शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९४४२ - उत्प्रेषण

भाग: ५७ साल: २०७२ महिना: कार्तिक अंक:

श्री सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री गोपाल पराजुली

माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र

आदेश मिति :- २०७१।१०।२२।२

०६९-WO-१३५०

 

विषय :– उत्प्रेषण ।

 

निवेदक : जिल्ला पर्सा जगरनाथपुर गा.वि.स. वडा नं. ३ बस्ने वीरेन्द्रप्रसाद चौहानसमेत

विरूद्ध

विपक्षी : जिल्ला पर्सा जगरनाथपुर  गा.वि.स. वडा नं. ३ बस्ने अजयकुमार चौहानसमेत

मुद्दा सकार गर्ने व्यक्ति मुद्दाको पक्ष नै हुने र पक्षले निर्वाह गर्ने दायित्व र परिणामप्रति निजको जिम्मेवारी रहन्छ । यस अवस्थामा मोहरपतीले फैसलाबमोजिम प्राप्त गर्ने सम्पत्ति र निजले ब्रह्मदेवलाई गरिदिएको शेषपछिको बकसपत्रबमोजिमको सम्पत्तिसमेतको लिखतमा मुद्दा सकार गर्ने व्यक्तिको हक पुगेको मान्नु पर्ने देखिन आउने ।

(प्रकरण नं. ३)

प्रकरणमा विवेचना गरिएका आधार एवम् कानूनी व्यवस्थाहरूबाट बकसपत्र दाता र प्राप्त गर्ने व्यक्तिसमेतको मृत्यु भै सकेको अवस्थामा निजहरूको दैयादारको हैसियतले जनकदुलारी देवीको हक स्थापित भै सकेको अवस्था हुँदा कानूनबमोजिम अंश छुट्‍याउने क्रममा अंश प्राप्त गर्ने व्यक्तिमध्येबाट आफ्नो हक पुगेको सम्पत्तिसम्म शेषपछिको बकसपत्र लेखि दिएको र तत्पश्चात् शेषपछिको बकसपत्र पाउनेको मृत्यु भै विपक्षी जनकदुलारीले हक प्राप्त गरी मुद्दा सकार गरी सकेको देखिँदा विवादित सम्पत्तिमा अंसियार घटेकाले घटेका अंसियारमध्येबाटै बन्डा गर्नुपर्ने भन्ने निवेदन दाबीसँग समेत सहमत नहुने ।

(प्रकरण नं. ५)

 

निवेदकको तर्फबाट :- विद्वान् वरिष्ठ अधिवक्ता हरिहर दाहाल र विद्वान् अधिवक्ता खम्बबहादुर खाती

विपक्षीको तर्फबाट :- विद्वान् वरिष्ठ अधिवक्ता किशोरकुमार अधिकारी

अवलम्बित नजिर :-

सम्बद्ध कानून :-

मुलुकी ऐन, अपुतालीको महलको २, अ.ब. ६२(३)

दण्ड सजायको ४६(३)

 

आदेश

न्या. गोपाल पराजुली :- नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७(२) बमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम्‌ ठहर यसप्रकार रहेको छ :- 

मुल पुरूष राधाकृष्ण महतोको दुई श्रीमतीमा जेठी तेतरीदेवी चाइन, कान्छी मोहरपती देवी चाइन भएको, मोहरपती देवी चाइनको छोरा ब्रह्मदेवप्रसाद चौहान, निजको श्रीमती जनक  दुलारीदेवी चाइन भै पाँच भाइ छोरा दुई छोरीमा क्रमशः: अजय कुमार, बृजेश कुमार, राकेश कुमार, रतनेश कुमार, शिवजी कुमार, छोरी रम्भा कुमारी र चन्द्र कुमारी भएकामा छोरी रम्भा कुमारीको विवाह भै सकेको, जेठी तेतरी देवी चाइनतर्फ दुई छोरामा जेठो नन्दलाल, कान्छो रामदेवप्रसाद चौहान भएको, जेठो नन्दलालको  श्रीमती गिर्जादेवी चाइन, निजहरूको चार छोरामा क्रमशः: वीरेन्द्र प्रसाद, हरेन्द्र प्रसाद, देवेन्द्र प्रसाद र भुपेन्द्र प्रसाद भएको, कान्छो रामदेवप्रसाद चौहानको श्रीमती सोनादेवी भै निजहरूको छोरा मिथिलेश प्रसाद चौहान भएको, राधाकृष्ण महतो मिति २०६९/०५/१७ मा, तेतरीदेवी चाइनको मिति २०६२/०४/१६ मा, ब्रह्मदेवप्रसाद चौहानको मिति २०६५/०९/२३ मा, मोहरपतीदेवी चाइनको मिति २०६९/०४/२१ मा स्वर्गे हुनुभएको, नन्दलाल र गिर्जादेवी चाइन अंश मुद्दा पर्नुभन्दा अघि नै आ-आफ्नो कालगतिले अघिपछि गरि स्वर्गे भै सक्नु भएको छ । 

विपक्षी अजय कुमार चौहान र राकेश कुमार चौहान वादी भै प्रतिवादीमा जनकदुलारी देवी, बृजेश कुमार, रतनेश कुमार, शिवजी कुमार, ब्रह्मदेव, मोहरपतीदेवी, देवेन्द्र, भुपेन्द्र, हरेन्द्र, वीरेन्द्र, तेतरीदेवी, सोनादेवी, रामदेवप्रसाद, राधाकृष्ण भै मिति २०५८/०५/१४ को दे.नं. २४०८ को अंश दर्ता मुद्दा चली ६ खण्डको १ खण्डमध्येबाट बहिनी चन्द्रा कुमारीको विवाह खर्च परसारी ७ खण्डको २ खण्ड हाम्रो अंश छुट्याई दर्ता गरिपाउँ भनी सम्मानित पर्सा जिल्ला अदालतमा मुद्दा चलेकामा मिति २०५९/०५/१७ मा राधाकृष्ण महतोको मृत्यु भै सकेकाले ५ खण्डको १ खण्डमध्येबाट चन्द्राकुमारीको विवाह खर्च परसारी ८ खण्डको २ खण्ड अंश वादीले पाउने गरि मिति २०६९/१०/१३ मा फैसला 

भएको । पर्सा जिल्ला अदालतको फैसलाउपर परेको पुनरावेदनमा सुरू जिल्ला अदालतको फैसला सदर गर्ने पुनरावेदन अदालत, हेटौंडाको मिति २०६३।३।६ को फैसला पछि विपक्षी अजयकुमार चौहान र राकेश कुमार चौहानले ०६५ सालको दे.पु.नं. CI-०७४४ को अंश दर्ता मुद्दामा दोहोर्‍याई हेरिपाउँ भनी सम्मानित सर्वोच्च अदालतमा निवेदन-पत्र परि निस्सा पाई पुनरावेदन-पत्र दर्ता भै मुद्दा चल्दा चल्दै २ अंसियार परलोक भै सकेकाले चार मूल अंसियार देखिन्छ, ४ भागको १ भागबाट ८ भागको १ भाग, १ भाग चन्द्रा कुमारीको विवाह भै सकेको छ भने विवाह खर्च पर सार्न नपर्ने गरि ७ भागको १ भाग, विवाह नभएको भए विवाह खर्च परसारी ८ भागको १, पुनरावेदन अदालत, हेटौंडाको फैसला केही उल्टी भई वादीहरूले पाउने ठहर्छ भनी सम्मानित सर्वोच्च अदालतबाट मिति २०६७/१२/०९ मा फैसला भएको थियो ।

विपक्षी  पर्सा जिल्ला अदालतसमक्ष बन्डा छुट्याई पाउँ भनी विपक्षी अजय कुमार चौहान र राकेश कुमार चौहानले छुट्टै, मोहरपतीले विपक्षी बृजेश कुमार चौहान, रतनेश प्रसाद चौहान, शिवजी कुमार चौहान र जनक दुलारीदेवी चाइनको अंश छुट्‍याई पाउँ भनी र रामदेवप्रसाद चौहानको छुट्टा छुट्टै निवेदन परेको थियो । विपक्षी तहसिल शाखा, पर्सा जिल्ला अदालतले हामी निवेदकहरू मध्ये रामदेवप्रसाद चौहानले अंश छुट्‍याई पाउँ भनी दिएको बिगो नं ४९४ को मुद्दा कार्वाहीयुक्त अवस्थामा राखी बाँकीको हकमा मिति २०६९/१०/१६ मा बन्डा मुचुल्का गर्दा मूल अंसियारमध्येकी मोहरपतीदेवी चाइन मिति २०६९/०४/२१ गते परलोक हुनुभएकामा बाँकी ३ जना मूल अंसियार रहेकामा ३ भागको १ भागमध्येबाट अंश छुट्याउनुपर्नेमा ४ भागको १ भागमध्येबाट छुट्‍याई दिई ४ भागको १ भाग समुच्चा स्व. मोहरपतीदेवीको अंश भाग विपक्षी जनकदुलारी देवी चाइनलाई छुट्‍याई दिई अडबड पारी बेहिसाबको बेरीतको काम गरेबाट हाम्रो चित्त नबुझी मुलुकी ऐन, दण्ड सजायको ६१ नं. अनुसार विपक्षी पर्सा जिल्ला अदालतसमक्ष उजुर गर्दा बन्डा मुचुल्का बदर गरिरहन परेन, कानूनबमोजिम गर्नु भनी मिति  २०६९/१२/०२ मा आदेश गरियो । 

विपक्षी पर्सा जिल्ला अदालतको आदेशउपर हाम्रो चित्त नबुझी पुनरावेदन अदालत, हेटौंडासमक्ष मुलुकी ऐन, अ.बं. १७ नं. बमोजिम निवेदन पर्दा कैफियत प्रतिवेदन माग भै विपक्षी पुनरावेदन अदालत, हेटौंडाले मिति २०७०/०३/०६ मा परिवर्तन गरिरहन परेन भनी आदेश गर्दा यी निवेदकहरू र विपक्षीहरूको बिचमा चलेको अंश मुद्दा तह तह फैसला हुँदै  गई श्री सर्वोच्च अदालतबाट मिति  २०६७/१२/०९ मा फैसला हुँदा स्व. मोहरपतीदेवीसमेत ४ अंसियार कायम भै फैसला भएको देखिएको छ, तदनुरूप बन्डा छुट्‍याउने समयपूर्व मिति २०६९/०४/२१ मा निजको मृत्यु भएको देखिए पनि निजले आफ्नो मृत्युपूर्व मिति २०५९/०४/१९ मा आफ्नो छोरा ब्रह्मदेवप्रसाद चौहानलाई शेषपछिको बकसपत्र लिखत गरिदिएको र निजको समेत २०६५/०९/२३ मा मृत्यु भै सोही शेषपछिको बकसपत्रको आधारमा निज मोहरपतीदेवीको अंश हक छुट्याउने क्रममा ब्रह्मदेवप्रसाद चौहानको श्रीमती जनकदुलारी देवीलाई सकार गराई निज मोहरपती देवीको अंश भाग र ब्रह्मदेवप्रसाद चौहानको फैसलाबमोजिमको अंश भाग मिति २०६९।१०।१६ मा छुट्याएको देखिएको छ, स्व. मोहरपतीदेवीको शेषपछिको बकसपत्रबमोजिम बन्डा छुट्‍याउँदा शेषपछिको बकसपत्र पाउने ब्रह्मदेवप्रसाद चौहानको श्रीमती जनकदुलारी देवी चाइनलाई निज मोहरपतीदेवीको अंश हक खाने भनी मुद्दा सकार गराएतर्फ यी निवेदकहरूले उजुर गर्न नसकी चित्त बुझाई बसेको देखिन्छ । अत: सर्वोच्च अदालतको अन्तिम फैसलाबमोजिम कायम ४ अंसियार मध्ये स्व. मोहरपती देवीको ४ भागको १ भाग अंश र ब्रह्मदेवप्रसाद चौहानको कायम ४ भागको १ भाग अंश निजको छोरा श्रीमतीले नरम गरम मिलाई मिति २०६९/१०/१६ मा बन्डा छुट्‍याएको देखिँदा उक्त बन्डा बदर नहुने भनी त्यहाँ अदालतबाट मिति २०६९/१२/२ मा भएको आदेश बेरीतको नदेखिँदा परिवर्तन गरिरहन परेन, प्रस्तुत निवेदन कानूनबमोजिम गर्नु होला 

भनियो । विपक्षीहरूले गरेको यस्तो गैह्रकानूनी कामबाट हाम्रो मौलिक हकमा आघात परेकाले नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२, धारा १०७(२), सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ४१(१) अनुसार अन्तरिम आदेशसहितको उत्प्रेषणलगायत जुनसुकै उपयुक्त आदेश जारी गरी हाम्रो मौलिक हकको संरक्षण गर्नुपर्ने ठोस कानूनी आधार प्रमाण देहायबमोजिम छ :-

क) मोहरपतीदेवीले ब्रह्मदेवप्रसादलाई र.नं. ४७९ मिति २०५९/०४/१९ मा गरिदिएको शेषपछिको बकसपत्रको जरियाबाट ब्रह्मदेवप्रसादको श्रीमती जनकदुलारी देवीले मुद्दा सकार गरेको होइन । मिति २०६९/०५/२१ मा मुद्दा सकार गर्दा केवल नागरिकता, मृत्यु दर्ता, गा.वि.स.को सिफारिसबाट व्यहोरा साँचो भए सकार गराई दिनु भनी सकार गरेको हो । जनकदुलारी देवीले मुद्दा सकार गिर्दा पेस गरेको शेषपछिको बकसपत्र मुलुकी ऐन अ.बं.७७ नं. ले निजको पक्षमा प्रमाण लिन 

मिल्दैन । शेषपछिको बकसपत्र दिने मोहरपतीदेवी लिने ब्रह्मदेवप्रसाद भएकामा ब्रह्मदेवप्रसाद चौहानको मृत्यु मिति २०६५/०९/२३ मा हुनसाथ उक्त समयमा मोहरपतीदेवी जीवित हुँदा शेषपछिको बकसपत्र स्वत: निष्क्रिय भै सून्यमा परिणत भएकाले पुन: मोहरपती देवीले जनकदुलारी देवीलाई शेषपछिको बकसपत्र लेखिदिनुभएको छैन । निज मोहनपतीदेवी आफैँले अंश छुट्‍याई लिन खोज्दा निज २०६९/०४/२१ मा परलोक हुनु भएपछि मुद्दा सकार गरेको कारणबाट निजको भाग छुट्याई जनकदूलारी देवीलाई दिन 

मिल्दैन । मुद्दा सकार हक प्राप्त गर्ने आधार होइन । मुलुकी ऐन, अंशबन्डाको १ नं.ले अंशबन्डा गर्दा जीयजीयैको अंश गर्नुपर्ने हुँदा जीवित अंसियारबाहेक मरेका अंसियारको अंश भाग छुट्याउन मिल्दैन । जिल्ला अदालत नियमावली, ०५२ को नियम ७८ख अनुसार अंसियार सङ्ख्या घटबढ भएकामा यकिन गर्नुपर्नेमा गरिएन । फलत: सो ७८ख नं. समेतको गम्भिर त्रुटि भएको छ । 

ख) हामीमध्येको रामदेवप्रसाद चौहानले यही मुद्दामा बन्डा छुट्‍याई पाउँ भनी बिगो नं. ४९४ मा दिएको मुद्दा भने मिति २०७०/०३/११ मा तारेख दिई कार्वाहीयुक्त अवस्थामा राखी आंशिकरूपमा मिति २०६९/१०/१६ मा बन्डा छुट्‍याउने गरि म्यादैभित्रमा बन्डा मुचुल्का गर्न मिल्दैन । मुलुकी ऐन दण्डसजायको ४६ नं को देहाय (३) ले एकै पटक बन्डा गरी अंशबन्डाको २८ नं अनुसार गोला हाली नरम गरम मिलाउनुपर्नेमा यसको व्याख्यात्मक त्रुटि हुने गरि भएको बन्डा मुचुल्का कानूनसम्मत छैन । मुद्दा सकारमा उजुरी नदिएको कारणले मात्र मरेको व्यक्तिको अंश भाग छुट्‍याउन मिल्दैन । 

 

तत्काल सम्मानित अदालतबाट विपक्षीहरूका नाउँमा अन्तरिम आदेश जारी गरी नरोकिदिने हो भने जग्गा दा.खा. भै हक हस्तान्तरण हुँदै जाँदा थप मुद्दा मामिलाको झन्झटीलो प्रक्रियामा हामीले जानुपर्ने अवस्था आइपर्ने, आर्थिक क्षति हुने, मानसिक तनाव बढ्ने, कानूनी बाटो अनुसरण गर्न सुविधा सन्तुलनको दृष्टिकोणले पनि विपक्षीहरूलाई भन्दा हामीलाई अपूरणीय क्षति हुने प्रवल सम्भावना हुँदा यो रिट निवेदनको किनारा नलागेसम्म उल्लिखित घरजग्गाहरू जे जहाँ जुन अवस्थामा पुगेको छ, त्यही यथास्थितिमा राख्नु, राख्न लगाउनु भनी विपक्षीहरूका नाउँमा सर्वोच्च अदालत नियमावली, ०४९ को नियम ४१(१) अनुसार अन्तरिम आदेशसमेत जारी गरि  पाउँ भन्ने रिट निवेदन ।

यसमा के कसो भएको हो, निवेदकको मागबमोजिमको आदेश किन जारी हुनु नपर्ने हो, आदेश जारी हुनु नपर्ने आधार र कारण भएमा यो आदेश प्राप्त भएको मितिले बाटाका म्यादबाहेक १५ दिनभित्र लिखित जवाफ पेस गर्नु भनी यो आदेश र प्रस्तुत रिट निवेदनको प्रतिलिपि साथै राखि विपक्षीहरूलाई सूचना पठाई लिखित जवाफ प्राप्त भएपछि अथवा अवधि व्यतीत भएपछि नियमानुसार पेस गर्नु . प्रस्तुत विषयमा निवेदकले माग गरेको अन्तरिम आदेशसम्बन्धमा विचार गर्दा यस निवेदनमा उठाइएका दाबी जिकिरहरू फैसला कार्यान्वयनसँग सम्बन्धित रहे भएको देखिनुको साथै प्रस्तुत रिट निवेदनमा अन्तिम आदेश हुँदा बोलिने विषय रहेको देखिनाले हाल यस विषयमा अन्तरिम आदेश दिइरहनुपर्ने देखिन आएन भन्ने यस अदालतको मिति २०७०।३।१७ को आदेश ।

सम्मानित सर्वोच्च अदालतको मिति २०६७/१२/९ को अन्तिम फैसलाबमोजिम बन्डा छुट्‍याई पाउँ भनी हामी अजय कुमार र राकेश कुमारले दिएको निवेदनउपर कारवाही हुँदा मोहरपतीदेवी जीवीतै रहनुभएको र निजको नाउँमा जारी भएको म्यादमा निज स्वयम् हाजिर भै निजसमेतले बन्डा छुट्ट्याउन निवेदन गर्नुभएको  छ । तत्पश्चात् निजको मृत्यु भएको हुँदा निज सासु मोहरपतीदेवीको अपुताली हक अपुतालीको महलको २ नं. बमोजिम सबैभन्दा निजको हकवालाको नाताले र स्वर्गीय मेरा पति ब्रह्मदेवप्रसादलाई मिति २०५९/०४/१९ मा पारित गरीदिनुभएको शेषपछिको बकसपत्र लिखतसमेतको आधार कारणसमेतबाट अ.बं. ६२(३) बमोजिम म जनकदुलारीले मुद्दा सकार गरी लिई बन्डा छुट्टाई लिए पाएको हुँदा उल्लिखित बन्डापत्रहरू कानूनअनुरूप नै खडा भएको छ । स्व. मोहरपतीदेवीको मुद्दा म जनकदुलारी देवीले सकार गरेको हो भन्ने कुरालाई विपक्षीहरूले स्विकारेका छन् । त्यसरी मुद्दा गरेउपर उजुर दाबी गरी बदर गराउन सकेको छैन । मुद्दा सकार गरेको कार्य यथावत् कायम रहेको हुँदा बन्डा मुचुल्का बदर हुन सक्ने अवस्था नै छैन । मुद्दा सकारबाट हक प्राप्त हुँदैन भन्ने कानूनी आधार उल्लेख गर्न सकेको पनि छैन, मुद्दा सकार गर्नुको तात्पर्य नै निज मृतकको हकमा कानूनतः प्रतिनिधित्व गरी हक कायम गराई लिनु नै हो, सो कुरा अ.बं. ६२ नं.ले प्रष्टै छ । शेषपछिको बकसपत्र लिखत पेस नगरेको भन्ने कथनको कुनै औचित्य नै छैन । अ.बं. ७७ नं. को कुनै त्रुटि भए गरेको पनि छैन । 

सम्मानित अदालतको अन्तिम फैसलाले ४ अंसियार कायम गरेको र कायमी अंसियारहरूमध्येकी एक अंशी मोहरपतीदेवी स्वयम्‌ले नै बन्डा छुट्‍याई लिन मन्जुर गरी निवेदनसमेत दिएको अवस्था हुँदा ३ भाग बन्डा लगाउनुपर्ने भन्ने विपक्षीहरूको कथनको कुनै कानूनी औचित्य छैन । जिल्ला अदालत नियमावली, २०५२ को नियम ७८ख आकर्षित हुन सक्ने अवस्था पनि छैन । बन्डा छुट्‍याई पाउँ भनी विपक्षी स्वयम्‌ले पनि दरखास्त/ निवेदन दिई तारेखमा बसी आएकामा स्वेच्छाले तारेख छोडी गुजारी थाम्ने म्याद पनि समाप्त भै सकेपछिमात्र बन्डा मुचुल्का भएको हो । सूचना पाएर पनि विपक्षीहरू डोरमा अनुपस्थित रहेको कुरा मुचुल्का व्यहोराबाटै प्रष्ट छ । यस स्थितिमा एकै पटक बन्डा छुट्टाउनुपर्ने भन्ने विपक्षीहरूको कथनको कुनै औचित्य नै छैन । दण्ड सजायको ४६(३)नं. ले पनि त्यसरी तारेख गुजारी बसेको अवस्थामा खण्डे बन्डा गर्न कुनै बाधा दिएको अवस्था पनि छैन भन्ने अजयकुमार चौहानसमेतको लिखित जवाफ ।

यसमा मिति २०६९/१०/१६ मा पर्सा जिल्ला अदालतबाट भएको बन्डा मुचुल्काबमोजिम दा.खा. गरिपाउँ भन्ने निवेदकहरूको यस कार्यालयमा निवेदन परेको नदेखिँदा विपक्षीहरूले यस कार्यालयलाई विपक्षी बनाई दिएको उत्प्रेषणको निवेदन गैरकानूनी देखिँदा यस कार्यालयउपर आदेश जारी हुनुपर्ने होइन, रिट निवेदन खारेजयोग्य भएकाले खारेज गरि पाउँ भन्ने मालपोत कार्यालय पर्साको लिखित जवाफ । 

वादी अजयकुमार चौहानसमेत प्रतिवादी रामदेवप्रसाद चौहानसमेत भएको दे.नं.२४१८ को अंश दर्ता मुद्दामा पर्सा जिल्ला अदालतको मिति २०६०/१०/१३ को, पुनरावेदन अदालत, हेटौंडाको मिति २०६३/०३/०६ गतेको फैसला उल्टी भई सर्वोच्च  अदालत काठमाडौंको मिति २०६७/१२/०९ को फैसला, मिति २००८/११/०१ गतेको शेषपछिको बकसपत्र र ट्‍याक्टरबाट समेत तायदाती फाँटवारीमा देखाएको सम्पूर्ण सम्पत्तिको हाल कायम रहेका अंसियारहरूको चार भाग लगाई सो चार भागमध्ये ब्रह्मदेवप्रसादको भागमा पर्न आउने एक भाग अविवाहित छोरी चन्द्रा कुमारीको विवाह खर्च परसारी ८ भाग लगाई ८ भागबाट पुनरावेदक वादीहरूले अंश छुट्‍याई पाउने ठहरी भएको फैसलाबमोजिम बन्डा छुट्‍याई पाउँ भनी वादी जना २ को दरखास्त, प्रतिवादी जनकदुलारीदेवी-१, व्रजेश कुमार चौहान-१, रत्नेश कुमार-१, शिवजी कुमार-१ समेतले ४ भागको १ भाग ब्रह्मदेवको अंश भागबाट हामीहरूले पाउने अंश फैसलाबमोजिम छुट्‍याई पाउँ भनी दिएको निवेदन, त्यसै गरी मोहरपतिदेवीले मेरो अंश ४ भागको १ भाग छुट्‍याई पाउँ भनी छुट्टाछुट्टै निवेदन दिएकामा यस अदालतबाट श्री सम्मानित सर्वोच्च अदालतको मिति २०६७/१२/०९ गतेको फैसलाबमोजिम ४ भागको १ भाग ब्रह्मदेवप्रसादको अंश भागबाट वादीहरूको र प्रतिवादी मध्येको ४ भागको १ भाग मोहरपती देवी, ४ भागको १ भाग ब्रह्मदेवप्रसादको अंश भागबाट विवाह खर्च पारसारी ८ भाग अंश सारी मिति २०६९/१०/१६ मा बन्डा मुचुल्का 

भएको । मिति २०६९/१०/१६ गते बन्डा मुचुल्का हुँदा प्रतिवादी मोहरपतीदेवीको मृत्युपश्चात् निजको अंश छुट्‍याइएको हुँदा बेरीतको बन्डा मुचुल्का बदर गरि पाउँ भनी परेको दं.स. ६१ नं. को उजुरी निवेदनमा यस अदालतको मिति २०६९/१२/०२ गतेको आदेशबाट मिति २०६९/०१/१६ गतेको बन्डा मुचुल्का सदर भई अ.बं. १७ नं. को कैफियत प्रतिवेदनसमेतबाट पुनरावेदन अदालत, हेटौंडाको मिति २०७०/०३/०६ गतेको आदेशबाट मिति २०६९/१२/०२ गते भएको पर्सा जिल्ला अदालतको आदेश सदर हुने गरि आदेश 

भएको । तह-तह अदालतबाट भएको आदेश कानूनसङ्गत भएको देखिँदा निवेदकको मागबमोजिम रिट जारी हुन पर्ने होइन । रिट निवेदन खारेज गरिपाउँ भन्ने पर्सा जिल्ला अदालतको लिखित जवाफ । 

यसमा निवेदकहरू र विपक्षीहरूको बीचमा चलेको अंश मुद्दा तह-तह फैसला हुँदै गई श्री सर्वोच्च अदालतबाट मिति २०६७/१२/०९ मा फैसला हुँदा स्व. मोहरपतीदेवीसमेत ४ अंसियार कायम भै फैसला भएको देखिएको छ । तदनुरूप बन्डा छुट्‍याइएको समय पूर्व मिति २०६९/०४/२१ मा निजको मृत्यु भएको देखिए पनि निजले आफ्नो मृत्युपूर्व मिति २०५९/०४/१९ मा आफ्नो छोरा ब्रह्मदेवप्रसाद चौहानलाई शेषपछिको बकसपत्र लिखत गरी दिएको र निजको समेत मिति २०६५/०९/२३ मा मृत्यु भै सोही शेषपछिको बकसपत्रको आधारमा निज मोहरपतिदेवीको अंश हक छुट्‍याउने क्रममा ब्रह्मदेवप्रसाद चौहानको श्रीमती जनकदुलारी देवीलाई सकार गराई निज मोहरपतीदेवीको अंश भाग र ब्रह्मदेवप्रसाद चौहानको फैसलाबमोजिमको अंश भाग मिति २०६९/१०/१६ मा छुट्‍याइएको देखिएको छ । स्व. मोहरपती देवीको शेषपछिको बकसपत्रबमोजिम बन्डा छुट्‍याउँदा शेषपछिको बकसपत्र पाउने ब्रह्मदेवप्रसाद चौहानको श्रीमती जनकदुलारीदेवी चाइनलाई निज मोहरपतीदेवीको अंश हक खाने भनी मुद्दा सकार गराएतर्फ यी निवेदकहरूले उजुरी गर्न नसकी चित्त बुझाई बसेको देखिन्छ । अत: सर्वोच्च अदालतको अन्तिम फैसलाबमोजिम कायम ४ अंसियारमध्ये स्व. मोहरपती देवीको ४ भागको १ भाग अंश र ब्रह्मदेवप्रसाद चौहानको कायम ४ भागको १ भाग अंश निजको छोरा श्रीमतीले नरम गरम मिलाई मिति २०६९/१०/१६ मा बन्डा छुट्‍याएको देखिँदा उक्त बन्डापत्र बदर नहुने भनी त्यहाँ अदालतबाट मिति २०६९/१२/०२ मा भएको आदेश बेरीतको नदेखिँदा परिवर्तन गरि रहन परेन । प्रस्तुत निवेदन कानूनबमोजिम गर्नु होला  भनी यस अदालतको संयुक्त इजलासबाट मिति २०७०/०३/०६ मा आदेश भएको । अत: यस अदालतबाट कानूनबमोजिम भएको उपर्युक्तबमोजिमको आदेशबाट विपक्षीको रिट निवेदनमा उल्लेख गरेबमोजिमको संवैधानिक एवम्‌ कानूनी हक हनन् नभएको हुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने पुनरावेदन अदालत, हेटौंडाको लिखित जवाफ । 

नियमबमोजिम पेसी सूचीमा चढी निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दामा निवेदकका तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल र विद्वान् अधिवक्ता श्री खम्बबहादुर खातीले शेषपछिको बकसपत्र प्राप्त गर्ने ब्रह्मदेवको दाता जीवित नै रहेको अवस्थामा मृत्यु भएपछि त्यस्तो बकसपत्रको अस्तित्व स्वत: समाप्त हुने र अंसियार मेहरपतीको समेत मृत्यु भइसकेपछि बन्डा मुचुल्का गर्दा अंसियार सङ्ख्या घटाई बन्डा गर्नुपर्नेमा मृत्यु भइसकेकी मोहरपतीलाई समेत हिस्सा लगाई गरिएको बन्डापत्र र निष्क्रिय भइसकेको बकसपत्रका आधारमा मोहरपतीको अंशहक जनकदुलारीदेवीलाई बन्डा गरी जिम्मा लगाउने कार्य विद्यमान कानून र सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तसमेतका विपरीत हुँदा सुरू पर्सा जिल्ला अदालतबाट भएको त्रुटिपूर्ण आदेशलाई सदर गर्ने पुनरावेदन अदालत, हेटौंडाको आदेशसमेत गैरकानूनी हुँदा त्यस्तो गैरकानूनी निर्णय बदर हुनुपर्दछ भन्नेसमेत र विपक्षीतर्फबाट विद्वान् वरिष्ठ अधिवक्ता श्री किशोर कुमार अधिकारीले सर्वोच्च अदालतबाट फैसला भई अन्तिम भएको अंश मुद्दाबाट हक स्थापित भएकी मोहरपती स्वयम्‌ले फैसलाबमोजिम आफ्नो हकको बन्डा छुट्‍याउनका लागि निवेदन गरेकी, निजको नजिकको हकवाला छोरा ब्रह्मदेवलाई शेषपछिको बकसपत्र प्रदान गरेको र बन्डा छुट्‍याउने कार्य सम्पन्न नहुँदै निजको मृत्यु भएको अवस्थामा निज मोहरपती को मुद्दा जनकदुलारीले सकार गरेको कार्य कानूनसम्मत छ । यी निवेदकहरू मृतक मेहरपतीको नजिकका हकवाला हुन् भन्ने पुस्तावलीबाट देखिन आउँदैन र जनकदुलारीले मुद्दा सकार गरेको कार्यका विरूद्ध निवेदकहरू तत्काल उपचारका लागि आउन नसकी सो कार्यलाई समर्थन नै गरेको अवस्थामा हाल आएर सोही सकारनामाबमोजिम भएको बन्डा मुचुल्काउपर दायर हुन आएको प्रस्तुत रिट निवेदन औचित्यहिन हुँदा माग दाबीबमोजिमको आदेश जारी हुन सक्ने अवस्था छैन भन्नेसमेत गर्नुभएको बहस जिकिर सुनियो ।

उल्लिखित पक्ष विपक्षका विद्वान् कानून व्यवसायीहरूले गर्नुभएको बहस सुनी मिसिल संलग्न रिट निवेदनसहितका कागजात अध्ययन गरी हेर्दा यसमा निवेदन माग दाबीबमोजिमको आदेश जारी हुने हो, होइन भन्नेसम्बन्धमा नै निर्णय दिनुपर्ने देखियो । 

२. निर्णयतर्फ विचार गर्दा अजय कुमार चौहान वादी राकेश कुमार चौहानसमेत प्रतिवादी भई पर्सा जिल्ला अदालतमा चलेको अंश मुद्दा सर्वोच्च अदालतबाट मिति २०६७/१२/०९ मा फैसला भई अन्तिम रहेकामा सो फैसलाका आधारमा पर्सा जिल्ला अदालतमा बन्डा छुट्‍याई पाउन पक्ष विपक्षले छुट्टाछुट्टै निवेदन पेस गरेकामा विपक्षीमध्येकी मोहरपती चाइनको बन्डा छुट्याउनुपूर्व मिति २०६९/०४/२१ मा निधन भई जम्मा चार अंसियारमध्ये तीन अंसियार कायम गरी बन्डा छुट्‍याउनुपर्नेमा मृतक मोहरपतीको अंश भाग जनकदुलारीलाई छुट्‍याई दिई बन्डा मुचुल्का भएको कार्य त्रुटिपूर्ण देखिएको छ, मोहरपतीले आफ्नो छोरा ब्रह्मदेवलाई मिति २०५९/०४/१९ मा शेषपछिको बकसपत्र गरिदिएकामा निज ब्रह्मदेवको मिति २०६५/०९/२३ मै मृत्यु भइसकेको हुँदा निज मोहरपती र ब्रह्मदेवको  मुद्दा ब्रह्मदेवकी श्रीमती जनकदुलारीलाई सकार गराई मिति २०६९/१०/१६ मा भएको बन्डा मुचुल्का बदरका लागि बेन्चसमक्ष अ.बं. ६१ नं. बमोजिम निवेदन गरेकामा सो बन्डा मुचुल्का बदर गर्नु नपर्ने भनी पर्सा जिल्ला अदालतबाट भएको आदेशउपर अ.बं. १७ नं. बमोजिम पुनरावेदन अदालत, हेटौंडामा निवेदन गर्दासमेत सो गैरकानूनी बन्डा मुचुल्का बदर नभएको हुँदा अन्य वैकल्पिक उपचारको अभावमा रिट क्षेत्रबाट उल्लिखित त्रुटिपूर्ण आदेश बदरका लागि यो निवेदन दायर गरेका छौं, मोहरपतीले र.नं. ४७९ मिति २०५९/०४/१९ मा गरि दिएको शेषपछिको बकसपत्रको जरियाबाट जनकदुलारीले मुद्दा सकार गरेको होइन, बकसपत्र प्राप्त गर्ने व्यक्तिको मृत्यु भइसकेपछि त्यस्तो बकसपत्रको अस्तित्व कायम रहँदैन । मोहरपतीले जनकदुलारीलाई शेषपछिको बकसपत्र गरिदिएकी होइनन् । निजले आफैँ अंश छुट्‍याई पाउन निवेदन गरेकामा मिति २०६९/०४/२१ मा निजको निधन भएको हो । मृत्यु भइसकेको अंसियारको अंश निजको मुद्दा सकार गर्ने व्यक्तिले पाउने होइन, अंसियार नै घट्ने अवस्था 

हुन्छ । मुद्दा सकार गरेको कारणले अंश हक प्राप्त हुन सक्दैन । अत: गैरकानूनीरूपमा भएको बन्डा मुचुल्का उत्प्रेषणको आदेशद्वारा बदर गरी तीन भागको एक भाग एकै पटक बन्डा गर्नु भनी विपक्षीहरूको नाउँमा उपयुक्त आदेश जारी गरि पाउँ भन्ने रिट निवेदन दायर हुन आएकामा सर्वोच्च अदालतबाट अन्तिम फैसला भएको अंश मुद्दामा फैसलाबमोजिम बन्डा छुट्‍याई पाउन अजय कुमार, राकेश कुमारसमेतले निवेदन गर्दा मोहरपती जीवित नै रहेकी र निजले समेत म्यादमा उपस्थित भई बन्डा छुट्‍याई पाउन निवेदन दायर गरेकी, सोपूर्व मिति २०५९/०४/१९ मा मोहरपतीले ब्रह्मदेवप्रसादलाई शेषपछिको बकसपत्र गरी दिएकी, मोहरपतीको मृत्युपश्चात् मुलुकी ऐन अपुतालीको महलको २ नं. को कानूनी व्यवस्थाबमोजिम निजको नजिकको हकवाला जनकदुलारी हुँदा निजैले अ.बं. ६२(३) नं. बमोजिम मुद्दा सकार गरी बन्डा छुट्टयाई लिएको कार्य कानूनसम्मत छ, सो मुद्दा सकार गरेको कार्यलाई यी निवेदकहरूले बदर गराउन नसकेको र सकारनामाबाट हक प्राप्त हुँदैन भन्ने पनि देखाउन सकेको पाइँदैन । अन्तिम भएको अंश मुद्दाबाट ४ अंसियार कायम भएको र सोही फैसलाबमोजिम नै आफ्नो अंशहक छुट्टयाइ पाउन मोहरपती स्वयम्‌ले निवेदन गरेको अवस्थामा ३ अंसियार कायम हुनुपर्दछ भन्ने निवेदन जिकिर आधारहिन हुँदा रिट निवेदन खारेज हुनुपर्दछ भन्ने वीरेन्द्रप्रसाद चौहानसमेतका विपक्षीहरूको संयुक्त लिखित जवाफ रहेको छ भने सर्वोच्च अदालतबाट भएको अन्तिम फैसलामा ४ अंसियार देखिएको, मोहरपती स्वयम्‌ले बन्डा छुट्टयाई पाउन निवेदन गरेकी र निजको मृत्युपश्चात् जनकदुलारी देवीले मुद्दा सकार गरेकी हुँदा मोहरपतीको अंशको हिस्सा बन्डा मुचुल्काबमोजिम निज जनकदुलारीलाई बुझाइएको हो । मोहरपतीले यसपूर्व मिति २०५९।४।१९ मा छोरा ब्रह्मदेवलाई शेषपछिको बकसपत्र लिखत गरी दिएकी र निज ब्रह्मदेवको पनि २०६५।९।२३ मा मृत्यु भइसकेको हुँदा जनकदुलारीले मृतकहरू मोहरपती र ब्रह्मदेवको मुद्दा सकार गरी अंश लिएको कार्य तहतहका अदालतबाट भएको आदेश कानूनसङ्गत देखिँदा निवेदन मागदाबीबमोजिमको आदेश जारी हुन पर्ने होइन भन्ने पुनरावेदन अदालत, हेटौंडा र पर्सा जिल्ला अदालतको एकै मिलानको लिखित जवाफ रहेको देखिन्छ । पर्सा जिल्ला अदालतबाट मिति २०६९।१०।१६ मा भएको बन्डा मुचुल्काअनुसारको जग्गा दाखिल खारेजका लागि निवेदकहरूको  यस कार्यालयमा निवेदन दाखिला नभएको हुँदा यस कार्यालयको नाउँमा मागअनुसारको आदेश जारी हुन सक्ने अवस्था छैन भन्ने विपक्षी मालपोत कार्यालय पर्साले पेस गरेको लिखित जवाफको व्यहोरा देखियो । 

३. यसमा मोहरपतीले फैसलाबमोजिम बन्डा छुट्टयाई पाउँ भनी स्वयम्‌ले  पर्सा जिल्ला अदालतसमक्ष निवेदन दिएको र फैसला कार्यान्वयन नहुँदै निजको मृत्यु भएपश्चात् जनकदुलारीले निजको मुद्दा सकार गरी मोहरपतीको अंशबापतको सम्पत्ति बुझि लिएको कार्यका सम्बन्धमा यी निवेदकहरूले विवाद गरी प्रस्तुत रिट निवेदन दायर हुन आएको देखियो । अंश मुद्दामा बन्डा नछुट्टयाउँदै अंसियारको मृत्यु भएमा अंसियार घटाएरमात्र बन्डा गर्नुपर्ने र शेषपछिको बकसपत्र प्राप्त गर्ने व्यक्तिको दाताभन्दा पहिले नै मृत्यु भएको अवस्थामा त्यस्तो बकसपत्रको वैधानिकता नरहने भन्नेसमेतको रिट निवेदन जिकिरतर्फ विचार गर्दा मोहरपतीले अन्तिम फैसलाबमोजिमको आफ्नो अंशहक छुट्टयाई पाउन जीवित अवस्थामै निवेदन गरेकी र बन्डा छुट्टयाउनुपूर्व नै निजको मृत्यु भएको अवस्था हुँदा निजको नजिकको हकवालाको हैसियतमा जनकदुलारीले मुद्दा सकार गरी मोहरपतीसमेतको अंशभाग बुझिलिएको देखियो । फैसला कार्यान्वयनकै क्रममा मुद्दाका पक्षको मृत्यु भई म्याद तारिख गुज्रन गएको अवस्थामा सरोकारवालाले मुद्दा सकार गरी गुज्रेको म्याद तारिख थाम्ने थमाउनेसम्बन्धमा मुलुकी ऐन, अ.बं.६२(३) नं. को कानूनी  व्यवस्था हेर्दा “ऐनले बिगो भर्नु भराउनु, दिनु दिलाउनु वा सम्पत्ति चलन चलाउनु, लिनुपर्ने मुद्दाका म्याद तारिखमा हाजिर हुनुपर्ने व्यक्ति मरी वा बौलाहा वा बेपत्ता भई म्याद तारिख गुज्रेमा मरी वा बौलाहा वा बेपत्ता भएको मितिले बाटाका म्यादबाहेक पैँतीस दिनभित्र निजको दैयादारले म्याद तारिख थामी मुद्दा सकार गर्न अड्डामा हाजिर भै निवेदनपत्र दिएमा म्याद तारिख थामी दिई मुद्दा सकार गराइ दिनु पर्छ...” उल्लेख भएको देखिन्छ । उल्लिखित कानूनी व्यवस्थाअनुसार मुद्दा सकार गर्न प्रथमतः मृतकका “दैयादार” अर्थात् हकवाला यकिन हुनुपर्ने र त्यसता हकवालाले तोकिएको म्यादभित्रै सम्बन्धित अड्डामा निवेदन गरेको हुनुपर्ने अनिवार्यता रहेको देखिन्छ । प्रस्तुत विवादको सम्बन्धमा विपक्षी जनकदुलारी देवीले मृतक मोहरपतीको मुद्दा सकार गरेउपर यी निवेदकहरूले तत्काल प्रश्न उठाएको अवस्था नरहेको र निवेदकहरू मृतकका नजिकका हकवाला हुन् भन्ने तथ्य पनि पुष्टी हुन सकेको 

देखिँदैन । मोहरपतीको मृत्युपश्चात् पर्सा जिल्ला अदालतसमक्ष मुद्दा सकारका लागि जनकदुलारीको निवेदन परेपछि निज मृतकको हकवाला हो, होइन र मुद्दा सकार गराउन मिल्ने हो, होइन भन्नेसम्बन्धमा अड्डाले तत्काल निर्क्योल गरी मुद्दा सकार गराइएको र तत्सम्बन्धमा यी निवेदकहरूले विवाद सृजनासमेत नगरेको हुँदा उक्त विषय सोही अवस्थामा अन्त्य भइसकेको मान्नु पर्ने हुन्छ । मुद्दा सकार गर्ने व्यक्ति मुद्दाको पक्ष नै हुने र पक्षले निर्वाह गर्ने दायित्व र परिणामप्रति निजको जिम्मेवारी रहन्छ । यस अवस्थामा मोहरपतीले फैसलाबमोजिम प्राप्त गर्ने सम्पत्ति र निजले ब्रह्मदेवलाई गरिदिएको शेषपछिको बकसपत्रबमोजिमको सम्पत्तिसमेतको लिखतमा मुद्दा सकार गर्ने जनकदुलारी देवीको हक पुगेको मान्नु पर्ने देखियो । 

४. फैसलाबमोजिमको बन्डा छुट्‍याई पाउँ भनी निवेदकमध्येकै रामदेवप्रसाद चौहानको समेत छुट्टै दरखास्त दिई तारेखमा बसी आएकामा निजले तारेख गुजारी थाम्ने थमाउने म्याद समाप्त भै सकेपछिमात्र बन्डा मुचुल्का भएको देखियो । बन्डा छुट्टयाउनुपूर्व पर्सा जिल्ला अदालतबाट जारी भएको सूचना पाएर पनि निवेदकहरू डोरमा अनुपस्थित रहेको कुरा मुचुल्का व्यहोराबाट देखिँदा वादी प्रतिवादीहरूको एकै पटक बन्डा छुट्टाउनुपर्ने भन्ने विपक्षीहरूको कथन आधारयुक्त देखिएन । दण्ड सजायको ४६(३)नं. ले पनि त्यसरी तारेख गुजारी बसेको अवस्थामा खण्डे बन्डा गर्न कुनै बाधा व्यवधान रहेको अवस्थासमेत नहुँदा खण्डे बन्डा गरिएको मिलेन भन्ने रिट निवेदन जिकिरसँग सहमत हुन सकिएन । 

५. अतः माथि प्रकरणमा विवेचना गरिएका आधार एवम् कानूनी व्यवस्थाहरूबाट बकसपत्र दाता र प्राप्त गर्ने व्यक्तिसमेतको मृत्यु भै सकेको अवस्थामा निजहरूको दैयादारको हैसियतले जनकदुलारी देवीको हक स्थापित भै सकेको अवस्था हुँदा कानूनबमोजिम अंश छुट्‍याउने क्रममा अंश प्राप्त गर्ने व्यक्तिमध्येबाट आफ्नो हक पुगेको सम्पत्तिसम्म शेषपछिको बकसपत्र लेखि दिएको र तत्पश्चात् शेषपछिको बकसपत्र पाउनेको मृत्यु भै विपक्षी जनकदुलारीले हक प्राप्त गरी मुद्दा सकार गरी सकेको देखिँदा विवादित सम्पत्तिमा अंसियार घटेकाले घटेका अंसियारमध्येबाटै बन्डा गर्नुपर्ने भन्ने निवेदन दाबीसँग समेत सहमत हुन सकिएन । विपक्षी जनकदुलारीले सर्वोच्च अदालतको मिति २०६७/१२/०९ को अन्तिम फैसलापश्चात् मुद्दा सकार गरी स्थापित भएको हकलाई अन्यथा गर्न सकिने अवस्था देखिएन । प्रस्तुत निवेदन दाबी खारेज हुने ठहर्छ । प्रस्तुत रिट निवेदन दर्ताको दायरी लगत कट्टा गरी मिसिल अभिलेख शाखा बुझाइदिनू । 

 

उक्त रायमा सहमत छु । 

न्या. ओमप्रकाश मिश्र

 

इति संवत् २०७१ साल मङ्सिर २२ गते रोज २ शुभम् ।

इजलास अधिकृत : केशवप्रसाद घिमिरे

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु