शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९४३१ - जबरजस्ती करणी

भाग: ५७ साल: २०७२ महिना: कार्तिक अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ

माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल

फैसला मिति :- २०७१।७।४।३

०६७-CR-०४७८

 

मुद्दा :- जबरजस्ती करणी ।

 

विशेष प्रकृतिका मुद्दाहरूको कारवाहीमा पक्षको गोपनीयता कायम राख्नेसम्बन्धी कार्यविधि निर्देशिका, २०६४ बमोजिम पीडितको पहिचान खुल्ने विवरण गोप्य राखिएको छ ।

 

पुनरावेदक/प्रतिवादी :- राम बहादुरको छोरा जिल्ला सुनसरी, धरान नगरपालिका वडा नं. ११ गौरी गाउँ घर भै हाल कारागार कार्यालय, मोरङमा थुनामा रहेको वर्ष २७ को मानबहादुर कार्की                                                      

विरूद्ध

प्रत्यर्थी/वादी :- क कुमारीको जाहेरीले नेपाल सरकार

 

आफैँले करणी गरेको भनी अदालतमा स्वतन्त्ररूपमा साबित भएकालाई डाक्टरले करणी पुष्टि गरे वा नगरेको भन्ने कुरा स्पष्ट नगर्नुको कुनै अर्थसमेत रहँदैन । यस्तो अवस्थामा निज पुनरावेदक प्रतिवादीलाई अभियोग दाबीबमोजिम सजाय गर्ने गरेको सुरूको फैसला सदर गरेको पुनरावेदन अदालत, विराटनगरको फैसलालाई अन्यथा भन्न नमिल्न ।

(प्रकरण नं. ५)

 

पुनरावेदक/प्रतिवादीको तर्फबाट :-

प्रत्यर्थी/वादीको तर्फबाट :-

अवलम्बित नजिर :- 

सम्बद्ध कानून :

मुलुकी ऐन, जबरजस्ती करणी महलको १, ३(३)

 

सुरू तहमा फैसला गर्ने 

मा.जि.न्या. श्री रामप्रसाद अधिकारी

पुनरावेदन तहमा फैसला गर्ने :

मा.न्या.श्री जनार्दनबहादुर खड्का

मा.न्या.श्री द्वारिकामान जोशी

 

फैसला

न्या. कल्याण श्रेष्ठ :- पुनरावेदन अदालत, विराटनगरको मिति २०६७।०२।१८।३ मा भएको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन दायर हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम्‌ ठहर देहायबमोजिम रहेको छ ।

 

१. तथ्य खण्ड :

१.१ पीडित क कुमारीले दिएको जाहेरी दरखास्तको व्यहोरा :

मिति २०६५।०७।१२ गते राति म गाउँकै वर्ष ८ को ख कुमारलाई लिई भैलो खेली घरतर्फ फर्की आउने क्रममा प्रतिवादी कुमार भन्ने राजकुमार विश्वकर्माको घरभन्दा पश्चिमपट्टिको बाटो हुँदै आएकी थिएँ । आउँदै गर्दा सिमालीको झ्याङमा निज प्रतिवादी बाटो ढुकी बसेका रहेछन् । मसमेत सो स्थानमा आई पुग्दा निजले एक्कासि मलाई पक्री मेरो मुखसमेत थुनी बोल्न कराउन नदिई निजको घरमा लगे । त्यहाँ अर्को विपक्षी मानबहादुर कार्की पनि त्यहीँ रहेछ । निज प्रतिवादीद्वयले मलाई घरभित्र पसाई ढोका थुनी खाटमा सुताई पहिला प्रतिवादी राजकुमारले र पछि प्रतिवादी मानबहादुरले जबरजस्ती करणी गरे । प्रतिवादी राजकुमारले जबरजस्ती करणी गर्दा नै मेरो योनीबाट रक्तस्रावसमेत भै हालसम्म दुखि रहेको छ । यसरी म अबेरसम्म घर नआएकीले घर गाउँका मानिसहरू मलाई खोज्दै आउँदा छिमेकी गोपाल राईले प्रतिवादीको घरमा हुलेको देखेको भनी निजले बताएपछि मानिसहरू आएको देखी प्रतिवादी मानबहादुर भागेको र अर्का प्रतिवादीले मार्नेसमेतको धम्की दिएकामा निजको घरमुनिबाट मलाई आफन्तसमेतले उद्धार गरेका 

हुन् । जबरजस्ती करणी गर्ने दुवै जना प्रतिवादीहरूलाई पक्राउ गरी आवश्यक कारवाही गरिपाऊँ । 

 

१.२ घटनास्थल मुचुल्काको सारसंक्षेप ।

जिल्ला सुनसरी धरान नगरपालिका वडा नं. ११ स्थित प्रतिवादी राजकुमार विश्वकर्माको घरको दक्षिणतर्फको कोठामा पीडित क कुमारीलाई  जबरजस्ती करणी गरेकामा करणी भएको कोठाको भुइँमा सङ्घर्ष गरेका तथा खाटमा भएको बेड बिस्तारासमेत यत्र तत्र छरिएको अवस्थामा रहेको सही सत्य हो । 

 

१.३ प्रहरी हवलदार हरिप्रसाद सापकोटासमेतको प्रतिवेदन । 

क कुमारीको जाहेरीले वादी नेपाल सरकार तथा प्रतिवादी मानबहादुर कार्कीसमेत भएको जबरजस्ती करणी मुद्दाको सन्दर्भमा वारदातपश्चात् स्थानीय मानिसहरूले प्रतिवादीद्वयलाई नियन्त्रणमा लिई ल्याउँदै गरेको अवस्थामा मसमेतको टोलीले फेला पारी नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि पेस गरेको हो । 

 

१.४ पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन ।

पीडित क कुमारीको योनीबाट रक्तस्राव भइरहेको अवस्थामा पाइएको । 

 

१.५ प्रतिवादी राजकुमार विश्वकर्माको अधिकारप्राप्त अधिकारीसमक्ष भएको बयान ।

मिति २०६५।०७।१२ गते साँझको समयमा म तथा साथी मानबहादुरले रक्सी सेवन गरी मेरै घरमा बसिरहेको अवस्थामा राति अन्दाजी २१.०० बजेको समयमा पीडित एक्लै बाटोमा हिँडिरहेको देखी को हो भन्दा निजले भैलो खेली फर्किएको भनी बताएकाले एकछिन मेरो घरमा जाऊँ भनी निजलाई लगी घरभित्र हुली ढोका लगाई हामी दुवैले पालैपालो जबरजस्ती करणी गरेका हौं । निजले हो-हल्ला गर्न लाग्दा मैले मार्नेसमेतको धम्की दिएको र सो पछि बाहिर मानिसहरू बोलेको आवाज आएकाले मानबहादुर भागी फरार भएका हुन् । म सोही कोठामै रहेको र पीडित डरले खाटमुनि लुकेको अवस्थामा स्थानीय मानिसहरूले मलाईसमेत नियन्त्रणमा लिएका हुन् । 

 

१.६ प्रतिवादी मानबहादुर कार्कीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान :

मिति २०६५।०७।१२ गते साँझको समयमा म तथा साथी राजकुमारले रक्सी सेवन गरेका 

थियौँ । प्रतिवादी राजकुमारले पीडितलाई निजको घरमा ल्याएकाले मसमेतले एकछिन बसौं भन्दै निजलाई घरभित्र हुली ढोका लगाई हामी दुवैले पालैपालो जबरजस्ती करणी गरेका हौं । पछि बाहिर मानिसहरू बोलेको आवाज आएकाले म भागी फरार भएको हुँ ।

 

१.७ राजकुमार सुन्दास समेतका मानिसहरूले गरेको वस्तुस्थिति मुचुल्काको व्यहोरा:

मिति २०६५।७।१२ गते रातिको अन्दाजी २१ बजेको समयमा तिहार परेकाले मसमेत देउसी खेली आउँदै गर्दा प्रतिवादी मानबहादुर र राजकुमारले पीडित क कुमारीलाई निजै राजकुमारको घरमा लगी दुवैले पालैपालो जबरजस्ती करणी गरेको कुरा स्थानीय टोलका छरछिमेकका मानिसहरू, प्रतिवादी राजकुमार र पीडित समेतबाट सुनी थाहा पाएको हो ।

 

१.८ वादी नेपाल सरकारले सुनसरी जिल्ला अदालतमा दायर गरेको अभियोगपत्र ।

मिति २०६५।०७।१२ गते साँझको समयमा प्रतिवादीद्वय मानबहादुर कार्की र राजकुमार विश्वकर्माले निज प्रतिवादीको घरअगाडिको बाटोबाट आउँदै गर्दा प्रतिवादी राजकुमारले पीडित क कुमारीलाई जबरजस्ती पक्री नियन्त्रणमा लिँदा ख कुमार भागी गएको र निज पीडितलाई निजै राजकुमारको घरमा ल्याई प्रतिवादीद्वय मानबहादुर र राजकुमारले मार्नेसमेतको धाक धम्की दिँदै पालैपालो जबरजस्ती करणी गरेको भन्ने प्रतिवादीहरूको स्वीकारोक्ति, पीडितको स्वास्थ्य परीक्षण रिपोर्ट एवम्‌ वस्तुस्थिति मुचुल्कामा कागज गर्ने मानिसहरूको कथनसमेतका आधारमा पुष्टि हुन आयो । तसर्थ प्रतिवादीद्वय राजकुमार र मानबहादुरले नाबालिका वर्ष १४ की क कुमारीलाई जबरजस्ती करणी गरेको कार्य मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. बर्खिलापको कसुरमा निज प्रतिवादीद्वय राजकुमार विश्वकर्मा र मानबहादुर कार्कीलाई ऐ. ऐनको ऐ. महलको ३(३) नं. बमोजिम सजाय हुनुको साथै ३(क) नं. बमोजिम थप सजाय र ऐ.ऐ.को १० नं. बमोजिम क्षतिपूर्तिसमेत दिलाइपाऊँ ।  

 

१.९ प्रतिवादी राजकुमार विश्वकर्माले अदालतमा गरेको बयान ।

मैले जबरजस्ती करणी गरेको होइन । मेरो घर आँगनभित्र त्यस्तो घटना भएको हुनाले मात्र मलाई त्यसरी पोल गरिएको हो । घटना घटेको दिनभर म घर वरपर नै थिएँ । घटना साढे ८ बजेतिरको हो । उक्त समयमा म त्यही छेउछाउमा देउसीको रिहर्सल हेर्न गएको थिएँ ।

 

१.१० प्रतिवादी मानबहादुर कार्कीले अदालतमा गरेको बयान ।

जाहेरवाली क कुमारीसँग ५-७ महिनाअघि देखि चिनजान तथा गोप्यरूपमा उनीसँग शारीरिक सम्बन्धसमेत भै सकेको हो । वारदात भएको दिन उनलाई राजीखुसीका साथ करणी गरेको हुँ । जबरजस्तीसँग करणी गरेको भने होइन ।

 

१.११ सुनसरी जिल्ला अदालतको थुनछेक आदेश ।

हालको अवस्थामा यी प्रतिवादीहरू कसुरदार हुन् भन्न मिल्ने देखिँदा अरू कुराहरू पछि बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाललाई थुनुवा पुर्जी दिई कानूनबमोजिम थुनामा राख्न कारागार कार्यालय, मोरङमा पठाउनू । 

 

१.१२ वस्तुस्थिति मुचुल्कामा बसी व्यहोरा लेखाउनेमध्येको राजकुमार सुन्दासले गरेको बकपत्र ।

प्रतिवादी राजकुमार विश्वकर्मा र मानबहादुर कार्कीले मिति २०६५।७।१२ गते राति अ. ९ बजेको समयमा जबरजस्ती करणी गरेका हुन् । उनीहरूले प्रतिवादी राजकुमार विश्वकर्माको घरको कोठामा लगी जबरजस्ती करणी गरेका हुन् । जाहेरवाली तिहारको देउसी भैलो खेली फर्कदै गर्दा यी प्रतिवादीहरूले निजलाई बाटैबाट समाती लगी राजकुमार विश्वकर्माको घरभित्र लगी डर त्रास धम्की दिई दुवैजनाले जबरजस्ती करणी गरेका हुन् । जाहेरवालीसहित दुवै प्रतिवादीहरूलाई पक्राउ गरी सोधपुछ गर्दा निज प्रतिवादीहरूले उक्त कुरा स्वीकार गरेका हुन् ।

 

१.१३ वस्तुस्थिति मुचुल्कामा बसी व्यहोरा लेखाउने मध्येकी ग कुमारीले गरेको बकपत्र ।

जाहेरवाली मेरी भान्जी नाताकी मानिस 

हुन् । उनी हाल विदेश कुवेत मुलुकमा गएकी छन् । मिति २०६५।०७।१२ गते तिहारको देउसी भैलो खेली घर फर्किरहेकी जाहेरवाली क कुमारीलाई सो रातको अ. ९।९.३० को समयमा प्रतिवादीहरू मानबहादुर कार्की र राजकुमार विश्वकर्माले हातमा समाई जबरजस्ती लगी राजकुमार विश्वकर्माको घरभित्र लगी डर, धाक, धम्कीसमेत दिई दुवैजनाले जबरजस्ती करणी गरेका रहेछन् । सो कुरा मैले गाउँघरमा सुनी थाहा पाएँ । मलाई भोलिपल्ट वल्लो घर पल्लो घरले भनेको सुनेर थाहा पाएँ ।

 

१.१४ सुरू सुनसरी जिल्ला अदालतको मिति २०६६।०३।०२।३ को फैसला ।

प्रतिवादी राजकुमार विश्वकर्मा र मानबहादुर कार्कीले जाहेरवालीलाई सामूहिकरूपमा जबरजस्ती करणी गरेको देखिँदा निजहरूलाई जबरजस्ती करणीको ३(३) नं. बमोजिम जनही ६ वर्ष कैद सजाय र ३(क) नं. बमोजिम थप जनही ५ वर्ष कैद भई पीडित जाहेरवालीले निजहरूबाट रू.३५,०००।- का दरले क्षतिपूर्तिसमेत दिलाई भराई पाउने ठहर्छ । 

 

१.१५ प्रतिवादीहरू राजकुमार विश्वकर्मा र मानबहादुर कार्कीले पुनरावेदन अदालत, विराटनगरमा दिएको पुनरावेदन ।

पीडित भनिएकी जाहेरवालीको उमेर यकिन नभएको, जाहेरवालीले अदालतमा उपस्थित भई आफ्नो जाहेरी प्रमाणित नगरेको, प्रत्यक्षदर्शी भनिएको ख कुमारलाई कहीँ कतै नबुझिएको अवस्थामा सुरूबाट भएको फैसला त्रुटिपूर्ण भएकाले सो फैसला बदर गरिपाऊँ । 

 

१.१६ पुनरावेदन अदालत, विराटनगरबाट प्रत्यर्थी झिकाउने गरी भएको आदेश ।

यसमा प्रतिवादी मानबहादुर कार्कीले अदालतमा बयान गर्दा आफूले मात्र पीडिता संगीता श्रेष्ठसँग राजीखुसी शारीरिक सम्बन्ध राखेको र अर्का प्रतिवादीलाई पोल नगरेको परिप्रेक्ष्यमा सुरू सुनसरी जिल्ला अदालतका फैसला फरक पर्न सक्ने देखिँदा अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत, नियमावली, २०४८ को नियम ४७ को प्रयोजनार्थ पुनरावेदन सरकारी वकिल कार्यालय, विराटनगरलाई पेसीको सूचना दिई नियमानुसार गर्नू । 

१.१७ पुनरावेदन अदालत, विराटनगरले मिति २०६७।०२।१८ मा गरेको फैसला ।

सुरू अदालतबाट यी पुनरावेदक प्रतिवादीद्वयलाई जाहेरवालीलाई सामूहिकरूपमा जबरजस्ती करणी गरेको देखिँदा निजहरूलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३(३) नं. बमोजिम जनही ६(छ) वर्ष कैद सजाय ऐ.को ३ क नं. बमोजिम थप जनही ५(पाँच) वर्ष कैद भई पीडिता जाहेरवालाले निजहरूबाट रू.३५,०००।०० का दरले क्षतिपूर्तिसमेत भराई पाउने ठहर्‍याई गरेको फैसला अन्यथा भन्न मिलेन । अतः सुरू सुनसरी जिल्ला अदालतको मिति २०६६।०३।०२ को फैसला मिलेकै दखिँदा सदर हुने ठहर्छ । 

 

१.१८ प्रतिवादी मानबहादुर कार्कीले यस अदालतमा गरेको पुनरावेदनपत्र ।

पीडित क कुमारीको नागरिकताको जन्म मितिको आधारमा निज १७ वर्ष पुगिसकेकी र निजलाई सहमतिका साथ करणी भएको भन्ने कुराको मैले अदालतमा साबिती बयान गरेको अवस्थामा मलाई जबरजस्ती करणी गरेको ठहर्‍याई गरेको सुरू र पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी जबरजस्ती करणीको अभियोग दाबीबाट सफाइ दिलाई न्याय पाऊँ । 

 

२. इन्साफ खण्ड :

नियमबमोजिम निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदनपत्रसहितका मिसिल संलग्न प्रमाण कागजहरूको अध्ययन गरी पुनरावेदन अदालत, विराटनगरको फैसला मिलेको छ छैन र प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्छ सक्दैन भन्नेसम्बन्धमा विचार गरी निर्णय गर्नु परेको छ । 

यसमा वादी नेपाल सरकारले सुरू सुनसरी जिल्ला अदालतमा दायर गरेको अभियोगपत्रमा लिइएको माग दाबीमा प्रतिवादीहरू राजकुमार विश्वकर्मा र मानबहादुर कार्कीउपर निजहरूले जबरजस्ती करणी गरेको भनी किटानी जाहेरी परेको र जबरजस्ती करणी गरेको तथ्य स्थापित भएकाले मुलुकी ऐन, जबरजस्ती करणी महलको ३(३) नं. बमोजिम सजाय गरी र ऐ.ऐ.को ३क.नं. बमोजिम थप सजायसमेत हुन र दुवैजना प्रतिवादीहरूबाट पीडितलाई क्षतिपूर्तिसमेत भराई पाउन अनुरोध गरिएको देखिन्छ । सुरू सुनसरी जिल्ला अदालतबाट दुवैजना प्रतिवादीहरूलाई अभियोग दाबीबमोजिम नै सजाय भएकामा पुनरावेदन अदालत, विराटनगरले सुरूकै फैसला सदर गरेको अवस्था देखिन्छ । पुनरावेदन अदालतको फैसलामा समेत चित्त बुझेन भनी प्रतिवादी मध्येको मानबहादुर कार्कीको तर्फबाट यस अदालतसमक्ष पुनरावेदन पर्न आएको देखियो । 

२. निर्णयतर्फ विचार गर्दा सजाय पाउनेमध्येका प्रतिवादी राजकुमार विश्वकर्माको यस अदालतमा पुनरावेदन पर्न नआएको हुँदा निजको सम्बन्धमा यहाँ केही बोलिरहन परेन । प्रतिवादी मानबहादुर कार्कीको पुनरावेदनमा लिइएको मुख्य जिकिरमा सहमतिमा करणी गरेकामा जबरजस्ती करणी गरेको भनी कैद सजाय गर्ने गरेको सुरू र पुनरावेदन अदालतको फैसला उल्टी हुनुपर्छ भन्ने देखिन्छ । पीडित क कुमारीको जाहेरीमा वारदातको दिन तिहारको भैलो खेली घर फर्कँदै गर्दा बाटोमा ढुकी बसेको राजकुमार विश्वकर्माले समाती बोल्न नसक्ने गरी मुखसमेत थुनी निजको घर भित्र लगेको र त्यहाँ मानबहादुर कार्कीसमेत रहेकाले दुवै जनाले पालैपालो जबरजस्ती करणी गरेकाले दुवैजनालाई कारवाही गरिपाउँ भनी पीडित क कुमारीले यी पुनरावेदक प्रतिवादीसमेतलाई किटान गरेर जाहेरी दिएको 

देखिन्छ । घटनास्थल मुचुल्काबाट वारदात भएको भनेको घरको कोठाभित्र भुइँँमा जबरजस्ती करणी हुँदा भएका सङ्घर्षका चिन्हहरू देखिएको, खाटमा लगाइएको तन्ना यत्रतत्र छरिएको अवस्थामा रहेको भन्ने उल्लेख भएको देखिन्छ । 

३. पीडित क कुमारीको स्वास्थ्य परीक्षण प्रतिवेदनमा पीडितको योनीबाट रक्तस्राव भइरहेको भनी लेखिएको र जबरजस्ती करणीबाहेक अन्य कारणले पीडितको योनीबाट रक्तस्राव भएको हो भनी पुष्टि हुने सबुत प्रमाण पनि मिसिलबाट नदेखिएको हुँदा जबरजस्ती करणीको पीडितको जाहेरीको समर्थन भएको देखिन्छ । घटनास्थल मुचुल्का लेखाउने मध्येका राजकुमार सुन्दास एवम्‌ ग कुमारीले अदालतमा बकपत्र गर्दा प्रतिवादीहरूलाई किटान गरेर बकपत्र गरेको देखिन्छ । पुनरावेदक प्रतिवादी मानबहादुर कार्कीले अदालतमा गरेको बयानमा करणी गरेको कुरालाई स्वीकार गरी बयान व्यहोरा लेखाएकोबाट करणीको वारदात स्थापित भएकामा विवाद देखिन्न । अदालतमा क कुमारीलाई करणी गरेको कुरा स्वीकार गर्ने पुनरावेदक प्रतिवादीले पीडितलाई आफूले जबरजस्तीसँग नभई सहमतीमा करणी गरेको भने पनि सो कुराको समर्थन अन्य स्वतन्त्र प्रमाणले पुष्टि गराउन सकेको देखिँदैन । 

४. सहमतिमा करणी भएकोलाई आफ्नो नारी आस्मितालाई नै दाउमा राखी कसैले पनि आफूलाई जबरजस्ती करणी भएको भनी उजुर गर्ने अवस्था 

हुँदैन । सहमतिमै करणी गरी यी पुनरावेदकलाई जबरजस्ती करणीतर्फको झुट्ठा उजुर गर्नुपर्ने त्यस्तो कुनै भरपर्दो कारण पीडितसँग रहे भएको कुरा पनि मिसिल प्रमाणबाट देखिँदैन । पुनरावेदक प्रतिवादीको मौकाको साबिती बयानलाई घटनास्थल मुचुल्का, वस्तुस्थिति मुचुल्काका व्यक्तिहरूको भनाई एवम्‌ चिकित्सकले पीडितको शारीरिक परीक्षण गरी लेखिदिएको प्रतिवेदनसमेतले पुष्टि गरेको देखिन्छ । पीडितको उमेर नै परीक्षण नगरी फैसला गरिएकाले सुरू एवम्‌ पुनरावेदनको फैसलामा त्रुटि रहेको छ भनी पुनरावेदनले प्रश्न उठाएको भए पनि वारदातको मितिभन्दा अघि नै अर्थात् मिति २०६०।११।०३ मा दर्ता भएको जन्म दर्ताको प्रमाणपत्र पेस भएकाले सरकारी निकायमा रहेको अभिलेखलाई अविश्वास गर्नुपर्ने कारण नभएकोसमेतबाट पीडितको उमेर परीक्षण गरिरहनुपर्ने  आवश्यकता नै नभएकाले पुनरावेदकले पुनरावेदनमा उठाएको उक्त प्रश्नको तर्कसङ्गत आधार देखिँदैन । उल्लिखित जन्म दर्ताको आधारमा पीडितको जन्म मिति २०५१।०५।१८ भन्ने उल्लेख भएको देखिएबाट वारदातको समयमा पीडित क कुमारीको उमेर १४ वर्षको मात्रै देखिएबाट निज प्रतिवादीले पीडितलाई सहमतिमै करणी गरेको भए पनि सो कार्य जबरजस्ती करणीकै परिभाषाभित्र पर्ने देखिन्छ । 

५. मुलुकी ऐन, जबरजस्ती करणी महलको १ नं. मा गरिएको परिभाषामा “कसैले कुनै महिलालाई निजको मन्जुरी नलिई करणी गरेमा वा सोह्र वर्षभन्दा कम उमेरकी बालिकालाई निजको मन्जुरी लिई वा नलिई करणी गरेमा निजले जबरजस्ती करणी गरेको ठहर्छ” भन्ने उल्लेख भएको र प्रस्तुत मुद्दाकी पीडित क कुमारीको उमेर सोह्र वर्षभन्दा कम देखिएको र यस्ती सोह्र वर्षभन्दा कम उमेरकी बालिका अवस्थाकी पीडितलाई सहमतिमै करणी गरेको भए पनि पुनरावेदक प्रतिवादीको उक्त कार्य जबरजस्ती करणी अन्तर्गतकै कसुर देखिएबाट निजको पुनरावेदन जिकिरसँग सहमत हुन सकिने अवस्था भएन । पीडित स्वयम्‌ले यी प्रतिवादीसमेतलाई किटान गरी जबरजस्ती करणी गरेको भनेको अवस्थामा प्रतिवादीले सहमतिमा करणी गरेको भनी जिकिर लिँदैमा र कानुन एवम्‌ प्रमाणले सोको पुष्टि नभइरहेकामा निजको जिकिरको पुस्ट्याइँ नै हुन सकेको देखिँदैन । उमेर पुगेकी महिलालाई सहमतीमा करणी गरेकोलाई जबरजस्ती करणी गरेको भनी सजाय गरेको नमिलेको भन्नेले पीडितको उमेर पुगेको नागरिकता र पासपोर्टसमेत पेस गरी उमेर पुगेको भन्ने पुनरावेदन जिकिर पुष्टि गर्न सक्नुपर्नेमा सो गर्न नसकेको र मिना कुमारी श्रेष्ठको नागरिकता र पासपोर्ट पेस गरेर  पीडित जाहेरवालीको उमेर प्रमाणित हुने अवस्थासमेत हुँदैन । आफैँले करणी गरेको भनी अदालतमा स्वतन्त्ररूपमा साबित भएकोलाई डाक्टरले करणी पुष्टि गरे वा नगरेको भन्ने कुरा स्पष्ट नगर्नुको कुनै अर्थसमेत रहँदैन । यस्तो अवस्थामा निज पुनरावेदक प्रतिवादीलाई अभियोग दाबीबमोजिम सजाय गर्ने गरेको सुरूको फैसला सदर गरेको पुनरावेदन अदालत, विराटनगरको फैसलालाई अन्यथा भन्न मिलेन । 

६. अतः प्रतिवादी राजकुमार विश्वकर्मा र मानबहादुर कार्कीले जाहेरवालीलाई सामूहिक रूपमा जबरजस्ती करणी गरेको देखिँदा निजहरूलाई जबरजस्ती करणीको ३(३) नं. बमोजिम जनही ६(छ) वर्ष कैद सजाय गरी ऐ. ३क. नं. बमोजिम थप जनही ५(पाँच) वर्ष कैद भई पीडित जाहेरवालीले निजहरूबाट जनही रू.३५,०००।०० (पैँतीस हजार रूपैयाँ) का दरले क्षतिपूर्तिसमेत भराई पाउने ठहर्‍याई सुरू सुनसरी जिल्ला अदालतले गरेको फैसला सदर गरेको पुनरावेदन अदालत, विराटनगरको मिति २०६७।२।१८।३ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । अरू तपसिलबमोजिम गर्नू ।

तपसिल

विशेष प्रकृतिका मुद्दाहरूको कारवाहीमा पक्षहरूको गोपनीयता कायम राख्नेसम्बन्धी कार्यविधि निर्देशिका, २०६४ बमोजिम प्रस्तुत जबरजस्ती करणी मुद्दाकी पीडितको नाम, थर, वतनलगायतका पीडित महिलाको पहिचान खुल्ने व्यक्तिगत परिचयात्मक विवरणहरू सम्पूर्णको गोपनीयता अपराध अनुसन्धानको निमित्त सूचना प्राप्त भएदेखि अनुसन्धान तहकिकात, अभियोजन, सुनुवाइ, फैसला, फैसला कार्यान्वयनलगायतका सम्पूर्ण काम कारवाहीका क्रममा र फैसला कार्यान्वयनपश्चात् पनि अनुसन्धान तहकिकात गर्ने निकाय, मुद्दा हेर्ने निकाय र फैसला कार्यान्वयन गर्ने निकायलगायतका सम्पूर्ण निकायहरूले दफा २ अन्तर्गतका मुद्दामा पीडित पक्षको रूपमा प्रस्तुत भएका व्यक्तिको व्यक्तिगत परिचयात्मक विवरणहरू गोप्य राख्नुपर्ने छ भनी बाध्यात्मक व्यवस्था भइरहेकामा सो निर्देशिकाअनुसार पीडितको व्यक्तिगत परिचयात्मक विवरण गोप्य नराखी जाहेरी दर्ता गर्नेदेखि अनुसन्धान गर्ने कार्यमा खटिने प्रहरी कर्मचारी र मुद्दाको अभियोजन गर्ने सरकारी वकिलबाट समेत उक्त निर्देशिकाको पालना हुनुपर्नेमा सम्बन्धित प्रहरी कर्मचारीका साथै सम्बन्धित सरकारी वकिलबाट उक्त निर्देशिकाको पालना नभएको देखिँदा निजहरूको सम्बन्धमा सो कुराको अभिलेख राखी सम्बन्धित कर्मचारीसमेतलाई सोको जानकारी दिनु भनी तत् निकायमा लेखी पठाउनू ...................................१

उल्लिखित कार्यविधि निर्देशिकाको अभियोग दायर गर्ने अदालतका स्रेस्तेदार कर्मचारी, मुद्दा फैसला गर्ने जिल्ला न्यायाधीश पुनरावेदन दर्ता गर्ने पुनरावेदन अदालत,का सम्बन्धित रजिस्ट्रार एवम्‌ मुद्दा फैसला गर्ने माननीय न्यायाधीशहरूबाट समेत पालना भएको नदेखिँदा उल्लिखित सबैको अभिलेख राखी निजहरू सबैलाई सो कुराको जानकारीको लागि लेखी पठाउने व्यवस्थाका लागि  यस अदालतका रजिस्ट्रारलाई प्रस्तुत फैसलाको प्रतिलिपिसहितको जानकारी 

दिनू ............................................................२

फैसलाको प्रतिलिपि साथ राखी महान्यायाधिवक्ताको कार्यालयलाई फैसलाको जानकारी दिनू ...............३

दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाइदिनू .....................................................४

 

उक्त रायमा सहमत छु ।

न्या. जगदीश शर्मा पौडेल

 

इति संवत् २०७१ साल कात्तिक ४ गते रोज ३ शुभम् ।

इजलास अधिकृत :- बाबुराम सुवेदी

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु