निर्णय नं. ९४०८ - लेनदेन

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय
माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल
फैसला मिति : २०७१।९।२२।५
०६४-CI-०८५०
मुद्दा : लेनदेन ।
पुनरावेदक/वादी : का.जि.का.म.न.पा.वडा नं. १९ बस्ने शान्तबहादुर शाही (खड्गे)
विरूद्ध
प्रत्यर्थी/प्रतिवादी : का.जि.का.म.न.पा.वडा नं. १९ बस्ने भाजुरत्न महर्जन
०६४-CI-०८५३
पुनरावेदक/प्रतिवादी : का.जि.का.म.न.पा.वडा नं. १९ बस्ने दुर्गादेवी शाही
विरूद्ध
विपक्षी/वादी : का.जि.का.म.न.पा.वडा नं. १९ बस्ने शान्तबहादुर शाही
लिखत परीक्षणमा दक्षता हासिल गरेका विशेषज्ञहरूको राय न्याय सम्पादनको सहजताको लागि भएको तथ्यमा विवाद छैन । लिखत परीक्षण वैज्ञानिक कार्य
हो । वैज्ञानिक तरिकाले विवादित लिखतको परीक्षण हुने हुँदा विशेषज्ञको राय विश्वास नगर्ने मनासिब आधार र कारण भएमाबाहेक निजले व्यक्त गरेको रायलाई अस्वीकार गर्न नमिल्ने ।
(प्रकरण नं. ५)
वादीको तर्फबाट :
प्रतिवादीको तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू बसन्तराम भण्डारी, लोकभक्त राणा र विद्वान् अधिवक्ताहरू दामोदरप्रसाद जोशी, बलबहादुर राई, द्रोण दाहाल, रामबहादुर राउत, विजयराज मिश्र, बसन्त गौतम र नवराज तिमिल्सेना
अवलम्बित नजिर :
सम्बद्ध कानून :
मुलुकी ऐन, अ.बं. ७८ नं.
मुलुकी ऐन, किर्ते कागजको महलको १० नं.
मुलुकी ऐन, लेनदेन व्यवहारको महलको २
सुरू तहमा फैसला गर्ने :
मा.जि.न्या. श्री मोहनरमण भट्टराई
पुनरावेदन तहमा फैसला गर्ने :
मा.न्या. श्री अलिअकवर मिकरानी
मा. न्या.श्री हरिबहादुर बस्नेत
फैसला
न्या. बैद्यनाथ उपाध्याय : पुनरावेदन अदालत, पाटनको मिति २०६४।४।२८ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पेस हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य र ठहर यसप्रकार छ :
प्रतिवादी भाजुरत्न महर्जनले मिति २०४६।१२।३०।५ मा मसँगबाट एक वर्षभित्र सावाँ रकमको १० प्रतिशतले हुने ब्याजसमेत तिर्ने बुझाउने भाखा राखी सावाँ २,००,०००।- रूपैयाँ लिई कपाली तमसुक गरी दिनुभएकामा हालसम्म सावाँ र ब्याज नतिर्नु भएकाले कानूनबमोजिम सावाँ र ब्याजसमेत दिलाई भराई पाउँ भन्नेसमेत व्यहोराको वादी शान्तबहादुर शाही (खड्गे) ले मिति २०५६।१२।२९ मा काठमाडौंं जिल्ला अदालतमा पेस गरेको फिराद ।
वादी दाबी झुट्ठा हो । मैले वादीबाट कपाली तमसुक गरी रकम लिएको छैन । म आफू वादी प्रतिवादी भई विभिन्न मुद्दा चलेको र ती मुद्दाहरूमा मेरोतर्फबाट वादीले वारिस राख्न भनी ८० थान खाली लिफामा ल्याप्चे छाप र सही गराई लिएका थिए । पछि वादीले ती लिफामा कपाली तमसुकको व्यहोरा लेखी लेनदेन मुद्दाको फिराद दायर गरेका हुन । लिफामा कपाली तमसुक लेखेको तथ्य तमसुकको अन्तिम हरफको इति संवत् २०४६ साल भनी लेखिएको अङ्कको आकारभन्दा ३० गते भनी लेखिएको अङ्कको आकार सानो, अङ्क ३ को माथिल्लो अंश गाढा भएको, रोज ५ टाढा लेखिएको, लेखक स्वयम् साक्षी रहेको र हरफहरूको दुरी असमान रहेबाट पनि समर्थित छ । तसर्थ वादी दाबीको लिखत अ.बं. ७८ नं. बमोजिम देखाइएका बखत सद्दे किर्तेमा बयान गर्ने छु भन्नेसमेत व्यहोराको प्रतिवादीको तर्फबाट पेस भएको प्रतिउत्तरपत्र ।
विवादित लिखतको सक्कल वादीबाट पेस गर्न लगाइ उक्त लिखत प्रतिवादीलाई देखाइ अ.बं. ७८ नं. बमोजिम बयान गराई लिखतका अन्तर साक्षीलाई प्रतिवादीसरह बुझी नियमानुसार पेस गर्नु भन्नेसमेत व्यहोराको काठमाडौं जिल्ला अदालतको आदेश ।
प्रतिवादीले वादीबाट रकम लिएको होइन भन्नेसमेत व्यहोराको प्रतिवादीका साक्षी नारायण दास फसिकवले गरेको बकपत्र ।
मिति २०४६।१२।३०।५ को लिखत किर्ते हो । मुद्दा मामिलाका लागि वारिस राख्नको लागि दिएका खाली लिफामा वादीले कपाली तमसुकको लिखत खडा गरेका हुन । लिखतको बीचमा लागेको ल्याप्चे र शीर पुछारमा लागेको कारणीको ल्याप्चे छाप एक आपसमा भिड्दैन । लिखतको पाँचौ, एघारौ र बाह्रौं हरफमा काटिएको ठाउँमा लागेको ल्याप्चे मेरो होइन । अक्षरको आकार पनि मिलेको छैन । तसर्थ उक्त लिखत विशेषज्ञबाट परीक्षण गराई न्याय निरूपण गरिपाउँ भन्नेसमेत व्यहोराको प्रतिवादीले अ.बं. ७८ नं. बमोजिम गरेको बयान ।
वादी दाबीको कपाली तमसुक सद्दे साँचो हो । किर्ते भनेकामा प्रतिवादीलाई सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको वादीका वारिस गोविन्द खड्काले गरेको बयान ।
प्रतिवादी भाजुरत्नले वादी शान्तबहादुरबाट घर खर्च गर्नबापत रू.२,००,०००।- रकम लिएको ठीक साँचो हो भन्नेसमेत व्यहोराको अ.बं.१३९ नं. बमोजिम बुझिएकी लिखत साक्षी दुर्गादेवी शाहीले गरेको बयान ।
लिखत सद्दे हो । प्रतिवादीले वादीबाट रू. २,००,०००।– रकम लिएको हो भन्नेसमेत व्यहोराको अ.बं. १३९ नं. बमोजिम बुझिएका लिखत साक्षी चिनिकाजी महर्जन र बाबुकाजी महर्जनले एकै व्यहोराले गरेको फरकफरक बयान ।
मिति २०४६।१२।३० को सक्कल लिखतको सिर, पुछार र बीचमा लागेको भाजुरत्न महर्जनको ल्याप्चे भिड्छ भिड्दैन परीक्षण गरी आएपछि नियमानुसार पेस गर्नु भन्ने व्यहोराको काठमाडौं जिल्ला अदालतको आदेश ।
विवादित कपाली तमसुकको लिखितम र मिति पुछारमा लागेको कारणीको ल्याप्चे छापहरूसँग व्यहोराको दश हरफको बायाँ र दायाँतर्फ लागेको ल्याप्चेहरूमा देखिएको जात, रेखाका बहाव र प्रस्ट देखिएको रेखाका गुणहरू आपसमा भिडी मिलेका छन भन्नेसमेत व्यहोराको सर्वोच्च अदालत रेखा तथा लेखा विशेषज्ञको मिति २०५९।३।२० को राय ।
मिति २०५९।३।२० को राय प्रतिवेदन मैले दिएको हो । विवादित लिखतका ल्याप्चेहरू अक्षरभन्दा माथि वा तल छ भन्ने सम्बन्धमा र लिफामा पछि व्यहोरा भरेको वा नभरेको सम्बन्धमा मैले परीक्षण गरेको
छैन । फोटो Q ८ मा रातो मसीले घेरा दिई बायाँतर्फ अंश १ र दायाँतर्फ अंश १ ले दर्शाइएको रेखाहरूको बीचमा के कति रेखाहरू छन भनेर गणना गर्न सकिने अवस्था छैन भन्नेसमेत व्यहोराको रेखा तथा लेखा विशेषज्ञ घनश्याम मुखियाले गरेको बकपत्र ।
यसमा विवादित लिखत लेखिसकेपछि कारणीको ल्याप्चे छाप लागेको हो वा पहिले ल्याप्चे लागेको खाली लिफामा पछि लिखत खडा गरेको हो भन्ने उल्लेख नगरी विशेषज्ञलाई परीक्षण गर्न पठाइएको कारण उक्त कुराको जाँच हुन छुट भएको देखिँदा पुनः मिति २०५८।१२।२९ को आदेशबमोजिम विवादित लिखत लेखिसकेपछि त्यसमा कारणीको ल्याप्चे छाप लागेको हो वा पहिले ल्याप्चे लागेको लिफामा लिखत लेखेको हो भन्ने सम्बन्धमा परीक्षण गर्न सर्वोच्च अदालत, रेखा तथा लेखा विशेषज्ञसमक्ष पठाइ जाँच प्रतिवेदन आएपछि नियमानुसार गर्नु भन्ने व्यहोराको काठमाडौं जिल्ला अदालतको मिति २०६०।१०।२८ को आदेश ।
विवादित कपाली तमसुकको व्यहोराको हरफहरू, अक्षरहरू, मिति हरफको महिना, गते, र रोज तथा साक्षी महलको साक्षीहरूको व्यहोरा साथै शिर, पुछार र व्यहोराहरू बीचको छापहरूको अवस्थाअनुसार लिफा कागजमा तमसुक व्यहोरा लेखिएको छ भन्नेसमेत व्यहोराको सर्वोच्च अदालत रेखा तथा लेखा विशेषज्ञको मिति २०६०।११।२२ को राय ।
ल्याप्चे छाप लागेको लिफामा पछि व्यहोरा भरेको भन्ने कुरा लिखत जाँच प्रतिवेदनबाट देखिन आएकाले वादी दाबीको लिखतलाई सद्दे रहेछ भन्न मिल्ने आधार पाउन सकिएन । किर्ते जालसाजीबाट तयार भएको लिखतको आधारमा सावाँ ब्याज भराई पाउँ भन्ने वादी दाबी पुग्न सक्दैन । दाबीको लिखतलाई सद्दे हो भनी दाबी लिने यी वादीलाई र लिखतका साक्षी चिनिकाजी महर्जन, बाबुकाजी महर्जन र दुर्गादेवी शाहीलाई किर्ते कागजको १० नं. बमोजिम बिगो रू.२,००,०००।- को २५ प्रतिशतले हुने रू. ५०,०००।- रूपैयाँ जरिवाना भई दामासाहीले असुल गरी लिनुपर्ने ठहर्छ भन्नेसमेत व्यहोराको सुरू काठमाडौंं जिल्ला अदालतको मिति २०६१।२।११ को फैसला ।
उक्त फैसलामा चित्त बुझेको छैन । लिखतमा केरमेट भएको र थपेको ठाउँमा परेको ल्याप्चे किनाराको ल्याप्चेसँग भिड्न सक्दैन भनी अ.बं. ७८ नं. बमोजिम प्रतिवादीले बयान गरेको भए तापनि सोको पुष्टि नभई केरमेट र थपेको ठाउँको ल्याप्चेसँग किनाराको ल्याप्चे मिले भिडेको भनी विशेषज्ञले राय दिएको छ । एउटै विशेषज्ञले दुई किसिमको राय दिएको छ । पछिल्लो पटक दिएको राय प्रतिवेदनको सम्बन्धमा राय दिने विशेषज्ञलाई बकपत्र गराउन सकेको
देखिँदैन । निजभन्दा भिन्न व्यक्ति वा सङ्ख्या वा रोनाष्टबाट जाँच गराई पाउन दिएको निवेदनलाई पनि बेवास्ता गरी भएको फैसला प्रमाण ऐन, २०३१ को दफा २३, ३६ र लेनदेन व्यवहारको २, ४, ६, ७ नं. को विपरीत छ । साथै किर्तेमा सजाय गरिपाउँ भन्ने प्रतिवादीको माग दाबी नभएकामा किर्तेमा पनि जरिवाना हुने ठहरी भएको फैसला मुलुकी ऐन अ.बं. १८४क तथा १८५ नं. को विपरीत हुँदा सुरू जिल्ला अदालतको फैसला बदर गरी वादी दाबीबमोजिम गरिपाउँ भन्नेसमेत व्यहोराको वादी शान्तबहादुर शाही (खड्गे) कोतर्फबाट पुनरावेदन अदालत, पाटनमा पेस भएको पुनरावेदनपत्र ।
किर्ते जालसाज हुन लिखतले कसैको हक मेटने, हदम्याद, तारिख जाने वा नोक्सान पार्ने काम भइसकेको हुनुपर्दछ । उक्त अवस्था विद्यमान नरहेको अवस्थामा किर्ते कागजको १० नं. बमोजिम जरिवाना हुने गरी भएको फैसला बदर गरिपाउँ भन्नेसमेत व्यहोराको अ.बं. १३९ नं. बमोजिम बुझिएकी प्रतिवादी दुर्गादेवी शाहीको तर्फबाट पुनरावेदन अदालत, पाटनमा पेस भएको पुनरावेदनपत्र ।
यसमा वादी दाबीका लिखतका सम्बन्धमा एउटै विशेषज्ञले दुईपटक लिखत जाँच गरी राय व्यक्त गरेकामा दुईपल्ट व्यक्त गरेको राय अलगअलग र पछिल्लो पटक विशेषज्ञले व्यक्त गरेको रायलाई आधार मानी वादी दाबीको लिखतलाई किर्ते ठहर गरी फैसला भएको देखिएको तर जुन रायलाई आधार मानी फैसला गरिएको हो सो पछिल्लोपल्ट व्यक्त गरेको रायको सम्बन्धमा विशेषज्ञलाई बकपत्र गराएको अवस्था नदेखिँदा सुरू फैसलामा प्रमाण ऐन, २०३१ को दफा २३(७) को त्रुटि विद्यमान भई सुरू काठमाडौंं जिल्ला अदालतको फैसला फरक पर्न सक्ने देखिँदा अ.बं. २०२ नं. बमोजिम प्रत्यर्थी झिकाई आए वा अवधि व्यतित भएपछि नियमानुसार पेस गर्नु भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, पाटनको मिति २०६३।५।८ को आदेश ।
वादी दाबीको लिखत सम्बन्धमा एउटै विशेषज्ञबाट दुईपटक लिखत जाँच हुँदा दुवैपटक अलगअलग राय व्यक्त भएकामा पछिल्लोपटक विशेषज्ञले दिएको रायलाई आधार मानी वादी दाबीको लिखतलाई किर्ते ठहर गरी फैसला भएकामा पछिल्लो पटक व्यक्त गरेको रायको सम्बन्धमा विशेषज्ञलाई बकपत्र गराएको अवस्था नदेखिँदा प्रमाण ऐन, २०३१ को दफा २३(७) बमोजिम पछिल्लोपटक व्यक्त राय सम्बन्धमा बकपत्र गराउन सम्बन्धित विशेषज्ञलाई झिकाई नियमानुसार पेस गर्नु भन्ने व्यहोराको पुनरावेदन अदालत, पाटनको मिति २०६३।१०।१४ को आदेश ।
यसमा यस अदालतबाट मिति २०६३।१०।१४ मा विवादित लिखत जाँच गर्ने विशेषज्ञ घनश्याम मुखियालाई बकपत्र गराउन झिकाउनु भनी आदेश भएकामा आदेशबमोजिम निज विशेषज्ञ अदालतमा अनुपस्थित रहेको र आज बहस गर्ने कानून व्यवसायीहरूले निज सेवा निवृत्त भइसकेका भन्ने कुरा व्यक्त गरेको हुँदा निज पूर्व कार्यरत् सर्वोच्च अदालत, प्रशासन शाखामा निजलाई झिकाई दिई यस अदालतमा पूर्व आदेशबमोजिम बकपत्रको लागि पठाई दिन सर्वोच्च अदालत, प्रशासन शाखामा पत्राचार गरी हाजिर हुन आएपछि नियमानुसार पेस गर्नु भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, पाटनको आदेश ।
पूर्व आदेशबमोजिम विशेषज्ञ उपस्थित नभएको सम्बन्धमा सर्वोच्च अदालत प्रशासन शाखाबाट जवाफ मगाई वा विशेषज्ञ उपस्थित भए बकपत्र गराउन पेस गर्नु भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, पाटनको आदेश ।
यस अदालतमा तत्काल कार्यरत घनश्याम मुखियाले अवकाश प्राप्त गरी सक्नुभएको हुँदा उपस्थित गराउन नसकिने हुँदा तहाँ अदालतबाट निजको ल.पु.जि.ल.पु.उ.म.न.पा. वडा नं.५ को ठेगानामा पत्राचार गरी उपस्थित गराउने व्यवस्था गर्नु हुन भन्नेसमेत व्यहोराको यस अदालतबाट पुनरावेदन अदालत, पाटनमा भएको पत्रचार मिसिल सामेल रहेको देखियो ।
विवादित लिखतको सम्बन्धमा पछिल्लो पटक राय व्यक्त गर्ने विशेषज्ञको बकपत्र हुन नसकेको हुँदा पुनः लिखत जाँच गराई पाउँ भन्नेसमेत व्यहोराले वादी र प्रतिवादीले पुनरावेदन अदालत, पाटनमा पेस गरेको निवेदन ।
यसमा मिति २०४६।१२।३०।५ मा विवादित तमसुक लेखिसकेपछि त्यसमा कारणीको ल्याप्चे सहिछाप लागेको हो वा पहिले ल्याप्चे लागेको लिफामा पछि व्यहोरा लेखिएको हो भन्ने विषयमा जाँच गर्न सर्वोच्च अदालत, रेखा तथा लेखा विशेषज्ञसमक्ष लिखत पठाई त्यसको जाँच प्रतिवेदन प्राप्त भएपछि नियमानुसार पेस गर्नु भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, पाटनको मिति २०६४।२।१४ को आदेश ।
कपाली तमसुकको व्यहोरा लेखिसकेपछि कारणीको ल्याप्चे छाप लाग्न गएको देखिए तापनि इति संवत् २०४६ सालको अङ्क ६ र चैत ३० को अङ्क पहिले लेखिएको अङ्कलाई उडाई पछि थपिएको पाइयो भन्नेसमेत व्यहोराको यस अदालतका रेखा तथा लेखा विशेषज्ञको राय ।
यसमा विवादित लिखतको सहिछाप जाँच गरी राय पेस गर्ने विशेषज्ञ केशवबहादुर थापा क्षेत्रीलाई प्रमाण ऐन, २०३१ को दफा २३(७) अनुसार झिकाई बकपत्र गराउन पेस गर्नू भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, पाटनको आदेश ।
इति संवत् २०४६ लेखिएकोमध्ये ६ अङ्क लेख्नुभन्दा पहिले अरू कुनै अङ्क लेखिई उक्त अङ्क उडाउँदा सो भागको कागज प्वाल पर्न गएको देखिन्छ । अन्य अङ्कमा देखिएको कलमको टाका र मसीको रंगभन्दा फरक छ । ३० अङ्क पहिले लेख्दा कै अवस्थाको होइन । पछि अक्षर थप्दा अक्षर थेप्चिला हुन गएको हो भन्नेसमेत व्यहोराको विशेषज्ञ केशवबहादुर थापाले पुनरावेदन अदालत, पाटनमा गरेको बकपत्र ।
ल्याप्चे छाप लागेको लिफामा व्यहोरा भरेको भन्ने कुरा लिखत जाँचबाट देखिएकाले वादी दाबीको लिखतलाई सद्दे रहेछ भन्न मिल्ने देखिएन । लिखत पहिले नै ल्याप्चे लागेको खाली लिफामा पछि व्यहोरा भरी तयार गरेको देखिएकाले यस्तो लिखतलाई किर्ते जालसाजी मान्नु पर्ने हुँदा यस्तो लिखतका आधारमा फिराद वादीको सावाँ ब्याज भराई पाउँ भन्ने दाबी पुग्न नसक्ने भएको सुरूको फैसला सो हदसम्म मिलेकै हुँदा सदर हुन्छ । विवादको लिखत सम्बन्धमा मिसिल संलग्न विशेषज्ञबाट जाँच भएका विभिन्न मितिका रायबाट कपाली तमसुकको इति संवत्को २०४६ सालमध्ये ६ अङ्क र चैत ३० को अङ्क पहिले लेखिएको अङ्कलाई उडाई पछि थपिएको पाईएको भन्ने व्यहोरा उल्लेख भै रहेको हुँदा यस्तो लिखतको आधारमा परेको फिराद खारेज गर्नुपर्नेमा ठहर गरी पुनरावेदक वादी र अ.बं. १३९ नं. बमोजिम बुझिएका लिखत साक्षीहरूलाई सजाय गर्ने गरेको हदसम्म सुरू फैसला केही उल्टी भई लेनदेनतर्फको वादी दाबी खारेज हुने ठहर्छ । पुनरावेदक वादी तथा प्रतिवादीहरूलाई सजाय गर्ने गरेको हदसम्म सुरू फैसला उल्टी हुने ठहर फैसला भएको हुँदा जरिवानाको लगत कट्टा गर्नु भनी काठमाडौं जिल्ला अदालतमा लेखी पठाई दिनु भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, पाटनको मिति २०६४।४।२८ को फैसला ।
किर्ते ठहर गरेको सुरू अदालतको फैसला केही उल्टी गरेको पुनरावेदन अदालतको फैसला सो हदसम्म चित्त बुझेको छ । फिराद नै खारेज हुने गरी भएको हदसम्म चित्त बुझेको छैन । तमसुकको इति संवत्को हरफमा उल्लेख भएको चैत महिना सम्बन्धमा विवाद देखिएको छैन । २०४६ लेखिएकोमध्ये ६ अङ्कको स्थानमा ४ अङ्क थियो भन्ने विवाद छ । त्यस सम्बन्धमा विशेषज्ञको प्रतिवेदनको प्रकरण नं. १ मा साबिकमा ४ अङ्क लेखिएको भन्ने कुरा प्रस्ट उल्लेख छैन । बकपत्रबाट त्यो अनुमानसम्म गरिएको भन्ने उल्लेख भएबाट अनुमानको आधारमा दिएको राय प्रमाणमा ग्रहण गर्नु प्रमाण ऐन, २०३१ को दफा ५४ को प्रतिकूल छ । जहाँसम्म चैत ३० गते लेखिएको अङ्क पहिले लेखिएको अङ्कलाई उडाई पछि थपिएको भन्ने छ, त्यस सम्बन्धमा म अनुभवी व्यक्ति नभएकाले गतेको अङ्क र रोज लेख्ने ठाउँ खाली राखिएको कारण रोज लेख्ने ठाउँ अली बढी छोडिएकाले अङ्क केही सङ्कुचन हुन गएको हुँदा पुनरावेदन अदालत, पाटनको मिति २०६४।४।२८ को फैसला बदर गरी वादी दाबीबमोजिम गरिपाउँ भन्नेसमेत व्यहोराको वादी शान्तबहादुर शाही (खड्गे) कोतर्फबाट यस अदालतमा पेस भएको पुनरावेदनपत्र ।
पुनरावेदन अदालत पाटनले लिखत लिफा ठहराएको हदसम्म चित्त बुझेको छैन । लिखत लिफा हो वा तमसुक हो भन्ने सम्बन्धमा विशेषज्ञले राय दिन नसकेको अवस्थामा पुनरावेदन अदालतबाट पुनः परीक्षण गर्न पठाउँदा तमसुकको व्यहोरा लेखिसकेपछि कारणीको ल्याप्चे लाग्न गएको भन्ने व्यहोरा उल्लेख भएबाट लिफा र तमसुक के हो भन्ने स्पष्ट नभएको अवस्थामा लिफा ठहर गरेको पुनरावेदन अदालतको फैसला सो हदसम्म उल्टी गरिपाउँ भन्नेसमेत व्यहोराको अ.बं. १३९ नं. बुझिएकी प्रतिवादी दुर्गादेवी शाहीको तर्फबाट यस अदालतमा पेस भएको पुनरावेदनपत्र ।
यसमा दाबी गरिएको मिति २०४६।१२।३०।५ को तमसुकमा लेखिएको अङ्क ६ र ३० पहिलाको उडाई पछि थपिएको भन्ने विशेषज्ञको राय भएकामा सो लिखतलाई किर्ते भनी जिल्ला अदालतले जरिवाना गरेको फैसला उल्टी गरी दाबी नै खारेज गरेको पुनरावेदन अदालतको फैसलामा वादीको दाबी हदम्याद विहिन हो वा हक दैयाविहिन व्यक्तिबाट परेको भन्न नसक्नुका साथै कुन कानूनको आधारमा उल्लिखित तमसुकको आधारमा इन्साफ गर्न नमिल्नेसमेत उल्लेख नभएकाले सो फैसला आफैँमा विरोधाभाषपूर्ण भई फरक पर्न सक्ने देखिएकाले अ.बं. २०२ नं. अनुसार प्रत्यर्थी प्रतिवादीलाई झिकाई नियमानुसार पेस गर्नु भन्ने व्यहोराको यस अदालतको मिति २०६६।५।२५ को आदेश ।
प्रतिवादी भाजुरत्न महर्जनले प्रतिउत्तर दिँदा लिखतको मितिका सम्बन्धमा विवाद उठाएको देखिन्छ । लिखत जाँच गरी विशेषज्ञले दिएको पहिलो र दोस्रो राय प्रतिवेदनमा उक्त मितिका सम्बन्धमा विवाद उठाएको देखिँदैन । विशेषज्ञको तेस्रो राय प्रतिवेदनमा २०४६ सालको अङ्कमध्ये ६ पहिले लेखिएको अङ्क उडाइ पछि लेखिएको हो भन्ने उल्लेख भएको
देखिन्छ । त्यसैगरी लिखतको व्यहोरा लिफामा लेखिएको हो वा व्यहोरा लेखिसकेपछि ल्याप्चे लगाईएको हो भन्ने सम्बन्धमासमेत विशेषज्ञहरू बीच मतैक्य रहेको देखिएन । तसर्थ अब “लिखतको शीर, पुच्छार र बीचमा लागेको ल्याप्चे छापहरू एउटै व्यक्तिका हुन होइनन्” लिखतको मिति २०४६
सालको अङ्क ६ पहिले लेखिएको अङ्क उडाइ पछि लेखिएको हो होइन र समुच्चा लिखत लिफामा लेखिएको हो वा पहिले व्यहोरा लेखी पछि ल्याप्चे लगाइएको हो भन्ने सम्बन्धमा राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा लिखत पठाई जाँच प्रतिवेदन प्राप्त भएपछि विशेषज्ञको बकपत्र गराई नियमानुसार पेस गर्नु भन्नेसमेत व्यहोराको यस अदालतको २०६७।३।१६ को आदेश ।
लिखत व्यहोरामा विभिन्न स्थानमा सच्याइएको तथा थपिएको सङ्केत पाइन्छ । तीमध्ये लिखतको अन्तिम हरफको मिति २०४६ मध्ये पछिल्लो अङ्क ६ साबिकमा भएको ४ अङ्कको केही भाग उडाई फरक मसीले पछि लेखिएको देखिन्छ भन्नेसमेत व्यहोराको राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको परीक्षण प्रतिवेदन ।
विवादित लिखतको इति संवत् २०४६ को अङ्क ६ साबिक (पहिले) मा भएको अङ्क ४ को केही भाग उडाई लेखिएको हो भन्नेसमेत व्यहोराको राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका विशेषज्ञ सहायक वैज्ञानिक अधिकृत बासुदेव के.सी.ले यस अदालतमा गरेको बकपत्र ।
नियमबमोजिम दैनिक पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी र प्रतिवादी दुर्गादेवी शाहीको तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री बसन्तराम भण्डारी, श्री लोकभक्त राणा, विद्वान् अधिवक्ताहरू श्री दामोदरप्रसाद जोशी, श्री बलबहादुर राई, श्री द्रोण दाहाल र श्री रामबहादुर राउतले प्रस्तुत विवादमा कपाली तमसुक लिफा हो, होइन भन्ने प्रश्न उपस्थित भएकामा परीक्षणबाट लिखत भन्ने स्थापित छ । अङ्क सच्चाएको सम्बन्धमा वादीसमेतलाई जरिवाना भएकामा पुनरावेदनबाट उल्टी भएउपर प्रतिवादीको पुनरावेदन परेको छैन । लिखत लिफा होइन भन्ने भएपछि लेनदेन कारोबार भएको प्रस्ट नै छ । लिखतको अन्तिममा लेखिएको इति संवत्को हरफमध्ये २०४६ सालको ६ अङ्कलाई पुनरावेदन अदालतको आदेशले परीक्षण हुँदा विशेषज्ञले सो ६ अङ्कलाई ४ अङ्कको अनुमान गरेको छ । यसरी अनुमान गरिदिएको राय प्रतिवेदनलाई प्रमाणमा ग्रहण गरी गरेको पुनरावेदन अदालत, पाटनको मिति २०६४।४।२८ को फैसला सो हदसम्म उल्टी गरी वादी दाबीबमोजिम होस् भन्नेसमेत व्यहोराको बहस प्रस्तुत गर्नुभयो ।
झिकाइएका प्रतिवादी भाजुरत्न महर्जनको तर्फबाट उपस्थित विद्वान् अधिवक्ताहरू श्री विजयराज मिश्र, श्री बसन्त गौतम र श्री नवराज तिमिल्सेनाले कपाली तमसुक भनी वादीले दाबी गरेको लिखत लिफा हो भन्ने कुरा रेखा तथा लेखा विशेषज्ञ र राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको परीक्षण प्रतिवेदनबाट प्रस्ट भएको छ । हाम्रो पक्षले वादीलाई पहिले नै मुद्दा मामिलाको क्रममा खाली लिफा दिई राखेकामा सोही लिफामा व्यहोरा भरी लेनदेनको तमसुक बनाएको हो । इति संवत् २०४४ साल लेखिएकोमध्ये ४ अङ्कलाई उडाई फरक मसीले ६ अङ्क लेखी सालमा २०४६ र गतेमा ३० बनाई लेनदेनमा दाबी गरेको देखिन्छ । जिल्ला, पुनरावेदन र यस अदालतको आदेशले भएका लिखत जाँच परीक्षणबाट इति संवत् २०४४ मध्ये पछिल्लो ४ अङ्कलाई उडाइ ६ अङ्क थपी २०४६ बनाइएको तथ्य स्थापित भएको हुँदा पुनरावेदन अदालतको फैसला सदर हुनुपर्दछ भन्नेसमेत व्यहोराको बहस प्रस्तुत गर्नुभयो ।
उपरोक्त व्यहोराको बहससमेत सुनी पुनरावेदन अदालत, पाटनको मिति २०६४।४।२८ को फैसला मिलेको छ, छैन ? पुनरावेदक वादी र अ.बं. १३९ नं. बमोजिम बुझिएकी प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्छ सक्दैन भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।
२. निर्णयतर्फ विचार गर्दा वादी शान्तबहादुर शाही (खडगे) ले प्रतिवादी भाजुरत्न महर्जनले मिति २०४६।१२।३०।५ मा कपाली तमसुक गरी मसँगबाट रू.२,००,०००।- सावाँ र सो को हुने ब्याज एक वर्षभित्र तिर्ने बुझाउने भाखा राखी लिएकामा हालसम्म नतिरेको हुँदा प्रतिवादीबाट दिलाई भराउ पाउँ भनी काठमाडौंं जिल्ला अदालतमा मिति २०५६।१२।२९ गते प्रस्तुत मुद्दाको फिराद दायर गरेको देखिन्छ । प्रतिवादीले आफूले रकम लिएको होइन, विभिन्न मुद्दाको प्रयोजनको लागि लिएको खाली लिफामा व्यहोरा भरी रिसइवीका कारण मुद्दा दायर गरेको भन्ने व्यहोराको प्रतिउत्तर फिराएको देखिन्छ । इति संवत्को हरफमा लेखिएको २०४६ र चैत ३० गते वादीले आफैँले केरमेट गरी थपी कपाली तमसुकको व्यहोरा लेखी फिराद दायर गरेको हुँदा वादीलाई किर्ते गरेकामा सजाय गरी वादी दाबी खारेज होस् भनी अ.बं. ७८ नं. बमोजिम बयान गरेको देखिन्छ । सुरू काठमाडौंं जिल्ला अदालतबाट लेनदेनतर्फ वादी दाबी नपुग्ने ठहर्याई, वादी र अ.बं. १३९ नं. बमोजिम बुझिएकी प्रतिवादीलाई किर्ते कागजको १० नं. बमोजिम बिगोको २५ प्रतिशतले हुने जरिवाना गर्ने गरी फैसला भएको देखिन्छ । उक्त फैसलाउपर वादी शान्तबहादुर शाही र बुझिएकी प्रतिवादी दुर्गादेवी शाहीले गरेको पुनरावेदनमा पुनरावेदन अदालत, पाटनले मिति २०६४।४।२८ मा फिराद खारेज हुने ठहर्याई उल्टी फैसला गरेउपर वादी शान्तबहादुर शाही (खड्गे) र प्रतिवादी दुर्गादेवी शाहीको तर्फबाट यस अदालतमा छुट्टाछुट्टै पुनरावेदनपत्र दायर हुन आएको देखियो ।
३. प्रस्तुत मुद्दामा मुख्यरूपमा लेनदेन मुद्दाको फिराद हदम्यादभित्र दायर भएको हो, होइन भन्ने प्रश्न उपस्थित भएको पाइयो । वादीले मिति २०४६।१२।३०।५ को लिखतको आधारमा मिति २०५६।१२।२९ मा लेनदेन मुद्दाको फिराद दायर गरेको देखिन्छ । विवादित तमसुक चारपटक परीक्षण भएको तथ्यमा विवाद देखिएन । वादी दाबीको उक्त लिखतको सम्बन्धमा पहिलो पटक जाँच भई आएको परीक्षण प्रतिवेदनमा लिखतको ल्याप्चेहरूमा देखिएको जात, रेखाका बहाव र प्रस्ट देखिएको रेखाका गुणहरू आपसमा भिडी मिलेका छन भन्ने व्यहोरा उल्लेख भएको भए तापनि लिखत परीक्षण गर्ने विशेषज्ञले लिफामा पछि व्यहोरा भरेको वा नभरेको सम्बन्धमा परीक्षण नगरेको भनी बकपत्र गरेको देखिन्छ । काठमाडौं जिल्ला अदालतको आदेशले दोस्रोपटक परीक्षण गर्न पठाउँदा कपाली तमसुकको मिति हरफको महिना, गते, र रोज तथा साक्षी महलको साक्षीहरूको व्यहोरा साथै शिर, पुछार र व्यहोराहरूबीचको छापहरूको अवस्थाअनुसार लिफा कागजमा तमसुक व्यहोरा लेखिएको छ भन्नेसमेत व्यहोरा उल्लेख भएको देखिन्छ । त्यसै आधारमा सुरू जिल्ला अदालतले वादी दाबी नपुग्ने गरी फैसला गरेपछि यी वादीले पुनरावेदन अदालतमा राय प्रतिवेदन दिने विशेषज्ञको बकपत्र नभएको भनी जिकिर लिई पुनरावेदन गरेकामा उक्त लिखत पुनरावेदन अदालत, पाटनको आदेशले तेस्रोपटक परीक्षण हुँदा लिखतको अन्तिम हरफको इति संवत्को २०४६ सालको ६ अङ्क र चैत ३० को अङ्क पहिले लेखिएको अङ्कलाई उडाइ पछि थपिएको पाइयो भन्नेसमेत व्यहोरा उल्लेख गरी मिति २०६४।२।२५ मा विशेषज्ञले राय प्रतिवेदन दिएको पाइयो । उक्त राय व्यक्त गर्ने रेखा तथा लेखा विशेषज्ञ केशवबहादुर थापा क्षेत्रीले प्रतिवेदन व्यहोरा सर्मथन गरी बकपत्र पनि गरेको देखिन्छ ।
४. यस अदालतको मिति २०६७।३।१६ को आदेशले उक्त विवादित लिखत पुनः जाँच गर्न राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाएको देखिन्छ । उक्त प्रयोगशालाबाट मिति २०६७।७।१८ मा पठाएको परीक्षण प्रतिवेदन हेर्दा लिखतको अन्तिम हरफको मिति २०४६ मध्ये पछिल्लो अङ्क ६ साबिक (पहिले) मा भएको अङ्क ४ को केही भाग उडाई फरक मसीले लेखिएको पाइन्छ भन्नेसमेत व्यहोरा उल्लेख भएको देखिन्छ । उक्त लिखत परीक्षण गर्ने राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका विशेषज्ञ सहायक वैज्ञानिक अधिकृत बासुदेव के.सी.ले राय प्रतिवेदन व्यहोरा समर्थन गरी यस अदालतमा बकपत्रसमेत गरेको देखिन्छ । यस प्रकार विशेषज्ञहरू केशवबहादुर थापा क्षेत्री र बासुदेव के.सी.ले अदालतमा आई यी वादी पुनरावेदकको तर्फबाट जिरह हुँदासमेत प्रतिवेदनमा उल्लिखित राय पुष्टि हुने गरी बकपत्र गरेको अवस्थामा प्रतिवेदनमा व्यक्त रायलाई अन्यथा भन्न मिल्ने अवस्था देखिएन ।
५. लिखत परीक्षणमा दक्षता हासिल गरेका विशेषज्ञहरूको राय न्याय सम्पादनको सहजताको लागि भएको तथ्यमा विवाद छैन । लिखत परीक्षण वैज्ञानिक कार्य हो । वैज्ञानिक तरिकाले विवादित लिखतको परीक्षण हुने हुँदा विशेषज्ञको राय विश्वास नगर्ने मनासिब आधार र कारण भएमा बाहेक निजले व्यक्त गरेको रायलाई अस्वीकार गर्न मिल्दैन । प्रस्तुत विवादमा चारपटक विशेषज्ञले विवादित तमसुकको परीक्षण गरेको कुरा मिसिलबाट देखिन आएको छ । पुनरावेदन अदालतले विषय विशेषज्ञ केशरबहादुर थापा क्षेत्रीबाट लिखतको परीक्षण गराई कपाली तमसुकको इति संवत्को २०४६ सालमध्ये ६ अङ्क र चैत ३० को अङ्क पहिले लेखिएको अङ्कलाई उडाई पछि थपिएको पाइएको भनी दिएको रायको आधारमा फिराद खारेज हुने गरी फैसला गरेको देखिन्छ । यस अदालतको आदेशले भएको परीक्षण प्रतिवेदनमा पनि लिखत सद्दे हो भन्ने देखिएको छैन । पटकपटक भएका परीक्षण प्रतिवेदनमा अन्तरविरोध देखिएको भए अदालतले अन्य विकल्प खोजी न्याय निरूपण गर्नुपर्ने हुने थियो । तर, परीक्षण प्रतिवेदनबाट वादी दाबीको लिखतको अन्तिम हरफको इति संवत् पछि लेखिएको २०४६ सालमध्ये ६ अङ्क र चैत ३० को अङ्क पहिले लेखिएको अङ्कलाई उडाई पछि थपिएको भन्ने देखिँदा लिखत सद्दे हो भन्ने देखिन आएन ।
६. मुलुकी ऐन अ.बं. ७८ नं. बमोजिम प्रतिवादीले लिखतलाई अस्वीकार गरी शङ्का गरेकामा लिखत परीक्षणबाट सो शङ्काको निवारण भइसकेको देखिन आयो । यसरी रेखा तथा लेखा विशेषज्ञ केशवबहादुर थापा क्षेत्रीले मिति २०६४।२।२५ मा दिएको राय प्रतिवेदन र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला, खुमलटारको मिति २०६७।७।१८ को राय प्रतिवेदनले विवादित कपाली तमसुकको लिखत मिति २०४६।१२।३०।५ मा विधिवत तयार भएको भन्ने देखिन आएन । परिणामतः उक्त कपाली तमसुकको लिखत वादीले किर्ते जालसाजीबाट नै तयार भएको भन्ने देखिन आयो । त्यसमा पनि मिसिल संलग्न रहेको लिखतमा लेखिएको अन्तिम हरफको इति संवत् २०४६ सालमध्ये ६ अङ्क लेखिएको ठाउँमा प्वाल परेको प्रस्ट देखिएबाट पनि किर्ते जालसाजीबाट लिखत तयार भएको तथ्य समर्थित हुन आयो ।
७. अतः वादीले मुलुकी ऐन लेनदेन व्यवहारको २ नं. को १० वर्षे हदम्यादभित्र नै फिराद परेको देखाउन इति संवत्को २०४६ सालमध्येको पछिल्लो ६ अङ्क थप गरेको परीक्षण प्रतिवेदनबाट पुष्टि हुन आएकाले मिति २०५६।१२।२९ गते दायर भएको फिराद हदम्याद विहिन देखिन आएकाले पुनरावेदन अदालत, पाटनबाट मिति २०६४।४।२८ मा फिराद खारेज गर्ने ठहर्याइ भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक वादी र अ.बं. १३९ नं अनुरूप बुझी प्रतिवादी बनाइएकी लिखत साक्षीको पुनरावेदन जिकिर पुग्न सक्दैन । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या. जगदीश शर्मा पौडेल
इति संवत् २०७१ साल पुस २२ गते रोज ५ शुभम् ।
इजलास अधिकृत : भीमबहादुर निरौला