निर्णय नं. ४२७८ - परमादेश

निर्णय नं. ४२७८ ने.का.प. २०४८ अङ्क ५
पूर्णइजलास
सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
सम्वत् २०४६ सालको रि.पु.इ.नं. ५१
आदेश भएको मिति: २०४८।३।१८।३ मा
रिट निवेदक : भिमसोप फैक्ट्रीको प्रोप्राइटर परवेज अख्तर
विरुद्ध
विपक्षी : श्री विराटनगर भन्सार कार्यालयसमेत
विषय : परमादेश
(१) उद्योग साबुन पाउडर वा साबुन झोल बनाउने उद्योग नभई लुगाधुने ठोस साबुन बनाउने उद्योग भन्ने देखिँदा प्रस्तुत उद्योगलाई बिक्रीकर लगाएको भन्ने देखिन आउँदैन, तसर्थ निवेदकको प्रस्तुत उद्योगको लागि आयातित कच्चा पदार्थमा औद्योगिक व्यवसाय ऐन बमोजिम बिक्रीकर छूट सुविधा पाउन सक्ने ।
(प्रकरण नं. १३)
निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री सुशिलकुमार सिन्हा
प्रत्यर्थीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री खगेन्द्र बस्न्यात
आदेश
प्र.न्या.धनेन्द्रबहादुर सिंह
१. नेपालको संविधान, २०१९ अन्तर्गत दर्ता भई निर्णयार्थ यस सर्वोच्च अदालतको संयुक्तइजलास समक्ष पेश हुँदा माननीय न्यायाधीशहरु बीच मतैक्य हुन नसकी यस पूर्णइजलास समक्ष पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ :–
२. निवेदकले लुगाधुने साबुन उत्पादन गर्ने भिमसोप फैक्ट्री भन्ने घरेलु तथा ग्रामीण उद्योग विभागमा २०३२।६।१९।१ मा दर्ता गराई साबुन उत्पादन गरी आएको छु । यस उद्योगले औद्योगिक व्यवसाय ऐन, २०३० को दफा ९(१)(क) को देहाय (२) अनुसार आफ्नो उद्योगबाट लुगा धुने साबुन उत्पादन गर्नको लागि विदेशबाट झिकाएका कच्चा पदार्थमा भन्सार महसूल (साविक पेज नं. १४५) एक प्रतिशतका दरले लाग्ने र बिक्री कर नलाग्ने सुविधा उपभोग गरी आएकोमा उद्योगले ईण्डष्ट्रियल मेटेरियल पाम फोटी एसिड आयल कानुन बमोजिम इजाजतपत्र लिई सिंगापुरबाट झिकाई आयात गर्दा बिक्रीकर लाग्नु नपर्नेमा २०४४।५।२६ मा बिक्री कर रु. २५०२३।०६ तथा भन्सार महसूल १% प्रतिशतले मात्र लाग्नु पर्नेमा २५% प्रतिशतले अतिरिक्त भन्सार महसूल रु. ९२६७८। समेत असूल गरी लिनु भएको औ.व्य. ऐन, २०३० को दफा ९(१)(क) र औ.व्य. ऐन, २०३८ को दफा १४(१) विपरीत भएको छ । विराटनगर भन्सार कार्यालयमा आयात भई आउँदा मिति २०४४।५।२६ मा प्रज्ञापनपत्र भरी पेश गरेकोमा भन्सार कार्यालयले यस घरेलु उद्योगको औद्योगिक कच्चा पदार्थमा बिक्रीकर असूल गर्नु नपर्नेमा गैरकानुनी तवरले बिक्रीकर रु. २५०२३।०६ र भन्सार महसूल मात्र १ प्रतिशतले रु. ३७०७।१२ लाग्नु पर्नेमा रु. ९२६७८।– असूल गरेर मात्र हाम्रो उक्त कच्चा पदार्थ छाड्नु भयो । औद्योगिक व्यवसाय ऐन, २०३० को दफा ९(१)(क) को देहाय (२) तथा बिक्रीकर ऐन, २०२३ को दफा २१ अन्तर्गत अर्थ मन्त्रालयबाट प्रकाशित २०३९।३।७ को राजपत्रको सूचनाले समेत केही सामानमा बिक्रीकर नलाग्ने भनी कानुनी संरक्षण प्रदान गरेको छ तत्कालीन औद्योगिक व्यवसाय ऐन, २०३० को दफा ९(१)(क) को देहाय (२) र औ.व्य ऐन, २०३८ को दफा १४(१) ले घरेलु उद्योगको लागि चाहिने कच्चा पदार्थ र सहायक कच्चा पदार्थमा बिक्रीकर नलाग्ने तथा भन्सार महसूल १ प्रतिशतले लाग्ने सुविधा प्रदान गरेकोलाई कायमै राखेको छ । बिक्रीकर लगाउने र असूल गर्ने बिक्रीकर ऐन, २०२३ को दफा २१ को अधिकार प्रयोग गरी श्री ५ को सरकारले २०३९।३।७ मा प्रकाशित सूचनाले साबुन उद्योगको कोरा मालमा बिक्रीकर नलाग्ने व्यवस्था गरेको हालसम्म कायमै रहेको हुँदा अनाधिकार औद्योगिक सुविधाबाट बञ्चित गरी बिक्रीकर र नलाग्ने अतिरिक्त भन्सार समेत असूल गरेको गैरकानुनी हुँदा २०४४।५।२६ को प्रज्ञापन पत्रमा बिक्री कर र भन्सार निर्धारण भएको बदर गरी उपरोक्त बमोजिम गैरकानुनी असूली भएका बिक्रीकर अतिरिक्त भन्सार महसूल निवेदकलाई फिर्ता दिनु भनी परमादेश वा अन्य आदेश जारी गरिपाउँ भन्ने रिटनिवेदन जिकिर ।
३. विपक्षीबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि पेश गर्नु भन्ने समेत यस अदालत एक न्यायाधीशको इजलासको आदेश ।
४. विपक्षीको उद्योग औ.व्यवसाय ऐन, २०३० अन्तर्गत स्थापना भई संचालन भएको र औ.व्य.ऐन, २०३० को दफा ९(१)(क)(२) मा त्यस्तो उद्योगको लागि आयात गरिने मेशिनरी, पार्टपूर्जा तथा बिजुलीका सामान र आधारभूत तथा सहायक कच्चा पदार्थमा एक प्रतिशतको दरले मात्र भन्सार महसूल लगाइने छ र बिक्रीकर छूट हुनेछ भन्ने व्यवस्था भए तापनि ०३८।६।१४ बाट लागू भएको औद्योगिक व्यवसाय ऐन, २०३८ को दफा १४(१) मा यो ऐन प्रारम्भ हुनु अघि स्थापित हुने उद्योगले तत्काल प्रचलित कानुन बमोजिम कुनै सुविधा सहुलियत तथा संरक्षण उपभोग गर्न पाउने छ र तर अवधि नकिटिएका सुविधाका हकमा यसै ऐन बमोजिम हुनेछ भन्ने व्यवस्था भएको र सोही ऐनको दफा १०(घ)(४) को प्रयोजनको लागि श्री ५ को सरकारले देहायको उद्योगको लागि आवश्यक पर्ने कोरामाल सहायक कोरामाल तथा रसायनिक पदार्थहरुको पैठारीमा बिक्रीकर लाग्ने गरी तोकेको छ भनी २०४३।१।१५ को राजपत्रमा प्रकाशित सूचनामा तोकिएको उद्योगहरुमा सो सूचनाको सि.नं. १२ मा सबै किसिमको साबुन पाउडर (झोल समेत) घरेलु स्तरको उद्योगमा मात्र भन्ने उल्लेख भएबाट विपक्षको उद्योगले पैठारी गरेको सो उद्योगको लागि आवश्यक पर्ने कोरामाल सहायक कोरामाल तथा रासायनिक पदार्थको पैठारीमा बिक्री कर लाग्ने स्पष्ट भएको छ । खण्ड ३७, असार २५, गते २०४४ साल (पूर्वातिरिक्ताड्ढ) १५ (क २) मा कर असूल ऐन संशोधन सहित, २०१२ को दफा ३ ले दिएको (साविक पेज नं. १४६) अधिकार प्रयोग गरी जारी गरेको आदेशको दफा १ अनुसूची १ बमोजिम विपक्षीले आयात गर्नुभएको उक्त सामानमा अतिरिक्त भन्सार महसूल लगाएको कानुन अनुकूल देखिएको छ । यिनै कानुनी व्यवस्थाको आधारमा श्री विराटनगर भन्सार कार्यालयबाट विपक्षीले आयात गर्नु भएको उक्त सामानमा उक्त सूचनाको अनुसूची १ बमोजिम अतिरिक्त भन्सार महसूल तथा उक्त सूचनाको अनुसूची ६ बमोजिम बिक्रीकर लगाएको कानुन अनुकूल देखिँदा विपक्षीले निवेदनमा लिनु भएको जिकिरहरु आधारहिन छन् । निवेदक नेपाल निर्यात कम्पनी विराटनगरको प्रोपाइटर बद्रीप्रसाद अग्रवाल विपक्षी कर कार्यालय विराटनगर समेत भएको २०४१ सालको रि.नं. २२५६ मा कर अधिकृतले गरेको आयकर निर्धारण आदेश उपर पुनरावेदन गर्न पाउने कानुनी उपचारको व्यवस्था गरेकोमा यो कानुनी उपचारको बाटो अवलम्बन गरेको देखिँदैन । तसर्थ कानुनी उपचारको बाटो अवलम्बन नगरी पर्न आएको प्रस्तुत रिटनिवेदनबाट असाधारण अधिकार क्षेत्र प्रयोग गरी हेर्न सकिने अवस्था नहुँदा विपक्षीको निवेदन खारेज गरिपाउँ भन्ने समेत कर विभागको तर्फबाट प्राप्त हुन आएको लिखितजवाफ ।
५. निवेदकको जिकिर अर्थ मन्त्रालयको मिति २०३९।३।७ को सूचनाले घरेलु साबुन उद्योगको लागि पैठारी गर्ने कच्चा पदार्थहरु पैठारी गर्दा बिक्रीकर नलाग्ने भनी कानुनी संरक्षण कायमै भएको दावी गरेको सम्बन्धमा नेपाल राजपत्र खण्ड ३६ अतिरिक्ताड्ढ ४(क) भाग ३ मिति २०४३।१।१५ मा श्री ५ को सरकार अर्थ मन्त्रालयको प्रकाशित सूचना अनुसार श्री ५ को सरकारले भंसार ऐन, २०१९ को दफा ९ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी नेपाल राजपत्र भाग ३ मा प्रकाशित उद्योग मन्त्रालयको सूचना अनुसार बिक्रीकर असूल उपर गर्ने व्यवस्था भएकोले २०३९।३।७ को सूचना खारेज भइसकेको अतिरिक्त महसूल नलाग्ने भन्ने निवेदकको जिकिर सम्बन्धमा नेपाल राजपत्र भाग ३ खण्ड ३७ पूर्वातिरिक्ताड्ढ १५(क) मिति २०४४।३।२५ को श्री ५ को सरकार अर्थ मन्त्रालयको सूचना नं. १ को अनुसूचीको संकेत नं. ९९–०६ पछि नेपाल अधिराज्य भित्र पैठारी हुने माल वस्तुहरुमा निम्न बमोजिम अतिरिक्त भन्सार महसूल र समीकरण महसूल लाग्नेछ भनी उल्लेख भएको हुँदा निवेदकले सिंगापुरबाट पैठारी गरेको पाम फोक्टी एसिड आयलमा २०४४।०४५ को भन्सार दरबन्दी बमोजिम संकेत नम्बर १५ बाट १० प्रतिशत साधारण भन्सार महसूल लाग्ने २५ प्रतिशत अतिरिक्त भन्सार महसूल असूल उपर गरेकोमा नियम कानुन बमोजिम भएको र यसको अतिरिक्त उक्त उद्योग घरेलु स्तरमा दर्ता भएको हुँदा बिक्रीकरमा दर्ता भएको उद्योगहरुले पाउने सुविधा निवेदकले पाउने होइन । नेपाल राजपत्र भाग ३ खण्ड ३७ पूर्वातिरिक्ताड्ढ १५(क २) मिति २०४४।३।२५ गते श्री ५ को सरकार अर्थ मन्त्रालयको सूचना अनुसार उत्पादनमा उक्त उद्योगले बिक्रीकर नतिर्ने हुँदा अतिरिक्त भन्सार महसूल असूल गरिएको कानुनसंगत नहुने, औ.व्य.ऐन, २०३० को दफा ९(१)(क) को सुविधा तथा सहुलियतको जिकिर सम्बन्धी औ.व्य. ऐन, २०३८ को दफा २२ ले औ.व्य. ऐन, २०३० खारेज गरी सकिएको । महसूल निर्धारणमा निवेदकको चित्त नबुझेमा भन्सार ऐन (संशोधन सहित), २०१९ को दफा ३७ बमोजिम राजश्व न्यायाधिकरणमा पुनरावेदन गर्न पाउने व्यवस्था हुँदा हुँदै संविधानको धारा ७१ विपरीत निवेदन दिएको हुँदा रिटनिवेदन खारेज गरिपाउँ भन्ने समेत विराटनगर भन्सार कार्यालयको लिखितजवाफ ।
६. विपक्षीको उद्योग औद्योगिक व्यवसाय ऐन, २०३० अन्तर्गत स्थापना भई संचालन भएको र औ.व्य. ऐन, २०३० को दफा ९(१)(क)(२) मा त्यस्तो उद्योगको लागि आयात गरिने मेसिनरी पार्टपूर्जा तथा बिजुलीका सरसामान र आधारभूत तथा सहायक कच्चा पदार्थमा एक प्रतिशतको दरले मात्र भन्सार महसूल लगाइने छ र बिक्रीकर छूट हुनेछ भन्ने व्यवस्था गरिएको भए तापनि २०३८।६। (साविक पेज नं. १४७) १४ बाट लागू भैसकेको औद्योगिक व्यवसाय ऐन, २०३८ को दफा १४ (१) मा यो ऐन प्रारम्भ हुनु अघि स्थापित कुनै उद्योगले तत्काल प्रचलित कानुन बमोजिम कुनै सुविधा सहुलियत तथा संरक्षण प्राप्त गरी राखेको भए त्यस्तो उद्योगले सोही कानुन बमोजिम सुविधा सहुलियत तथा संरक्षण उपभोग गर्न पाउने छ तर अवधि नकिटिएका सुविधाको हकमा यसै ऐन बमोजिम हुनेछ भन्ने व्यवस्था भएको र सोही ऐनको दफा १०(घ) (४) को प्रयोजनको लागि श्री ५ को सरकारले देहायको उद्योगको लागि आश्यक पर्ने कोरामाल सहायक कोरामाल तथा रासायनिक पदार्थको पैठारीमा बिक्रिकर लाग्ने गरी तोकेको छ भनी २०४३।१।१५ को राजपत्रमा प्रकाशित सूचनामा तोकिएको उद्योगहरुमा सो सूचनाको सि.नं. १२ मा सबै किसिमको साबुन पाउडर (झोल समेत) घरेलु स्तरको उद्योगमा मात्र भन्ने उल्लेख भएकोबाट विपक्षीको उद्योगले पैठारी गरेको सो उद्योगका लागि आवश्यक पर्ने कोरामाल तथा रासायनिक पदार्थको पैठारीमा बिक्रिकर लाग्ने स्पष्ट भएको छ । त्यसै गरी २०४४।३।२५ खण्ड ३७ पूर्वातिरिक्ताड्ढ १५(क २) मा प्रकाशित श्री ५ को सरकारले सामयिक कर असूल ऐन (संशोधन सहित), २०१२ को दफा ३ ले दिएको अधिकार प्रयोग गरेको आदेश समेतको आधारमा लगाएको कर कानुन अनुकूल हुँदा मनासिब छ साथै भंसार कार्यालयको निर्णय उपर राजश्व न्यायाधिकरणमा पुनरावेदन गर्न पाउने व्यवस्था हुँदाहुँदै असाधारण अधिकार प्रयोग गरेको हुँदा प्रस्तुत रिटनिवेदन खारेज गरी पाउँ भन्ने समेत अर्थ मन्त्रालयको लिखितजवाफ ।
७. २०४३।१।१५ को राजपत्रमा प्रकाशित सूचना अनुसार औद्योगिक व्यवसाय ऐन, २०३८ को दफा १० को खण्ड (घ) को उपखण्ड (४) प्रयोजनको लागि निकालिएको सूचना, निवेदक उद्योग पनि घरेलु स्तरको उद्योगमा दर्ता भै लुगा धुने साबुन उत्पादन गर्ने भएको हुँदा बिक्रिकर दरबन्दी बमोजिम असूल भएको छ । २०४३।१।१५ को राजपत्रमा उद्योग मन्त्रालयको सूचना अनुसार बिक्रिकर असूल उपर गर्ने व्यवस्था भएकोले मिति २०३९।३।७ को सूचना खारेज भैसकेको छ । २०४४।३।२५ को अर्थ मन्त्रालयको सूचना अनुसार उत्पादनमा उक्त उद्योगको बिक्रिकर नतिर्ने हुँदा अतिरिक्त भंसार महसूल असूल गरिएको कानुनसंगत छ । औद्योगिक व्यवसाय ऐन, २०३० को दफा ९(१) (क) को सुविधा तथा सहुलियतको जिकिर गरेकोमा उक्त ऐनलाई औ.व्य.ऐन, २०३८ को दफा २२ ले खारेज गरिसकेको छ । साथै भंसार ऐनको दफा २७ अनुसार महसूल निर्धारणमा चित्त नबुझे राजश्व न्यायाधिकरणमा पुनरावेदन दिन पाउने व्यवस्था भएकाले प्रस्तुत रिटनिवेदन खारेज गरिपाउँ भन्ने समेत भंसार विभागको लिखितजवाफ ।
८. निर्णयार्थ संयुक्तइजलास समक्ष पेश हुँदा यसमा निवेदकको उद्योग औद्योगिक व्यवसाय ऐन, २०३० अन्तर्गत स्थापना भई संचालन भएको देखिन्छ । औद्योगिक व्यवसाय ऐन, २०३० को दफा ९(१)(क) को देहाय (२) मा घरेलु उद्योगको कच्चा पदार्थमा भंसार महसूल १ प्रतिशतका दरले मात्र लगाइने छ भन्ने व्यवस्था गरेको र औद्योगिक व्यवसाय ऐन, २०३८, (संशोधन सहित) को दफा १४ (१) ले पनि सो सुविधामा कुनै असर परेको देखिँदैन । निवेदकले आयात गरेको वस्तु पनि सोही सुविधा अन्तर्गतको पाम फोटी एसिड आयल भएकोले यस्तो कच्चा पदार्थमा १ प्रतिशत मात्र भंसार महसूल लाग्नु पर्नेमा २५ प्रतिशत अतिरिक्त भंसार महसूल लगाउने गरेको विपक्षी भंसार कार्यालय विराटनगरको निर्णय समेतको कार्यवाही कानुन प्रतिकूल भएकोले उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । बढी लिइएको अतिरिक्त भंसार महसूल निवेदकलाई फिर्ता दिनु भनी विपक्षी भंसार कार्यालय विराटनगरका नाममा परमादेशको आदेश जारी हुने ठहर्छ । बिक्रिकरका हकमा औ.व्य. ऐन, २०३० को दफा ९(१)(क) को देहाय (२) ले घरेलु उद्योगको कच्चा पदार्थमा बिक्रिकर छूट हुनेछ भनी प्रष्ट उल्लेख गरेको र औ.व्य.ऐन, २०३८ को दफा १४(१) ले (साविक पेज नं. १४८) समेत सो सुविधा पाउने भन्ने व्यवस्था गरेको छ । त्यस्तै बिक्रीकर ऐन, २०२३ को दफा २१ अन्तर्गत मिति ०३९।३।७ को राजपत्रमा अर्थ मन्त्रालयद्वारा प्रकाशित सूचनाले पनि घरेलु साबुन उद्योगको लागि पैठारी हुने कोरामाल सहायक कोरामाल र रासायनिक पदार्थहरुमा तथा उत्पादनमा समेत बिक्रीकर नलाग्ने भनी प्रष्ट कानुनी संरक्षण प्रदान गरेको स्थितिमा निवेदकको उद्योगलाई सो सुविधा विपरीत मिति २०४४।५।२६ मा लगाइएको बिक्रीकर कानुन विपरीत हुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । प्रस्तुत उद्योगले दाखिल गरेको बिक्री करको रकम फिर्ता दिनु भनी विपक्षी भन्सार कार्यालय विराटनगरका नाउँमा परमादेशको आदेश समेत जारी हुने ठहर्छ भन्ने समेतको माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानको राय ।
९. यसमा निवेदकको उद्योग घरेलु उद्योग भएको र औ.व्य. ऐन, २०३० अन्तर्गत स्थापना भई संचालन भएको देखिन्छ । औ.व्य.ऐन, २०३० को दफा ९(१)(क) को देहाय (२) मा घरेलु उद्योगको कच्चा पदार्थमा १ प्रतिशत भन्सार महसूल लगाइने व्यवस्था गरेको र सो पछि आएको औ.व्य. ऐन, २०३८ समेतले सो सुविधामा कुनै असर पारेको पाइँदैन । यस्तोमा निवेदकको उद्योगले आयात गरेको कच्चा पदार्थ पाम फोटी एसिड आयलमा १ प्रतिशत मात्र भन्सार महसूल लाग्नु पर्नेमा २५ प्रतिशतले भन्सार महसूल लगाउने गरेको निर्णय सहितका काम कारवाही उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । निवेदकको उद्योगबाट बढी लिएको भन्सार महसूल फिर्ता दिनु भनी विपक्षी भन्सार कार्यालयका नाममा परमादेशको आदेश समेत जारी हुने ठहर्छ । बिक्रीकरका हकमा औ.व्य. ऐन, २०३८ को दफा १०(घ)(१) ले घरेलु उद्योगको उत्पादनमा बिक्री कर लाग्ने छैन भनी ऐ.१०(घ)(२) ले उपखण्ड (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि श्री ५ को सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकेको घरेलु उद्योगको उत्पादनमा बिक्रीकर छूट दिइने छैन भन्ने व्यवस्था गरेको छ । सो बमोजिम श्री ५ को सरकारबाट प्रकाशित मिति २०४३।१।१५ को नेपाल राजपत्रको सूचनामा देहायको उद्योगको लागि आवश्यक पर्ने कोरामाल सहायक कोरामाल तथा रासायनिक कच्चा पदार्थहरुमा बिक्रीकर लाग्ने छ भनी सो सूचनाको सि.नं. १२ मा सबै किसिमको साबुन पाउडर (झोल समेत) घरेलु स्तरको उद्योगमा मात्र भन्ने उल्लेख भएबाट निवेदकले उक्त साबुन उद्योगको लागि आयात गरेको कच्चा पदार्थमा बिक्रीकर असूल गरेको कानुन बमोजिम नै हुँदा बिक्रीकर लाग्नु नपर्ने भन्ने रिटनिवेदन जिकिर पुग्न सक्तैन । बिक्रीकर लिएको कानुन अनुकूल नभएको राय व्यक्त गर्नु हुने मा.न्या.श्री हरगोविन्द सिंह प्रधानको रायसंग सहमत हुन नसक्दा स.अ.नियमावली बमोजिम पूर्णइजलास समक्ष पेश गर्नु भन्ने समेतको माननीय न्यायाधीश श्री प्रचण्डराज अनिलको राय भई पेश हुन आएको रहेछ ।
१०. नियम बमोजिम यस पूर्णइजलास समक्ष पेश हुन आएको प्रस्तुत रिटनिवेदनमा निवेदकतर्फबाट बहस गर्न उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री सुशीलकुमार सिन्हाले निवेदक उद्योग औद्योगिक व्यवसाय ऐन, २०३० अन्तर्गत स्थापित घरेलु उद्योग भएको र सो ऐनले घरेलु उद्योगले आयात गर्ने कच्चा पदार्थमा १ प्रतिशत मात्र भन्सार महसूल लाग्ने र बिक्रीकर छूट दिने व्यवस्था गरेको छ र सो सुविधालाई औ.व्य. ऐन, २०३८ ले समेत असर गरेको छैन । मिति २०४३।१।१५ को नेपाल राजपत्रमा प्रकाशित सूचनाले सबै किसिमको साबुन पाउडर (झोलमा समेत) बिक्रीकर लाग्ने व्यवस्था गरेको छ तर मेरो उद्योग साबुन पाउडर वा साबुन झोल बनाउने होइन तसर्थ उक्त सूचना अन्तर्गत बिक्रीकर लाग्ने दायरामा मेरो उद्योग पर्दैन । बिक्रीकर ऐन, २०२३ को दफा २१ अन्तर्गत मिति २०३९।३।७ को राजपत्रमा अर्थ मन्त्रालयद्वारा प्रकाशित सूचनाले पनि घरेलु साबुन उद्योगको लागि पैठारी गर्ने कोरामाल सहायक कोरामाल (साविक पेज नं. १४९) र रासायनिक पदार्थहरुमा तथा उत्पादनमा समेत बिक्री कर नलाग्ने भनी संरक्षण प्रदान गरेको र सो सूचना कायम रहँदै मिति २०४४।५।२६ मा उक्त सामान पैठारी भएको हुँदा त्यसमा बिक्रीकर लगाउन मिल्दैन भन्ने समेतको बहस गर्नुभयो । प्रत्यर्थी विराटनगर भन्सार कार्यालय समेतको तर्फबाट बहस गर्न खटिई आउनु भएका विद्वान सहन्यायाधिवक्ता श्री खगेन्द्र बस्न्यातले उद्योगहरुको सुविधा सम्बन्धमा औद्योगिक व्यवसाय ऐन लागू हुन्छ । एउटै उद्योगको भन्सार सुविधाका सम्बन्धमा औ.व्य. ऐन लाग्दछ भन्ने र बिक्रीकरको हकमा बिक्रीकर ऐन, २०२३ लाग्नु पर्ने भन्न मिल्दैन । औद्योगिक व्यवसाय ऐन, २०३८ को दफा २१ मा यस ऐनमा लेखिएको कुरामा यसै बमोजिम हुन्छ भन्ने उल्लेख भएकोले बिक्री कर ऐन अन्तर्गतको सूचना निवेदक उद्योगको हकमा आकर्षित हुँदैन । औद्योगिक व्यवसाय ऐन, २०३८ को दफा १०(घ)(४) ले श्री ५ को सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकेको उद्योग बाहेक अन्य उद्योगको उत्पादनमा मिश्रण तथा प्रशोधन प्रकृयामा प्रत्यक्ष रुपले प्रयोग हुने कोरामाल, सहायक कोरामाल तथा रासायनिक पदार्थहरुको पैठारीमा बिक्रीकर लाग्ने छैन भनिएकोले औद्योगिक व्यवसाय ऐन अन्तर्गत श्री ५ को सरकारले मिति २०४३।१।१५ को राजपत्रमा प्रकाशित सूचनाले बिक्रीकर लाग्ने गरी तोकेको हुँदा निवेदकले मिति २०४४।५।२६ मा आयात गरेको कच्चा पदार्थमा बिक्रीकर लिएको कानुनसम्मत छ । बिक्रीकर ऐन, २०२३ अन्तर्गत मिति २०३९।३।७ को नेपाल राजपत्रमा प्रकाशित सूचना लागू हुँदैन भन्ने समेतको बहस प्रस्तुत गर्नुभयो ।
११. प्रस्तुत रिटनिवेदनमा निवेदकका माग बमोजिमको आदेश जारी हुने हो होइन सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।
१२. यसमा निर्णयतर्फ हेर्दा निवेदकको उद्योग भिम सोप फैक्ट्री घरेलु उद्योग भएकोमा विवाद देखिन्न । उक्त उद्योग लुगाधुने साबुन उत्पादन गर्ने उद्योग भन्ने देखिन्छ । सो उद्योग औद्योगिक व्यवसाय ऐन, २०३० अन्तर्गत स्थापना भई संचालन भएको भन्ने कुरामा विवाद देखिएन । औद्योगिक व्यवसाय ऐन, २०३० को दफा ९ को उपदफा (१) को खण्ड (क)(२) मा घरेलु उद्योगलाई त्यस्तो उद्योगको लागि आयात गरिने मेशिनरी पार्टपूर्जा तथा बिजुलीका सरसामान र आधारभूत तथा सहायक कच्चा पदार्थमा एक प्रतिशतको दरले मात्र भन्सार महसूल लगाइने छ र बिक्रीकर छूट हुनेछ भन्ने व्यवस्था गरेको पाइन्छ । निवेदकको उद्योगले मिति २०४४।५।२६ मा आयात गरेको कच्चा पदार्थमा भन्सार महसूल एक प्रतिशत मात्र लिन सकिने सो भन्दा बढी लिन नसकिने तर्फ संयुक्तइजलासमा माननीय न्यायाधीशहरु बीच राय मिलेको देखिँदा र त्यससम्बन्धमा प्रत्यर्थीतर्फको विद्वान सहन्यायाधिवक्ताको समेत अतिरिक्त जिकिर नहुँदा सो तर्फ अन्यथा विचार गरिरहनु परेन ।
१३. अब बिक्री करको हकमा माननीय न्यायाधीशहरु बीच मतैक्य हुन नसकेकोले त्यसतर्फ हेर्दा औद्योगिक व्यवसाय ऐन, २०३० को दफा ९ को उपदफा (१) को खण्ड (क)(२) ले घरेलु उद्योगले आयात गर्ने आधारभूत तथा सहायक कच्चा पदार्थमा बिक्रीकर छूट दिएको पाइन्छ । त्यसपछि आएको औद्योगिक व्यवसाय ऐन, २०३८ को दफा १४ को उपदफा (१) मा “यो ऐन प्रारम्भ हुनु भन्दा अघि स्थापित कुनै उद्योगले तत्काल प्रचलित औद्योगिक व्यवसाय ऐन, २०३० बमोजिम कुनै सुविधा, सहुलियत तथा संरक्षण प्राप्त गरिरहेको वा पाउने भए त्यस्तो उद्योगले सोही ऐन बमोजिम सुविधा सहुलियत तथा संरक्षण उपभोग गर्न पाउनेछ” भन्ने लेखिएको देखिन्छ । निवेदक उद्योगले औद्योगिक व्यवसाय ऐन, २०३० बमोजिम बिक्रीकर छूट पाएकोमा त्यस्तो सुविधा औद्योगिक व्यवसाय ऐन, २०३८ को दफा १४(१) ले काटेको पाइन्न । त्यस्तै औद्योगिक व्यवसाय ऐन, २०३८ को दफा १०(घ) को उपखण्ड (४) मा (साविक पेज नं. १५०) “श्री ५ को सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकेको उद्योग बाहेक अन्य उद्योगको उत्पादन मिश्रण तथा प्रशोधन प्रकृयामा प्रत्यक्ष रुपले प्रयोग हुने कोरामाल, सहायक कोरामाल तथा रासायनिक पदार्थहरुको पैठारीमा बिक्रीकर लाग्ने छैन” भन्ने उल्लेख भएको पाइन्छ । सोही दफा १०(घ)(४) को प्रयोजनको लागि भनी श्री ५ को सरकार उद्योग मन्त्रालयद्वारा मिति २०४३।१।१५ को नेपाल राजपत्र खण्ड ३६ संख्या ३ मा, प्रकाशित सूचनामा देहाय बमोजिमको उद्योगको लागि आवश्यक पर्ने कोरामाल, सहायक कोरामाल तथा रासायनिक पदार्थहरुको पैठारीमा बिक्रीकर लाग्ने गरी तोकेको छ भन्दै उक्त सूचनाको देहाय १२ मा “सबै किसिमको साबुन पाउडर (झोल समेत)” भन्ने उल्लेख भएको देखिन्छ । उक्त सूचनाले साबुन पाउडर (झोल समेत) बनाउने उद्योगको उत्पादनमा बिक्रीकर छूट दिइने छैन भनेको छ । प्रस्तुत उद्योग साबुन पाउडर वा साबुन झोल बनाउने उद्योग नभई लुगाधुने ठोस साबुन बनाउने उद्योग भन्ने देखिँदा प्रस्तुत उद्योगलाई उक्त सूचनाले बिक्रीकर नपाएको भन्ने देखिन आउँदैन । तसर्थ निवेदकको प्रस्तुत उद्योगको लागि आयातित कच्चा पदार्थमा औद्योगिक व्यवसाय ऐन बमोजिम बिक्रीकर छूट सुविधा पाउन सक्ने देखिन आयो । अतः भन्सार महसूलतर्फ संयुक्तइजलासमा माननीय न्यायाधीशहरु बीच एकै राय भएको र बिक्रीकरतर्फ कानुन बमोजिम बिक्रीकर छूट सुविधा पाउन भन्ने देखिएकोले निवेदकको प्रस्तुत उद्योगलाई प्रत्यर्थी विराटनगर भन्सार कार्यालयले मिति २०४४।५।२६ मा लगाएको बिक्रीकर कानुन विपरीत देखिँदा बिक्रीकर लगाउने गरेको निर्णय तथा सो सम्बन्धी काम कारवाही उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । बिक्रीकर छूट पाउने भन्ने सम्बन्धमा माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानको राय मनासिब ठहर्छ । बढी लिएको भन्सार महसूल फिर्ता दिने सम्बन्धमा संयुक्तइजलासको दुवै माननीय न्यायाधीशहरुको राय ठहर मिलेकै देखिँदा सो बमोजिम भन्सार महसूल निवेदकले फिर्ता पाउने नै र बिक्रीकर नलाग्ने सम्बन्धमा माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानको राय मनासिब ठहरेकोले प्रस्तुत उद्योगले मिति ०४४।५।२६ मा दाखिल गरेको बिक्रीकरको रकम फिर्ता दिनु भनी प्रत्यर्थी विराटनगर भन्सार कार्यालयका नाउँमा परमादेशको आदेश समेत जारी हुने ठहर्छ । प्रत्यर्थी कार्यालयको जानकारीको लागि आदेशको एक प्रति नक्कल महान्यायाधिवक्ताको कार्यालय मार्फत पठाई फायल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा हामीहरु सहमत छौं । न्या.बब्बरप्रसाद सिंह, न्या.त्रिलोकप्रताप राणा
इतिसम्वत् २०४८ साल असार १८ गते रोज ३ शुभम् ।