शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९३६० - भ्रष्टाचार

भाग: ५७ साल: २०७२ महिना: असार अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

सम्माननीय प्र.न्यायाधीश श्री रामकुमार प्रसाद शाह

माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र

फैसला मिति : २०७१।८।१६।३

०७०-CR-०४१८

 

मुद्दाः- भ्रष्टाचार ।

 

पुनरावेदक / वादी : नेपाल सरकार (सैनिक अनुसन्धान समिति)

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : ललितपुर जिल्ला, ललितपुर उ.म.न.पा.वडा नं.१५ घर भई श्री नं.११ बाहिनी अड्डाका व्य.नं.१५८७ चा.सहायक रथी (तत्कालीन महासेनानी) सुधीर श्रेष्ठ

 

भ्रष्टाचारजन्य कसुर स्थापित हुनको लागि प्रतिवादीले आफू वा अरू कुनै व्यक्तिलाई गैरकानूनी लाभ पुर्‍याएको भन्ने कुरा प्रत्यक्ष, सार्थक र निश्चयात्मक प्रमाणबाट शङ्कारहित तवरले पुष्टि भएको हुनुपर्ने । 

प्रमाण ऐन, २०३१ को दफा २५ को कानूनी व्यवस्थाअनुसार फौजदारी कसुरसम्बन्धमा अभियोजन पक्षले प्रतिवादीउपर लगाएको आरोपलाई शङ्कारहित तवरले पुष्टि गर्नुपर्दछ । अभियोजन पक्षले लगाएको आरोप पुष्टि गर्ने क्रममा शङ्काको कुनै गुञ्जाइस रहनु हुँदैन । शङ्काको गुञ्जाइस उत्पन्न भएमा त्यसको फाइदा अभियुक्तले पाउने ।

(प्रकरण नं.४)

 

पुनरावेदक / वादीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता कृष्णमोहन कोइराला

प्रत्यर्थी / प्रतिवादीका तर्फबाट :

अवलम्बित नजिर :

सम्बद्ध कानून :

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा १ र ३, दफा १६ को उपदफा १, दफा १७

प्रमाण ऐन, २०३१ को दफा २५

 

सैनिक विशेष अदालतमा फैसला गर्नेः 

अध्यक्ष मा.न्यायाधीश श्री पुरूषोत्तम भण्डारी

सदस्य रक्षा सचिव श्री नवीनकुमार घिमिरे

सदस्य प्राड उपरथी श्री विएकुमार शर्मा

 

फैसला

न्या.ओमप्रकाश मिश्र : सैनिक विशेष अदालतको मिति २०६८।२।१ को फैसलाउपर सैनिक ऐन, २०६३ को दफा ११९(४) बमोजिम वादीको तर्फबाट यस अदालतमा पुनरावेदन परेको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम्‌ ठहर यसप्रकार छ :

नेपाली सेनाअन्तर्गत श्री नं.११ बाहिनी अड्डामा कार्यरत् नं.१५८७ चालक महासेनानी सुधिर श्रेष्ठले आफ्नो पदको दुरूपयोग गर्दै अमेरिकाको हेलिकप्टर एडभेन्चरमा ४०,०००।- डलरमा तीन महिनाको लागि इन्स्ट्रक्टर तालिमको लागि टि.ए.डि.ए. समेत लिएर गएकामा सो स्कुलबाट १२,०००।- डलर फिर्ता लिई दुई महिनामा नै नेपाल फर्किएको र सन् १९९९ जुलाई २० बाट सुरू भएको कोर्ष तीन महिना नपुग्दै दुई महिनामा नै स्कुल छोडेको जानकारीप्राप्त भए तापनि निजले नं.११ बाहिनी अड्डासँग पुरा तीन महिनाको टि.ए.डि.ए. ११० डलर प्रतिदिनका दरले खाएको र नक्कली टिकटसमेत पेस गरेकाले सरकारी रकम भ्रष्टाचार गर्नेलाई कारवाही गरियोस् भन्ने उजुरी अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट रक्षा सचिवसमक्ष पेस भएकामा उक्त उजुरीपत्रसमेत संलग्न गरी रक्षा मन्त्रालयले अनुसन्धानको लागि सैनिक अनुसन्धान समितिलाई च.नं.१७४३ मिति २०६५।१०।७ गते लेखेको पत्र ।

चालक महासेनानी सुधिर श्रेष्ठले भ्रष्टाचारजन्य कार्य गरेको भन्नेसम्बन्धमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पर्न आएको उजुरीउपर छानबिन गर्नको लागि आयोगबाट रक्षा मन्त्रालयमा प्रेषित गरिएको उजुरी कागजातहरूको प्रतिलिपि सैनिक ऐन, २०६३ को दफा ६२ अनुसारका मुद्दाहरूको सम्बन्धमा छानबिन गर्न सैनिक अनुसन्धान समिति गठन हुने व्यवस्था भएबाट निज महासेनानीउपरको अभियोगको सम्बन्धमा सैनिक अनुसन्धान समितिबाट अनुसन्धान तहकिकात हुन रक्षा मन्त्रालयमा पत्राचार गर्नुपर्ने र अनुसन्धानको क्रममा सैनिक अनुसन्धान समितिबाट माग भए निज महासेनानीसँग सम्बन्धित विवरण तथा कागजातहरू सम्बन्धित युनिटबाट झिकाई अनुसन्धान समितिमा उपलब्ध गराउने भन्ने श्री कार्यरथी विभाग (प्राड विवाक) को जाहेरीअनुसार निज महासेनानी सुधिर श्रेष्ठको तालिमको विवरणको सक्कलै कागजात उपलब्ध गराई श्री रक्षा मन्त्रालयले सैनिक अनुसन्धान समितिलाई लेखेको च.नं.१२१४ मिति २०६६।९।२ गतेको पत्र ।

निजले भ्रष्टाचारजन्य कार्य गरेको भन्नेसम्बन्धमा सैनिक ऐन, २०६३ को दफा ६२ बमोजिम विस्तृत अनुसन्धानको लागि रक्षा मन्त्रालयबाट लेखी आएको र उक्त सम्बन्धमा नेपाली सेना, प्राड विवाकले यस विषयमा छानबिन गरेको भन्ने देखिएकाले उक्त छानबिनसम्बन्धी सक्कलै मिसिल माग गर्न भनी सैनिक अनुसन्धान समितिले मिति २०६६।१०।२३ मा गरेको आदेशनुसार कागजात उपलब्ध गराउन कार्यरथी विभाग (प्राड विवाक) लाई सैनिक अनुसन्धान समितिले लेखेको च.नं.१२ मिति २०६६।१०।१३ गतेको पत्र ।

म २१ जुलाई १९९९ मा तालिमको लागि अमेरिका गई २१ अक्टोबर १९९९ मा नेपाल फर्केको हुँ । मैले पेस गरेको हवाई टिकटमा प्रस्थान मिति उल्लेख भएको र तालिम सम्पन्न हुने दिन यकिन नहुने भएकाले फर्कने मिति उल्लेख नभएको हो । फर्केको सम्बन्धमा मैले पाएको लाइसेन्स (UKCAA Instructor Rating) मा १९ अक्टोबर १९९९ भन्ने उल्लेख भएकाले मैले ३ महिना तालिम पूरा गरेको देखिन्छ । २०५६ साल कात्तिक महिनाको राशन रिटर्नबाट १२ दिन बाहिर रहेको र १७ दिन राशन खाएकाले पनि यसलाई पुष्टि गर्दछ । ३ महिना तालिम नगरी २ महिनामात्र गरेर १ महिनाको १२,०००।- डलर फिर्ता लिएको भन्ने सम्बन्धमा उक्त रकम अफिसियल माध्यमबाट सम्बन्धित तालिम केन्द्रमा पठाउने स्कुल फी हो । अन्तर्राष्ट्रियस्तरको स्कुलबाट यस्तो किसिमको तालिम शुल्क फिर्ता गर्ने प्रचलन हुँदैन । यदि मैले २ महिनामा तालिम सम्पन्न गरेर १ महिनाको तालिम फी फिर्ता गर्नु परेमा अफिसियल माध्यमबाट नै फिर्ता हुन्छ । Helicopter Adventure Inc. को पत्रका सम्बन्धमा उक्त पत्र जारी हुँदा म सेनानी थिएँ तर सो पत्रमा मलाई Col. लेखेको कारण उक्त पत्र झुठ्ठा हो । रकम पठाइएको सम्बन्धमा ११ वर्ष अगाडिको काम कारवाही भएकाले रकमको हिसाब किताब कति लिएँ कति सरकारी माध्यममार्फत् गयो त्यो यकिन गर्ने सम्झन गाह्रो भयो भन्नेसमेत व्यहोराको महासेनानी सुधिर श्रेष्ठले मिति २०६६।२।६ मा सैनिक अनुसन्धान समितिसमक्ष गरेको बयान ।

निज महासेनानी सुधिर श्रेष्ठले २१ सेप्टेम्बर १९९९ मा १ महिना अगावै तालिम सम्पन्न गरी फर्केको भन्ने उजुरी र "म २१ अक्टोबर तालिम सम्पन्न गरी फर्केको" भन्ने निजको बयान भएको कारण निज फर्केको मिति यकिन गर्नको लागि परराष्ट्र मन्त्रालयमा राहदानीमा आगमन मिति उल्लेख हुने भएकाले उक्त मन्त्रालयमा पासपोर्ट उपलब्ध गराउने, पासपोर्ट उपलब्ध गराउन नसकिने भए निजको फिर्ता मिति उल्लेख गर्न पत्राचार गरिएकामा नयाँ अफिसियल राहदानी जारी गर्नको लागि पहिले लिएको अफिसियल राहदानीको भिसा पेज समाप्त भएको सुनिश्चित गरेर मात्र नयाँ अफिसियल राहदानी जारी गरिने । पहिले लिएको अफिसियल राहदानीलाई रद्द गरी सम्बन्धित व्यक्ति वा संस्थालाई नै फिर्ता गर्ने गरिएको भन्नेसमेत व्यहोराको श्री केन्द्रीय राहदानी कार्यालको मिति २०६७।१०।२७ गतेको पत्र ।

निज चालक महासेनानीले पेस गरेको हवाई टिकटमा फिर्ता हुने मिति यकिन नभएको सम्बन्धमा थाई एअरवेजमा पत्राचार गर्दा उक्त एअरवेजको १६ फ्रेब्रुअरी २०११ को पत्रबाट सन् १९९९ को रेकर्ड नभएको भनी लेखी आएको र अध्यागमन विभागमा पत्राचार गर्दा अध्यागमन कार्यालय त्रि.अ.वि.ले त्यस्तो कागजातहरू धुल्याई सकिएकाले अभिलेख नरहेको भनी सैनिक अनुसन्धान समितिलाई च.नं.५९६ को मिति २०६७।११।६ मा लेखेको पत्र ।

महासेनानी सुधिर श्रेष्ठ तत्कालीन श्री ५ को सरकारको सचिवस्तरीय निर्णयानुसार २० जुलाई १९९९ देखि २१ अक्टोबर १९९९ सम्म तीन महिनाको लागि तालिममा सहभागी हुन गएकामा निज दुई महिनामात्र तालिम गरी बीचैमा फर्की सरकारी रकम फिर्ता लिई आएको भन्ने उजुरी सम्बन्धमा निजलाई तालिम प्रदान गर्ने Helicopter Adventure Inc. ले ११ नं. बाहिनी अड्डालाई October 7, 1999 को पत्रमा Col. Shrestha left us on Septmber 21 and I understand he was due fly back in Nepal on September 24 भन्ने व्यहोरा उल्लेख भएकाले निजले ११ नं. बाहिनीबाट टि.ए.डि.ए. लगायतका सुविधा उपभोग गरेको देखिँदा निज तीन महिनाको तालिमका लागि गएकामा सो पूरा नगरी दुई महिनामा नै फर्की आएको देखिन आयो । साथै निजले मिति २०६५।९।७ को निवेदनसाथ पेस गरेको प्रमाणपत्रमा पनि Course completed on the twenty first day of September, Nineteen Hundred Ninety Nine भन्ने व्यहोरा उल्लेख भएको देखिएकाले समेत निजले दुई महिना तालिममा सहभागी भई तीन महिना सहभागी भएको भनी सरकारी रकम हिनामिना गरेकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) र (३) र दफा १७ बमोजिमको कसुर गरेको हुनाले सोही दफा ८ को उपदफा (१) र (३) र दफा १७ अनुसार सजाय र बिगो असुलउपर गरी बिगोबमोजिम जरिवानासमेत गरिपाउँ । साथै निजले आफ्नो निवेदनमा पनि झुठो विवरण पेस गरेको स्पष्ट भएको हुँदा एउटा सैनिक उच्च अधिकारीले यस समितिसमक्ष झुठो बयान दिने तथा झुठो विवरण पेस गरी भ्रष्ट आचरण गरेको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१) अनुसार सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको मिति २०६७।११।१० गतेको सैनिक अनुसन्धान समितिको प्रतिवेदन ।

तत्कालीन श्री ५ को सरकारको सचिवस्तरीय निर्णयअनुसार २० जुलाई १९९९ देखि २१ अक्टोबर १९९९ सम्ममा तीन महिनाको लागि Instructor तालिमको लागि श्री नं.११ बाहिनी अड्डाका महासेनानी सुधिर श्रेष्ठलाई खटाई पठाइएकामा तोकिएको तालिम अवधि तीन महिनासम्म तालिम नगरी दुई महिनामा नै फिर्ता भएको र झुठ्ठा विवरण पेस गरी तीन महिनाको यु.एस.डलर २१५५९।०० मध्ये एक महिनाको यु.एस.डलर ७१८६।३३ को तत्कालीन सटही दररेटले हुन आउने रकम रू.४,९४,४१९।७३ र एक महिनाबापतको टि.ए.डि.ए. प्रतिदिनको यु.एस.डलर १६ का दरले यु.एस.डलर ८४० को तत्कालीन सटही दरअनुसार ३३,०२४।- समेत जम्मा रू.५,२७,४४३।७३ लिई भ्रष्टाचार गरेकाले सैनिक ऐन, २०६३ को दफा ६२ अनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) र (३), दफा १६(१), दफा १७ बमोजिमको कसुर गरेको हुनाले सोही दफा ८ को उपदफा (१) र (३), दफा १६(१) र दफा १७ अनुसार सजाय र बिगो असुलउपर गरी बिगोबमोजिम जरिवानासमेत गरिपाउँ भन्ने माग दाबीसहितको मिति २०६७।११।१० गतेको अभियोगपत्र ।

मलाई खटाइएको हेलिकप्टर इन्स्ट्रक्टर तालिममा तोकिएको पूरा समय सहभागी भई तालिम समाप्त भएपछि फर्केको हुँ, मैले तालिममा सहभागी भएबापत नियमानुसार पाउने रकममात्र लिएको छु । मैले भ्रष्टाचार गरेको भनी मउपर लगाइएको अभियोग माग दाबी निराधार छ । म Helicopter Adventure Inc. मा तीन महिने हेलिकप्टर इन्स्ट्रक्टर तालिमको लागि २१ जुलाई १९९९ मा त्यसतर्फ प्रस्थान गरी २१ अक्टोबर १९९९ मा तालिम सम्पन्न गरी नेपाल फर्किएको हुँ । मैले उक्त तालिमको लागि सरकारी नियमानुसार पाउने टि.ए.डि.ए. बापतको रू.४,९४,४१९।७३ पेस्की स्वरूप नं.११ बाहिनी अड्डाबाट प्राप्त गरी तालिमपश्चात्‌ नेपाल फर्केपछि सो रकमको रीतपूर्वकको फाँटवारी नं.११ बाहिनी अड्डामा पेस गरेको हुँ । अभियोगपत्रमा उल्लेख गरिएको यु.एस.डलर २१,५५९।- मैले व्यक्तिगतरूपमा पाउने रकम नभएर नेपाल सरकारले नेपाल राष्ट्र बैङ्कबाट Helicopter Adventure Inc., USA लाई अफिसियल माध्यमबाट पठाइएको हो । तालिम पूरा नभई सो रकम फिर्ता गर्नुपरेमा जुन माध्यमबाट जुन निकायले पठाइएको हो सोही माध्यमबाट सोही निकायलाई फिर्ता गर्नुपर्छ । Helicopter Adventure Inc. को 7 October 1999 को पत्रको सम्बन्धमा सैनिक अनुसन्धान समितिलाई नं.११ बाहिनीबाट मिति २०६७।४।११ मा लेखिएको पत्रमा उक्त Helicopter Adventure Inc. को पत्र सो बाहिनीको रेकर्डमा नभएको र 5 October 1999 मा ११ बाहिनीबाट Helicopter Adventure Inc. लाई कुनै पत्राचार नगरिएको भन्ने उल्लेख भएबाट समेत सो पत्रको कुनै आधिकारिकता छैन । सो पत्र कसले कुन रिसइवीको कारणले म विरूद्ध सिर्जना गरेको हो मलाई थाहा भएन । Course completed on the twenty first day of september 1999 उल्लेख भएको मैले पेस गरेको प्रमाणपत्र म तालिम गर्न गएको Helicopter Adventure Inc. ले तालिम सम्पन्न भएपछि दिएको प्रमाणपत्र हो । सोको मान्यताको लागि उक्त Inc. affiliated UKCAA बाट थप एक महिना Course गरी Instructor लाइसेन्स लिनुपर्ने हुँदा सो Course गरी UKCAA Board बाट २१ अक्टोबर १९९९ मा लाइसेन्स प्राप्त गरेको छु भन्नेसमेत व्यहोराको मिति २०६७।१२।१४ गते सैनिक विशेष अदालतसमक्ष प्रतिवादी महासेनानी सुधिर श्रेष्ठले दिएको बयान ।

प्रतिवादी जुन अवधिको लागि तालिममा गएको हो सो अवधिको तालिम सम्पन्न गरी प्रमाणपत्रसमेत प्राप्त गरेको देखिएबाट प्रतिवादीले तीन महिना तालिम पूरा नगरी दुई महिना मै नेपाल फर्किएको भन्ने तथ्य नै स्थापित हुन आएको नदेखिँदा बढी सुविधा लिई सरकारी रकम दुरूपयोग गरी भ्रष्टाचार गरेको भन्ने नदेखिँदा प्रतिवादीउपरको अभियोग दाबी पुग्न नसकी आरोपित कसुरबाट प्रतिवादीले सफाइ पाउने ठहर्छ भन्ने सैनिक विशेष अदालतको मिति २०६८।२।१ को फैसला ।

सैनिक विशेष अदालतको फैसलामा चित्त बुझेन । प्रतिवादीलाई तीन महिनाको तालिममा पठाइएकामा दुई महिनामै फिर्ता भई तीन महिना तालिमबापतको रकम बुझी लिई भ्रष्टाचार गरेको अवस्थामा दाबीबमोजिम सजाय हुनुपर्नेमा सफाइ दिने ठहराएको सैनिक विशेष अदालतको फैसला त्रुटिपूर्ण भएकाले उल्टी गरी अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकार सैनिक अनुसन्धान समितिको यस अदालतमा परेको पुनरावेदनपत्र ।

नियमबमोजिम दैनिक पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दामा वादी नेपाल सरकारतर्फबाट उपस्थित विद्वान्‌ उपन्यायाधिवक्ता श्री कृष्णमोहन कोइरालाले प्रतिवादी सुधिर श्रेष्ठ तीन महिनाको तालिमको लागि मनोनयन भएका दुई महिनामा नै फिर्ता भएको तर तीन महिनाको तालिमबापतको भत्ता बुझेकाले निजले भ्रष्टाचार गरेको ठहर गर्नुपर्नेमा सफाइ दिएको सैनिक विशेष अदालतको फैसला मिलेको 

छैन । उल्टी भई अभियोग दाबीबमोजिम सजाय हुनुपर्छ भन्नेसमेत बहस गर्नुभयो ।

उक्त बहससमेतलाई सुनी प्रस्तुत मुद्दामा प्रतिवादीलाई अभियोग दाबीबाट सफाइ दिने ठहराएको सैनिक विशेष अदालतको फैसला मिलेको छ वा छैन र वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्ने हो वा होइन भन्ने निर्णय दिनुपर्ने देखियो ।

२. निर्णयतर्फ विचार गर्दा प्रतिवादी महासेनानी सुधिर श्रेष्ठलाई नेपाल सरकार सचिवस्तरीय निर्णयले सन् १९९९ जुलाई २० देखि अक्टोबर २१ सम्म तीन महिनाको लागि इन्ट्रक्टर तालिममा सहभागी हुन अमेरिका पठाएकामा निजले दुई महिनामात्र तालिम लिई तीन महिनाको तालिम खर्च सरकारलाई बेहोर्न लगाउने कार्य गरी बद्‌नियतपूर्वक हानी नोक्सानी गराएको र नेपाल फर्केपछि एक महिनाको भत्ताको झुठ्ठा विवरण पेस गरी रकम प्राप्त गरेकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) र (३), दफा १६ उपदफा (१) तथा दफा १७ बमोजिमको कसुर गरेकाले सजाय गरी बिगो रू.५,२७,४४३।७३ समेत असुलउपर गरिपाउँ भन्ने अभियोग दाबी रहेको देखिन्छ । सैनिक विशेष अदालतले प्रतिवादीलाई आरोपित कसुरबाट सफाइ दिने ठहराएको फैसलाउपर वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा पुनरावेदन परी यस इजलाससमक्ष निर्णयार्थ पेस हुन आएको रहेछ ।

३. प्रतिवादी सुधिर श्रेष्ठले सैनिक अनुसन्धान समिति र सैनिक विशेष अदालतसमेतमा बयान गर्दा आफू तीन महिनाको हेलिकप्टर इन्ट्रक्टर तालिमको लागि २१ जुलाई १९९९ मा संयुक्त राज्य अमेरिकातर्फ प्रस्थान गरी २१ अक्टोबर १९९९ मा तालिम सम्पन्न गरी नेपाल फर्की उक्त तालिमको लागि सरकारी नियमानुसार पाउने भत्ताको रकमको रीतपूर्वकको फाँटवारी पेस गरेकाले भ्रष्टाचारजन्य कसुर गरेको होइन भन्ने बयान गरेको पाइन्छ । यी प्रतिवादीउपर वादी पक्षबाट लिइएको अभियोग दाबीमा हेलिकप्टर इन्ट्रक्टरको तालिम सञ्चालन गर्ने संस्था Helicopter Adventure Inc. ले ७ अक्टोबर १९९९ मा श्री नं.११ बाहिनी अड्डालाई लेखेको पत्रमा यी प्रतिवादीले २१ सेप्टेम्बरमा तालिम छाडी नेपाल फर्केको भन्ने उल्लेख भएको आधारमा निजले दुई महिनाको मात्र तालिम लिई तीन महिनाको तालिम खर्च लिइएकाले  भ्रष्टाचारजन्य कसुर गरेको भनी उल्लेख भएको पाइन्छ । तर Helicopter Adventure Inc. ले ७ अक्टोबर १९९९ मा नं.११ बाहिनी अड्डालाई लेखेको भनीएको उक्त पत्रको आधिकारिकता सम्बन्धमा सैनिक अनुसन्धान समितिबाट श्री ११ नं. बाहिनी अड्डालाई बुझिएकामा उक्त अड्डाको रेकर्डमा त्यस्तो कुनै पत्र नभएको भन्ने मिति २०६७।४।११ को पत्रबाट जवाफ पठाइएको मिसिल संलग्न उक्त पत्रबाट देखिन्छ । त्यसका अतिरिक्त उक्त Helicopter Adventure Inc. ले पठाएको पत्रको सक्कलै प्रति झिकाउन भनी सैनिक विशेष अदालतबाट आदेश भई श्री ११ नं. बाहिनी अड्डामा पत्राचार हुँदासमेत उक्त पत्र सो बाहिनी अड्डाको रेकर्डमा नभएको भन्ने जवाफ पठाएको देखिन आउँछ । यी प्रतिवादीउपर जुन पत्रको आधारमा प्रस्तुत मुद्दा चलाइएको हो सो पत्रको आधिकारिक अस्तित्व नै सम्बन्धित कार्यालयमा नभएको अवस्थामा प्रतिवादीउपरको दाबी शङ्कारहित भएको मान्न मिल्ने भएन ।

४. वस्तुतः अभियोजन पक्षले यी प्रत्यर्थी सुधिर श्रेष्ठउपर भ्रष्टाचार गरेको भन्ने अभियोग लगाई अभियोगपत्र दायर गरेको छ । भ्रष्टाचारजन्य कसुर स्थापित हुनको लागि प्रतिवादीले आफू वा अरू कुनै व्यक्तिलाई गैरकानूनी लाभ पुर्‍याएको भन्ने कुरा प्रत्यक्ष, सार्थक र निश्चयात्मक प्रमाणबाट शङ्कारहित तवरले पुष्टि भएको हुनुपर्दछ । प्रमाण ऐन, २०३१ को दफा २५ बमोजिम फौजदारी मुद्दामा अभियुक्तको कसुर प्रमाणित गर्ने भार वादी पक्षमा रहने व्यवस्था छ । उक्त कानूनी व्यवस्था अनुसार फौजदारी कसुर सम्बन्धमा अभियोजन पक्षले प्रतिवादीउपर लगाएको आरोपलाई शङ्कारहित तवरले पुष्टि गर्नुपर्दछ । अभियोजन पक्षले लगाएको आरोप पुष्टि गर्ने क्रममा शङ्काको कुनै गुञ्जाइस रहनु हुँदैन । शङ्काको गुञ्जाइस उत्पन्न भएमा त्यसको फाइदा अभियुक्तले पाउने हुन्छ । प्रस्तुत मुद्दामा प्रतिवादीउपर भ्रष्टाचारको कसुरमा अभियोग लगाउँदा अभियोग पुष्टि हुने तथ्य एवम्‌ प्रमाण वादी पक्षबाट पेस हुन सकेको देखिएन ।

५. यी प्रतिवादी सुधिर श्रेष्ठ अमेरिकामा सञ्चालन भएको तीन महिनाको Helicopter Instructor तालिममा सहभागी हुन त्यसतर्फ गई तालिम सम्पन्न गरी तालिम प्रदान गर्ने संस्था Helicopter Adventure Inc. बाट प्रमाणपत्रसमेत प्राप्त गरेको देखिन्छ । सो तालिमको प्रमाणपत्रमा तालिम समाप्त भएको मिति २१ सेप्टेम्बर १९९९ भन्ने जनिएको सम्बन्धमा प्रतिवादीले सैनिक अनुसन्धान समिति र सैनिक अदालतमा बयान गर्दा प्रमाणपत्रमा उल्लेख भएको मिति २१ सेप्टेम्बर १९९९ मा निजले उक्त Helicopter Adventure Inc. बाट तालिम पुरा गरेको मिति भएको र सो तालिमपश्चात्‌ सोको मान्यताको लागि उक्त Helicopter Adventure Inc. बाट affiliated भएको United Kingdom Civil Aviation Authority बाट थप एक महिनाको कोर्स गरी २१ अक्टोबर १९९९ मा लाइसेन्स प्राप्त गरेको भनी बयान गरेको पाइन्छ । उक्त United Kingdom Civil Aviation Authority बाट प्रतिवादीको नाममा जारी भएको Airline Transport Pilot’s License को सम्बन्धमा सैनिक अनुसन्धान समितिबाट नेपाल नागरिक प्राधिकरणलाई पत्राचार हुँदा सो प्राधिकरणको मिति २०६७।१०।२५ को पत्रबाट यी प्रतिवादीले २० जुलाई १९९९ देखि २१ सेप्टेम्बर १९९९ सम्म Flight Instructor Training गरेको र उक्त तालिमपश्चात्‌ Civil Aviation Licensing Requirement अनुसार उडानसम्बन्धी Type, Technical, Performance जस्ता लिखित, प्रयोगात्मक र अन्य थप परीक्षाहरूमा सफल भएपछि मात्र तालिमको विषयसम्बन्धी Rating License मा Endorse हुने आधारमा निजको लाइसेन्समा Flight Instructor Rating समावेश भएकाले सो लाइसेन्स नै प्रमाणपत्र हुने भनी लेखी आएकाले प्रतिवादीले आफूलाई तोकिएको तालिम पूरा नगरी नेपाल फर्किएको भन्ने अभियोग दाबीबमोजिमको कसुर गरेको मान्न मिलेन । यी प्रतिवादीलाई जुन अवधिका लागि तालिममा पठाइएको हो सो अवधिको तालिम लिई तालिम प्रदान गर्ने संस्थाबाट प्रमाणपत्रसमेत प्राप्त गरेको देखिएकाले प्रतिवादीले भ्रष्टाचार गरेको भन्ने वादीको दाबी मनासिब देखिएन ।

६. तसर्थ उपर्युक्त आधार र कारणसमेतबाट यी प्रतिवादी सुधिर श्रेष्ठले आफूलाई तोकिएबमोजिमको तालिम लिई तालिमको प्रमाणपत्रसमेत प्राप्त गरी तोकिएबमोजिमको अवधिको तालिम भत्तासम्म बुझेको भन्ने देखिएकाले निजले भ्रष्टाचारजन्य कसुर गरेको भन्ने कुरा पुष्टि भएको नदेखिँदा निजलाई आरोपित कसुरबाट सफाइ दिने ठहराएको सैनिक विशेष अदालतको मिति २०६८।२।१ को फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाइदिनू ।

 

उक्त रायमा सहमत छु ।

स.प्र.न्या.रामकुमार प्रसाद शाह

 

इति संवत् २०७१ साल मङ्सिर १६ गते रोज ३ शुभम् । 

इजलास अधिकृतः विश्वनाथ भट्टराई

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु