निर्णय नं. ९४०९ - दर्ता फोड गरी दर्ता गरिपाउँ

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री दीपकराज जोशी
माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय
फैसला मिति : २०७१।१२।२।२
०७०-CI-०४१६
मुद्दा : दर्ता फोड गरी दर्ता गरिपाउँ ।
पुनरावेदक/प्रतिवादी : जिल्ला महोत्तरी, कोल्हुवा वगेया गाउँ विकास समिति वडा नं. ३ बस्ने बिर्जु महतो
विरूद्ध
प्रत्यर्थी/वादी : ऐ.ऐ. बस्ने बेचन महतो
संयुक्त दर्तामा रहेको सम्पत्तिमा अन्यथा उल्लेख भएमा बाहेक सबै दर्तावालाको बराबर हक रहेको मान्नुपर्ने हुन्छ । सो सम्पत्तिमा बराबर हक छैन भन्ने कुरा कुनै पक्षले भन्न मिल्दैन । संयुक्त दर्ता र हाँगापिच्छे सगोल लगायतको अरू दर्ताको यहि फरक हो । सगोल दर्तामा दर्तावाला भनेको आलङ्कारिक हुन्छ । सगोल जग्गामा दर्तावाला लगायतका अंसियारहरूको हक हुन्छ । संयुक्त दर्तामा बराबर हक हुन्छ । प्रस्तुत दर्तामा यी प्रतिवादी आफैँ सहभागी भै कहिँकतै नालिश नगरी चित्त बुझाई व्यवहारसमेत चलाई बसेको र वादीले दर्ता फुटाउनका लागि कारवाही चलाएपछि प्रतिउत्तरपत्रबाटमात्र यो विवाद खडा गरेकोलाई मनासिब मान्न नमिल्ने ।
अपुतालीको विवादलाई संयुक्त दर्ताले टुङ्ग्याई सकेको छ । संयुक्त दर्ताभन्दा पहिलेको अपुताली हक हिस्साको कुरालाई फेरी ब्युँताउनका लागि विबन्धन, समर्पण, व्यवहार तथा कारोबारको निश्चितता (certainty of transactions), असल नियत, सदाचार र नैतिकता सबै कुराले प्रतिवादीलाई छेकेको छ । ती छेकबारहरू निरर्थक हुने गरी अपुतालीको महल लगायतका कानूनले प्रतिवादीलाई मद्दत गरेको र प्रतिवादीले ती कानूनको आधार लिन सकेको देखिँदैन । उल्टो यसमा अपुतालीको महलको २० नं. को हदम्यादको छेकबारसमेत लाग्ने अवस्था रहने ।
(प्रकरण नं. ५)
पुनरावेदक/प्रतिवादीको तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निराला
प्रत्यर्थी/वादीको तर्फबाट :
अवलम्बित नजिर :
सम्बद्ध कानून :
मुलुकी ऐन, अ. ब. ८२, अ. ब. १८४(क), १८५
मुलुकी ऐन, अपुतालीको महलको २० नं.
प्रमाण ऐन, २०३१ को दफा ३ र ५४
सुरू तहमा फैसला गर्ने :
मा.जि.न्या. श्री चिन्तामणि बराल
पुनरावेदन तहमा फैसला गर्ने :
मा.न्या. श्री डम्बर बहादुर शाही
मा.न्या. श्री विनोद शर्मा
फैसला
न्या. गोविन्दकुमार उपाध्याय : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन अदालत, जनकपुरको मिति २०६९।१।१८ को फैसलाउपर पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य र ठहर यसप्रकार रहेको छ :
हाम्रो काकी पानो देवीको कुनै छोरा छोरी नभएको र निस्सन्तान नै परलोक हुनु भएको हुँदा काकी पानो देवीको नाममा दर्ता रहेको जिल्ला महोत्तरी गा.वि.स. वहोरा जव्दी वडा नं.१ कि.नं.१६४, ऐ. वडा नं.२ को कि.नं. २४८ र ६३६ तथा ऐ. वडा नं.३ को कि.नं. ६९, ७३, ११७ र १४३ समेत क्षेत्रफल २-११-१३१/२ जग्गाहरू हामी वादी प्रतिवादीको नाममा संयुक्त दर्ता गराई भोग चलन गरी आएको थियौं तर मालपोत तिर्ने कार्य तथा व्यवहारमा कठिनाई हुने भएको हुँदा आ-आफ्नो भोगअनुरूप दर्ता फुटाई छुट्टाछुट्टै दर्ता गराई मेरो भागमा पर्ने ३ भागको १ भाग जग्गा मेरो नाममा दर्ता गरिपाउँ भन्नेसमेत व्यहोराको फिरादपत्र ।
स्व. गोपी महतोको ३ भाइ छोरा झपसी महतो, रामलखन महतो र दुखरन महतो भएकामा हाम्रा बाबु काकाको बीचमा भएको बन्डापत्रको लिखतमा नै २०२४ सालमा दुखरन महतोको छोरा नभएकाले निजहरू श्रीमान् श्रीमती परलोक भएपश्चात् झपसी महतोका सन्तानले आधी र आधी रामलखन महतोको सन्तानले लिने खाने भनी उल्लेख भै सकेको छ । यसरी म रामलखनको सन्तान बिर्जु महतोको आधा र आधामा निज वादी बेचन महतो र सुदामा देवीको उक्त सम्पत्तिमा हक लाग्ने हो भन्नेसमेत व्यहोराको प्रतिउत्तरपत्र ।
प्रतिवादी सुदामा देवीको नाउँमा जारी भएको म्याद मिति २०६७।२।२२ मा टाँस तामेल भए पनि प्रतिउत्तर नफिराई सुरू म्यादै गुजारी बसेको तथा र.नं. ३७० मिति २०२५।७।१२ मा पारित भएको बन्डापत्रको प्रमाणित प्रतिलिपि मिसिल संलग्न रहेको देखिन्छ ।
वादी दाबीका कि.नं.१६४, ६९, ७३, ११७, १४३, २४८ र ६३६ का कित्ता जग्गा वादी बेचन महतो र प्रतिवादी बिर्जु र सुदामा देवीका नाउँमा संयुक्त दर्ता रहेको भनी मालपोत कार्यालय, महोत्तरीको च.नं. ५७६ मिति २०६७।५।२० को पत्र साथ प्राप्त जग्गाको दर्ता उतार स्रेस्ताको प्रतिलिपिबाट देखिन्छ । प्रतिवादीको जिकिरअनुसार बिर्जु महतोले आधा र आधामा बेचन र सुदामाले पाउने भन्ने प्रमाण प्रतिवादीबाट गुज्रन आएको नदेखिँदा वादी दाबीअनुसार ३ भागको १ भाग जग्गाको दर्ता फोड गरी वादीका नाउँमा दर्तासमेत हुने ठहर्छ भनी सुरू महोत्तरी जिल्ला अदालतबाट मिति २०६८।१२।२१ गते भएको फैसला ।
मैले प्रतिउत्तरपत्रमा गोपी महतोको ३ जना छोराहरूमा एक जना दुखरन महतोको छोरा नभएको निजको श्रीमती पानो देवी मर्दा अपुतालीमा प्राप्त गरी संयुक्त दर्ता भएको तर्फ विचार गरी रामलखन र झपसीका सन्तानले आधा आधा पाउने गरी निर्णय गर्नु पर्नेमा सोतर्फ प्रमाण बुझ्दै नबुझी गरेको फैसला गैरकानूनी, त्रुटिपूर्ण रहेकाले उक्त फैसला बदर गरी इन्साफ प्रदान गरिपाउँ भन्ने प्रतिवादीको पुनरावेदन अदालत जनकपुरमा परेको पुनरावेदनपत्र ।
अघिल्लो पुस्ताका अंसियारहरू झपसी, रामलखन, दुखरन (पानादेवी) का बीच मिति २०२५।७।१२ मा भएको बन्डापत्र व्यहोराबाटसमेत पानोदेवी (दुखरनको श्रीमती) को अंश भागमा परेको सम्पत्ति निजको शेषपछि समान पुस्ताका रामलखन र झपसी अथवा निजका हाँगातर्फ आधा आधा बाडी खाने भन्ने देखिँदैन । हालको अवस्थामा समान पुस्ताका रामलखन र झपसीसमेतको निधन भई झपसीतर्फका बेचन तथा सुदामादेवी (मिश्रीलालको श्रीमती) तथा रामलखन तर्फका बिर्जु महतोसमेत समान पुस्ताका ३ जना रही पानो देवीको निधनपश्चात् निजका नाउँको उल्लिखित ७ कित्ता जग्गाहरू यी वादी र प्रतिवादीहरू तीन जनाका नाउँमा संयुक्त नामसारी भई आएको अवस्थामा झपसी तथा रामलखनको हाँगातर्फ आधा आधा हुनुपर्ने भन्ने वादी दाबी सबुद प्रमाणबाट पुष्टि हुन नसकेको अवस्था हुँदा अपुताली खाने समान हकदार संयुक्त दर्ता स्रेस्ता रहेका वादी तथा प्रतिवादीहरू तीन जनाको समान हक रहन जाने स्थिति भएकाले वादी दाबीबमोजिम तीन भागको एक भाग जग्गाको दर्ता फोड गरी वादीका नाउँमा दर्तासमेत हुने ठहर्याएको सुरू महोत्तरी जिल्ला अदालतको मिति २०६७।१२।२१ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, जनकपुरको मिति २०६९।१।१८ को फैसला ।
सुरू जिल्ला अदालतको फैसलालाई सदर गर्ने पुरावेदन अदालत, जनकपुरको फैसलामा अपुतालीको १ नं.समेतको व्यवस्थाको पालना नगरी फैसला भएको छ । दुखरन महतो र पानो देवीको मृत्यु पछि अपुताली पर्न आएका कारण हामी ३ जना अंसियार बाँकी रहेकाले हाम्रो नाउँमा नामसारी गरिएको हो । मृतकको अपुताली निजकै दाजुहरू झपसी र रामलखनलाई प्राप्त भएको हो र यस अर्थमा झपसी महतोको सन्तानले १ भाग र रामलखनको सन्तानले १ भाग गरी इन्साफ गर्नुपर्नेमा ३ भाग लाग्ने गरी भएको फैसला अपुतालीको सिद्धान्तसमेतको प्रतिकूल भएकाले मुद्दा दोहोर्याई हेरिपाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी बिर्जु महतोको निवेदनपत्र ।
मर्नेको सम्पत्ति क-कसमा जाने भन्ने कानूनी प्रश्न रहेको यस मुद्दामा निजका समानस्तरका दुई दाज्यू रहेकामा विवाद छैन । दुई दाजुमध्ये १ जनाको दुई छोरा र एक जनाको १ छोरा रहेको अवस्थामा मृतक दुखरनका निकटस्थ समान पुस्ताका झपसी र रामलखनमा निजको सम्पत्ति गई त्यसपछि मात्र निजहरूका छोरामा विभाजन हुनुपर्ने हुन्छ । प्रस्तुत मुद्दा अपुताली विषयक नभई दर्ता फोड गरिपाउँ भन्ने भएबाट मृतकका तीन भतिजामा समानरूपमा सम्पत्ति विभाजन गर्न अ.बं. ८२ नं. को हकदैयाको सिद्धान्तसमेतले मेल
खाँदैन । झपसीतर्फ एकजना र रामलखनतर्फ एकजना गरी बेचन महतो र बिर्जु महतोमात्र दुई अंशी देखिएकामा तीन भागको एका भागमात्र दर्ता फोड गरी वादी नाउमा दर्ता हुने ठहर गरेको पुनरावेदन अदालत, जनकपुरको मिति २०६९।१।१८ को फैसलामा अ.बं. ८२, अ.बं. १८४(क), १८५ तथा प्रमाण ऐन, २०३१ को दफा ३ र ५४ को त्रुटि गरी भएको देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) बमोजिम प्रस्तुत मुद्दामा दोहोर्याई पाउने निस्सा प्रदान गरिएको छ भन्नेसमेत व्यहोराको यस अदालतबाट भएको मिति २०७०।४।२२ को आदेश ।
नियमबमोजिम पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदकका तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री लक्ष्मीबहादुर निरालाले ३ अंसियारमध्ये १ जनाको मृत्यु भएपश्चात् निजको नाउँको सम्पत्ति बाँकी रहेका मूल अंसियारहरूको बराबर भाग लाग्ने अवस्था हुन्छ, सोभन्दा मुनिका अंसियारहरूलाई बराबर भाग लाग्ने अवस्था हुँदैन । अतः हाल संयुक्त दर्तामा रहे तापनि वादी दाबीका जग्गा २ भाग लाग्ने हो भनी गर्नुभएको बहस सुनियो । मिसिल अध्ययन
गरियो ।
अब पुनरावेदन अदालत, जनकपुरको फैसला मिलेको छ छैन भनी निर्णय दिनुपर्ने देखिन आयो ।
२. यसमा काकी पानो देवीको कुनै छोरा छोरी नभएको र नि:सन्तान परलोक हुनुभएको हुँदा काकी पानो देवीको नाममा दर्ता रहेको जिल्ला महोत्तरी गा.वि.स. वहोरा जब्दी वडा नं.१को कि.नं. १६४, ऐ. वडा नं.२ को कि.नं. २४८ र ६३६ तथा ऐ. वडा नं.३ को कि.नं. ६९, ७३, ११७ र १४३ समेतको क्षेत्रफल २-११-१३१/२ जग्गाहरू हामी वादी प्रतिवादीको नाममा संयुक्त दर्ता गराई भोग चलन गरी आएको थियौ तर व्यवहारमा कठिनाई भएको हुँदा दर्ता फुटाई तीन भागको १ भाग मेरा नाममा दर्ता गरिपाउँ भन्ने फिराद भएकामा हाम्रा बाबु काकाको बीचमा भएको बन्डापत्रको लिखतमा नै २०२४ सालमा दुखरन महतोको छोरा नभएकाले निजहरू श्रीमान् श्रीमती परलोक भएपश्चात झपसी महतोका सन्तानले आधा र आधा रामलखन महतोको सन्तानले लिने खाने भनी उल्लेख भैसकेको छ अत: म बिर्जु महतोको आधा र आधामा बेचन र सुदामा देवीको हक लाग्ने अवस्था छ भन्ने प्रतिउत्तर फिराएको देखिन्छ । सुरू जिल्ला अदालतबाट ३ भागको १ भागमात्र वादीले पाउने ठहर्याई फैसला भएको र सो फैसला सदर गरी पुनरावेदन अदालतबाट फैसला भएको अवस्था छ । त्यसमा मुद्दा दोहोर्याई पाउँ भनी प्रतिवादीले यस अदालतमा निवेदन गरेकामा झपसीतर्फ एकजना र रामलखनतर्फ एकजना गरी बेचन महतो र बिर्जु महतो दुई अंशीमात्र देखिएकामा दुई भाग नलगाई वादीका नाउँमा ३ भागको १ भाग दर्ता हुने ठहर गरेको पुनरावेदन अदालत, जनकपुरको फैसलामा त्रुटि रहेको भन्नेसमेतका आधारमा प्रस्तुत मुद्दामा दोहोर्याई पाउने निस्सा प्रदान गरिएको
पाइयो ।
३. यसमा गोपी महतोको ३ भाइ छोराहरू झपसी महतो, रामलखन महतो र दुखरन महतो भएको र दुखरन तथा निजकी श्रीमती पानोदेवीको मृत्यु भैसकेको तथा प्रस्तुत मुद्दाका वादी प्रतिवादीहरू झपसी महतो र रामलखन महतोका सन्तान र बुहारी भएको भन्ने कुरामा विवाद देखिँदैन । एक हाँगाको मृत्युपश्चात् निजको नाउँको सम्पत्ति समान तहका हकवालाले बराबर पाउनुपर्ने भन्ने नै प्रतिवादी पुनरावेदकको जिकिर तथा यस अदालतबाट प्रदान भएको निस्साको आधार देखिन्छ । तर यसको लागि पुनरावेदकले वादी भै दाबी लिन सक्नुपर्छ । पुनरावेदकले प्रतिउत्तरपत्रबाट प्रस्तुत दर्तालाई चुनौति गर्न मिल्दैन । बेलायतलगायतका केही मुलुकमा जस्तो नेपालमा प्रतिदाबी (counter claim) पेस हुने कानूनी व्यवस्था देखिन्न ।
४. विवादित जग्गाहरूको संयुक्त दर्ता प्रक्रियालाई प्रतिवादीले स्वीकार गरेको कारणबाटै विवादित जग्गा वादी बेचन महतो, सुदामा देवी र यी प्रतिवादीको नाममा संयुक्त दर्ता भएकामा विवाद
छैन । संयुक्त दर्ता गर्दाकै अवस्थामा प्रतिवादीले हाँगा पिच्छेको विवाद खडा गरेको भए त्यसमा विचार गर्न सकिन्थ्यो । त्यसबेला मृतकको हकवाला दुई हाँगामध्ये एउटै हाँगाबाट निःसृत दुईले १/१ भाग तर अर्को हाँगाको यी प्रतिवादी एक व्यक्तिले १ भागमात्र पाउनु पर्ने कारण जान्न सकिन्थ्यो । त्यसमा एउटै हाँगाका बेचन र सुदामाले १/१ भाग पाउने गरी दर्ता हुने विभिन्न कारण जस्तो कि मृतकको हेरचाह, सेवा वा अरू हकवालाले पहिले गरेको सेवा आदि बापत निर्वाह गर्नुपर्ने दायित्वबाट छुटकारा आदि हुन सक्छन् । त्यस किसिमले दर्ता हुनै नसक्ने भन्ने अपुतालीको महलको कानूनी संरचना पनि छैन । हकवालाले पाउनेभन्दा कम लिएर वा लिँदै नलिएर हक छाड्नलाई संविधानले कुनै छेकबार नलगाए जस्तै यसमा पनि अपुतालीका हकवालाहरूले के कस्तो भाग लगाउने भन्ने कुरा आपसी सहमतिमा जसरी पनि गर्नलाई अपुतालीको महलको कुनै बाधा छेकबार गरेको छैन । यो संयुक्त दर्ता प्रतिवादीको इच्छा विरूद्ध भएको देखिँदैन । यसबाट दर्तावालाहरूले स्वेच्छाले अपुतालीको हिस्साको विवाद टुङ्ग्याई संयुक्त दर्तामा दाबीका जग्गाहरू राखेको पाइन्छ । अहिलेको विवाद भनेको संयुक्त दर्ताको जग्गामा कसको कति हक पुग्ने भन्ने नै हो न कि दुखरन र पानो देवीको अपुताली के कसरी भाग लाग्ने भन्ने हो ।
५. संयुक्त दर्तामा रहेको सम्पत्तिमा अन्यथा उल्लेख भएमा बाहेक सबै दर्तावालाको बराबर हक रहेको मान्नु पर्ने हुन्छ । सो सम्पत्तिमा बराबर हक छैन भन्ने कुरा कुनै पक्षले भन्न मिल्दैन । संयुक्त दर्ता र हाँगा पिच्छे सगोललगायतको अरू दर्ताको यै फरक हो । सगोल दर्तामा दर्तावाला भनेको आलङ्कारिक
हुन्छ । सगोल जग्गामा दर्तावाला लगायतका अंसियारहरूको हक हुन्छ । संयुक्त दर्तामा बराबर हक हुन्छ । प्रस्तुत दर्तामा यी प्रतिवादी आफैँ सहभागी भै कहिंकतै नालिस नगरी चित्त बुझाई व्यवहारसमेत चलाई बसेको र वादीले दर्ता फुटाउनका लागि कारवाही चलाएपछि प्रतिउत्तरपत्रबाटमात्र यो विवाद खडा गरेकोलाई मनासिब मान्न मिल्दैन । अपुतालीको विवादलाई संयुक्त दर्ताले टुङ्ग्याई सकेको छ । संयुक्त दर्ता भन्दा पहिलेको अपुताली हक हिस्साको कुरालाई फेरि ब्युँताउनका लागि विवन्धन, समर्पण, व्यवहार तथा कारोबारको निश्चितता (certainty of transactions), असल नियत, सदाचार र नैतिकता सबै कुराले प्रतिवादीलाई छेकेको छ । ती छेकबारहरू निरर्थक हुने गरी अपुतालीको महललगायतका कानूनले प्रतिवादीलाई मद्दत गरेको र प्रतिवादीले ती कानूनको आधार लिन सकेको देखिँदैन । उल्टो यसमा अपुतालीको महलको २० नं. को हदम्यादको छेकबारसमेत लाग्ने अवस्था रहन्छ ।
६. माथि उल्लेख भएबमोजिम वादी प्रतिवादीहरूको संयुक्त दर्तामा रहेको विवादित ७ कित्ता जग्गाहरूमा सबै दर्तावालाको बराबर हक हुने भएकाले दाबीबमोजिम तीन भागको एक भाग जग्गाको दर्ता फोड गरी वादीका नाउँमा दर्तासमेत हुने ठहर्याएको सुरू महोत्तरी जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत, जनकपुरको मिति २०६९।१।१८ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । यस अदालतले मिति २०७०।४।२२ मा प्रदान गरेको निस्सासँग सहमत हुन सकिएन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या. दीपकराज जोशी
इति संवत् २०७१ साल चैत २ गते रोज २ शुभम् ।
इजलास अधिकृत : सुमनकुमार न्यौपाने