शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९४३७ - कर्तव्य ज्यान

भाग: ५७ साल: २०७२ महिना: कार्तिक अंक:

सर्वोच्च अदालत संयुक्त इजलास

माननीय न्यायाधीश श्री सुशीला कार्की

माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय

फैसला मिति :- २०७२।०१।२।४

०६८-CR-०४३३

 

मुद्दा :- कर्तव्य ज्यान

 

पुनरावेदक/वादी :- श्रवणकुमार श्रेष्ठको जाहेरीले नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी/प्रतिवादी :- जिल्ला सुर्खेत वी.न.न.पा. वडा नं. १० बस्ने दिनेश वलीसमेत

०६८-CR-०३६२

पुनरावेदक/प्रतिवादी :- जिल्ला सुर्खेत वी.न.न.पा. वडा नं.  ९ बस्ने पदम शाही

विरूद्ध

प्रत्यर्थी/वादी :- श्रवणकुमार श्रेष्ठको जाहेरीले नेपाल सरकार

 

०६८-CR-०४२७

पुनरावेदक/प्रतिवादी :- जिल्ला सुर्खेत वी.न.न.पा. वडा नं. १० बस्ने घनश्याम पुरी

विरूद्ध

प्रत्यर्थी/वादी :- श्रवणकुमार श्रेष्ठको जाहेरीले नेपाल सरकार

 

०६८-CR-०५२०

पुनरावेदक/प्रतिवादी :- जिल्ला सुर्खेत वी.न.न.पा. वडा नं. ६ घर भै हाल कारागार कार्यालय सुर्खेतमा थुनामा रहेका जगत प्याकुरेल

विरूद्ध

प्रत्यर्थी/वादी :- श्रवणकुमार श्रेष्ठको जाहेरीले नेपाल सरकार

 

मुलुकी ऐनको ज्यानसम्बन्धी महलको १ नं. मा कानुनबमोजिम बाहेक कसैले कुनै मानिसको ज्यान मार्न, मार्न लगाउन वा मार्नको उद्योग गर्न हुँदैन भन्ने व्यवस्था रहेको छ । मुलुकी ऐनको ज्यानसम्बन्धी महलको १३ नं. को देहाय (१) मा धार भएको वा नभएको जोखिमी हतियार गैह्रले हानी रोपी घोची ज्यान मारेमा …सर्वस्वसहित जन्म कैद गर्नुपर्छ भन्ने व्यवस्था छ । देहाय (३) मा लाठा ढुङ्गा र साधारण सानातिना हातहतियारले कुटी हानी रोपी घोची वा अरू ज्यान मर्ने गैह्र कुरा गरी ज्यान मरेमा एकै जनाले मात्र सो काम गरी ज्यान मारेमा सोही एक जना र धेरै जनाको हूल भै मारेमा यसैले मारेको वा यसको चोटले मरेको भन्ने प्रमाणबाट देखिन ठहर्न आएमा सोही मानिस मुख्य ज्यानमारा ठहर्छ । त्यस्तालाई सर्वस्वसहित जन्म कैद गर्नुपर्छ । सोबाहेक अरूलाई र यसैले मारेको वा यसैका चोटले मरेको भन्ने कुरा सो हात हतियार छाड्ने कसैउपर कुनै प्रमाणबाट देखिने ठहर्न नआएमा सबैलाई जन्म कैद गर्नुपर्छ भन्ने कानूनी व्यवस्थासमेतको आधारमा प्रतिवादी जगत प्याकुरेलले विकाश श्रेष्ठलाई धारिलो हतियार चक्कुले शरीरको विभिन्न ठाउँमा प्रहार गरेको कारणले विकास श्रेष्ठको मृत्यु भएको पुष्टि हुन आएकाले निजलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ नं. को देहाय (१) अनुसार सर्वस्वसहित जन्म कैदको सजाय हुने । 

(प्रकरण नं.१३ र १४)

 

पुनरावेदक/वादीको तर्फबाट :- विद्वान् उपन्यायाधिवक्ता खेमराज भट्ट  

प्रत्यर्थी/प्रतिवादीको तर्फबाट :- विद्वान् वरिष्ठ अधिवक्ता  शम्भू थापा, विश्वेश्वरप्रसाद गौतम, पूर्णमान शाक्य र विद्वान् अधिवक्ता कलमबहादुर खत्री,  गोविन्द बन्दी, रक्षा बस्याल र खगेन्द्र अधिकारी 

अवलम्बित नजिर :-

ने.का.प. २०६७, अङ्क ९, पृ. १५३१, ८४६१

ने.का.प. २०६९, अङ्क जेठ, पृ. १७१ नि.नं. ८७६४

ने.का.प. २०६७, अङ्क ५, पृ. ८१४, नि.नं. ८३७८

ने.का.प. २०६७, अङ्क ५, पृ. १५५३, नि.नं. ८६८७

सम्बद्ध कानून :-

मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १, १३(१), १७ (३)

मुलुकी ऐन, अदालती बन्दोबस्तको १८८

 

सुरू तहमा फैसला गर्ने :-

मा.जि.न्या. श्री कृष्णबहादुर थापा

पुनरावेदन तहमा फैसला गर्ने :-

मा.का.मु.न्या. श्री गोविन्दकुमार श्रेष्ठ

मा.न्या. श्री प्रकाशराम मिश्र

 

फैसला

न्या. सुशीला कार्की :- न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम पुनरावेदन अदालत, सुर्खेतको फैसलाउपर वादी/प्रतिवादीको पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम्‌ ठहर यसप्रकार रहेको छ :-

मिति २०६४।७।२३ गते अं. २१:३० बजेको समयमा मेरो भाइ वर्ष २० को विकास श्रेष्ठ आफ्नो घरमा बसिरहेको अवस्थामा प्रतिवादी पदमबहादुर रानाले मोबाइल नं. ९८४१८६००७८ नं. बाट फोन गरी बाहिर बोलाई घनश्याम पुरीसमेतका प्रतिवादीहरूले धारिलो हतियार (चक्कु) प्रहार गरी सख्त घाइते बनाई औषधी उपचारको लागि देउती नर्सिङ होममा लिई उपचार गर्दा गर्दै मृत्यु भएको हुँदा कानूनबमोजिम गरिपाउँ भन्नेसमेत व्यहोराको श्रवणकुमार श्रेष्ठको जाहेरी दरखास्त ।

जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका (यसपछि वी.न.पा. भनिनेछ) वडा नं. ६ स्थित पूर्वमा टेकबहादुर श्रेष्ठको पक्की घर, पश्चिम वीरेन्द्र चोक जाने मुख्य सडक, उत्तरमा भुपेन्द्रनाथ योगीको घर, दक्षिणमा रूद्रबहादुर खत्रीको घर गरी यति चार किल्लाभित्र रहेको टेकबहादुर श्रेष्ठको घरबाट अं. १० मिटर पश्चिममा विकास श्रेष्ठलाई सख्त घाइते बनाएको, उक्त स्थानमा रगत जस्तो रातो पदार्थको थोपा भई सुकेको अवस्थामा रहेको भन्ने घटनास्थल मुचुल्का । 

वी.न.पा. वडा नं. ६ देउती नर्सिङ होमको आकस्मिक कक्षमा उत्तर टाउको र दक्षिण खुट्टा भई फलामको स्टेचरमाथि उत्तानो अवस्थामा रहेको विकास श्रेष्ठको लासको टाउको पछाडि बायाँ छाती तथा बायाँ कोखामा धारिलो हतियार (छुरा) ले प्रहार गरेको गहिरो घाउ भई रगताम्य अवस्थामा रहेको भन्ने व्यहोराको मृतक विकास श्रेष्ठको घटनास्थल लास जाँच प्रकृति मुचुल्का । 

वी.न.पा. वडा नं. ८ स्थित पूर्वमा घरेलु तथा साना उद्योग विकास समितिको भवन, पश्चिममा खुल्ला खेलकुद मैदान, उत्तरमा ग्राबेल बाटो, दक्षिणमा खुल्ला खेलकुद मैदान गरी यति चार किल्लाभित्र रहेको घरेलु तथा साना उद्योग विकास समितिको भवनको पश्चिममा प्रतिवादी घनश्याम पुरीले लुकाई राखेको चक्कुमा रगत जस्तो लागेको प्रहरीले बरामद गरी लिएको भन्नेसमेत व्यहोराको बरामदी मुचुल्का । 

The cause of death is shock and hemorrhage as a result of strobe injury to left lung, left atrium of the heart and spleen भन्ने लास जाँच प्रतिवेदन । 

शुभ दीपावलीको समय हुँदा म साथीहरूसँग मिलेर भैली खेलिरहेको थिए । भैलो खेल्दा-खेल्दै प्रतिवादी घनश्याम पुरीले मलाई हाम्रो साथी बसन्त रोकायलाई विकास श्रेष्ठले धारिलो हतियार (छुरा) प्रहार गरी घाइते बनाएको छ । निज घाइतेको देउती नर्सिङ होममा औषधी उपचार भइरहेको छ भनेकाले मसमेत भई सो नर्सिङ होममा जाँदा बसन्त रोकायलाई विकास श्रेष्ठले धारिलो हतियार प्रहार गरेकाले निज विकास श्रेष्ठलाई  पनि कुटपिट गर्ने योजना बनाई प्रतिवादीहरू घनश्याम पुरी, जगत प्याकुरेल, पदम शाही, दिलीप बस्याल पुनः देउती नर्सिङ होमतर्फ आएका हुन् । पदम शाहीले विकास श्रेष्ठलाई मोबाइलमा फोन गरी बाहिर बोलाई निज विकास श्रेष्ठलाई पदम शाही, म र घनश्याम पुरी मिली मुक्का र लात्तीले प्रहार गरी हामी तीन जना भाग्न लाग्दा अन्तिम अवस्थामा जगत प्याकुरेल आएर आफ्नो साथमा रहेको चक्कुले ढलिरहेको विकास श्रेष्ठलाई ३/४ पटक प्रहार गरेको हो । सख्त घाइते भइसकेपछि निज विकास श्रेष्ठलाई श्रवणकुमार श्रेष्ठले उपचारको लागि देउती नर्सिङ होममा पुर्‌याएको 

हुन् । औषधी उपचार गर्दा गर्दै अं. २३:०० बजेको तिर विकास श्रेष्ठको मृत्यु भएको हो भन्नेसमेत व्यहोराको प्रतिवादी विजय नेपालीले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान । 

मिति २०६४।७।२३ गते साँझ म आफ्नै घरमा सुतिरहेको थिए । सोही राति अं. २:०० बजेको समयमा जगत प्याकुरेल, घनश्याम पुरी र विजय नेपाली मेरो घरमा आएका हुन् । निजहरूले विकास श्रेष्ठलाई धारिलो हतियार(छुरा) प्रहार गरी सख्त घाइते बनाएको हुँदा निजको औषधी उपचार देउती नर्सिङ होममा हुँदैछ, हामी तीन जना उक्त स्थानबाट भागी आएका हौं भनेका र विकास श्रेष्ठको मृत्यु भएको कुरा मिति २०६४।७।२४ गते बिहान मात्र थाहा पाएको 

हुँ । प्रतिवादीहरू विजय नेपाली, घनश्याम पुरी, जगत प्याकुरेल र पदम शाहीसमेतले विकास श्रेष्ठको बारेमा समय-समयमा विजय नेपालीसमेतका प्रतिवादीहरूको विकास श्रेष्ठको बारेमा समय समयमा जानकारी दिएर भाग्ने भगाउने सम्मको कसुर अपराध गरेका हुन् भन्नेसमेत व्यहोराको प्रतिवादी दिपक ढकालले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान । 

शुभ दीपावलीको समय भएको हुनाले म साथीहरूसँग मिलेर भैली खेल्दै थिए । बीच बाटोमा नै विकास श्रेष्ठसँग भेट भएको हो । उक्त समयमा वसन्त रोकाय आएर विकास श्रेष्ठको हात समातेर माथितिर लिएर गएको हो । निज दुवै जना बीच विवाद भै झगडा हुँदा विकास श्रेष्ठले वसन्त रोकायालाई छुराले पेट र छातीमा प्रहार गरी विकास श्रेष्ठ भाग्यो । सोपश्चात् मैले वसन्त रोकायालाई औषधी उपचारको लागि देउती नर्सिङ होममा लिएर गएको हुँ । घाइतेलाई भर्ना गरिसकेपछि म र जगत प्याकुरेल विकास श्रेष्ठको घरतर्फ गयौं र दिलिप बस्याल, विजय नेपाली, घनश्याम पुरी ३ जना मोटरसाइकलमा विकास श्रेष्ठको घरतर्फ गएका हुन् । विकास श्रेष्ठलाई बाहिर बोलाउ भनेर मैले आफूसँग भएको मोबाइलबाट विकास श्रेष्ठलाई फोन गरी बाहिर बोलाएको हो । विकास श्रेष्ठ बाहिर निस्कने बित्तिकै विजय नेपाली, घनश्याम पुरी र म मिली मुक्का, लात्ती तथा ढुङ्गाले विकास श्रेष्ठको शरीरको विभिन्न भागमा प्रहार गरी बेहोस भई भुइँमा ढलिरहेको विकास श्रेष्ठलाई ३/४ पटक छुरा प्रहार गरेका हुन् । घाइते विकास श्रेष्ठको उपचार गर्दा गर्दै देउती नर्सिङ होममा मृत्यु भएको हो । उक्त वारदात म, विजय नेपाली, घनश्याम पुरी, जगत प्याकुरेलसमेत मिली घटाएका हौं । प्रतिवादी पदम रानाको उक्त वारदातमा कुनै पनि संलग्नता छैन भन्नेसमेत व्यहोराको प्रतिवादी पदमबहादुर शाही र घनश्याम पुरीले अनुसन्धान अधिकारीसमक्ष गरेको एकै मिलानको बयान ।

भैलो खेलेर घर जान लाग्दा मनकामना गेष्ट हाउसअगाडि बसन्त रोकायाको अवस्था नाजुक छ भनी टेकबहादुर थापाले भनेपछि म पनि देउती नर्सिङ होममा गएको हुँ । बसन्त रोकायाको आकस्मिक कक्षमा औषधी उपचार हुँदै थियो । सो घटनाको सम्बन्धमा बुझ्दा विकास श्रेष्ठले बसन्त रोकायालाई चक्कु प्रहार गरिसकेपछि विजय नेपाली, जगत प्याकुरेल, घनश्याम पुरी र पदम शाही गरी ४ जनाले योजना बनाएर मुक्का, लात्ती र चक्कुसमेतले प्रहार गरे भनी थाहा पाएको हुँ । घाइते विकास श्रेष्ठको पनि देउती नर्सिङ होममा औषधी उपचार हुँदै थियो । विभिन्न स्थानबाट पैसा संकलन गरी घाइते बसन्त रोकायाको औषधी उपचार गर्न दिलीप बस्याल र म मोटरसाइकलमा चढेर नेपालगंजतर्फ जान लाग्दा प्रतिवादीहरू विजय नेपाली, घनश्याम पुरी र जगत प्याकुरेलसँग क्रिकेट चोकमा भेट भएको हो । दिलीप बस्यालले रू. ५००।– झिकी घनश्याम पुरीलाई दिएर तिमीहरू भाग विकास श्रेष्ठको मृत्यु भइसक्यो भनेको र मैले पनि निजहरू ३ जनालाई भाग भनी हौसला दिएको हुँ । उक्त वारदातमा पदम रानाको कुनै संलग्नता रहेको छैन भन्नेसमेत व्यहोराको प्रतिवादी तेजेन्द्र वलीले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान ।

शुभ दीपावलीको समय हुँदा मिति २०६४।७।२३ गते साँझ भैलो खेल्दै थिए । विजय नेपाली, घनश्याम पुरी र म वीरेन्द्रचोक नजिक पुगेका थियौँ । दिनेश वलीले हाम्रो साथी बसन्त रोकायालाई विकास श्रेष्ठले छुरा प्रहार गरी घाइते बनाएको हुँदा देउती नर्सिङ होममा भर्ना गरिएको छ भनी फोनबाट जानकारी गरायो । सोपश्चात् मसमेत उक्त नर्सिङ होमको आकस्मिक कक्षमा गएका हौं । सोही समयमा दिलिप बस्यालले मोटरसाइकल ल्याएर निज दिलिप बस्याल, घनश्याम पुरी, विजय नेपालीसमेत मोटरसाइकलमा चढी कता गए मलाई थाहा भएन । जगत प्याकुरेल र पदम शाही पैदल हिँडेर विकास श्रेष्ठको घरतर्फ गएका हुन् । निजहरू गएको आधा घण्टापछि जाहेरवाला श्रवणकुमार श्रेष्ठले घाइते विकास श्रेष्ठलाई मोटरसाइकलमा राखेर नर्सिङ होममा ल्याएका हुन् । मैले पनि विकास श्रेष्ठको खुट्टा समातेर भित्र ल्याउनको लागि सहयोग गरेको हो । सोपश्चात् म आफ्नो घर 

गएँ । मिति २०६४।७।२४ गते बिहान ८:०० बजे विकास श्रेष्ठको औषधी उपचार गर्दा गर्दै मृत्यु भएको सुनेर थाहा पाएको हुँ । उक्त वारदातमा म गइन । म देउती नर्सिङ होममा नै थिए । वारदातमा मेरो कुनै संलग्नता छैन भन्नेसमेत व्यहोराको प्रतिवादी पदमबहादुर रानाले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान ।

मिति २०६४।७।२३ गतेको साँझ म साथीहरूसँग भैलो खेल्दा खेल्दै सम्झना होटेलमा पुगेको थिए । मृतक विकास श्रेष्ठ राम मन्दिरबाट उक्त स्थानमा आएको हो । विकास श्रेष्ठले सोही समयमा बसन्त रोकायालाई राम मन्दिरतर्फ लिएर गयो । निजहरूका बीचमा वाद-विवाद र झगडा भएको हो । त्यसपछि विकास श्रेष्ठले बसन्त रोकायालाई धारिलो हतियार छुरा प्रहार गरी घाइते बनाएको हो । घाइते बसन्त रोकायालाई पदम शाही र दिनेश वलीले औषधी उपचारको लागि नर्सिङ होममा पुर्‍याएका हुन् । म नर्सिङ होममा पुग्दा विजय नेपाली, घनश्याम पुरी र पदम शाही पनि नर्सिङ होममा पुगिसकेको थिए । विजय नेपालीले विकास श्रेष्ठको घरमा गएर कुटपिट गरेर सख्त घाइते बनाउनुपर्छ भनी योजना बनाई म र पदम शाही २ जना पैदल तथा दिलिप बस्याल, घनश्याम पुरी, विजय नेपाली गरी ३ जना मोटरसाइकलमा चढेर विकास श्रेष्ठको घरपछाडि गएर बसेँ । विकास श्रेष्ठ घरबाहिर आउने बित्तिकै ३ जनाले मुक्का, लात्ती र ढुङ्गाले प्रहार गरी विकास श्रेष्ठलाई भुइँमा ढालेका थिए । सोपश्चात् अन्तिम अवस्थामा आफ्नो कम्मरबाट चक्कु निकालेर ढलिरहेको विकास श्रेष्ठलाई चार पटकसम्म प्रहार गरेको हुँ । विकास श्रेष्ठको अवस्था नाजुक भै रगताम्य भएपछि हामी ४ जना उक्त स्थानबाट भाग्यौं । भाग्दै जाने क्रममा कालिन्चोक नजिक क्रिकेट चौरमा पुगिसकेपछि दिलिप बस्याल र तेजेन्द्र वली २ जना आएर देउती नर्सिङ होममा उपचार गर्दा गर्दै विकास श्रेष्ठको मृत्यु भै सक्यो तिमीहरू भाग भनेर दिलिप बस्यालले हामीलाई रू. ५००।- दिएका हुन र तेजेन्द्र वलीले हामीलाई भाग्न प्रोत्साहन दिएका 

हुन् । वारदातमा पदम रानाको संलग्नता छैन भन्नेसमेत व्यहोराको प्रतिवादी जगत प्याकुरेलले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान । 

दीपावलीको समयमा भैलो खेल्दै जाने क्रममा राम मन्दिर नजिक विकास श्रेष्ठसँग मेरो भेट भएको हो । निज विकास श्रेष्ठले बसन्त रोकायालाई राम मन्दिरतर्फ लिएर गयो । टाढैबाट निजहरूबीच झगडा भएको जस्तो देखियो । सोको लगत्तै विकास श्रेष्ठले बसन्त रोकायालाई धारिलो हतियार प्रहार गरेर सख्त घाइते बनाए । त्यसपछि घाइते बसन्त रोकायालाई औषधी उपचारको लागि पदम शाही र दिनेश वलीले देउती नर्सिङ होममा लगे म पनि नर्सिङ होममा गएको हुँ । नर्सिङ होममा विजय नेपाली, घनश्याम पुरी, पदम शाही, जगत प्याकुरेलसमेत बसेका थिए । घाइते बसन्त रोकायाको इमर्जेन्सीमा उपचार हुँदै थियो । विजय नेपालीले विकास श्रेष्ठलाई कुटपिट गर्न जाऊँ भन्ने कुरा गरेपछि म घनश्याम पुरी र विजय नेपाली मोटरसाइकलमा पदम शाही र जगत प्याकुरेल पैदल हिँडी विकास श्रेष्ठको घरमा गएका हौं । निजहरू विकास श्रेष्ठको घर नजिक अगाडि सडकमा पुगिसकेपछि म मोटरसाइकल ल्याएर पुनः नर्सिङ होममा आएको 

हुँ । अं. १०/१५ मिनेटपछि श्रवणकुमार श्रेष्ठले घाइते विकास श्रेष्ठलाई ल्याएर नर्सिङ होममा आएका हुन् । निज विकास श्रेष्ठलाई विजय नेपाली, घनश्याम पुरी, जगत प्याकुरेल र पदम शाही  मिलेर हात मुक्का र धारिलो हतियारले प्रहार गरी घाइते बनाएकाले देउती नर्सिङ होममा औषधी उपचार गर्दा गर्दै विकास श्रेष्ठको मृत्यु भएको हो । कुटपिट गर्दाको बखत म घटनास्थलमा थिएन । घाइते विकास श्रेष्ठको अवस्थाको बारेमा खबर आदान प्रदान गरेर प्रतिवादीहरूलाई भाग्नको लागि रू. ५००। दिएर सहयोग गरेको हुँ भन्नेसमेत व्यहोराको प्रतिवादी दिलिप बस्यालले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान । 

मिति २०६४।७।२३ गते राति हामी आफ्नै घरमा थियौँ । अं. २१:३० बजेको समयमा घर बाहिरबाट एक्कासी गुहार मारे भनेको आवाज सुनी मसमेत घरबाहिर गएका हौं । मेरोअगाडि श्रवणकुमार श्रेष्ठ दौडेर गए । हामी घटनास्थलमा पुग्दा रगताम्य अवस्थामा रहेको विकास श्रेष्ठलाई श्रवणकुमार श्रेष्ठले आफ्नो काखमा राखिसकेका थिए । घटनाको बारेमा घाइते विकास श्रेष्ठलाई सोध्दा पदम शाहीले मलाई फोन गरेर बोलाएको हो । प्रतिवादीहरू विजय नेपाली, जगत प्याकुरेल र पदम शाहीसमेतले  धारिलो हतियार छुरा प्रहार गरी सख्त घाइते बनाएको कुरा निज विकास श्रेष्ठबाटै सुनी थाहा पाएको हुँ । तत्कालै श्रवणकुमार श्रेष्ठले मोटरसाइकलमा राखी औषधी उपचारको लागि देउती नर्सिङ होममा पुर्‍याएका हुन् । विकास श्रेष्ठको औषधी उपचार गर्दा गर्दै २३:०० बजेको समयमा मृत्यु भएको हो । उक्त वारदातमा दिलिप बस्याल, तेजेन्द्र वली र दिनेश वलीसमेत ३ जनाले विकास श्रेष्ठको अवस्थाको बारेमा खबर आदान प्रदान गरेर प्रतिवादीहरूलाई भाग्ने भगाउनेसम्मको कसुर गरेको र प्रतिवादी दिपक ढकालले उक्त घटनाको बारेमा जानकारी पाउँदा पाउँदै पनि आफ्नो घरमा प्रतिवादीहरू विजय नेपालीसमेतलाई लुकाई छिपाई राख्नेसम्मको कसुर अपराध गरेको र उक्त वारदातमा पदम रानाको कुनै संलग्नता छैन भन्ने व्यहोराको टेकबहादुर श्रेष्ठ, पवन श्रेष्ठ र मुकुन्दनाथ योगीले अनुसन्धान अधिकृतसमक्ष गरिदिएको घटना विवरण कागज । 

मिति २०६४।७।२३ गते हामी आफ्नै घरमा थियौँ । अं. २१:३० बजेको समयमा बाहिरबाट गुहार भनेको आवाज सुनेपछि बाहिर निस्किएर जाँदा विकास श्रेष्ठको घरअगाडि फुटपाथमा विकास श्रेष्ठ रगताम्य अवस्थामा भएको हुँदा जाहेरवाला श्रवणकुमार श्रेष्ठले काखमा राखेका थिए । विकास श्रेष्ठलाई घटनाको बारेमा सोध्दा पदम शाहीले मलाई फोन गरेर बोलाएको हो र म घरबाट बाहिर आएपछि विजय नेपाली, घनश्याम पुरी, जगत प्याकुरेल र पदम शाही ४ जनाले मरणासन्न हुने गरी कुटपिट एवम्‌ धारिलो हतियार प्रहार गरे भन्ने कुरा घाइते निज विकास श्रेष्ठबाट सुनी थाहा पाएका हौं । विकास श्रेष्ठको टाउकोको पछाडि बायाँ छाती र बायाँ कोखामा धारिलो हतियारले प्रहार गरेको गहिरो घाउ थियो । जाहेरवाला श्रवणकुमार श्रेष्ठले निज विकास श्रेष्ठलाई मोटरसाइकलमा राखेर औषधी उपचार गर्नका लागि देउती नर्सिङ होममा लिई गएका हुन् । उपचार गर्दा गर्दैं अं. २३:०० बजेको समयमा विकास श्रेष्ठको मृत्यु भएको हो । घटनाको बारेमा बुझ्दा प्रतिवादीहरू दिलिप बस्याल, तेजेन्द्र वली र दिनेश वलीले विकास श्रेष्ठको अवस्थाको बारेमा खबर आदान प्रदान गरी प्रतिवादीहरू विजय नेपालीसमेतलाई भाग्ने भगाउने सम्मको कसुर गरेको र प्रतिवादी दिपक ढकालले भागेका प्रतिवादीहरूलाई आफ्नो घरमा लुकाएर राख्ने सम्मको अपराध गरेका रहेछन् । उक्त वारदातमा प्रतिवादी पदम रानाको कुनै संलग्नता छैन भन्नेसमेत व्यहोराको गणेशबहादुर प्याकुरेल, गणेशप्रसाद थानी, सुवर्ण भट्टराई र दिलिप कुमार गुभाजुले मौकामा अनुसन्धान अधिकृतसमक्ष गरेको एकै मिलानको कागज । 

मिति २०६४।७।२३ गते साँझ म साथीहरूसँग भैलो खेल्दै गर्दा वी.न.न.पा. वडा नं. ६ राम मन्दिर नजिक विकास श्रेष्ठसँग भेट भएको हो । विकास श्रेष्ठसँग मेरो चिनजान थियो । मलाई देख्ने बित्तिकै विकास श्रेष्ठले बोलाएर रिसाए जस्तो गरेर तिम्रो साथी घनश्याम पुरी कहाँ छ ? भनी सोधेको र मैले आज भेट भएको छैन भन्ने जवाफ दिएँ । यत्तिकैमा विकास श्रेष्ठले श्रृष्टिना सापकोटा मेरो गर्लफ्रेन्ड हो, घनश्याम पुरीसमेतले मेरो गर्लफ्रेन्डसँग विवाद गर्ने ? भनी रिसाउँदै निज विकास श्रेष्ठले मेरो छातीमा मुक्काले प्रहार गरी सकेपछि बच्नको लागि अलि टाढा गएर बस्न खोज्दा विकास श्रेष्ठले आफूसँग भएको धारिलो हतियारले मलाई शरीरको विभिन्न भागमा प्रहार गरी घाइते भएको हुँदा पदम शाही र दिनेश वलीले औषधी उपचारको लागि देउती नर्सिङ होममा ल्याएका हुन् । तत्कालै को कसले धारिलो हतियार प्रहार गरे मलाई थाहा भएन । पछि बुझ्दै जाँदा मलाई विकास श्रेष्ठले धारिलो हतियार प्रहार गरेको कुरालाई लिएर विजय नेपाली, घनश्याम पुरी, जगत प्याकुरेल र पदम शाही मिलेर निज विकास श्रेष्ठलाई धारिलो हतियार प्रहार गरेको भन्ने सुनी थाहा पाएका हुँ । मलाई विकास श्रेष्ठले धारिलो हतियार छुरा प्रहार गरी घाइते बनाएका हुन् भन्नेसमेत व्यहोराको घाइते बसन्त रोकायले अनुसन्धान अधिकृतसमक्ष गरेको घटना विवरण कागज । 

वारदात मितिमा म आफ्नै घरमा थिएँ । मृतक विकास श्रेष्ठ र म उषा बालबाटिका उच्च मा.वि. ८ कक्षा देखी १० कक्षासम्मसँगै पढेका हौं । विगत २ वर्षदेखि मेरो विकास श्रेष्ठसँग माया प्रेम थियो । मिति २०६४।७।२४ गते बिहान आफ्नै घरमा बसिरहेको बेलामा जाहेरवाला श्रवणकुमार श्रेष्ठ आई गएको राति विजय नेपाली, घनश्याम पुरी, जगत प्याकुरेल र पदम शाहीसमेतले धारिलो हतियार छुरा प्रहार गरी सख्त घाइते बनाई देउती नर्सिङ होममा लिई ‍औषधी उपचार गर्दा गर्दै विकास श्रेष्ठको मृत्यु भएको भनी थाहा पाएको हुँ । मिति २०६४।७।२२ गते मेरो प्रतिवादी घनश्याम पुरीसँग केटीको विषयलाई लिएर विवाद भएको 

थियो । सोही विषयलाई लिएर वारदातको मितिको दिन सर्वप्रथम विकास श्रेष्ठले बसन्त रोकायालाई धारिलो हतियार प्रहार गरी घाइते बनाई औषधी उपचारको लागि देउती नर्सिङ होममा ल्याइसकेपछि प्रतिवादीहरू विजय नेपाली, घनश्याम पुरी, जगत प्याकुरेल र पदम शाहीसमेतले योजना बनाई धारिलो हतियार प्रहार गरी विकास श्रेष्ठको शरीरको विभिन्न भागमा प्रहार गरेका रहेछन् । घाइते विकास श्रेष्ठको ‍औषधी उपचार गर्दा गर्दै मृत्यु भएको हो । प्रतिवादीहरूलाई मैले चिनेको छैन भन्नेसमेत व्यहोराको श्रृष्टिना सापकोटाले अनुसन्धान अधिकृतसमक्ष गरेको घटना विवरण कागज ।

वारदात मितिको समयमा म आफ्नै घरमा थिए । अं. २:३० बजेको समयमा मेरो घरबाहिर गुहार गुहारको आवाज सुनेपछि म घरबाहिर निस्केर हेर्दा मेरो भाइ विकास श्रेष्ठ रगताम्य अवस्थामा भुइँमा पल्टेको देखी विकास श्रेष्ठलाई आफ्नो काखमा राखी के भयो भनी सोध्दा मलाई पदम भन्ने आवाज निकालेको हुँदा मेरो भाइ र पदम राना साथी भएको हुँदा सो पदम राना र विकास श्रेष्ठको बीचमा विवाद भएर निज पदम रानाले मेरो भाइ विकास श्रेष्ठलाई धारिलो हतियार प्रहार गरेको त हैन भन्ने शङ्का लागि पदम रानालाई प्रतिवादी बनाई मिति २०६४।७।२४ गते कर्तव्य ज्यान मुद्दामा पदम रानासमेतलाई प्रतिवादी बनाई जाहेरी दिएको हुँ । पछि बुझ्दै जाँदा पदम राना नभई पदम शाहीले मेरो भाइलाई फोन गरेर बोलाई धारिलो हतियार छुरा प्रहार गरेका रहेछन् । उक्त घटनामा पदम रानाको कुनै संलग्नता छैन भन्नेसमेत व्यहोराको जाहेरवाला श्रवणकुमार श्रेष्ठले अनुसन्धान अधिकृतसमक्ष गरेको घटना विवरण कागज ।

किटानी जाहेरी दरखास्त, घटनास्थल लास जाँच मुचुल्का, खानतलासी बरामदी मुचुल्का, प्रतिवादीहरूको साबिती बयान, लास परीक्षण प्रतिवेदन, बुझिएका मानिसहरूले गरेको कागज व्यहोरासमेतका आधारमा प्रतिवादीहरू जगत प्याकुरेल, पदम शाही, घनश्याम पुरी, विजय नेपाली र दिलिप बस्यालले मुलुकी ऐन ज्यानसम्बन्धी महलको १ नं. को कसुर गरेको हुँदा सोही महलको १३(३) नं. बमोजिम सजाय हुन र प्रतिवादी मध्येका दिपक ढकाल र दिनेश वलीले मुलुकी ऐन ज्यानसम्बन्धी महलको २५ नं. को कसुर गरेको हुँदा सोही २५ नं. बमोजिम सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको अभियोग मागदाबी ।

मिति २०६४।७।२३ गते लक्ष्मी पूजाको दिन दिलिप बस्यालले बसन्तलाई छुरी लागेको छ रे नर्सिङ होममा हिँड भनी दिलिप दौडेकाले म पनि दौडँदै नर्सिङ होममा गएँ । त्यहाँ बसन्तको उपचार भैरहेको र विजय नेपाली, पदम शाही, दिनेश वली त्यहीँ 

थिए । घनश्याम पुरी र दिलिप बस्याल बसन्तको दाइलाई लिन भनी गए र ल्याई आए । यहाँ निको हुन्न बाहिर लाग्नुपर्छ भनेकाले म आफ्नो घरमा आई रूपैयाँ लिएर घर सल्लाहले नेपालगन्ज दिदीसँग टीका पनि लगाउने बसन्तलाई उपचार पनि गराउने भनी नर्सिङ होममा पुनः जाँदा त्यहाँ बसन्त रोकाय नभएकाले म फेरि घरमा गएँ । पदम शाहीले फोन गरी कालिन्चोक नजिक आउ भनी बोलाएकाले म त्यहाँ गए । त्यहाँ पदम शाही, घनश्याम पुरी, विजय नेपालीसमेत थिए । एकछिनपछि दिलिप बस्याल र तेजेन्द्र वली आए । घनश्यामले दिलिपसँग फोर्स गरेर पैसा माग्यो । दिलिपले रू. ५००।- दियो । दिलिप र तेजेन्द्र वली भविन्द्र रोकायको घरतर्फ गए । पदम शाही आफ्नो घरतर्फ गए । घनश्याम पुरी, विजय नेपाली र म दिपक ढकालको घरमा गएर सुत्यौं । भोलिपल्ट २०६४।७।२४ गते बिहान उठी नेपालगन्ज जान लाग्दा धुलियाबिटमा घनश्याम पुरीलाई पवन श्रेष्ठले पक्राउ गरे । विजय भाग्यो । म सोही गाडीमा नेपालगन्ज गएँ । ऐ. २५ गते दिदीसँग टीका लगाए । मेरो नाम पनि जाहेरीमा छ भन्ने सुनी मिति २०६४।७।२९ गते कोहलपुरमा आई पक्राउ परेको हुँ । मैले विकास श्रेष्ठलाई छुरी प्रहार गरेको होइन । को कसले छुरी प्रहार गरे मलाई थाहा छैन भन्नेसमेत व्यहोराको प्रतिवादी जगत प्याकुरेलले सुरू अदालतमा गरेको बयान ।

मिति २०६४।७।२३ गते राति विकास श्रेष्ठलाई मसमेत भई छुरी प्रहार गरेको होइन । सोही दिन मसमेत भविन्द्र रोकाय, जगत प्याकुरेल, दिनेश वली, तेजेन्द्र वली, श्याम थापा, सुनिता थापालगायत ३० जना जति वीरेन्द्रचोक नजिक भैलो खेलिरहेको अवस्थामा विकास र बसन्त बीचमा झगडा भै विकास श्रेष्ठले बसन्त रोकायलाई छुरी प्रहार गरी विकास भागेर पिपलचौतारातर्फ गएका हुन् । जगत प्याकुरेल, घनश्याम पुरी, विजय नेपाली, दिलिप बस्याल र तेजेन्द्र वली नर्सिङ होममा आइसकेका थिए । विकास श्रेष्ठलाई जगत प्याकुरेलले छुरी हान्यो रे भन्ने सुनेको हुँ । बसन्त रोकायलाई दिलिप बस्याल, भविन्द्र रोकाय, केशव थापा, तेजेन्द्र वली र दिनेश वलीले लिएर नेपालगन्ज गए । विजय नेपाली, घनश्याम पुरी र म आ-आफ्नो घर गई सुतेका हौं । मैले विकासलाई छुरी प्रहार गर्ने कार्य गरेको होइन भन्नेसमेत व्यहोराको प्रतिवादी पदम शाहीले सुरू अदालतमा गरेको बयान । 

मिति २०६४।७।२३ गते राति करिब ८:०० बजेतिर म, पदम राना, विजय नेपालीसमेत बसन्त रोकायलाई चक्कु लागेको छ भन्ने थाहा पाई नर्सिङ होममा गयौं । बसन्तको उपचार हुँदै थियो । जगत प्याकुरेल हाम्रो साथीलाई छुरी हान्ने त्यसलाई ठीक गर्नुपर्छ भन्दै बाहिर निस्कियो । निस्केको केही समयपछि बसन्त रोकायलाई यहाँ निको हुन्न बाहिर लानुपर्छ भनेपछि बसन्त रोकायलाई एम्बुलेन्समा राखी दिलिप बस्याल, भविन्द्र रोकाय, केशव थापा, तेजेन्द्र वली र दिनेश वली नेपालगन्जतर्फ गए । म र पदम शाही आ-आफ्नो घरतर्फ गयौं । बसन्त रोकायको उपचार गराएको ईवीले मसमेतलाई जाहेरीमा उल्लेख गरेको हुनुपर्छ । जाहेरी झुट्ठा हो भन्नेसमेत व्यहोराको प्रतिवादी घनश्याम पुरीले सुरू अदालतमा गरेको 

बयान । 

मसमेत भई विकास श्रेष्ठलाई छुरी प्रहार गरेको भन्ने व्यहोरा झुट्ठा हो । वारदातमा मेरो संलग्नता छैन । मिति २०६४।७।२३ गते म, भविन्द्र रोकाय लगायतका साथीहरू भैली खेल्दै गरेको अवस्थामा बसन्त रोकायलाई चक्कु लागेर नर्सिङ होममा लगे भन्ने दिनेश वलीले फोन गरी छिट्टै आउन भनेकाले नर्सिङ होममा आउँदा बसन्तलाई चोट लागेको देखेँ, घनश्याम पुरीले मलाई पैसा खोज भनेकाले म घर गई रू. २०००। र मोटरसाइकल लिई नर्सिङ होममा गएँ । म र घनश्याम पुरी बसन्तको आमालाई ल्याउन लाग्दा विजय नेपालीसँग भेट भयो । विजय नेपाली पनि मेरो मोटरसाइकलमा बसी मृतक विकास श्रेष्ठको घर नजिक ६/७ मिटर तल घनश्याम पुरी र विजय नेपालीले मलाई तँ नर्सिङ होममा जा हामी बसन्तको घरमा जान्छौं भनी गएका हौं । म नर्सिङ होममा 

आएँ । घनश्याम पुरी र विजय नेपाली नआएको कारण म र दिनेश वली गई भविन्द्रलाई बोलायौं । त्यसपछि भविन्द्र र म त्यही मोटरसाइकलमा गई बसन्तको ममीलाई ल्याएर आएको हो । नर्सिङ होममा बसिरहेको अवस्थामा विकास श्रेष्ठलाई लिएर आएका हुन् । कसैले छुरी हान्यो भनेको सुनेको हुँ । बसन्तलाई यहाँ निको हुन्न भनेपछि एम्बुलेन्समा हालेर गए । मलाई पैसा खोजेर आउनु भनेकाले पैसा खोजी जाँदा धमलाचोक नजिक घनश्याम पुरीले बोलाएर त्यहाँ विजय नेपाली, घनश्याम पुरी र जगत प्याकुरेल थिए । घनश्यामले रू. ५००। माग्यो । मैले दिए । त्यसपछि भविन्द्र घरमा गई नेपालगन्ज गइ उपचारको लागि सहयोग गरेको कारणले झुट्ठा  व्यहोरा लेखाएका होला भन्नेसमेत व्यहोराको प्रतिवादी दिलिप बस्यालले सुरू अदालतमा गरेको बयान ।

रातको समय हुँदा म आफ्नै घरको कोठामा सुतिरहेको समयमा जगत प्याकुरेलले बोलाएर उठाएका कारण ढोका खोले ।  भैली खेलेर आएको हो भने सुत्छौ भने सुत भनी म पनि निदाए छु । जगतसँग घनश्याम पुरी, विजय नेपालीसमेत सुतेका हुन् । बिहान ६:०० बजेतिर बिउँझिँदा तिनिहरू कता गए मलाई थाहा 

भएन । विकास श्रेष्ठलाई निज जगत प्याकुरेलले छुरी प्रहार गरे वा गरेनन् मलाई थाहा भएन । उनीहरूले छुरी प्रहार गरे भन्ने कुरा थाहा पाउँदा पाउँदै मैले भगाएको भन्ने कुरा झुट्ठा हो भन्नेसमेत व्यहोराको प्रतिवादी दिपक ढकालले सुरू अदालतमा गरेको बयान ।

मिति २०६४।७।२३ गते रातको समयमा म घनश्याम पुरीलगायतका साथीहरू भैली खेल्दैको अवस्थामा हाम्रो साथीलाई देउती नर्सिङ होममा भर्ना गरेको छ रे भन्ने सुनेपछि घनश्याम पुरी, म, पदम राना नर्सिङ होममा गयौं । त्यहाँ गएपछि विकास श्रेष्ठले बसन्त रोकायलाई छुरी हानेको भन्ने कुरा थाहा पाए । दिलिप बस्याल र घनश्याम पुरी बसन्तको दाई भविन्द्र रोकायलाई लिन गए । जगत प्याकुरेल निस्केर बाहिर गएको हो कहाँ गयो थाहा भएन । बसन्तलाई यहाँ निको हुँदैन बाहिर लैजाउ भनेको कारण बाहिर लैजाने तयारी गर्दा गर्दै विकास श्रेष्ठलाई श्रवण श्रेष्ठले नर्सिङ होममा ल्याउनु भयो । बसन्तलाई बाहिर लैजाने भनी भैली खेलेको रू. ५०००। भविन्द्रलाई दिई म, घनश्याम पुरी, पदम शाही घरतर्फ आयौं । मैले विकास श्रेष्ठलाई छुरी प्रहार गरेको होइन । नर्सिङ होममा पवन श्रेष्ठले भनेको सुनेको हुँ । जगत प्याकुरेलले छुरी प्रहार गरी विकास श्रेष्ठ घाइते भएको हो । बसन्त रोकायको म साथी भएको कारणले मलाई पनि उक्त घटनामा संलग्न हुनुपर्छ भन्ने शङ्काले भनेको हुनुपर्छ भन्ने प्रतिवादी विजय नेपालीले सुरू अदालतमा गरेको बयान ।

मिति २०६४।७।२३ गते राति म, भविन्द्र रोकाय, बसन्त रोकायबीच हानाहान भयो । विकास भाग्यो । म बसन्त नजिक पुग्दा बसन्तको आन्द्रा बाहिर निस्केकाले मैले बसन्तलाई बोकेर देउती नर्सिङ होममा ल्याएँ । त्यसपछि दिलिपलाई फोन गरेर 

बोलाएँ । दिलिप बस्याल, तेजेन्द्र वली, केशव थापा, भविन्द्र रोकाय नर्सिङ होममा आए । म बसन्त कै उपचारका लागि नेपालगन्ज गए । दिलिप र तेजेन्द्रलाई पैसा लिएर आउनु भनी छोडेका हौं । नर्सिङ होममा जगत प्याकुरेल, घनश्याम पुरी, विजय नेपाली र पदम शाही आए नआएको मलाई थाहा भएन । मैले  विकास श्रेष्ठको अवस्था बुझेर जगत प्याकुरेलसमेतलाई खबर गरेको र नर्सिङ होमबाट बाहिर आएर जगत प्याकुरेल लगायतका केटाहरूलाई जानकारी गराई भगाउन सहयोग गरेको भन्ने कुरा गलत हो भन्ने प्रतिवादी दिनेश वलीले सुरू अदालतमा गरेको बयान ।

मिति २०६४।७।२३ गते राति मसमेत भैली खेलिरहेको अवस्थामा दिलिप बस्याल र दिनेश वलीले तिम्रो भाइ घाइते भै देउती नर्सिङ होममा छ भनेकाले म रातको ९/९:३० बजे तिर देउती नर्सिङ होममा गएको हो । त्यहाँ जाँदा जगत प्याकुरेल, घनश्याम पुरी, विजय नेपाली र पदम शाहीले मेरो भाइ बसन्त रोकायलाई कुरेर बसेको थिए । यिनीहरूले विकास श्रेष्ठलाई कर्तव्य गरी मारेका होइनन् भन्ने मसमेत व्यहोराको प्रतिवादी जगत प्याकुरेल र दिलिप बस्यालका साक्षी भविन्द्र रोकायले गरेको बकपत्र ।

मिति २०६४।७।२३ गते रातमा म आमाको औषधी किन्न देउती नर्सिङ होममा जाँदा घाइते बसन्त रोकायको साथमा पदम शाही पनि थिए । एकछिन पछि विकास श्रेष्ठलाई देउती नर्सिङ होममा ल्याएका हुन् । मिति २०६४।७।२३ गते राति बचाउबचाउ गुहारगुहार भनेको आवाज सुनी म घरबाट निस्की घटनास्थलमा जाँदा जाहेरवालाले आफ्नो काखमा राखेका विकास श्रेष्ठलाई निजका बुवा टेकबहादुर श्रेष्ठले बाबु तिमीलाई कसले यसो गर्‌यो भनी सोध्दा र निज सिरियस भएकाले देउती नर्सिङ होममा ल्याएकामा उपचार गर्दा गर्दै निजको मृत्यु भएको हो भन्नेसमेत व्यहोराको बुझिएका दिलिपकुमार गुभाजुले सुरू अदालतमा गरेको बकपत्र ।

मिति २०६४।७।२३ गते राति होहल्ला भएको सुनी घटनास्थलमा जाँदा विकास श्रेष्ठलाई श्रवण श्रेष्ठले काखमा राखेका र आफन्तहरूले सोध्दा ७/८ जना केटाहरू आई छुरा प्रहार गरी गए भनेका र उपचार गर्न देउती नर्सिङ होममा ल्याएकामा निजको उपचारको क्रममा मृत्यु भएको हो भन्नेसमेत व्यहोराको मौकामा बुझिएका सुवर्ण भट्टराईको बकपत्र ।

मिति २०६४।७।२३ गते मान्छे घाइते भएको हल्ला सुनेपछि म रातको ९:०० बजे देउती नर्सिङ होममा गए । त्यहाँ घनश्याम पुरीले मैले नचिनेको घाइते केटालाई कुरेर बसेका र निजले साथीलाई उपचार गर्न ल्याएको देखेको हुँ । विकास श्रेष्ठलाई कर्तव्य गरी मार्नमा घनश्याम पुरीको संलग्नता छैन भन्नेसमेत व्यहोराको प्रतिवादी घनश्याम पुरीका साक्षीहरू रूपबहादुर भण्डारीले गरेको बकपत्र ।

मिति २०६४।७।२३ गते विकास श्रेष्ठलाई केही केटाहरूले छुरी प्रहार गरी गए  भन्ने सुनेको हुँ । जिल्ला प्रहरी कार्यालयमा मैले गरेको कागज व्यहोरा मेरो नै हो भन्नेसमेत व्यहोराको बुझिएका मानिस मुकुन्दनाथ योगीले गरेको बकपत्र । 

मिति २०६४।७।२३ गते राति भैली खेल्न गएका मेरा बच्चाहरू खोजी ल्याउँदा देउती नर्सिङ होममा भीड देखी के रहेछ भनी पसेकामा १ जना केटालाई छुरी प्रहार भएको, अर्को घाइते केटालाई ल्याएको देखेको हुँ । विकास श्रेष्ठलाई विजय नेपालीले कर्तव्य गरी मारेको होइन भन्नेसमेत व्यहोराको प्रतिवादी विजय नेपालीको साक्षी टोपेन्द्रजंग शाहीको बकपत्र ।

मिति २०६४।७।२३ गते राति प्रकाश खड्काको आमालाई औषधी किन्न प्रकाश खड्काको साथमा देउती नर्सिङ होममा जाँदा घाइते बसन्त रोकायलाई कुरेर पदम शाही बसेको र केही क्षणपछि घाइते विकास श्रेष्ठलाई पनि त्यही ल्याएका हुन् । विकास श्रेष्ठको मृत्यु हुनुमा पदम शाहीको कर्तव्यबाट भएको होइन भन्नेसमेत व्यहोराको प्रतिवादी पदम शाहीका साक्षी सुन्दर त्यागीले गरेको बकपत्र ।

मिति २०६४।७।२३ गते घनश्याम पुरी र मेरो बीचमा तारा भण्डारी र घनश्याम पुरीको जोडी मिल्दैन भनी मैले भनेको भन्ने विषयमा विवाद भै सोको भोलिपल्ट दिउसो त्यही विषयमा घनश्याम पुरी र विकास श्रेष्ठबीच विवाद भएको हो । सो रातको घटनाको सम्बन्धमा मलाई केही थाहा छैन भन्नेसमेत व्यहोराको बुझिएकी श्रृष्टिना सापकोटाले गरेको 

बकपत्र ।

मिति २०६४।७।२३ गते राति देउती नर्सिङ होममा छुरी प्रहार भएको घाइते केटा ल्याएका छन् भनी सुनेर म देउती नर्सिङ होममा जाँदा घनश्याम पुरी पनि त्यही घाइतेको स्याहारमा लागेका थिए । केही समयपछि श्रवण श्रेष्ठले अर्को घाइतेलाई ल्याएको देखेको हुँ । विकास श्रेष्ठको मृत्यु घनश्याम पुरीको कर्तव्यबाट भएको होइन भन्नेसमेत व्यहोराको प्रतिवादी घनश्याम पुरीका साक्षी देविराम सिजापतीको बकपत्र ।

प्रतिवादी दिलिप बस्याल देउती नर्सिङ होममा मेरो स्याहार र उपचारमा व्यस्त थिए । निजले विकास श्रेष्ठलाई छुरा प्रहार गरेका होइनन् भन्नेसमेत व्यहोराको दिलिप बस्यालका साक्षी बसन्त रोकायले गरेको बकपत्र ।

मिति २०६४।७।२३ गते राति विकास श्रेष्ठले गुहार भनी कराएको सुनी मसमेत घटनास्थल जाँदा दाजु श्रवण श्रेष्ठले विकास श्रेष्ठलाई काखमा राखेका र बाबु टेकबहादुर श्रेष्ठले के भयो भनी सोध्दा निज विकास श्रेष्ठले मलाई पदम शाहीले फोन गरी बाहिर बोलाएर जगत प्याकुरेल, घनश्याम पुरी, विजय नेपाली र पदम शाहीले छुरी प्रहार गरी गए भनेकाले मृतक विकास श्रेष्ठलाई निजहरूले नै छुरी प्रहार गरी कर्तव्य गरी मारेको भन्नेसमेत व्यहोराको बुझिएका पवन श्रेष्ठको बकपत्र ।

मिति २०६४।७।२३ गते राति ९:३० बजे छोरा विकासको मोबाइलमा फोन आयो । छोरा विकास तत्काल बाहिर गए कसको फोन हो भन्ने तत्काल मलाई थाहा भएन । एकछिन पछि मारे बचाउ भनेको सुनेर मसमेत दौडँदै जाँदा रगताम्य अवस्थामा देखेँ । दाजुको छोरा श्रवण श्रेष्ठले विकासलाई काखमा राखे मैले के भयो भनी सोध्दा पदम शाहीले फोन गरी बोलाएर जगत प्याकुरेल, घनश्याम पुरी, विजय नेपाली र पदम शाहीले छुरी प्रहार गरी गए भनेको थियो । देउती नर्सिङ होममा लगी उपचार गर्दा गर्दै छोरा विकास श्रेष्ठको मृत्यु भएको हो । मेरो छोरा विकास श्रेष्ठको मृत्यु हुनुमा जगत प्याकुरेल, घनश्याम पुरी, विजय नेपाली र पदम शाहीसमेतको कर्तव्यबाट भएको हो भन्नेसमेत व्यहोराको बुझिएका टेकबहादुर श्रेष्ठको बकपत्र ।

प्रतिवादी विजय नेपाली बिरामी भै उपचार गर्दा गर्दै मिति २०६४।११।१६ गते मृत्यु भएको भन्ने व्यहोराको कारागार कार्यालय सुर्खेतको च.नं. ३६५ मिति २०६४।११।१६ को पत्र मिसिल संलग्न रहेको ।

घटनास्थलबाट बरामद चक्कुसमेत परीक्षण गर्न पठाएकामा Central Police Forensic Laboratory  को मिति २०६५।४।२०  को जाँच प्रतिवेदन मिसिल संलग्न रहेको ।

यसमा प्रतिवादीहरू दिलिप बस्याल, दिनेश वली र दिपक ढकालले आरोपित कसुर गरेको भन्ने पुष्टि हुन नआएकाले निज प्रतिवादीहरू दिलिप बस्याल, दिनेश वली र दिपक ढकालले अभियोग मागदाबीबाट सफाइ पाउने ठहर्छ । प्रतिवादीहरू पदम शाही र घनश्याम पुरीले विकास श्रेष्ठलाई मार्नको लागि लात मुक्कासमेतले हानेको र अर्का प्रतिवादी जगत प्याकुरेलले चक्कुले हान्दा विकास श्रेष्ठको मृत्यु भएको मिसिल संलग्न प्रमाणबाट पुष्टि भएकाले निज प्रतिवादीहरूले मुलुकी ऐन ज्यानसम्बन्धी महलको १ र १३(३) नं. बमोजिमको कसुर गरेकाले चक्कु हान्ने सहित मुख्य व्यक्ति प्रतिवादी जगत प्याकुरेललाई ऐ. ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्म कैद हुने र विकास श्रेष्ठलाई मार्नको लागि लात मुक्कासमेत हान्ने प्रतिवादीहरू पदमबहादुर शाही र घनश्याम पुरीलाई ऐ. ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम जन्म कैद हुने ठहर्छ भन्नेसमेत सुरू सुर्खेत जिल्ला अदालतको फैसला ।

विजय नेपालीसमेतको बयानलाई प्रतिवादीमध्येको जगत प्याकुरेलसमेतका हकमा प्रमाणमा लिने र प्रतिवादी दिलिप बस्यालको हकमा प्रमाणमा नलिने भन्ने न्यायको मर्मविपरीत 

हुन्छ । अतः प्रतिवादीहरू दिलीप बस्याल, दिनेश वली र दिपक ढकालउपरको कसुर उल्लिखित आधार प्रमाणबाट पुष्टि भएको अवस्थामा प्रतिवादीहरूलाई सफाइ दिने ठहर्‍याई भएको सुरू फैसला त्रुटिपूर्ण हुँदा प्रतिवादीहरू दिलिप बस्याल, दिनेश वली र दिपक ढकाललाई सफाइ दिएको हदसम्म बदर गरी अभियोग मागदाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको वादी नेपाल सरकारको पुनरावेदन अदालत,मा परेको पुनरावेदनपत्र ।

लास जाँच मुचुल्का र शव परीक्षण प्रतिवेदनबाट प्रतिवादी मध्येका जगत प्याकुरेलले अनुसन्धान अधिकारीसमक्ष गरेको बयानअनुसार निजकै प्रहारबाट लागेको चोटका कारण मृतकको मृत्यु भएको देखिएको अवस्थामा निर्दोष हामीलाई समेत सजाय गर्ने गरी भएको सुरू फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी अभियोग दाबीबाट सफाइ पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादीद्वय घनश्याम पुरी र पदम शाहीको पुनरावेदन अदालत,मा परेको संयुक्त पुनरावेदनपत्र ।

मृतक विकास श्रेष्ठको मृत्यु मैले प्रहार गरेको धारिलो हतियारको प्रहारबाट भएको भन्ने तथ्यलाई मैले कही कतै स्वीकारसमेत गरेको छैन । केवल जाहेरी व्यहोरा, बुझिएका व्यक्तिको भनाई, घटनास्थल मुचुल्का, लासजाँच मुचुल्का बरामदी मुचुल्का र अनुसन्धान अधिकारीसमक्ष भएको बयानलाई आधार बनाई म निर्दोष व्यक्तिलाई सुरू अदालतले सर्वस्वसहित जन्मकैदको सजाय गरेको त्रुटिपूर्ण रहेको छ । अतः सुरूको फैसला उल्टी गरी अभियोग दाबीबाट सफाइ पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी जगत प्याकुरेलको पुनरावेदन अदालत,मा परेको पुनरावेदनपत्र ।

यसमा प्रतिवादी मध्येका दिलिप बस्यालको हकमा जाहेरी किटानी भै मोटरसाइकल वारदात स्थलसम्म पुर्‌याएको देखिँदा र जाहेरीको व्यहोरा र जाहेरवालाले अनुसन्धान अधिकारीसमक्ष गरेको कागजसमेतका प्रमाणको मूल्याङ्कनबाट सुरू इन्साफ फरक पर्न सक्ने देखिँदा, पुनरावेदन सरकारी वकिल कार्यालय, सुर्खेतलाई प्रतिवादीहरूबाट पर्न आएको पुनरावेदनको जानकारी दिई प्रत्यर्थी प्रतिवादी दिलिप बस्यालसमेतलाई अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत, नियमावली, २०४८ को नियम ४७बमोजिम झिकाई उपस्थित भए वा अवधि नाघेपछि नियमानुसार पेस गर्नु भन्ने पुनरावेदन अदालतको आदेश ।

यसमा सुरू सुर्खेत जिल्ला अदालतले प्रतिवादीमध्येका जगत प्याकुरेललाई सर्वस्वसहित जन्मकैद हुने र प्रतिवादीहरू पदम शाही र घनश्याम पुरीलाई जन्मकैद हुने ठहर्‍याई अन्य प्रतिवादीहरू दिलिप बस्याल, दिपक ढकाल र दिनेश वलीलाई अभियोग दाबीबाट सफाइ पाउने ठहर्‍याई गरेको फैसला मिलेकै देँखिदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादी र वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्नेसमेत पुनरावेदन अदालतको 

फैसला ।

विजय नेपालीसमेतको बयानलाई प्रतिवादी मध्येको जगत प्याकुरेलसमेतका हकमा प्रमाणमा लिने र प्रतिवादी दिलिप बस्यालको हकमा प्रमाणमा नलिने भन्ने न्यायको मर्मविपरीत हुन्छ । प्रतिवादीहरू दिलिप बस्याल, दिनेश वली र दिपक ढकालसमेत कसुरदार रहेको तथ्य मिसिल संलग्न प्रमाण कागजातहरूबाट पुष्टि भइरहेकाले निजहरूलाई सफाइ दिने ठहर्‍याई भएको सुरू फैसला सदर गरेको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण हुँदा प्रतिवादीहरू दिलिप बस्याल, दिनेश वली र दिपक ढकाललाई सफाइ दिएको हदसम्म सो फैसला उल्टी गरी अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको वादी नेपाल सरकारको यस अदालतमा परेको पुनरावेदनपत्र ।

लास जाँच प्रकृति मुचुल्का र शव परीक्षण प्रतिवेदनसमेतबाट प्रतिवादीमध्येका जगत प्याकुरेलले अनुसन्धान अधिकारीसमक्ष गरेको बयानअनुसार निजकै प्रहारबाट लागेको चोटका कारण मृतक विकास श्रेष्ठको मृत्यु भएको प्रष्ट हुँदा म निर्दोष व्यक्तिलाई समेत सजाय गर्ने गरी भएको त्रुटिपूर्ण सुरू फैसला सदर गरेको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण रहेकाले सो फैसला उल्टी गरी अभियोग दाबीबाट सफाइ पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी पदम शाहीको यस अदालतमा परेको पुनरावेदनपत्र ।

मिसिल संलग्न लास जाँच प्रकृति मुचुल्का र शव परीक्षण प्रतिवेदनसमेतबाट प्रतिवादीमध्येका जगत प्याकुरेलले अनुसन्धान अधिकारीसमक्ष गरेको बयानअनुसार निजकै प्रहारबाट लागेको चोटका कारण मृतक विकास श्रेष्ठको मृत्यु भएको प्रष्ट हुँदा म निर्दोष व्यक्तिलाई समेत सजाय गर्ने गरी भएको त्रुटिपूर्ण सुरू फैसला सदर गरेको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण रहेकाले सो फैसला उल्टी गरी अभियोग दाबीबाट सफाइ पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी घनश्याम पुरीको यस अदालतमा परेको संयुक्त पुनरावेदनपत्र ।

जाहेरी व्यहोरा, मौकामा बुझिएका व्यक्तिको भनाई, घटनास्थल मुचुल्का, लास जाँच प्रकृति मुचुल्का, बरामदी मुचुल्का र अनुसन्धान अधिकारीसमक्ष भएको बयानलाई आधार बनाई म निर्दोष व्यक्तिलाई सुरू अदालतले सर्वस्वसहित जन्मकैदको सजाय गरेको त्रुटिपूर्ण फैसला सदर गरेको पुनरावेदन अदालतको फैसला उल्टी गरी अभियोग दाबीबाट सफाइ पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी जगत प्याकुरेलको यस अदालतमा परेको पुनरावेदनपत्र ।

नियमबमोजिम पेसी सूचीमा चढी इजलाससमक्ष निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदनपत्रसमेतका सम्पूर्ण मिसिलहरूको अध्ययन गरी निम्नबमोजिमको बहससमेत सुनियो ।

पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट विद्वान् उपन्यायाधिवक्ता श्री खेमराज भट्टले प्रतिवादी दिलिप बस्याल, दिनेश वली र दिपक ढकालसमेतलाई सफाइ दिने गरी भएको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण छ । दिलिप बस्यालले आफू मृतक विकास श्रेष्ठलाई कुटपिट गर्न विजय नेपालीसमेतले बनाएको योजनामा सहमत रही अर्काको मोटरसाइकल मागी अन्य प्रतिवादीहरू विजय नेपालीसमेतलाई विकाश श्रेष्ठको घर नजिक पुर्‌याएको र घाइते भएका विकाश श्रेष्ठको अवस्थाको बारेमा समय समयमा अन्य प्रतिवादीहरूलाई सूचना दिई भगाउनसमेत सहयोग एवम्‌ प्रोत्साहन गरेकाले निजलाई अभियोग दाबीबमोजिम सजाय हुनुपर्छ । अन्य प्रतिवादीहरू दिनेश वली र दिपक ढकालसमेतले प्रतिवादीहरूलाई भगाउन सहयोग गरेकाले मुलुकी ऐन ज्यानसम्बन्धी महलको २५ नं. बमोजिम सजाय होस् भन्नेसमेत बहस प्रस्तुत गर्नुभयो ।

पुनरावेदक प्रतिवादी पदम शाहीको तर्फबाट विद्वान् वरिष्ठ अधिवक्ता श्री शम्भू थापाले जाहेरी दरखास्तमा पदम शाहीको सट्टा पदम रानाले मृतकलाई मोबाइलमा फोन गरी बोलाएको भन्ने उल्लेख छ । पोस्टमर्टम रिपोर्टसमेतको आधारमा धारिलो हतियारको प्रहारबाट विकास श्रेष्ठको मृत्यु भएको अवस्था छ । मृतकलाई जगत प्याकुरेलले छुरा प्रहार गरेको र पदम शाहीले मुक्कामात्रै हानेको भन्ने तथ्य मिसिलबाट पुष्टि भइरहेको छ । उक्त तथ्यबाट विकास श्रेष्ठको मृत्यु पदम शाहीको मुक्काबाट भएको भन्ने मिसिलबाट देखिँदैन । तसर्थ विकाश श्रेष्ठको मृत्यु धारिलो हतियारको प्रहारबाट भएकाले निजको मृत्यु हुनुमा पदम शाहीको भूमिका नरहेकाले पुनरावेदन अदालतको फैसला उल्टी गरी निजलाई अभियोग दाबीबाट सफाइ होस् भन्नेसमेत बहस प्रस्तुत 

गर्नुभयो । 

पुनरावेदक प्रतिवादी घनश्याम पुरीको तर्फबाट विद्वान् अधिवक्ता श्री विश्वेश्वरप्रसाद गौतम मृतकलाई जगत प्याकुरेलले छुरा प्रहार गरेको र घनश्याम पुरीले मुक्कामात्रै हानेको भन्ने तथ्य मिसिलबाट पुष्टि भइरहेको छ । उक्त तथ्यबाट विकास श्रेष्ठको मृत्यु पदम शाहीको मुक्काबाट भएको भन्ने मिसिलबाट देखिँदैन । तसर्थ विकाश श्रेष्ठको मृत्यु धारिलो हतियारको प्रहारबाट भएकाले निजको मृत्यु हुनुमा घनश्याम पुरीको भूमिका नरहेकाले पुनरावेदन अदालतको फैसला उल्टी गरी निजलाई अभियोग दाबीबाट सफाइ होस् भन्नेसमेत बहस प्रस्तुत 

गर्नुभयो । 

पुनरावेदक प्रतिवादी दिलिप बस्यालको तर्फबाट विद्वान् वरिष्ठ अधिवक्ता श्री पूर्णमान शाक्य र विद्वान् अधिवक्ता श्री कलमबहादुर खत्रीले प्रतिवादी दिलिप बस्यालले मोटरसाइकलमा ल्याएको व्यक्तिहरूको प्रहारबाट विकाश श्रेष्ठको मृत्यु भएको होइन । जाहेरी दरखास्त विश्वसनीय छैन । मृतक एवम्‌ अन्य प्रतिवादीहरूले पनि दिलिप बस्यालले विकास श्रेष्ठलाई मारेको हो भनी उल्लेख गरेको छैन । दिलिप बस्यालको मार्ने मनसाय थिएन किनभने निजको वारदातमा उपस्थिति रहेको छैन । निज दिलिप बस्याल निर्दोष रहेकाले मलाई अभियोग दाबीबाट सफाइ दिने गरी सुरू अदालतबाट भएको फैसला सदर गरेको पुनरावेदन अदालतको फैसला न्यायसङ्गत रहेकाले सदर होस् भन्नेसमेत बहस प्रस्तुत गर्नुभयो ।

पुनरावेदक प्रतिवादी जगत प्याकुरेलको तर्फबाट विद्वान् अधिवक्ताद्वय श्री गोबिन्द बन्दी एवम्‌ श्री रक्षा बस्यालले प्रतिवादी जगत प्याकुरेलको विकास श्रेष्ठलाई मार्ने मनसाय रहेको देखिँदैन । निजले चक्कु प्रहार गरेको हो वा हैन, प्रहार गरेको भए सोही कारणले मृत्यु भएको हो वा होइन भन्ने कुरा शङ्कारहित तवरबाट पुष्टि हुन सकेको छैन । जाहेरी दरखास्तमा जगत प्याकुरेलले मात्रै चक्कु प्रहार गरेको भन्ने किटान गरेको छैन । जाहेरी दरखास्त र जाहेरवालाको अदालतमा भएको बकपत्र परस्पर नमिलेकाले विश्वसनीय छैन । चक्कु कसले प्रहार गरेको हो भनी एकिन गर्न चक्कुमा रहेको Finger Print Test  गरिएको छैन । अनुमानको आधारमा जगत प्याकुरेललाई दोष लागाइएको छ । मृतकलाई मार्नुपर्ने सम्मको कारण नभएको र मनसाय तत्त्वको अभाव रहेकाले पुनरावेदन अदालतको फैसला उल्टी गरी अभियोग दाबीबाट सफाइ होस् भन्नेसमेत बहस गर्नुभयो । प्रत्यर्थी प्रतिवादीहरू दिनेश वली र दिपक ढकालको तर्फबाट विद्वान् अधिवक्ता श्री खगेन्द्र अधिकारीले दिनेश वली र दिपक ढकालले प्रतिवादीहरूलाई भगाउन र विकास श्रेष्ठलाई कर्तव्य गरी मार्न प्रत्यक्ष वा अप्रत्यक्षरूपमा कुनै सहयोग गरेको देखिँदैन । तसर्थ निजहरूलाई अभियोग दाबीबाट सफाइ होस् भन्नेसमेत बहस प्रस्तुत गर्नुभयो ।

उपर्युक्तबमोजिमको बहससमेत सुनी निर्णयतर्फ विचार गर्दा निम्न प्रश्नहरूमा केन्द्रित रही निर्णय दिनुपर्ने देखिन आयो ।

(१) विकास श्रेष्ठको मृत्यु कर्तव्यबाट भएको हो वा होइन ?

(२) विकास श्रेष्ठको मृत्यु हुनुमा प्रतिवादीहरूको संलग्नता रहेको छ वा छैन ? वारदातमा संलग्न प्रतिवादीहरूलाई के कति सजाय हुने हो ?

(३) पुनरावेदन अदालतको फैसला मिलेको छ वा छैन ?

 

यसमा मिति २०६४।७।२३ गते अं. २१:३० बजेको समयमा मेरो भाइ विकास श्रेष्ठ आफ्नो घरमा बसिरहेको अवस्थामा प्रतिवादी पदमबहादुर रानाले मोबाइलबाट फोन गरी बाहिर बोलाई घनश्याम पुरीसमेतका प्रतिवादीहरूले धारिलो हतियार (चक्कु) प्रहार गरी सख्त घाइते बनाई औषधी  उपचारको क्रममा मृत्यु भएकाले प्रतिवादीहरूलाई कानूनबमोजिम सजाय गरिपाउँ भन्ने श्रवणकुमार श्रेष्ठको जाहेरी दरखास्त परेकामा पछि बुझ्दै जाँदा पदम राना नभई पदम शाहीले मेरो भाइलाई फोन गरेर बोलाई धारिलो हतियार छुरा प्रहार गरेका रहेछन् । उक्त घटनामा पदम रानाको कुनै संलग्नता छैन भन्ने जाहेरवाला श्रवणकुमार श्रेष्ठले अनुसन्धान अधिकृतसमक्ष मौकामा कागजसमेतबाट पदम रानालाई प्रतिवादी नबनाई पदम शाही, जगत प्याकुरेल, घनश्याम पुरी, विजय नेपाली र दिलिप बस्याललाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सजाय र प्रतिवादी मध्येका दिपक ढकाल र दिनेश वलीले मुलुकी ऐन ज्यानसम्बन्धी महलको २५ नं. कसुर गरेको हुँदा सोही  नं. बमोजिम सजाय गरिपाउँ भन्ने अभियोग दाबी रहेको प्रस्तुत मुद्दामा प्रतिवादीहरू दिलिप बस्याल, दिनेश वली र दिपक ढकालले अभियोग मागदाबीबाट सफाइ पाउने र प्रतिवादीहरू पदमबहादुर शाही, घनश्याम पुरीलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम जन्मकैद सजाय र जगत प्याकुरेललाई ऐ. १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर भई सुरू सुर्खेत जिल्ला अदालतबाट भएको फैसला पुनरावेदन अदालत,बाट सदर भएकामा सोउपर प्रतिवादी मध्येका दिपक ढकाल, दिलिप बस्याल र दिनेश वलीले अभियोग दाबीबाट सफाइ पाउने ठहरेउपर वादी नेपाल सरकारको र प्रतिवादीहरू जगत प्याकुरेल, घनश्याम पुरी र पदम शाहीसमेतको पुनरावेदन परेको देखिन आयो ।

प्रतिवादीमध्येका विजय नेपालीको मिति २०६४।११।६ मा मृत्यु भएको तथ्य मिसिलबाट देखिँदा निजको हकमा केही बोलिरहन परेन ।

२. पहिलो प्रश्नको रूपमा रहेको विकास श्रेष्ठको मृत्यु कर्तव्यबाट भएको हो वा होइन  भन्नेसम्बन्धमा विचार गर्दा मिसिल संलग्न लास जाँच प्रकृति मुचुल्कामा “दायाँ गाला चिउँडोमा चोट लागी रगत जमेको, नीलडाम जस्तो भएको, दायाँ गाला, चिउँडोमा नीलडाम जस्तो भई रगत जमेको, छातीको बायाँ भागमा ३/३ इन्च लम्बाइको खोपेको जस्तो घाउ र पेटको बायाँ भागमा ३ इन्च लम्बाइ २१/२ चौडाइको घाउ लागी रगत र बोसो जस्तो पदार्थ निस्केको भन्नेसमेत व्यहोरा उल्लेख भएको देखिन्छ । Autopsy Report मा Abrasion on mandibles size २ x १ cms भन्ने र Cause of death is sock and hemorrhage as a result of stab injury to left lung, left atrium of the heart and spleen भन्नेसमेत उल्लेख भएको देखिन्छ । लास जाँच प्रकृति मुचुल्का र लास जाँच प्रतिवेदनसमेतबाट कुटपिटको कारण शरीरको विभिन्न भागमा चोट लागी नीलडाम भएको र चक्कुले छातीसमेतमा हान्दा बायाँ फोक्सोको भाग, मुटुमा समेत चोट लाग्न गई रक्तस्रावसमेत हुँदा विकास श्रेष्ठको मृत्यु भएको देखिन आयो । तसर्थ मिसिल संलग्न तथ्य एवम्‌ प्रमाणको आधारमा विकास श्रेष्ठको मृत्यु स्वाभाविकरूपमा कालगतिले भएको नभई कर्तव्यबाट भएको तथ्य पुष्टि हुन आयो ।

३. उपर्युक्तबमोजिम विकास श्रेष्ठको मृत्यु कर्तव्यबाट भएको पुष्टि हुन आएकाले निज विकास श्रेष्ठको मृत्यु हुनुमा प्रतिवादीहरूको संलग्नता रहेको छ वा छैन र प्रतिवादीहरूलाई दाबीबमोजिमको सजाय हुनुपर्ने हो वा होइन भन्नेसम्बन्धमा विचार गर्ने पर्ने देखिन आयो । विकाश श्रेष्ठको मृत्यु हुनुमा प्रतिवादीहरूको के कस्तो भूमिका रहेको भन्नेसम्बन्धमा निम्नबमोजिम उल्लेख गरिएको छ ।

४. प्रतिवादीहरू दिनेश वली र दिपक ढकालको हकमा विचार गर्दा प्रतिवादीहरू मध्येका दिनेश वली र दिपक ढकालले अदालतमा बयान गर्दा प्रतिवादीहरू जगत प्याकुरेल घनश्याम पुरी, विजय नेपालीसमेतलाई आफ्नो घरमा लुकाएको पनि होइन र भगाउनमा मद्दत गरेको पनि होइन भनी बयान गरेको देखिन्छ । वारदात स्थलमा तत्काल पुग्ने भनिएका जाहेरवालासमेतका मानिसहरूले प्रतिवादी दिनेश वली र दिपक ढकालले विकास श्रेष्ठलाई कर्तव्य गरी मारेको तत्काल थाहा पाएर पनि जाहेरी नगरी कसुरदारलाई दबाउने भगाउने कार्य गरेको हुन् भनी उल्लेख गर्न सकेको देखिँदैन । त्यसैगरी प्रतिवादीहरू दिपक ढकाल र दिनेश वली घटनास्थलमा उपस्थित नरहेकाले वारदातको विषयमा निजहरूलाई जानकारी थियो भनी अनुमान गर्न मिलेन । वारदात हुँदा जाहेरवालालगायतका व्यक्तिहरू तत्काल घटनास्थलमा पुगिसकेकाले यी प्रतिवादीहरूले वारदातको जानकारी तत्काल नदिएको भन्नसमेत मिल्ने देखिँदैन । वारदातमा संलग्न रहेको भनिएका सम्पूर्ण प्रतिवादीहरू पक्राउ परिसकेको हुँदा निज प्रतिवादीहरूलाई प्रतिवादी दिपक ढकाल र दिनेशले भगाएको भन्न मिल्ने देखिँदैन ।

५. फौजदारी मुद्दामा शङ्काको भरमा अभियुक्तहरूलाई सजाय गर्न फौजदारी न्यायको सिद्धान्तले मिल्ने देखिँदैन । उल्लिखित तथ्य एवम्‌ विवेचनासमेतको आधारमा प्रतिवादीहरू दिनेश वली र दिपक ढकालले आरोपित कसुर गरेको तथ्य वस्तुनिष्ठ प्रमाणबाट पुष्टि हुन सकेको देखिएन । अभियोग दाबीबमोजिम सजाय गर्न कसुर वस्तुनिष्ठ आधारबाट प्रमाणित हुनु पर्छ भन्नेसम्बन्धमा यस अदालतबाट सिद्धान्तहरूसमेत प्रतिवेदन भएका छन् । विक्रम महर्जन विरूद्ध नेपाल सरकार भएको कर्तव्य ज्यान (नेकाप २०६७, अङ्क ९, पृ. १५३१, ८४६१) मुद्दामा तथ्ययुक्त ठोस सबुद प्रमाण वादी पक्षले पेस दाखेल गर्न सकेको नदेखिएको अवस्थामा केवल जाहेरवालाको जाहेरीलाई मात्र आधार मानी ज्यान जस्तो गम्भीर प्रकृतिको फौजदारी अभियोगमा विना आधार प्रमाण यी पुनरावेदकको मृतकलाई मार्नमा संलग्नता थियो भन्न नसकिने भन्ने एवम्‌ नेपाल सरकार विरूद्ध यज्ञबहादुर थापासमेत भएको कर्तव्य ज्यान (नेकाप २०६९, अङ्क जेठ, पृ. १७१ नि.न.८७६४) मुद्दामा यस अदालतको पूर्ण इजलासबाट अदालत स्वयम्‌ले कुनै प्रमाणको सिर्जना नगर्ने र सङ्कलित प्रमाणबाट कसुर पुष्टि हुने वा नहुने कुरा हेरिने, फौजदारी कसुर शङ्कारहित तवरबाट पुष्टि हुन नसकेकामा शङ्काको सुविधा अभियुक्तले पाउने भन्ने सिद्धान्त प्रतिपादन भएको छ ।

६. उल्लिखित तथ्य, विवेचना एवम्‌ प्रतिपादित सिद्धान्तसमेतको आधारमा निज प्रतिवादीहरू दिनेश वली र दिपक ढकालउपरको अभियोग वस्तुनिष्ठ प्रमाणबाट पुष्टि भएको नदेखिँदा निज प्रतिवादीहरूले अभियोग दाबीबाट सफाइ पाउने देखिन आयो । 

७. पदमबहादुर शाही, घनश्याम पुरी र जगत प्याकुरेलको हकमा विचार गर्दा निज प्रतिवादीहरू जगत प्याकुरेल, घनश्याम पुरी, र पदमबहादुर शाहीले अदालतमा बयान गर्दा मृतकलाई कुटपिट गरी चक्कुले हानी मारेको होइन भनी लेखाए तापनि प्रतिवादी घनश्याम पुरीले अनुसन्धान अधिकारीसमक्ष बयान गर्दा विकास श्रेष्ठलाई पदमबहादुर शाहीले मोबाइलबाट घर बाहिर बोलाएपछि मैले पनि निजको टाउको, मुख, शरीरको विभिन्न भागमा हाने, पदमबहादुर शाहीले बक्सिङले हानेपछि विकास भुइँमा ढले त्यसपछि जगत प्याकुरेलले आफ्नो साथमा भएको चक्कुले छाती र बायाँ साइडसमेतमा हाने, हामी भागेर गयौं भनी र प्रतिवादी पदमबहादुर शाहीले आफ्नो मौकाको बयानमा मैले मोबाइलबाट विकास श्रेष्ठलाई घरबाहिर बोलाए, घनश्याम पुरीले विकास श्रेष्ठलाई हात मुक्काले अनुहार लगायत विभिन्न भागमा हाने, मैले पनि वक्सिङले अनुहारमा हानेपछि विकास श्रेष्ठ भुइँमा 

लडे । भुइँमा लडेपछि जगत प्याकुरेलले आफूसँग भएको चक्कुले विकास श्रेष्ठको पेट, छाती तथा शरीरको अन्य विभिन्न भागमा हाने भनी लेखाएको देखिन्छ ।

८. यसैगरी प्रतिवादी जगत प्याकुरेलले अदालतमा बयान गर्दा आरोपित कसुर गरेकामा इन्कार रहँदै विकास श्रेष्ठलाई मैले चक्कु प्रहार गरेको होइन भने तापनि अनुसन्धान अधिकारीसमक्ष बयान गर्दा जमिनमा लडेको विकास श्रेष्ठलाई चक्कुले टाउको, छाती, कोखासमेतमा प्रहार गरी भागेको हुँ । बरामद चक्कु मेरो हो जुन छुरीले विकास श्रेष्ठलाई प्रहार गरेको थिएँ भनी लेखाएको देखिन्छ । प्रतिवादीहरूले अनुसन्धान अधिकारीसमक्ष भएको बयान आफ्नो इच्छा विरूद्धको बयान हो भनी पुष्टि गर्न सकेको छैनन् भने वारदातमा प्रयोग भएको चक्कु घटनास्थलबाट नै बरामद भएको र सो चक्कुलाई प्रतिवादी जगत प्याकुरेलले चिनी सनाखतसमेत गरेको र सो चक्कुमा लागेको रगत Central Police Forensic Science Laboratory  मा परीक्षण हुँदा सो चक्कुमा लागेको रगत मानवको हो भन्ने परीक्षण प्रतिवेदन रहेको देखिन्छ ।

९. प्रतिवादीहरू घनश्याम पुरी र पदमबहादुर शाहीले अनुसन्धान अधिकारीसमक्ष बयान गर्दा आफूहरूले विकास श्रेष्ठको मुख, टाउकोलगायत शरीरको विभिन्न भागमा लात मुक्काले हानेको हौं भनेकामा “लास जाँच मुचुल्कामा” मृतकको चिउँडोसमेतका नीलडाम रहेको कानबाट रगत बगेको, चिउँडोमा रगत लागि जमेको भन्नेसमेत व्यहोरा उल्लेख भएको र Autopsy report  मा  Abrasion on mandible भन्नेसमेत उल्लेख भएकाले निज प्रतिवादीहरूको बयान लासजाँच मुचुल्का र “Autopsy report” बाटसमेत पुष्टि भएको देखिन्छ । साथै प्रतिवादी जगत प्याकुरेलले विकास श्रेष्ठलाई चक्कुले हानेको हुँ भनी अनुसन्धानमा बयान गरेबमोजिम मृतक विकास श्रेष्ठको लास जाँच मुचुल्काबाट देखिन्छ भने Autopsy report मा “Cause of death is shock and hemorrhage as a result of stab injury to left lung let atrium of the heart and spleen” भन्ने उल्लेख गरेकाले निजले अनुसन्धान अधिकारीसमक्ष गरेको बयानलाई पुष्टि भएको देखिन आयो । 

१०. त्यसैगरी घटनास्थलमा तत्काल पुग्ने भनिए मध्येका प्रहरीमा कागज गर्ने दिलिपकुमार गुभाजूले अदालतमा बकपत्र गर्दा स.ज. ६ मा तत्काल घटनास्थलमा आउँदा विकास श्रेष्ठको दाजु श्रवणकुमार श्रेष्ठको काखमा पल्टिरहेको अवस्थामा विकास श्रेष्ठको बाबु टेकबहादुर श्रेष्ठले तिमीलाई कसले हानेको हो भन्दा घायल अवस्थामा प्रतिवादी जगत प्याकुरेल, घनश्याम पुरी, विजय नेपाली र पदमबहादुर शाहीसमेतले हानी भागेको हुन भन्दाभन्दै मृतक विकास श्रेष्ठ सिरियस अवस्थामा देखिएकाले उनलाई देउती नर्सिङ होममा लगिएको भनी उल्लेख गरिदिएको र वारदात स्थलमा तत्काल पुग्ने भनिएका जाहेरवाला श्रवणकुमार श्रेष्ठ तथा अनुसन्धान कागज गर्ने टेकबहादुर श्रेष्ठले अदालतमा बकपत्र गर्दा तँलाई के भएको हो बाबु भनी सोध्दा छोरा  विकासले पदम शाहीले मोबाइलमा फोन गरी मलाई बाहिर बोलायो विजय नेपाली, जगत प्याकुरेल, पदम शाही र घनश्याम पुरीसमेतले मलाई धारिलो हतियारले हाने भनेको थियो भनी उल्लेख गरिदिएको देखिन्छ । यसरी मृतक बेहोस नहुँदै आफूलाई हान्ने व्यक्तिहरूको नाम उल्लेख गरेकामा जाहेरवाला तथा प्रहरीमा कागज गर्ने दिपक गुभाजुसमेतले सुनेको भन्ने मिसिलबाट देखिन आयो । 

११. प्रतिवादीले आरोपित कसुरबाट सफाइ पाउन अदालतमा बयान गर्दा आरोपित कसुरमा इन्कार रही बयान गर्नु मात्र पर्याप्त हुँदैन, सो इन्कारी बयान अन्य ठोस प्रमाणबाट पुष्टि हुनुपर्दछ । प्रस्तुत सन्दर्भमा यस अदालतबाट विभिन्न सिद्धान्तहरू प्रतिपादन भएका छन् । गुरूमुख शोभराज विरूद्ध नेपाल सरकार  भएको कर्तव्य ज्यान (नेकाप २०६७, अङ्क ५, पृ.८१४, नि.न. ८३७८) मुद्दामा कुनै प्रमाणविनाको इन्कारी वयान अर्थहीन र प्रयोजनहीन हुन्छ भन्ने र  नेपाल सरकार विरूद्ध राजकुमार श्रेष्ठ भएको कर्तव्य  ज्यान (नेकाप २०६७, अङ्क ५, पृ. १५५३, नि.न. ८६८७,) मुद्दामा इन्कारीले मात्र कुनै अभियुक्तले आरोपित कसुरबाट फुर्सद पाउन र सजायबाट उन्मुक्ति पाउन नसक्ने हुँदा निर्दोषिताको लागि ठोस प्रमाणको आवश्यकता पर्ने भनी सिद्धान्त प्रतिपादन भएको छ ।

१२. तसर्थ उल्लिखित तथ्य, विवेचना एवम्‌ प्रतिपादित सिद्धान्तसमेतको आधारमा प्रतिवादीहरू जगत प्याकुरेल, घनश्याम पुरी र पदमबहादुर शाहीले अभियोग दाबीबमोजिम विकास श्रेष्ठलाई कुटपिट गरी चक्कुले प्रहार गरी कर्तव्य गरी मारेको तथ्य पुष्टि हुन आयो ।

१३. निज प्रतिवादीहरू जगत प्याकुरेल, घनश्याम पुरी र पदमबहादुर शाहीले  आरोपित कसुर गरेको पुष्टि हुन आएकाले निजहरूलाई के कस्तो सजाय हुने भन्नेसम्बन्धमा विचार गर्दा मुलुकी ऐनको ज्यानसम्बन्धी महलको १ नं. मा कानुनबमोजिम बाहेक कसैले कुनै मानिसको ज्यान मार्न, मार्न लगाउन वा मार्नको उद्योग गर्न हुँदैन भन्ने व्यवस्था रहेको 

छ । मुलुकी ऐनको ज्यानसम्बन्धी महलको १३ नं. को देहाय (१) मा धार भएको वा नभएको जोखिमी हतियार गैह्रले हानी रोपी घोची ज्यान मारेमा …सर्वस्वसहित जन्म कैद गर्नुपर्छ भन्ने व्यवस्था छ । देहाय (३) मा लाठा ढुङ्गा र साधारण सानातिना हातहतियारले कुटी हानी रोपी घोची वा अरू ज्यान मर्ने गैह्र कुरा गरी ज्यान मरेमा एकै जनाले मात्र सो काम गरी ज्यान मारेमा सोही एक जना र धेरै जनाको हूल भै मारेमा यसैले मारेको वा यसको चोटले मरेको भन्ने प्रमाणबाट देखिन ठहर्न आएमा सोही मानिस मुख्य ज्यानमारा ठहर्छ । त्यस्तालाई सर्वस्वसहित जन्म कैद गर्नुपर्छ । सोबाहेक अरूलाई र यसैले मारेको वा यसैका चोटले मरेको भन्ने कुरा सो हात हतियार छाड्ने कसैउपर कुनै प्रमाणबाट देखिने ठहर्न नआएमा सबैलाई जन्म कैद गर्नुपर्छ भन्ने व्यवस्था छ ।

१४. उल्लिखित तथ्य, विवेचना, प्रतिपादित सिद्धान्त एवम्‌ कानूनी व्यवस्थासमेतको आधारमा प्रतिवादी जगत प्याकुरेलले विकाश श्रेष्ठलाई धारिलो हतियार चक्कुले शरीरको विभिन्न ठाउँमा प्रहार गरेको कारणले विकास श्रेष्ठको मृत्यु भएको पुष्टि हुन आएकाले निजलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ नं. को देहाय (१) अनुसार सर्वस्वसहित जन्म कैदको सजाय हुने देखिन आयो । त्यसैगरी प्रतिवादीहरू पदमबहादुर शाही र घनश्याम पुरीले लात्ती, मुक्कासमेतले हानी विकास श्रेष्ठलाई कर्तव्य गरी मार्ने कार्यमा संलग्न रहेको देखिँदा मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ नं. को देहाय (३) अनुसार जन्मकैदको सजाय हुने देखिन आयो ।

१५. तर प्रतिवादीहरू पदमबहादुर शाही र घनश्याम पुरीले धारिलो जोखिमी हतियारले मृतक विकास श्रेष्ठलाई प्रहार नगरी लात्ती, मुक्काले मात्रै कुटपिट गरी विकास श्रेष्ठलाई कर्तव्य गरी मार्ने कार्यमा संलग्न रहेको, निजहरूको उमेरसमेत धेरै नभएको, विकास श्रेष्ठको ज्यानै लिनुपर्ने सम्मको रिसइवी नरहेको, निजहरूको साथी बसन्त रोकायलाई मृतक विकास श्रेष्ठले आन्द्रा निस्कने गरी छुरा प्रहार गरेको कारणले तत्काल रिस उठी कुटपिट गर्दा वारदात घट्न पुगेको अवस्थासमेतलाई विचार गर्दा निजहरूलाई प्रतिवादीहरू पदमबहादुर शाही र घनश्याम पुरीलाई जन्मकैदको सजाय गर्दा चर्को पर्ने देखिँदा मुलुकी ऐन, अदालती बन्दोबस्तको १८८ नं. अनुसार दश (१०) वर्ष कैद सजाय गर्नु उपयुक्त हुने देखिन आयो । अत: प्रतिवादीहरू पदमबहादुर शाही र घनश्याम पुरीलाई दश (१०) वर्ष कैद सजाय हुने ठहर्छ ।

१६. दिलिप बस्यालको हकमा विचार गर्दा प्रतिवादी दिलिप बस्यालले अधिकारप्राप्त अधिकारीसमक्ष मौकामा गरेको बयानको स.ज.९ मा देउती नर्सिंग होममा विजय नेपालीले विकाश श्रेष्ठलाई कुटपिट गर्न जाऊँ भन्ने कुरा गरेपछि वी.न.पा.वडा नं. ६ बस्ने सिताराम नेपालीको घरमा म र घनश्याम गई भे.१प. ७९५५ नं. को यामाहा मोटर साइकल मागेर पुन देउती नर्सिंग होममा गयौ । त्यसपछि घनश्याम पुरी र विजय नेपालीलाई मोटरसाइकलको पछाडि राखी मैले सो मोटर साइकल चलाई विकाश श्रेष्ठको घर नजिक सडकमा छोडे । सो समयमा जगत प्याकुरेल र पदम शाहीसमेत हिँडेर विकाश श्रेष्ठको घर नजिक आए । हामी ५ जनाको भेट विकास श्रेष्ठको घर नजिक भई अरू ४ जनालाई उक्त स्थानमा छाडी म मोटर साइकलमा चढी पुन: नर्सिङ्ग होममा गए भन्नेसमेत उल्लेख गरेको देखिन्छ । निज प्रतिवादी दिलिप बस्यालले विकाश श्रेष्ठको अवस्थाको बारेमा समय समयमा जानकारी गराउँदै प्रतिवादीहरूलाई भगाउने कार्यमा संलग्न रहेको भन्ने घट्ना विवरणका व्यक्तिहरू टेकबहादुर श्रेष्ठ, पवन श्रेष्ठ, मुकुन्दनाथ योगी, जगतबहादुर, प्याकुरेल गणेशप्रसाद थानीसमेत मौकामा कागज गर्दा र अदालतमा बयान गर्दासमेत उल्लेख गरेको तथ्य मिसिलबाट देखिन्छ । त्यसैगरी सहअभियुक्तहरू समेतले निज प्रतिवादी दिलिप बस्यालले विकाश श्रेष्ठको अवस्था सम्बन्धमा बेलाबेलामा सूचना दिई प्रतिवादीहरूलाई भाग्न प्रोत्साहन एवम्‌ सहयोग गरेको भनी मौकामा र अदालतमा समेत बयान गरेको 

देखिन्छ । उल्लिखित तथ्य एवम्‌ मिसिल संलग्न अन्य प्रमाण कागजसमेतबाट प्रतिवादी दिलिप बस्यालको मृतक विकास श्रेष्ठलाई कर्तव्य गरी मार्ने कार्यमा संलग्नत रहेको पुष्टि हुन आयो ।

१७. प्रस्तुत सन्दर्भमा मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १७ नं. को व्यवस्था सान्दर्भिक रहेको देखिन्छ । मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १७ नं. मा ज्यान मार्नालाई मतलबमा भने पसेको तर मुख्य भै बचन पनि नदिने, हात हतियार पनि नछोड्ने जीउमा पनि नछुने देहायका अवस्थाका अरू मतलबीहरूलाई ज्यान मरेको रहेछ भने देहायबमोजिम र ज्यान मरेको रहेनछ भने देहायमा लेखिएको सजायको आधा सजाय गर्नुपर्छ । देहाय (१) मा ज्यान मार्नालाई भनी हतियार विष मागेमा जानीजानी हातहतियार गोली बारूद विष दिने वा ज्यान मार्ना निमित्त वारदात गरिरहेका ठाउँमा हतियार साथमा लिई महजुद रहनेलाई दश वर्ष कैद गर्नुपर्छ । देहाय (२) मा माथि १ दफामा लेखिए बाहेक घेरा दिने, बाटो, गौडा छेक्ने वा भाग्न उम्कन नपाउनेसमेत गैह्र काम गरी मार्ने संयोग पारिदिनेलाई पाँच वर्ष कैद गर्नुपर्छ । देहाय (३) मा अरू किसिमसँग मत सल्लाहमा पसेकामा मार्ने ठाउँमा गई अरू कुरा केही नगरी हेरी रहनेलाई र लेखिएदेखि बाहेक अरू किसिमका मतलबीलाई छ महिनादेखि तीन वर्षसम्म कैद गर्नुपर्छ भन्ने व्यवस्था रहेको छ । 

१८. उल्लिखित तथ्य, विवेचना एवम्‌ कानूनी व्यवस्थासमेतको आधारमा निज प्रतिवादी दिलिप बस्यालले मृतक विकाश श्रेष्ठलाई कुटपिट गर्नेसमेत योजनामा सहमत भई सिताराम नेपालीको घरमा गई मोटरसाइकल मागेर घनश्याम पुरी र विजय नेपालीलाई मोटरसाइकलमा राखी मृतकको घर नजिक पुर्‌याउन र घाइते भएका मृतक विकाश श्रेष्ठको स्वास्थ्य अवस्थाको सम्बन्धमा नर्सिङ्ग होममा गई बुझी सोको जानकारी प्रतिवादीहरूलाई गराई भाग्न प्रोत्साहन एवम्‌ सहयोग गरेको तथ्य पुष्टि हुन आएकाले कर्तव्य गरी विकाश श्रेष्ठलाई  मार्ने मतलबमा पसेको तथ्य पुष्टि हुन आयो । तसर्थ निजलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १७ नं. देहाय (३) बमोजिम दुई (२) वर्ष कैद सजाय हुने देखिन आयो ।

१९. अब पुनरावेदन अदालतको फैसला मिलेको छ वा छैन भन्ने सम्बन्धमा विचार गर्दा उल्लिखित तथ्य विवेचना प्रतिपादित सिद्धान्त एवम्‌ कानूनी व्यवस्थासमेतको आधारमा प्रतिवादी जगत प्याकुरेललाई सर्वस्वसहित जन्म कैद सजाय, प्रतिवादीहरू पदमबहादुर शाही र घनश्याम पुरीलाई जन्म कैद सजाय र प्रतिवादीहरू दिनेश वली र दिपक ढकालले अभियोग दाबीबाट सफाइ पाउने हदसम्म पुनरावेदन अदालत, सुर्खेतको मिति २०६८।२।११ को फैसला सो हदसम्म मिलेको देखिन आयो । प्रतिवादी  दिलिप बस्याललाई ज्यानसम्बन्धी महलको १७ नं. को देहाय (३) बमोजिम दुई (२) वर्ष कैद सजाय हुनुपर्नेमा निजलाई अभियोग दाबीबाट सफाइ दिएको हदसम्म पुनरावेदन अदालत, सुर्खेतको मिति २०६८।२।११ को फैसला मिलेको देखिन आएन ।

२०. अत: पुनरावेदन अदालत, सुर्खेतको मिति २०६८।२।११ को फैसला सो हदसम्म मिलेको नदेखिँदा केही उल्टी भई प्रतिवादी जगत प्याकुरेललाई सर्वस्वसहित जन्म कैद सजाय हुने, प्रतिवादीहरू पदमबहादुर शाही र घनश्याम पुरीलाई मुलुकी ऐन अ. बं. १८८ नं. बमोजिम दश (१०) वर्ष कैद सजाय हुने, प्रतिवादी दिलिप बस्याललाई ज्यानसम्बन्धी महलको १७ नं. को देहाय (३) बमोजिम दुई (२) वर्ष कैद हुने र प्रतिवादीहरू दिनेश वली र दिपक ढकालले अभियोग दाबीबाट सफाइ पाउने ठहर्छ । वादी प्रतिवादीको पुनरावेदन जिकिर सोहदसम्म पुग्न सक्दैन । अरूमा तपसिलबमोजिम गर्नू ।

तपसिल

माथि इन्साफ खण्डमा उल्लेख भएबमोजिम पुनरावेदन अदालत, सुर्खेतको मिति २०६८।२।११ को फैसला केही उल्टी भई प्रतिवादी जगत प्याकुरेललाई सर्वस्वसहित जन्म कैद सजाय हुने ठहर भएकाले निज प्रतिवादी जगत प्याकुरेललाई सर्वस्वसहित जन्म कैद सजाय हुने गरी लगत राखी निजबाट असुल उपर गर्नु गराउनु भनी सुरू सुर्खेत जिल्ला अदालतमा लेखी पठाउनू ----------------------------------------------१ प्रतिवादीहरू पदमबहादुर शाहीलाई दश (१०) वर्ष कैद सजाय हुने ठहर भएकाले निज प्रतिवादी पदमबहादुर शाहीलाई दश (१०) वर्ष कैद सजाय हुने गरी लगत राखी असुल उपर गर्नु गराउनु भनी सुरू सुर्खेत जिल्ला अदालतमा लेखी पठाउनू ----------------------------२

प्रतिवादीहरू घनश्याम पुरीलाई दश (१०) वर्ष कैद सजाय हुने ठहर भएकाले निज प्रतिवादी घनश्याम पुरीलाई दश (१०) वर्ष कैद सजाय हुने गरी लगत राखी असुल उपर गर्नु गराउनु भनी सुरू सुर्खेत जिल्ला अदालतमा लेखी पठाउनू ----------------------------३

प्रतिवादी दिलिप बस्याललाई ज्यानसम्बन्धी महलको १७ नं. को देहाय (३) बमोजिम दुई (२) वर्ष कैद सजाय हुने ठहर भएकाले निज प्रतिवादी दिलिप वस्याललाई दुई (२) वर्ष कैद सजाय हुने गरी लगत राखी निजबाट असुल उपर गर्नु गराउनु भनी सुरू सुर्खेत जिल्ला अदालतमा लेखी पठाउनू ----------------------------४

प्रस्तुत फैसलाको जानकारी पुनरावेदकलाई दिई दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाइ दिनू -------------------------------------------५

 

उक्त रायमा सहमत छु ।

न्या. गोविन्दकुमार उपाध्याय

 

इति संवत् २०७२ साल वैशाख २ गते रोज ४ शुभम् ।

इजलास अधिकृत : रमेश रिजाल

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु