटनगर उप.म.न.पा.वडा नं.१ घर भई काठमाडौं जिल्ला का.म.न.पा.वडा नं.७ चाबहिल गगाहिटी बस्ने मुरारी धमला 

विरूद्ध

विपक्षी/वादी : भुपालमान थापाको जाहेरीले नेपाल सरकार

 

प्रतिवादीकै मनसाययुक्त जानाजानको reckless and willful उक्साहटले प्रस्तुत वारदात निर्माणमा प्रमुख भूमिका खेलेको हुँदा उक्त कार्यको दायित्वबाट प्रतिवादीलाई उन्मुक्ति दिँदा अपराधीलाई सजाय गर्ने फौजदारी न्यायशास्त्रको उद्देश्य पराजित हुनेहुँदा मृतकको जीवनलीला समाप्त गर्ने कुरामा निर्णायक भूमिका निर्वाह गर्ने प्रतिवादीलाई उन्मुक्ति (clean chit) दिने कुरालाई फौज्दारी न्यायले स्वीकार गर्न नसक्ने भएबाट प्रतिवादीको मनसाययुक्त reckless fault र मृतकको मृत्युको परिणाम result बीचको सम्बन्ध connection स्थापित गरेको अवस्थामा उक्त chain of causation लाई कुनै intervening acts or events ले भङ्ग गरेको नदेखिने ।

(प्रकरण नं.२३)

नारीसुलभ स्वभावले गर्दा एउटी महिलाले सबै इतिवृत्तिको जानकारी लिएर नै विवाहको निर्णय गर्छन् भन्न सकिन्न । कतिपय अवस्थामा निजहरूले स्वेच्छापूर्वक निर्णय गर्ने अवसर पनि पाउँदैनन् । यस बारे दुइदुई तहले प्रमाणको मूल्याङ्कन गरी गरेको निष्कर्षलाई कोरा अनुमानको आधारमा मात्रै यस अदालतले अन्यथा गर्नु उपयुक्तसमेत नहुने ।

(प्रकरण नं.२५)

 

पुनरावेदक/वादीका तर्फबाट : विद्वान्‌ सहन्यायाधिवक्ता रेवती त्रिपाठी तथा विद्वान्‌ उपन्यायाधिवक्ता दुर्गा खड्का

विपक्षी/प्रतिवादीका तर्फबाट : विद्वान्‌ अधिवक्ताहरू सर्वश्री लवकुमार मैनाली, भीमार्जुन आचार्य र सुवास आचार्य

अवलम्बित नजिर :

सम्बद्ध कानून :

मुलुकी ऐन, दण्ड सजायको महलको १०, १३(३), ४१, १८८ नं.

 

सुरू काठमाडौं जिल्ला अदालतमा फैसला गर्ने :

मा.जि.न्या श्री नारायणप्रसाद श्रेष्ठ

पुनरावेदन अदालत पाटनमा फैसला गर्ने :

मा.मु.न्या. श्री केशरीराज पण्डित

मा.न्या. श्री डा. कुलरत्न भुर्तेल

 

फैसला

न्या.गोविन्दकुमार उपाध्याय : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम् ठहर यसप्रकार छ :

मिति २०६५।२।९ गते राति मादक पदार्थ सेवन गरी आएका पिता मुरारी धमलाले आमा अम्बिका धमलालाई शरीरमा आगो लगाई, मैले गाउँलेलाई बोलाउन खोज्दासमेत बोलाउन नदिएपछि मैले एक बाल्टिन पानी खन्याई आगो निभाइ उपचारको निम्ति वीर अस्पतालमा उपचार गराई रहेको हुँदा कारवाही गरिपाउँ भन्नेसमेत व्यहोराको ऋचा धमलाको जाहेरी दरखास्त ।

काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ७ गंगाहिटी स्थित मुरारी धमलाको दक्षिण मोहडाको भुइँतल्लासहितको साढे तीन तल्ले पक्की घरमा माथिल्लो तल्लामा बैठक कोठामा रहेको गलैचा केही जलेको, किचनको भुइँमा कागजको जलेको टुक्रा रहेको भन्नेसमेत व्यहोराको घटनास्थल मुचुल्का ।

मेरो श्रीमान्‌ मुरारी धमलाले म जेठी श्रीमती हुँदाहुँदै अर्को विवाह गरी बाहिर बस्दै आएका थिए, मिति २०६५।२।९ गते राति श्रीमान्‌ आई विभिन्न बहानामा झगडा गरिरहेका थिए, खाना तताउन भनी ग्याँस बाल्दा श्रीमान्‌‌ले एक्कासी पछाडिबाट मेरो जिउमा मट्टितेल खन्याई बलिरहेको ग्यासमा कागजको टुक्रा सल्काई मेरो जिउमा आगो लगाएको र म आत्तिएर कराउँदै जाँदा छोरीले आएर मेरो शरीरमा पानी खन्याई दिई उपचारको लागि अस्पतालमा लगेको हो, मलाई शरीरमा मट्टितेल खन्याई मार्ने नियतले आगो लगाएको हो भन्नेसमेत व्यहोराको अम्बिका धमलाको कागज ।

अम्बिका धमला र मुरारी धमला मेरो बहिनी ज्वाइँ हुन, ज्वाइँले मादक पदार्थ सेवन गरी आउने, बहिनीलाई कुटपिट गर्ने, ज्यान मार्ने धम्की दिने जस्ता कार्य गरेको भन्ने कुरा मलाई बहिनीले फोनमार्फत पहिलेदेखि नै भनेको भएपनि श्रीमान्‌‌ श्रीमतीको आपसी मामला भनी केही बोलेको थिइन, तर आगो लगाई उपचारको क्रममा अस्पतालमा भएको कुरा सुनेपछि बहिनी र भान्जीसँग सोधपुछ गर्दा ज्वाइँ मुरारी धमलाले नै मार्ने नियतले शरीरमा मट्टितेल खन्याई आगो लगाएको हो भन्नेसमेत व्यहोराको भुपालमान थापाको जाहेरी दरखास्त ।

मृतक अम्बिका धमलाको शरीर आगोले जलेकोसमेत देखिएको भन्नेसमेत व्यहोराको लास जाँच प्रकृति मुचुल्का ।

बुबा मुरारी धमलाले नै आमा अम्बिका धमलालाई आगो लगाई जलाई मृत्यु भएको हो भन्ने व्यहोराको ऋचा धमलाको कागज ।

मृतक अम्बिका धमला आगोले जली घाइते भएको कारणले मृत्यु भएको हो भन्नेसमेत व्यहोराको शवपरीक्षण प्रतिवेदन ।

मैले जेठी श्रीमतीको सल्लाहमा कान्छी श्रीमती विवाह गरेको हो, पहिले राम्रै भएपनि पछि नराम्रो भए पछि मैले भविष्यको चिन्ताले कान्छी श्रीमतीलाई डेरामा राखेको हो, घटना भएको राति मैले घरमा खाना खान्छु भनेको पनि होइन, श्रीमतीले धेरै किचकिच गरी भनेर केही नबोली सुतिरहेको थिए, केही वेरपछि श्रीमती जोडले कराएको आवाज आएपछि हेर्दा श्रीमतीको जिउमा आगो लागेको देखी सिरकले ढाकी आगो निभाएँ र पछि छोरीसमेत आउँदा पानी हालेर आगो निभाएको र तत्काल उपचारको लागि लगेको 

हो । मृतकको शरीरमा के कसरी लागेको हो मलाई थाहा भएन भन्नेसमेत व्यहोराको प्रतिवादी मुरारी धमलाको प्रहरीमा भएको बयान ।

समाचारबाट र अम्बिका धमलाको छोरीबाट मुरारी धमलाले अम्बिका धमलालाई मट्टितेल खन्याई आगो लगाई आगोले जलाएको थाहा पाएको हुँ भन्नेसमेत व्यहोराको मञ्जु काफ्लेको कागज ।

मुरारी धमलाको श्रीमती अम्बिका धमला आगोले जली घाइते भई अस्पतालमा उपचार गराइरहेको थाहा पाएको हुँ । मुरारी धमलाको कान्छी श्रीमतीबाट छोरा भएको सुनेपछि मृतक आफैँ सङ्कुचित विचारमा परी आफैँ आत्महत्याको प्रयास गरी उपचारको क्रममा मृत्यु भएको हो भन्ने कुरामा विश्वास लाग्छ । मुरारी धमलाले मारेको हो भन्ने कुरामा विश्वास लाग्दैन भन्नेसमेत व्यहोराको नारायणप्रसाद पौडेल र कविर महर्जनको कागज ।

अम्बिका धमलासँग अस्पतालमा गई सोध्दा मुरारी धमलाले नै शरीरमा मट्टितेल खन्याई आगो लगाएको र बचाउने कुनै प्रयास नगरी उल्टै ढोकाको पर्दामा हात बाँधी दिएको भनेकोसमेत हुँदा निज मुरारी धमलाले नै अम्बिका धमलालाई शरीरमा मट्टितेल खन्याई आगो लगाएको कारणबाट मृत्यु भएकामा पूर्ण विश्वास लाग्छ भन्नेसमेत व्यहोराको भगवती आचार्य, गंगा सुवेदी र अंजु शर्माको कागज ।

प्रतिवादी मुरारी धमलाले मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ नं. विपरीत १३(३) नं. को कसुर अपराध गरेको हुँदा, निज मुरारी धमललाई ऐ. ऐनको १३(३) नं. बमोजिम र प्रतिवादी मुरारी धमलाले मुलुकी ऐन, विहावरीको महलको ९ नं. विपरीत र प्रतिवादी ममता धमलाले मुलुकी ऐन, विहावरीको महलको १० नं. अनुसारको कसुर गरेको हुँदा निजहरूलाई ऐ. ऐनको १० नं. बमोजिम सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको अभियोग दावी ।

कान्छी श्रीमतीलाई विवाह गरेपश्चात्‌ मिलेर सँगै बसेका थिए, पछि घर व्यवहार नमिली झगडा भएकाले भविष्यको चिन्ताले कान्छी श्रीमतीलाई छुट्टै डेरामा राखेको हो, वारदातको राति म घरमा आएपश्चात्‌ श्रीमतीले मलाई कचकच गरी रही । म सिरक ओडेर सुतिरहें, उस्ले म मर्छु भन्दै थिई, एकछिन पछि चिच्चाएको आवाज आयो, हेर्दा अम्बिकाको शरीरमा आगो लागिरहेको थियो मैले आगो निभाउने कोसिस गरेको थिएँ, त्यतिकैमा छोरी ऋचासमेत आई आगो निभाइ उपचारको लागि अस्पतालमा लगिएकामा त्यहीँ मृत्यु भएको हो, मैले श्रीमतीको शरीरमा मट्टितेल खन्याई आगो लगाएको होइन, मैले अभियोग दावीबमोजिम कसुर अपराध गरेको छैन भन्नेसमेत व्यहोराको प्रतिवादी मुरारी धमलाले अदालतमा गरेको बयान ।

मैले प्रतिवादी मुरारी धमलासँग २०५८।२।१२ गते विवाह गरेको हो, मलाई मेरो श्रीमान्‌‌ले अर्को विवाह गरेको भन्ने थाहा थिएन, विवाहपश्चात्‌ घर लगेपछि मात्र घरमा अर्को श्रीमती छन भन्ने थाहा भएको हो भन्नेसमेत व्यहोराको प्रतिवादी ममता धमलाले अदालतमा गरेको बयान ।

प्रतिवादी मुरारी धमलाले मलाई पछाडिबाट मट्टितेल खन्याएर ग्याँसमा पत्रिका सल्काएर आगो लगाई दिएको र बाँच्ने प्रयास गर्दासमेत पर्दाले हात बाँधिदिएको हुँदा यस्तो भएको हो भनी अम्बिका धमलाले मलाई भनेको हुँदा मुरारी धमलालाई सजाय हुनुपर्छ भन्नेसमेत व्यहोराको गंगा सुवेदीको बकपत्र ।

मृतक अम्बिका धमला मेरी बहिनी हुन, बहिनी र ज्वाइँको बीचमा झैझगडा हुने गरेको मलाई धेरै पटक थाहा छ । आगो लगाएको बारेमा सोध्दा मलाई ज्वाइँले नै आगो लगाएको भनी भनेको हुँदा र घटनाको प्रकृति हेर्दा प्रतिवादीले नै मारेको हुनुपर्छ । घटना भएको समयमा म आफू त्यहाँ थिइन भन्नेसमेत व्यहोराको जाहेरवाला भूपालमान थापाको बकपत्र ।

मेरो आमाको शरीरमा कसरी आगो लागेको मलाई थाहा भएन, मेरो बुबा मुरारी धमलाले ग्यास पडकेर आगो लागेको भनेपनि मेरो आमाको शरीरमा मट्टितेल गन्हाइरहेको थियो र आमाले पनि बुबाले मेरो शरीरमा मट्टितेल खन्याई आगो लगाई दिएको र बाच्ने प्रयास गर्दा बाँच्न नदिएकाले मेरो आमा तथा मलाईसमेत बुबा र उनकी कान्छी श्रीमतीले मार्ने धम्की दिएको हुँदा निज प्रतिवादी मुरारी धमलाले नै आमा अम्बिका धमलाको शरीरमा मट्टितेल खन्याई आगो लगाई मारेको हो भन्नेसमेत व्यहोराको जाहेरवाला ऋचा धमलाको बकपत्र ।

घटना मैले देखेको होइन, अस्पतालमा बिरामीलाई सोध्दा मेरो श्रीमान्‌‌ मुरारी धमलाले नै मलाई आगो लगाई दिएको हो भनी भनेको भन्नेसमेत व्यहोराको अन्जु शर्मा, भगवती आचार्यको बकपत्र ।

मुचुल्का कागजमा भएको सहीछाप मेरो हो, उक्त मुचुल्का कागजमा भएको व्यहोरा मसमेत भएको बेला अम्बिका धमलाले बोलेको हो, उक्त मुचुल्का सोही समयमा प्रहरीले तयार गरी मसमेतका व्यक्तिले सही गरेको हो, मृतकले मेरो श्रीमान्‌‌ले मलाई पछाडिबाट मेरो शरीरमा मट्टितेल खन्याई आगो लगाएको हो भनी मलाई जानकारी गराउनु भएको हो भन्नेसमेत व्यहोराको प्रदिप डङ्गोलको बकपत्र ।

अनुसन्धान अधिकारीसमक्ष अम्बिकाले मेरो रोहबरमा कागज गरेका हुन्, खाना तताउन भनी भान्छा कोठामा गएको बेलामा श्रीमान्‌‌ले पछाडिबाट मट्टितेल खन्याई कागजबाट ग्यासको आगो सल्काई शरीरमा आगो लगाएको, आगो लगाएको भनी कराउदै जाँदा बाहिरबाट चुक्कुल लगाई दिएको र छोरी आई आगो निभाई दिएको भनी भनेकी थिइन भन्नेसमेत व्यहोराको गौरा सुवेदीको बकपत्र ।

अनुसन्धान अधिकारीसमक्ष मसमेतको रोहबरमा पीडित अम्बिका धमलाले कागज गरी दिएकी हुन भन्नेसमेत व्यहोराको मुना थापाको बकपत्र ।

प्रहरीमा भएको कागजमा सहीछाप मेरो हो, मलाई झुक्याई सहीछाप गराएको हो, मलाई थाहा भएअनुसार मृतकको मृत्यु मुरारी धमलाको कर्तव्यको कारणले नभई आफैँले मट्टितेल छर्की आगो लगाएको कारणबाट भएको हो भन्नेसमेत व्यहोराको अरूणकुमार गौतमको अदालतमा भएको बकपत्र ।

मृतकको मृत्यु सौता ममताबाट छोराको जन्म भएपछि आवेशमा आई मृतक आफैँले मट्टितेल छर्की आगो लगाएको कारणबाट भएको हो भन्नेसमेत व्यहोराको प्रतिवादी मुरारी धमलाका साक्षी पुष्कर थापा र नरेशकुमार न्यौपानेको बकपत्र ।

प्रतिवादी ममता धमलाले मुरारी धमलाको अर्को श्रीमती भएको थाहा नपाई विवाह गर्नुभएकाले अभियोग मागदावीबमोजिम सजाय हुनुपर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी ममता धमलाको साक्षी सुमन भिन्डाले गरेको बकपत्र ।

परीक्षणका लागि प्राप्त नमुनामा अति ज्वलनशील पदार्थ पाइयो भन्नेसमेत व्यहोराको विशेषज्ञ योगबहादुर पाल र प्रभात ढुङ्गानाको बकपत्र ।

प्रतिवादी मुरारी धमलालाई ज्यानसम्बन्धीको महलको १३(३) नं. अनुसार सर्वस्वसहित जन्मकैदको सजाय हुने ठहर्छ, दण्ड सजायको महलको ८ नं. अनुसार एकै जनाले धेरै पटक सर्वस्वसहित जन्मकैद वा जन्मकैदमध्ये ठूलो सजाय भएपछि सानो सजाय हुने खत वा सो सजायहरूमध्ये कुनै सजाय भएपछि अरू सानो सजाय हुने खत नखापिने भएको हुँदा सर्वस्वसहित जन्मकैदको सजाय हुने ठहरेकाले प्रतिवादी मुरारी धमलालाई विहावरीको महलको १० नं. बमोजिम सजाय हुने हो वा होइन भन्नेसम्बन्धमा केही बोलिरहन परेन, प्रतिवादी ममता धमलालाई विहावरीको महलको १० नं. बमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको अभियोग दावी नपुग्ने ठहर्छ । मिसिलबाट प्रतिवादी मुरारी धमलालाई सर्वस्वसहित जन्मकैदको सजाय गर्दा चर्को हुने भै निज प्रतिवादीलाई बाह्र वर्ष कैदको सजाय हुनु उपयुक्त देखिएको हुँदा प्रतिवादी मुरारी धमलालाई बाह्र वर्ष कैद हुनको लागि अ.बं. १८८ नं. अनुसार राय व्यक्त गरेको छु भन्नेसमेत व्यहोराको मिति २०६७।३।२३ मा काठमाडौं  जिल्ला अदालतबाट भएको फैसला ।

मृतकले मर्नुपूर्व भनेको कुराको विश्वसनीयता माथि शङ्का गर्नुपर्ने अवस्था आएमा निजको कथन प्रमाणमा ग्रहण गर्न मिल्दैन, मैले मृतकलाई आगो लगाई मारेको हैन भन्ने सत्यतालाई स्वयम् जिल्ला अदालतसमेतले स्वीकार गरिसकेको अवस्थामा आफ्नै निष्कर्षविपरीत जिल्ला अदालतले मलाई कसुरदार कायम गरी गरेको फैसला निर्विवादरूपमा त्रुटिपूर्ण एवम् बदरभागी छ, मैले गरेको इन्कारी बयान मिसिल संलग्न प्रमाणबाट समर्थित हुन नसकेको र मेरो निर्दोषिताको रूपमा रहेको भौतिक प्रमाणमा मट्टितेल भएको माउन्टेन ड्‍युको बोतलमा पाइएको औंठाछापसँग मेरो औंठा छाप आपसमा नमिलेकोलाई मेरो विरूद्धको प्रमाणको रूपमा ग्रहण गरिएको छ । मेरो विरूद्ध वादी पक्षले आफ्नो अभियोग दावीलाई पुष्टि गराउनको निम्ति कुनैपनि स्वतन्त्र र विश्वसनीय प्रमाणहरू पेस गर्न सकेको 

छैन । मिति २०६५।२।१३ र २०६५।२।१४ को प्रमाणमा लिइएको मृतकले गरिदिएको कागज कपोलकल्पित र आधारहीन रहेको हुँदा सोको आधारमा भएको सुरू काठमाडौं जिल्ला अदालतको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी सफाइ दिलाई पाउँ भन्ने प्रतिवादी मुरारी धमलाको पुनरावेदनपत्र ।

प्रस्तुत वारदात भवितव्य हो कि भन्ने जस्तो देखिन आई सोही कुरामा चित्तमा लागी सजाय गर्दा चर्को पर्ने भएमा मात्र अ.बं. १८८ को प्रयोग गर्नुपर्नेमा प्रस्तुत वारदात भवितव्य होइन भन्ने कुरा प्रतिवादीको छोरी ऋचा धमलाको मौकाको कागज र बकपत्रसमेतबाट खुल्न आएको अवस्थामा मिसिल संलग्न प्रमणहरूको कुनै मूल्याङ्कन र विवेचना नगरी अ.बं. १८८ नं. बमोजिम बाह्र वर्ष कैद गर्ने भनी राय लगाई फैसला भएको र मिसिल संलग्न प्रमाणबाट प्रतिवादीले ममता धमलासँग दोस्रो विवाह गरी बहुविवाह गरेको देखिँदादेखिँदै प्रतिवादीलाई बहुविवाहको कसुर ठहर गरी सजायको हकमा व्याख्या गर्नुपर्नेमा सोतर्फ केही नबोली प्रतिवादीलाई ठूलो सजाय सर्वस्वसहित जन्मकैद हुने ठहरेकाले विहावरीको सजाय हुने वा होइन भन्ने सम्बन्धमा केही बोली रहनु परेन भनी भएको फैसला त्रुटिपूर्ण छ, साथै ममता धमलाले प्रतिवादीसँग बहुविवाह गरेको प्रस्ट हुँदाहुँदै निजलाई सफाइ दिने गरी भएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी अभियोग मागदावीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको वादी नेपाल सरकारको पुनरावेदनपत्र ।

अभियोगबाट सफाइ पाउनु पर्छ भनी प्रतिवादी मुरारी धमलाको र मुरारी धमलालाई जन्म कैदको सजाय गरी अ.बं. १८८ नं. बमोजिम १२ वर्ष कैद हुन व्यक्त गरेको राय र प्रतिवादीलाई बहुविवाहमा सजाय नगरेको मिलेन भनी नेपाल सरकारको पुनरावेदन परेको देखिँदा अ.बं. २०२ नं. प्रयोजनार्थ दुवै पक्षको पुनरावेदन एक अर्कालाई जानकारी गराई नियमानुसार पेस गर्नु भन्ने मिति २०६८।२।१७ पुनरावेदन अदालत, पाटनको आदेश ।

नेपाल सरकारको पुनरावेदनमा प्रतिवादी श्रीमती ममता धमलालाई विपक्षी बनाएको हुँदा निजलाई समेत छलफलको निमित्त अ.बं. २०२ नं. को प्रयोजनार्थ झिकाई, निजले अदालतमै म्याद बुझिपाउँ भनी आज इजलाससमक्ष निवेदन दिएकी हुँदा निजलाई अदालतमै म्याद बुझाई नियमानुसार गरी पेस गर्नु भन्ने मिति २०६८।२।३१ को पुनरावेदन अदालत, पाटनको आदेश ।

मृतक अम्बिकाले मर्नुभन्दा पहिले होसमा छँदै व्यक्त गरेको उक्त कथन सो कागजमा रोहबरमा बस्ने अस्पतालकी परिचारिका गौरा सुवेदी, मुना थापा र प्रदिप डंगोलले अदालतमा उपस्थित भै स्पष्टसँग बकपत्र गरी पुष्टि गरिदिएको देखिन्छ । मर्ने व्यक्ति अम्बिका धमला आगोले जलेर नाजुक अवस्थामा पुगेको स्थितिमा अस्पताल पुर्‍याइएको र त्यहाँ उपचारको क्रममा होसमा रहेको बेला निजले आफूलाई आफ्नै पति मुरारी धमलाले मट्टितेल खन्याई आगो लगाई दिएको हो भनी पटकपटक व्यक्त गरेको भन्ने देखिएकाले निज अम्बिका धमलाको उक्त अभिव्यक्ति प्रमाण ऐन, २०३१ को दफा १० को उपदफा (१) को खण्ड (क) मा उल्लेख भएको "कुनै घटना वा अवस्था प्रत्यक्षरूपम देख्ने वा थाहा पाउने व्यक्तिले मौकामा व्यक्त गरेको कुरा प्रमाणमा लिन हुन्छ" भन्ने कानूनी प्रावधानअन्तर्गत प्रमाण ग्राह्य देखिएको छ । यसका साथै मृतक अम्बिका धमलाको मृत्युपूर्वको उक्त अभिकथन सोही ऐनको दफा ११ मा रहेको "कुनै मरेको व्यक्तिले आफू मर्न लागेको अवस्थामा होस छँदै आफ्नो मृत्युको कारणका सम्बन्धमा व्यक्त गरेको कुरा प्रमाणमा लिन हुन्छ" भन्ने कानूनी प्रावधानअन्तर्गत समेत प्रमाणमा लिनपर्ने देखिएको छ ।

मृतक अम्बिका एवम् प्रतिवादी मुरारीले छोरी ऋचाले घटनाको तत्कालै दिएको जाहेरी दरखास्त र अदालतमा उपस्थिति भई गरेको बकपत्रमा समेत आमा अम्बिकालाई बाबु मुरारीले आगो लगाई दिएको हो भनी उल्लेख गरेको पाइन्छ । आमाको शरीरमा अरू नै कारणले आगो लागेको र सो आगलागीकै कारणबाट आमाको मृत्यु भएको स्थितिमा मृतक तथा प्रतिवादीको छोरी ऋचाले आफ्ना पितामाथि असत्य दोषारोपण गर्नुपर्ने कुनै कारण मिसिलबाट देखिएको छैन । त्यस स्थितिमा मृतक तथा प्रतिवादीको छोरी ऋचाको अभिव्यक्तिलाई समेत प्रमाण ऐन, २०३१ को उपर्युक्त दफा १० अन्तर्गत प्रमाणको रूपमा लिनुपर्ने देखिएको छ । यसै गरी अनुसन्धानको क्रममा बुझिएको व्यक्तिहरू भगवती आचार्य, अन्जु शर्मा र गंगा सुवेदीले अदालतमा उपस्थित भई आफूहरू अम्बिकालाई भेटन अस्पताल जाँदा निजले पनि मुरारीले आगो लगाई दिएको भनी बताएकी थिइन्‌ भनी बकपत्र गरेकोसमेत पाइएको छ । मिसिलबाट देखिएको मृतक अम्बिकाले मर्नु अगावै होस छँदै व्यक्त गरेको अभिव्यक्ति, जाहेरवाला ऋचा धमलाको जाहेरी र बकपत्र तथा मौकामा बुझिएको भगवती आचार्यसमेतका व्यक्तिको बकपत्रसमेतबाट प्रतिवादी मुरारी धमलाले आफ्नी जेठी पत्नी अम्बिका धमलाको ज्यान मार्ने मनसायले मट्टितेल जस्तो ज्वलनशील पदार्थ निजको शरीरमा खन्याई आगो लगाई दिएको र सोही आगोले जलेको चोटको कारणबाट मृतक अम्बिका धमलाको अकाल मृत्यु भएको भन्ने स्पष्ट देखिन आएकाले प्रतिवादी मुरारी धमलाले अभियोगदावी अनुसार कसुर गरेको ठहराएको सुरूको फैसला मिलेकै देखिँदा उक्त फैसला उल्टी हुनुपर्ने भन्ने पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन ।

प्रतिवादीलाई कानूनबमोजिम सर्वस्वसहित जन्मकैद गर्दा चर्को पर्ने देखिएकाले अ.बं. १८८ नं. बमोजिम १२ वर्ष कैद गर्दा पर्याप्त हुने भन्ने सुरूले व्यक्त गरेको रायसम्बन्धमा विचार गर्दा प्रस्तुत मुद्दाको वारदात मृतक अम्बिका बस्ने गरेको घर कोठामा भएको भन्ने देखिएको छ । प्रतिवादी आफैँ मृतकको कोठामा पुगेका छन् । मृतकले होस छँदै व्यक्त गरेको कागजबाट प्रतिवादी आफैँले जेठी र कान्छी पत्नीको विषयलाई लिएर विवाद सिर्जना गरेको भन्ने देखिएको छ । घटनाको बखत मृतकको कारणबाट प्रतिवादीले आत्मसंयम गुमाउनुपर्नेसम्मको कुनै अवस्था सिर्जना भएको र त्यसरी आत्मसंयम गुमाउन पुगेको कारणबाट प्रतिवादीले मृतकउपर आक्रमण वा चोट प्रहार गरेको र त्यसको परिणाम स्वरूप अनपेक्षितरूपमा मृतकको मृत्यु हुन पुगेको भन्ने अवस्थासमेत यसमा देखिएको छैन । प्रतिवादी आफैँले विवाद सिर्जना गरी जेठी श्रीमतीको शरीरमा ज्वलनशील पदार्थ खन्याई आगो लगाई दिएको कारणबाट घटनाको एक हप्तासम्म आगोले पोलेको घाउको पीडाबाट छट्पट्‍याउदै मृतकको मृत्यु भएको भन्ने देखिएको छ । यसप्रकार प्रतिवादीले सनियत आगो लगाई दिएको कारणबाट मृतकको अकाल मृत्यु भएको भन्ने देखिन आएको स्थितिमा कानूनबमोजिम हुने सजायमा प्रतिवादीलाई सहुलियत वा सुविधा दिई सजाय कम गर्नुपर्ने अवस्था देखिन आएन । अतः प्रतिवादी मुरारी धमलालाई सर्वस्वसहित जन्मकैदको सजाय गर्दा चर्को हुने भै निज प्रतिवादीलाई बाह्र वर्ष कैदको सजाय हुनु उपयुक्त देखिएको भनी प्रतिवादी मुरारी धमलालाई बाह्र वर्ष कैद हुनको लागि अ.बं. १८८ नं. अनुसार व्यक्त गरेको माननीय जिल्ला न्यायाधीशको रायसँग सहमत हुन सकिएन ।

प्रतिवादी मुरारी धमलाले विहावरीको ९ नं. विपरीत कसुर गरेको हुँदा विहावरीको १० नं. बमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिरतर्फ विचार गर्दा मुलकी ऐन, दण्ड सजायको महलको ८ नं. मा "एकै जनाले धेरै पटक सर्वस्वसहित जन्मकैद र जन्दकैद वा अरू सजाय हुने खत गरेको भए पनि कुनै खतमा सर्वस्वसहित जन्मकैद र जन्मकैदमध्ये ठूलो सजाय भएपछि सानो सजाय हुने खत खापिदैन ।" भन्ने व्यवस्था रहेको हुँदा प्रतिवादी मुरारी धमलालाई सर्वस्वसहित जन्मकैदको सजाय हुने ठहरेकाले निजलाई विहावरीको १० नं. बमोजिम सजाय हुनुपर्ने देखिन आएन ।

प्रतिवादी ममता धमलाको हकमा विचार गर्दा निजले अदालतमा गरेको इन्कारी बयान र प्रतिवादी ममता धमलाले प्रतिवादी मुरारी धमलाको मृतक अम्बिका पहिलो श्रीमती भएको जानिजानी विवाह गरेको भन्ने देखिनेसम्म विश्वसनीय प्रमाण वादी पक्षबाट पेस गर्न सकेको नदेखिएकाले प्रतिवादी ममता धमलालाई विहावरीको १० नं. बमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको पुनरावदेन जिकिरसँग सहमत हुन सकिएन ।

माथि विवेचना गरिएअनुसार प्रतिवादी मुरारी धमलालाई ज्यानसम्बन्धीको महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुने र प्रतिवादी ममता धमलालाई विहावरीको १० नं. बमोजिम सजाय गरिपाउँ भन्ने वादी दावी पुग्न नसक्ने ठहराएकोसमेत सुरू काठमाडौं जिल्ला अदालतको मिति २०६७।३।२३ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादी मुरारी धमला र वादी पक्षको पुनरावेदन जिकिर पुग्न सक्दैन भनी पुनरावेदन अदालत, पाटनबाट मिति २०६८।५।२० मा भएको फैसला ।

प्रतिवादी मुरारी धमलाले दुई अलगअलग कसुर अपराध गरेकामा सोहिबमोजिम अलगअलग कानूनबमोजिम सजायको मागदावी लिई अभियोगपत्र दर्ता भएपछि सो सबै दावीका सम्बन्धमा स्पष्टसँग फैसलामा उल्लेख गर्नुपर्नेमा एउटा ठूलो कसुरमा सजाय भइसकेको हुँदा सानो सजाय नखापिने भनी कसुरै कायम नगरी गरिएको फैसला कानूनतः त्रुटिपूर्ण हुँदा उक्त फैसला निजको हकमा सो हदसम्म बदर गरी निज प्रतिवादी मुरारी धमलालाई बहुविवाह गरेको कसुरमा समेत सजाय गरिपाउँ ।

प्रतिवादीमध्ये मुरारी धमलाको उमेर ४४ वर्ष र ममताको २५ वर्ष भई निजहरू बीच उमेरको फरक करिब २० वर्षको देखिन्छ । आफूभन्दा २० वर्ष जेठो व्यक्ति निज प्रतिवादी मुरारी धमलाको घरमा श्रीमती हुँदैन भनी अनुमान गर्नु हाम्रो समाजमा विश्वासलायक कुरा हुँदैन । तसर्थ आफूउपर लागेको कसुरबाट बच्नमात्र निज प्रतिवादीले बयान गर्दा कसुरमा इन्कार रहँदैमा कसुरबाट उन्मुक्ति दिन मिल्दैन । त्यसैले २० वर्ष जेठो व्यक्तिसँग वैवाहिक नाता जोड्ने प्रतिवादी ममता धमलासमेतलाई कसुर कायम गरिनुपर्नेमा वादी पक्षले प्रमाण पेस गरेन भनी प्रतिवादीलाई सफाइ दिएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी प्रतिवादी मुरारी धमलालाई बहुविवाहतर्फसमेत र प्रतिवादी ममता धमलालाई अभियोग दावीबमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारले यस अदालतसमक्ष दायर गरेको पुनरावेदनपत्र ।

कथित मृत्युकालीन घोषणाको कागजको व्यहोराबाटै उक्त कागज गर्दा मृतकले सत्य बोलेको नभै म पुनरावेदकसँग प्रतिषोध लिने र मलाई फसाउने हो भन्ने प्रस्ट हुन्छ । वादी नेपाल सरकारले आफ्नो प्रमाण भनी मिसिल सामेल गरेको र आगो लागेपश्चात्‌ सबैभन्दा पहिले तयार गरिएको उल्लेखित लिखतमा मृतकको शरीरमा आगो लाग्नाको कारणसम्बन्धमा मेरो अपराधिक संलग्नता (Actus Reus) कहीँ उल्लेख गरिएको छैन । जाहेरवालीको जाहेरी दरखास्त र बकपत्र दुवैमा मैले मृतकको शरीरमा आगो लगाएको देखेको हुँ भन्ने कुरा जाहेरवाली स्वयम्‌ले देखेर लेखाएको नभै मृतकले भनेको आधारमा लेखिएको भन्ने स्पष्ट थाहा हुन्छ । बुझिएका कुनै पनि व्यक्तिहरूले मैले मृतकको शरीरमा आगो लगाएको देखेको हुँ वा त्यो यति कारणबाट मैले नै आगो लगाएको भनी साक्षीको हैसियतबाट लेखाउन सकेको पाइँदैन । मृतकको शरीरमा यो यसरी आगो लागेको हो भन्ने घटनाको सम्बन्धमा निज जाहेरवाली प्रत्यक्ष देख्ने व्यक्ति 

होइनन् । मैले कुनै पनि कसुर नगरेको प्रमाणित हुँदाहुँदै पनि मलाई कसुरदार ठहर गरी पुनरावेदन अदालतले गरेको निर्णय त्रुटिपूर्ण भएकाले उक्त फैसला बदर गरी दावीबाट सफाइ पाउँ भन्ने प्रतिवादीमध्येको मुरारी धमलाले यस अदालतसमक्ष दायर गरेको 

पुनरावेदनपत्र ।

यसमा वादी नेपाल सरकार र प्रतिवादी मुरारी धमलाको समेत पुनरावेदन परेको देखिँदा अ.बं. २०२ नं. को प्रयोजनार्थ वादी नेपाल सरकारको पुनरावेदन पुनरावेदक प्रतिवादीलाई जानकारी गराई प्रतिवादीको पुनरावेदनका सम्बन्धमा महान्यायाधिवक्ताको कार्यालयलाई पेसीको सूचना दिनु र नेपाल सरकारले प्रत्यर्थी कायम गरेको ममता धमलालाई झिकाई नियमानुसार पेस गर्नु भन्ने यस अदालतबाट मिति २०७१।५।८ मा भएको आदेश ।

नियमबमोजिम आजको दैनिक मुद्दा पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदनपत्रसहितको मिसिल अध्ययन गरियो । पुनरावेदक मुरारी धमलाका तर्फबाट उपस्थित विद्वान्‌ अधिवक्ताहरू सर्वश्री लवकुमार मैनाली, भीमार्जुन आचार्य तथा सुवास आचार्यले पुनरावेदक मुरारीले अभियोगपत्रमा उल्लेख भएबमोजिम मृतकको शरीरमा पछाडिबाट मट्टितेल खन्याई आगो लगाएको भए पछाडिपट्टी मुख्य घाउ हुनुपर्नेमा सो नदेखिएको, मृतकले गर्नुभएकी भनिएको मृत्युकालीन घोषणापत्रका व्यक्तिहरूको कथन आपसमा नमिले नभिडेको, मेरो पक्षले दोस्रो विवाह गरेको र त्यसबाट छोरासमेत जन्मेको कारणबाट मृतक जेठी श्रीमती र निजबाट जन्मेको जाहेरवाला छोरीले पुनरावेदकसँग रिसइबि लिएका र ती सबैको सामूहिक प्रभावले मृतकमा आत्महत्या गर्ने मानसिकता जन्मेकाले निज आफैँले घटना घटाएकी र त्यसपछि नारीजन्य स्वभावले गर्दा पुनरावेदकप्रति प्रतिशोध राखी मृतकउपर झुट्ठा दोषारोपण गरेकी, यस्ता घटनाक्रम समाजमा हुने गरेको तथ्याङ्क रहेको र मनोविज्ञानबाट यसप्रकारको आत्महत्याको सम्भावना उच्च देखिएको, वस्तुस्थितिका तटस्थ मानिसहरूले पुनरावेदकले जेठी श्रीमती र उनीबाट जन्मेका सन्तानलाई माया गरेर राखेको कुरा व्यक्त गरेको, पुनरावेदकले घाइते श्रीमतीको उपचार गराएको लगायतका प्रमाणहरूमा ध्यान नदिई कानूनको रीत नपुगेको मृतकको बनावटी कागजलाई आधार बनाई पुनरावेदकलाई कसुरदार ठहराएको फैसलाहरू उल्टी गरी अभियोगदावीबाट सफाइ दिलाई पाउँ भनी गर्नुभएको बहस सुनियो । वादी नेपाल सरकार तर्फबाट उपस्थित विद्वान्‌ सहन्यायाधिवक्ता श्री रेवती त्रिपाठी तथा विद्वान्‌ उपन्यायाधिवक्ता श्री दुर्गा खड्काले प्रतिवादी मुरारी धमला विरूद्धको मृतकको कागज मात्र होइन मृतकले सो कागजमा उल्लेख भएबमोजिम प्रतिवादीले नै आफूलाई आगो लगाइदिएको कुरा निजलाई भेट्नजाने व्यक्तिहरू समेतलाई भनेकी ती सबले मृतक विरूद्ध झुट्ठा कुरा गर्नुपर्ने कुनै कारण नरहेकोसमेतको प्रमाणबाट यी प्रतिवादीले घटनाको दिन मृतक बसेको घरमा आई निहुँ खोजी झगडा गरी मट्टितेल खन्याई आगो लगाई हत्या गरेको तथ्य प्रस्तुत मुद्दाको घटनाक्रम तथा मृतकको मृत्युकालीन घोषणासमेतबाट पुष्टि भएको हुँदा पुनरावेदन अदालतबाट निजलाई हदैसम्म सजाय गर्ने गरी भएको फैसला सदर कायम राखी पाउँ भनी प्रतिवादी मुरारी धमलाको विरूद्धमा तथा प्रतिवादी ममता धमलाले गर्नुभएको बहस सुनियो । 

अब पुनरावेदकहरूको पुनरावेदन जिकिर पुग्ने नपुग्ने तथा पुनरावेदन अदालत, पाटनबाट मिति २०६८।५।२० मा भएको फैसला मिलेको छ छैन यसमा निर्णय दिनुपर्ने देखियो ।

२. निर्णयतर्फ विचार गर्दा Nemo moriturus praesumitur mentire (a man will not meet his maker with a lie in his mouth) अर्थात्‌ मर्न लागेको व्यक्ति सृष्टिकर्ता भगवानको अगाडि झुठो बोलेर मर्न चाहँदैन भन्ने रोमन उक्ति तथा Truth sits upon the lips of a dying person भन्ने अंग्रेजी उखानको आधारमा मृत्युपूर्वको कथनलाई प्रमाणमा ग्रहण गर्न थालिएको हो । R.V. Woodlock मा When every motive to falsehood is silenced and the mind is induced by the most powerful consideration to speak the truth को अवस्थामा मर्न लागेको व्यक्ति पुग्ने हुँदा निजमा लोभ इर्ष्या द्वेष केही रहँदैन र निजबाट सत्य उजागर हुन्छ भनी उल्लेख भए तापनि मृत्युकालीन घोषणा आफैँमा निश्चयात्मक प्रमाण हुँदैन । मृत्युकालीन घोषणालाई पनि अन्य प्रमाणले समर्थन गर्नुपर्छ । मृत्युकालीन घोषणा र साक्षीहरूको बकपत्रका बीचमा मृतकको बकपत्र हुन नसक्ने तर अन्य साक्षीहरूले निजहरूको भनाइलाई अदालतमा उपस्थित भई बकपत्र गर्नुपर्ने भन्ने बाहेक थप कुनै भिन्नता हुँदैन । यस मुद्दामा मृतकको मृत्युकालीन घोषणाको व्यहोराबाटै म पुनरावेदकसँग प्रतिषोध लिने र मलाई हरहालतमा फँसाउने मृतकको उद्देश्य रहेको प्रस्ट देखिन्छ । समष्टी मूल्याङ्कनबाट उक्त कागज बनावटी भएको कुरा शिक्षण अस्पतालको भर्नासम्बन्धी कागजमा जाहेरवाली छोरीले लेखाएको व्यहोरा र वीर अस्पतालको भर्नासम्बन्धी टिकटमा मृतकको बहिनीले लेखाएको व्यहोरा हेरिएमा स्पष्ट हुन्छ । यी कागजहरूमा पुनरावेदकको आपराधिक संलग्नता कहिँकतै पनि उल्लेख छैन । मृतकको कागजमा पछाडिबाट मट्टितेल खन्याई आगो लगाएको भन्ने व्यहोरा रहेकामा मृतकको शरीरको अग्रभागमा दुईतिहाईभन्दा बढी जलन देखिएको छ । मट्टितेलको बोतलमा म पुनरावेदकको औंठाको छाप भेटिएको 

छैन । वारदातको समयमा जाहेरवाली घटनास्थलमा मौजूद नरहेकीले निजले चश्मदीदको हैसियत राख्न सक्तिनन् । यी सबबाट प्रतिवादी पुनरावेदकले आगो लगाएको कुरा शङ्कारहित प्रमाणबाट प्रमाणित हुँदैन भने श्रीमती चिच्याएको सुनी हेर्दा निज आगो लागि छट्पटिएको देखेपछि आफूले ओढेको सिरकले निजको शरीर छोपी आगो निभाउने प्रयास गरेको भन्ने पुनरावेदकको कथन सिरक जलेको तथ्यबाट प्रमाणित छ । यी सबकुरामा ध्यान नदिई पुनरावेदक विरूद्धको अभियोगदावी पुग्ने ठहर्‍याएको फैसला नमिलेको भन्ने पुनरावेदक मुरारी धमलाको पुनरावेदन जिकिर देखिन्छ ।

३. मृतकले आफू जीवित छँदै गरिदिनु भएकी लिखतहरूको व्यहोराको सत्यता अथवा त्यसको मिथ्यापन भन्ने कुरा छुट्याउनका लागि यस अदालतले ब्रम्हवेत्ताको हैसियत राख्दैन । यस अदालतले सिर्फ उल्लिखित लिखतहरू प्रमाणमा लिन कानूनले कुनै रोकछेक गरेको वा सर्त निर्धारण गरेको छ छैन भन्नेसम्म हेर्ने हो । मृत्युको सन्निकटमा रहेकी अवस्थामा व्यक्त कागज स्वतन्त्र प्रमाणद्वारा पुष्टि हुनुपर्छ भन्नु भन्दा अन्य प्रमाणबाट मृतकको उक्त कागज व्यहोराको खण्डन भएको छ कि छैन भनी भन्नु उपयुक्त हुनेछ । यी दुई दृष्टिकोणको फरक भनेको कागजको विश्वसनीयताको मात्राको फरक हो । पहिलो मापदण्डले उक्त कागजको विश्वसनीयतालाई हल्कारूपमा लिन्छ भने दोस्रो मापदण्डले उक्त कागज अन्यथा प्रमाणित नभएमा स्वतः निर्विवाद प्रमाण बन्ने मान्यता राखेको हुन्छ ।

४. २०६५।२।१३ मा वीर अस्पतालको स्टाफ नर्स गौरा सुवेदी तथा विराटनगर उमपा वडा नं. १ बस्ने मुना थापाको रोहबरमा मृतकले गर्नु भएकी लिखतमा श्रीमान्‌‌ले मृतकसँग झगडा गरेका, श्रीमान्‌‌ले खाना बनाइदिने भनेपछि भान्सामा गई ग्याँस बाली खाना तताउन लाग्दा एक्कासी श्रीमान्‌‌ले पछाडिबाट शरीरमा मट्टितेल खन्याई बलिरहेको ग्याँसमा कागजले आगो बाली जलाएको हो हारगुहार गर्दा छोरी ऋचा धमला कताबाट आई मेरो शरीरमा पानी खन्याई दिएकी हो दुवै हातको हत्केलाको पूरै औंलाहरूसमेत जली सहीछाप गर्न सक्ने अवस्था नरहेबाट मेरो दाहिने खुट्टाको छाप राजी खुशीले लगाएको भनी उल्लेख भएको 

देखिन्छ । त्यसैगरी २०६५।२।१४ गते यी प्रतिवादी मुरारी धमला-१, अरूणकुमार गौतम-१, ऋचा धमला-१, प्रदीप डंगोल-१, तथा वीर अस्पतालको चिकित्सक डा. आल्योङ्का भट्टसमेतको रोहबरमा भएको मृतकको कागजमा श्रीमान्‌‌ मुरारी धमलाले नै शरीरमा मट्टितेल खन्याई ग्याँसबाट कागजमा बाली आगो लगाई जलाएको हो दुवै हात जली सहीछाप गर्ने अवस्था नभएको हुँदा दाहिने खुट्टाको बुढी औंलाको ल्याप्चे सहीछाप गरी भन्ने व्यहोरा उल्लेख भएको 

देखिन्छ । उक्त कागज प्रतिवादी मुरारी धमलाकै उपस्थितिमा भएको कुरालाई यस अदालतले नजरअन्दाज गर्न सक्तैन ।

५. आफूलाई प्रतिवादी पतिले वादविवादको क्रममा आगो लगाई दिएको भन्ने कुरा मृतकको कागजमा मात्र रहेको नभई मृतकलाई हेर्न आउने मानिसहरूसँग कुराकानी हुँदा पनि उल्लिखित कागज व्यहोराबमोजिम नै आफूलाई प्रतिवादी पतिले आगो लगाई जलाई दिएको भनी मृतकले भनेकी देखिन्छ । उक्त कुरा मृतकसँग अस्पतालमा भेटघाट गर्ने निजको दाजु जाहेरवाला भूपालमान थापा, छोरी ऋचा धमला, छिमेकी भगवती आचार्य, गंगा सुवेदी र अन्जु शर्मा आदिको जाहेरी दरखास्तलगायतको मौकाको कागज तथा अदालतमा निजहरूले गरिदिएको बकपत्रबाट प्रमाणित भएको पाइन्छ । मृतकले गरिदिनु भएकी कागजको रोहबरमा बस्ने प्रदीप डंगोल जाहेरवालासमेत रहेकी ऋचा धमला, स्टाफ नर्स गौरा सुवेदी, मुना थापा आदिले अदालतमा उपस्थित भई उल्लिखित कागज निजहरूको रोहबरमा मृतकले गरिदिएको भनि स्पष्ट बकपत्र गरिदिएको देखिन्छ ।

६. मृतकबाट उल्लखित कागजहरू भएको होइन भनी पुनरावेदक प्रतिवादीले पनि भन्न नसकी उक्त कागज प्रतिषोधपूर्ण भएकोसम्म निजको जिकिर देखिन्छ । यस अवस्थामा उल्लिखित कागज के कसरी प्रतिशोधपूर्ण भएको भन्ने कुरा पुनरावेदकले नै प्रमाणित गर्नुपर्ने हुन्छ । तर निजबाट सो कुरा प्रमाणित हुन सकेको छैन ।

७. मृतकको मृत्युकालीन कथन अरू प्रमाणबाट प्रमाणित हुनुपर्ने हुँदैन अपितु अन्यथा प्रमाणित नभएसम्म स्वतः प्रमाणयोग्य हुने भन्ने यस इजलासको धारणामाथि व्यक्त भैसकेको छ । अरू प्रमाणद्वारा प्रमाणित हुनुपर्ने प्रमाण प्रथमदृष्ट्या नै अविश्वसनीय हुन्छ भने मृतकको मृत्युकालीन घोषणा प्रारम्भिकरूपमा भरपर्दो र विश्वसनीय हुन्छ । उक्त प्रारम्भिक विश्वसनीयतालाई त्यसबाट प्रभावित हुने व्यक्तिले उक्त घोषणा भन्दा बलियो प्रमाण दिएर अन्यथा गर्न सक्नुपर्छ । अब उक्त मापदण्डअनुसार प्रस्तुत मुद्दामा विचारगर्दा मट्टितेलको भाँडामा पुनरावेदकको ‌औंठाछाप नदेखिएको कुरा पुनरावेदकको निर्दोषिताको आधार हुनुपर्ने भन्ने पुनरावेदकको जिकिर 

देखिन्छ । तर वारदातको तत्काल पछि उक्त भाडा सही साबूदरूपमा परीक्षण भएमा मात्र तत्सम्बन्धमा विचार गर्नुपर्ने अवस्था रहन्छ । सोबमोजिम भाडाको परीक्षण भएको देखिँदैन । यी पुनरावेदकले आफ्नो कसुर लुकाउनको लागि सो भाडालाई सोझै हातले नउठाई कागज कपडा आदिले उठाउन सक्ने अथवा हातले उठाई सकेपछि सो छाप मेटाई दिने सम्भावना रहने हुँदा यसप्रकारको धेरै सम्भावनायुक्त अनिश्चित आधारमा मृतकको मृत्युकालीन कथन अन्यथा गर्न मिल्ने हुँदैन । यसर्थ पुनरावेदकको यो पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन ।

८. त्यसैगरी मृतकको शरीरमा पछाडिबाट मट्टितेल खन्याई आगो लगाएको भए मृतकको पछाडिको भाग बढी जल्नुपर्नेमा अग्रभाग बढी जलेको भन्ने प्रतिवादीको अर्को पुनरावेदन जिकिरतर्फ हेर्दा मट्टितेल, पानी जस्तो तरल पदार्थ खन्याउँदा हातको असन्तुलन लगायतको विभिन्न कारणले जुन ठाँउमा उक्त पदार्थ पार्न खोजिएको हो त्यहाँ नपरी धेरथोर ठाउँ छाडेर पर्ने गरेको कुरा सबैले अनुभव गरेकै कुरा हो । यी मृतकले पछाडिको भागमा प्रतिवादीले मट्टितेल खन्याएको भन्ने अर्थ आउने गरी भनेको नभई श्रीमान्‌‌ले पछाडिबाट मट्टितेल खन्याउने काम गरेकोसम्म भनेकी देखिन्छ । त्यसबाट मट्टितेल नै पछाडिको भागमा परेको भन्ने अर्थ आउँदैन । मट्टितेल पछाडिको भागमा परेको भन्नु र पछाडिबाट खन्याएको भन्नु एउटै कुरा होइन । मृतकको पछाडिको भाग पनि प्रशस्तै जलेको पाइएकाले यो पुनरावेदन जिकिरले पनि मृतकले गरिदिएकी कागजलाई अन्यथा गर्न सकेको देखिँदैन ।

यसभन्दा बढी यस अदालतले प्रस्तुत मुद्दाका प्रतिवादी विरूद्धमा के प्रमाण खोज्ने ?

९. एकछिनलाई यी मृतक आफैँले मट्टितेल खन्याई आत्महत्या गरेको मान्ने हो भने पनि उक्त स्थितिमा मृतकलाई पुर्‍याउने काम यी प्रतिवादीबाटै भएको देखिन्छ । मृतकउपर यी प्रतिवादीले सौता ल्याएको कारणबाट मृतकसमेतसँग प्रतिवादीको आपसी सम्बन्धमा ठूलै तनाव आएको, त्यसमाथि समय समयमा हुने कलह र झगडाको पृष्ठभूमिमा सौताबाट जन्मेको छोराको न्वारन भएको दिन बिना प्रयोजन यी प्रतिवादी मृतकको पीडा थप्न त्यहाँ गएका, गएपछि त्यहाँ ठूलै झगडा कलह भै निराश, मर्माहत र क्षुब्ध अवस्थामा रहेकी मृतकको मनस्थिति झन असामान्य हुने र त्यसको परिणाम जे पनि हुन सक्छ भन्ने कुराको किञ्चित विचार नगरी मृतकलाई कुनै पनि कुरा भन्न बाँकी नराखी जे सुकै होस् मरेमरोस् जस्तो सोच राखी प्रतिवादी आरामले अर्को कोठामा सुत्न जाने कुरा मृतकको पति नाताका यी प्रतिवादीको सामाजिक र नाताजन्य दायित्व बरखिलाफ हुन्छ । बहुविवाहमा उजुरीसम्म नगरी विशाल छाती देखाएकी मृतकसँग यी प्रतिवादीले सँधै नतमस्तक रहनुपर्ने हो तर मृतकलाई उनको असहाय, निराश तथा अस्थिर हालतमा छाडेर प्रतिवादी कान्छी श्रीमतीसँग बसेका र बेलाबेलामा मृतकसँग झगडा गर्न मात्र मृतक बसेको स्थानमा जाने गरेको र त्यसरी आपसी सम्बन्धलाई कटू र तनावपूर्ण बनाई मृतकलाई आत्महत्याको लागि बाध्य बनाउने यी प्रतिवादीको आपराधिक कार्य कर्तव्य ज्यान मुद्दाका कसुरदार सरह नै हुन पुगेको मान्नुपर्छ ।

१०. यससम्बन्धमा बेलायतको Suicide Act, 1961 को दफा २ Criminal liability for complicity in another’s suicide. (1) A person who aids, abets, counsels or procures the suicide of another, or an attempt by another to commit suicide, shall be liable on conviction on indictment to imprisonment for a term not exceeding fourteen years.

(2) If on the trial of an indictment for murder or manslaughter it is proved that the accused aided, abetted, counselees or procured the suicide of the person in question, the jury may find him guilty of that offence. भन्ने कानूनी व्यवस्था रहेको देखिन्छ । 

 

११. त्यसैगरी भारतीय दण्डसंहिताको दफा 305. Abetment of suicide of child or insane person. If any person under eighteen years of age, any insane person, any delirious person, any idiot, or any person in a state of intoxication commits suicide, whoever abets the commission of such suicide, shall be punished with death or [imprisonment for life], or imprisonment for a term not exceeding ten years, and shall also be liable to fine.

306. Abetment of suicide. If any person commits suicide, whoever abets the commission of such suicide, shall be punished with imprisonment of either description for a term which may extend to ten years, and shall also be liable to fine.

 

१२. नेपालको सन्दर्भमा त्यसरी स्पष्ट कानून नभएपनि प्रतिवादीको उक्त दुरूत्साहनको कार्यलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३ नं. मा रहेको यसै महलका अरू नम्बरबमोजिम ज्यानमाराको बात नलाग्ने अवस्थामा बाहेक कसैले अरूको ज्यान मर्ने गैह्र कुरा गर्दा उसै बखत वा ऐनका म्यादभित्र ज्यान मरेमा सो ज्यान मार्नेलाई भनी उल्लेख भएको वाक्यांशले खास गरेर ज्यान मर्ने गैह्र कुरा गर्दा भन्ने वाक्यांशले स्पष्ट समेटेको देखिन्छ । कुन कानूनमा कस्तो भाषा राख्ने, सबै कुरा कानूनले स्पष्ट गर्ने अथवा मूल कुराहरूबाट पुग्ने देखिएमा त्यति मात्र राख्ने यसमा सम्बन्धित देशको विधायिका स्वतन्त्र हुन्छ । मुख्य कुरा प्रतिवादीको कार्यलाई कानूनले कसुर मानेको छ कि छैन भन्ने हो । यसमा हेतु (causation) को सिद्धान्तका साथै प्रतिवादीको दायित्व र कर्तव्यका सम्बन्धमा अकार्य omission, creating a dangerous situation / supervening fault, duty to prevent, duty to control जस्ता सिद्धान्त बनेका र ती सिद्धान्तको आधारबाट प्रतिवादीले अभियोगदावीबाट उन्मुक्ति पाउने देखिँदैन ।

१३. यसै सन्दर्भमा भारतीय दण्डसंहिताको दफा 304B. Dowry death. (1) Where the death of a woman is caused by any burns or bodily injury or occurs otherwise than under normal circumstances within seven years of her marriage and it is shown that soon before her death she was subjected to cruelty or harassment by her husband or any relative of her husband for, or in connection with, any demand for dowry, such death shall be called “dowry death”, and such husband or relative shall be deemed to have caused her death.

Explanation.-For the purposes of this sub-section, “dowry” shall have the same meaning as in section 2 of the Dowry Prohibition Act, 1961 (28 of 1961).

(2) Whoever commits dowry death shall be punished with imprisonment for a term which shall not be less than seven years but which may extend to imprisonment for life.] लाई पनि लिन सकिन्छ । 

 

१४. उल्लिखित सिद्धान्तहरूका सम्बन्धमा विद्वान्‌ Smith and Hogan’s Criminal Law 13th edition २०११ P 70 मा अकार्य omission को सम्बन्धमा …Since most cases of omission have concerned homicide, the duties so far recognized have been examined in the context of the duty to preserve life…

P 70-71 Parents and other relationships Parents owe a duty to their children to act to save them from harm.  Presumably children above the age of responsibility owe a corresponding duty to their parents. (In Hood (2004) D was convicted of gross negligence manslaughter for failing to call medical assistance for his wife for three weeks after she fell and broke bones). Other close relationships, whether of a family, domestic, business or other nature, possibly impose similar duties…As a matter of principle, it can be argued that the important issue is not one of blood or formal legal relationship, but of interdependence. 

P 71:  Voluntary undertakings: …The holder of a public office requiring him to care for others may also incur criminal liability by failing to do so. 

This category of duty would surely extend to unrelated persons who voluntarily undertake responsibility… (Instan (1893) D was V’s niece, living in V’s house, consuming food provided at V’s expenses but not supplying any to V).   

P 72 It is submitted that people who jointly engage in a hazardous activity whether lawful…or unlawful…may also owe duties to one another…

Contractual duties A contract may found a duty under criminal law to persons, including those not party to the contract but likely to be injured by failure to perform it. The most obvious examples in this category are those who are employed as carers or healthcare professionals. In Pittwood (1902) a railway crossing gate-keeper opened the gate…and went off to his lunch, forgetting to shut it again. Ten minutes later a haycart was struck by a train…V was killed. D was convicted of manslaughter. 

Creating a dangerous situation /supervening fault: Where D does an act which puts in peril V’s person, his property, his liberty or any other interest protected by the criminal law, and D is aware that he has created a peril, he has a duty to take reasonable steps to prevent the harm in question resulting. The act may be done without any kind of fault but, if D fails to intervene, it is undoubtedly his act which is the cause of the harm…

P 73: The principle derives from Miller (1983), where D, a squatter in V’s house, went on to sleep holding a lighted cigarette. He awoke to find the mattress smouldering. He did nothing to put it out but moved into an adjoining room and went on to sleep there. The house caught fire. D was convicted of arson…Lord Diplock said: I see no rational grounds for excluding from conduct capable of giving rise to criminal liability conduct which consists of failing to take measures that lie within one’s power to counteract a danger that one has oneself created, if at the time of such conduct one’s state of mind is such as constitutes a necessary ingredient of the offence. The CA’s basis was different: We would only say that an unintentional act followed by an intentional omission to rectify it or its consequences, or a reckless omission to do so when recklessness is a sufficient mens rea for the particular case, should only be regarded in toto as an intentional or reckless act when reality and common sense so require...

 

१५. यसलाई ‘continuous act’ theory मानिएको छ । यस विषयमा हाउस अफ लर्डस र कोर्ट अफ अपिलको तर्काधार फरकफरक भए पनि हाउस अफ लर्डसले कोर्ट अफ अपिलको तर्काधारलाई अमान्य नै गरेको पाइएन । जे भए पनि चाहे ‘duty to avert danger’ भन्ने हाउस अफ लर्डसको तर्कबाट होस वा intentional omission…or a reckless omission भन्ने कोर्ट अफ अपिलको तर्कबाट होस दुवै अवस्थामा फौजदारी कानूनले प्रतिवादीलाई जिम्मेवार मानेको देखिन्छ ।

…The CA has recently been prepared to adopt an extended interpretation of the Miller principle in the case of Evans. In that case D gave her sister, V, heroin to take, knowing that she was a recovering addict. V slipped into a coma. D became aware of that and chose not to call the emergency services but to sit with V. V died. The CA upheld her conviction for gross negligence manslaughter…P 74:  The court focused on whether D owed a duty when her sister lapsed into a coma. In applying Miller, albeit in extended form, the court held that there was a duty…

P 75: …If D, sitting alone in the passenger seat of a car, were accidentally to knock off the handbrake, so that the car rolled away, he could be convicted of murder if he willfully omitted to put the brake on again, intending the car to run over and kill or cause grievous bodily harm to V. Similarly, D who locks the door of a room not knowing that V is inside and having learned that V is within, omits to unlock the door should be liable for false imprisonment. 

 

१६. पुनः सोही पुस्तकको पृष्ठ १९७ मा Two categories of case need to be distinguished. 

First, there are the established categories in which the law imposes a duty on an individual to act. Thus, a husband who stands and watches his wife drown their children is guilty as an accessory to the homicide (Russell 1933). 

Secondly, the law extends liability even wider: where D has a power or right to control the actions of P and he deliberately refrains from exercising it, his inactivity may be a positive encouragement to P to perform an illegal act, and, therefore, an aiding and abetting by D.

१७. बेलायती कानूनले उपरोक्तबमोजिम प्रतिवादीको अकार्यको कारणबाट उत्पन्न वारदातको आपराधिक दायित्व प्रतिवादीले लिनुपर्ने भनी parents and other relations, voluntary undertakings, contractual duties (यो दायित्व करारका पक्षहरूमा मात्र सीमित न भै करारको पालन नभएको कारणबाट ज्यान गुमाएका आम जनसमुदाय प्रति पनि रहेको पाइन्छ) र creating a dangerous situation/supervening fault भनी चार प्रकारको अवस्थालाई इङ्गित गरेको देखिन्छ ।

१८. सोही पुस्तकको पृष्ठ 553-554 मा D must have been in breach of a duty of care under the ordinary principles of negligence; the negligence must have caused death; and it must, in the opinion of the jury amount to gross negligence. The question, ‘supremely a jury question’, is: having regard to the risk of death involved, was the conduct of D so bad in all the circumstances as to amount in the jury’s judgment to a criminal act or omission भनी प्रतिवादीको मृतक प्रति a duty of care हुनु पर्ने पहिलो आवश्यकता देखाइएको छ । हेरचाँहको कर्तव्यका सम्बन्धमा माथि उल्लेख भएकै छ । विद्वान्‌ले तत्सम्बन्धमा थप प्रकाश पार्दै पृष्ठ 555 मा The courts have been willing to take an expansive interpretation of the scope of the duty where that appears appropriate on policy grounds. In Evans 2009, D was convicted of gross negligence ms having supplied heroin to her half sister V (a recovering addict). V self-administered the drug in the house with D and her mother (who was also convicted of ms). D noticed that V looked as if she had overdosed, a condition D was familiar with. D chose not to seek medical assistance and V died. The jury was directed that, without D’s involvement in the supply of heroin, there was no duty on D to act, even after she became aware of the serious adverse effect on V of the drug-taking. They were directed that, if D was involved in supply, that fact, taken with the other undisputed facts, would and did give rise to duty on D to act. On appeal, a five member CA held that having regard to the authorities on gross negligence manslaughter, it was an essential requirement of any potential basis for conviction that D was under a duty to act. The duty necessary to found gross negligence was plainly not confined to cases of a familial or professional relationships between the D and the deceased. For the purposes of gross negligence, a duty could arise if, inter alia, D had created or contributed to the creation of a state of affairs (V’s danger) which D knew, or ought reasonably to have known, had become life-threatening. The duty on D was to act by taking reasonable steps to save the other’s life by calling medical assistance. पृष्ठ 556: The decision has been heavily criticized, but in policy terms, it might be asked when someone has died, what is wrong with looking to the conduct of those who contributed in some way to the danger if they also did not take reasonable steps to alleviate the danger when aware of it?.

१९. फौजदारी कसुरमा सजायको निर्धारणबाहेक अरू कुरामा पीडितको गलती दोष वा संलग्नता आदि कुराको सामान्यतया विचार नहुने कुरा Thus, in Wacker 2003, it was held that where D had smuggled 60  illegal immigrants into the UK and 58 had died of suffocation owing to his having shut the air vent in their container, he could not displace the duty by relying on victims’ being jointly engaged with him in a criminal enterprise – i.e. a plea of ex turpi causa बाट प्रस्ट हुन्छ । 

२०. In Winter and winter 2010 for example, MW and NW were convicted of manslaughter by gross negligence having stored fireworks of an extremely hazardous nature, in breach of their license, in a container on a farm. A large explosion occurred, killing the fire service’s civilian media awareness officer, who had been filming the fire for training purposes. V had ignored instructions to keep back from the container. The judge ruled that MW and NW owed a duty to take proper care in the storage and handling of the explosives and that that duty was owed to all persons who were on the site or in the surrounding vicinity. The CA held that it was reasonably foreseeable that civilian employees of the fire service might come on to and close to the site of a fire in order to film or photograph a fire. (It was held that V’s failure of instructions might be relevant on the issue of causation and, in civil cases, to the issue of causation, volenti and contributory negligence, it was not arguable in the instant case that any failure to comply with the instructions had the consequence that no doc was owed to V). 

२१. त्यसपछि प्रतिवादीबाट सो कर्तव्य पूरा नगर्ने काम अर्थात्‌ breach of duty जो कार्य अथवा अकार्य positive act or omission दुवैबाट हुन सक्छ र अन्तमा त्यसबाट ज्यान जाने जोखिम risk of death हुनु आवश्यक हुन्छ । 

२२. सोही पुस्तकको पृष्ठ १३५ मा उल्लेख भएको constructive crime अर्थात्‌ Sometimes crimes may be satisfied by proof of the basic mens rea of a lesser offence than that charged – this is sometimes called ‘constructive’ crime भन्ने आधारमा पनि प्रतिवादी दोषी देखिन्छन ।

२३. यी सबको मुख्य जोड के छ भने अपराधी बच्न हुँदैन उसले सजाय पाउनै पर्छ । यस आधारमा हेर्दा पनि प्रतिवादीकै मनसाययुक्त जानाजानको reckless and willful उक्साहटले प्रस्तुत वारदात निर्माणमा प्रमुख भूमिका खेलेको हुँदा उक्त कार्यको दायित्वबाट प्रतिवादीलाई उन्मुक्ति दिँदा अपराधीलाई सजाय गर्ने फौजदारी न्यायशास्त्रको उद्देश्य पराजित हुन पुग्छ । यसरी मृतकको जीवनलीला समाप्त गर्ने कुरामा निर्णायक भूमिका निर्वाह गर्ने प्रतिवादीलाई उन्मुक्ति (clean chit) दिने कुरालाई फौज्दारी न्यायले स्वीकार गर्न सक्तैन । यी प्रतिवादीको उक्त मनसाययुक्त reckless fault र मृतकको मृत्युको परिणाम result बीचको सम्बन्ध connection स्थापित छ । उक्त chain of causation लाई कुनै intervening acts or events ले भङ्ग गरेको देखिँदैन । यस आधारमा पनि सफाइ पाउनुपर्छ भन्ने प्रतिवादीको पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन ।

२४. प्रतिवादीहरूमध्येका मुरारी धमलालाई बहुविवाहमा कसुरदार ठहराएको तर सजाय नखापेको नमिलेको भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिरमा विचार गर्दा मुलुकी ऐन, दण्डसजायको महलको १० नं. तथा ४१ नं. को अध्ययनबाट ठूलो सजाय भएपछि सानो सजाय खाप्न मिल्ने नदेखिँदा बहुविवाहको सजाय खापिनु पर्छ भन्ने वादी नेपाल सरकारको यो पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन ।

२५. वयस्क उमेरका व्यक्ति सामान्यतया अविवाहित नरहने र निज पूर्वविवाहित हुने कुरा सबैले जान्ने बुझ्ने कुरा हो यसर्थ ४४ वर्षको व्यक्तिलाई २५ वर्षकी प्रतिवादी ममता धमलाले विवाह गरेबाट आफूले बहुविवाह गरेको कुरा प्र. ममतालाई थाहा रहेकाले निजलाई बहुविवाहको आरोपबाट सफाइ दिएको मिलेन भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिर देखिन्छ । तर उक्त पुनरावेदन जिकिर कोरा अनुमानमा आधारित रहेको छ । नारीसुलभ स्वभावले गर्दा एउटी महिलाले सबै इतिवृत्तिको जानकारी लिएर नै विवाहको निर्णय गर्छन् भन्न सकिन्न । कतिपय अवस्थामा निजहरूले स्वेच्छापूर्वक निर्णय गर्ने अवसर पनि पाउँदैनन् । यस बारे दुइदुई तहले प्रमाणको मूल्याङ्कन गरी गरेको निष्कर्षलाई कोरा अनुमानको आधारमा मात्रै यस अदालतले अन्यथा गर्नु उपयुक्तसमेत हुँदैन । तसर्थ बहुविवाहमा प्रतिवादी ममता धमलालाई समेत सजाय गरिपाउँ भन्ने वादीको पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन ।

२६. अतः प्रतिवादी पुनरावेदक मुरारी धमलाले अभियोगदावीको कसुर गरेको ठहर्‍याई निजलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर्‍याएको पुनरावेदन अदालत, पाटनको मिति २०६८।५।२० को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । उक्त फैसला उल्टी गरी सफाइ पाउँ भन्ने प्रतिवादी पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्तैन । तर यी प्रतिवादी मुरारी धमलाले योजना बनाई पूर्व मनसाय राखी वारदात गरेको देखिँदैन । यी प्रतिवादी यदाकदा मृतक बसेको घरमा गइरहने र सो दिन पनि त्यसैगरी गएकामा मृतकले प्रतिवादीलाई तँ तँ गरी तथानाम भन्नु नभन्नु तल्लोस्तरको गाली गरेकी र त्यसको परिणाम स्वरूप उत्तेजित अवस्थामा प्रस्तुत वारदात सहसा घटेको घटनाक्रमलाई यस अदालतले नजरअन्दाज गर्न सक्तैन । यसमा मट्टितेल लगाई आगो बाल्ने कार्य नभै साधारण लाठा मुक्का आदिको प्रहार भएको भए मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १४ नं. ले १० वर्ष कैद हुने अवस्था रहन्थ्यो । तर सो नभै मट्टितेल नै खन्याएर आगो लगाएको वारदात देखिए पनि मृतकको सहभागिता पनि घटनाको कारक भएकाले यसमा उक्त १३ नं. कै सजाय गर्दा चर्को पर्ने देखिन्छ । कसुर र सजायमा तादात्म्य हुनु आवश्यक हुन्छ । यही कुरालाई अ.बं. १८८ नं. ले सम्बोधन गरेको देखिन्छ । साथै कदाचित् मृतकलाई आत्महत्या गर्नका लागि प्रतिवादीले उक्साउने कार्य गरेको अवस्थामा समेत निजले अभियोगदावीको कसुरबाट उन्मुक्ति पाउन नसक्ने भनी माथि उल्लेख भएको प्रस्तुत मुद्दाको अवस्थाबाट मुलुकी ऐन अ.बं. १८८ नं. बमोजिम यिनलाई सर्वस्वसहित जन्मकैद गर्दा चर्को पर्ने देखिँदा निजलाई उक्त १८८ नं. बमोजिम कैद वर्ष १४ गर्नु उपयुक्त भई सोबमोजिम कैद वर्ष १४ हुने ठहर्छ । अरू तपसीलबमोजिम गर्नू ।

तपसील

माथि इन्साफ खण्डमा उल्लेख भएबमोजिम प्रतिवादी मुरारी धमलालाई सर्वस्वसहित जन्मकैदको सजाय हुने ठहरेको र उक्त कैद सजाय प्रस्तुत मुद्दाको रोहमा चर्को पर्ने भनी मुलकी ऐन अ.बं. १८८ नं. बमोजिम १४ (चौध) वर्ष मात्र कैद सजाय कायम गरिएको हुँदा सुरू फैसलाको तपसील खण्डको प्रकरण १ मा प्रतिवादीलाई २० (बीस) वर्ष कैद गर्ने गरी राखेको लगत कट्टा गरी सोको सट्टा १४ (चौध) वर्ष कैदको लगत कसी प्रतिवादी मुरारी धमला कैदमा रहेको कारागारमा संशोधित कैदी पूर्जी पठाउनु भनी सुरू काठमाडौं जिल्ला अदालतमा लेखी पठाउनू --------------------१

प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल अभिलेख शाखामा बुझाई दिनू -----------------------२

 

उक्त रायमा सहमति छ ।  

न्या.ओमप्रकाश मिश्र

 

इति संवत् २०७१ साल फागुन २५ गते रोज २ शुभम् ।

इजलास अधिकृत :- बसन्तजङ्ग थापा

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु