निर्णय नं. ९१८३ - भ्रष्टाचार

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री सुशीला कार्की
माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय
फैसला मिति : २०७१।४।१८।१
०६८-CR-०३६५
मुद्दा :– भ्रष्टाचार (बैङ्क ढुकुटीको रकम हिनामिना) ।
पुनरावेदक/वादी : अख्तियार दुरूपयोग अनुसन्धान आयोगका अनुसन्धान अधिकृत हेमराज भट्टराईको प्रतिवेदनले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी/प्रतिवादी : सल्यान जिल्ला, खलङ्गा गा.वि.स. वडा नं. ९ घर भै राष्ट्रिय वाणिज्य बैङ्क शाखा कार्यालय, गुलरिया, बर्दियाका सहायक प्रबन्धक (तत्कालीन निमित्त प्रमुख) पदमा कार्यरत् सुविलकुमार राई
०६८-CR-०५२२
पुनरावेदक/प्रतिवादी : बाँके जिल्ला, सीतापुर गा.वि.स. वडा नं. ४ हाल ऐ. नेपालगन्ज नगरपालिका वडा नं. १६ घर भै राष्ट्रिय वाणिज्य बैङ्क, शाखा कार्यालय गुलरिया, बर्दियाको प्रबन्धक (तत्कालीन कार्यालय प्रमुख) पदमा कार्यरत् अनिलकुमार मल्ल
विरूद्ध
प्रत्यर्थी/वादी : अख्तियार दुरूपयोग अनुसन्धान आयोगका अनुसन्धान अधिकृत हेमराज भट्टराईको प्रतिवेदनले नेपाल सरकार
§ आर्थिक कारोबार गर्ने बैङ्क तथा वित्तीय संस्थामा कार्यरत् प्रबन्धक (कार्यालय प्रमुख) आफ्नो काम कर्तव्य र जिम्मेवारीप्रति सचेत रहनुपर्ने कुरामा विवाद छैन । बैङ्कको नगद मौज्दात, नोटकोष लगायतका कोषको संरक्षणको मुख्य जिम्मेवारीमा रहेको प्रबन्धकले बिदामा बस्दा वा आफ्नो जिम्मेवारी आफू भन्दा तल्लो कर्मचारीलाई हस्तान्तरण गर्दा औपचारिक प्रक्रिया पूरा गर्नुपर्ने ।
§ बैङ्कजस्तो आर्थिक कारोबार गर्ने निकायका प्रबन्धक जस्तो जिम्मेवार पदमा कार्यरत् प्रतिवादीले आन्तरिक परिपत्र जारी गरी एक दिनको लागि मात्र बिदा बस्ने उल्लेख गरेको र पूर्वस्वीकृतिसम्म नलिई सात (७) दिनसम्म बिदा लिई उक्त बिदाको स्वीकृति पछिमात्र गराएको देखिन्छ । एक दिनको बिदाको निम्ति परिपत्र जारी गरी सात (७) दिनसम्म बिनाआधार कारण बिदामा बस्नु नै निजमा बद्नियत रहेको देखिने ।
(प्रकरण नं. ३)
§ बैङ्कको प्रमुख प्रबन्धक पदमा कार्यरत् व्यक्तिले आन्तरिक परिपत्र जारी गरी सहायक प्रबन्धकलाई एक दिनको लागिमात्र जिम्मेवारी दिएको कुरा उक्त परिपत्रमा उल्लेख गरी लामो बिदा बसेको कुरालाई स्वभाविक मान्न सकिँदैन । बिदा बस्दा बिदा स्वीकृत गर्ने अधिकारीबाट स्वीकृत गराई आफूसँग भएको ढुकुटीको चाबी, नगद मौज्दात तथा नोटकोषको विवरणलगायतका यथार्थ विवरणसहितका जिम्मेवारीहरू निमित्त भै काम गर्ने सहायक प्रबन्धकलाई प्रक्रियागत ढङ्गबाट हस्तान्तरण हुनुपर्नेमा प्रतिवादीले उक्त जिम्मेवारी पूरा गरेको देखिन नआउने ।
§ बैङ्कका प्रबन्धकको मातहतमा रहेका प्रतिवादी सुनिलकुमार राईउपर प्रबन्धकको अनुपस्थितिमा कार्यालयको काम प्रभावित हुन नदिने कर्तव्य र दायित्वसमेत रहेकोले एक दिनको लागिमात्र प्रबन्धक बिदामा बसेको अवस्थामा बैङ्कको प्रतिष्ठामा आँच आउन नदिने तथा सेवाग्राहीलाई मर्का पर्न नदिनको लागि आपसी विश्वास र सद्भावमा काम गर्नैपर्ने अवस्थाको सिर्जना भएको देखिन्छ । सोहीअनुसार प्रतिवादी सुविलकुमार राईले प्रबन्धकसमेतउपर विश्वास गरी निजको अनुपस्थितिमा निमित्त प्रबन्धक भै कार्य गरेको र सो गर्नैपर्ने बाध्यता सिर्जना भएको अवस्थामा बैङ्ककै कार्य सम्पादनको सिलसिलामा रकम झिकेको कारणबाटै निजलाई दोषी ठहर गर्नु न्यायोचित नहुने ।
(प्रकरण नं. ५)
वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता शंकरबहादुर राई
प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू लवकुमार मैनाली र कृष्ण सापकोटा, विद्वान् अधिवक्ताद्वय विजयप्रसाद मिश्र र केन्द्र विक्रम शाह, अधिवक्ताहरू प्रेमध्वज शाही, नन्दप्रसाद अधिकारी र वैतनिक कानून व्यवसायी हरिकिशोर कर्ण
अवलम्बित नजिर :
सम्बद्ध कानून :
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७, ३(१)(ज)
सुरू तहमा फैसला गर्ने :–
अध्यक्ष मा.न्या.श्री गौरीबहादुर कार्की
सदस्य मा.न्या.श्री ओमप्रकाश मिश्र
सदस्य मा.न्या.श्री केदारप्रसाद चालिसे
फैसला
न्या.सुशीला कार्की : विशेष अदालत, काठमाडौंको मिति २०६८।२।२६।५ को फैसलाउपर विशेष अदालत ऐन, २०५९ को दफा १७ बमोजिम वादी नेपाल सरकार र प्रतिवादी अनिलकुमार मल्लको तर्फबाट पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम् ठहर यस प्रकार छ :
राष्ट्रिय वाणिज्य बैङ्क शाखा कार्यालय गुलरिया, बर्दियाको नोटकोष, नगद मौज्दात परीक्षण गर्न र ढुकुटीको एक साँचो प्रबन्धकले राख्ने गरे नगरेको, कार्यालय बन्दको दिनमा ढुकुटी खोल्ने गरे नगरेको सम्बन्धमा निरीक्षण गरी प्रतिवेदन पेस गर्न राष्ट्रिय वाणिज्य बैङ्क क्षेत्रीय कार्यालय नेपालगन्जका सहलेखा अधिकृत रामचरण वि.सी.लाई खटाएकोमा निजले उक्त बैङ्कको निरीक्षण एवम् भौतिक परीक्षण गर्दा सुविलकुमार राई र प्रेमबहादुर सोडारीको रोहबरमा ढुकुटी खोली मिति २०६७।४।१४ पछिको नगद परीक्षण गर्दा नगद मौज्दात तर्फ रू.५७,०००।– र नोटकोषतर्फ रू.९०,००,०००।– समेत गरी जम्मा रू.९०,५७,०००।– नगद बैङ्क ढुकुटीमा कम देखिएको भन्नेसमेत व्यहोराको निरीक्षण प्रतिवेदन मुचुल्का ।
शाखा कार्यालय गुलरियाका निमित्त कार्यालय प्रमुख सहायक प्रबन्धक सुविलकुमार राईको जिम्मामा बैङ्क ढुकुटीको एउटा साँचो रहेको भएता पनि प्रबन्धक अनिलकुमार मल्ल आफू बिदा बस्दा सुनको पोका, नगद मौज्दात, नोटकोष अनुसारको रकम बुझ्ने बुझाउने गरी कारोबार सञ्चालनको लागि तोक्नुपर्नेमा तोकेको नदेखिएको, ढुकुटी खोल्दा, नगद निकाल्दा, राख्दा पूरा गर्नुपर्ने प्रक्रियागत कार्यहरू पूरा नगरेको, डिनोमिनेसन किताबमा अनिवार्यरूपमा दस्तखत गर्नुपर्नेमा कहिले दस्तखत गरेको, कहिले नगरेको, कारोबारको समाप्तिमा भएको रकमलाई ढुकुटीमा राख्दा राखिएको अन्तिम मौज्दातलाई दस्तखत गरी प्रमाणित गर्नुपर्नेमा नगरेको, नगद निकाल्दा रजिस्टरमा उल्लेख गरी प्रबन्धकले सही गर्नुपर्नेमा गरेको नदेखिएको हुँदा दुईवटा साँचोमध्ये एउटा साँचोको जिम्मेवारी लिने नगद सहायक प्रेमबहादुर सोडारीलाई मिति २०६७।४।९ देखि बिदामा बस्ने प्रबन्धक अनिलकुमार मल्लले प्रक्रियाहरू पूरा नगरी ढुकुटीको साँचो दिएको हुँदा निज अनिलकुमार मल्ल र सुविलकुमार राईसमेतले राष्ट्रिय वाणिज्य बैङ्क शाखा कार्यालय गुलरियाको ढुकुटीबाट रू.९०,५७,०००।– रकम हिनामिना गरेकोले सो रकम निजहरूबाट असुलउपर गरी हदैसम्मको सजाय गरी पाउँ भन्नेसमेत व्यहोराको गोविन्दबहादुर अधिकारीले मिति २०६७।४।२२ मा जिल्ला प्रहरी कार्यालय, बर्दियामा दिएको जाहेरी दरखास्त ।
प्रतिवादी प्रेमबहादुर सोडारी, सुविलकुमार राई र अनिलकुमार मल्ल बस्ने कोठामा खानतलासी गर्दा मुद्दासँग सम्बन्धित कुनै चीज वस्तु फेला नपरेको भन्ने खानतलासी मुचुल्का ।
जिल्ला प्रहरी कार्यालय, बर्दियाबाट मिति २०६७।५।१४ मा प्रतिवादीमध्ये सुविलकुमार राई र अनिलकुमार मल्लसमेतको अनुसन्धानको फायल अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा प्राप्त भएको देखिएको ।
म राष्ट्रिय वाणिज्य बैङ्क गुलरियामा २०६५ चैत्रदेखि सहायक प्रबन्धक पदमा कार्यरत् छु । ४/५ पटक निमित्त प्रबन्धक पदमा काम गरेँ । २०६७।४।९ देखि निमित्त प्रबन्धक रहँदा नियमानुसार गर्नुपर्ने बरबुझारथ, ढुकुटीको नगद तथा जिन्सी बर बुझारथ गरेको थिएन । मिति २०६७।३।३२ गतेको डिनोमिनेसन किताबमा मेरो दस्तखत पनि छैन । शाखाका हरेक कागजातमा मेरो दस्तखत अनिवार्य हुनुपर्छ । यसरी मिति २०६७।४।१६ मा ढुकुटी निरीक्षणको लागि रामचरण वि.सी. बिहान करिब ९:४५ बजे शाखामा आउनुभएको थियो । क्यासियर प्रेमबहादुर सोडारीलाई बैङ्क ढुकुटी खोल्न लगाई बाहिरको नगद मौज्दात मसमेतको उपस्थितिमा हेर्दा नगद मौज्दाततर्फ रू.५७,०००।– कम देखियो । त्यसै गरी नोटकोषको निरीक्षण प्रेमबहादुर सोडारीले गराई आफू खाना खान जान्छु भनी गएकोमा नआएपछि सम्भावित ठाउँमा खोजतलास गर्दा भेटिएन । नोटकोषतर्फ रू.९०,००,०००।– कम भएको भन्ने कुरा कारोबार बन्द भएपछि बेलुका ४:०० बजे मात्र पुनः निरीक्षकले नोटकोष हेर्न चाहेकोले खोली हेर्दा थाहा पाएको हुँ । म २०६७।४।९ देखि २०६७।४।१६ सम्म निमित्त प्रबन्धक भएकोमा २०६७।४।९ गते म स्वयम् उपस्थित भई रू.२,९०,००,०००।– नगद कोषबाट झिकिएको छ । मिति २०६७।४।७ गते रू.१२,००,००,०००।– राष्ट्र बैङ्कबाट फण्ड आएको थियो । सोमध्येबाट क्यासियर प्रेमबहादुर सोडारीबाट म निमित्त हुनुभन्दा पूर्व नै रू.९०,००,०००।– पटकपटक हिनामिना भएको हो । रामचरण वि.सी ले निरीक्षण गर्दा नगद कोषमा रू.९०,००,०००।– र नगद मौज्दातमा रू.५७,०००।– अपुग भएको ठीक साँचो हो । प्रबन्धक अनिलकुमार मल्ल बिदा बस्दा ढुकुटीको नगद मौज्दात, नोटकोष तथा जिन्सीको बरबुझारथ नगरी केवल आन्तरिक परिपत्रबाट जानकारी गराएकोले नगद मौज्दात र नोट कोषबमोजिमको रकम थियो, थिएन थाहा हुने कुरा भएन । मिति २०६७।४।९ गते प्रबन्धक बिदा बस्दा ढुकुटीको चाबी निमित्त प्रबन्धक पदको हैसियतले मसँग नै थियो । अर्को चाबी प्रेमबहादुर सोडारीसँग थियो भन्नेसमेत व्यहोराको प्रतिवादी सुविलकुमार राईले अधिकारप्राप्त अधिकारी (जिल्ला न्यायाधिवक्ता, बर्दिया र अख्तियार दुरूपयोग अनुसन्धान आयोग) समक्ष एकै मिलान व्यहोराले गरेको बयान ।
मिति २०६७।४।१६ मा रामचरण वि.सी. ले ढुकुटीमा रहेको नोटकोष, नगद मौज्दातसमेत निरीक्षण गर्दा रू.९०,५७,०००।– कम देखिएकोले सो दिन १०:३० देखि ११:०० बजेको बीचमा खाना खाएर आउँछु भनी निस्केका प्रेमबहादुर सोडारी फर्की नआएको कुरा क्षेत्रीय प्रबन्धकबाट थाहा पाएँ । म २०६७।४।९ देखि १६ गतेसम्म बिदामा थिएँ । रकम कुन मितिमा नपुग भएको मलाई थाहा छैन । प्रेमबहादुर सोडारीले कुन कुन मितिमा कसरी हिनामिना गरे भन्न सकिएन । तर हिनामिना गरी निज फरार भएको हुनुपर्छ । म बिदा बसेको बेला बैङ्कको निमित्त प्रबन्धकको हैसियतले सुविलकुमार राईले काम गर्नुहुनेछ भनी आन्तरिक परिपत्र जारी गरी कार्यालयको सम्पूर्ण साँचोहरू सहायक प्रबन्धकलाई जिम्मा दिई २०६७।४।७ गते शाखाको काउण्टर निरीक्षण गर्न आउनुभएका क्षेत्रीय प्रबन्धक विश्वप्रकाश ज्ञवालीसँग नेपालगन्ज गएको हुँ । रामचरण वि.सी ले निरीक्षण गर्दा म कार्यालयमा थिइन । नोटकोषको रू.१,१५,००,०००।– रकम झिकी निजको साँचो लाग्ने बाकसमा राखी बैङ्किङतर्फको मौज्दात ठीक पारेपछि नेपाल राष्ट्र बैङ्कको नोटकोष हेर्ने क्रममा बाहिर निस्केका प्रेमबहादुर सोडारी फर्केर आएनन् । निरीक्षण गर्दा रू.९०,५७,०००।– रकम कम भएकोले कार्यालयमा उपस्थित हुनु भनी १६ गते साँझ मलाई फोनबाट खबर गरेकोले २०६७।४।१७ मा कार्यालयमा हाजिर भई कार्य सञ्चालन गरेको हुँ । रकम हिनामिना गर्ने कार्यमा अरू कसैको मिलेमतो छैन । कार्यालय प्रमुखको जिम्मेवारी नोटकोष तथा नगद मौज्दातको रेखदेख, निरीक्षण र रक्षा गर्नु पनि हो । नगद मौज्दातमा ५० प्रतिशत नगद सहायकको, २५ प्रतिशत सहायक प्रबन्धकको, २५ प्रतिशत प्रबन्धकको र नोटकोषमा प्रबन्धकको ५० प्रतिशत र खजान्चीको ५० प्रतिशत जिम्मेवारी हुन्छ । नगदकोषको मिति २०६७।४।९ सम्मको र नगद मौज्दातको २०६७।४।१४ सम्मको हिसाब मिलेको देखिन्छ । नोटकोषमा २ ओटा साँचो व्यवस्था गरी अलगअलग १/१ साँचोको जिम्मेवारी दिनुको तात्पर्य एक्लै कुनै कर्मचारीले रकम झिक्न, हिनामिना गर्न नसकोस् भन्ने हो । नोटकोषको लागि यस्तो व्यवस्था अनिवार्य र अपरिहार्य छ । मिति २०६७।४।७ देखि १६ गतेसम्म नोटकोष र नगद मौज्दातको चाबी सुविलकुमार राई र प्रेमबहादुर सोडारीसँग थियो । सुन चाँदीको पोका परिमाणसमेत बुझाउने चलन थिएन भन्नेसमेत व्यहोराको प्रतिवादी अनिलकुमार मल्लले अधिकारप्राप्त अधिकारी (जिल्ला न्यायाधिवक्ता बर्दिया र अख्तियार दुरूपयोग अनुसन्धान आयोग) समक्ष एकै मिलान व्यहोराले गरेको बयान ।
मैले २०६७।४।१६ गते राष्ट्रिय वाणिज्य बैङ्क गुलरियाको नोटकोष र नगद मौज्दातको निरीक्षण गर्दा डिनोमिनेसन किताबमा उल्लेख भएको दर अनुसारको नोट पाइएन । हिसाब चेक गर्दा नोटकोष किताबमा मिति २०६७।४।९ को रेकर्डमा रू.१२,००,००,०००।– उल्लेख भएकोमा रू.११,१०,००,०००।– मात्र पाइयो । त्यसै गरी नगद मौज्दातअन्तर्गत रू.५७,०००।– कम पाइयो । नगदको भौतिक परीक्षण गर्न ढुकुटीभित्र बिहान दश बजे सहायक प्रबन्धक सुविलकुमार राई, नगद सहायक प्रेमबहादुर सोडारी, पियन र म गएका हौँ । ढुकुटी खोल्दा र बन्द गर्दा बैङ्कको सिलछाप लगाउने, सिलछाप बन्द गर्दा सुरक्षा गार्डले बुझ्ने र ढुकुटी खोल्दा सुरक्षा गार्डले नगद सहायकलाई बुझाउने कार्य हुनुपर्नेमा गुलरिया शाखामा लामो समयदेखि सो व्यवस्था गरेको पाइएन । नोटकोषमा रकम जम्मा गर्दा केन्द्रीय कार्यालय हिसाब नं. ६ भन्ने खातामा रकम जम्मा गर्ने र जम्मा गरेको विवरण नेपाल राष्ट्र बैङ्कलाई पठाउने, नगद मौज्दातमा रकम कम भएपछि नोटकोषमा खर्च लेखी नगद मौज्दातमा जम्मा गर्ने र नोटकोषमा खर्च लेखेको विवरण नेपाल राष्ट्र बैङ्कलाई छिटो साधनद्वारा जानकारी गराउनुपर्दछ भन्नेसमेत व्यहोराको रामचरण वि.सी.ले अधिकारप्राप्त अधिकारी (जिल्ला न्यायाधिवक्ता बर्दिया र अख्तियार दुरूपयोग अनुसन्धान आयोग) समक्ष एकै मिलान व्यहोराले गरेको बयान कागज ।
मलाई नगद सहायक प्रेमबहादुर सोडारी बिदा बसेको बेला निजसँग भएको ढुकुटीको साँचो दिने गरेको थियो । खजान्चीबाट प्राप्त रकमबाट दैनिक कार्य सञ्चालन गरी कारोबार बन्द भएपछि मैले आफ्नो हिसाब बुझाउने गरेको हुँ । खजान्ची बिदामा बसेको बेलामा कार्य सञ्चालन गर्नु मेरो दायित्व हो । नगद सहायक प्रेमबहादुर सोडारीले बिदा बस्दाको अवस्थामा मात्र मलाई ढुकुटीको साँचो दिनुहुन्थ्यो भन्नेसमेत व्यहोराको शोभादेवी लम्सालले अधिकारप्राप्त अधिकारी (जिल्ला न्यायाधिवक्ता बर्दिया र अख्तियार दुरूपयोग अनुसन्धान आयोग) समक्ष एकै व्यहोराले गरेको बयान कागज ।
हालसम्म सङ्कलित तथ्य र प्रमाणको विवेचनाबाट राष्ट्रिय वाणिज्य बैङ्क शाखा कार्यालय गुलरिया, बर्दियाको ढुकुटीको सार्वजनिक सम्पत्ति रू.९०,५७,०००।– प्रतिवादीहरू प्रेमबहादुर सोडारी, अनिलकुमार मल्ल र सुविलकुमार राईले बद्नियतपूर्वक हिनामिना गरेको पुष्टि भएकोले निजहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुरमा ऐ.ऐनको दफा ३ (१)(ज) बमोजिम हदैसम्म सजाय र बिगोबमोजिम जरिवाना गरी हिनामिना गरेको बिगो रू.९०,५७,०००।– राष्ट्रिय वाणिज्य बैङ्कलाई दिलाइ भराइ पाउँ भन्नेसमेत व्यहोराको आरोपपत्र ।
मिति २०६७।४।७ गतेको दिन ढुकुटी बन्द गरी जानुपूर्व प्रबन्धकले आन्तरिक परिपत्र गरी ढुकुटीको चाबी मलाई दिनुभएको हो । तर मलाई ढुकुटीभित्रको नोटकोष, चल अचल जिन्सी बुझाउनुभएको छैन । सो मितिमा नगद सहायक प्रेमबहादुर सोडारीले नगद कोषबाट झिकेको रकमको बै.फा.नं. २६ मा प्रबन्धकले दस्तखत नगरी जानुभएको हो । रू.९०,५७,०००। नगद सहायक प्रेमबहादुर सोडारीबाट नै हिनामिना भएको हो । मिति २०६७।४।१६ गते ढुकुटी जाँच गर्न आउनुभएका निरीक्षक रामचरण वि.सी. लाई ढुकुटी देखाई बन्द गरी खाना खान गएका प्रेमबहादुर सोडारी फरार रहेकाले सोही दिन जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय, गुलरियामा पक्राउ गरी दिन पत्राचार गरिएको हो । प्रस्तुत घटनाको दोषी प्रेमबहादुर सोडारी नै हुन् भन्नेसमेत व्यहोराको प्रतिवादी सुविलकुमार राईले विशेष अदालत, काठमाडौंमा गरेको बयान ।
नगद सहायक प्रेमबहादुर सोडारी बैङ्कको रकम हिनामिना भएको थाहा पाएदेखि नै फरार रहेकोले निजमाथि शङ्का गर्नुपर्ने अवस्था सिर्जना भएको छ । बैङ्क ढुकुटी कोठाको, ढोकाको साँचो र नोटकोषको साँचो प्रबन्धक र नगद सहायक दुबैसँग हुन्छ, कार्यालय सञ्चालनमा आपसी विश्वास र कामको व्यस्तताले गर्दा नगद सहायकले ढुकुटीको साँचो माग गर्दा प्रबन्धकले दिने चलन छ । यस्तो अवस्थामा नगद सहायकले स्रेस्ता मिलाई नगद निकाल्न सक्ने अवस्था रहन्छ । म बिदामा बसेको, ढुकुटीको साँचो मसँग नभएको अवस्थामा म जिम्मेवार हुने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी अनिलकुमार मल्लले विशेष अदालत, काठमाडौंमा गरेको बयान ।
तत्काल प्राप्त प्रमाणबाट प्रतिवादीहरू अनिलकुमार मल्ल र सुविलकुमार राईले आरोपित कसुर गरेको तथ्य पुष्ट्याइँ भएकोले मुलुकी ऐन, अ.बं. १२१ नं.बमोजिम थुनुवा पुर्जी दिई नियमानुसार सिधा खुवाई थुनामा राखी मुद्दा पुर्पक्ष गर्नु भनी विशेष अदालत, काठमाडौंबाट २०६७।६।४ मा आदेश भई प्रतिवादीहरू सुविलकुमार राई र अनिलकुमार मल्ल थुनामा बसेको देखिएको ।
प्रतिवादी प्रेमबहादुर सोडारीको नाममा यस अदालतबाट जारी भएको समाह्वान मिति २०६७।८।५ मा निजको घर दैलोमा टाँस भई तामेल भएकोमा प्रतिवादीले म्याद गुजारी बसेको देखिएको ।
वादी नेपाल सरकारको साक्षी मणिराज पुरी, श्रीमन शर्मा आचार्य, ढालबहादुर दसौदी, रामचरण वि.सि, प्रतिवादी सुविलकुमार राईका साक्षी शिवराज पोखरेल, डोलबहादुर थापा र प्रतिवादी अनिलकुमार मल्लका साक्षी टेकबहादुर वि.सि, कृष्णप्रसाद खनालले गरेको बकपत्र मिसिल संलग्न रहेको देखिएको ।
प्रतिवादी अनिलकुमार मल्ल बैङ्कको प्रबन्धक (कार्यालय प्रमुख) पदमा कार्यरत् रहेको अवस्थामा बिदामा बस्दा माथिल्लो निकाय वा अधिकारीबाट स्वीकृत गरी बिदा बस्नुपर्नेमा त्यसो नगरी २०६७।४।९ देखि २०६७।४।१६ सम्म बिदामा बसेको, आफ्नो जिम्मामा रहेको नगद मौज्दात, नोटकोष तथा ढुकुटीको चाबी सहायक प्रबन्धकलाई बरबुझारथ गरी जिम्मा दिई बिदा बस्नुपर्नेमा त्यस्तो प्रक्रिया पूरा गरेको नदेखिएको, आफू बैङ्कमा उपस्थित रहेकै दिन २०६७।४।७ मा नेपाल राष्ट्र बैङ्कबाट १२ करोडमध्येबाट ९० करोड हिनामिना भएको कुरा निरीक्षणबाट देखिन आएको, २०६७।४।१४ देखि ऐ. १६ सम्म नगद मौज्दाततर्फ रू.५७,०००।-समेत जम्मा रू.९०,५७०००।- रकम हिनामिना भएको देखिएको र प्रतिवादी प्रेमबहादुर सोडारी बैङ्कको नगद सहायक रहेको, ढुकुटीको २ चाबी मध्ये १ प्रबन्धकमा र १ नगद सहायकको जिम्मा रहेकै अवस्थामा मिति २०६७।४।९ देखि ऐ. १६ को अवधिमा नोटकोषतर्फको रू.९०,००,०००।- र मिति २०६७।४।१४ देखि ऐ. १६ को अवधिमा नगद मौज्दाततर्फ रू.५७,०००।-समेत जम्मा रू.९०,५७,०००।- हिनामिना भएको देखिएको, साथै ढुकुटी निरीक्षणको क्रममा भागी बेपत्ता भएको र विशेष अदालतबाट जारी भएको म्यादमा हाजिर नभै गुजारी बसेबाट अभियोग दावी स्वीकार गरी बसेको मान्नुपर्ने हुँदा प्रतिवादीहरू अनिलकुमार मल्ल र प्रेमबहादुर सोडारीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुर गरेको ठहर्छ र निजहरूलाई ऐ. ऐनको दफा १७ र ३(१) (छ) बमोजिम जनही ४ वर्ष कैद र जनही रू.४५,२८,५००।- जरिवाना भै र बिगोको हकमा रू.९०,५७,०००।- दुबै जनाले दामासाहीले राष्ट्रिय वाणिज्य बैङ्क शाखा कार्यालय, गुलिरया बर्दियालाई भराइ दिने ठहर्छ । साथै, प्रतिवादी सुविलकुमार राई बैङ्कको सहायक प्रबन्धक पदमा कार्यरत् रहेको, निमित्त प्रबन्धक भै कामकाज गर्दा प्रबन्धकबाट बैकको ढुकुटी चाबीलगायत नगद मौज्दात तथा नोटकोषतर्फको हिसाब बरबुझारथ गरी लिएको नदेखिएको, आन्तरिक परिपत्रबाट मात्र प्रबन्धक अनिलकुमार मल्लबाट एउटा चाबी बुझेको देखिए पनि निजसँग रहेको एउटा चाबीबाट मात्र बैङ्कको ढुकुटी खोल्न सकिने अवस्था नरहेको, अर्को चाबी जिम्मामा रहेको नगद सहायक प्रतिवादी प्रेमबहादुर सोडारी निरीक्षणको क्रममा भागी बेपत्ता भएका र विशेष अदालतबाट जारी म्यादसमेत गुजारी बसेको अवस्थामा प्रतिवादी सुनिलकुमार राईबाट रकम हिनामिना हुनसक्ने अवस्था पुष्टि हुन नआएको हुँदा आरोपित कसुरबाट सफाइ पाउने ठहर्छ भन्ने व्यहोराको विशेष अदालत, काठमाडौंको मिति २०६८।२।२६।५ को फैसला ।
प्रतिवादी अनिलकुमार मल्ल, सुविलकुमार राई र प्रेमबहादुर सोडारीसमेत तीनैजनाको संलग्नतामा बैङ्कको नगद मौज्दात तथा नोटकोष हिनामिना भएको तथ्य पुष्टि भएको, प्रतिवादी सुविलकुमार राईसमेतले सही छाप गरेको घटनास्थल मुचुल्काबाट रकम झिक्दा र राख्दा अपनाउनुपर्ने प्रक्रिया पूरा गरेको नदेखिएको, बैङ्क नगद कोषमा रकम कम भएको कुरा प्रतिवादीहरू अनिलकुमार मल्ल र सुविलकुमार राई दुबैले स्वीकार गरी रहेको अवस्थामा प्रतिवादी सुविलकुमार राईलाई आरोपित कसुरबाट सफाइ दिने ठहर्याएको विशेष अदालत, काठमाडौंको मिति २०६८।२।२६।५ को फैसला सो हदसम्म बदर गरी निजलाईसमेत आरोपपत्र माग दावीबमोजिम सजाय गरी पाउँ भन्ने व्यहोराको वादी नेपाल सरकारको तर्फबाट मिति २०६८।७।३ मा यस अदालतमा पर्न आएको पुनरावेदनपत्र ।
म पुनरावेदक मिति २०६७।४।९ देखि बिदामा बस्ने भएको कारण २०६७।४।७ गते शुक्रबारको दिन आन्तरिक परिपत्र जारी गरी बैङ्कका सम्पूर्ण कर्मचारीहरूको सही छाप गराई प्रतिवादी सुनिलकुमार राईलाई बैङ्कको सम्पूर्ण कारोबारको जिम्मा दिएको अवस्था छ । म बिदामा बस्ने भएकोले सहायक प्रबन्धक सुविलकुमार राईले मिति २०६७।४।७ मै नेपाल राष्ट्र बैङ्कबाट प्राप्त १२ करोड जम्मा गरी ढुकुटीबाट रू.२,९०,००,०००।- झिकेको स्पष्ट देखिएको अवस्था छ । म कार्यालय प्रमुख बिदामा बस्दा पूरा गर्नुपर्ने प्रक्रियागत कुराहरू पूरा नगरेको कुरा भ्रष्टाचारजन्य कसुरअन्तर्गत नभै विभागीय कारवाहीको दायरामा पर्ने हुँदा मैले आरोपित कसुरबाट सफाइ पाउनुपर्ने स्पष्ट हुँदाहुँदै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुरमा ऐ. ऐनको दफा ३(१) (छ) बमोजिम चार वर्ष कैद, रू. ४५,२८,५००।- जरिवाना र बिगोबमोजिमको रकम दामासाहीले भराउने ठहराएको विशेष अदालत, काठमाडौंको मिति २०६८।२।२६।५ को फैसला बदर गरी आरोपित कसुरबाट सफाइ पाउँ भन्ने व्यहोराको प्रतिवादी अनिलकुमार मल्लको तर्फबाट यस अदालतमा दायर हुन आएको मिति २०६८।८।६ को पुनरावेदनपत्र ।
यसमा यसै वारदातको साथै पेस भइरहेको पुनरावेदक प्रतिवादी अनिलकुमार मल्ल भएको ०६८-CR-०५२२ को मुद्दामा पुनरावेदनको जानकारी महान्यायाधिवक्ताको कार्यालयलाई दिनु भनी यस अदालतबाट मिति २०६८।१०।१७ मा आदेश भैरहेको देखिनुको साथै प्रस्तुत पुनरावेदनमा प्रत्यर्थी प्रतिवादी रहेका सुविलकुमार राई निमित्त प्रबन्धक भएको अवधि २०६७।४।९ देखि ऐ.१६ गतेसम्म नगद मौज्दाततर्फको रू.५७०००।- र नोटकोषतर्फको रू.९०,००,०००।- समेत रू.९०,५७,०००।- हिनामिना भएको कुरामा विवाद नरहेको र प्रबन्धक अनिलकुमार मल्ल बिदामा बस्दा नियमानुसार बरबुझारथ नगरी बिदा स्वीकृत नगराई बिदामा बसेको भने पनि बैङ्कको आन्तरिक परिपत्रानुसार प्रबन्धकसँग रहने एक साँचो सुविलकुमार राईलाई बुझाएको देखिएको अवस्थामा, जसको अवधिमा ढुकटीको रकम हिनामिना हुन गएको हो सो प्रतिवादीलाई सफाइ दिने गरी विशेष अदालत, काठमाडौंले गरेको फैसला फरक पर्न सक्ने देखिँदा छलफलका लागि अ.बं. २०२ नं. बमोजिम प्रत्यर्थी झिकाई आएपछि वा अवधि नाघेपछि नियमानुसार पेस गर्नु भन्ने मिति २०६९।१।१० को यस अदालतको आदेश ।
यसै मुद्दामा नेपाल सरकारको पनि पुनरावेदन परेको हुँदा मुलुकी ऐन, अ.बं. २०२ नं. को प्रयोजनार्थ महान्यायाधिवक्ताको कार्यालयलाई पेसीको सूचना दिई नियमानुसार पेस गर्नु भन्ने मिति २०७०।५।३० को यस अदालतको आदेश ।
नियमबमोजिम दैनिक पेसीसूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दामा नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री शंकरबहादुर राईले प्रतिवादी अनिलकुमार मल्ल बिदामा बस्दा माथिल्लो निकायका अधिकारीबाट बिदा स्वीकृत गराई प्रक्रियासम्मत्रूपमा बरबुझारथ गरी जिम्मेवारी हस्तान्तरण गरेको अवस्था छैन । बैङ्क जस्तो संवेदनशील संस्थाको प्रमुख बिदामा बस्दा बिदा स्वीकृत नगराई लामो बिदामा बस्ने कार्यलाई सामान्य स्थिति मान्न सकिँदैन । साथै प्रतिवादी सुविलकुमार राईले प्रतिवादी अनिलकुमार मल्लबाट विधिसम्मत्रूपमा बरबुझारथ बुझी जिम्मेवारी नलिई आन्तरिक परिपत्रको भरमा बैङ्क जस्तो निकायको नगद मौज्दात र नोटकोषको जिम्मेवारी वहन गरेको कार्यलाई सहज मान्न सकिने अवस्था छैन । प्रतिवादी अनिलकुमार मल्ल २०६७।४।९ देखि ऐ. १६ सम्म बिदा स्वीकृत नगराई बिदा बसेको अवस्थामा प्रतिवादी सुविलकुमार राईको हातमा बैङ्क ढुकुटीको चाबीसमेत रहेको, कारोबारसमेत सुविलकुमार राईको नामबाट भै भएको अवस्था हुँदा प्र. सुविलकुमार राईले सफाइ पाउने अवस्था नहुँदा निजको हकमा सम्म विशेष अदालतको फैसला बदर गरी आरोपपत्रबमोजिम सजाय गरिपाउँ र प्रतिवादी अनिलकुमार मल्लको हकमा आरोपित कसुर ठहर्याएको सुरू विशेष अदालतको फैसला सदर गरी पाउँ भनी बहस गर्नुभयो ।
प्रतिवादी सुविलकुमार राईको तर्फबाट उपस्थित विद्वान् अधिवक्ताहरू विजयप्रसाद मिश्र र केन्द्र विक्रम शाहले मिति २०६७।४।७ मा प्रतिवादी अनिलकुमार मल्लले आन्तरिक परिपत्र गरी सहायक प्रबन्धक सुविलकुमार राईलाई जिम्मेवारी हस्तान्तरण गरेको र २०६७।४।७ मा नेपाल राष्ट्र बैङ्कबाट प्राप्त हुन आएको १२ करोड नोटकोषमा दाखिल गर्नुपर्नेमा सो नगरी सुविलकुमार राईबाटै दाखिल भएको अवस्था छ । उक्त १२ करोड सुविलकुमारबाट इमान्दारीपूर्वक कोषमा दाखिल गरी संरक्षण गरी राखेको अवस्था छ । साथै प्रबन्धक बिदा बसी बैङ्कमा अनुपस्थित रहेको अवस्थामा निमित्त प्रबन्धकको रूपमा रहेका सुविलकुमारले बैङ्कको दैनिक कामकाज चलाउन गरेको कामकाजलाई अन्यथा भन्न पनि मिल्दैन । राष्ट्रिय वाणिज्य बैङ्कको क्षेत्रीय कार्यालय, नेपालगन्जका सहलेखा अधिकृत रामचरण वि.सि. र राष्ट्र बैङ्कबाट भएको निरीक्षणबाटसमेत सुविलकुमारले गरेको कारोबार कानूनसम्मत भएको पुष्टि गरी राखेको छ । रू.९०,५७,०००।- सुविलकुमार निमित्त भएको अवस्थामा हिनामिना भएको अवस्था छैन । साथै प्रबन्धक अनिलकुमार मल्लको मिति २०६७।४।९ देखि ऐ.१६ गतेसम्मको बिदा मिति २०६७।४।२५ मा स्वीकृत हुनु र बैङ्क ढुकुटीको जिम्मेवारी हुने नगद सहायक प्रतिवादी प्रेमबहादुर सोडारी फरार हुनुले पनि सुविलकुमार निर्दोष रहेको अवस्था हुँदा सफाइ दिने ठहर्याएको विशेष अदालतको फैसला सदर गरी पाउँ भनी बहस गर्नुभयो ।
प्रतिवादी अनिलकुमार मल्लको तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ताहरू लवकुमार मैनाली र कृष्ण सापकोटा, अधिवक्ताहरू प्रेमध्वज शाही, नन्दप्रसाद अधिकारी र वैतनिक कानून व्यवसायी हरिकिशोर कर्णसमेतले अनिलकुमार मल्ल मिति २०६७।४।९ देखि ऐ.१६ सम्म बिदामा बसेको र बिदामा बसेको अवस्थामा सहायक प्रबन्धकलाई ढुकुटीको साँचो बुझाई जिम्मेवारी हस्तान्तरण गरी राखेको अवस्था
छ । यस्तो अवस्थामा बिदा बसेको समयमा भएको नगद मौज्दात तथा नोटकोषको हिनामिना बिदामा बस्ने अधिकारीबाट भएको मान्न मिल्दैन । साथै बिदा बस्नुभन्दाअगाडि हिसाब स्पष्ट मिलेको देखिन्छ । बिदा बस्दा र जिम्मेवारी बरबुझारथ गर्नुपर्दा पूरा गर्नुपर्ने प्रक्रियाहरू पूरा नगरेकै आधारमा उक्त कार्यलाई भ्रष्टाचारजन्य कसुर मान्न मिल्दैन । बैङ्कको आन्तरिक विनियमबमोजिम विभागीय कारवाहीसम्म गर्नुपर्ने कार्यलाई भ्रष्टाचारमा कारवाही गर्नु सरासर गलत हो । बिदा बस्दा र जिम्मेवारी हस्तान्तरण गर्दा पूरा गर्नुपर्ने प्रक्रिया पूरा नगरेको अवस्थालाई लापरवाहीसम्म मान्नुपर्छ र यस्तो अवस्थामा बैङ्कको आन्तरिक नियमावलीबमोजिम विभागीय कारवाहीसम्म गर्नुपर्नेमा भ्रष्टाचारमा कारवाही चलाई सजाय गरेको विशेष अदालत, काठमाडौंको फैसला बदर गरी प्रतिवादी अनिलकुमारलाई सफाइ दिइनुपर्दछ भनी गर्नुभएको बहससमेत सुनियो । अब विशेष अदालत, काठमाडौंबाट प्रतिवादी अनिलकुमार मल्ललाई आरोपपत्र मागबमोजिम चार वर्ष कैद, रू.४५,२८,५००।- र बिगोबमोजिमको रकमसमेत दामासाहीले भराउने र प्रतिवादी सुविलकुमार राईले आरोपित कसुरबाट सफाइ पाउने ठहर्याएको फैसला मिलेको छ छैन एवम् वादी नेपाल सरकार तथा प्रतिवादी अनिलकुमार मल्लको पुनरावेदन जिकिर पुग्न सक्छ सक्तैन भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।
२. प्रस्तुत मुद्दामा राष्ट्रिय वाणिज्य बैङ्क शाखा कार्यालय गुलरिया, बर्दियामा कार्यरत् प्रतिवादीहरूमध्येका प्रबन्धक अनिलकुमार मल्लले बिदा बस्दा वहालवालालाई ढुकुटीको साँचो नगद मौज्दात र नोटकोषको बरबुझारथ गरी जिम्मेवारी दिनुपर्नेमा नदिई आन्तरिक परिपत्रले सम्पूर्ण कारोबार सुविलकुमार राईले समाल्नुहुनेछ भन्ने व्यहोरा उल्लेख गरी कार्यालय प्रमुखको दायित्व जिम्मेवारी र कर्तव्य पूरा नगरेको प्रतिवादी सुविलकुमार राईले बैङ्क प्रबन्धकबाट ढुकुटीको साँचो आन्तरिक परिपत्रबाट लिएको देखिए पनि नोटकोष र नगद मौज्दातसमेत बरबुझारथ गरी नलिएको र ढुकुटीको एउटा साँचो नगद सहायक प्रेमबहादुर सोडारीसँग भएको अवस्थामा उक्त बैङ्कको नगद मौज्दाततर्फको रू.५७,०००।- र नोटकोषतर्फको रू.९०,००,०००।-समेत रू.९०,५७,०००।- रकम तीनैजना प्रतिवादीको बद्नियतपूर्ण कार्यबाट हिनामिना/मस्यौट भएको हुँदा निजहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुरमा ऐ. ऐनको दफा ३(१)(ज) बमोजिम सजाय र बिगोबमोजिम जरिवाना गरी हिनामिना भएको रकम राष्ट्रिय वाणिज्य बैङ्कलाई दिलाइ भराइ पाउँ भन्ने व्यहोराको आरोपपत्र पेस भएकोमा प्रतिवादी अनिलकुमार मल्ल र प्रेमबहादुर सोडारी बैङ्कको नगद मौज्दात र नोटकोषसमेतको रू.९०,५७,०००।- लापरवाहीपूर्वक हिनामिना गरी मर्स्यौट गरेको देखिएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुर गरेको ठहराइ ऐ. ऐनको दफा ३(१) (छ) बमोजिम जनही चार वर्ष कैद रू.४५,२८,५००।- जरिवाना र हिनामिना भएको बिगो दामासाहीले बैङ्कलाई भराइ दिने ठहर्याएकोमा प्रतिवादी प्रेमबहादुर सोडारीले अनुसन्धानको क्रममा नै भागी बेपत्ता भएको र अदालतको म्यादसमेत गुजारी बसेको अवस्था छ ।
३. अब उक्त फैसलाउपर प्रतिवादी अनिलकुमार मल्लको तर्फबाट पर्न आएको पुनरावेदन जिकिर पुग्न सक्छ सक्तैन अर्थात् प्रतिवादी अनिलकुमार मल्लले आरोपित कसुरबाट सफाइ पाउनुपर्ने हो होइन भन्ने सम्बन्धमा विचार गर्दा प्रतिवादी अनिलकुमार मल्ल बैङ्कको प्रबन्धक अर्थात् कार्यालय प्रमुखको पदमा कार्यरत् रहेको देखिन्छ । आर्थिक कारोबार गर्ने बैङ्क तथा वित्तीय संस्थामा कार्यरत् प्रबन्धक (कार्यालय प्रमुख) आफ्नो काम कर्तव्य र जिम्मेवारीप्रति सचेत रहनुपर्ने कुरामा विवाद छैन । बैङ्कको नगद मौज्दात, नोटकोषलगायतका कोषको संरक्षणको मुख्य जिम्मेवारीमा रहेको प्रबन्धकले बिदामा बस्दा वा आफ्नो जिम्मेवारी आफूभन्दा तल्लो कर्मचारीलाई हस्तान्तरण गर्दा औपचारिक प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । प्रस्तुत प्रतिवादी अनिलकुमार मल्ल मिति २०६७।४।९ देखि ऐ. १६ सम्म कार्यालयमा अनुपस्थित रहेको देखिन्छ र सोही समयमा नै उल्लिखित नगद मौज्दाततर्फको रू.५७,०००।- र नोटकोषतर्फको रू.९०,००,०००।- गरी जम्मा रू.९०,५७,०००।- रकम कमी भै हिनामिना भएको देखिन्छ । बिदामा बस्दा आफूभन्दा माथिल्लो निकायका अधिकारीबाट बिदा स्वीकृत गराउनुपर्नेमा सो भए गरेको देखिँदैन । बैङ्क जस्तो आर्थिक कारोबार गर्ने निकायका प्रबन्धक जस्तो जिम्मेवार पदमा कार्यरत् यी प्रतिवादी अनिलकुमार मिति २०६७।४।७ मा आन्तरिक परिपत्र जारी गरी मिति २०६७।४।९ अर्थात एक दिनको लागि मात्र बिदा बस्ने उल्लेख गरेको र पूर्व स्वीकृतिसम्म नलिई सात (७) दिनसम्म बिदा लिई उक्त बिदाको स्वीकृति पछिमात्र गराएको देखिन्छ । एक दिनको बिदाको निम्ति परिपत्र जारी गरी सात (७) दिनसम्म बिनाआधार कारण बिदामा बस्नु नै निजमा बद्नियत रहेको देखिन्छ ।
४. यसरी बैङ्कको प्रमुख प्रबन्धक पदमा कार्यरत् व्यक्तिले आन्तरिक परिपत्र जारी गरी सहायक प्रबन्धकलाई एक दिनको लागिमात्र जिम्मेवारी दिएको कुरा उक्त परिपत्रमा उल्लेख गरी लामो बिदा बसेको कुरालाई स्वभाविक मान्न सकिँदैन । बिदा बस्दा बिदा स्वीकृत गर्ने अधिकारीबाट स्वीकृत गराई आफूसँग भएको ढुकुटीको चाबी, नगद मौज्दात तथा नोटकोषको विवरणलगायतका यथार्य विवरणसहितका जिम्मेवारीहरू निमित्त भै काम गर्ने सहायक प्रबन्धकलाई प्रक्रियागत ढङ्गबाट हस्तान्तरण हुनुपर्नेमा प्रतिवादी अनिलकुमार मल्लले उक्त जिम्मेवारी पूरा गरेको देखिन आएन । साथै प्रबन्धक जस्तो जिम्मेवार पदमा रहेको व्यक्तिले एक दिनको लागिमात्र आन्तरिक परिपत्र जारी गरी बिदामा बसेकोमा सो मितिदेखि २०६७।४।१६ सम्म बैङ्कमा उपस्थित नहुने र सोही समयमा बैङ्कको नगद मौज्दात र नोटकोषको रकम कमी भै हिनामिना हुनु र ढुकुटीको एक चाबी जिम्मा लिने नगद सहायक प्रतिवादी प्रेमबहादुर सोडारीसमेत राष्ट्रिय वाणिज्य बैङ्क, क्षेत्रीय कार्यालय नेपालगन्जका सहलेखा अधिकृत रामचरण वी.सी. बाट २०६७।४।१६ मा बैङ्कको निरीक्षण भैरहेको अवस्थामा खाजा खान भनी गएकोमा भागी फरार भै अदालतबाट जारी म्यादमासमेत हाजिर नभै गुजारी बसेबाट प्रतिवादी अनिलकुमार मल्लले प्रबन्धकको पदको जिम्मेवारी इमान्दारीपूर्वक पूरा गरेको देखिन आएन । मिति २०६७।४।७ मा नेपाल राष्ट्र बैङ्कबाट नोटकोषमा जम्मा गर्नुपर्ने गरी रू.१२ करोड प्राप्त भएको देखिन्छ । उक्त मितिमा प्रबन्धक अनिलकुमार बैङ्कमा उपस्थित भएको देखिँदा प्रबन्धकको हैसियतले उक्त रकम नोटकोषमा दाखिल गर्नुपर्नेमा दाखिल गरेको देखिँदैन र उक्त रकम मध्येबाटै ९० लाख हिनामिना भएको भन्ने रामचरण वि.सि. को परीक्षणमा नोटकोषमा ११ करोड १० लाख मात्र रहेको देखिनुले पनि स्पष्ट गर्दछ । साथै सोही निरीक्षण प्रतिवेदनबाट नगद मौज्दाततर्फ रू. ५७०००।- कम देखिनुले जम्मा रू.९०,५७,०००।- हिनामिना भएबाट प्रतिवादी अनिलकुमारले आफ्नो पदीय जिम्मेवारी पूरा गरेको नदेखिएको, बिदा स्वीकृत नगराई बिदा बसेको मिति २०६७।४।९ गते बिदामा बस्न भनी जारी गरेको आन्तरिक परिपत्रमा समेत बिदा बस्नुपरेको कारण उल्लेख नभएबाट उल्लिखित रकम हिनामिनामा प्रतिवादी अनिलकुमारको संलग्नता रहेको देखिन आयो । प्रतिवादी अनिलकुमार मल्ल बिदामा बस्दा पूरा गर्नुपर्ने प्रक्रिया पूरा नगरेको, सहायक प्रबन्धकलाई स्पष्टसँग जिम्मेवारी हस्तान्तरण नगरेको, बरबुझारथ गर्नुपर्ने, नगद मौज्दात, नोटकोषसमेतका विवरणहरू बरबुझारथसमेत गरेको अवस्था नहुँदा प्रतिवादी अनिलकुमार मल्लले आफ्नो पदीय जिम्मेवारी प्रक्रियागतरूपमा नगरी लापरवाही गरेको र त्यसबाट बैङ्कको रकम हिनामिना भएको स्पष्ट देखिन आयो । तसर्थ आरोपित कसुरबाट सफाइ पाउँ भन्ने प्रतिवादी अनिलकुमार मल्लको पुनरावेदन जिकिर पुग्न सक्तैन ।
५. प्रतिवादी सुविलकुमार राईले उक्त रकममध्येबाट रू.२,९०,००,०००।- झिकेकोमा यी प्रतिवादीको स्वीकारोक्ति रहेकोले यी प्रतिवादीलाई अभियोग दावीबाट सफाइ दिने ठहराएको विशेष अदालत, काठमाडौंको फैसला बदर गरी आरोपपत्र मागबमोजिम सजाय गरी पाउँ भन्ने नेपाल सरकारको पुनरावेदन सम्बन्धमा विचार गर्दा मिति २०६७।४।७ देखी ऐ. १६ सम्म प्रबन्धक प्रतिवादी अनिलकुमार मल्ल बिदामा बसेको समयमा यी प्रतिवादीले प्रबन्धकबाट बैङ्कका नगद मौज्दात, नोटकोषलगायतको हिसाब किताब रीतपूर्वक बरबुझारथ गरी बुझेको देखिँदैन । बैङ्कका प्रबन्धक अनिलकुमार मल्लको मातहतमा रहेका यी प्रतिवादीउपर प्रबन्धकको अनुपस्थितिमा कार्यालयको काम प्रभावित हुन नदिने कर्तव्य र दायित्वसमेत रहेकोले एक दिनको लागिमात्र प्रबन्धक बिदामा बसेको अवस्थामा बैङ्कको प्रतिष्ठामा आँच आउन नदिने तथा सेवाग्राहीलाई मर्का पर्न नदिनको लागि आपसी विश्वास र सद्भावमा काम गर्नैपर्ने अवस्थाको सिर्जना भएको देखिन्छ । सोही अनुसार प्रतिवादी सुविलकुमार राईले प्रबन्धकसमेतउपर विश्वास गरी निजको अनुपस्थितिमा निमित्त प्रबन्धक भै कार्य गरेको र सो गर्नैपर्ने बाध्यता सिर्जना भएको अवस्थामा बैङ्ककै कार्य सम्पादनको सिलसिलामा रकम झिकेको कारणबाटै निजलाई दोषी ठहर गर्नु न्यायोचित हुँदैन । त्यसमा पनि बैङ्कको ढुकुटीको एक चाबी यी प्रतिवादीसँग रहे पनि अर्को चाबी प्रतिवादी प्रेमकुमार सोडारीसँग रहेकोले तथा २०६७।४।१६ गते राष्ट्रिय वाणिज्य बैङ्क, क्षेत्रीय कार्यालय, नेपालगन्जका सहलेखा अधिकृत रामचरण वि.सि. बाट निरीक्षण हुँदाहुँदैको अवस्थामा अर्का प्रतिवादी प्रेमबहादुर सोडारी भागी बेपत्ता भएका र प्रतिवादी अनिलकुमार मल्ल पनि २०६७।४।९ देखि नै फरार भै कार्यालयमा अनुपस्थित रही पक्राउ परेबाट उक्त रकम हिनामिनामा यी प्रतिवादी सुविलकुमार राईको संलग्नता देखिन आएन । तसर्थ प्रतिवादी सुविलकुमार राईलाईसमेत आरोपित कसुरमा सजाय गरी पाउँ भन्ने नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्तैन ।
६. अतः प्रतिवादी अनिलकुमार मल्ललाई आरोपित कसुर ठहराएको र प्रतिवादी सुविलकुमार राईलाई सफाइ दिने ठहराएको विशेष अदालत, काठमाडौंको मिति २०६८।२।२६।५ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । नेपाल सरकार र प्रतिवादी अनिलकुमार मल्लको पुनरावेदन जिकिर पुग्न सक्तैन । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या.गोविन्दकुमार उपाध्याय
इति संवत् २०७१ साल साउन १८ गते रोज १ शुभम् ।
इजलास अधिकृत : विदुर काफ्ले