निर्णय नं. ९४२० - हातहतियार खरखजाना

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय
माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल
फैसला मिति : २०७१ ।१२ ।४ ।४
०६८-CR-०३३६
मुद्दा :– हातहतियार खरखजाना ।
पुनरावेदक/पक्ष : प्र.स.नि भोजराज काफ्लेको प्रतिवेदनले नेपाल सरकार ।
विरूद्ध
प्रत्यर्थी/विपक्षी : जिल्ला सिराहा गा.वि.स.गम्हरिया महेशपुर वडा नं. ४ बस्ने सोनुकुमार सिंहसमेत
हातहतियार बोकेर हिँड्ने अपराध देशभर फैलिएको अवस्थामा अदालतले हलुका रूपमा लिएको भन्ने जस्ता आत्मगत तर्कहरू पुनरावेदनमा लिएको सन्दर्भमा विचार गर्दा न्याय सम्पादन कानूनबमोजिम कानूनले तोकेको प्रकृयाअनुरूप कानूनी सिद्धान्तहरूको पृष्ठभूमिमा गरिन्छ । फगत कुरै कुराको संवेदनसिलताको आधारमा निर्णय नहुने ।
सबुत प्रमाण र यसको परीक्षणबाट न्याय निर्धारित हुन्छ । अन्यथा बेकारको संवेदनसिलता देखाई बिना आधार परीक्षण गरी सजाय गर्दै जाने हो भने सरकार निरङ्कुश हुँदै जाने र जनताको मानवअधिकार सङ्कटमा पर्दै जाने अवस्था आउदैन भन्न नसक्ने ।
(प्रकरण नं. ३)
पुनरावेदक / पक्षका तर्फबाट :
प्रत्यर्थी / विपक्षीका तर्फबाट :
अवलम्बित नजिर :
सम्बद्ध कानून :
सुरू तहको फैसला गर्नेः-
प्र.जि.अ.श्री गेहनाथ भण्डारी
पुनरावेदन तहमा फैसला गर्ने :
मा.न्या.श्री हरिकुमार पोखरेल
मा.न्या.श्री थीर बहादुर कार्की
फैसला
न्या.बैद्यनाथ उपाध्यायः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम पुनरावेदन अदालत, राजविराजको मिति २०६७।५।१४ को फैसलाउपर वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम् ठहर यसप्रकार छः-
मिति २०६५।९।८ गते राति अं.२३:३० बजेको समयमा जिल्ला सिरहा गा.वि.स. गम्हरिया महेशपुर वडा नं ४ स्थितमा म प्रतिवेदकसमेतको टोली गस्ती गर्दै जाँदा निम्न स्थान बस्ने निम्न मानिसहरू शङ्काजनक अवस्थामा हिँडडुल गरिरहेको अवस्थामा फेला पारी निजहरूलाई नियन्त्रणमा लिई निजहरूको शरीर तलासी लिँदा निम्नअनुसारको हातहतियार खरखजाना तथा गोली गठ्ठा फेला पारी बरामद गरी निजहरूलाई पक्राउ गरी यसै प्रतिवेदन साथ दाखेल गरेको छ कानूनबमोजिम गरिपाउँ भनी प्र.स.नि. भोजराज काफ्लेसमेतले दिएको प्रतिवेदन ।
मिति २०६५।९।८ गते अं. २३:४५ बजेको समयमा जिल्ला सिराहा गा.वि.स. गम्हरिया महेशपुर वडा नं.४ स्थित सार्वजनिक सडक बाटोमा हातहतियार खरखाजानासमेतका कन्हैया भन्ने संजय शर्मा, दिवस सिंह, विनोदकुमार सिंह, विनयकुमार ठाकुर, सोनुकुमार सिंह, संजयकुमार महतो, आलोककुमार झासमेत जना ७ लाई शरीर तलासी लिँदा अवैंध हातहतियार फेला पारी बरामद भएको साथै स.१ प. ९९२६ र ज.१.प. ४११ नं. को मोटरसाइकलसमेत बरामद भएको हो भन्ने बरामदी मुचुल्का ।
मिति २०६५।८।१९ गते म आफ्नै औषधी पसल मिर्चैयाबाट महेन्द्र राजमार्ग हुँदै आफ्नो निजी घर सितापुर जाँदै गर्दाको क्रममा गम्हरिया महेशपुर गा.वि.स. स्थित नहरको डिलमा पुग्दा ५।७ जना नकाबधारीहरू हातहतियार सहितका मानिसहरूले मसमेत सवार स.१.प. ९९२६ नं. को मोटरसाइकल हाल फेला परी यस कार्यालयमा अनुसन्धानको लागि ल्याएको हुँदा खोजी भएका बखत दाखेल गराउने गरी मेरा जिम्मामा बुझिपाउँ भन्ने व्यहोराको बुधन मण्डलको निवदेन ।
मिति २०६५।९।१३ गते स.१.प. ९९२६ नं. को मोटरसाइकल सवारी धनी बुधन मण्डललाई जिम्मा दिएको भन्ने व्यहोराको कागज ।
मिति २०६५।९।८ गते बेलुका म दिवस सिंहको घरमा आई पुगी हामी दुवैजनाको सल्लाहमा सो रात त्यही पिप्रा गाउँमा बास बसी र रात परेपछि मैले पहिले देखि नै चिनेका आलोक झा र विनय ठाकुर समेत भेट भै हाल मसँगै पक्राउ परेका अन्य ४ जनासमेत ७ जना भेला जम्मा भई कुराकानी सरसल्लाह गरिरहेको बखतमा अं. २३:३० बजेको समयमा प्रहरीले के कुन तौरबाट हाम्रो सुराक पाई हामी बसेको स्थानमा पुग्दा प्रहरी आएको जानकारी पाई तत्काल हामी तितरवितर हुँदा सार्वजनिक सडक पिप्रा ४ बाट प्रहरीले हामीहरूलाई हातहतियारसहित पक्राउ गरेको हो भन्ने कन्हैया भन्ने संजय शर्माले अधिकार प्राप्त अधिकारीसमक्ष दिएको बयान ।
मिति २०६५।९।८ गते म आलोक झासँगै
थिँए । सोही अवस्थामा कन्हैया भन्ने संजय शर्माले गम्हरिया महेशपुर गा.वि.स.वडा नं.४ पिप्रा गाउँमा आउनु भन्ने फोनबाट जानकारी दिएको भेट्न जाउँ भन्दा म पनि निज आलोक झासँगै बस चढी जनकपुरबाट वारदास्थल दिवस सिंहको पिप्रास्थित गाउँघरमा आईपुगी पक्राउ परेका ७ जना हामीहरू बसेर छलफल गर्दैरहेको अवस्थामा प्रहरीले हाम्रो सुराक पाई घेरा हाल्न पुगी सो कुराको जानकारी हामीहरूलाई समेत भई तितरवितर हुँदा सोही पिप्रा गाउँको सार्वजनिक बाटोमा प्रहरीले हामीहरूलाई पक्राउ गरी शरीर तलासी लिँदा अवैध हातहतियार खरखजाना फेला परेको हो भन्ने व्यहोराको प्रतिवादी विनय ठाकुरको अधिकारप्राप्त अधिकारीसमक्ष भएको बयान ।
मिति २०६५।९।८ गते बेलुका अं. ५:३० बजेको समयमा कन्हैया भन्ने संजय शर्मा हाम्रो गाउँमा दिवसकुमार सिंहसँग गफ गर्दै रह्को र म पनि निजहरू सँग गफ गरिरहेको स्थानमा गई कन्हैया भन्ने संजय शर्माले हामीहरूको साथी बाहिरबाट आउँदैछ, सबै जना भेला जम्मा भएपछि सरसल्लाह गर्नुछ । तिमीहरू पनि भेला हुनु भनी सुनाए पछि मनमा कौतुहलता जागी सोहीबमोजिम जागा बसिरहेका थिएँ । मसमेत भेला जम्मा भई कन्हैया भन्ने संजय शर्मालगायत ७ जना बसी छलफल गर्दैरहेको अवस्थामा प्रहरीले के कसरी हाम्रो सुराक पाई घेरा हाली पुग्दा सो कुराको जानकारी हामीहरूले पाई तत्काल तितरवितर हुँदाको क्रममा सोही गाउँको सडक बाटोमा नियन्त्रणमा लिई शरीर तलासी लिदा अवैध हातहतियार खरखजाना फेला पारी बरामद गरेको हो भन्ने व्यहोराको सोनुकुमार सिंहले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
मिति २०६५।९।८ गते मलगायतका मसँगै पक्राउ परेका ७ जना प्रतिवादीहरू गम्हरिया महेशपुर वडा नं.४ स्थित पिप्रागाउँमा भेला जम्मा भई छलफल गर्दै गरेको अवस्थामा प्रहरीले सो कुराको सुराक जानकारी पाई हामीहरूलाई घेरा हाल्न पुगी सोही राति अं.२३:३० बजेको समयमा सोही गाउँको सार्वजनिक सडक बाटोमा पक्राउ गरी शरीर तलासी लिँदा हातहतियार खरखजाना बरामद भएकाले पक्राउ गरी लिएको हुन साथै स.१.प.९९२६ नं. को मोटरसाइकल मेरै साथबाट बरामद भएको हो भन्ने दिवस सिंहले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
मिति २०६५।९।८ गते बिहानै देखि कन्हैया भन्ने संजय शर्माले मलाई फोन गरी गम्हरिया महेशपुर ४ पिप्रा गाउँको ठेगाना दिई एउटा सल्लाह मिलाउनु
छ । आउनु भनी बोलाएपछि मसँग पक्राउ परेका ७ जना बसी लुकीछिपी गफगाफ गर्दै गरेको बखत प्रहरीले हामी बसेको सुराक पाई घेरा हाल्न पुगेको जानकारी हामीहरू समेतले पाएकामा तत्कालै तितरवितर हुन खोज्दा खोज्दै सोही गाउँको सार्वजनिक सडक बाटोमा प्रहरीले हामीलाई फेला पारी शरीर तलासी लिँदा सात जनाकै साथबाट अवैध हातहतियर खरखजाना तथा मोटरसाइकलसमेतका चिजवस्तु फेला परेको हो भन्नेसमेत व्यहोराको प्रतिवादी आलोक झाले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
मिति २०६५।९।८ गते म साँझपख दिवस सिंहको घरतर्फ घुमफिर गर्न जाँदा १ वर्षअगाडि चिनेको कन्हैया भन्ने संजय शर्मा, दिवस सिंह, सोनु सिंह, विनोदकुमार सिंहलगायतका अन्य २ जना मानिसहरू समेत गफगाफ गर्दैरहेको म पनि निजहरूसँगै बसिरहेकामा प्रहरी आइपुगी हामीहरूलाई घेरा हाल्न पुगेको भन्ने जानकारी हामीहरू समेतले पाएको लगतै तितरवितर हुन खोज्दाखोज्दै प्रहरीले नियन्त्रणमा लिई ७ जनाकै शरीर तलासी लिँदा हातहतियार खरखजाना हामीहरूको साथबाट बरामद भएकाले पक्राउ गरेका हुन भन्ने संजय महतोले गरेको बयान ।
मिति २०६५।९।८ गते राति २३:३० बजेको समयमा आफ्नै गाउँघरमा थिएँ । प्रहरीले दिवस सिंहसमेतका अन्य ६ जना मानिसहरूलाई हातहतियारसहित पक्राउ गरी लगेको भन्ने भोलिपल्ट मिति २०६५ ।९ ।९ गते काम विशेषले मिर्चैया चौकमा पुग्दा सो चौकमा भेला जम्मा भएका मैले नचिनेका मानिसहरूले आफूआफूमा कुरा गर्दा मसमेतले सुनी उक्त वारदातको बारेमा जानकारी पाएको हुँ । पछि घटनासम्बन्धमा विस्तृत बुझ्दा गम्हरिया महेशपुर ४ पिप्रा गाउँटोलमा प्रहरीले हातहतियारसहित लुकीछिपी बसेको कन्हैया भन्ने संजय शर्मा, विनोदकुमार ठाकुरसमेतका ७ जना केटा मानिसहरूलाई सोही राति २०६५।९।८ गते २३:३० बजेको समयमा पक्राउ गरेका हुन् । ७ जनाको मुख्य नाइके कन्हैया भन्ने संजय शर्मा नै हुन् । निजको आदेश इसारा र संलग्नतामा विभिन्न आपराधिक घटनाहरू घटाउने गर्दैछन् । भारतबाट हातहतियार खरिद गरी नेपालभित्रको विभिन्न आपराधिक समूहरूलाई बिक्री वितरणसमेत गर्ने गरेको बुझिएको हो । उल्लिखित ७ जनालाई नै कानूनबमोजिम हदैसम्मको सजाय कारवाही होस भनी जिल्ला सिराहा गा.वि.स. सारश्वर १ बस्ने रामप्रकाश मुखियासमेत जना ३ ले खुलाई लेखाई दिएको एकै मिलानको वस्तुस्थिति मुचुल्का ।
प्रस्तुत मुद्दामा हालसम्म सङ्कलित मिसिल कागजातहरू, प्रहरीको प्रतिवेदन, बरामदी मुचुल्का, प्रतिवादीहरूको बयान र स्थानीय मानिसहरूले खुलाई लेखाई दिएको वस्तुस्थिति मुचुल्का समेतका मिसिल कागजातहरू अध्ययन गर्दा पक्राउ प्रतिवादीहरू कन्हैया भन्ने संजय शर्मा, संजयकुमार महतो, दिवस सिंह, सोनुकुमार सिंह, विनयकुमार ठाकुर, विनोदकुमार सिंह, आलोक झा समेतका ७ जनाले अवैध हातहतियार खरखजाना साथमा बोकी बसेको अवस्थामा जिल्ला सिराहा गा.वि.स. गम्हरिया महेशपुर वडा नं.४ स्थित सार्वजनिक सडक बाटोमा प्रहरीले मिति २०६५।९।८ गते राति २३:०० बजेको समयमा पक्राउ गरी हात हतियार खरखजाना बरामद भएको भनी लेखाई दिएको आधार प्रमाणहरूबाट विरूद्ध खण्डका प्रतिवादीहरूले हात हतियार खरखजाना ऐन, २०१९ को दफा ३(२) र ५(१) को कसुर अपराधमा सोही ऐनको दफा २०(२) र २०(३) बमोजिम सजाय गरी बरामदी हातहतियार खरखजाना र मोटरसाइकलसमेत ऐ.ऐनको दफा १६ बमोजिम जफत गरिपाउँ भनी मागदाबी लिई अभियोगपत्र प्रस्तुत भएको ।
अभियोगपत्र साथ उपस्थित गराइएका प्रतिवादी सोनुकुमार सिंह, दिवस सिंह, विनोदकुमार सिंह, संजयकुमार महतो, कन्हैया भन्ने संजय शर्मा, विनय ठाकुर, आलोक झाले सुरू कार्यालयसमक्ष गरेको बयानमा आ-आफूमाथि लगाएका कसुर अपराधमा इन्कारी भै बयान गरेको ।
प्रतिवादीहरूको साक्षीहरूले सोही बयानलाई समर्थन गरी लेखाई दिएको बकपत्र मिसिल सामेल रहेको ।
यसमा मौकाको बरामदी खानतलासी मुचल्का, प्र.स.नि. भोजराज काफ्लेसमेतको प्रहरी प्रतिवेदन, प्रतिवादीहरूको बयान, वस्तुस्थिति मुचुल्का, अभियोगपत्रलगायतका हालसम्म सङ्कलित प्रमाण कागजहरूको आधारमा प्रतिवादी कन्हैया भन्ने संजय शर्मा र प्रतिवादी दिवश सिंहले हातहतियार खरखजाना ऐन, २०१९ को दफा ३(२) र ५(१) कसुर अपराध गरेको ठहर्छ । सो ठहर्नाले प्रतिवादी कन्हैया भन्ने संजय शर्मालाई सोही ऐनको दफा २०(३) र ५(१) को कसुर अपराध गरेको ठहर्छ । सो ठहर्नाले प्रतिवादी कन्हैया भन्ने संजय शर्मालाई सोही ऐनको दफा २०(३) बमोजिम कैद वर्ष २(दुई) र जरिवाना रू.२०,००० । (बीस हजार रूपैयाँँ मात्र हुन्छ) । प्रतिवादी दिवस सिंहको हकमा अपराध हुँदाको परिस्थितिसमेतलाई विचार गरी निजलाई सोही ऐनको दफा २०(३) बमोजिम रू. २०,००० ।– बीस हजार रूपैयाँँ मात्र जरिवाना हुन्छ । निज प्रतिवादीहरू यसै कार्यालयको आदेशले मिति २०६५।११।९ गतेदेखि मिति २०६६।२।१२ गतेसम्म जम्मा ५ महिना १ दिन थुनामा बसेको हुँदा अ.बं १२० नं. बमोजिम उक्त लागेको दण्ड जरिवाना कट्टा गरी बाँकी असुलउपर
गर्नु । अन्य प्रतिवादीहरू सोनुकुमार सिंह, विनोदकुमार सिंह, संजयकुमार महतो, विनय ठाकुर र आलोक झा विद्यार्थीहरू भएको र निजहरू वारदातस्थलमा पक्राउ नभै आ-आफ्नै घरडेरबाट पक्राउ भई आएको मिसिल संलग्न कागजातबाट देखिएको, प्रस्तुत मुद्दामा अपराध हुँदाको परिस्थिति, अभियुक्तहरूको उमेर, पहिलेको आचरणसमेतलाई मध्यनजर राखी निज पाँचै जनाले प्रस्तुत मुद्दामा सफाइ पाउने ठहर्छ । बरामद भएको कटुवा पेस्तोल गोली र ज.१.प.४११ नं. को मोटरसाइकल सोही ऐनको दफा १६ बमोजिम जफत हुन्छ भन्ने जिल्ला प्रशासन कार्यालय, सिराहाको मिति २०६६।३।१२ गतेको फैसला ।
वारदातस्थलमा घटेको घटनामा प्रयोग गरिएको भनिएको कुनै पनि हातहतियार हाम्रोसँग साथबाट बरामद हुन सकेको छैन । जबर्जस्ती मेरो साथबाट बरामद भएको भनी झुठ्ठा व्यहोराको बरामदी मुचुल्का तयार गरी सम्बन्धित ठाउँको कुनै पनि व्यक्तिलाई साक्षी नराखी काल्पनिक व्यक्तिहरूलाई साक्षीमा राखी मुचुल्का तयार गरिएको हो । डर धाक देखाई मुचुल्कामा सहीछाप गराइएको हो । बरामदी मुचुल्काका साक्षीहरूले खुल्ला इजलासमा बकपत्रसमेत गर्न नसकेकाले प्रमाण ऐन, २०३१ को दफा १८ बमोजिम प्रमाणमा लिनसमेत नमिल्ने हुँदा प्रमाण ऐन, २०३१ को दफा २५ विपरीत गरीएको फैसला त्रुटिपूर्ण छ । एकै प्रकृतिको मुद्दामा एकै दफा लागेको अरू प्रतिवादीहरूलाई विभिन्न अस्वाभाविक कुरा फैसलामा उल्लेख गरी सफाइ दिएको अवस्था
छ । एउटै प्रमाणको भरमा कसैलाई सफाइ दिएको र मलाई सजाय गरेकाले समानताको हकमा गम्भीर असर परेको छ । हचुवा तवरबाट एकै किसिमको प्रमाणमा फरकफरक फैसला भएकाले श्री जिल्ला प्रशासन कार्यालय, सिराहाको मिति २०६६।३।१२ को फैसला कानूनविपरीतको हुँदा उल्टी गरी सफाइ पाउँ भन्नेसमेत व्यहोराको कन्हैया भन्ने संजय शर्माको पुनरावेदनपत्र ।
सुरू फैसलाले प्रतिवादीद्वय संजय शर्मा र दिवस सिंहउपरको आरोपित कसुर ठहर गरेको अवस्था छ । प्रतिवादीहरूको साथबाट अवैध पेस्तोल गोली बरामद भएको र प्रतिवादीहरूले वारदातमा थान-२ मोटरसाइकलसमेत प्रयोग गरेको अवस्था छ । बरामद दशी प्रमाणहरूसहित प्रतिवादीहरू घटनास्थलमा सँगै पक्राउ परेको अवस्था र अनुसन्धानको क्रममा प्रतिवादीहरूले कसुर अपराध स्वीकार गरेको बयान र बुझिएका मानिसहरूको कथन समेतबाट प्रतिवादीद्वय वारदातका मुख्य नाइके भएको तथ्य उजागर भैसकेकामा निजहरूलाई अभियोग दाबीबमोजिम हातहतियार र खरखजाना दुवैमा सजाय गर्नुपर्नेमा आत्मनिष्ठ तवरले ऐनको दफा २०(३) बमोजिम खरखजानातर्फ मात्र सजाय गरेको, समानस्तरका प्रतिवादीद्वयलाई असमान तवरले फरक फरक सजाय गरेको पाइन्छ । जुन हातहतियार खरखजाना ऐन, २०१९ को दफा २०(२) को व्यवस्थासँगै अमिल्दो रहेको छ । हातहतियारतर्फ ऐनको दफा २०(२) बमोजिम प्रतिवादीद्वयलाई ३ वर्षदेखि ६ वर्षसम्म वा साठी हजारदेखि १ लाखसम्म जरिवाना हुने स्पष्ट कानूनी व्यवस्था भएकामा बरामद अवैध हातहतियारतर्फ सजाय नगरी खरखजानातर्फ मात्र फरक फरक सजाय गर्ने गरेको उक्त फैसला त्रुटिपूर्ण रहेको छ । प्रतिवादीहरू सोनुकुमार सिंह, विनोदकुमार सिंह, संजयकुमार महतो, विनय ठाकुर र आलोक झाको हकमा सफाइ दिँदा लिइएका निर्णयाधारहरू आत्मनिष्ठ छन् । प्रतिवादीहरू विद्यार्थी भएको, निजहरूको आचरण अपराधको परिस्थिति जस्ता आधारहरू फौजदारी मुद्दामा सफाइको आधार बन्न सक्दैन । मिसिल संलग्न कागजहरूको मुल्याङ्कन गरी न्याय निरूपण गर्नुपर्नेमा यथोचित मुल्याङ्कन नगरी सुरू जिल्ला प्रशासन कार्यालय, सिराहाले अभियोग मागदाबीबमोजिम सजाय नगरी समानस्तरका प्रतिवादीहरू मध्ये संजय शर्मा र दिवस सिंहको हकमाफरक फरक घटीबढी सजाय गरेको र अन्य प्रतिवादीहरूलाई सफाइ दिने गरी गरेको फैसला बदर गरी सबै प्रतिवादीहरूलाई अभियोग मागदाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको वादी नेपाल सरकारको पुनरावेदन ।
यसमा प्रतिवेदक, बरामदी मुचुल्काका व्यक्तिहरूलाई प्रमाण ऐन, २०३१ को दफा १८ बमोजिम बुझ्दै नबुझी निजहरूले अनुसन्धानको क्रममा व्यक्त गरेको कुराहरू प्रमाणमा ग्रहण गरी पुनरावेदकलाई दोषी ठहर गरेको साथै समान प्रमाणको आधारमा पुनरावेदकलाई सजाय गरेको र अन्य प्रतिवादीहरूलाई सफाइ दिएको सुरूको फैसला फरक पर्न सक्ने हुँदा मुलुकी ऐन अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम पुनरावेदन सरकारी वकिल कार्यालय, राजविराजलाई सूचना दिई नियमानुसार पेस गर्नु भन्ने पुनरावेदन अदालत, राजविराजको मिति २०६६।७।१८ को आदेश ।
प्रतिवादीमध्येका कन्हैया भन्ने संजय शर्मा र दिवस- सिंहलाई हातहतियारतर्फ सजाय नगरी खरखजानातर्फ मात्र सजाय गर्ने गरी तथा प्रतिवादीहरू सोनुकुमार सिंहसमेतलाई आरोपित कसुरबाट सफाइ दिने गरी फैसला गर्दा कुनै पनि कारण र आधार नखुलाई र समान प्रमाणको आधारमा कसैलाई कसुरदार ठहर्याई र कसैलाई सफाइ दिने गरी जिल्ला प्रशासन कार्यालय, सिराहाबाट भएको फैसला फरक पर्न सक्ने देखिंदा मुलुकी ऐन, अ.बं.२०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थी झिकाई आएपछि वा अवधि नाघेपछि यसै लगाउको स.फौ.पु.नं. ००१४० ।१२२ को मुद्दा साथै राखी नियमानुसार गरी मुद्दा पेस गर्नु भन्ने मिति २०६६।१०।१३ को पुनरावेदन अदालत, राजविराजको आदेश ।
लिखित प्रतिवादकर्ता म सोनुकुमार सिंह तथा विनोदकुमार सिंहको साथबाट कुनै अवैध खरखजाना बरामद भएको होइन, छैन । मिति २०६५।९।८ को कथित बरामदी मुचुल्कामा साक्षी भनी राखिएका व्यक्तिहरू उमेश सिंह, उदगार महतोले हामीहरूको सँग साथबाट हातहतियार खरखजाना बरामद गरेको होइन भनी बकपत्र गरेको, बरामदीमा रहेको बौका श्रेष्ठ प्रतिवेदक प्र.स.नि. भोजराज काफ्ले तथा प्र.ज.टिकाराम श्रेष्ठसमेतलाई बकपत्रको लागि अदालतम उपस्थित गराउन वादी पक्षले सकेको
छैन । यसरी बरामदी मुचुल्का र मु.नं. ६६, ०६५।९।९ मा दर्ता भएको प्रहरी प्रतिवेदनसमेत शङ्कास्पद देखिएको छ । प्रतिवेदन दिने प्रहरी कर्मचारीसमेत साक्षी सरह उपस्थित हुन नसकेको अवस्थामा सो बरामदीसमेतलाई फैसलाको क्रममा प्रमाण ऐन, २०३१ को दफा १८ ले प्रमाणमा लिन
मिल्दैन । प्रतिवादीमध्येका म दिवस सिंहको हकमा समेत उल्लिखित तथ्य प्रमाण एवम् कानून समानरूपमा लागू रहन्छन् । मसमेत उपरको बरामदी मुचुल्का मेरा विरूद्धमा स्थापित हुन सकेको छैन । साथै प्रहरी प्रतिवेदनसमेत स्वतन्त्ररूपले स्थापित हुन सकेको छैन । मलाई प्रहरी प्रतिवेदनबमोजिम पक्राउ गरेको होइन । जनकपुर स्थित सहित चोकबाट पक्राउ गरी प्रहरी चौकी मिर्चैयामा ल्याई एकै पटक पक्राउ पूर्जी दिँदा हातहतियार मुद्दामा मलाई फसाएको थाहा भएको हो । म आई. कम. दोस्रो वर्षमा अध्ययन गर्ने विद्यार्थी हुँ भनी प्रष्ट बयानसमेत गरेको छु । मिति २०६५।९।२५ मा तयार भएको वस्तुस्थिति मुचुल्कासमेत स्थानीय ठाउँमा तयार भएको छैन । वारदातस्थल सिराहा जिल्लाको गम्हरिया महेशपुर गा.वि.स. वडा नं. ४ मा देखाइएको छ भने वस्तुस्थिति मुचुल्कामा सो स्थानको व्यक्ति साक्षी राख्न नसकेर गा.वि.स.सारस्वर वा.नं.१ का राम प्रसाद मुखिया तथा गा.वि.स.मझौलिया वडा नं.८ का मो. सदाम र ऐ.वडा नं.५ का राजकुमार सिंहलाई साक्षी राखिएको तर साक्षी सरह उपस्थित गराउन नसकी म विद्यार्थीलाई जरिवाना गरी गरेको फैसला मेरो हकमा असर पर्न गए तापनि भविष्यतर्फ नै केन्द्रित रही अध्ययनमा रहेको हुँदा मेरो हकमा समेत पुनः थप सजाय नहुनका लागि अनुरोध गर्दछु भन्नेसमेत व्यहोराको विनोदकुमार सिंह, सोनुकुमार सिंह र दिवस सिंहको संयुक्त लिखित प्रतिवाद ।
फौजदारी मुद्दामा प्रतिवादीको कसुर प्रमाणित गर्ने भार अभियोक्तामा रहन्छ । सोको लागि अभियोगपत्रमा उल्लेख गरिएका साक्षी उपस्थित गराई बकपत्र गराउनु पर्दछ । त्यसरी उपस्थित गराई बकपत्र गराएको अवस्थामा प्रमाण ऐन, २०३१ को दफा १८ बमोजिम प्रमाण ग्रहण हुन्छ । प्रस्तुत मुद्दामा वादी पक्षले बरामदी मुचुल्का र वस्तुस्थिति मुचुल्कामा उल्लिखित एकजना पनि साक्षी उपस्थित गराएर आफ्नो दाबी पुष्टि गराएको देखिन आएन । अनुसन्धान अधिकारीसमक्ष प्रतिवादीहरूले साविति गरेको देखिए पनि मुद्दा हेर्ने अधिकारीसमक्ष इन्कार देखिएको र प्रहरीको साबितीलाई समर्थन गर्ने प्रमाणको सर्वथा अभाव देखिँदा पुनरावेदक प्रतिवादी संजय शर्मा र दिवस सिंहलाई सजाँय गर्ने गरी जिल्ला प्रशासन कार्यालय, सिराहाबाट मिति २०६६।३।१२ मा भएको फैसला निजहरूको हकमा मिलेको नदेखिँदा सो हदसम्म उल्टी भई निजहरूले सफाइ पाउने ठहर्छ । वादी नेपाल सरकारको पुनरावदेक जिकिर पुग्न सक्दैन भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, राजविराजबाट मिति २०६७।५।१४ मा भएको फैसला ।
मुद्दा हेर्ने अधिकारीसमक्ष गरेको इन्कारी बयानलाई पुष्टि गर्ने प्रमाण प्रतिवादीहरूले प्रस्तुत गर्न नसकेको अवस्थामा त्यसैलाई आधार लिई प्रतिवादीलाई सफाइ दिनु न्याय सङ्गत होइन । प्रस्तुत मुद्दामा मौकामा अनुसन्धानको क्रममा अनुसन्धान अधिकारीसमक्ष बयान गर्दा पक्राउ परेका अभियुक्तहरूले एक अर्कालाई पोल गरी अवैध हातहतियार बरामद भएको तथ्यमा स्वीकार गरी बयान गरेका छन् भने सो साबिती बयानलाई पुष्टि गर्ने बरामदी मुचुल्का र बरामद हतियारले नै कसुरलाई पुष्टि गरिसकेको अवस्थामा प्रतिवादीहरू कसुरबाट छुट पाउन गरेको इन्कारीलाई आधार लिइनु न्यायसङ्गत हुँदैन र अवैध हातहतियार खरखजाना मुद्दामा नबुझी नहुने भए त्यस्ता साक्षीलाई मुद्दाको जुनसुकै अवस्थामा भएपनि अ.बं. को ११५ नं. बमोजिम अदालतले झिकाई बुझ्न सकिनेमा प्रतिवादीलाई सफाइ दिने आधार र कारण मात्र खोजी भएको फैसला कानूनी त्रुटिपूर्ण देखिँदा बदर गरी सुरू अभियोग मागदाबीबमोजिम प्रतिवादीहरूलाई सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको वादी नेपाल सरकारको यस अदालतमा दर्ता भएको पनुरावदेनपत्र ।
नियमबमोजिम आजको दैनिक पेसी सूचीमा चढी पेस भएको प्रस्तुत पुनरावेदन संलग्न मिसिल अध्ययन गरियो ।
प्रतिवादीहरू कन्हैया भन्ने संजय शर्मा, संजयकुमार महतो, दिवस सिंह, सोनुकुमार सिंह, विनयकुमार ठाकुर, विनोदकुमार सिंह र आलोक झासमेतले अवैध हातहतियार खरखजाना साथमा बोकी बसेको अवस्थामा सार्वजनिक सडक बाटोमा पक्राउ भएकोसमेतका आधार प्रमाणहरूबाट निजहरूले हातहतियार खरखजाना ऐन, २०१९ को दफा ३(२) र ५(१) को कसुर अपराध गरेको प्रमाणित भएकाले सोही ऐनको दफा २०(२) र २०(३) बमोजिम सजाय समेत हुन प्रतिवादीहरू उपर अभियोग दाबी लिएको पाइन्छ । प्रतिवादीमध्येका कन्हैया भन्ने संजय शर्मा र दिवस सिंहले दाबीअनुसारको कसुर गरेको ठहर भई अन्य प्रतिवादीहरूले अभियोग दाबीबाट सफाइ पाउने ठहर्याई सुरू जिल्ला प्रशासन कार्यालय, सिराहाबाट भएको फैसला पुनरावेदन अदालतबाट उल्टी भै प्रतिवादीहरूले सफाइ पाउने ठहरे गरे उपर प्रतिवादीहरूको मौकाको बयान, वरामदी मुचुल्काका मानिस र बरामद अवैध समानले निजहरूको कसुर पुष्टि भएको अवस्थामा मुद्दा हेर्ने अधिकारीसमक्षको इन्कारी बयान र वादीले साक्षी अदालतमा उपस्थित गराउन नसकेको भन्ने आधारमा सफाइ दिएको पुनरावदेन अदालत, राजविराजको फैसला नमिलेको हुँदा उल्टी गरी अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भनी वादी नेपाल सरकारले पुनरावेदनमा जिकिर लिएको पाइयो ।
उक्त तथ्य भएको प्रस्तुत पुनरावेदनमा पुनरावेदन अदालत, राजविराजबाट भएको फैसला मिलेको छ छैन र पुनरावेदन जिकिरबमोजिम हुने हो होइन भन्ने सम्बन्धमा निर्णय गर्नुपर्ने देखियो ।
२. अब निर्णयतर्फ विचार गर्दा मिति २०६५।९।८ गते राति अं.२३:३० बजेको समयमा सिराहा गम्हरिया महेशपुर गा.वि.स. वडा नं ४ मा गस्तीको क्रममा हातहतियार र खरखजानासहित प्रतिवादीहरूलाई पक्राउ गरी पेस गरिएको भन्ने प्र.स.नि.भोजराज काफ्ले र टिकाराम श्रेष्ठसमेतको प्रतिवेदनबाट प्रस्तुत मुद्दाको अनुसन्धान प्रारम्भ भएको छ । बरामदी मुचुल्कामा प्र.स.नि भोजराज काफ्ले र प्र.ह. राम आषित महतोले कटुवा पेस्तोलको गोली र मोटरसाइकलसहित राति ११.३० बजे प्रतिवादीहरूलाई पक्राउ गरेको देखिन आउँछ । रातको समय २ जना प्रहरीहरूले हातहतियारसहितका ७ जना प्रतिवादीहरू पक्राउ गरेको भन्ने भनाइ विश्वासयोग्य देखिन आउँदैन । प्रतिवादीहरूले मौकामा विभिन्न ठाउँबाट प्रतिवादीमध्येका दिवस सिंहको घरमा सातैजना जम्मा भई बसी सल्लाहा गर्दा गर्दै प्रहरी आएपछि भाग्ने क्रमम सार्वजनिक सडकबाट प्रहरीले पक्राउ गरेको भनि बयान गरेको देखिन्छ । तर जिल्ला प्रशासन कार्यलय, सिराहमा भने आरोपित कसुरमा पूर्ण इन्कार रहि बयान गरेको पाइन्छ । प्रतिवादीहरूको मौकाको बयान अनुसार ७ जना प्रतिवादीहरू अपराध गर्ने योजना बनाउँदै हातहतियारसहित घरमा बसेको अवस्थामा पक्राउ गर्न रातको समयमा २ जना मात्र प्रहरी गएको र पहिले नै सुचना पाई भागेका प्रतिवादीहरूलाई तत्कालै सार्वजनिक सडकबाट पक्राउ गरी राति नै बरामदी मुचुल्का खडा गरेको मिसिल संलग्न तथ्य पत्याउन सकिने र विश्वासयोग्य देखिन आउदैन । उक्त तथ्यबाट प्रतिवादीहरू दाबीको अभियोगमा सरिक रहेको पनि पुष्टि हुन सक्दैन । बरामदी मुचुल्कामा रोहबरमा राखिएका अभियोजन पक्षका साक्षीहरू मध्येको उदगार महतो र उमेश सिंह प्रतिवादी सोनुकुमार सिंह र विनोद सिंहको साक्षीको रूपमा उपस्थित भई बरामदी मुचुल्कामा देखाइएका गोली गठ्ठा मोटरसाइकल प्रतिवादीहरूबाट बरामद भएको होइन भनी बकपत्र गरेको पाइन्छ । अनुसन्धानका क्रममा तयार भएका कागजातहरूमा बस्ने अन्य साक्षीलाई अभियोजन पक्षले मुद्दा हेर्ने अधिकारीसमक्ष उपस्थित गराउन सकेको मिसिलबाट देखिँदैन । तसर्थ उक्त तथ्यबाट प्रतिवादीहरू दाबीको अभियोगमा सरिक रहेको पुष्टि हुन नसक्ने ।
३. पुनरावेदन अदालत स्वयम्ले अ.बं.११५ नं. अनुसार झिकाई बकपत्र गराउनु पर्ने भन्ने पुनरावेदन जिकिरतर्फ विचार गर्दा आफ्नो साक्षी पक्षले आफैं ल्याउने हो । वरामदी मुचुल्काको साक्षी वादी नेपाल सरकारको साक्षी भएकाले आफ्नो कुरा पुष्टि गर्न नेपाल सरकारले आफैँ ल्याउन
सक्नुपर्दछ । आफूले गर्नु पर्ने काम नगर्नु, त्यस्तो होस भनी माग पनि नगर्नु केवल अदालतले गर्न सक्थ्यो भनी सरकार जस्तो शक्तिशाली निकायले जिकिर लिनु सुहाउने कुरा होइन । तथापि, अ.बं.११५ नं. हेर्दा पनि नबुझी नहुने साक्षी हो भनी अदालतले देखेको अवस्थामा समाह्वान जारी गरी बुझ्न सकिने हुन्छ । तसर्थ अदालतले नबुझी नहुने साक्षी हो भनी देखेको अवस्थामा मात्र समाह्वान जारी गर्ने हो । त्यही बरामदी मुचुल्काका उदगार महतो र उमेश सिंहहरू प्रतिवादीकै साक्षी बनी बकपत्र गरेको देखिन्छ । यसप्रकार बरामदी मुचुल्काका यी दुई जानाले प्रतिवादीकै तर्फबाट बकपत्र गरिरहेको अवस्थामा अन्य व्यक्तिलाई पनि समाह्वान जारी गरी बुझ्दा वादीकै पक्षमा आउन सक्ला भनि सोच्न सकिने अवस्था पनि नभएको अवस्था समाह्वान जारी गरी बुझिरहनु पर्ने अवस्था नदेखी पुनरावेदनबाट भएको फैसलालाई त्यतिकै आधारमा नमिलेको भन्न मिलेन । हातहतियार बोकेर हिँड्ने अपराध देशभर फैलिएको अवस्थामा अदालतले हलुका रूपमा लिएको भन्ने जस्ता आत्मगत तर्कहरू पुनरावेदनमा लिएको सन्दर्भमा विचार गर्दा न्याय सम्पादन कानूनबमोजिम कानूनले तोकेको प्रक्रिया अनुरूप कानूनी सिद्धान्तहरूको पृष्ठभूमिमा गरिन्छ । फगत कुरै कुराको संवेदनसिलताको आधारमा निर्णय हुँदैन । सबुत प्रमाण र यसको परीक्षणबाट न्याय निर्धारित हुन्छ । अन्यथा बेकारको संवेदनसिलता देखाई बिना आधार परीक्षण गरी सजाय गर्दै जाने हो भने सरकार निरङ्कुश हुदै जाने र जनताको मानवअधिकार सङ्कटमा पर्दै जाने अवस्था आउँदैन भन्न सकिन्न । तसर्थ घटना वारदात देशमा बढेकै आधारमा वस्तुनिष्ठ प्रमाणको अभावमा पनि व्यक्तिहरूलाई सजाय करार गर्नु फौजदारी न्यायको सिद्धान्तविपरीत हुन जान्छ । हातहतियार खर खजाना मुद्दाको मूलभुत प्रमाण बरामदी मुचुल्का नै शङ्कास्पदरूपमा खडा भएको देखिएको छ । यस्तो अवस्थामा अदालत स्वयम्ले आफ्नो तटस्थताको स्थापित मापदण्ड नाघी अदालती बन्दोबस्तको ११५ नं. जो गम्भीर किसिमका नबुझी नहुने भनी अदालतलाई लागेको अवस्थामा मात्र निरपराध व्यक्तिले सजाय पाउनु, भोग्नु नपरोस् र जसले अपराध गर्छ उ मात्र सजायको भागिदार हुनुपर्दछ भन्ने स्थापित न्यायिक सिद्धान्तलाई आत्मसात गर्ने क्रममा प्रतिद्वन्द्वात्मक कानूनी प्रणालीको अपवादको रूपमा अदालतबाट प्रयोग हुन सक्ने कानूनी व्यवस्थालाई राज्यतर्फबाट सामान्यरूपमा पुरा गर्नुपर्ने भूमिकाका कुरामा राज्य स्वयम् उदासिन रहेको स्थितिमा अदालतले उक्त नं. प्रयोग गरी प्रमाण बुझ्नेसमेतका कार्य गर्न प्रस्तुम मुद्दामा उपयुक्त हुने देखिन आएन । यसबाट यस मुद्दामा वादी नेपाल सरकारको प्रत्यर्थी प्रतिवादीहरू उपरको हातहतियार खरखजानाको अभियोग दाबी र पुनरावेदन जिकिरसमेत पुग्न सक्ने देखिन आएन ।
४.तसर्थ माथि उल्लिखित आधार र कारणहरूबाट प्रतिवादीहरूले अभियोग दाबीबाट सफाइ पाउने ठहर्याई पुनरावेदन अदालत, राजविराजबाट मिति २०६७।५।१४ मा भएको फैसला मिलेको हुँदा सदर हुने ठहर्छ । वादी नेपाल सरकारको पुनरावदेन जिकिर पुग्न सक्दैन । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या.जगदीश शर्मा पौडेल
इति संवत् २०७१ साल चैत ४ गते रोज ४ शुभम् ।
इजलास अधिकृत :- कपिलमणि गौतम