निर्णय नं. ९४३० - आयकर

सर्वोच्च अदालत, संयुक्त इजलास
सम्माननीय प्रधानन्यायाधीश श्री रामकुमार प्रसाद शाह
माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा.
फैसला मिति : २०७१।९।२१।२
०६७-CR-०२८९
मुद्दा : आयकर ।
पुनरावेदक :- आन्तरिक राजश्व कार्यालय, विराटनगर
विरूद्ध
प्रत्यर्थी :- मोरङ जिल्ला, विराटनगर उपमहानगरपालिका वडा नं.६ स्थित पशुपति ट्युब मिल्स प्रा.लि.
बोनसबापत छुट्याएको रकम सो आर्थिक वर्ष समाप्त भएपछि कम्पनीको लेखा परीक्षण भएपश्चात् कम्पनीको आयबाट वितरण गर्नुपर्ने रकम हो । कम्पनीको दायित्वमा रहने धारा पानी, बिजुली, बैंकको ब्याज इत्यादिबापत तिर्नुपर्ने रकम सोही आर्थिक वर्ष खर्च हुने रकम भए पनि बोनसबापतको रकम चालु आर्थिक वर्षमा छुट्याई आगामी वर्षमा वितरण गरिने रकम हो । आगामी वर्षमा पनि बोनसबापत छुट्याएको रकम वितरण नगरिएको अवस्थामा सो रकम कम्पनीको खुद आयमा गणना हुन्छ र करयोग्य हुन जान्छ ।
कम्पनीको खातामा सो रकम रहेको देखिएको भन्ने मात्र आधारमा उक्त रकम कम्पनीको दायित्वभित्र नपर्ने र खुद आयमा समावेश हुने भन्न नमिल्ने ।
(प्रकरण नं. ३)
पुनरावेदकको तर्फबाट :- विद्वान् उपन्यायाधिवक्ता चन्द्रबहादुर सापकोटा
प्रत्यर्थीको तर्फबाट :- विद्वान् अधिवक्ता सीताराम अग्रवाल
अवलम्बित नजिर :-
सम्बद्ध कानून :-
आयकर ऐन, २०५८ को दफा १३, २४(२)(क)(१)
सुरू फैसला गर्ने :-
आन्तरिक राजश्व कार्यालय, विराटनगर
पुनरावेदन तहमा फैसला गर्ने :
माननीय अध्यक्ष श्री हरिबहादुर बस्नेत
लेखा सदस्य श्री गणेशकुमार कार्की
फैसला
न्या. चोलेन्द्र शमशेर ज.ब.रा.:- राजश्व न्यायाधिकरण, विराटनगरको मिति २०६६।१०।३ को फैसलाउपर राजश्व न्यायाधिकरण, ऐन, २०३१ को दफा ८ बमोजिम पुनरावेदनको अनुमति पाउँ भनी आन्तरिक राजश्व कार्यालय, विराटनगरको यस अदालतमा निवेदन परी यस अदालतबाट पुनरावेदनको अनुमति प्रदान भई पुनरावेदनको रोहमा दर्ता भएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम् ठहर यसप्रकार छः-
पशुपति ट्युब मिल्स प्रा.लि.ले आ.व.०५८/५९ को कारोबारमा करयोग्य आय रू.१२,५६,७५१।५२ देखाई मिति २०५९।९।३० मा आय विवरण पेस गरेको रहेछ ।
मिति २०६१।५।२० को कर लेखा परीक्षण प्रतिवेदन मिसिल संलग्न रहेको ।
पशुपति ट्युब मिल्स प्रा.लि.लाई सबुद प्रमाण पेस गर्न आयकर ऐन, २०५८ को दफा १०१(६) बमोजिम १५ दिनको मौका दिएको आन्तरिक राजश्व कार्यालय, विराटनगरको मिति २०६१।५।२३ को सूचना र सोउपर दिएको मिति २०६१।६।८ को जवाफ मिसिल संलग्न रहेको ।
पशुपति ट्युब मिल्स प्रा.लि.को आ.व.०५८/५९ मा भएको कारोबारलाई दृष्टिगत गरी करयोग्य आय रू.१५,७६,०८९।५३ कायम हुने ठहर्छ भन्नेसमेत व्यहोराको आन्तरिक राजश्व कार्यालय, विराटनगरको मिति २०६१।६।२० को निर्णय पर्चा ।
उपर्युक्त हिसाबबमोजिम कायम भएको करसमेत रू.३,१८,७४८।- लाग्नेमा रू.३,४०,३९०।- अग्रिम दाखिला भएकाले बढी दाखिला भएको रू.३२,६४२।- आगामी आ.व.मा मिलान गरिने र विशेष शुल्क रू.४७,२८३।- मध्ये अग्रिम दाखिला रू.३७,७०३।- कट्टा गरी बाँकी रू.९,५८०।- बैंक दाखिला गर्नु भन्नेसमेत व्यहोराको आन्तरिक राजश्व कार्यालय, विराटनगरको मिति २०६१।६।२७ को आयकर निर्धारण आदेश ।
यसमा ड्यामेज भएको माल वस्तुको सम्बन्धमा प्रमाण हेरी छानबिन गरी कर निर्धारण गर्नुपर्ने देखिन्छ । अन्यका हकमा आन्तरिक राजश्व कार्यालय, विराटनगरले गरेको निर्णय मनासिब ठहर्छ भन्नेसमेत व्यहोराको आन्तरिक राजश्व विभागको मिति २०६१।१२।३ को प्रशासकीय पुनरावलोकन ।
पशुपति ट्युब मिल्स प्रा.लि.लाई सबुद प्रमाण पेस गर्न ७ दिनको मौका दिएको आन्तरिक राजश्व कार्यालय, विराटनगरको मिति २०६३।५।२ को सूचना र सोउपर दिएको मिति २०६३।५।९ को जवाफ मिसिल संलग्न रहेको ।
पशुपति ट्युब मिल्स प्रा.लि.को ०५८/५९ को कारोबारमा साबिकबमोजिम नै रू.१५,७६,०८९।५३ करयोग्य आय कायम हुने ठहर्छ भन्नेसमेत व्यहोराको आन्तरिक राजश्व कार्यालय, विराटनगरको मिति २०६५।९।११ को निर्णय पर्चा ।
साबिकबमोजिम कायम भएको कर निर्धारण आदेशबमोजिम दाखिल गर्न बाँकी रहेको रकम दाखिला गर्नुहुन भन्नेसमेत व्यहोराको आन्तरिक राजश्व कार्यालय, विराटनगरको मिति २०६५।९।१३ को कर निर्धारण आदेश ।
प्रत्यर्थी कार्यालयले गरेको निर्णय त्रुटिपूर्ण हुँदा बदर गरी इन्साफ पाउँ भन्नेसमेत व्यहोराको करदाताको राजश्व न्यायाधिकरण, विराटनगरमा परेको पुनरावेदन जिकिर ।
यसमा छलफलका लागि अ.बं.२०२ नं. बमोजिम प्रत्यर्थी कार्यालयलाई पेसीको सूचना दिई पेस गर्नु भन्ने राजश्व न्यायाधिकरण, विराटनगरको आदेश ।
आयकर ऐन, २०५८ को दफा २४ अन्तर्गत भुक्तानी गर्ने दायित्व रहेको अवस्थामा दाबीको बोनसबापत छुट्याइएको रू.१,१८,८६५।८७ खुद आयमा समावेश गर्ने गरी गरेको राजश्व न्यायाधिकरण, विराटनगरको फैसला सो हदसम्म मिलेको नदेखिँदा केही उल्टी हुने ठहर्छ भन्ने राजश्व न्यायाधिकरण, विराटनगरको मिति २०६६।१०।३ को फैसला ।
राजश्व न्यायाधिकरण, विराटनगरको फैसलामा चित्त बुझेन । आयकर ऐन, २०५८ को दफा १३ अनुसार वास्तविक खर्च नभएको अवस्थामा त्यस्तो अवास्तविक खर्च आयमा कट्टी गर्न नमिल्नेमा
सो खर्च आयमा कट्टी हुने गरी भएको राजश्व न्यायाधिकरण, विराटनगरको फैसला त्रुटिपूर्ण भएकाले पुनरावेदनको अनुमति प्रदान गरी सो फैसला उल्टी गरिपाउँ भन्ने आन्तरिक राजश्व कार्यालय, विराटनगरको यस अदालतमा परेको निवेदनपत्र ।
यसमा आयकर ऐन, २०५८ को दफा १३ अनुसार सो आय वर्षमा खर्च भइसकेको रकममा मात्र कर कट्टी हुने प्रावधान भएकामा सो आर्थिक वर्षको आयबाट बोनसबापतको रकम मात्र छुयाइएको तर खर्च भने हुन नसकेको स्थितिमा सो बोनसबापतको रकम रू.१,१८,८६५।८७ खुद आयमा समावेश हुन नसक्ने भनी राजश्व न्यायाधिकरण, विराटनगरले मिति २०६६।१०।३ मा गरेको फैसलामा उक्त ऐनको दफा १३ को व्याख्यात्मक त्रुटि भएको हुँदा राजश्व न्यायाधिकरण, ऐन, २०३१ को दफा ८ को खण्ड (ग) र (घ) को अवस्था विद्यमान भएकाले निवेदकलाई पुनरावेदन गर्ने अनुमति प्रदान गरिएको छ भन्ने यस अदालतको मिति २०६७।६।१ को आदेश ।
नियमबमोजिम दैनिक पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदनसहितको
मिसिल अध्ययन गरियो । पुनरावेदकतर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री चन्द्रबहादुर सापकोटाले आयकर ऐन, २०५८ को दफा १३ बमोजिम खुद खर्च भएको रकमसम्म आयमा कट्टी गर्न पाउने हो । करदाता प्रा.लि.ले बोनसबापत रकम छुट्याएकोसम्म हो तर सो बोनसको रकम वितरण नभएकाले सो रकम खुद आयमा गणना गरिने हुँदा उक्त रकम आयमा कट्टी हुने ठहराएको राजश्व न्यायाधिकरण, विराटनगरको फैसला त्रुटिपूर्ण भएकाले उल्टी हुनुपर्छ भन्नेसमेत बहस गर्नुभयो ।
प्रत्यर्थीतर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री सीताराम अग्रवालले करदाता प्रा.लि.ले आर्थिक वर्ष समाप्त भएपछि लेखा परीक्षणबाट हुने नाफाबाट बोनसको रकम छुट्याई वितरण गरिने हुँदा सो रकम करदाताको दायित्वमा नै निहित रहेको अवस्थामा उक्त रकम आयकर ऐन, २०५८ को दफा १३ बमोजिम खुद आयमा कट्टी हुने ठहराएको राजश्व न्यायाधिकरण,को फैसला कानूनसम्मत् भएकाले सोही सदर हुनुपर्छ भन्नेसमेत बहस गर्नुभयो ।
उक्त बहससमेतलाई सुनी प्रस्तुत मुद्दामा आन्तरिक राजश्व कार्यालय,को निर्णय उल्टी गरी बोनसबापतको रकम खुद आयमा समावेश नहुने ठहराएको राजश्व न्यायाधिकरण, विराटनगरको फैसला मिलेको छ वा छैन र पुनरावेदकको पुनरावेदन जिकिर पुग्ने हो वा होइन भन्ने निर्णय दिनुपर्ने देखिन आयो ।
२. निर्णयतर्फ विचार गर्दा आर्थिक वर्ष २०५८।५९ मा प्रत्यर्थी पशुपति ट्युब मिल्स प्रा.लि.ले बोनस प्रोभिजनबापत खर्च लेखेको रू.१,१८,८६५।८७ खुद आयमा समावेश गरेको आन्तरिक राजश्व कार्यालय,को निर्णय आयकर ऐन, २०५८ को दफा १३ विपरीत रहेको भन्ने प्रत्यर्थी करदाताको मुख्य जिकिर रहेको प्रस्तुत मुद्दामा राजश्व न्यायाधिकरण, विराटनगरले बोनसबापत छुट्याइएको रकम खुद आयबाट कट्टा गर्न पाउने ठहराएको फैसलाउपर आन्तरिक राजश्व कार्यालय, विराटनगरको यस अदालतमा पुनरावेदनको अनुमति पाउँ भनी निवेदन परी यस अदालतबाट पुनरावेदनको अनुमति प्रदान भई पुनरावेदनको रोहमा निर्णयार्थ यस इजलाससमक्ष पेस भएको रहेछ ।
३. यससम्बन्धमा प्रस्तुत मुद्दाको मिसिल संलग्न कागजात अध्ययन गरी हेर्दा प्रत्यर्थी पशुपति ट्युब मिल्स प्रा.लि.ले आर्थिक वर्ष २०५८।५९ मा आफ्नो खुद आयबाट बोनस ऐन, २०३० को दफा ५ बमोजिम बोनस वितरणको प्रयोजनको लागि रू.१,१८,८६५।८७ छुट्याएको भन्ने कुरामा विवाद छैन । उक्त तथ्यमा पुनरावेदक आन्तरिक राजश्व कार्यालय,ले समेत अन्यथा जिकिर लिएको पाइँदैन । आयकर ऐन, २०५८ को दफा २४(२)(क) को देहाय (१) बमोजिम बोनस प्रोभिजनबापत छुट्याएको सो रकमको दायित्व प्रत्यर्थी कम्पनीमा निहित रहेको देखिन आउँछ । सो रकमको दायित्व प्रत्यर्थी कम्पनीमा निहित नरहने भन्ने कुनै कानूनी व्यवस्था भएको पनि पाइँदैन । वस्तुतः बोनसबापत छुट्याएको रकम सो आर्थिक वर्ष समाप्त भएपछि कम्पनीको लेखा परीक्षण भएपश्चात् कम्पनीको आयबाट वितरण गर्नुपर्ने रकम हो । कम्पनीको दायित्वमा रहने धारा पानी, बिजुली, बैंकको ब्याज इत्यादिबापत तिर्नुपर्ने रकम सोही आर्थिक वर्ष खर्च हुने रकम भए पनि बोनसबापतको रकम चालु आर्थिक वर्षमा छुट्याई आगामी वर्षमा वितरण गरिने रकम हो । आगामी वर्षमा पनि बोनसबापत छुट्याएको रकम वितरण नगरिएको अवस्थामा सो रकम कम्पनीको खुद आयमा गणना हुन्छ र करयोग्य हुन जान्छ । तर कम्पनीको खातामा सो रकम रहेको देखिएको भन्ने मात्र आधारमा उक्त रकम कम्पनीको दायित्वभित्र नपर्ने र खुद आयमा समावेश हुने भन्न मिल्ने हुँदैन । यस अवस्थामा बोनसबापत छुट्याएको रकम आयकर ऐन, २०५८ को दफा १३ बमोजिम कट्टी हुने रकम भएको भनी खुद आयमा समावेश नगरेको राजश्व न्यायाधिकरण, विराटनगरको फैसला मनासिब देखिन आएकाले यस अदालतबाट पुनरावेदनको अनुमति प्रदान गर्दा लिइएका आधारसँग सहमत हुन सकिएन ।
४. तसर्थ, उपर्युक्त आधार र कारणसमेतबाट चालु आर्थिक वर्षको नाफाबाट बोनस ऐन, २०३० को दफा ५ बमोजिम बोनस प्रोभिजनको लागि छ्ट्याएको रकमको दायित्व प्रत्यर्थी कम्पनीमा निहित रहेको हुँदा उक्त रकम आयकर ऐन, २०५८ को दफा १३ बमोजिम खुद आयमा कट्टा हुने भएकाले पुनः आयमा गणना गर्नुपर्ने भन्ने पुनरावेदकको कथन कानूनअनुकूल नहुँदा बोनसबापतको रू.१,१८,८६५।७८ खुद आयमा समावेश हुन नसक्ने भन्ने राजश्व न्यायाधिकरण, विराटनगरको मिति २०६६।१०।३ को फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक आन्तरिक राजश्व कार्यालय, विराटनगरको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको दायरी लगत कट्टा गरी मिसिल नियमानुसार बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
स.प्र.न्या. रामकुमार प्रसाद शाह
इति संवत् २०७१ साल पुस २१ गते रोज २ शुभम् ।
इजलास अधिकृत :- विश्वनाथ भट्टराई