शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९३९६ - उत्प्रेषण

भाग: ५७ साल: २०७२ महिना: भाद्र अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

सम्माननीय प्रधान न्यायाधीश श्री रामकुमार प्रसाद शाह

माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ

आदेश मिति : २०७१।९।२२।३

०६७-WO-०३६५

 

विषय : उत्प्रेषण ।

 

निवेदक : धनुषा जिल्ला वेगाशिवपुर गा.वि.स. वडा नं. ६ बस्ने रामलखन यादव 

विरूद्ध

विपक्षी : काठमाडौंं जिल्ला अदालत, बबरमहल, काठमाडौंंसमेत

 

वस्तुतः लेनदेन मुद्दाको सम्बन्धमा पेस भएको कपाली तमसुकमा उल्लेख भएको ऋणीको वतनमा नै म्याद जारी गरी तामेल  हुनुपर्दछ । सो वतनभन्दा फरक वतनमा म्याद तामेल गरिएको अवस्थामा त्यस्तो तामेलीलाई रीतपूर्वक तामेल भएको भन्न नमिल्ने ।

लेनदेनको तमसुकमा उल्लेख भएको ऋणीको वतनभन्दा फरक वतनमा तामेल भएको म्याद सम्बन्धित पक्षले प्राप्त गर्न नसकी लेनदेन व्यवहार सम्बन्धमा ऋणीले प्रतिवाद नै गर्न नपाउने अवस्था हुन जाने । 

लिखतबमोजिमको सावाँ ब्याज लिए नलिएको, तिरे नतिरेको लगायत लिखतमा लागेको सहिछापसम्बन्धमा अ.बं. ७८ नं.बमोजिमको प्रक्रिया एवम् लिखतको सहिछाप विशेषज्ञबाट जाँच गराउनु पर्ने लगायतका प्रक्रियासमेतमा अर्को पक्षले प्रतिवाद गर्न नपाउने अवस्था आउन सक्छ । आफूउपरका आर्थिक वा फौजदारी दायित्वका सम्बन्धमा प्रतिवादीले प्रतिवाद गर्न नपाउने गरी भएको बेरीतको म्याद तामेली र सोही म्याद तामेलीको आधारमा भएको एकतर्फी फैसलाबमोजिम उठान भएको बिगोसमेतको काम कारवाही प्राकृतिक न्यायको सिद्धान्तको अनुकूलको कामकारबाही भन्न नमिल्ने ।

(प्रकरण नं. ५) 

रिट निवेदकको वास्तविक वतनमा म्याद तामेल नभई प्राकृतिक न्यायको सिद्धान्तविपरीत सुनुवाइको मौकाबाट बञ्चित गरी लेनदेन मुद्दाका प्रत्येक चरणमा प्रतिवादीको फरक वतन पारी एकतर्फीरूपमा फैसला भई सो फैसलाको आधारमा बिगो भरिभराउतर्फको कामकारवाही गरिएको देखिएकाले उक्त काम कारवाही कानून अनुकूल भएको भन्न नमिल्ने ।

(प्रकरण नं. ६)

 

निवेदकको तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने,  विद्वान्‌ अधिवक्ताहरू रत्नेश्वरप्रसाद शर्मा र पदमप्रसाद निरौला

विपक्षीको तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता पुष्कर सापकोटा

अवलम्बित नजिर : 

सम्बद्ध कानून :

 

आदेश

न्या. देवेन्द्र गोपाल श्रेष्ठ : नेपालको अन्तरिम संविधान २०६३ को धारा ३२ र १०७(२) बमोजिम यस अदालतको असाधारण अधिकारक्षेत्रअन्तर्गत दायर भएको प्रस्तुत रिट निवेदनको सङ्क्षिप्त तथ्य र आदेश यसप्रकार छ :

विपक्षी मनोजकुमार यादव वादी र रामलखन राय यादव प्रतिवादी भएको लेनदेन मुद्दाको फैसलाले कायम भएको बिगोबाट म निवेदक र मेरो स्वर्गीय पिता रामदेव यादवको नामको धनुषा जिल्लाको घरजग्गा लिलाम हुँदैछ भन्ने कुरा सुन्नमा आएकाले के रहेछ भनी मिति २०६७।५।३१ मा धनुषा जिल्ला अदालत तहसिलमा गई बुझ्दा काठमाडौंं जिल्ला अदालतबाट लेनदेन मुद्दामा भएको फैसलाबमोजिम लिलामको प्रक्रिया अगाडि बढेको हो भनी कर्मचारीबाट मौखिक जानकारी भएकाले प्रत्यर्थी काठमाडौंं जिल्ला अदालतबाट मिति २०६७।५।३१ मा मेरो नाममा जारी भएको भनिएको म्याद र फैसलासमेतको नक्कल सारी हेर्दा ऋणी राम लखन राय यादव, धनी विपक्षी मनोजकुमार यादव भएको मिति २०६४।१।२ को मिति राखी रू. ६,५०,०००।– को कपाली तमसुक बनाई सो लिखतबमोजिमको लेनदेनको नालिस गरी मेरो नाममा मिति २०६४।१२।१३ मा म्याद जारी गराई बेरीतको म्याद तामेली गराई प्रतिउत्तर नै पर्न नदिई मिति २०६५।४।२२ मा एकतर्फी वादी दाबी पुग्ने गरी फैसला गराईएको रहेछ । उल्लिखित तामेली म्याद र फैसलासमेतका सम्पूर्ण काम कारवाही बदर गराउने अन्य कुनै प्रभावकारी कानूनी उपचार विद्यमान नभएकाले असाधारण क्षेत्राधिकारतर्फबाट निवेदन गर्न आएको छु । 

काठमाडौंं जिल्ला अदालतबाट मिति २०६५।४।२२ मा फैसला भएको मुद्दाको प्रतिवादी महलको राम लखन राय यादव म निवदेकको नाम 

होइन । मिति २०६४।१।२ को लिखतमा ३ पुस्तेमा रामफल राय यादवको नाति रामदेव राय यादवको छोरा वर्ष ५० को राम लखन राय यादव भनिएको छ । म निवेदकको ३ पुस्तेमा रामफल यादवको नाति रामदेवको छोरा राम लखन यादव हो । विपक्षी मनोजकुमार यादवले बनाएको मिति २०६४।१।२ को लिखत हेर्दा ऋणीको नाम रामफल राय यादवको नाति रामदेव राय यादवको छोरा धनुषा जिल्ला ढेगा पिपराडी गा.वि.स. वडा नं. ६ बस्ने वर्ष ५० को राम लखन राय यादव भन्ने उल्लेख छ । म निवेदकले विपक्षी मनोजकुमार यादवलाई चिन्दिन । सो कपाली भनिएको लिखतमा म र मेरो बाबु बाजेको नाममा “राय” भन्ने शब्द छ । जुनकुरा हाम्रो परिवारमै त्यस्तो “राय” उपसर्ग थपिएको नामै छैन । मिति र भाका भएको ठाउँमा केरमेट छ तर सहिछाप छैन । मेरो वतन ढेगा पिपराडी गा.वि.स. भनिए पनि धनुषा जिल्ला भरी सो गा.वि.स. छैन । मेरो वतन वेगाशिवपुर गा.वि.स. हो । यस्तो केरमेट भएको ठाउँमा सही नभएको लिखतलाई मैले लिफा वा किर्ते जालसाजी हो भन्ने कानूनी हकलाई म्यादका आधारमा बञ्चित पारी मैले प्रतिवाद गर्ने र सुनुवाईको मौका नै पाएको छैन । मिति २०६४।१२।१३ को तामेली म्यादमा वादीले देखाएको का.जि.का.म.न.पा. वडा नं. ३३ को ग१।५१ को घरमा म्याद टाँस तामेल गरिएको  छ । सम्बन्धित वडाका कुन टोलका साक्षी हुन र म्याद कुन टोलमा गएको हो म्यादमा खुल्दैन । ग१।५१ नं. को घर र वडा नं. ३३ मा म निवदेकको वतन होइन । लिखत र नागरिकतामा धनुषाको वतन भएको निवेदकलाई का.न.पा. वडा नं. ३३ मा म्याद पठाई विपक्षी मनोजकुमारले देखाएको हुँदै नभएको ग१।५१ नं. को घरमा टाँस गरिएको म्याद रीतपूर्वकको हुँदैन ।  

म निवेदकको जायजन्म घर जग्गा र परिवारसमेत धनुषा जिल्ला वेगाशिवपुर गा.वि.स. वडा नं. ६ मा पर्छ । यो वतनमा कहिल्यै पनि म्याद जारी भएको छैन । मेरो जायजन्म र घर जग्गा भएको वास्तविक वतन नदेखाई बेरीतसँग तामेल भएको म्यादको आधारमा निवेदकको सम्पत्तिसम्बन्धीको हकको हरण गर्न मिल्दैन । कुनै पनि व्यक्तिको सम्बन्धमा निजको विरूद्धमा फैसला गर्दा उसलाई सो फैसलाबाट असर पर्ने रहेछ भने त्यस्तो व्यक्तिलाई सुनुवाइको मौका वा प्रतिवाद गर्ने अवसर दिएरमात्र फैसला गर्नुपर्छ भन्ने प्राकृतिक न्यायको सिद्धान्तविपरीत विपक्षी निकायहरूका उल्लिखित काम कारवाही निर्णय र फैसलासमेतले म निवेदकको कानूनी हक र नेपालको अन्तरिम संविधान २०६३ को धारा १२(३)(च), १३ र १९ समेतका हक हनन् भएकाले धारा ३२ र १०७(२) बमोजिम उत्प्रेषणको आदेश जारी गरी विपक्षी निकायले गरे गराएको मिति २०६४।१२।१३ को म्याद तथा तामेली म्याद, का.जि.अ. को मिति २०६५।४।२२ को फैसला र धनुषा जिल्ला अदालतमा चलेको बिगो भराउनेसमेतका सम्पूर्ण काम कारवाही बदर गरी अन्य जो चाहिने आज्ञा आदेश वा पुर्जीसमेत जारी 

गरिपाउँ । सो रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्मका लागि का.जि.अ. को मिति २०६५।४।२२ को फैसला कार्यान्वयन नगर्नु नगराउनु भनी विपक्षी धनुषा जिल्ला अदालत र का.जि.अ.समेतका नाममा सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ४१ अनुसार अन्तरिम आदेशसमेत जारी गरिपाउँ भन्ने निवेदनपत्र ।

निवेदकको मागबमोजिमको आदेश किन जारी हुनु नपर्ने हो, आदेशप्राप्त भएका मितिले बाटाका म्यादबाहेक १५ दिनभित्र लिखित जवाफ पठाउनु भनी सूचना जारी गरी लिखित जवाफ आएपछि वा अवधि नाघेपछि नियमबमोजिम पेस गर्नू । निवेदकले माग गरेको अन्तरिम आदेशका सम्बन्धमा विचार गर्दा प्रतिवादी ढेगा पिपराडी वडा नं. ६ हाल का.जि.का.म.न.पा. वडा नं. ३३ बस्ने रामलखन राय यादवको सम्बन्धमा काठमाडौंं जिल्ला अदालतबाट मिति २०६५।४।२२ मा भएको लेनदेन मुद्दाको फैसलाअनुसार वादीले देखाएको ग१।५१ को घरमा म्याद तामेल गराई जिल्ला धनुषा बेगाशिवपुर वडा नं. ६ बस्ने रामलखन यादवका र निजका सगोलका परिवारका नाउँमा रहेका जग्गाहरू लिलाम हुँदा निवेदकको अपूरणीय क्षति (Irreparable Loss) हुने सम्भावना देखिएकाले अर्को आदेश नभएसम्म सो फैसलाको आधारमा निवेदक एवम् निजको सगोलको परिवारको सम्पत्ति लिलाम गर्ने गराउने कार्य नगर्नु नगराउनु भनी सर्वोच्च अदालत नियमावली २०४९ को नियम ४१ बमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ । यसको सूचना विपक्षीहरूलाई दिनु भन्ने यस अदालतको मिति २०६७।७।८ को आदेश ।

वादी जिल्ला सर्लाही पडरिया गा.वि.स. वडा नं. ७ हाल काठमाडौंं जिल्ला काठमाडौंं म.न.पा.वा.नं. १० बानेश्वर बस्ने मनोजकुमार यादवले प्रस्तुत रिट निवेदक राम लखन यादवउपर दिएको लेनदेन मुद्दामा काठमाडौंं जिल्ला अदालतको मिति २०६५।४।२२ को फैसलाअनुसार बिगो भराई पाउन वादीको दरखास्त परी प्रतिवादी नाउँमा जारी भएको म्यादभित्र प्रतिवादीले बिगो दाखिल नगरेकाले बिगोबापत दाबी लिएको प्रतिवादीसमेत नाउँको जग्गा यस धनुषा जिल्लाको बेंगाशिवपुरमा रहेकाले बिगो असुल गर्नको लागि काठमाडौंं जिल्ला अदालतबाट यस अदालतमा प्राप्त भै कारवाही हुँदा जग्गा जायजात तायदात भै प्रतिवादीले बिगो दाखेल नगरेकाले प्रतिवादी नाउँको जग्गा लिलाम गरी फैसला कार्यान्वयन गर्ने स्थितिमा रहेको छ । सम्मानित अदालतको मिति २०६७।७।८ को अन्तरिम आदेशानुसार हाल रिट निवेदक राम लखन यादव र निजको सगोलको सम्पत्ति लिलाम गर्ने कार्य अर्को आदेश नहुन्जेलसम्म स्थगित राखिएको छ । कानूनबमोजिम अधिकारक्षेत्र ग्रहण गरी कानूनबमोजिम नै यस अदालतबाट फैसला कार्यान्वयन भै रहेकाले यस अदालतको उक्त कार्यबाट निवेदकले आफ्नो निवेदनमा उल्लेख गरेबमोजिम निजको संविधानद्वारा प्रदत्त कुनै पनि मौलिक हक हनन् नभएकाले निवेदकको रिट निवेदन खारेज गरी पाउन सादर अनुरोध छ भन्ने धनुषा जिल्ला अदालत र ऐ. को तहसिल शाखाको लिखित जवाफ ।

निवेदकले मिति २०६५।६।२ मा नै कानून व्यवसायीद्वारा नक्कल लिएकामा मिति ०६७।५।३१ मा नक्कल लिएको भन्ने उल्लेख गरी रिट निवेदन दिएकाले निवेदकले स्पष्ट सफा हात लिई अदालतभित्र प्रवेश नगरेको स्पष्ट छ । निवेदकसँगको लेनदेनको तमसुक म लिखित जवाफकर्ताले नै तैयार गरी लेनदेन मुद्दा गरी म्यादसमेत मार्न लगाई फैसला गराएको भए यी निवेदकले जालसाजी मुद्दा दिनुपर्ने थियो । बेरीतको म्याद तामेली भएको भए वा फैसला गलत भएको भए म्याद र फैसला बदरतर्फ मुद्दा गर्न अ.बं. ८६ नं. ले कानूनी उपचारको बाटो हुँदाहुँदै असाधारणक्षेत्रमा प्रवेश गर्नुभएको कारण प्रस्तुत रिट निवेदन खारेजभागी छ ।

निवेदकले फैसलामा उल्लेख भएको राम लखन राय यादव म होइन भनी लेख्नुभएको छ तर फैसलामा वतन र तीन पुस्ते नाउँ निवेदकले लेनदेनको लिखतमा जो लेखाउनु भएको छ सोही नाउँ वतन उल्लेख गरी फिराद परेको र सोही नाउँ वतन फैसलामा उल्लेख हुनु स्वाभाविक छ । लिखित किर्ते वा जालसाज हो भनी किटानी आधार निवेदनमा लिनुभएको छैन । २०६४।१।२ को लिखतमा भएको वतन मेरो होइन, त्यो व्यक्ति म होइन भन्ने किटानी आधार निवेदनमा लिनुभएको छैन । सो वतन र नाम भएको व्यक्ति उहाँ होइन भने त्यस लेखतमा भएको ल्याप्चे र हस्ताक्षर पनि निज निवेदकको हुनुपर्ने होइन । सही छाप गरी नाउँ वतन गलत लेखाई निवेदकले जालसाजी गरेको प्रस्ट छ । सहिछापको विशेषज्ञद्वारा जाँच नभएसम्म उक्त कुराको निराकण हुन नसक्ने अर्थात् साक्षी प्रमाण बुझी निर्णय हुने कुरा भएको हुनाले रिट क्षेत्रबाट निरूपण गर्न नमिल्ने हुँदा रिट निवेदन खारेजभागी छ ।

निवेदकको वतनमा म्याद तामेल भएको छैन भन्ने तर्क गराई सरासर गलत छ । का.जि.का.म.न.पा. वडा नं. ३३ माइतीघर करूणा गल्ली ब्लक नम्बर ग१।५१ को घर निज रिट निवेदक कै घर हो । सो घर उहाँको श्रीमती हिरादेवी श्रेष्ठको नाउँमा दर्ता कायम 

छ । आज पनि निवेदक त्यसै घरमा बसी आउनुभएको 

छ । निवेदकले तामेली म्याद र धनुषा जिल्ला अदालतमा बिगोको कारवाहीसमेत बदर गराउने माग गर्नुभएको 

छ । सो सरासर गलत र गैरकानूनी छ । काठमाडौंं जिल्ला अदालतको फैसला उत्प्रेषणद्वारा बदर भएमा विपक्षी निवेदकले म लिखित जवाफकर्तालाई तिर्नु बुझाउनु पर्ने बिगोबाट मुक्ति पाउने छन् । जसबाट म निवेदकलाई प्रत्यक्ष असर पर्न जाने हुन्छ । विपक्षीले ऋण लिनुखानु भएको हुँदा सोबापतमा फैसला कार्यान्वयन भएको हुँदा निवेदन दाबीअनुसार निजको कुनै पनि संवैधानिक हकको हनन् भएको छैन । कानूनी रीत पुर्‍याई दायर भएको लेनदेन मुद्दा र भएको फैसलासमेत कानूनअनुरूप नै भएको हुँदा विपक्षीको संवैधानिक र कानूनी अधिकारमा कुनै प्रकारको आघात नपुगेकाले केवल म लिखित जवाफकर्ताको थैली पचाउने कुनियत चिताई अस्पष्ट भ्रामक रिट निवेदन दिनुको साथ साथै वैकल्पिक कानूनी उपचारको बाटो हुँदाहुँदै हचुवाको भरमा असाधारण अधिकारक्षेत्रभित्र प्रवेश गर्नुभएको रिट निवेदन खारेज गरी न्याय पाउँ भन्ने विपक्षी मनोजकुमार यादवको लिखित जवाफ ।

नियमबमोजिम दैनिक पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत रिट निवेदनमा निवेदकतर्फबाट उपस्थित विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री बालकृष्ण न्यौपाने, विद्वान्‌ अधिवक्ता श्री रत्नेश्वरप्रसाद शर्मा, विद्वान्‌ अधिवक्ता श्री पदमप्रसाद निरौलाले निवेदकको नाम राम लखन यादव र स्थायी ठेगाना धनुषा जिल्ला बेगाशिवपुर वडा नं. ६ भएकामा मिति २०६४।१।२ को लिखतमा ऋणीको नाम राम लखन राय यादव र ठेगाना धनुषा जिल्ला ढेगा पिपराडी वडा नं. ६ भन्ने जनिएको छ । उक्त लेनदेन मुद्दामा रिट निवेदकको यथार्थ वतनमा म्याद तामेल नभई सुनुवाईको मौका नदिई फैसला भएको छ । लेनदेन मुद्दाको फिराद दिँदा प्रतिवादीको वतन धनुषा जिल्ला ढेगा पिपराडी उल्लेख छ भने म्याद तामेल गर्दा काठमाडौंं महानगरपालिका करूणा गल्लीमा तामेल गरिएको र भरिभराउको दरखास्त दिँदा धनुषा जिल्ला वेगाशिवपुर भनी लेनदेन मुद्दाको प्रत्येक चरणमा वतन फरक पारी फैसला र बिगो भरिभराउको काम भएकाले लिखतको वतन नभई अन्य वतनमा तामेल भएको म्यादको आधारमा भएको फैसला र बिगो भराउने काम कारवाही त्रुटिपूर्ण भएकाले उत्प्रेषणको आदेशले बदर हुनुपर्छ भन्नेसमेत बहस गर्नुभयो ।

विपक्षी धनुषा जिल्ला अदालतको तर्फबाट उपस्थित विद्वान्‌ उपन्यायाधिवक्ता श्री पुष्कर सापकोटाले वादीले देखाएको वतनमा नै मुद्दाको म्याद जारी हुने हो । सो वतनमा रीतपूर्वक म्याद तामेल भई गरिएको काम कारवाही त्रुटिपूर्ण भएको भन्न 

मिल्दैन । जिल्ला अदालतको काम कारवाहीबाट निवेदकको हक हनन् भएको छैन भन्नेसमेत बहस गर्नुभयो । विपक्षी मनोजकुमार यादवको तर्फबाट उपस्थित विद्वान्‌ अधिवक्ता श्री अरविन्दकुमार सिंहले राय र यादव दुवै थर हो । ग्वाला जातिका कसैले राय, कसैले यादव र कसैले दुवै थर लेख्ने गरिन्छ । लेनदेन व्यवहार काठमाडौंंमा भएको र प्रतिवादीको हालको वतन पनि काठमाडौंंमा भएकाले काठमाडौंं जिल्ला अदालतमा मुद्दा दायर भएको हो । काठमाडौंंमा जुन घरमा म्याद तामेल भएको छ सो घर रिट निवेदकको पत्नीको घर भएकाले म्याद रीतपूर्वक तामेल भएको छ । रिट निवेदकले आफ्नो कानून व्यवसायीमार्फत् मिति २०६५।६।२ मा लेनदेन मुद्दाको फैसलाको नक्कल लिएकामा मिति २०६७।६।२१ मा मात्र अनुचित विलम्ब गरी रिट दायर गरेकाले विलम्बनको सिद्धान्तको आधारमा यो रिट लाग्नै सक्तैन । निवेदकले आफूले लिएको ऋण नतिर्ने उद्देश्यले यो रिट निवेदन दिएकाले खारेज हुनुपर्छ भन्नेसमेत बहस गर्नुभयो ।

उक्त बहससमेतलाई सुनी प्रस्तुत रिट निवेदनमा निवेदकको मागबमोजिमको आदेश जारी हुने हो वा होइन भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।

२. निर्णयतर्फ विचार गर्दा आफूउपर गलत वतन देखाई विपक्षी मनोजकुमार यादवले काठमाडौंं जिल्ला अदालतमा लेनदेन मुद्दा दायर गरी म्याद तामेल गराई एकतर्फी फैसलाको आधारमा निवेदकको घर जग्गाबाट लेनदेनको बिगो असुलउपर गर्न लिलामको कारवाही चलाएकाले सो लेनदेन मुद्दाको म्याद तामेली एवम् फैसला र बिगोसमेतको सम्पूर्ण काम कारवाही उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भन्ने रिट निवेदकको दाबी रहेको 

पाइन्छ । यससम्बन्धमा निवदेकले दाबी लिएको काठमाडौंं जिल्ला अदालतबाट मिति २०६५।४।२२ मा फैसला भएको संवत् २०६४ सालको दे.नं. २०६८।४३२२ को लेनदेन मुद्दाको सक्कल मिसिल हेर्दा यी विपक्षी मनोजकुमार यादव धनी र राम लखन राय यादव ऋणी भई मिति २०६४।१।२ मा रू. ६,५०,०००।– को कपाली तमसुक खडा भएको देखिन्छ । सो लेनदेनको लिखतमा ऋणीको ठेगाना धनुषा जिल्ला ढेंगा पिपराडी वडा नं. ६ भन्ने जनिएको देखिन्छ । मिति २०६४।९।४ मा यी विपक्षी वादी मनोजकुमार यादवले दायर गरेको लेनदेन मुद्दाको फिरादपत्रमा प्रतिवादीको ठेगाना धनुषा जिल्ला ढेंगा पिपराडी गा.वि.स. वडा नं. ६ हाल का.जि.का.म.न.पा. वडा नं. २ मैतीदेवी करूणा गल्ली ब्लक नं. ग१।५२ भन्ने उल्लेख भएकामा प्रतिवादीको हालको वतन का.म.न.पा.वडा नं. २ भन्ने भूलबाट लेखिन गएकाले वडा नं. ३३ कायम गरी ग१।५१ मैतीदेवी करूणा गल्लीमा म्याद जारी गरिपाउँ भनी वादीले मिति २०६४।१२।१२ मा काठमाडौंं जिल्ला अदालतमा निवेदन दिई उक्त वतनमा म्याद जारी भई म्याद तामेल हुँदा “म्यादवाला रामलखन राय यादव र निजको एकाघरको उमेर पुगेका व्यक्ति घरमा फेला नपरेकाले वादीले देखाएको ग१।५१ को घरमा म्याद टाँस तामेल गरिएको” भन्ने व्यहोरा उल्लेख भई मिति २०६४।१२।१३ मा तामेल गरिएको देखिन आउँछ । मिति २०६४।१२।१३ मा तामेल भएको म्याद आफ्नो वास्तविक वतनमा तामेल नभएको कारण आफूले प्रतिवादको मौका प्राप्त गर्न नसकी एकतर्फीरूपमा बिगो भराउने फैसला भएको भन्ने नै रिट निवेदनको कथन रहेको छ ।

३. उक्त लेनदेन मुद्दामा प्रतिवादीको प्रतिउत्तर नपरी काठमाडौंं जिल्ला अदालतबाट एकतर्फीरूपमा बिगो भरी पाउने ठहरी मिति २०६५।४।२२ मा फैसला भएपश्चात् वादीले प्रतिवादीको वतन धनुषा जिल्ला वेंगाशिवपुर पिपराडी वडा नं. ६ देखाई फैसलाअनुसारको बिगो भराई पाउँ भनी यी रिट निवेदक र निजको पिताको नाउँको धनुषा जिल्ला वेगाशिवपुरको विभिन्न कित्ता जग्गाहरू देखाई काठमाडौंं जिल्ला अदालतमा मिति २०६६।५।१५ मा निवेदन दिई बिगोको कारवाहीको लागि मिसिल धनुषा जिल्ला अदालतमा प्रेषित गरिएको देखिन्छ ।

४. यसरी काठमाडौंं जिल्ला अदालतबाट मिति २०६५।४।२२ मा फैसला भएको मिसिल हेर्दा लेनदेनको लिखतमा उल्लेख भएको ऋणीको वतन जिल्ला धनुषा गा.वि.स. ढेगा पिपराडीभन्दा फरक वतनमा म्याद तामेल भई प्रतिवादीको प्रतिउत्तर नपरी एकतर्फीरूपमा बिगो भराउने फैसला भएको देखिन्छ भने बिगो भराउने कारबाही गर्दा लेनदेनको लिखतमा र फिरादपत्रमा उल्लेख भएको वतनभन्दा फरक धनुषा जिल्ला वेगाशिवपुर पिपराडी वडा नं. ६ भन्ने वतन उल्लेख गरी बिगोको कारबाही गरिएको उक्त मिसिलबाट देखिन्छ ।

५. वस्तुतः लेनदेन मुद्दाको सम्बन्धमा पेस भएको कपाली तमसुकमा उल्लेख भएको ऋणीको वतनमा नै म्याद जारी गरी तामेल 

हुनुपर्दछ । सो वतनभन्दा फरक वतनमा म्याद तामेल गरिएको अवस्थामा त्यस्तो तामेलीलाई रीतपूर्वक तामेल भएको भन्न मिल्ने हुँदैन । लेनदेनको तमसुकमा उल्लेख भएको ऋणीको वतनभन्दा फरक वतनमा तामेल भएको म्याद सम्बन्धित पक्षले प्राप्त गर्न नसकी लेनदेन व्यवहार सम्बन्धमा ऋणीले प्रतिवाद नै गर्न नपाउने अवस्था हुन जान्छ । लिखतबमोजिमको सावाँ ब्याज लिए नलिएको, तिरे नतिरेको लगायत लिखतमा लागेको सही छापसम्बन्धमा अ.बं. ७८ नं.बमोजिमको प्रक्रिया एवम् लिखतको सहिछाप विशेषज्ञबाट जाँच गराउनु पर्नेलगायतका प्रक्रियासमेतमा अर्को पक्षले प्रतिवाद गर्न नपाउने अवस्था आउन 

सक्छ । आफूउपरका आर्थिक वा फौजदारी दायित्वका सम्बन्धमा प्रतिवादीले प्रतिवाद गर्न नपाउने गरी भएको बेरीतको म्याद तामेली र सोही म्याद तामेलीको आधारमा भएको एकतर्फी फैसलाबमोजिम उठान भएको बिगोसमेतको काम कारवाही प्राकृतिक न्यायको सिद्धान्तको अनुकूलको कामकारबाही भन्न मिल्ने हुँदैन ।

६. प्रस्तुत विवादमा रिट निवेदकको वास्तविक वतनमा म्याद तामेल नभई प्राकृतिक न्यायको सिद्धान्तविपरीत सुनुवाइको मौकाबाट वञ्चित गरी लेनदेन मुद्दाका प्रत्येक चरणमा प्रतिवादीको फरक वतन पारी एकतर्फीरूपमा फैसला भई सो फैसलाको आधारमा बिगो भरिभराउतर्फको कामकारवाही गरिएको देखिएकाले उक्त काम कारवाही कानूनअनुकूल भएको भन्न मिल्ने देखिएन ।

७. निवेदकले मिति २०६५।६।२ मा कानून व्यवसायीमार्फत् लेनदेन मुद्दामा भएको फैसलाको नक्कल काठमाडौंं जिल्ला अदालतबाट सारी लिई सोही समयमा फैसला भएको जानकारी पाइसकेको भन्ने विपक्षी मनोजकुमार यादवले लिखित जवाफमा जिकिर भई निज विपक्षीतर्फबाट उपस्थित विद्वान्‌ अधिवक्ताले बहसको क्रममा रिट निवेदकले अनुचित विलम्ब गरी यस अदालतमा रिट निवेदन दायर गरेकाले विलम्बको सिद्धान्तको आधारमा रिट खारेज हुनुपर्छ भनी जिकिर लिनुभएको सन्दर्भमा उक्त लेनदेन मुद्दाको मिसिल हेर्दा काठमाडौंं जिल्ला अदालतबाट मिति २०६५।४।२२ मा भएको फैसलाको नक्कल मिति २०६५।६।२ मा कानून व्यवसायी अधिवक्ताले अध्ययनका लागि लिएको भन्ने कुरा निज अधिवक्ताले दिएको नक्कलको निवेदनबाट देखिन्छ । निज अधिवक्तालाई यी रिट निवेदकले आफ्नो कानून व्यवसायीको रूपमा नियुक्त गरेको भन्ने कुरा मिसिलबाट देखिएको 

छैन । विपक्षी मनोजकुमार यादवको लिखित जवाफमा उल्लेख भए जस्तो निवेदकको कानून व्यवसायीले फैसलाको नक्कल लिएको नभई रिट निवेदकले मिति २०६७।४।११ मा फैसलाको नक्कल लिई मिति २०६७।६।२१ मा प्रस्तुत रिट निवेदन दायर गरेको देखिएकाले अनुचित विलम्ब गरी रिट दायर भएको भन्ने विपक्षीतर्फबाट उपस्थित कानून व्यवसायीको बहससँग सहमत हुन सकिएन ।

८. यसरी रिट निवेदकलाई लेनदेन मुद्दामा प्रतिवाद गर्ने मौका प्रदान नगरी गलत वतनमा म्याद जारी गरी एकतर्फीरूपमा बिगो भराउने गरी फैसला भएको देखिएकाले उक्त मिति २०६४।१२।१३ को म्याद तामेली र सो आधारमा भएको मिति २०६५।४।२२ को काठमाडौंं जिल्ला अदालतको फैसला एवम् बिगो भरिभराउसमेतको सम्पूर्ण कामकारवाहीसमेत प्राकृतिक न्यायको सिद्धान्तको प्रत्यक्ष त्रुटि देखिँदा त्यस्तो त्रुटिपूर्ण कामकारबाही उत्प्रेषणको आदेशद्वारा बदर हुने ठर्हछ । अब लेनदेनको लिखतमा लेखिएको ऋणीको सही वतनमा पुनः म्याद जारी गरी म्याद तामेल गरी रिट निवेदकलाई प्रतिवादको मौका प्रदान गरी लेनदेन मुद्दाको पुनः कारवाही र फैसला गर्नु भनी विपक्षी काठमाडौंं जिल्ला अदालतको नाममा परमादेशको आदेशसमेत जारी हुने ठहर्छ । आदेशको जानकारी विपक्षी काठमाडौंं जिल्ला अदालत र धनुषा जिल्ला अदालतलाई दिई प्रस्तुत रिट निवेदनको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाइदिनू ।

 

उक्त रायमा सहमत छु । 

प्र.न्या. रामकुमार प्रसाद शाह    

 

इति संवत् २०७१ साल पुस २२ गते रोज ३ शुभम् ।

इजलास अधिकृत : विश्वनाथ भट्टराई

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु