शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९४३२ - कर्तव्य ज्यान

भाग: ५७ साल: २०७२ महिना: कार्तिक अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल

माननीय न्यायाधीश श्री दीपकराज जोशी

फैसला मिति :- २०७२।०४।२४।१

०६९-CR-०४४१

 

मुद्दा :- कर्तव्य ज्यान ।

 

पुनरावेदक/प्रतिवादी :- पर्वत जिल्ला तिलाहार गा.वि.स. वडा नं. ९ घर भई हाल कारागार कार्यालय म्याग्दी  थुनामा रहेका गणेशबहादुर बस्नेत

विरूद्ध

प्रत्यर्थी/वादी :- चन्द्रबहादुर खत्री क्षेत्रीको जाहेरीले नेपाल सरकार

 

०६९-CR-०६११

पुनरावेदक/प्रतिवादी :- पर्वत जिल्ला तिलाहार गा.वि.स. वडा नं. ९ घर भई हाल कारागार कार्यालय जगन्नाथ देवल थुनामा रहेका हिमाञ्चल खत्री क्षेत्री

विरूद्ध

प्रत्यर्थी/वादी :- चन्द्रबहादुर खत्री क्षेत्रीको जाहेरीले नेपाल सरकार

 

०६९-CR-०६५२

पुनरावेदक प्रतिवादी :- पर्वत जिल्ला तिलाहार गा.वि.स. वडा नं. ९ घर भई हाल कारागार कार्यालय म्याग्दीमा थुनामा रहेका निर्मलबहादुर बस्नेत 

विरूद्ध

प्रत्यर्थी/वादी :- चन्द्रबहादुर खत्री क्षेत्रीको जाहेरीले नेपाल सरकार

०६९-CR-०६७२

पुनरावेदक/प्रतिवादी :- पर्वत जिल्ला तिलाहार गा.वि.स. वडा नं. ९ घर भई हाल जिल्ला कारागार कार्यालय कास्की पोखरामा थुनामा रहेका इन्द्रबहादुर बस्नेत

विरूद्ध

प्रत्यर्थी / वादी : चन्द्रबहादुर खत्री क्षेत्रीको जाहेरीले नेपाल सरकार

 

०६९-CR-०७८५

पुनरावेदक/प्रतिवादी :- पर्वत जिल्ला तिलाहार गा.वि.स. वडा नं. ९ घर भई हाल कारागार कार्यालय म्याग्दी थुनामा रहेको होमबहादुर भन्ने किसान बस्नेत

विरूद्ध

प्रत्यर्थी/वादी :- चन्द्रबहादुर खत्री क्षेत्रीको जाहेरीले नेपाल सरकार

 

प्रतिवादी प्रदीप बस्नेत पनि अरू पुनरावेदक प्रतिवादीहरूसँग साथ वारदात स्थलमा गएको अन्य प्रतिवादीहरूले मृतकलाई कुटपिट गर्दा निज वारदातस्थलमा उपस्थित रही केही नगरी हेरी बसेको स्थितिबाट वारदातको मतियार (Accessory on the fact) भई वारदातमा संलग्न रहेको देखिँदा निजले आपराधिक दायित्वबाट उन्मुक्ति पाउने अवस्था नरहने ।

(प्रकरण नं. १२)

 

पुनरावेदक/प्रतिवादीको तर्फबाट :- विद्वान् अधिवक्ता कीर्तिनाथ शर्मा पौडेल, हरिशंकर कर्ण र धीरेन्द्रकुमार मल्लिक र विद्वान् वैतनिक कानून व्यवसायी किरणकुमार गुप्ता

प्रत्यर्थी/वादीको तर्फबाट :- 

अवलम्बित नजिर :-

सम्बद्ध कानून :-

बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ११(३)

ज्यानसम्बन्धी महलको १३(३)

 

सुरू अदालतमा फैसला गर्ने :- 

मा.जि.न्या. श्री रमेशकुमार खत्री

पुनरावेदन अदालत,मा फैसला गर्ने :- 

मा.न्या. श्री शारदा प्रसाद घिमिरे

मा.न्या. श्री भूपेन्द्र प्रसाद राई

 

फैसला

न्या. गिरीश चन्द्र लाल :- पुनरावेदन अदालत, बागलुङको मिति २०६९।३।६ को फैसलाउपर न्याय प्रशासन ऐन,२०४८ को दफा ९ बमोजिम प्रतिवादीहरू गणेशबहादुर बस्नेत, हिमाञ्चल खत्री क्षेत्री, निर्मलबहादुर बस्नेत, इन्द्रबहादुर बस्नेत र होमबहादुर भन्ने किसान बस्नेतको पुनरावेदन परी यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य यसप्रकार छ :

जिल्ला पर्वत तिलाहार गा.वि.स.वार्ड नं.९ स्थित पूर्वमा हर्कबहादुर खत्रीको धान खेत, पश्चिममा ऐ. अन्तर्गतमा पर्ने सार्वजनिक जङ्गल, उत्तरमा ऐ. अन्तर्गत पर्ने अम्बरबहादुर खत्रीको धान खेत, दक्षिणमा ऐ. अन्तर्गत पर्ने ठुलो पँधेरो चौतारी यति चार किल्लाभित्र पर्ने बेतेनी गाउँबाट थामार्जुङ गाउँतर्फ आवतजावत गर्ने कच्ची ढुङ्गाको सिँढीबाटो रहेको उक्त ढुङ्गाको सिँढी बाटोको पाँचवटा ढुङ्गाहरू रगतले भिजेको २० वटा ढुङ्गाको सिँढीमा रगतका छिर्काहरू देखिएको दक्षिणतर्फको धान खेत माडिएको अवस्थामा रहेको मिति २०६५।६।२५ गते अन्दाजी १८.३० बजेको समयमा जिल्ला पर्वत तिलाहार ९ बस्ने हिमाञ्चल खत्री क्षेत्री, इन्द्रबहादुर बस्नेत, गणेशबहादुर बस्नेत, निर्मलबहादुर बस्नेत, होमबहादुर बस्नेत र प्रदीप बस्नेतले ऐ. बस्ने पदमबहादुर खत्री क्षेत्रीसमेतलाई छुरा प्रहार गरी कुटपिट गरेको भन्ने घटनास्थल प्रकृति मुचुल्का । 

जिल्ला पर्वत शिवालय गा.वि.स.वडा नं. ५ मा रहेको पर्वत जिल्ला अस्पतालको मुर्दा घरभित्र हरियो रङको स्टेचरमाथि सेतो कपडाले ढाकिएको लासको कम्मर भाग मुनि निलो जिन्स पाइन्ट, चेक सर्ट, बायाँ कान घाँटीमा बायाँ पट्टि निलो डाम, बायाँ कन्चटमा निलो डाम दायाँ साँप्रोको भागमा ३ से.मि. लम्बाइको काटिएको गोलो आकारको घाउ, बायाँ काँधमा घाँटीनिर खोस्रिएको दाग दुवै खुट्टाको भाग र दुवै हत्केलामा रगत लागेको तथा रगत सुकिसकेको अवस्थामा रहेको लास पल्टाई हेर्दा साँप्रोको काटेको घाउबाट रगत निस्केको मृतक पदमबहादुर के.सी. को लास जाँच प्रकृति मुचुल्का । 

मिति २०६५।६।२५ गते साँझ १८.३० बजेको समयमा जिल्ला पर्वत तिलाहार गा.वि.स. वार्ड नं.९ स्थित ठुलो पँधेरो भन्ने स्थानमा बेतेनीबाट घरतर्फ आउँदै गरेको अवस्थामा मेरो भाइ हरिबहादुर खत्रीको छोरा पदमबहादुर खत्री क्षेत्रीलाई जिल्ला पर्वत तिलाहार-९ बस्ने हिमाञ्चल खत्री, इन्द्रबहादुर बस्नेत, निर्मल बस्नेत, गणेश बस्नेत, होमबहादुर बस्नेत, प्रदीप बस्नेतसमेतले घांटी बटारी हिमाञ्चल खत्री र गणेश बस्नेतले साँप्रोमा छुरासमेत प्रहार गरी हात खुट्टा समाती शरीरका विभिन्न भागमा मुक्का ढुङ्गाले हानी पूर्व रिसइवीको कारण बाटो कुरी चौपारीमा लुकी छिपी बसी मार्ने मनासयबाट कुटपिट एवम्‌ छुरा प्रहार गरेको र सोही चोटको वेदनाको कारण मृत्यु भएको हुँदा पक्राउ गरी ज्यानसम्बन्धी महलमा उल्लिखित हदैसम्मको सजाय गरिपाउँ भन्ने चन्द्रबहादुर खत्री क्षेत्रीको जाहेरी दरखास्त । 

मिति २०६५।६।२५ गते साँझ ६.३० बजेको समयमा म र पदमबहादुर के.सी., सुर्यबहादुर के.सी., सरस्वती के.सी.समेत बेतेनीबाट घरतर्फ जांदै गर्दा ठुलो पँधेरो भन्ने ठाउँमा प्रतिवादी हिमाञ्चल खत्री क्षेत्रीसमेतका ६ जनाले मलाईसमेत कुटपिट गरी छाडी दाइ पदमबहादुर के.सी.लाई भलिबलको पूर्व रिसइवी लिई कुटपिट गरी धारिलो हतियारसमेत प्रहार गरेको हुँदा सोही चोटको कारण उपचारको लागि ल्याउँदै गर्दा पदमबहादुर खत्री क्षेत्रीको मृत्यु भएको भन्ने माधव खत्री क्षेत्रीको घटना विवरण कागज । 

      मिति २०६५।६।२५ गते प्रतिवादी हिमाञ्चल खत्री क्षेत्रीसमेतले मलाई घरबाट बोलाई ल्याई ठुलो पँधेरो भन्ने स्थानमा आएपश्चात् माधव के.सी., पदमबहादुर के.सी, सुर्यबहादुर के.सी., सरस्वती के.सी.समेत बेतेनीबाट आएपश्चात् वादविवाद सिर्जना गरी तँलाईसमेत मार्न ल्याएको हो भनी मलाईसमेत कुटपिट गरी बेहोस बनाई भाइ पदमबहादुर के.सी. लाई मुक्का, ढुङ्गा, धारिलो हतियार प्रयोग गरी कर्तव्य गरी मारेको हुँदा कानूनबमोजिम गरिपाउँ भन्ने कृष्णबहादुर के.सी. को घटना विवरण कागज । 

मिति २०६५।६।२५ गते बेलुका बेतेनीबाट घर जाँदै गर्दा १८.३० बजेको समयमा ठुलो पँधेरो भन्ने स्थानमा म, मेरो श्रीमती, माधव के.सी., पदमबहादुर के.सी.समेत पुग्दा प्रतिवादी हिमाञ्चल खत्री क्षेत्रीसमेतका व्यक्तिहरू भेट भई माधव के.सी.सँग हिमाञ्चल खत्री क्षेत्रीले भलिबलको विषयमा निंहु खोजी विवाद सिर्जना गरी हिमाञ्चलले माधवलाई कुटपिट गर्दा म छुट्टाउन जाँदा मलाईसमेत कुटपिट गरी श्रीमती र माधवसमेतलाई कुटपिट गर्दा बेहोस बनाई पदमबहादुर के.सी.लाई बाटोमा उम्कन भाग्न नदिई प्रतिवादीहरूले कुटपिट एवम्‌ छुरा प्रहार गरी मृत्यु भएको हुँदा प्रतिवादीहरूलाई कानुनबमोजिम गरिपाउँ भन्ने व्यहोराको सुर्यबहादुर के.सी.को घटना विवरण 

कागज । 

मिति २०६५।६।२५ गते माइतीबाट दशैँको टिका लगाई घर फर्कने क्रममा बेतेनीबाट म मेरो श्रीमान्‌् सुर्यबहादुर के.सी. देबर माधव के.सी., पदमबहादुर के.सी. र काखमा मेरी सानी छोरीसमेत लिई घरतर्फ जाँदै गर्दा ठुलो पँधेरो भन्ने स्थानमा पुग्दा गाउँकै ५।६ जना नाम थाहा नभएका मानिस भेट भई एकाएक निहुँ खोजी मेरो श्रीमान्‌, म, माधव के.सी.समेतलाई लात र मुक्काले हानी बेहोस बनाई सोही मौकामा पदमबहादुर के.सी. लाई छुरा र मुक्का प्रहार गरी प्रतिवादीहरूले बेहोस बनाएको हुँदा सोही पीडाको कारण पदमबहादुर के.सी. को मृत्यु भएको हो भन्ने सरस्वती के.सी.को घटना विवरण कागज । 

Death is due to manual strangulation (Throttling) Death is due to stab wound (Sharp force injury leading to Haemorrhage to Hypovolaemic shock) भन्ने मृतक पदमबहादुर के.सी.को शव परीक्षण प्रतिवदेन । 

Left elbow joint swelling tenderness, Right shoulder joint haematoma भन्ने कृष्णबहादुर के.सी. को घाउँ जाँच केस फाराम रिपोर्ट । 

Cut injury on head २×२ cm length, Left chick laceration wound, left lower eye lide Haematoma भन्ने माधव के.सी. को घाउँ जाँच केस फाराम रिपोर्ट । 

मिति २०६५।६।२५ गते भलिबल खेल्न जाँदा बल माधव के.सी.ले लगेको थाहा पाई बल खेल्न नपाएपछि माधव कहाँ छ भनी बुझ्दा माधव के.सी. र पदमबहादुर के.सी. तिलाहार गएका छन् बेतेनीको बाटो आउँदै छन भन्ने जानकारी पाई निजहरूलाई पिट्न भनी म र निर्मल बस्नेतसमेतले कृष्णबहादुर के.सी. लाई बोलाई बेतेनीतर्फ जाँदा गणेश बस्नेत, हिमाञ्चल के.सी., प्रदीप बस्नेत, होमबहादुर बस्नेतसमेत बाटोमा भेट भई ठुलो पँधेरोमा पुग्दा बेतेनीबाट माधव के.सी. पदमबहादुर के.सी, सुर्यबहादुर के.सी. र सरस्वती के.सी.समेत आएपछि हिमाञ्चल के.सी.र माधवबीच भलिबलसम्बन्धमा विवाद भै कुटाकुट हुन गयो र निर्मल, गणेश र होमेले पदमबहादुरलाई कुटपिट गरेका रहेछन्,  माधवबाट हिमाञ्चललाई छुट्याउन म  गई माधव भागेपछि मैले पदमबहादुर बाटोमा बसेको देखी पदमबहादुरलाई हातले २ पोञ्च हाने, गणेशले लातले हान्यो, गणेशले सधैँ चक्कु साथमा लिई हिँड्छ, मैले पदमबहादुरलाई घाँटीमा पोञ्च हानेपछि पदमबहादुर ढलेको हो, गणेश बस्नेतले पदमबहादुरलाई चक्कु हानेको रहेछ भन्ने व्यहोराको प्रतिवादी इन्द्रबहादुर बस्नेतको अनुसन्धान अधिकारीसमक्षको बयान 

कागज ।

मिति २०६५।६।२५ गते सधैँ बल खेल्ने ठाउँमा बल नभएको कारण बल माधव के.सी.ले लगेको भन्ने जानकारी भई माधव के.सी. र पदमबहादुर के.सी. बेतेनीबाट आउँदै छन त्यसलाई भेटेपछि बाटोमा कुट्नुपर्छ भन्ने सल्लाह गरी मसमेत ६ जनाले कृष्णबहादुर के.सी.लाई बोलाई ठुलो पँधेरोमा पुग्दा केही समयपश्चात् माधव के.सी., पदमबहादुर के.सी., सुर्यबहादुर के.सी., सरस्वती के.सी.समेत आएपश्चात् हिमाञ्चल के.सी.ले माधव के.सी. सँग भलिबलमा विवाद सिर्जना गरी कुटपिट गर्दा सुर्यबहादुर के.सी. ले सम्झाउँदा सम्झाउँदै गर्दा र पदमबहादुर के.सी. छुट्याउन जाँदा निर्मल बस्नेत, होमबहादुर बस्नेत, गणेश बस्नेतसमेतले पदमबहादुर के.सी. लाई मुक्का ढुङ्गा छुरा प्रहार गरेका हुन् र मैले बाटोमा कोही आउँदै छन् कि भनी हेरेको थिएँ,  छुरा गणेश बस्नेतले प्रहार गरेको रहेछन, भलिबलको विषयमा विवाद भई छुरासमेत प्रहार गर्ने कार्य भएको हो उक्त वारदातमा हामी सबै ६ जनाको संलग्नता थियो भन्नेसमेत व्यहोराको प्रतिवादी प्रदीप बस्नेतको अनुसन्धान अधिकारीसमक्षको बयान कागज । 

उक्त वारदातमा भलिबलको विषय लिई हिमाञ्चल के.सी ले माधव के.सी सँग विवाद सिर्जना गरी कुटपिट गर्न लाग्दा माधवले हिमाञ्चललाई कुटपिट गरेकाले पदमबहादुरसमेत हिमाञ्चललाई कुट्न जान लाग्दा मसमेत जाहेरीमा उल्लिखित अन्य सबैको संलग्नता र सहयोगमा मैले मेरो साथमा भएको चक्कुले पदमबहादुर के.सी. को साप्रोमा प्रहार गरेको हुँ, निजहरूलाई कुटपिट गर्ने योजना बनाई आएको हुँदा सोही योजनाअनुसार वारदात भएको हो उक्त चक्कु मैले घरमा राखेको छु, प्रदीप बस्नेतलाई मैले र हिमाञ्चलले बोलाई लगेका हौं भन्नेसमेत व्यहोराको प्रतिवादी गणेशबहादुर बस्नेतको अनुसन्धान अधिकारीसमक्षको बयान कागज । 

मिति २०६५।६।२५ गते  भलिबल खेल्न जाँदा बल माधव के.सी.ले घरमा लगी राखेको र दशैं पहिला सोही स्थानमा बल खेल्दा माधव के.सी र म बिच विवाद भई पदमबहादुर के.सी.समेतले कुटपिट गरेको रिसईवीको कारण उक्त मिति २०६५।६।२५ गते गणेश बस्नेत, निर्मल बस्नेत, होमबहादुर बस्नेत,  प्रदीप बस्नेत, इन्द्र बस्नेतसमेतसँग सल्लाह गरी निज माधव र पदमबहादुरलाई कुटपिट गर्न ठुलो पँधेरो भन्ने ठाउँमा कुरी बसी निजहरू आएपश्चात् निहुँ खोजी विवाद सिर्जना गरी मसमेत ६ जनाले कुटपिट गरी गणेश बस्नेतले चक्कु प्रहार गरेको हुँदा सोही पीडाको कारण पदमबहादुर के.सी. को मृत्यु भएको होला भन्नेसमेत व्यहोराको प्रतिवादी हिमाञ्चल खत्री क्षेत्रीको अनुसन्धान अधिकारीसमक्षको बयान कागज । 

उक्त वारदातमा ६ जनाको संलग्नता थियो अन्य ६ जनाबाहेक कसैले पदमबहादुर के.सी. लाई कुटपिट गरेका होइनन्, वारदातमा गणेश बस्नेतले पदमबहादुर के.सी.लाई छुरा प्रहार गरेका रहेछन् अन्यले छुरा प्रहार गरेका होइनन्,  हात मुक्का भने सबैले प्रहार गरेका हुन् सोही पीडाको कारण पदमबहादुर के.सी.को मृत्यु भएको हुनुपर्छ भन्ने व्यहोराको प्रतिवादी निर्मलबहादुर बस्नेतको अनुसन्धान अधिकारीसमक्षको बयान कागज । 

उक्त वारदातमा हिमाञ्चल के.सी.ले माधव के.सी. सँग भलिबलको विषयमा विवाद सिर्जना गरी दुवै जना लड्दै धान बारीमा गएको हुँदा पदमबहादुर के.सी.समेत माधवको सपोर्टमा जान लागेको हुँदा गणेश बस्नेत, इन्द्र बस्नेत, निर्मल बस्नेतले पदमबहादुर के.सी.लाई हात मुक्काले हानेका हुन्, क-कसले कहाँकहाँ हाने थाहा भएन, पछि बुझ्दा गणेश बस्नेतले छुरा हानेका रहेछन् मैले पनि मेरो पक्षको सपोट गर्न जाँदा पदमबहादुरले मलाई धकेलेका हुन्,  पदमबहादुर के.सी. चोटको पीडाले भुइँँ बाटोमा लडेपछि पुनः इन्द्र बस्नेत र गणेश बस्नेत, हिमाञ्चल खत्री क्षेत्री र निर्मल बस्नेतले पदमबहादुरलाई हात र लातले हानेका हुन् सोही पीडाको कारण पदमबहादुर के.सी. को मृत्यु भएको हुन सक्छ त्यसमा मेरो पनि संलग्नता थियो भन्नेसमेत व्यहोराको प्रतिवादी होमबहादुर बस्नेत भन्ने किसान बस्नेतको अनुसन्धान अधिकारीसमक्षको बयान कागज । 

जिल्ला पर्वत तिलाहार गा.वि.स. वडा नं. ९ थामार्जुङ गाउँस्थित पूर्व गम्बर सिंह बस्नेतको घर, पश्चिम भुपाल बस्नेतको गोठ धन्सार, उत्तर शिव बस्नेतको घर, दक्षिण प्रेमबहादुर बस्नेतको घर यति चार किल्लाको बीचमा दक्षिण मोहडा भएको ढुङ्गा माटोको गाह्रो ढुङ्गाले छाएको हर्कबहादुर बस्नेत प्रतिवादी गणेश बस्नेतको घर हाल राधिका बस्नेतले रेखदेख गर्ने घरमा भित्र उत्तरतर्फको कोठाको खाटमा गणेश बस्नेत सुत्ने गरेको पश्चिमतर्फको खाटमाथि भाँडा बर्तन लत्ता कपडा भएको झोला रहेको सेतो प्लास्टिकको झोलाभित्र लत्ता कपडा तथा भाडा बर्तनसमेत हटाई हेर्दा बिँडमा चराको टाउको अङ्कित प्लास्टिकको बुट्टेदार बिँड तथा दाब भएको, लबडले बिँडमा बाँधेको,  दाबमा चोयाले बाँधेको, चक्कुको दाब टुप्पो देखि बिँडसम्म १२ इन्च ७ सेमी लम्बाइ भएको चक्कुको धार देखी तलसम्मको ६ इन्च लम्बाइ भएको बिँडमा रातो पत्थर जडान भएको चक्कु वारदातमा गणेश बस्नेतले प्रहार गरेको भन्ने बरामदी खानतलासी मुचुल्का । 

बिँडमा चराको टाउको अङ्कित चित्र भएको प्लास्टिकको बुट्टेदार बिँड तथा दाब भएको दाबमा मसिनो चोयाले बाँधेको बिँडमा लबडले बाँधेको पत्थरसमेत जडान भएको दाबमा तारले बाँधेको बिँडदेखि टुप्पोसम्म १२ इन्च ७ से.मी. लम्बाइ भएको चक्कुको धारको टुप्पोदेखि फेदसम्म ६ इन्च लम्बाइ भएको प्रहरीद्वारा बरामद गरी मैले राखेको ठाउँबाट ल्याई मलाई देखाएको चक्कु वारदातमा पदमबहादुर के.सी. लाई मैले प्रहार गरेको चक्कु यही हो भनी प्रतिवादी गणेशबहादुर बस्नेतले गरिदिएको सनाखत कागज ।

उक्त वारदातमा मलाई मेरो श्रीमान्‌ सुर्यबहादुर के.सी. देवर माधव के.सी.लाई कुटपिट गर्ने र देवर पदमबहादुर के.सी. लाई छुरा मुक्का प्रहार गरी मार्ने प्रतिवादीहरूलाई पक्राउ गरी ल्याइएका मानिसहरू देखेँ उक्त वारदातमा कुटपिट एवम्‌ छुरा प्रहार गर्ने यिनै ६ जना हुन्, अन्य कसैको संलग्नता छैन, कानूनबमोजिम गरिपाउँ भन्ने व्यहोराको सरस्वती के.सी. को सनाखत कागज । 

मिति २०६५।६।२५ गते माधव के.सी., पदमबहादुर के.सी., सुर्यबहादुर के.सी. र सरस्वती के.सी.समेत बेतेनीबाट घरतर्फ आउँदै गर्दा हिमाञ्चल के.सी, गणेश बस्नेत, इन्द्र बस्नेत, निर्मल बस्नेत, होमबहादुर बस्नेत भन्ने किसान बस्नेत र प्रदीप बस्नेतसमेतले भलिबलको विषयमा भएको झगडा एवम्‌ कुटपिटको विषयलाई पूर्व रिसइवी लिई कुटपिट गर्ने परिपन्च मिलाई एक आपसमा सरसल्लाह गरी सगोलमा गई एकान्त ठाउँ ठुलो पँधेरो भन्ने स्थानमा लुकीछिपी बसी मृतक पदमबहादुर के.सी.समेत बेतेनीबाट उक्त स्थानमा आइपुगेपछि विवाद एवम्‌ भनाभन सिर्जना गरी बाटो छेकी सगोलमा रहेका माधव के.सी., सुर्यबहादुर के.सी., सरस्वती के.सी. र लक्ष्य भन्ने कृष्णबहादुर के.सी.समेतलाई कुटपिट गरी भगाई बेहोस बनाई पदमबहादुर के.सी. लाई एक्लै बनाई हातखुट्टा समाई चल्न बोल्नसमेत नदिई चक्कु र मुक्कासमेत प्रहार गरी मरणासन्न गराएको हुँदा सोही पीडाको कारण उपचार गर्न लैजाँदा मृत्यु भएकाले निजहरूमाथि हदै सम्मको सजाय गरिपाउँ निज अभियुक्त बाहेक उक्त वादरदातमा अन्य कोही कसैको कर्तव्य गरी मार्ने र कुटपिट गर्नेमा संलग्न छैन भन्ने व्यहोराको करिब एकै मिलानको मृतक पदमबहादुर के.सी.को आमा चुवाकुमारी खत्री क्षेत्री, दाजु प्रमोद खत्री क्षेत्री र दलबहादुर खत्री क्षेत्रीले गरेको कागज ।

मिति २०६५।६।२५ गते गाउँका हिमाञ्चल के.सी. इन्द्र बस्नेत, होमबहादुर बस्नेत भन्ने किसान बस्नेत, गणेश बस्नेत, निर्मल बस्नेत, प्रदीप बस्नेतसमेतले माधव के.सी. र पदमबहादुर के.सी. बेतेनीबाट आउँदैछन् भन्ने थाहा पाई निजहरूलाई कुटपिट एवम्‌ हत्या गर्न गाउँको बाटोमा बसी सरसल्लाह गरी आपसमा भिन्दा भिन्दै ठाउँबाट हिँडी ठुलो पँधेरो भन्ने स्थानमा पुगी चौतारोमा भेला जम्मा भई बाटो छेक्ने, मानिसहरू हेर्ने, कुट्ने पिट्नेसमेत परिपन्च मिलाई लुकिछिपी बसी पदमबहादुर के.सी., माधव के.सी., सुर्यबहादुर के.सी., सरस्वती के.सी.समेत उक्त स्थानमा आएपछि हिमाञ्चल के.सी.ले भलिबल खेल्दा भएको रिसइवी पोख्न भलिबलको विषयमा माधव के.सी. सँग विवाद सिर्जना गरी माधव के.सी., सुर्यबहादुर के.सी., सरस्वती के.सी., कृष्णबहादुर के.सी.समेतलाई कुटपिट गरी बेहोस बनाई पदमबहादुर के.सी. लाई भाग्न उम्कनसमेत नदिई प्रतिवादीहरूमध्ये कसैले हात खुट्टा समाउने कसैले हात र लात्ताले हान्ने, कसैले छुरा प्रहार गर्ने जस्ता निन्दनीय एवम्‌ निर्दयी कार्य गरी घाँटीसमेत थिची कर्तव्य गरी मारेको हुँदा निज प्रतिवादीहरूबाहेक अन्य कोही कसैको संलग्न नरहेको निजहरूउपर कानुनबमोजिम हदैसम्मको कडा कारवाही हुनु पर्छ भन्नेसमेत व्यहोराको भगवती भुवाजी, तिल कुमारी भुवाजी, टेकबहादुर भुवाजीसमेत जना ३ ले गरेको वस्तुस्थिति  मुचुल्का ।

जिल्ला पर्वत तिलाहार-९ स्थित ठूलो पँधेरो भन्ने ठाउँमा प्रतिवादीहरू हिमाञ्चल खत्री क्षेत्री, इन्द्रबहादुर बस्नेत, गणेशबहादुर बस्नेत, निर्मल बस्नेत, होमबहादुर भन्ने किसान बस्नेत, प्रदीप बस्नेतसमेत भई मृतक पदमबहादुर के.सी. आउँदै गरेको बाटो ढुकी भलिबलको विषयमा भएको झगडालाई लिएर ज्यान लिने मनसायले प्रतिवादीमध्येका गणेशबहादुर बस्नेतले छुरी प्रहार गर्ने, अन्य प्रतिवादी हिमाञ्चल खत्री क्षेत्री, इन्द्रबहादुर बस्नेत, निर्मल बहादुर बस्नेत, होमबहादुर भन्ने किसान बस्नेत, प्रदीप बस्नेतसमेतले लात्ता मुक्का आदिले प्रहार गरी मृतक पदमबहादुर के.सी. लाई कर्तव्य गरी मारेको स्पष्ट हुन आएकाले निज प्रतिवादीहरूको उक्त कार्य मुलुकी ऐन ज्यानसम्बन्धी महलको १ नं. विपरीत १३ (३) नं. अनुसारको कसुर अपराध भएकाले उक्त अपराध कसुरमा निज प्रतिवादीहरू हिमाञ्चल खत्री क्षेत्री, इन्द्रबहादुर बस्नेत, गणेशबहादुर बस्नेत,  निर्मलबहादुर बस्नेत,  होमबहादुर भन्ने किसान बस्नेतलाई मुलकी ऐन ज्यानसम्बन्धी महलको १३ (३) नं. अनुसार  सजाय गरिपाउन र साथै प्रतिवादी प्रदीप बस्नेतको उमेर वारदात समयमा १६ वर्षभन्दा तल १५ वर्ष ८ महिना १५ दिन हुन आउँदा निजलाई उक्त कसुरमा मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३(३) नं. अनुसार हुने सजायमा बालबालिका सम्बन्धी ऐन, २०४८ को दफा ११(३) अनुसार सजाय गरिपाउन मागदाबी लिई पक्राउ प्रतिवादी हिमाञ्चल खत्री क्षेत्री, इन्द्रबहादुर बस्नेत, गणेशबहादुर बस्नेत, निर्मलबहादुर बस्नेत, होमबहादुर भन्ने किसान बस्नेत, प्रदीप बस्नेत र बरामद भई आएको छुरी थान-१, साथै प्रस्तुत गरिएको छ भन्ने वादी नेपाल सरकारको तर्फ बाट दायर हुन आएको अभियोगपत्र । 

मिति २०६५।६।२५ गते दिउँसो २ बजेतिर पोखरातर्फ गएको थिएँ । भोलिपल्ट बिहान काठमाडौंतर्फ गएको हुँ । घटना भएको भनिएको दिन म घरमा थिइन । अध्ययनको क्रममा काठमाडौंमा रही २०६५ साल कार्तिक २८ गते घरमा फर्केको हुँ । मलाई अभियोग लागेको छ भनी थाहा पाएर प्रहरीसमक्ष आएको हुँ । निज मृतक पदमबहादुरको कसरी को कसको संलग्नतामा मृत्यु भएको हो भन्ने कुरा मलाई थाहा भएन तर यस घटनामा मेरो संलग्नता थिएन,  गणेश बस्नेतले तिहारको २३ दिनअगाडि अनलाइन म्यासेजमार्फत म असोज २५ गते काठमाडौं जाने बेलामा बाटोमा पदमबहादुर, माधवहरूले मलाई कुट्ने प्रयास गरे चक्कुसमेत हान्ने प्रयास गर्दा मैले सोको प्रतिकार गर्ने क्रममा पदमबहादुरको आफ्नै हातले खुट्टामा चक्कु लागेछ, म त्यहाँबाट भागेर हिँडेको र पछि पदमबहादुर त मर्‍यो रे । तँसमेतलाई लगाएका छन भनी मलाई जानकारी प्राप्त भएको हो, जाहेरीमा उल्लिखित माधव, सुर्यबहादुर र निजको श्रीमती के कसरी घाइते भए सो थाहा भएन भनी प्रतिवादीमध्येका हिमाञ्चल खत्री क्षेत्रीले सुरू अदालतमा गरेको बयान । 

पर्वत तिलाहार-९ थामार्जुङ्गस्थित थुमाको डाँडामा मैले बल खेलेको र खेल्ने गरेको यथार्थ हो । हिमाञ्चलले बल फाली बलको विषयमा झगडा माधव के.सी.सँग भएको हो । माधव के.सी. ले हिमाञ्चललाई हानेको कारणले झगडा भएको र मैले निजहरूलाई छुट्टाउने क्रममा मलाई पनि माधव के.सी.बाट हातपात भएको थियो । खेलमा संलग्न अन्य साथीहरूले माधवलाई समाते र सम्झाएपछि मिति २०६५।६।१८ को झगडा साम्य भएको हो तर यस घटनामा मृतक पदमबहादुर के.सी. र सुर्यबहादुर के.सी. उपस्थित थिएनन् । मिति २०६५।६।२५ गते दिउँसो २ बजे कास्की सल्यान बस्ने मेरो काकाको घरमा गएको थिएँ र भोलिपल्ट मेरो दाइको ससुरालीको घर कास्कीको सल्यानमा गई त्यहीँ बसिरहेको थिएँ । सोही समयमा सबै गाउँका केटाहरू आएर काकाको घर घेरा हालेका छन् भनी थाहा पाएपछि म त्यहाँबाट पोखरा गएर दिदीको घर गौरीघाटमा गई होटल तालिम गरी बसिरहेको अवस्थामा साथी हिमाञ्चलबाट जाहेरीमा मेरो पनि नाम उल्लेख भएको थाहा पाएको हुँदा यसबाट सफाइ पाउन आफैँ प्रहरी कार्यालयमा आएको हुँ । पदमबहादुर के.सी.को मृत्यु भएको कुरा मैले कास्की सल्यानमा काकीले भनी थाहा पाएको हुँ भन्नेसमेत व्यहोराको प्रतिवादीमध्येका इन्द्रबहादुर बस्नेतले सुरू अदालतमा गरेको बयान ।

मृतक पदमबहादुर खत्रीलाई को कसले कुटपिट गरी मारे मलाई थाहा भएन । मेरो उल्लिखित घटनामा संलग्नता छैन । मिति २०६५।६।२६ गते साँझ गाउँघरमा हल्लाखल्ला भयो बस्नेत थरका व्यक्तिहरूले पदमबहादुरलाई कुटपिट गरी मारे भनी हल्ला चलाए । मउपर पनि जाहेरी परेको हुनाले के रहेछ भनी जिल्ला प्रहरी कार्यालय पर्वतमा आएँ र मलाई सोधपुछको लागि त्यहीं जि.प्र.का.मा राखे । निज माधव के.सी. लगायतका मानिसहरू के कसरी घाइते भए सो कुरा पनि मलाई थाहा भएन । म उक्त घटनामा संलग्न नभएको, किन मलाई पोली बयान गरे मलाई थाहा भएन मृतक पदमबहादुर खत्रीलाई कुटपिट गरी हत्या गर्ने कार्यमा मेरो संलग्नता नभएको हुनाले मलाई अभियोग दाबीबमोजिम सजाय हुनुपर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादीमध्येका प्रदीप बस्नेतले सुरू अदालतमा गरेको बयान ।

मिति २०६५ साल असोज २४ गते नवलपरासीको कावासोती भन्ने ठाउँमा मेरो बुबा अर्को आमासँग बस्ने हुँदा बाबाको हातको टीका लगाउन भनी २४ गते बेलुका कावासोती पुगी त्यहीँ बसी घरको धान काट्नेसमेतको काम गरी ६।७ दिन त्यहीँ बसिरहेको अवस्थामा प्रतिवादी इन्द्र बस्नेतले तेरो नाम पनि जाहेरीमा दिएका छन भनी खबर गरेकाले आफैँ प्रहरी कार्यालयमा उपस्थित भएको हुँ । म घटनामा संलग्न छैन, यसभन्दा अगाडि कुनै झैझगडा भएको थिएन । घटना विवरण कागज गर्ने व्यक्तिले मलाई फसाउने नियतले त्यस्तो कागज गरेका होलान् । मृतक पदमबहादुर के.सी. को के कसरी मृत्यु भयो मलाई थाहा छैन भन्नेसमेत व्यहोराको प्रतिवादीमध्येका होमबहादुर भन्ने किसान बस्नेतले सुरू अदालतमा गरेको बयान ।

मिति २०६५।६।२५ गते दिउँसो मेरो दिदी बेलाउतीको रूखबाट लोटेको कारण उपचार गराउने क्रममा दिउँसो दिदीलाई बेतेनीसम्म ल्याएर टेक्सीमा दाइसँग पोखरातर्फ पठाएर म पुनः मामाको घर पर्वत जिल्ला तिलाहार गा.वि.स. दराक गएको र त्यहीँ दिन ४ बजेतिर मामा र म बेनी गएको थिए, उक्त घटनामा म संलग्न थिइन, को कसले के कसरी मृतक पदमबहादुरको हत्या गरेका हुन् सो कुरा मलाई थाहा भएन मिति २०६५।७।२८ गते गणेशले मलाई कम्प्युटरको नेटमा कन्ट्याक गरेर पदमबहादुरको मृत्यु भएको रहेछ तलाईसमेत उजुर परेको रहेछ भन्ने खबर थाहा पाएर म झस्याङ्ग भएर म जिल्ला प्रहरी कार्यालय पर्वतमा गएर बुझ्दा मलाई अभियोग लागेको थाहा पाएँ । सहप्रतिवादीले मसमेतलाई झोसी बयान गरेका हुन सक्छन् तर मेरो उक्त घटनामा संलग्नता छैन भन्नेसमेत व्यहोराको प्रतिवादीमध्येका निर्मलबहादुर बस्नेतले सुरू अदालतमा गरेको बयान ।

मिति २०६५।६।२५ गते मेरी दिदी पर्ने डल्ली छानाबाट खसी घाईते भै निजलाई उपचार गर्न बेतेनीतर्फ पुर्‍याएर म मेरो घरमा फर्केर आएँ घरमा बेलुका ५.०० बजे तिर आएर एकछिन बसेपछि म काठमाडौं जानको लागि घरबाट कपडा लगाई हिँडेको र हिँड्ने क्रममा पर्वत तिलाहार-९ को ठुलो पँधेरोमा पुग्दा माधव के.सी., पदमबहादुर के.सी., सुर्यबहादुर के.सी., कृष्णबहादुर के.सी., भेट भए, सुर्यबहादुरको श्रीमती सरस्वती केही माथि पुगिसकेकी थिइन, त्यसपछि सुर्यबहादुर के.सीले मलाई कहाँ जाने होस माओवादी भनी सोध्यो मैले काठमाडौं जान लागेको भने त्यसपछि निजहरूले राजनीतिक कुरा गरेर तेरो पार्टीले के गर्‌यो भनी भन्दा मैले बल्ल सत्तामा गएको छ, भनेँ यस्तै भनाभन भएपछि माधव, पदमबहादुर, सुर्यबहादुर र कृष्णबहादुरले आक्रमण गरे, हात हाले मृतक पदमबहादुर के.सी.ले चक्कु निकाली मलाई हिर्कायो हिकाउँदा मैले समातेँ र म भाग्ने क्रममा पदमबहादुर के.सी.को हात छोडियो र साँप्रोमा लाग्न पुग्यो उसले ऐया भनी करायो निजहरूले के 

भयो ? के भयो ? भनी भन्ने क्रममा म भागेर त्यसपछि बेतेनीबाट बस चढी पोखरा गई त्यहीँ बसें पदमबहादुर के.सी. को मृत्यु भएछ भन्ने कुरा मैले एफ.एमबाट सुने एफ.एमबाट हिमाञ्चल, इन्द्र बस्नेत, निर्मल  बस्नेत, होमबहादुर बस्नेत र म भै छुरा प्रहार गरी पदमबहादुर के.सी.को मृत्यु भएको भन्ने सुनेको हुँ । मैले छुरा प्रहार गरेको होइन जाहेरी दरखास्त झुट्ठा हो भन्नेसमेत व्यहोराको मिति २०६५।८।२६ गते प्रतिवादीमध्येका गणेशबहादुर बस्नेतले सुरू अदालतमा गरेको बयान ।

बिदाको समयमा सधैजसो थुमाको डाँडामा बल खेलिरहन्थ्यौं । मिति २०६५।६।१८ गते पैसा बाजी गेम खेलेका थियौं । यसमा हिमाञ्चलको टिम एकातिर र म एकातिर थियौं खेलमा मेरो टिमले जितेपछि हिमाञ्चलले बल जङ्गलतिर फालेपछि मसँग हात हालाहाल भयो त्यहाँ भएका अरू साथी र दाइहरूले छुट्याएपछि आ–आफ्नो घर गयौं, त्यस पछि बडा दशैँको भोलिपल्ट असोज २५ गते दाइ पदमबहादुरले दिदीलाई छोड्न जाउ म भोलि इन्डिया फर्कन्छु साथी र साहेबलाई फोन गर्छु भनेकाले दिदीको घर राम्जा गई दिदीलाई फर्कदा बाटोमा सुर्यबहादुर के.सी. र सरस्वती के.सी. दाई भाउजू भेट भई घरतर्फ उकालो लाग्यौं बाटोमा पदमबहादुर दाइ र भाउजू अघि म सुर्यबहादुर पछि जाँदै गर्दा हिमाञ्चल, निर्मल, इन्द्र, प्रदीप, कृष्णबहादुर के.सी. गणेश बस्नेत भेट भएपछि हिमाञ्चलले बल किन लिएर आएनस् ? हामी खेल्न पाएनौं भनी हान्न थाले र म तलतिर खसी अर्ध बेहोस भएछु । सबैले माथि पदमबहादुरलाई चक्कु, ढुङ्गालगायत लात्ता मुक्काले ढालेछन् । त्यसपछि कृष्णबहादुर के.सी. घरमा गई दाजुहरूलाई खवर गरी त्यस ठाउँमा आएका रहेछन् । उक्त घटना बेतिनी ठूलो पँधेरो चौतारामा  भएको हो । उक्त घटनामा मेरो टाउकामा र देब्रे आखामुनि चोट लागी पर्वत अस्पतालमा उपचार गराएको छु भन्नेसमेत व्यहोराको मौकामा कागज गर्ने माधव के.सी. ले सुरू अदालतमा गरेको बकपत्र । 

मेरो छोरा इन्डिया वनारसमा वस्ने र घरमा आएको १ हप्ता भएको थियो म एक्लै भए पनि छोरालाई दशैँको टीका लगाउन बोलाएर आएको थियो । उक्त दिन मेरो छोरा आफ्नी  दिदीलाई छोड्न गई फर्केर आउँदा साझँको समयमा मेरो छोरा पदमबहादुर के.सी., माधव के.सी., सरस्वती के.सी, तलबाट आउँदै गर्दा यी प्रतिवादीहरूले पहिला माधव के.सी. लाई हानेछन् र पछि मेरो छोरालाई कुटपिट गरी मारेछन् भन्नेसमेत व्यहोराको मौकामा कागज गर्ने चुवा कुमारी खत्री क्षेत्रीले सुरू अदालतमा गरेको बकपत्र । 

हिमाञ्चल र इन्द्र बस्नेतले भाउजू लिन जाउँ भनी भनेकाले म पनि निजहरूसँग गएपछि ठूला पँधेरो भन्ने ठाउमा अन्य साथीहरू भेट भएर होम, निर्मल, गणेश र म तलतिर गयौं तलबाट माधव, पदमबहादुर, सरस्वती र सुर्यबहादुर दाजु आउदै रहेछन् । मलाई सुर्यबहादुर दाइले फर्की भन्नु भएकाले फर्केपछि इन्द्र हिमाञ्चल,  गणेश,  होमे,  निर्मल, पनि एक छिन पछि फर्केँ । अलि माथि माधवसँग बलको कुरा निकाली एक आपसमा भनाभन भयो । एक आपसमा हात छोडाछोड भयो मलाई इन्द्र बस्नेतले हान्यो र पछि होमबहादुरले मलाई हानेपछि म तल सिस्नुको झाडीमा खसी अर्ध बेहोस भएछु भन्नेसमेत व्यहोराको मौकामा कागज गर्ने कृष्णबहादुर के.सी. ले सुरू अदालतमा गरेको बकपत्र ।

म घटनास्थलमा जाँदा पदम लडेको अवस्थामा देखेकी हुँ । पदम मरेपछि प्रतिवादीहरू भागेकाले यिनैले मारेको होला भनी सबैले भनेकाले यिनले गल्ती नगरेको भए किन भागे भन्नेसमेत व्यहोराको मौकामा कागज गर्ने भगवती भुवाजीले सुरू अदालतमा गरेको बकपत्र ।

हिमाञ्चल के.सी. इन्द्र बस्नेत, गणेश बस्नेत,  निर्मल बस्नेत,  किसान बस्नेत र प्रदीप बस्नेत भई पदमबहादुर के.सी. लाई कर्तव्य गरी मारेको भन्ने कुरा थाहा पाएको हुँ भन्नेसमेत व्यहोराको मौकामा कागज गर्ने  प्रमोद खत्री क्षेत्रीले सुरू अदालतमा गरेको 

बकपत्र । 

मिति २०६५।६।२५ गते पर्वत खुर्कोट ससुरालीबाट श्रीमती र डेढ वर्षकी छोरीसहित घरमा आउँदै गर्दा पर्वत जिल्ला तिलहार ९ बेतेनी  भन्ने ठाउँमा नाताले काकाको छोरा पर्ने पदमबहादुर के.सी. र नाताले ठूला बुबाको छोरा पर्ने माधव के.सी भेटी माथि जाने क्रममा सँगै उकालो उक्लदै गर्दा मेरा श्रीमती र मृतक पदमबहादुर के.सी केही अगाडि म र माधव के.सी केही पछाडि आउदै थियौं । माथि ठूला पधेरो भन्ने ठाउँ भन्दा केही तल इन्द्र बस्नेत,  हिमाञ्चल के.सी. होमबहादुर बस्नेत,  निर्मल बस्नेत, गणेश बस्नेत र प्रदीप बस्नेतलाई देखेका थियौं पछि हिमाञ्चल लगायत ६ जना स्वयम्‌ बाटोमा आई हिमाञ्चलले माधव के.सी. लाई बल कहाँ राखेको भनी सोध्दा माधवले हिजो अस्ति जहाँ राखेको हो त्यही थियो भनी भनेपछि डिसकस भई ठूलो पँधेरोमा पुगेपछि हिमाञ्चलले माधव के.सीलाई मुक्का प्रहार गरे म छुट्याउन जादा मलाईसमेत धानवारीमा सिस्नु घारीमा फाली दिए, त्यसपछि उठ्दा मेरो श्रीमती र छोरी अत्तालिएर बेहोस भएका रहेछन् । उनलाई सम्हाल्ने क्रममा म उठ्दा माधव के.सी. सँग २ जना लड्दै रहेछन् पदमबहादुरलाई ३ जनाले हान्दै रहेछन् । चक्कु मैले देखेको होइन भन्नेसमेत व्यहोराको मौकामा कागज गर्ने सुर्यबहादुर के.सी. ले सुरू अदालतमा गरेको बकपत्र ।

प्रतिवादीहरू सबैसँग तल भेट भयो बल भन्थे के हो थाहा भएन एक्कासी धकेला धकेल भयो हिमाञ्चल र माधवको बीचमा माधवलाई तल लगे माधवलाई तल लगिसकेपछि माथि आएर सबै धुइरिएका थिए । म पदमबहादुर के.सी. लाई को कसले के कसरी हाने थाहा भएन । म छुट्याउन जाँदा इन्द्र बस्नेतले देब्रे खुट्टामा हानेको कारण बेहोस अवस्थामा थिएँ पछि होसमा आँउदा मृतक पदमबहादुर के.सी रगताम्य अवस्थामा थिए त्यसपछि माधव त्यहीँ कुरेर बस्नुभयो हामी गाउँतिर गै गुहार माग्न गर्यौं गाउँबाट पहिला ३, ४ जना र पछि सबै जना आए र मृतक पदमबहादुर के.सी. लाई वेतिनीतर्फ लगियो भन्नेसमेत व्यहोराको मौकामा कागज गर्ने सरस्वती के.सी.ले सुरू अदालतमा गरेको बकपत्र । 

मिति २०६५।६।२५ गते करिब ३।३० बजेतिर म मेरो मामाघर प्रतिवादी प्रदीप बस्नेतको घरमा गै दिनको ४ बजे प्रदीप सँग भेट भएको हो र भेट भएपछि उक्त दिन र रातमा म प्रदीप बस्नेतसँग छु घटनामा निजको कुनै संलग्नाता छैन भन्नेसमेत व्यहोराको प्रतिवादी प्रदीप बस्नेतका साक्षी महेन्द्र लामिछानेले सुरू अदालतमा गरेको बकपत्र । 

मिति २०६५।६।२५ गतेका दिनभर आफनै घरमा थिएँ । मृतक पदमबहादुर के.सी. लाई मार्ने इन्द्र बस्नेत, हिमाञ्चल के.सी., होमबहादुर बस्नेत, निर्मल बस्नेत, गणेश बस्नेत, र प्रदीप बस्नेत भै पदमबहादुर के.सीलाई कर्तव्य गरी मारेको कुरा मिति २०६५।६।२५ गते साँझ ६.३० बजेतिर थाहा पाएको हुँ र म घटनास्थलमा पुग्दा मृतक पदमबहादुर के.सी. लाई भने देखेको थिइन । मेरो घर र घटना घटेको ठाउँ करिव १५ मिनेट पैदल दुरीमा पर्दछ, मैले मृतक पदमबहादुर के.सी लाई कुटपिट गर्दा नदेखेको हुँदा के कसरी कर्तव्य गरी मारे भन्ने कुरा खुलाउन सक्दिन भन्नेसमेत व्यहोराको जाहेरवाला चन्द्रबहादुर खत्रीले सुरू अदालतमा गरेको बकपत्र । 

मिति २०६५।६।२५ गते म आफ्नै घरमा थिएँ । प्रतिवादी गणेश बस्नेत सोही दिनको ५.३० बजे काठमाडौं जान भनी घरबाट निस्कनुभएको हो । घटना बेलुका ६.३० बजेतिर भएको र म ६.४० बजे घटनामा पुगेको थिएँ । म त्यहाँ पुग्दा पदमबहादुर के.सीलाई घाइते अवस्थामा देखेकी थिए । गणेशबहादुर त्यहाँ थिएनन् मृतक र प्रतिवादी गणेश अति मिल्ने साथीहरू हुन् । मृतकलाई मार्नुपर्ने पूर्व रिसइवी मनसाय योजना केही नहुँदा फसाउनका लागि मात्र यो जाहेरी तथा अभियोग लगाइएको हो भन्नेसमेत व्यहोराको प्रतिवादी गणेश बस्नेतको साक्षी राधिका बस्नेतले सुरू अदालतमा गरेको बकपत्र । 

प्रतिवादी प्रदीप बस्नेत र मेरो घर एउटै जोडिएको छ । निजको सानैदेखिको आनीबानी मैले जाने बुझेकी हुँ प्रदीप बस्नेतले अभियोग माग दाबीअनुसारको कसुर अपराध नगरेका र उक्त घटनामा संलग्न नभएका वारदातको समयमा आफनै घरमा रहे भएको मैले  देखेको हुँदा अभियोग दाबीअनुसार निजलाई सजाय हुनुपर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी प्रदीप बस्नेतको साक्षी शान्ति बस्नेतले सुरू अदालतमा गरेको बकपत्र । 

मिति २०६५।६।२५ गते म तिलाहारस्थित आफ्नै घरमा थिएँ । प्रतिवादी निर्मल बस्नेत आफ्नो दिदी बेलाउतीको रूखबाट खसी घाइते भएकीले उपचारको लागि पोखरा लैजान बेतेनीसम्म पुराई करिब ४ बजेतिर मेरो घरमा आइपुगेका थिए । त्यसपछि म र निज निर्मल बस्नेत म कार्यरत् रहेको म्याग्दी जिल्ला प्रहरी कार्यालयमा सँगै गएका हौ र निर्मल बस्नेत १ महिना बेनीमा नै कम्प्युटर सिकी कार्तिकमा मात्र आफ्नो घरमा आएका हुन् । घटनामा यी प्रतिवादीको संलग्नता छैन भन्नेसमेत व्यहोराको प्रतिवादी निर्मलबहादुर बस्नेतका साक्षी प्रेम के.सी. ले सुरू अदालतमा गरेको बकपत्र । 

मिति २०६५।६।२५ गते म आफ्नै घरमा 

थिएँ । उक्त दिन यी प्रतिवादी निर्मल बस्नेत आफ्नै घरमा भएका र दिनको ४.०० बजे तिर आफ्नै मामासँग कम्प्युटर सिक्न भनी म्याग्दीतर्फ गएका हुन् भन्नेसमेत व्यहोराको प्रतिवादी निर्मलबहादुर बस्नेतको साक्षी मञ्जु के.सी. ले सुरू अदालतमा गरेको बकपत्र ।

मिति २०६५।६।२५ का दिन अन्दाजी २ देखि २।३० बजे समयमा प्रतिवादी बनाइएका इन्द्रबहादुर बस्नेत कास्की  सल्यान गा.वि.स. वडा नं. ६ स्थित मेरो घरमा आएका र उक्त दिन मेरो घरमा बसी भोलिपल्ट बिहान करिव ६.०० बजे तिर नजिकै रहेको दाइको ससुरालीमा गएका हुन् घटनामा निजको कुनै संलग्नता छैन भन्नेसमेत व्यहोराको प्रतिवादी इन्द्रबहादुर बस्नेतका साक्षी कृष्ण के.सी. ले सुरू अदालतमा गरेको बकपत्र । 

मिति २०६५।६।२५ गते यी प्रतिवादी हिमाञ्चल खत्री दिनको ५ बजे तिर म र मेरो भाइ वस्ने पोखरा उपमहानगरपालिका वडा नं. १ सिमपानीमा आई सो रात त्यहीँ बसी भोलिपल्ट बिहान काठमाडौं जान भनी बस चढी गएका हुन् । वारदात भयो भनिएको समयमा यी प्रतिवादी हिमाञ्चल पोखरामा भएका र भोलिपल्ट काठमाडौं गएका हुँदा निजको घटनास्थलमा कुनै संलग्नता छैन भन्नेसमेत एकै मिलान व्यहोराको प्रतिवादी हिमाञ्चल खत्रीका साक्षी सुमन पौडेल, रिता पौडेल र रमेश पौडेलले सुरू अदालतमा गरेको 

बकपत्र । 

प्रतिवादी हिमाञ्चल खत्री क्षेत्रीको आनी वानी र आचरण र पढाइसमेत राम्रो भएको र मिति २०५६।६।२५ का दिन बेलुका अ. ७.३० बजेतिर म कोठामा खाना खाँदै गरेको अवस्थामा निज हिमाञ्चल खत्रीले मेरो मोबाइलमा फोन गरी म अहिले पोखरा छु भोलि बिहान काठमाडौं जाँदै छु । मैले एम वि.वि.एस  को (इन्ट्रास) प्रवेश परीक्षा दिएको छु नाम निस्केमा तपाईंले सहयोग गर्नुपर्छ भनेकाले मैले सक्दो सहयोग गर्नेछु भनी भनेको हुँ घटनामा निजको कुनै संलग्नता नहुदा अभियोग दाबीबाट सफाइ पाउनुपर्दछ भन्नेसमेत व्यहोराको प्रतिवादी हिमाञ्चल खत्रीका साक्षी इन्द्रमान खत्रीले सुरू अदालतमा गरेको बकपत्र । 

मिति २०६५।८।८ मा भएको खानतलासी मुचुल्का मसमेतले तयार पारेको हो, हर्कबहादुर बस्नेतको घरबाट प्रतिवादी गणेश बस्नेत सुत्ने गरेको कोठाबाट काठको खोल भएको बिँडमा चराको टाउको भएको चक्कु बरामद भएको हो भन्नेसमेत व्यहोराको खानतलासी मुचुल्कामा काम तामेल गर्ने प्र.स.नि. टिकाराम पोखरेलले सुरू अदालतमा गरेको बकपत्र । 

मिति २०६५।८।८ मा भएको बरामदी मुचुल्कामा लागेको सहीछाप मेरो हो उक्त दिन म बारीमा नल काट्दै गरेको अवस्थामा मलाई दिदी भनी सम्बोधन गरी बोलाएर म आफैँ छोराको चिन्ताले गर्दा उक्त कागजको व्यहोरा के थियो पढेर सुन्नतिर लागिन । मलाई रोहवरमा सही गरी दिन पर्‍यो भनेकाले सहीछाप मात्र गरेकी हुँ बरामदी चक्कु कस्तो थियो कहाँ थियो मैले देखेकी होइन भन्नेसमेत व्यहोराको बरामदी मुचुल्कामा बस्ने इश्वरी बस्नेतले सुरू अदालतमा गरेको बकपत्र । 

मिति २०६५।८।८ को बरामदी मुचुल्का पढी बाँची सुनाउँदा सुनेँ । उक्त मुचुल्कामा भएको सहीछाप मेरो हो तर उक्त मुचुल्काको व्यहोरा पढी बाँची नसुनाई रोहवरमा बसिदिनु भनेकाले सहीछाप मात्र गरेकी हुँ उक्त बरामदी चक्कुसमेत त्यस बखत मैले देखेकी होइन भन्नेसमेत व्यहोराको बरामदी मुचुल्कामा बस्ने कमला बस्नेतले सुरू अदालतमा गरेको बकपत्र । 

मिसिल संलग्न लास जाँच प्रकृति मुचुल्का, मृतकको Autopsy Report मा उल्लिखित मृत्यको कारणहरूले मृतक पदमबहादुर खत्रीको मृत्यु कर्तव्यजनकरूपमा भएको भन्ने निर्विवादरूपमा पुष्टि हुन आउँछ । जाहेरवाला चन्द्रबहादुर खत्रीको किटानी जाहेरी, अनुसन्धानको सिलसिलामा बुझिएका जाहेरवालासहितका प्रमोद खत्री क्षेत्री, चुवाकुमारी खत्री, वस्तुस्थिति मुचुल्काका तिलकुमारी भुवाजी,  भगवती भुवाजीसमेतले मौकाको व्यहोरा अनुकूल नै प्रतिवादीहरूउपर गडाउ गरी सुरू अदालतमा आई बकपत्र गरेको र प्रतिवादीहरू हिमाञ्चल खत्री,  इन्द्रबहादुर बस्नेत,  निर्मल बस्नेत, गणेशबहादुर बस्नेत, किसान बस्नेत र प्रदीप बस्नेतले सुरू अधिकारप्राप्त अधिकारीसमक्ष आरोपित कसुर स्वीकार गरी बयान गरेका र सुरू अदालतमा आई बयान गर्दा आफू कसुरमा इन्कार रही बयान गरे तापनि एक अर्कामा पोल गरी फरकफरक किसिमको बयान गरेको देखिँदा निज प्रतिवादीहरूले सुरू अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयानलाई अन्यथा हो भनी अनुमान गर्न नसकिने देखिन आउँछ । वारदातस्थलमा प्रतिवादीहरूको समूहमा उपस्थिति, पीडित पक्षलाई कुरी बसेको अवस्था र हतियारसहित घटनास्थलको उपस्थितिले प्रस्तुत वारदात तत्कालको परिस्थितिबाट सृजित हो भन्ने (Crime committed on impulse) प्रमाणित हुन आउँदैन । उक्त वारदात योजनाबद्धरूपमा साझा मनसाय साथ सुनियोजितरूपमा घटाइएको (Carefully planned) भन्ने वारदातको प्रकृतिबाटै प्रमाणित हुन आउँछ । 

अतः विवेचित उपर्युक्त आधार र कारणबाट मिति २०६५।६।१८ गते भलिबल खेल्दा भएको झगडाको जरियाबाट मिति २०६५।६।२५ गतेका दिन प्रतिवादीहरू समूहमा भेला जम्मा भै हातहतियारसाथ मृतक पक्ष आउने बाटो कुरी बसी मृतक पक्षसँग निहुँ खोजी झगडा गरी मृतकको घाँटी दबाउने तथा मृतकलाई छुरी हान्नेसमेतका प्रतिवादीहरूको कर्तव्यबाट मृतकको मृत्यु भएको प्रमाणित हुन आएकाले मृतक पदमबहादुर खत्रीको मृत्यु छुरीको प्रहारबाट लागेको घाँ चोटसमेतबाट भएको देखिँदा छुरी प्रहार गर्ने प्रतिवादी गणेशबहादुर बस्नेतलाई वादीपक्षको मागदाबीअनुसार मुलुकी ऐन ज्यानसम्बन्धी महलको १ नं. को कसुरमा ऐ. को १३ (३) नं. बमोजिम सर्वस्वसहित जन्मकैद सजाय हुने र मृतकलाई घा चोट प्रहार गर्ने तथा घाँटी दबाउने प्रतिवादी  हिमाञ्चल खत्री,  इन्द्रबहादुर बस्नेत,  निर्मल बस्नेत,  होमबहादुर भन्ने किसान बस्नेतलाई ऐ को १३ (३) नं. बमोजिम जनही जन्म कैद सजाय हुने ठर्हछ । मृतकको ज्यान मार्ने मतलबमा पसी वारदात स्थलमा उपस्थित रहने प्रतिवादी प्रदीप बस्नेतलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १७ (३) नं. बमोजिम ३ वर्ष कैद हुनेमा वारदात समयमा निज नाबालक भन्ने हुँदा निजलाई बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ११(३) बमोजिम आधा डेढ वर्ष कैद सजाय हुने ठहर्छ भन्ने पर्वत जिल्ला अदालतको मिति २०६७।२।५ को  फैसला ।

मैले अदालतमा स्वतन्त्रपूर्वक बयान गर्ने क्रममा २०६५।६।१८ गतेको सामान्य विवादमा मात्र उपस्थित थिएँ । सोपछि प्रस्तुत मुद्दाको वारदात भएको भनिएको मिति २०६५।६।२५ को घटनामा संलग्न थिइन्, कास्की जिल्लाको सल्यानमा गएको थिएँ भन्ने जिकिर लिएको छु । मेरो सो Alibi लाई मेरोतर्फबाट उपस्थित हुनुभएका साक्षीको बकपत्रबाट प्रमाणितसमेत भएको छ । यस्तो अवस्थामा सो व्यहोरालाई फैसलामा उल्लेखसम्म गरिएको छैन । मौकामा बुझिएका मानिसहरू स्वतन्त्र नभई वारदातमा नै संलग्न भएका वा जाहेरवालातर्फका मानिसहरू मात्र रहेका छन् । लास जाँच मुचुल्का र Autopsy Report प्रष्टरूपमा बाझिएको छ । सोही विवादित Autopsy Report लाई नै मेरो विरूद्ध फैसलामा मुख्य प्रमाणको रूपमा विश्लेषण गरी स्वीकार गरिएको छ । यसबाट मैले घाँटीमा प्रहार गरेको कारण मृतकको मृत्यु भएको भन्ने ठहर हुन नसक्ने र मैले अदालतमा उपस्थित भई अभियोग दाबीमा पूर्णरूपमा इन्कार रही उल्लेख गरेको Alibi को जिकिर रहेको बयान व्यहोरा पुष्टि भएकाले सोतर्फ कुनै विवेचना नगरी भएको सुरू फैसला बदर गरी अभियोग दाबीबाट अलग फुर्सद दिलाई न्याय पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी इन्द्रबहादुर बस्नेतको पुनरावेदन अदालत, बाग्लुङमा दायर पुनरावेदनपत्र । 

मेरो अदालतमा भएको बयानलाई मेरा साक्षी रिताकुमारी पौडेल,  इन्द्रमान खत्रीसमेतको बकपत्रबाट समर्थित भएको छ । मिसिल संलग्न कुनै पनि कागजबाट स्पष्टरूपमा मृतकलाई मैले कुटपिट गरेको वा चोट प्रहार गरेको भन्ने खुल्दैन । अनुसन्धानमा भएका कागजहरूबाट र सहप्रतिवादीहरूको अनुसन्धान र अदालतको बयानसमेतबाट मृतक पदमबहादुर र मेराबीच कुनै वादविवाद भएको देखिएको छैन । प्रतिवादीमध्येका गणेशबहादुर बस्नेतलाई अनुसन्धानको क्रममा गराइएको बयानबाट एवम् अन्य सहप्रतिवादीहरूलाई गराइएको बयानबाट पनि छुरा प्रहार प्रतिवादी गणेश बस्नेतले गरेको भनी उल्लेख भएको पाइन्छ । जाहेरवालाको छोरा र प्रत्यक्षदर्शी भनिएका माधव र मेराबीच हानाहान भएको भन्ने कुरालाई इवी राखी प्रस्तुत मुद्दामा मलाईसमेत फसाउन झुट्ठा जाहेरी दिएको स्पष्ट देखिएकै छ । प्रमोद खत्री चुवाकुमारी तथा दलबहादुर कुनै पनि व्यक्ति प्रत्यक्षदर्शी होइनन् र निजको अनुमानको भरमा भएको कागजलाई प्रमाणमा लिन मिल्दैन । मैले मृतकलाई घाउ चोट पुर्‌याएको भन्ने कही कतैबाट नखुलेको अवस्थामा मलाई कसुरदार ठहर गरी सजाय गर्ने गरेको सुरू पर्वत जिल्ला अदालतको फैसला त्रुटिपूर्ण भएकाले उल्टी गरी प्रस्तुत मुद्दाबाट सफाइ दिलाई न्याय इन्साफ पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी हिमाञ्चल खत्री क्षेत्रीको पुनरावेदन अदालत, बागलुङमा दायर पुनरावेदनपत्र ।

म वारदातस्थल भनिएको स्थानमा पनि छैन र मृतकको ज्यान मार्ने मतलबमा पसेकोसमेत छैन होइन । मेरो अदालतमा भएको बयान मेरा साक्षीहरूबाट समर्थित भएको छ । सहप्रतिवादीहरूको अनुसन्धानको बयानमा पनि मलाई पोल गर्न सकिएको छैन । यस्तोमा लास जाँच प्रतिवेदनका आधारमा मलाईसमेत दोषी कायम गरी सजाय गर्न मिल्दैन । मृतकको मृत्युको कारणमा मेडिकल अधिकृतबाट २ वटा राय दिइएको र उक्त राय आफैँमा द्विविधाजनक भनी अदालतले स्वीकार गरेको सन्दर्भमासमेत गलत र त्रुटिपूर्ण तर्क गरी मलाई हराउन मिल्ने होइन प्रत्यक्षदर्शी भनिएका व्यक्तिहरूको भनाइ फरकफरक रहेकोबाट नै म निर्दोष भएको देखिएकै छ । मिति २०६५।६।२५ गते मृतक र मेराबीच भेटघाट भएको छैन । निजसँग कुनै वादविवाद झगडा भएको छैन,  मृतकलाई मैले चोट प्रहार कुटपिट गरेको छैन, उपर्युक्त मेरो पुनरावेदन जिकिरहरूका कारणहरूबाट म नाबालक भएको अवस्था मिसिलबाट देखिएको सन्दर्भमा आधार प्रमाणविना मउपर झुट्ठा आरोप लगाउन मिल्दैन । तसर्थ सुरू पर्वत जिल्ला अदालतको मिति २०६७।२।५ को फैसला त्रुटिपूर्ण भएकाले उल्टी गरी न्याय इन्साफ पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी प्रदीप बस्नेतको पुनरावेदन अदालत, बागलुङमा दायर पुनरावेदनपत्र । 

प्रत्यक्षदर्शी भनिएका कृष्णबहादुर,  माधव,  सरस्वती र सूर्यबहादुर के.सी.समेतले अदालतमा बकपत्र गर्दा म पुनरावेदकले मृतकलाई छुरी हानेको नदेखेको, बरामद भएको भनिएको छुरी घटनास्थलमा नदेखेको भन्ने बकपत्र गरेका छन् । मैले आफ्नो सत्य व्यहोराको मृतकलाई छुरी प्रहार नगरेको बयान गरेको छु । सहप्रतिवादी बनाइएका इन्द्र बस्नेतसमेतले आफू घटनामा संलग्न नरहेको र गणेशले चक्कु प्रहार गरी पदमबहादुरको हत्या गरेको भन्ने थाहा पाएको भन्ने अदालतमा बयान गरेका छन् । एक साथ अभियोग लगाइएको सहअभियुक्तलाई साक्षीको रूपमा राख्न र प्रमाणमा लिन नसकिने सहअभियुक्त आफू कसुरमा साबित भई अरूलाई सोही कुरामा पोल गरेको हुनुपर्नेसमेतको नजिर प्रतिपादित भएको छ तसर्थ इन्द्रबहादुरसमेतको मलाई पोल गरेको बयान मेरो विरूद्धमा प्रमाणमा ग्राह्य गर्न मिल्दैन । यस्तो तथ्य भएकामा मेरै प्रहारबाट मात्र मृतकको मृत्यु भएको भनी मलाई मुख्य दोषी करार गरी सर्वस्वसहित जन्मकैद गर्ने सुरू अदालतको फैसला पूर्णतः गैरकानूनी त्रुटिपूर्ण हुँदा बदर गरी न्याय पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी गणेशबहादुर बस्नेतको पुनरावेदन अदालत, बागलुङमा दायर पुनरावेदनपत्र । 

होमबहादुर बस्नेत भन्ने किसानबहादुर बस्नेतले अनुसन्धानको क्रममा बयान कागज गर्दा प्रदीप बस्नेतले मैले लात्ताले पदमबहादुरलाई हानेको हुँ भन्दा सुनेको हुँ भनी लेखाएको, गणेशबहादुर बस्नेतले बयान गर्दा वारदातमा हामी प्रदीप बस्नेतसमेत सबैको संलग्नता थियो, सल्लाहअनुसार नै उक्त वारदात भएको हो सबैको उक्त वारदातमा भूमिका रहेको छ भनी लेखाइदिएको देखिँदा सहअभियुक्तहरूको भनाइसमेतबाट प्रतिवादी प्रदीप बस्नेतसमेतको सामूहिक कार्यबाट मृतक पदमबहादुर के.सी.को मृत्यु भएको भन्ने कुरा पुष्टि भइरहेको, मौकामा बुझिएका प्रत्यक्षदर्शी सरस्वती के.सी.ले कागज गर्दा मेरो श्रीमान्‌् सूर्यबहादुर के.सी. तथा मृतक पदमबहादुर के.सी.लाई कुटपिट तथा छुरा प्रहार गर्ने हिमाञ्चल के.सी.समेत ६ जना यिनैहरू हुन् भनी सनाखत गरी लेखाइदिएकोसमेतका कागजातहरूबाट प्रतिवादी प्रदीप बस्नेतसमेतको कुटपिटबाट मृतक पदमबहादुर के.सी.को मृत्यु भएको भन्ने पुष्टि हुँदाहुँदै मृतकको ज्यान मार्ने मतलबमा पसी वारदातस्थलमा उपस्थित रहेको भनी प्रतिवादी प्रदीप बस्नेतलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १७ (३) नं. को कसुर ठहर गर्ने गरेको सो हदसम्मको  पर्वत जिल्ला अदालतको फैसला कानुन र प्रमाणको रोहमा त्रुटिपूर्ण र बदरभागी छ । सामूहिक क्रियाको परिणामबाट कर्तव्य हुन्छ भने सजायको मात्रामा घटीबढी हुन सक्ने होइन, यसर्थ माथि उल्लिखित आधार प्रमाणहरूसमेतबाट प्रतिवादी प्रदीप बस्नेतको कसुरमा अन्य प्रतिवादीहरू सरहको भूमिका देखिँदा देखिँदै विना आधार र कारण मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ (३) नं. को अभियोग माग दाबी पुग्न नसक्ने गरी सोही महलको १७ (३) नं. को कसुर ठहर गर्ने गरेको सो हदसम्मको पर्वत जिल्ला अदालतको मिति २०६७।२।५ को फैसला त्रुटिपूर्ण हुँदा बदर गरी निज प्रतिवादीलाई सुरू अभियोग मागदाबीअनुसार सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको वादी नेपाल सरकारको पुनरावेदनपत्र । 

घटनाका प्रत्यक्षदर्शी भनिएका माधव के.सी., कृष्णबहादुर के.सी. र सूर्य के.सी.को अनुसन्धानको सिलसिलामा घटनामा को कसको के कस्तो संलग्नता र भूमिका थियो किटानी साथ खुलाउन सकेका छैनन् भने अदालतसमक्ष बकपत्र गर्दा आफ्नो पूर्व भनाइसँग बाझिने गरी बकपत्र गरेका कारण उनीहरूको भनाइलाई अदालतले शङ्कारहित प्रमाणको रूपमा ग्रहण गर्न मिल्ने अवस्था छैन । लास प्रकृति र घटनास्थल प्रकृति मुचुल्काको आधारमा पदमबहादुर के.सी.को मृत्यु चक्कुको प्रहारबाट भएको स्पष्ट छ र चक्कु प्रहार गरेको कुरा अधिकारप्राप्त अधिकारी एवम्‌ अदालतसमक्ष सहप्रतिवादी गणेश बस्नेतले स्वीकारी सकेको अवस्था रहेको छ । अधिकारप्राप्त अधिकारीसमक्ष प्रतिवादीहरूले परस्पर पोल गरी बयान गरेको भनी जुन आधार लिइएको छ । सोसम्बन्धमा मैले मृतक पदमबहादुर के.सी.लाई कुटपिट गरेको भनी कुनै पनि सहप्रतिवादीले पोल गरेका छैनन । मलाई नै मृतक पदमबहादुर के.सी.ले धकेली लडाई दिएको कुरा प्रदीप बस्नेतले कागजमा उल्लेख गरेका छन् । सहप्रतिवादीहरूले केवल एक अर्का वारदातस्थलमा रहे भएको स्वीकार गरेका छन् । वारदातमा उपस्थित हुनु र वारदातमा संलग्न हुनु फरक विषय हो ।सहप्रतिवादी गणेश बस्नेतले अदालतसमक्ष गरेको बयानमा मेरो उक्त वारदातमा कुनै संलग्नता नभएको स्पष्ट किटान गरेका छन् । लास प्रकृति मुचुल्का र शव परीक्षण प्रतिवेदनमा शरीरमा घाउ खत र घाँटीमा कुनै संकेत भएको देखिएको छैन । मृतकको मृत्यु चक्कु प्रहारबाट भएको भन्ने तथ्य स्थापित भएको कुरामा विवाद छैन । मिसिल संलग्न प्रमाणहरूको समग्र यथोचित मूल्याङ्कन गरी सुरू पर्वत जिल्ला अदालतको फैसला बदर गरी मलाई सफाइ दिलाई पाउँ भन्नेसमेत व्यहोराको पुनरावेदक प्रतिवादी होमबहादुर बस्नेत भन्ने किसान बस्नेतको पुनरावेदनपत्र ।

घटनास्थल प्रकृति मुचुल्कामा पाँचवटा ढुङ्गाहरू रगतले भिजेको २० वटा ढुङ्गाहरूमा रगतका छिर्का लागेको र दक्षिणतर्फ धान खेत मडारिएको अवस्था छ । लासको प्रकृतिमा बायाँ कान र घाँटीमा सामान्य निलडाम र दायाँ साप्रामा ३ से.मि. लम्बाइको घाउ देखिएको छ भने शव परीक्षण प्रतिवेदनमा मृत्युको कारण Death is due to manual strangulation and Death is due to stab wound उल्लेख गरिएकाले २ वटा मृत्युको कारण अन्योल उत्पन्न भई स्पष्ट नभएको हुँदा सम्बन्धित चिकित्सक अदालतमा उपस्थित भई मृत्युको कारण स्पष्ट पार्न नसकेको अवस्थामा सो शव परीक्षण प्रतिवेदनले प्रमाणको स्वरूप ग्रहण गर्न सक्दैन । लास प्रकृति र घटनास्थल प्रकृति मुचुल्काको आधारमा पदमबहादुर के.सी.को मृत्यु चक्कुको प्रहारबाट भएको स्पष्ट छ र चक्कु प्रहार गरेको कुरा अधिकारप्राप्त अधिकारी एवम् अदालतसमक्ष सह प्रतिवादी गणेश बस्नेतले स्वीकारी सकेको अवस्था छ । मैले अदालतमा गरेको बयान र मेरा साक्षीहरूको बकपत्रलाई प्रमाणको रूपमा लिइएको छैन । समग्र भौतिक प्रमाणको मूल्याङ्कनको आधार त्रुटिपुर्ण रहेको छ । मैले मृतक पदमबहादुर के.सी.लाई कुटपिट गरेको भनी अन्य कुनै पनि सहप्रतिवादीहरूले पोल गरेका छैनन् । वारदातमा उपस्थित हुनु र वारदातमा संलग्न हुनु फरक विषय हो । सहप्रतिवादी गणेश बस्नेतले अदालतसमक्ष गरेको बयानमा मेरो उक्त वारदातमा कुनै संलग्नता नभएको स्पष्ट बयान गरेका छन् । प्रत्यक्षदर्शी भनिएका माधव के.सी., सुर्यबहादुर के.सी. र कृष्णबहादुर के.सी. ले यदि मैले पदमबहादुर केसी.लाई कुटपिट गरी मार्ने कार्यमा संलग्न भएको भए के कुन हतियार वा हात खुट्टाले मृतकको कहाँ के कुन भागमा हानेँ के गरेँ खुलाएर भन्न सक्नु पर्दछ । देख्नेले नै भन्न सक्ने कुरा हो सो कुरा किटानसाथ भन्न लेखाउन सकेको अवस्था छैन । मिसिल संलग्न प्रमाणहरूको यथोचित मूल्याङ्कन नगरी सुरू पर्वत जिल्ला अदालतले गरेको फैसला बदर गरी मलाई सफाइ दिलाई इन्साफ पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी निर्मलबहादुर बस्नेतको पुनरावेदनपत्र । 

यसमा सुरू पर्वत जिल्ला अदालतबाट प्रतिवादीहरूको कुटपिटको कारण मृतक पदमबहादुर खत्रीको मृत्यु भएको भन्ने निष्कर्षमा पुगी प्रतिवादी गणेशबहादुर बस्नेतको हकमा ज्यानसम्बन्धी महलको १३ (३) नं. बमोजिम सर्वस्वसहित जन्मकैद तथा अन्य प्रतिवादीहरू इन्द्रबहादुर बस्नेत, हिमाञ्चल खत्री क्षेत्री, होमबहादुर भन्ने किसान बस्नेत र निर्मल बस्नेतलाई ऐ. १३ (३) नं. बमोजिम जन्मकैदको सजाय भएकामा मृतकको शवपरीक्षण प्रतिवेदनबाट निजको मृत्युको कारण (i) due to manual strangulation (throttling), (ii) due to stab wound (Sharp force injury) leading to haemorrage to hypovolumic shock भन्नेसमेत २ वटा कारण दर्साइएको सन्दर्भमा सुरूको फैसला विचारणीय देंखिदा अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत, नियमावली, २०४८ को नियम ४७ बमोजिम छलफलका लागि पुनरावेदन सरकारी वकिल कार्यालय, बागलुङलाई सूचना दिने साथै प्रतिवादीमध्येका प्रदीप बस्नेत र वादी नेपाल सरकारको तर्फबाट दोहोरो पुनरावेदन परेको देंखिदा सो व्यहोराको जानकारी एक अर्कालाई गराई नियमानुसार गरी पेस गर्नु भन्ने पुनरावेदन अदालत, बागलुङको मिति २०६७।९।१४ को  आदेश । 

यसमा जिल्ला अस्पताल पर्वत कुश्मामा कार्यरत रहँदाको अवस्थामा मिति २०६५।६।२८ मा पोस्टमार्टम रिपोर्ट तयार गर्ने डा. युवानिधी बसौलालाई बकपत्रका लागि उपस्थित गराउन भनी पर्वत जिल्ला अदालतबाट मिति २०६६।३।२ मिति २०६६।७।२४ समेतमा आदेश भई अदालत तथा जिल्ला प्रहरी कार्यालयबाटसमेत ताकेता भई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसम्म पत्राचार भएकामा उक्त मन्त्रालयबाट सो पत्रको कुनै जवाफ प्राप्त भएको देखिएन । प्रस्तुत मुद्दामा पोस्टमार्टम रिपोर्ट तयार गर्ने निज डा. युवानिधी बसौला नबुझी नहुने प्रकृतिका व्यक्ति भएकाले निज हाल कहाँ कार्यरत छन् सोको स्पष्ट ठेगानासहितको जवाफ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट फ्याक्समार्फत प्राप्त गरी प्राप्त ठेगानामा अ.बं. ११५ नं. बमोजिम निजका नाउँमा समाह्वान जारी गरी झिकाई आएपछि बकपत्रका लागि पेस गर्नु भन्ने पुनरावेदन अदालत, बागलुङको मिति २०६७।१२।८ को आदेश । 

यसमा चन्द्रबहादुर खत्रीको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी हिमाञ्चल खत्री क्षेत्रीसमेत भएको कर्तव्य ज्यान मुद्दामा मृतक पदमबहादुर के.सी.को लास पोस्टर्माटम गर्ने तत्कालीन पर्वत जिल्ला अस्पतालमा कार्यरत डा. युवानिधी बसौलालाई नबुझी नहुने प्रकृतिको व्यक्ति भएकाले निज हाल कहाँ कार्यरत छन् ? सोको स्पष्ट ठेगाना सहितको जवाफ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट फ्याक्समार्फत प्राप्त गरी प्राप्त ठेगानामा अ.बं. ११५ नं. बमोजिम निजको नाउँमा समाव्हान जारी गरी झिकाई आएपछि बकपत्रको लागि पेस गर्नु भन्ने मिति २०६७।१२।०८ मा आदेश भई पत्राचार हुँदा उक्त पत्रमा उल्लेख भएका डा. युवानिधी बसौला चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालद्वारा सञ्चालन भएको MD/MS विषयमा अध्ययनरत रहनुभएको र निजको पदाधिकार कान्ति बाल अस्पतालमा रहेको तथा यस मन्त्रालयको रेकर्डअनुसार निजको स्थायी ठेगाना चितवन जिल्ला पटीहानी गा.वि.स. वडा नं. १ भएको भनी जवाफ प्राप्त भएपश्चात् निज पोस्टमार्टम गर्ने डाक्टरको नाउँमा निज अध्ययनरत भनिएको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल काठमाडौंमा म्याद तामेल हुँदा बेपत्ते तामेल भई आएको देंखिदा निज डाक्टर त्यस प्रतिष्ठानमा अध्ययनरत छन्, छैनन् ?  नभए अध्ययनपश्चात् निजको दरबन्दी हाल कहाँ कायम भई कार्यरत रहेका छन् ?  स्पष्ट गरी पठाइदिनु हुन भनी पत्राचार गरी पत्रको बोधार्थ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग र कान्ती बाल अस्पताललाईसमेत दिई सोको जवाफ प्राप्त भएपछि वतन खुले सोही वतनमा पुनः म्याद जारी गरी निज डाक्टर उपस्थित भए बकपत्रको लागि र नभए नियमानुसार गरी पेस गर्नु भन्ने पुनरावेदन अदालत, बागलुङको मिति २०६८।९।१३ को आदेश । 

मिति २०६५।६।२६ मा मृतक पदमबहादुर के.सी.को शव परीक्षण गरी प्रतिवेदन दिई सोमा सहीछापसमेत म आफैँले गरेको हुँ । मृतक पदमबहादुर खत्रीको मृत्युको कारणमा निजको पोस्टमार्टम गर्दा घाँटी थिचिएको र घाँटी थिच्दा हाइबाइड हड्डी र थाइराइड काटिलेज भाँचिएको साथै घाँटीको पछाडिपट्टी रहेको सरभाइकल हड्डीको तेस्रो र चौंथो पनि भाँच्चिएको देखिएकाले घाँटी थिचिएको प्रमाणित हुन्छ । मृतक पदमबहादुर खत्रीको मृत्युको कारणमा मैले उक्त शव परीक्षण प्रतिवेदनको १ नं. बुँदामा उल्लेख गरेको 

छु । मृत्युको कारणमा १ भन्दा बढी कारण पनि उल्लेख गर्न सकिन्छ । उक्त प्रतिवेदनको २ नं. मा उल्लेख गरेको व्यहोरा घाउको वर्णन गरी लेखेको हुँ भन्नेसमेत व्यहोराको आदेशानुसार मृतक पदमबहादुर खत्री क्षेत्रीको पोस्टमार्टम रिपोर्ट गर्ने तत्कालीन पर्वत जिल्ला अस्पतालका डा. युवानिधी बस्यौलाले पुनरावेदन अदालत, बागलुङमा गरेको बकपत्र । 

प्रतिवादीहरूमध्ये गणेशबहादुर बस्नेतलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. को कसुरमा ऐ. ऐनको १३ (३) नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुने र अन्य प्रतिवादीहरू हिमाञ्चल खत्री क्षेत्री, इन्द्रबहादुर बस्नेत, निर्मलबहादुर बस्नेत, होमबहादुर भन्ने किसान बस्नेतलाई ऐ. ऐनको १३ (३) नं. बमोजिम जनही जन्मकैद सजाय हुने र अर्का प्रतिवादी प्रदीप बस्नेतलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १७ (३) नं. बमोजिम ३ वर्ष कैद हुनेमा वारदात समयमा निज नाबालक देखिँदा निजलाई बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ११ (३) बमोमिज आधा डेढ वर्ष कैद सजाय हुने ठहरी सुरू पर्वत जिल्ला अदालतबाट मिति २०६७।२।५ मा गरेको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । वादी नेपाल सरकार र प्रतिवादीहरूको पुनरावेदनको जिकिर पुग्न सक्दैन । 

अब यी प्रतिवादी गणेशबहादुर बस्नेत,  हिमाञ्चल खत्री क्षेत्री, इन्द्रबहादुर बस्नेत, निर्मल बस्नेत, होमबहादुर भन्ने किसान बस्नेतसमेतको हकमा हेर्दा यी प्रतिवादीहरू र मृतक एकै गाउँ ठाउँमा बस्ने व्यक्तिहरू भएको भन्ने देखिन्छ । प्रतिवादी होमबहादुर बस्नेतबाहेक सबै प्रतिवादीहरू अध्ययन गर्दै गरेका विद्यार्थी साथै यी प्रतिवादीहरू हिमाञ्चल खत्री क्षेत्रीको उमेर २० वर्ष, प्रतिवादी होमबहादुर बस्नेत भन्ने किसान बस्नेतको उमेर १८ वर्ष, इन्द्रबहादुर बस्नेतको उमेर २५ वर्ष, गणेशबहादुर बस्नेतको उमेर १९ वर्ष, निर्मल बस्नेतको उमेर १७ वर्षका कलिलो उमेरका देखिन्छन् । भलिबलको जरियाबाट झगडा हुँदा मृतकको मृत्यु हुन गएको देखिएकाले प्रतिवादीमध्ये गणेशबहादुर बस्नेतलाई ज्यानसम्बन्धी महलको १३ (३) नं. अनुसार सर्वस्वसहित जन्मकैद र अन्य प्रतिवादी हिमाञ्चल खत्री क्षेत्री, इन्द्रबहादुर बस्नेत, निर्मल बस्नेत, होमबहादुर भन्ने किसान बस्नेतलाई ऐ. ऐनको १३ (३) नं. अनुसार जन्मकैदको सजाय गर्दा चर्को पर्न जाने देखिएकाले निजहरूको उमेर, अध्ययन गर्दै गरेको अवस्था र भविष्यसमेतलाई विचार गर्दा निज प्रतिवादीहरूलाई जनही आठ (८) वर्ष कैद सजाय हुन अ.बं. १८८ नं. बमोजिम उपयुक्त हुने चित्तमा लागेकाले यो राय व्यक्त गरेका छौं । साधक जाँचका लागि मिसिल सम्मानित सर्वोच्च अदालतमा पठाइदिनु भन्ने व्यहोराको पुनरावेदन अदालत, बागलुङको मिति २०६९।३।६ को फैसला ।

पुनरावेदन अदालत, बागलुङको फैसलामा चित्त बुझेन । बरामद भएको चक्कु मेरो होइन बरामदी मुचुल्काको साक्षीहरूले हतियार नदेखेको भनेका छन् । मृतकले ममाथि चक्कु हान्दै गर्दा चक्कुले मृतकको साँप्रोमा लाग्न गएको भनी मैले अनुसन्धानमा सघाएको, सह-अभियुक्त इन्द्र बस्नेतले चक्कु गणेश बस्नेतले हानेको भनी गरेको बयान स्वतन्त्र प्रमाणले पुष्टि नगरिएसम्म दोषी ठहर गर्न मिल्ने होइन । आफु कर्तव्य गरेकामा साबित भै अरूलाईसमेत पोल्ने सह-अभियुक्तको बयान मात्र प्रमाणमा लिन मिल्ने सर्वोच्च अदालतबाट प्रतिपादित नजिर सिद्धान्तको विपरीत प्रतिवादी इन्द्र बस्नेत र हिमाञ्चलसमेतको बयानलाई आधार लिई मलाई दोषी ठहर गरिएको, कुट्‍न जाउँ भनी प्रतिवादीहरूलाई मच्चाई लैजाने हिमाञ्चल र कडा चोट छाड्‍ने इन्द्रबहादुर बस्नेतलाई सम्म सजाय गरिनुपर्नेमा निर्दोष मलाई सजाय हुनु नपर्नेमा उल्टै सबै भन्दा बढी सजाय गर्ने गरेको सुरू र सो फैसलालाई सदर गर्ने गरेको पुनरावेदन अदालत, बागलुङबाट भएको फैसलाबाट पूर्णत सफाइ दिलाई मलाई कैद मुक्त गरिपाउँ भन्ने व्यहोराको प्रतिवादी गणेशबहादुर बस्नेतको यस अदालतमा दायर हुन आएको पुनरावेदनपत्र ।

पुनरावेदन अदालत, बागलुङको फैसलामा चित्त बुझेन । मृतकमाथि प्रहार गरेको कुरामा अधिकारप्राप्त अधिकारीसमक्षको बयानमा इन्कार रही बयान गरेको र सह-अभियुक्तहरूले मृतकलाई चोट प्रहार गरेको भनी मलाई पोल गर्न सकेका छैनन् । वारदातका प्रत्यक्षदर्शी सरस्वती के.सी., कृष्णबहादुर के.सी.ले अदालत सामु मैले प्रहार गरेको भनी कहीं कतै उल्लेख गरेका छैनन् भने मौकामा कागज गर्ने सुर्यबहादुर के.सी. ले मृतकमाथि मैले प्रहार गरेको भनी उल्लेख गर्न नसकेको हुँदा मलाई अधिकतम सजाय गर्ने गरेको पुनरावेदन अदालत, बागलुङको फैसला बदर गरी मेरो संलग्नता र तथ्य प्रमाणबाट प्रमाणित हुने गरेको कसुरसम्म मात्र सजाय गरिपाउँ भन्ने व्यहोराको प्रतिवादी हिमाञ्चल खत्री क्षेत्रीको यस अदालतमा दायर हुन आएको पुनरावेदनपत्र ।

पुनरावेदन अदालत, बागलुङको फैसलामा चित्त बुझेन । वारदात भएको मिति २०६५।६।२५ गते म म्याग्दी गएको हुँदा घटनास्थल र घरमा नभएको, अनुसन्धानको क्रममा भएको मेरो बयान स्वेच्छाले गरेको होइन, मेरो अदालतमा भएको बयानलाई मेरा साक्षी प्रेम के.सी. ले गरिदिएको बकपत्रबाट पुष्टि भएको अवस्थामा उक्त प्रमाणको उचित मूल्याङ्कन नगरी केवल जाहेरी र अभियोगपत्रको आधारमा भएको पर्वत जिल्ला अदालतको फैसला प्रमाण ऐन, २०३१ को दफा ५४, अ.बं. १८४ नं. कोसमेत विपरीत भै त्रुटिपूर्ण भएको र पुनरावेदन अदालत, बागलुङको फैसलामा न्यायिक मनको प्रयोग नभएको, सह-प्रतिवादीहरूले मलाई स्पष्टरूपमा पोल गर्न नसकेको अवस्थामा मलाई जन्म कैदको सजाय गर्ने गरी भएको पुनरावेदन अदालतको फैसला उल्टी गरी अभियोग दाबीबाट सफाइ दिलाई पाउँ भन्ने व्यहोराको प्रतिवादी निर्मलबहादुर बस्नेतको यस अदालतमा दायर भएको पुनरावेदनपत्र । 

पुनरावेदन अदालत, बागलुङको फैसलामा चित्त बुझेन । मिति २०६५।६।२५ मा प्रस्तुत मुद्दाको वारदात हुँदा म आफ्नो काम विशेषले कास्की सल्यानमा रहेको, वारदातको बारेमा पछि मात्र थाहा पाई प्रहरीमा गएको र सत्य साँचो व्यहोराको बयान गरेको र सो कुरालाई मेरा साक्षी कृष्णबहादुर के.सी.ले कास्की जिल्ला सल्यानमा इन्द्रबहादुर आई पैसाको माग गरेको भन्ने व्यहोरा उल्लेख गरी बकपत्र गरिदिएको अवस्था छ । रिसइवी भएका सह-प्रतिवादीहरूले मउपर गरेको पोलको आधारमा गरिएको सजाय न्यायिक मनको प्रयोग गरी फैसला भएको छैन । तसर्थ पुनरावेदन अदालत, बागलुङको त्रुटिपूर्ण फैसला बदर गरी मलाई निर्दोष ठहराई पुनरावेदन जिकिरबमोजिम सफाइ दिलाई पाउँ भन्ने व्यहोराको प्रतिवादी इन्द्रबहादुर बस्नेतको यस अदालतमा दायर भएको पुनरावेदनपत्र ।

पुनरावेदन अदालत, बागलुङको फैसलामा चित्त बुझेन । प्रत्यक्षदर्शी भनिएका माधव के.सी., सुर्य के.सी. र कृष्ण के.सी.ले मैले मृतकलाई चोट प्रहार गरेको कुरा स्पष्ट भन्न सकेका छैनन् । केवल गणेश सँगसँगै आएका सबै हुन् भन्ने आधारमा मलाईसमेत हो भनी कागज गरिदिएका हुन् निजहरूको प्रहरीमा गरेको कागज र अदालतमा गरेको बकपत्र विरोधाभास छ । मिसिल संलग्न प्रमाणहरूको यथोचित मूल्याङ्कन नगरी सुरू पर्वत जिल्ला अदालतबाट मलाई ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम जन्म कैद हुने गरी गरेको फैसलालाई सदर गर्ने गरेको पुनरावेदन अदालत, बागलुङको फैसला बदर गरी सफाइ दिलाई पाउँ भन्ने व्यहोराको प्रतिवादी होमबहादुर भन्ने किसान बस्नेतको यस अदालतमा दायर हुन आएको पुनरावेदनपत्र । 

नियमानुसार दैनिक पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी गणेश बहादुर बस्नेतको तर्फबाट रहनुभएका विद्वान् अधिवक्ता श्री कीर्तिनाथ शर्मा पौडेल, पुनरावेदक प्रतिवादी हिमाञ्चल खत्री क्षेत्रीको तर्फबाट रहनुभएका विद्वान् अधिवक्ताद्वय श्री हरिशंकर कर्ण र श्री धीरेन्द्र कुमार मल्लिक तथा पुनरावेदक प्रतिवादीहरू इन्द्र बहादुर बस्नेत, निर्मल बस्नेत र किसान बस्नेतको तर्फबाट विद्वान् वैतनिक कानून व्यवसायी श्री किरण कुमारी गुप्ताले गर्नुभएको बहस सुनियो । 

कानून व्यवसायीहरूको बहस सुनी पुनरावेदन सहितको मिसिल अध्ययन गरी हेर्दा पुनरावेदन अदालत, बागलुङको मिति २०६९।३।६ गतेको फैसला मिले नमिलेको के रहेछ र पुनरावेदक प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्ने हो होइन सोही विषयमा निर्णय दिनुपर्ने देखियो । 

यसमा, प्रतिवादीहरूलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. विपरीतको कसुर अपराधमा ऐ. १३(३) नं. बमोजिम सजायका साथै प्रतिवादीमध्येका प्रदीप बस्नेतको उमेर वारदात समयमा १६ वर्षभन्दा मुनिको देखिन आएको हुँदा निजलाई उक्त कसुरमा मुलुकी ऐन, ज्यानसम्बन्धीको १३(३) नं. अनुसार हुने सजायमा बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ११(३) अनुसार सजाय गरिपाउँ भन्ने अभियोग दाबी रहेकामा सुरू पर्वत जिल्ला अदालतले प्रतिवादी गणेशबहादुर बस्नेतलाई सर्वस्वसहित जन्मकैद, प्रतिवादीहरू हिमाञ्चल खत्री क्षेत्री, इन्द्रबहादुर बस्नेत, निर्मल बस्नेत, होमबहादुर भन्ने किसान बस्नेतलाई जनही जन्मकैद र प्रतिवादी प्रदीप बस्नेतलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको १७(३) नं. बमोजिम ३ वर्ष कैद हुनेमा वारदात समयमा निज नाबालक भएको हुँदा बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ११(३) बमोजिम आधा डेढ वर्ष कैद सजाय हुने र निज प्रदीप बस्नेतको हकमा ज्यानसम्बन्धी महलको १३(३) नं. को सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको अभियोग दाबी पुग्न नसक्ने ठहर गरेको फैसलालाई सदर हुने ठहर्‍याएको पुनरावेदन अदालत, बागलुङको फैसलाउपर चित्त नबुझी पुनरावेदक प्रतिवादीहरू गणेशबहादुर बस्नेत, निर्मल बस्नेत, इन्द्रबहादुर बस्नेत, हिमाञ्चल खत्री क्षेत्री र होमबहादुर भन्ने किसान बस्नेतको यस अदालतमा पुनरावेदन परी निर्णयार्थ पेस भएको रहेछ । 

२. निर्णयतर्फ विचार गर्दा मृतक पदम बहादुर के.सी. को बायाँ कान, घाँटीको बायाँ पट्टी नीलो डाम, बायाँ कन्चटमा नीलो डाम, दायाँ साँप्रोको भागमा ३ से.मि. लम्बाइ भएको काटिएको गोलो आकारको घाउ, बायाँ काँधमा घाँटीनिर खस्रिएको दाग, दुवै खुट्टाको भाग र दुवै हत्केलामा रगत लागेको भन्ने मृतकको लास प्रकृति मुचुल्कामा उल्लेख भएको र मृत्युको कारणमा Death is due to manual strangulation (throthling) / death is due to stab wound (sharp force injury leading to hemorrhage to hypovolemic shock) भनी शव परीक्षण प्रतिवेदनमा उल्लेख भएको देखिन आएबाट मृत्युको कारण स्वाभाविक नभई कर्तव्यबाट नै भएको कुरामा विवाद  रहेको देखिएन ।

३. अब, प्रस्तुत वारदातमा यी पुनरावेदक प्रतिवादीहरूको संलग्नतासम्बन्धमा विचार गर्दा यी पुनरावेदक प्रतिवादीहरू र माधव खत्रीसमेतको टिम भई मिति २०६५/६/१८ गते एक आपसमा भलिबल खेलेको र भलिबल खेल्ने क्रममा माधव खत्री र हिमाञ्चल खत्री क्षेत्रीका बीच सामान्य वाद-विवाद भई सोही जरियाबाट उत्पन्न भएको प्रतिशोधका कारण मिति २०६५/६/२५ का दिन पुनरावेदक प्रतिवादीहरू पर्वत जिल्ला तिलाहार गा.वि.स. वडा नं. ९ स्थित ठूलो पँधेरो भन्ने स्थानमा जम्मा भएका र सोही ठाउँमा यी पुनरावेदक प्रतिवादीहरूको माधव खत्री, मृतक पदम बहादुर खत्री समेतसँग भेट हुँदा दुवै पक्षबीच कुटपिट एवम्‌ भनाभन भई वारदातको सृजना हुन पुगेको र पुनरावेदक प्रतिवादी मध्येका गणेशबहादुर बस्नेतले मृतकको साँप्रोमा छुरासमेत प्रहार गरी अन्य प्रतिवादीहरूले लात हात मुक्कासमेतले कुटपिट गरी घाइते बनाएको कारणबाट मृतकको मुत्यु हुन पुगेको भन्ने मिसिल संलग्न जाहेरी दरखास्त, वारदात स्थलका प्रत्यक्षदर्शी एवम्‌ घटनास्थल प्रकृति मुचुल्काका मानिसहरूको भनाई रहेको देखिन आयो । 

४. मिति २०६५/६/२५ गते साँझ ६.३० बजेको समयमा पदमबहादुर के.सी., सूर्यबहादुर के.सी. र सरस्वती के.सी.समेत बेतेनीबाट घरतर्फ जाँदै गर्दा ठूलो पँधेरो भन्ने ठाउँमा जम्मा भएका प्रतिवादीहरू हिमाञ्चल खत्री क्षेत्रीसमेतका ६ जनाले मलाई कुटपिट गरी छाडी दाइ पदम बहादुर के.सी. लाई भलिबलको पूर्व रिसइवी लिई कुटपिट गरी धारिलो हतियारसमेत प्रहार गरेको हुँदा उपचारको क्रममा ल्याउँदै गर्दा सोही चोटका कारण पदमबहादुर के.सी. को मृत्यु हुन गएको भन्ने माधव के.सी. को घटना विवरण कागज व्यहोरालाई समर्थन गरी सोही वारदात स्थलमा उपस्थित रहेका कृष्णबहादुर के.सी., सूर्यबहादुर के.सी. र सरस्वती के.सी.समेतले अनुसन्धानको सिलसिलामा कागज गरेको देखियो । 

५. पुनरावेदक प्रतिवादी इन्द्रबहादुर बस्नेतले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा मिति २०६५/६/१८ गतेका दिन माधव के.सी. को टिम र हिमाञ्चल खत्री क्षेत्रीको टिमबीच भलिबल खेल हुँदा भलिबलको नेट टचको विषयमा झगडा भएको, मिति २०६५/६/२५ मा माधव के.सी. र पदम बहादुर के.सी. तिलाहारतर्फ गएको बुझिएकाले तिनिहरूलाई पिट्ने सल्लाह गरी म र निर्मल बस्नेतसमेत त्यसतर्फ गएको र पछिपछि हिमाञ्चल, किसान, गणेश र प्रदीप बस्नेतसमेत आई बेतेनीतर्फ आउँदै गरेका माधव के.सी., पदमबहादुर के.सी., सूर्य के.सी. सँग भेट भएको र हिमाञ्चलले माधव के.सी. लाई बल कहाँ छ भनी भन्दा विवाद भई मसमेतले माधव के.सी. लाई कुटपिट गर्दा माधव हामीबाट फुत्की भागेकाले पदम बहादुरलाई भेटी मैले निजलाई २ पञ्च हानेको, गणेशले पदम बहादुरलाई चक्कुले हानेको हो । होमे, निर्मलसमेतले निजलाई कुटपिट गरी पदमबहादुर ढलेकाले डर, त्रासले भागेका हौं भनी वारदातलाई स्वीकार गरी बयान गरेको पाइयो 

६. त्यसै गरी पुनरावेदक प्रतिवादी हिमाञ्चल खत्रीले अनुसन्धानको बयान व्यहोरामा मिति २०६५/६/२५ गतेका दिन भलिबल खेल्न गएकामा भलिबल नपाएको र सोधपुछ गर्दा माधव के.सी. ले बल लगेको भन्ने बुझिएकाले रिस उठेको कारण माधव के.सी. र पदमबहादुर के.सी. लाई कुटपिट गर्ने योजना बनाई इन्द्र बस्नेत हामी भई निजहरू आउने बाटोतर्फ गएको र निजहरूसँग भेट हुँदा माधव के.सी.लाई कुटपिट गरी ऊ भागेपछि पदम बहादुरलाई कुटपिट गरेको भनी र पुनरावेदक प्रतिवादी निर्मलबहादुर बस्नेतले भलिबलको विषयमा भनाभन भएकामा मैले, इन्द्र बस्नेतले र गणेशले पदम बहादुरलाई कुटपिट गरेका हौं गणेशले छुरी प्रहार गरेको रहेछ मैले देखिन भनी अनुसन्धानको क्रममा वारदातमा साबित भई बयान गरेको देखियो । अर्का पुनरावेदक प्रतिवादी किसान बस्नेतले मिति २०६५/६/२५ गतेका दिन बल खेल्न भनी गएकामा बल नपाएपछि माधव के.सी. ले बल लगेको छ ऊ बेतेनीतर्फ गएको छ भन्ने थाहा पाई म, प्रदीप, गणेश, हिमाञ्चल, इन्द्र, निर्मल त्यसतर्फ गएको र बेतेनीबाट पदम बहादुरसमेत आएको देखी माधव के.सी. सँग भनाभन भई पदम बहादुरलाई कुटपिट गरेको भनी र पुनरावेदक प्रतिवादी गणेश बस्नेतले भलिबलको विवादमा हामीहरूले पदमबहादुर बस्नेतलाई कुटपिट गरेको साथै मैले चक्कु निकाली पदम बहादुरलाई प्रहार गरेको हो भनी अनुसन्धान अधिकारीसमक्ष बयान गरेको पाइन्छ भने प्रतिवादी प्रदीप बस्नेतले दशैं अगाडिको भलिबल खेलेको झगडा र मिति २०६५/६/२५ मा बल नरहेको कारणसमेतबाट पदम बहादुरसँग कुटपिट भएको हो । उक्त वारदातको समयमा म अलि माथि बसी मानिसहरू कोही आउँछन् कि भनी हेरी बसेको थिएँ अन्य प्रतिवादीहरूले पदमबहादुरलाई कुटपिट गरेको भनी अनुसन्धानको क्रममा बयान गरेको देखिन आयो ।  

७. मिति २०६५/६/२५ गते माधव के.सी., पदमबहादुर के.सी.समेत बेतेनीबाट घरतर्फ आउँदै गर्दा हिमाञ्चल खत्री, गणेश बस्नेत, इन्द्रबहादुर बस्नेत, निर्मल बस्नेत, किसान बस्नेत, प्रदीप बस्नेतले भलिबलको विषयमा भएको रिसइवीका कारण सरसल्लाह गरी बाटो ढुकी पदम बहादुरलाई कुटपिट गरी चक्कु मुक्कासमेत प्रहार गरी मरणासन्न गराएकाले सोही पीडाको कारण निजको मृत्यु भएको र उक्त वारदातमा अन्य कोही कसैको संलग्नता छैन भनी मौकामा बुझिएका चुवा कुमारी के.सी., प्रमोद खत्री र वस्तुस्थिति मुचुल्काका तिलकुमारी भुवाजी, टेकबहादुर भुवाजीसमेतले बकी लेखाई उक्त वारदात यी पुनरावेदक प्रतिवादीहरूको कर्तव्यबाट नै भएको तथ्य पुष्टि हुने गरी कागज गरी दिएको देखिन आयो । 

८. पुनरावेदक प्रतिवादीहरूले आफू वारदात समयमा अन्यत्र भएको भनी अदालतसमक्षको बयानमा कसुरमा इन्कार रही बयान गरेको भए तापनि प्रतिवादीहरूको मौकाको बयान, बुझिएका मानिसहरूको भनाई, घटनाका प्रत्यक्षदर्शी माधव खत्री, सूर्यबहादुर के.सी., सरस्वती के.सी. को भनाइसमेतबाट सो अन्यत्रको जिकिरसमेत विश्वास लायक भएको नदेखिएकाले उक्त वारदातमा यी पुनरावेदक प्रतिवादीहरू समेतको संलग्नता नभएको भन्न मिल्ने देखिएन । 

९. यसरी पुनरावेदक प्रतिवादीहरूले अनुसन्धानको बयानमा माधव के.सी. र पदमबहादुर के.सी. लाई कुटपिट गर्ने सल्लाह गरी घटनास्थलमा पर्खिरहेकामा बेतेनीबाट घटनास्थलमा मृतक पदमबहादुर के.सी., माधव के.सी., सूर्यबहादुर के.सी. र सरस्वती के.सी. आई पुगी भलिबलको कुरा झिकी हानाहान हुँदा पदमबहादुरको मृत्यु भएको भनी उल्लेख गरेको र सो व्यहोरा मौकामा कागज गर्ने माधव के.सी.समेत र घटनाका प्रत्यक्षदर्शी सरस्वती के.सी.समेतको बकपत्रबाट समर्थित हुन आएको देखियो । 

१०. उक्त वारदातमा प्रत्यक्षदर्शी रहेका माधव के.सी. सूर्यबहादुर के.सी., सरस्वती के.सी.समेतलाई चोटपटक लागेको देखिएको निजहरूले अदालतमा आई ठूलो पँधेरो चौतारामा बलको कुरा भई वाद-विवाद हुँदा हिमाञ्चल खत्रीले माधवलाई हानेको, त्यसपछि अरू प्रतिवादीहरूले समेत मृतकलाई हात मुक्काले जथाभावी कुटपिट गरेका र प्रतिवादी गणेश बस्नेतले मृतकलाई चक्कुसमेत हानेको, सोही कुटपिट तथा चक्कु प्रहारका कारण मृतकको मृत्यु भएको व्यहोरा स्पष्ट हुने गरी बकपत्र गरी दिएको देखिएबाट उक्त भनाई प्रमाण योग्य नै देखिन आयो । साथै जाहेरवालाले आफ्नो जाहेरी समर्थन हुने गरी अदालतमा आई बकपत्र गरेका छन् भने बुझिएका व्यक्ति प्रमोद खत्रीसमेतले अदालतमा आई मौकाको कागज व्यहोरा अनुरूप प्रतिवादीहरूको उक्त कसुर अपराधमा प्रत्यक्ष संलग्नता रहेको कुरा गडाउ गरी बकपत्र गरेको पाइन्छ । पुनरावेदक प्रतिवादीहरूले उक्त भनाइलाई खण्डन हुने किसिमको प्रमाण गुजार्न सकेको अवस्था नदेखिएकाले निजहरूको अधिकारप्राप्त अधिकारीसमक्षको बयान व्यहोरालाई अन्यथा भन्न मिल्ने देखिएन ।

११. यसरी मिति २०६५/६/२५ गतेका दिन भलिबलको जरियाबाट पुनरावेदक प्रतिवादीहरू र माधव के.सी. बीच सामान्य हानाहान भएपछि माधव के.सी. निजहरूको पंजाबाट फुत्की भागेकाले पदम बहादुर के.सी. लाई यी प्रतिवादीहरूले कुटपिट गरेको तथ्य मिसिल कागजबाट देखिन आएको र पुनरावेदक मध्येका गणेश बस्नेतले मृतक पदम बहादुरलाई छुरी प्रहार गरेको र अन्य प्रतिवादीहरूले मृतकलाई लात मुक्काले प्रहार गरी घाँटी दबाउने कार्यसमेत गरेकाले सोही चोटका कारण मृतकको मृत्यु भएको भन्ने तथ्यलाई यी पुनरावेदक प्रतिवादीहरूले स्वीकार गरी एक अर्कालाई पोल गरी गरेको बयान व्यहोरालाई प्रत्यक्षदर्शीको भनाई, वारदातमा प्रयोग भएको चक्कु बरामद भएको बरामदी मुचुल्का, घटनास्थल तथा लास प्रकृति मुचुल्का, मृत्युको कारण Death is due to manual strangulation (throthling) र death is due to stab wond (sharp force injury leading to hemorrhage to hypovolemic shock) भन्ने शव परीक्षण प्रतिवेदनसमेतका कागजबाट पुष्टि हुन आएको देखिएबाट पुनरावेदक प्रतिवादी हिमाञ्चल खत्री, इन्द्रबहादुर बस्नेत, निर्मल बस्नेत, गणेशबहादुर बस्नेत, होमबहादुर भन्ने किसान बस्नेतको पुनरावेदन जिकिर मनासिब देखिन आएन । 

१२. अर्का प्रतिवादी प्रदीप बस्नेतले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा वारदात हुँदा वारदात स्थल भन्दा अलि माथि बसेको भनी उल्लेख गरेको, प्रत्यक्षदर्शी मध्ये माधव के.सी. ले प्रदीप पहिले थिएनन्, मलाई डिलबाट खसाएपछि निज पनि वारदातमा आई पदमबहादुरलाई हानेको भनी बकपत्र गरेको पाइयो । प्रदीपले मृतकलाई के कसरी केले हानेको भन्ने मिसिल कागजबाट खुलेको देखिँदैन । गणेश तथा निर्मल बस्नेतले प्रदीप बस्नेत हेरी बसेका हुन् भनी गरेको बयान व्यहोरासमेतबाट निजको अनुसन्धानको क्रममा भएको बयान व्यहोरालाई समर्थित गरेको देखिन आउँछ । यसरी निज पनि अरू पुनरावेदक प्रतिवादीहरूसँग साथ वारदात स्थलमा गएको अन्य प्रतिवादीहरूले मृतकलाई कुटपिट गर्दा निज वारदातस्थलमा उपस्थित रही केही नगरी हेरी बसेको स्थिति बाट वारदातको मतियार (Accessory on the fact) भई वारदातमा संलग्न रहेको देखिँदा निजले आपराधिक दायित्वबाट उन्मुक्ति पाउने अवस्था रहेन ।

१३. तर्सथ प्रतिवादीहरू मध्ये गणेश बहादुर बस्नेतलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ नं. को कसुरमा ऐ. १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुने, अन्य पुनरावेदक प्रतिवादीहरू हिमाञ्चल, इन्द्रबहादुर, निर्मल, होमबहादुर भन्ने किसान बस्नेतलाई ऐ. १३(३) नं. बमोजिम जनही जन्मकैद हुने र अर्का प्रतिवादी प्रदीप बस्नेतलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १७(३) नं. बमोजिम ३ वर्ष कैद हुनेमा वारदात समयमा निज नाबालक भएको देखिँदा निजलाई बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ११(३) अनुसार १ वर्ष ६ महिना कैद हुने ठहर गरी भएको सुरू जिल्ला अदालतको फैसला सदर ठहर्‍याएको पुनरावेदन अदालत, बागलुङको मिति २०६९/३/६ को फैसला मिलेकै देखियो ।

१४. अब प्रस्तुत वारदातको प्रकृति र सृजना भएको परिस्थितितर्फ विचार गर्दा यी पुनरावेदक प्रतिवादीहरू र मृतक साथी भएको, भलिबल खेल्ने क्रममा मनमुटाव भई एकअर्कोबीच कुटपिट हानाहान भएको, सबै प्रतिवादीहरू १७ वर्षदेखि २५ वर्षसम्मका कलिलो उमेर समूहका भई अपरिपक्क मानसिकताबाट ज्यान मार्ने जस्तो गम्भीर कार्य हुन गएको, किसान बस्नेतबाहेक सबै अध्ययन गर्दै गरेका विद्यार्थी भएको, मारौ भन्ने नै मनसाय भन्दा पनि भलिबलको झगडामा भएको कुटपिटका कारण मृतकको मृत्यु हुन गएको अवस्थालाई विचार गरी प्रतिवादीमध्येका गणेशबहादुर बस्नेतलाई ज्यानसम्बन्धी महलको १३(३) नं. अनुसार सर्वस्वसहित जन्मकैद र अन्य प्रतिवादीहरू हिमाञ्चाल खत्री क्षेत्री, इन्द्रबहादुर बस्नेत, निर्मल बस्नेत, होमबहादुर भन्ने किसान बस्नेतलाई ऐ. ऐनको १३(३) नं. अनुसार जन्मकैदको सजाय गर्दा चर्को पर्ने देखिई अ.बं. १८८ नं. बमोजिम यी पुनरावेदक प्रतिवादीहरूलाई जनही ८ वर्ष कैद सजाय हुन लगाएको राय मनासिब देखिन आएकाले पुनरावेदन अदालत, बागलुङको मिति २०६९/३/६ गतेको फैसला र लगाएको रायसमेत मिलेकै देखिँदा सदर हुन्छ । पुनरावेदक प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्दैन । अरू तपसिलबमोजिम गर्नू ।

तपसिल

माथि ठहर खण्डमा लेखिएबमोजिम प्रतिवादीहरू मध्ये पुनरावेदक प्रतिवादीहरू गणेशबहादुर बस्नेत, हिमाञ्चल खत्री क्षेत्री, निर्मल बस्नेत, इन्द्रबहादुर बस्नेत र होम भन्ने किसान बस्नेतलाई अ.बं. १८८ नं. बमोजिम ८ वर्ष कैद सजाय हुने मनासिब देखी पुनरावेदन अदालत, बागलुङले लगाएको रायसमेत सदर हुने ठहरी फैसला भएकाले निजहरूका नाममा कसिएको सर्वस्वसहित जन्मकैद र जन्मकैदको लगत कट्टा गरी पुनरावेदक प्रतिवादी हिमाञ्चल खत्री क्षेत्री, गणेशबहादुर बस्नेत र निर्मल बस्नेत मिति २०६५/७/३० देखी प्रहरी हिरासतमा रहेको देखिँदा सोही मितिबाट लागू हुने गरी जनही ८ वर्ष अर्थात् २०७३/७/२९ सम्म कैदमा राखी मिति २०७३।७।३० बाट र पुनरावेदक प्रतिवादीहरू इन्द्रबहादुर बस्नेत र होम भन्ने किसान बस्नेत ०६५/८/२ गतेदेखि प्रहरी हिरासतमा रहेको देखिँदा सोही मितिबाट लागू हुने गरी जनही ८ वर्ष अर्थात् २०७३/८/१ गतेसम्म कैदमा राखी मिति २०७३।८।२ बाट अन्य मुद्दामा कैद वा थुनामा राख्नु नपर्ने भए प्रस्तुत मुद्दाबाट थुना मुक्त गर्न संशोधित कैदी पुर्जी लेखी पठाउनु भनी सुरू पर्वत जिल्ला अदालतमा लेखी पठाइदिनू .....................१

प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ............१

 

उक्त रायमा सहमत छु  

न्या. दीपकराज जोशी

 

इति संवत् २०७२ साउन २४ गते रोज १ शुभम् ।

इजलास अधिकृत : दिलीपराज पन्त

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु