शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९३९५ - अंश नामसारी

भाग: ५७ साल: २०७२ महिना: भाद्र अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

सम्माननीय प्रधानन्यायाधीश श्री रामकुमार प्रसाद शाह

माननीय न्यायाधीश श्री ओम प्रकाश मिश्र

फैसला मिति : २०७१।७।२६।४

२०६२ सालको दे.पु.नं.८३४८

 

मुद्दा : अंश नामसारी ।

 

पुनरावेदक/प्रतिवादी : रूपन्देही जिल्ला सूर्यपुरा गा.वि.स. वडा नं. ४ बस्ने जोगेन्द्र अहिरसमेत

विरूद्ध

प्रत्यर्थी/वादी : रूपन्देही जिल्ला सूर्यपुरा गा.वि.स. वडा नं. ४ बस्ने भन्ने रवडी अहिरनीसमेत

 

पत्नीले पतिबाट अंश पाउन त्यस्तो महिला पतिको सत्यमा रहेको हुनुपर्ने र छोरा छोरीले पिताबाट अंश पाउनका लागि निज आफ्नो आमाबाबुबाट जन्मेको जैविक सन्तान हुनुपर्ने वा कानूनबमोजिम धर्मपुत्र वा धर्मपुत्री राखेको हुनुपर्दछ । सोबाहेक अन्य अवस्थाका कुनै व्यक्तिले पत्नी र छोरा छोरीको रूपमा अंशमा दाबी गर्न सक्ने अवस्था रहँदैन । विधिवत् पतिपत्नी नरहेको अवस्था र जैविक सन्तान नदेखिएको अवस्थामा त्यस्ता व्यक्तिलाई अदालतले अंश दिलाउनु कानूनविपरीत हुन जाने ।

(प्रकरण नं. ७) 

नाता कायम सम्बन्धमा तथ्य स्थापित गराउने अन्य आधिकारिक सम्बद्ध प्रमाणले पुष्टि गरेको छ भने सो अवस्थामा फरक उद्देश्य र प्रयोजनले रेकर्ड भएका त्यस्ता प्रमाण सहायक प्रमाणको रूपमा ग्रहण गर्न सकिने भए पनि नाता कायम गर्ने र अंश दिलाउने प्रयोजनले विवादित भर्ना रेकर्डलाई आधारभूत अकाट्य र निर्णय विन्दुमा पुग्ने निर्णायक प्रमाणको रूपमा ग्रहण गर्न र सो भर्ना रेकर्डलाई आधार मान्न सकिने अवस्था नहुने ।

(प्रकरण नं. ८) 

 

पुनरावेदक/प्रतिवादीको तर्फबाट : वरिष्ठ विद्वान् अधिवक्ता बालकृष्ण न्यौपाने

प्रत्यर्थी/वादी तर्फबाट : विद्वान् वैतनिक कानून व्यवसायी हरिशंकर लाल कर्ण

अवलम्बित नजिर : 

नेकाप २०६७, अङ्क १०, नि.नं. ८४८३, पृष्ठ १७२६

सम्बद्ध कानून :

प्रमाण ऐन, २०३१ को दफा २३ (४), (७)

 

सुरू तहमा फैसला गर्ने : 

मा.जि.न्या. श्री शिवनारायण यादव

पुनरावेदन तहमा फैसला गर्ने : 

मा.न्या. श्री केशवप्रसाद मैनाली

मा.न्या. श्री रामप्रसाद खनाल

 

फैसला

न्या. ओमप्रकाश मिश्र : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम प्रतिवादीहरूको तर्फबाट पुनरावेदन पर्न  आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य र ठहर यसप्रकार छ :

स्वर्गीय भजन अहिरको ३ छोराहरू क्रमशः शुकदेव, सहाई र त्रिवेणी हुन् । शुकदेवको सन्तान कोही छैन । त्रिवेणीको छोरा औधराज हुन् । सहाईको २ भाइ छोरामा जेठा वलिराज र कान्छा चनरजित हुन् । चनरजितको पत्नीहरूमा विपक्षी सुरसती र म वादी रवडी हौं । चनरजितको छोरा विपक्षी जोगेन्द्र, म वादी राजेन्द्र र १० वर्षका झिन्कु हौं । भजन, निजको श्रीमती, शुकदेव र निजको श्रीमती, सहाई र निजको श्रीमती, त्रिवेणी र निजको श्रीमती तथा वलिराजको मृत्यु भइसकेको छ । शुकदेवको हक खाने कोही 

छैन । त्रिवेणीको हक खाने औधराज हुनुहुन्छ । वलिराजको हक खाने कोही छैन । सहाईको हक खाने हामी वादी प्रतिवादीहरू हौं । हामी वादी प्रतिवादी एकासगोलको अंसियार बीच अंशबन्डा भएको छैन । हामी बादी प्रतिवादीहरू ठूलो परिवार भएको र सौता–सौता बीच हितचित नमिली हामीलाई खाना खर्च तथा अंशसमेत दिन इन्कार गरेको हुँदा विपक्षीहरूबाट अंशबन्डाको महलको २०, २१, २२, २३ नं. बमोजिम तायदाती फाँटवारी लिई ६ भाग लगाई विपक्षीहरू र नाबालक वर्ष १० को झिन्कुसमेतको ४ भाग परसारी २ भाग अंश हामी वादीहरूलाई दिलाई नामसारीसमेत गराई पाउँ भन्ने वादी दाबी ।

भजनका ३ छोरामा शुकदेव, त्रिवेणी र सहाई हुन् । शुकदेवका कुनै सन्तान छैनन् ।  त्रिवेणीको दुई छोरामा बलवन्त र औधराज हुन् । साही भन्ने सहाईको २ छोरामा वलिराज र चनरजित हौं । वलिराज र निजको पत्नी रवडीतर्फबाट एकमात्र छोरी मुराति जन्मेपछि कुनै छोराको जन्म नहुँदै वलिराज परलोक भएका र निजकी विधवा पत्नी रवडीले अर्को विवाह गरेको कारण साही भन्ने सहाईको एकमात्र अंसियार छोरा म चनरजित अहिर हुँ ।  हाम्रो बाबुबाजेको मूल घर भारत जिल्ला बस्ती तहसिल नौगढ मौका टिकापार टोला पर्सामा हो । शुकदेव, त्रिवेणी र सहाई बीच भारतमा अंशबन्डा भएपछि सहाईले रोजगारीको लागि नेपालमा आई निजी तवरबाट उखडा जग्गा कमाई म चनरजितका नाममा दर्ता भएको निजी आर्जनको सम्पत्तिमा त्रिवेणीको छोरा बलवन्तले लालच गरी मिति २०४१।१।१८ मा दे.नं. १०६० को अंश नामसारी मुद्दा गरी तह–तह मुद्दा चली अंश पाउन नसक्ने ठहरी तत्कालीन पश्चिमाञ्चल क्षेत्रीय अदालत, पोखराबाट मिति २०४४।३।१ मा फैसला भएको छ । त्रिवेणीकै छोरा औधराज अहिरले म प्रतिवादी चनरजितउपर यसै अदालतमा मिति २०५५।१०।३ मा दर्ता नं. १८१७ को अंश मुद्दा दायर गरी कारवाही चल्दैछ । वलिराजको मृत्युपछि वादी रवडीले मसँग विवाह गरी छोरा जोगेन्द्र र छोरी मेवालाई जन्म दिएपछि निज रवडीले म चनरजितको सत्य डगाई भारत बस्ने हरिराम भन्ने भेलईसँग अर्को विवाह गरी निजको सहवासबाट वादी राजेन्द्र अहिरको जन्म भएको छ । हामी चनरजित एवम्‌ सुरसती भन्ने मोटकीतर्फबाट १ छोरी मिरा एवम्‌ छोरा झिन्की भन्ने राम नेवासको जन्म भएको छ । वादी रवडी चनरजितको सत्य डगाई अर्को व्यक्ति हरिराम भन्ने भेलईसँग विवाह गरी राजेन्द्रलाई जन्म दिएको हुँदा म चनरजितको वादीहरू रवडी अहिरनी पत्नी र राजेन्द्र अहिर छोरा नहुँदा वादीहरूले हामी प्रतिवादीहरूबाट अंश पाउने होइनन् भन्नेसमेत व्यहोराको प्रतिउत्तरपत्र ।

औधराजका २ छोरा वलिराज र चनरजित हुन् । वलिराजको श्रीमती र निजहरूबीच एक छोरी मुरातिको जन्म भएको थियो । निजको विवाह भइसकेको छ । वलिराजको मृत्यु भएपछि रवडी चनरजितसँग विवाह गरी आएपछि निजबाट म जोगेन्द्र र बहिनी मेवाको जन्म भएको हो । हाल रवडी देवी हरिराम भन्ने भेलईसँग विवाह गरी गएकी हुँदा चनरजितको सत्यमा छैनन् । निज राजेन्द्र अहिर हरिराम भन्ने भेलईका छोरा हुन् । रवडी चनरजितको सत्य डगाई हरिराम भन्ने भेलईसँग विवाह गरी गएकी हुँदा हाम्रो कुनै नातासम्बन्ध नभएकाले अंश दिनुपर्ने होइन भन्नेसमेत व्यहोराको जोगेन्द्र अहिरले नातातर्फ गरेको बयान ।

वलिराजको मृत्युपछि रवडी चनरजितसँग विवाह गरी आएपछि म वादी राजेन्द्रको जन्म भएको हो । औधराजका ३ भाइ छोरा छन् । मेरो बाबु चनरजितका २ श्रीमतीमा आमा रवडी र सुरसती 

हुन् । सुरसतीतर्फका छोरा झिन्की र जोगेन्द्र हुन् । आमा बाबु दाजुभाइ नाता कायम गरी वादी दाबीबमोजिम अंश पाउनु पर्ने हो भन्नेसमेत वादी राजेन्द्र अहिरले नातातर्फ गरेको बयान ।

आदेशानुसार बुझिएका वादीका साक्षी तुलसीराम एवम्‌ प्रतिवादीका साक्षी चन्द्रदेवसमेतले गरेको बकपत्र ।

यी वादी रवडी अहिरनी चनरजित अहिरको सत्यमा नरही अन्दाजी २०, २५ वर्ष अगाडिदेखि भारतमा अर्को व्यक्तिसँग विवाह गरी भारतमा बसी आएकी छन् भन्नेसमेत व्यहोराको प्रभुनाथसमेतका व्यक्तिहरूले गरेको सर्जमिन मुचुल्का ।

यी वादी राजेन्द्र चनरजितको छोरा होइनन् । रवडी चनरजितसँग विवाह गरी जोगेन्द्र र मेवाको जन्म भएपछि चनरजितको सत्य डगाई भारतमा हरिराम भन्ने भेलईसँग विवाह गरी गएकी हुन् भन्नेसमेत व्यहोराको मुरातिले गरेको नातातर्फको बयान ।

रवडीले हाम्रो पिता चनरजित र हामी नाबालक छोराछोरीलाई छोडी भारतमा घर भएका हरिराम भन्ने भेलईसँग विवाह गरी वादी राजेन्द्र र अन्य छोरीहरूको जन्म भएको छ भन्नेसमेत व्यहोराको मेवा अहिरले नातातर्फ गरेको बयान ।

प्रतिवादी जोगेन्द्रको जन्म २०२४।८।४ मा भएको देखिएको तथा प्रतिवादी सुरसती भन्ने मोटकी अहिरको जन्म २०१४।१२।६ मा भएको भनी उल्लेख रहेबाट १० वर्षको उमेरमा प्रतिवादी सुरसतीले प्रतिवादी जोगेन्द्रलाई जन्म दिएको मान्ने अवस्था देखिँदैन । वलिराज र रवडीबाट जन्मिएकी छोरी मुरातिलाई अ.बं. १३९ नं.बमोजिम बुझ्दा निजले आमा रवडी र चनरजितबाट प्रतिवादी जोगेन्द्र र छोरी मेवासमेतको जन्म भएपछि रवडी भारततर्फ हरिराम भन्ने भेलईसँग विवाह गरी गएपछि वादी राजेन्द्र अहिरको जन्म भएको र वादी रवडी चनरजितको सत्यमा नरहेकी भनी सर्जमिनका अधिकांश व्यक्तिले आफ्नो व्यहोरा लेखाएको देखिन्छ । वादी रवडीले प्रतिवादी जोगेन्द्र अर्को सौतातर्फबाट जन्मेको भने पनि सुरसती र जोगेन्द्रसमेतको उमेरको अन्तरबाट सो भनाइ उचित देखिएन । वलिराजबाट जन्मेकी छोरी मुरातिलेसमेत प्रतिउत्तर जिकिरलाई समर्थन गरी बयान गरेको देखिन्छ । छोरी मेवालेसमेत आफू वादी रवडीबाट जन्मेपछि आमा अर्को व्यक्तिसँग विवाह गरी गएको भन्ने लेखाइदिएबाट प्रमाण ऐन, २०३१ को दफा २३(४) बमोजिम नाता सम्बन्धको विशेष जानकारी हुन सक्ने छोरीहरूको बयानलाई प्रमाणमा लिन हुने देखियो । साथै वादीहरूले जन्मदर्ताको प्रमाणपत्र र नागरिकताको प्रमाणपत्रसमेत पेस गर्न सकेको नदेखिँदा वादी रवडीले प्रतिवादी चनरजितको सत्य छोडी भारततिर विवाह गरेपछि वादी राजेन्द्रलाई जन्माएको देखिएकाले अंश पाउँ भन्ने वादी दाबी पुग्न नसक्ने ठहर्छ भन्नेसमेत व्यहोराको रूपन्देही जिल्ला अदालतको २०५९।१०।६ को फैसला ।

राजेन्द्र अहिरले अदालतमा बयान गर्दा म चनरजित र रवडीको सहवासबाट जन्मेको हुँ भनेका छन् । सुरसतीबाट जन्मेका जोगेन्द्र र झिन्कु हुन् । रवडी हालसम्म पनि चनरजितकै सत्यमा बसेकी छन् । कर्महवा माध्यमिक विद्यालय रूपन्देहीको स्थानान्तरण प्रमाणपत्रमा म राजेन्द्रको बाबु चनरजित उल्लेख भई जन्म मिति २०३९।१०।५ उल्लेख छ । रवडीले चनरजितलाई छोडी भारत गएको कुराको सबुद प्रमाण पेस गर्न सकेका छैनन् । सर्जमिनले अनुमान गरेको कुरालाई आधार मानी रवडीबाट जन्मिएकी छोरीको बयान भन्दै मुरातिको बयानलाई प्रमाणमा ग्राह्य गरी मलाई र छोरा राजेन्द्रलाई नाता तथा अंश हकबाट वञ्चित गर्ने गरेको रूपन्देही जिल्ला अदालतको फैसला नमिलेको हुँदा उक्त फैसला उल्टी गरी वादी दाबीबमोजिम अंश दिलाईपाउँ भन्नेसमेत व्यहोराको वादीहरूको पुनरावेदन अदालत, बुटवलमा परेको पुनरावेदनपत्र ।

यसमा कर्महवा माध्यमिक विद्यालयमा २०४५।१०।६ गते भर्ना हुँदा राजेन्द्र अहिरको पिताको नाम चनरजित अहिर उल्लेख भएको देखिँदा सुरूको फैसला फरक पर्न सक्ने देखिँदा छलफलको लागि अ.बं. २०२ नं.बमोजिम प्रत्यर्थी झिकाई नियमानुसार पेस गर्नु भन्ने पुनरावेदन अदालत, बुटवलको मिति २०६१।७।१७ को आदेश । 

वादी प्रतिवादीबाट तायदाती फाँटवारी लिनु भन्ने पुनरावेदन अदालत, बुटवलको मिति २०६१।१२।१५ को आदेश । 

प्रतिवादी चनरजितले वादी रवडीलाई पत्नी बनाई राखेपछि छोरा जोगेन्द्रसमेतको जन्म भएपश्चात् भारतीय व्यक्तिसँग विवाह गरी भारतीय पतितर्फबाट वादी राजेन्द्रको जन्म भएको भनी नातामा विवाद देखाए पनि विवाह गरेको र लगेको भन्ने कुरा प्रमाणित हुन आएको छैन । वादी राजेन्द्र अहिर कर्महवा माध्यमिक विद्यालयमा भर्ना हुँदा बाबुको नाम चनरजित लेखिएको कुरा प्रमाणमा आएको विद्यालयको रजिस्टर रेकर्डबाट देखिएको छ । वादी रवडीको पहिलो पति वलिराजतर्फबाट जन्मेकी मुरातिको बयानलाई सुरूले मुख्य आधार लिए पनि आमा रवडी र प्रतिवादीमध्येका चनरजितको सम्बन्धबाट वादी राजेन्द्रको जन्म भयो भएन भन्ने कुरामा निजको भनाइले स्वाभाविक प्रमाणको स्थान लिन सक्ने देखिएन । बाजे र काका नाता पर्ने नातेदारले वादी रवडी प्रतिवादी चनरजितको सत्यमा रही छोरा वादी राजेन्द्रको जन्म भएको भनी सर्जमिन मुचुल्कामा उल्लेख गरेको अवस्था देखिँदा उल्लिखित आधार र प्रमाणबाट रूपन्देही जिल्ला अदालतको मिति २०५९।१०।६ को फैसला मिलेको नदेखिँदा उल्टी भई वादी रवडी र राजेन्द्र प्रतिवादी चनरजितको पत्नी र छोरा नाता कायम भई वादीहरूले प्रतिवादीहरूबाट तायदाती फाँटवारीमा उल्लिखित सम्पत्तिबाट ६ भागको २ भाग अंश पाउने ठहर्छ भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, बुटवलको मिति २०६२।३।६ को फैसला ।

वलिराज र रवडीबाट मुराति छोरी जन्मेपछि रवडीले चनरजितसँग विवाह गरी छोरा जोगेन्द्र र छोरी मेवाको जन्म भएको हो । रवडीले चनरजितको सत्य डगाई भारतीय व्यक्ति हरिराम भन्ने भेलई अहिरसँग विवाह गरेपछि राजेन्द्र अहिरलाई जन्माएकी हुँदा चनरजितको पत्नी र छोरा वादीहरू  होइनन् । अ.बं. १३९ नं.बमोजिम बुझिएका मुराति र मेवाले रवडी र चनरजितबाट छोरा जोगेन्द्र र छोरी मेवा जन्माएपछि हरिराम भन्ने भेलईसँग विवाह गरी राजेन्द्र अहिरलाई जन्माएको, आमा रवडी चनरजितको सत्यमा नरहेकी भनी निज रवडीको छोरीहरूले गरेको बयानलाई प्रमाण ऐन, २०३१ को दफा २३(४)बमोजिम प्रमाणमा लिइएन । यिनै वादी रवडीले आफ्नो नाम परिवर्तन गरी निर्वाचन आयोग यू.पि. ३५।१७३।४४१३८४ को परिचयपत्रमा नाम बासमति पति भेलई भनी १–१–१९९५ मा परिचयपत्र प्राप्त गरेकी हुँदा निजले हरिराम भन्ने भेलईसँग विवाह गरेको तथ्य स्थापित छ ।

हाम्रो घर बसोबास सुर्यपुरा गा.वि.स.मा 

छ । हाम्रो बालबालिकाले अध्ययन गर्ने विद्यालय सोही गा.वि.स.को वडा नं. ३ मा छ । तर हाम्रो घरभन्दा टाढा रहेको एकला गा.वि.स.मा अवस्थित कर्महवा माध्यमिक विद्यालयमा २०४५।१०।६ देखि २०४८।९।३ सम्म अध्ययन गरेको र बाबुको नाम चनरजित लेखिएको नै शङ्कास्पद प्रमाणलाई प्रमाणमा लिएको मिलेको 

छैन । वादीले मिति २०५७।३।२७ मा फिराद गर्दा आफ्नो उमेर २१ वर्ष देखाएका र २०५९।९।२८ मा प्राप्त गरेको स्थानान्तरण प्रमाणपत्रमा विद्यालयको रेकर्डअनुसार राजेन्द्रको जन्म २०३९।१०।१५ भएको भनी उल्लेख गरेका छन् । यसबाट विद्यालयको रेकर्ड र फिराद दाबीमा उल्लेख गरेको उमेरमा ३ वर्ष फरक देखिएको छ । उक्त स्थानान्तरण प्रमाणपत्र र विद्यालयको रेकर्ड अ.बं. ७८ नं. बमोजिम बयान गराउनु पर्नेमा सो प्रक्रियासमेत अवलम्बन गरिएन । यसकारण रवडी चनरजितको सत्य डगाई भारत बस्ने हरिराम भन्ने भेलईसँग विवाह गरी छोरा राजेन्द्र जन्माएको र निज रवडी पत्नी र राजेन्द्र छोरा नाताका व्यक्ति नभएको अवस्थामा पनि नाता कायम गरी वादी दाबीबमोजिम अंश पाउने ठहर गरेको पुनरावेदन अदालत, बुटवलको फैसला उल्टी गरी वादी दाबीबाट फुर्सद दिलाई पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादीहरूको तर्फबाट यस अदालतमा परेको पुनरावेदनपत्र ।

यसमा चनरजितको छोरा वादी राजेन्द्र अहिर होइन भनी प्रतिवादी चनरजितको भनाइ रहेकामा DNA जस्तो वैज्ञानिक जाँचबाट यकिन गरी प्रमाणमा लिनुपर्नेमा विद्यालयको प्रमाणलाई मात्र आधार लिई गरेको फैसला प्रमाणको रोहमा फरक पर्न सक्ने हुँदा अ.बं. २०२ नं. बमोजिम प्रत्यर्थीलाई झिकाई पुनरावेदक चनरजितका छोरा राजेन्द्र अहिर हो होइन भनी निर्कौल गर्न परीक्षण गर्दा लाग्ने खर्च पुनरावेदकबाट दाखिला गराई निज पुनरावेदक चनरजित अहिर, वादी राजेन्द्र अहिर तथा निजको आमा वादी रवडी अहिरको DNA परीक्षण गराई परीक्षण प्रतिवेदन प्राप्त भएपछि विशेषज्ञ परीक्षकलाई प्रमाण ऐन, २०३१ बमोजिम अदालतसमक्ष उपस्थित गराई बकपत्र गराई नियमबमोजिम पेस गर्नु भन्ने यस अदालतको मिति २०६६।८।१० को  आदेश ।

विवादित राजेन्द्र राउत अहिर (नमुना B को रक्तदाता) रवडी अहिर (नमुना A को रक्तदाता) र दाबी गरिएको बाबु चनरजित अहिर (नमुना C को रक्तदाता) को डी.एन.ए. प्रोफाइल तुलना गर्दा आमा रवडी अहिर (नमुना A को रक्तदाता) बाट जन्मेको राजेन्द्र राउत अहिर (नमुना B को रक्तदाता) को जैविक बाबु चनरजित अहिर (नमुना C को रक्तदाता) होइन भन्ने पाइयो भन्नेसमेत व्यहोराको वरिष्ठ वैज्ञानिक अधिकृत दिनेशकुमार झाले मिति २०६८।११।३० मा गरेको डी.एन.ए परीक्षण प्रतिवेदन ।

मिति २०६८।११।३० मा दिएको डी.एन.ए.परीक्षण प्रतिवेदन मबाट दिइएको हो । सो परीक्षणको लागि अपनाइएको नमुना सङ्कलन प्रक्रिया, नमूनाको विवरण, परीक्षण प्रक्रिया र सोबाट प्राप्त रायसमेत सो प्रतिवेदन तथा प्रतिवेदनसँग डी.एन.ए. प्रोफाइलको लागि विवरण फारममा उल्लेख गरिएको छ । सो परीक्षण ठीक प्रक्रिया प्रयोग गरी गरिएको छ । जसलाई अन्तर्राष्ट्रिय विधि विज्ञान वैज्ञानिक जमातमा समर्थन रहेको छ भन्नेसमेत व्यहोराको विशेषज्ञ दिनेशकुमार झाले यस अदालतमा गरेको बकपत्र ।

डी.एन.ए. प्रोफाइलका लागि विवरण फारम भर्दा राजेन्द्र यादव भनी उल्लेख भइरहेकामा डी.एन.ए. परीक्षण प्रतिवेदनमा राजेन्द्र राउत अहिर भनी उल्लेख भएको देखिँदा किन त्यस्तो हुन गएको हो उक्त प्रतिवेदन र विवरण फारामको प्रतिलिपि साथै राखी राष्ट्रिय विधि विज्ञान प्रयोगशालाबाट सोधनी गरी सोको जवाफ मगाउनु र पुनरावेदन अदालत बुटवलको फैसलामा उद्घृत गरिएको प्रत्यर्थी राजेन्द्र अहिरको विद्यालय भर्नासम्बन्धी सक्कल रजिस्टर कर्महवा माध्यमिक विद्यालयबाट झिकाई नियमानुसार पेस गर्नु भन्ने यस अदालतको मिति २०६९।३।२४।१ को आदेश ।

राजेन्द्र अहिर (राजेन्द्र राउत अहिर) बाट डी.एन.ए. नमूना सङ्कलन पूर्व व्यक्ति विवरण फाराम भर्ने क्रममा निजबाट आफ्नो परिचय खुल्ने कागजातमा निजको नाम राजेन्द्र यादव रहेको र निजको मञ्जुरनामाबाट नै सोही नाम अर्थात् राजेन्द्र यादव विवरण फारामसमेतमा उल्लेख गरिएको कारण सो केसको परीक्षण प्रतिवेदनमा राजेन्द्र राउत अहिर तथा व्यक्तिगत विवरणमा राजेन्द्र यादव उल्लेख भएको हो । निजको नमूना सङ्कलन निजको सहमतिबाट अदालतका कर्मचारी र पुनरावेदक चनरजित अहिरको रोहवरमा गरिएको भन्नेसमेत व्यहोराको राष्ट्रिय विधिविज्ञान प्रयोगशालाको मिति २०६९।४।५ को 

पत्र ।

नियमबमोजिम पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीहरूको तर्फबाट वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले रवडी, चनरजित र राजेन्द्रको डी.एन.ए परीक्षण गर्दा चनरजित राजेन्द्रको जैविक बाबु होइन भन्ने उल्लेख भएको हुँदा वैज्ञानिक परीक्षणको आधिकारितालाई अन्यथा भन्न नमिल्ने हुँदा पुनरावेदन अदालतको फैसला उल्टी गरी वादी दाबी पुग्न नसक्ने ठहर गरेको रूपन्देही जिल्ला अदालतको फैसला सदर हुनुपर्दछ भन्नेसमेत व्यहोराको बहस प्रस्तुत गर्नुभयो ।

वादीहरूको तर्फबाट वैतनिक कानून व्यवसायी हरिशंकर लाल कर्णले रवडी चनरजितको सत्यमा रही राजेन्द्रको जन्म भएको हो । मुरातिको बयानलाई मात्र आधार मानी नाता कायम नहुने ठहर गर्न मिल्दैन । विज्ञान सधैं सही नहुने हुँदा डी.एन.ए.लाई निरपेक्ष प्रमाण मान्न नमिल्ने हुँदा अंश पाउने ठहर गरेको पुनरावेदन अदालतको फैसला मिलेको हुँदा सदर हुनुपर्दछ भन्नेसमेत व्यहोराको बहस प्रस्तुत गर्नुभयो ।

दुवै पक्षका कानून व्यवसायीहरूले प्रस्तुत गर्नुभएको बहस सुनी मिसिल संलग्न कागज प्रमाणहरू अध्ययन गरी हेर्दा पुनरावेदन अदालत, बुटवलको फैसला मिलेको छ छैन सोही विषयमा निर्णय दिनुपर्ने देखिन आयो ।

चनरजित अहिरको दुई पत्नीहरूमा प्रतिवादी सुरसती र वादी आफू रवडी तथा छोराहरू जोगेन्द्र, झिन्कु र वादी आफू राजेन्द्र भएकामा प्रतिवादीहरूले अंश दिन इन्कार गरेको हुँदा ६ अंसियार हुँदा सम्पूर्ण सम्पत्तिलाई ६ भाग लगाई ६ भागको दुई भाग अंश प्रतिवादीहरूबाट दिलाई नामसारीसमेत गराईपाउँ भन्ने वादी दाबी भएकामा वादी रवडीले आफूसँग विवाह गर्नुपूर्व वलिराजको तर्फबाट एक छोरी मुरातिलाई जन्म दिएकी र वलिराजको मृत्युपछि वादी रवडीले आफूसँग विवाह गरी छोरा जोगेन्द्र र छोरी मेवालाई जन्म दिएपछि निज रवडीले म चनरजितको सत्य डगाई भारत बस्ने हरिराम भन्ने भेलईसँग अर्को विवाह गरी निजको सहवासबाट वादी राजेन्द्र अहिरको जन्म भएको हुँदा चनरजित अहिरको रवडी अहिरनी पत्नी र राजेन्द्र अहिर छोरा नहुँदा वादीहरूले अंश पाउने होइनन् भन्ने प्रतिवादी चनरजित अहिरसमेतको प्रतिउत्तर जिकिर रहेको देखिन्छ । रूपन्देही जिल्ला अदालतले नाता कायमतर्फ बयान गराई वादी रवडी अहिरनी र वादी राजेन्द्र अहिर प्रतिवादीमध्येका चनरजित अहिरको पत्नी र छोरा नाताका नदेखिएकाले वादीहरूले प्रतिवादीहरूबाट अंश नपाउने ठहर गरेकामा पुनरावेदन अदालत, बुटवलबाट उक्त फैसला उल्टी गरी वादी दाबीबमोजिम ६ भागको २ भाग अंश वादीहरूले प्रतिवादीहरूबाट पाउने ठहर गरेको फैसलाउपर प्रतिवादीहरूको प्रस्तुत पुनरावेदन परेको देखिन्छ ।

२. निर्णयतर्फ विचार गर्दा वादी रवडी अहिरनीले आफू प्रतिवादी चनरजित अहिरको पत्नी तथा राजेन्द्र अहिरले आफू छोरा भएको र निज बाबु पति तथा सौता सुरसती अहिरसमेतले खाना खर्चसमेत नदिई अंशभागसमेत दिन इन्कार गरेकाले ६ भागको २ भाग अंश दिलाई पाउँ भनी दाबी गरेकामा वलिराज र रवडीबाट मुराति छोरी जन्मेपछि वलिराजको सत्य डगाई रवडीले चनरजित अहिरसँग विवाह गरी छोरा जोगेन्द्र र छोरी मेवाको जन्म भएपछि रवडीले चनरजित अहिरको सत्य डगाई भारतीय व्यक्ति हरिराम भन्ने भेलई अहिरसँग अर्को विवाह गरी छोरा राजेन्द्र जन्माएकी हुँदा वादीहरू चनरजितको पत्नी र छोरा नभएकाले पत्नी र छोरा नाता कायम गरी अंश दिनु नपर्ने हुँदा पुनरावेदन अदालत बुटवलको फैसला बदर हुनुपर्ने भनी यी पुनरावेदक प्रतिवादीहरूको मुख्य पुनरावेदन जिकिर रहेकाले प्रतिवादी मध्येका चनरजित अहिरको पत्नी वादी रवडी अहिरनी र वादी राजेन्द्र अहिर छोरा नाताका व्यक्ति हुन् होइनन् र निज प्रतिवादीहरूको सम्पत्तिबाट वादीहरूले अंश पाउने हुन् होइनन् भन्ने विवादित विषयमा निर्णय दिनुपर्ने देखिन आएको छ ।

३. वादीहरूले फिरादपत्रमा आफ्नो पति र पिता प्रतिवादी चनरजित अहिर भएको भनी सोलाई पुष्ट्याइँ गर्न कर्महवा माध्यमिक विद्यालयमा मिति २०४५।१०।६ मा भर्ना हुँदा राजेन्द्र अहिरको बाबु चनरजित अहिर भनी उल्लेख भएको भनी सोलाई प्रमाणस्वरूप प्रस्तुत गरेको देखिन्छ । उक्त विद्यालयको विद्यार्थी भर्ना रेकर्डलाई पुनरावेदन अदालतले प्रमाणको रूपमा ग्रहण गरी रवडी र निजको पहिलो लोग्ने वलिराजबाट जन्मिएकी मुराति तथा दोस्रो लोग्ने यिनै प्रतिवादी चनरजित अहिरबाट जन्मिएकी यिनै वादी रवडीकी छोरी मेवाले गरेको नातातर्फको बयानलाई प्रमाणमा ग्रहण नगरी प्रतिवादी चनरजित अहिरको पत्नी रवडी अहिरनी र छोरा राजेन्द्र अहिर रहेको भनी ठहर गरी प्रतिवादीहरूबाट वादीहरूले अंश पाउने ठहर गरेको देखिन्छ ।

४. प्रस्तुत विवादमा वादी रवडी अहिरनीले प्रतिवादी चनरजित अहिर आफ्नो पति भएको भन्ने र प्रतिवादी जोगेन्द्र अहिर आफूबाट जन्मेको नभई सौता सुरसतीबाट जन्मेको र वादी राजेन्द्र अहिर चनरजित र आफ्नो सम्बन्धबाट जन्मेको भनी दाबी गरेको 

देखिन्छ । सो कुरालाई प्रतिवादीहरूले प्रतिउत्तर फिराउँदा, नातातर्फ बयान गर्दा र यस अदालतमा पुनरावेदन गर्दासमेत रवडी र निजको पहिलो लोग्ने वलिराजबाट एक छोरी मुरातिको जन्म भएको, रवडीको दोस्रो लोग्ने यिनै प्रतिवादी चनरजितबाट छोरा जोगेन्द्र अहिर, छोरी मेवाको जन्म भएपछि निज चनरजितको सत्य डगाई भारतीय व्यक्ति हरिराम भन्ने भेलईसँग तेस्रो विवाह गरी निजबाट वादी राजेन्द्र अहिरको जन्म भएको हुँदा वादीहरू पत्नी र छोरा नभएकाले आफूहरूबाट वादीहरूले अंश पाउने होइनन् भनी नातामा र अंशमा विवाद देखाई निरन्तर प्रतिवाद गरेको पाइन्छ । सोही कारण र आधारमा यस अदालतबाट मिति २०६६।८।१० मा विपक्षी झिकाउने आदेश गर्दा चनरजित अहिरको छोरा वादी राजेन्द्र अहिर हो होइन भन्ने पत्ता लगाउन डी.एन.ए.परीक्षण गर्न आदेश भएको र सो आदेशानुसार रवडी अहिरनी, राजेन्द्र अहिर र चनरजित अहिरको नमूना रक्त सङ्कलन गरी डी.एन.ए.परीक्षण भई राष्ट्रिय विधिविज्ञान प्रयोगशालाबाट परीक्षण रिपोर्ट प्राप्त भएको देखिन्छ ।

५. प्रस्तुत मुद्दामा जोगेन्द्र अहिर सुरसतीबाट जन्मेको र आफू चनरजित अहिर र रवडी अहिरनीको सहबासबाट जन्म भएको भनी राजेन्द्र अहिरले आफूलाई चनरजित अहिरको छोराको रूपमा प्रस्तुत गर्न खोजी अंशमा दाबी गरेको देखिन्छ । यी वादी रवडी चनरजितसँग दोस्रो विवाह गर्नुपूर्व वलिराजको सहवासबाट छोरी मुरातिको जन्म भएपश्चात् वलिराजको मृत्यु भएको कारण प्रतिवादी चनरजितसँग दोस्रो विवाह गरी प्रतिवादी जोगेन्द्र अहिर र छोरी मेवाको जन्म भएको भनी यिनै वादी रवडी र वलिराजको सहवासबाट जन्मेकी छोरी मुराति र यिनै रवडी र चनरजितको सहवासबाट जन्मेका छोरा जोगेन्द्र र छोरी मेवाले नातातर्फ बयान गरेको देखिन्छ । प्रतिवादी जोगेन्द्रको जन्म २०२४।८।४ मा तथा प्रतिवादी सुरसती भन्ने मोटकी अहिरनीको जन्म २०१४।१२।६ मा भएको भन्ने कुरा स्थापित भएको अवस्थामा १० वर्षको उमेरमा सुरसतीले जोगेन्द्रलाई जन्म दिएकी भन्ने वादीको दाबी कुनै सत्यतामा आधारित नभई केवल राजेन्द्र अहिरलाई चनरजित अहिरको छोराको रूपमा स्थापित गराउने उद्देश्यले उक्त कुरा व्यक्त गरेको भन्ने देखिन आएको छ ।

६. नातातर्फ प्रतिवादी जोगेन्द्र अहिरले बयान गर्दा वलिराज रवडी बीच एक छोरी मुरातिको जन्म भएको र वलिराजको मृत्यु भएपछि रवडी चनरजितसँग विवाह गरेपछि आफू र बहिनी मेवाको जन्म भएको, हाल रवडी देवी चनरजितलाई छाडी हरिराम भन्ने भेलईसँग विवाह गरी गएकी हुँदा चनरजितको सत्यमा छैनन् । राजेन्द्र अहिर हरिराम भन्ने भेलईका छोरा हुन् भनी उल्लेख गरेको  देखिन्छ । यसैगरी अ.बं.१३९ नं. बमोजिम बुझिएकी वादी रवडी र वलिराजबाट जन्मिएकी छोरी मुरातिले गरेको नातातर्फको बयानमा रवडी चनरजितसँग विवाह गरेपछि जोगेन्द्र र मेवाको जन्म भएपछि चनरजितको सत्य डगाई भारतमा हरिराम भन्ने भेलईसँग विवाह गरी निजबाट राजेन्द्रको जन्म भएको भनी आफ्नो व्यहोरा लेखाएको 

पाइयो । यसैगरी अ.बं.१३९ नं.बमोजिम बुझिएकी रवडी र चनरजितबाट जन्मिएकी छोरी मेवाले गरेको बयानमा रवडीले हाम्रो पिता चनरजित र हामी नाबालक छोरा छोरीलाई छोडी भारतमा घर भएका हरिराम भन्ने भेलईसँग गई यी वादी राजेन्द्र र अन्य छोरीहरूको जन्म भएको छ भन्ने कुरा उल्लेख गरेको देखियो । प्रमाण ऐन, २०३१ को दफा २३ (४) मा “अदालतले कुनै व्यक्तिको अर्को कुनै व्यक्तिसँग कुनै नाता सम्बन्ध छ वा छैन भन्ने कुरा यकिन गर्नुपरेमा त्यस्तो नाता वा सम्बन्धको विशेष जानकारी हुन सक्ने स्थितिमा भएको व्यक्तिको राय प्रमाणमा लिन हुन्छ” भन्ने व्यवस्था रहेको छ । यसरी नाता सम्बन्धमा विशेष जानकारी प्राप्त गरेका र अ.बं.१३९ नं.बमोजिम बुझिएका यिनै वादी रवडीका पहिलो पतिबाट जन्मेकी छोरी मुराति र दोस्रो पतिबाट जन्मेकी छोरी मेवाले गरेको बयानलाई विना आधारबाहेक गर्न मिल्ने अवस्था हुँदैन । चनरजितको सत्य डगाई अर्को व्यक्तिसँग विवाह गरी नगएको भए आफ्नो आमा विरूद्ध हुने गरी आफ्ना सन्ततिले नातामा विवाद देखाई बयान गर्नुपर्ने अवस्था हुँदैनथ्यो । अ.बं.१३९ नं.बमोजिम बुझिएका वादी रवडीका छोरीहरूले गरेको नाता सम्बन्धमा व्यक्त गरेको रायलाई प्रमाणमा लिन मिल्ने देखिन आयो ।

७. पत्नीले पतिबाट अंश पाउन त्यस्तो महिला पतिको सत्यमा रहेको हुनुपर्ने र छोरा छोरीले पिताबाट अंश पाउनका लागी निज आफ्नो आमा बाबुबाट जन्मेको जैविक सन्तान हुनुपर्ने वा कानूनबमोजिम धर्मपुत्र वा धर्मपुत्री राखेको 

हुनुपर्दछ । सोबाहेक अन्य अवस्थाका कुनै व्यक्तिले पत्नी र छोरा छोरीको रूपमा अंशमा दाबी गर्न सक्ने अवस्था 

रहँदैन । विधिवत् पतिपत्नी नरहेको अवस्था र जैविक सन्तान नदेखिएको अवस्थामा त्यस्ता व्यक्तिलाई अदालतले अंश दिलाउनु कानून विपरीत हुन जान्छ ।

८. प्रस्तुत विवादमा कर्महवा माध्यमिक विद्यालयमा मिति २०४५।१०।६ मा वादी राजेन्द्र अहिर भर्ना भएको र भर्ना हुँदा आफ्नो बाबु चनरजित अहिर भएको भनी उक्त भर्ना रेकर्डलाई नाता कायम र अंशमा दाबी गर्ने प्रमाणको रूपमा प्रस्तुत गरेको 

देखिन्छ । तर उक्त भर्ना रेकर्डलाई प्रतिवादी चनरजितले सुरू प्रतिवाद गर्दादेखि यस अदालतमा पुनरावेदन गर्दासमेत उक्त भर्ना रेकर्डलाई चुनौती दिँदै राजेन्द्र अहिर आफ्नो छोरा नभएको भनी प्रतिवाद गरेको अवस्था छ । यसरी उक्त विद्यार्थी भर्ना रेकर्डलाई चुनौती दिएको अवस्थामा विद्यार्थी भर्ना रेकर्डमा उल्लेख भएको उक्त कुराले कुनै व्यक्तिबीचमा विवाद देखिएको नाता कायम र अंश कायम गर्ने तथ्य स्थापित गर्ने एकमात्र आधिकारिक, विवादरहित, निश्चयात्मक र निर्णय विन्दुमा पुग्ने प्रमाणको स्थान लिन 

सक्दैन । नाता कायमसम्बन्धमा तथ्य स्थापित गराउने अन्य आधिकारिक सम्बद्ध प्रमाणले पुष्टि गरेको छ भने सो अवस्थामा फरक उद्देश्य र प्रयोजनले रेकर्ड भएका त्यस्ता प्रमाण सहायक प्रमाणको रूपमा ग्रहण गर्न सकिने भए पनि नाता कायम गर्ने र अंश दिलाउने प्रयोजनले विवादित भर्ना रेकर्डलाई आधारभूत अकाट्य, र निर्णय विन्दुमा पुग्ने निर्णायक प्रमाणको रूपमा ग्रहण गर्न र सो भर्ना रेकर्डलाई आधार मान्न सकिने अवस्था भएन ।

९. राजेन्द्र अहिरको पितृत्व एवम्‌ मातृत्व पत्ता लगाउन यी वादी राजेन्द्र अहिर, रवडी देवी अहिरनी र प्रतिवादी चनरजित अहिरको रक्त सम्बन्धबाट जन्मेको निजहरूको जैविक छोरा हुन् होइनन् भन्ने सन्दर्भमा यस अदालतको आदेशबाट राष्ट्रिय विधिविज्ञान प्रयोगशालाबाट डी.एन.ए. परीक्षण गराईएको छ । सोबमोजिम उक्त प्रयोगशालाबाट प्राप्त डी.एन.ए परीक्षण प्रतिवेदन हेर्दा “विवादित राजेन्द्र राउत अहिर (नमुना B को रक्तदाता) रवडी अहिर (नमुना A को रक्तदाता) र दाबी गरिएको बाबु चनरजित अहिर (नमुना C को रक्तदाता) को डी.एन.ए. प्रोफाइल तुलना गर्दा आमा रवडी अहिर (नमुना A को रक्तदाता) बाट जन्मेको राजेन्द्र राउत अहिर (नमुना B को रक्तदाता) को जैविक बाबु चनरजित अहिर (नमुना C को रक्तदाता) होइन भन्ने पाइयो भन्नेसमेत व्यहोरा उल्लेख छ । डी.एन.ए परीक्षण गर्ने विशेषज्ञ वरिष्ठ वैज्ञानिक अधिकृत दिनेशकुमार झाले यस अदालतमा उपस्थित भई आफूले गरेको परीक्षण र प्रतिवेदनको आधिकारिता एवम्‌ यथार्थको सम्बन्धमा साक्षी सरह बकपत्र गरिदिएको हुँदा डी.एन.ए. परीक्षण प्रतिवेदनबाट प्रतिवादी चनरजित अहिर वादी राजेन्द्र अहिरको जैविक पिता नभएको भन्ने तथ्य स्थापित भएको हुँदा वादी रवडी अहिरनीले चनरजितको सत्यमा रही पूर्व पति चनरजितको सहबासबाट राजेन्द्र अहिरलाई जन्म दिएको भन्ने देखिन नआएबाट यी वादीहरू चनरजितको पत्नी र छोरा भन्ने ठहर गर्न र अंश पाउने भन्न मिल्ने देखिन आएन । यसैसन्दर्भमा “जैविक माता पिता नभएको भनी डी.एन.ए. परीक्षण प्रतिवेदन प्राप्त भएको अवस्थामा तथा सो परीक्षण गर्ने विशेषज्ञले आफ्नो परीक्षण र प्रतिवेदनको आधिकारिकता एवम्‌ यथार्थता (Accuracy) को सम्बन्धमा अदालतमा साक्षीसरह बकपत्र गरी दिएको अवस्थामा सो बकपत्र जिरहको माध्यमद्वारा अन्यथा देखिन नआए अदालतले त्यस्तो वैज्ञानिक परीक्षण प्रतिवेदनलाई अमान्य गर्ने कानूनी आधार नदेखिने, जिरहसमेतबाट अन्यथा देखिन नआएको विशेषज्ञको रायलाई प्रमाण ऐन, २०३१ को दफा २३(७) बमोजिम अदालतले प्रमाणको रूपमा ग्रहण गर्नुपर्ने हुन्छ । यस्तो हालसम्मको सर्वमान्य DNA जस्तो वैज्ञानिक परीक्षणको आधारमा विशेषज्ञले दिएको रायलाई त्यस्तै वैज्ञानिक परीक्षण गर्ने विशेषज्ञको अन्यथा राय भएमा मात्र खण्डन गर्न सकिने” (ने.का.प.२०६७, अङ्क १०, नि.नं.८४८३, पृष्ठ १७२६, मखमली मिश्रसमेत विरूद्ध लक्ष्मी कुमारी मिश्र (श्रेष्ठ), मुद्दा अंश चलन) भनी प्रतिपादन भएको उक्त सिद्घान्त प्रस्तुत मुद्दामासमेत आकर्षित हुने देखियो । प्रस्तुत विवादमा चनरजित अहिर आफ्नो पिता भनी वादी राजेन्द्र अहिरले दाबी गरेकामा जैविक पिता भनिएको चनरजित अहिर र जैविक छोरा भनिएको राजेन्द्र अहिरको DNA Profilling नमिलेको र निज राजेन्द्र अहिरको पिता भनिएको चनरजित अहिरको जैविक पिता नभएको भनी प्रतिवेदन दिएको छ । यसरी DNA परीक्षण गरी प्रतिवेदन दिने विशेषज्ञ दिनेशकुमार झाले यस अदालतमा साक्षीसरह बकपत्र गर्दासमेत वादी पक्षबाट कुनै जिरहसमेत गरेको देखिएन ।

१०. यसरी वादीसँग नाता सम्बन्धमा यकिन राय लिन रवडी अहिरनी र निजको पहिलो पति वलिराज अहिरबाट जन्मेकी छोरी मुराति र दोस्रो पति चनरजित अहिरबाट जन्मेकी छोरी मेवाको बयानसमेत गराइएको र वैज्ञानिक परीक्षण पद्धतिअनुसार DNA परीक्षणसमेतको आधारमा वादी राजेन्द्र अहिर रवडीका पूर्व पति चनरजित अहिरबाट जन्मेको सन्तान देखिन नआएको र वादी रवडी अहिरनी अरू व्यक्तिसँग अर्को विवाह गरी चनरजित अहिरको सत्यमा नरहेको अवस्थामासमेत पुनरावेदक प्रतिवादीहरूले स्वीकार नगरेको कर्महवा माध्यमिक विद्यालयको २०४५।१०।६ को विद्यार्थी भर्ना रेकर्डमा उल्लिखित व्यहोरालाई प्रमाणमा ग्रहण गरी राजेन्द्र अहिर प्रतिवादी चनरजित अहिरको छोरा र रवडी अहिरनी पत्नी कायम गरी यी पुनरावेदकहरूबाट वादीहरूले अंश पाउने ठहर गरेको पुनरावेदन अदालत, बुटवलको फैसला मिलेको देखिन आएन । 

११. अतः माथि गरिएको विवेचना एवम्‌ वैज्ञानिक परीक्षण पद्धतिअनुसार DNA परीक्षणसमेतको आधारमा वादी राजेन्द्र अहिरको जैविक पिता चनरजित अहिर रहेको देखिन नआएको अवस्थामा चनरजित अहिरको पत्नी रवडी अहिरनी र राजेन्द्र अहिर छोरा नाता कायम गरी निज वादीहरूले प्रतिवादीहरूको सम्पत्तिबाट अंश पाउने ठहर्‌याएको पुनरावेदन अदालत बुटवलको मिति २०६२।३।६ को फैसला मिलेको नदेखिँदा उक्त फैसला उल्टी भई अंश पाउँ भन्ने वादी दाबी नपुग्ने ठहर्छ । वादी दाबी नपुग्ने ठहर गरेको रूपन्देही जिल्ला अदालतको मिति २०५९।१०।६ को फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । अरूमा तपसिलबमोजिम गर्नू ।

तपसिल

माथि इन्साफ खण्डमा लेखिएबमोजिम पुनरावेदन अदालत बुटवलको फैसला उल्टी भई प्रतिवादी चनरजितको पत्नी रवडी अहिरनी र राजेन्द्र अहिर छोरा नाताको नदेखिएकाले प्रतिवादीहरूबाट अंश पाउँ भन्ने वादी दाबी पुग्न नसक्ने ठहरी फैसला भएकाले पुनरावेदन अदालत, बुटवलको मिति २०६२।३।६ को फैसलाको तपसिल खण्डको प्रकरण नं.१ मा बन्डा छुट्टयाई दिने भन्ने तथा प्रकरण नं.२ मा प्रतिवादीहरूबाट वादीलाई कोर्टफी भराउन लगत राखी सोबमोजिम कार्यान्वयनका लागि रूपन्देही जिल्ला अदालतमा पठाएको लगत कायम नरहने हुँदा उक्त लगत कट्टा गर्नु भनी रूपन्देही जिल्ला अदालतमा लेखी पठाउनू ................................................१ 

पुनरावेदन अदालत, बुटवलको फैसलाउपर प्रतिवादीहरूले यस अदालतमा पुनरावेदन गर्दा पुनरावेदन अदालत, बुटवलमा मिति २०६२।५।१३ मा धरौटी रसिद नं.२८४५ मा धरौटी राखेको कोर्टफी रू.१०,६७६।३३ प्रतिवादीहरूले फिर्ता पाउने हुँदा उक्त धरौटी रहेको कोर्टफी फिर्ता पाउँ भनी कानूनको म्यादभित्र प्रतिवादीहरूको दरखास्त परे केही दस्तुर नलिई उक्त कोर्टफी प्रतिवादीहरूलाई फिर्ता दिनु भनी पुनरावेदन अदालत बुटवलमा लेखी पठाउनू ..........२

प्रतिवादीहरूले यस अदालतमा पुनरावेदन गर्दा सुरू कोर्टफी रू.१०,६७६।३३ को १५ प्रतिशतले हुन आउने कोर्टफी रू.१६०१।४४ वादीहरूबाट भरिपाउने हुँदा उक्त कोर्टफी रू.१६०१।४४ वादीहरूबाट भरिपाउँ भनी वादीहरूको यसै सरहदको जेथा देखाई कानूनको म्यादभित्र प्रतिवादीहरूले दरखास्त दिएमा उक्त कोर्टफी रू.१६०१।४४ वादीहरूबाट प्रतिवादीहरूलाई भराईदिनु भनी रूपन्देही जिल्ला अदालतमा लेखी 

पठाउनू ........................................................३

प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाइदिनू ....................................४

 

उक्त रायमा सहमत छु । 

प्र.न्या. रामकुमार प्रसाद शाह

 

इति संवत् २०७१ साल कात्तिक २६ गते रोज ४ शुभम् । 

इजलास अधिकृत : दीपक ढकाल

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु