शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९४२५ - ज्यान मार्ने उद्योग

भाग: ५७ साल: २०७२ महिना: असोज अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री ओम प्रकाश मिश्र

माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा.

फैसला मिति : २०७१।१२।१६।२

०६८-CR-०१६६

 

मुद्दा :– ज्यान मार्ने उद्योग ।

 

पुनरावेदक/वादी : बारा जिल्ला, दक्षिण झिटकैया गाउँ विकास समिति वडा नं. २ बस्ने रामसागरप्रसाद यादवसमेतको जाहेरीले नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी/प्रतिवादी : बारा जिल्ला, दक्षिण झिटकैया गाउँ विकास समिति वडा नं. २ बस्ने प्रयागराय यादवसमेत ।

 

तेस्रो तत्त्वको अप्रत्यासित हस्तक्षेपले गर्दा ज्यान मार्ने कार्य गर्नेमा अभियुक्तले कुनै कसुर नराखेपनि त्यो परिणाम निक्लन पाएको   हुँदैन । ज्यान मार्ने उद्योगको अपराधको सम्बन्धमा पनि ज्यान मार्ने अपराध जस्तै शङ्का बिहिन तरिकाले प्रभावित हुन सक्ने प्रमाणिक प्राचुर्यताको अवस्था विद्यमान हुनुपर्ने । ज्यान मार्ने उद्योग अपराधका निर्माणक तत्त्वहरूले एकातिर ज्यानमाराको अपराध र अर्कोतर्फ कुटपिटको कसुरसँगको भिन्नता प्रष्ट पाईन्छ । ज्यानमाराको अपराधमा पनि ज्यान मार्ने मनसाय ( Means rea) र सो मनसायको साकारीकरण गर्ने कार्य (Actus rea)  समानरूपले विद्यमान 

हुन्छ । तर ज्यान मार्ने उद्योगको अपराधको निर्माणको तेस्रो तत्त्वको अप्रत्यासित अपर्झट उपस्थिति विद्यमान नहुने हुँदा ज्यानमाराको अपराधबाट भिन्न बनाउने ।

(प्रकरण नं. ४)

 

पुनरावेदक/वादीको तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता शंकरबहादुर राई

प्रत्यर्थी/विपक्षीको तर्फबाट : 

अवलम्बित नजिर :

ने.का.प. ०२९ को अङ्क १० पृष्ठ ३०५ नि.नं. ६९८ 

ने.का.प. २०३७ को पृष्ठ १४८ नि.नं. १३९२

ने.का.प. २०४३ को अङ्क २ पृष्ठ १०६ नि.नं. २६१७

ने.का.प. २०५१ को अङ्क १२ पृष्ठ ९४५ नि.नं. ५०१७

ने.का.प. २०५१ को अङ्क ४ पृष्ठ २६ नि.नं. ४८९०

ने.का.प. २०५६ को अङ्क ५ पृष्ठ ३८५ नि.नं. ६७२७ 

 

सम्बद्ध कानून : 

मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १५ नं.

 

सुरू तहमा फैसला गर्नेः-    

माननीय न्यायाधीश श्री व्रजेश प्याकुरेल 

पुनरावेदन तहमा फैसला गर्नेः-  

माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल 

माननीय न्यायाधीश श्री शारङ्गा सुवेदी

 

फैसला

न्या.ओमप्रकाश मिश्र : पुनरावेदन अदालत, हेटौंडाबाट मिति २०६८।१०।२४ मा भएको फैसलाउपर वादी नेपाल सरकारको तर्फबाट न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) अनुसार दोहोर्‍याई पाउँ भन्ने निवेदन परी निस्सा पाई पेस हुनआएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम्‌ ठहर यसप्रकार छः-

जिल्ला बारा दक्षिण झिकटैया गाउँ विकास समिति वडा नं. १ स्थित अच्छेलालको घरदेखि पूर्वमा रहेको खाली जमिनमा इट्टाका टुक्राहरू रहेको, अच्छेलाल यादव, रामबहादुर यादव, नन्दलाल यादवसमेत सिकिस्त घाइते बेहोस अवस्थामा रहेको, अच्छेलालको घरको भित्ता तोडफोड भएको भन्ने व्यहोराको घटनास्थल मुचुल्का ।

जिल्ला बारा दक्षिण झिकटैया गाउँ विकास समिति वडा नं. १ स्थित सार्वजनिक पोखरीदेखि दक्षिणमा रहेको अच्छेलालको १ तले फुसको घर छाना यत्रतत्र छरिएको अवस्थामा रहेको मूल ढोका उप्काई फालिदिएको, घरको खम्बाहरू भुइँमा लडेको अवस्थामा रहेको, घरभित्र रहेको काठका दराज खुल्ला अवस्थामा रही कागजपत्र केही नरहेको, घरभित्रको तोरी गहुँ अन्न यत्रतत्र छरिएको अवस्थामा रहेको भन्नेसमेत व्यहोराको घटनास्थल मुचुल्का ।

मिति २०६१।६।६ गते बिहान मेरा काका अच्छेलाल यादवलगायतका नन्दलाल यादव, रामबहादुर यादव, देवेन्द्र यादव, दिनेश यादवसमेत बसी गफ गरिरहेको अवस्थामा प्रयाग रायसमेतका विरूद्ध खण्डमा उल्लिखित प्रतिवादीहरू हातहातमा लाठी, फाटा, फर्सा लिई आई घेरा हाली घरभित्र प्रवेश गरी काका अच्छेलाल यादव, रामबहादुर यादवसमेतलाई कुटपिट तथा लुटपिट गरी घाइते बनाएकाले केस फाराम गराई पाउँ भन्नेसमेत व्यहोराको राजनेत राय यादवको निवेदन ।

म जाहेरवालाको काका अच्छेलाल यादव, नन्दलाल यादव, देवेन्द्र यादव, दिनेश यादव तथा दाजु रामबहादुर यादवसमेत बसि गफ गरिरहेको अवस्थामा विरूद्ध खण्डमा उल्लिखित प्रयाग राय यादवसमेतका प्रतिवादीहरूले हातहातमा लाठी फाटासमेत लिई आई घेरा हाली प्रतिवादीमध्येका प्रयाग रायले दिएको वचन अनुसार काका तथा दाजुहरूको ज्यान मार्ने उद्देश्यले लाठी, फाटासमेतले प्रहार गरी कुटपिट गरी बेहोस बनाई काका अच्छेलालको घर तोडफोडसमेत गरी धनमाल लुटी लगेकाले ज्यान मार्ने उद्योगमा कारवाही गरिपाउँ भन्नेसमेत व्यहोराको रामसागरप्रसाद यादवको जाहेरी दरखास्त ।

हामी घाइतेमध्येको अच्छेलालको ऐलानी जमिनमा रहेको घरमा जाने बाटो विपक्षी प्रयाग राय यादवसमेतले बन्द गरिदिएकाले सो सम्बन्धमा जिल्ला प्रशासन कार्यालय, बारामा निवेदन दिएकामा मिति २०६१।६।६ मा बिहान अन्दाजी ८.०० बजेको समयमा हामीहरू बसी गफ गरिरहेको अवस्थामा प्रयाग राय यादवसमेतका विरूद्ध खण्डमा उल्लिखित प्रतिवादीहरले हात हातमा लाठी फाटासमेत लिई आई हामीहरूलाई घेरा हाली प्रयाग रायले दिएको वचनअनुसार सम्पूर्ण प्रतिवादीहरूले हामीलाई कुटपिट गरी मरणासन्न अवस्थामा पुर्‍याई बेहोस बनाई अच्छेलालको घर तोडफोडसमेत गरी धनमाल लुटी लगेको र विपक्षीहरूको कुटाइको कारण हामी घाइते भएकाले तत्काल उपचारको लागि नलगेको भए हाम्रो ज्यानसमेत मर्न सक्ने थियो भन्नेसमेत व्यहोराको घाइते अच्छेलाल यादव, रामबहादुर यादव, देवेन्द्र यादव, दिनेश यादव र नन्दलाल यादवसमेतले गरेको एकै मिलानको बेग्ला बेग्लै कागज ।

मिति २०६१।६।६ मा बिहान अन्दाजी ८.०० बजेको समयमा अच्छेलाल यादव,  रामबहादुर यादव, देवेन्द्र यादव, दिनेश यादव तथा नन्दलाल यादवसमेतका व्यक्तिहरू बसि गफ गरिरहेको अवस्थामा जाहेरी दरखास्तमा उल्लिखित प्रयाग राय यादवसमेतका प्रतिवादीहरूले अच्छेलाल यादव, रामबहादुर यादवसमेतलाई लाठी फाटाले कुटपिट गरिरहेको अवस्थामा हामीहरू समेत बचाउनको लागि जान लाग्दा विपक्षीहरूले हामीलाई समेत ज्यान मारी दिने धम्की दिएकाले तत्काल प्रहरीलाई खबर गरी प्रहरी टोली आएपश्चात् विपक्षीहरू भागे, घाइतेहरूको उपचार गरी ज्यान बच्न गएको हो भन्नेसमेत व्यहोराको बुझिएका रामअवध प्रसाद यादव, जितनारायण राय यादव, मनोजराय, रघुनाथसमेतले गरेको एकैमिलानको बेग्ला बेग्लै कागज ।

अच्छेलाल यादवले करिब डेढ वर्ष अगाडि छठी माताको सार्वजनिक जमिनमा घर बनाई बसेकाले मिति २०६१।६।६ मा बिहान हामीहरूले उक्त घर भत्काई दिने योजना बनाई हामीहरू समेत घटनास्थलमा गएका हौं, सो ठाउँमा गै घर भत्काउन खोज्दा अच्छेलाल यादव, रामबहादुर यादव, दिनेश यादव, देवेन्द्र यादव, नन्दलाल यादवसमेतले रोक्न  खोजेकाले झै झगडा हुँदा निजहरूलाई कुटपिटसमेत गरेको हो, उक्त घटनामा गाउँका धेरै मानिसहरू थिएँ भन्नेसमेत व्यहोराको प्रतिवादीहरू पहवारी साह, श्यामभजनप्रसाद यादव र मुकेसप्रसाद यादवले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको एकै मिलानको अलग अलग बयान ।

मिति २०६१।६।६ मा बिहान ८.०० बजेको समयमा अच्छेलाल, रामबहादुर यादवसमेतका व्यक्तिहरू बसि घरमा गफ गरिरहेको अवस्थामा जाहेरी दरखास्तमा उल्लिखित प्रतिवादीहरूले अच्छेलाल यादवसमेतलाई लाठी फाटासमेतले कुटपिट गरी घाइते बनाई ज्यान मार्ने उद्योग गरेका हुन भन्नेसमेत व्यहोराको वस्तुस्थिति मुचुल्का ।

रमु भन्ने रामबहादुर राय यादवको टाउकोको विभिन्न भागमा मर्ने अवस्थाको कडा घा चोट लागेको भन्ने घा जाँच केस फाराम ।

अच्छेलाल यादवसमेतलाई घा चोट लागेको भन्ने घा जाँच केस फाराम ।

प्रतिवादीहरूले गरेको कार्य मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. ले निषेध गरेको ज्यान मार्ने उद्योगको कार्य देखिएकाले विरूद्ध खण्डमा उल्लिखित प्रतिवादीहरू जना १८ लाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १५ नं. को कसुर अपराधमा सोही महलको १५ नं. बमोजिम सजाय गरिपाउँ, अभियोगसाथ तत्काल पक्राउ परेका प्रतिवादीहरू श्यामभजनप्रसाद यादव, मुकेसप्रसाद यादव र पहवारी साहलाई पेस गरिएको रहेछ । पक्राउ हुन नसकी फरार रहेका प्रतिवादीहरू प्रयागराय यादव, चन्द्रेश्वरराय यादव, उदयचन्द्रप्रसाद यादव, मोहनप्रसाद यादव, पुनितप्रसाद यादव, मो.साहेव हजरा, पन्नालालप्रसाद यादव, जगतनारायण प्रसाद यादव, धनपतराय यादव, गनपतराय यादव, बच्चा साह, लहवारी साह, जितेन्द्र ठाकुर लोहार, गोपालराय यादव र विगनराय यादवसमेतलाई अदालतबाट वारेन्ट जारी गरिपाउँ भन्नेसमेत व्यहोराको जिल्ला सरकारी वकिल कार्यालय, बाराले जिल्ला अदालत, बारामा पेस गरेको अभियोग पत्र ।

अभियोग पत्र साथ पेस भएका प्रतिवादीहरू श्यामभजनप्रसाद यादव, मुकेसप्रसाद यादव, पहवारी साह उपस्थित भएका बच्चा साहको मिति २०६४।५।१०।२ मा अभियोग दाबीबमोजिम ज्यान मार्ने उद्योग गरेको कसुर ठहर भै जनही ५ वर्ष कैद हुने र अन्य प्रतिवादीहरूको हकमा मुलतबी रहने गरी बारा जिल्ला अदालतको फैसला भएको रहेछ ।

वारदात मितिभन्दा एक दिनअगाडि मिति २०६१।६।५ गतेका दिन म रा.प्र.पा. को जिल्ला अध्यक्ष उपस्थित भै पार्टीको मिटिङ भएकाले कलैयामा बसि सो ५ र ६ गते पनि कलैयामा नै 

भएको । जाहेरवालाहरू नेपाली काँग्रेस पार्टीका मानिस हुँदा मउपर झुट्ठा उजुर दाबी लिएका हुन् । वारदातस्थल भनिएको ठाउँमा छठीमाईस्थान भएको सार्वजनिक स्थल जग्गा भई सो स्थानमा जाहेरवालाहरूले घर हटाउन गएका अवस्थामा झै झगडा भएका भन्ने मैले थाहा पाएको हुँ । उक्त वारदात मिति स्थानमा सो कार्य नभएकाले अभियोग दाबी झुट्ठा हो । दाबीअनुसार सजाय हुनुपर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी प्रयागराय यादवले बारा जिल्ला अदालतमा गरेको बयान ।

मैले अभियोग मागदाबीबमोजिम कसुर गरेको होइन । प्रयागराय यादवको नेतृत्वमा उक्त घटना भएको भन्ने झुट्ठा हो । निज मेरा भाई नाताका व्यक्ति भएबाट सो दिन आफ्नो घरमा नभै कलैयामा भएकाले निजको नेतृत्वमा घटना घटेको भन्ने नै झुट्ठा हो । सो दिन म वडकीफलवरीया देवापुर चौक भन्ने ठाउँमा भएको पसलमा चोरी भएको र गाउँलेहरूले तत्काल चोरहरूलाई समाती सामान फिर्ता गराई चोरबाट गाउँलेले दण्डस्वरूप असुल गरेको चन्दाको रकमबाट पूजा गर्ने विषयमा छलफल गर्नलाई मलाई बोलाएकाले म त्यहाँ गएको थिएँ । सो वारदात मिति स्थानमा म नभएकाले मेरोउपरको अभियोग दाबी झुट्ठा हो भन्नेसमेत व्यहोराको प्रतिवादी चन्देश्वर यादवले बारा जिल्ला अदालतमा गरेको बयान ।

वारदात मिति समयमा म भारतको बैंगलोर स्थित इस्टप्वाइन्ट आफ फार्मेसी कलेजमा भर्नाको लागि त्यहाँ गएको थिएँ । पछि कलेजबारे बुझी घरमा आउँदा मात्र रामबहादुर अच्छेलाल र गाउँलेहरू बीच विवाद भई झगडा भएको भन्ने सुनेको हुँ । को को भै के कस्तो किसिमको झगडा हो, को कसलाई चोटपटक लाग्यो भन्नेबारेमा मलाई थाहा नै नहुँदा अभियोग दाबी झुट्ठा हो, सफाइ पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी उदयचन्द्र यादव भन्ने उदयप्रसाद यादवले बारा जिल्ला अदालतमा गरेको बयान ।

मिति २०६१।६।६ का दिन म तथा प्रतिवादी चन्देश्वरप्रसाद यादव घुम्तीमा भएको चोरी विषयमा चोरलाई समातेकाले देवापुर चोकमा पञ्चायती गर्नु छ । दुर्गा पूजाको लागि चन्दा उठाउनु छ भनी दिन भरी सँगै साथ रहेको र पछि सार्वजनिक जग्गाको लागि झगडा भैरहेको छ भन्ने सुनी थाहा पाएकाले उक्त कार्यमा निजको संलग्नता नभएको भन्नेसमेत व्यहोराका प्रतिवादी चन्देश्वरप्रसाद यादवको साक्षी सितारामयादवले बारा जिल्ला अदालतमा गरेको बकपत्र ।

मिति २०६१।६।५ मा रा.प्र.पा. जिल्ला कार्य समितिको बैठक १०.०० बजे देखि पार्टी कार्यालयमा सुरू भै बैठकको कार्य सम्पन्न नभएकाले भोलिपल्ट मिति २०६१।६।६ को बिहान ६.०० बजेदेखि १२.०० बजेसम्म चल्यो । त्यसपछि खानपिन गरेर २/३ बजे कलैयाको घर गएँ । अभियोग दाबीबमोजिम कसुर गरेको नहुँदा सजाय पाउनु पर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी प्रयागराय यादवको साक्षी मिश्रीप्रसाद यादवले बारा जिल्ला अदालतमा गरेको बकपत्र ।

प्रस्तुत मुद्दामा कसुर ठहर भै सजायसमेत भोगेका प्रतिवादीहरूले अन्य प्रतिवादीहरू कसैलाई पनि पोल गर्न सकेको पाइँदैन । बुझिएका व्यक्ति रघुनाथ तथा जितनारायणले अदालतमा बकपत्र गर्दासमेत वारदातमा यी प्रतिवादीहरूको उपस्थित देखाए तापनि को कसको हातमा लाठी थियो र को कसले को कसलाई के के ले हिर्काए खुलाउन सक्दैनौँ भनी बकपत्र गरेको देखिन्छ । पीडित भनिएका रामबहादुरले अदालतमा बकपत्र गर्दा स.ज. ९ मा प्रयाग, मुकेस, रामभजन तथा पहवारीले पहिला प्रहार गरे अरू कसले गरे थाहा भएन भनी र स.ज. १२ मा प्रयागले हातले हिर्काए त्यसपछि पहवारीले फाटाले टाउकामा हिर्काए भनी गरेको बकपत्रबाट पनि प्रतिवादी प्रयाग रायले पीडितको टाउकामा ज्यान मार्ने उद्देश्यले हिर्काएको भन्ने र अन्य प्रतिवादीहरूले पीडितलाई हातहतियारले हिर्काएको भन्ने खुल्न सकेको पाइँदैन । त्यस्तै बुझिएका मनोज रायले पहिला प्रहार प्रयाग रायले गरे भनी भने तापनि अन्य को कसले के हतियारले कहाँ प्रहार गरे थाहा भएन भनी प्रतिवादी चन्देश्वर र प्रतिवादी उदयरामको नाम किटान साथ खुलाउन सकेको पाइँदैन ।

पीडित रामबहादुर तथा अर्का पीडित अच्छेलालले अदालतमा गरेको बकपत्रमा पहिला कसले कस्लाई केले प्रहार गरे भन्ने भनाइमै एकरूपता नआई परस्पर बाँझिन गएको   पाइन्छ । प्रतिवादीहरू चन्देश्वर तथा उदयराजको सम्बन्धमा पनि यी प्रतिवादीहरू वारदातस्थलमा उपस्थित रहेकै कारणबाट मात्र ज्यान मार्ने उद्योग जस्तो गम्भीर कसुर गरेको हो भनी ठोस प्रमाणको आधारमा दोषी मान्न मिल्ने देखिँदैन । तसर्थ उपस्थित प्रतिवादीहरूको बयान व्यहोरा, निजहरूको सम्बन्धमा जाहेरवाला, बुझिएका व्यक्तिहरूको भनाइ व्यहोरा प्रतिवादीहरूका साक्षीहरूको बकपत्र, स्वयम्‌ पीडित एवम् जाहेरवालाको बकपत्रसमेतबाट प्रतिवादीहरू प्रयाग राय, चन्देश्वर राय तथा उदयचन्द्र वारदात समयमा वारदातस्थलमा रहेको भन्ने देखिए तापनि यी प्रतिवादीहरूले रामबहादुरलगायत पीडितहरूलाई ज्यान मार्नेसम्मको कार्य गरी चोट छोडेको प्रमाणबाट पुष्टि हुनआएको नदेखिएको हुँदा अभियोग मागदाबीबाट सफाइ पाउने ठहर्छ ।

साथै अन्य फरार प्रतिवादीहरूको हकमा 

आजै मुल्तवीबाट जगाई प्रमाणबाट ठहरेबमोजिम फैसला गरे हुने भै इन्साफतर्फ विचार गर्दा फरार रहेका प्रतिवादीहरू मोहनप्रसाद यादव, पुनितप्रसाद यादव, मोसाहेवस हजरा, पन्नालालप्रसाद यादव, जगतनारायण प्रसाद यादव, धनपतराय यादव, गनपतराय यादव, लहवारी साह, जितेन्द्र ठाकुर लोहार, गोपालराय यादव र विगन राय यादव भन्ने व्यक्तिहरू वारदातस्थलमा उपस्थित रहेका थिएँ भन्ने जाहेरवाला तथा पीडितको बकपत्र कागजबाट खुल्न आए तापनि यी फरार प्रतिवादीहरू को कसले घाइतेहरूलाई के कस्तो हतियार प्रयोग गरी चोट छोडेका र ज्यान मार्ने उद्योगको कसुर गरेका हुन भन्ने कुरा मिसिल प्रमाण एवम् अदालतमा बयान बकपत्र गर्ने व्यक्तिहरूको भनाइबाट पुष्टि हुनसकेको नपाइँदा फरार प्रतिवादीहरू मोहन प्रसाद यादव, पुनितप्रसाद यादव, मोसाहेव हजरा, पन्नालालप्रसाद यादव, जगतनारायण प्रसाद यादव, धनपतराय यादव, गनपतराय यादव, लहवारी साह, जितेन्द्र ठाकुर लोहार, गोपालराय यादव र विगतराय यादवले कसुरबाट सफाइ पाउने ठहर्छ भन्नेसमेत व्यहोराको सुरू बारा जिल्ला अदालतको मिति २०६६।१२।५ गतेको फैसला ।

मुद्दाको अनुसन्धानको क्रममा फरार भै अदालतमा उपस्थित भएका प्रतिवादी प्रयागराय यादवले वारदातको समयमा कलैया बजारमा रहेको भनी जिकिर लिएको, प्रतिवादी उदयचन्द्र प्रसाद यादव भारतको बैंङलोरमा रहेको भन्ने जिकिर लिएको भए तापनि यी प्रतिवादीहरूले वारदातको समयमा आफूहरू अन्यत्र रहेको (Alibi) जिकिर पुष्टि गर्न सकेका छैनन् भने बुझिएका रघुनाथ तथा जितनारायण समेतले अदालतमा गरेको बकपत्रबाट यी प्रतिवादीहरूको उपस्थित वारदातस्थलमा रहेको भनी तथा बुझिएका मनोजराय तथा पीडित रामबहादुरले अदालतमा बकपत्र गर्दा पहिला प्रयागराय यादवले ज्यान मार्ने उद्योगले लाठीले प्रहार गरेको भनी स्पष्टसँग लेखाई दिएको व्यहोरालाई प्रमाण ऐन २०३१ को दफा १८ बमोजिम प्रमाणमा लिनुपर्नेमा नलिई प्रतिवादी प्रयागराय यादवको नेतृत्वमा उदयचन्द्र, चन्देश्वर समेतका व्यक्तिले कुटपिट गरी ज्यान मार्ने उद्योगको वारदात भएको स्वीकार गरी प्रतिवादी प्रयागराय यादव समेतलाई सफाइ दिने गरी भएको उक्त फैसला त्रुटिपूर्ण भै बदर भागि छ । मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १५ नं. “‍......त्यस्तो कार्य गर्ने र गर्न लगाउने तथा सो ठाउँमा गै वचन दिने वा मद्दत गर्नेलाई ........” भन्ने स्पष्ट कानूनी व्यवस्था गरेको छ । वारदातस्थलमा प्रयागराय यादवको नेतृत्व रहेको र ज्यान मार्ने उद्योगको वारदात भएको भन्ने  कुरालाई एकातिर फैसलामा स्वीकार गरिएको छ भने अर्कोतिर घाइतेहरूलाई कुटपिट गर्ने, हिर्काउने, ज्यान मार्ने उद्देश्यले पीडितहरूलाई कुटपिट गर्ने चन्देश्वरराय यादव, उदयचन्द्र यादवसहित समान स्थितिका अन्य फरारी प्रतिवादीहरूलाई कसुर ठहर गरी सजाए गर्नु पर्नेमा श्यामभजन प्रसाद यादव, मिति २०६४।५।१० मा फैसला तथा प्रत्यक्षदर्शीहरूको किटानी भनाइ रहेको कुरातर्फसमेत नजरअन्दाज गरी 

प्रतिवादीहरूलाई सफाइ दिने गरी भएको सो फैसलामा प्रतिवादीहरूलाई सफाइ दिन अवलम्वन गरेको निर्णयाधार नै मनोगत तथा न्यायको रोहमा त्रुटिपूर्ण हुँदा स्वतः बदर भागी छ । प्रस्तुत मुद्दाका अन्य फरार प्रतिवादी मोहनप्रसाद यादवसमेतको हकमा मुल्तवीबाट जगाई फैसला गर्दा यी प्रतिवादीहरू वारदातस्थलमा रहेको जाहेरवाला तथा पीडितको बकपत्रबाट देखिए तापनि कस्तो हतियारले प्रहार गरेको पुष्टि नभएको भन्ने आधार लिएको 

देखिन्छ । यी प्रतिवादीहरू उपर किटानी जाहेरी, पीडित र प्रत्यक्षदर्शीको पोल रहेको छ । मिसिलमा रहेको तथ्य प्रमाण साथै प्रतिवादीहरूले आरोपित कसुरमा संलग्न नभएको भनी अदालतमा उपस्थित भै आफू विरूद्धको आरोप खण्डन गरी सफाइ लिन सकेको अवस्था समेत नभै हालसम्म पनि आफ्नो कर्तुतको फलस्वरूप सजाय हुने भयले प्रतिवादीहरूको संलग्नता रहेको हदसम्म स्वीकार गरी आरोपित कसुरबाट सफाइ दिने गरी भएको फैसला व्याख्याको हिसाबले समेत त्रुटिपूर्ण भै बदर भागी छ । अतः माथि उल्लिखित आधार प्रमाण एवम् कारणहरूबाट प्रतिवादीहरूलाई सफाइ दिने गरी भएको बारा जिल्ला अदालतको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी प्रतिवादीहरूलाई अभियोग दाबीबमोजिम सजाय हुन सम्मानित अदालतसमक्ष सादर अनुरोध छ भन्नेसमेत व्यहोराको मिति २०६७।६।३ गतेको नेपाल सरकारको पुनरावेदन अदालत, हेटौडामा चढाएको पुनरावेदन पत्र ।

यसमा पीडित रामबहादुर तथा जाहेरवाला रामसागर प्रसादसमेतले गरेको बकपत्र समेतबाट अदालतमा उपस्थित भै बयान गर्ने प्रतिवादी प्रयागराय यादव लगायतका अन्य फरार रहेका प्रतिवादीहरू समेत घटनास्थलमा मौजुदा रही प्रतिवादी प्रयागरायले वचन समेत दिई हातहातमा लाठी फट्टासमेत लिई घेरा हाली प्रहार कुटपिट गरी बेहोस पारी घाइते बनाई ज्यान मार्ने उद्योग गरेको भनी किटानी पोल गरेको, पीडितहरूलाई घा चोटसमेत लागेको घा जाँच केस फारामबाट देखिएको, एकै वारदातमा संलग्न प्रतिवादीहरूमध्ये श्याम, मुकेस पहवारी, बच्चा साहलाई ज्यान मार्ने उद्योगको कसुरमा कैद सजायसमेत हुने ठहर भएको अवस्थामा यी प्रत्यर्थी प्रतिवादीहरूलाई आरोपित कसुरबाट सफाइ दिने गरी सुरूबाट भएको फैसला प्रमाण मूल्याङ्कनको सन्दर्भमा फरक पर्न सक्ने देखिँदा मुलुकी ऐन, अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थी झिकाई नियमानुसार पेस गर्नु भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, हेटौंडाको मिति २०६७।९।२० गतेको आदेश ।

पीडितहरू अच्छेलालराय यादव, रामबहादुर यादवले अदालतमा उपस्थित भै बकपत्र गर्दा सबै प्रतिवादीहरूले लाठी भालासमेत प्रयोग गरी कुटपिट गरी ज्यान मार्ने उद्योग गरेका हुन भनी लेखाइदिएको पाइन्छ भने यो यसले यो हतियार प्रयोग गरी ज्यान मार्ने उद्योग गरेका हुन् भनी लेखाउन नसकेको र यो कारणबाट आफ्नो ज्यान बच्न पाएको हो भनी भन्न  सकेको देखिन आएन । घा जाँच केस फाराम हेर्दा, पीडित रामबहादुरबाहेकका अन्यको आङ, जिउमा मर्नेसम्मका चोटपटक भएको अवस्था समेत नभएका यी प्रतिवादीहरूले पीडित रामबहादुरलाई ज्यानै मार्ने मनसायले घातक हतियार प्रयोग गरी वा मार्नको लागि मर्नेसम्मको काम गरेको अवस्था मिसिलबाट पुष्टि हुन नसकेको जाहेरवाला र यी प्रतिवादीहरू विचमा ज्यान मार्नेसम्मको पूर्व रिसइवी, मनसायसमेत रहे भएको मिसिलबाट प्रमाणित नभएको, पीडित मध्येका अच्छेलाल यादवको घर भत्काउने विषयमा विवाद भएको भन्ने देखिएको र गाउँका धेरै मानिस उपस्थित भएको भन्ने देखिएको यस्तो अवस्थामा अच्छेलाल समेतका व्यक्तिहरूले रोक्न खोज्दा विवाद भएको, प्रत्यक्ष देख्ने भनिएका प्रत्यक्षदर्शी रामअवध प्रसाद, जितनारायण यादव, मनोजराय यादव, रघुनाथराय यादवलगायत वस्तुस्थिति मुचुल्काका कैलासराय यादवसमेतका मानिसहरूले सबै प्रतिवादीहरूले भाला लाठीसमेतका जोखिम हतियारले प्रहार गरेको भनेपनि प्रति व्यक्ति यो यसरी यसले प्रहार गर्दा रामबहादुरलाई मर्नेसम्मको चोट लागेको भनी यी प्रतिवादीहरूलाई किटान गर्न लेखाउन नसकी हचुवाको भरमा सबै प्रतिवादीहरूले भाला लाठीले प्रहार गरेको भनी लेखाएबाट सो वारदातमा यी प्रतिवादीहरू समेतको संलग्नता रहेको होला भनी अनुमान गरी सजाय गर्नु फौजदारी न्यायको सिद्धान्तविपरीत हुने 

देखिन्छ । पीडित रामबहादुरको चोटसमेतलाई विचार गरी निजलाई कुटपिट गर्ने प्रतिवादीहरू श्यामभजनप्रसाद यादव, प्र. मुकेसप्रसाद यादव, पहवरी साह र बच्चा साह उपरको कसुर ठहर भैसकेको मिसिल संलग्न सवुद प्रमाणबाट समेत देखिँदा अन्य प्रतिवादीहरूलाई समेत सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन ।

अतः प्रतिवादी प्रयागराय समेतका प्रतिवादीले जाहेरवालालाई ज्यान मार्ने मनसायले कुटपिट गरेको भन्ने नदेखिँदा ज्यानसम्बन्धी महलको १५ नं. बमोजिम प्रतिवादीहरू प्रयागराय यादव, चन्देश्वरराय यादव, उदयचन्द्र प्रसाद यादव, मोहनप्रसाद यादव, पुनितप्रसाद यादव, मो साहेव हजरा, पन्नालालप्रसाद यादव, जगतनारायण प्रसाद यादव, धनपतराय यादव, गनपतराय यादव, लहवारी साह, जितेन्द्र ठाकुर लोहार, गोपालराय यादव र विगनराय यादवलाई सजाय गरिपाउँ भन्ने कसुरबाट सफाइ दिने गरी ठहर्‍याई भएको बारा जिल्ला अदालतको मिति २०६६।१२।१२ को फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ भन्नेसमेत व्यहोराको मिति २०६८।१०।२४ गतेको पुनरावेदन अदालत, हेटौंडाको फैसला ।

ज्यान मार्ने उद्योगको कसुर अपराधको तथ्यमा विवाद नरहेको, एउटै वारदातको केहि प्रतिवादीले सफाइ पाएका केहिको हकमा मात्रै ठहर रहेको, जाहेरवाला र पीडितले अदालतमा आएर नै बकपत्रसमेत गरेको हुँदा प्रमाण ऐन, २०३१ को दफा १०(१)(ख) र १८ बमोजिम प्रमाण ग्रहण गर्नुपर्नेमा नगरी प्रमाण ऐन, २०३१ को दफा ५४ विपरीत भएको उक्त फैसला बदर गरिपाउँ भनी न्याय प्रशासन ऐन, २०४८ को १२(१)(क) को बमोजिम प्रस्तुत मुद्दा दोहोर्‍याई पाउँ भन्नेसमेत व्यहोराको निवेदनपत्र । 

वारा जिल्ला अदालतबाट मिति २०६४।५।१० मा प्रतिवादीहरू श्यामभजन, मुकेसप्रसाद यादव हवारीयादव तथा बच्चा साहले घाइतेमध्येका रामबहादुर यादवलाई ज्यान मार्ने उद्योगको कसुर गरेको ठहरी फैसला भै अन्तिम भै बसेबाट वारदात घटेको कुरा पुष्टि भैरहेको उल्लिखित चारजना प्रतिवादीहरूलाई ज्यानसम्बन्धी महलको १५ नं. को कसुर कायम भै सजायसमेत भैसकेको अवस्था छ । पीडित रामबहादुर यादवले उक्त वारदातमा सबै प्रतिवादीहरूको संलग्नता थियो भनी अदालतसमक्ष बकपत्र गरेको र ज्यान मार्ने उद्देश्यले नै प्रहार गरेको भनी उल्लेख गरेको अवस्था रहेको र उक्त तथ्यलाई घा जाँच केस फारामसमेतले पुष्टि गरिरहेको अवस्थामा हातमा लाठी लिई फट्टा समेतका हतियार लिई घटनास्थलमा मौजुद भै घेरा हाली मार्न बचन आदेश दिने चोटसमेत प्रहार गरी वारदातमा सबै प्रतिवादीहरू संलग्न रहेको भनी अदालतसमक्ष गरेको पीडितको बकपत्रलाई प्रमाणको रूपमा ग्रहण गर्नु पर्नेमा सो नगरी हचुवाको भरमा फरार प्रतिवादीहरू मोहन प्रसाद यादव, पुनितप्रसाद यादव, मोसाहेव हजरा, पन्नालालप्रसाद यादव, जगतनारायण प्रसाद यादव, धनपतराय यादव, गनपतराय यादव, लहवारी साह, जितेन्द्र ठाकुर लोहर, गोपालराय यादव, र विगतराय यादवले कसुरबाट सफाइ पाउने ठहर्‍याएको सुरू बारा जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत, हेटौंडाको फैसलामा प्रमाण ऐन, २०३१ को दफा ३, ५४ तथा १०(१)(ख) १८ र ज्यानसम्बन्धी महलको १५ नं. को त्रुटि देखिँदा न्याया प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) अनुसार प्रस्तुत मुद्दा दोहर्‍याई हेर्ने निस्सा प्रदान गरिएको छ भन्ने यस अदालतको मिति २०७०।४।१६ गतेको आदेश ।

मिति २०७०।४।१६ गतेको निस्सा हाम्रो अनुपस्थितिमा भएको हो । प्राकृतिक न्यायको सिद्धान्तविपरीत र कानूनको मान्य सिद्धान्तविपरीत हुनुको साथै अनुमति दिँदा सर्वोच्चबाट प्रतिपादित सिद्धान्तहरू र नजिरहरूका आधारमा दिनुपर्ने सो नदिएको, स्पष्ट कानूनी व्यवस्था र विद्यायिकी मनसायविपरीत मुद्दा दोहोर्‍याई पाउने गरी भएको उक्त मितिको आदेश त्रुटिपूर्ण भएकाले बदर गरी पुनरावेदन अदालत, हेटौडाको मिति २०६८।१०।२४ को फैसला नै सदर ठहर्‍याई इन्साफ गरिपाउँ भन्नेसमेत व्यहोराको प्रत्यर्थी मोहनप्रसाद यादवसहित जना १४ को संयुक्त लिखित जवाफ ।

नियमबमोजिम साप्ताहिक एवम् दैनिक पेसी सूचीमा चढी निर्णयार्थ इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान्‌ उपन्यायाधिवक्ता श्री शंकरबहादुर राईले प्रतिवादीहरूले ज्यानमार्ने उद्योगको कसुर अपराध गरेकामा विवाद नरहेको, एउटै वारदातको केही प्रतिवादीहरूले सफाइ पाएका केहीको हकमा ठहर गरेको, जाहेरवाला र पीडितहरूले अदालतमै आएर बकपत्रसमेत गरेको हुँदा प्रमाण ऐन, २०३१ को दफा १०(१)(ख) र १८ बमोजिम प्रमाण ग्रहण गर्नुपर्नेमा नगरी प्रमाण ऐन, २०३१ को दफा ५४ विपरीत भएको पुनरावेदन अदालत, हेटौंडाले गरेको फैसला बदर गरी प्रतिवादीहरू सबैलाई ज्यान मार्ने उद्योगमा सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको बहस गर्नुभयो भने प्रतिवादीहरूका तर्फबाट उपस्थित विद्वान्‌ वरिष्ठ  अधिवक्ता श्री महादेव यादव र विद्वान्‌ अधिवक्ता श्री रामकृष्ण काफ्लेले के कुन प्रतिवादीहरूले पीडित जाहेरवाला भनिएका व्यक्तिहरूलाई के कुन हतियारले प्रहार गरी के कति गम्भीर घाइते बनाए सो कुरा जाहेरवालाले खुलाउन नसकेको, जाहेरवालाहरू स्वयम्‌ले अदालतमा बकपत्र गर्दा व्यहोरा एक आपसमा बाझिएको, प्रतिवादीहरूले ज्यान लिनेसम्मको कुनै रिसइवी झै झगडा नभएको कतिपय प्रतिवादीहरू वारदातस्थलमा उपस्थित नै नभएको, जाहेरवाला पक्षका अच्छेलाल यादवले छठिमाताको सार्वजनिक जमिनमा घर बनाई बसेको कारणले सो घर भत्काउनु पर्छसम्म भनी प्रतिवादीमध्येका केहि व्यक्तिले भनेको कारणले राजनीतिक आस्थालाई आधार बनाई झुट्ठा मुद्दा लगाएकाले पुनरावेदन अदालत, हेटौडाले प्रतिवादीहरूलाई सफाइ दिने गरी फैसलालाई नै सदर गरिपाउँ भनी गर्नुभएको बहससमेत सुनियो ।

अब बारा जिल्ला अदालतले पुनरावेदक प्रतिवादीहरूलाई सफाइ दिने गरी गरेको फैसलालाई सदर गर्ने गरेको पुनरावेदन अदालतको फैसला मिलेको छ छैन, पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्छ कि सक्दैन भन्ने सो विषयमा निर्णय दिनुपर्ने  देखियो ।

२. निर्णयतर्फ विचार गर्दा, यसमा मिसिल अध्ययन गरी हेर्दा मिति २०६१।६।६ गते बिहान अन्दाजी ८.०० बजेको समयमा प्रयागराय यादव, चन्द्रेश्वर यादव, उदयचन्द्र प्रसाद यादव, मोहनप्रसाद यादव, पुनितप्रसाद यादव, जगतनारायण यादव, मो.साहेब हजारा, पन्नालालप्रसाद यादव, धनपत राय, गनपतराय यादव, लहवारी शाह, जितेन्द्र ठाकुर, गोपालराय, विगनराय श्यामभजन प्रसाद यादव, मुकेसप्रसाद यादव, पहवारी शाह र बच्चा शाह समेतका प्रतिवादीहरूले रमु भन्ने  रामबहादुर राय यादव, अच्छेलाल यादव समेतलाई लाठी, भाटा, फर्सासमेतका हतियारले प्रहार गरी घाइते बनाएकाले प्रतिवादीहरूको उक्त कार्य मुलुकी ऐन ज्यानसम्बन्धी महलको १ नं. विपरीत १५ नं. को कसुर अपराध भएकाले ऐ. महलको १५ नं. बमोजिम सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको अभियोगपत्रको मागदाबी भएकामा प्रतिवादी मध्येका श्यामभजनप्रसाद यादव, मुकेसप्रसाद यादव, पहवारी शाह र बच्चा शाहलाई ५ वर्ष कैद हुने ठहरी फैसला भएको र अन्य फरार प्रतिवादीहरूको हकमा मुलतबी रहेकामा पछि अन्य प्रतिवादीहरू पनि रूजु हाजिर भई मुलतबी जागी फैसला हुँदा अन्य प्रतिवादीहरूको कसुर अपराधमा संलग्नता नदेखिएकाले सफाइ पाउने ठहर्‍याई बारा जिल्ला अदालतबाट फैसला भएकामा सोउपर वादी नेपाल सरकारको पुनरावेदन अदालत हेटौंडामा पुनरावेदन परेकामा बारा जिल्ला अदालतबाट भएको फैसला सदर गर्नेगरी पुनरावेदन अदालतबाट फैसला भएउपर चित्त नबुझाई वादी नेपाल सरकारको मुद्दा दोहोर्‍याई पाउँ भन्ने निवेदन परी सोमा निस्सा प्राप्त भै प्रस्तुत पुनरावेदन पर्न आएको देखिन्छ ।

३. निर्णयतर्फ विचार गर्दा मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १५ नं. अनुसार ज्यान मार्ने मनसायले गोलि चलाउने वा बम हान्ने वा घातक हतियारले काट्ने वा मार्नका लागि अरू जुनसुकै कुराको उद्योग गरी मर्नेसम्मको काम गरेकामा कुनै कारणले ज्यान मर्न पाएको रहेनछ भने त्यस्तो काम गर्ने र लगाउने तथा सो ठाउँमा गै वचन दिने वा मद्दत गर्ने लाई बाह्र वर्षसम्म कैद गर्नुपर्छ भन्ने व्यवस्था देखिन्छ । ज्यान सम्बन्धी अपराधहरू मध्ये कर्तव्य ज्यान (Murder) र यसको उद्योग (Attempt to murder) को विचमा अपराधका तत्त्वहरूको रूपमा रहेका आपराधिक कार्य (Aucts reas)  र आपराधिक मनसाय (Mens rea) को संयोजनात्मक उपस्थितिको दृष्टिबाट भिन्नता रहेको हुँदैन दुवै प्रकृतिका अपराधमा सो अपराध गर्ने व्यक्तिले पीडितको मृत्युको मनसाय राखेर आफ्नो कार्यबाट आपराधिक कार्य सम्पन्न गरेको हुन्छ । तर ज्यानमार्ने उद्योगको अपराध कायम हुनको लागि कुनै कारणले कर्ताको अपेक्षा अनुसार पीडितको मृत्यु भएको हुँदैन । ज्यानसम्बन्धी महलको १५ नं. बमोजिम मनसाय तत्त्वको विद्यमानता आवश्यक हुन्छ र यस्तो मनसाय अभियुक्तको क्रियाबाट स्पष्ट 

हुनुपर्छ । ज्यानमार्ने मनसाय रहेको अवस्थामा ज्यानै मार्न नपाएको स्पष्ट कारण अवस्था देखिनु पर्दछ ।

४. श्री सर्वोच्च अदालतबाट पनि ज्यान मार्ने उद्योगको निर्णायक तथ्यको सम्बन्धमा विभिन्न मुद्दाहरूमा व्याख्या भएको पाइन्छ । जस्तो ने.का.प. ०२९ को अङ्क १० पृष्ठ ३०५ नि.नं. ६९८ श्री ५ को सरकार विरूद्ध कविराज सुनार भएको ज्यान मार्ने उद्योग मुद्दामा डिभिजन बेञ्चबाट मर्नेसम्मको काम गरिसकेको नदेखिए ज्यानसम्बन्धी महलको १५ नं. बमोजिम सजाय गर्न नमिल्ने भनी व्याख्या भएको त्यस्तै ने.का.प. २०३७ को पृष्ठ १४८ नि.नं. १३९२ डिल्लीप्रसाद सिंखडासमेत विरूद्ध श्री ५ को सरकार भएको ज्यान मार्ने उद्योग मुद्दामा श्री सर्वोच्च अदालतबाट वारदात अवस्थामा कसैले हटक गरेकोबाट बाध्य भई छोड्नु पर्दा छाडिएकोबाट घाइते बच्न गएको नभई प्रतिवादीहरू आफै स्वेच्छाले छाडिएको देखिन आएकाले समेत वारदातमा प्रयोग गरेको साधन र वारदातको प्रकृतिबाट समेत प्रतिवादीको नियत ज्यान मार्ने थियो भन्ने देखिँदैन भनी व्याख्या भएको पाइन्छ त्यस्तै ने.का.प. २०४३ को अङ्क २ पृष्ठ १०६ नि.नं. २६१७ राधेश्याम तेली विरूद्ध श्री ५ को सरकार भएको ज्यान मार्ने उद्योग मुद्दामा पूर्ण इजलासबाट कुनै व्यक्तिले गरेको कार्य कस्तो छ सो हेरी निजले गरेको अपराधजन्य कार्यबाट नै मनसाय तत्त्व पहिल्याउन सकिने हुन्छ, अपराधजन्य कार्य नै मनसाय तत्त्व पैल्याउने सशक्त एवम्‌ भरपर्दो माध्यम हो भनी व्याख्या भएको छ भने सोही ने.का.प. २०४३ को अङ्क ८ पृष्ठ ८१० नि.नं. २८२६ इस्लाम मुद्दीन जुलाहा विरूद्ध श्री ५ को सरकार भएको ज्यान मार्ने उद्योग मुद्दामा संयुक्त इजलासबाट ज्यान मार्ने उद्योगको मुद्दाहरूमा ज्यान मार्ने मनसाय कुनैमा स्पष्ट नै देखिने हुन्छ कुनैमा अभियुक्तले गरेको आपराधिक कृयाबाट उसको मनसाय पत्ता लगाउनु पर्ने हुन्छ भनी व्याख्या भएको पाइन्छ । त्यस्तै ने.का.प. २०५१ को अङ्क १२ पृष्ठ ९४५ नि.नं. ५०१७ इश्वरी बोहजु विरूद्ध श्री ५ को सरकार भएको ज्यान मार्ने उद्योग मुद्दामा श्री सर्वोच्च अदालत पूर्ण इजलासबाट मुलुकी ऐन ज्यानसम्बन्धी महलको कानूनी व्यवस्थासमेतलाई विचार गर्दा ज्यान मार्ने उद्योगको अपराध ठहर हुनको लागि ज्यान मार्ने मनसाय, सो मनसाय अभिव्यक्त गर्ने ज्यान मार्नेसम्मको कार्य गरी कुनै बाहिरी तत्त्वको हस्तक्षपले गर्दा ज्यान मार्न नसकेको हुनुपर्ने भनी व्याख्या भएको छ र ने.का.प. २०५१ अङ्क ४ पृष्ठ २६ नि.नं. ४८९० महेन्द्रराज वम विरूद्ध श्री ५ को सरकार भएको मुद्दामा ज्यान मार्ने उद्योग सबै दृष्टिबाट ज्यानसम्बन्धी अपराध नै हुन्छ सिर्फ ज्यान भने मर्न गएको हुँदैन । अभियुक्तले ज्यान मार्ने भनी गरेको कार्य तेस्रो तत्त्वको अप्रत्यासितरूपमा अपर्झट उपस्थिति वा विद्यमान हुन गएको कारणले सम्पन्न हुन नपाएको हुन्छ । प्रतिवादी आफैँले मर्नेसम्मको कार्य नगरी छाडी गएको वा पहिलेदेखि नै मार्ने कार्य गर्न नसक्ने अवस्था विद्यमान रहेको स्थिति हुँदैन । तेस्रो तत्त्वको अप्रत्यासित हस्तक्षेपले गर्दा ज्यान मार्ने कार्य गर्नेमा अभियुक्तले कुनै कसुर नराखे पनि त्यो परिणाम निक्लन पाएको 

हुँदैन । ज्यान मार्ने उद्योगको अपराधको सम्बन्धमा पनि ज्यान मार्ने अपराध जस्तै शङ्का विहीन तरिकाले प्रभावित हुन सक्ने प्रमाणिक प्राचुर्यताको अवस्था विद्यमान हुनुपर्ने ।ज्यान मार्ने उद्योग अपराधका निर्माणक तत्त्वहरूले एकातिर ज्यानमाराको अपराध र अर्कोतर्फ कुटपिटको कसुरसँगको भिन्नता प्रष्ट 

पाइन्छ । ज्यानमाराको अपराधमा पनि ज्यान मार्ने मनसाय ( Means rea) र सो मनसायको साकारीकरण गर्ने कार्य (Actus rea)  समानरूपले विद्यमान हुन्छ । तर ज्यान मार्ने उद्योगको अपराधको निर्माणको तेस्रो तत्त्वको अप्रत्यासित अपर्झट उपस्थिति विद्यमान नहुने हुँदा ज्यानमाराको अपराधबाट भिन्न बनाउँदछ । 

५. तेस्रो तत्त्वको अप्रत्यासित उपस्थितिले रोकावट उत्पन्न गरेको हुनुपर्छ भन्ने कुरा ज्यानसम्बन्धी महलको १५ नं. मा “सो काम गर्दा पनि ज्यान भने मर्ने पाएको रहेनछ” भन्ने अभिव्यक्तिबाट पुष्टि हुन 

आउँछ । किनकि यस तेस्रो तत्त्वलाई अङ्गिकार नगरेमा ज्यान मार्ने उद्योगको अवस्था मात्र नरही अपराधजन्य कार्य सम्पन्नताको अवस्था हुनजान्छ । तसर्थ यी तत्त्वहरू ज्यान मार्ने उद्योगसम्बन्धी कानूनमा व्यक्त वा अव्यक्तरूपले सोझै वा घुमाउरोरूपले अन्तरनिहित हुन्छन । ज्यान मार्ने उद्योग मुद्दाको कसुर कायम गर्नको लागि तेस्रो तत्त्वको आकस्मिक उपस्थिति अनिवार्य हुने भएकाले यो तेस्रो तत्त्व ज्यान मार्ने उद्योगको मौलिक विशेषता हो भनी व्याख्या भएको पाइन्छ त्यस्तै ने.का.प. २०५६ अङ्क ५ पृष्ठ ३८५ नि.नं. ६७२७ मा प्रतिवादीले घातक एवम् धारिलो हतियार प्रहार गरेको भन्ने पुष्टि हुन नआएको, पीडित मर्ने अवस्थासम्म पुगेको भन्ने नदेखिएको र पीडित के कस्तो अवस्था परी मर्ने पाएको रहेनछ भन्नेसमेत खुल्न नआई चोटपटकसम्म लागेको भन्ने देखिन आएको स्थितिमा अभियोग दाबी लिएको वारदातमा ज्यानसम्बन्धीको महलको १५ नं. अवस्थाको विद्यमानता थियो भनी मान्न सकिने अवस्था नदेखिएको भनि व्याख्यासमेत भएको पाइन्छ ।

६. यसमा पीडितहरूको ज्यान मार्ने उद्देश्यबाट प्रतिवादीहरूले प्रहार गरेको तर प्रतिवादीहरूको कार्य तेस्रो पक्षको हस्तक्षेपबाट 

रोकिएको अवस्था पनि नहुँदा ज्यानमार्ने उद्योगअन्तर्गतको कसुर मान्ने  अवस्था रहेको भन्न सकिँदैन । ज्यानमार्ने उद्योग हुनको लागि मनसायतत्त्वको भूमिका महत्त्वपूर्ण रहेको हुन्छ । यी प्रतिवादीहरूले धेरै समय पहिलेदेखि नै मत सल्लाह, मिलोमतो तथा योजना गरी के कुन प्रतिवादीले के कुन स्थानमा बसी के कुन कार्य गर्ने भनी कार्य विभाजनसमेत गरी योजनाबद्धरूपमा घटना घटाएको देखिँदैन । पीडितहरूको घाउजाँच केस फारामहरूमा non fatal भनेर लेखिएको छ । पीडित रामबहादुरले प्रयाग, मुकेस, रामभजन तथा पहवरीले पहिला प्रहार गरेपछि अरू कसले गरे थाहा भएन भनी अदालतमा नै बकपत्र गर्दाका बखत पीडित स्वयम्‌ले नै भनेकाले अन्य प्रतिवादीहरूले के कस्तो हतियारले के कसरी प्रहार गरेका हुन् सो कुरा प्रष्ट भन्न नसकेको कारणले फौजदारी कानूनको महत्त्वपूर्ण सिद्धान्त शङ्काको सुविधा अभियुक्तले पाउने नै देखिन्छ । फौजदारी मुद्दामा कसुर प्रमाणित गर्ने भार वादी पक्षमा हुने भन्ने प्रमाण कानूनको महत्त्वपूर्ण सिद्धान्त भएकामा आरोपित कसुरमा यी प्रतिवादीहरूको संलग्नता रहेको कुरा वादी पक्षले वस्तुनिष्ठरूपबाट गराउन सकेको देखिन आएन । साथै यसै वारदातमा संलग्न भनिएका सह प्रतिवादीहरू श्यामभजनप्रसाद यादव, मुकेसप्रसाद यादव, पहारी शाह र बच्चा शाहले अधिकारप्राप्त अधिकारीसमक्ष र सुरू जिल्ला अदालतमा पनि यी अन्य प्रतिवादीहरूको कसुर अपराधमा संलग्नता छ भनी प्रष्ट लेख्न, लेखाउनसमेत नसकेको र आफूहरूको हकमा मात्र स्वीकार गरी पुनरावेदनसमेत नगरेको देखिन्छ । यी प्रतिवादीहरू अदालतसमक्ष कसुरमा इन्कारी रहेका देखिन्छन् । यस्तो अवस्थामा प्रस्तुत वारदात मुलुकी ऐन ज्यानसम्बन्धी महलको १५ नं. र सम्मानित सर्वोच्च अदालतबाट विभिन्न ज्यान मार्ने उद्योग मुद्दाहरूमा प्रतिपादित सिद्धान्तहरूबाट समेत ज्यान मार्ने उद्योगको परिभाषाभित्र पर्ने अवस्था देखिएन । उल्लिखित विवेचित सर्वोच्च अदालतबाट प्रतिपादन भएको सिद्वान्तहरू समेतका आधारमा प्रतिवादीहरूले पहिलेदेखि नै मानसिकरूपमा तयार भै जोखिमी हतियारले जाहेरवालाहरूलाई योजनाबद्धरूपमा ताकेर प्रहार गरेको नदेखिएको, कुनै अन्य काबुबाहिरको तत्त्वले निज प्रतिवादीहरूलाई रोकेको पनि नभई आफैँले झैझगडा पश्चात् जाहेरवालाको घर बनाएको, छठीमाताको सार्वजनिक जमिनमा गएका र सामान्य झडप भएपश्चात् आफैँ फर्कि आएका तेस्रो पक्षको अपर्झट उपस्थितिले गर्दा घाइतेको र यसबाट बच्न गएको कुरा मिसिलबाट देखिन नआएको र घाइतेहरूलाई लागेको घाउँ मर्नेसम्मको प्रकृतिको नभएको कुरा मिसिल संलग्न घा जाँच केस फारामहरूबाट समेत देखिन नआएकाले प्रस्तुत मुद्दाको समग्र विश्लेषण व्याख्या गर्दा प्रतिवादीहरूले ज्यान लिने उद्देश्यबाट पीडित जाहेरवालाहरू माथि आक्रमण गरिएको भन्ने कुराको पुष्टि हुन सकेको नदेखिँदा प्रतिवादीहरू प्रयागराय यादव, चन्द्रेश्वरराय यादव, उदयचन्द्रप्रसाद यादव, मोहनप्रसाद यादव, पुनितप्रसाद यादव, मो.साहेव हजरा, पन्नालालप्रसाद यादव, जगतनारायणप्रसाद यादव, धनपतराय यादव, गनपतराय यादव, लहवारी साह, जितेन्द्र ठाकुर लोहार, गोपालराय यादव र विगनराय यादवलाई आरोपित कसुरबाट सफाइ दिने गरी बारा जिल्ला अदालतबाट भएको पुनरावेदन अदालत, हेटौंडाको मिति २०६८।१०।२४ का फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन अभियोगबाट सफाइ पाउने ठहर्छ । प्रस्तुत दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू । 

 

उक्त रायमा सहमत छु ।

न्या. चोलेन्द्र शमशेर ज.ब.रा.

 

इति संवत् २०७१ साल चैत १६ गते रोज २ शुभम् ।

इजलास अधिकृत : गजेन्द्रबहादुर सिंह

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु