निर्णय नं. ९३८६ - ज्यान मार्ने उद्योग

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय
माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र
आदेश मिति : २०७१।११।१८।२
०६८-CR-०५८७
मुद्दा : ज्यान मार्ने उद्योग ।
पुनरावेदक / वादी : राम नाथको जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : जिल्ला बाजुरा आँटीचौर गा.वि.स.वडा नं.६ बस्ने चन्द्र नाथ
प्रतिवादीको पीडितलाई मार्ने नै मनसाय रहेको भए घर कोठामा बन्दुक, बासुलो, छिनो जस्ता जोखिमी हतियार रहेका प्रतिवादीले ती हतियारको प्रयोग नगरी हँसियाको प्रयोग गर्ने, नाक टोक्ने जस्ता कार्य मात्र गरेकोबाट ज्यान मार्ने उद्देश्यले तयारीको साथ बसेको भन्न सकिने अवस्था नदेखिने ।
ज्यान मार्ने उद्योगको अपराध ठहर हुनका लागि प्रतिवादीले पीडितलाई मार्ने मानसाय राखी सोहीबमोजिमको कार्य गरेको प्रमाणित हुनुपर्छ र त्यस्तो कार्यको परिणामस्वरूप पीडितको कुनै कारणबस ज्यानसम्म बच्न गएको अवस्था स्पष्टरूपमा स्थापित हुनुपर्छ । ज्यान बचेको कारण तेस्रो पक्षको उपस्थिति हुनु नहुनुले अपराध घट्दाको परिस्थितिअनुरूप केही निष्कर्षमा पुग्न सजिलो हुन्छ, तर त्यही एउटा कारणबाट मात्र ज्यान मार्ने मानसाय थियो कि थिएन भनी भन्न सकिने अवस्था हुन्छ नै भन्न मिल्दैन । तेस्रो पक्षको उपस्थिति भन्दा पनि ज्यान मार्ने मनसाय हुनु ज्यानमार्ने उद्योगको अपराधमा आवश्यक तत्त्वको रूपमा रहने ।
(प्रकरण नं.५)
प्रतिवादीले बन्दुक वा बासुलो लिई जाहेरवाला पीडितसमेतको घरमा वा निजहरू रहने ठाउँमा गएको देखिँदैन । पीडितसहितका व्यक्ति प्रतिवादीको घरमा नगएको अवस्थामा वारदात हुने अवस्था आउने थिएन । पीडितसमेतका व्यक्ति आफ्नो घरमा आउलान् र आफूसँग भएका हतियार प्रहार गरूँला भनी पूर्व तयारीका साथ यी प्रतिवादी बसेका र निजहरू आउने बित्तिकै मार्ने मानसाय राखी हतियार प्रहार गरेको भनी मान्न तर्कसङ्गत हुने
नदेखिने ।
(प्रकरण नं.६)
पुनरावेदक / वादीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता गोपालप्रसाद रिजाल
प्रत्यर्थी / प्रतिवादीका तर्फबाट :
अवलम्बित नजिर :
सम्बद्ध कानून :
मुद्दासम्बन्धी ऐन, २०४९ को दफा २७
सुरू तहमा फैसला गर्ने :
मा.जि.न्या. श्री लोकजंग शाह
पुनरावेदन तहमा फैसला गर्ने :
मा.न्या. श्री रामप्रसाद खनाल
मा.न्या. श्री बीरसिंह महरा
आदेश
न्या.बैद्यनाथ उपाध्याय : पुनरावेदन अदालत, दिपायलको मिति २०६८।३।२२ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) अनुसार पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य र निर्णय यसप्रकार छ :
मिति २०६६।११।२० गतेको राति अन्दाजी ८.०० बजेको समयमा बाजुरा जिल्ला आँटीचौर गा.वि.स.वडा नं. ६ बस्ने चन्द्र नाथले हामी काशी नाथ-१, म जाहेरवाला राम नाथ-१ र उमेश नाथसमेतलाई कुटपिट गरी सख्त घाइते भएका उमेश नाथलाई बासुलो, आँसी, बञ्चरोले घाँटीमा, हातमा खुट्टामा हिर्काई घरको माथिल्लो तल्ला जाने भुइँमा पल्टाएको प्रत्यक्षदर्शीले देखेका छौं । ज्यान मार्ने उद्योग गरी ज्यान मर्न नपाई मार्तडी अस्पतालमा उपचार भै रहेको छ । यसरी अन्यायवालालाई मुलुकी ऐन ज्यानसम्बन्धीको महलको १ नं. को कसुर गरेकाले ऐ. ऐनको १५ नं. बमोजिम सजाय गरिपाउँ भन्ने व्यहोराको राम नाथको जाहेरी दरखास्त ।
जिल्ला बाजुरा, आँटीचौर गा.वि.स. वडा नं. ७ स्थित पूर्वमा अन्दाजी ५ मिटर टाढा नैनागाउँबाट ओली गाउँ जाने कच्ची गोरेटो बाटो, पश्चिममा अन्दाजी २ मिटर टाढा बोटबिरूवा भएको पाखो जमिन, उत्तरमा अन्दाजी २ मिटर बाँझो पाखो भिरालो जमिन, दक्षिणमा अं. २ मिटर टाढा नैनागाउँबाट ओली गाउँ जाने कच्ची गोरेटो बाटो यति चार किल्लाभित्र चन्द्रनाथ योगीको दुई तले चार कोठा भएको ढुङ्गाको दिवाल आधा खरले आधा सिलेटले छाएको कच्ची घरको पश्चिम मोहोडा भएको मूल ढोकाबाट भित्र प्रवेश गर्दा माथिल्लो तला प्रवेश गर्ने ढुङ्गाको सिँढीमा रगत जस्तो पदार्थ लागी सुकेको अवस्थामा देखिएको, सिँढीबाट माथि चढेर पूर्वपट्टिको कोठामा प्रवेश गर्दा ठाडो र तेर्सो लगाइएको खटिया दुई वटा र सोही कोठाको भुइँमा धारिलो हँसिया थान-१, बासुलो थान-१, फलामे छिना थान-१, एक किलोको ढक थान-१, नाइलनको रगत जस्तो पदार्थ लागि सुकेको तन्ना टालो थान-२ भेटिएको मिति २०६६।११।२० गते राति चन्द्र नाथले उमेश नाथलाई मरणासन्न हुने गरी धारिलो हतियार प्रयोग गरी कुटपिट गरिएको भनिएको मिति २०६६।११।२१ को घटनास्थल मुचुल्का ।
मिति २०६६।११।२१ गतेको पत्रादेशानुसार धारिलो हतियार प्रयोग गरी आँटीचौर ७ बस्ने उमेश नाथलाई कुटपिट गरी गम्भीर घाइते बनाउने चन्द्र नाथलाई पक्राउ गर्न भनी पठाइएकामा आफ्नो साथमा खटाइएको टोलीसमेत लिई उल्लिखित स्थानतर्फ खटी गई सोगाउँमा पुग्दा निजको खोज तलास गर्ने गराउने सिलसिलामा गाउँलेहरूले निजकै कोठामा हुली राखेकै अवस्थामा फेला पारी आफ्नो जिम्मा लिई सुरक्षित साथ आवश्यक कारवाहीका लागि दाखिला गरेको छु भन्ने प्र.ना.नि.गिन्द्रबहादुर बोगटीको प्रतिवेदन ।
मिति २०६६।११।२१ को उमेश नाथ र मिति २०६६।११।२२ गतेको काशी नाथ र राम नाथको घाउ जाँच गरेको जिल्ला स्वास्थ्य कार्यालय, बाजुराको घाउ जाँच केस फर्म ।
राम नाथसँग पहिलेदेखि पार्टीगत विषयमा वादविवाद भै राम्रोसँग बोलचाल थिएन । मिति २०६६।११।२० गतेको करिब राति ८:०० बजेतिर मेरो घरमा काशीनाथ र रामनाथ आएका हुन् । घरमा आइसकेपछि काका राम नाथ र मेरो झगडा हात हालाहाल हुँदा काशी नाथ हाम फालेको र मेरी श्रीमती रामनाथको घरमा गुहार माग्न जाँदा उमेश नाथले थाहा पाई आफू अगाडि आई म सुत्ने कोठाको ढोकामा पुग्दा मैले पहिले नै कोही आए हान्छु भनी समाती राखेको हँसियाले उमेश नाथलाई प्रहार गर्दा निजको बायाँ हातको औंलामा लाग्यो । निजले दाँतले मेरो औंला टोकेको अवस्थामा मैले पनि आफ्नो दाँतले नाकको टुप्पोमा टोक्दा नाकको टुप्पो छिनालिएको हो । मैले नाकको टुप्पो टोक्ने क्रममा निजले टोकेको औंला टोक्न छोड्दा मैले पनि छोडेको हुँ । बाहिरबाट मार मार भन्ने आवाज आइरहेकाले मैले आफ्नो हातको हँसियाको धारिलो भागले निजको संवेदनशील अङ्ग टाउकामा तीन चोटी प्रहार गरी रगताम्य गरेकै हुँ । उमेश नाथ कोठामै ढल्ने क्रममा बाहिर रहेका मानिस चन्द्र नाथले मारिसक्यो भनी भागी गएका हुन् । निज ढलिसकेपछि मैले आफ्नै कोठामा भएको तन्ना च्याती टाउकामा बाँधी रहेकै अवस्थामा सोही गाउँका विमला नाथ, पन्छुदेवी नाथ, भुजीदेवी नाथ, विसुदेवी नाथसमेत घरमा आएर भित्र छिरेपछि मैले बाहिर भएको ढोका बन्द गरी निजहरूसँगै घाइते उमेश नाथ भएकै कोठामा बसेको, रातभर कुरेको हुँ मैले हँसियाले निजको दायाँ हातको औंलामा प्रहार गर्दा तीन औंला छिनालेकै हुँ । पछि तीन चोटी टाउकामा मार्ने उद्देश्यले प्रहार गरेकै
हुँ । अन्य हतियारले अन्य ठाउँमा होइन भन्ने व्यहोराको चन्द्रनाथले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान कागज ।
मिति २०६६।११।२० गते बेलुका आफ्नो घरमा थिएँ, राति ८:३० बजेको समयमा काशी नाथ र राम नाथ भान्सा कोठामा प्रवेश गरी मेरा पति चन्द्र नाथ र राम नाथ बीच तानातान अङ्गालो हालाहाल हुने क्रममा काशी नाथ भागेर गएपछि म आफू भएको कोठाबाट उठी जाने क्रममा झगडा छुट्याउन नसकी गाउँमा गुहार गर्ने सिलसिलामा विश्वनाथलाई भनेपछि उमेश नाथसमेतले कहाँबाट थाहा पाई अगाडि उमेश र पछाडि अन्य गाउँले आइसकेपछि मेरा पति भान्साबाट सुत्ने गरेको कोठामा गएका हुन्, सबै जना घरमा आउने क्रममा म बालबच्चा लिई बाहिर गएपछि निज उमेश अगाडि ढोकाभित्र प्रवेश गरेपछि मेरा पतिले ढोका बन्द गरी सोही कोठामा भएको हँसिया बासुलोसमेतको धारिलो हतियार प्रयोग गरी उमेश नाथलाई मार्ने उद्देश्यले टाउको, हातका औंला तथा खुट्टामा समेत हानेकै हो भन्ने व्यहोराको धौली भन्ने विस्ना देवी नाथले प्रहरीमा गरेको कागज ।
मिति २०६६।११।२० गते राति ८:३० बजेको समयमा चन्द्र नाथकै घरको बाटो भएर जानु पर्ने भएको हुँदा राम नाथ र काशी नाथ जाने क्रममा निज चन्द्र नाथ आफ्नो घर पसलमा बसी मादक पदार्थ सेवन गर्दै गरेको देखी दुवै जना सरासर गएका भन्ने सुनेको र पछि करिब ८:३० बजे घर फिर्ता हुने सिलसिलामा निज चन्द्र नाथ कुरी बसेको अवस्थामा आँगन अगाडि हिँडिरहेका राम नाथ र काशी नाथलाई बाटोबाटै बोलाई घरभित्र लगी कुटपिट गरेको
रहेछ । उल्लिखित मितिमा चन्द्र नाथले हँसिया, बञ्चरो जस्तो धारिलो हतियार प्रयोग गरी मार्ने उद्देश्यले उमेश नाथलाई कोठाभित्र लगी हतियार प्रयोग गरी ढलेपछि मर्यो भनी छोडेको हो भन्ने व्यहोराको बिसुदेवी नाथले प्रहरीसमक्ष गरेको कागज ।
मिति २०६६।११।२० गते खाना खाई सुत्न लागेको अवस्थामा थाहा पाएको हो । उक्त कोठामा पूरै रगत बगेको र हँसिया, बञ्चरो, बासुलोजस्ता धारिलो हतियार मैले कोठामा देखेको हुँ । निजले मार्ने उद्देश्यले उमेश नाथको टाउको, हात तथा खुट्टामा धारिलो हतियारले प्रहार गरेको हो भन्ने व्यहोराको पन्छु देवी नाथले प्रहरीमा गरेको कागज ।
मिति २०६६।११।२० गते म मेरै घरमा
थिए । गाउँले पुरन नाथको विवाहको लगन हेराउनको लागि राम नाथसमेत कालु नाथको घरमा गई फिर्ता हुने समयमा निज चन्द्र नाथको घर आँगन अगाडि पुग्दा काशी नाथको घाँटीमा समाती घरभित्र लगी कुटपिट गर्दा निजकी श्रीमती बिस्नादेवी नाथले देखी उमेश नाथलाई खबर गर्दा के भएछ भनी निज उमेश नाथ चन्द्र नाथको घरमा जाँदा राम नाथलाई पिट्न लागेको देखी उमेश नाथले सम्झाउन लाग्दा तँ पनि मेरो विरोधीको भाइ त होस् भनी घाँटीमा समाती घरभित्र लगी ढोका बन्द गरी भित्र कोही मान्छे छिर्न नपाउने गरी आफ्नै सुत्ने कोठामा हँसिया जस्ता धारिला हतियारले मार्ने उद्देश्यले टाउको, हात तथा खुट्टामा प्रहार गरी रगताम्य बनाई कोठामै ढलेपछि मर्यो होला भनी छोडेको रहेछ भन्ने व्यहोराको भुजीदेवी नाथले प्रहरीमा गरेको
कागज ।
मिति २०६६।११।२० गते बेलुका म आफ्नै घरमा थिएँ । चन्द्र नाथले उमेश नाथलाई त्यसरी धारिलो हतियार प्रयोग गर्नुपर्ने कारण मलाई थाहा
छैन । पूर्व रिसइवी केही थिएन, सो घटना गर्न चन्द्र नाथको एक्लै संलग्नता छ भन्ने व्यहोराको विमलादेवी नाथले प्रहरीमा गरेको कागज ।
मिति २०६६।११।२० गते बेलुकी गाउँले पुरन नाथको विवाहको लगन जुराउनु पर्ने भै चन्द्र नाथको घरअगाडिबाटै जानुपर्ने हुँदा गएको अवस्थामा चन्द्र नाथ आफ्नै घर पसलमा मादक पदार्थ सेवन गरी रहेको बखत सरासर म, राम नाथ, मनवीरे नाथसमेत कालु नाथको घरमा गएपछि लगन हेराई फिर्ता हुँदा मनवीरे नाथको घर जान अलग्गै बाटो जानुपर्ने भएकाले म र राम नाथ फिर्ता आइराखेको अवस्थामा हामी आउने बाटो कुरी बसेको चन्द्र नाथले आँगनमा आई एक्कासी युथफोर्स बारे विवाद गरी हामी दुवै जनाको घाँटीमा समाती धकेल्दै आफ्नो घर कोठाभित्र भान्सामा लगी कुटपिट गर्न लाग्दा म एक्कासी भाग्न सफल भै कौसीबाट हाम फाली बच्न सफल भएको हुँ र भाग्ने क्रममा हाम फाल्दा खुट्टा मर्कन गएको हो । निजले पहिलादेखि गाउँमा मसमेतलाई डरत्रास देखाउने हुँदा म डरले भागी गएको र जाहेरवाला राम नाथलाई कुटपिट गरी नै राखेको थियो । सोसमयमा मैले निज चन्द्र नाथलाई केही गर्न सकिनँ । म भागी जङ्गल गएपछि राति घरमा आएको थिएँ । घरमा आउँदा चन्द्र नाथले उमेश नाथलाई हँसिया, बसुलोसमेतका धारिलो हतियारले ज्यानै मार्ने उद्देश्यले हानी मार्यो भन्ने सुनेपछि म डरले उल्लिखित स्थानमा पनि जान
सकिनँ । भोलिपल्ट बिहान निज उमेश नाथलाई उपचारको लागि ल्याउने क्रममा देख्दा म पनि निजसँगै आएपछि घाइते अवस्थामा रहेछ भन्ने कुरा थाहा पाएको हुँ । पछि बुझ्दा निज चन्द्र नाथले राम नाथलाई कुटपिट गरिरहेकै अवस्थामा निजकी श्रीमतीले छुट्याउन नसकी राम नाथको घरमा गई मेरो श्रीमान्ले राम नाथलाई कुट्दै छन् बचाउन जाउ भनी उमेश नाथलाई खबर गरेपछि के रहेछ भनी उमेश नाथ आफ्नो दाइको खबर गर्न निज चन्द्र नाथको घरमा गई आफ्नो दाइलाई पिट्न लागेको देखी चन्द्र नाथलाई सम्झाउन खोज्दा पनि राम नाथकै भाइ त होस् भनी राम नाथलाई छोडी उमेश नाथलाई समाती सुत्ने कोठामा लगी ढोका बन्द गरी हँसिया, बासुलो जस्ता धारिलो हतियारले टाउको हातखुट्टामा समेत प्रहार गरी जमिनमा ढाली मर्यो भनी छोडेपछि गाउँले स्वास्नी मानिस पन्छुदेवी नाथसमेतका जाहेरीमा उल्लिखित मानिस आई लगाएको ढोका खोली भित्र पसी उमेश नाथको ज्यान जोगिन गएको कुरा सुनी थाहा पाएको
हुँ । निज चन्द्र नाथले पहिलेदेखि नै गाउँमा डर त्रासको वातावरण सिर्जना गरेकाले लोग्ने मानिस कोही पनि सो ठाउँमा जान सकेनन् । हामीहरूको पूर्व रिसइवी केही थिएन । निज चन्द्र नाथले राम नाथ, म र उमेश नाथसमेतलाई उल्लिखित मितिमा कुटपिट गरेकै हो भन्ने व्यहोराको घाइते काशी नाथले प्रहरीमा गरेको कागज ।
मिति २०६६।११।२० गते राति आफ्नै घरमा थिए । चन्द्र नाथ पहिलेदेखि नै खराब आचरणको गाउँ घरमा बिना कारण कुटपिट गर्ने मानिस हो । चन्द्र नाथ एक्लैले उमेश नाथलाई कुटपिट गरेको हो अन्य कोही कसैको संलग्नता छैन भन्ने व्यहोराको विरनाथ योगीले प्रहरीमा गरेको कागज ।
मिति २०६६।११।२० गते राति चन्द्र नाथले उमेश नाथको टाउकामा पटकपटक हँसिया, बासुलो, बञ्चरो जस्तो धारिलो हतियार ज्यान मार्ने उद्देश्यले प्रहार गरेको हो भन्ने व्यहोराको गोरे नाथ, मनवीरे नाथ, रंगनाथ, भनी नाथ, विरभद्र नाथसमेतको एकै मिलानको प्रहरीमा गरेको कागज ।
मिति २०६६।११।२० गते विवाहको लगन हेराउनु पर्ने भै बेलुकी पख मेरा दाइ राम नाथ र भतिजा नाता पर्ने काशी नाथ धामी झाँक्री गर्ने घरतर्फ गएका थिए र सो घरमा जाँदा आउँदा चन्द्र नाथको घरको बाटोबाट आवतजावत गर्नुपर्ने र निज दुवैजना लगन हेराई फर्किने क्रममा चन्द्र नाथको घर नजिक पुग्दा निज चन्द्र नाथले दुवै जनालाई समाती घरभित्र लगी मदिरा सेवन गरेकै अवस्थामा तिमी दुई जनामध्ये १ जनालाई मार्छु भनी कुटपिट गर्न थाल्यो र राम नाथलाई चन्द्र नाथले कुटपिट गर्न लागेको देखेर निजको श्रीमतीले अब घरभित्र ज्यानमारा हुन्छ भन्ने ठानी हाम्रो घरमा आई तिम्रो दाई राम नाथलाई मेरो श्रीमान्ले मार्न लागेको छ बचाउन जाउ भनेर भनेपछि मैले आफ्नो घरभित्र पढ्न लागेको किताब छोडी चन्द्र नाथको घरतिर गएँ, म चन्द्र नाथको घरमा पुग्दा राम नाथलाई कुटपिट गरी राखेको थियो र म दुवै जनाको बीचमा पुग्दा चन्द्र नाथलाई कुटपिट नगर भनी भन्दा मेरो दाइ राम नाथ त्यहाँबाट भाग्न उम्कन पाए र राम नाथ केही टाढा गएपछि चन्द्र नाथको रिस कम हुन्छ कि भनेर राम नाथलाई घरतर्फ पठायौं । राम नाथ त्यहाँबाट उम्कने बित्तिकै चन्द्र नाथले मलाई समात्यो र घरभित्र तान्यो घरको कोठाभित्र दुवै जना पस्ने बित्तिकै भित्रबाट कोठामा सुरो लगायो र कोठाभित्र नै रहेको हँसियाले मेरो टाउकामा प्रहार गर्यो र म कोठाभित्रकै खटियामा पल्टिएँ टाउकामा चोट लागेको कारणले मेरो हात टाउकामा लगेको थिएँ । पुन: हँसियाले टाउकामा प्रहार गर्दा मेरो हात काटियो चोट सहन नसकी भुइँमा लडेकै अवस्थामा मेरो नाकमा दाँतले टोकी दियो र कोठाभित्रै मार्छु भन्यो । वारदात स्थलबाटै सोही मितिमा प्रहरीले बरामद गरेको भरूवा बन्दुक मेरो छातीमा तेर्साएको हो । त्यसपछि निरन्तर मेरो टाउकोबाट रगत बगेकाले म बेहोस भएछु । पछि के कस्तो हतियारले प्रयोग गरी मेरो तिघ्रा लगायत अन्य शरीरमा चोट पटक निलडाम लगाएको हो मैले बेहोसीमा थाहा पाइन । कोठाको ढोका भित्रबाट लगाएको थियो । कसले ढोका खोल्यो मलाई कोठाबाहिर ल्यायो मैले बेहोसीमा थाहा पाइन पछि चन्द्र नाथको चुलो रहेको कोठामा लगी कम्बल ओढाई आगोमा सेकाई राखेको अवस्थामा मलाई अलिकती होस् खुलेको थियो । मेरो होस खुल्दा मेरो हात खुट्टा डोरीले बाँधिएका थिए । शरीर पुरै रगतले भिजेको
थियो । मेरो र चन्द्र नाथ बीच पूर्व रिसइवी लेनदेन केही थिएन । भोलिपल्ट बिहान गाउँलेले बोकेर जिल्ला अस्पताल मर्तदीमा मलाई पुर्याएका हुन् । चन्द्र नाथ एक्लैले मलाई ज्यान मार्ने इवी लिएर धारिलो हतियार प्रयोग गरेको हो । चन्द्र नाथले वारदातका अवस्थामा तल सेतो ट्राउजर र माथि सेतो हाप भेस्ट लगाएको थियो भन्ने व्यहोराको पीडित उमेश नाथले प्रहरीमा गरेको कागज ।
मिति २०६६।११।२० गते राति राम नाथ र काशी नाथ गाउँले पुरन नाथको विवाहको लगन जुराउन भनी कालु नाथको घरमा गएका थिए । कालु नाथको घरबाट फिर्ता हुने समयमा चन्द्र नाथकै आँगन अगाडि बाटो भएर जानु पर्ने हुँदा राम नाथ र काशी नाथ आफ्नो घरतर्फ फिर्ता हुने समयमा निज चन्द्र नाथले दुवैजनालाई गाली गर्दै समाती भित्र लगी धारिलो हतियार देखाई कुटपिट गर्न लागेको अवस्थामा निजकी श्रीमती बिस्ना देवी नाथले गाउँमा गुहार गर्दा राम नाथकै भाइ उमेश नाथसमेतले थाहा पाई पन्छु देवी नाथ र उमेश नाथसमेत के रहेछ भनी चन्द्र नाथको घरमा जाँदा राम नाथसमेतलाई कुटपिट गरिरहेको अवस्थामा उमेश नाथले सम्झाउन भनी चन्द्र नाथको अगाडि पर्दा राम नाथलाई छोडी उमेश नाथको घाँटीमा समाती घरभित्र लगी ढोका बन्द गरी हँसिया, बासुलो जस्ता धारिला हतियार प्रयोग गरी चन्द्र नाथको सुत्ने कोठामा ढाल्दा मर्यो भनी छोडेको र उमेश नाथलाई मारिसकेको छ भन्ने कुरा राति ११:०० बजे सुनी थाहा पाएँ, निज चन्द्र नाथले पहिलादेखि नै साथमा धार भएको र बन्दुक जस्तो हतियार साथमा बोकी हिँड्ने गरेकाले उल्लिखित हतियार निजका साथमा हुन सक्छ भनी डर मानी जान सकिएन टाढै बसेका हेरिरहेका हौं भन्ने एकै मिलानको अंगे नाथ, अजमन नाथ, कृष्ण नाथ, बने नाथ, धरू नाथसमेतले गरिदिएको वस्तुस्थिति मुचुल्का ।
प्रतिवादीको बयान तथा वस्तुस्थिति मुचुल्काको व्यहोरासमेतका उल्लिखित कागज प्रमाणका आधारमा प्रतिवादी चन्द्र नाथले राम नाथलाई कुटपिट गरिरहेको छ भन्ने कुरा सुनी थाहा पाई सो घटनास्थलमा जाँदा झगडा नगर भनी कुरा गर्दाको अवस्थामा राम नाथ त्यहाँबाट उम्की गएकाले निज पीडित उमेश नाथलाई चन्द्र नाथले समाती कोठाभित्र लगी मार्ने उद्देश्यले धारिलो हतियार बासुलोसमेतले टाउको, हात, खुट्टासमेतमा हानी काटी मरणासन्न अवस्थामा पारी भुइँमा ढालेपछि दाँतले नाकको टुप्पोमा टोकी छिनाली मर्यो भनी रगताम्य अवस्थामा छोडेको देखिन आई प्रतिवादी चन्द्र नाथले पीडित उमेश नाथलाई ज्यान मार्ने उद्योग गरेको तथ्य पुष्टि हुन आएकाले मुलुकी ऐन ज्यानसम्बन्धीको महलको १ नं. विपरीत ऐ. को १५ बमोजिमको कसुर अपराधमा ऐ. महलको १५ नं. बमोजिम सजाय गरिपाउँ भन्ने व्यहोराको अभियोगपत्र ।
मिति २०६६।११।२० गते साँझ ८.०० बजेतिर राम नाथ र काशी नाथ अरूको कुरा सुनी मेरा घरभित्र ज्यान मार्ने उद्देश्यले प्रवेश गरेका हुन् । म खाना पकाइरहेको अवस्थामा निज राम नाथले मेरो टाउकामा हिर्काई लछारिँदा बायाँ हातमा लागी टाउको र बायाँ हात रगताम्य हुँदा मेरो बालबच्चा परिवार भागेर कहाँ गए थाहा भएन । पछि म आफ्नो सुत्ने कोठामा गएँ । पीडित उमेश नाथ भित्र जान खोज्दा म डरले कामिरहेको थिएँ । उमेश नाथ कोठाभित्र प्रवेश गर्दा म आफू बच्ने उद्देश्यले कोठामा हँसियाले छेकबार गर्दा निजको हातमा हँसियाले काटिएको हो । पछि उमेश नाथ मेरो कोठामा प्रवेश गरेका थिए । मैले उमेश नाथलाई अङ्गालोमा च्याप्दा मेरो दायाँ हातको माझी औंला उमेश नाथले दाँतले टोकेकाले मैले आफ्नो हात बचाउन उमेश नाथको नाकमा टोक्दा मेरो हातको औंला टोक्न छाडे र मैले उसको नाक टोक्न
छोडेँ । पछि बाहिर मास आउन थालेपछि मारिहाल्छन कि भन्ने सोची निज उमेश नाथको टाउकामा उल्टो हँसियाले हिर्काउँदा निज उमेश नाथ भुइँमा ढल्दा त्यहाँ भएका मान्छेहरू भागी अन्य ठाउँमा गएका
हुन् । राम नाथ र मेरो हानाहान भएको हो । काशी नाथ र मेरो केही भएको थिएन भन्ने व्यहोराको चन्द्र नाथले अदालतसमक्ष गरेको बयान ।
मिति २०६६।११।२० गते राति म घटनास्थलमा नै थिए । प्रतिवादी चन्द्र नाथले उमेश नाथलाई घरभित्र जाउँ भनेर लग्यो अन्य मानिसहरूलाई घरभित्र जान दिएन, उमेश नाथलाई ढोका बन्द गरेर पिट्न थाल्यो, मसँग तीनवटा बन्दुक छन् एउटा उमेश नाथ मर्छ अन्यलाई पनि मार्छु भनी हामीलाई धम्की दियो । हामी त्यहाँबाट भागेर सहयोग माग्न गाउँमा गयौं भन्ने व्यहोराको जाहेरवाला राम नाथले अदालतसमक्ष गरेको बकपत्र ।
मिति २०६६।११।२० गते ६.०० बजे तिर म र काशी नाथसमेत ज्योतिषीको घरमा लगन जुराउन गएका थियौं । पछि राति फर्केर आउँदा चन्द्र नाथको घरमा झगडा भएको थियो भन्ने कुरा मैले सुनी थाहा पाएको हुँ भन्ने व्यहोराको मनवीरे नाथले अदालतसमक्ष गरेको बकपत्र ।
मिति २०६६।११।२० गते रातिको समयमा प्रतिवादीकी श्रीमतीले मलगायत विरभद्र नाथ, विमला देवी नाथ, धने नाथसमेतलाई बोलाएर लगिन् । त्यहाँ गै सकेपछि राम नाथलाई भुइँ तलाका भित्तामा दायाँ हातले च्यापेका थिए, राम नाथ जबर्जस्तीसँग छुटे, उमेश नाथले त्यसो नगर भन्दा तपाईहरू यहाँबाट भाग्नुहोस् बन्दुकको छर्रा गरी दिन्छु भन्ने धम्कीसमेत दिएपछि हामी त्यहाँबाट भागी स्कूलतिर गएका
हौं । त्यसपछि चन्द्र नाथले उमेश नाथलाई घरभित्र लगी ढोका बन्द गरी बाँधेको, हातहतियार प्रयोग गरी हँसियाले हानी घाइते बनाई फालेका थिए भन्ने व्यहोराको बिसुदेवी नाथ, धरू नाथ, अंगे नाथ, किसन नाथ, वीर विष्ट, काशी नाथसमेतको एकै मिलानको अदालतसमक्ष गरेको बकपत्र ।
मिति २०६६।११।२० गते प्रतिवादी चन्द्र नाथले एक हँसिया मेरो हात र एक हँसिया मेरी बुहारी धौलीदेवी नाथको हातमा दियो बासुलो आफैँले समात्यो मैले हानेका हतियार यिनै हुन् भनेका हुन् भन्ने व्यहोराको पन्छुदेवी नाथले अदालतसमक्ष गरेको बकपत्र ।
मुलुकी ऐन ज्यानसम्बन्धीको महलको १५ नं. मा वर्णित अवस्था र कार्य निज प्रतिवादीबाट भएको देखिन आउँछ । सो देखिनाले निज प्रतिवादीको ज्यान मार्ने मनसाय थिएन भनी भन्न नसकिने हुन्छ । साथै निज जाहेरवालालाई लागेको घाउको परिणाम र मात्रा सानो र मर्न नसक्ने प्रकृतिको भएमा मात्र पनि निजको ज्यान मार्ने मनसायको तथा अवरोध पुर्याउने तेस्रो तत्त्वको विद्यमानतमा निजलाई कसुरबाट उन्मुक्ति दिन सकिने अवस्था देखिँदैन भनी सर्वोच्च अदालतबाट व्याख्या भएकोसमेतका आधार र कारणबाट निज प्रतिवादी चन्द्र नाथले पीडित उमेश नाथलाई हातको औंलाहरूमा, खुट्टामा र टाउकामा समेत पटकपटक प्रहार गरी तेस्रो पक्षको उपस्थिति र व्यवधानको कारण निजको ज्यान मर्नबाट बच्न गएको देखिँदा निज प्रतिवादी चन्द्र नाथले मुलुकी ऐन ज्यानसम्बन्धीको महलको १५ नं. को कसुर गरेको ठहर्छ सो ठहर्नाले निजलाई वर्ष ६(छ) कैद सजाय हुन्छ भन्नेसमेतको सुरू बाजुरा जिल्ला अदालतबाट मिति २०६७।३।११ मा भएको फैसला ।
म चन्द्र नाथको श्रीमती विस्नादेवी नाथलाई तँ यो कागजमा सहि छाप गर् भनी कागज गराई जिल्ला प्रहरी कार्यालयमा जबर्जस्तीका साथ सहिछाप गराई मेरो श्रीमतीलाई बाजुरा जिल्ला अदालतमा बकपत्रका लागि नबोलाई मलाई लागेको घाउ चोटको केस फारम हुन नदिई गरेको फैसला त्रुटिपूर्ण हुँदा सो फैसला उल्टी गरी सफाइ पाउँ भन्ने प्रतिवादी चन्द्र नाथको पुनरावेदन अदालत, दिपायलमा परेको पुनरावेदनपत्र ।
यसमा वारदात रातिको समयमा भएको र घटनास्थल प्रतिवादीकै घरको माथिल्लो कोठाभित्र भएको घटनास्थल मुचुल्काबाट देखी रहेको, सोही मितिको वारदातमा यी पुनरावेदकउपर हातहतियार खरखजाना मुद्दासमेत चली बाजुरा जिल्ला प्रशासनबाट किनारा भै गएको भनी बहसको क्रममा कानून व्यवसायीले नक्कलसमेत इजलाससमक्ष प्रस्तुत गरेकाले पुनरावेदकको घर कोठाभित्र ज्यान मार्नेसम्मको कार्य गरेको भनी कसुर ठहर गरेको सुरूको इन्साफ फरक पर्न सक्ने देखिँदा छलफलका लागि अ.बं. २०२ नं. बमोजिम पुनरावेदन सरकारी वकिल कार्यालय, दिपायललाई सूचना दिई जिल्ला प्रशासन कार्यालय, बाजुराबाट यिनै पुनरावदेकसमेत भएको हातहतियार खरखजाना मुद्दाको मिसिलसमेत झिकाई पेस गर्नु भन्ने पुनरावेदन अदालत, दिपायलको मिति २०६७।१०।११ को आदेश ।
पीडितलाई पुनरावेदकले ज्यानै मार्ने नियतले र ज्यान मर्न सक्ने गरी कुटेकोसमेत नदेखिँदा ज्यान मार्ने कसुर गरेको देखिन ठहर्न आएन । अत: सुरू बाजुरा जिल्ला अदालतको मिति २०६७।३।११ को फैसला नमिलेको हुँदा उल्टी हुन्छ । पुनरावेदकका घरभित्र पीडित उमेश नाथलाई पुनरावेदकले कुटी घाउ चोट लगाएकोतर्फ सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा २७ बमोजिम कुटपिटमा परिणत गरी पक्षलाई सूचना दिई सकार्न आएमा दुनियाँ वादीमा दर्ता गरी कानूनबमोजिम कारवाही गर्नुपर्ने ठहर्छ भन्नेसमेतको पुनरावेदन अदालत, दिपायलबाट मिति २०६८।३।२२ मा भएको फैसला ।
प्रतिवादी चन्द्र नाथले पीडित उमेश नाथलाई कोठाभित्र थुनी मार्ने उद्देश्यले कुटपिट गरिराखेको समयमा बाहिरपट्टि मास आएको र सो मास मेरो हँसियाको चोटका कारण उमेश नाथ भुइँमा ढलेपछि उमेश नाथलाई मारिसक्यो भनी डरले भागी गएको भनी स्वयम् प्रतिवादीले अधिकारप्राप्त अधिकारी र अदालतसमक्ष बयान गरेको, मासमा आएका मानिसहरू पन्छुदेवी नाथ र धरू नाथसमेतका व्यक्तिले सोही व्यहोराको बकपत्र गरेको, चोटका कारण बेहोस भई ढलेको भनी पीडितले बकपत्र गरेकोसमेतबाट पीडित बेहोस भई ढलेकामा प्रतिवादी चन्द्र नाथले पीडित मरेको सम्झी तत्पश्चात् हतियार प्रयोग गर्न छाडेको देखिएको र तत्काल उपचार गरिएको कारणबाट ज्यानसम्म बचेको अवस्थामा प्रमाणको समुचित मूल्याङ्कन नभएको हुँदा पुनरावेदन अदालत, दिपायलको फैसला बदर गरी प्रतिवादीलाई अभियोग माग दाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको वादी नेपाल सरकारको यस अदालतमा पर्न आएको पुनरावेदनपत्र ।
नियमबमोजिम साप्ताहिक तथा दैनिक मुद्दा पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी नेपाल सरकारका तर्फबाट उपस्थित विद्वान् सहन्यायाधिवक्ता श्री गोपालप्रसाद रिजालले झगडा छुट्याउन गएका पीडित उमेश नाथलाई प्रतिवादी चन्द्रनाथले हँसियाले प्रहार गरेका, छेक्ने क्रममा हातका औंलाहरू काटिएका तत्पश्चात् पीडितलाई कोठाभित्र लगी भाग्न उम्कन नदिई ढोका बन्द गरी धारीलो हतियार हँसियाले टाउको जस्तो संवेदनशिल अङ्गमा पटकपटक प्रहार गरेको र बेहोस भै ढलेपछि मर्यो भनी छोडेको अवस्था छ । धारिलो हतियारले टाउकामा प्रहार गर्दा मानिस मर्न सक्छ भन्ने कुरा सामान्य समझ भएको जसले पनि अनुमान गर्न सक्ने हुँदा प्रतिवादीको पीडितलाई मार्ने मनसाय थिएन भनी मान्न मिल्दैन । मार्नेसम्मको कार्य भएको तर तत्काल उपचार गरिएको कारण पीडितको ज्यानसम्म बचेको देखिएको, सो कुरा मौकामा कागज गर्ने व्यक्तिहरूले अदालतमा गरेको बकपत्र र पीडितको घाउ जाँच केस फारामसमेतले पुष्टि गरिरहेको हुँदा सुरू जिल्ला अदालतले यी प्रतिवादीलाई अभियोग दाबीबमोजिम ज्यान मार्ने उद्योगको कसुर कायम गरी ६ वर्ष कैद सजाय हुने ठहर्याएको फैसला उल्टी गरी कुटपिटमा परिणत गरेको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी प्रतिवादीलाई अभियोग मागदाबीबमोजिम सजाय गरिपाउँ भनी बहस गर्नुभयो ।
उपरोक्तबमोजिम विद्वान् सरकारी वकिलले गर्नुभएको बहस सुनी पुनरावेदनसहितका मिसिल कागजात अध्ययन गरी हेर्दा सुरू जिल्ला अदालतले प्रतिवादीलाई ज्यान मार्ने उद्योगको कसुरदार ठहर गरेको फैसला उल्टी गरी कुटपिटमा परिणत गरेको पुनरावेदन अदालत, दिपायलको फैसला मिले नमिलेको के रहेछ र पुनरावेदक वादी नेपाल सरकारको पुनरावदेन जिकिर पुग्न सक्ने हो होइन भन्ने विषयमा निर्णय दिनुपर्ने देखिन आयो ।
२. निर्णयतर्फ विचार गर्दा, प्रतिवादी चन्द्र नाथले मेरो हँसियाको चोटका कारण उमेश नाथ भुइँमा ढलेका भनी अधिकारप्राप्त अधिकारी र अदालतसमक्ष बयान गरेका, मौकामा कागज गर्ने व्यक्तिहरू र पीडितले सोही व्यहोराको बकपत्र गरेकोसमेतबाट पीडित उमेश नाथलाई कोठाभित्र थुनी मार्ने उद्देश्यले कुटपिट गरेको भन्ने कुरा पुष्टि भैरहेको, पीडित बेहोस भै ढलेपछि प्रतिवादी चन्द्र नाथले पीडित मरेको सम्झी हतियार प्रयोग गर्न छाडेको देखिएको र तत्काल उपचार गरिएको कारणबाट ज्यानसम्म बचेको अवस्थामा सुरूले प्रतिवादीलाई ज्यान मार्ने उद्योगमा सजाय गर्ने गरेको फैसला उल्टी गरी कुटपिटमा परिणत गरेको पुनरावेदन अदालत, दिपायलको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी प्रतिवादीलाई अभियोग मागदाबीबमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको मुख्य पुनरावेदन जिकिर रहेको देखियो ।
३. मिसिल अध्ययन गरी हेर्दा, मिति २०६६।११।२० गते राति अं. ८.०० बजेको समयमा प्रतिवादी चन्द्र नाथले बोलाई घरमा लगी काशि नाथ र म रामनाथलाई कुटपिट गरी घाइते बनाएको, सो कुरा थाहा पाई आएका उमेश नाथलाई बासुलो, आँसी, बञ्चरोले प्रहार गरी सख्त घाइते बनाई ज्यान मार्ने उद्योग गरेकाले सजाय गरिपाउँ भन्ने राम नाथको जाहेरी दरखास्तबाट प्रस्तुत मुद्दाको उठान भएको
देखिन्छ । घाइते काशिनाथ र मौकामा प्रहरीमा कागज गर्ने विसुदेवी नाथ, पन्छुदेवी नाथ, भूजीदेवी नाथसमेतका व्यक्तिहरूले प्रतिवादी चन्द्र नाथको घरको बाटो भै हिँडिरहेका राम नाथ र काशि नाथलाई निज प्रतिवादीले बोलाई घरभित्र लगी कुटपिट गर्न थालेकाले प्रतिवादीकै श्रीमतीले गुहार माग्दा झगडा छुट्याउन गएका उमेश नाथलाई निजकै घरको माथिल्लो तलाको कोठाभित्र लगी ढोका बन्द गरी पहिलेदेखि राखिराखेको बासुलो, बञ्चरो, आँसी जस्ता घातक हतियारले प्रहार गर्दा भुइँमा ढलेपछि मर्यो भनी हतियार प्रहार गर्न छोडेको भनी लेखाइदिएको पाइयो । प्रतिवादी चन्द्र नाथले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान हेर्दा, राम नाथसँग पहिलेदेखि पार्टीगत विषयमा वादविवाद भै राम्रोसँग बोलचाल थिएन, वारदातको दिन राति ८:०० बजेको समयमा काशी नाथ र राम नाथ मेरो घरमा आई निजहरूसँग झगडा हात हालाहाल हुँदा उमेश नाथ आएका र निजलाई हँसियाले प्रहार गर्दा बायाँ हातको औंलामा लागेको, निजले दाँतले मेरो औंला टोकेकाले मैले पनि दाँतले निजको नाकको टुप्पोमा टोकेको र हँसियाले टाउकामा तीन पटक प्रहार गरेको भनी लेखाइदिएको देखिन्छ । पीडित उमेश नाथले अनुसन्धान अधिकारीसमक्ष कागज गर्दा प्रतिवादी चन्द्र नाथले राम नाथ र काशी नाथलाई कुटपिट गरिरहेको भन्ने कुरा निजको श्रीमतीले भनेकीले चन्द्र नाथको घरमा गई कुटपिट नगर भनी सम्झाउँदा मलाई तानी कोठाभित्र लगी ढोका बन्द गरी हँसियाले टाउकामा प्रहार गरेकाले छेक्दा हातमा लागेको, पुनः हँसियाले टाउकामा प्रहार गरेकाले बेहोस भई भुइँमा लडेको अवस्थामा नाकमा दाँतले टोकिदिएको भनी लेखाएको पाइयो ।
४. प्रतिवादी चन्द्र नाथले अदालतमा बयान गर्दा राम नाथ र काशी नाथ घरभित्र प्रवेश गरी झगडा भैरहेको अवस्थामा उमेश नाथ आएका र आफू बच्ने उद्देश्यले हँसियाले छेकबार गर्दा निजको हातको औंलामा लागेको, निज मेरो घरको कोठामा प्रवेश गरी मेरो हातमा टोकेकाले मैले पनि निजको नाउँमा टोकेको हुँ । बाहिर मानिसहरू आउन थालेकाले मार्छन् भन्ने सोची उमेश नाथको टाउकामा उल्टो हँसियाले हिर्काएको भनी उल्लेख गरेको देखिन्छ । सुरू मिसिल संलग्न पीडित उमेश नाथको घाउ जाँच केस फारम हेर्दा हातका औंलाहरूमा काटिएको घाउ रहेको, नाकको टुप्पो काटिएको, घुँडामुनी काटिएको घाउ रहेको भन्ने उल्लेख भै घाउको प्रकृति Fatal भन्ने देखिएको छैन ।
५. माथि उल्लेख भएअनुसार वारदातस्थल प्रतिवादीको घरको माथिल्लो तलाको कोठा भन्ने देखिएको छ । मिसिल संलग्न घटनास्थल मुचुल्काबाट वारदातस्थल कोठामा हँसिया, बासुलो, फलामको छिना, ढकसमेत भेटिएको भन्ने देखिन्छ । पीडित उमेश नाथको अनुसन्धान अधिकारी र अदालतसमक्षको बकपत्रबाट र प्रतिवादी चन्द्र नाथको अनुसन्धान अधिकारी र अदालतसमक्षको बयानबाट निज प्रतिवादी र राम नाथ, काशी नाथबीच कुटपिट झैझगडा भएको स्थानमा पीडित उमेश नाथ पुगेका र प्रतिवादीले आफूसँग भएको हँसियाले उमेश नाथलाई प्रहार गरेको भन्ने उल्लेख भएको देखिन्छ । हँसियाबाहेकका अन्य हतियारहरू प्रयोग भएको र पीडितका शरीरमा भएका घाउ चोटहरू घातक (Fatal) किसिमका रहेको भन्ने पनि देखिँदैन । जाहेरवाला राम नाथ र काशी नाथको प्रतिवादीले आफूहरूलाई बोलाएर लगी कुटपिट गरेको थाहा पाई पीडित उमेश नाथ आएका भन्ने र प्रतिवादीले निजहरू आफैं आई झगडा कुटपिट गरेको भन्ने भनाई रहेको देखिँदा निजहरू प्रतिवादीको घरमा किन कसरी गएका हुन् भन्ने स्पष्ट हुन सकेको छैन । वादी नेपाल सरकारले पुनरावेदनपत्रमा जिकिर लिएअनुरूप प्रतिवादीको पीडितलाई मार्ने नै मनसाय रहेको भए घर कोठामा बन्दुक, बासुलो, छिनो जस्ता जोखिमी हतियार रहेका प्रतिवादीले ती हतियारको प्रयोग नगरी हँसियाको प्रयोग गर्ने, नाक टोक्ने जस्ता कार्य मात्र गरेकोबाट ज्यान मार्ने उद्देश्यले तयारीको साथ बसेको भन्न सकिने अवस्था देखिँदैन । ज्यान मार्ने उद्योगको अपराध ठहर हुनका लागि प्रतिवादीले पीडितलाई मार्ने मानसाय राखी सोहीबमोजिमको कार्य गरेको प्रमाणित हुनुपर्छ र त्यस्तो कार्यको परिणामस्वरूप पीडितको कुनै कारणबस ज्यानसम्म बच्न गएको अवस्था स्पष्टरूपमा स्थापित हुनुपर्छ । ज्यान बचेको कारण तेस्रो पक्षको उपस्थिति हुनु नहुनुले अपराध घट्दाको परिस्थितिअनुरूप केही निष्कर्षमा पुग्न सजिलो हुन्छ, तर त्यही एउटा कारणबाट मात्र ज्यान मार्ने मानसाय थियो कि थिएन भनी भन्न सकिने अवस्था हुन्छनै भन्न मिल्दैन । तेस्रो पक्षको उपस्थितिभन्दा पनि ज्यान मार्ने मनसाय हुनु ज्यानमार्ने उद्योगको अपराधमा आवश्यक तत्त्वको रूपमा रहन्छ ।
६. प्रतिवादीले बन्दुक वा बासुलो लिई जाहेरवाला पीडितसमेतको घरमा वा निजहरू रहने ठाउँमा गएको देखिँदैन । पीडितसहितका व्यक्ति प्रतिवादीको घरमा नगएको अवस्थामा वारदात हुने अवस्था आउने थिएन । पीडितसमेतका व्यक्ति आफ्नो घरमा आउलान् र आफूसँग भएका हतियार प्रहार गरूँला भनी पूर्व तयारीका साथ यी प्रतिवादी बसेका र निजहरू आउने बित्तिकै मार्ने मानसाय राखी हतियार प्रहार गरेको भनी मान्न तर्कसङ्गत हुने देखिँदैन । प्रतिवादीको पीडितलाई मार्ने नै मनसाय रहेको भन्ने कुरा अन्य स्वतन्त्र प्रमाणद्वारा वादीपक्षले पुष्टि गर्न नसकी प्रतिवादी र पीडितहरूबीच झैझगडा कुटपिटसम्म भएको देखिँदा वादी नेपाल सरकारको पुनरावदेन जिकिर र विद्वान् सहन्यायाधिवक्ताको बहससँग सहमत हुन सकिएन ।
७. अतः माथि प्रकरण प्रकरणमा विवेचना गरिएअनुरूप वारदातस्थल प्रतिवादीको घरको कोठा रहेको, पीडितको शरीरमा भएका घाउ चोट साङ्घातिक किसिमका नरहेका, प्रतिवादीको पीडितलाई मार्ने मनसाय रहेको भन्ने कुरा पुष्टि हुन सकेको नदेखिँदा सुरू बाजुरा जिल्ला अदालतले प्रतिवादीलाई अभियोग दाबीबमोजिम ज्यान मार्ने उद्योगको कसुरदार कायम गरी कैद वर्ष ६(छ) सजाय हुने ठहर्याएको मिति २०६७।३।११ को फैसला उल्टी गरी सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा २७ बमोजिम कुटपिटमा परिणत हुने ठहर्याएको पुनरावदेन अदालत, दिपायलको मिति २०६८।३।२२ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । वादी नेपाल सरकारको पुनरावदेन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी फैसलाको जानकारी महान्यायाधिवक्ताको कार्यालयलाई दिई नियमानुसार मिसिल बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या.ओमप्रकाश मिश्र
इजलास अधिकृत : सन्तोषप्रसाद पराजुली
इति संवत् २०७१ साल फागुन १८ गते रोज २ शुभम् ।