निर्णय नं. ९४०७ - उत्प्रेषण / परमादेश

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री वैद्यनाथ उपाध्याय
माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय
आदेश मिति : २०७१।१०।२२।५
०७०-WO-०१४२
मुद्दा : उत्प्रेषण / परमादेश ।
निवेदक : धनुषा जिल्ला यदुकुहा गा.वि.स. वडा नं. २ बस्ने तेजनारायण व्यारकी नाबालिका छोरी वर्ष ९ की खुसवुकुमारी व्यारसमेत
विरूद्ध
विपक्षी : पुनरावेदन अदालत, जनकपुरसमेत
नाबालकको वास्तविक संरक्षक भनेका आमा र बाबु नै हुन् । बाबु आमा छँदा छँदै कुनै खास कारणबाहेक नाबालकहरूको संरक्षक अरू हुन सक्ने अवस्था हुँदैन । एउटै परिवारकी आमाले व्यवहार गरी मुद्दा हार जित भएपछि सम्पत्ति जान लाग्यो भनी बाबुले निवेदन गरी आफ्नो भाग छुट्याई लिई सकेपश्चात् पुनः नाबालकहरूको बाबु आमा छँदा छँदै मावली हजुरबुवाले नाति नातिनीको हकमा निवेदन गर्ने र बाबु आमाको लिखितजवाफसमेतको व्यहोरा हेर्दा पनि रिट निवेदकलाई सघाउ पुग्ने खालको देखिएको अवस्थामा प्रथम दृष्टि मै निवेदक सफा हात लिई आएको देखिन नआउने ।
(प्रकरण नं. ६)
निवेदकको तर्फबाट : विद्वान् अधिवक्ता सुरेन्द्रकुमार महतो
विपक्षीको तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता भरतलाल शर्मा
अवलम्बित नजिर :
सम्बद्ध कानून :
मुलुकी ऐन, लेनदेन व्यवहारको ८ नं.
दण्ड सजायको महलको २६, ६१नं.
आदेश
न्या. बैद्यनाथ उपाध्याय : नेपालको अन्तरिम संविधान, २०६३ को धारा १०७ को उपधारा (२) बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत रिट निवेदनको सङ्क्षिप्त तथ्य एवम् आदेश यसप्रकार छ :
उल्लिखित नाबालिका तथा नाबालकहरूका पिता विपक्षी तेजनारायण र आमा सुमनदेवी व्यार हुन् । म संरक्षक मावली हजुरबुवा हुँ । नाबालक तथा नाबालिकाहरू मेरो संरक्षकत्वमा छन् । विपक्षी तेजनारायण व्यार वैदेशिक रोजगारको लागि विदेश गएको समयमा सुमनदेवी व्यारले विपक्षी बद्री महतो सुडीबाट रू.९,०५,०००।– २०६५ साल फागुन मसान्तभित्र तिर्ने बुझाउने भाखा राखी मिति २०६४।११।१९ मा कपाली तमसुक गरी ऋण लिएको रहेछ । उक्त भाखाभित्र रकम नबुझाएको भनी बद्री महतो सुडीले दायर गरेको लेनदेन मुद्दा मिति २०६६।१२।१५ मा धनुषा जिल्ला अदालतबाट सावाँ रू.९,०५,०००।– र सोको सयकडा दश प्रतिशतले हुने ब्याज तिर्नु बुझाउनु पर्ने गरी फैसला भएको रहेछ । सो फैसलाबमोजिम बिगो भरीभराउको लागि विपक्षी बद्री महतो सुडीले नाबालक तथा नाबालिकाको समेत हक लाग्ने कि.नं. १, कि.नं. ६७२, ६८० / कि.नं. ६८१ का जग्गा देखाई निवेदन दिएपछि विपक्षी तेजनारायण व्यारले फुकुवा गरी पाउन धनुषा जिल्ला अदालतमा मिति २०६७।७।२४ मा दिएको निवेदनमा उल्लिखित जग्गामध्ये आधा जग्गा फुकुवा हुने गरी तहसिलदारबाट मिति २०६८।५।२० मा आदेश भएको रहेछ ।
नाबालकहरूको अंश हक संरक्षणको लागि मैले जग्गा फुकुवाको लागि गरेको निवेदनमा विपक्षी तहसीलदारबाट मिति २०६९।६।१ मा आधा जग्गा फुकुवा भै सकेकोले फुकुवा गर्न मिलेन भन्ने व्यहोराले आदेश भयो । सोआदेश पनि बदर गरी पाउन दिएको निवेदनमा जिल्ला अदालतबाट मिति २०६९।८।२९ मा कानूनबमोजिम गर्नु भनी आदेश भएपछि सोआदेश पनि बदरको लागि मैले गरेको अ.बं. १७ नं को निवेदन कारवाहीयुक्त अवस्थामा रही रहेको समयमा मिति २०६९।१०।७ मा सुमनदेवी व्यारको हकको जग्गा रामजतन वरहीले डाक लिलाम सकार गरेको रहेछ । उक्त डाक लिलाम बदरको लागि धनुषा जिल्ला अदालतसमक्ष गरेको निवेदनमा पनि मिति २०६९।१२।९ मा र पुनरावेदन अदालत जनकपुरबाट मिति २०७०।३।६ मा कानूनबमोजिम गर्नु भन्ने आदेश भएको छ । विपक्षी तेजनारायण व्यारले बदनीयत चिताई जग्गा फुकुवाको निवेदनमा छोरा छोरी नदेखाएको हो । नाबालकहरूको अंशको जग्गा दण्ड सजायको महलको २६ नं. बमोजिम डाक लिलाम हुन सक्दैन । जग्गा फुकुवा गर्न नमिल्ने भनी धनुषा जिल्ला अदालतका तहसिलदारले मिति २०६९।६।१ मा गरेको आदेशलाई कानूनबमोजिम गर्नु भनी धनुषा जिल्ला अदालतबाट मिति २०६९।८।२९ मा भएको आदेश, मिति २०६९।१०।७ को डाक लिलाम मुचुल्का बदर नगर्ने धनुषा जिल्ला अदालतको मिति २०६९।१२।९ को आदेश र पुनरावेदन अदालत जनकपुरको मिति २०७०।३।६ को आदेश उत्प्रेषणको आदेशले बदर गरी ५ भाग लिलाम बदर गरी जग्गा फुकुवा गरिपाउँ भन्ने व्यहोराको संरक्षक भोला महतो सुडीको तर्फबाट यस अदालतमा परेको रिट निवेदन ।
यसमा विपक्षीहरूबाट १५ दिनभित्र लिखित जवाफ मगाई लिखित जवाफ पेस भएपछि वा अवधि व्यतित भएपछि नियमानुसार पेस गर्नु भन्नेसमेत व्यहोराको यस अदालतको मिति २०७०।५।३ को आदेश ।
मेरी श्रीमती सुमनदेवी व्यारले लिएको ऋणमा मेरो सहमति थिएन । मेरो नामको सम्पत्ति रोक्का रहेकामा पछि मैले मेरो भाग हिस्साको जग्गामात्र फुकुवा गराएको छु । निवेदक नाबालकहरूको भाग फुकुवा गराएको छैन । मैले पिताको दायित्व निर्वाह गर्न नसकेको अवस्थामा प्रस्तुत रिट निवेदन खारेज गरिपाउँ भन्नेसमेत व्यहोराको विपक्षी तेजनारायण व्यारको तर्फबाट पेस भएको लिखितजवाफ ।
मैले व्यक्तिगतरूपमा लिएको ऋण मेरो सम्पत्तिबाटमात्र असुलउपर हुन सक्नेमा अन्यको सम्पत्तिबाट असुलउपर गराएको हो भन्नेसमेत व्यहोराको विपक्षी सुमनदेवी व्यारको तर्फबाट पेस भएको लिखित जवाफ ।
घरको मुख्य व्यक्ति घरमा नभएको समयमा तेजनारायणको श्रीमती सुमनदेवी व्यारले घरको मुलीको हैसियतले लिए खाएको ऋण मुलुकी ऐन लेनदेन व्यवहारको ८ नं. र दण्ड सजायको महलको २६ नं. बमोजिम सगोलको ऋण हुँदा प्रस्तुत रिट निवेदन खारेज गरिपाउँ भन्नेसमेत व्यहोराको विपक्षी बद्री महतो सुडीको तर्फबाट पेस भएको लिखित
जवाफ ।
बद्री महतो सुडी वादी र सुमनदेवी व्यार प्रतिवादी भई यस अदालतमा चलेको लेनदेन मुद्दामा मिति २०६६।१२।१५ मा वादी दाबीअनुसार विपक्षी सुमनदेवी व्यारले सावाँ र सो को ब्याजसमेत तिर्नु बुझाउनु पर्ने ठहरी भएको फैसला कार्यान्वयनको सिलसिलामा डाक लिलाम भएको र सोउपर परेको यी निवेदकको निवेदनमा मिति २०६९।१२।९ मा डाक लिलाम बदर नहुने भनी भएको आदेश पुनरावेदन अदालत जनकपुरबाट मिति २०७०।३।६ मा सदर भै फैसला कार्यान्वयन भएको कार्यमा कुनै कानूनको त्रुटि नभएकोले प्रस्तुत रिट निवेदन खारेज गरिपाउँ भन्नेसमेत व्यहोराको धनुषा जिल्ला अदालत र ऐ.को तहसिलदारको तर्फबाट पेस भएको लिखित जवाफ ।
नियमबमोजिम दैनिक पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत रिट निवेदनमा निवेदकको तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री सुरेन्द्रकुमार महतोले मुलुकी ऐन दण्ड सजायको महलको २६ नं. बमोजिम जायजात गर्दा नाबालकहरूको अंश भाग पर सारी जायजात गर्नुपर्ने व्यवस्था छ । यी नाबालकहरूकी आमाले एकलौटी लिए खाएकामा ऋणमा सबैको नैसर्गिक अंश हकलाई मारेर डाँक लिलाम सकार गर्न गराउन मिल्दैन । लेनदेन मुद्दाको बिगो भरी भराउ ऋण खाने व्यक्तिको सम्पत्तिबाट हुने हो । अरूको सम्पत्तिबाट अरूले लिए खाएको ऋण जायजात गर्न मिल्दैन । फैसला कार्यान्वयन गर्ने भन्दैमा कानूनद्वारा निर्धारित रीत र प्रक्रिया प्रतिकूल गर्नुपर्छ भन्ने होइन । त्यसै गरी नाबालकहरूको हकमा निजहरूको बुबाले आफ्नो भागको जग्गा फुकुवा गरी पाउन दिएको निवेदनमा उनीहरूको नाम उल्लेख नगरेको र मावलीपट्टीका हजुरबा संरक्षक भई आएको देखिँदैमा निजहरूको अंश हक समाप्त गर्न
मिल्दैन । अंश हक नै समाप्त हुने गरी जिल्ला अदालत र पुनरावेदन अदालतबाट भएको आदेश रीत र प्रक्रिया नमिली बेरीतको भएको अवस्थामा यस अदालतबाट बदर हुन सक्ने नै हुँदा जग्गा फुकुवा गर्न नमिल्ने गरी भएको तहसीलदारको मिति २०६९।६।१ को आदेश, सोआदेश सदर गर्ने धनुषा जिल्ला अदालतको मिति २०६९।८।२९ को आदेश, मिति २०६९।१०।७ को डाक लिलाम मुचुल्का बदर नगर्ने जिल्ला अदालतको मिति २०६९।१२।९ को आदेश र पुनरावेदन अदालत, जनकपुरको मिति २०७०।३।६ को आदेश बदर गरिपाउँ भन्ने बहस प्रस्तुत गर्नुभयो ।
विपक्षी पुनरावेदन अदालतसमेतको तर्फबाट उपस्थित उपन्यायाधिवक्ता श्री भरतलाल शर्माले निवेदकहरूले आफ्नोसमेत अंश भागको जग्गा डाक लिलाम भएको भनी अदालत प्रवेश गरेको देखिए तापनि उक्त जग्गा डाक लिलाम सकार गर्ने रामजतन बरहीलाई विपक्षी नै नबनाएको कारण प्रस्तुत रिट निवेदनबाट उपचार प्राप्त हुन नसक्ने हुँदा रिट खारेज हुनुपर्दछ भन्नेसमेत व्यहोराको बहस गर्नुभयो ।
विपक्षी बद्री महतो सुडीको तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री प्रकाश के.सी.ले लेनदेन मुद्दामा ठहरेको बिगो भरीभराउको क्रममा रीतपूर्वक सुमनदेवी व्यार नामको जग्गा डाँक लिलाम भएको हो । उक्त डाँक लिलाम बदरको लागि परेको दण्ड सजायको ६१ नं. को निवेदनमा धनुषा जिल्ला अदालतबाट डाक लिलाम बदर नहुने गरी भएको आदेश पुनरावेदन अदालतबाट पनि कानूनबमोजिम गर्नु भनी आदेश भइसकेको र फैसला कार्यान्वनयन भैसकेको अवस्थामा डाक लिलाम मुचुल्का बदर गर्न नमिल्ने हुँदा प्रस्तुत रिट निवेदन खारेज होस् भन्ने व्यहोराले बहस प्रस्तुत गर्नुभयो ।
विद्वान् अधिवक्ताहरूले गर्नुभएको बहससमेत सुनी मागबमोजिमको आदेश जारी हुनुपर्ने हो होइन भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।
२. निर्णयतर्फ विचार गर्दा निवेदकले जग्गा फुकुवाको लागि दिएको निवेदनमा जग्गा फुकुवा गर्न नमिल्ने भनी गरेको मिति २०६९।८।२९ को आदेश र डाक लिलाम बदर नगर्ने भनी तहसीलदारबाट भएको आदेश सदर गर्ने जिल्ला अदालत र पुनरावेदन अदालतको आदेश बदरको माग गरेको देखिन्छ । वादी बद्री महतो सुडी विरूद्ध सुमनदेवी व्यार प्रतिवादी भई धनुषा जिल्ला अदालतमा चलेको लेनदेन मुद्दामा मिति २०६६।१२।१५ गते वादीले प्रतिवादी सुमनदेवी व्यारबाट रू.९,०५,०००।– बिगोको भरीभराउसम्मको सावाँ र ब्याज दुवै भराई लिन पाउने ठहरी फैसला भएको तथ्य बिगो मिसिलमा संलग्न फैसलाको प्रतिलिपिबाट देखिन्छ । सोबमोजिम विपक्षी बद्री महतो सुडीले विपक्षी सुमनदेवी व्यारको श्रीमान् तेजनारायण व्यारको नामका धनुषा जिल्ला धवौली गा.वि.स. वडा नं.१ कि.नं.६८०, ६८१, ६७२ र वडा नं.२ कि.न.१ का जग्गाबाट बिगो भरीपाउन धनुषा जिल्ला अदालतमा निवेदन गरेको देखिन्छ । उल्लिखित जग्गा फुकुवाको लागी तेजनारायणले दिएको निवेदनमा दुई भागको एक भाग फुकुवा गरी फैसला कार्यान्वयन गर्नु भनी तहसीलदारबाट मिति २०६८।५।२० मा आदेश भएको देखिन्छ ।
३. उक्त आदेशउपर तेजनारायण व्यार र विपक्षी बद्री महतो सुडीले दिएको निवेदनमा धनुषा जिल्ला अदालतबाट मिति २०६८।७।२५ मा सदर भएकामा सो आदेशउपर तेजनारायणको तर्फबाट परेको १७ नं. को निवेदनमा पुनरावेदन अदालत, जनकपुरबाट मिति २०६८।१०।२६ मा कानूनबमोजिम गर्नु भनी आदेश भएको देखिन्छ ।
४. त्यसरी तेजनारायण व्यारले दिएको निवेदनको कारवाही सकिएपछि भोला महतो सुडीले निवेदक नाबालक तथा नाबालिकाहरूको संरक्षक भनी सुमनदेवी व्यारको नामको जग्गाबाट ६ भागको ५ भाग बदर गरी फुकुवा गरी पाउन भनी मिति २०६८।११।१६ मा निवेदन दिएको देखिन्छ । सो निवेदनउपरको कारवाहीमा तहसिलदारले मिति २०६९।६।१ मा तेजनारायणले आधा जग्गा आफ्नो जिम्मा लिइसकेको हुँदा उनीहरूको पालन पोषण गर्नेलगायतको मुख्य दायित्व तेजनारायण व्यारमा निहित रहेको देखिँदा जग्गा फुकुवा गर्न नमिल्ने भनी भएको आदेश धनुषा जिल्ला अदालतबाट मिति २०६९।८।२९ मा र पुनरावेदन अदालतबाट कानूनबमोजिम गर्नु भनी आदेश भएको देखिन्छ ।
५. मिति २०६९।१०।७ मा सुमनदेवी व्यारको हकको जग्गा डाँक लिलामको माध्यमबाट रामजतन बरहीले सकार गरेको मिसिल संलग्न डाक सकार मुचुल्काबाट देखिन्छ । निज रामजतन वरहीले डाक लिलाम गरेपश्चात् यिनै निवेदकले सो डाक लिलाम मुचुल्का बदरको लागी धनुषा जिल्ला अदालतमा निवेदन दिएको देखिन्छ । उक्त निवेदनमा पनि धनुषा जिल्ला अदालतबाट मिति २०६९।१२।९ मा डाक लिलाम मुचुल्का बदर गर्न नमिल्ने भनी भएको आदेश पुनरावेदन अदालतबाट मिति २०७०।३।६ मा यथोचित नै मानी आदेश भएपश्चात् जग्गा फुकुवासँग सम्बन्धित आदेश र डाक लिलाम मुचुल्का उत्प्रेषणको आदेशले बदर गरिपाउन असाधारण अधिकारक्षेत्रअन्तर्गत निवेदक यस अदालतमा प्रवेश गरेको देखिन्छ ।
६. प्रस्तुत विवादमा जग्गा फुकुवा गर्न नमिल्ने भनी भएका आदेशहरू तह तह सदर भएपछि डाक लिलाम मुचुल्का बदर माग राखी निवेदन दिएको देखिन्छ । सुमनदेवी व्यारको हकको जग्गा डाक लिलाम सकार भएकोले यी नाबालक तथा नाबालिकासमेतको अंश हकमा आघात पर्ने भनी प्रश्न उठाइएको छ । नाबालकको वास्तविक संरक्षक भनेका आमा र बाबु नै हुन् । बाबु आमा छँदा छँदै कुनै खास कारणबाहेक नाबालकहरूको संरक्षक अरू हुन सक्ने अवस्था हुँदैन । एउटै परिवारकी आमाले व्यवहार गरी मुद्दा हार जित भएपछि सम्पत्ति जान लाग्यो भनी बाबुले निवेदन गरी आफ्नो भाग छुट्याई लिई सकेपश्चात् पुनः नाबालकहरूको बाबु आमा छँदा छँदै मावली हजुरबुवाले नाति नातिनीको हकमा निवेदन गर्ने र बाबु आमाको लिखितजवाफसमेतको व्यहोरा हेर्दा पनि रिट निवेदकलाई सघाउ पुग्ने खालको देखिएको अवस्था
छ । प्रथम दृष्टि मै निवेदक सफा हात लिई आएको देखिन आएन ।
७. उक्त जग्गा रामजतन वरहीले मिति २०६९।१०।७ मा लिलाम सकार गरेको कुरा मिसिल संलग्न डाक लिलाम सकार मुचुल्काबाट देखिन्छ । दाबीको जग्गा डाक लिलाम सकार गर्ने व्यक्ति रामजतन वरहीलाई निवेदकले प्रस्तुत निवेदनमा विपक्षी बनाएको देखिँदैन । रिट जारी भएको अवस्थामा जसलाई प्रतिकूल असर पर्ने हो त्यसलाई विपक्षी बनाउनु नै पर्दछ । लिलाम सकार गरी सम्पत्ति प्राप्त गरी सकेका रामजतन वरहीको हक स्थापित भइसकेकोले निवेदकले सो विषयमा रिट दायर गर्दा प्रत्यक्ष सरोकारवाला रामजतन वरहीलाई विपक्षी बनाउनु पर्ने नै हुन्छ । यसरी जसलाई विपक्षी बनाउनु पर्ने हो, उसलाई विपक्षी नै नबनाई दायर हुन आएको रिट निवेदनमा मागअनुरूपको आदेश जारी हुन सक्ने देखिन आएन । यसप्रकार निवेदक सफा हात लिई अदालत प्रवेश गरेको नदेखिनुको अलावा डाक लिलाम सकार गर्ने व्यक्ति रामजतन वरहीलाई विपक्षी नबनाई दायर भएको निवेदनबाट माग गरेको उपचार प्राप्त हुन नसक्ने हुँदा प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । प्रस्तुत रिट निवेदनको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या. गोविन्दकुमार उपाध्याय
इति संवत् २०७१ साल माघ २२ गते रोज ५ शुभम् ।
इजलास अधिकृत : भीमबहादुर निरौला