शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९४१८ - ज्यान मार्ने उद्योग

भाग: ५७ साल: २०७२ महिना: असोज अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल

माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.व.रा.

फैसला मितिः २०७२।०२।३२।२

०६८-CR-०३३५

 

मुद्दाः  ज्यान मार्ने उद्योग ।

 

पुनरावेदक/पक्षःजिल्ला कैलाली, धनगढी नगरपालिका वडा नं. १२ बस्ने देवी शाहीको जाहेरीले नेपाल सरकार । 

विरूद्ध

प्रत्यर्थी/विपक्षीः जिल्ला कैलाली, धनगढी नगरपालिका वडा नं. १२ ए गाउँ बस्ने प्रेम शाही ।

 

वारदातमा पीडितको शरीरमा भएको घाउ चोटको अवस्था सामान्य प्रकृतिको देखिन आएको र सो कुरालाई प्रतिवादीका साक्षीले अदालतमा गरेको बकपत्र र जाहेरवाला स्वयम्‌ले अदालतमा आई झगडासम्म भएको भनी दिएको निवेदन व्यहोराबाट समर्थित गरेको देखिँदा प्रस्तुत वारदात ज्यान मार्ने उद्योगको श्रेणी अन्तर्गत पर्ने नदेखिई कुटपिटसम्म भएको पुष्टि हुन आउने ।

(प्रकरण नं. ५)

कुटपिटको वारदात र ज्यान मार्ने उद्योगको वारदात नितान्त फरक प्रकृतिका अपराध   हुन् । ज्यान मुद्दामा रहने आपराधिक तत्त्वहरू मनसाय, योजना, तयारी र कार्य (Commission of crime) ज्यान मार्ने उद्योगमा समेत समान रूपमा रहेका हुन्छन् तर ज्यान मार्ने उद्योगमा केवल प्रतिवादीले इच्छाएको परिणाम मात्र प्राप्त गरेको हुँदैन । ज्यान मार्ने उद्योगमा कर्ताको कार्य अपराधका मनसाय, योजना तयारी जस्ता सबै चरण पार गरी अपराध घटाउन नजिक पुगेको (Substantive step approach) र केही हस्तक्षेपका कारण उसको इच्छित परिणाम Carry out हुन नपाई अपराध गर्न असफल भएको (Last step approach) अवस्था  रहन्छ । कुटपिटमा सामान्य चोट पुर्‍याउने उद्देश्य निहित रहनुका साथै परिणामको पूर्व जानकारी (Foresightness of concequences) पनि नभई ज्यानै लिने उद्देश्यले प्रहार गरेकोसमेत हुँदैन भने ज्यान मार्ने उद्योगमा सो अवस्था नरही प्रतिवादी कर्ताले पूर्व मनसाय राखी तयारीका साथ इच्छित परिणाम प्राप्त गर्न उन्मुख भई काम गरेको हुन्छ । केवल इच्छाएको परिणाम मात्र पूरा भएको हुँदैन । ज्यान मार्ने उद्योगमा मनसाय तत्त्वले ठूलो महत्त्व राख्छ । मनसाय थियो वा थिएन भन्ने कुरा पीडित उपर प्रहार गरेको हतियार र सोको प्रयोगमा प्रयोग गर्ने व्यक्तिको इच्छामा निर्भर रहने 

गर्दछ । प्रस्तुत मुद्दामा ज्यानै मार्ने उद्देश्यले पूर्व तयारीका साथ वारदात घट्न पुगेको भन्ने कुरा निर्विवाद रूपमा प्रमाणित हुन नसकेको र वारदातको प्रकृति, घाउचोटको अवस्थासमेतलाई विचार गर्दा उक्त वारदात ज्यान मार्ने उद्योगअन्तर्गतको रहेछ भन्ने कुरा शङ्कारहित तवरबाट पुष्टि भएको  देखिने ।

(प्रकरण नं. ६)

 

पुनरावेदक/पक्षका तर्फबाट :

प्रत्यर्थी/विपक्षीका तर्फबाट :

अवलम्बित नजिर:

सम्बद्ध कानून :

सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा २७

 

सुरू फैसला गर्नेः 

मा.न्या. श्री नारायणप्रसाद धिताल

पुनरावेदन तहमा फैसला गर्नेः 

मा.मुख्य न्या.श्री दीपकराज जोशी

मा.न्या. श्री वीर सिंह महरा

 

फैसला

न्या. गिरीश चन्द्र लालः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य र ठहर यसप्रकार छः 

मिति २०६६।३।८ गते घर परिवारका मानिसहरूले रातिको खाना खाई आ–आफ्नो कोठामा सुतिरहेको अवस्थामा ऐ. ३.३० बजेको समयमा मेरो ढोका ढक–ढक गरी आवाज गरेको हुँदा ढोका खोली हेर्दा एक्कासी अज्ञात व्यक्तिले मेरो घाँटीमा धारिलो हतियार प्रहार गरी घाँटीमा घाउ बनाइदिएको हुँदा घाउ जाँच गरिदिनुका साथै हतियार प्रयोग गर्ने व्यक्तिसमेतलाई पत्ता लगाई कानूनबमोजिम गरिपाउँ भन्नेसमेत व्यहोराको जाहेरवाला देवी शाहीको सुरू 

निवेदन । 

जिल्ला कैलाली धनगढी नगरपालिका वडा नं. १२ जुगेडा ए गाउँस्थित पूर्वमा २ मिटर टाढा नहर, पश्चिममा १ सय मिटर टाढा बिजुलीको खम्बा पोल, उत्तरमा अं. ८ मिटर टाढा जुगेडा गाउँको कच्ची ग्राविल सडक बाटो र दक्षिणमा अं. १० मिटर टाढा जाहेरवाला कै खेतबारी जमिन यति चार किल्लाभित्र पर्ने स्थानमा टायलले छाएको उत्तर मोहडा भएको इट्टाको दिवाल भएको जाहेरवाला देवी शाहीको ४ कोठा पक्की घर रहेको मिति २०६६।३।८ गते राति अं. ३.३० बजेको समयमा जाहेरवाला देवी शाहीको कोठाबाट निस्की बीचको ग्यालरीमा पुग्दा दक्षिण पट्टिको ढोकाबाट जिल्ला कैलाली धनगढी नगरपालिका वडा नं. १२ जुगेडा ए गाउँ बस्ने वर्ष ४० को प्रेम शाहीले धारिलो हतियार चक्कु प्रहार गरेको भन्ने व्यहोराको घटनास्थल  मुचुल्का । 

म मिति २०६६।३।८ गते रातिको खाना खाई कोठामा सुतिरहेको अवस्थामा गाउँ कै प्रेम शाहीले ढोका ढक–ढक गरी आवाज गरेको हुँदा ढोका खोली हेर्दा एक्कासी अन्यायीले मेरो घाँटी तथा शरीरका विभिन्न भागहरूमा प्रहार गरी घाइते बनाएकाले निज अन्यायीलाई पक्राउ गरी कानूनबमोजिम कारवाही गरिपाउँ भन्नेसमेत व्यहोराको जाहेरी दरखास्त ।

मेरो श्रीमतीसँग जाहेरवाला देवी शाहीको छोरा प्रेमबहादुर शाहीले अनैतिक सम्बन्ध राखी मैले विदेशबाट पठाएको रूपैयाँँसमेत हिनामिना गरी केही नराखेको हुँदा सोही रिसको कारण प्रेम शाहीलाई ठीक पार्नुपर्छ भनी मिति २०६६।३।८ गते बिहान अं. ३ बजेको समयमा तरकारी काट्ने सानो चक्कु बोकी निजको घरमा जाँदा प्रेम शाहीलाई प्रहार गर्न लाग्दा निज देवी शाहीलाई लाग्न गएको थियो भन्नेसमेत व्यहोराको प्रतिवादी प्रेम शाहीले अधिकारप्राप्त अधिकारीसमक्ष गरिदिएको बयान कागज ।

मिति २०६६।३।८ गते राति जाहेरवाला देवी शाहीको घरमा हो–हल्ला भएको सुनी म पनि उक्त स्थानमा जाँदा घाइते देवी शाहीलाई उपचारको लागि सेती अञ्चल अस्पताल धनगढीमा लगिसकेका थिए, उक्त स्थानमा गई हेर्दा जाहेरवालाको घरको दक्षिणपट्टिको छानोबाट ५।६ वटा जति टायल निकाली मान्छे पस्न सक्ने खालको प्वाल भएको घरको ग्यालरी तथा दक्षिणपट्टिको आँगनमा भुइँमा रगतका थोपाहरू थिए, सोही दिन निज प्रतिवादीले जाहेरवालाको घरमा गई निजको छोरा प्रेम शाहीलाई हान्न खोज्दा निज देवी शाहीलाई लाग्न गएको थियो भन्ने कुरा सुनी थाहा पाएको थिएँ भन्नेसमेत व्यहोराको धनकण शाही, भिमबहादुर सिंह, समला शाहीको एकै मिलानको मौकामा गरिदिएको कागज । 

मिति २०६६।३।८ गते राति जाहेरवाला देवी शाहीको घरमा प्रतिवादी प्रेम शाही लुकीछिपी आई साथमा धारिलो हतियार छुरीसमेत ल्याई जाहेरबाली सो राति अं. ३.३० बजेको समयमा पिसाब गर्न भनी कोठाबाट बाहिर निस्किदा साथमा धारिलो हतियारले पछाडिबाट आक्रमण गरी घर आँगनमा लखेटी लछारपछार गरी भुइँमा पल्टाई जाहेरवालाको शरीरमाथि चढी साथमा ल्याएको छुरीले प्रहार गरेको थियो भन्ने कुरा सुनी थाहा पाएको थिएँ, निजहरूबीच के कुन विषयमा उक्त घटना भएको थियो केही थाहा छैन, निजलाई सजाय हुनैपर्छ भन्नेसमेत व्यहोराको धनबहादुर थापा, हर्कबहादुर विष्टसमेतका व्यक्तिहरूले गरेको वस्तुस्थिति मुचुल्का ।

प्रतिवादी प्रेम शाहीले रातिको समयमा जाहेरवाला देवी शाहीको घरको छानाबाट निजलाई मार्ने उद्देश्यले भित्र पसी निजको घाँटीमा तथा शरीरका विभिन्न भागमा धारिलो हतियार छुरा प्रहार गरी घाइते बनाएको देखिएकाले प्र. प्रेम शाहीलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. र १५ नं. को कसुर अपराधमा सोही महलको १५ नं. बमोजिम हदैसम्म सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको अभियोगपत्र ।

म कामको सिलसिलामा दुबई गएको थिएँ, त्यहाँबाट आर्जन गरेको पैसा मैले मेरो परिवारको खातामा पठाउने गर्दथेँ । एक्कासी मेरो परिवार कान नसुन्ने भएको हुँदा म दुबईबाट आएर मेरो परिवारलाई चेकजाँच गर्नको लागि काठमाडौं लगेको थिएँ, मेरो परिवार र म काठमाडौं भएको बेलामा मेरो परिवारको मोबाइलमा मिसकल आउने गरेकाले निज विपक्षीप्रति शङ्का लागेको थियो, काठमाडौंबाट घर फर्कने बेलामा मेरो परिवारलाई मैले दुबईबाट पठाएको पैसा खातामा कति छ भन्दा खातामा पैसा छैन भनेपछि निज विपक्षी प्रेम शाहीसँग मेरो परिवारको सम्बन्ध छ कि पैसा हिनामिना गर्ने कहीँ यही त होइन भनी निज विपक्षीलाई घर आएर २।४ पटक सम्झाएको थिएँ । पछि सम्झाउँदा पनि नमानेपछि खुकुरी चक्कु केही पनि नबोकी जाहेरवालाले उल्लेख गरेको मितिभन्दा एक हप्ता पहिले २।४ मुक्का हानेको हुँ र मैले औंलामा लगाएको औंठीले गर्दा खोस्रीएको हुन सक्छ अन्यथा खुकुरीले मैले हिर्काएको भए ऊ त्यहीँ मर्नु पर्थ्यो । मैले कुनै किसिमको पनि हतियार उठाएको छैन, जाहेरवालाको जाहेरी दरखास्तमा लेखेका कुरा कपोलकल्पित झुठ्ठा हो भन्नेसमेत व्यहोराको प्रतिवादी प्रेम शाहीले अदालतमा गरेको बयान ।

मिति २०६६।३।८ गते रातिको ३ बजेको समयमा प्रतिवादी प्रेम शाहीले मेरो घाँटीमा, हातका औंलाहरू र दायाँ हातको भागमा छुरा प्रहार गरी म बेहोस भएको अवस्थामा मेरो घरका मानिसले निजलाई समात्न खोज्दा भागी गएको हो भन्नेसमेत व्यहोराको जाहेरवाला देवी शाहीले अदालतमा गरेको बकपत्र । 

जाहेरवाला देवी शाहीलाई प्र. प्रेम शाहीले मिति मलाई थाहा छैन, बिहान करिब ३ बजेको समयमा जवाहेरवालाको घरभित्र छुरा प्रहार गरेको हो भन्ने कुरा सुनी थाहा पाएकी हुँ । मैले घटना भएको बिहान निज जाहेरवालालाई सेती अञ्चल अस्पतालमा भेट्दा घाँटी भरी घाउ थिए । निज बोल्न सक्ने अवस्थामा थिएनन् भन्नेसमेत व्यहोराको मौकामा कागज गर्ने समला शाहीले अदालतमा गरेको बकपत्र । 

यी जाहेरवाला र प्रतिवादी प्रेम शाही बीच सामान्य झैं–झगडा भएको हो तर ज्यान मार्ने उद्योग प्रतिवादी प्रेम शाहीले गरेको होइन भन्नेसमेत व्यहोराको प्रतिवादी प्रेम शाहीका साक्षी ईश्वरा शाहीले गरेको बकपत्र ।

पीडितको घाउ जाँच गराउँदा सामान्य प्रकृतिका घाउहरू देखिएको छ भने प्रतिवादीले अदालतमा बयान गर्दा सामान्य कुटपिट भएको भन्ने कुरा लेखाएको पाइन्छ । धारिलो हतियार प्रयोग भएको भने पनि पेस हुन सकेको पाइँदैन । स्वयम्‌ पीडितले यस अदालतमा यथार्थ व्यहोरा पेस गरेको भन्दै प्रतिवादीसँग सामान्य झगडा भएको हो । रिस उठी ज्यान मार्ने उद्योग मुद्दा दिएको भनी निवेदन गरेको देखिन्छ । पीडितको शरीरमा भएका घाउ खत हेर्दा पनि ज्यान लिनु पर्नेसम्मका घाउ नदेखिएका अन्य प्रमाणबाट प्रतिवादीले ज्यानै लिने हिसाबले हानेको ज्यान मर्न नपाएको भन्ने ठोस प्रमाण वादी पक्षबाट पेस हुन नआएकाले सबुत प्रमाणको अभावमा वादी दाबी नपुग्ने ठहर्छ भनी सुरू कैलाली जिल्लाबाट मिति २०६६।१०।६ मा भएको फैसला । 

दशी बरामद नभएको आधारमा मात्र कसुरदार होइन रहेछ भन्न मिल्दैन । घाँटीको दायाँ साइडमा ७×५ से.मि. को घाउ भएको भन्नेसमेत व्यहोराको घाउ जाँच केस फराममा उल्लेख भएको अवस्थामा धारिलो हतियार प्रयोग गरी मार्ने नियतले घाँटीमा प्रहार गरेको कुरा प्रष्ट देखिन्छ तसर्थ दशी बरामद नभएको भन्ने आधारमा वादी दाबी पुग्न सक्दैन भनी ठहर गरेको फैसला बदरभागी छ । उक्त फैसला बदर गरी अभियोग मागदाबीबमोजिम हदैसम्मको सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदनपत्र ।

यसमा पीडितको शरीरमा घाउ चोट भएको तथ्यमा विवाद नभएको स्थितिमा सुरूबाट वादी दाबी पुग्न नसक्ने ठहर्‍याएको फैसला फरक पर्न सक्ने देखिदा छलफलका निम्ति अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम छलफल लागि प्रत्यर्थी झिकाई पेस गर्नु भन्ने पुनरावेदन अदालत दिपायलको मिति २०६७।५।२० को आदेश ।

जाहेरवालालाई यी प्रत्यर्थीले खुकुरीले ज्यान मार्ने नियतले घाँटीमा प्रहार गरेको भने पनि अस्पतालबाट भएको घाउ जाँचको फाराममा खोस्रिएको (Lacerated injury) भन्ने उल्लेख भएको छ । धारिलो हतियार प्रयोग भएमा काटिएको (Cut injury) उल्लेख हुनु पर्ने सोसमेत नभएको सामान्य प्रकृतिको घाउ भएको र स्वयम्‌ जाहेरवालाले २०६६।६।१९ मा जिल्ला अदालतमा यी प्रत्यर्थीले ज्यान मार्ने उद्योगबाट प्रहार गरेको होइन सामान्य झगडा भएको हो भनी निवेदन दर्ता गराई सो निवेदन आफैले दिएको र बकपत्रमा स्वीकार गरेबाट प्रतिवादीले जाहेरवालालाई ज्यानै मार्ने नियतबाट ज्यान मर्न सक्ने वारदात घटाएको भन्ने अवस्था देखिन आएन । त्यति हदसम्म सुरू फैसला मिलेकै देखिन्छ । अतः यसमा प्रत्यर्थीले जाहेरवालालाई कुटपिटसम्म गरेकामा यस्तोमा स.मु.स. ऐन, २०४९ को दफा २७ बमोजिम प्रस्तुत मुद्दा सरोकारवालाले सकारेमा दुनिया वादीमा दर्ता गरी जाहेरवालालाई पक्ष कायम गरी कारवाही गर्नु भन्ने निर्णय गर्नुपर्नेमा सो नगरेको हदसम्म सुरू कैलाली जिल्ला अदालतको मिति २०६६।१०।६ को फैसला नमिलेको हुँदा त्यति हदसम्म फैसला बदर हुने ठहर्छ भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, दिपायलको मिति २०६८।२।२ को फैसला ।

प्रतिवादीले जाहेरवालाको छोरा प्रेम बहादुर शाहीलाई मार्ने मनसायले हातमा चक्कु बोकी जाहेरवालाको घरमा गई बसेकामा जाहेरवाला देवी शाहीले आवाज आएको सुनी ढोकाबाहिर निस्कदा निज माथि धारिलो हतियार प्रहार गरेको कुरा जाहेरी दरखास्त, घाउ जाँच Report र प्रतिवादीको अनुसन्धानको क्रममा भएको बयानबाट पुष्टि भइरहेको अवस्थालाई मनन् नगरी यी प्रतिवादीलाई सफाइ दिने ठहर गरी उक्त वारदातलातई कुटपिटमा परिणत गर्ने गरी भएको पुनरावेदन अदालत, दिपायलको फैसला बदर गरी अभियोग मागदाबीबमोजिम गरिपाउँ भन्ने वादी नेपाल सरकारको यस अदालतमा पर्न आएको पुनरावेदन ।

नियमअनुसार दैनिक पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा वादी नेपाल सरकारको तर्फबाट विद्वान्‌ सहन्यायाधिवक्ता श्री गोपालप्रसाद रिजालले प्रतिवादीले रातको समयमा पीडितको ज्यान मार्ने उद्देश्यले धारिलो हतियार छुरी साथमा लिई गई पीडितलाई घाँटीलगायतका शरीरका भागमा प्रहार गरेका र पीडितले तत्काल हो हल्ला गरेका कारण प्रतिवादी भागी गएको अवस्था हुँदा वारदातको प्रकृतिबाट यी प्रतिवादी कसुरदार रहे भएको पुष्टि भई रहेकामा सफाइ दिने गरी उक्त वारदातलाई कुटपिटमा परिणत गर्ने गरी भएको फैसला बदर गरी अभियोग दाबीअनुसार सजाय गरिपाउँ भनी गर्नुभएको बहस सुनियो । 

बहस जिकिर सुनी पुनरावेदनसहितका मिसिल कागज अध्ययन गरी हेर्दा पुनरावेदन अदालत दिपायलको मिति २०६८।२।२ को फैसला मिले नमिलेको के रहेछ र पुनरावेदक नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्ने नसक्ने के हो सो सम्बन्धमा निर्णय दिनु पर्ने देखियो ।

यसमा प्रतिवादीले जाहेरवालालाई मार्ने उद्देश्यले निजको घाँटी तथा शरीरका विभिन्न भागमा धारिलो हतियार छुरा प्रहार गरी ज्यानसम्बन्धी महलको १ र १५ नं. को कसुर अपराध गरेकाले सोही महलको १५ नं. बमोजिम सजाय गरिपाउँ भन्ने अभियोग दाबी रहेकामा सुरू कैलाली जिल्ला अदालतले प्रतिवादीलाई ज्यान मार्ने उद्योगको कसुरबाट सफाइ दिने ठहर गरेको फैसलालाई पुनरावेदन अदालतले सदर गरी सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९ को दफा २७ बमोजिम कुटपिटमा परिणत हुने  गरी भएको फैसलाउपर चित्त नबुझी वादी नेपाल सरकारको यस अदालतमा पुनरावेदन परी निर्णयार्थ इजलाससमक्ष पेस भएको रहेछ । 

२. निर्णयतर्फ विचार गर्दा, म सुतेको कोठाको ढोका ढक–ढक गरेको आवाज सुनी ढोका खोल्दा एक्कासी अज्ञात व्यक्तिले मेरो घाँटीमा धारिलो हतियार प्रयोग गरी काटी दिएकाले घा जाँच केस फाराम गरी आवश्यक कानूनी कारवाही गरिपाउँ भनी जाहेरवालाले वडा प्रहरी कार्यालय कैलालीमा सुरू निवेदन दिएको देखिन आयो । निजले आफ्नो जाहेरी व्यहोरामा मिति २०६६।३।८ गते राति ३.३० बजेको समयमा प्रतिवादी प्रेम शाहीले ज्यान मार्ने उद्देश्यले धारिलो हतियार खुकुरीले मेरो घाँटी, छाती र हातसमेतमा प्रहार गर्दा मैले हो हल्ला गरेको कारण निज अन्यायी भागी गएकाले मेरो ज्यान बच्न गएको हुँदा ज्यान मार्ने उद्योगमा सजाय गरिपाउँ भनी उल्लेख गरेको पाइयो । 

३. प्रतिवादीले अनुसन्धानमा बयान गर्दा जाहेरवालाको छोरा प्रेमबहादुर शाहीलाई प्रहार गर्नु पर्ला भनी गएकामा बीचमा जाहेरवाला आउँदा घाउ चोट लाग्न गएको थियो भनी उल्लेख गरेको देखिन्छ । मौकामा कागज गर्ने समला शाहीले ज्यान मर्ने उद्देश्यले जाहेरवालाको घाँटीमा धारिलो हतियार प्रहार गरेका हुन् भनी र वस्तुस्थिति मुचुल्काका मोहनबहादुर सिंह, दलबहादुर सिंह, हर्कबहादुर विष्टले जाहेरवालाको घाँटीमा धारिलो छुरा प्रहार गरी ज्यान मार्नेसम्मको कार्य गरेको हो भनी मौकामा बकी लेखाइदिएको देखियो । 

४. प्रतिवादीले अदालतसमक्षको बयानमा जाहेरवालाको छोरा प्रेम शाहीसँग वादविवाद भई रहँदा जाहेरवाला बीचमा आएको कारण मैले लगाएको औंठीले सामान्य चोट लाग्न गएको हो । खुकुरी, चक्कु केही बोकेको थिएन, ज्यान मार्ने नियत नभई जाहेरवालाको छोरा सुध्रिन्छ कि भनेर हात मुक्कासम्म प्रयोग गरेको हुँ भनी उल्लेख गरेको पाइयो । जाहेरवाला देवी शाहीले प्रतिवादीसँग सामान्य झगडासम्म भएको हो, मलाई रिस उठी आवेशमा आई ज्यान मार्ने उद्योगमा जाहेरी दिएको हो भन्ने यथार्थ व्यहोरा पेस गरेको भनी कैलाली जिल्ला अदालतमा निवेदन दिएको देखिन आयो । यसका साथै वादीका साक्षी समला शाहीले जाहेरवालालाई छुरा प्रहार गरेको भन्ने कुरा सुनी थाहा पाएको हुँ भनी र प्रतिवादीका साक्षी ईश्वरा शाहीले जाहेरवाला र प्रतिवादीबीच सामान्य झगडासम्म भएको हो भनी अदालतमा उपस्थित भई  बकपत्र गरेको देखियो ।  

५. अब माथि उल्लिखित तथ्यअनुसार उक्त वारदात ज्यान मार्ने उद्योगसम्मको हो होइन  र प्रतिवादीको सो कार्य कुटपिटसम्म थियो वा ज्यान मार्ने उद्योगको कसुर थियो भन्ने सम्बन्धमा हेर्नु पर्ने देखियो । जाहेरवालाले यी प्रतिवादीले ज्यान मार्ने उद्देश्य लिई धारिलो हतियार खुकुरी प्रहार गरी आफ्नो घाँटी, छाती र हातमा चोट पुर्‌याएको भनी जाहेरी दिएकामा निजले घा जाँच गराई पाउँ भनी वडा प्रहरी कार्यालय कैलालीसमक्ष दिएको सुरू निवेदनमा अज्ञात व्यक्तिले धारिलो हतियारले घाँटीमा काटिदिएको भनी उल्लेख गरेको पाइयो । धारिलो भनिएको हतियार खुकुरी हो वा चक्कु के हो भन्ने कुरा जाहेरवालाको जाहेरी व्यहोरा, मौकाका र वस्तुस्थिति मुचुल्काका मानिसहरूको कागज व्यहोराबाट यकिन भएको 

पाइएन । प्रहार भएको भनिएको हतियारसमेत बरामद भएको नदेखिएकाले उक्त हतियार खुकुरी वा छुरी  नै हो भनी अनुमान गर्न मिल्ने पनि देखिएन । पीडितको घाउ जाँच रिपोर्टमा Lacerated wound on (Rt) site of neck, abrasion on (Rt) hand भनी उल्लेख भएको पाइन्छ । जाहेरवालालाई यी प्रत्यर्थी प्रतिवादीले ज्यान मार्ने नियतले धारिलो हतियार घाँटीमा प्रहार गरेको भनी उल्लेख गरेको व्यहोरा घाउ जाँच रिपोर्टमा Lacerated and abrasion injury भनी उल्लेख भएबाट जाहेरीमा उल्लेख भएको व्यहोरा घा जाँच रिपोर्टको घाउको प्रकृतिसँग मिलको भनी भन्न सकिने अवस्था पनि देखिएन । Laceration र Abration शब्दको अर्थले छालाको बाहिरी भाग वा भित्री भागमा चिथोरिएको, खोस्रिएको, तछारिएको जुन कुनै भारी चिज, लाठी वा भित्तामा घस्रिएरजस्ता कारणहरूबाट भएको हुनसक्छ भन्ने देखिन्छ । यसरी प्रस्तुत वारदातमा पीडित देवी शाहीको शरीरमा भएको घाउ चोटको अवस्था सामान्य प्रकृतिको देखिन आएको र सो कुरालाई प्रतिवादीका साक्षीले अदालतमा गरेको बकपत्र र जाहेरवाला स्वयम्‌ले अदालतमा आई झगडासम्म भएको भनी दिएको निवेदन व्यहोराबाट समर्थित गरेको देखिदा प्रस्तुत वारदात ज्यान मार्ने उद्योगको श्रेणीअन्तर्गत पर्ने नदेखिई कुटपिटसम्म भएको पुष्टि हुन आएबाट वादी नेपाल सरकारको पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन ।

६. कुटपिटको वारदात र ज्यान मार्ने उद्योगको वारदात नितान्त फरक प्रकृतिका अपराध   हुन् । ज्यान मुद्दामा रहने आपराधिक तत्त्वहरू मनसाय, योजना, तयारी र कार्य (Commission of crime) ज्यान मार्ने उद्योगमा समेत समान रूपमा रहेका हुन्छन् तर ज्यान मार्ने उद्योगमा केवल प्रतिवादीले इच्छाएको परिणाम मात्र प्राप्त गरेको हुँदैन । ज्यान मार्ने उद्योगमा कर्ताको कार्य अपराधका मनसाय, योजना तयारी जस्ता सबै चरण पार गरी अपराध घटाउन नजिक पुगेको (Substantive step approach) र केही हस्तक्षेपका कारण उसको इच्छित परिणाम Carry out हुन नपाई अपराध गर्न असफल भएको (Last step approach) अवस्था  रहन्छ । कुटपिटमा सामान्य चोट पुर्‍याउने उद्देश्य निहित रहनुका साथै परिणामको पूर्व जानकारी (Foresightness of concequences) पनि नभई ज्यानै लिने उद्देश्यले प्रहार गरेकोसमेत हुँदैन भने ज्यान मार्ने उद्योगमा सो अवस्था नरही प्रतिवादी कर्ताले पूर्व मनसाय राखी तयारीका साथ इच्छित परिणाम प्राप्त गर्न उन्मुख भई काम गरेको हुन्छ । केवल इच्छाएको परिणाम मात्र पुरा भएको हुँदैन । ज्यान मार्ने उद्योगमा मनसाय तत्त्वले ठूलो महत्त्व राख्छ । मनसाय थियो वा थिएन भन्ने कुरा पीडितउपर प्रहार गरेको हतियार र सोको प्रयोगमा प्रयोग गर्ने व्यक्तिको इच्छामा निर्भर रहने गर्दछ । प्रस्तुत मुद्दामा ज्यानै मार्ने उद्देश्यले पूर्व तयारीका साथ वारदात घट्न पुगेको भन्ने कुरा निर्विवादरूपमा प्रमाणित हुन नसकेको र वारदातको प्रकृति, घाउचोटको अवस्थासमेतलाई विचार गर्दा उक्त वारदात ज्यान मार्ने उद्योगअन्तर्गतको रहेछ भन्ने कुरा शङ्कारहित तवरबाट पुष्टि भएको नदेखिँदा पुनरावेदन अदालत, दिपायलको फैसला मिलेकै देखियो । 

७. अतएव यसमा ज्यान मार्ने उद्योग जस्तो अपराधको मनसाय (Intention) योजना तयारी र कार्य (Planning and commission) एवम्‌ अपराधको प्रकृति (Nature of cirme) समेत नदेखिएकाले सुरूको फैसला सदर गरी सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा २७ बमोजिम कुटपिटमा परिणत हुने ठहर्‍याएको  पुनरावेदन अदालत दिपायलको मिति २०६८।२।२ को फैसला मिलेकै देखिदा सदर हुने ठहर्छ । पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाइदिनू ।

 

उक्त रायमा सहमत छु ।

मा.न्या. चोलेन्द्र शमशेर ज.व.रा.

 

इति संवत् २०७२ साल जेठ ३२ गते रोज २ शुभम् ।

इजलास अधिकृत : दिलीपराज पन्त

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु