निर्णय नं. ९३८१ - अपहरण

सर्वोच्च अदालत, संयुक्त इजलास
सम्माननीय प्र.न्यायाधीश श्री रामकुमार प्रसाद शाह
माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ
फैसला मिति : २०७१।१०।५।२
०६८-CR-१४२४
मुद्दा : अपहरण ।
पुनरावेदक / वादी : राम ठकुरीको जाहेरीले नेपाल सरकार
विरूद्ध
विपक्षी / प्रतिवादी : सुनसरी जिल्ला, इनरूवा न.पा. वडा नं. ३ घर भै हाल ललितपुर जिल्ला, हरिसिद्धि गा.वि.स. हात्तिवन बस्ने मुरारी भुजेल
०६९-CR-०००४
पुनरावेदक / प्रतिवादी : सुनसरी जिल्ला, इनरूवा न.पा. वडा नं. ३ घर भै हाल कारागार कार्यालय नख्खु थुनामा रहेको मुरारी भुजेल
विरूद्ध
विपक्षी / वादी : राम ठकुरीको जाहेरीले नेपाल सरकार
सजायमा तल्लो र माथिल्लो हद राख्नु भनेको अपराध गर्दाको अवस्था, परिस्थिति र प्रतिवादीको कसुरमा संलग्नता आदिसमेतको आधारमा न्यायकर्ताले आफूमा निहीत स्वविवेकीय अधिकारको प्रयोगद्वारा प्रतिवादीलाई सजायको निर्धारण गर्नकै लागि भएको हुन्छ । कानूनमा व्यवस्था भएअनुसार यी प्रतिवादीलाई सजाय तोकिएको देखिँदा त्यसलाई अन्यथा मान्न नमिल्ने ।
(प्रकरण नं.२)
अपराध गर्ने कार्यमा दुईजना संलग्न रहेको भन्ने तथ्य नै पुष्टि हुन नसकेको स्थितिमा अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको ७ नं. बमोजिम उक्त महलबमोजिम हुने सजायमा थप २ वर्ष कैदको दाबी लिएको हकमा त्रुटिपूर्ण भई मिलेको नदेखिने ।
(प्रकरण नं.४)
पुनरावेदक / वादीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता रमादेवी पराजुली
विपक्षी / प्रतिवादी : विद्वान् अधिवक्ताहरू विष्णुमाया भुषाल, रिना डंगोल र उमेशप्रसाद गौतम
अवलम्बित नजिर :
सम्बद्ध कानून :
मुलुकी ऐन, अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको १, ३, ७, १२
सुरू फैसला गर्ने :
मा.जि.न्या.श्री लेखनाथ ढकाल
पुनरावेदन तहमा फैसला गर्ने :
मा.न्या.श्री एकराज आचार्य
मा.न्या.श्री सत्यराज गुरूङ
फैसला
न्या.देवेन्द्र गोपाल श्रेष्ठ : न्याय प्रशासन ऐन, २०४८ को ९(१) बमोजिम यसै अदालतले क्षेत्राधिकारभित्र रही दायर हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य र ठहर यसप्रकार छ :
ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका वडा नं. १२ स्थित पूर्वमा पाटन औद्योगिक क्षेत्रको कम्पाउन्ड, पश्चिममा बटुकभैरव मन्दिर उत्तरमा प्रयागपोखरीतर्फ जाने सडक, दक्षिणमा सडक तथा आर्मी पेट्रोल पम्प यति चार किल्लाभित्र मिति २०६७।४।६ गते राती २१ बजेको समयमा बा१ज २७३२ नं. को भाडा ट्याक्सी उत्तर मोहडा गरी रहेको उक्त ट्याक्सीबाट अं. २० मिटर टाढा पछि नाम खुल्न आएको मुरारी भुजेल शङ्कास्पदरूपमा हिँडिरहेको निजको शरीर तलासी लिँदा निजको साथबाट कालो रङ्गको झोलाभित्र SENBEN लेखिएको क्यासेट थान १, स्यामसुङ कम्पनीको बिना सिमकार्डको मोबाइल थान १, नोकिया कम्पनीको बिना सिमकार्डको मोबाइल थान १, काठको बिँड भएको बञ्चरो थान फेला परेको घटनास्थल र बरामद गरेको ठाउँको चार किल्ला विवरण ।
मिति २०६७।४।६ गते राती २१ बजेको समयमा पछि नाम खुल्न आएको मुरारी भुजेलसमेतले हातमा बञ्चरो पेस्तोल देखाई बा१ज २७३२ नं. को ट्याक्सी चालक राम ठकुरीलाई ललितपुर बल्खुबाट नियन्त्रणबाट लिई लगनखेल बटुक भैरव मन्दिरको सडक गल्लीमा लगी निजको साथमा भएको नगद तथा धनमाल फिरौती लिई रहेको भन्ने खबर प्राप्त भई उक्त स्थानमा खटिई जाँदा मुरारी भुजेललाई बरामदी मुचुल्कामा उल्लिखित सामानसहित पक्राउ गरेकाले निजलाई कानूनबमोजिम कारवाही गरिपाउँ भन्नेसमेत व्यहोराको प्रहरी प्रतिवदेन ।
मिति २०६७।४।६ गते राति अं. ९ बजेतिर काठमाडौं कलङ्कीबाट मैले हाँकेको बा१ज २७३२ नं. को भाडा ट्याक्सीमा मुरारी भुजेल र निजको साथीसमेत २ जना लगनखेलतर्फ जान्छौं भनी चढी आएपछि बल्खु पुग्दा निज मुरारी भुजेलले मलाई बञ्चरोले ताकी, अर्को पछाडि सिटमा बस्नेले मलाई पेस्तोल निधारमा ताकी हामीले जहाँ भन्यो त्यहीँ जानुपर्छ र तिम्रो साथमा भएको नगदसमेतको धनमाल दिनुपर्छ भनी उक्त ट्याक्सीसमेत नियन्त्रणमा लिई ललितपुर बटुक भैरव मन्दिरको अँध्यारो गल्लीमा लगी मेरो साथमा भएको रू.१५,०००।- नगद, रू १०,०००।- पर्ने मोबाइल र गाडीको क्यासेटसमेत जम्मा रू.२८,२००।– बराबरको धनमाल फिरौती लिनुको साथै अन्य पैसासमेत मगाउ भनी मलाई डर त्रासमा पारी फिरौती माग गरिरहेको अवस्थामा म निजहरूको पन्जाबाट भाग्न सफल भई गुहार माग्दै नजिकै रहेको गस्ती प्रहरीलाई उक्त घटनाको बारेमा जानकारी गराई निजहरूको सहयोगले निज मुरारी भुजेललाई पक्राउ गर्न सफल भएको र अन्य एक जना भागेको हुँदा निजहरूलाई कानूनबमोजिम कारवाही गरी मेरो रू. २८,२००।- बराबरको बिगोसमेत दिलाई भराई पाउँ भन्नेसमेत व्यहोराको राम ठकुरीको जाहेरी दरखास्त ।
मिति २०६७।४।६ गते म र साथी शम्भु चौधरी पूर्व योजनाअनुसार राती ८.३० बजेको समयमा काठमाडौं कलङ्की आई पछि नम्बर थाहा हुन आएको बा१ज २७३२ नं. को भाडा ट्याक्सीमा चढी बल्खु हुँदै ललितपुरतर्फ आइरहेको अवस्थामा बल्खुस्थित पुग्दा साथी शम्भु चौधरीले निज चालकलाई पेस्तोल र मैले बञ्चरो देखाई निजलाई ट्याक्सीसहित नियन्त्रणमा लिई डर त्रासमा पारी ललितपुर बटुक भैरव मन्दिरको गल्लीमा लगी निजको साथमा भएका नगद मोबाइल गाडीको क्यासेटसमेत लिएको र अन्य रकमसमेत फिरौती माग गर्न निजलाई टेलिफोन गराई रहेको अवस्थामा निज भाग्न सफल भई हारगुहार माग्दा नजिकै रहेको प्रहरी टोली आई मलाई सोही स्थानमा पक्राउ गरेको हो राम ठकुरीलाई म तथा साथीको पूर्व योजनाबमोजिम फिरौती रकम लिने उद्देश्यले अपहरण गरी ल्याएको हो मेरो साथबाट प्रहरीले बरामदी मुचुल्कामा उल्लिखित दशी बरामद गरेको हो भन्नेसमेत व्यहोराको प्रतिवादी मुरारी भुजेलको बयान कागज ।
मिति २०६७।४।६ गते मलाई ललितपुर बल्खुबाट मलाई ट्याक्सीसहित नियन्त्रणमा लिई विभिन्न धाकधम्की डर त्रासमा पारी मेरो गाडीमा भएको क्यासेट, नगद धनमाल लुटी लिएका र निज मुरारी भुजेलले लिएको सामानहरू SENBEN लेखिएको क्यासेट थान १ मेरो हो देखी चिनी सनाखतसमेत गरिदिएको भन्नेसमेत व्यहोराको जाहेरवाला राम ठकुरीले गरेको सनाखत कागज ।
मिति २०६७।४।६ गते ललितपुर बल्खुबाट बा१ज २७३२ नं. को भाडा ट्याक्सीलाई बञ्चरो पेस्तोलसमेत देखाई हाल नाम थाहा हुन आएको मुरारी भुजेलसमेत जना २ ले नियन्त्रणमा लिई फिरौती रकम लिई भाग्ने क्रममा मुरारी भुजेललाई प्रहरीले बरामदी मुचुल्कामा उल्लिखित दशीसहित फेला पारेको र अर्को व्यक्ति भाग्न सफल भएको भन्ने कुरा सुनी थाहा पाएको हुँ निज मुरारी भुजेलसमेतलाई कानूनबमोजिम कारवाही हुनुको साथै फिरौती बापत लिएको रू.२८,२००।- बराबरको धनमालसमेत फिर्ता दिलाइपाउँ भन्नेसमेत एकै मिलान व्यहोराको घटनास्थल आसपास बुझिएका मानिसहरू सुमन थापामगरसमेतले गरेको घटना विवरण कागज ।
प्रतिवादीहरू मुरारी भुजेल र शम्भु चौधरीसमेतले जाहेरवाला राम ठकुरीलाई कलङ्कीबाट लगनखेल जाने भनी निजै जाहेरवालाले हाँकेको बा१ज २७३२ नं. को भाडा ट्याक्सीबाट चढी निज चालकलाई बल्खुबाट हतियार पेस्तोल, बञ्चरोसमेत देखाई नियन्त्रणमा लिई ललितपुर बटुक भैरवको मन्दिरको अँध्यारो गल्लीमा लगी निज जाहेरवालाको साथमा रहेको रू. १५,०००।- नगद, रू १०,०००।- पर्ने मोबाइल र गाडीको क्यासेटसमेत जम्मा रू. २८,२००।- बराबरको धनमाल फिरौतीसमेत लिएको देखिँदा निज प्रतिवादीहरूले गरेको उक्त कार्य मुलुकी ऐन, अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको १, २ र ३ नं. विपरीतको कसुर भएकाले निजहरूलाई सोही महलको ३ नं. बमोजिम सजाय हुनका साथै दुवैजना भै उक्त अपराध गरेकाले निज प्रतिवादीहरूलाई सोही महलको ७ नं. बमोजिम थप सजाय हुन र जाहेरवाला राम ठकुरीबाट फिरौतीबापत लिएको रकम रू. २८,२००।- मध्ये बरामद भएको SENBEN क्यासेट र नपुग रकम रू. २५०००।- समेत निजै प्रतिवादीहरूबाट सोही महलको १२ नं. बमोजिम निज जाहेरवालालाई फिर्ता दिलाई मनासिब क्षतिपूर्तिसमेत भराइपाउनसमेत मागदाबी लिई सम्बन्धित मुद्दाको सक्कल मिसिल र पक्राउ प्रतिवादी मुरारी भुजेललाई यसै अभियोगपत्रसाथ प्रस्तुत गरिएको साथै फरार प्रतिवादी शम्भु चौधरीको वास्तविक नाम थर वतन हालसम्म खुलेको नदेखिँदा पछि प्रहरीबाट खुली आएमा वा पक्राउ परी आएका बखत कानूनबमोजिम गरिने भन्नेसमेत व्यहोराको अभियोगपत्र ।
म ६ महिनादेखि आफ्नो घर सुनसरीबाट कामको सिलसिलामा काठमाडौं नयाँ बानेश्वर आई निर्मल महर्जन भन्ने एक जना व्यक्तिको ग्रिलको पसलमा काम गर्ने सिलसिलामा साथी राजु मगरसित पार्टनरसिपमा काम गर्दै आएको थिएँ । सोही क्रममा केही दिनमा पछि सो काम गर्ने सर्लाही घर बताउने शम्भु चौधरी भन्ने व्यक्तिले सोही ठाउँमा काम गर्न थाल्यो । केही दिनपछि उनै शम्भु चौधरीले मिति २०६७।४।६ गते घुम्न जाउँ भनी एकै ठाउँमा काम गर्ने साथी साथी भई स्वयम्भु
गयौँ । बेलुका साँझ ७.३० बजेतिर बस चढी कलङ्की आई चिया खाना खाई रातिको करिब नौ बजेपछि आफ्ना डेरा हात्तिवन जान भनी ट्याक्सीमा जाने सल्लाह भई रोकी राखेको हाल नामथर थाहा भएको राम ठकुरीको बा१ज २७३२ नं. को ट्याक्सीलाई भाडा सोध्यौं । निजले लगनखेलसम्मको भाडा रू. ३००।- हामीले २५०।- दिन्छौं भन्दा नमानेकाले रू. ३००।- रूपैयाँ दिने भनी लिई आयौं लगनखेलको बटुक भैरव मन्दिरको गल्लीमा पुगेपछि एक्कासी निज शम्भु चौधरीले आफ्नो झोलाबाट नक्कली लाईटवाला पेस्तोल देखाई ट्याक्सी रोक भनी ड्राइभरले ट्याक्सी रोके । ट्याक्सी ड्राइभरलाई तँसँग के के सामान छ सबै निकाल् भनी बञ्चरो मतिर दिई भनेपछि निज ड्राइभरले मसँग रू. ५००।- रूपैयाँ छ मोबाइल छ भनी दियो । सो समानहरू शम्भु चौधरीले लियो पछि पुनः गाडीको क्यासेटसमेत झिक्न लगाई नगद र मोबाइल आफ्नो गोजीमा राखी बञ्चरो र नक्कली पेस्तोल मलाई झोलामा राखी बोक्न दियो । गाडीको प्लक बिगारी साँचोसमेत शम्भु चौधरीले लिएको थियो, मैले शम्भु चौधरीलाई यस्तो बदमासी काम गर्नु हुँदैन भनी बारम्बार अनुरोध गर्दा तँ धेरै नकरा तँलाईसमेत खत्तम गरिदिन्छु भनी डर त्रास देखाई जबर्जस्ती सामान लिई बाटोमा जाँदै गर्दा प्रहरी आइरहेका रहेछन् । सो प्रहरीको गाडीको लाइट देख्ने बित्तिकै निज शम्भु चौधरीले आफूले लिएको झोलासमेत मतिर फाली पिसाब फेर्ने निहुँले भागेका हुन् र मलाई सो सामानसहित सोही मिति २०६७।४।६ गते राति १०.३० बजे पक्राउ परेको हुँ । सामान लुटपाट मैले गरेको होइन शम्भु चौधरीले गरेको हो मलाई सजाय हुनुपर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी मुरारी भुजेलले गरेको बयान ।
प्रतिवादीले अभियोग मागदाबीबमोजिम कसुर गरेका हुन् भन्ने वादीको अभियोगपत्र रहेकामा प्रतिवादीले अदालतमा बयान गर्दा आफूले गरेको होइन भने तापनि मौकामा वारदातस्थलबाट दशीसहित यी पुनरावेदक प्रतिवादीलाई प्रहरीको गस्ती टोलीले तत्काल पक्राउ गरेको अवस्थामा तत्काल प्राप्त प्रमाणको रूपमा प्रमाण ऐन, २०३१ को दफा ९ बमोजिम निजको विरूद्धमा प्रमाणमा लिन मिल्ने नै देखिन आयो । उक्त कुरा पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाल प्रतिवादी मुरारी भुजेललाई अ.बं. ११८ को देहाय दफा (२) बमोजिम थुनामा राखी मुद्दाको पुर्पक्ष गर्नुपर्ने देखिएकाले अ.बं. १२१ नं. बमोजिम थुनुवा पूर्जी दिई कारागार शाखा नख्खुमा लेखी पठाइदिने साथै प्रतिवादी चुक्ता भैसकेको देखिँदा वादीले अभियोगपत्रमा उल्लेख गरेका साक्षीहरूलाई जि.स.व.का. ललितपुरमार्फत र प्रतिवादीका साक्षीहरूलाई प्रतिवादीमार्फत उपस्थित गराई नियमानुसार पेस गर्नु भन्नेसमेत व्यहोराको ललितपुर जिल्ला अदालतको थुनछेक आदेश ।
प्रतिवादी मुरारी भुजेललाई चिनेको १ वर्ष भयो । बानी व्यहोरा राम्रो थियो । हामी सँगै काम
गर्दथ्यौं । उसले अपहरण तथा चोरी गरेको होइन । उसलाई साथीले फसाएर साथी भागेको हो । उसले चोरी तथा अपहरण नगरको हुँदा सजाय हुनुपर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादीका साक्षी नविन थापाले गरेको बकपत्र ।
प्रतिवादी मुरारी भुजेल ग्रिलको काम
गर्दछन् । बानी व्यहोरा राम्रो छ । काम गरेर कमाएर खाने हो । ग्रिलमा काम गर्न गर्नुहुन्थ्यो । घुम्न साथीसँग गएको भन्ने श्रीमतीले भनेर थाहा पाएको हो । ऊ अपहरण तथा चोरी गर्ने खालको मानिस होइन । मिहिनेती र काम गरेर खाने मानिस हो । उसले अपहरण तथा चोरी गरेको नहुँदा सजाय हुनुपर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादीका साक्षी गणेश थापाले गरेको बकपत्र ।
प्रतिवादीहरूको जाहेरवालालाई आफ्नो अनुकूलको स्थानमा लैजाने र रातको समयमा लुटपाट चोरी गर्ने उद्देश्यसमेत रहेको मिसिल प्रमाणबाट पुष्टि हुन आएकाले प्रतिवादी मुरारी भुजेललाई मुलुकी ऐन, अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको १ नं. को कसुरमा उक्त महलको ३ नं. बमोजिम चोरी लुटपाट गर्ने उद्देश्यले जाहेरवालालाई अपहरण गरेकाले ४ वर्ष कैद र रू. २५,०००।- जरिवाना हुने र उक्त महलको ७ नं. बमोजिम प्रतिवादीसमेतका २ जना व्यक्ति मिली जाहेरवालालाई ट्याक्सीसहित अपहरण गरेकामा तोकिएको सजायमा थप २ वर्ष कैद हुने र उक्त महलको १२ नं. बमोजिम जाहेरवालालाई प्रतिवादीबाट रू.२५,००० क्षतिपूर्ति दिलाई रू.१०,०००।- पर्ने मोबाइल, रू.३,२०० पर्ने क्यासेट चोरी गरेकाले जम्मा रू.१३,२००।- बिगोबमोजिम जरिवाना हुने ठहर्छ भन्नेसमेत व्यहोराको सुरू ललितपुर जिल्ला अदालतको मिति २०६७।११।९ गतेको फैसला ।
फरार प्रतिवादीको डरधाक धम्कीमा निजको झोलासम्म बोक्न बाध्य गरिएको म पुनरावेदक प्रतिवादीलाई घटनास्थलको २० मिटरको दुरी पार नगर्दै हिँड्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको अवस्था देखाइएको छ । मैले आफैँले अपराध गरेको भए प्रहरी आउँदासम्म म त्यहाँ हिँडिरहने थिइन । २० मिटरको दुरीमा हिँड्दै गरेको नभई केही लुकेको वा एक डेढ किलोमिटर पर भागी रहेको अवस्थामा पक्राउ परेको हुन्थेँ । मेरो साथबाट नै जाहेरीमा उल्लिखित गहकिला महँगो सामान तथा रकमसमेत बरामद हुन्थ्यो होला ती कुनै कुरा भएको छैन । तसर्थ उक्त सुरूको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी अभियोग दाबीबाट सफाइ दिलाई पाउँ भन्ने प्रतिवादी मुरारी भुजेलको पुनरावेदनपत्र ।
प्रतिवादी मुरारी भुजेलले बयान गर्दा नगदको हकमा रू.५००।– मात्र जाहेरवालाबाट शम्भु चौधरीले लिएका हुन् भनी बयान गरेको भए तापनि पीडित स्वयम्ले दिएको जाहेरी नगद रू.१५,०००।- समेत फिरौती लिई गएको भनी लेखाइदिएबाट जाहेरवालाको रू.१५,०००।- नगदसमेत लिई गएको भन्ने पुष्टि भएको देखिन्छ । जाहेरवाला ट्याक्सी चालक रहेको र वारदात राती ९ बजेको समयमा भएको हुँदा दिनभर ट्याक्सी चलाएका जाहेरवालाको साथबाट रू.१५,०००।- हुनु स्वाभाविकै देखिँदा नगद रू.१५,०००।- तर्फको अभियोग दाबीसमेत ठहर गरी सजाय हुनुपर्नेमा सो नगरेको फैसला त्रुटि हुँदा बदर गरी अभियोग दाबीबमोजिम गरिपाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदनपत्र ।
यसमा सुरू फैसलामा चित्त बुझेन भनी प्रतिवादी मुरारी भुजेलको र वादी नेपाल सरकारकोसमेत पुनरावेदन परेको देखिँदा अ.बं. २०२ नं. को प्रयोजनको लागि दुवै पक्षको पुनरावेदनको जानकारी एक अर्को पक्षलाई दिई नियमानुसार पेस गर्नु भन्ने पुनरावेदन अदालत, पाटनको मिति २०६८।९।१९ को आदेश ।
पुनरावेदक प्रतिवादी मुरारी भुजेलसमेतका उपर जाहेरवालाको किटानी उजुरी दिएको र तत्काल मौकामा वारदातस्थलबाट दशीसहित पुनरावेदक प्रतिवादीलाई प्रहरीको गस्ती टोलीले तत्काल पक्राउ गरेको पाइन्छ । पुनरावेदक प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्ष र अदालतमा बयान गर्दा पनि आफूसमेत वारदातस्थलमा रहेको कुरा स्वीकार नै गरेको हुँदा वारदातको अवस्थालाईसमेत मध्यनजर गरी १ दिनको रू. ५,०००।- क्षतिपूर्तिको भराउन मनासिब देखिन आएकाले १२ नं. ले गर्ने जरिवाना र पीडितलाई भराई दिने क्षतिपूर्तिको हकमा सम्म सुरू फैसला नमिलेकाले केही उल्टी भई पुनरावेदक प्रतिवादी मुरारी भुजेललाई अपहरण तथा शरीर बन्धक लिनेको १ नं. को कसुरमा ऐ को ३ नं. ले चार वर्ष कैद र पच्चीस हजार रूपैयाँ जरिवाना ऐ. को ७ नं. ले थप दुई वर्ष कैद र रू. १०,०००।- पर्ने मोबाइल रू. ३,२००।- पर्ने क्यासेट र नगद रू. ५००।- समेत गरी बिगो रू. १३,७००।- जाहेरवालाको चोरीसमेत गरेकाले ऐ को १२ नं. ले रू. १३,७००।- जरिवानासमेत गरी कूल जम्मा ६(छ) वर्ष कैद र रू. ३८,७००।- रूपैयाँ जरिवाना भई पुनरावेदक प्रतिवादीबाट ऐ. १२ नं. बमोजिम रू. ५,०००।- क्षतिपूर्तिसमेत जाहेरवालाले भरिपाउने ठहर्छ भन्ने पुनरावेदन अदालत, पाटनको मिति २०६८।१०।३ को फैसला ।
ट्याक्सी चालकलाई हातहतियारसमेत
देखाई जबर्जस्ती वारदातस्थल बटुक भैरवसम्म लगी क्यासेट नगद मोबाइल फोनसमेत लुटी लिएको र अपहरणको फिरौती रकम लिन टेलिफोन गराउँदाको अवस्थामा जाहेरवाला भाग्न सफल भई प्रहरीले तत्काल मौकामा दशीसहित प्रतिवादी मुरारी भुजेललाई पक्राउ गरेको तथ्य स्थापित भएको छ । अधिकारप्राप्त अधिकारी र अदालतसमक्ष यी प्रतिवादीले साबिती बयान गरेका छन् । निजको साथबाट बरामद भएका सामान जाहेरवालाले सनाखत गरेका छन् । अपहरण तथा शरीर बन्धक लिनेको महलको १२ नं. को व्यवस्था हेर्दा छुटकारा रकम वा अन्य कुनै लाभ लिएको भए सोसमेत फिर्ता गराई हुने सजायको अतिरिक्त बिगोबमोजिम सजाय गर्ने कानूनी व्यवस्था भएकामा चोरीमा दाबी नै नलिएका धनमाल चोरी गरेको भनी भएको फैसला त्रुटिपूर्ण छ । साथै अपहरण तथा शरीर बन्धक लिने महलको १ नं. मा यातायातको साधन कब्जामा लिई अपराध गरेमा ऐ. ३ नं. बमोजिम ७ वर्षदेखि १५ वर्षसम्म कैद र रू.५०,००० देखि रू.२,००,०००।- सम्म जरिवाना हुने स्पष्ट व्यवस्था भएकामा सुरू फैसला केही उल्टी गरी कम सजाय गर्ने गरेको पुनरावेदन अदालत, पाटनको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी प्रतिवादीलाई सुरू अभियोग मागदाबीबमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको यस अदालतमा परेको पुनरावेदनपत्र ।
फरार प्रतिवादी शम्भु चौधरीले डरधाक धम्की देखाई मलाई बाध्य पारी बोकाएको निजको झोलाबाट एउटा क्यासेटमात्र बरामद भएको भन्ने आधारमा मैले अपहरण तथा शरीर बन्धक लिने अपराध गर्यो भन्न मिल्ने हुँदैन । प्रारम्भिक अनुसन्धानको क्रममा तयार गरेका कागजातकै भरमा मात्र त्यस्तो जघन्य अपराधमा मलाई फसाउन मिल्ने होइन । जाहेरी र सनाखत कागजको भरमा मात्र मलाई कसुरदार प्रमाणित भएको मान्न मिल्दैन वादीले सो कुरा पुष्टि गर्न सक्नुपर्छ । जाहेरवाला तथा साक्षीहरू अदालतमा उपस्थित गराई बकपत्र गराउनसमेत नसकेको र मुख्य प्रतिवादीलाई प्रतिवादी कायम गरी मुद्दासमेत चलाउन नसकेको अवस्थामा म निर्दोष व्यक्तिलाई शङ्काको भरमा जबर्जस्ती दोषी ठहर गरेको सुरू फैसलामा क्षतिपूर्तिमा केही कम गर्नेसम्म गरी केही उल्टी गरेको पुनरावेदन अदालत, पाटनको फैसला बदर गरी आरोपित कसुरबाट सफाइ पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी मुरारी भुजेलको यस अदालतमा परेको पुनरावेदनपत्र ।
यसमा वादी र प्रतिवादी दुवैतर्फको पुनरावेदन परेको देखिँदा मुलुकी ऐन, अ.बं. २०२ नं. को प्रयोजनार्थ वादी नेपाल सरकारको पुनरावेदन पुनरावेदक प्रतिवादीलाई सुनाई तथा प्रतिवादीको पुनरावेदनको हकमा महान्यायाधिवक्ताको कार्यालयलाई पेसीको जानकारी दिई नियमानुसार पेस गर्नु भन्ने यस अदालतको मिति २०७०।११।२१ को आदेश ।
नियमबमोजिम पेसीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको सुरू तथा पुनरावेदन मिसिलसमेत अध्ययन गरी पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् सहन्यायाधिवक्ता श्री रमादेवी पराजुलीले र पुनरावेदक प्रतिवादीको तर्फबाट उपस्थित विद्वान् अधिवक्ताहरू श्री विष्णुमाया भुषाल, श्री रिना डंगोल र श्री उमेशप्रसाद गौतमले गर्नुभएको बहससमेत सुनी निर्णयतर्फ विचार गर्दा पुनरावेदन अदालत, पाटनको फैसला मिले नमिलेको के रहेछ, वादी तथा प्रतिवादी दुवैको पुनरावेदन जिकिर पुग्न सक्ने नसक्ने के रहेछ सोही विषयमा निर्णय दिनुपर्ने देखिन आयो ।
यसमा यी प्रतिवादीले जाहेरवाला राम ठकुरीलाई अपहरण गरी मुलुकी ऐन अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको १, २ र ३ नं. विपरीतको कसुर अपराध गरेकामा निजलाई ३ नं. बमोजिम सजाय, ७ नं. बमोजिम थप सजाय गरी फिरौती लिएको रकम रू.२८,२००।- मध्ये बरामदित क्यासेट जाहेरवालालाई फिर्ता दिलाई नपुग रू. २५,०००।- प्रतिवादीबाट दिलाई भराइ पाउँ भन्ने अभियोग माग दाबी रहेकामा ललितपुर जिल्ला अदालतबाट ४ वर्ष कैद, रू. २५,०००।- जरिवाना २ वर्ष थप कैद, रू. २५,०००।- क्षतिपूर्ति रू. १३,२००।- बिगोबमोजिम जरिवाना हुने गरी फैसला भएको
पाइयो । सो फैसलाउपर वादी प्रतिवादी दुवैको चित्त नबुझी पुनरावेदन परेकामा केही उल्टी भई कूल जम्मा ६ वर्ष कैद, रू.३८,७००।- जरिवाना भई रू.५,०००।- क्षतिपूर्तिसमेत जाहेरवालाले भरी पाउने ठहराई पुनरावेदन अदालत, पाटनबाट भएको फैसलाउपर यातायातको साधन कब्जामा लिई अपराध गरेकामा कानूनमा तोकिएभन्दा कम सजाय गर्ने गरेको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी प्रतिवादीलाई सुरू अभियोग मागदाबीबमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको र मुख्य प्रतिवादीलाई प्रतिवादी कायम गरी मुद्दासमेत चलाउन नसकेको अवस्थामा म निर्दोष व्यक्तिलाई शङ्काको भरमा जबर्जस्ती दोषी ठहर गरेको फैसला बदर गरी आरोपित कसुरबाट सफाइ पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी मुरारी भुजेलको तर्फबाट यस अदालतमा पुनरावेदन परेको पाइयो ।
२. निर्णयतर्फ विचार गर्दा, वादी नेपाल सरकारको पुनरावेदन जिकिरमा उठाइएको अपहरण तथा शरीर बन्धक लिनेको महलको १ नं. मा यातायातको साधन कब्जामा लिई अपराध गरेमा ऐ. ३ नं. बमोजिम ७ वर्ष देखि १५ वर्षसम्म कैद र रू.५०,०००।- देखि रू.२,००,०००।- सम्म जरिवाना हुने स्पष्ट व्यवस्था भएकामा सोभन्दा कम सजाय गर्ने गरेको पुनरावेदन अदालत, पाटनको फैसला त्रुटिपूर्ण हुँदा बदर गरिपाउँ भन्ने जिकिर रहेकामा, सर्वप्रथम मुलुकी ऐन, अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको ३ नं. मा भएको कानूनी व्यवस्था नै के रहेछ भनी हेर्नुपर्ने
देखियो । जसमा “…कसैलाई ज्यान लिने, कुटपिट गरी चोट पुर्याउने, जबरजस्ती करणी वा अप्राकृतिक मैथुन गर्ने, बिक्री गर्ने, दास बनाउने, निजको इच्छा विरूद्ध काममा लगाउने, यातना दिने, वेश्यावृत्तिमा लगाउने, कुनै काम गर्न वा गराउन बाध्य गराउने, छुटकारा रकम (फिरौती) लिने वा शरीर बन्धकमा लिइएको व्यक्ति वा निजको हकवालाको धन सम्पत्ति प्राप्त गर्ने, व्यवसाय समर्पण गराउने वा प्रचलित कानूनबमोजिम कसुर हुने अन्य कुनै काम गर्न लगाउने उद्देश्यले यस महलको १ वा २ नं. बमोजिम अपहरण गरेमा वा शरीर बन्धक लिएमा सो गर्ने गराउने व्यक्तिलाई सात वर्षदेखि पन्ध्र वर्षसम्म कैद र पचास हजार रूपैयाँदेखि दुई लाख रूपैयाँसम्म जरिवाना र लेखिएबाहेक अन्य उद्देश्यले अपहरण गरेमा वा शरीर बन्धक लिएमा चार वर्षदेखि आठ वर्षसम्म कैद र पच्चीस हजार रूपैयाँदेखि एक लाख रूपैयाँसम्म जरिवाना हुन्छ” भन्ने व्यवस्था रहेको देखिन्छ । प्रस्तुत मुद्दाका यी प्रतिवादीले जाहेरवाला राम ठकुरीलाई के कुन उद्देश्यले अपहरण गरेको हो भन्ने सम्बन्धमा वादीले पेस गरेको अभियोगपत्र स्पष्टरूपमा खुलाउन अर्थात् स्पष्ट अभियोग दाबी पनि लिन नसकेको अवस्थामा दफा ३ मा उल्लिखित उक्त उद्देश्यहरूभन्दा अन्य उद्देश्यले अपहरण गरेमा वा शरीर बन्धक लिएको देखिएमा चार वर्षदेखि आठ वर्षसम्म कैद र पच्चीस हजार रूपैयाँदेखि एक लाख रूपैयाँसम्म जरिवाना हुने भन्ने उक्त दफामा नै व्यवस्था रहेको देखिन्छ । सजायमा तल्लो र माथिल्लो हद राख्नु भनेको अपराध गर्दाको अवस्था, परिस्थिति र प्रतिवादीको कसुरमा संलग्नता आदिसमेतको आधारमा न्यायकर्ताले आफूमा निहीत स्वविवेकीय अधिकारको प्रयोगद्वारा प्रतिवादीलाई सजायको निर्धारण गर्नकै लागि भएको हुन्छ । कानूनमा व्यवस्था भएअनुसार यी प्रतिवादीलाई सजाय तोकिएको देखिँदा त्यसलाई अन्यथा मान्न मिल्ने नहुँदा वादी नेपाल सरकारको उक्त पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन ।
३. जहाँसम्म मुख्य प्रतिवादीलाई प्रतिवादी कायम गरी मुद्दासमेत चलाउन नसकेको अवस्थामा म निर्दोष व्यक्तिलाई शङ्काको भरमा जबर्जस्ती दोषी ठहर गरेको फैसला बदर गरी आरोपित कसुरबाट सफाइ पाउँ भन्ने प्रतिवादी मुरारी भुजेलको पुनरावेदन जिकिर छ सो सम्बन्धमा हेर्दा, यी प्रतिवादीसमेत भै बा१ज २७३२ नं. को ट्याक्सी चालक राम ठकुरीलाई बल्खुबाट नियन्त्रणबाट लिई लगनखेल बटुक भैरव मन्दिरको सडक गल्लीमा लगी निजको साथमा भएको नगद तथा धनमाल फिरौती लिइरहेको अवस्थामा प्रतिवादी मुरारी भुजेललाई मौकामा वारदातस्थलबाट दशीको सामानसहित प्रहरीको गस्ती टोलीले तत्काल पक्राउ गरेको देखिन्छ । यी प्रतिवादीउपर जाहेरवालाले किटानी उजुरी दिएको र निजले अधिकारप्राप्त अधिकारीसमक्ष तथा अदालतसमक्ष बयान गर्दा जाहेरवाला राम ठकुरीले चलाएको ट्याक्सीमा चढी शम्भु चौधरीले पेस्तोल र आफूले बञ्चरो देखाई चालकलाई नियन्त्रणमा लिई डरत्रासमा पारी ललितपुर बटुक भैरव मन्दिरको गल्लीमा लगी नगद, मोबाइल, गाडीको क्यासेट लिएको र अन्य रकमसमेत फिरौती माग गर्न निजलाई टेलिफोन गराइरहेको अवस्थामा निज भाग्न सफल भई हारगुहार गर्दा नजिकै रहेको प्रहरी टोलीले पक्राउ गरेको हो भनी कसुर स्वीकार गरी बयान गरेको देखिन्छ । प्रतिवादी मुरारी भुजेल आफू भाग्दै गर्दा घटनास्थलमा नै पक्राउ परेको र कसुरजन्य कुरामा अदालतमासमेत साबित भई बयान गरेकोबाट पनि यी प्रतिवादीउपरको अभियोग दाबी पुष्टि भइरहेको देखिन्छ । प्रस्तुत वारदातमा मिसिल संलग्न माथि उल्लिखित प्रमाणको आधारमा यी प्रतिवादी संलग्न छैनन् निर्दोष रहेछन् भनी मान्न मिल्ने अवस्था नहुँदा निजको उक्त पुनरावेदन जिकिरसँग सहमत हुन सक्ने अवस्था देखिएन ।
४. आपराधिक कार्यमा शम्भु चौधरी पनि संलग्न रहेको भनी प्रतिवादी मुरारी भुजेलले अनुसन्धानको क्रममा बयान गरेको, अभियोगपत्रमा सो व्यहोरा उल्लेख भएको र शम्भु चौधरीले डरधाक धम्की देखाई मलाई बाध्य पारी निजले झोला बोकाएकामा सोही झोला बरामद भएको भन्ने प्रतिवादीको पुनरावेदन जिकिर रहेकामा शम्भु चौधरी तत्काल पक्राउ पर्न सकेको देखिँदैन । अभियोजन पक्षले पनि सो घटना र कार्यमा निज शम्भु चौधरी संलग्न रहको भनी स्पष्ट मागदाबी नलिई फरार प्रतिवादी शम्भु चौधरीको वास्तविक नाम, थर, वतन हालसम्म खुलेको नदेखिँदा पछि प्रहरीबाट खुली आएमा वा पक्राउ परिआएका बखत कानूनबमोजिम गरिने भन्ने उल्लेख भएको देखिन्छ । यस्तो अवस्थामा यी प्रतिवादी मुरारी भुजेलउपर मुलुकी ऐन, अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको ७ नं. को अभियोग दाबी लिई दुई जना व्यक्ति अपराधमा संलग्न रहेको भनी मान्न मिल्ने नदेखिँदा वादी नेपाल सरकारको सो हदसम्मको अभियोग दाबीबमोजिम थप २ वर्ष सजाय गर्ने गरेको पुनरावेदन अदालत, पाटनको फैसला तथ्य र प्रमाणमा आधारित रहेको मान्न मिल्ने देखिन
आएन । यसरी अपराध गर्ने कार्यमा दुईजना संलग्न रहेको भन्ने तथ्य नै पुष्टि हुन नसकेको स्थितिमा अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको ७ नं. बमोजिम उक्त महलबमोजिम हुने सजायमा थप २ वर्ष कैदको दाबी लिएको हकमा त्रुटिपूर्ण भई मिलेको नदेखिँदा यी पुनरावेदक प्रतिवादीलाई ऐ. ७ नं. बमोजिम थप २ वर्ष कैद हुने ठहर गरेको हदसम्म पुनरावेदन अदालत, पाटनको सो फैसला मिलेको देखिएन ।
५. तसर्थ प्रतिवादी मुरारी भुजेललाई मुलुकी ऐन, अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको १ नं. को कसुरमा ऐ. को ३ नं. ले चार वर्ष कैद र पच्चीस हजार रूपैयाँ जरिवाना र ऐ. को १२ नं. ले बिगोबमोजिम थप जरिवानासमेत हुने भएकाले प्रतिवादीले जाहेरवालाको लिएको सामानसमेतको कायम भएको जम्मा बिगो रू. १३,७००।- देखिएकाले सो बिगोबमोजिम जरिवानासमेत गर्दा कूल जम्मा रू. ३८,७००।- रूपैयाँ जरिवाना भई पुनरावेदक प्रतिवादीबाट ऐ १२ नं. बमोजिम रू. ५,०००।- क्षतिपूर्तिसमेत जाहेरवालाले भरी पाउने ठहर्छ । प्रतिवादीलाई ऐ. ७ नं. बमोजिम थप २ वर्ष कैद हुने ठहर गरेको हदसम्म पुनरावेदन अदालत, पाटनको मिति २०६८।१०।३ को फैसला मिलेको नदेखिँदा सो हदसम्म फैसला केही उल्टी हुने ठहर्छ । आरोपित कसुरबाट पूर्णरूपमा सफाइ पाउँ भन्ने प्रतिवादी मुरारी भुजेलको पुनरावेदन जिकिर तथा अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन । फैसलाको पूर्ण पाठ तयार हुन समय लाग्ने भएकाले निजको कैद २०७१।४।६ मा भुक्तान भैसकेको देखिँदा निजलाई लागेको जरिवाना दाखिला गरेमा वा मुलुकी ऐन दण्ड सजायको ५३ नं. बमोजिम उक्त जरिवाना असुल भएपछि अन्य मुद्दाबाट थुनामा राख्नु नपर्ने भए प्रस्तुत मुद्दाको रोहबाट पुनरावेदक प्रतिवादी मुरारी भुजेललाई थुनाबाट छाडी दिनु भनी कारागारमा लेखी पठाउनु भनी आजै छुट्टै आदेश भएको हुँदा अरूमा तपसिलबमोजिम गर्नू ।
तपसिल
माथि इन्साफ खण्डमा लेखिएबमोजिम प्रतिवादी मुरारी भुजेललाई ४ वर्षमात्र कैद सजाय र रू. ३८,७००।- जरिवाना हुने ठहरेकाले कैदको हकमा निज मिति २०६७।४।७ देखि प्रहरी हिरासतमा रही निजलाई लागेको कैद वर्ष ४ मिति २०७१।४।६ मा भुक्तान हुनेमा निज फैसला हुँदाको मितिसम्म थुनामा रहेको देखिँदा निजलाई लागेको जरिवाना नतिरेमा दण्ड सजायको ३८ नं. बमोजिम जरिवानाबापत ४ वर्ष अर्थात् मिति २०७१।४।६ देखि २०७५।४।५ सम्म कैदमा राखी असुलउपर गर्नू । जरिवाना तिरेमा निज २०७१।४।६ बाट फैसला मिति २०७१।१०।५ सम्मको हुन आउने अवधि ६ महिनाको दिन एकको रू. २५।- का दरले हुन आउने रकम रू. ४,५००।- कटाइ बाँकी जरिवाना असुल गर्नु भनी लगत दिनू । उपरोक्त अनुसारको जरिवाना बुझाए निवेदकलाई अन्य मुद्दाबाट थुनामा राख्नु नपर्ने भएमा प्रस्तुत मुद्दाको थुनाबाट मुक्त गरिदिनु भनी आज छुट्टै आदेश भएको हुँदा त्यसतर्फ केही बोलिरहनु परेन ........................................१
पुनरावेदन अदालतको फैसलाबमोजिम जाहेरवालाले प्रतिवादीबाट भरी पाउने ठहरेको क्षतिपूर्तिबापतको रकम रू.५,०००।- भराइपाउँ भनी कानूनका म्यादभित्र जाहेरवालाको दरखास्त परे प्रतिवादीबाट जाहेरावालालाई भराइदिनु भनी लेखी पठाउनू ........१
दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाइदिनू .....................................................१
उक्त रायमा सहमत छु ।
स.प्र.न्या.रामकुमार प्रसाद शाह
इति संवत् २०७१ साल माघ ५ गते रोज २ शुभम् ।
इजलास अधिकृत: ईश्वर पराजुली