शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९३९३ - जबर्जस्ती करणी

भाग: ५७ साल: २०७२ महिना: भाद्र अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

सम्माननीय प्रधानन्यायाधीश श्री रामकुमार प्रसाद शाह

माननीय न्यायाधीश श्री दीपकराज जोशी

फैसला मिति : २०७१।८।१७।४

०६९-CR-०२०८

 

मुद्दा : जबर्जस्ती करणी ।

 

पुनरावेदक/प्रतिवादी : जिल्ला दोलखा, नाम्दु गा.वि.स. वडा नं. ६ घर भई हाल जिल्ला कारागार कार्यालय चरिकोट दोलखामा थुनामा रहेको सुब्बा भन्ने धनराज खड्का

विरूद्ध

प्रत्यर्थी/वादी : “ग” कुमारको जाहेरीले नेपाल सरकार

 

मौकामा गरेको साबिती बयानलाई अन्य प्रमाणबाट समर्थित भएको तथ्यगत अवस्था मिसिल संलग्न प्रमाणहरूबाट स्पष्टरूपमा पुष्टि भएको अवस्थामा अदालतको इन्कारी बयानबाटमात्र प्रतिवादी बेकसुर रहेको मान्न नहुने ।

(प्रकरण नं. ६) 

घटनाबाट पीडितले र सो घटना प्रत्यक्ष देख्ने प्रत्यक्षदर्शीले मौकामा घटना भएको तत्कालैपछि यिनै प्रतिवादीले पीडितलाई जबर्जस्ती करणी गरेको भन्ने उल्लेख गरी कागज गरिदिएको अवस्थामा अदालतमा उपस्थित भई बकपत्र गर्दा बनावटी कुरा उल्लेख गरी वास्तविक तथ्यलाई लुकाउने र कसुरदारलाई सजायबाट उन्मुक्ति दिलाउने प्रयत्न गरिन्छ भने त्यस्तो बनावटी कुरालाई सत्य एवम् साँचो मानी कसुरदारलाई उन्मुक्ति प्रदान गर्न नमिल्ने ।

सङ्कलित सबूद एवम् प्रमाणहरूबाट जबर्जस्ती करणीको वारदात स्थापित भई प्रमाणको शृङ्खलाबद्ध कडीहरूबाट प्रतिवादी कसुरदार देखिएको अवस्थामा मौकामा कागज गर्ने व्यक्तिहरूले आफ्नो पूर्व भनाइ प्रतिकूल हुने गरी अदालतमा गरेको बकपत्र प्रतिवादीलाई उन्मुक्ति दिने आधार हुन नसक्ने ।

(प्रकरण नं. ८)

 

पुनरावेदक / प्रतिवादीको तर्फबाट :

प्रत्यर्थी / वादीको तर्फबाट : 

अवलम्बित नजिर :

सम्बद्ध कानून : 

जबर्जस्ती करणीको महलको ३(५), ३क नं. 

प्रमाण ऐन, २०३१ को दफा १०(१)(क) र (ख)

 

सुरू तहमा फैसला गर्ने : 

मा.जि.न्या. श्री रामचन्द्र राई 

पुनरावेदन तहमा फैसला गर्ने : 

मा.न्या. श्री सुरेन्द्रवीर सिंह बस्न्यात 

मा.न्या. श्री रामचन्द्र यादव

 

फैसला

न्या. दीपकराज जोशी : पुनरावेदन अदालत, पाटनको मिति २०६८।९।२६ को फैसलाउपर न्याय प्रशासन ऐन २०४८ को दफा ९(१)(ख) बमोजिम प्रतिवादीतर्फबाट यस अदालतमा पुनरावेदन परेको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य र ठहर यसप्रकार छ :

विशेष प्रकृतिका मुद्दाहरूको कारवाहीमा पक्षको गोपनीयता कायम राख्नेसम्बन्धी कार्यविधि निर्देशिका २०६४ बमोजिम प्रस्तुत मुद्दाको जाहेरवाला, पीडित र पीडितको बाबुको परिचयात्मक विवरण गोप्य राखिएको छ । 

मिति २०६७।६।१९ गते बिहान ९.०० बजेको समयमा मेरी बहिनी कान नसुन्ने, बोल्न नसक्ने वर्ष ४६ की “क” कुमारी (परिवर्तित नाम) लाई घाँस काट्न खेतमा गएको समयमा एक्लै पारी सुब्बा भन्ने धनराज खड्काले जबर्जस्ती करणी गरेको कुरा बाबु “ख” कुमार (परिवर्तित नाम) लाई इसारामार्फत भनेकाले निज सुब्बा भन्ने धनराज खड्कालाई कानूनबमोजिम कारवाही गरिपाउँ भन्नेसमेत व्यहोराको “ग” कुमार (परिवर्तित नाम) को जाहेरी दरखास्त । 

दोलखा जिल्ला, क्षेत्रपा गा.वि.स. वडा नं. १ स्थित दिलबहादुर श्रेष्ठको धानखेतको घाँस लतारपतार भै धानसमेत माडिएको अवस्थामा रहेको र सो स्थानमा “क” कुमारीलाई धनराज खड्काले जबर्जस्ती करणीको भन्नेसमेत व्यहोराको घटनास्थल प्रकृति मुचुल्का । 

पीडितको मिति २०६७।६।२१ को स्वास्थ्य परीक्षण प्रतिवेदन पेस भै मिसिल संलग्न रहेको । 

मिति २०६७।६।१९ गते क्षेत्रपाबाट घर फर्कने क्रममा “क” कुमारी एक्लै खेतमा घाँस काट्न लागेको देखी मैले जबर्जस्ती समाती लडाई निजले लगाएको फरिया पेटिकोट माथि सारी आफ्नो पाइन्ट खोली मेरो लिङ्ग निज “क” कुमारीको योनीमा आधा पसाएपछि निज कराएको आवाज सुनी नजिकै घाँस काटिरहेको धनलक्ष्मी श्रेष्ठले मलाई देखेको कारण म भागेको थिएँ । उक्त दिन मैले २ कचौरा जाँड खाएको र सोही जाँडको नशामा निजलाई जबर्जस्ती करणी गर्न पुगेछु भन्नेसमेत व्यहोराको प्रतिवादी सुब्बा भन्ने धनराज खड्काले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान । 

उस्तै अनुहार, उमेर र भेषका ४ जना व्यक्तिहरूलाई एक पङ्क्तिमा उभ्याई मलाई देखाउँदा दायाँबाट दोस्रो व्यक्ति सुब्बा भन्ने धनराज खड्काले नै मलाई जबर्जस्ती करणी गरेका हुन् भन्नेसमेत व्यहोराको पीडित “क” कुमारीले गरिदिएको कागज । 

मिति २०६७।६।१९ गतेका दिन बिहान अं. ९ बजेको समयमा बोल्न नसक्ने र कान नसुन्ने “क” कुमारीलाई सुब्बा भन्ने धनराज खड्काले घाँस काट्न एक्लै खेतमा गएको बखत जबर्जस्ती करणी गरेको भन्ने जानकारी मैले फोनमार्फत पाएको हुँ र निजले यस घटनाभन्दा पहिला पनि यस्ता किसिमका घटनाहरू पटकपटक घटाउने गर्दथ्यो भन्नेसमेत व्यहोराको शिव भुजेलले गरिदिएको कागज ।

मिति २०६७।६।१९ गतेका दिन बिहान अं. ९ बजेको समयमा म धानखेतमा घाँस काटिरहेको अवस्थामा अचानक मानिस चिच्याएको आवाज सुनी के भएछ भनी यताउता हेर्दा प्रतिवादी सुब्बा भन्ने धनराज खड्काले “क” कुमारीलाई धानखेतमा लडाई जबर्जस्ती करणी गरिरहेको देखी लाटो मानिसलाई किन यसरी जबर्जस्ती गरेको भन्नासाथ निज सुब्बा भन्ने धनराज खड्का भाग्दै मैले जबर्जस्ती करणी गरेको होइन, लडेको कारण उठाइदिएको हो भनी घटनास्थलबाट फरार भयो र प्रतिवादीले पीडितलाई जबर्जस्ती करणी गरेको खुद मेरो आँखाले देखेको हुँ भन्नेसमेत व्यहोराको धनलक्ष्मी श्रेष्ठको कागज । 

मिति २०६७।६।१९ गतेका दिन बिहान अं. ९ बजेको समयमा मेरो छोरीलाई सुब्बा भन्ने धनराज खड्काले जबर्जस्ती करणी गरेको र मलाई देख्ने बित्तिकै प्रतिवादी घटनास्थलबाट भागेको भनी धनलक्ष्मी श्रेष्ठले मलाई भनेपछि छोरीलाई सोधपुछ गर्दा छोरीले इसारा गर्दै मलाई जबर्जस्ती करणी गरेको भनेपछि घटनास्थलमा गई हेर्दा धानखेतमा धान माडिएको अवस्थामा रहेको र निज प्रतिवादीले यसभन्दा अघि पनि गाउँमा यस्ता घटनाहरू घटाइरहेको थियो भन्नेसमेत व्यहोराको दिलबहादुर श्रेष्ठले गरिदिएको कागज । 

प्रतिवादीले मिति २०६७।६।१९ गतेका दिन कान नसुन्ने र बोल्न नसक्ने वर्ष ४६ की अपाङ्ग “क” कुमारीलाई खेतमा घाँस काट्न गएको अवस्थामा एक्लो भएको मौकापारी जबर्जस्ती करणी गरेको पुष्टि हुन आएकाले जबर्जस्ती करणी महलको १ नं. बमोजिमको कसुरजन्य कार्य भएको हुँदा निज सुब्बा भन्ने धनराज खड्कालाई सोही जबर्जस्ती करणी महलको ३ नं. को देहाय ५ नं. बमोजिम सजाय गरी सोही महलको ३(क) नं. बमोजिम थप सजायसमेत गरिपाउँ भन्नेसमेत व्यहोराको अभियोग मागदाबी । 

मैले “क” कुमारीलाई जबर्जस्ती करणी गरेको होइन । प्रहरीमा गरेको बयान मलाई डरत्रास देखाई जबर्जस्ती करणी गरेको हो भन् भनी बयान गराई जबर्जस्ती सही गराएका हुन्, मैले अपराध गरेको छैन । अभियोग माग दाबीअनुसार मलाई सजाय हुनुपर्ने हैन भन्नेसमेत व्यहोराको प्रतिवादी सुब्बा भन्ने धनराज खड्काले सुरू अदालतमा गरेको बयान । 

प्रतिवादीले जबर्जस्ती करणी गरेको हैन, के कस्तो व्यहोरा लेखेँ, मैले भनेको व्यहोरा हैन भन्नेसमेत व्यहोराको पीडित “क” कुमारीले सुरू अदालतमा गरेको बकपत्र । 

रिसइवीको कारणबाट यो झुठ्ठा जाहेरी दिएका हुन् । प्रतिवादी जङ्गलको रेखदेख गर्ने काम गर्दथे र घाँस दाउरा खोसेको कारण दुःख दिने नियतबाट जाहेरी दिएका हुन् । अन्य केही पनि थाहा छैन भन्नेसमेत व्यहोराको प्रतिवादीका साक्षी दुर्गाबहादुर खड्कासमेतले सुरू अदालतमा गरेको बकपत्र । 

मैले शङ्काको भरमा जाहेरी दिएछु । मैले पछि गाउँ घरमा बुझ्दा प्रतिवादीले त्यस्तो कार्य गरेको रहेनछन् भन्नेसमेत व्यहोराको जाहेरवाला “ग” कुमारले सुरू अदालतमा गरेको बकपत्र । 

त्यो कुरा मलाई केही पनि थाहा छैन प्रहरीमा गरेको कागज र सहिछाप मेरो हो भन्नेसमेत व्यहोराको धनलक्ष्मी श्रेष्ठले सुरू अदालतमा गरेको बकपत्र । 

मिति २०६८।१।२५ को स्वास्थ्य परीक्षण प्रतिवेदन पेस भै मिसिल संलग्न रहेको । 

पीडित “क” कुमारीको शारीरिक परिक्षणबाट कन्याजाली नच्यातिएको, यौनाङ्ग नसुन्निएको, शरीरमा चोटपटक निलडाम नदेखिएको र शुक्रकिट नभेटिएको अवस्था भए तापनि शारीरिक परीक्षणबाट भेस्टिबुलको ७”०” ल्कोकमा खोस्रिएको देखिन्छ । उपरोक्त आधारसमेतलाई दृष्टिगत गर्दा अभियुक्तले पीडितलाई कथित वारदात मिति, समय र स्थानमा जबर्जस्ती करणी गरेको पुष्टि हुन आएकाले निज प्रतिवादी सुब्बा भन्ने धनराज खड्काले अभियोगपत्रबमोजिमको कसुर अपराध गरेको ठहर्छ । सो ठहर्नाले निजलाई जबर्जस्ती करणीको ३(५) नं. बमोजिम ५ वर्ष कैद सजाय हुने र पीडित कान नसुन्ने, बोल्न नसक्ने अपाङ्ग भन्ने देखिँदा ऐ. महलको ३क नं. बमोजिम थप ५ वर्षसमेत कैद सजाय हुने र क्षतिपूर्तिबापत रू २५,०००।– प्रतिवादीबाट पीडितलाई दिलाई भराईदिने ठहर्छ भन्नेसमेत व्यहोराको दोलखा जिल्ला अदालतको मिति २०६८।२।१९ को फैसला । 

म प्रतिवादी धनराज खड्काले कथित पीडित भनिएको व्यक्तिलाई जबर्जस्ती करणी गरे भनिएको ठाउँमा प्रमाणमा लाग्ने मेरो कुनै पनि चिजवस्तु बरामद भएको छैन । पीडित भनिएको व्यक्तिले प्रतिकार गर्दा ममाथि लागेको कुनै घाउचोट, निलडाम, लुगा च्यातिएको अवस्था छैन । डाक्टरी जाँच गर्दासमेत जाहेरीबमोजिमको कुनै प्रमाण चिह्न नपाइएको अवस्थामा सुरू जिल्ला अदालतले मेरो विरूद्धमा गरेको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी म प्रतिवादीलाई पूर्णरूपमा सफाइ दिलाई पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादीको पुनरावेदन अदालत, पाटनमा परेको पुनरावेदनपत्र । 

पीडित स्वयम् प्रतिवादीले आफूलाई जबर्जस्ती करणी गरेको होइन भनी अदालतमा बकपत्र गरेको अवस्थामा प्रतिवादीले आरोपित कसुर गरेको ठहर गरी सजाय गर्ने गरेको सुरू अदालतको फैसला फरक पर्न सक्ने देखिँदा अ.बं. २०२ नं. बमोजिम प्रत्यर्थी नेपाल सरकारलाई पेसीको सूचना दिनु भन्नेसमेत व्यहोराको पुनरावेदन अदालतको आदेश । 

प्रतिवादी सुब्बा भन्ने धनराज खड्कालाई आरोपित कसुर कायम गरी मुलुकी ऐन जबर्जस्ती करणीको महलको ३(५) नं. बमोजिम ५ वर्ष कैद सजाय भई पीडित “क” कुमारी अपाङ्ग भएकाले ऐ. महलको ३(क) नं. बमोजिम थप ५ वर्ष कैद सजाय हुने र क्षतिपूर्तिबापत रू २५०००।– प्रतिवादीबाट पीडितलाई दिलाई भराई दिने ठहराएको सुरू दोलखा जिल्ला अदालतको फैसला मिलेकाले सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत, पाटनको मिति २०६८।९।२६ को फैसला । 

पुनरावेदन अदालतको फैसलामा चित्त बुझेन । अनुसन्धानको क्रममा मलाई कुटपिट गरी डरत्रासमा पारी जबर्जस्ती बयान गराई सहिछाप गराईएको हो । उक्त व्यहोरा मेरो होइन भनी कसुरमा इन्कार रही अदालतमा बयान गरेको छु । अदालतमा जाहेरवाला र पीडित भनिएकी “क” कुमारीसमेतले मैले जबर्जस्ती करणी नगरेको भनी बकपत्र गरेका छन् । “क” कुमारीको शारीरिक परीक्षणबाट पनि जबर्जस्ती करणी भएको नदेखिएको अवस्थामा मलाई आरोपित कसुरबाट सफाइ दिनुपर्नेमा कसुरदार ठहराई भएको सुरू फैसला सदर गरेको पुनरावेदन अदालत, पाटनको फैसला त्रुटिपूर्ण भएकाले उल्टी गरी सफाइ पाउँ भन्ने प्रतिवादीको यस अदालतमा परेको पुनरावेदनपत्र । 

नियमबमोजिम दैनिक पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदनसहितको मिसिल अध्ययन गरियो । प्रस्तुत मुद्दामा प्रतिवादीलाई कसुरदार ठहराई सजाय गर्ने र पीडितलाई क्षतिपूर्तिसमेत भराईदिने ठहराएको सुरू फैसला सदर गरेको पुनरावेदन अदालतको फैसला मिलेको छ वा छैन र प्रतिवादीको पुनरावेदन जिकिर पुग्ने हो वा होइन भन्ने निर्णय दिनुपर्ने देखिन आयो । 

२. निर्णयतर्फ विचार गर्दा प्रतिवादी सुब्बा भन्ने धनराज खड्काले कान नसुन्ने र बोल्न नसक्ने अपाङ्ग “क” कुमारीलाई खेतमा घाँस काट्न गएको अवस्थामा एक्लो भएको मौका पारी जबर्जस्ती करणी गरेको पुष्टि भएकाले प्रतिवादीलाई जबर्जस्ती करणीको महलको १ नं. विपरीतको कसुरमा सोही महलको ३(५) नं. बमोजिम सजाय गरी अपाङ्गलाई जबर्जस्ती करणी गरेकामा सोही महलको ३क नं. बमोजिम थप सजायसमेत गरी पीडितलाई क्षतिपूर्तिसमेत दिलाई पाउँ भन्ने अभियोजन पक्षको अभियोग दाबी रहेको पाइन्छ । सुरू दोलखा जिल्ला अदालतले प्रतिवादीले पीडितलाई जबर्जस्ती करणी गरेको ठहराई जबर्जस्ती करणीको महलको ३(५) नं. बमोजिम ५ वर्ष कैद सजाय गरी पीडित कान नसुन्ने र बोल्न नसक्ने अपाङ्गसमेत भएकाले सोही महलको ३क नं. बमोजिम थप ५ वर्ष कैद सजाय हुने र पीडितलाई क्षतिपूर्तिबापत रू.२५०००।– प्रतिवादीबाट दिलाई भराई दिने ठहराएको फैसला पुनरावेदन अदालत, पाटनले सदर गरेउपर प्रतिवादीको यस अदालतमा पुनरावेदन परी निर्णयार्थ यस इजलाससमक्ष पेस हुन आएको रहेछ । 

३. यससम्बन्धमा प्रस्तुत मुद्दाको मिसिल हेर्दा प्रतिवादी सुब्बा भन्ने धनराज खड्काले जाहेरवालाको वर्ष ४६ को कान नसुन्ने र बोल्न नसक्ने अपाङ्गता भएकी बहिना पीडित “क” कुमारी (परिवर्तित नाम) लाई खेतमा घाँस काट्न गएको समयमा जबर्जस्ती करणी गरेको कुरा बाबु “ख” कुमारलाई इशारामार्फत भनेकाले प्रतिवादीलाई कानूनी कारवाही गरिपाउँ भनी जाहेरवाला “ग” कुमारको किटानी जाहेरी दरखास्त परेको देखिन्छ । उक्त वारदात प्रत्यक्षरूपमा देख्ने धनलक्ष्मी श्रेष्ठले अनुसन्धानको क्रममा कागज गर्दा आफू पनि उक्त दिन खेतमा घाँस काट्दै गरेको अवस्थामा मानिस चिच्याएको आवाज सुनी के भएको रहेछ भनी हेर्दा यी प्रतिवादीले पीडित “क” कुमारीलाई धानखेतमा लडाई जबर्जस्ती करणी गरेको देखी किन लाटी मानिसलाई जबर्जस्ती गरेको भनेपछि निज प्रतिवादी भागेको आफूले आफ्नै आँखाले प्रत्यक्षरूपमा देखेको भन्ने उल्लेख गरेको पाइन्छ । पीडित “क” कुमारीले आफूलाई यिनै प्रतिवादी सुब्बा भन्ने धनराज खड्काले जबर्जस्ती करणी गरेको भनी कागज गरी प्रतिवादीलाई सनाखतसमेत गरेको पाइन्छ । प्रतिवादीले अनुसन्धानको क्रममा बयान गर्दा वारदात भएको दिन पीडित “क” कुमारी खेतमा घाँस काटिरहेको बेला जबर्जस्ती गरी पीडितलाई करणी गरिरहेको समयमा पीडितले चिच्याउन थालेपछि धनलक्ष्मी श्रेष्ठले थाहा पाएको कारण घटनास्थलबाट भागेको भन्ने उल्लेख गरेको देखिन्छ । 

४. पीडित “क” कुमारीलाई यी प्रतिवादीले करणी गरेको कुरा धनलक्ष्मी श्रेष्ठले मलाई भनेपछि छोरीलाई सोधपुछ गर्दा इसाराले आफूलाई जबर्जस्ती करणी गरेको भनेपछि घटनास्थलमा गई हेर्दा धानखेत माडिएको अवस्था रहेको भन्ने पीडितको बाबु “ख” कुमारले मौकामा कागज गर्दा व्यक्त गरेको देखिन्छ । वारदात भएको स्थानमा धानखेतको घाँस लतारपतार भै धानसमेत माडिएको अवस्थामा रहेको भन्ने घटनास्थलको प्रकृति मुचुल्काबाट देखिएको छ । 

५. वस्तुतः जाहेरवालाको जाहेरी दरखास्त, पीडितको मौकाको भनाइ, प्रत्यक्षदर्शीको घटना विवरण उल्लेख गरेको कागज, घटनास्थलको प्रकृति मुचुल्का एवम् उल्लिखित घटनालाई प्रतिवादीको मौकाको बयानबाटसमेत स्वीकारोक्ति भएको तथ्य र प्रमाणहरू एक आपसमा शृङ्खलाबद्धरूपमा रहेको देखिएकाले अनुसन्धानको क्रममा तयार भएको उपर्युक्त लिखतहरू प्रमाणको रूपमा ग्रहण गर्न मिल्ने देखिन आउँछ । प्रस्तुत मुद्दाको मिसिल संलग्न वारदातको उपर्युक्त तथ्यगत अवस्थालाई विश्लेषण गरी हेर्दा यी प्रतिवादीले पीडित “क” कुमारीलाई जबर्जस्ती करणीको वारदात गरेको भन्ने कुरा स्थापित हुन आउँछ ।

६. जहाँसम्म प्रतिवादीले अदालतको बयानमा कसुरमा इन्कार रही पीडित एवम्‌ प्रत्यक्षदर्शीले समेत अदालतको बकपत्रमा जबर्जस्ती करणी नगरेको भनी बकपत्र गरेकाले आफूले सफाइ पाउनु पर्ने भनी प्रतिवादीले पुनरावेदनपत्रमा लिएको जिकिर छ सोसम्बन्धमा विचार गर्दा प्रतिवादीले अदालतको बयानमा पीडितलाई जबर्जस्ती करणी गरेको कुरामा इन्कार रही अनुसन्धानको क्रममा भएको आफ्नो बयान कुटपिट गरी इच्छाविपरीत गराईएको भन्ने जिकिर लिएको देखिए पनि मौकामा भएको निजको बयान निजको इच्छा प्रतिकूल जबर्जस्ती गराईएको भन्ने कुराको कुनै आधार प्रतिवादीले दिन सकेको पाइँदैन । निजले मौकामा गरेको साबिती बयानलाई अन्य प्रमाणबाट समर्थित भएको तथ्यगत अवस्था मिसिल संलग्न प्रमाणहरूबाट स्पष्टरूपमा पुष्टि भएको अवस्थामा अदालतको इन्कारी बयानबाट मात्र प्रतिवादी बेकसुर रहेको मान्न मिल्ने हुँदैन ।

७. पीडित र घटना प्रत्यक्ष देख्ने धनलक्ष्मी श्रेष्ठ र जाहेरवाला “ग” कुमारले अदालतमा बकपत्र गर्दा अनुसन्धानको क्रममा व्यक्त गरेको आफ्नो व्यहोराको प्रतिकूल बकपत्र गरेको देखिए पनि प्रमाण ऐन २०३१ को दफा १०(१)(क) र (ख) बमोजिम घटनाको तत्काल अघि वा पछि घटना भएको प्रत्यक्ष देख्ने वा थाहा पाउने वा घटनाबाट पीडित भएको व्यक्तिले घटना सम्बन्धमा व्यक्त गरेको कुरा प्रमाणमा ग्रहण गर्नुपर्ने कानूनी व्यवस्था भएको सन्दर्भमा घटनाको तत्काल पछि पीडित “क” कुमारीले अनुसन्धान अधिकारीसमक्ष यिनै प्रतिवादीले आफूलाई घाँस काटिरहेको बेला जबर्जस्ती करणी गरेको हो भनी आफ्नो बाबुको रोहवरमा किटानीरूपमा कागज गरी प्रतिवादीलाई सनाखतसमेत गरी दिएको र घटना भएको आफ्नो आँखाले देख्ने प्रत्यदर्शी धनलक्ष्मी श्रेष्ठले पनि मौकामा सो कुरा व्यक्त गरिदिएको अवस्थामा निजहरूको मौकाको उक्त भनाइ प्रमाण ऐन २०३१ को दफा १०(१) बमोजिम प्रमाणमा लिनुपर्ने देखिन आउँछ । अदालतमा बकपत्र गर्दा सो कुरा होइन भनी घटना भएको तथ्यप्रति पीडित र प्रत्यक्षदर्शीले अनभिज्ञता प्रकट गरेको देखिए पनि उक्त घटना भएको लामो अन्तरालपछि प्रतिवादीलाई सजायबाट उन्मुक्ति दिने मनसायका साथ व्यक्त भएको जाहेरवाला र प्रत्यक्षदर्शीको भनाइ प्रमाणयोग्य नहुन सक्ने हुन्छ । त्यसका अतिरिक्त प्रत्यदर्शी धनलक्ष्मी श्रेष्ठले अदालतमा बकपत्र गर्दा पनि अनुसन्धानको क्रममा भएको कागजमा लागेको सहिछाप आफ्नो भएको भनी स्वीकार गरेको अवस्था विद्यमान भएकाले प्रत्यदर्शीको मौकाको भनाइ प्रमाणयोग्य देखिन आएको छ । 

८. वस्तुतः घटनाबाट पीडितले र सो घटना प्रत्यक्ष देख्ने प्रत्यक्षदर्शीले मौकामा घटना भएको तत्कालैपछि यिनै प्रतिवादीले पीडितलाई जबर्जस्ती करणी गरेको भन्ने उल्लेख गरी कागज गरिदिएको अवस्थामा अदालतमा उपस्थित भई बकपत्र गर्दा बनावटी कुरा उल्लेख गरी वास्तविक तथ्यलाई लुकाउने र कसुरदारलाई सजायबाट उन्मुक्ति दिलाउने प्रयत्न गरिन्छ भने त्यस्तो बनावटी कुरालाई सत्य एवम् साँचो मानी कसुरदारलाई उन्मुक्ति प्रदान गर्न मिल्दैन । सङ्कलित सबुद एवम् प्रमाणहरूबाट जबर्जस्ती करणीको वारदात स्थापित भई प्रमाणको शृङ्खलाबद्ध कडीहरूबाट प्रतिवादी कसुरदार देखिएको अवस्थामा मौकामा कागज गर्ने व्यक्तिहरूले आफ्नो पूर्व भनाइ प्रतिकूल हुने गरी अदालतमा गरेको बकपत्र प्रतिवादीलाई उन्मुक्ति दिने आधार हुन 

सक्तैन । पीडित ‘क’ कुमारी बोल्न र सुन्न नसक्ने अपाङ्गता भएकी महिला भएको र त्यस्तो अपाङ्गता भएका व्यक्तिले मौकामा भएको सत्य र तथ्य कुरा आफ्नो जन्म दिने बाबुआमासमेतको रोहवरमा इसाराद्वारा व्यक्त गरेको तथा उक्त घटनालाई आफ्नै आँखाले देखेको भनी मौकामा प्रत्यक्षदर्शीले कागज गरेको एवम् उक्त व्यहोरालाई प्रतिवादीले मौकामा स्वीकार गरेकोसमेतका प्रमाणहरूको शृङ्खलाबाट प्रतिवादीले कसुर गरेको भन्ने कुरा वस्तुगत र सारभूतरूपमा स्थापित भएको देखिएकाले यी प्रतिवादीले आफू बेकसुर रहेको भनी पुनरावेदनपत्रमा लिएको जिकिर मनासिब देखिएन । 

९. तसर्थ उल्लिखित आधार र कारणसमेतबाट यी प्रतिवादीले पीडित “क” कुमारीलाई जबर्जस्ती करणी गरेको भन्ने कुरा पुष्टि हुन आएकाले निजलाई जबर्जस्ती करणीको महलको ३(५) नं. बमोजिम ५ वर्ष कैद सजाय हुने र पीडित “क” कुमारी अपाङ्गता भएको व्यक्ति भनी ऐ महलको ३क नं. बमोजिम थप ५ वर्ष कैद सजाय हुने र पीडितलाई क्षतिपूर्तिबापत रू.२५,०००।– प्रतिवादीबाट दिलाई भराई दिने ठहराएको सुरू फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको मिति २०६८।९।२६ को फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । फैसलाको जनाउ थुनामा रहेका प्रतिवादी सुब्बा भन्ने धनराज खड्कालाई दिई प्रस्तुत मुद्दाको दायरी लगत कट्टा गरी मिसिल नियमानुसार बुझाइदिनू ।

 

उक्त रायमा सहमत छु । 

प्र.न्या.रामकुमार प्रसाद शाह  

 

इति संवत् २०७१ साल ‍‍‍‍‍‍मङ्सिर १७ गते रोज ४ शुभम् ।

इजलास अधिकृत : विश्वनाथ भट्टराई

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु