शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९३९२ - जालसाजी

भाग: ५७ साल: २०७२ महिना: भाद्र अंक:

सर्वोच्च अदालत, पूर्ण इजलास

माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय 

माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र

माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ

फैसला मिति : २०७१।१०।१५।५

०६५-NF-०१४

 

मुद्दा : जालसाजी ।

 

पुनरावेदक/प्रतिवादी : जिल्ला सुनसरी औ‍रावनी गा.वि.स. वडा नं. ९ बस्ने पति वंशी मियाँको मु.स. गर्ने निजको पत्नी ऐ.ऐ. बस्ने खैतुन तेसा

विरूद्ध

विपक्षी/वादी : जिल्ला सुनसरी ‍औरावनी गा.वि.स. वडा नं. ९ बस्ने तेतरी मियाइनीसमेत

२०६५-NF-००१५

पुनरावेदक/प्रतिवादी : जिल्ला सुनसरी औ‍रावनी गा.वि.स. वडा नं. २ बस्ने अम्बरलाल माझी

विरूद्ध

प्रत्यर्थी/वादी : जिल्ला सुनसरी ‍औरावनी गा.वि.स. वडा नं. ९ बस्ने तेतरी मियाइनीसमेत

 

एउटै लिखत विरूद्ध दुई विषयमा छुट्टाछुट्टै मुद्दा गर्न पाउने गरी कानूनले दुई बाटो प्रदान गरेकामा कुनै एक वा दुवै बाटो रोज्ने अधिकार वादीको हुन्छ । प्रस्तुत मुद्दाको विवादित लिखतका आधारमा वादीले देवानीतर्फ लिखत बदर र फौजदारीतर्फ जालसाजी मुद्दा लिई आएको 

देखियो । यसरी दुई विषयमा नालेस परेको अवस्थामा अदालतले निर्णय गर्दा मुद्दामा भएको तथ्य, उपचारको प्रकृति, हानी नोक्सानीको परिपूरण हुन सक्ने नसक्ने अवस्था र दुईमध्ये मूलभूत उपचार के हुन सक्छ जस्ता यावत् कुरामा दृष्टि पुर्‍याई निर्णय गर्नु न्यायोचित हुने । 

मुद्दामा जालसाजी घोषित गरी सजायसमेत हुन दाबी गरेको लिखत र लगाउको लिखत बदर मुद्दामा आफ्नो हकसम्म लिखत बदर गर्न दाबी गरेका राजिनामा र बकसपत्रका लिखत उही रहेको र लिखत बदर दर्तासमेतको मुद्दामा भएको फैसलाबाट वादीको हक जति लिखत बदर भई दर्तासमेत हुने गरी वादीले कानूनी उपचार प्राप्त गरी निजको हक स्थापित भइरहेको र हक मेटिने कार्य नभएको स्थितिमा हक मेटिने कार्य भयो भनी जालसाजीमा सजाय गर्न मनासिब नहुने । 

(प्रकरण नं. ३)

 

वादीको तर्फबाट : 

विपक्षी/वादीको तर्फबाट : 

अवलम्बित नजिर : 

सम्बद्ध कानून :

मुलुकी ऐन, किर्ते कागज महलको ३, १० नं. 

मुलुकी ऐन, अ.बं. ७३ नं.

प्रमाण ऐन, २०३१ को दफा २५ नं.

 

सुरू तहमा फैसला गर्ने :           

मा.जि.न्या. श्री इन्द्रमान कर्माचार्य

पुनरावेदन तहमा फैसला गर्ने : 

मा.न्या.श्री प्रेम शर्मा 

मा.न्या. श्री परशुराम झा 

यस अदालतमा फैसला गर्ने :  

मा.न्या. श्री राम नगिना सिंह 

मा.न्या. श्री हरिजंग सिजापति

 

फैसला

न्या. बैद्यनाथ उपाध्याय : न्याय प्रशासन ऐन, २०४८ को दफा ११(१)(ख) बमोजिम यस अदालत संयुक्त इजलासबाट मिति २०६१।१।१६ मा भएको फैसला पुनरावलोकन गरी हरिपाउँ भनी निवेदक प्रतिवादीहरूका तर्फबाट निवेदन दर्ता भएकामा यस अदालत पूर्ण इजलासको मिति २०६५।५।२० को आदेशअनुसार पुनरावलोकन गरी हेर्ने निस्सा प्रदान भै पुनरावलोकनतर्फ दर्ता भै पेस हुन आएको प्रस्तुत मद्दाको सङ्क्षिप्त तथ्य र ठहर यसप्रकार रहेको छ : 

स्व. महमद किताब मियाँको पत्नी म तेतरी र छोराहरूमा वादी अब्दुल, प्रतिवादी वंशी, इस्लाम, वादी कलीम र सलीम हौं । विपक्षी खैतुन नेसा वंशीको पत्नी हुन् । हामी वादी र इस्लाम तथा वंशीसमेत ६ अंसियार छौं । हामी वादी र इस्लाम मियाँ तथा विपक्षी वंशी मियाँसमेत सगोलमा रही बसी खती उपती आर्जन गरी आउँदा सगोलको आर्जनबाट विपक्षी वंशी मियाँको नाउँमासमेत जग्गा खरिद गरी सगोलबाटै भोग चलन गरी आएका थियौं । परिवार धेरै भएको कारणले घरमा झैझगडा हुने गरेबाट सगोलमा बस्न नसक्ने अवस्था भई विपक्षी वंशीका नाउँमा दर्ता रहेको जग्गा निज वंशीले अम्बरलाललाई बिक्री गरेको छ भन्ने सुनी सक्कल हेर्दा विपक्षी वंशी मियाँ दर्ता रहेको जिल्ला सुनसरी सिमरिया गा.वि.स. वडा नं. ५(क) कि.नं. १७० को ज.वि. ०-८-० कि.नं. १०८ को ०-१-१८.१/२ ऐ. औरावनी गा.वि.स. वडा नं. ९(ग) कि.नं. ९१ को ०-२-० ऐ. कि.नं. ९३ को ०-०-१० समेत चारै कित्ता जग्गा ज‍.वि. १-१-८.१/२ जग्गा थैली रू. २४०००।- राखी  र. नं. ७४९७ बाट मिति ०५१।१०।१८ मा विपक्षी वंशी मियाँले विपक्षीमध्येका अम्बरलाल माझीलाई राजिनामा पास गराई दिई निज अम्बरलालबाट र.नं. १०५२२ बाट मिति २०५१।११।३० मा हालैको बकसपत्र लिखत पास गराई विपक्षी वंशी मियाको श्रीमती खैतुन नेसाले लिई हाम्रो अंश हक मार्न जालसाजी गरेको हुँदा किर्ते कागजको १८ नं. को म्यादभित्र फिराद गर्न आएका 

छौं । हाम्रो साक्षी प्रमाण बुझी विपक्षीहरूले किर्ते कागजको ३ नं. मा लेखिएबमोजिम जालसाजी कार्य गरेकाले लिखत जालसाजी घोषित गरी निजहरूलाई ऐ. को १० नं. बमोजिम सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको वादीहरू तेतरी, अब्दुल रहमान, महमद कलिम मियाँ र महमद सलिम मियाँको मिति २०५२।०८।१७ मा दर्ता भएको फिरादपत्र । 

विपक्षीहरू एकासगोलका अंश लिनुदिनु गर्नुपर्ने अंसियार होइनन् । सगोलबाट जग्गा आर्जन गरेको वादीले कुनै प्रमाण पेस गर्न नसकेको हुँदा सगोलको आर्जनको जग्गा भन्ने वादी दाबी झुठ्ठा 

हो । वादीले दाबी लिएको जग्गाहरू म प्रतिवादी वंशीले काठ मिस्त्री काम गरी आफ्नो निजी ज्ञानसिपबाट आर्जन गरेको हुँदा विपक्षीहरूको कुनै हकाधिकारको जग्गा होइन । विपक्षीहरूले अंश मुद्दाबाट अंश नपाउने हुँदा विपक्षीहरूको हक गएको नोक्सान परेको कुनै अवस्था छैन । आवश्यक परी व्यवहार चलाउन जग्गा बिक्री गरेको र दाताले आफ्नो हक पुग्ने बकस गरेको सद्दे व्यवहार हुँदा जालसाज गरेको छैन होइन । तसर्थ हाम्रो साक्षी प्रमाण बुझी विपक्षीका झुठ्ठा दाबीबाट अलग फुर्सद गरिपाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी वंशी मियाँ र खैतुन नेसाको मिति मिति २०५२।१०।१५ मा दर्ता भएको संयुक्त प्रतिउत्तरपत्र ।

वादीको हकै नलाग्ने सम्पत्ति जग्गा मैले दिए लिएको कुरामा वादीको फिराद अ.बं. ८२ नं. विपरीत भएको हुँदा खारेज होस् मैले लिखतबमोजिम थैली तिरी खरिद गरेको र मैले आफ्नो सम्पत्ति मेरो सेवा गर्ने मानिसलाई बकस दिँदासमेत मेरो कुनै पनि अंसियार नभएको यी वादीले मसमेतउपर मुद्दा गर्न नपाउने प्रस्टै छ । उक्त कार्यबाट विपक्षीहरूको कुनै हक गएको 

छैन । अतः मेरा पनि साक्षी प्रमाण बुझी विपक्षीको झुठ्ठा दाबीबाट अलग फुर्सद गरिपाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी अम्बरलाल माझीको मिति २०५२।१०।१५ मा दर्ता भएको  प्रतिउत्तरपत्र । 

वादीको दाबी सरासर झुठ्ठा हो । अम्बरलाल धेरै जग्गा भएका मानिस हुन् । खैतुन नेसाले निजको सेवा चाकरी गरेबापत आफ्नो नाउँका जग्गा बकसपत्र गरिदिएका हुन् । जालसाजी गरेको होइन भन्नेसमेत व्यहोराको प्रतिवादीका साक्षी सलामन मियाले गरेको बकपत्र ।

प्रतिवादी वंशी मियाँले अम्बरलालबाट रूपियाँ लिएका थिए । सोबापत वंशीले अम्बरलाललाई जग्गा पास गरी दिएँ । वंशीकी श्रीमती अम्बरलालसँग रून कराउन गएपछि जग्गा दान बकसको रूपमा फिर्ता 

दिए । यो कुरा वंशीले भनेर सुनेको हुँ भन्नेसमेत व्यहोराको वादीका साक्षी मंसुर मियाँले गरेको बकपत्र ।

वादी प्रतिवादी अंसियार हुन अंशबन्डा भएको छैन । सबै अंसियारको आर्जनबाट वंशीका नाममा खरिद गरी सबैले भोग चलन गर्दै आएका 

थिए । अंशसम्बन्धमा वादी प्रतिवादीबीच झैझगडा हुँदा वादीहरूको हक मार्नको लागि वंशीले अम्बरलालका नाउँमा पास गरिदिई आफ्नी श्रीमतीका नाममा बकसपत्र पारित गराएको हो भन्नेसमेत व्यहोराको वादीका साक्षी कदमलाल खवासले गरेको बकपत्र ।

यसमा वादीमध्येका अब्दुल रहमान र प्रतिवादीका बीच वादी दाबी छोडी छोडाई मिति २०५४।०१।१७ मा भएको आंशिक मिलापत्र ।

यसमा वादीले दाबी लिएको जग्गा प्रतिवादीहरूको आफ्नो निजी आर्जनको भन्ने देखिएबाट विवादित जग्गाको प्रतिवादीहरूको बीचमा भएको लेनदेनबाट वादीहरूको हक हनन् भयो भन्न मिल्ने नदेखिँदा यसमा वादीको दाबी पुग्ने ठहर्दैन भन्नेसमेत व्यहोराको मिति २०५४।३।१६ गते सुनसरी जिल्ला अदालतबाट भएको फैसला ।

सुरूको फैसलाउपर चित्त बुझेन । प्रतिवादीले तायदातीमा देखाएको जग्गा निजी आर्जनको भन्ने खुल्न नसकेको र वादी प्रतिवादीको नाता पुस्तासमेतमा विवाद नभएपछि त्यस्तो लेखतबाट बिक्री गरेको सम्पत्ति हकदार अंसियारको हक लाग्ने भनी अंश पाउने ठहर नगरी जालसाजीतर्फ दाबी नपुग्ने भनी भएको ठहरमा चित्त बुझेन सुरू जिल्ला अदालतको उक्त त्रुटिपूर्ण फैसला बदर गरी वादी दाबीबमोजिम न्यायोचित इन्साफ गरिपाउँ भन्नेसमेत व्यहोराको मिति २०५४।८।२५ गते पुनरावेदक वादीहरू तेतरी, महमद कलिम मियाँ र महमद सलिम मियाँले पुनरावेदन अदालत, विराटनगरमा दर्ता गरेको पुनरावेदनपत्र ।

यसमा यसै लगाउको दे.पु.नं. १२६१ को अंश मुद्दामा आज यसै इजलासबाट विपक्षी झिकाउने आदेश भएकाले प्रस्तुत मुद्दामा पनि छलफल निमित्त अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ बमोजिम विपक्षी झिकाई आएमा वा अवधि नाघेपछि नियमानुसार पेस गर्नु भन्ने मिति २०५४।११।२७ गते पुनरावेदन अदालतबाट भएको आदेश ।

पुनरावेदक महमद कलिम मियाँ र प्रत्यर्थी प्रतिवादी खैतुन नेसा, अम्बरलाल चौधरी र वंशी मियाँको हकमा वादी दाबी र पुनरावेदन जिकिर छोडी छोडाई ०५५।१।३१ को मिलापत्र भै मिसिल सामेल रहेको ।

यसमा वादीसमेतको अंश हक लाग्ने जग्गाहरू वादीको अंश हक मेट्ने मनसायबाट प्रेरित भै प्रतिवादी मध्येको प्रतिवादी अम्बरलाल माझीलाई मिति २०५१।१०।१८ मा राजिनामा पास गरी दिई पुनः प्रतिवादीमध्येको निज अम्बरलाल माझीले मिति २०५१।११।३० मा प्रतिवादीमध्येको वंशी मियाँको श्रीमती खैतुन नेसालाई बकसपत्र व्यहोराबाट पारित गरी दर्ता दा.खा. गराएको कृयाले वादीको अंश हक मेट्नका लागि जालसाज पूर्ण परिबन्द मिलाई जग्गा किनबेच तथा बकसपत्रद्वारा हक हस्तान्तरण गरेको प्रस्ट देखिँदा प्रतिवादीहरूले वादीको अंश हक मेट्न जालसाजी गरेको ठहर्छ । प्रतिवादीहरूलाई किर्ते कागजको १० नं. ले बिगो रू.२४०००।- को सयकडा २५ प्रतिशतले रू. ६०००।- जरिवाना हुन्छ । वादी दाबी पुग्दैन भनी सुरू सुनसरी जिल्ला अदालतले मिति २०५४।३।१६।२ मा गरेको फैसला उल्टी हुने ठहर्छ भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, विराटनगरको मिति २०५५।३।२९ को फैसला ।

म वंशी मियाँले आफूले आर्जन गरेका जग्गाहरू प्रतिवादी अम्बरलाललाई बिक्री गरेको 

हुँ । सोसम्पत्ति विपक्षीहरूको सगोलको नभएको कुरा वादीहरू अब्दुल रहमान र कलिम मियाँले अदालतमा गरेको मिलापत्रले पुष्टि भएको छ । म खैतुन नेसाले अम्बरलालको सेवा चाकरी गरेबापत निजको हक पुग्ने जग्गा बकसपत्र पाएको कार्य जालसाजी अपराध हुन नसक्ने हुँदा पुनरावेदन अदालत, विराटनगरबाट भएको फैसलामा किर्ते कागजको ३ नं. १० नं. अ.बं. १८४(क) समेतको त्रुटि हुँदा उक्त फैसला बदर गरी सफाइ पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादीहरू वंशी मियाँ र खैतुन नेसासमेतको यस अदालतमा मिति २०५६।०८।०७ मा दर्ता भएको संयुक्त पुनरावेदनपत्र ।

पुनरावेदन तहमा फैसला हुँदासम्म वादी सलिम मियाँको सम्म दाबी बाँकी रहन आएको देखिन्छ । तर फैसला गर्दा दाबीको सम्पूर्ण लिखतलाई जालसाजी ठहर गरेको देखिन्छ । तसर्थ वादीको दाबीभन्दा बाहिर गई पुनरावेदन अदालतबाट भएको फैसलामा किर्ते कागजको ३ नं. प्रमाण ऐन, २०३१ को दफा २५ तथा मुलुकी ऐन, अ.बं. ७३ नं.समेतको त्रूटी हुँदा उक्त फैसला बदर गरी सफाइ पाउँ भन्नेसमेत व्यहोराको अम्बरलाल माझीको यस अदालतमा मिति २०५६।०८।७ मा दर्ता भएको पुनरावेदनपत्र ।

पुनरावेदक प्रतिवादी वंशी मियाको २०५६।०९।२७ मा मृत्यु भई निजकी पत्नी पुनरावेदक खैतुन नेसाले मिति २०५६।११।२७ मा यस अदालतमा मुद्दा सकार गरेको देखिन्छ ।

यसमा यिनै पक्ष विपक्षसमेत भएको यसै लगाउको दे.पु.नं. ५६२४ को अंश चलन मुद्दामा विपक्षी झिकाउने आदेश भएकाले प्रस्तुत मुद्दामा समेत सोही मुद्दाका आधार कारणबाट अ.बं. २०२ नं.बमोजिम विपक्षी झिकाई आएपछि वा अवधि नाघेपछि पेस गर्नु भन्ने यस अदालतको मिति २०६०।२।१९ को 

आदेश ।

यसमा यसै मुद्दासँग लगाउको दे.पु.नं. ५६२४ को अंश मुद्दामा २ भागको १ भाग अंश वादीले पाउने ठहरी आजै यसै इजलासबाट फैसला भएको हुँदा सोही मुद्दामा उल्लेख भएको आधार प्रमाणबाट २ भागको १ भाग लिखत जालसाजी ठहर गर्नु पर्नेमा पुनरावेदन अदालत, विराटनगरले वादी दाबीबमोजिम सम्पूर्ण लिखत जालसाजी ठहर गरेको पुनरावेदन अदालत, विराटनगरको फैसला सो हदसम्म केही उल्टी हुने ठहर्छ भन्नेसमेत व्यहोराको यस अदालत संयुक्त इजलासबाट मिति २०६१।०१।१६ मा भएको फैसला ।

यस मुद्दाको फैसलामा उल्लिखित २०५६ सालको दे.पु.नं. ५६२४ को अंश मुद्दामा आजै पुनरावलोकनको निवेदन दर्ता गरेकाले सोमा उल्लिखित कारण र आधारलाई  यस निवेदनको अंश मानी यस मुद्दामा यस अदालतबाट मिति २०६१।०१।१६ मा भएको निर्णय सर्वोच्च अदालतद्वारा नै प्रतिपादित पूर्व नजिरसँग बाझिइ न्याय प्रशासन ऐन, २०४८ को दफा ११ को उपदफा १ को खण्ड (ख) को अवस्था विद्यमान भएकाले प्रस्तुत मुद्दामा पुनरावलोकन गरी हेरिपाउँ भन्ने वंशी मियाको मृत्यु भई निजको मु.स. गर्ने पत्नी खैतुन नेशाको मिति २०६३।०९।२७ मा यस अदालतमा निवेदन दर्ता भएको ।

यस मुद्दाको फैसलामा उल्लीखित २०५६ सालको दे.पु.नं. ५६२४ को अंश मुद्दामा प्रतिवादी खैतुन नेसाले आजै पुनरावलोकनको निवेदन दर्ता गरेकाले सोमा उल्लिखित कारण र आधारलाई यस निवेदनको अंश मानी  यस मुद्दामा यस अदालतबाट मिति २०६१।०१।१६ मा भएको निर्णय सर्वोच्च अदालतद्वारा नै प्रतिपादित पूर्व नजिरसँग बाझिइ न्याय प्रशासन ऐन, २०४८ को दफा ११ को उपदफा १ को खण्ड (ख) को अवस्था विद्यमान भएकाले प्रस्तुत मुद्दामा पुनरावलोकन गरी हेरिपाउँ भन्ने पुनरावेदक प्रतिवादी अम्बरलाल माझीको मिति २०६३।०९।२७ मा यस अदालतमा निवेदन दर्ता भएको ।

यसमा यसै लगाउको पु.नि.नं. १२० को अंशचलन मुद्दामा ने.का.प. २०४३, नि.नं. २८३४, पृष्ठ ८४३ र ने.का.प. २०४५, नि.नं. ३४८०, पृष्ठ ५४८ मा प्रतिपादित सिद्धान्तविपरीत वादीले तीन भागको एक भाग अंश पाउनेमा दुई भागको एक भाग पाउने भनी फैसला भएको हुँदा न्याय प्रशासन ऐन, २०४८ को दफा ११(१) को खण्ड (ख) बमोजिम यस इजलासबाट आजै पुनरावलोकन गरी हेर्ने निस्सा प्रदान भएको अवस्था छ । लगाउको अंश मुद्दाको फैसलाको आधारमा प्रस्तुत मुद्दामा पनि दुई भागको एक भाग लिखत जालसाज ठहर भएकामा उक्त अंश मुद्दामा पुनरावलोकनको निस्सा कायम रहने गरी फैसला भएमा अंश भागमा परिवर्तन हुने भई प्रस्तुत मुद्दाको निर्णयसमेत प्रभावित हुने भएकाले विवादित विषयवस्तु र निर्णय दिनुपर्ने प्रश्नसमेत समान रहेको हुँदा लगाउको उक्त मुद्दामा ग्रहण गरिएको आधार बुँदा एवम् नजिर सिद्धान्तसमेतबाट प्रस्तुत मुद्दामा पनि न्याय प्रशासन ऐन, २०४८ को दफा ११ को उपदफा (१) को खण्ड (ख) बमोजिम पुनरावलोकन गरी हेर्ने निस्सा प्रदान गरिएको छ भन्ने व्यहोराको दुवै पुनरावेदनमा एकै किसिमको यस अदालत पूर्ण इजलासबाट मिति २०६५।०५।२० मा आदेश भएको ।

नियमबमोजिम दैनिक पेसी सूचीमा चढी पेस भएको प्रस्तुत मुद्दा र लगाउमा रही साथै पेस भएका अंश चलन र लिखत बदर मुद्दाहरूसमेत अध्ययन गरियो ।

हाम्रोसमेत अंश हक लाग्ने सगोलको आर्जनबाट खरिद गरी सगोलमै भोगचलन गरी आएको जिल्ला सुनसरी सिमरिया गा.वि.स. वडा नं. ५(क) कि.नं. १७०, कि.नं. १०८ र ऐ.औरावती गा.वि.स. वडा नं. ९(ग) कि.नं. ९१ र कि.नं. ९३ समेतको जग्गा थैली रू. २४०००।– राखी विपक्षीमध्येका वंशी मियाँले विपक्षीमध्येका अम्बरलाल  माझीलाई र.नं. ७४९७ मिति २०५१।१०।१८ मा राजिनामा गरिदिई निज अम्बरलाल र.नं. १०५२२ बाट मिति २०५१।११।३० मा हालैको बकसपत्र लिखत पास गराई विपक्षी खैतुन नेसाले जालसाजपूर्ण तवरले लिई हाम्रो हक मार्न खोजेको हुँदा जालसाजीमा सजाय गरिपाउँ भन्ने वादीहरूको दाबी भएकामा हामीहरूको निजी आर्जनबाट खरिद गरिएका जग्गाहरू आपसी व्यवहार चलाउन बिक्री गरिएको कार्य जालसाजी होइन झुठ्ठा दाबीबाट फुर्सद पाउँ भन्ने प्रतिवादीमध्येको वंशी मिया र खैतुन नेसाको संयुक्त प्रतिउत्तर तथा वादीहरूको हकै नलाग्ने सम्पत्ति मैले लिए दिएको हुँदा जालसाजीमा सजाय हुनुपर्ने होइन भन्ने प्रतिवादी अम्बरलाल माझीको प्रतिउत्तर जिकिर रहेको पाइन्छ । सुरू सुनसरी जिल्ला अदालतबाट वादी दाबी नपुग्ने ठहरी भएको फैसलाउपर वादीहरूको पुनरावेदन अदालतमा पुनरावेदन परेकामा सुरू फैसला उल्टी भै सम्पूर्ण लिखत जालसाजी ठहर गरी लिखतमा उल्लिखित बिगो रू.२४,०००।– को किर्ते कागजको १० नं. अनुसार सयकडा २५ प्रतिशतले हुने रू.६,०००।- जरिवानासमेत हुने ठहरी पुनरावेदन अदालतबाट फैसला भएको देखियो ।

पुनरावेदन अदालतको फैसलाउपर निजी आर्जनको जग्गा बिक्री गरेको व्यवहारलाई जालसाजी ठहर गरेको मिलेन भन्ने प्रतिवादी वंशी मिया र खैतुन नेसा तथा पुनरावेदन तहसम्म वादीहरूमध्ये सलिम मियाँको सम्म दाबी बाँकी रहेकामा सम्पूर्ण लिखत जालसाजी ठहर गरेको पुनरावेदन अदालतको फैसला मिलेन भनी प्रतिवादीमध्येको अम्बरलाल माझीले पुनरावेदनमा जिकिर लिएको पाइयो । २ भागको १ भाग लिखतसम्म जालसाजी ठहर गर्नुपर्नेमा पूरै लिखत जालसाजी ठहर गरेको पुनरावेदन अदालतको फैसला सो हदसम्म केही उल्टी हुने ठहरी यस अदालत संयुक्त इजलासबाट फैसला भएको देखिन्छ । यस अदालत संयुक्त इजलासबाट भएको फैसला यस अदालतबाट प्रतिपादित पूर्व नजिरसँग बाझिएको हुँदा लगाउको अंश मुद्दामा लिएका जिकिर आधार प्रमाणका आधारमा पुनरावलोकन गरी हेरिपाउँ भनी प्रतिवादी वंशी मियाको मु.स. गर्ने खैतुन नेसा र अम्बरलाल माझीको छुट्टाछुट्टै निवेदन परेकामा अंश मुद्दामा पुनरावलोकन गरी हेर्ने निस्सा प्रदान भएको र उक्त मुद्दामा पुनरावलोकनको निस्सा कायम रहने गरी फैसला भएमा प्रस्तुत मुद्दाको निर्णयसमेत प्रभावित हुने भएकाले न्याय प्रशासन ऐन, २०४८ को दफा ११ को उपदफा १ को खण्ड (ख) बमोजिम यस अदालत पूर्ण इजलासबाट पुनरावलोकन गरी हेर्ने निस्सा प्रदान भएको देखियो ।

प्रस्तुत मुद्दामा पुनरावेदन अदालतबाट भएको फैसला केही उल्टी गरी २ भागको १ भागको हदसम्म लिखत जालसाजी ठहर गरी यस अदालत संयुक्त इजलासबाट मिति २०६१।१।१६ मा भएको फैसला मिलेको छ छैन र यस अदालतबाट प्रतिपादन भएका निस्सा प्रदान गर्ने आदेशमा उद्धृत गरिएका नजिरहरूको विपरीत फैसला भएको छ छैन भन्ने सम्बन्धमा नै निर्णय गर्नुपर्ने देखियो ।

२. यसमा निर्णयतर्फ विचार गर्दा पुनरावेदक प्रतिवादीमध्येको वंशी मियाँको मु.स. गर्ने खैतुन नेसा र वादीहरू तेतरी मियायिन महमद कलिम मियाँ र महमद सलिम मियाँबीच एकै परिवारका सासूबुहारी र देवर जेठाजु नाता पर्ने कुरामा विवाद छैन । वादी प्रतिवादीबीचमा विधिवत् अंशबन्डाको लिखत पारित गरी छुट्टि भिन्ने नभएको भन्ने तथ्यमा पनि निजहरूको मुख मिलेकै देखिन्छ । राजिनामा र बकसपत्रको लिखतहरू जालसाजी घोषित गरिपाउँ भनी वादीहरूले दाबी गरेपनि यिनै लिखतहरू बदर गरी आफ्नो हकसम्म दर्तासमेत गरिपाउँ भनी वादीहरूले दाबी लिएको लिखत बदर मुद्दा साथै रही पेस भएकामा लगाउको अंश मुद्दामा फैसला गर्दा लिइएका आधार र कारणसमेतको आधारमा यस अदालत संयुक्त इजलासबाट भएको फैसलामा अंश मुद्दाको प्रतिवादी महमद इस्लाम खाँ छुट हुन गएको देखिई अंशबन्डा हुन बाँकी वादी महमद सलिम मियाँ,  वंशी मियाँको मु.स. गर्ने खैतुन नेसा र प्रतिवादी महमद इस्लाम खाँसमेतका तीन अंसियारा कायम हुन आएको पाइन्छ । उक्त लगाउको ०६५-NF-०१६ र ०६५-NF-०१७ को लिखत दर्ता बदर दर्ता कायम मुद्दामा आज यसै इजलासबाट यस अदालत संयुक्त इजलासबाट मिति २०६१।१।१६ र मिति २०६१।८।३० मा भएका फैसला केही उल्टी हुने ठहरी दाबीको राजिनामा र हालैको बकसपत्र लिखतमध्येबाट ३ भागको १ भाग लिखत बदर भै वादीमध्येको महमद सलिम मियाले दर्तासमेत गरी लिन पाउने ठहरी फैसला भई उक्त मुद्दाबाट वादीले उपचार पाइसकेको देखिन्छ ।

३. एउटै लिखत विरूद्ध दुई विषयमा छुट्टाछुट्टै मुद्दा गर्न पाउने गरी कानूनले दुई बाटो प्रदान गरेकामा कुनै एक वा दुवै बाटो रोज्ने अधिकार वादीको हुन्छ । प्रस्तुत मुद्दाको विवादित लिखतका आधारमा वादीले देवानीतर्फ लिखत बदर र फौजदारीतर्फ जालसाजी मुद्दा लिई आएको देखियो । यसरी दुई विषयमा नालेस परेको अवस्थामा अदालतले निर्णय गर्दा मुद्दामा भएको तथ्य, उपचारको प्रकृति, हानि नोक्सानीको परिपूरण हुन सक्ने नसक्ने अवस्था र दुईमध्ये मुलभूत उपचार के हुन सक्छ जस्ता यावत् कुरामा दृष्टि पुर्‍याई निर्णय गर्नु न्यायोचित हुन्छ । प्रस्तुत मुद्दामा जालसाजी घोषित गरी सजायसमेत हुन दाबी गरेको लिखत र लगाउको लिखत बदर मुद्दामा आफ्नो हकसम्म लिखत बदर गर्न दाबी गरेका राजिनामा र बकसपत्रका लिखत उही रहेको र लिखत बदर दर्तासमेतको मुद्दामा भएको फैसलाबाट वादीको हकजति लिखत बदर भई दर्तासमेत हुने गरी वादीले कानूनी उपचार प्राप्त गरी निजको हक स्थापित भइरहेको र हक मेटिने कार्य नभएको स्थितिमा हक मेटिने कार्य भयो भनी जालसाजीमा सजाय गर्न मनासिब हुने देखिएन ।

४. तसर्थ माथि उल्लिखित आधार र कारणसमेतबाट दाबीमा उल्लिखित लिखतमध्येबाट २ भागमध्येको १ भागको हदसम्म लिखत जालसाजी ठहर गरी यस अदालत संयुक्त इजलासबाट मिति २०६१।१।१६ मा भएको फैसला उल्टी भै जालसाजीतर्फको वादीको दाबी पुग्न नसक्ने ठहर्छ । अरू तपसिलबमोजिम गर्नू । 

तपसिल

माथि इन्साफ उल्लेख भएबमोजिम यस अदालत संयुक्त इजलासबाट मिति २०६१।१।१६ मा भएको फैसला उल्टी भै वादी दाबी नपुग्ने ठहरी फैसला भएकाले उक्त फैसलाबमोजिम जरिवानातर्फ राखेको लगत कट्टा गरिदिनु भनी सुरू सुनसरी जिल्ला अदालतमा लगत दिनू ............................................................१

पुनरावेदक प्रतिवादीहरूले पुनरावेदन अदालत, विराटनगरको फैसलाउपर यस अदालतमा पुनरावेदन दर्ता गर्दा पुनरावेदन अदालतबाट भएको फैसलाबमोजिम र.नं. ३२३३, ३२३४ र ३२३५ बाट मिति २०५५।११।२५ मा सुनसरी जिल्ला अदालतमा रू.२।२ हजारका दरले रू.६०००।– जरिवाना बुझाएको र उक्त जरिवाना यस अदालतबाट भएको प्रस्तुत फैसलाअनुसार नलाग्ने हुँदा उक्त रकम दिलाई पाउँ भनी पुनरावेदक प्रतिवादीहरूले ऐनको म्यादभित्र दरखास्त दिए कानूनबमोजिम गरी दिलाई दिनु भनी सुरू सुनसरी जिल्ला अदालतमा लगत दिनू ...........२

दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाइदिनू .....................................................३

 

उक्त रायमा सहमत छौं ।

ओमप्रकाश मिश्र

न्या. देवेन्द्र गोपाल श्रेष्ठ

 

इति संवत् २०७१ साल माघ १५ गते रोज ५ शुभम् ।

इजलास अधिकृत : कपिलमणि गौतम

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु