शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९३९८ - कर्तव्य ज्यान

भाग: ५७ साल: २०७२ महिना: भाद्र अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

सम्माननीय प्रधानन्यायाधीश श्री रामकुमार प्रसाद शाह

माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल

फैसला मिति : २०७१।१०।२६।२

०६८-CR-१०९७

 

मुद्दाः कर्तव्य ज्यान

 

पुनरावेदक/प्रतिवादी : संखुवासभा जिल्ला, दिदिङ्ग गा.वि.स., वडा नं. ८ घर भई हाल जिल्ला कारागार कार्यालय, संखुवासभा, खाँदबारीमा कैदमा रहेको धनबहादुर राई

विरूद्ध

प्रत्यर्थी/वादी : प्रकाश राईको जाहेरीले नेपाल सरकार

 

०६८-CR-११०२

वादी : प्रकाश राईको जाहेरीले नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी/प्रतिवादी : संखुवासभा जिल्ला, दिदिङ्ग गा.वि.स., वडा नं. ८ बस्ने धनबहादुर राई समेत

 

वारदातमा उपस्थित हुनेहरूका विरूद्ध लाग्ने नभै उपस्थित प्रतिवादीले मूल प्रतिवादी (Principle defendant) सँग मत सल्लाहमा पसेको हुनुपर्ने र त्यस्तो उपस्थितिबाट मूल प्रतिवादी वारदात गर्नका लागि हौसिएको देखिनु आवश्यक हुन्छ । दुईजना व्यक्ति कुस्ती खेल्दा खेल्दै भुइँमा रहेको खुकुरी तानातान गरेको देखी, डराई आफ्नो पनि ज्यान जाला भनी सुरक्षित स्थलतर्फ भाग्ने कार्य स्वयम्‌मा कसुरजन्य कार्य मान्न नमिल्ने ।

(प्रकरण नं. ७)

मृतकको हातबाट खुकुरी खोसीसकेपछि मृतकले प्रतिवादीलाई मार्न सक्ने कुरा सम्भव नै नहुने अवस्थामा मृतकलाई खुकुरीले प्रहार गर्नुको कारण आत्‍मरक्षा हो भनी दाबी गर्नुको ‍औचित्य नरहने ।

आत्मरक्षाको लागि चाहिनेभन्दा बढी बल प्रयोग हुनुहुँदैन । प्रतिवादीबाट भएको बल प्रहारको मात्राले निजको नियत वा मनसाय के कस्तो छ भन्ने इङ्गित 

गर्दछ । मृतक बलहीन रहेको स्थितिमा समेत प्रतिवादीले टाउको अनुहार, घाँटी जस्ता संवेदनशील अङ्गमा खुकुरी प्रहार गरी मृतकलाई नियतवश मारेको प्रमाणित हुँदा प्रतिवादीको पुनरावेदन जिकिरसँग सहमत हुन नसकिने ।

(प्रकरण नं. ८)

 

वादीको तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री सुरेन्द्रबहादुर थापा

प्रतिवादीको तर्फबाट : विद्वान् अधिवक्ता श्री अर्जुनकुमार खत्री 

अवलम्बित नजिर :

सम्बद्ध कानून :

मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ र १३(१), १७(३), ७(१)

मुलुकी ऐन, अदालती बन्दोबस्तको महलको १८८ नं.

 

सुरू तहमा फैसला गर्नेः-

मा.जि.न्या. श्री गोपालप्रसाद बास्तोला

पुनरावेदन तहमा फैसला गर्नेः- 

मा.मु.न्या.श्री गोविन्दकुमार उपाध्याय

मा.न्या.श्री विदुरविक्रम थापा 

 

फैसला

न्या.जगदीश शर्मा पौडेल : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन अदालत, धनकुटाको मिति २०६८।७।२७ को फैसलाउपर दायर हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम्‌ ठहर यसप्रकार छ :-

मिति २०६७।८।२१ गते बेलुका अं. १८ बजेको समयमा मेरो बुवा वर्ष ३६ को मानबहादुर राईलाई दिदिङ्ग-९ स्थित काङलुवा भन्ने ठाउँमा धारिलो हतियार खुकुरीले काटी कर्तव्य गरी मारेको भन्ने थाहा पाई घटनास्थलमा गई हेर्दा मानबहादुर राईलाई मृत अवस्थामा देखिएकाले मैले बुझ्दा मेरो बुवालाई दिदिङ्ग-८ बस्ने धनबहादुर राईले काटी मारेको र साथमा मनिकुमार राई, भिमबहादुर राई, पुजन राई, नहकुल राईसमेत घटनामा थिए भन्ने सुनेकाले घटनामा को-को संलग्न थिए पत्ता लगाई कारवाही गरिपाउँ भन्नेसमेत व्यहोराको प्रकाश राईको जाहेरी दरखास्त । 

जिल्ला संखुवासभा, दिदिङ्ग गा.वि.स., वडा नं. ९ स्थित पूर्वमा चौतारी भित्ता, पश्चिममा जुगे गैरी पाखा, उत्तरमा काङवा डाँडा र दक्षिणमा जुगे गैरी बडार यति चार किल्लाभित्र रहेको मृतक मानबहादुर राईको शव रहेको । मृतकको शव उल्टाई पल्टाई हेर्दा टाउको पछाडीको भाग ६ इन्च लामो काटेको, देब्रे कानको माथि टाउकामा ४ इन्च काटेको, टाउकाको तालुमा १० इन्च काटेको, छाती मुनी दाहीने पट्टि २ इन्च काटेको, दाहिने कोखा मुनि ३ इन्च काटेको, दाहिने तिघ्रामा २ इन्च लम्बाई काटेको, ढाडको देब्रे पट्टि ३ इन्च काटेको र ढाडको दाहिने पट्टि १० इन्च काटेको र नाईटो माथि २ इन्च काटी भुडी निस्केको भन्नेसमेत बेहोराको घटनास्थल तथा लास मुचुल्का । 

मृतकको मृत्यु Multiple stab injury (Including the rt lung) Leading to excessive hemorrhage and death भन्नेसमेत व्यहोराको शव परीक्षण प्रतिवेदन । 

मिति २०६७।८।२१ गतेका दिन छिमेकी नहकुल राईको धान काट्न बिहान ९ बजे गई धान काटी बेलुकी ५.३० बजे घरतर्फ फर्कंदै गर्दा जाहेरवालाको बाबु मानबहादुर राईसँग काउला डाँडा खानी बाटोमा भेट भएकामा मैले मानबहादुर राईलाई मामा तपाइँंले पहिला मान्छे मार्नु भएको हो । गाउँमा फेरि पनि शिर र पुच्छारको २ जनालाई मार्छु भनी धम्की दिँदै घर गाउँमा हिड्नु हुन्छ अरे कसलाई मार्नु हुन्छ भनी सोध्दा तँ पनि मसँग खेल्छस् आइज भालु कुस्ती खेलौं भन्दा दुवैको सहमतिमा खुकुरी भुइँमा राखी कुस्ती खेल्यौं । खेल्दा खेल्दै मृतक मानबहादुर आक्रोशमा आई खुकुरी समात्न गएकाले म छिटो भई निजको हातबाट खुकुरी खोसी अन्धाधुन्ध खुकुरी चलाई मैले मानबहादुर राईलाई हाने । सो अवस्थामा घटनास्थलभन्दा ३० मिटर जति टाढा पुजन राई, मनिकुमार राई, भिमबहादुर राई, नहकुल राई मृतककै सहोदर दाजु कृष्णबहादुर राई वारदात स्थलमा थिए । को कता भागे थाहा भएन । उक्त घटना म एक्लैले घटाएको हुँ । बरामद भै आएको खुकुरी मेरो आफ्नै हो । मृतकसँग पूर्व रिसइवी पनि थिइन घटनामा छिटो भै मैले खुकुरी टिपी नहानेको भए निजले मलगायत सबैलाई मार्ने थिए भन्नेसमेत व्यहोराको प्रतिवादी धनबहादुर राईले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान । 

मिति २०६७।८।२१ गते नहकुल राईको खेतमा धान काटी बेलुका धनबहादुर राई, पुजन राई, मनिकुमार राई र भिमबहादुर राईसमेत आउँदै गर्दा बाटोमा मानबहादुर राई कृष्णबहादुर राई अघिपछि गर्दै आउँदा काङलुवा डाँडाको खानी बाटोमा मानबहादुर राईसँग भेट भयो र धनबहादुर राईले मामा तपाइँले पहिला पनि मान्छे काटी मार्‍यौं अहिले पनि शिर पुच्छरका दुईजना मार्छु भन्नु हुन्छ अरे भनी भनाभन हुँदा हुँदै आ-आफ्नो कम्मरमा बोकेको खुकुरी भुइँमा राखी भालु कुस्ती खेलेपछि मानबहादुर राई आवेशमा आई खुकुरी समाउन खोजेपछि पहिला पनि मान्छे काटी मारेको फेरि काट्ने भयो भनी मसमेत कराउँदै 

भाग्यौं । पछि बुझ्दा मानबहादुर राईलाई धनबहादुर राईले खुकुरी खोसी काटी मारेछन् । सो वारदात घटाउने धनबहादुर राई मात्रै हो । अरू नहकुल राई, पुजन राई र मसमेत संलग्न छैनौं भन्नेसमेत व्यहोराको प्रतिवादी भिमबहादुर राईले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान । 

मिति २०६७।८।२१ गते नहकुल राईको धान काटी घर फर्किने क्रममा बेलुका मानबहादुर राई र कृष्णबहादुर राई पनि आउँदै थिए । हामीमध्येका धनबहादुर राईले मानबहादुरलाई मामा पहिला पनि मंगलसिंह राईलाई काटी मार्‌यौं अहिले पनि शिरदेखि पुच्छारसम्म दुईजनालाई काटी मार्छौं अरे भनी सोध्दा मानबहादुर राई आवेशमा आई आइज भालु कुस्ती खेलौं भनी दुईजनाले बोकेको खुकुरी भुइँमा राखी भालु कुस्ती खेल्दा खेल्दै मानबहादुर राई आवेशमा आई भुइँमा राखेको खुकुरी टिपेपछि पहिला पनि मान्छे काटेको हो फेरि मान्छे काट्ने भयो भनी डरले हामी ४ जना भाग्यौं । केही छिनमा धनबहादुर राई गाउँ घरमा आई मैले मानबहादुर राईलाई काटे भनी बताएकाले मृतकलाई धनबहादुर राईले मात्र काटी मारेको हो । मलगायत भिमबहादुर राई, नहकुल राई, मनिकुमार राईसमेत उक्त घटनामा संलग्न छैनौं भन्नेसमेत व्यहोराको प्रतिवादी पुजन राईले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान । 

मिति २०६७।८।२१ गते मेरो खेतमा धान काट्नको लागि धनबहादुर राई, पुजन राई, मनिकुमार राई र भिमबहादुर राईसमेतलाई धान काट्न लगाई बेलुका घर फर्कने क्रममा बाटोको काङलुवा खानी खोला भन्ने ठाउँमा मानबहादुर राई पनि आई पुगेपछि हामीसँग भएको धनबहादुर राईले मानबहादुर राईलाई मामा तिमीले पहिला पनि मानिस काटी मार्‍यौं अहिले पनि शिरदेखि पुच्छारसम्मका २ जना मार्छु भन्छौं अरे भनी सोध्दा मानबहादुर राई आवेशमा आई आइज भालु कुस्ती खेलौं भनी दुई जनाले बोकेको खुकुरी भुइँमा राखी भालु कुस्ती खेल्न थाले । कुस्ती खेल्दाखेल्दै मानबहादुर राईले भुइँमा राखेको खुकुरी समाएपछि मलगायत चारै जना डरले भाग्यौं । धनबहादुर राईले खुकुरी खोसी काटेछन् । सोही चोटको कारण मानबहादुर राईको मृत्यु भएको हो भन्नेसमेत व्यहोराको प्रतिवादी नहकुल राईले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान । 

मिति २०६७।८।२१ गते दिउँसो नहकुल राईको धान काटी बेलुका धनबहादुर राई, पुजन राई, भिमबहादुर राई, नहकुल राई र मसमेत घर फर्कने क्रममा डाँडा खानी बाटोमा आई पुग्दा मानबहादुर राईलाई भेटी धनबहादुर राईले मामा तपाइँले गाउँको शिरदेखि पुच्छरसम्म २ जना काटी मार्छु भनी हिँडेको छौ अरे भनी भन्दा मानबहादुर आवेशमा आई आइज खेल्छ्स् भने खेलौं भनी दुवै जनाले बोकेको खुकुरी भुइँमा राखी भालु कुस्ती खेले । कुस्ती खेलेको केही छिनमै मानबहादुर राईले भुइँमा राखेको खुकुरी टिपेपछि पहिला पनि मानिस काटी मारेकाले मसमेत डरले भाग्यौं । मानबहादुर राई र धनबहादुर राई त्यही कुस्ती खेलिरहेका थिए । पछि बुझ्दा धनबहादुर राईले मानबहादुरको हातको खुकुरी खोसी काटी मारे भन्ने कुरा सुनेँ भन्नेसमेत व्यहोराको प्रतिवादी मनिकुमार राईले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान । 

मिति २०६७।८।२१ गते बेलुका भाइ नाता पर्ने मानबहादुर राई र म अघिपछि गर्दै घरतर्फ आइरहेका बेला अन्दाजी ३० मिटर पछाडि एक्कासी मार्‍यो भन्ने आवाज सुने । के हो भन्दै जाँदा खानी बाटोमा मानबहादुर राई रगतपक्ष भै भुइँमा लडिरहेको देखि टाउको जिउ शरीर धेरै ठाउँमा चोट थियो, म अत्तालिँदै कराउँदै अगाडि जाँदा केही पर धनबहादुर राई जस्तै दगुर्दै गरेको देखें तर प्रस्ट चिन्न सकिन । गाउँ घरमा गएर मानबहादुर राईलाई को कसले काटी मारेछ भनी हल्लाखल्ला गरी सबै जना लिई आई हेर्दा मृत अवस्थामा देखी कसले काट्यो भनी बुझ्दा बाटोमा गाउँकै पुजन राई, भिमबहादुर राई, नहकुल राई, धनबहादुर राई र मनिकुमार राईसमेत हामीभन्दा अगाडि गएका थिए । तिनीहरूमध्ये कोही कसैले काटेको हुनुपर्छ भनी बुझ्दा पछि धनबहादुर राईले मैले घटनास्थलमा मानबहादुर राईलाई काटेँ भनेकाले निजले नै मृतकलाई खुकुरी प्रहार गरी कर्तव्य गरी मारेकामा विश्वास लाग्छ । अन्य प्रतिवादीहरूको मार्नमा संलग्न छन् छैनन् मलाई थाहा छैन भन्नेसमेत व्यहोराको अनुसन्धानको क्रममा कागज गर्ने कृष्णबहादुर राईको कागज । 

जाहेरीमा लेखिएको मिति र समयमा म मेरै घरमा थिएँ । काङलुवा भन्ने ठाउँमा मानबहादुर राईलाई धारिलो हतियारले काटी मारेको छ भन्ने हल्ला सुन्यौं । को-कसले काटी मार्‍यो थाहा भएन । पछि सुन्दा गाउँकै धनबहादुर राईले भालु कुस्ती खेली केहीवेरमा खुकुरी प्रहार गरी मारेको भन्ने सुनी थाहा पाएको हो । बरामद भएको खुकुरी धनबहादुरकै हो । धनबहादुर राई बाहेक अन्य पक्राउ परेका प्रतिवादीको संलग्नता छैन जस्तो लाग्छ भन्नेसमेत व्यहोराको कविर राई, शान्ती राई, कृष्णकुमार राई, सोमबहादुर राई, राजधन राईसमेत ५ जनाको मिल्दोजुल्दो व्यहोराको वस्तुस्थिति मुचुल्का । 

मिति २०६७।८।२१ गतेको दिन १८ बजेको समयमा वारदात स्थल डाँडा खानी बाटोमा धनबहादुर राईले मानबहादुर राईको शरीरमा अन्धाधुन्धरूपमा खुकुरी प्रहार गरी मानबहादुर राईलाई कर्तव्य गरी मारी मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ र १३(१) नं. विपरीतको कसुर गरेको हुँदा निज प्रतिवादी धनबहादुर राईलाई सोही ऐनको १३(१) नं. अनुसार सजाय गरी पाउन र सोही वारदातमा संलग्न रहेका प्रतिवादी मनिकुमार राई, भिमबहादुर राई, पुजन राई र नहकुल राईसमेतले मार्ने ठाउँमा गई अरू कुरा केही नगरी हेरिरही मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ र १७(३) नं. विपरीतको कसुर गरेको हुँदा निज प्रतिवादीहरू मनिकुमार राई, भिमबहादुर राई, पुजन राई र नहकुल राईसमेतलाई ऐ. ऐनको १७(३) नं. अनुसार सजायसमेत गरिपाउँ भन्नेसमेत व्यहोराको अभियोगपत्र ।

मिति २०६७।८।२१ गते साँझ ७ बजेको समयमा जिल्ला संखुवासभा, दिदिङ्ग गा.वि.स., वार्ड नं. ८ को काङलुवा डाँडा चौतारामा प्रतिवादी धनबहादुरले खुकुरी प्रहार गरी मृतकको मृत्यु भएको हो । सो दिन बिहान १० बजेको समयमा म प्रतिवादीमध्येकै नहकुल राईको धान काट्न खेतमा गएको र सो धान काट्न अन्य प्रतिवादी पुजन राई, मनिकुमार राईसमेतका खेताला आई धानकाटी बेलुकी घर फर्कने क्रममा म, नहकुल, मनिकुमार, पुजन र धनबहादुर राईसमेत सँगसँगै  आउँदा बाटोमा पर्ने काङलुवा डाँडा चौतारामा मृतक धनबहादुर र कृष्णबहादुर राईसमेतसँग भेट भयो । भेट भएपछि प्रतिवादी धनबहादुर राईले मृतकलाई तपाइँले पहिला पनि मानिस मारेको फेरि शिर र पुच्छारको मान्छे २ जना मार्छु भन्नु हुन्छ अरे भनी सोधेँ निजले तँलाई पनि मार्छु भन्यो र निज मृतकले भालु कुस्ती खेलौं भनी भन्यो । सोपछि धनबहादुरले खुकुरी भुइँमा राखी खेलौं भनी दुवैजनाले खुकुरी भुइँमा राखी कुस्ती खेल्न थाले र लछारपछार गर्न थालेपछि मानबहादुरले धनबहादुरको खुकुरी भएको ठाउँमा हात पुर्‍यायो । मृतकले खुकुरी समाउन लाग्दा प्रतिवादी धनबहादुरले खुकुरी खोसी काटन खोज्यो । मसमेत सो ठाउँबाट भागी 

गयौँ । केहिवेरपछि प्रतिवादी धनबहादुरले मसमेतलाई भेट्यो र मसमेतले के गर्‌यौंभन्दा मृतकलाई मैले काटे भन्यो । त्यसपछि जाहेर गर्नुपर्छ भनी जिल्ला प्रहरी कार्यालय खाँदवारी आउँदा आउँदै बाटैमा प्रहरीले प्रक्राउ गरी मसमेत पाँचै जनालाई ल्याएको हो । मृतकलाई प्रतिवादी धनबहादुर राई एक्लैले मारेको हो भन्नेसमेत व्यहोराको प्रतिवादी भिमबहादुर राईले सुरू संखुवासभा जिल्ला अदालतसमक्ष गरेको बयान । 

मृतकको मृत्यु धनबहादुर राईले खुकुरी प्रहार गरेको कारण दिदिङ्ग-९ काङलुवा डाँडा भन्ने ठाउँमा मिति २०६७।८।२१ गते साँझ ७ बजे भएको हो । सो दिन मेरो खेतमा धान काट्न भनी प्रतिवादीमध्ये भिमबहादुर राई, मनिकुमार राई, पुजन राई र गाउँका अन्य साथीहरूलाई खेताला बोलाएको थिएँ । बिहान ८ बजे खेतमा पुगी धान काट्ने काम गरी बेलुकी घर फर्कने क्रममा म, धनबहादुर राई, पुजन, मनिकुमार र भिमबहादुरसँगै घर आउँदै गर्दा मृतक मानबहादुर राईसँग वारदातमास्थलमा भेट भयो । प्रतिवादी धनबहादुर राईले मृतक मानबहादुर राईलाई तपाइँं त ज्यान मारा मान्छे, फेरि मान्छे मार्ने गर्दैछस् अरे 

भने । मृतकले तलाई पनि मार्छु भनें । त्यसपछि प्रतिवादी धनबहादुरले खेलौं भन्यो । मृतकले भालु कुस्ती खेलौं भनी खुकुरी भुइँमा राखी दुवैजना कुस्ती खेल्न 

थाले । खेल्दा खेल्दै मृतकले खुकुरी तान्न हात लम्काएको हुँदा प्रतिवादी धनबहादुरले सो खुकुरी खोसी हान्न खोज्दा मसमेत सो वारदातबाट भाग्यौं । बाटोमा प्रतिवादी धनबहादुर राईले हामीलाई भेट्यो । निजलाई सोध्दा मृतकलाई अन्धाधुन्ध खुकुरी प्रहार गरी 

लडाए । मर्छ होला भन्यो । त्यसपछि जाहेर गर्न भनी हामी पाँचै जना जिल्ला प्रहरी कार्यालय खाँदवारीतर्फ आउँदा आउँदै प्रहरीले हामीलाई पक्राउ गरी ल्याएको हो । मृतक मानबहादुरलाई मार्न मैले कुनै सल्लाह सहयोग गरेको होइन । प्रतिवादी धनबहादुर एक्लैले मारेको हो भन्नेसमेत व्यहोराको प्रतिवादी नहकुल राईले सुरू संखुवासभा जिल्ला अदालतसमक्ष गरेको बयान । 

मिति २०६७।८।२१ गते म काङलुवा खेतमा धान काट्न भनी गई बेलुकी अं. ६ बजे घर फर्कने क्रममा बाटोमा मानबहादुर राई, प्रतिवादी नहकुल राई, पुजन, मनिकुमार, भिमबहादुरसँग डाँडा चौतारामा भेट भै आउने क्रममा मैले मानबहादुर राईलाई तपाइँले पहिला पनि मानिस मारी फरार भएको, हाल पनि मार्छु भन्नुहुन्छ अरे । तपाइँ जेलमा जानुपर्ने भने । निजले मलाई एक्कासी के तँ पनि खेल्छस् भन्यो । मैले लु खेलौं भने । हामी दुवै जनासँग भएको खुकुरी भुइँमा राखी भालु कुस्ती खेल्न थाल्यौं । खेल्दा खेल्दै निजले मलाई घुस्सी मुड्की गरी खुकुरी समाउन खोज्दा म छिटो भएको कारण सो खुकुरी मैले खोसेँ । मैले मलाई मार्ने नै रहेछ भन्ने ठानी सोही खुकुरीले मृतकलाई अन्धाधुन्ध तरिकाले प्रहार गरे  कहाँ कहाँ लाग्यो थाहा भएन । मृतक ढलेपछि म आफ्नो खुकुरी बोकी 

हिँडे । घरतर्फ जाँदा जाँदै बाटोमा मसँग आएका चारै जना प्रतिवादीहरूसँग भेट भयो । निजहरूले मानबहादुर खै भनी सोधे । निजले मलाई खुकुरी प्रहार गर्न खोजेकाले आफ्नो ज्यान बचाउन सो खुकुरी खोसी निज मृतकलाई प्रहार गरेको छु के भयो थाहा भएन भनेर बताएँ । घर पुग्दा मरेको थाहा पाई मसमेत जिल्ला प्रहरी कार्यालय, खाँदबारीमा आउँदाआउँदै बाटैमा प्रहरीले पक्राउ गरी ल्याएको हो । मृतकको मृत्यु मैले खुकुरी प्रहार गरेको चोटबाट मिति २०६७।८।२१ गते काङलुवा भन्ने डाँडामा भएको हो । निजलाई मार्न अरू कोही कसैको संलग्नता छैन । म एक्लैले मारेको हुँ भन्नेसमेत व्यहोराको प्रतिवादी धनबहादुर राईले संखुवासभा जिल्ला अदालतसमक्ष गरेको बयान ।

मृतक मानबहादुर राईको मृत्यु मिति २०६७।८।२१ बेलुकी अं. ६ बजेको समयमा प्रतिवादीमध्येका धनबहादुर राईको खुकुरी प्रहारबाट जिल्ला संखुवासभा, दिदिङ्ग गा.वि.स., वडा नं. ९ काङलुवा डाँडा चौतारामा भएको हो । प्रतिवादी धनबहादुर निजकै खेतमा धान काट्न गई बेलुकी घर फर्कने क्रममा बाटोमा मृतक मानबहादुर निजको साथी कृष्णबहादुर काङलुवा डाँडा चौतारामा बसिरहेको रहेछन् । हामी प्रतिवादी पाँचै जना त्यहाँ आई पुगी प्रतिवादी धनबहादुरले तपाइँ त पहिला पनि मानिस मारी फरार रहेको, चौकीतर्फ जानुपर्ने, अझै पनि शिर पुच्छारको मानिस मार्छु भनी धम्की दिनुहुन्छ अरे, ती मानिसहरू को-को हुन् मलाई चिनाइदिनु भन्दा तँ पनि खेल्छस् भनी उठ्यो । प्रतिवादी धनबहादुर खेल्ने भए खेलौं तर खुकुरी अलग राखी खेलौं भन्यो । त्यसपछि खुकुरी भुइँमा राखी दुवै जना लाप्पा खेल्न थाले । हामी ठट्टा गरेको होला भनी हेरी रह्यौं । केहीछिन पछि मृतकले प्रतिवादी धनबहादुरको खुकुरी उठाउन लाग्दा धनबहादुरले खुकुरी खोसी नचाउन थाले । मसमेत सो ठाउँबाट भागी आफ्नो घरमा आउँदा १५-२० मिनेटको बाटोमा प्रतिवादी धनबहादुरले हामीलाई भेटी हामीले मानबहादुर खै भनी सोध्दा मैले निजलाई काटे, मरेको छैन, लडिरहेछ भन्यो । त्यसपछि जाहेर गर्न भनी बाटोमा आउँदाआउँदै प्रहरीले हामीलाई पक्राउ गरेको हो । मैले मृतकलाई मार्नमा कुनै सहयोग गरिन । प्रतिवादी धनबहादुर एक्लैले खुकुरी प्रहार गरी मारेको हो भन्नेसमेत व्यहोराको प्रतिवादी पुजन राईले संखुवासभा जिल्ला अदालतसमक्ष गरेको बयान ।

मिति २०६७।८।२१ गते दिउँसो नहकुल राईको धान काटी बेलुका धनबहादुर राई, पुजन राई, भिमबहादुर राई, नहकुल राई र मसमेत घर फर्कने क्रममा डाँडा खानी बाटोमा आइपुग्दा मानबहादुर राईलाई भेटी धनबहादुर राईले मामा तपाइँले गाउँको शिरदेखि पुच्छरसम्म २ जना काटी मार्छु भनी हिँडेको छौ अरे भनी भन्दा मानबहादुर आवेशमा आई आइज खेल्छ्स् भने खेलौं भनी दुवै जनाले बोकेको खुकुरी भुइँमा राखी भालु कुस्ती खेले । कुस्ती खेलेको केही छिनमै मानबहादुर राईले भुइँमा राखेको खुकुरी टिपेपछि पहिला पनि मानिस काटी मारेकाले मसमेत डरले भाग्यौं । मानबहादुर राई र धनबहादुर राई त्यहीँ कुस्ती खेलिरहेका थिए । पछि बुझ्दा धनबहादुर राईले मानबहादुरको हातको खुकुरी खोसी काटी मारे भन्ने कुरा सुनेँ । त्यसपछि जाहेर गर्न भनी बाटोमा आउँदाआउँदै प्रहरीले हामीलाई पक्राउ गरेको हो । प्रतिवादी धनबहादुर एक्लैले खुकुरी प्रहार गरी मारेको हो भन्नेसमेत व्यहोराको प्रतिवादी मनिकुमार राईले संखुवासभा जिल्ला अदालतसमक्ष गरेको बयान ।

मृतक मानबहादुर र प्रतिवादीमध्येका धनबहादुर राईको बीच सल्लाहअनुसार भालु कुस्ती खेल्दाखेल्दै मृतकले खुकुरीमा हात पुर्‍याएको अवस्थामा धनबहादुरले खुकुरी खोसी मृतकलाई प्रहार गरी मारेको भनी गाउँलेहरूले भनेकाले सुनी थाहा पाएको हुँ । प्रतिवादी धनबहादुरबाहेकका अन्य प्रतिवादीहरू उक्त वारदातमा संलग्न थिएनन् । प्रतिवादी र मृतकबीच पूर्व रिसइवी थिएन भन्नेसमेत व्यहोराको वस्तुस्थिति मुचुल्कामा बस्ने सोमबहादुर राईले संखुवासभा जिल्ला अदालतमा गरेको बकपत्र ।

मृतक मानबहादुर राईको मृत्यु मिति २०६७।८।२१ गते दिदिङ्ग गा.वि.स., वडा नं. ९ स्थित काङलुवा डाँडामा प्रतिवादी धनबहादुरले प्रहार गरेको खुकुरीको चोटबाट भएको हो भन्ने कुरा म पनि सो वारदात स्थलकै बाटो भएर आउँदा मृतक बाटोमा मरिराखेको देखेको र केही परतिर प्रतिवादी धनबहादुर आफ्नो घरतर्फ जाँदै गरेको देखेको हुँदा निजले नै मारेकामा विश्वास लाग्छ । सोबाहेक अरू कोही कसै माथि शङ्का छैन भन्नेसमेत व्यहोराको मौकामा कागज गर्ने कृष्णबहादुर राईले सुरू अदालतमा गरेको बकपत्र ।

मृतक मेरा बुवा र प्रतिवादी धनबहादुर घटनास्थलमा भेट भएपछि सल्लाहले लाप्पा खेल्न थालेछन् । लाप्पा खेल्दा खेल्दै आवेशमा आई खुकुरी खोसाखोस गरी धनबहादुरले मेरो बुबालाई खुकुरी प्रहार गरेको भन्ने सुनेको हुँ । प्रतिवादी धनबहादुर र मेरो बुबाबीच पूर्व रिसइवी थिएन । तत्काल उठेको रिसबाट खुकुरी प्रहार गरेका हुन् । अरू प्रतिवादी सो वारदात हुन थालेपछि भागेको भन्ने सुनेको हुँ भन्नेसमेत व्यहोराको जाहेरवाला प्रकाश राईले सुरू अदालतमा गरेको बकपत्र । 

मृतक मानबहादुरको मृत्यु मिति २०६७।८।२१ गते दिदिङ्गको काङलुवा भन्ने ठाउँमा धनबहादुर राईले प्रहार गरेको खुकुरी चोटबाट मृत्यु भएको हो भन्नेसमेत व्यहोराको वस्तुस्थिति मुचुल्कामा बस्ने राजधन राईले सुरू अदालतमा गरेको बकपत्र ।

मृतक र प्रतिवादी धनबहादुर सल्लाहले भालु कुस्ती खेल्दाखेल्दै रिस उठी मानबहादुरले धनबहादुरलाई खुकुरी टिपी हान्न लाग्दा सोही खुकुरी खोसी धनबहादुरले मृतकलाई हान्दा मृतकको मृत्यु भएको हो भन्ने सुनेको हुँ वस्तुस्थिति मुचुल्काको व्यहोरा मैले लेखाएको होइन, सहिछापसम्म मेरो 

हो । मृतकको मृत्यु हुनमा अन्य प्रतिवादीहरूको कुनै संलग्नता थिएन भन्ने सुनेको हो भन्नेसमेत व्यहोराको वस्तुस्थिति मुचुल्कामा बस्ने शान्ति राईले सुरू अदालतमा गरेको बकपत्र । 

मृतक र प्रतिवादी धनबहादुर सल्लाहले भालु कुस्ती खेल्दाखेल्दै प्रतिवादी धनबहादुरले मृतकलाई खुकुरीले हानेकाले मानबहादुरको मृत्युभएको हो भन्ने सुनेको हुँ । मृतक र प्रतिवादी धनबहादुरबीच भालु कुस्ती हुन थालेपछि अन्य प्रतिवादीहरू आफ्नो घरतर्फ हिँडेका भन्ने सुनेको हुँ भन्नेसमेत व्यहोराको वस्तुस्थिति मुचुल्कामा बस्ने कविर राईले सुरू अदालतमा गरेको बकपत्र । 

मृतक मानबहादुर र प्रतिवादी धनबहादुर बाटोमा आउँदै गर्दा भालु कुस्ती खेल्ने सल्लाह भै कुस्ती खेल्दाखेल्दै मृतकले प्रतिवादी धनबहादुरलाई खुकुरी हान्न खोज्दा त्यही खुकुरी खोसी धनबहादुरले मृतकलाई प्रहार गरेको चोटले मृत्यु भएको भन्ने सुनेको हो । सो वारदातमा धनबहादुरबाहेकका अन्य प्रतिवादीहरूको संलग्नता थिएन । मृतक र प्रतिवादीहरूबीच कुनै किसिमको पूर्व रिसइवी थिएन भन्नेसमेत व्यहोराको सबै प्रतिवादीहरूका साक्षी मनिप्रसाद राईले सुरू अदालतमा गरेको बकपत्र । 

मृतक मानबहादुर राई र प्रतिवादी धनबहादुर राईको बीचमा भालु कुस्ती झगडा परेको र त्यो झगडामा धारिलो खुकुरी प्रयोग गरेको सुनेको हुँ । बरामद तथा खानतलासीको व्यहोरा र सोमा भएको सहिछाप मेरै हो भन्नेसमेत व्यहोराको बरामदी तथा खानतलासी मुचुल्कामा बस्ने टेकबहादुर राईले सुरू अदालतमा गरेको बकपत्र । 

घटना भएको मैले आँखाले देखेको होइन । यिनीहरू बीचमा झगडा हुँदा खुकुरी प्रयोग गरी काटेको अरे भन्ने सुनेको हुँ । घटनास्थल लासजाँच मुचुल्कामा लेखिएको व्यहोरा र सहिछाप मेरै हो भन्नेसमेत व्यहोराको घटनास्थल तथा लासजाँच मुचुल्कामा बस्ने सविन राईले सुरू अदालतमा गरेको बकपत्र । 

मृतक मानबहादुर राईको मृत्यु प्रतिवादी धनबहादुर राईले अन्धाधुन्ध प्रहार गरेको खुकुरीको चोटको कारणबाट भएको तथ्य प्रमाणबाट पुष्टि भएको हुँदा निज प्रतिवादी धनबहादुर राईलाई ज्यानसम्बन्धीको १३(१) नं. बमोजिम सर्वश्वसहित जन्मकैदको सजाय हुने ठहर्छ । अन्य प्रतिवादीहरू पुजन राई, भिमबहादुर राई, नहकुल राई र मनिकुमार राई ज्यान मार्ने कुनै मतलबमा फसेको वा अन्य कुनै प्रकारको छेकथुन गरेको भन्ने कुनै पनि तथ्य स्थापित हुन नसकेकाले प्रतिवादीहरू पुजन राई, नहकुल राई, भीमबहादुर राई र मनिकुमार राईले आरोपित कसुरबाट सफाइ पाउने ठहर्छ । प्रतिवादी धनबहादुर राईको हकमा मृतक र प्रतिवादीबीच मार्नुपर्नेसम्मको कुनै पुर्व रिसइवी नै नदेखिएको कुनै तयारी नभएको र घटनाका सम्बन्धमा यथार्थ चित्रण प्रस्तुत गरी न्यायिक कार्यमा सहयोग गरेकाले प्रतिवादी धनबहादुर राईलाई सर्वश्वसहित जन्मकैदको सजाय गर्दा चर्को पर्ने जाने हुँदा निजलाई कैद वर्ष १० मात्र सजाय गर्दा पनि न्यायको मकसद परिपूर्ण हुने ठानी अ.बं. १८८ नं. बमोजिम यो छुट्टै राय व्यक्त गरेको छु भन्नेसमेत व्यहोराको सुरू संखुवासभा जिल्ला अदालतको मिति २०६८।३।९ को फैसला ।

सबै प्रतिवादीहरू वारदात स्थलमा मौजुद रहेको तथ्य सह-अभियुक्त धनबहादुर राईकै बयानबाट प्रस्ट भै रहेकै छ । मुलुकी ऐन ज्यानसम्बन्धीको १७(३) ले मत सल्लाहमा पसी मार्ने ठाउँमा गै अरू कुरा केही नगरी हेरिरहनेलाई र अरू किसिमका मतलबीलाई समेत सजायको व्यवस्था गरेको छ । मृतकको मृत्युको कारणमा शव परीक्षण प्रतिवेदनबाट Multiple stab injury भन्ने उल्लेख हुँदा सबै प्रतिवादीको छेकथुन हुँदा मात्र सो प्रकृतिको चोट हुन सक्ने हुँदा सबै प्रतिवादीहरूले कुटपिट गरेको हुन सक्छ । परिस्थितिजन्य प्रमाणको शृङखलाहरूबाट अभियोग दाबीलाई समर्थन भएको स्थितिमा प्रत्यक्ष प्रमाणकै विद्यमानता हुनुपर्ने भन्न मिल्दैन । एकजना सहअभियुक्तले अन्य सहअभियुक्तलाई उन्मुक्ति दिने अधिकार नरहने हुँदा यी प्रतिवादीहरू नहकुल राई, पुजन राई, भीमबहादुर राई र मनिकुमार राईलाई अभियोग मागदाबीबाट सफाइ दिने गरी भएको संखुवासभा जिल्ला अदालतको फैसला त्रुटिपूर्ण हुँदा सो फैसला बदर गरी अभियोग मागदाबीअनुसार सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको वादी नेपाल सरकारका तर्फबाट पुनरावेदन अदालत, धनकुटामा दायर भएको पुनरावेदनपत्र ।

म पुनरावेदकले मृतकलाई मनसायपूर्वक योजनाबद्ध ढङ्गले खुकुरी प्रहार गरेको नभई बाध्यात्मक परिस्थितिमा आफ्नो ज्यान बचाउन खुकुरी प्रहार गरेको परिणाम मृतकको मृत्यु हुन गएको हो । जाहेरवालाको बकपत्रसमेतबाट मृतकसँग रिसइवी नभएको स्पष्ट छ । वारदातको प्रकृति र परिस्थितिको विचार तथा विवेचना नै नगरी सर्वश्वसहित जन्मकैद ठहर गरेको फैसला त्रुटिपूर्ण र बदरभागी छ । मेरो कार्य नियोजित होइन भन्ने बयानमा व्यक्त मेरो व्यहोरालाई स्वयम्‌ जाहेरवालाको बकपत्रबाट समेत समर्थित भएको छ । साक्षी तथा सर्जमिनले बकेका कुरालाई प्रमाणको रूपमा लिएको छैन । अपराध ठहरिनका लागि आवश्यक सबै तत्त्वहरू जस्तै योजना, तयारी र मनसाय छ छैन भनी हेर्नु र देखिनु अनिवार्य हुन्छ । मार्ने योजना र मनसायसहित खुकुरी प्रहार गरेको भए बाटो गौंडा ढुकेर गरिने थियो । ज्यान लिने इवी वा मनसाय नभएकामा ज्यानसम्बन्धीको १३(१) नं. प्रयोग हुन सक्दैन । प्रस्तुत फैसला ज्यानसम्बन्धीको महलको ७(१) नं.को मर्म र भावनाविपरीत छ । राज्यको विद्यायिकाले व्यक्तिलाई दिएको आफ्नो आत्मरक्षाको अधिकारअन्तर्गत ज्यान बचाउन गरिएको कार्य भएकामा फैसलामा आत्मरक्षासम्बन्धी सैद्धान्तिक पक्षको अनुशरण र अवलम्बन नभएको हुँदा सो फैसला बदर गरी इन्साफ पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी धनबहादुर राईको पुनरावेदन अदालत, धनकुटामा दायर भएको पुनरावेदनपत्र ।

कुस्ती खेल्दाखेल्दै मृतक आक्रोशमा आई खुकुरी समात्न गएकाले यी प्रतिवादी छिटो भै निजको हातबाट खुकुरी खोसी मृतकलाई काटी मारेको देखिएको वारदातमा ज्यानसम्बन्धीको महलको ७(१) नं. भित्रका तत्त्वहरू विद्यमान देखिन आउँदैनन् । यी प्रतिवादीलाई मृतकले आफूलाई मार्लान् भन्ने भय थियो भने सो भयको निवारणका लागि मृतकको टाउको अनुहार, घाँटी जस्ता संवेदनशील अङ्गसमेतका ९ ठाउँमा खुकुरी प्रहार गर्नु पर्ने आवश्यकता हुँदैन । प्रतिवादीहरू नहकुल राई, पुजन राई, भीमबहादुर राई र मनिकुमार राई वारदातपूर्व नै वारदातस्थलबाट भागेका र प्रतिवादी धनबहादुरले मृतकलाई खुकुरीले काटी मार्ने कुराको प्रतिवादीहरूलाई पूर्व जानकारी रहेको नदेखिएकाले एवम्‌ अरू किसिमको समेत मत सल्लाहमा पसेको नपाइएकाले यसमा ज्यानसम्बन्धीको महलको १७(३) नं. लाग्न सक्ने देखिन्न । तसर्थ प्रतिवादी धनबहादुर राईलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(१) नं. बमोजिम सर्वश्वसहित जन्मकैद र अरू प्रतिवादीहरूले अभियोग दाबीबाट सफाइ पाउने ठहराएको संखुवासभा जिल्ला अदालतको मिति २०६८।३।९ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । सुरू अदालतको प्रतिवादी धनबहादुरलाई १० वर्ष कैद मात्र गर्ने गरी व्यक्त गरेको राय नमिलेकाले निजलाई २० वर्ष मात्र कैद गर्न उपयुक्त देखिँदा सो राय व्यक्त गरिएको छ भन्नेसमेत बेहोराको पुनरावेदन अदालत, धनकुटाको मिति २०६८।७।२७ को फैसला ।

प्रतिवादी धनबहादुरले अदालतकै बयानमा मृतक मानबहादुर राईलाई खुकुरीले काटी मारेकामा सहज स्वीकार गरेको अवस्थामा पुनरावेदन अदालतको फैसलामा २० वर्ष कैद मात्र गर्ने भन्ने राय व्यक्त भएको कानून प्रतिकूल हुनाले त्यस हदसम्म त्रुटिपूर्ण हुँदा उक्त फैसला बदर भागी छ । प्रतिवादीहरू मनिकुमार राई भिमबहादुर राई, पुजन राई र नहकुल राईलाई सफाइ दिन पुनरावेदन अदालत, धनकुटाले लिएको आधार मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १७(३) नं. को कानूनी त्रुटि रहेको छ । प्रस्तुत वारदातमा ज्यान मार्ने कुरामा प्रतिवादी धनबहादुर राई र मृतकबीच विवाद भएको र खुकुरी झिकी राखी कुस्ती खेल्न लाग्दाको अवस्थासम्म यी प्रतिवादीहरू सँगसाथै छन । यस्तो अवस्थामा प्रतिवादी धनबहादुरले खुकुरी हातमा पार्न सफल भई मृतकलाई प्रहार गर्न थालेपछि मात्र यी प्रतिवादीहरू वारदात स्थलबाट गएका छन् । प्रतिवादी धनबहादुरले मृतकमाथि खुकुरी प्रहार गर्दा उक्त प्रतिवादीहरूले हारगुहार र प्रतिवादीको प्रहारलाई रोकावटसमेतका काम नगरेबाट मत सल्लाहमा पसेको सहजै अनुमान गर्न सकिन्छ र यस्तो अवस्थाका यी मतलबीलाई सफाइ दिनु न्याय सङ्गत देखिँदैन । अतः उल्लिखित आधार प्रमाणहरूबाट प्रतिवादीहरू मनिकुमार राई भिमबहादुर राई, पुजन राई र नहकुल राईलाई अभियोग मागदाबीबमोजिम सजाय हुनुपर्ने स्पष्ट हुँदाहुँदै सफाइ दिने गरी भएको फैसला त्रुटिपूर्ण भएकाले पुनरावेदन अदालतको फैसला सो हदसम्म बदर गरी सबै प्रतिवादीहरूलाई अभियोग माग दाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको वादी नेपाल सरकरको यस अदालतमा दायर भएको पुनरावेदनपत्र ।

प्रस्तुत वारदातको पृष्ठभूमि हेर्दा भालु कुस्ती खेल्ने क्रममा दुवै पक्षमा उत्तेजना बढ्दै गएको अवस्थामा वारदात घटेको छ । म पुनरावेदकले मृतकलाई मनसायपूर्वक योजनाबद्ध ढङ्गले खुकुरी प्रहार गरेको नभई बाध्यात्मक परिस्थितिमा आफ्नो ज्यान बचाउन खुकुरी प्रहार गरेको परिणाम मृतकको मृत्यु हुन गएको हो । पुनरावेदन अदालतले वारदातको प्रकृति र परिस्थितिको विचार तथा विवेचना नै नगरी सर्वश्वसहित जन्मकैद ठहर गरेको फैसला त्रुटिपूर्ण र बदरभागी छ । मेरो कार्य नियोजित होइन भन्ने बयानमा व्यक्त मेरो व्यहोरालाई स्वयं जाहेरवालाको बकपत्रबाटसमेत समर्थित भएको छ । अपराधका चरणहरू योजना, तयारी र कार्य भएको अवस्थामा मात्र मनसायपूर्ण अपराध हुन्छ । प्रस्तुत वारदात मनसायपूर्ण भए बाटो गौंडा ढुकेर गरिने थियो । ज्यान लिने इवी वा मनसाय नभएकामा ज्यानसम्बन्धीको १३(१) प्रयोग हुन 

सक्दैन । प्रस्तुत फैसला ज्यानसम्बन्धीको महलको ७(१) को मर्म र भावनाविपरीत छ । म प्रतिवादी धनबहादुरको मृतकसँग पूर्व रिसइवी नरहेको खुकुरी खोसाखोसका क्रममा वारदात भएको अवस्थामा उपल्लोहदसम्म कैद सजाय गर्ने गरी भएको फैसला त्रुटिपूर्ण भई बदरभागी हुँदा मलाई कठोर सजायबाट मुक्त गरिपाउँ भन्नेसमेत व्यहोराको पुनरावेदक प्रतिवादी धनबहादुर राईको यस अदालतमा दायर भएको पुनरावेदनपत्र ।

नियमबमोजिम दैनिक पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको मिसिल अध्‍ययन गरी पुनरावेदक नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान्‌ उपन्यायाधिवक्ता श्री सुरेन्द्रबहादुर थापालेप्रतिवादी धनबहादुर राईले मृतकको टाउको अनुहार, घाँटी जस्ता संवेदनशील अङ्गमा जोखिमी हतियार खुकुरी प्रहार गरी हत्या गरेको तथ्य स्वयम्‌ प्रतिवादीले स्वीकार गरेको र निजको सावीति अन्य प्रमाणबाट पुष्टि भइरहेको अवस्थामा २० वर्ष कैद मात्र गर्ने भन्ने राय व्यक्त भएको सो हदसम्मको उक्त फैसला त्रुटिपूर्णछ । प्रतिवादीहरू मनिकुमार राई, भिमबहादुर राई, पुजन राई र नहकुल राई प्रतिवादी धनबहादुरले खुकुरी हातमा पार्न सफल भई मृतकलाई प्रहार गर्न थालेपछि मात्र वारदात स्थलबाट गएका 

छन् । प्रतिवादी धनबहादुरले मृतकमाथि खुकुरी प्रहार गर्दा उक्त प्रतिवादीहरूले हारगुहार र प्रतिवादीको प्रहारलाई रोकावटसमेतका काम नगरेबाट मत सल्लाहमा पसेको स्पष्ट छ । अतः सबै प्रतिवादीहरूलाई अभियोग माग दाबीबमोजिम सजाय हुनुपर्छ भनी गर्नुभएको बहस सुनियो ।

प्रतिवादी धनबहादुर राईको तर्फबाट उपस्थित विद्वान्‌ अधिवक्ता श्री अर्जुनकुमार खत्रीले पुनरावेदकले मृतकलाई मनसाय पूर्वक योजनाबद्ध ढङ्गले खुकुरी प्रहार गरेको नभई आफ्नो ज्यान बचाउन बाध्यात्मक परिस्थितिमा खुकुरी प्रहार गरेको परिणाम मृतकको मृत्यु हुनगएको हो । ज्यान लिने इवी वा मनसाय नभएकामा ज्यानसम्बन्धीको महलको १३(१) प्रयोग हुन सक्दैन । प्रस्तुत फैसला ज्यानसम्बन्धी महलको ७(१) नं.को मर्मविपरीत छ । प्रतिवादीले आत्मरक्षाको लागि बाध्य भै वारदात गर्नु परेकाले ज्यानसम्बन्धी महलको ७(१) नं. आकर्शित हुनेमापुनरावेदन अदालतले १३(१) नं. बमोजिम सजाय गरेको त्रुटिपूर्ण छ । अर्कोतिर यी पुनरावेदकले कसुरलाई स्वीकार गरी न्यायिक प्रक्रियामा सहयोग पुर्‍याएकाले पुनरावेदकलाई २० वर्ष कैद गर्न व्यक्त भएको राय कसुरको तुलनामा धेरै भएकाले कम सजाय गरी न्याय दिलाई पाउँ भनी गर्नुभएको बहससमेत सुनियो ।

उल्लिखित बहससमेत सुनी प्रस्तुत मुद्दामा पुनरावेदन अदालत, धनकुटाको फैसला मिलेको छ छैन ? पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्छ सक्दैन भन्ने सम्बन्धमा नै निर्णय गर्नुपर्ने देखियो ।

२. निर्णयतर्फ विचार गर्दा मिति २०६७।८।२१ गते बेलुका अन्दाजी १८ बजेको समयमा बुबा मानबहादुर राईलाई धनबहादुर राईले काटी मारेको र साथमा मनिकुमार राई, भिमबहादुर राई, पुजन राई, नहकुल राईसमेत घटनामा संलग्न भएकाले कारवाही गरिपाउँ भन्नेसमेत व्यहोराको प्रकाश राईको जाहेरी दरखास्त परेको देखिन्छ । प्रतिवादीमध्येका धनबहादुर राईले मानबहादुर राईको शरीरमा खुकुरी प्रहार गरी कर्तव्य गरी मारी मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ र १३(१) नं. विपरीतको कसुर गरेको हुँदा निज प्रतिवादी धनबहादुर राईलाई सोही ऐनको १३(१) नं. अनुसार सजाय हुन र प्रतिवादीहरू मनिकुमार राई, भिमबहादुर राई, पुजन राई र नहकुल राई वारदात स्थलमा रहेकामा केही नगरी हेरिरही मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ र १७(३) नं. विपरीतको कसुर गरेको हुँदा निज प्रतिवादीहरूलाई ऐ. १७(३) नं. अनुसार सजाय हुन भनी अभियोग मागदाबी लिइएको पाइन्छ ।

३. प्रस्तुत मुद्दामा प्रतिवादी धनबहादुर राईलाई ज्यानसम्बन्धी महलको १३(१) नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुने र प्रतिवादीहरू मनिकुमार राई, भिमबहादुर राई, पुजन राई र नहकुल राईलाई अभियोग मागदाबीबाट सफाइ हुने ठहर गरी संखुवासभा जिल्ला अदालतबाट भएको फैसला पुनरावेदन अदालत, धनकुटाबाट सदर भएउपर प्रतिवादी धनबहादुर राईले प्रस्तुत वारदात आत्मरक्षाको क्रममा भएको हुँदा ज्यानसम्बन्धी महलको ७(१) नं. अनुसार को कसुर कायम गरिपाउँ भनी र वादी नेपाल सरकारले सबै प्रतिवादीहरूलाई अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भनी पृथकपृथक पुनरावेदन दायर गरेको पाइन्छ ।

४. प्रस्तुत मुद्दामा सर्वप्रथम मानबहादुर राईको मृत्यु कर्तव्यबाट भएको हो होइन भन्ने सम्बन्धमा विचार गर्नुपर्ने देखियो । घटनास्थल तथा लास प्रकृति मुचुल्का हेर्दा मृतकको टाउको पछाडिको भागमा ६ इन्च लामो काटेको, देब्रे कानको माथि टाउकामा ४ इन्च काटेको, टाउकाको तालुमा १० इन्च काटेको, छाती मुनी दाहीने पट्टि २ इन्च काटेको, दाहिने कोखा मुनी ३ इन्च काटेको, दाहीने तिघ्रामा २ इन्च लम्बाई काटेको, ढाडको देब्रे पट्टि ३ इन्च काटेको र ढाडको दाहिने पट्टि १० इन्च काटेको र नाईटोमाथि २ इन्च काटी भुडी निस्केको भन्नेसमेत उल्लेख भएको पाइन्छ । मृतकको शव परीक्षण प्रतिवेदनमा मृत्युको कारणमा Multiple stab injury (Including the rt lung) Leading to excessive hemorrhage and death भन्ने व्यहोरा उल्लेख भएको पाइन्छ । उल्लिखित घटनास्थल तथा लास प्रकृति मुचुल्का, शव परीक्षण प्रतिवेदनका साथै जाहेरवालाको जाहेरी दरखास्तसमेतका मिसिल संलग्न कागजहरूबाट मृतक मानबहादुर राईको मृत्यु कर्तव्यबाट भएकामा विवाद देखिएन ।

५.मानबहादुर राईको मृत्यु कसको कर्तव्यबाट भएको हो भन्ने सम्बन्धमा विचार गर्दा प्रतिवादी धनबहादुर राईले अधिकारप्राप्त अधिकारीसमक्ष एवम्‌ अदालतमा आइ बयान गर्दा मिति २०६७।८।२१ गतेका दिन बेलुकी ५.३० बजे मानबहादुर राईसँग काउला डाँडा खानी बाटोमा भेट भएकामा निजलाई मामा तपाइँंले पहिला मान्छे मार्नुभएको हो । गाउँमा फेरि पनि शिर र पुच्छारको २ जनालाई मार्छु भनी धम्की दिँदै घर गाउँमा हिड्नु हुन्छ अरे कसलाई मार्नुहुन्छ भनी सोध्दा आइज भालु कुस्ती खेलौं भनी निजले भनेकाले दुवैको सहमतिमा खुकुरी भुइँमा राखी कुस्ती खेल्यौं । खेल्दाखेल्दै मृतक मानबहादुर आक्रोशमा आई खुकुरी समात्न गएकाले म छिटो भई निजको हातबाट खुकुरी खोसी अन्धाधुन्ध खुकुरी चलाई मैले मानबहादुर राईलाई हाने । सो अवस्थामा घटनास्थलभन्दा ३० मिटर जति टाढा पुजन राई, मनिकुमार राई, भिमबहादुर राई, नहकुल राई मृतककै सहोदर दाजु कृष्णबहादुर राईसमेत थिए । उक्त घटना म एक्लैले घटाएको हुँ । बरामद भै आएको खुकुरी मेरो आफ्नै हो । घटनामा छिटो भै मैले खुकुरी टिपी नहानेको भए निजले मलगायत सबैलाई मार्ने थिए भनी कसुरमा साबित रहेको देखिन्छ । सह अभियुक्तहरू मनिकुमार राई, भिमबहादुर राई, पुजन राई र नहकुल राईले अधिकारप्राप्त अधिकारीसमक्ष एवम्‌ अदालतमा आइ बयान गर्दा प्रतिवादी धनबहादुर राईको बयानलाई समर्थित हुने गरी मृतक र प्रतिवादी धनबहादुर राई खुकुरी भुइँमा राखी कुस्ती खेल्दा खेल्दै मृतकले खुकुरी टिप्न लागेको देख्नासाथ आफूहरू वारदात स्थलबाट भागेकामा पछि धनबहादुरले मृतकको हातबाट खुकुरी खोसी अन्धाधुन्दा मृतकलाई हानी काटी मारेको भनी बताएका हुन भन्ने उल्लेख गरेको पाइन्छ । वादातस्थल नजिक रहेका कृष्णबहादुर राईले मिति २०६७।८।२१ गते बेलुका मानबहादुर राई र म अघिपछि गर्दै घरतर्फ आइरहेका बेला अन्धाजी ३० मिटर पछाडि एक्कासी मार्‍यो भन्ने आवाज सुने । के हो भन्दै जाँदा खानी बाटोमा मानबहादुर राई रगतपक्ष भै भुइँमा लडिरहेको देखि टाउको र शरीरका धेरै ठाउँमा चोट थियो, म अत्तालिँदै कराउँदै अगाडि जाँदा केही पर धनबहादुर राई दगुर्दै गरेको देखें भनी अनुसन्धानको क्रममा कागज गरी अदालतमा समेत आइ बकपत्र गरेको पाइन्छ । वस्तुस्थिति मुचुल्काका मानिसहरू कविर राई, शान्‍ती राई, कृष्ण कुमार राई, सोमबहादुर राई, राजधन राईले अनुसन्धानका क्रममा धनबहादुर राईले खुकुरी प्रहार गरेबाट मृतकको मृत्युभएको भन्ने बेहोराको कागज गरी अदालतमा बकपत्रसमेत गरेको पाइन्छ । उल्लिखित प्रमाणबाट प्रतिवादी धनबहादुर राईले जोखिमी हतियार खुकुरीले मानबहादुर राईको टाउको पेटसमेतका मर्मस्थानमा प्रहार गरी कर्तव्य गरी मारेको तथ्य पुष्टि हुन आयो ।

६. अब प्रतिवादीहरू मनिकुमार राई, भिमबहादुर राई, पुजन राई र नहकुल राईका हकमा विचार गर्दा निज प्रतिवादीहरूले अधिकारप्राप्त अधिकारीसमक्ष एवम्‌ अदालतमा आई बयान गर्दा मिति २०६७।८।२१ गते मेलाबाट हामीहरू घर फर्कने क्रममा डाँडा खानी बाटोमा आई पुग्दा मानबहादुर राईलाई भेटी धनबहादुर राईले खुकुरी भुइँमा राखी भालु कुस्ती खेल्ने क्रममा मानबहादुर राईले भुइँमा राखेको खुकुरी टिपेपछि पहिला पनि मानिस काटी मारेकाले हामीसमेत डरले भाग्यौं । पछि बुझ्दा धनबहादुर राईले मानबहादुरको हातको खुकुरी खोसी निज मानबहादुर राईलाई काटी मारे भन्ने कुरा निज धनबहादुरबाट नै सुनेका हौं । प्रतिवादी धनबहादुर एक्लैले खुकुरी प्रहार गरी मानबहादुर राईलाई मारेको हो भनी निज प्रतिवादीहरू कसुरमा इन्कार रहेको देखिन्छ । यी प्रतिवादीहरू पनि कसुरदार देखिने प्रमाणको अभाव रहेको छ । प्रतिवादी धनबहादुर र मृतकबीच भालु कुस्ती हुँदाहुँदै पहिला मृतकले खुकुरी टिप्नासाथ धनबहादुर बाहेकका अन्य प्रतिवादीहरू डरले भागी हिडेको हुँदा प्रतिवादी धनबहादुर बाहेकका अरू प्रतिवादीहरू वारदात स्थलमा रहेको र वारदात हेरी बसेको कुरा प्रमाणित भएको देखिन्न । 

७. मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १७(३) नं. मा “अरू किसिमसँग मत सल्लाहमा पसेकामा मार्ने ठाउँमा गई अरूकुरा केही नगरी हेरी रहनेलाई र लेखिएदेखि बाहेक अरू किसिमका मतलबीलाई ६ महिनादेखि तीन वर्षसम्म कैद गर्नुपर्छ” भन्ने कानूनी व्यवस्था रहेको छ । यी प्रतिवादीहरू वारदातपूर्व नै वारदात स्थलबाट भागेका र प्रतिवादी धनबहादुरले मृतकलाई खुकुरीले काटी मार्ने कुराको प्रतिवादीहरूलाई पूर्व जानकारी रहेको नदेखिएको एवम्‌ अरू किसिमको मत सल्लाहमा पसेको नपाइएकाले प्रस्तुत वारदातमा यी प्रतिवादीहरू उपर ज्यानसम्बन्धी महलको १७(३) नं. आकर्षित हुने देखिन्न । सो १७(३) नं. तेत्तिकै वारदातमा उपस्थित हुनेहरूका विरूद्ध लाग्ने नभै उपस्थित प्रतिवादीले मूल प्रतिवादी (Principle defendant) सँग मत सल्लाहमा पसेको हुनुपर्ने र त्यस्तो उपस्थितिबाट मूल प्रतिवादी वारदात गर्नका लागि हौसिएको देखिनु आवश्यक हुन्छ । दुईजना व्यक्ति कुस्ती खेल्दा खेल्दै भुइँमा रहेको खुकुरी तानातान गरेको देखी डराई आफ्नो पनि ज्यान जाला भनी सुरक्षित स्थलतर्फ भाग्ने कार्य स्वयम्‌मा कसुरजन्य कार्य मान्न मिल्दैन । यस्तो घटनालाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १७(३) नं. मा रहेको ज्यान मार्नलाई मतलबमा पसेको भन्ने कसुरभित्र राख्नु न्यायपूर्ण हुँदैन । तसर्थ प्रस्तुत मुद्दामा प्रतिवादीहरू मनिकुमार राई, भिमबहादुर राई, पुजन राई र नहकुल राईलाई कसुरदार मान्न मिलेन ।

८. प्रस्तुत वारदात मुलुकी ऐन, ज्यान सम्बन्धी महलको ७(१) नं. भित्र पर्ने वारदात हो भन्ने प्रतिवादी धनबहादुर राईको पुनरावेदन जिकिरतर्फ विचार गर्दा उक्त ७(१) नं. मा “कसैले हात हतियार लिई वा नलिई आफ्नो ज्यान लिनासम्मको जोरजुलुम गर्न लागेकामा त्यस्तालाई पक्राउ गर्न वा गुहार मद्दत माग्न नसकिने वा मागे पनि बखतमा मद्दत पुग्न नसक्ने वा त्यस्ताको पञ्जाबाट भागी उम्की आफ्नो ज्यान बचाउनसमेत फुर्सत नपाउने अवस्थामा आफूले केही नगरे आफ्नो ज्यान रहँदैन भन्ने पूरा विश्वास भै ज्यान बचाउनका खातिर उसै मौकामा केही गर्दा सो जुलुमीको ज्यान मरेको” भनी आत्मरक्षाको कानूनी परिभाषा र सीमाङ्कन गरिएको देखिन्छ । तर प्रस्तुत वारदात हेर्दा यी प्रतिवादीहरूलाई मृतकले ज्यान लिनासम्मको यो यस्तो जोरजुलुम गरेको भन्ने कुरालाई प्रतिवादी धनबहादुरले उल्लेख गर्न सकेको देखिँदैन । वारदातको दिन मृतकले यी प्रतिवादी धनबहादुरसँग वा अरू कसैसँग कुनै अनुचित व्यवहार गरेको भन्ने कुरा खुल्न सकेको छैन । बरू प्रतिवादी धनबहादुरले नै तपाइँले गाउँमा मान्छे मारेको र अझ पनि मानिस मार्छु भन्नु हुन्छ तपाइँ जेलमा जानुपर्ने भन्ने जस्ता कुरा गरी मृतकलाई उत्तेजना दिएका अर्थात् वारदातको निहुँ खोजेको देखिन्छ । कुस्ती खेल्दाखेल्दै मृतक आक्रोशमा आई खुकुरी समात्न गएकाले यी प्रतिवादी छिटो भै निजको हातबाट खुकुरी खोसी मृतकलाई काटी मारेको देखिएको यो वारदातमा उक्त ७(१) नं. भित्रका तत्वहरू विद्यमान देखिन आउँदैनन् । मृतकको हातबाट खुकुरी खोसिसकेपछि मृतकले प्रतिवादीलाई मार्न सक्ने कुरा सम्भव नै नहुने अवस्थामा मृतकलाई खुकुरीले प्रहार गर्नुको कारण आत्मरक्षा हो भनी दाबी गर्नुको ‍औचित्य रहँदैन । खुकुरी खोस्न सक्ने प्रतिवादीले सो खुकुरीका साथ भागी आफूलाई सुरक्षित पार्ने वा केही पर रहेका अन्य प्रतिवादीहरूलाई गुहार लगाई निजहरूको मद्दतबाट निजलाई नियन्त्रण गर्ने जस्ता सुरक्षात्मक उपायहरू अवलम्बन गर्न सक्ने अवस्था रहँदारहँदै सो नगरी पुनरावेदकले मृतकलाई खुकुरी प्रहार गरेको देखिन्छ । यदि यी प्रतिवादीलाई मृतकले आफूलाई मार्लान् भन्ने भय थियो भने सो भयको निवारणका लागि मृतकको टाउको अनुहार, घाँटी जस्ता संवेदनशील अङ्गसमेतका ९ ठाउँमा खुकुरी प्रहार गर्नु पर्ने आवश्यकता हुँदैन । आत्मरक्षाको लागि चाहिनेभन्दा बढी बल प्रयोग हुनुहुँदैन । प्रतिवादीबाट भएको बल प्रहारको मात्राले प्रतिवादीको नियत वा मनसाय के कस्तो छ भन्ने इङ्गित गर्दछ । मृतक बलहीन रहेको स्थितिमा समेत प्रतिवादीले टाउको अनुहार, घाँटी जस्ता संवेदनशील अङ्गमा खुकुरी प्रहार गरी मृतकलाई नियतवश मारेको प्रमाणित हुँदा प्रतिवादीको उक्त पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन ।

९. अब प्रतिवादी धनबहादुर राईलाई संखुवासभा जिल्ला अदालतले मुलुकी ऐन, अदालती बन्दोबस्तको महलको १८८ नं. अनुसार १० वर्ष कैद मात्र गर्ने गरी राय व्यक्त गरेकामा पुनरावेदन अदालत, धनकुटाबाट उक्त रायमा असहमति जनाइ निज प्रतिवादी धनबहादुर राईलाई २० वर्ष कैद गर्न राय व्यक्त गरेको सम्बन्धमा विचार गर्दा मुलुकी ऐन, अदालती बन्दोबस्तको महलको १८८ नं. मा सर्वस्वसहित जन्मकैद वा जन्मकैद ठहर भएका मुद्दामा निर्णयकर्ताले अपराध गरेको अवस्थालाई विचार गरी अभियुक्तलाई कम सजाय गर्न राय व्यक्त गर्न सक्ने व्यवस्था रहेको छ । प्रस्तुत मुद्दामा वारदातका समयमा मृतकले प्रतिवादीसँग झगडाको निउ खोजी वारदात घटाउन प्रतिवादीलाई उत्तेजित बनाएको नभई प्रतिवादी धनबहादुरराईले मृतकलाई तपाइँले गाउँमा मान्छे मारेको र अझ पनि मानिस मार्छु भन्नु हुन्छ तपाइँ जेलमा जानुपर्ने भन्ने जस्ता कुरा गरी मृतकसँग निहुँ खोजेको देखिन्छ । कुस्ती खेल्दा खेल्दै भुँइमा रहेको खुकुरी लिएका मृतकको हातबाट खुकुरी खोसी सकेपछि सुरक्षात्मक उपायहरू अवलम्बन गर्न सक्ने अवस्था रहँदा रहँदै सो नगरी बलहिन भैसकेका मृतकको टाउको अनुहार, घाँटी जस्ता संवेदनशील अङ्गमा जत्रतत्र निर्ममतापूर्वक खुकुरी प्रहार गरेको पाइन्छ । जोखिमी हतियार खुकुरी कब्जामा लिई आफू सुरक्षित रहँदारहँदै निर्बल रहेका मृतकलाई मर्म स्थानमा अन्धाधुन्दरूपमा खुकुरी प्रहार गरी मानिस मारेको प्रस्तुत अपराध हुँदाको घटना र परिस्थितिलाई हेर्दा सजाय घटाउने गरी मुलुकी ऐन, अदालती बन्दोबस्तको महलको १८८ नं. बमोजिमको राय व्यक्त गर्ने अवस्थाको विद्यमानता देखिँदैन । प्रतिवादी धनबहादुर राईलाई मुलुकी ऐन, अदालती बन्दोबस्तको महलको १८८ नं. अनुसार १० वर्ष मात्र कैद गर्ने गरी संखुवासभा जिल्ला अदालतले व्यक्त गरेको राय एवम्‌ २० वर्ष कैद गर्न पुनरावेदन अदालत, धनकुटाबाट व्यक्त गरेको राय मिलेको नदेखिदा प्रतिवादी धनबहादुर राईलाई सर्वश्वसहित जन्मकैदको सजाय हुने ठहर्छ ।

१०. तसर्थ प्रतिवादी धनबहादुर राईलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(१) नं. बमोजिम सर्वश्वसहित जन्मकैद हुने र प्रतिवादीहरू मनिकुमार राई, भिमबहादुर राई, पुजन राई र नहकुल राईलाई अभियोग दाबीबाट सफाइ दिने ठहराएको संखुवासभा जिल्ला अदालतको मिति २०६८।३।९ को फैसला सदर हुने ठहर गरेको पुनरावेदन अदालत, धनकुटाको मिति २०६८।७।२७ को फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । वादी प्रतिवादी दुवै पक्षको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रतिवादी धनबहादुर राईलाई सर्वश्वसहित जन्मकैदको सजाय गर्न प्रस्तुत फैसलाको लगतसहितको जानकारी संखुवासभा जिल्ला अदालतलाई दिई प्रतिवादी धनबहादुर राईलाईसमेत यस फैसलाको जानकारी निज कैदमा रहेको कारागार कार्यालयमार्फत गराई प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनू ।

 

उक्त रायमा सहमत छु ।

प्र.न्या.रामकुमार प्रसाद शाह

 

इति संवत् २०७१ साल माघ २६ गते रोज २ शुभम् ।

इजलास अधिकृत : शिवप्रसाद खनाल

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु