शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९४१६ - जालसाजी

भाग: ५७ साल: २०७२ महिना: असोज अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ

माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय

फैसला मिति : २०७१।०८।२३।३

०६८–CR–०२३९

 

मुद्दा : जालसाजी ।

 

पुनरावेदक/वादी : कास्की जिल्ला, हेम्जा गा.वि.स. वडा नं. २ बस्ने प्रेमबहादुर दमैको छोरी सिमा दमैसमेत ।

विरूद्ध

प्रत्यर्थी / विपक्षी : कास्की जिल्ला हेम्जा गा.वि.स. वडा नं. २ बस्ने धन बहादुर दमैको छोरा वर्ष ४४ को प्रेमबहादुर दमैसमेत ।

 

व्यवहार चलाउनलाई घर जग्गा बिक्री गर्नेदेखि बाहेकको उक्त उपाय नभएको अवस्थामा घर जग्गा बिक्री गरेको कार्यलाई मात्र जालसाजी गर्‍यो भन्न मिल्दैन । जालसाजी हुनलाई त्यस्तो कार्य गर्ने व्यक्तिको बदनियत एवम्‌ सो किसिमको आचरण देखिनु पर्ने । 

(प्रकरण नं.४)

लोग्नेबाट घरदेखि अन्यत्रै बसोबास गरेको भन्न नसकेको अवस्थामा घरमा लोग्नेसँग सँगै बस्ने वादीले लोग्नेले गरेको व्यवहार थाहा नपाउने भन्ने अवस्था पनि नहुने । 

(प्रकरण नं. ६)

लोग्नेसँग सँगै घरमा बसेको अवस्थामा ४ वर्षपछि लोग्नेले घर जग्गा बिक्री गरेको कुरा थाहा पाएको भनी थाहा पाएको मितिबाट हदम्याद कायम गरी वादी जालसाजीतर्फको दाबी लिई आएकोलाई उपचारको उचित मार्ग अवलम्बन गरी आएको भन्न 

मिल्दैन । घर जग्गा बिक्री गरेको लोग्नेसँग साथैमा एउटै घरमा बसेकी श्रीमती यी पुनरावेदक वादीलाई लोग्नेले घर जग्गा बिक्री गरेको कुरा तत्कालै थाहा नहुने कुरै नहुँदा बसी रहेको घर छोड्न नपरोस् भन्ने उद्देश्यले मात्रै जालसाजीतर्फको दाबी गरेको भन्नु पर्ने अवस्था आउँछ । यस्तोमा जालसाजीतर्फको हदम्यादसमेत आकृष्ट हुन नसक्ने । 

(प्रकरण नं. ७)

 

सुरू तहमा फैसला गर्नेः  

मा.न्या.श्री नारायणप्रसाद पोखरेल

पुनरावेदन तहमा फैसला गर्नेः 

मा.न्या.श्री हरिराम कोइराला

मा.न्या.श्री किशोर सिलवाल

 

फैसला

न्या.कल्याण श्रेष्ठ : पुनरावेदन अदालत, पोखराको मिति २०६७।९।१८ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२ बमोजिम मुद्दा दोहोर्‍याउने निस्सा भई पुनरावेदनको रूपमा दायर हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य र ठहर देहायबमोजिम छः

 

तथ्य खण्ड

वादीको सङ्क्षिप्त फिराद दाबी

म तथा नाबालक छोरा छोरीसमेतले जीवन गुजाराका लागि बास बसी आएको हाम्रो अंश हक लाग्ने पैतृक घर जग्गा हाम्रो मन्जुरी वेगर विपक्षीहरू एक आपसमा मिलेमतो जालसाजीपूर्ण तरिकाले राजिनामा पारित गराई जग्गा लिनु दिनु गरेका 

रहेछन् । विपक्षीहरूको उक्त कार्यबाट हाम्रो अंश हक कुण्ठित हुन पुगेकाले हाम्रोसमेत अंश हक लाग्ने जिल्ला कास्की हेमजा गा.वि.स. वडा नं. २ कि.नं. ३४३ को क्षेत्रफल ०-१५-१-३ जग्गामध्ये उत्तर पश्चिमतर्फ ३ भागको १ भाग विपक्षी पति पिताको भाग हिस्साको जग्गा विपक्षीहरू मिली मालपोत कार्यालय, कास्कीको र.नं. ११९५, मिति २०६०।३।८ बाट राजिनामा पारित गराई लिनु दिनु गरेकाले उक्त लिखत जालसाजी घोषित गरी उक्त जग्गा मध्ये ५ भागको ४ भाग लिखत निष्क्रिय गराई विपक्षीहरूलाई सजाय गरिपाऊँ ।

 

प्रतिवादी इन्द्रबहादुर सुनारको सुरूको प्रतिउत्तर जिकिरः 

वादीका पतिले दाबीको जग्गा मलाई राजिनामा पारित गरी दिँदाको समयदेखि नै विपक्षीलाई थाहा जानकारी भएको थियो । ऋण लागि जग्गा बिक्री गर्नु पर्‍यो भनी विपक्षीसमेत मसँग सल्लाह गर्न आएकी थिइन् । केवल हदम्याद कायम गर्नमात्र लिखत सारेको कुरा अगाडि ल्याएको अवस्था हो । पटकपटक जग्गा कमाउने भोग गर्ने क्रममा राम बहादुरसँग जग्गा छुट्याउँदा जग्गा घटबढ भएको कुरासमेत विपक्षीलाई थाहा जानकारी छ । यसैले वादीको फिराद किर्ते कागजको १८ नं. को हदम्याद नाघी फिराद दायर भएको भन्ने स्पष्ट हुँदा फिराद खारेजभागी छ ।

 

प्रतिवादी प्रेमबहादुर दमैको सुरूको प्रतिउत्तर जिकिरः

फिराद दाबी झुठ्ठा हो । मेरो नाउँको जग्गा इन्द्रबहादुर सुनारलाई पास गर्ने बेलामा श्रीमतीलाई थाहा दिनु पर्दछ भनी मैलेभन्दा तपाईं घरको मुख्य मान्छे भएको हुँदा तपाईले सहिछाप गरेपछि जग्गा पास हुन्छ । श्रीमतीलाई भन्नु पर्दैन भनी प्रतिवादीमध्येका इन्द्र बहादुरले भनेकाले जग्गा पास गरी दिएको हुँ । मैले जालसाज गरेको होइन ।

 

वादीका साक्षी कृष्णबहादुर पराजुली थापाले सुरू कास्की जिल्ला अदालतमा गरेको बकपत्रः

वादी संरक्षकसहितकी सावित्री परियार तथा प्रतिवादीमध्येको प्रेमबहादुर परियारको यो मुद्दा परेको जग्गाबाहेक अन्यत्र कहिँकतै पनि बसोबास गर्ने ठाउँ छैन । नाबालक छोरा छोरी छन् किन त्यसरी बसोबासै नराखी दिए, लेनदेन गरे गरेनन् मलाई थाहा छैन । जग्गा लिने व्यक्तिले पनि परिवार अर्थात् श्रीमतीलाई समेत जानकारी हुनुपर्ने हो । 

 

प्रतिवादी इन्द्रबहादुर सुनारको साक्षी दुर्गा बहादुर सुनारले गरेको बकपत्रः

प्रतिवादी प्रेमबहादुरले वादीसँग सरसल्लाह गरी आफू रोजगारको लागि विदेश पनि जाने बाँकी पैसा अन्यत्र ठाउँमा जग्गा किन्ने भनी वादी सावित्रीसमेतको सरसल्लाहबाट यो विवादित घर जग्गा प्रतिवादी इन्द्रबहादुर सुनारले किनेका हुन् । वादीका पति र इन्द्रबहादुरको मात्र मिलेमतोबाट लिनु दिनु गरेका होइनन् । तसर्थ कुनै जालसाजी कार्य होइन । वादी र प्रतिवादी प्रेमबहादुर हालसम्म पनि एकासगोलमा नै छन् । सरसल्लाहबाट बिक्री गरेको कुरालाई जालसाजी भन्न मिल्दैन । 

 

प्रतिवादी इन्द्रबहादुर सुनारको साक्षी अम्मरबहादुर थापाले सुरू अदालतमा गरेको बकपत्रः

प्रतिवादी विदेश जाने तरखरमा थिए । यसै अवस्थामा यी प्रेमबहादुर परियारलाई यी वादीसमेतको सल्लाहबाट उक्त घर जग्गा बिक्री गरेका हुन । यी वादी तथा प्रतिवादी प्रेमबहादुरको सोबाहेक अन्यत्र कहिँ जग्गा छैन । यी प्रेमबहादुरले उक्त जग्गा घर बिक्री गर्न हुने थिएन । तर बिक्री गर्दा भने यी वादीको समेत सल्लाह लिई बिक्री गरेका हुन् । पैसा भुक्तानी गर्दा प्रतिवादी इन्द्रबहादुरको छोरा आई के गरौँ पैसा दिउँकी नदिउँ पनि भनेका थिए । सो अवस्थामा यी वादीले विदेश जाने भए दिए हुन्छ भनी भनेकी थिइन् । 

 

बलबहादुर थापासमेतले विवादित घर जग्गाको सम्बन्धमा लेखाई दिएको सर्जमिन मुचुल्काः

विवादित घर जग्गा र सो जग्गामा प्रतिवादी प्रेम बहादुर र निजको श्रीमती सावित्रीको परिवारले भोग चलन गर्दै आएका छन । हकको सम्बन्धमा व्यवहारिक र आन्तरिक कुरा के छ थाहा छैन । 

 

सुरू कास्की जिल्ला अदालतको मिति २०६६।९।२।५ को फैसला ।

यसमा विवादको लिखत पारित भएको मिति २०६०।३।८ पछि करिब ४ वर्ष ६ महिनासम्म प्रतिवादी प्रेमबहादुर दमै एकासगोलमा रहे बसेका वादीलाई सो कुराको थाहा जानकारी थिएन भनी अर्थ गर्न मिल्नेसमेत देखिन आएन । वादी सावित्री दमैबाहेकका अन्य वादीहरू हालसम्म पनि २१ वर्ष नपुगेको अवस्था हुँदा निजहरूको हकमा अशबन्डाको १९(१) ले मन्जुरी लिनु पर्ने सम्मको अवस्थासमेत देखिन आउँदैन । प्रतिवादी इन्द्रबहादुर सुनारका साक्षी दुर्गाबहादुर सुनारले प्रतिवादी इन्द्रबहादुरले यी वादीसँग सरसल्लाह गरी आफू रोजगारको लागि विदेश पनि जाने, बाँकी पैसा अन्यत्र ठाउँमा जग्गा किन्ने भनी यी वादी सावित्रीले भनेकीले इन्द्रबहादुर सुनारले सो जग्गा घर किनेका हुन् । वादीका पति र इन्द्रबहादुर सुनारको मिलेमतोबाट मात्र लिनु दिनु गरेको होइन भनी अदालतमा आई बकपत्र गरी दिएको 

पाइन्छ । यस अदालतबाट भएको सर्जमिन व्यहोरामा पनि विवादित घरमा प्रेमबहादुर दमै वादीहरूसँग साथमा नै बसी आएको भन्ने देखिन आएको भन्ने देखिन आएको समेतका कारणहरूबाट वादीहरूका पति पिताले वादीहरूलाई थाहा जानकारी नदिई बिक्री गरेको भन्ने वादीहरूको भनाइ साँचो देखिन नआएकाले प्रतिवादीहरूले जालसाजी गरे भन्ने वादी दाबी पुग्न नसक्ने ठहर्छ ।

 

वादी सावित्री दमैले पुनरावेदन अदालत, पोखरामा गरेको पुनरावेदन ।

सुरू कास्की जिल्ला अदालतको फैसलाउपर चित्त बुझेन । विपक्षी प्रेमबहादुर दिने विपक्षी इन्द्रबहादुर लिने गरी हाम्रो हकै मेटाउने गरी मालपोत कार्यालय, कास्कीबाट मिति २०६०।३।८ को पारित राजिनामामा उल्लेख भएको "घर खर्चबापत" भन्ने शब्दावली नै जालसाजी हो । किनकी उक्त रकम लिएर हाम्रो घर खर्चमा चलाएका छैनौं । कपडा सिलाएर प्राप्त आम्दानीले नै मैले घर खर्च चलाएकी छु । मलाई हराउन इन्द्रबहादुरका साक्षीले गरेको बकपत्रलाई पनि आधार बनाउन मिल्ने होइन । लेनदेन व्यवहारको १० नं. अनुसार लिखत पारित भएको १ वर्षसम्म थाहा पाएको ३५ दिन भित्र उजुर गर्न नसकेको भन्ने तर्क पनि जायज होइन । किनभने यस सम्बन्धमा जहाँ कानूनले दुईदुई वटा उपचारको मार्ग प्रदान गरेको हुन्छ त्यसमा कुन मार्ग अवलम्बन गर्ने भन्ने पक्षको अधिकार हो भनी सर्वोच्च अदालतबाट सिद्धान्त प्रतिपादित भैसकेको छ । मुलुकी ऐन किर्ते कागजको १८ नं. ले जालसाजी क्रिया गरेको विरूद्ध उपचार प्राप्त गर्न थाहा पाएको ६ महिनाभित्र नालेस गर्नुपर्ने कानूनी व्यवस्थालाई लेनदेनको १० नं. ले निष्क्रिय गराउन मिल्दैन । यसर्थ अंशबन्डाको १९(१), लेनदेन व्यवहारको १० नं. को समेत गलत व्याख्या र किर्ते कागजको १, ३ र १८ नं. को व्यवस्थालाई निस्तेज पार्ने गरी भएको सुरू कास्की जिल्ला अदालतको फैसला त्रुटिपुर्ण भएकाले उल्टी गरी वादी दाबीबमोजिम इन्साफ पाऊँ ।

 

पुनरावेदन अदालत, पोखराको अ.बं. २०२ नं. बमोजिमको आदेशः

यसमा अंशबन्डाको १९(१) नं. को व्याख्याबाट कास्की जिल्ला अदालतको मिति २०६६।९।२ को फैसला विचारणीय देखिएकाले मुलुकी ऐन अ.बं. २०२ नं. र पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थी झिकाई आए वा अवधि नाघेपछि नियमानुसार पेस 

गर्नू । 

 

पुनरावेदन अदालत, पोखराको मिति २०६७।९।१८।१ को फैसला

वादीका छोरा छोरी एक्काईस वर्ष ननाघेका हुँदा मन्जुरी लिनु पर्ने भन्ने कानूनी व्यवस्था प्रस्तुत मुद्दामा लागू हुने देखिँदैन । यस अवस्थामा मिसिल संलग्न प्रमाण कागजहरूको सुक्ष्म अध्ययन गर्दा यी वादीले जालसाजी गरे भनी दाबी लिएको लिखतउपर जालसाजी नठहर्ने गरी सुरू कास्की जिल्ला अदालतले गरेको फैसलालाई अन्यथा भनी रहनु पर्ने अवस्था देखिन आएन । तसर्थ यसमा वादी दाबी पुग्न नसक्ने ठहर्‍याई कास्की जिल्ला अदालतबाट भएको मिति २०६६।९।२।५ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक वादी सावित्री दमैसमेतको पुनरावेदन जिकिर पुग्न सक्दैन । 

 

नाबालकहरूको संरक्षक वादी सावित्री दमैले यस अदालतमा दिएको मुद्दा दोहोर्‍याई पाउँ भन्ने निवेदनः

वादी प्रतिवादीहरू सबै एकासगोलमा रहे बसेको भन्ने कुरामा विवाद छैन ।  प्रतिवादी प्रेमबहादुर दमै घरका मुख्य व्यक्ति हुँदा निजले घर व्यवहार चलाउन परे अरू अंशियारको मन्जुरी लिएर जग्गा बिक्री गर्न पाउने भए पनि एकासगोल मै रहे बसेका स्वास्नी छोरा छोरीसँग सल्लाह नै नगरी मन्जुरी नै नलिई सबै अंशियारको अंश लाग्ने जग्गा बिक्री गरेको कार्य जालसाजीपुर्ण रहेको भन्ने स्पष्ट छ । जालसाजीतर्फ नालेस गर्ने हदम्याद भनेको थाहा पाएको मितिले ६ महिनाभित्र हुँदा लेनदेन व्यवहारको १० को हदम्यादभित्र नालेस नगरेको भनी हामीलाई हराउने गरी भएको सुरू कास्की जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत, पोखराको फैसलामा लेनेदन व्यवहारको १० नं., अंशबन्डाको १९(१), किर्ते कागजको १, ३ र १८ नं. का साथै सर्वोच्च अदालतबाट प्रतिपादित नजिरसमेतको त्रुटि विद्यमान हुँदा मुद्दा दोहोर्‍याई हेरी सुरू फिराद दाबीबमोजिम न्याय पाऊँ ।

 

यस अदालतबाट मिति २०६८।४।१९ मा भएको मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान आदेशः

यसमा विवादित कि.नं. ३४३ को ०-१५-१-३ जग्गा प्रतिवादी प्रेमबहादुरले बिक्री गर्दा निजकी श्रीमती तथा यस मुद्दाकी वादी सावित्री दमैसमेतलाई साक्षी नराखेको भन्ने तथ्यमा विवाद देखिँदैन । मुलुकी ऐन, अंशबन्डाको १९ नं. अनुसार आधार भन्दा बढी अचल सम्पत्ति बिक्री व्यवहार गर्दा एक्काइस वर्ष नाघेका स्वास्नी, छोरा, अविवाहित छोरीसमेतको मन्जुरी लिनुपर्ने भन्ने कानूनी व्यवस्था रहेको परिप्रेक्ष्यमा प्रतिवादी प्रेमबहादुर दमैले उक्त पुरै जग्गा बिक्री गरी गरेको व्यवहारलाई कायम हुने ठहराई भएको सुरू जिल्ला अदालतको फैसलालाई सदर गर्ने गरेको पुनरावेदन अदालत, पोखराको फैसलामा मुलुकी ऐन, अंश बन्डाको १९ नं. तथा ने.का.प. २०४८ नि.नं. ४४३५ एवम्‌ ने.का.प. २०४३ नि.नं. २९०० मा प्रतिपादित सिद्धान्तसमेतको व्याख्यात्मक त्रुटि देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) र (ख) को आधारमा मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान गरी दिएको छ । सुरू, रेकर्ड र भए प्रमाण मिसिल समेत झिकाई आएपछि साथै राखी नियमानुसार गरी पेस गर्नू । 

 

उल्लिखित मिति २०६८।०४।१९ को आदेशानुसार प्रस्तुत मुद्दा पुनरावेदनको रूपमा दायर भएको ।

 

इन्साफ खण्ड

नियमबमोजिम निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीहरूको तर्फबाट 

उपस्थित विद्वान्‌ अधिवक्ता श्री शान्तिदेवी खनालले प्रतिवादी प्रेमबहादुरले स्वास्नी छोरा छोरीसमेत एकासगोलमै भएको अवस्थामा बस्ने बासको 

घरसमेतको जग्गा स्वास्नी छोरा छोरी कसैको मन्जुरीसमेत नलिई बिक्री गरेको हुँदा सो कार्य स्पष्टरूपले जालसाजी भन्ने देखि रहेको छ । जालसाजी पूर्ण क्रियाको हकमा किर्ते कागजको १८ नं. कै हदम्याद आकर्षित हुने हो । लेनदेन व्यवहारको १० नं. को हदम्याद भित्र फिराद नपरेको भनी घर बासै उठीबास लाग्न गएको तर्फ विचारै नगरी भएको सुरू र पुनरावेदन अदालतको फैसलामा कानून र नजिरको त्रुटि रहेको छ । यस्तो त्रुटिपुर्ण फैसला बदर गरी सुरू फिराद दाबीबमोजिम हुने गरी इन्साफ गरिपाउँ भनी बहस गर्नुभयो ।

प्रत्यर्थी प्रतिवादीको तर्फबाट उपस्थित विद्वान्‌ अधिवक्ता श्री कृष्णप्रसाद तिमिल्सीनाले प्रतिवादीले कुनै जालसाजी क्रिया गरेका छैनन् । घर व्यवहार चलाउनको लागि आफ्नो सम्पत्ति बिक्री गर्ने अधिकार प्रतिवादीलाई रहेकै छ । जग्गा बिक्री गरेको वर्षौ बीतिसकेकामा बसी रहेको घर छोड्न नपरोस् भनी फिराद दिएको अवस्था हुँदा फिराद दाबी पुग्न सक्ने अवस्था छैन ।  त्यसैले सुरू र पुनरावेदन अदालतको फैसला मिलेकै हुँदा सदर कायम गरिपाउँ भनी बहस प्रस्तुत गर्नुभयो ।

विद्वान्‌ कानून व्यवसायीहरूको उल्लिखित व्यहोराको बहस जिकिरलाई मनन गरी पुनरावेदनपत्र सहितका मिसिल संलग्न प्रमाण कागजहरूको अध्यनय गरी वादी दाबी पुग्न नसक्ने ठहराएको सुरू कास्की जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत, पोखराको फैसला मिलेको छ छैन र वादीहरूको पुनरावेदन जिकिर पुग्न सक्छ सक्दैन भन्ने सम्बन्धमा विचार गरी निर्णय गर्नु परेको छ ।

यसमा वादीहरूको फिराद दाबीमा घरमै बसी रहेकी स्वास्नी छोरा छोरीहरूसँग कुनै सरसल्लाह नै नगरी थाहै नदिई बसोबास गरी रहेको घरसमेतको जग्गा पतिले जालसाजी गरी बिक्री गरेकाले प्रतिवादीहरूको कार्यलाई जालसाजी ठहर गरी लिखत बदर गरिपाउँ 

भन्ने देखिन्छ । जग्गा किन्ने इन्द्र बहादुरले श्रीमतीसमेतलाई भन्नु पर्दैन तपाई घरको मुख्यले गरेको व्यवहारमा जग्गा पास हुन्छ भनेकाले स्वास्नीसमेतलाई नसोधेको हो भन्ने प्रतिवादी प्रेम बहादुर र जग्गा पास गरेको कुरा एउटै घरमा एकासगोलमा बसेका वादीहरूलाई तत्कालै थाहा जानकारी भएर पनि चित्त बुझाई बसेका र जग्गा पास गरेको वर्षौ बितिसकेपछि जालसाजीतर्फ नालेस गर्न आएको हुँदा लेनदेन व्यवहारको १० नं. को हदम्याद नघाई परेको फिराद दाबी पुग्न सक्ने अवस्था छैन भन्ने प्रतिवादी इन्द्रबहादुरको प्रतिउत्तर जिकिर रहेको देखिन्छ ।

२. इन्साफतर्फ विचार गर्दा, घरको मुख्यलाई घर व्यवहार चलाउनको लागि खर्च गर्न र आफ्नो सम्पत्तिको संरक्षण गर्ने अभिभारासमेत रहेकै हुन्छ । त्यस्तो कर्तव्य निर्वाह गर्नु पर्ने दायित्व भएको व्यक्तिले सगोलको सम्पत्ति आवश्यक पर्दा बिक्री गरी व्यवहार चलाउनु पर्ने नै  हुन्छ । यस्तो व्यवहारिक समस्याको कुरालाई कानूनले छुट दिएकै देखिन्छ । प्रस्तुत मुद्दामा आफूहरूलाई थाहा जानकारी नदिई मन्जुरीसमेत नलिई प्रतिवादी पति पिताले सबै सम्पत्ति राजिनामा बिक्री गरेको कार्य जालसाजी हो भनी वादीहरूले जालसाजीमा प्रतिवादीहरूलाई सजाय गरी आफूहरूको अंश भागसम्मको लिखत निष्क्रिय गरिपाउँ भनी दाबी लिई फिराद गरेको देखिन्छ ।

३. प्रतिवादी प्रेमबहादुर दमै र वादीहरू एकासगोलमा नै सँगै एउटै घरमा बसी रहेको भन्ने कुरामा विवाद देखिएको छैन । प्रेमबहादुर दमै घर व्यवहार गर्ने मुख्य व्यक्ति भएको भन्ने कुरामा पनि 

विवाद देखिँदैन । त्यस्तो मुख्य व्यक्तिलाई आफूमा आश्रित स्वास्नी, छोरा, छोरीको लालन पालन र सम्पत्तिको संरक्षण गर्ने अभिभाराको कर्तव्य रहेको नै हुन्छ । प्रतिवादी प्रेम बहादुर दमै घर परिवार र सम्पत्ति संरक्षण गर्ने दायित्व र कर्तव्यबाट च्युत भएको भन्ने अवस्था नदेखिनुको साथै सो कुरा वादीहरूले भन्न सकेकासमेत छैनन् । आफ्ना स्वास्नी छोरा 

छोरीहरूलाई खान लाउन दिई पालन पोषण 

गर्नेसमेतको कर्तव्य भएका प्रतिवादी प्रेमबहादुर दमैले सँगै बस्ने स्वास्नी छोरा छोरीसमेत उपर जालसाजी पूर्ण व्यवहार गर्नु पर्ने त्यस्तो कुनै कारण पनि मिसिलबाट देखिएको छैन । 

४. व्यवहार चलाउनलाई घर जग्गा बिक्री गर्नेदेखि बाहेकको उक्त उपाय नभएको अवस्थामा घर जग्गा बिक्री गरेको कार्यलाई मात्र जालसाजी गर्‍यो भन्न मिल्दैन । जालसाजी हुनलाई त्यस्तो कार्य गर्ने व्यक्तिको बदनियत एवम्‌ सो किसिमको आचरण देखिनु पर्छ । प्रस्तुत मुद्दामा प्रतिवादी प्रेमबहादुर दमैले बदनियत चिताएर सगोलको घर जग्गा बिक्री गरेको भन्ने वस्तुनिष्ठ आधार प्रमाण वादीहरूले पेस गरेको अवस्था मिसिलबाट देखिँदैन । मुलुकी ऐन, अंशबन्डाको महलको १९ नं. को देहाय दफा १ मा रहेको कानूनी व्यवस्था हेर्दा पनि सोमा "पिता पुर्खाको पालाको चल अचल गैह्र सम्पत्तिको हकमा चलमा सबै र अचलमा आधासम्म व्यवहार चलाउनलाई स्वास्नी, छोरा, अविवाहित छोरी वा विधवा बुहारीको मन्जुरी नभएपनि आफूखुसी गर्न पाउँछ । अचलमा आधीभन्दा बढी भने व्यवहार चलाउनै परे पनि एक्काइस वर्ष नाघेका स्वास्नी, छोरा, अविवाहित छोरी वा विधवा बुहारीहरूको मन्जुरी लिई मात्र खर्च गर्न हुन्छ । मन्जुरी नलिई गरेको सदर हुँदैन" भन्ने व्यवस्था रहेको 

देखिन्छ । 

५. प्रस्तुत मुद्दामा दाबी गरिएको घर जग्गा पिता पुर्खाको पालाको होइन, निजी आर्जनको हो भन्ने पनि वादी दाबी भएको देखिँदैन । यस्तो अवस्थामा रहेको घर जग्गा पिता पुर्खाको पालाकै देखिएकाले त्यस्तो सम्पत्तिको व्यवहार घरको मुख्यको हैसियतले प्रतिवादी प्रेमबहादुर दमैले गर्न नपाउने भन्न 

मिल्दैन । अचलमा आधीभन्दा बढी बिक्री गरेकोलाई सदर हुँदैन" भन्ने कानूनी व्यवस्थाको आड लिएर प्रतिवादीले गरेको व्यवहारलाई जालसाजी भन्न मिल्ने होइन । अचलमा आधीभन्दा बढी सम्पत्ति बिक्री गर्दा एक्काइस वर्ष नाघेका स्वास्नी छोरा अविवाहित छोरी, बुहारीको मन्जुरी लिनु पर्ने कानूनी बाध्यताको प्रश्न छ त्यस तर्फ हेर्दा प्रतिवादी प्रेमबहादुर दमैले घर जग्गा बिक्री गर्दा यी पुनरावेदक वादी सावित्री दमैमात्र २१ वर्ष नाघेकी र अरू छोरा छोरी एक्काइस वर्ष नपुगेका देखिनाले छोरा छोरीको मन्जुरी लिनु पर्ने वा उनीहरू लिखतमा साक्षी बस्नु पर्ने पनि होइन । यी पुनरावेदिका सावित्री दमै लोग्ने प्रतिवादी प्रेमबहादुर दमैसँग साथमै एउटै घरमा बसेको अवस्थामा निजको मन्जुरी नलिई निज प्रतिवादीले घर जग्गा बिक्री गरेका होलान भनेर बिना आधार प्रमाण विश्वास गर्न सकिदैन ।

६. लोग्नेबाट घरदेखि अन्यत्रै बसोबास गरेको भन्न नसकेको अवस्थामा घरमा लोग्नेसँग सँगै बस्ने वादीले लोग्नेले गरेको व्यवहार थाहा नपाउने भन्ने अवस्था पनि हुँदैन । त्यसैले अंशबन्डाको १९(१) को वादी दाबी एवम्‌ पुनरावेदन जिकिर पुष्टि हुन सक्दैन । लेनदेन व्यवहारको १० नं. को अवस्था विद्यमान रहेको भए त्यसतर्फ लेनदेन व्यवहारको १० नं. को हदम्यादभित्र लिखत बदरतर्फको नालेस दिन सक्नुपर्छ । जालसाजीको तत्त्वहरू नै विद्यमान नभएको अवस्थामा जालसाजीतर्फको हदम्यादको दाबी लिई नालेस गर्न पाउने भन्ने हुँदैन । 

७. लेनदेन व्यवहारको १० नं. बमोजिम लिखत बदरतर्फ दाबी नपरी जालसाजीमा मात्रै दाबी परेको र लोग्नेसँग सँगै घरमा बसेको अवस्थामा ४ वर्षपछि लोग्नेले घर जग्गा बिक्री गरेको कुरा थाहा पाएको भनी थाहा पाएको मितिबाट हदम्याद कायम गरी वादी जालसाजीतर्फको दाबी लिई आएकोलाई उपचारको उचित मार्ग अवलम्बन गरी आएको भन्न मिल्दैन । घर जग्गा बिक्री गरेको लोग्नेसँग साथैमा एउटै घरमा बसेकी श्रीमती यी पुनरावेदक वादीलाई लोग्नेले घर जग्गा बिक्री गरेको कुरा तत्कालै थाहा नहुने कुरै नहुँदा बसी रहेको घर छोड्न नपरोस् भन्ने उद्देश्यले मात्रै जालसाजीतर्फको दाबी गरेको भन्नु पर्ने अवस्था आउँछ । यस्तोमा जालसाजीतर्फको हदम्यादसमेत आकृष्ट हुन सक्दैन । 

८. अतः माथि विवेचित आधार र कारणबाट जालसाजीतर्फको वादी दाबी नपुग्ने ठहर्‍याएको कास्की जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत पोखराको मिति २०६७।०९।१८।१ को फैसलामा कुनै कानूनी त्रुटि विद्यमान नरही उक्त फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाइदिनू । 

 

उक्त रायमा सहमत छु ।

मा.न्या.गोविन्दकुमार उपाध्याय

 

इति संवत् २०७१ साल मङ्सिर २३ गते रोज ३ शुभम् ।

इजलास अधिकृत :- बाबुराम सुवेदी 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु