निर्णय नं. ९३६१ - गोली हानी गैंडा घाइते पारेको

सर्वोच्च अदालत, संयुक्त इजलास
सम्माननीय प्र.न्यायाधीश श्री रामकुमार प्रसाद शाह
माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र
फैसला मिति : २०७१।८।१६।३
०६७–CR–०५२९
मुद्दाः गोली हानी गैंडा घाइते पारेको ।
पुनरावेदक / वादी : पुरानो गोरख गण कसराको प्रतिवेदनले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : जिल्ला पर्सा, ठोरी गा.वि.स.वडा नं.९ इच्छानगर बस्ने रामबहादुर बलसमेत
अपराधको प्रकृति, कसुरदारको संलग्नता, कसुरको गाम्भीर्यतालगायतका कसुरसँग सम्बन्धित विभिन्न सन्दर्भहरूलाई विचारै नगरी कसुरमा संलग्न कुनै पनि अभियुक्तलाई यान्त्रिकरूपमा न्यूनतम् वा अधिकतम् सजाय गर्ने भन्ने विधायिकाको मनसाय होइन । विधायिकाले निश्चित सजायको मात्रा उल्लेख नगरी धेरै प्रकारका कसुरमा न्यूनतम् र अधिकतम् सजायको मात्रा तोकिदिएको अवस्थामा तोकिएको सीमाभित्र रही सजाय निर्धारण गर्ने स्वविवेकीय अधिकार मुद्दा हेर्ने अधिकारी वा अदालतलाई प्रदान गरेकाले अभियुक्तको कसुरको मात्रासँग मिल्ने गरी निर्णयकर्ताले विवेकसम्मत सजायको मात्रा निर्धारण गर्नुपर्ने ।
(प्रकरण नं.८)
पुनरावेदक / वादीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता गोपिचन्द्र भट्टराई
प्रत्यर्थी / प्रतिवादीका तर्फबाट :
अवलम्बित नजिर :
सम्बद्ध कानून :
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ५(क)(छ)(ज), २६(१)
सुरू फैसला गर्ने :
प्रमुख संरक्षण अधिकृत श्री मेघबहादुर पाण्डे
पुनरावेदन तहमा फैसला गर्ने :
मा.न्या. श्री केशरीराज पण्डित
मा.न्या. श्री भरतप्रसाद अधिकारी
फैसला
न्या.ओमप्रकाश मिश्र : पुनरावेदन अदालत, हेटौंडाको मिति २०६७।३।२९ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा पुनरावेदन परेको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य र ठहर यसप्रकार छ :
गण र यस कार्यालयको संयुक्त गस्ती टोलीले जर्नेली पोस्टदेखि अन्दाजी ५ कि.मि. दक्षिण–पूर्व बहपुर खोलाको जङ्गल इलाकाबाट जिल्ला पर्सा, ठोरी गा.वि.स.वडा नं.९ इच्छानगर बस्ने वर्ष ४४ को रामबहादुर बललाई गैंडालाई गोली हानी घाइते बनाई पछ्याउँदै गरेको अवस्थामा पक्राउ गरेकाले आवश्यक कारवाहीको लागि बरामदी मुचुल्कामा उल्लेखित हतियार, खरखजाना र बरामदी मुचुल्कासहित पेस गरेको भन्ने व्यहोराको चितवन राष्ट्रिय निकुञ्ज कसरास्थित श्री पुरानो गोरख गण कसरा ब्यारेकको च.नं.६५६८, मिति २०६१।१।६ को जाहेरी
प्रतिवेदन ।
घटनास्थलमा भरूवा बन्दुकलगायतका खरखजानासमेत बरामद भएको भन्ने बरामदी
मुचुल्का ।
घटनास्थलमा गैंडाको पाइला सँगसँगै रगत चुहाउँदै हिंडेको फेला परेको भन्ने व्यहोराको गैंडा घाइते भएको घटनास्थल प्रकृति मुचुल्का ।
मिति २०६१।१।४ गतेका दिन जिल्ला पर्सा, ठोरी गा.वि.स.वडा नं.९ इच्छानगर बस्ने मंगल भन्ने विक्रम माझी (बोटे), सोही ठाउँ बस्ने राजु माझी (बोटे), जिल्ला चितवन, गर्दी गा.वि.स.वडा नं.४ वनकटा बस्ने आइतराम बोटे, सोही ठाउँ बस्ने जोगिया भन्ने सुखे बोटे, जिल्ला चितवन, भण्डारा गा.वि.स. फुल्लौरी बस्ने बुधिराम चौधरी र आफूसमेत भई आफ्नो र मंगल भन्ने विक्रम माझीको भरूवा बन्दुक थान २ लिई गैंडा मार्न हिँडेर चुरे पहाड काटी चुरेको फेदीमा एउटा गैंडा फेला पारी त्यसलाई विक्रम माझीले खुट्टामा गोली हानी घाइते बनाउँदा म घाइते गैंडाको रगत पछ्याउँदै अर्को गोली हान्न जान लाग्दा पक्राउ परें, साथीहरू भाग्न सफल भए भन्ने व्यहोराको पक्राउ भई आएका रामबहादुर बलले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान ।
आफू र आफ्नो घर छेउकै काका जोगिया भन्ने सुखे बोटे ठोरीमा बजार हेर्न गई फर्केको बेला काकाले चिनेको बुधिराम चौधरीले गैंडा मार्न जाऔं, रू.दश / दश हजार दिउँला भन्दा हामी भर्खरै गैंडा कै मुद्दामा जेल सजाय पाएर ०६० असारमा छुटेको भन्दा पनि फकाएर जाऔं भनेकाले गएकामा ठोरीबाट पहाड काटेर चुरेको फेदीफेदी हिँड्दा एउटा गैंडा फेला परी विक्रम माझीले गोली हान्दा खुट्टामा लागी गैंडा घाइते भई चुहाएको रगत पछ्याउँदै रामबहादुरसँग भएको अर्को भरूवा बन्दुकले हान्न हिँड्दै गर्दा गस्तीले रामबहादुरलाई देखी पक्राउ गरेकाले हामी भागी घर गई बस्दा पक्राउ परेको भन्ने व्यहोराको आइतराम बोटेले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान ।
म र मेरो घर छेउकै भतिजा आइतराम बोटे भई ठोरीमा बजार हेर्न गई फर्केको बेला काकाले चिनेको बुधिराम चौधरीले गैंडा मार्न जाऔं, रू.दश / दश हजार दिउँला भन्दा हामी भर्खरै गैंडा कै मुद्दामा जेल सजाय पाएर ०६० असारमा छुटेको भन्दा पनि फकाएर जाऔं भनेकाले गएकामा ठोरीबाट पहाड काटेर चुरेको फेदीफेदी हिँड्दा एउटा गैंडा फेला परी विक्रम माझीले गोली हान्दा खुट्टामा लागी गैंडा घाइते भई चुहाएको रगत पछ्याउँदै रामबहादुरसँग भएको अर्को भरूवा बन्दुकले हान्न हिँड्दै गर्दा गस्तीले रामबहादुरलाई देखी फक्राउ गरेकाले हामी थाहा पाई भागी घर गई बस्दा पक्राउ परेको भन्ने व्यहोराको जोगिया भन्ने सुखे बोटेले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान ।
भरूवा बन्दुकसहित गैंडा मार्न गएका जिल्ला पर्सा, ठोरी गा.वि.स.वडा नं.९ इच्छानगर बस्ने वर्ष ४४ का रामबहादुर बललाई चितवन राष्ट्रिय निकुञ्ज कार्यालय, कसरामा पक्राउ गरी ल्याएको भन्ने कसरामा नयाँ घर निर्माणमा ज्यालादारी गर्ने जिल्ला चितवन, जगतपुर गा.वि.स.वडा नं.४ बस्ने वर्ष २५ का विष्णु थापासमेतले गरिदिएको मिति २०६१।१।२५ को सर्जमिन मुचुल्का ।
प्रतिवादीहरूले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ५(क), (छ) र (ज) को कसुर गरेको देखिँदा विरूद्ध खण्डका प्रतिवादीहरूलाई सोही ऐनको दफा २६(१) बमोजिम हदैसम्मको सजाय हुन भनी मागदाबी लिई मिति २०६१।१।३१ मा पेस गरेको अभियोगपत्र ।
जिल्ला चितवन, भण्डारा गा.वि.स. फुल्लौरी घर भएका ठोरीमा आउने जाने गर्ने बुधिराम चौधरीले भनेअनुसार राष्ट्रिय निकुञ्जभित्र गैंडा मार्न जाने सल्लाह भई मिति २०६१ साल वैशाख ४ गतेका दिन निज चौधरी मेरो घर नजिकको मंगल भन्ने विक्रम माझी (बोटे) र राजु माझी (बोटे), जिल्ला चितवन गर्दी ४ वनकट्टाका पहिले गैंडाकै काण्डमा जेलबाट भर्खर ०६० साल असारमा छुटेका आइतराम बोटे, जोगिया बोटे र मसमेत ६ जना भई मेरो बन्दुक र मंगल भन्ने विक्रम माझीको अर्को भरूवा बन्दुक गरी दुईवटा बन्दुक लिई ठोरीबाट दुई दिनसम्म हिँडी चुरे पहाड काटी चुरेको फेदीमा गैंडा मार्न खोज्दै थियौं । मंगल भन्ने विक्रम माझी अघिअघि थियो र उसले गैंडालाई हानेको गोली खुट्टामा लागी गैंडा भाग्यो, फेरी गोली ठोक्नुपर्छ जाउँ भनी हामी रगत पछ्याउँदै थियौ, यतिकैमा निकुञ्जबाट गस्ती आएको थाहा पाई साथीहरू भागे । मेरो, राजु माझीले लिएको बन्दुक त्यहीँ छोडेर भागेछ, अर्को बन्दुक विक्रमले नै लिई भाग्यो, मसँग राशन, भाँडाकुँडाको भारी भएर भाग्न नसकी पक्राउ परें । घटनास्थलमा बरामद भएको भरूवा बन्दुक मेरै हो । म पहिला जिल्ला मकवानपुर, छतिवन गा.वि.स. बस्दा किनेको भरूवा बन्दुक पछि ठोरी आउँदा जङ्गलैजङ्गल लुकाएर ल्याई राखेको हुँ । खेतबारीमा जनावर आई बाली खाई दिन्थ्यो । एकचोटि त्यहीँ भरूवा बन्दुकले गोली हानी जनावर मारेपछि सो बन्दुक राजु माझीले लियो । उसले सो बन्दुकले जरायो मारें भनेर मेरो भाग मासु दिएको थियो । पछि राजुले नै जङ्गलमा बन्दुक लुकाउँथ्यो । उनीहरूले गैंडा मार्न जाउँ भनेर ल्याएकाले पछि लागी आएको हुँ । मैले राजुले बन्दुक लिएपछि बन्दुक चलाउन छाडेँ भन्नेसमेत व्यहोराको प्रतिवादी रामबहादुर बलले मुद्दा हर्ने अधिकारीसमक्ष चितवन राष्ट्रिय निकुञ्ज कार्यालय, कसरामा गरेको बयान ।
म र मेरो काका पर्ने मेरै घर छेउमा बस्ने जोगिया भन्ने सुखे बोटे भई ठोरीमा बजार हेर्न गएका थियौं । बजार गरेर खोलामा माछा मार्दै गर्दा मेरो काकालाई चिन्ने बुधिराम चौधरीले गैंडा मार्न जाने सल्लाह गरी रू.दश / दश हजार दिउँला भन्यो । हामी पहिला पनि गैंडा मारेको मुद्दामा जेल सजाय पाई ०६० साल असारमा मात्र छुटेका हौं, जान्न भन्दा फकाएर जाउँ भनेकाले गयौं । ठोरीबाट पहाड काटेर चुरेफेदी हुँदै गैंडा खोज्दै थियौं । यतिकैमा फेला परेको एउटा गैंडालाई मंगल भन्ने विक्रम माझीले भरूवा बन्दुकले गोली हान्यो । गोली खुट्टामा लाग्यो, गैंडा ढलेन, फेरि अर्को पटक गोली हान्न पछ्याउँदै थियौं । यत्तिकैमा साथीहरूले आर्मी आएको थाहा पाएर भाग्न थाले । म पनि भागी घर गई बसें भनी प्रतिवादी आइतराम बोटेले मुद्दा हेर्ने अधिकारीसमक्ष चितवन राष्ट्रिय निकुञ्ज कार्यालय, कसरामा गरेको बयान ।
म र मेरो घर नजिकैको भतिजो पर्ने आइतराम बोटे भई ठोरी बजार हेर्न गएका थियौं । बजार हेरेर खोलामा माछा मार्दै गर्दा मेरो काकालाई चिन्ने बुधिराम चौधरीले गैंडा मार्न जाने सल्लाह गरी रू.दश / दश हजार दिउँला भन्यो । हामी पहिला पनि गैंडा मारेको मुद्दामा जेल सजाय पाई ०६० साल असारमा मात्र छुटेका हौं, जान्न भन्दा फकाएर जाउँ भनेकाले गयौं । ठोरीबाट पहाड काटेर चुरे फेदी हुँदै गैंडा खोज्दै थियौं । यत्तिकैमा फेला परेको एउटा गैंडालाई मंगल भन्ने विक्रम माझीले भरूवा बन्दुकले गोली हान्यो । गोली खुट्टामा लाग्यो, गैंडा ढलेन, फेरि अर्को पटक गोली हान्न पछ्याउँदै थियौं । यत्तिकैमा साथीहरूले आर्मी आएको थाहा पाएर भाग्न थाले, म पनि भागी घर गई बसें, रामबहादुर चाहिँ पक्राउ परेछ भनी प्रतिवादी जोगिया भन्ने सुखे बोटेले मुद्दा हेर्ने अधिकारीसमक्ष चितवन राष्ट्रिय निकुञ्ज कार्यालय, कसरामा गरेको बयान ।
प्रतिवादीहरू जोगिया भन्ने सुखे बोटे, रामबहादुर बल, आइतराम बोटेले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ५(क), (छ) र (ज) बमोजिमको कसुर अपराध गरेको तत्काल प्राप्त प्रमाणबाट देखिएकाले निजहरूलाई मुलुकी ऐन, अ.बं.११८(२) बमोजिम पुर्पक्षका लागि थुनामा राख्न पठाई दिनु भन्ने चितवन राष्ट्रिय निकुञ्ज कार्यालय, कसराको मिति २०६१।२।१ को आदेश ।
मिसिल संलग्न आधार प्रमाणहरूबाट प्रतिवादीहरू जोगिया भन्ने सुखे बोटे, रामबहादुर बल, आइतराम बोटे, बुधिराम चौधरी, मंगल भन्ने विक्रम माझी र राजु माझीले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ५(क), (छ) र (ज) बमोमिजको कसुर अपराध गरेको पुष्टि भएकाले सोही ऐनको दफा २६(१) बमोजिम जनही १५ वर्ष कैद र रू.१,००,०००।– जरिवाना हुने ठहर्छ भन्ने सुरू चितवन राष्ट्रिय निकुञ्ज कार्यालय, कसराको मिति २०६५।३।२० को फैसला ।
वारदातको दिन हामी दोहरीमा बजार हेर्न गएका थियौं, घर फर्कने क्रममा निकुञ्जको बाटो हुँदै आउनु पर्ने भएकाले सो बाटो आउँदै गर्दा गस्ती टोलीले पक्राउ गर्न खोजेको हुँदा भागेका हौं । वारदातमा हाम्रो कुनै संलग्नता छैन । मौकामा पक्राउ पर्ने प्रतिवादी रामबहादुर बलले हामीहरू समेत सिकार गर्न आएको हो भनी पोल गरेको आधारमा हामीलाई सजाय गरिएको छ तर हाम्रो विरूद्धमा अन्य कुनै भरपर्दो प्रमाण नभएको अवस्थामा हामीलाई हदैसम्म सजाय गर्ने गरी भएको सुरू फैसला नमिलेकाले उल्टी गरी हाम्रो हकमा अभियोग दाबी नपुग्ने गरी इन्साफ गरिपाउँ भन्नेसमेत व्यहोराको प्रतिवादीहरू आइतराम बोटे र जोगिया भन्ने सुखे बोटेको पुनरावेदन अदालत, हेटौंडामा परेको संयुक्त पुनरावेदनपत्र ।
मलाई मिति २०६१।१।४ गते चुरे पहाडको फेदीबाट पक्राउ गरेको होइन । मिति २०६०।१२।१५ गते नारायणगढ बजारबाट प्रहरीले पक्राउ गरी कसरा पठाएको हो । त्यहाँ बिना थुनुवा पुर्जी थुनामा राखी कुटपिट गरी लेखी राखेको कागजमा हेर्न, पढ्नसमेत नदिई सहिछाप नगरे ज्यान मार्नेसमेत धम्की दिई सहिछाप गराएको हो, उक्त बयान प्रमाणमा ग्रहण हुन नसक्ने प्रस्ट छ । वारदातमा मेरो उपस्थिति नै नरहेको स्थितिमा जबरजस्ती गरेको बयानको आधारमा मात्र मलाई सजाय गर्ने गरी भएको सुरू फैसला नमिलेकाले उल्टी गरी अभियोग दाबीबाट सफाइ पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी रामबहादुर बलको पुनरावेदन अदालत, हेटौंडामा परेको पुनरावेदनपत्र ।
प्रतिवादीहरूको अपराधमा संलग्नताको अवस्था विचार गरी सजाय गर्नुपर्नेमा सोतर्फ विचार नगरी गरेको सुरू चितवन राष्ट्रिय निकुञ्ज कार्यालय, कसरा, चितवनको फैसला फरक पर्न सक्ने हुँदा अ.बं.२०२ को प्रयोजनको लागि पुनरावेदन सरकारी वकिल कार्यालय, हेटौंडालाई पेसीको सूचना दिई पेस गर्नु भन्ने पुनरावेदन अदालत, हेटौंडाको मिति २०६५।९।१३ को आदेश ।
पुनरावेदक प्रतिवादीहरूले राष्ट्रिय निकुञ्जभित्र प्रवेश गरी गैंडालाई गोली हानी घाइते बनाएको वारदातमा संलग्न रहेको भन्ने वादी दाबीलाई मुद्दा हेर्ने अधिकारीसमक्ष समेत स्वीकार गरिरहेको स्थितिमा पुनरावेदक प्रतिवादीहरूले वादी दाबीअनुसार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ५ द्वारा निषिद्ध कार्य गरेको ठहर्याएको सुरूको फैसला सो हदसम्म मिलेकै
देखियो । सजायको हकमा पुनरावेदक प्रतिवादीहरूलाई उपर्युक्त ऐनको दफा २६(१) ले तोकेको उपल्लो हदको सजाय निर्धारण गरेको सुरू चितवन राष्ट्रिय निकुञ्ज कार्यालय, कसराको मिति २०६५।३।२० को फैसला मिलेको नदेखिँदा पुनरावेदक प्रतिवादीहरूको हकमा उक्त फैसला केही उल्टी भई पुनरावेदक प्रतिवादी रामबहादुर बल, आइतराम बोटे र जोगिया भन्ने सुखे बोटेलाई उपर्युक्त ऐनको दफा २६ को उपदफा (१) बमोजिम जनही रू.५०,०००।– जरिवाना र ७ वर्ष कैद हुने ठहर्छ भन्ने पुनरावेदन अदालत, हेटौंडाको मिति २०६७।३।२९ को फैसला ।
पुनरावेदन अदालतको फैसलामा चित्त
बुझेन । प्रतिवादीहरूले गैंडा मारी चोरी निकासी गर्ने योजना बनाई सोहीबमोजिम वारदात गरेको भन्ने प्रतिवादी रामबहादुर बलको मौकाको बयानबाट देखिएको छ । गैंडा मार्न प्रयोग भएको बन्दुक प्रतिवादीहरूबाट बरामद भएकाले मौकाको उक्त बयान पुष्टि भएको छ । उल्लिखित प्रमाणको आधारमा यी प्रतिवादीहरूलाई ऐनबमोजिम सजाय गर्नुपर्नेमा कम सजाय गरेको पुनरावेदन अदालत, हेटौंडाको फैसला त्रुटिपूर्ण भएकाले उल्टी गरी अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारतर्फबाट यस अदालतमा परेको पुनरावेदनपत्र ।
नियमबमोजिम दैनिक पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दामा वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् सहन्यायाधिवक्ता श्री गोपिचन्द्र भट्टराईले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्य संरक्षण ऐन, २०२९ ले गैंडालाई संरक्षित जनावररूपमा व्यवस्था गरी संरक्षित जनावरलाई मार्ने तथा घाइते बनाउने अपराधका मतियारलाई पनि मुख्य कसुरदार सरह नै सजाय हुने व्यवस्था गरेको छ । यी प्रतिवादीहरूले गैंडा मार्ने पूर्वयोजना बनाई समुहगतरूपमा वारदातमा संलग्न भई गोली प्रहार गरी गैंडालाई घाइते बनाएको भन्ने कुरामा साबित भई मौकामा बयानसमेत गरेको र निजहरूको साथबाट गैंडालाई मार्न प्रयोग भएको बन्दुकसहितको सामान बरामद भएको अवस्थामा दाबीबमोजिम सजाय गर्नुपर्नेमा घटी सजाय गरेको पुनरावेदन अदालत, हेटौंडाको फैसला मिलेको
छैन । उल्टी गरी अभियोग दाबीबमोजिम सजाय हुनुपर्छ भन्नेसमेत बहस गर्नुभयो ।
उक्त बहससमेत सुनी प्रस्तुत मुद्दाको मिसिल संलग्न कागजात अध्ययन गरी हेर्दा यी प्रतिवादीहरूले राष्ट्रिय निकुञ्जभित्र प्रवेश गरी गैंडालाई गोली हानी घाइते बनाएको कसुर गरेको भन्ने सुरू फैसला सो हदसम्म सदर गरी सजायको हकमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६(१) ले तोकेको उपल्लो हदको सजाय गरेको सुरू फैसला केही उल्टी गरी यी प्रत्यर्थीहरूलाई जनही सात वर्ष कैद र रू.पचास हजार जरिवाना हुने ठहराएको पुनरावेदन अदालतको फैसला मिलेको छ वा छैन र वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्ने हो वा होइन भन्ने निर्णय दिनुपर्ने देखियो ।
२. निर्णयतर्फ विचार गर्दा प्रतिवादीहरू रामबहादुर बल, जोगिया भन्ने सुखे बोटे, बुधिराम चौधरी, मंगल भन्ने विक्रम माझी र राजु माझीसमेत भई चितवन राष्ट्रिय निकुञ्जको संरक्षित जनावर गैंडालाई मार्ने उद्देश्यले गोली हानी घाइते बनाएकाले निजहरूले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ५(क) (छ) र (ज) बमोजिको कसुर गरेकाले सोही ऐनको दफा २६(१) बमोजिम सजाय गरी पाउँ भन्ने अभियोग दाबी भएकामा सुरू मुद्दा हेर्ने चितवन राष्ट्रिय निकुञ्ज कार्यालय, कसराबाट उक्त ऐनको दफा २६(१) बमोजिम प्रतिवादीहरूलाई जनही पन्ध्र वर्ष कैद र रू.एक लाख जरिवाना हुने फैसला भएकामा पुनरावेदन अदालत, हेटौंडाबाट सजायको हकमा उक्त फैसला केही उल्टी गरी सो अदालतमा पुनरावेदन गर्ने प्रतिवादीहरू रामबहादुर बल, आइतराम बोटे र जोगिया भन्ने सुखे बोटेलाई जनही सात वर्ष कैद र रू.पचास हजार जरिवाना हुने ठहराई भएको फैसलाउपर वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा पुनरावेदन परी निर्णयार्थ यस इजलाससमक्ष पेस भएको रहेछ ।
३. प्रस्तुत मुद्दामा सुरू चितवन राष्ट्रिय निकुञ्जको फैसलाउपर प्रतिवादीहरूमध्ये रामबहादुर बल, आइतराम बोटे, जोगिया भन्ने सुखे बोटेको मात्र पुनरावेदन अदालत, हेटौंडामा पुनरावेदन परेको देखिन्छ । निज तीन जना प्रतिवादीहरूको हकमा पुनरावेदन अदालतले सुरू फैसला केही उल्टी हुने ठहराई गरेको फैसलाउपर उल्लिखित प्रतिवादीहरूको यस अदालतमा पुनरावेदन परेको देखिएन । यी प्रतिवादीहरू रामबहादुर बल, आइतराम बोटे र जोगियाभन्ने सुखे बोटेका हकमा सुरू फैसला केही उल्टी गरी घटी सजाय गरेको पुनरावेदन अदालतको फैसला नमिलेकाले अभियोग दाबीबमोजिम नै सजाय हुनुपर्ने भनी वादी नेपाल सरकारको पुनरावेदन जिकिर रहेको पाइन्छ ।
४. यस सम्बन्धमा प्रस्तुत मुद्दाको मिसिल हेर्दा चितवन राष्ट्रिय निकुञ्जको जर्नेली पोस्टदेखि अन्दाजी ५ कि.मि. दक्षिण-पूर्व बहपुर खोलाको जङ्गलमा प्रतिवादी रामबहादुरले गैंडालाई गोली हानी घाइते बनाई फेरि मार्नको लागि रगत चुहाउँदै हिँडेको गैंडाको पाइलो पछ्याउँदै हिँड्दा पक्राउ परेको भन्ने रेन्जर राज घिमिरेको मिति २०६१।१।६ को प्रतिवेदनमा उल्लेख भएको देखिन्छ । सोही मितिको बरामदी मुचुल्कामा बहपुर खोलाको जङ्गल इलाकामा गैंडाको सिकार गर्न भरूवा बन्दुकसहित हिँडेको अवस्थामा प्रतिवादी रामबहादुर बल पक्राउ परी भरूवा बन्दुक, गोली बनाउने सिसा, बारूद, सिसाको तयारी गोलीसमेतको हात हतियार र चामल, नुन तेलसमेतको बन्दोवस्तीका समान बरामद भई उक्त सामानहरू आफूबाट बरामद भएको भनी निज रामबहादुरले सहिछाप गरेको देखिन्छ । यी प्रतिवादीले अनुसन्धानको क्रममा र मुद्दा हेर्ने अधिकारीसमक्षको बयानमा आफूसमेतका ६ जना प्रतिवादी बन्दुक लिई गैंडा मार्न गएकामा गैंडालाई विक्रम माझीले गोली हानी घाइते पारेको र घाइते गैंडालाई खोज्न रगत पछ्याउँदै जाँदा गस्ती कर्मचारी आएको थाहा पाई साथीहरू भागेको तर आफूसँग राशनको भारी भएकाले भाग्न नसकी पक्राउ परेको भनी बयान गरेको देखिन्छ ।
५. प्रतिवादी रामबहादुर बलले गरेको पोलको आधारमा पक्राउ परेका प्रतिवादीहरू आइतराम बोटे र जोगिया भन्ने सुखे बोटेले अनुसन्धानको क्रममा र मुद्दा हेर्ने अधिकारीसमक्ष बयान गर्दा प्रतिवादी रामबहादुर बलले बयान गर्दा उल्लेख गरेबमोजिमको कुरा उल्लेख गरी बयान गरेको देखिन आउँछ । यी प्रतिवादीहरूले मौकामा अनुसन्धान अधिकारी र मुद्दा हेर्ने अधिकारीसमक्षको बयानमा अभियोग दाबीबमोजिम चितवन राष्ट्रिय निकुञ्जभित्र गैंडालाई गोली हानी घाइते बनाएको वारदातमा संलग्न रहेको भनी स्वीकार गरेको कुरालाई घटनास्थलमा बरामद भएको बन्दुक र बन्दोवस्तीका सामानबाट पुष्टि भएको देखिन आएकाले यी प्रत्यर्थीहरूले अभियोग दाबीबमोजिम गैंडालाई गोली हानी घाइते बनाएको वारदातमा संलग्न रही राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन, २०२९ को दफा ५ को देहाय खण्ड (क) (छ) र (ज) बमोजिमको कसुर गरेको देखिन आउँछ ।
६. प्रस्तुत मुद्दामा अभियोजन पक्षले यी प्रत्यर्थीहरूउपर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन, २०२९ को दफा २६(१) बमोजिम सजायको माग दाबी लिई अभियोगपत्र दायर भएकामा सुरूबाट प्रतिवादीहरूलाई दफा २६(१) बमोजिम अधिकतम् हदको सजाय भएकामा पुनरावेदन अदालतबाट उक्त फैसला केही उल्टी गरी प्रतिवादीहरूलाई घटी सजाय गरेको सन्दर्भमा उक्त दफा २६(१) मा भएको व्यवस्थालाई हेर्दा “गैर कानूनी तरिकाले गैंडा, बाघ, हात्ती, कस्तुरी मृग, ध्वाँसे चितुवा, हिउँ चितुवा वा गौरीगाई मार्ने, घाइते बनाउने, खरिद गर्ने, बिक्री गर्ने वा हस्तान्तरण गरी लिने दिने तथा गैंडाको खाग वा कस्तुरीको बीना, हिउँ चितुवाको छाला तथा त्यस्तै अन्य संरक्षित वन्यजन्तुको अखेटो पहार राख्ने, खरिद गर्ने, वा बिक्री गर्ने व्यक्तिलाई पचास हजार रूपैयाँदेखि एक लाखसम्म जरिवाना वा पाँच वर्षदेखि पन्ध्र वर्षसम्म कैद वा दुवै सजाय हुनेछ” भन्ने उल्लेख भएको
देखिन्छ । सजाय सम्बन्धमा भएको उक्त कानूनी व्यवस्थाको सन्दर्भमा प्रस्तुत मुद्दाको तथ्यगत अवस्थालाई विचार गर्दा प्रतिवादीहरूले मुद्दा हेर्ने अधिकारीसमक्षको बयानमा समेत अन्य सहअभियुक्तको प्रलोभनमा परी राष्ट्रिय निकुञ्जभित्र गएकामा विक्रम माझीले बन्दुकले गोली हानी गैंडालाई घाइते पारेको अवस्थामा घाइते गैंडालाई खोज्दै जाँदा गस्ती टोलीबाट प्रतिवादीमध्येका रामबहादुर बल पक्राउ परेका र अन्य प्रतिवादीहरू भागेको भनी उल्लेख गरेको पाइन्छ । यी प्रतिवादीहरूले अनुसन्धानको क्रममा तथा मुद्दा हेर्ने अधिकारीसमक्षको बयानमा समेत आफूले गैंडालाई गोली हानी घाइते पारेको कुरामा इन्कार रही फरार रहेका अभियुक्त विक्रम माझीले गोली प्रहार गरेको भन्ने जिकिर लिएको देखिन आउँछ ।
७. घटनास्थलमा पक्राउ परेका प्रतिवादी रामबहादुर बलको साथबाट झोलासहित चामल, नुन, तेल, खाना पकाउने भाँडाकुँडा भएको भन्ने देखिएको र प्रतिवादीहरू आइतराम बोटे र जोगिया भन्ने सुखे बोटेले अनुसन्धान अधिकारी र मुद्दा हेर्ने अधिकारीसमक्षको बयानमा सहअभियुक्त बुधिराम चौधरीले दश हजार रूपैयाँ दिने भनी आफूलाई लोभ देखाई जङ्गल लगेको र आफूहरूले गैंडालाई गोली हानी घाइते पारेको होइन भनी बयान गरेको देखिएकाले यी प्रतिवादीहरू आरोपित कसुरका मुख्य अपराधी नभई सो वारदातको मतियार वा सहयोगी रहेको भन्ने देखिन आउँछ ।
८. वस्तुतः राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २७ मा "यो ऐनअन्तर्गत कसुर ठहरिने कुनै अपराध गर्ने व्यक्तिलाई जानीजानी मद्दत दिएमा त्यस्तो मद्दत गर्ने मतियारलाई कसुरदारलाई हुने सजायको आधा सजाय हुनेछ । तर गैंडा, बाघ, कस्तुरी मृग र हात्तीसित सम्बन्धित कसुर गर्ने व्यक्तिलाई कसुरदारलाई हुने सजायसरह नै सजाय हुनेछ" भन्ने व्यवस्था भएकाले गैंडासँग सम्बन्धित अपराधको लागि मद्दत वा सहयोग गर्ने व्यक्तिलाई पनि मुख्य कसुरदारसरह नै ऐनको दफा २६(१) बमोजिम सजाय हुने देखिन्छ । यस अर्थमा यी प्रतिवादीहरूले गैंडा मार्ने उद्देश्यले गोली हान्ने कार्यमा सहयोगी भूमिका निर्वाह गरेको भन्ने कुरा पुष्टि हुन आएकाले दफा २६(१) बमोजिम गैंडासम्बन्धी कसुरका मुख्य अभियुक्तलाई हुने सजाय नै मतियारलाई पनि हुने
हुन्छ । तर उक्त दफा २६(१) बमोजिम तोकिएको कसुरमध्ये कस्तो कसुरमा न्यूनतम् सजाय र कस्तो कसुरमा अधिकतम् सजाय हुने भन्नेसम्बन्धमा उक्त दफामा कुनै व्यवस्था नभएको हुँदा यस्तो अपराधमा कसुरदार ठहरिएको व्यक्तिलाई यान्त्रिकरूपमा उक्त दफामा तोकिएको अधिकतम् सजाय नै हुने भनी अर्थ गर्न मिल्ने हुँदैन । उक्त दफा २६(१) को व्यवस्थाले मुद्दा हेर्ने अधिकारी वा अदालतले अपराध गर्दाको परिस्थिति, अवस्था, वारदातको प्रकृति, कसुरको गाम्भीर्यता, कसुरमा अभियुक्तको संलग्नताको मात्रासमेतको न्यायिक मूल्याङ्कन गरी अभियुक्तले गरेको कसुरको प्रकृतिसँग मिल्ने गरी न्यूनतम् रू.पचास हजारदेखि अधिकतम् रू.एकलाखसम्म जरिवाना वा न्यूनतम् पाँच वर्षदेखि अधिकतम् पन्ध्र वर्षसम्म कैद वा दुवै सजाय गर्न सक्ने गरी तजबिजी अधिकार प्रदान गरेको देखिन्छ । अपराधको प्रकृति, कसुरदारको संलग्नता, कसुरको गाम्भीर्यतालगायतका कसुरसँग सम्बन्धित विभिन्न सन्दर्भहरूलाई विचारै नगरी दफा २६(१) मा उल्लेख भएको कसुरमा संलग्न कुनै पनि अभियुक्तलाई यान्त्रिकरूपमा न्यूनतम् वा अधिकतम् सजाय गर्ने भन्ने विधायिकाको मनसाय होइन । विधायिकाले उक्त दफामा निश्चित सजायको मात्रा उल्लेख नगरी धेरै प्रकारका कसुरमा न्यूनतम् र अधिकतम् सजायको मात्रा तोकिदिएको अवस्थामा तोकिएको सीमाभित्र रही सजाय निर्धारण गर्ने स्वविवेकीय अधिकार मुद्दा हेर्ने अधिकारी वा अदालतलाई प्रदान गरेकाले अभियुक्तको कसुरको मात्रासँग मिल्ने गरी निर्णयकर्ताले विवेकसम्मत सजायको मात्रा निर्धारण गर्नुपर्ने हुन आउँछ । प्रस्तुत मुद्दामा प्रतिवादीहरूले गैंडा मारेको भन्ने अभियोग दाबी नभई गैंडालाई घाइते बनाएको भन्ने दाबी रहेकामा यी प्रत्यर्थीहरूले मुद्दा हेर्ने अधिकारीसमक्षको बयानमा समेत आफूहरूले गैंडालाई घाइते पारेको नभई सहअभियुक्तले रूपैयाँको लोभ देखाएकाले सहयोगीको रूपमा साथमा गएको तथ्यलाई स्वीकार गरेको र मुख्य अभियुक्त पक्राउ नपरी फरार रहेको अवस्थामा यी प्रत्यर्थीहरूलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६(१) बमोजिम उपल्लो हदको सजाय गर्न मनासिब हुँदैन । दफा २६(१) बमोजिम प्रतिवादीहरूलाई अधिकतम् हदकै सजाय हुनुपर्ने भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिर कानून र न्यायको दृष्टिकोणबाट मनासिब देखिन आएन ।
९. तसर्थ यी प्रतिवादीहरू गैंडालाई गोली हानी घाइते पार्ने कार्यमा सहयोगीको भूमिका खेलेको भन्ने कुरा अभियोजन पक्षबाट सङ्कलित सबुद प्रमाणबाट देखिएकाले निजहरूको अपराधको गाम्भीर्यतालाई दृष्टिगत गरी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६(१) बमोजिम अधिकतम् सजाय गरेको सुरू फैसला सो हदसम्म केही उल्टी गरी प्रतिवादीहरू रामबहादुर बल, आइतराम बोटे र जोगिया भन्ने सुखे बोटेलाई जनही सात वर्ष कैद र रू.पचास हजार जरिवाना हुने ठहराएको पुनरावेदन अदालत, हेटौंडाको मिति २०६७।३।२९ को फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । दफा २६(१) बमोजिम अधिकतम् सजाय हुनुपर्छ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
प्र.न्या.रामकुमार प्रसाद शाह
इति संवत् २०७१ साल मङ्सिर १६ गते रोज ३ शुभम् ।
इजलास अधिकृतः विश्वनाथ भट्टराई