निर्णय नं. ९४१९ - मोही नामसारी

सर्वोच्च अदालत संयुक्त इजलास
माननीय न्यायाधीश श्री सुशीला कार्की
माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र
फैसला मिति :- २०७१ ।११ ।१ ।६
०७०-CI-०४५१
मुद्दाः मोही नामसारी ।
पुनरावेदक/वादी :- भक्तपुर जिल्ला, भक्तपुर न.पा. वडा नं. १३ वस्ने विष्णुप्रसाद स्वगमिखा ।
विरूद्ध
प्रत्यर्थी/प्रतिवादी :- भक्तपुर जिल्ला भक्तपुर न.पा. वडा नं. १७ बस्ने सिताराम पक्कासमेत ।
यसरी मोहीको मृत्युपश्चात मोहीले कमाई आएको जग्गाको मोहियानी हक प्राप्त गर्नको लागि निजपछि निजको पति, पत्नी, छोरा, छोरी, आमा, बाबु, धर्मपुत्र, धर्मपुत्री, छोरा बुहारी, नाति, नातिनी बुहारी, दाजुभाइ वा दिदीबहिनीहरू मध्ये जो मोहीसँगै एकासगोलमै रहे बसेका छन् त्यस्तो व्यक्तिलाई जग्गाधनीले मोहीको रूपमा पत्याउन सक्ने र सोही व्यक्तिले नै मोहीले कमाई आएको जग्गाको मोहियानी हक प्राप्त गर्ने कुरामा दुविधा नदेखिने ।
(प्रकरण नं. ५)
पुनरावेदक/वादीको तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता पन्नामान तुलाधर र विद्वान् अधिवक्ता बच्चुसिंह खड्का
प्रत्यर्थी/प्रतिवादीको तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्यामप्रसाद खरेल र विद्वान् अधिवक्ता ज्ञानरत्न शाक्य
अवलम्बित नजिर :
सम्बद्ध कानून :
भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१)
सुरू तहमा निर्णय गर्नेः-
भूमिसुधार कार्यालय, भक्तपुर ।
पुनरावेदन तहमा फैसला गर्ने :-
माननीय न्यायाधीश श्री एकराज आचार्य
माननीय न्यायाधीश श्री रामचन्द्र यादव
फैसला
न्या. सुशीला कार्की :- पुनरावेदन अदालत, पाटनको मिति २०६८ ।९ ।२५ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२(क) (ख) बमोजिम मुद्दा दोहोर्याई हेरिपाउँ भनी निवेदन परेकामा निस्सा प्रदान भई पुनरावेदनको रूपमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम् ठहर यसप्रकार रहेको छः-
फिरादपत्रको सङ्क्षिप्त व्यहोरा
पिता विष्णुभक्त र आमा गणेशमाया स्वगमिखासमेत क्रमश: २०६५।११।८ र २०६४।१।१४ मा परलोक भई निजका हक खाने छोरामा जेठा म निवेदक र कान्छा गणेशभक्त स्वगमिखा बाहेक अरू हकदार नभएको । पिता र आमा जीवित छउन्जेल नै गणेशभक्त पितासँग नबसी भिन्न बसी पिताको विरूद्धमा अंश चलन मुद्दा दर्ता गरी फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गर्ने गरी भक्तपुर जिल्ला अदालतबाट आदेशसमेत भएको हुनाले पिताको हक खाने एकापरिवारको छोरा अर्थात भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) बमोजिम कानूनी हकदार म निवेदक विष्णुप्रसाद स्वगमिखाबाहेक अरू हकदार नभएको प्रष्ट छ । पिता विष्णुभक्तको नाउँमा जोत दर्ता भएको भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं. १५(ग) कि.नं. २४४, ३०४, ३०५, २४५, ३३८, ३४२, ३४६, ३४४, ३४०, ३३६, ३३७, ३४१, ३४५ को क्रमश: क्षे.फ. ०-७-०-०, ०-४-०-०, ०-१२-१-०, ०-४-१-०, ०-१-०-२, ०-५-०-२, ०- १-२-३, ०-०-१-२, ०-१-२-०, ०-१-१-२, ०-१-२-०, ०-१-२-३ जग्गाहरू म निवेदकले नै खनजोत गरी सालिन्दा जग्गाधनीलाई कुतबाली बुझाई भरपाईसमेत प्राप्त गरी आएको हुनाले पिताको नामबाट मेरा नाउँमा नामसारी गरी मोहियानी प्रमाणपत्रसमेत दिलाई पाउँ भन्नेसमेत व्यहोराको फिरादपत्र ।
प्रतिउत्तरपत्रको सङ्क्षिप्त व्यहोरा
सुरू कार्यालयको मिति २०६६ ।९ ।२० को आदेश अनुसार माग निवेदनका कित्ता जग्गाको कि.नं. २४४, ३०५, ३०४ का जग्गाधनीहरूले निवेदकलाई मोही पत्याएको कि.नं. ३३७, ३४५ र ३४१ का जग्गाधनी रत्नप्रसाद प्रजापतिले मोहीका हकदार मध्ये मोही नामसारी माग गर्ने गणेशभक्त स्वगमिखाको यसैसाथ लगाउ मिसिलमा निवेदक गणेशभक्तलाई मोही पत्याएको र अन्य कित्ता नं. ३३६, ३४४, ३४०, ३३८, ३४६ र ३४२ का जग्गाधनीका नाउँमा १५ दिने म्याद जारी हुँदा जग्गा धनी सिताराम पक्का र कैलाश पक्काले साबिक मोही विष्णुभक्त र निजको श्रीमतीको मृत्युपछि हक खाने २ छोरामा जेठा विपक्षी र कान्छा गणेशभक्त स्वगमियाबाहेक अरू हकदार नभएकाले विवादित कित्ता जग्गा गणेश भक्तले कमोद गरी सालिन्दा कुतबाली साबिक जग्गाधनी रामप्रसाद प्रजापतीसमेत र त्यसपछी हामी निवेदकलाई बुझाई आएकाले जग्गा कमोद नगर्ने विपक्षीलाई मोही नामसारी गर्ने अधिकार छैन । निवेदक मोहीका एकासगोलका छोरा नभई भिन्न बस्नेको छोरा भएको हुनाले भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) मा मोहीले कमाई आएको जग्गामा मोहीको हक निजपछि निजका एकासगोलका जग्गाधनीले पत्याएको व्यक्तिलाई प्राप्त हुनेछ भन्ने उल्लेख भएको र हामी निवेदक जग्गाधनीले यसै कार्यालयमा जोत कमोद लगत कट्टा गरिपाउँ भनी दिएको निवेदनअनुसार जोत कट्टा हुने नै हुँदा विपक्षीको नामसारी मागदाबी खारेज गरिपाउँ भन्नेसमेत व्यहोराको जग्गा धनी कैलास पक्का र सिताराम पक्काको प्रतिउत्तरपत्र ।
भूमिसुधार कार्यालय, भक्तपूरको निर्णय ।
विवादित कित्ता जग्गाको मोही विष्णुभक्त स्वगमिखाको मृत्युपछि मेरो नाउँमा मोही नामसारी गरिपाउँ भनी वादीले निवेदन दिएकामा कि.नं. २४५ दर्ता बाँकी देखिएको र कि.नं. २४४, ३०४ र ३०५ को जग्गाधनीहरूले पत्याएको र कि.नं. ३३८, ३४२, ३४६, ३४४, ३४०, ३३६, ३३७, ३४१, ३४५ का जग्गाधनीहरूले वादीलाई नपत्याएको, भक्तपुर जिल्ला अदालतको २०६६।४।२५ को फैसलाले मृतक मोहीका दुवै छोरा अलग भिन्न भएको देखिएको, पत्याएका कित्ता जग्गाको कूत बुझाएको भरपाइसमेत संलग्न देखिएकाले पत्याएका जग्गासम्म यी वादीका नाममा नामसारी हुने र नपत्याएका जग्गाको मोही नामसारी नहुने ठहर्छ भन्नेसमेत व्यहोराको सुरू भूमिसुधार कार्यालय, भक्तपूरको निर्णय ।
पुनरावेदनपत्रको सङ्क्षिप्त व्यहोरा
विपक्षी प्रत्यर्थी गणेशभक्त स्वगमिखाले स्व. पिता विष्णुभक्त स्वगमिखाउपर २०६४।२।२७ मा अंशमा फिराद दायर गरी पितासँग सो फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरिपाउँ भनी दाबी लिने गणेशभक्त स्वगमिखालाई भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) को प्रावधानको प्रतिकूल एकासगोलको अंशियार नभएको व्यक्तिको नाममा मोहियानी पत्याई गरिदिएको मिति २०६८।८।२७ को कागजलाई आधार बनाई म एकासगोलमा रहेको पुनरावेदकलाई कि.नं. ३३८, ३४२, ३४६, ३४४, ३४०, ३३६, ३३७, ३४१, ३४५ का जग्गाको मोहियानी नामासारी नहुने गरी गरेको भूमिसुधार कार्यालय, भक्तपूरको मिति २०६७ ।९ ।३० को निर्णय त्रुटिपूर्ण हुँदा बदर गरिपाउँ भन्नेसमेत व्यहोराको पुनरावेदक वादीको पुनरावेदनपत्र ।
पुनरावेदन अदालत, पाटनको आदेश
भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) को कानूनी व्यवस्थाको व्याख्याको सन्दर्भमा सुरू भूमिसुधार कार्यालय, भक्तपूरको मिति २०६७ ।९ ।३० को निर्णय फरक पर्न सक्ने देखिएकाले मुलुकी ऐन, अ.बं. २०२ नं. एवम् पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थीहरूलाई झिकाई नियमानुसार पेस गर्नु भन्ने पुनरावेदन अदालत, पाटनको आदेश ।
पुनरावेदन अदालत, पाटनको फैसला
पुनरावेदक वादीलाई नपत्याई निजका भाई गणेशभक्तलाई मोहीमा पत्याएको देखिन आएकाले पुनरावेदनपत्रमा जिकिर लिएका जग्गाको मोही नामसारी पुनरावेदक वादीको नाउँमा हुन सक्ने अवस्था
आएन । तसर्थ सुरू भूमिसुधार कार्यालय, भक्तपुरबाट मिति २०६७।९।३० मा भएको निर्णय मिलेको देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, पाटनको फैसला ।
यस अदालतमा परेको पुनरावेदनपत्रको सङ्क्षिप्त व्यहोरा
पिता विष्णुभक्त स्वगमिखाको जीवनकाल छदै गणेशभक्त स्वगमिखाले पिता विष्णुभक्त स्वगमिखा र निवेदकसमेत विरूद्ध मिति २०६४।२।२७ मा नै भक्तपुर जिल्ला अदालतमा अंश दिलाई पाउँ भन्ने फिराद गरी मिति २०६६।४।२६ मा फैसला भएको । यसप्रकार साबिक मोही पिता विष्णुभक्तको परिवारमा श्रीमती गणेशमाया र म निवेदक विष्णुप्रसाद, गणेशभक्तसमेत दुई छोरा भएकामा आमा गणेशमाया मिति २०६४।१।१४ मा नै परलोक भइसकेको र पिता विष्णुभक्त र मसमेतका विरूद्ध गणेशभक्तले मिति २०६४।२।२७ मा भक्तपुर जिल्ला अदालतमा अंश मुद्दा दायरक गरेको र पिता विष्णुभक्तको पनि मिति २०६४।११।८ मा मृत्यु भएपछि पिता विष्णुभक्तको एकासगोलको परिवार मलाई नमानी पिताको जीवनकाल छँदै पिताको विरूद्ध अंश पाउँ भनी अंश माग गर्ने गणेशभक्तलाई एकापरिवार मानेको मिलेको छैन ।
भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) (चौथो संशोधन २०५३ सहित) ले मोहीको मृत्युपछि निजको पति, पत्नी वा एकासगोलका छोरालगायतका परिवारका नाममा मोही नामसारी हुने कानूनी प्रावधान रहेको छ भने यहाँनिर मोही पत्याइएको भनिएको व्यक्ति गणेशभक्त स्वगमिखाले पिता विष्णुप्रसाद स्वगमिखाको जीवनकाल छँदै पिताको विरूद्ध अंश दिलाई पाउँ भनी अंश मुद्दा दायर गरिसकेको अवस्थामा मोहीको एकासगोल परिवारलाई जग्गाधनीले पत्याउनु पर्ने दफा २६(१) को बाध्यात्मक व्यवस्थाको यसरी मानो छुट्टिएर बसेका विपक्षी गणेशभक्तलाई साबिक मोहीको एकासगोल परिवार मानी निज गणेशभक्तको नाममा मोहियानी नामासरी गर्ने गरेको मिलेको छैन ।
विपक्षी सिताराम पक्का तथा कैलाश पक्काले गणेशभक्त स्वगमिखाको मोही नामसारीको निवेदन गर्नु अगाडि नै मिति २०६६।२।२७ मा विवादित कित्ता जग्गाहरू मोही लगत कट्टाको लागि विपक्षीहरूले भूमिसुधार कार्यालय, भक्तपुरसमक्ष उजुर गरेका छन भने गणेशभक्त स्वगमिखाले मिति २०६६।७।२६ मा मात्र आएर मोही नामासारी माग गरेको छ । जबकी म निवेदकले उल्लिखित कित्ता नं. ३३६, ३३८, ३४०, ३४२, ३४४ र ३४६ समेतका कित्ता जग्गाहरू साबिक जग्गाधनीहरू सुन्दरप्रसाद प्रजापती, कृष्णप्रसाद प्रजापती, कृष्णगोपाल प्रजापतीकै नाममा छँदाकै अवस्थामा मोही नामासारीको लागि निवेदन दायर भएपछि तत्पश्चात मात्र हालका जग्गाधनी विपक्षी सिताराम पक्का र कैलाश पक्कासमेतलाई हक हस्तान्तरण गरेका छन् । यसरी साबिक जग्गाधनीहरूको स्वामित्व छँदाकै अवस्थामा मोही नामसारीको कारवाही उठिसकेपछि साबिक जग्गाधनीलाई बुझेर मात्र निर्णय गर्नुपर्नेमा सो नगरी गरेको भूमिसुधार कार्यालयको निर्णय सदर गर्ने गरेको पुनरावेदन अदालत पाटनको फैसला अ.बं. १३९ नं., भूमिसम्बन्धी ऐन, २०२१ (चौथो संशोधनसहित) को दफा २६(१) तथा अ.बं. १८४(क), अ.बं. १८५ नं.समेतको व्याख्याको गम्भीर त्रुटि भएको हुँदा उक्त फैसला बदर गरी न्याय पाउँ भन्नेसमेत व्यहोराको यस अदालतमा परेको पुनरावेदनपत्र ।
यस अदालतको आदेश
यसमा निवेदक विष्णुप्रसाद र गणेशभक्त स्वगमिखा दुई दाजुभाई भएको गणेशभक्त २०६४ सालदेखि नै स्वर्गीय मोही विष्णुभक्त एवम् दाजु बिष्णुप्रसादसँग सगोलमा नबसेको स्पष्ट हुँदाहुँदै भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) को व्यवस्थाविपरीत विष्णुप्रसादलाई मोही नपत्याएको आधारमा निजको नाउँमा मोही नामासारी नहुने ठहर्याएको फैसला भूमिसम्बनधी ऐन, २०२१ को दफा २६(१) एवम् प्रमाण ऐन, २०३१ को दफा ३ एवम् ५४ समेतको आधारमा त्रुटिपूर्ण देखिनाले न्याय प्रशासन ऐन, २०४८ को दफा १२को उपदफा १ को खण्ड (क) बमोजिम प्रस्तुत मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गरिएको छ । नियमानुसार पेस गर्नु भन्ने यस अदालतको आदेश ।
यस अदालतको फैसला
नियमबमोजिम पेसीसूचीमा चढी निर्णयार्थ यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीका तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री पन्नामान तुलाधर र विद्वान् अधिवक्ता श्री बच्चुसिंह खड्काले पुनरावेदक वादी विष्णुप्रसाद स्वगमिखाले २०६५।९।१४ मा भूमिसुधार कार्यालय भक्तपुरमा पहिला दिएको मोही नामासारी निवेदन उपर कुनै निर्णय नगरी पछि परेको निवेदनमा कारवाही गरेको मालपोत कार्यालय भक्तपूरको निर्णय प्राकृतिक न्यायको सिद्धान्त विपरीत रहेको छ । विपक्षी सिताराम पक्का तथा कैलाश पक्काले गणेशभक्त स्वगमिखाको मोही नामसारीको निवेदन गर्नुअगाडि मिति २०६६।२।२७ मा नै विवादित कित्ता जग्गाहरू मोही लगत कट्टाको लागि विपक्षिहरूले भूमिसुधार कार्यालयसमक्ष उजुर गरेका छन भने गणेशभक्त स्वगमिखाले मिति २०६६।७।२६ मा मात्र आएर मोही नामासारी माग गरेका छन । पुनरावेदक वादीले उल्लिखित कित्ता नं. ३३६, ३३८, ३४०, ३४२, ३४४ र ३४६ समेतका कित्ता जग्गाहरू साबिक जग्गाधनीहरू सुन्दरप्रसाद प्रजापती, कृष्णप्रसाद प्रजापती, कृष्णगोपाल प्रजापतीकै नाममा छँदाकै अवस्थामा मोही नामासारीको लागि निवेदन दिएपश्चात् मात्र हालका जग्गाधनी विपक्षी सिताराम पक्का र कैलाश पक्कासमेतलाई हक हस्तान्तरण गरेको छ । यसरी साबिक जग्गाधनीहरूको स्वामित्व छँदाकै अवस्थामा मोही नामसारीको कारवाही उठिसकेपछि साबिक जग्गाधनीलाई बुझेर मात्र निर्णय गर्नुपर्नेमा सो नगरी गरेको भूमिसुधार कार्यालयको निर्णय सदर गर्ने गरेको पुनरावेदन अदालत पाटनको फैसला मुलुकी ऐन अ.बं. १३९, अ.बं. १८४(क), अ.बं. १८५ नं. तथा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) समेतको व्याख्याको गम्भीर त्रुटि भएको हुँदा भूमिसुधार कार्यालयको निर्णयलाई सदर गर्ने गरी भएको पुनरावेदन अदालत पाटनको फैसला बदर हुनुपर्दछ भनी बहस प्रस्तुत गर्नुभयो । त्यसै गरी प्रत्यर्थी प्रतिवादीको तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री श्यामप्रसाद खरेल र विद्वान् अधिवक्ता श्री ज्ञानरत्न शाक्यले सुरू कार्यालयको मिति २०६६।९।२० को आदेशअनुसार माग निवेदनका कित्ता जग्गाको कि.नं. २४४, ३०५, ३०४ का जग्गाधनीहरूले पुनरावेदक वादीलाई मोही पत्याएको र कि.नं. ३३७, ३४५ र ३४१ का जग्गाधनी रत्नप्रसाद प्रजापतिले मोहीका हकदार मध्ये मोही नामसारी माग गर्ने गणेशभक्त स्वगमिखालाई मोही पत्याएका र अन्य कित्ता नं. ३३६, ३४४, ३४०, ३३८, ३४६ र ३४२ का जग्गाधनी सिताराम पक्का र कैलाश पक्काले साबिक मोही विष्णुभक्त र निजको श्रीमतीको मृत्युपछि हक खाने २ छोरामा जेठा पुनरावेदक वादी र कान्छा गणेशभक्त स्वगमिखाबाहेक अरू हकदार नभएकाले विवादित कित्ता जग्गा गणेशभक्त स्वगमिखाले कमोद गरी सालिन्दा कुतबाली साबिक जग्गाधनी रामप्रसाद प्रजापतीसमेत र त्यसपछीका जग्गा धनी सिताराम पक्का र कैलाश पक्कालाई बुझाई आएकाले जग्गा कमोद नगर्ने पुनरावेदक वादीलाई मोही नामसारी गर्ने अधिकार नै रहेको
छैन । विपक्षी पुनरावेदक वादी मोहीका एकासगोलका छोरा नभई भिन्न बसेका छोरा भएको हुनाले भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) मा मोहीले कमाई आएको जग्गामा मोहीको हक निजपछि निजका एका सगोलका जग्गाधनीले पत्याएको व्यक्तिलाई प्राप्त हुनेछ यसरी साबिक मोही स्व विष्णुभक्त स्वगमिखाको मृत्यु भैसकेपछि निजका मानो छुट्टिएर बसेका दुई छोरा मध्ये गणेशभक्त स्वगमिखालाई मोही पत्याएको कानूनसम्मत नै भएकाले भूमिसुधार कार्यालय, भक्तपुरबाट भएको निर्णयलाई पुनरावेदन अदालत, पाटनबाट सदर गर्ने गरी भएको फैसला न्याय र कानूनको रोहमा मिलेकै हुँदा सदर कायम हुनुपर्छ भन्नेसमेत बहस प्रस्तुत गर्नुभयो ।
उपर्युक्तबमोजिमको बहससमेत सुनी निर्णयतर्फ विचार गर्दा निम्न प्रश्नहरूमा केन्द्रित रही निर्णय दिनुपर्ने देखिन आयो ।
(क) स्व. मोही विष्णुभक्त स्वगमिखासँग निजका छोराहरू विष्णुप्रसाद स्वगमिखा र गणेशभक्त स्वगमिखा एकासगोलमा रहे बसेका हुन
हैनन् ?
(ख) भूमि सम्बन्धी ऐन, २०२१ को दफा २६(१) अनुसारका मोहीका कुनै पनि हकदार मोहीसँग एकासगोलमा नरहेको अवस्थामा जग्गाधनीले त्यस्ता व्यक्तिहरूलाई मोहीको रूपमा पत्याउन सक्ने हो होइन ?
(ग) कि नं. ३३६, ३४४, ३४०, ३३८, ३४६, ३४२, ३३७, ३४१, र ३४५ का जग्गा धनीहरूले स्व. मोही विष्णुभक्त स्वगमिखाका कान्छा छोरा गणेशभक्तलाई मोहीमा पत्याएको कानूनसङ्गत छ छैन ?
(घ) पुनरावेदन अदालत पाटनको फैसला मिले नमिलेको के छ ? पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो होइन ?
२. यसमा पिता मोही रहेका भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वाड नं १५ (ग) को कि नं २४४, ३०४, ३०५, २४५, ३३८, ३४२, ३४६, ३४४, ३४०, ३३६, ३३७, ३४१, ३४५ का जग्गा आफूले खनजोत गरी जग्गाधनीलाई सालिन्दा कुतबाली बुझाई भरपाईसमेत प्राप्त गरी आएको र भाइ गणेशभक्त पितासँग नबसी भिन्न बसी पिताको विरूद्धमा अंश चलन मुद्दा दर्ता गरी फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गर्ने गरी भक्तपुर जिल्ला अदालतबाट आदेशसमेत भएको हुनाले भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) बमोजिम कानूनी हकदार म निवेदक विष्णुप्रसाद स्वगमिखा मात्र भएकाले उक्त कि. नं. का जग्गाहरूको मोही पिताको नामबाट मेरा नाउँमा नामसारी गरी मोहियानी प्रमाणपत्रसमेत दिलाई पाउँ भनी फिराद परेकामा सुरू कार्यालयको मिति २०६६।९।२० को निर्णयअनुसार माग निवेदनका कित्ता जग्गाको कि.नं. २४४, ३०५, ३०४ का जग्गाधनीहरूले निवेदकलाई मोही पत्याएको कि.नं. ३३७, ३४५ र ३४१ का जग्गाधनी रत्नप्रसाद प्रजापतिले गणेशभक्तलाई मोही पत्याएको र अन्य कित्ता नं. ३३६, ३४४, ३४०, ३३८, ३४६ र ३४२ समेतका जग्गा धनीले मोहीको मृत्युपश्चात निजका कान्छा छोरा गणेशभक्त स्वगमिखाले कमोद गरी सालिन्दा कुतबाली साबिक तथा हालका जग्गाधनीसमेतलाई बुझाई आएकाले निजलाई मोहीमा पत्याएको हो । पछि मोहीका छोराहरू विष्णुभक्त स्वगमिखा र गणेशभक्त स्वगमिखा मोही पितासँग मानो छुट्टिई भिन्न बस्ने गरेकाले हामी जग्गा धनीहरूले जोत कमोद लगत कट्टा गरिपाउँ भनी निवेदनसमेत दिएकाले विपक्षीको नामसारी मागदाबी खारेज गरिपाउँ भन्ने जिकिर रहेको प्रस्तुत मुद्दामा कि नं २४५ दर्ता हुन बाँकी देखिएको, कि नं २४४, ३०४, ३०५, को जग्गाधनीहरूले वादीलाई पत्याएको र ३३८, ३४२, २४६, ३४४, ३४०, ३३६, ३३७, ३४१, ३४५ का जग्गा धनीहरूले वादीलाई नपत्याएको हुँदा पत्याएका जग्गासम्म वादीका नाममा नामसारी हुने र नपत्याएका जग्गामा मोही नामसारी नहुने गरी भूमिसुधार कार्यालय, भक्तपुरले गरेको निर्णयउपर वादीको पुनरावेदन परेकामा पुनरावेदन अदालत, पाटनले सुरू निर्णय सदर गरेउपर वादी विष्णुप्रसाद स्वगमिखाले यस अदालतमा मुद्दा दोहोर्याई पाउँको निवेदन दिएकामा निस्सा प्रदान भई पुनरावेदनको रूपमा प्रस्तुत पुनरावेदन दर्ता हुन आएको देखियो ।
३. सर्वप्रथम पहिलो प्रश्नको रूपमा रहेको स्व मोही विष्णुभक्त स्वगमिखासँग निजका छोराहरू विष्णुप्रसाद स्वगमिखा र गणेशभक्त स्वगमिखा एकासगोलमा रहे बसेका हुन् हैनन् ? भन्नेतर्फ विचार गर्दा विवादका जग्गाका मोही विष्णुभक्त स्वगमिखा हुन भन्ने कुरामा कुनै विवाद देखिदैन । मोही विष्णुभक्तका अंशियारहरूमा श्रीमती गणेशमाया स्वगमिखा र दुई छोराहरू जेठा पुनरावेदक वादी विष्णुप्रसाद स्वगमिखा र कान्छा गणेशभक्त स्वगमिखा रहेकामा दुवै पक्षवीच मुख मिलेकै देखिन्छ । मोही विष्णुभक्तको २०६५।११।८ मा र निजकी श्रीमती गणेशमाया स्वगमिखाको मिति २०६४।१।१४ मा मृत्यु भै सकेको र अर्को तर्फ वादी मोही विष्णुभक्त र प्रतिवादी पुनरावेदक वादीसमेत भएको अंशचलन मुद्दामा फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी भक्तपुर जिल्ला अदालतबाट मिति २०६६।४।२६ मा वादी मोही विष्णुभक्तलाई तीन खण्डको एक खण्ड अंश पाउने गरी फैसला भएबाट मोही विष्णुभक्त स्वगमिखा र निजका दुवै छोरा विष्णुप्रसाद स्वगमिखा र गणेशभक्त स्वगमिखा सबैजना अलगअलग बसेको प्रष्ट देखिँदा मोही विष्णुभक्तसँग एकासगोलमा दुवै छोरा रहे बसेको देखिन आएन ।
४. दोस्रो प्रश्नको रूपमा रहेको भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) अनुसारका मोहीका कुनै पनि हकदार मोहीसँग एकासगोलमा नरहेको अवस्थामा त्यस्ता व्यक्तिहरूलाई जग्गाधनीले मोहीको रूपमा पत्याउन सक्ने हो होइन ? भन्नेतर्फ विवेचना गर्दा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) को व्यवस्था अवलोकन गर्नु सान्दर्भिक देखिन्छ । सो दफा २६(१) मा "यस परिच्छेदको अन्य दफाहरूको अधीनमा रही मोहीले कमाई आएको जग्गामा मोहीसम्बन्धी निजको हक निजपछि निजको एकासगोलका पति, पत्नी, छोरा, छोरी, आमा, बाबु, धर्मपुत्र, धर्मपुत्री, छोरा, बुहारी, नाति, नातिनी बुहारी, दाजुभाइ वा दिदीबहिनीहरूमध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई प्राप्त हुनेछ" भन्ने रहेको छ । यसरी उक्त व्यवस्थाबाट कुनै पनि व्यक्तिले मोहीको रूपमा कुनै जग्गा कमाई आएकामा मोहीसम्बन्धी निजको हक निजको मृत्युपश्चात् निजको एकासगोलका पति, पत्नी, छोरा, छोरी, आमा, बाबु, धर्मपुत्र, धर्मपुत्री, छोरा, बुहारी, नाति, नातिनी बुहारी, दाजुभाइ वा दिदीबहिनीहरूमध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई प्राप्त हुने कुरा प्रष्ट देखिन्छ ।
५. यसरी मोहीको मृत्युपश्चात् मोहीले कमाई आएको जग्गाको मोहियानी हक प्राप्त गर्नको लागि निजपछि निजको पति, पत्नी, छोरा, छोरी, आमा, बाबु, धर्मपुत्र, धर्मपुत्री, छोरा, बुहारी, नाति, नातिनी बुहारी, दाजुभाइ वा दिदीबहिनीहरू मध्ये जो मोहीसँगै एकासगोलमै रहे बसेका छन् त्यस्तो व्यक्तिलाई जग्गाधनीले मोहीको रूपमा पत्याउन सक्ने र सोही व्यक्तिले नै मोहीले कमाई आएको जग्गाको मोहियानी हक प्राप्त गर्ने कुरामा दुविधा देखिँदैन ।
६. भूमिसम्बन्धी ऐन २०२१ को दफा २६(१) मा व्यवस्था भएको मोहीको मृत्युपश्चात् मोहियानी हक निजको एकासगोलमा रहेका निजको पति, पत्नी, छोरा, छोरी, आमा, बाबु, धर्मपुत्र, धर्मपुत्री, छोरा, बुहारी, नाति, नातिनी बुहारी, दाजुभाइ वा दिदीबहिनीहरू मध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई प्राप्त हुनेछ भनी हकवालाहरूको स्पष्ट किटान गर्नुको विधायिकी मनसाय के रहेको देखिन्छ भने मोहीको मोहियानी हक टाढाको व्यक्तिमा जान नपाओस् भन्ने नै हो । यदि यसरी उल्लिखित नजिकका व्यक्तिहरू एक भन्दा वढी मोहीसँगै एकासगोलमा रहेका छन भने त्यस्तो अवस्थामा उक्त व्यक्तिहरू मध्ये जग्गाधनीले पत्याएका व्यक्तिले मोहियानी हक प्राप्त गर्न सकोस् भनी मोही कसलाई पत्याउने कसलाई नपत्याउने भन्ने कुरा जग्गा धनीको नितान्त व्यक्तिगत अधिकारको रूपमा राखी मोहीको मृत्युपश्चात् मोही कसलाई पत्याउने भन्ने सम्बन्धमा जग्गाधनीलाई निश्चित सीमाभित्र राखेको देखिन्छ ।
७. प्रस्तुत मुद्दामा मोहीसँग उल्लिखित कुनै पनि व्यक्तिहरू एकासगोलमा रहे बसेको अवस्थाको विद्यमानता देखिदैन । यस्तो अवस्थामा कि नं. २४४, ३०४, ३०५ को जग्गा धनीहरूले मोही विष्णुभक्तको मृत्युपश्चात् निजका जेठा छोरा विष्णुप्रसाद स्वगमिखालाई र कि नं. ३३६, ३४४, ३४०, ३३८, ३४६, ३४२, ३३७, ३४१ र ३४५ का जग्गा धनीहरूले मोहीका कान्छा छोरा गणेशभक्तलाई मोहीमा पत्याएको तथ्य मिसिल संलग्न प्रमाणबाट देखिन्छ ।
८. मोहीसँग ऐनको दफा २६(१) बमोजिमका कुनै पनि व्यक्तिहरू एकासगोलमा नभएको अवस्थामा मोहीको मृत्यु भएको छ भने जग्गाधनीले मोही कसलाई पत्याउने भन्नेसम्बन्धमा उक्त दफामा स्पष्टता नरहेको सन्दर्भमा जग्गा धनीलाई मोही कसलाई पत्याउने कसलाई नपत्याउने भन्ने निजको नितान्त व्यक्तिगत अधिकारको रूपमा रहेको अधिकार प्रयोग गरी मोही जो कसैलाई पत्याउन सक्ने नै देखियो ।
९. तेस्रो प्रश्नको रूपमा रहेको कि. नं. ३३६, ३४४, ३४०, ३३८, ३४६, ३४२, ३३७, ३४१, र ३४५ का जग्गा धनीहरूले स्व. मोही विष्णुभक्त स्वगमिखाका कान्छा छोरा गणेशभक्त स्वगमिखालाई मोहीमा पत्याएको कानूनसङ्गत छ छैन ? भन्नेतर्फ विचार गर्दा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१)बमोजिमका मोहीका हकदार मोहीसँग एकासगोलमा नरहेको अवस्थामा मोहीको मृत्यु भएको अवस्थामा जग्गा धनीले जो कोहीलाई पनि मोही पत्याउन सक्ने अवस्थामा प्रस्तुत मुद्दामा मोहीसँग अलग भएका कान्छा छोरा गणेशभक्त स्वगमिखालाई कि नं. ३३६, ३४४, ३४०, ३३८, ३४६, ३४२, ३३७, ३४१ र ३४५ का जग्गामा मोही पत्याएकोलाई कानूनविपरीतको भन्न मिल्ने नदेखिँदा यस अदालतबाट मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गर्दा लिएको आधारसँग यो इजलास सहमत हुन सकेन ।
१०. अब चौथो तथा अन्तिम प्रश्नको रूपमा रहेको पुनरावेदन अदालत, पाटनको फैसला मिले नमिलेको के छ ? पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो होइन भन्नेतर्फ विचार गर्दा माथि उल्लिखित आधार, कारण, प्रमाण र विवेचनाबाट जग्गा धनीहरूले नै कि नं. ३३६, ३४४, ३४०, ३३८, ३४६, ३४२, ३३७, ३४१ र ३४५ का जग्गाको मोहीमा पुनरावेदक वादीलाई नपत्याएकाले पुनरावेदक वादीका नाममा उक्त जग्गाहरूको मोही नामसारी हुन नसक्ने गरी भूमिसुधार कार्यालय भक्तपुरबाट मिति २०६७।९।३० मा भएको निर्णयलाई सदर गर्ने गरी पुनरावेदन अदालत, पाटनबाट मिति २०६८।९।२५ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या.ओमप्रकाश मिश्र
इति संवत् २०७१ साल फागुन १ गते रोज ६ शुभम् ।
इजलास अधिकृत :- अर्जुनप्रसाद कोइराला