शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९३८५ - कर्तव्य ज्यान

भाग: ५७ साल: २०७२ महिना: श्रावण अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय

माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय

फैसला मिति : २०७१।१०।२८।४

०६९-CR-०७१८

 

मुद्दा : कर्तव्य ज्यान ।

 

पुनरावेदक / प्रतिवादी : जिल्ला झापा, भद्रपुर नगरपालिका वडा नं. ५ घर भई झापा कारागारमा रहेको सुभाष राय

विरूद्ध

प्रत्यर्थी / वादी : कृष्ण कन्हैया महतोको जाहेरीले नेपाल सरकार

 

०६९-CR-०८११ 

पुनरावेदक / प्रतिवादी : जिल्ला झापा, भद्रपुर नगरपालिका वडा नं. ५ घर भई झापा कारागारमा रहेको महेन्द्र राय

विरूद्ध

प्रत्यर्थी / वादी : कृष्ण कन्हैया महतोको जाहेरीले नेपाल सरकार

 

०६९-CR-०८८७

पुनरावेदक / वादी : कृष्ण कन्हैया महतोको जाहेरीले नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : जिल्ला झापा, भद्रपुर नगरपालिका वडा नं. ५ बस्ने श्रीमती शान्ति राय राउत

 

प्रतिवादीहरूबीच लेनदेनसम्बन्धी काम कारवाही भएको भन्ने अभियोगपत्रको व्यहोराबाट प्रतिवादीहरूले मृतकलाई मार्नु पर्ने कारण नहुँदा आफूले पैसा लिनुपर्ने मृतक जीवित रहेमा प्रतिवादीको पैसा उठ्ने सम्भावनालाई प्रतिवादीले मृतकको हत्या गरेर समाप्त पार्ने कुरा तर्कसङ्गत नदेखिने ।

(प्रकरण नं.६)

अनिश्चित र संदिग्ध कुरालाई परिस्थितिजन्य प्रमाणको जामा पहिराउनु प्रमाणसम्बन्धी कानूनी सिद्धान्त र न्यायिक मान्यताको उपहास 

गर्नुहुनेछ । प्रतिवादीहरू विरूद्ध प्रत्यक्ष प्रमाण छँदैछैन । मार्नुपर्ने कारण पनि शङ्कारहित किसिमबाट आउन सकेको छैन । फौजदारी कसुरमा प्रतिवादी विरूद्धको अभियोगदाबी ठोस, निर्विवाद र शङ्कारहित प्रमाणबाट प्रमाणित गर्नुपर्ने । 

(प्रकरण नं.१०)

 

पुनरावेदकका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता हरिहर दाहाल एवम्‌ विद्वान्‌ अधिवक्ता युवराज भण्डारी र सेमन्त दाहाल

प्रत्यर्थीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता भरतलाल शर्मा

अवलम्बित नजिर :

सम्बद्ध कानून :

मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १, ३, १३(२) नं.

 

सुरू तहमा फैसला गर्ने :

मा.जि.न्या.श्री गोपाल भट्टराई

पुनरावेदन तहमा फैसला गर्ने :

मा.न्या.श्री हरिप्रसाद घिमिरे

मा.न्या.श्री उदयप्रकाश चापागाई

 

फैसला

न्या.गोविन्दकुमार उपाध्याय : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम पुनरावेदन अदालत, इलामको मिति २०६९।६।८ को फैसलाउपर प्रतिवादीहरू एवम्‌ वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य र ठहर यसप्रकार छ :

म जाहेरवालाको सहोदर दाजु शिव महतो मिति २०६८।२।२८ गते दिउँसो घरबाट हिँड्नु भएकामा, जिल्ला झापा भद्रपुर-१ स्थित नयाँबजार कदम बगान छेउमा दाजुको मृत्यु भएको अवस्थामा थाहा हुन आएकाले के कसरी मृत्यु हुन गयो सोको यकिन जाहेरी दर्खास्त पछि गर्ने हुँदा हाल विष सेवन गरी मरेको हो कि भनी आशङ्का रहेको हुँदा यो जाहेरी दर्खास्त लिई उपस्थित भएको छु भन्ने व्यहोराको कृष्णकन्हैया महतोको मिति २०६८।२।२९ को जाहेरी दरखास्त ।

जिल्ला भद्रपुर न.पा. १ स्थित पूर्वमा मेची खोला, पश्चिममा भद्रपुरबाट महेशपुर आवतजावत गर्ने पक्की सडक, उत्तरमा भुवन मुखियाको पक्की घर, दक्षिणमा कदम बगान यति चार किल्लाभित्र चेतराज आचार्यको जग्गामा रहेको बनमाराको झाडीमा उत्तर टाउको, दक्षिण गोडा, दायाँ छेउमा Terminator लेखिएको विषयको बोतलको २ वटा बिर्को खुल्ला अवस्थामा रहेको, लास रहेको स्थानमा झारपात माडिएको, लास रहेको स्थानदेखि अन्दाजी १० मिटर उत्तरमा मृतकको मे.१.प. १२२३ नं. को मोटरसाइकल रहेको, दायाँ हात र खुट्टा खुम्चिएको, दुवै हातको मुठ्ठी खुल्ला रहेको कपाल लामो पानीले भिजेको, नाकबाट रगत निस्केको, मुख बन्द, नङ निलो कालो देखिएको, बायाँ पुठा छेउमा छाला खुइलिएको, लिङ्गमा केही पनि ननिस्केको, मलद्वारबाट दिशा निस्केको भन्ने व्यहोराको मिति २०६८।२।२९ मा भएको घटनास्थल लास जाँच मुचुल्का ।

Cannot be determined till all the visceral reports arrive भन्ने व्यहोराको मेची अञ्चल अस्पताल भद्रपुर झापाबाट मिति २०६८।२।२९ मा भएको शव परीक्षण प्रतिवेदन ।

२०६८।२।२८ गते शनिबार म जाहेरवालाको दाजु शिव महतोले सालो सुभाष राय माझमा र  साधु महेन्द्र राय पछाडि बसी आफ्नो मे.१ प. १२२३ नं. को मोटरसाइकलमा सवार भै निज साधु महेन्द्र रायले नखोलेको सिग्नेचर बोटल बोकी घटनास्थलमा आएको रिक्सा चालक सुरेन राजवंशीले देखेका रहेछन् । नयाँ भाउजू हुन आउने शान्तिराय महतो आफ्नो साइकलमा घटनास्थलमा आइ बसेको कदम बगानमा घास काट्ने श्यामसुन्दर मारवाडीको नाम थाहा नभएको गोठालाले देखेका रहेछन् । दाजु शिव महतो तथा प्रतिवादी महेन्द्र राय, शुभाष राय र शान्तिराय महतोसमेत चारजना भई उक्त कदम बगानमा बसी रक्सी खाई मेरो दाजुलाई समेत खुवाई रक्सीले मातेपछि जबर्जस्ती विष सेवन गराई मारेको रिक्सावाला र श्यामसुन्दरको गोठालासमेतको भनाइबाट खुल्न आएको र म जाहेरवालाको दाजु शिव महतोको मृत्यु कदम बगानमा हुनु साथै उक्त स्थानमा विषका बोतल भेटिनु र सोही स्थानमा नै दाजुलाई मृत अवस्थामा भेटिनु, मृतक दाजुको एकातिरको गालामा चोट देखिनु, मुख आँ भएको हुनुसमेतबाट यी प्रतिवादीहरूले विष सेवन गराई कर्तव्य गरी मारेको हुँदा मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ नं. कसुरमा ऐ.को १३ नं. बमोजिम हदैसम्मको सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको कृष्णकन्हैया महतोको मिति २०६८।३।२ गतेको जाहेरी दरखास्त ।

मिति २०६८।२।२८ गते मैले भद्रपुर बजारबाट रिक्सामा प्यासेन्जर राखी बस स्टैन्ड गइरहेको अवस्थामा भद्रपुरको बाख्रा हटिया लाग्ने ठाउँमा पुग्दा विपरीत दिशा तथा भद्रपुर बस स्टैन्डतर्फबाट निज मृतक शिव महतो चढ्ने मोटरसाइकलमा ३ जना सवार थिए । मोटरसाइकल अनकन्ट्रोल गरी चलाएका थिए मैले शिव दाई मोटरसाइकलले ठक्कर दिनु हुन्छ कि क्या हो भन्दा उक्त मोटरसाइकलको बीचमा बस्ने मानिस हाँसेका थिए । तत्काल नचिनेका हाल आएर बुझ्दा निज पक्राउ परी आएका महेन्द्र राय भन्ने थाहा पाएँ । निजले जम्बु बोटलमा कालो कोक जस्तै तरल पदार्थ बोकेका थिए । निजहरूको पछाडि बस्ने सुभास राय भन्ने थाहा पाएँ । म घर बसिरहेको अवस्थामा शिव महतोको विष सेवनबाट मृत्यु भएको भन्ने हल्ला सुनेकाले घटनास्थल जाँदा मृतकलाई बनमारा घारीमा मृत अवस्थामा देखेको हुँ । लास रहेको स्थानदेखि अ. १० मिटर उत्तरमा मोटरसाइकल थियो । उक्त स्थानको वरपर २ वटा विषादी पदार्थको बट्टा थियो । वारदात भएको दिन मृतकले चलाएको मोटरसाइकलमा पछाडि बस्ने व्यक्तिहरू यिनीहरू नै हुन् भनी सनाखतसमेत गरिदिए । वारदात भएका दिन प्रतिवादीहरू सुभाष राय, महेन्द्र राय मृतकसँगै हिँड्‍डुल गर्नु र सोही दिन निज शिव महतोको लास फेला परेका कारण यिनै प्रतिवादीहरूले निजलाई विष खुवाई मारेकामा विश्वास लाग्छ । प्रतिवादीहरूलाई कानूनबमोजिम कारवाही होस् भन्नेसमेत व्यहोराको सुरेन राजवंशीको मिति २०६८।३।१२ मा भएको घटना विवरण कागज ।

मिति २०६८।२।२८ गते म घटनास्थल भनिएको स्थान तथा शिव महतोको लास फेला परेको स्थान नजिकै घाँस काटिरहेको थिएँ । दिनको अ. १२.३० बजेको समयमा मैले नचिनेका १ जना मानिस मोटरसाइकलमा आइ पुगे र मोटरसाइकल कदम बगानको चौरीमा राखी बसेका थिए । केही छिनपछि एकजना र अर्कोसमेत २ जना लेडिज साइकलमा सिङ्गल सिङ्गल बसी आए र कदम बगानमा बसेका मान्छेसँग भेट गरी गफ गरी २०/२५ मिनेटपछि साइकिलमा जाने २ जना साइकिलमै बसी फर्किए । म घाँसको भारी पुर्‍याई फर्कंदा मोटरसाइकल पहिलेकै स्थानमा थियो । भोलिपल्ट जाहेरवालाको दाजु शिव महतोको लास परेको सुनी थाहा पाएँ । प्रतिवादी सुभाष राय र महेन्द्र रायसमेतलाई यस कार्यालयबाट देखाउँदा देखेँ पहिचान गरेँ मृतकलाई घटनास्थलमा भेट्न जाने मानिसहरू यिनीहरू नै हुन् भनी सनाखतसमेत 

गरिदिए । प्रतिवादी सुभाष राय र महेन्द्र रायसमेतले नै शिव महतोलाई विषादी पदार्थ खुवाई कर्तव्य गरी मारेकामा विश्वास लाग्छ । निज प्रतिवादीहरूलाई कानूनबमोजिम कारवाही होस् भन्नेसमेत व्यहोराको तिलक भुजेलले मिति २०६८।३।१२ मा गरी दिएको घटना विवरण कागज ।

मिति २०६८।२।२७ गतेका दिन म भारतको गलगलिया भन्ने स्थानमा गाडिको खलासि कामको लागि गएको हुँदा ऐ. २८ गते गलगलियामै थिए । मलाई वारदात सम्बन्धमा थाहा भएन । मृतक मेरो छिमेकी 

हो । म रक्सी खाने भएर श्रीमती पोइल गएको हुन सक्छ । वारदातको दिन म मृतकसँग मृतकले चलाएको गाडिको बीचमा थिइनँ । जाहेरवालासँग पूर्ब रिसइवी थिएन । प्रतिवादी सुभाष राय र शान्तिराय राउतले मारे मारेनन् मलाई थाहा भएन । जाहेरवालाले के कुन आधारबाट मसमेत विरूद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दर्खास्त हालेका हुन् मलाई थाहा भएन भन्नेसमेत व्यहोराको प्रतिवादी महेन्द्र रायले अधिकारप्राप्त अधिकारीसमक्ष मिति २०६८।३।१४ मा गरेको बयान ।

मिति २०६८।३।२८ गते शनिबार म र शिव महतो हामी दुवै जना मोटरसाइकल चढी चन्द्रगढीतर्फ आयौँ । अ. ७:३० बजेको समयमा तिमी रामजी दाहालको घरमा बस्दै गर म कोठा खोजी आउँछु भन्नुभयो । म रामजी दाहालको घर गई बसेँ । दिनको १२:०० बजेतिर मृतक शिव महतोको छोरी म बसेको घरमा आई बुबा यहाँ हुनुहुन्छ भनी मलाई सोधीन्, आउनुभएको छैन भनिदिएँ । मैले किन खोजेको भन्दा रिसाएर हिँड्नु भएको छ भनिन् । म र छोरी भई गरामनी खोज्न गयौँ फेला पार्न सकिएन । म रामजी दाहालको घरमा आए त्यहीँ खाना खाएर त्यस दिन त्यहीँ सुतेँ । उनी घर गइन् । भोलिपल्ट बिहान ८:०० बजे चन्द्रगढी बजार आउँदा शिव महतोको विषादी पदार्थको सेवनबाट मृत्यु भएको सुनी थाहा पाएँ । सोपश्चात् मलाई चिन्ता लागी मुसा मार्ने विषादी पदार्थ सेवन गरी आत्महत्या गर्ने प्रयास गरेँ र विषादी पदार्थ सेवन गरी लडिरहेको अवस्थामा प्रहरीले मलाई मेची अञ्चल अस्पताल लगी उपचार गराई ठिक भएपछि तपाइँको विरूद्धमा किटानी जाहेरी परेको छ भनि ल्याएको हो । मृतक शिव महतोलाई विषादी खुवाई कर्तव्य गरी मारे मराएको होइन । प्रतिवादीहरू महेन्द्र राय र सुभाष रायले मारे मारेनन् सो कुरा मलाई थाहा भएन । म विरूद्ध किटानी जाहेरी दर्खास्त के कुन रिसइवीका कारणले दिएका हुन् जाहेरवाला नै जानून् । मलाई शिव महतोको जिम्मा लगाई गाउँबाट निकाला गरी दिएपश्चात् प्रतिवादी महेन्द्र राय र सुभाष रायसँग मेरो भेटघाट भएको थिएन । मैले मार्ने योजना बनाएको थिइनँ । प्रतिवादी महेन्द्र राय र सुभाष रायसमेतले मार्ने योजना बनाएका थिए थिएनन् सोकुरा मलाई थाहा भएन भन्नेसमेत व्यहोराको प्रतिवादी शान्तिराय राउतले अधिकारप्राप्त अधिकारीसमक्ष मिति २०६८।३।१४ मा गरेको बयान ।

म विमानस्थलमा लोडरको काम गर्छु । मिति २०६८।२।२८ गते बिहान ७:३० बजे विमानस्थलमा आई काम गरी बेलुका १९:०० बजे घरमा आई खाना खाई बसिरहेको अवस्थामा शिव महतोको एक्सिडेन्टमा परी मृत्यु भयो भनी हल्ला सुनी मसमेत घटनास्थलमा गई हेर्दा मृतक एक्सिडेन्टमा परी विष सेवनबाट मरेको कुरा थाहा पाएँ । निज शिव महतोलाई मैले विष खुवाई कर्तव्य गरी मारेको होइन । मसँगै पक्राउ परेका प्रतिवादीहरू महेन्द्र राय र शान्तिराय राउतले मारे मराएको हो होइन मलाई थाहा छैन । म विरूद्ध किन जाहेरवालाले जाहेरी दिए मलाई थाहा भएन । जाहेरवालालाई पहिलेदेखि नै चिन्दथेँ । पूर्व रिसइवी लेनदेन केही पनि थिएन । म विमानस्थलमा छु वारदातका दिन मृतकसँगै मोटरसाइकलमा बसेको भन्ने कुरा झुट्ठा हो । भिनाजु मोटरसाइकल पछाडि थिए थिएनन् घटनास्थलमा भेट्न गएका थिए थिएनन् थाहा भएन । मृतकलाई कस कसले मारे मराएका हुन् मलाई थाहा छैन । घटनास्थल नजिकै रहेको मे.१.प.१२२३ नं. को मोटरसाइकल मृतक शिव महतोको हो । सोही मोटरसाइकलमा उनी चढी हिँड्ने गर्दथे भन्नेसमेत व्यहोराको प्रतिवादी सुभाष रायले अधिकारप्राप्त अधिकारीसमक्ष मिति २०६८।३।१५ मा गरेको बयान ।

मृतक शिव महतोलाई पहिलेदेखि नै चिन्दथेँ । मिति २०६८।२।२८ गते शनिबारका दिन हटिया लाग्ने हुँदा सब्जी किन्नको लागी घटनास्थल छेउको बाटो हुँदै भद्रपुर बजारतर्फ जाँदै गर्दा घटनास्थल नजिक मृतकको मोटरसाइकल थियो । केही पर शिव महतो र नचिनेका एकजना महिला गफ गरिरहेका थिए । म सब्जी किनेर सोही बाटो घर फर्केँ । फर्कँदा घटनास्थलतर्फ केही हेरिन । म घर पुगेपछि टिभी हेरिरहेको अवस्थामा शिव महतोको लास फेला परेको भनी सुनी थाहा 

पाएँ । हाल पक्राउमा परेकी महिला शान्तिराय राउतलाई यस कार्यालयबाट देखाउँदा देखे । मृतकसँग गफ गर्ने महिला र यी महिलाको जीउ डाल मिल्दो जुल्दो भएकाले मृतकसँग गफ गर्ने महिला यिनै 

हुनुपर्छ । शिव महतोको मृत्यु हुनुभन्दा अगाडि प्रतिवादीहरू घटनास्थलमा सँगसँगै हुनु, घटनास्थलमा देखिनुको कारणबाट यिनै प्रतिवादीहरूले शिव महतोलाई कर्तव्य गरी विषालु पदार्थ खुवाई मारेको कुरामा पूर्ण विश्वास लाग्छ प्रतिवादीहरूलाई कानूनबमोजिम कारवाही होस् भन्नेसमेत व्यहोराको दिपेस रणपहेलीले मिति २०६८।३।१६ मा गरी दिएको घटना विवरण कागज ।

लास रहेको स्थानदेखि उत्तरतर्फ मृतक शिव महतोको मोटरसाइकल थियो । सोदेखि दक्षिण केही पर बगानमा शिव महतो र नचिनेको १ जना आइमाई पानी परेकाले एउटै छाता ‍ओडी बसेका थिए । हाल बुझ्दा उक्त नजिकै कदमको रूख मुनी छाता ओडि बस्ने मानिस शान्तिराय राउत थिइन् भन्ने सुनी थाहा पाएँ । मृतकसँग बस्ने यिनै शान्ति राउत हुन् । निज प्रतिवादी शान्ति राउतसमेतले शिव महतोलाई विषालु पदार्थ खुवाई कर्तव्य गरी मारेकामा पूर्ण विश्वास लाग्छ भन्नेसमेत व्यहोराको चन्दन साहले गरी दिएको मिति २०६८।३।२३ को घटना विवरण कागज ।

मिति २०६८।२।२८ गते १६:०० बजेको समयमा चन्द्रगढी बजारको काली मन्दिर अगाडि शान्तिराय राउतसँग भेट भयो । निजले मलाई बुबा खोई भनी सोद्धा मेरो बुबा जहाँ भएपनि तपाइँलाई के मतलब भन्दा तेरो बुबाको ज्यान मेरो हातमा छ, म जे चाहन्छु त्यही गर्न सक्छु भन्नुभयो । सोपश्चात् म घरमा आई सुतेपछि भोलि २९ गते बिहान बुबाको मृत्यु भएको कुरा सुनी घटनास्थल गई लास हेरेको हुँ । मेरो बुबा शिव महतोलाई प्रतिवादी शान्तिराय राउतलाई गाउँलेहरूले जिम्मा लगाई गएपछि शान्ति रायको पति महेन्द्र महतो बुबासँग रिसाएका थिए । बुबाको मृत्यु हुनुभन्दा अगाडि बुबा सँगसँगै प्रतिवादीहरूसमेत घटनास्थलमा भएको देख्ने मानिसहरूसमेत हुँदा प्रतिवादीहरूले मेरो बुबालाई विष खुवाई कर्तव्य गरी मारेकामा पूर्ण विश्वास हुँदा निजहरूलाई कानूनबमोजिम सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको मृतकको छोरी राधा महतोले मिति २०६८।३।३० मा गरेको घटना विवरण कागज ।

देवर कृष्णकन्हैया महतोले मलाई बोलाई भद्रपुर-१ स्थित बगान छेउमा दाजु मरेको अवस्थामा फेला परेको, लास नजिकै मोटरसाइकल र विषको बट्टासमेत भएको भनेकाले म घरमा नै रून कराउन थालेँ । पतिको पोष्ट मार्टम गराई घरमा ल्याएको, मसमेतले पतिको मृत्यु सम्बन्धमा बुझ्दा मिति २०६८।२।२८ मा छिमेकी सुभाष राय, शान्ति राय, महेन्द्र रायसमेतसँग मेरो पति भद्रपुर बजार घुमफिर गरेको देखेको र पछि मादक पदार्थ सेवन गराई नसाको सुरमा विष सेवन गराई कर्तव्य गरी मारेको हुँदा निजहरूलाई कानूनबमोजिम सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको मृतकको श्रीमती फुलादेवी महतोले मिति २०६८।३।३१ मा गरी दिएको घटना विवरण कागज ।

मिति २०६८।२।२८ मा म आफ्नै घरमा 

थिए । भोलिपल्ट दाजु शिव महतोको लास फेला परेको सुनी थाहा पाएँ । घटनाको दिन मृत्यु हुनुभन्दा अगाडि प्रतिवादीहरू र दाजु एउटै मोटरसाइकलमा चढी घटनास्थलतर्फ गएका, घटनास्थलमा सँगसँगै देखिनु, आफ्नी श्रीमती मृतक दाजुले लगी दिएको कारण प्रतिवादी महेन्द्र रायसँग रिसइवी हुनु, आफ्नो इच्छा नहुँदा नहुँदै विवाह गरी मृतकसँग गाउँलेको दबाबमा जानु परेको प्रतिवादी शान्ति रायको रिसइवी र आफ्नो दिदीको घरबार बिगारेको प्रतिवादी सुभाष रायको रिसइवीसमेतबाट प्रतिवादीहरूले षड्‍यन्त्र गरी विषादी पदार्थ खुवाई कर्तव्य गरी मारेको हुँदा प्रतिवादीहरूलाई सजाय होस् भन्नेसमेत व्यहोराको लालचन महतोले मिति २०६८।३।३१ मा गरी दिएको घटना विवरण कागज ।

मिति २०६८।२।२८ गते म आफ्नै घरमा थिएँ । भोलिपल्ट शिव महतोको मृत्यु भएको थाहा पाएँ । घटनास्थल गई हेर्दा २ वटा विषादी पदार्थको बोतल थियो । उक्त लास रहेको स्थानदेखि १० मिटर उत्तरमा मृतकले चढ्ने गरेको मोटरसाइकल 

थियो । कसले विषादी खुवाए वा मृतकले नै खाए थाहा भएन । गाउँलेहरूले प्रतिवादी महेन्द्र रायको श्रीमती शान्ति रायलाई मृतकसँग जबर्जस्ती दोस्रो विवाह गरी दिएको कारण र मृतकको मृत्यु हुनु अगाडि यी प्रतिवादीहरू घटनास्थलमा सँगसँगै थिए भनी सुनेको कारणबाट तिनै जना प्रतिवादीहरूले शिव महतोलाई विष खुवाई मारेको भन्ने गाउँ घरमा हल्ला सुनेको छु । निज प्रतिवादीहरूलाई कानूनबमोजिम कारवाही गरिपाउँ भन्नेसमेत व्यहोराको टिङकु मण्डल, मञ्जु श्रेष्ठ, उर्मीला श्रेष्ठ, पवन सुनार र तारा भण्डारीसमेतले गरी दिएको प्राय: एकै मिलानको मिति २०६८।३।३१ को वस्तुस्थिति मुचुल्का ।

प्रतिवादीहरू सुभाष राय, महेन्द्र राय, शान्तिराय राउत र मृतकबीच राम्रो सम्बन्ध नरहेको, वारदातस्थलमा यी प्रतिवादीहरू र मृतकसँगै रहेको 

भनी चश्मदित व्यक्तिहरूले लेखाई दिएको, वारदातस्थलमा विषको बोतल बिर्को खुल्ला अवस्थामा बरामद भएको देखिएको, प्रतिवादीहरूबीच लेनदेनसम्बन्धी काम कारवाही रहेकोसमेत खुल्न आएको, वारदातस्थलको झारपात मडारिएको जस्ता आधार कारणबाट प्रतिवादीहरूले मृतक शिव महतोलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. विपरीत कर्तव्य गरी विष खुवाई मारेको हुँदा ऐ.ऐनको ऐ.महलको १३(२) नं. बमोजिम सजाय गरिपाउँ भन्नेसमेतको वादी नेपाल सरकारको तर्फबाट मिति २०६८।४।२ मा दर्ता भएको अभियोगपत्र ।

आजभन्दा ७/८ महिना अगाडि मेरो दाजुको कुखुरा फर्म वरिपरि जाहेरवालाले मरेका कुखुरा गाड्ने कामसमेत गर्दा जाहेरवालासँग भनाभनसम्म भएको 

हो । अन्य केही विवाद थिएन । जाहेरी व्यहोरा झुट्ठा हो, घटना भएको मिति २०६८।२।२८ गते बिहान ७:०० बजेदेखि ५:०० बजे बेलुकासम्म आफ्नो दैनिक ड्‍युटी गरी साथी बिरामी भएकाले पुन: २ घण्टा ओभरटाइम गरी ७:०० बजेसम्म बजार गई दही किनी घरमा गई बसिरहेको छु, मैलेसमेत भई जाहेरवालाको दाजुलाई विष सेवन गराई कर्तव्य गरी मारेको होइन । तिलक भुजेल तथा सुरेन राजवंशीलाई जाहेरवालाले आर्थिक प्रलोभनमा पारी सोकुरा भन्न लगाएका हुन् । चन्दन साह मृतकको सालो, लालचन महतो मृतकको भाई, मृतकको श्रीमती र छोरी तथा जाहेरवालाको पारिवारिक मानिस र गठमेलका मानिस मिली मलाई फसाउने नियतले झुट्ठा लेखाएका हुन् । अनुसन्धानमा भएको बयानको सही मेरै हो । मैले अदालतमै भनेको व्यहोरा लेखाएको हुँ । प्रहरीले पढी बाची केही नसुनाई अनुसन्धानको बयानमा सही गराएका हुन् भन्नेसमेत व्यहोराको प्रतिवादी सुभाष रायले सुरू अदालतमा मिति २०६८।४।३ मा गरेको बयान ।

मृतकलाई मारेको विषयमा मलाई केही थाहा छैन । म भारतको सिलगुडीमा बस्दै आएकाले घटना भएको तीन दिनपछि थाहा पाएँ । मिति २०६८।३।९ मा तपाइँको नाउँमा जाहेरी परेको छ भनी प्रहरीले पक्राउ गरे । अनुसन्धानको क्रममा भएको बयानको सहीछाप मेरो हो । व्यहोरा मेरो होइन मैले मृतकलाई मारेको होइन । सुरेन राजवंशी र तिलक भुजेल तथा अन्य वस्तुस्थिति मुचुल्काका व्यक्तिहरूसमेतले किन झुट्ठा व्यहोरा लेखाए मलाई थाहा भएन । पहिलेकी मेरी श्रीमती शान्तिसँग मृतकको लेनदेन कारोबार 

थियो । शान्तिले जाहेरवालाको परिवारको लागि कहिले बसेको घर धितो राखिन् सो पनि मलाई थाहा भएन । सम्पत्ति पनि बाँडफाँड भएको छैन म सो घरमा पनि बस्दिन । मेरो कोही परिवार छैन, प्रतिवादी शान्तिसँग झगडा परी प्रहरीमा कागजमात्रै भएको हो । सम्बन्ध विच्छेद भएको छैन भन्नेसमेतको प्रतिवादी महेन्द्र रायले सुरू अदालतमा मिति २०६८।४।३ मा गरेको बयान ।

मेरो पति महेन्द्र राय भारतमा गाडि चलाउने हुँदा  मृतक मेरो घरमा आवत जावत गर्दथे । निज सधैँ मेरो घरमा आउने हुँदा गाउँले तथा मेरो बाबु र दाजुसमेतले मलाई जेठको १४/१५ गतेतिर शिव महतोको जिम्मा लगाइ दिए । त्यसपछि शिव महतोले मलाई तिम्रो पतिसँग सम्बन्ध विच्छेद गर भनी यसै झापा जिल्ला अदालतमा सम्बन्ध विच्छेद मुद्दासमेत दर्ता गर्न लगाएका छन् । म मृतकको घर गएपछि निजको आमा, जेठी श्रीमती र छोरीसमेतले मलाई कुटपिट गर्नसमेत थाले । त्यसपछि मृतकले मलाई रामजी दाहालको घरमा लिई गए हामी २ त्यसपछि त्यही सँगै बस्न थालियो । यस्तै २/४ दिनपछि शिव महतोले मसँग भएको आधा तोला सुनसमेत लगे । ऋण तिर्न मृतकले मेरो नामको घर जग्गा धितो राखी ऋण लिएको छ । जेठ २७ गते राती मृतकको जेठी श्रीमतीले तपाइँ कहाँ जानुभयो सबै जना मसँग पैसा माग्न आउँछन् भनी रूँदै फोन गरिन् । भोलिपल्ट मिति २०६८।२।२७ गते मेरो पति शिव महतो र म गरामनी गई रामजी दाहालकामा बसी भोलि भद्रपुर आउँदा मलाई फेरी चैतु मन्दिरमा छोडिदिनु भयो । त्यो दिनभरी म राम दाहालको घरमा निजको श्रीमतीसँग गफ गरी बसेँ । दिउँसो १२:०० बजेतिर मृतकको जेठी श्रीमतीतर्फको छोरी राधा राय बुबा यता आउनु भएन भन्दै आएकी थिइन् । गरामनी जानु भयो कि भन्दा राधा भद्रपुरतिरै आइन् । २८ गते राति १०:०० बजेसम्म पतिलाई पर्खी बसेँ । रामजी दाहालकी श्रीमतीले त्यहीँ बस भनेकाले त्यहीँ सुती २९ गते बिहानसम्म पनि पति नआएकाले खोजी गर्दै जाँदा चन्द्रगढी लेखनाथ चोकमा नाम थाहा नभएका राजवंशीले शिव महतो विष खाई मर्‍यो भनी सुनाएकाले मेरो बोलीसमेत आएन । मैले तत्कालै मुसाको दबाई किनी खाएँ । त्यसपछि मलाई केही थाहा भएन । होस खुल्दा हस्पिटलमा थिएँ । चारदिन हस्पिटलमा बसी पाँचौ दिन मलाई प्रहरीमा ल्याएको हो । मेरो पतिले अत्याधिक ऋण लिएको, जेठी श्रीमतीसँग सधैँ झगडा पर्ने र सो दिन पतिले आफैँ विष सेवन गरी मरेका हुन सक्छन् । कसैले मरे मराएको होइन प्रहरीमा भएका घटना विवरण कागजमा लेखाएका कुरा हामीलाई फसाउने नियतले लेखाएका हुन् भन्नेसमेत व्यहोराको प्रतिवादी शान्तिराय राउतले सुरू अदालतमा मिति २०६८।४।३ मा गरेको बयान ।

प्रतिवादी महेन्द्र राय, सुभाष राय, शान्ति राय राउतलाई पछि बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी अ.बं. ११८ को देहाय २ बमोजिम थुनामा राखी पूर्पक्ष गर्न जिल्ला कारागार कार्यालय, झापामा लेखी पठाइदिनु भन्ने सुरू झापा जिल्ला अदालतको मिति २०६८।४।३ को थुनछेकसम्बन्धी आदेश ।

मिति २०६८।२।२८ गते बिहानदेखि बेलुकासम्म चैतु मन्दिर चन्द्रगढीमा राम दाहालको घरमा शान्तिराय राउतलाई देखेको छु । निजउपरको आरोप झुट्ठा हो भन्ने प्रतिवादी शान्तिराय राउतका साक्षी डन्डुकुमार आचार्यले सुरू अदालतमा गरेको बकपत्र ।

मिति २०६८।२।२८ गते मृतक शिव महतोले चलाएको मोटरसाइकलमा सवार २ जना यिनै महेन्द्र राय र सुभाष राय नै हुन् । मिति २०६८।२।२८ गतेभन्दा अगाडि मोटरसाइकल चढ्ने मानिसलाई चिनेको 

थिइनँ । त्यही दिन चिनेको हो । घटना विवरण कागजको सहीछाप र व्यहोरा मेरो हो भन्नेसमेत व्यहोराको घटना विवरण कागज गर्ने सुरेन राजवंशीले सुरू अदालतमा गरेको बकपत्र ।

मिति २०६८।२।२८ गते मोटरसाइकल राखेको अवस्थामा देखेको हुँ । मोटरसाइकलको केही परतिर एकजना मानिस बसी राखेको देखेको हो । साइकलमा २ जना मान्छे आई बसी राखेको मान्छेसँग गफगाफ गरेको देखेको हो । भोलिपल्ट घाँस काट्न जाँदा मृतक शिव महतो भन्ने थाहा पाएँ, मारेको मैले देखेको छैन । सुभाष राय र महेन्द्र राय घटनास्थलमा देखेका मानिस भनी मैले प्रहरीमा सनाखत गरिदिएको हो । घटनास्थलमा बस्ने यिनै मानिस हुन् भन्नेसमेत व्यहोराको घटना विवरणका तिलक भुजेलले सुरू अदालतमा गरेको बकपत्र ।

प्रतिवादीहरू गाउँघर छिमेकका व्यक्ति 

हुन् । कसैसँग कुनै किसिमको रिसइवी झैझगडा छैन । सुरूमा कसले मारो थाहा भएन मिति २०६८।२।२८ गते भोलि पर्सिपल्ट घुम्दै जाँदा घाँस काट्ने तिलक भुजेलले सुभाष राय र महेन्द्र रायलाई देखाउँदा यही व्यक्ति हो भनेकाले जाहेरी दिएको हो । सुभाष रायलाई दिदीको घर व्यवहार बिगारो भनेर पीर पर्‍यो । महेन्द्र रायलाई मेरो श्रीमती लगेर घर बिगार्‍यो भन्ने पीर पर्‍यो । शान्ति रायलाई जग्गा पहिलो श्रीमान्‌लाई फिर्ता गर्नुपर्ने भएकाले पीर परी त्यही कारणले मारेको हो । शिव महतो आफैँ मरेको होइन भन्ने जाहेरवाला कृष्णकन्हैया महतोले सुरू अदालतमा गरेको बकपत्र ।

मान्छे मरेको रहेछ भन्ने सुनेँ, पछिबाट थाहा पाउँदा शिव महतो मरेका रहेछन्, के भएर मरे मलाई थाहा भएन । मौकाको कागज पढी सुनाउँदा सुनेँ सहीछाप मेरो हो । पुलिसमा मानिस हेरी सनाखत गरेको व्यहोरा होइन, मैले मान्छे हेरी सनाखत गरेको छैन भन्नेसमेत व्यहोराको घटना विवरणका मानिस दिपेस रणपहेलीले सुरू अदालतमा गरेको बकपत्र ।

प्रतिवादी सुभाष राय, महेन्द्र राय र शान्ति रायले मेरो पति मृतक शिव महतोलाई विष खुवाई मारेको हो । घटना विवरण कागजको सहीछाप र व्यहोरा मेरो हो भन्नेसमेत व्यहोराको घटना विवरणकी मानिस मृतककी श्रीमती फुलादेवी महतोले सुरू अदालतमा गरेको बकपत्र ।

घटना विवरण कागजको सहीछाप मेरै हो । व्यहोरा प्रहरीले सुनाएनन् । कागजको व्यहोरा बारेमा मलाई थाहा भएन । भन्नेसमेत व्यहोराको घटना विवरणका मानिस चन्दन शाहले सुरू अदालतमा गरेको बकपत्र ।

The samples no.१-७ have shown Negative tests for above mentioned insecticides and phosphine gas. The sample no.८ has shown Positive test for Organ-chlorine insecticide. भन्ने केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला, महाराजगञ्ज काठमाडौंको च.नं. ११९२ मिति २०६८।७।२० को पत्रबाट प्राप्त भिसेरा परीक्षण प्रतिवेदन मिसिल संलग्न रहेको ।

मृतक शिव महतो घरबाट हिँडेको घटनापूर्व निजले चलाएको मोटरसाइकलमा प्रतिवादीहरू महेन्द्र राय र सुभाष राय साथै गएको तथा घटना हुनुपूर्व घटनास्थलमा पनि निजहरूकै उपस्थिति देखिएको र साथै गएको केही समयपश्चात् अस्वभाविकरूपमा शिव महतोको मृत्यु भएको देखिन्छ । पोष्टमार्टम रिपोर्टले मृत्युको कारण नखुलाए तापनि अस्वभाविक मृत्यु भएको भन्ने देखिएको छ । प्रतिवादीले जिकिर लिएबमोजिम प्रतिवादीमध्येका सुभाष राय कार्यरत् संस्थामै पुरा समय थिए कि भन्नलाई संस्थाले सो व्यहोरा लेखिदिए तापनि स्वयम्‌ प्रतिवादी सुभाषको बयानबाट आफू केही समयको लागि बाहिरिएको देखिएको छ । तसर्थ घटना समयमा अन्यत्रको जिकिर प्रमाणित हुने आधार नभएकाले  निजहरू परिस्थितिजन्य प्रमाणबाट कसुरदार देखिएकाले यी प्रतिवादी महेन्द्र राय र सुभाष रायले ज्यानसम्बन्धीको १ नं. विपरीत कार्य गरी ऐ. महलको १३(२) नं. बमोजिम कसुर गरेको देखिँदा ऐ. बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर्छ साथै अर्को प्रतिवादी शान्ति रायको हकमा घटनापूर्व मृतक साथै रहेको भन्ने देखिएका सुरेन राजवंशी र तिलक भुजेलको बकपत्रबाटसमेत निजको उपस्थिति नदेखिएको, घटनापूर्वका अन्य प्रत्यक्षदर्शीसमेत नरहेको र मृतकलाई पत्नीको हैसियतमा आई व्यवसायमा समेत सघाउ पुर्‍याउने गरेकी भै मार्नुपर्नेसम्मको कारण नदेखिँदा निजले सफाइ पाउने ठहर्छ भन्नेसमेत व्यहोराको सुरू झापा जिल्ला अदालतबाट भएको मिति २०६८।१०।३ को फैसला ।

मृतकको मृत्युको कारण पोष्टमार्टम रिर्पोटबाट खुलेको पाइँदैन भने भिषेरा परीक्षणको प्रतिवेदनसमेत नरहेको साथै फौजदारी मुद्दामा वारदात स्थापित हुन र वारदातमा प्रतिवादीको संलग्नता प्रमाणित हुन शङ्कारहित तवरबाट युक्तियुक्तरूपमा प्रमाणबाट पुष्टि हुनपर्ने कुरामा न्यायिक दृष्टि नदिई गरिएको इन्साफले मलाई अन्याय भएको छ भने प्रस्तुत मुद्दामा अर्का प्रतिवादी शान्तिराय राउतलाई शङ्काको सुविधा दिएको पाइन्छ । सो सुविधा म पुनरावेदकले समेत पाउनु पर्ने हो । घटना भएको समय देखाइएको अवस्थामा म पुनरावेदक प्रतिवादी घटनास्थलमा रहेको ठोस आधार प्रमाणसमेत नरहेको अवस्थामा आधारहीन तथा शङ्कायुक्त प्रमाणका आधारमा मलाई अपराध कसुर गरेको ठहर गरी भएको सुरू फैसला बदर गरी सफाइ पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी महेन्द्र रायको पुनरावेदन अदालतमा परेको पुनरावेदनपत्र ।

मृतकको मृत्यु कारण पोष्टमार्टम रिर्पोटबाट खुलेको पाइँदैन भने भिषेरा परीक्षणको प्रतिवेदनसमेत नरहेको साथै फौजदारी मुद्दामा वारदात स्थापित हुन र वारदातमा प्रतिवादीको संलग्नता प्रमाणित हुन शङ्कारहित तवरबाट युक्तियुक्तरूपमा प्रमाणबाट पुष्टि हुनुपर्ने कुरामा न्यायिक दृष्टि नदिई गरिएको इन्साफले मलाई अन्याय भएको छ भने प्रस्तुत मुद्दामा अर्का प्रतिवादी शान्तिराय राउतलाई शङ्काको सुविधा दिएको पाइन्छ । सो सुविधा म पुनरावेदकले समेत पाउनुपर्ने हो, घटना भएको समय देखाइएको अवस्था म पुनरावेदक प्रतिवादी आफ्नो ड्युटीमा एयरपोर्टमा रहेको प्रमाणित भएको कुरालाई सुरूले ठोस आधारसमेत नलिएको अवस्थामा आधारहीन तथा शङ्कायुक्त प्रमाणका आधारमा मलाई कसुरदार ठहर गरी भएको सुरू फैसला बदर गरी सफाइ पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी सुभाष रायको पुनरावेदन अदालतमा परेको पुनरावेदनपत्र ।

घटना विवरण कागज गर्ने मृतकको जेठी श्रीमती फुलादेवी महतोले अदालतमा बकपत्र गर्दा प्रतिवादी सुभाष राय, महेन्द्र राय र शान्ति रायले मेरो पति मृतक शिव महतोलाई विष खुवाई मारेको भनी प्रतिवादी शान्तिराय राउतउपर गढाउ गरेबाट तथा जाहेरवाला कृष्णकन्हैया महतोले बकपत्र गर्दा यी तीनैजना प्रतिवादी भई मृतकलाई विष खुवाई मारेको हुन् भनी अभियोग दाबी पुष्टि भइरहेकामा प्रतिवादी शान्तिराय राउतले अन्य प्रतिवादीहरूसँग साँठगाँठ गरी मिली विष सेवन गराई मारेको देखिँदा निज प्रतिवादीलाई माग दाबीअनुसार सजाय ठहर नगरिएको हदसम्मको सुरू फैसला त्रुटिपूर्ण हुँदा सोहदसम्म उल्टी गरी प्रत्यर्थी प्रतिवादीलाई अभियोग माग दाबीअनुसार सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको वादी नेपाल सरकारको पुनरावेदन अदालतमा परेको 

पुनरावेदनपत्र ।

यसमा सुरू झापा जिल्ला अदालतको फैसलाउपर वादी नेपाल सरकार तथा प्रतिवादीमध्येका महेन्द्र राय र सुभाष रायको तर्फबाट दोहोरा पुनरावेदन पर्न आएको हुँदा सुरू फैसला प्रमाण मुल्याङ्कनको रोहमा विचारणीय हुन आएकाले मुलुकी ऐन, अ.बं. २०२ नं. को प्रयोजनार्थ एक अर्काको पुनरावेदन व्यहोरा परस्पर जानकारी गराई प्रत्यर्थी शान्तिराय राउतलाई समेत झिकाई नियमानुसार गरी पेस गर्नु भन्ने पुनरावेदन अदालतबाट मिति २०६९।४।३० मा भएको आदेश ।

प्रतिवादीहरू महेन्द्र राय र सुभाष रायसमेतले वारदात मिति समयमा भारत गलगलिया र एयरपोर्टमा थियौँ, मृतकसँग भेट भएकै थिएन भन्ने भनाई समर्थन हुन सकेको देखिँदैन । प्रतिवादीमध्येका सुभाष राय आफ्नो कार्यालय भद्रपुर एयरपोर्ट गएकै भएपनि र महेन्द्र राय भारतको गलगलिया गएकै भएपनि वारदातस्थलबाट निजहरूले अन्यत्र रहेको भनी जिकिर लिएको स्थान थोरै समयमा नै आवतजावत हुन सक्ने स्थान भएको हुँदा वारदातस्थलबाट यति थोरै दुरीको स्थानमा रहेको भनी जिकिर लिएकै कारणबाट वारदात स्थानमा पहुँच हुनै नसक्ने भनी मान्न मिल्ने अवस्था हुँदैन ।

विष सेवन गरी मृत्यु भएको भिषेरा परीक्षणबाट खुल्न नसकेको भए पनि घटनास्थलका झारपात माडिएको स्थितिबाट वारदातस्थलमा यी प्रतिवादीहरू गएकै छैनन् भन्न मिल्ने देखिँदैन । विष सेवन गरी मृतकले आत्महत्या गर्नुपर्नेसम्मको स्थिति र अवस्था प्रस्तुत मुद्दाको तथ्यबाट खुल्न नसकेको हुँदा मृतकले आत्महत्या गरेको हो भन्ने भनाई विश्वासयोग्य देखिँदैन । घटनास्थलमा विषको बोतल रहे भएको भए पनि मादकपदार्थ सेवनबाट लठ्ठ परेको अवस्थामा अन्य उपायबाट पनि मृतकलाई मारी विष सेवन गरेको जस्तो भान पार्न सो विषको बोतल घटनास्थलमा प्रतिवादीहरूले राखेको हुन सक्ने आशङ्का पनि विद्यमान देखिन्छ भने अर्कोतर्फ शव परीक्षण हुँदा मृतकको पेन्टको दाहिने गोजीबाट मुसा मार्ने औषधी फेला परेको भन्ने शव परीक्षण प्रतिवेदनमा उल्लेख भएबाट पनि विष खाएर मरेको हो भन्ने देखियोस् भनी सो मुसा मार्ने औषधी पेन्टमा राखी दिएको हुन सक्ने स्थिति पनि देखिन्छ ।

प्रतिवादी महेन्द्र रायको श्रीमती मृतकले लगी घर बिगारी दिएको अवस्था प्रतिवादी शान्ति रायको भाइ नाताको सुभाषले मृतकमाथि प्रतिशोध राख्ने स्थितिको विद्यमानता र मृतकले आत्महत्या गर्नुपर्नेसम्मको कारण र अवस्था नरहेको अवस्थाबाट मृतकलाई यी दुवै प्रतिवादीले कर्तव्य गरी मार्न सक्ने अवस्था रहेकोसमेतका परिस्थितिजन्य प्रमाणबाट मृतक शिव महतोलाई प्रतिवादीहरू महेन्द्र राय र सुभाष रायले कर्तव्य गरी मारेको भन्ने कुरा समर्थन भएकै देखिएको हुँदा आरोपित कसुरमा सफाइ पाउनुपर्छ भन्ने यी प्रतिवादीहरूको पुनरावेदन जिकिरसँग सहमत हुन सक्ने अवस्था भएन ।

अर्का प्रतिवादी शान्तिराय राउतले अधिकारप्राप्त अधिकारी तथा अदालतमा बयान कागज गर्दा आरोपित कसुर गरेमा इन्कार रहेको र यी प्रतिवादी मृतकसँग लोग्नेस्वास्नी भई बसी मृतकलाई समयसमयमा आर्थिक सहयोगसमेत गरेको स्थिति र यी प्रतिवादीले मृतकलाई मार्नुपर्नेसम्मको स्थिति र अवस्था मिसिल संलग्न कुनै पनि प्रमाणबाट नदेखिएको तथा शिव महतोको हत्या भएपश्चात् यी प्रतिवादीले आत्महत्या गर्नेसमेत प्रयास गरेको, शिव महतोलाई कर्तव्य गरी मार्ने कार्यमा यी प्रतिवादीको संलग्नता रहेको भनी विश्वास गर्न सकिने अवस्था र परिस्थितिसमेत विद्यमान नरहेको र तथ्यपरक तथा वस्तुनिष्ठ आधारबाट शिव महतोलाई मार्ने कार्यमा यी प्रतिवादीको पनि संलग्नता थियो भन्ने कुराको प्रमाण वादी पक्षले पेस गर्न नसकेको हुँदा यी प्रतिवादीलाई पनि अभियोग दाबीबमोजिम सजाय हुनुपर्छ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिरसँग सहमत हुन सकिने स्थिति देखिन आएन ।

उपरोक्त आधार र कारणबाट प्रतिवादीमध्येका महेन्द्र राय र सुभाष रायले अभियोग दाबीबमोजिमको कसुर गरेको ठहर्‍याई निज प्रतिवादीहरूलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(२) नं. बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय हुने र प्रतिवादीमध्येकी शान्तिराय राउतले अभियोग दाबीबाट सफाइ पाउने गरी सुरू झापा जिल्ला अदालतबाट मिति २०६८।१०।३ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । दुवै पक्षको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, इलामबाट मिति २०६९।६।८ मा भएको फैसला ।

पुनरावेदक प्रतिवादीसमेत उपर ज्यानसम्बन्धीको महलको १ नं. विपरीतको कर्तव्य गरी विष खुवाई मारेको अभियोग लगाइएको छ । मृतकको मृत्युको कारण पोस्टमार्टम रिपोर्टबाट खुलेको पाइँदैन । सुरेन राजवंशीले देखेको भन्ने आधारमा जाहेरवालाले जाहेरी दिएको छ । निजले पुनरावेदकसमेतलाई देखेको भनी घटना विवरण कागज र बकपत्रसमेतमा उल्लेख गरेको तथ्यगत विवरण स्वयम्‌मा विरोधाभासपूर्ण रहेको छ । निजले व्यक्त गरेको तथ्यगत विवरण प्रमाण ऐन, २०३१ को दफा ७(ग) समेतका आधारमा पुनरावेदकलाई दोषी ठहर गर्न प्रमाणमा ग्रहणयोग्य छैन । फौजदारी मुद्दामा वारदात स्थापित हुन र 

वारदातमा प्रतिवादीको संग्लनता प्रमाणित हुन शङ्कारहित तवरबाट युक्तियुक्तरूपमा प्रमाणबाट पुष्टि हुनुपर्ने कुरामा अदालतबाट न्यायिक दृष्टि नदिई इन्साफ हुँदा अन्यायमा परेको छु । रक्सीले मातेपछि विष सेवन गराई मारेको तथ्य जाहेरीमा उल्लेख भएको छ तर घटना विवरण कागज गर्ने सुरेन राजवंशीले जम्बु बोतलमा कोक जस्तो तरल पदार्थ बोकेर घटनास्थलतर्फ गएको भनी उल्लेख गरेको भई विरोधाभासपूर्ण भएको छ । पुनरावेदन अदालतबाट परिस्थितिजन्य प्रमाणका आधारमा दोषी ठहर भएको छ । परिस्थितिजन्य प्रमाण स्थापित हुन विरोधाभासपूर्ण तथ्य रहनु नहुने न्यायको मान्य सिद्धान्त हो । घटनास्थलमा प्रतिवादीहरूको उपस्थिति देखाउन सुरेन राजवंशीले मोटरसाइकलमा गएका भनेका छन् भने तिलक भुजेलले लेडिज साइकलमा गएका भनेका छन् । दिपेस रणपहेलीले प्र. शान्तिलाई पछाडिबाट देखेको भनेको एवम्‌ चन्दन शाहले एउटै छातामा एउटी आइमाई भनी प्र. शान्तिलाई देखेको भनेको पाइन्छ भने निज चन्दन शाहले बकपत्र गर्दा घटनास्थलमा मोटरसाइकल चाहिँ देखेको हुँ भनी लेखाएका छन् । मृतककी छोरी राधा महतो र मृतककी जेठी पत्नी फूलोदेवीको कागजमा मृतक प्रतिवादीहरू तीनैजनासँग रिसाएका थिए, मिति २०६८।१।१७ गते मृतकलाई प्र. शान्ति पत्नीको रूपमा जिम्मा लगाएको, ऐ. १९ गते घरमा आई पुनरावेदकसमेत भई मृतकलाई कुटपिट गरी घरबाट निकाला गरेको उल्लेख गरेको पाइन्छ । फूलोदेवीको उमेर २८ वर्ष देखिन्छ भने सहोदर छोरी राधादेवीको उमेर १६ वर्ष देखिएको छ । १२ वर्षको उमेरमा जन्म दिएको विशेषरूपमा प्रमाणित नभएको अवस्थामा निजहरूको बकपत्र झुठा प्रमाणित भएको छ ।

बरामद भएको विषको बोतलमा पुनरावेदक प्रतिवादीसमेतका प्रतिवादीको हस्त रेखा रहे नरहेको कुनै परीक्षण नगरिएबाटसमेत सत्य कुरा उजागर भई प्रतिवादीसमेत उपरको अभियोग खण्डित हुनेदेखि अभियोजकबाट सोतर्फ प्रमाण सङ्कलन नगरिएको हो । मृतकको लासजाँच मुचुल्का हुँदा मृतकका साथबाट नगद रू ९४४।– सि.को फाइभ घडी थान-१ लाइसेन्स, ब्लुबुक, र विभिन्न कागजहरू फेला परेको देखिएको छ । मुसा मार्ने औषधी मृतकको साथमा रहेको देखिएको छैन । लास जाँच मुचुल्कामा उल्लेख नभएको कुनै चिजबस्तु लास बरामदको लामो अन्तरालपछि शव परीक्षणका क्रममा भेटिएको भनी वस्तुनिष्ठ प्रमाणको संज्ञा दिन नमिल्ने प्रमाणसम्बन्धी न्यायका मान्य सिद्धान्तका आधारमा समेत स्पष्ट छ ।  अनुसन्धानका क्रममा प्रहरीले व्यहोरा थपघट गरेको व्यहोरा अदालतसमक्ष बयान गर्दा उल्लेख गरेको छु । म पुनरावेदक कार्यरत् एअरपोर्ट लास भेटिएको वारदातस्थलभन्दा ६/७ कि.मी. को दुरीमा पर्दछ । त्यति टाढाको दुरीलाई नजिकै रहेको भनी आत्मनिष्टरूपबाट दोषी ठहर गरिएको छ । वारदातस्थलमा झार मडारिएको आधारबाट पुनरावेदकको सो स्थानमा उपस्थिति रहेको ठहर गर्न मिल्ने होइन । प्र. शान्ति राय र मृतकबीचको सम्बन्धका कारणबाट मृतकसँग पुनरावेदकको कटुतापूर्ण सम्बन्ध रहेको अवस्थाबाट पुनरावेदकसमेतले मृतकलाई पुनरावेदकसमेतले सँगै लगी मार्ने अवस्था नभई जाहेरवालाले आफ्ना गठमतका व्यक्ति खडा गरी कपटपूर्ण तथ्य उल्लेख गरी जाहेरी दरखास्त दिएको सुरेन राजवंशी, तिलक भुजेलसमेतका घटना विवरण कागज गर्ने व्यक्तिहरू र वस्तुस्थिति मुचुल्काका व्यक्तिहरूले फसाउने नियतले झुट्ठा व्यहोरा लेखाएका हुन् । परिस्थितिजन्य प्रमाणको रूपमा स्थापित हुनै नसक्ने तथ्यलाई परिस्थितिजन्य प्रमाणको रूपमा ग्रहण गरी पुनरावेदकसमेतको अनुसन्धानका क्रममा भएको बयानमा वारदातमा आफ्नो कुनै संलग्नता नरहेको भनी गरिएको बयानलाई नजरअन्दाज गरी इन्साफ हुँदा फौजदारी न्यायका मान्य सिद्धान्त प्रतिकूल आधारहीन र शङ्कायुक्त तथ्य प्रमाणलाई आधार मानी पुनरावेदकले अपराध गरेको ठहर भएको हुँदा झापा जिल्ला अदालतले गरेको फैसला सदर गरेको पुनरावेदन अदालत, इलामको फैसला प्रमाण र कानूनको त्रुटिपूर्ण प्रयोग, न्यायिक मनविहिन र प्रतिपादित सिद्धान्त एवम्‌ फौजदारी न्यायका मान्य सिद्धान्तसमेतको प्रतिकूल भएकाले बदर गरी अभियोगबाट सफाइ पाउँ भन्नेसमेत व्यहोराको पुनरावेदक प्रतिवादी सुभाष रायको कारागार कार्यालय, झापामार्फत यस अदालतमा मिति २०६९।१२।७ मा दर्ता भएको पुनरावेदनपत्र । सोही व्यहोराको पुनरावेदक प्रतिवादी महेन्द्र रायको मिति २०७०।१।५ मा दर्ता भएको छुट्टै पुनरावेदनपत्र ।

मृतकको जेठी श्रीमती फूलादेवी महतोले बकपत्रको सवाल जवाफ १० मा यी शान्ति रायसमेतको संलग्नतामा पति शिव महतोलाई विष खुवाई मारेको भनी बकपत्र गरेकी छन् । विष सेवन गराउने कार्य अन्य कार्यभन्दा फरक हुन्छ, प्रत्यक्षता नै खोज्नु अनिवार्य हुँदैन, परिस्थिति हेरिनु पर्ने हुन्छ । पतिको मृत्युबाट आघातित व्यक्ति फूलादवीको बकपत्रलाई प्रमाणको मूल्यको दृष्टिले नजरअन्दाज गर्न मिल्दैन । जाहेरी दरखास्तमा सुभाष राय, महेन्द्र राय, शान्तिराय राउत र मृतकसमेत दिनभरजसो कदम बगानमा बसी रक्सी खाई खुवाई मेरो दाजु रक्सीले मातेपछि निजलाई जबरजस्ती विष सेवन गराई मारेका हुन् भनी किटानी गरेको र बकपत्रमा शान्ति रायसमेत भई मृतकलाई मार्नुपर्ने कारण खुलाएको तथा मौकाको बयानमा शान्ति रायले निजको जग्गाधनी प्रमाण पुर्जा बहुउदेश्यीय बैङ्कमा राखी ऋण निकालिदिएको र सो ऋण नतिरेको कुरामा रिस उठेको कुरा उल्लेख छ । मृतकको कपडामा विष रहेको तथ्यलगायतका विश्लेषणबाट वारदातको मुख्य जड पनि शान्ति राउत नै हुँदा निज प्रतिवादीलाई सफाइ दिने गरी भएको फैसलामा मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ र १३ (२) नं. तथा प्रमाण ऐन, २०३१ को दफा ९ र १० एवम्‌ ५४ नं. समेतको प्रयोग र पालनामा गम्भीर कानूनी त्रुटि हुँदा वस्तुनिष्ठ प्रमाणको अभाव देखाई प्रतिवादी शान्ति रायलाई सफाइ दिने गरी भएको फैसला सो हदसम्म बदर गरी अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भनी वादी नेपाल सरकारको तर्फबाट मिति २०७०।२।६ मा यस अदालतमा परेको पुनरावेदनपत्र ।

यसमा प्रतिवादीहरूले के कस्तो कार्य गरी कर्तव्य गरेको हो भन्ने नै स्पष्ट नभएको अवस्थामा सुरू अदालतले कसुर कायम गरी सजाय गरेको फैसला सदर गरी भएको पुनरावेदन अदालत, इलामको मिति २०६९।६।८ को फैसला फरक पर्न सक्ने देखिएकाले अ.बं. २०२ नं. बमोजिम विपक्षी झिकाई पेस गर्नु भन्ने यस अदालत संयुक्त इजलासको मिति २०७०।११।२८ को आदेश ।

नियमबमोजिम पेसी सूचीमा चढी पेस भएका प्रतिवादीहरू एवम्‌ वादी नेपाल सरकारको छुट्टाछुट्टै पुनरावेदनपत्रहरू समेतका मिसिलको अध्ययन भयो । वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान्‌ उपन्यायाधिवक्ता श्री भरतलाल शर्माले प्रतिवादीहरूउपरको किटानी जाहेरी दरखास्त जाहेरवालाको अदालतमा भएको बकपत्रबाट पुष्टि भएको, प्रतिवादी महेन्द्र रायकी श्रीमती प्रतिवादी शान्ति रायको मृतक शिव महतोसँग प्रेमसम्बन्ध रहेको कारण महेन्द्र रायले मृतकसँग रिसइवी साँधेको र सोही कारणले प्रतिवादी शान्तिको दाजु प्रतिवादी सुभाष रायको पनि मृतकसँग इवी रहेको र प्रतिवादी शान्तिले आफ्ना नाउँका जग्गा बैङ्कमा राखी कर्जा निकाली मृतकलाई दिएकामा सो ऋण नतिरेको कारण प्रतिवादी शान्तिको पनि मृतकसँग रिस रहेकोसमेतको परिस्थितिको उपजस्वरूप प्रतिवादीहरू तीनैजना मिली मृतक शिव महतोसँग सँगै बसी रक्सी सेवन गरी गराई त्यसपछि विष सेवन गराई कर्तव्य गरी मारेको हुँदा प्रतिवादीहरू सुभाष राय र महेन्द्र रायलाई अभियोग दाबीबमोजिम कसुरदार कायम गरी सजाय गरेको सुरू एवम्‌ पुनरावेदन अदालतको फैसला मिलेको हुँदा सदर गरी घटनाको मुख्य जड प्रतिवादी शान्तिलाई सफाइ दिएको सुरू एवम्‌ पुनरावेदन अदालतको फैसला नमिलेको हुँदा उल्टी गरी अभियोग दाबीबमोजिम निजलाई समेत सजाय गरिपाउँ भनी गर्नुभएको बहस सुनियो ।

प्रतिवादी सुभाष राय र महेन्द्र रायका तर्फबाट उपस्थित विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल एवम्‌ विद्वान्‌ अधिवक्ता श्री युवराज भण्डारी र प्रतिवादी सुभाष रायका तर्फबाट उपस्थित विद्वान्‌ अधिवक्ता श्री सेमन्त दाहालले मृतक र प्रतिवादीहरू घटनास्थलमा गएको देख्ने सुरेन राजवंशी, तिलक भुजेल, दिपेस रणपहेली र चन्दन साहको भनाइ आपसमा बाझिई विरोधाभासपूर्ण रहेको, लासजाँच मुचुल्का मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको ३ नं. को देहाय ५ बमोजिम जाँचबुझ गरी खडा गरिएको छैन । उक्त मुचुल्काबाट मृतकको शरीरमा कुनैपनि चोटपटक निलडाम देखिएको छैन । कसरी विष  सेवन गराइयो भन्ने कुरा अभियोगपत्रमा उल्लेख छैन । पोस्टमार्टम रिपोर्टमा cause of death could not be ascertained भन्ने उल्लेख भई मृत्युको कारण स्पष्ट हुन सकेको छैन । दशी भनिएको बोतलको वैज्ञानिक परीक्षण भई त्यसमा प्रतिवादीहरूको finger print समेत रहेको भनी अभियोजन पक्षले परीक्षणबाट पुष्टि गर्न सकेको छैन । आपसमा मेल नखाने तथ्यलाई परिस्थितिजन्य प्रमाणको संज्ञा दिई पुनरावेदक प्रतिवादीहरू महेन्द्र राय र सुभाष रायलाई ज्यान जस्तो अपराधमा कसुरदार कायम गरी सर्वस्वसहित जन्म कैद गरेको सुरू एवम्‌ पुनरावेदन अदालतको फैसला नमिलेको हुँदा उल्टी गरी सफाइ दिलाइ पाउँ भनी गर्नुभएको बहस सुनियो ।

प्रतिवादीहरू सुभाष राय, महेन्द्र राय तथा शान्तिराय राउत र मृतकबीच राम्रो सम्बन्ध नरहेको,  वारदातस्थलमा यी प्रतिवादीहरू र मृतक सँगै रहेको भनी चश्मदिद व्यक्तिहरूले खुलाइदिएको, वारदातस्थलमा विषको बोतलको बिर्को खुला अवस्थामा बरामद भएको देखिएको, प्रतिवादीहरूबीच लेनदेनसम्बन्धी कामकारवाही रहेकोसमेत खुल्न आएको, वारदातस्थलको झारपात मडारिएको जस्ता आधार र कारणहरूबाट यी प्रतिवादीहरूले मृतक शिव महतोलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ नं. विपरीत ऐ. ऐनको १३ नं. बमोजिम मार्ने उद्देश्यले कुटपिटसमेत गरी विष खुवाएकाले मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३ (२) नं बमोजिम प्रतिवादीहरू सुभाष राय, महेन्द्र राय र शान्तिराय राउतलाई सजाय हुन मागदाबी लिई प्रतिवादीहरू विरूद्ध अभियोगपत्र दायर भएकामा प्रतिवादीहरू सुभाष राय र महेन्द्र राय विरूद्धको अभियोगदाबी पुग्ने ठहर्‍याई ऐ. ऐनको १३ (२) नं. बमोजिम सर्वस्वसहित जन्मकैद र प्रतिवादी शान्तिराय राउतले अभियोगदाबीबाट सफाइ पाउने ठहर्‍याई सुरू झापा जिल्ला अदालतबाट भएको फैसला पुनरावेदन अदालत, इलामको मिति २०६९।६।८ को फैसलाबाट सदर भएको पाइयो ।

ती फैसलाहरूमा चित्त नबुझाई अनुमानको भरमा परेको जाहेरी र घटनाका प्रत्यक्षीदर्शी भनिएका सुरेन राजवंशी र तिलक भुजेलले व्यक्त गरेको परस्पर विरोधी र आनुमानिक परिस्थितिजन्य प्रमाणको रूपमा स्थापित हुनै नसक्ने तथ्य व्यहोरालाई परिस्थितिजन्य प्रमाणको रूपमा ग्रहण गरी पुनरावेदकसमेतले अनुसन्धानका क्रममा वारदातमा आफ्नो कुनै संलग्नता नरहेको भनी गरेको बयानलाई नजरअन्दाज गरी फौजदारी न्यायका मान्य सिद्धान्त प्रतिकूल आधारहीन र शङ्कायुक्त तथ्य प्रमाणलाई आधार मानी दोषी कायम गरेको मिलेन भनी प्रतिवादी महेन्द्र राय र सुभाष रायले पुनरावेदन गरेको देखियो ।

किटानी जाहेरी, मृतककी जेठी श्रीमतीको अदालतमा भएको बकपत्र तथा प्रतिवादी शान्तिको रकम मृतकले लिए खाए मासेको कारण मृतकसँग निजको सम्बन्ध राम्रो नभएको एवम्‌ मृतकको कपडामा विष रहेको तथ्यलगायतका विश्लेषणबाट वारदातको मुख्य जड शान्ति राउत नै हुँदा निज प्रतिवादीलाई सफाइ दिएको फैसलामा चित्त बुझेन सो हदसम्म उल्टी गरी अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भनी वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन परेको देखियो ।

अब पुनरावेदन अदालत, इलामको फैसला मिलेको छ छैन प्रतिवादीहरूको र नेपाल सरकारको पुनरावेदन जिकिर पुग्ने हो होइन निर्णय दिनुपर्ने देखियो ।

२. मृतकका सहोदर भाई कृष्ण कन्हैया महतोले मृतक मरेको मिति २०६८।२।२८ को भोलिपल्टै जिल्ला प्रहरी कार्यालय, भद्रपुर झापामा दिएको जाहेरी दरखास्तमा वारदातको ठाउँ टिम्बर कर्पोरेसन छेउमा दिउसो अन्दाजी १२:०० बजे भनी उल्लेख भएको पाइन्छ । उक्त दरखास्तमा मृतकको के कसरी मृत्यु हुन गयो सोको यकिन गरी जाहेरी दरखास्त पछि गर्ने नै हुँदा हाल तत्काल विष सेवन गरी मरेको हो भनी आशङ्का रहेको हुँदा भन्ने व्यहोरा उल्लेख भएको पाइन्छ । घटना भएको ठाउँको पूर्वमा मेची खोला, पश्चिममा आवतजावत हुने पक्की सडक, उत्तरमा भुवन मुखियाको घर दक्षिणमा कदमबगानभित्र वनमाराको झाडीमा मृतकको लास रहेको, लासको बायाँ खुट्टा छेउमा terminator लेखिएको विषको बोतल २ बिर्को खुल्ला अवस्थामा रहेको र लास रहेको स्थानदेखि अन्दाजी १० मिटरमा मृतकको मोटरसाइकल रहेको र विषादीको बोतल खालीरहेको भन्नेसमेत व्यहोराको घटनास्थल लासजाँच मुचुल्का देखिन्छ । मृतकको शव परीक्षण प्रतिवेदनमा A packet of rat poison named ‘Ratol’ found in right packet of the pant. No other external injury भनी मृत्युको कारणमा can’t be determined till all the visceral reports arrive भन्ने व्यहोरा रहेको देखिन्छ । यी तीनवटै लिखतमा मृतकबाट रक्सी सेवन भएको देखिँदैन । मृतकको शरीरमा बाहिर चोटपटक रहेको पनि पाइँदैन । मौकामा कागज गर्ने सुरेन्द्र राजवंशीले २०६८।२।२८ गते दिनको अन्दाजी १:०० बजेको समयमा भद्रपुरको बाख्रा हटिया लाग्ने ठाउँमा मृतक महेन्द्र रायले अनकन्ट्रोल गरी मोटरसाइकल चलाई ल्याएको त्यसमा ३ जना रहेको र बेलुका ५:०० बजे मृतक विष सेवन गरी मरेको भन्ने हल्ला सुनी हेर्न गएको पछाडि बस्ने व्यक्तिहरू सुभाष राय र महेन्द्र रायलाई सनाखतसमेत गरिदिए निजहरूले मृतकलाई विष खुवाई मारेकामा विश्वास लाग्छ भनी उल्लेख भएको देखिन्छ भने लास फेला परेको स्थान नजिकै कदमबगानमा घाँस काटिरहेको तिलक भुजेलको मौकाको कागजमा वारदातको दिन अन्दाजी १२.३० बजेको समयमा नचिनेको १ जना मानिस मोटरसाइकलमा आई कदमबगानमा बसेका र केही छिनपछि एक एक वटा लेडिज साइकलमा चढी मोटरसाइकलमा आएका मानिससँग भेट गरी मेची खोलाको वारिपट्टि डिलमा गई गफ गरी २०/२५ मिनेटपछि साइकलमा जाने २ जना मानिसहरू साइकलमा चढी फर्किए ती व्यक्तिहरू प्रतिवादी सुभाष राय र महेन्द्र राय हुन् भनी सनाखत गरिदिए, निजहरूले नै मृतकलाई विषादी पदार्थ खुवाई कर्तव्य गरी मारेकामा विश्वास लाग्छ भन्ने व्यहोरा उल्लेख भएको पाइन्छ । मौकामा कागज गर्ने चन्दन साह र दिपेस रणपहेलीले उक्त दिन अं. १५:०० बजेको समयमा मृतकको लास रहेको स्थानदेखि केही पर मृतक र एकजना आइमाई गफ गरी बसेको पछाडिबाट देखेको र निजको जिउडाल प्रतिवादी शान्ति राउतसँग ठ्‍याक्कै मिल्छ पहिचान गरे भन्ने उल्लेख गरेकोसमेत देखिन्छ । त्यस अतिरिक्त मृतकको छोरी राधा महतो, मृतककी श्रीमती फूलादेवी महतो, मृतकको भाइ लालचन महतो वस्तुस्थिति मुचुल्कामा व्यक्तिहरूसमेतको कागज पनि मिसिल संलग्न रहे भएको देखिन्छ ।

३. वारदात भएको दिन आफू गाडीको खलासी काम गर्न भारत गलगलियामा गएको भनी आरोपित कसुरमा इन्कार रही मौकामा प्रतिवादी महेन्द्र रायले बयान गर्दै सुरेन्द्र राजवंशी र तिलक भुजेलले निज विरूद्ध गरेको सनाखतसमेतको खण्डन गरेको पाइन्छ । प्रतिवादी शान्ति राउतले मौकाको बयानमा आफू र मृतक शिव महतोका बीचमा यौनसम्बन्ध रहेको, गाउँलेले जबरजस्ती मृतक शिव महतोको जिम्मा लगाएको, मृतक शिव महतोलाई पटकपटक गरी मृतकले नै तिर्ने गरी प्रशस्त ऋण दिए दिलाएको, त्यसमध्ये बहुउद्देश्यीय बैंङ्कको ऋणबाहेक निजले बाँकी सबै ऋण तिर्दै आएको, बहुउद्देश्यीय बैंङ्कको ऋण नतिरेको विषयमा आफूलाई मृतकसँग रीस उठेको तथा वारदातको दिन गरामनीबाट बिहान ७:३० बजे मृतक शिव महतोसँग मोटरसाइकल चढी चन्द्रगढी आएको, शिव महतोले तिमी रामजी दाहालको घरमा बस्दै गर म कोठा खोज्न जान्छु भनी गएको, भोलिपल्ट बिहान ८:०० बजेतिर चन्द्रगढी बजारतिर आउँदा निजको विष सेवनबाट मृत्यु भएको भन्ने थाहा पाएपछि पीर चिन्ता लागी मैलेसमेत मुसा मार्ने विषादी पदार्थ सेवन गरी आत्महत्या गर्ने प्रयास गरेकी हुँ भन्नेसमेतको व्यहोरा उल्लेख गर्दै आरोपित कसुरमा इन्कार रहेकी देखिन्छ । अर्का प्रतिवादी सुभाष राय पनि आरोपित कसुरमा इन्कार रही उक्त दिन बिहान ७:३० देखि बेलुकी ७:०० बजेसम्म विमानस्थलमा लोडरको काम गर्न गएको भन्नेसमेतका कुरा उल्लेख गरी सुरेन्द्र राजवंशी र तिलक भुजेलले निजलाई गरेको सनाखतसमेतको खण्डन गरेको पाइन्छ ।

४. मौकामा कागज गर्नेहरूको कागज व्यहोरा हेर्दा एउटा कागजको व्यहोराले अर्को कागजको व्यहोरालाई खण्डन गरेको अवस्था छ । मृतकसमेतका ३ जना मादक पदार्थ सेवन गरी मोटरसाइकलमा गैरहेको भन्नेसम्मको सुरेश राजवंशीको आदि र अन्त नभएको बीचको कथनबाट अभियोगदाबी प्रमाणित हुने स्थिति छैन । अभियोगदाबी र मृतकको शव परीक्षण प्रतिवेदनबाट मृतकबाट रक्सी सेवन भएको देखिँदैन । सुरेश राजवंशीले नै भनेको समयमा तिलक भुजेलले प्रतिवादीहरू सुभाष राय र महेन्द्र राय अलगअलग लेडिज साइकलमा आएको र सोभन्दा पहिले मृतक मोटरसाइकलमा एक्लै वारदातस्थलमा पुगेको तथा मृतक र साइकलमा आउने व्यक्तिहरू वारदातस्थलभन्दा पर मेची खोलाको डिलमा गै २०/२५ मिनेटपछि साइकलमा फर्केको भन्ने कुरा व्यक्त गरेको पनि विरोधाभासपूर्ण देखिन्छ । उक्त कागजको व्यहोराबाट निजहरू र मृतकबीच वादविवाद कुटपिट भएको, विष सेवन गराउने कार्य वा अरू खानपिन भएकोसमेतको कुनै कुरा भएको देखिँदैन । उक्त समयसम्म मृतक मरेको भन्न सकिएको छैन । साथै मृतक त्यहाँबाट हिंडेको भनेर पनि भन्न सकिएको 

छैन । मेची खोलाको डिल वारदातस्थल नभै कदमबगान छेउको वनमाराको झाडी वारदातस्थल रहेकाले मेची खोलाको डिलसम्बन्धी व्यहोराबाट मृतकको हत्या प्रतिवादीहरूले नै गरेको निष्कर्ष आउँदैन । दिपेश रणपहेलीको कागजमा मृतक र पछाडिबाट हेर्दा प्रतिवादी शान्ति राउतसँग ठ्‍याक्कै जिउ मिल्ने महिला सो दिन अ. १५ बजे गफ गरेर बसेको भनी उल्लेख छ । जब कि मृतककी छोरी राधाको कागजमा सो दिन अ. १६ बजे प्रतिवादी शान्तिसँग निजको भेट काली मन्दिरअगाडि भएको र शान्तिले निजसँग बुबा खोइ भनी सोधेको कुरा उल्लेख छ । प्रतिवादी शान्तिले २/२ बोतल विष कुनै कुरासँग नमिसाई मृतकलाई एक्लै खुवाउने सक्ने कुरा पत्याउन सकिँदैन । कुनै खाद्य  वा पेयसँग मिसाएर खुवाएको कुराको प्रमाण मिसिलमा रहेको देखिँदैन ।

५. वारदात भनिएको ठाउँ बाहिर खुल्ला स्थानमा रहेको छ । समय दिउसो भनिन्छ । कुटपिट वादविवाद भएको कोही कसैले देखे सुनेको स्थिति 

छैन । घटनास्थलको छेउछाउमा घर तथा पक्की सडक देखिन्छन् । षड्यन्त्र गरी विष खुवाई मार्ने योजना बनाउनेले त्यस्तो ठाउँ र समय रोज्ने कुरा पत्याउन सकिँदैन । यी प्रतिवादीहरूले मृतकलाई कुनै घरभित्र त्यस किसिमको योजना कार्यान्वयन गर्ने कुरा भैदिएको भए एकछिनलाई विचार गर्न सकिन्थ्यो । तर त्यो अवस्था देखिँदैन ।

६. अभियोगदाबी ठोस तथ्य प्रमाणमा आधारित रहेको नभै कोरा सम्भावनामा आधारित 

छ । प्रतिवादीहरू र मृतकबीच राम्रो सम्बन्ध नरहेको भन्ने अभियोगदाबीको व्यहोराले फौजदारी कसुर स्थापित गर्ने हैसियत र क्षमता राख्दैन । वारदातस्थलमा प्रतिवादीहरू र मृतकसँगै रहेको कुरा पनि ठोस र वस्तुनिष्ठ प्रमाणद्वारा प्रमाणित हुन सकेको छैन । लासको छेउछाउको झारपात मडारिएको भन्ने अभियोगपत्रको व्यहोराको हकमा विषको छटपटीसमेतका असरका कारणले झारपात मडारिन सक्ने हुँदा त्यसले पनि निश्चयात्मक प्रमाणको स्थान लिन सक्ने देखिँदैन । कुटपिट भएको भन्ने अभियोगदाबी मृतकको लासजाँच र शव परीक्षणबाट खम्बिर हुनसकेको छैन । प्रतिवादीहरूबीच लेनदेनसम्बन्धी काम कारवाही भएको भन्ने अभियोगपत्रको व्यहोराबाट झन् प्रतिवादीहरूले मृतकलाई मार्नु पर्ने कारण हुँदैन । आफूले पैसा लिनुपर्ने मृतक जीवित रहेमा प्रतिवादीको पैसा उठ्ने सम्भावनालाई प्रतिवादीले मृतकको हत्या गरेर समाप्त पार्ने कुरा तर्कसङ्गत देखिन्न ।

७. प्रतिवादी शान्तिको मौका र अदालतको बयानबाट मृतक प्रसस्त ऋण भारमा रहेको व्यक्ति देखिन्छ । एक त प्रसस्त ऋण भार त्यसमाथि प्रतिवादी शान्तिलाई मृतक जिम्मा लगाइएको गाउँ समाजको मृतकप्रतिको बेइज्जतीपूर्ण कार्य र मृतकको श्रीमती र छोरी लगायतबाट प्रतिवादी शान्तिको कारणबाट हुने झैझगडा अशान्ति यी सब तनावबाट मृतक गुज्रिरहेको कुरालाई अदालतहरूले ध्यानमा लिनुपर्ने देखिन्छ ।

८. यी प्रतिवादीहरूको बीचमा मृतकको हत्या गर्नका लागि एकगठ हुनपर्ने कुनै कारण नै विद्यमान 

छैन । प्रतिवादी शान्ति र निजको विवाहित पति प्रतिवादी महेन्द्रबीचको सम्बन्ध निक्कै तिक्त र कटु देखिन्छ । त्यसै गरी प्रतिवादी सुभाषले आफ्नी दिदी प्रतिवादी शान्तिलाई मृतक जिम्मा लगाउनमा ठुलो भूमिका खेली प्रतिवादी शान्तिसँग बिल्कुल सम्बन्ध बिगारेका यसरी एक आपसमा राम्रो सम्बन्ध नरहेको यी प्रतिवादीहरूले योजना बनाई मृतकलाई विष सेवन गराउने निष्कर्ष निकाल्न सकिने मिसिलको स्थिति देखिँदैन । यसलाई पनि न्याय निरूपणको क्रममा अदालतहरूले विचार गर्नै पर्छ ।

९. यसमा मृतकबाट विष सेवन भएको कुरा परीक्षण प्रतिवेदनबाट प्रमाणित हुन सकेको छैन । तर मृतकको भित्री वा बाहिर अङ्गमा साङ्घातिक घाचोट रहेको पनि पाइँदैन । न हत्याजन्य घाचोट 

छ । मिसिलको यस्तो स्थितिमा अब अदालतले मात्रै के गर्ने, कसरी मृतकको हत्या भएको भन्ने ? विशेषज्ञको परीक्षण त्रुटिपूर्ण भएबाट त्यस्तो प्रतिवेदन आएको सम्भावना पनि नहुने होइन । जे भए पनि यसको फाइदा वादीलाई निश्चय नै जाँदैन ।

१०. माथि प्रकरण प्रकरणमा उल्लेख भएबमोजिम ठाउँ ठाउँमा घटनाक्रमको कडी फुस्केको वारदातको चित्रणबाट कुनै निश्चित अनुमान लगाउनसम्म पनि निक्कै कठिन र चुनौतीपूर्ण 

देखिन्छ । अनुमान निकाल्न नै अप्ठेरो परेको अवस्थामा शङ्कारहित प्रमाण आउने झन् कुरै भएन । यस्ता अनिश्चित र संदीग्ध कुरालाई परिस्थितिजन्य प्रमाणको जामा पहिराउनु प्रमाणसम्बन्धी कानूनी सिद्धान्त र न्यायिक मान्यताको उपहास गर्नु हुनेछ । प्रतिवादीहरू विरूद्ध प्रत्यक्ष प्रमाण छँदैछैन । मार्नुपर्ने कारण पनि शङ्कारहित किसिमबाट आउन सकेको छैन । फौजदारी कसुरमा प्रतिवादी विरूद्धको अभियोगदाबी ठोस, निर्विवाद र शङ्कारहित प्रमाणबाट प्रमाणित गर्नुपर्ने प्रमाणको भारलाई वादी नेपाल सरकारले पूरा गर्न सकेको देखिएन ।

११. तसर्थ माथि प्रकरणहरूमा विवेचित आधार र कारणहरूबाट प्रतिवादीहरू सुभाष राय र महेन्द्र राय विरूद्धको अभियोगदाबी पुग्ने ठहराएको पुनरावेदन अदालत, इलामसमेतको मिति २०६९।६।८ को फैसला केही उल्टी भै प्रतिवादीहरू महेन्द्र राय र सुभाष रायले अभियोगदाबीबाट सफाइ पाउने र प्रतिवादी शान्तिराय राउतलाई  सफाइ दिएको हदसम्मको उक्त फैसला सदर हुने ठहर्छ । प्रतिवादी  शान्तिराय राउतलाई पनि अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । अरू तपसिलबमोजिम गर्नू ।

तपसिल

माथि ठहर खण्डमा उल्लेख भएबमोजिम पुरावेदन अदालत, इलामको मिति २०६९।६।८ को फैसला केही उल्टी भई प्रतिवादीहरू महेन्द्र राय र सुभाष रायले अभियोगदाबीबाट सफाइ पाउने ठहरी फैसला भएकाले उक्त फैसलाबमोजिम थुनामा रहेका प्रतिवादीहरू महेन्द्र राय र सुभाष रायलाई हकमा थुना मुक्त गरिदिन मिति २०७१।१०।२८ मा सङ्क्षिप्त आदेश गरी छिटो साधनद्वारा लेखी पठाइसकिएको हुँदा निजहरूका हकमा सुरू र पुनरावेदन अदालतको फैसलाबमोजिम राखेको कैदको लगत कट्टा गरिदिनु भनी सुरू झापा जिल्ला अदालतमा लेखी पठाइदिनू .....................१

दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाइदिनू .....................................................१

 

उक्त रायमा सहमत छु ।

न्या.बैद्यनाथ उपाध्याय

 

इति संवत् २०७१ साल माघ २८ गते रोज ४ शुभम् ।

इजलास अधिकृत : कपिलमणि गौतम

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु