शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८७१८ - कर्तव्यज्यान ।

भाग: ५३ साल: २०६८ महिना: फागुन अंक: ११

ने.का.प. २०६८,           अङ्क ११

निर्य नं. ८७१८

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी

माननीय न्यायाधीश श्री भरतराज उप्रेती

०६५–CR–साधक ०७१

०६६०११२, ०११३

फैसला मितिः २०६८।१।७।४

मुद्दा :कर्तव्य ज्यान 

 

वादीः शिवलाल न्यौपानेको जाहेरीले नेपाल सरकार

विरुद्ध

विपक्षी प्रतिवादीः रुपन्देही जिल्ला करहिया गा.वि.स.वडा नं.६ घरभई हाल जिल्ला कारागार कार्यालय,     पाल्पामा थुनामा रहेकी इन्द्रा न्यौपाने जैंसी

 

पुनरावेदक प्रतिवादीः रुपन्देही जिल्ला करहिया गा.वि.स.वडा नं.६ घरभई हाल जिल्ला कारागार   कार्यालय, पाल्पामा थुनामा रहेकी इन्द्रा न्यौपाने जैंसी

विरुद्ध

विपक्षी वादीः शिवलाल न्यौपानेको जाहेरीले नेपाल सरकार

 

पुनरावदेक प्रतिवादीः जिल्ला पाल्पा गा.वि.स. वौघा पोखराथोक वडा नं. ५ घर भई हाल       जिल्ला             कारागार कार्यालय पाल्पामा थुनामा रहेका केशव भट्टराई

विरुद्ध

विपक्षी वादीः शिवलाल न्यौपानेको जाहेरीले नेपाल सरकार

 

शुरु फैसला गर्ने :

मा.न्या.श्री रामचन्द्र राई

पुनरावेदन फैसला गर्ने :

मा.मु.न्या. श्री तर्कराज भट्ट

मा.न्या.श्री दुर्गाप्रसाद उप्रेती

 

§  अनुसन्धान कारवाही र न्यायिक प्रक्रियाको दौरान केही सामान्य प्राविधिक त्रुटि हुन गए तापनि त्यस्तो समग्र अनुसन्धान र अभियोगअभियोजनालाई कुनै विशेष असर पार्न नसक्ने 

§  प्रतिवादीहरू पहिला भागेर अन्यत्र गए पनि पछि फर्केर आफूलाई समर्पण गरेको भए पनि त्यत्तिकैबाट तिनीहरूले गरेको कसूरको गाम्भीर्यतामा कमी आउन सक्ने देखिँदैन । अदालतमा साविती वयान गर्ने प्रत्येक कसूरदारलाई अ.वं.१८८ नं. को प्रयोग गरी सजायमा छूट दिन वा सजायमा कमी गर्न सकिँदैन । उक्त ऐनको यो मनसाय वा व्यवस्था होइन । वस्तुतः योजनावद्ध हत्याको वारदातमा अ.वं. १८८ को प्रयोग हुन नसक्ने र गर्न नमिल्ने 

(प्रकरण नं.७)

वादी तर्फबाटः

विपक्षी प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ताद्वय प्रकाश के.सी र यमुना भट्टराई

अवलम्बित नजीरः

सम्बद्ध कानूनः

§  ज्यान सम्बन्धी महलको १, १३(१), (४)

 

आदेश

            न्या.ताहिर अली अन्सारीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन तथा दफा १० बमोजिम साधकको रोहमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :

            मेरो छोरा वर्ष २४ को राजु न्यौपाने अध्ययन र नोकरीको सिलसिलामा रुपन्देही जिल्लाको भलवाडीमा बस्दै आएकोमा मिति २०६४।५।२ गते पाल्पा दोभान गा.वि.स.वडा नं. ५ मा कर्तव्य गरी मारे फालेको अवस्थामा फेला परेकाले कर्तव्य गरी मार्ने व्यक्तिहरू पत्ता लगाई कारवाही गरिपाऊँ भन्ने व्यहोराको मिति २०६४।५।२ गतेको शिवलाल न्यौपानेको जाहेरी दरखास्त 

            जिल्ला पाल्पा दोभान गा.वि.स.वडा नं. ५ स्थित कदमवास भन्ने स्थानको पूर्वमा सिद्धार्थ राजमार्ग, पश्चिममा तिनाउ खोला, उत्तरमा माथिल्लो सिद्धबाबा मन्दिर, दक्षिणमा झोलुङ्गेपुल यति चार किल्लाभित्र सिद्धार्थ राजमार्ग देखि ७० मिटर तल खोलामा जाने गोरेटो बाटो तथा झाडी, सो गोरेटो बाटोमा उत्तर टाउको दक्षिण खुट्टा हुने गरी उत्तानो अवस्थामा रहेको मृतक लास, सो रहेको ठाउँमा रगत बगिरहेको, पानी परी विदो अवस्था भएकोले पानीको भलसँग रगत पनि बगिरहेको सो लास देखि १० फिट दक्षिणमा ढुङ्गामा रगतका छिटाहरू रहेको, सोदेखि २५ फिट पूर्व दक्षिणमा एउटा ठूलो ढुङ्गा रहेको सोको तल कोप्चेरामा पहेंलो भूईमा कालो धर्का भएको  समेत लेखेको रगत लागेको अवस्थामा एउटा टिसर्ट, कालो रातो खैरो समेत भएको पकेट रुमाल थान १ र बाहिर गातामा अप्सरा लेखेको गणितको हिसाव गरेको कापी थान १ रहेको टिसर्ट रुमाल र कापी अनुसन्धानको लागि प्रहरीले लिई गएको भन्ने २०६४।५।२ गतेको घटनास्थल लास जाँच मुचुल्का 

            मेरो छोरा राजु न्यौपानेलाई मिति २०६४।५।२ गते धारिलो हतियारले काटी मारेको र को कसले मार्‍यो भन्ने एकिन नभएको र उक्त दिन विहान इन्द्रा न्यौपाने र राजुसँगै घरबाट हिडेकोमा राजुको पाल्पास्थित दोभानमा मृतक लास फेला परेको हुँदा पछि किटानी जाहेरी दिनेछु भन्ने शिवलाल न्यौपानेको जाहेरी र मेरो भाई राजु न्यौपानेलाई हत्या गर्ने व्यक्ति पत्ता लगाउदा इन्द्रा न्यौपाने, केशव भट्टराई र टुकलाल भट्टराईले कर्तव्य गरी मारेको भन्ने यकीन हुन आएको हुँदा कानूनबमोजिम गरिपाऊँ भन्ने समेत व्यहोराको मिति २०६४।५।१० गतेको दुर्गाप्रसाद न्यौपानेको किटानी जाहेरी 

            केशव भट्टराईले बुटवलमा बसी पढ्ने नोकरी समेत गर्ने हुँदा निजले तपाईलाई नोकरी लगाईदिन्छु भनी मलाई जानकारी गराए पश्चात म पाल्पाबाट बुटवल गएकोमा उक्त दिन हाम्रो राति होटलमा गफ गर्ने क्रममा निज केशव भट्टराईले मलाई काका एउटी केटी छ मलाई अति माया गर्छे म पनि उसलाई माया गर्दछु, तर राजु न्यौपाने भन्ने अति रिस गदर्छ । बोलिस भन्ने ठीक पार्छु समेत भन्ने गर्दछ । त्यो केटा राजुलाई मार्नुपर्छ काका अनि मेरो सपना साकार हुन्छ भनी बताएकाले मैले पनि स्वीकार गरी हामी सुत्यौ । मिति २०६४।५।१ गते सुत्ने क्रममा निज केशवले काका हामीले सल्लाह गरेको काम भोलि गर्नुपर्छ मेरो फोनमा कुरा भई सकेको छ । केटीले निज राजु न्यौपानेलाई लिई आउछे भनी हामी दुवै जना सुती मिति २०६४।५।२ गते विहान उठी हामी दुवै जना पैदल हिडी सिद्धबाबा मन्दिरसम्म आई बाटो बाटै सिद्धबाबा मन्दिरको दर्शन गरी झोलुङ्गे पुलतिर जाने बाटोबाट दुवै जना तल गयौं । केही तल जाँदा एउटा ठूलो ढुङ्गामुनि एउटा केटा र केटी बसी अङ्कमाल गरीरहेका थिए, सो ठाउँमा पुग्ना साथ केशव भट्टराईले काट्ने हतियार निकाली निज केटालाई टाउको समेतमा हाने मैले निज राजु न्यौपाने भन्ने केटाको हात समाउने तथा मुख थुन्ने काम गरे । निज केशवले हानेको चक्कुबाट मेरो हात समेत काटेको हो । सोपश्चात् निज राजु न्यौपानेको मृत्यु भए पश्चात हामी तिनैजना माथि बाटोमा आई म घाइते भएको कारण बुटवलमा मलाई औषधि उपचार गर्न गई निज केशव तथा इन्द्रा न्यौपाने भन्ने केटी भैरहवातिर लागे । सोपश्चात् मलाई उपचारको क्रममा पाल्पास्थित अर्गली बजारमा प्रहरीले पक्राउ गरेको हो । यसरी घटना भयो भन्ने थाहा पाई मेरो दाजु नाता पर्ने टीकाराम भट्टराईले भाग्नको लागि मलाई रु.४,०००।दिनु भएको हो भन्ने समेत व्यहोराको अनुसन्धान अधिकारीसमक्ष प्रतिवादी सुमित भन्ने टुकलाल भट्टराईले गरेको वयान 

            जिल्ला रुपन्देही, करहिया गा.वि.स. वडा नं. ६ बस्ने इन्द्रा न्यौपाने बस्ने घर खानतलासी गर्दा बाहिर गातामा गगन लेखी फुलको बीच भएको भित्र अंग्रेजी अक्षरहरूले लेखिएको कपी थान १, बाहिरी गातामा गगन लेखिएको फूलको चित्र Indira Neupane भएको लेखेको भित्र पानामा गणितको हिसाव गरेको कापी थान १ बरामद भएको भन्ने मिति २०६४।५।१९ गतेको खानतलासी तथा बरामदी मुचुल्का 

            जिल्ला पाल्पा दोभान गा.वि.स. वडा नं. ५ स्थित पूर्वमा सिद्धार्थ राजमार्ग, पश्चिममा तिनाउ खोला, उत्तरमा माथिल्लो सिद्धबाबा मन्दिर, दक्षिणमा झोलुङ्गेपुल यति चार किल्लाभित्र रहेको जंगल पाखोमा तिनाउ खोलामा जाने पाखो बाटो रहेको सो गोरेटो बाटोनेर ठूलो ढुङ्गा तथा गोरेटो बाटो देखि तल विडसहितको सेतो चक्कु बुट्यान भएको खोल्सामा फेला परेको, सो चक्कु देखि २ मीटर पूर्वमा बुटियानको झाडीमा विड नभएको सेतो रङको चक्कु अर्को फेला परेको भन्ने मिति २०६४।५।२७ गतेको घटनास्थल तथा बरामदी मुचुल्का 

            मैले इन्जिनियररिङ्ग कलेज भैरहवामा अध्ययन गर्ने क्रममा सोही कलेजमा अध्ययनरत जिल्ला रुपन्देही, करहिया गा.वि.स. वडा नं. ६ बस्ने इन्द्रा न्यौपानेसँग चिनजान भई निजसँग गहिरो माया प्रेम बसेकोमा निज इन्द्रा न्यौपानेको दाजु नाता पर्ने राजु न्यौपानेले सधै गाली गलौज गर्ने, धम्की दिने गरेको मसँग भन्दै आएकी थिइन् । यस्तैमा निज इन्द्राले राजु न्यौपानेलाई ठिक पार्नु पर्‍यो नत्र तिम्रो र मेरो माया प्रेम विग्रन सक्छ भनी मलाई भनेकोमा अब के गर्ने भनी हामी दुवै जना सल्लाह गरी मैले राजु न्यौपानेलाई मिति २०६४।५।२ गते सिद्धबाबा मन्दिरमा लिएर जान्छु तिमी त्यही आउनु निज राजुलाई मार्नु पर्छ भनी भनेकीले म निजको कुरामा खुशी भई मैले एक्लै के कसो हुने हो एउटा साथी खोज्नु पर्‍यो भनी विचार गर्दा, गाउँका काका नाता पर्ने टुकलाल भट्टराईलाई बोलाई हामी दुवै जना मिति २०६४।४।३२ गते बुटवल आई होटलमा बास बसी मेरो र इन्द्राबीच भएको सम्पूर्ण योजनाको कुरा निज काकालाई बताई काकाले पनि हुन्छ भनी मिति २०६४।५।२ गते विहान काका टुकलाल भट्टराई र म सिद्धबाबा मन्दिरमा पुगी बाटोबाटै दर्शन गरी हामी सिद्धबाबा मन्दिरको झोलुङ्गेपुलतिर जाने बाटो गई केही तल जाँदा उक्त बाटोमा रहेको ठूलो ढुंङ्गामुनि निज राजु न्यौपाने र इन्द्रा न्यौपाने अङ्कमाल गरी बसिरहेकोदेखि म तथा टुकलाल सो ठाउँमा पुग्ने वित्तिकै मेरो साथमा रहेको चक्कु निकाली राजुको टाउकोमा हाने । निज राजुले प्रतिकार गर्न खोज्दा काका टुकलाल भट्टराईले हात समाती मुख समेत थुने मैले तथा इन्द्राले चक्कुले हानेको हानै गरियो । मैले चक्कु हान्दा टुकलाल घाइते भएको र निज राजु न्यौपानेको मृत्यु भएकोले हामी तिनै जना बुटवलमा आई निज काकाको उपचार गराई निज टुकलाललाई पाल्पा जानु भनी म तथा इन्द्रा भागी फरार भएको हो भन्ने समेत व्यहोराको अधिकार प्राप्त अधिकारीसमक्ष प्रतिवादी केशव भट्टराईले गरेको वयान 

            मैले इन्जिनियररिङ्ग कलेज भैरहवामा अध्ययन गर्दै रहेको सोही क्याम्पसमा अध्ययन गर्ने केशव भट्टराईसँग चिनजान भई माया प्रेम बसी सँगै हिड्दा डुल्दा निज दाजु राजु न्यौपानेले मलाई गाली गलौज गर्ने, तथा धम्की दिने गरेकोमा निज राजुले मेरो र केशवबीचको प्रेम छुट्टाई दिन्छन् कि भनी अब राजुलाई ठीक नपारेसम्म हामीहरूको सपना साकार हुँदैन भनी मैले निज राजुलाई मिति २०६४।५।२ गते विहान सिद्धबाबा मन्दिरको नजिकै तल पुलमा झर्ने बाटोमा ल्याई आउँछु । तिमी त्यही आउनु भन्दा केशवले हुन्छ भने र दुवै जनाको सल्लाह अनुसार मैले निज राजु न्यौपानेलाई उक्त मितिमा सिद्धबाबा मन्दिर जाने भनी बोलाई लगे सिद्धबाबा मन्दिर नजिक पुगी मन्दिरको दर्शन गरी टिका लगाई निज राजुलाई डेम साईडतर्फ घुम्न जाउँ भनी झोलुङ्गे पुलतिर लगी केही तल पुगेपछि एउटा ठूलो ढुङ्गा थियो । सोही ढुङ्गाको मुनी म र राजु बसी रहेको बेला केशवले आफूसाथ लिई आएको चक्कु निकाली टाउकोमा हान्न थाले, मैले पनि आफू साथ लिएको चक्कुले निजको छाती तथा कोखमा हानें, निज राजुले कराउने तथा प्रतिकार गर्न खोजे केशवसँग गएका निजका काकाले राजुको मुख थुन्ने तथा हात समाउने गरे । केशवले चक्कु प्रहार गरी रहँदा निजको काकालाई हातमा चोट समेत लाग्यो । निज राजुको मृत्यु भएपश्चात् हामी तिनै जना माथि सडकमा आर्ई निज केशवको काकाको उपचारको लागि मेडिकलमा लगी म आफ्नो घरमा गए आफूलाई चाहिने कागजात लिई बुटवलमा आई निज टुकलालले उपचार गराएको पैसा समेत तिरी म तथा केशव भट्टराई भागी फरार भएको हो भन्ने समेत व्यहोराको अधिकार प्राप्त अधिकारीसमक्ष प्रतिवादी इन्द्रा न्यौपाने जैसीले गरेको वयान 

            मृतक राजु न्यौपाने मेरो नन्दको छोरा हुन । निज राजु मेरो घरमा बसी पढ्ने गरेकोमा निज १ वर्ष पहिलादेखि नोकरी गर्ने सिलसिलामा करहियामा बस्ने र पढ्ने गरेका, बेला बखतमा मेरो घरमा आउने श्रीमान मेरो घरमा नभएको कारण मेरो घर व्यवहार समेत निजले हेर्ने गरेको तथा मेरो छोरी इन्द्रा न्यौपाने समेत सिमरा आई बसी इन्जिनियरिङ्ग क्याम्पसमा पढी रहेकी थिइन, निज राजु न्यौपानेले मिति २०६४।५।१ गते मलाई फोन गरी दिदी मेरो छुट्टी छ म आउँछु भनी भनेकोले आऊ भनी मैले निजलाई बोलाई निज उक्त दिन बेलुका आई सो दिन राति मेरो घरमा बसी मिति २०६४।५।२ गते विहान मेरो छोरी इन्द्रा क्याम्पस जान भनी हिडेकी र निज राजु पनि अफिस जान्छु भनी निज दुवै जनासँगै हिडेका हुन् । दिउसो ४ बजे निज राजुको घटना भएछ निज राजु न्यौपानेलाई धारिलो हतियारले काटी मारेका रहेछन् । मेरो छोरी हालसम्म घर गएकी छैनन् प्रहरीले पक्राउ गरेको कुरा थाहा पाएकी हुँ । मेरो भान्जा राजु न्यौपानेलाई कर्तव्य गरी मार्ने मेरो छोरी समेत हुन् भन्ने सुनेकी हुँ । अन्य को को हो मैले चिन्दिन भन्ने समेत व्यहोराको लक्ष्मी न्यौपानेले गरेको कागज 

            मृतक राजु न्यौपाने मेरो सानी आमाको छोरा मेरो दाजु नाता पर्दछन् । निज राजु न्यौपाने तथा म पढ्ने तथा नोकरी गर्ने सिलसिलामा द अनराग इन्टरनेशलन प्रा.लि.मंगलापूरको अफिसमा कोठा लिई घरमा जाने बस्ने गरेकोमा निज राजु न्यौपाने विदाको दिन आफ्नो मावली घर लक्ष्मी न्यौपानेको घरमा जाने बस्ने गरेको यस्तैमा निज राजु न्यौपाने मिति २०६४।५।१ गते लक्ष्मी न्यौपानेको घरमा गएका हुन् । मिति २०६४।५।२ गते विहान निज राजु न्यौपाने डेरा कोठामा आई नयाँ कपडा लगाई गएका हुन् । यस्तैमा सोही दिन अ.३.०० बजेका समयमा पाल्पाको सिद्धबाबा नजिकै राजु न्यौपाने भन्ने व्यक्तिलाई चिन्नु हुन्छ निजको हत्या भयो भन्ने मलाई फोन आएकोमा मैले निजलाई चिन्दछु भनी मैले मेरो भाउजू नाता पर्ने निज लक्ष्मी न्यौपानेलाई लिई सिद्धबाबा जाँदा निज राजुको लास देखी चिनी घरपरिवार समेतलाई खबर गरी निज राजु न्यौपानेलाई को कसले कर्तव्य गरी मार्‍यो भनी पत्ता लगाउँदा, मामाकी छोरी इन्द्रा न्यौपाने, केशव भट्टराई र टुकलाल भट्टराई समेत मिली षडयन्त्र गरी उक्त सिद्धबाबामा लगी हत्या गरेको कुरा थाहा पाएको हुँ भन्ने समेत व्यहोराको बुझिएका भिमप्रसाद भण्डारीले गरेको कागज 

            मिति २०६४।५।२ गतेका दिन जिल्ला पाल्पा, दोभान गा.वि.स. वडा नं. ५ स्थित एक जना व्यक्तिलाई मारेका छन् भन्ने कुरा थाहा पाएको हो । निज मृतक स्याङजाका राजु न्यौपाने भन्ने व्यक्ति भएको भन्ने समेत थाहा पाएको हो, सो सम्बन्धमा बुझ्दा निज राजु न्यौपानेलाई निजको बहिनी नाताकी इन्द्रा न्यौपाने, केशव भट्टराई र टुकलाल भट्टराई समेतले षडयन्त्र गरी कर्तव्य गरी मारेको हो भन्ने समेत थाहा पाएको हो भन्ने समेत व्यहोराको एकै मिलानको वस्तुस्थितिमा बुझिएका कमलराज श्रेष्ठ समेतले गरेको मिति २०६४।६।२ को बस्तुस्थिति कागज 

            प्रतिवादी इन्द्रा न्यौपाने र केशव भट्टराईका बीच प्रेम सम्बन्ध रहेको थाहा पाएका राजु न्यौपानेलाई मारी आफ्नो प्रेम सम्बन्ध साकार हुन्छ भन्ने ठानी सोही बमोजिम राजु न्यौपानेलाई मार्नका लागि टुकलाल भट्टराईको सहयोग लिई वारदातस्थल जिल्ला पाल्पा दोभान गा.वि.स. ५ कदमवास भन्ने ठाउँमा लगि राजु न्यौपानेलाई आफ्नो साथमा रहेको धारिलो हतियार छुरी झिकी प्रहार गरी मारेको प्रतिवादी केशव भट्टराई र इन्द्रा न्यौपानेको कार्य मुलुकी ऐन ज्यान सम्बन्धीको १ नं. र १३(१) नं. ले परिभाषित कसूर भएबाट निजहरू दुवै जनालाई सोही ऐनको १३(१) नं. बमोजिम सजाय हुनु तथा प्रतिवादीमध्येका सुमित भन्ने टुकलाल भट्टराईले राजु न्यौपानेलाई मार्ने कुराको योजनामा सहमति जनाई केशव भट्टराई र इन्द्रा न्यौपानेले आफ्नो प्रेममा बाधक बनेका व्यक्तिलाई हात समाई, मुख थुनी मर्ने मानिसको ज्यूमा हातहाली मार्नको लागि संयोग पारिदिएको देखिंदा निज प्र.टुकलाल भट्टराईको सो कार्य मु.ऐन ज्यान सम्बन्धीको १ र १३(४) नं. ले परिभाषित कसूर अपराध भएबाट निजलाई सोही ऐनको १३(४) नं. बमोजिम सजाय हुन एवं उक्त घटनामा सरिक व्यक्ति प्र.टुकलाललाई रु.४,०००।दिई भारततर्फ भाग भनी खर्च दिई अपराधी भगाउन वारदात छिपाउन खोजेको प्रतिवादी टिकाराम भट्टराईको सो कार्य मुलुकी ऐन ज्यान सम्बन्धीको २५ नं. ले परिभाषित कसूर अपराध भएबाट निजलाई सोही ऐनको सोही नं. अनुसार सजाय हुन मागदावी लिएको छ भन्ने समेत व्यहोराको अभियोग मागदावी 

            राजु न्यौपाने मेरो फुपुको छोरा नाता पर्दछ, उसले मलाई शारीरिक सम्बन्ध कायम गरौं भन्ने, सेक्स प्रस्ताव राख्ने, विवाहको प्रस्ताव गरी अनेक दुःख दिने गर्दथे । मिति २०६४।५।२ गते सिद्धबाबा जाउँ विवाह गरौ भनी प्रस्ताव राखी सल्लाह भएअनुसार उक्त दिन विहान ६.०० बजेतिर सिद्धबाबा मन्दिरमा गई टिका लगाई मलाई उसले निधारमा टिका समेत लगाई दिएको र पछि हामी झोलुङ्गेपुलतर्फ गई केही समय बस्दा राजुले मलाई शारीरिक सम्बन्ध राख्ने प्रस्ताव राखे । मैले मेरो झोलामा २ वटा चक्कु लिएर गएको थिए, उसले सेक्स गरौं भन्दा मलाई रिस उठी लिई गएको चक्कु झोलाबाट झिकी उसलाई सो चक्कुले पेटमा हानेको हो त्यस पछाडि टाउकोमा हानेको हो मैले हान्दा केशव भट्टराई समेत २ जना त्यहाँ पुगेका थिए । करीव १ हप्ता अगाडिदेखि त्यस्तो सोच बनाएकी थिए । घटनास्थलमा केशव भट्टराई र टुकलाल अङ्कल पुगेका थिए । उनीहरूले मृतक राजुलाई हाने हानेनन् सो मलाई केही थाहा छैन । पेश गरिएका चक्कु २ थान देखाउँदा हेरी चिने यो मैले घटनामा प्रयोग गरेको चक्कु हो मैले गल्ती गरेकाले कानूनबमोजिम सजाय भोग्न तयार छु भन्ने समेत व्यहोराको प्रतिवादी इन्द्रा न्यौपानेले शुरु अदालतमा गरेको वयान 

            मृतक राजु न्यौपाने र इन्द्रा न्यौपाने सिद्धबाबा तल खोलामा गएको र त्यहाँ हामी पनि घुम्न जाने क्रममा उनीहरूलाई देखेको हो । इन्द्राले पहिलो दिन मलाई फोनबाट म र राजु सिद्धबाबातर्फ आउँदै छौ निगरानी राख्नु होला भनी फोन गरेकी थिइन । सोही अनुरूप म पनि सिद्धबाबा गएको थिएँ । सिद्धबाबा तल खोलामा इन्द्रा र राजु चिच्चाएको सुनी हामी त्यहाँ जाँदा इन्द्राले चक्कुले राजुलाई हानेको र अर्को चक्कु त्यही थियो । केटाले केटीलाई हान्यो भनी सोची मैले सो चक्कुले राजुलाई हानेको हो । १/२ पटक लागेको थियो हान्दा अङ्कल टुकलालले रोक्नु भएको ख्याल भएन । हामी त्यहाँबाट हिड्दा राजु पल्टिरहेको थियो । मरेको, जीउँदो मलाई ख्याल भएन । म र इन्द्राबीच प्रेम सम्बन्ध रहेको थियो । त्यसैले मैले इन्द्राले भनेअनुसार सिद्धबाबा गएको हो मैले योजना बनाई गल्ती गरेको होइन संयोगबस घटनास्थल पुगी १/२ पटक हानेको हो कानूनबमोजिगम सजाय भोग्न तयार छु भन्ने समेत व्यहोराको केशव भट्टराईले शुरु अदालतमा गरेको वयान 

            मिति २०६४।५।२ गते विहान अ.६/७ बजेतिर म र केशव भट्टराई समेत भई सिद्धबाबाको मन्दिरतिर लाग्यौ । केशव भट्टराई एक्कासी तल झरे म पनि केशव भट्टराईको पछि लाग्दा केशव भट्टराईले राजु न्यौपानेलाई चक्कुले एकचोटी हानेको देखे । यो के गरेको हो भनी केशवको हातको छुरी समात्न पुगेछु । मेरो दाँया बाँया हातको औलाहरू समेत र हातको पन्जाको कान्छी औलाको भागपट्टि गहिरो रुपबाट काट्यो । हातको रगत देखि म बेहोस भई लडेछु । प्र.केशवले नोकरी लगाइदिन्छु भनी बोलाएकोले म बुटवल गएको हो । म लुम्बिनी मेडिकल कलेजमा औषधि उपचारको लागि आएको बखत प्र.केशव भट्टराईको बुवालाई भनेको हुँ टिकाराम भट्टराई रु.३०००।दिनु भएको हो सके सम्म भाग भन्नु भएको समेत हो । मैले अभियोग दावीअनुसार सजाय पाउनु पर्ने होइन, म निर्दोष हुँ, जसले घटना घटायो तिनीहरूले नै सजाय पाउनुपर्छ भन्ने समेत व्यहोराको प्र.सुमित भन्ने टुकलाल भट्टराईले शुरु अदालतमा गरेको वयान 

            प्रतिवादी केशव भट्टराई मेरो छोरा हो, टुकलाल भट्टराई र केशव भट्टराई मोटरसाइकल दुर्घटनामा परी घाइते भए भन्ने फोनबाट जानकारी भएको र लुम्बिनी मेडिकल कलजमा आई खोज्दा टुकलाल भट्टराईलाई मात्र भेटी रु.३२००।दिएको थिए । उसले मोटरसाइकल दुर्घटना भई हात काटेको हो भनी भनेको थियो । मैले घटना दवाउन छिपाउन खोजेको कुनै कुरा होइन, टुकलाल भट्टराईलाई भारततर्फ भाग भनी पैसा दिएको होइन र उपचारको लागि भनी दिएको हो मलाई अभियोग दावीबमोजिम सजाय हुनु पर्ने होइन भन्ने समेत व्यहोराको प्र.टिकाराम भट्टराईले शुरु अदालतमा गरेको वयान 

            आदेशानुसार वादी प्रतिवादीका साक्षीको बकपत्र भई मिसिल संलग्न रहेको 

            मृतक राजु न्यौपानेलाई प्रतिवादीहरू केशव भट्टराई र इन्द्रा न्यौपानेले चक्कु जस्तो धार भएको जोखिमी हतियारले पेट टाउको जस्तो संवेदनशिल अंगहरूमा प्रहार गरी सोही प्रहारको कारण मृतक राजु न्यौपानेको मृत्यु भएको हुँदा प्र.केशव भट्टराई र इन्द्रा न्यौपानेलाई ज्यान सम्बन्धी महलबमोजिम सर्वश्वसहित जन्मकैद सजाय हुने ठहर्छ 

            जाहेरवालाहरूले प्र.टुकलालले मृतकको हात समातेको र मुख थुन्ने काम गरेको हो भनी लेखाई दिन नसकेको, प्र.टुकलालको अधिकार प्राप्त अधिकारीसमक्षको वयान स्वतन्त्र प्रमाणबाट पुष्टि हुन नसकेको र प्र.टुकलालले आरोपित कसूर गरेको हो भन्ने खम्वीर प्रमाण वादी पक्षबाट पेश भएको नदेखिंदा प्र.टुकलालले अभियोग पत्रबमोजिम कसूर गरेको भन्न मिल्ने नदेखिदा प्र.टुकलाल भट्टराईलाई अभियोग दावीबमोजिम सजाय हुन सक्दैन सफाइ पाउने ठहर्छ 

            प्रतिवादी टिकाराम भट्टराईले मृतक राजु न्यौपाने वारदात समयमा मारिएको कुरा चाल पाएर पनि जाहेर नगरी कसूरदार भगाउने कसूर गरेको हो भन्ने खम्बीर हुने सबूद प्रमाण वादी पक्षले गुजार्न सकेको नदेखिंदा प्र. टिकाराम भट्टराई अभियोग पत्रबमोजिम कसूर गरेको भन्न मिलेन । प्र.टिकाराम भट्टराईले अभियोग पत्रबाट सफाइ पाउने ठहर्छ भन्ने पाल्पा जिल्ला अदालतको मिति २०६५।४।२१ को फैसला 

            मलाई हराई ज्यान सम्बन्धी महलको १३(१) नं. बमोजिम सर्वश्वसहित जन्मकैद हुने ठहर्‍याई भएको शुरु फैसलामा चित्त बुझेन । म स्वयंले पनि परिहाल्यो भने प्रयोग गूरुला भनी छुरी झोलामा राखी गएकी थिए । मृतक राजु न्यौपानेले फुपुको छोरा मसँग यौनजन्य कार्य गर्न खोजेको समेतका कारणले तत्काल आक्रोशित भई प्रहार गरेकी हुँ । परिस्थिति लाई न्यायोचित ढंगले विचार गरी मैले आत्म रक्षार्थ बल र उपाय प्रयोग गर्दा आवश्यक होस नपुर्‍याएको हदसम्म मात्र कसूरको दायित्व निर्धारण गर्दै न्यायपूर्ण इन्साफ पाऊँ भन्ने प्र.इन्द्रा न्यौपाने जैसीको पुनरावेदन जिकीर 

            मलाई हराई सर्वश्वसहित जन्मकैद सजाय गर्ने गरी भएको शुरु फैसलामा चित्त बुझेन । मैले राजुलाई मार्ने कुनै प्रयोजन र तयारी गरेको होइन र मार्नेसम्मको प्रहार मबाट भएको छैन । शुरु फैसलामा प्रमाणको मूल्याङ्कन गर्ने कुरामा न्यायिक मनको प्रयोग भएको छैन । शुरु अदालतको फैसलाबाट मलाई अन्याय परेकाले बदर गरी सफाइ पाऊँ भन्ने प्र.केशव भट्टराईको पुनरावेदन जिकीर 

            प्रतिवादीहरू सुमित भन्ने टुकलाल भट्टराई र टिकाराम भट्टराईलाई सफाइ दिने गरी भएको शुरुको सो हदसम्मको फैसलामा चित्त बुझेन । मृतक राजुलाई घटनास्थलमा ल्याउनुभन्दा अगाडि प्र.केशव भट्टराईले टुकलालसँग भेट गरी दुवै जना घटनास्थलमा आएको र केशव भट्टराईले छुरी प्रहार गर्दा प्र.टुकलाल भट्टराईले मृतकको हात खुट्टा समाउने मुख थुन्ने समेतका कार्य गरेको भन्ने प्र.केशव भट्टराई र इन्द्रा न्यौपाने समेतको वयानबाट पुष्टि भई मृतक राजु न्यौपानेलाई कर्तव्य गरी मार्नमा संलग्न रहेको मिसिल संलग्न प्रमाणबाट पुष्टि भई रहेको अवस्थामा प्रमाणको मूल्याङ्कन नगरी प्र.टुकलाल भट्टराईलाई सफाइ दिने गरी र प्र.टिकाराम भट्टराईले मृतक राजु न्यौपाने कर्तव्यबाट मरेको भन्ने चाल पाई जाहेर नगरी बसेको मिसिल संलग्न प्रमाणबाट पुष्टि भएको देखिंदा, देखिदै पनि सफाइ दिने गरी भएको शुरु फैसला सो हदसम्म त्रुटिपूर्ण हुँदा बदर गरी प्र.टुकलाल र टिकाराम भट्टराईलाई अभियोग दावीबमोजिम सजाय गरिपाऊँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन पत्र 

            यसमा मौकामा भएको टुकलाल समेतको वयानबाट निज समेतको संलग्नतामा घटना हुन गएको भन्ने र इन्द्राको अदालतको वयानबाट निजको मात्र कर्तव्यको स्थिति भन्ने रहेको अवस्थामा प्रमाणको विश्लेषण र मूल्याङ्कन गर्दा शुरुको फैसला फरक पर्न सक्ने भएकोले छलफलको लागि प्रत्यर्थीहरू झिकाई आए वा अवधि नाघेपछि नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालत बुटवलबाट मिति २०६५।१०।२० मा भएको आदेश 

            पुनरावेदक प्र.इन्द्रा न्यौपाने जैसी र केशव भट्टराईको हकमा हेर्दा राजु न्यौपानेले मलाई गाली गर्ने पिट्ने समेत गर्थे । सो कुरा केशवलाई भनी राजुलाई ठीक नपारेसम्म हाम्रो प्रेम सफल हुँदैन भनी मैले बताएपछि केशवसँग राजुलाई मार्ने सल्लाह भयो । सल्लाहअनुसार मिति २०६४।५।२ गते मैले राजुलाई सिद्धबाबा जाऊँ भनी लगी मन्दिरमा दर्शन गरी झुलुङ्गेपुल घुम्न जाउँ भनी गई बसिरहेको बेला केशव र टुकलाल त्यही आए । मिसिल संलग्न कागजातहरूबाट प्र.इन्द्राले योजनावद्ध रुपमा झोलामा चक्कु लिई गई केशव र इन्द्राले पालैपालो मृतक राजुको पेट, टाउकोमा धारिलो चक्कु प्रहार गरी मारेको देखिएको, घटनास्थलबाट चक्कु बरामद भएको र सोही चक्कुले राजुको टाउको पेटमा हानेको हो भनी प्र.इन्द्रा र केशव भट्टराई अदालतमा समेत कसूरमा सावित रहेको देखिंदा निज प्रतिवादी इन्द्रा न्यौपाने र केशव भट्टराईले आरोपित कसूर अपराध गरेको पुष्टि भएकोले निज प्रतिवादीहरूलाई ज्यान सम्बन्धी महलको १३(१) नं. बमोजिम सर्वश्व सहित जन्म कैद सजाय गर्ने ठहर्‍याएको शुरु फैसला मिलेकै देखिन आयो 

            सह प्रतिवादीहरू केशव भट्टराई र इन्द्रा न्यौपानेले अधिकार प्राप्त अधिकारीसमक्षको वयानमा राजु न्यौपानेलाई मार्ने योजना बनाउदा प्र.टुकलालसँग पनि सल्लाह गरेको, सोहीअनुरूप केशव र टुकलाल सँगसँगै घटनास्थलमा पुगेको र केशवले राजुलाई चक्कुले हान्दा टुकलालले राजुको हात समाउने र मुख थुन्ने काम गरेका हुन् भनी लेखाई दिएको पाइन्छ । मैले राजुलाई चक्कुले हान्दा टुकलालको हातमा लाग्न गएकोले बुटवलमा उपचार गराई इन्द्रा, म र टुकलाल भई नारायणघाट गई बसी अर्को दिन इन्द्रा र म पोखरा गएका हौं । टुकलाल घर जानु भएको हो भन्ने प्र.केशव भट्टराईको वयान र केशवले राजुलाई चक्कुले हान्दा टुकलालको हातमा लाग्न गएको हो भन्ने प्र.इन्द्रा न्यौपानेको वयान र स्वयं टुकलालले पनि केशवले राजुलाई चक्कुले हान्दा मेरो हातमा लाग्न गई घाइते भएका हुन भनी अदालतमा समेत वयान गरेबाट र हातमा लागेको घाउ अन्य कारणबाट लागेको भन्न नसकेबाट समेत यी प्रतिवादी वारदातस्थलमा उपस्थित भई राजुलाई मार्न संयोग पारिदिएको पुष्टि हुन आयो । त्यसै गरी प्र. इन्द्रा न्यौपाने, केशव भट्टराई र टुकलाल भट्टराई समेतले षडयन्त्र गरी राजु न्यौपानेलाई कर्तव्य गरी मारेका हुन् भन्ने समेतका मिसिल संलग्न कागज प्रमाण एवं सिलसिलेवार घटनाक्रमबाट यी प्रतिवादी टुकलाल भट्टराई राजु न्यौपानेलाई मार्ने क्रममा वारदातस्थलमा उपस्थित भई केशवले राजुलाई चक्कु प्रहार गर्दा मृतक राजुको हात समाउने र मुख थुन्ने जस्ता कार्य गरी राजुको जीउमा हात हाली मार्न संयोग पारिदिएको पुष्टि हुन आएकोले यी प्र.टुकलाल भट्टराईले अभियोग दावीबमोजिम कसूर गरेको देखिन आयो 

            प्र. टिकाराम भट्टराईउपरको पुनरावेदन जिकीर तर्फ हेर्दा, यी प्रतिवादी घटनास्थलमा गएको भन्ने मिसिल कागजातबाट देखिन नआएको र मृतक राजु न्यौपानेलाई मारिएको जानकारी पाएर पनि जाहेर नगरेको भन्ने स्वतन्त्र प्रमाणबाट वादी पक्षले पुष्टि गर्न सकेको नदेखिंदा प्र.टिकाराम भट्टराईले अभियोग दावीबमोजिम कसूर गरेको देखिन आएन 

            तसर्थ मिसिल संलग्न कागज प्रमाण एवं माथि उल्लेख गरिएका आधारहरूबाट वारदात घटनामा संलग्न रही प्रतिवादी टुकलाल भट्टराईले पनि आरोपित कसूर गरेको देखिँदा देखिँदै पनि निजलाई सफाइ दिने गरी गरेको हदसम्म शुरु जिल्ला अदालतको मिति २०६५।४।२१ को फैसला त्रुटिपूर्ण देखिनाले सो हदसम्म केही उल्टी भई प्रतिवादी टुकलाल भट्टराईलाई अभियोग पत्र मागदावीबमोजिम ज्यान सम्बन्धी महलको १३(४) नं. बमोजिम जन्मकैदको सजाय हुने ठहर्छ । प्रतिवादीहरू इन्द्रा न्यौपाने र केशव भट्टराइको हकमा शुरुले गरेको फैसला मनासिव नै देखिनाले आरोपित कसूरबाट सफाइ पाउनु पर्छ भन्ने, प्रतिवादी इन्द्रा न्यौपाने र प्र.केशव भट्टराईको पुनरावेदन जिकीर पुग्न सक्दैन । प्रतिवादी टिकाराम भट्टराईलाई सजाय गरिपाऊँ भन्ने सम्मको वादी नेपाल सरकारको पुनरावेदन जिकीर पुग्न सक्दैन भन्ने पुनरावेदन अदालत बुटवलबाट मिति २०६६।३।१ मा भएको फैसला 

            अदालतबाट भन्दा पनि अधिकारप्राप्त अधिकारीबाट लिइएको मेरो वयानलाई आधार मान्दै अन्य प्रमाण परिस्थितिहरूले त्यसको पुष्टि गरेको भन्ने अवधारणा बनाई फैसला भएको छ । म स्वयंले नै पनि परिहाल्यो भने प्रयोग गरुला भनी छुरी झोलामा लिई गएको घटना स्थलमा मृतक राजुले आफ्नी फुपूकी छोरी बैनी नाताकी मसँग यौन कार्य गर्न खोजेका समेत कारणले तत्काल आक्रोशित भई प्रहार गरेकी छु । मार्ने नै मनसायले तय गरी प्रहार गरेको भन्ने तात्पर्य निकाली ज्यान सम्बन्धीको १३(१) जस्तो हदै सम्मको कठोर सजाय गर्नु सर्वथा गलत भएको छ 

            सिद्धबाबा घटनास्थल जाने योजना मेरो नभई स्वयं मृतक राजुकै थियो । यौन सम्बन्ध राखी विवाह समेत गर्ने र नगरेमा अपहरण समेत गर्ने धम्की दिएको र सिद्धबाबा मन्दिरमा गई यौन कार्य सम्पन्न गर्दै विवाह समेत गर्ने दवाव दिएकोले बाध्य भई जानु पर्ने स्थिति भएको हदै सम्मको बल प्रयोग गरेर पनि आत्मरक्षा गरुँला भनेर मात्र सो छुरी लिएर गएकी थिएँ । मृतक राजुको जोरजुलुमी र जिद्धी स्वभाव र आचारणका कारण सो निर्णैयमा पुगी इच्छा नहुँदा नहुँदै पनि निजको ज्यानै जानेसम्मको प्रहार गरेकी हुँ । मलाई कानून व्यवसायिसँग परामर्श गरी वयान गर्ने अवसर दिनुपर्थ्यो । जाहेरवाला र अन्य साक्षिका बकपत्रले सावितीको पुष्टि गरेको भन्ने समेत फैसलाको कथन छ लास जाँच मुचुल्का शव परीक्षण इत्यादी कुराले पनि पुष्टि गरेको भन्ने उल्लेख छ । राजु न्यौपानेको मृत्यु चक्कु प्रहारबाट भएकोसम्म पुष्टि भएको छ । सोभन्दा अघि गएर म लगायतमका अभियुक्तहरूले योजना बनाई हत्या गरेको भन्ने कसरी पुष्टि हुन्छ ?

            तसर्थ उपर्युक्त परिस्थितिलाई न्यायोचित ढंगले विचार गरी, लगाइएको आरोपबाट अलग फुर्सद गरी पुनरावेदनको त्रुटिपूर्ण फैसला उल्टी गरी, आत्मरक्षार्थ बल र उपाय प्रयो्ग गर्दा आवश्यक होश नपुर्‍याएको हदसम्म मात्र कसूरको दायित्व निर्धारण गर्दै त्यसमा समेत विचार गरी न्यायपूर्ण इन्साफ पाऊँ भन्ने निज इन्द्रा न्यौपाने जैसीको पुनरावेदन पत्र 

            मेरो जति वयानहरू, बकपत्र भए ति अधिकार प्राप्त अधिकारीसमक्ष हुँदा कतिपय कुरामा जवर्जस्ती साविती बनाइयो । ती बाध्यतामा पारी यातनामा पारी गराइएका हुन् । राजुले यौन क्रिया गर्न खोजेपछि टुकलाल सँगै गएकाले आलोपालो प्रहार गरेको घटना प्रारम्भ भई, आवाज आएपछि मात्र म त्यहाँ पुगी इन्द्रा न्यौपानेको रक्षार्थ मात्र दुवैलाई जोगाउने काम गरेको भन्ने इन्द्राको वयान नै छ । यसरी मेरो संलग्नताले मात्रै दोषी सावित गर्न नमिल्ने हुँदा आरोपित कसूरका सम्बन्धमा साविती सिद्धान्तलाई समेत फैसलाको ध्यान छैन । चक्कुहरू र रगत लागेको वण्डी इत्यादी केही कुराहरूका सम्बन्धमा सनाखत गराएको जस्तो देखिन्छ यी वस्तुहरूमा रहेका औंठा छाप, रगत अभियुक्तहरूका शारीरिक मानसिक जाँच केही गराएको पाइदैन यस्तो स्थितिमा अधिकार प्राप्त अधिकारीले गराइ लिएको वयानलाई निरपेक्ष रुपमा वैधता दिई मान्यता दिनु कति न्यायसंगत होला ? उपयुक्त ठहर फैसलामा खासगरी प्रमाणको मूल्याङ्कन गर्ने कुरामा न्यायिक मनको प्रयोग भएको छैन । तसर्थ कानूनको विपरीत मलाई सर्वस्व सहित जन्म कैद गरेको पुनरावेदन अदालत बुटवलको फैसला उल्टी गरी झूठा अभियोग दावीबाट फुर्सैद पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी केशवराज भट्टराईको पुनरावेदनपत्र 

            नियमबमोजिम आजको दैनिक मुद्दा पेसी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन पत्र सहितको मिसिल कागजात अध्ययन गरियो 

            पुनरावेदिका इन्द्रा न्यौपाने र पुनरावेदक केशव भट्टराई समेतको तर्फबाट विद्वान अधिवक्ता प्रकाश के.सी र  संस्थाको तर्फबाट उपस्थित विद्वान अधिवक्ता यमुना भट्टराईले मृतक राजु न्यौपानेले यी पुनरावेदिका इन्द्रा न्यौपानेलाई आफू दाजु नाता पर्ने व्यक्ति भइकन पनि पटक पटक यौन सम्पर्क राख्न प्रयास गर्ने गरेको भन्ने निज इन्द्राको वयानबाट देखिइरहेको छ । सो वारदातको दिन पनि निज राजु न्यौपानेले विभिन्न डर धाक दिई सिद्धबाबा मन्दिर आउन वाध्य गरेको र भेट भएपछि पुन यौन सम्बन्ध राख्न प्रयत्न गरेपछि मात्र आत्मरक्षाको लागि आफूले राखेको चक्कु प्रहार गरेको भन्ने घटनाक्रमबाट देखिएको र अर्का पुनरावेदक प्रतिवादी केशव भट्टराईलाई अधिकार प्राप्त अधिकारीसमक्ष वयान गराउँदा डर, धाक, धम्की दिई सावित गराइएको छ । इन्द्रा न्यौपानेले बोलाएको कारणले घटनास्थल पुगेको देखिन्छ । इन्द्रा न्यौपानेसँग मृतकले यौन सम्बन्ध राख्न खोज्दा हात हालाहाल भई इन्द्राले चक्कुले प्रहार गरिसकेपछि मात्र केशव भट्टराई घटनास्थल पुगेको भन्ने प्रतिवादी इन्द्राले अदालतसमक्ष वयान गरेको निज केशव भट्टराईको प्रहारबाटै राजु न्यौपानेको मृत्यु भएको भन्ने स्पष्ट नदेखिँदा शंकाको सुविधा अभियुक्तले पाउने तथा इन्दिरा र केशव भट्टराई भागेर दिल्ली गए पनि पछि फर्की आएर आफू अनुसन्धान अधिकारीसमक्ष समर्पण गरी न्यायिक प्रक्रियामा सहयोग पुर्‍याएको हुँदा पुनरावेदन अदालत बुटवलले ज्यान सम्बन्धी महलको १३(१) नं. को कसूर ठहर्‍याएको फैसला न्यायपूर्ण नहुँदा उल्टी गरी पुनरावेदक प्रतिवादी इन्द्रा न्यौपाने र केशव भट्टराईलाई अ.वं. १८८ को प्रयोग गरेर भए पनि विल्कुल न्यून सजाय हुनु पर्छ भन्ने समेत गर्नु भएको बहस जिकीर सुनियो 

            यसमा पुनरावेदक तर्फका विद्वान अधिवक्ताहरूको बहसलाई दृष्टिगत गर्दै पुनरावेदक प्रतिवादीहरूले सफाइ पाउनु पर्छ वा अत्यन्त न्यून सजाय हुनुपर्छ भन्ने पुनरावेदन जिकीर पुग्न सक्छ सक्तैन र पुनरावेदन अदालत बुटवलबाट मिति २०६६।३।१ मा भएको फैसला मिलेको छ छैन ? सोही विषयमा निर्णय दिनुपर्ने देखियो 

            यसमा प्रतिवादीहरू इन्द्र न्यौपाने र केशव भट्टराई बीचको प्रेममा बाधक बनेको राजु न्यौपानेलाई मार्ने योजना बनाई उक्त दुई जना र टुकलाल भट्टराईले राजु न्यौपानेलाई मारेको र टिकाराम भट्टराईले सहयोग पुर्‍याएको भन्ने अभियोग दावी रहेकोमा इन्द्रा न्यौपाने र केशव भट्टराईलाई कसूरदार ठहराएको तथा टुकलाल एवं टिकाराम भट्टराईलाई सफाइ दिएको जिल्ला अदालतको फैसला केही उल्टी गरी इन्द्रा न्यौपाने, केशव भट्टराई र टुकलाल भट्टराईलाई दावी अनुसार कसूरदार ठहराएको तथा टीकारामलाई सफाइ दिने गरी भएको पुनरावेदन अदालतको फैसलाउपर इन्द्रा न्यौपाने र केशव भट्टराईको पुनरावेदन परी निर्णयार्थ पेश भएको देखियो 

            २. अब निर्णयतर्फ विचार गर्दा राजु न्यौपानेको मृत्यु कर्तव्यबाटै भएकोमा विवाद रहेन वारदातमा प्रयोग गरिएको चक्कूहरू बरामद भएका छन् । रगत लागेका कपडाहरू समेत बरामद भएका छन् । मृतकको लास प्रकृति, मुचुल्का, शवपरीक्षण प्रतिवेदन र प्रतिवादीहरूको वयानबाट समेत यस तथ्यको पुष्टि भइसकेको छ । यी पुनरावेदक प्रतिवादीहरूले अनुसन्धान अधिकारी र अदालतमा साविती वयान दिएको पाइन्छ । पूर्व योजनाअनुसार वारदात भएको समेत पाइन्छ 

            ३. बुटवलमा बसी एउटै कलेजमा पढ्ने क्रममा यी प्रतिवादीहरू इन्द्रा न्यौपाने र केशव भट्टराईबीच गहिरो प्रेम सम्बन्ध रहन गएकोमा सो प्रेम सम्बन्धलाई निज इन्द्रा न्यौपानेका दाजु नातापर्ने राजु न्यौपानेले मन नपराएको कारण विभिन्न धम्की समेत दिने गरेको र यी दुवै पुनरावेदक प्रतिवादीहरू बीचको प्रेम सम्बन्धमा निज मृतक राजु न्यौपाने बाधक बनिरहेको भन्ने देखिन्छ । सो बाधालाई कसरी हटाउने भन्ने क्रममा यी पुनरावेदकद्वय इन्द्रा न्यौपाने, केशव भट्टराई र अर्का सहयोगी प्रतिवादी टुकलाल भट्टराईको सल्लाह र सहमतिले सदाको लागि राजु न्यौपानेलाई इन्द्रा न्यौपाने र केशव भट्टराईको प्रेम मार्गबाट हटाउने योजना बन्दछ । योजनाअनुसार इन्द्रा न्यौपानेले बोलाउँदा राजु आउँछ भन्ने विश्वासका साथ योजनानुसार इन्दिराले राजूलाई बोलाई निजलाई दोभान नजिक खोलाको छेउमा लगेकी र त्यसपछि सोही ठाउँमा अर्का दुई प्रतिवादीहरू केशव भट्टराई र टुकलाल पुग्दछन् । ती तीनै जनाको सहयोग र कार्यबाट राजु न्यौपानेलाई मार्नेकाम भएको देखिन्छ । वारदातस्थलमा यी तीन प्रतिवादी संयोगवश भेट भएका होइनन् । अपितु पूर्व नियोजित योजनाअनुरूप त्यहाँ पुगेका र मारिने व्यक्ति पनि त्यहाँ पुग्ने कुरा निश्चित गरेर त्यहाँ पुगेको देखिन्छ 

            ४. इन्द्रा न्यौपानेले अधिकार प्राप्त अधिकारीसमक्ष वयान गर्दा, केशव भट्टराईसँग निज मृतक राजु न्यौपानेलाई ठीक पार्न पर्‍यो भनी सल्लाह मिलाएपछि सिद्धबाबाको मन्दिरबाट तल खोलाको छेउतर्फ झाडी भएको एकान्त ठाउँमा लगी दुवै जना मिली चक्कु जस्तो घातक हतियारले टाउको छाती, कोखा लगायतका यत्रतत्र अंगमा प्रहार गरेको र सो क्रममा प्रतिवादी टुकलालले मृतकलाई हात मुख समातेको र त्यसपछि निज राजु न्यौपाने मरेपछि तीनै जना आ आफ्नो गन्तव्यतर्फ गएको भनी सो घटनाक्रमलाई सिलसिलावद्ध रुपमा तथ्यपरक ढंगले वर्णन गर्दै वयान गरेकी देखिन्छ ।  

            ५. त्यस्तै गरी केशव भट्टराई र टुकलाल भट्टराईले शुरु अनुसन्धान अधिकारी तथा अदालतसमक्ष गरेको वयान बाट पनि इन्द्रा न्यौपानेले गरेको वयान व्यहोराको पुष्टि हुन्छ । आफ्नी प्रेमीका इन्द्रा न्यौपानेसँग आफ्नो प्रेमको मार्गमा वाधकको रुपमा रहेको राजु न्यौपानेलाई हटाउनको लागि सिद्धबाबाको मन्दिरमा निज इन्द्रा न्यौपानेले नै राजुलाई लिई आउने र त्यही निरको खोला छेउमा निज राजु न्यौपानेको जीवनलीला समाप्त गरिदिनेसम्मको यी पुनरावेदक प्रतिवादीहरू बीच सल्लाह भई सोहीअनुसार तयारी गरेको पनि निजहरूको वयानबाट देखिन्छ । इन्द्रा न्यौपानेसँग राजु न्यौपानेलाई कुनै पनि तरहबाट समाप्त पार्नै पर्ने सल्लाह भएपछि अर्का प्रतिवादी टुकलाल भट्टराईको सहयोग लिन पाल्पाबाट बुटवलसम्म बोलाई निजको सहमति पाइसकेपछि यी पुनरावेदक प्रतिवादीहरू इन्द्रा न्यौपाने र केशव भट्टराईको पूर्व सल्लाह र षडयन्त्र मुताविक निज इन्द्रा न्यौपानेले मृतकलाई सिद्धबाबाको मन्दिरसम्म मिति २०६४।५।२ गते विहान पुर्‍याई सिद्धार्थ राजमार्ग देखि तल झोलुङ्गेपुल जाने एकान्त स्थानमा लगी राखेपछि सोही स्थानमा केशव भट्टराई तथा टुकलाल भट्टराई पनि आइपुग्ना साथ आफू सँगै लगेको २ वटा चक्कुले निज इन्द्रा न्यौपाने र केशव भट्टराईले पालैपालो मृतकको शीर, पेट कोखालगायतको संवेदनशील अंगमा प्रहार गरेको र सो वखत प्र.टुकलाल भट्टराईले मृतकको हात मुख समाई दिएको देखिन्छ 

            ६. यी पुनरावेदक केशव भट्टराईले आफूले पहिला प्रहार नगरेको भन्ने जिकीर अदालतसमक्ष लिए तापनि चक्कु प्रहार गरेको होइन भन्न सकेको पाइदैन । घटनास्थलबाट विडं भएको २ वटा सेतो चक्कु तथा रगत लागेको कपडा समेत बरामद भएको देखिन्छ भने सोही मिति २०६४।५।२ को घटनास्थल तथा लास प्रकृति मुचुल्काबाट यत्रतत्र रगतहरू रहेको र भदौ महिनामा पानी परेर रोकिएको भएपनि पानीको भलसँगै रगत पनि बगिरहेको चित्रण लास प्रकृति मुचुल्काले गरिरहेको अवस्था हुँदा यी पुनरावेदक प्रतिवादीहरूले मृतकलाई चक्कु प्रहार गरेका हुन् भन्ने तथ्यलाई घटनास्थल तथा लास प्रकृति मुचुल्काबाट पुष्टि भइरहेको देखिन्छ 

            ७. यसरी प्रस्तुत वारदात प्रेम र यौन Love and sex सँग सम्बन्धित एउटा यस्तो घटना देखिएको छ, जहाँ एक जोडी प्रेमीप्रेमिकाले आफ्ना प्रेमपथमा बाधक बन्दै गएको अर्को प्रेमीलाई मारेर दुई जनाको प्रेमपथलाई निर्बाध बनाउन खोजिएकोछ । यसरी यस त्रिकोणीय प्रेम प्रसङ्गमा एक केटी सँग दुई केटाले प्रेम गर्ने तर केटीले एक जनासँग मात्र प्रेम गर्ने हुनाले केटी र केटा मिलेर अर्को केटालाई सिध्याउने काम गरिएको छ । यस अपराध प्रकरणमा प्रतिवादीहरूले अनुसन्धान अधिकारी तथा अदालतसमक्ष गरेको वयानमा केही भिन्नता र फरक अवश्य पाइएको छ । अनुसन्धान कारवाही र न्यायिक प्रक्रियाको दौरान केही सामान्य प्राविधिक त्रुटि हुन गए तापनि त्यस्तो समग्र अनुसन्धान र अभियोगअभियोजनालाई कुनै विशेष असर पार्न सक्ने स्थिति छैन । प्रतिवादीहरू इन्द्रा र केशव पहिला भागेर अन्यत्र गएपनि पछि फर्केर आफूलाई समर्पण गरेको अवश्य देखिन्छ । तर त्यत्तिकैबाट तिनीहरूले गरेको कसूरको गम्भीरतामा कमी आउन सक्ने देखिदैन । अदालतमा साविती वयान गर्ने प्रत्येक कसूरदारलाई अ.वं.१८८ नं. को प्रयोग गरी सजायमा छूट दिन वा सजायमा कमी गर्न सकिदैन । उक्त ऐनको यो मनसाय वा व्यवस्था होइन । वस्तुतः योजनावद्ध हत्याको वारदातमा अ.वं. १८८ को प्रयोग हुन सक्दैन र गर्न मिल्दैन 

            ८. तसर्थ यी पुनरावेदक प्रतिवादीहरू इन्द्रा न्यौपाने तथा केशव भट्टराईलाई मुलुकी ऐन ज्यान सम्बन्धी महलको १ नं.को कसूरमा सोही महलको १३(१) नं. बमोजिम सजाय हुने र प्रतिवादी टुकलाल भट्टराईलाई ज्यान सम्बन्धीको १३(४) नं. अनुसार सजाय गर्ने ठहर्‍याएको पुनरावेदन अदालत बुटवलको मिति २०६६।३।१ को फैसला मुनासिव देखिदा सदर हुने ठहर्छ । अभियोग दावीबाट उन्मुक्ति पाऊँ भन्ने प्रतिवादीहरूको पुनरावेदन जिकीर पुग्न सक्तैन  

            ९. पुनरावेदकहरू मध्ये इन्द्रा न्यौपानेको हकमा वादी नेपाल सरकारको तर्फबाट साधकको रोहमा प्रस्तुत हुन आएको भए पनि इन्द्रा न्यौपानेको यस अदालतमा पुनरावेदन परी सकेको र सो पुनरावेदनमा माथिका, प्रकरणहरूमा निर्णय भइसकेको अवस्था हुँदा सो साधकको लगत कट्टा गरी दिने समेत ठहर्छ । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाइदिनू 

 

उक्त रायमा म सहमत छु 

 

न्या.भरतराज उप्रेती

इजलास अधिकृतः बसन्तजंग थापा

 

इति संवत् २०६८ साल वैशाख ७ गते रोज ४ शुभम्

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु