शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९४४३ - कर्तव्य ज्यान

भाग: ५७ साल: २०७२ महिना: कार्तिक अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री गोपाल पराजुली

माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ

फैसला मिति :- २०७१।१०।१४।४

०६८-CR-०२४४

 

मुद्दा : कर्तव्य ज्यान ।

 

पुनरावेदक/वादी : रोहित बहादुर बस्नेतको जाहेरीले नेपाल सरकार । 

विरूद्ध

प्रत्यर्थी/प्रतिवादी : जिल्ला भोजपुर, टक्सार गा.वि.स.वडा नं. ८ बस्ने धर्मध्वज कार्कीको छोरा रोहितकुमार कार्की ।

 

आफू बिरामी भै मृत्यु शैय्यामा पुग्दासम्म होसमै रहेको मृतकले समेत मृत्युको कारण नबताएको अवस्थामा अनुमानको भरमा र प्रतिवादीले मृतकप्रति गरेका पूर्व व्यवहारलाई ज्यान जस्तो फौजदारी अपराधमा अदालत आफैँले प्रमाणको श्रृष्टि गरी अभियुक्तलाई दोषी करार गर्नु विवेकपरक नहुनुको साथै न्यायको विपरीत हुन जाने ।

(प्रकरण नं. ३)

 

पुनरावेदन/वादीको तर्फबाट :- विद्वान् उपन्यायाधिवक्ता  गंगाप्रसाद पौडेल

प्रत्यर्थी/प्रतिवादीको तर्फबाट :-

अवलम्बित नजिर :-

सम्बद्ध कानून :-

मुलुकी ऐन ज्यानसम्बन्धी महलको १, १३(२)

 

सुरू अदालतमा फैसला गर्ने :- 

मा.जि.न्या. श्री शम्भुराम कार्की

पुनरावेदन अदालत,मा फैसला गर्ने :-

मा.मुख्य न्या. श्री गोविन्दकुमार उपाध्याय

मा.न्या. श्री टेकराज नेपाल

 

फैसला

न्या. गोपाल पराजुली :- न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अन्तर्गत यस अदालतमा दायर भै निर्णयार्थ पेस भै यस अदालतको क्षेत्राधिकारभित्रको भई हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम्‌ ठहर यसप्रकार छ :- 

मेरो माइती नेपाले डाँडा गा.वि.स. वडा नं. ८ मा भएको र मेरो विवाह टक्सार ८ बस्ने रोहितकुमार कार्कीसँग २०५२ सालमा भएकामा १ छोरी र १ छोराको जन्म भएको छ र आजभन्दा ५ वर्ष अघिदेखि पति रोहितकुमार कार्कीले ममाथि विभिन्न आरोप लगाई, मलाई प्रत्येक रात बेहोस बनाई ममाथि दुर्व्यवहार गर्ने र मलाई घरमा नबस् सम्बन्ध विच्छेद गरी जाभन्दा पनि सहेर बसेकीमा मलाई घरमा मार्नेसम्मको योजना बनाई ममाथि धेरै अत्याचार गरेको र घरमा बस्दा ज्यानको सुरक्षा हुन नसक्ने अवस्था भएको हुँदा मेरो ज्यानको सुरक्षा गरिपाउँ भनी मृतक इन्दीरा कार्कीले विभिन्न पार्टी कार्यालयमा बोधार्थ दिई जिल्ला प्रशासन कार्यालय भोजपुरमा दिएको निवेदनपत्र । 

मेरो छोरी इन्दिरा बस्नेतको रोहित कुमार कार्कीसँग २०४९ सालमा विवाह भै १ छोरा एक छोरीको जन्मसमेत भएकामा २०५६ सालमा वा सो बेलादेखि ज्वाइँले छोरीलाई कुटपिट गर्ने, शारीरिक तथा मानसिक यातना दिने, बेहोस पारी बलात्कार गर्ने जस्ता हिंसात्मक कार्य गर्ने गरेको कुरा छोरीद्वारा जानकारी आउने गरे तापनि बेला-बेलामा आफैँ छोरीको घरमा गै सम्झाई बुझाई आउने गरेकामा विगत ६ महिनादेखि विभिन्न हिंसात्मक कार्य गरी ज्यानसमेत लिन्छु भनी ज्वाइँले धम्की दिने गरेकाले छोरीले जिल्ला प्रशासन कार्यालय भोजपुरसमेतमा सुरक्षा गरि पाउँ भनी लिखित र मौखिकरूपमा उजुरसमेत गरेकामा मसमेत छोरी ज्वाइँको घरमा गै छलफल गराई सम्झाई बुझाई अब यस्तो क्रियाकलाप हुने छैन भनी ज्वाइँले विश्वास दिलाएपछि घर फर्की आएकामा छोरी इन्दीराबाट आफ्नो अन्तिम अवस्था रहेको मलाई ज्वाइँले मार्छु भनेको छ भनी जानकारी पाउँदा नातिनीलाई सन्चो भएपछि म तिमीलाई लिन आउँछु भनेँ । त्यसपछि पटक पटक सम्पर्क गर्न खोज्दा छोरीसँग सम्पर्क हुन सकेन र ज्वाइँ रोहित कार्कीसँग सम्पर्क गर्न खोज्दा सम्पर्क नगराएको । त्यतिकैमा २०६५/०१/२७ गते ज्वाइँ रोहितद्वारा छोरी बिरामी भै अस्पताल भर्ना गरेको जानकारी पाएँ । सोही दिन बिहान ७ बजे मेरो काकाकी छोरी राधा खड्काले भोजपुरबाट फोनमार्फत छोरीको मृत्यु भएको खबर पाएको हुँदा पाल्पादेखि काठमाडौं हुँदै भोजपुर आई छोरीको मृत लासलाई हेरेँ । लासको प्रकृति हेर्दा निजको मृत्यु कालगतिले नभै आफ्नो श्रीमान्‌ रोहित कार्कीले विष सेवन गराई सुनियोजित तरिकाले कर्तव्य गरी मारेको पुष्टि हुन आएको र छोरीको अन्तिम अवस्थामा राधा खड्काले अस्पतालमा बोल्न खोज्दा बोल्न नदिएको र छोरी इन्दिराको मृत्यु भै सकेपछि मृतकको दिदीलाई तेरी बैनीलाई मारी बदला लिएँ भनी ज्वाइँ रोहितले फोनबाट भनेको मृतकको सानो बाबु कुमार दाहालसँग म निर्वाचनपछि इन्दीरालाई मार्छु तेरी छोरी लान्छस्‌ भने लैजा भनी धम्क्याएको समेत हुँदा ज्वाइँ रोहित कार्कीकै कर्तव्यबाट छोरी इन्दीरा बस्नेतको मृत्यु भएको हुँदा छोरी इन्दीरा कार्कीलाई विष सेवन गराई मार्ने रोहितकुमार कार्कीलाई सजाय गरिपाउँ भन्ने व्यहोराको जाहेरी दरखास्त । 

भोजपुर जिल्ला भोजपुर गा.वि.स. वडा नं. ३ स्थित पूर्वमा चिकित्सक निवास, पश्चिममा टक्सार भोजपुरको मोटर बाटो उत्तरमा अस्पतालको खाली जमिन दक्षिणमा अस्पताल भवन यति ४ किल्लाभित्र अवस्थित अस्पतालको मुर्दा घरमा उत्तर टाउको दक्षिण खुट्टा पारी उत्तानो अवस्थामा रहेको मृतक लासको मुखमा सेतो फिँज जस्तो पदार्थ निस्किएको, घाँटी छातीको अवस्था सामान्य रहेको घाँटीमा डाम नभएको आँखा खुल्ला रहेको भन्ने मृतक इन्दीरा कार्कीको घटनास्थल लास प्रकृति मुचुल्का । 

भोजपुर जिल्ला अस्पतालको कोठा नं. २ को मेलवार्ड, सो वडाको पूर्व पश्चिम रहेको बेड नं. २ पूर्व कोठाकै भित्ता, पश्चिम बिरामीको शौचालय उत्तर ढोका दक्षिण कोठाकै भित्ता यति ४ किल्लाभित्रमा पूर्व टाउको पश्चिम खुट्टा पारी निज इन्दीरा कार्कीको मृत्यु भएको भनी लेखिएको घटनास्थल मुचुल्का । 

The cause of death can be detected after viscera report भन्ने डा. सूर्य बहादुर गुरूङको मिति २०६५/०१/२९ को शव परीक्षण प्रतिवेदन । 

मृतक इन्दीरा कार्कीको भिसेरा जाँच गर्न केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा पठाएको भन्ने जिल्ला प्रहरी कार्यालय भोजपुरको मिति २०६५/०२/०२ को पत्र । 

इन्दीरा कार्कीको मिति २०६५/०१/२७ गते बिहान ७ बजेको समयमा अस्पतालमा मृत्यु भएछ । सो कुरा सुनी मसमेतका मानिस घटनास्थलमा गै हेर्दा मृतकको नाक मुखबाट सेतो फिँज आएको मृतक लास देखेको हुँ । घटनाको प्रकृति हेर्दा निजलाई निजकै श्रीमान्‌ रोहितकुमार कार्कीले विषादी सेवन गराएको जस्तो लाग्छ । निज मृतक र रोहित कार्कीको बीच घटना घट्नुभन्दा अगाडि सम्बन्धमा राम्रो थिएन । सम्बन्ध विच्छेद गर्छु निजले मलाई नाकमा सुँघाउने विषादी सुँघाई बेहोस बनाउनेसमेत गर्छ म निजसँग बस्न सक्दिन भनेर भनेकी थिइन् भन्नेसमेत व्यहोराको सरस्वती बस्नेतले मौकामा गरेको कागज ।

मिति २०६५/०१/२७ गते म आफ्नै घरमा थिएँ सो दिन बिहान अं.४ बजेको समयमा मृतकको बुबाले मलाई फोन गरी इन्दीरा अस्पतालमा छिन जाउ भनेपश्चात् म अस्पताल गै हेर्दा बेडमा सुताएको अवस्थामा पाएँ । सो अवस्थामा निज इन्दीराको मुखमा सेतो फिँज जस्तो पदार्थ लागेको थियो । तिमिलाई के भयो भनी भन्दा पेट पोल्छसम्म भन्थिन् भने नजिक बसेका इन्दीराका श्रीमान्‌ले चै ग्याष्ट्रिकले हो भन्नु हुन्थ्यो र केही समयपश्चात् पिसाब गर्छु भनी इन्दीराले भनेकाले पिसाब गराएँ । पछि उनले जिउ छाडिन रोहित कार्की र मसमेत भई बेडमा सुताएपश्चात् पुन: नाक मुखबाट फिँजसहितको बान्ता गरिन बिहान ७ बजे उनको प्राण गएको हो । सोपश्चात् उनका श्रीमान्‌ छोरालाई लिएर बाहिर जानु भयो । घरका कोही पनि मानिस त्यहाँ आएनन् मैले सुनेअनुसार विष खुवाएका मानिसले यसरी बान्ता गर्छन् रे भन्नेसमेत व्यहोराको राधा खड्काले मौकामा गरेको कागज । 

म आफ्नै घरमा थिएँ, राधा दिदीले फोन गरेपश्चात् इन्दीराको मृत्युको खबर सुनेको हो म अस्पताल ११ बजे पुग्दा निजको मृत्यु भै सकेको थियो । पेट पोलेको, फिँजसहितको बान्ता गर्दागर्दै मृत्यु भएको भन्ने सुन्दा गत मङ्सिरमा उनले भनेको कुरा याद आयो । मसँग उनले मेरो श्रीमान्‌ले मलाई मार्छु भन्छन् रातमा बेहोस हुने औषधी सुघाउँछ चियामा समेत मलाई लठ्याउने औषधी खुवाई ३/४ घण्टा बेहोस बनाउँछ जस्ता कुरा गरी पारपाचुके गर्ने कुरा गरेको निज ज्यादै निरास थिइन् सायद विषादी प्रयोग कै कारण निजको मृत्यु भएको हुनुपर्छ भन्नेसमेत व्यहोराको निर्मला थापाले मौकामा गरेको कागज ।

जाहेरीमा उल्लिखित मिति समयमा म आफ्नै घर काठमाडौंमा थिएँ । इन्दीरा कार्कीको अस्पतालमा मृत्यु भएछ सो कुरा मैले मिति २०६५/०१/२७ गते बिहान ८:३० बजे टेलिफोनबाट सुनि थाहा पाई मलगायतका मानिस २०६५/०१/२८ गते काठमाडौंबाट जहाजद्वारा भोजपुर आई जिल्ला अस्पताल भोजपुरमा बहिनी इन्दीरा कार्कीलाई हेर्दा नाक मुखबाट सेतो फिँज आई राखेको मृत अवस्थामा देखेको हुँ । इन्दीरा कार्कीलाई निजको श्रीमान्‌ रोहितकुमार कार्कीले वारदात घट्नुभन्दा धेरै अगाडिदेखि शारीरिक तथा मानसिक यातना दिने विषादी सुँघाई बेहोस बनाई बलात्कार गर्ने दुःख कष्ट हैरानी दिने गरेको र निजले मलाई मार्ने भयो भनि टेलिफोनबाट मलाई भनेकी र निजले जिउ ज्यानको सुरक्षा गरिपाउँ भनी २०६४/०८/२७ गते आफैँले लेखि जिल्ला प्रशासन कार्यालयमा दिएको निवेदन घटनाको प्रकृति दुवै हेर्दा निज रोहितकुमार कार्कीले पूर्वयोजना बनाई थाहा नपाउने गरी विषादीको सेवन गराई इन्दीरा कार्कीको हत्या गराएकामा विश्वास लाग्छ निजले वारदात घटाइसकेपछि पनि हामीसँग भेट नगरेको, अपराधबाट बच्न विभिन्न बहाना पारेको हुँदा निज रोहितकुमार कार्कीलाई सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको रमा कोइराला बस्नेतले मौकामा गरेको कागज । 

म आफैँ उपस्थित हुन आएको छु भनी रोहितकुमार कार्कीले जिल्ला प्रहरी कार्यालय भोजपुरमा दिएको निवेदन । 

इन्दीरा कार्कीसँग २०५२ सालमा विवाह भै १ छोरी १ छोराको जायजन्म भएको छ । निजसँग पारिवारिक सम्बन्ध राम्रै थियो कहिले काहीँ हुने मन मुटाब र घर झगडाबाहेक अन्य केही थिएन । मैले कुनै शारीरिक तथा मानसिक यातना दिएको थिइनँ । मलाई ससुराली पक्षले सधैँ आर्थिक विपन्नताको तराजुमा राखी तौलने सामाजिक तथा राजनीतिक जीवनमा आँच आउने गरी कर्मथलो त्याग्न श्रीमतीलाई उचाल्ने श्रीमती पनि यो ठाउँ छाडी काठमाडौं जाउँ भन्ने गर्दा म ठाउँ छोड्न नसक्ने कुरा सम्झाउथें । गत मङ्सिरमा पनि श्रीमतीलाई निवेदन दिन लगाउँदा मैले सम्झाई घरमै राखेको थिएँ । बिरामी भै उपचारको क्रममा अस्पतालमै मृत्यु भएकोलाई विष खुवाई मार्‍यो भनी झुट्ठा जाहेरी दिएको हो । २०६५/०१/२५ गते राति म र श्रीमतीसँगै बस्यौं २६ गते बिहान उनी धारातर्फ गइन् सो दिन जिल्ला अस्पताल भोजपुरमा रेडक्रसको आयोजनामा फलफूल वितरण गर्ने कार्यक्रम थियो । मलाई पनि आमन्त्रण गरेको हुँदा बिहान ६ बजे म सदरमुकामतर्फ आएँ । बिहान ७ बजे रेडक्रसमा उपस्थित भै सोपश्चात् जिल्ला प्रहरी कार्यालय अगाडि सन्तोषी होटलमा दिउँसो ११ बजे खाना खाई आफ्नो कार्यालयमा काम गरिरहेको अवस्थामा दिउँसो १:३० बजेको समयमा श्रीमती बान्ता आउने व्यथाले आक्रान्त भएको खबर टेलिफोनबाट पाई घर नजिकै रहेको अ.हे.ब. दिपेन्द्र श्रेष्ठलाई लिएर घरतर्फ गै प्रारम्भिक उपचार गराएको हो । त्यती गर्दा पनि बान्ता नरोकिएकाले गाउँलेको सहयोग लिई ५ बजेतिर अस्पताल ल्याएको हो उपचार कै क्रममा बान्ता नरोकिई प्रेसरसमेत लो भई बिहान ७ बजे उनको मृत्यु भयो । किन यस्तो अभियोग लगाएको उनीहरू नै जानुन् म निर्दोष छु भनी प्रतिवादी रोहितकुमार कार्कीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान कागज । 

मिति २०६५/०१/२६ गते म पसलबाट फर्किँदा इन्दीरा कार्कीको घरतिर निस्किएकी थिएँ, वहाँले मलाई सर्बत खुवाउनु भयो । रोहित काका खोइ भनी सोध्दा सदरमुकाम जानु भयो भन्नु हुन्थ्यो म त्यहाँ पुग्दा १० बजेको थियो । मृत्युको खबर भोलिपल्टमात्र सुनेको हो कसरी मृत्यु भयो भन्न सक्दिन भन्नेसमेत व्यहोराको बिन्दा आचार्यले मौकामा गरेको कागज । 

२६ गते म आफ्नै घरमा थिएँ । इन्दीरा कार्की बिरामी छन् रे अस्पताल लानु पर्‍यो भन्ने खबर पाएपछि मसमेत भै अस्पताल लगेको हो । विष खाए खुवाएको भनिनन् के कसरी मृत्यु भयो भन्न सक्दिन भन्नेसमेत व्यहोराको सिताराम आचार्यले मौकामा गरेको कागज । 

उल्लिखित २६ गते म आफ्नो घरमा थिएँ । इन्दीरा कार्की बिरामी भइन् अस्पताल लानु पर्‍यो भनेकाले मसमेत भै भोजपुर अस्पताल लगेको हो निजले पेट पोल्छ बान्ता आउँछ भनेकोसम्म सुनेको हो । पछि मृत्युको खबर सुने के कसरी मृत्यु भयो म भन्न सक्दिन भन्नेसमेत व्यहोराको भुपालबहादुर श्रेष्ठ, अनिस श्रेष्ठ, गणेश विश्वकर्मासमेतले मौकामा गरेको कागज । 

२०६५/०१/२६ गते म आफ्नै घरमा 

थिएँ । इन्दीरा कार्की र हाम्रो एकै धारो हुँदा सँगै लुगा 

धोयौँ । रोहित कार्की सो बिहान सदरमुकाम जानुभएको थियो । इन्दीराले हामी गाउँलेलाई सर्बत पानी खुवाउँनु भयो । दिनको १२ बजेतिर म हलीलाई बोलाउन जाँदा वहाँ घरको पेटीमा लडिरहनुभएको थियो । मैले के भयो भनी उठाई सोध्दा बान्ता आउँछ, पेट पोल्छ 

भन्नुभयो । दिसा लागेको छ भनी मैले दिसा गराउन समातेर लाँदा पिसाबमात्र फेर्नु भयो । निजलाई  खाटमा सुताई तौलिया ओढाई धामी खोज्न म गएँ । धामीसमेत पाइन आई हेर्दा वहाँमाथि तलामा गै सुत्नु भएछ । पछि रोहित आई उपचार गराई ठीक नभएपश्चात् उपचारको लागि अस्पताल लगेको हो भोलिपल्ट बिहान इन्दीराको मृत्यु भएको खबर पाएँ । अचम्म लाग्यो कसरी मृत्यु भएको हो भन्न सक्दिन भन्नेसमेत व्यहोराको कृष्णकुमारी आले मगरले मौकामा गरेको कागज । 

२०६५/०१/२६ गते बिहान ७ बजे म रोहित कार्की र रमेश शाक्यसमेत अस्पतालमा थियौँ । इन्दीरा कार्कीको उपचार कै क्रममा अस्पतालमा मृत्यु भएको हो । निजको मृत्यु के कति कारणले भएको हो यकिन भन्न सक्दिन भन्नेसमेत व्यहोराको दानबहादुर श्रेष्ठले मौकामा गरेको कागज । 

म, रोहित कार्की र दानबहादुर श्रेष्ठसमेत २६ गते बिहान ७ बजे अस्पतालमा थियौँ । सो दिन बेलुकी इन्दीरालाई अस्पतालमा ल्याएको मैले देखेको हो, पेट पोल्ने, बान्ता आउने भै रहन्छ रे भन्नेसम्म सुनेको हो मृत्यु के कति कारणले भयो भन्न सक्दिन भन्नेसमेत व्यहोराको रमेशकुमार शाक्यले मौकामा गरेको कागज । 

इन्दीरा कार्की बिरामी भएको खबर पाई मसमेत उनलाई हेर्न घरमा गएको थिएँ । के भयो भनी सोध्दा पेट पोल्छ, बान्ता आउँछ, रिँगटा लाग्छ भन्नु भयो पछि उनलाई अस्पताल ल्याए र मरेको खबर भोलिपल्ट बिहान थाहा भयो के कसरी मृत्यु भएको हो यकिन भन्न सक्दिन भन्नेसमेत व्यहोराको डम्बरकुमारी श्रेष्ठले मौकामा गरेको कागज ।

मिति २०६५/०१/२६ गते अस्पतालमा फलफूल वितरण कार्यक्रम रहेको र म गोविन्द कार्की, रोहित कार्की तीनै जनाको एकै ठाउँमा ल फर्म भएको कारण फलफूल वितरणपश्चात् सन्तोषी होटलमा खाना खाई कार्यालयमा नै बसेको समय इन्दीरा बिरामी भएको खबर टेलिफोनमार्फत पाई म र रोहित कार्की अ.हे.ब. दिपेन्द्रकुमार श्रेष्ठलाई लिई इन्दीराको घरमै प्रारम्भिक उपचार गरी ठीक नभएपश्चात् अस्पताल ल्याएको हो । मलाई पेट पोल्छ, बान्ता आउँछ भन्ने भन्दा अन्य कुरा भनिनन् डाक्टरले चाहीँ प्रेसर लो भएछ भन्नु हुन्थ्यो कसरी मृत्यु भयो म भन्न सक्दिन भन्नेसमेत व्यहोराको हरीप्रसाद सुवेदीले मौकामा गरेको कागज । 

मिति २०६५/०१/२६ गते म आफ्नै पसलमा थिएँ दिनको अं. २:३० बजेको समयमा रोहितकुमार कार्की मेरो पसलमा आई मेरो श्रीमतीलाई झाडा बान्ता भइरहेको छ जाऊँ भनेपश्चात् म र रोहित निजको घरमा गयौं । त्यहाँ पुग्दा इन्दीरा माथिल्लो तलामा हुनुहुँदो रहेछ रोहितले इन्दिरालाई तल झारेपछि बिरामीको History बुझी सोध्दा वहाँले पेट पोल्छ, दुख्छ, बमिट हुन्छ भन्नु भयो । वहाँको प्रेसर ९०/६० थियो वहाँको बमिट रोक्न पहिला मैले २ M.L. पेटिजियम इन्जेक्सन दिएँ । रोहितले रियो जुस दिनु भयो त्यसले पनि दुखाई नियन्त्रण भएन त्यसपछि रिङ्गर ल्याक्टेड इन्जेक्सन सलाईनमार्फत दिएँ । त्यसपछि म मर्छु मलाई छिटो अस्पताल लानुहोस् भनेपछि मैले अस्पतालतर्फ पठाएको हो । रोहितले विष खुवाए नखुवाएको मलाई भनेनन् के भई मृत्यु भयो मलाई थाहा भएन भन्नेसमेत व्यहोराको प्राथमिक उपचार गर्ने दिपेन्द्रकुमार श्रेष्ठले मौकामा गरेको कागज । 

मिति २०६५/०१/२७ गते बिहान ४ बजेको समयमा म राउण्ड चेकअपको लागि अस्पतालमा भर्ना गरेमध्येकी इन्दीरा कार्कीलाई चेकअप गर्न पुगेको थिएँ । उनले पेट पोल्छ, बान्ता आइरहन्छ भनेकी र प्रेसरसमेत लो भएको कारण उनलाई ग्यास्ट्रीकको उपचार गरेको हो । उनको मृत्यु प्रेसर लो कै कारण भएको हो भनी डा. सूर्य बहादुर गुरूङले अनुसन्धान अधिकृतसमक्ष गरेको कागज । 

मृतक इन्दीरा कार्कीले बताएको प्रारम्भिक लक्षण बान्ता आइरहने पेट पोल्ने भनेको जाँच गर्दा प्रेसर लो र शरीरमा पानीको कमी देखिँदा सो निराकरणको लागि तत्कालै उपचार थालिएको तर प्रेसर लो को समस्या निदान हुन नसकेको कारण उनको मृत्यु भएको हो भन्नेसमेत व्यहोराको डा. भबेस थापाले अनुसन्धान अधिकृतसमक्ष गरि दिएको कागज । 

मिति २०६५/०१/२६ गते बिहान ६ बजे म मेरो घरबाट भोजपुरतर्फ आएको मेरोभन्दा माथि रोहित कार्कीको घर भएकाले मैले बाटोबाट बोलाई सँगै आउँदा हरी प्रसाद सुवेदीसँग भेट भै तीनैजना भोजपुर आएका भोजपुर आई लेखापढीको काम गरि बेलुकी १७:४५ बजे घरतर्फ जाँदै गर्दा बाटोमा इन्दीरा कार्कीलाई अस्पताल ल्याउँदै गर्दा भेट भएको हो निजले पेट दुख्छ, टाउको दुख्ने भएको छ भनिन् । सबैले घर जानु भनेको हुँदा म चै घरतर्फ गएँ । निजको मृत्यु २०६५/०१/२७ गते अस्पतालमा नै भएको भन्ने सुनेको हो निजको मृत्यु के कति कारणबाट भएको हो मलाई थाहा भएन भन्नेसमेत व्यहोराको गोविन्द कार्कीले मौकामा गरेको कागज । 

जाहेरवालाले जाहेरी दरखास्तमा उल्लेख गरेको कुरा सत्य हो संविधान सभाको चुनाव अगाडि छोरी इन्दीराको घरमा निस्किँदा मलाई मेरो श्रीमान्‌ रोहित कार्कीले शारीरिक तथा मानसिक यातना दिइरहन्छ । मलाई एकदिन अवश्य मार्छ भन्थी सोसमय मैले नआत्तिनु धैर्यता लिनु भनि फर्किएँ । सदरमुकाममा ज्वाइँ रोहितसँग भेट भयो । उनी आवेशमा आई तेरी छोरी लैजा नत्र चुनावपछि मारी दिन्छु भनेको हो । आफ्नो परिवारको इज्जत सम्झी यो कुरा कहीँकतै मैले सुनाउन सकिन । २०६५/०१/२७ गते छोरी इन्दीराको मृत्युको खबर सुनी आई हेरियो लासको प्रकृति घटना विवरण इन्दीराको लक्षण पहिलाको धम्की सम्झी छोरी इन्दीरालाई निजकै श्रीमान्‌ले सुनियोजित तरिकाले हत्या गरेका हुन्‌ भनी कुमार दाहालको मौकामा गरेको कागज ।

मिति २०६५/०१/२६ गते म घरमा नै 

थिएँ । म बिरामी भएँ भनेपछि मैले कृष्णकुमारी मगरलाई बोलाई दिसा गराउन बाहिर लगेको हो र फोन गरी छोरा रोहितलाई नआउन्जेल म बुहारीको साथमा नै थिएँ । इन्दीराले विष खाएको खुवाएको मलाई थाहा छैन छोरो बिहानै सदरमुकाम गएको थियो । घरमा पनि कहीँकतै विषादीजन्य पदार्थ थिएन । उनले पनि विषादी खुवाएको बताइनन् । पेट पोल्छ बान्ता आउँछ भन्थिन् । छोरो आई घरमा उपचार गरी ठीक नभएपश्चात् उपचारको लागि जिल्ला अस्पताल लगेको हो के कति कारणबाट मृत्यु भएको हो थाहा भएन भन्नेसमेत व्यहोराको मृतककी सासू प्रतिवादीकी आमा धर्मकुमारी कार्की मौकामा गरेको कागज । 

मृतक इन्दीरा कार्की र निजको श्रीमान्‌ रोहितकुमार कार्कीको वारदात हुनुपूर्व घरायसी सामान्य मनमुटाबबाहेक अगाडिको सम्बन्ध राम्रै भएको, निज इन्दीरा पेट पोल्ने बान्ता आउने बिरामीले भेटी उपचारको लागि जिल्ला अस्पताल भोजपुर लगिएकामा उपचार गराउँदा गराउँदै २०६५/०१/२७ गते बिहान अस्पताल मै मृत्यु भएको हो । निजको मृत्यु के कारणले भयो थाहा भएन भन्नेसमेत व्यहोराको चन्द्र बहादुर तामाङसमेतले गरि दिएको वस्तुस्थिति मुचुल्का । 

अभियुक्त रोहितकुमार कार्कीले आफ्नी पत्नी मृतक इन्दीरा कार्कीलाई ५ वर्ष अघिदेखि बेलुकी सुत्ने बेलामा विषादी नाकमा सुँघाई बेहोस पारी बलात्कार गर्ने बिहान चियामा पनि विषादी मिसाई दिने जस्ता शारीरिक तथा मानसिक यातना दिँदै आएको कारण दुई पति पत्नीबीच आपसी सम्बन्ध बिग्रँदै आएकामा पत्नीले आफ्नो विरूद्धमा जिल्ला प्रशासन कार्यालयसमेतमा उजुरी दिएपछि समाजमा मुख देखाएर हिँड्नसमेत लज्जास्पद अवस्था बेर्होनु परेका यी अभियुक्तले आफ्नी पत्नीलाई सुनियोजित तरिकाले मार्न २०६५/०१/२६ गतेको दिनलाई उचित मौका ठानी उपर्युक्त लेखिएअनुसार गरि विषादी खानामा मिलाई दिई सो विषादीयुक्त खाना खाएको कारणबाट पेट पोल्ने बान्ता आउने भै अन्तत: उपचारकै क्रममा निज इन्दीरा कार्कीको मृत्यु भएको मिसिल संलग्न कागजातहरूबाट देखिन आएको हुँदा निज अभियुक्त रोहितकुमार कार्कीले गरेको सो कार्य मुलुकी ऐन ज्यानसम्बन्धी महलको १ नं विपरीत कसुर गरेको हुँदा निज रोहित कार्कीलाई ज्यानसम्बन्धी महलको १३(२) नं बमोजिम हदैसम्म सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको अभियोगपत्र मागदाबी । 

मिति २०६५/०१/२६ गते बिहान ७ बजे म अस्पताल आईपुगेको थिएँ र रेडक्रसको फलफूल वितरण कार्य सकेपछि सबैजना सदरमुकामतर्फ आयौं । ११ बजेको समयमा प्रेम सुवालको होटलमा खाना खाई मेरो ल फर्म तिर गएँ अन्दाजी डेढ बजेको समयमा श्रीमती बिरामी भएको कुरा टेलिफोनमार्फत थाहा भएकाले मेरो साथी हरि सुवेदीलाई साथ लिएर २ बजेतिर घरतर्फ लागेँ । कोटडाँडा पुगेपछि अ.हे.ब. दिपेन्द्र श्रेष्ठलाई लिएर गएँ । घरमा सामान्य उपचार गरी त्यहाँ ठीक नभएकाले गाउँलेको साथ लिई ५ बजेतिर जिल्ला अस्पताल भोजपुरमा ल्याएँ । पेट पोल्ने र बमिट हुने गर्दथ्यो । रातभरी उपचारको लागि डाक्टरहरू खटेका ४ बजेपछि उनको ल्बड प्रेसर लो भएको भनी डाक्टरले भनेको र बढाउन कोसिस गर्दा पनि बढ्न सकेन अन्दाजी पौने ७ बजे तिर निजको मृत्यु भएको हो के कसरी भएको हो डाक्टर नै 

जानुन् । श्रीमान्‌ श्रीमतीको जसको पनि सामान्य विवाद हुन्छ मेरो पनि कहिलेकाहीँ विवाद पर्दथ्यो र मैले आफ्नो श्रीमतीलाई खानामा विष हालेर मारेको कुरामा सत्यता छैन म उक्त दिन २०६५/०१/२६ गते बिहानै घर छोडेर हिँडेको खाना मृतक आफैँले बनाएको सोही खाना मेरो छोराले खाएर स्कुल गएको सो दिन गाउँ घरमा छरछिमेकहरूलाई मृतकले सर्बत बनाएर खुवाएकी पछि बिरामी भएको थाहा पाएपछि मैले अस्पतालमा ल्याई उपचार गरेको हुँ । श्रीमतीसँग सामान्य विवाद हुन्थ्यो । मैले श्रीमतीलाई मार्नुपर्ने कारण केही थिएन र मैले मारेको पनि होइन । त्यसो हुँदा अभियोग दाबीबाट सफाइ पाउँ भनी प्रतिवादी रोहितकुमार कार्कीले मिति २०६५/०३/०२ मा सुरू अदालतमा गरेको बयान । 

मृतकको मृत्यु प्रेसरले भएको कारणले भएको हो विष सेवनमा साधारणतया बान्ता हुँदैन भनी डा. सूर्य बहादुर गुरूङले मिति २०६५/०३/२५ मा गरेको बकपत्र ।

मिसिल सामेल रहेको । मृतकले जिल्ला प्रशासन कार्यालयलगायत विभिन्न पार्टी कार्यालयमा दिएको २०६४/०८/२७ गतेको निवेदन झिकाई मिसिल सामेल रहेको ।

इन्दीराको मृत्युको कारण थाहा छैन, मृत्यु गराउनमा रोहितको हात छैन भन्ने प्रतिवादीका साक्षी गोविन्द चापागाईंको, अस्पतालमा नै निजको मृत्यु भएको हो कसैको कर्तव्यबाट भएको हैन भन्ने प्रतिवादीका साक्षी हरि प्रसाद श्रेष्ठको, रोहितउपर मलाई शङ्का लाग्दैन भन्ने प्रतिवादी साक्षी गोपीकृष्ण धमलाको, रोहितकी श्रीमतीको मृत्यु प्रेसर लोबाट भएको भन्ने सुनेको भन्ने प्रतिवादी साक्षी प्रविण सुवालको, इन्दीरा बिरामी परेका दिन बिहान पसलमा सामान लिन आएकी हुँदा निजको मृत्यु कसैले विष खुवाई गराएको हैन भन्ने प्रतिवादी साक्षी दिल बहादुर श्रेष्ठको बकपत्र । 

मिति २०६५/०४/३० का आदेशानुसार मृतक इन्दीरा कार्कीको भिसेरा राष्ट्रिय विधि विज्ञान प्रयोगशालाबाट जाँच गराई भिसेरा जाँच भएको प्रतिवेदन मिसिल सामेल रहनुको साथै केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाबाट प्राप्त प्रतिवेदनमा Negative tests for above mentioned insecticides, fungicide, herbicide fumigant and rat poision भन्ने उल्लेख भएको ।

मिति २०६५/०६/०३ र मिति २०६५/०७/०८/०६ का श्री पुनरावेदन अदालत, धनकुटाका आदेश र सुरू अदालतका मिति २०६५/०८/०२ को आदेशानुसार मृतक इन्दीरा कार्कीको शव परीक्षण गर्ने डा. सूर्यबहादुर गुरूङको मिति २०६५/०८/१३ मा मृत्युको कारण खुलाएको कागज गराई मिसिल सामेल रहेको ।

श्री पुनरावेदन अदालत, धनकुटाबाट सुरू अदालतबाट भएको मिति २०६५/०३/२० तथा २०६५/०३/२५ का आदेश बदर गरी प्रतिवादी रोहितकुमार कार्कीलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्नु भन्ने कैफियत प्रतिवेदनमा भएको २०६५/०९/२५ को आदेश । 

जाहेरवाला रोहितबहादुर बस्नेतले नेपाल सरकार गृह मन्त्रायलको मुद्दा फिर्ता लिने सम्बन्धको च.नं. १४८ मिति २०६५/०९/१६ को पत्रको फोटोकपी हुलाकमार्फत पठाई मिसिल सामेल रहेको । 

मिति २०६६/०२/३१ का आदेशानुसारको जवाफ केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाबाट प्राप्त भै मिसिल सामेल रहेको  । 

मृतक इन्दीरा कार्कीको सुरूमा प्राथमिक उपचार गर्ने स्वास्थ्यकर्मी दिपेन्द्र श्रेष्ठको “मैले बिरामी इन्दिरासित बिहानदेखि के के खानु भयो भनी सोध्दा मैले कुनै पनि औषधी प्रयोग गरेको छैन भनिन् र परिवारका अरूले पनि सोही भनेपछि र बिरामीले पनि मलाई बचाउनु होस् र अस्पताल जान्छु भनेकाले मैले i.x. इन्जेक्सन रिफर गरेँ । निजको रोग प्रेसरले हो भन्ने बुझेँ” भन्ने बकपत्र । 

जाहेरवालाले जाहेरी दिँदा किटानी जाहेरी दिएको र उक्त व्यहोरालाई समर्थन गर्दै अदालतमा बकपत्रसमेत गरेको मौकामा उपचार गर्ने स्वास्थ्यकर्मीको मौकाको कागज तथा अदालतको बकपत्र लास जाँच मुचुल्का, लास जाँच प्रतिवेदन राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको पत्रसाथ प्राप्त भिसेरा परीक्षण प्रतिवेदन, मौकामा कागज गर्ने मानिसहरूले गरिदिएको मौकाको कागज तथा निजहरूको अदालतमा भएको बकपत्रसमेतबाट मृतकको मृत्यु विषादीबाट भएको पुष्टि हुन आएको मौकामा उपचार गर्ने स्वास्थ्यकर्मी दिपेन्द्र कुमार श्रेष्ठको, मौकाको कागज र बकपत्रसमेतमा मृतकले म मर्छु मलाई बचाउनुहोस् मलाई छिटो अस्पताल लैजानुहोस् भनेबाट र छोरा छोरीसमेत भएकी मृतकले आफैँले विष सेवन गरेको भए बचाउनुहोस् छिटो अस्पताल लैजानु होस् भनी भन्ने अवस्था नहुँदा मृतकको आफैँ विष सेवन गरेर मृत्यु भएको भन्ने अवस्था नदेखिँदा मृतकले मर्नुभन्दा पहिले विभिन्न पार्टी कार्यालयहरूलाई बोधार्थ दिई जिल्ला प्रशासन कार्यालयमा २०६४/०८/२७ गते शान्ति सुरक्षा गरि पाउँ भनि दिएको निवदेन व्यहोराबाट र प्रतिवादी स्वयम्‌ले अदालतसमक्ष गरेको बयानबाट प्रतिवादी र मृतकबीच राम्रो सम्बन्ध नभएको पुष्टि भएको र अन्य कोही कसैसँग पनि रिसइवी भएको पनि मिसिल संलग्न कागजातबाट नदेखिएको । प्रतिवादीले अदालतमा बयान गर्दा आफूलाई फसाउन ससुराली पक्षले पूर्वाग्रह रहेको भनी बयान गरे तापनि जाहेरवालाले प्रतिवादी कै रोहबरमा अदालतमा बकपत्र गर्दा छोरी ज्वाइँको हितको खातिर आवश्यक रकम बेलाबेलामा दिने गरेको, जग्गा खरिद गरि दिने र व्यवहारमा पुग नपुगसमेत हेरचाह गरेको भनी लेखाएको सो कुरामा प्रतिवादीले कुनै जिरहसमेत नलिई स्वीकार गरेबाट र प्रतिवादी जस्तो न्याय कर्मीले अदालतको आदेशलाई पालना गर्नुको सट्टा अदालतबाट तोकिएको २०६५/०९/०९ को तारेखसमेत गुजारी बसेको तथा गृह मन्त्रालयको च.नं. १४८ मिति २०६५/०९/१६ मा कानून न्याय तथा संविधान सभा व्यवस्था मन्त्रालयलाई लेखेको पत्रमा उक्त व्यक्ति कानूनबमोजिम दोषी देखिएकाले उक्त मुद्दा फिर्ता गर्नु नपर्ने ठहर गर्दै २०६५/०९/१६ मा उपप्रधान तथा गृहमन्त्री स्तरबाट भएको निर्णय सम्बन्धको मिसिल संलग्नपत्रबाट समेत प्रतिवादी कसुरदार देखिएकाले अभियोग माग दाबीबमोजिम कसुर प्रतिवादीले गरेको ठहर्छ भन्नेसमेत व्यहोराको सुरू भोजपुर जिल्ला अदालतको फैसला । 

जिल्ला अदालतबाट फैसला गर्दा मेरो विरूद्ध लिइएका आधारहरू फौजदारी न्यायको मान्य सिद्धान्तविपरीत प्रमाण ऐन, २०३१ को दफा ९, १८, २५, २७ र ३७ एवम्‌ सोसम्बन्धमा सम्मानित सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तसमेतको प्रतिकूल छ । प्रस्तुत मुद्दाको प्रमाण कागजातहरूबाट मृतको मृत्यु विषादीबाट भएको हो वा अन्य कारणबाट भएको हो सो नै निश्चित हुन सकेको छैन । मेरो विरूद्ध प्रमाणका रूपमा ग्रहण गरिएको राष्ट्रिय विधि विज्ञान प्रयोगशाखाको प्रतिवेदन तयार गर्ने विशेषज्ञलाई अदालतसमक्ष उपस्थित गराएको छैन । अदालतसमक्ष उपस्थित नगराइएको विशेषज्ञको रायलाई प्रमाण ऐन, २०३१ को दफा २३(७) ५२ एवम्‌ सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तसमेतको आधारमा प्रमाणमा लिन नमिल्ने र कानूनबमोजिम ग्रहण गर्नु नहुने प्रमाण ग्रहण गरि सो प्रमाणलाई आफ्नो ठहरको आधार बनाई गरेको फैसला प्रमाण ऐनको दफा ५४ को प्रतिबन्धात्मक वाक्यांशले सो फैसला बदर हुने भनि ने.का.प.२०६६, नि.नं. १२५५, पृष्ठ १०८ लगायतमा सिद्धान्त प्रतिपादित भएकाले हुनाले मेरो विरूद्ध गरिएको सुरू फैसला त्रुटिपूर्ण भई बदरभागी छ । मृतकको मृत्यु विषादीबाट नै भएको भन्ने निर्विवाद प्रमाण वादी पक्षबाट प्रस्तुत हुन सकेको छैन भने मृतक विषादी सेवनबाटै भएको अनुमान गरि हेरेको खण्डमा मैले नै मृतकलाई विषादी खुवाएको भनि कुनै तथ्ययुक्त प्रमाण पेस हुन सकेको छैन । मृतकको मृत्युपश्चात् उपचारमा संलग्न चिकित्सकलाई वादी पक्षका साक्षी गोविन्द कार्कीले मृत्युको कारणसम्बन्धमा सोधनी हुँदा प्रेसर लो भएको कारणले भएको भनि जवाफ दिएको पाइन्छ । अभियोगको क्रममा तयार पारिएको 

कागजातमा उल्लिखित व्यक्तिहरूले अदालतसमक्ष गरेको बकपत्र एवम्‌ मेरा साक्षीहरूको बकपत्रसमेतको आधारमा मुद्दाको तथ्य एवम्‌ प्रचलित कानून फौजदारी न्यायका प्रचलित मान्य सिद्धान्त एवम्‌ सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तसमेतका आधारमा मैले कुनै कसुर नगरेको प्रमाणित हुँदाहुँदै मलाई कसुरदार ठहर गर्ने भएको सुरू भोजपुर जिल्ला अदालतको फैसला बदर गरी मलाई सफाइ दिलाई पाउँ भन्नेसमेत व्यहोराको पुनरावेदक प्रतिवादीको पुनरावेदनपत्र ।

यसमा मिसिल संलग्न प्रमाणहरूको समुचित विश्लेषण र मूल्याङ्कनको परिप्रेक्ष्यमा सुरू फैसला फरक पर्न सक्ने भई विचारणीय हुँदा छलफलका लागि अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत, नियमावली २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थी वादीलाई सूचना दिई नियमानुसार पेस गर्नु भन्ने पुनरावेदन अदालत, धनकुटाको २०६७/०१/०७ मा भएको आदेश । 

यसमा मृतकको भिसेरा परीक्षण गरी राय दिने राष्ट्रिय विधि विज्ञान प्रयोगशाला टक्सीकोलोजी इकाइका विशेष वैज्ञानिक भिनुशोभा तुलाधर र केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला माहाराजगंजका विशेषज्ञ उद्धव बलामी तथा उपेसकुमार चौधरीलाई निजहरूले दिएको रायको सम्बन्धमा प्रमाण ऐन २०३१ को दफा २३(७) बमोजिम बकपत्र गर्नका लागि म्याद सूचना पठाइएकामा प्र.नि.उद्धब बलामी र मसमेत मिलेर मृतक इन्दीरा कार्कीको मिसेरा परीक्षण गरेका थियौँ । इस्टोम्याक र लिभर परीक्षण गरेका थियौँ, प्रतिवेदनमा उल्लिखित विषादी नपाइएको, राष्ट्रिय विधि विज्ञान  प्रयोगशालाले कुन विषादी पायो थाहा भएन भनी प्र.ना.नि. उपेसकुमार चौधरीले गरेको बकपत्र । 

मसहित प्र.ना.नि.उपेसकुमार चौधरी दुवै मिली मृतक इन्दीरा कार्कीको भिसेरामा विष परीक्षण गरेका हौं । हामीलाई प्राप्त हुन आएको भिसेरामध्ये इस्टोम्याक र लिभर परीक्षण गर्ने गरेका छौं । परीक्षण प्रतिवेदनमा उल्लिखित विषादीहरू नपाइएको हो । राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटारले परीक्षण गर्दा के पाउनु भयो थाहा भएन । हामीले पठाएको परीक्षण प्रतिवेदनमा उल्लिखित विषादीहरू उल्लिखित विधिबाट परीक्षण गर्दा नपाइएको हो भन्नेसमेत व्यहोराको प्र.नि.उद्धब बलामीको पुनरावेदन अदालत, धनकुटामा भएको बकपत्र । 

मुसा मार्ने विषादी मानिसले सेवन गरेमा त्यो व्यक्तिको मृत्यु पनि हुन सक्तछ मैले राय दिँदा हाम्रो राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा गरिएको परीक्षणको नतिजाको आधारमा राय दिएको हो । परीक्षण प्रतिवेदन अनुमानित होइन निश्चयात्मक हो । प्रयोगशालामा ६ थान नमूनाहरूलाई प्रयोगशाला संकेत T१ देखि T६ सम्म दिएको मध्ये  T१ र T२  नमूनामात्र परीक्षण गरिएको र सोको विवरण नमूना विवरणमा उल्लेख गरिएको छ । प्रयोगशालामा प्राप्त नमूनालाई दुई छुट्टाछुट्टै पोलिथिन ब्यागमा सिलबन्दी पठाएको त्यसभित्र रहेको सिलबन्दी हेर्दा प्रत्येक नमूनालाई छुट्टछुट्टै सिलबन्दी गरेको नपाइएको, जिन्क फोस्फाइड मुसा मार्न प्रयोग गरिने विष भएकाले त्यसलाई मुसा मार्ने विषादी भनिएको हो विषादी सेवनपछि देखिने लक्षण र असर मेरो विषयसँग सम्बन्धित नभएकाले खुलाउन सकिएन भन्नेसमेत व्यहोराको विशेषज्ञ भिनुशोभा तुलाधरको पुनरावेदन अदालत, धनकुटामा भएको बकपत्र ।     

प्रतिवादी विरूद्धको अभियोग दाबीलाई वादीले ठोस र शङ्कारहित तवरबाट प्रमाणित गर्न सकेको देखिएन । शङ्काको एक होइन अनगिन्ती स्रोतहरू विद्यमान छन् । शङ्काको सुविधा प्रतिवादीले नै पाउने भन्ने फौजदारी न्यायिक सिद्धान्तको हालसम्म अर्को सन्तोषजनक विकल्प देखिएको छैन । वादी पक्षले प्रमाण ऐन, २०३१ को दफा २५ बमोजिमको आफ्नो दायित्वलाई बिलकुलै पूरा गर्न सकेको 

छैन । तसर्थ प्रतिवादीलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३(२) नं. बमोजिम सर्वस्वसहित जन्म कैद गरेको भोजपुर जिल्ला अदालतको मिति २०६६/०४/३२ को फैसला मिलेको नदेखिँदा उल्टी भै प्रतिवादी पुनरावेदक रोहितकुमार कार्कीले अभियोग दाबीबाट सफाइ पाउने ठहर्छ भन्ने पुनरावेदन अदालत, धनकुटाको मिति २०६७/१२/१५ को फैसला । 

योजनाबद्ध तवरबाट आफू अन्यत्र भएको अवस्था सिर्जना गरी मृतकलाई भोजपुर अस्पताल भर्ना फर्ममा आफैँले सही गरी ल्याप्चे र फर्ममा भएको ल्याप्चेको साइज फरक भएकोसमेतबाट मृतकप्रति पूर्वाग्रही रही दुर्व्यवहार, अत्याचार गर्दै आएको अवस्थामा उक्त दिन मौका पाई विष खुवाई बिरामी कारणले मरेको भन्ने भान पारी मृतकलाई प्रतिवादीले विष सेवन गराई मारेको भन्ने स्पष्ट हुँदाहुँदै योजनाबद्धरूपमा मृतकलाई मारेको भन्ने तथ्य अभियोजन पक्षबाट आउन नसकेको भनी लिएको आधार त्रुटिपूर्ण छ । 

अभियोग प्रमाणित गर्न प्रत्यक्ष प्रमाण विद्यमान हुनै पर्छ भन्ने मिल्ने अवस्था होइन, कतिपय अवस्थामा प्रत्यक्ष प्रमाण हुन्छ भने कतिपय अवस्थामा परिस्थितिजन्य प्रमाणबाट समेत कसुर गरेको देखिने अवस्था आउँछ । ज्यानको सुरक्षा ‍गरिपाउँ भनी स्वयम्‌ मृतकले जिल्ला प्रशासन कार्यालयमा समेत निवेदन दिएको तथा जाहेरवालाले मौकाको जाहेरीमा समेत पटकपटक प्रतिवादीबाट भएको दुर्व्यवहार, अत्याचारको विवरण उल्लेख गरी बकपत्रसमेत गरेको, प्रतिवादी र मृतकबीच सामान्य विवाद हुन्थ्यो भनी प्रतिवादीले अदालतसमक्षको बयानमा स्विकारेको, मौकामा कागज गर्ने कुमार दाहाल, रमा कोइराला, राधा खड्कासमेतले अदालतसमक्षको बकपत्रमा मृतकलाई विषै खुवाएर मारेको भन्ने उल्लेख गरी दिएको, मृतकको भिसेरा जाँचबाट विष फेला परेको, शव परीक्षण गर्ने डाक्टर सूर्य बहादुर गुरूङको बकपत्र तथा मिति २०६५/०८/१३ को कागजबाट विष सेवनबाट मरेको भन्ने उल्लेख गरेकोसमेतका प्रमाणहरूबाट प्रतिवादीले मृतकलाई मारेको भन्ने उल्लेख भई प्रतिवादीले गरेको अभियोग पुष्टि भएकै छ । सम्मानित सर्वोच्च अदालतको स.प्र.न्या. श्री रामप्रसाद श्रेष्ठ र मा.न्या.श्री प्रकाश वस्तीको इजलासबाट फौ.पु.नं. ०६५-CR-०४९०, CR-०५७७, ०६५७, ०५७-CR-००६८ मुद्दा- कर्तव्य ज्यान, हिजन राईसमेत विरूद्ध नेपाल सरकार भएको मुद्दामा “परिस्थितिजन्य प्रमाणको श्रृङ्खलाबाट अभियोग दाबी समर्थन भएको स्थितिमा प्रत्यक्ष प्रमाणकै विद्यमानता हुनुपर्ने भन्न मिल्दैन । परिस्थितिजन्य प्रमाणहरूबाट अभियोग दाबी समर्थन गरेको अवस्थामा प्रत्यक्ष प्रमाणको अभाव रहेको भन्ने तर्क ग्राह्य नहुने” (सर्वोच्च अदालत बुलेटिन वर्ष १९ माघ-१, २०६७ पूर्णाङ्क ४४५) भनी प्रतिपादित सिद्धान्तसमेतको प्रतिकूल हुने गरी भएको उक्त फैसला त्रुटिपूर्ण छ । 

मृतकको उपचारको क्रममा विष खुवाएको हो भनी कागज गर्ने व्यक्तिहरूले नभनेको भनी लिएको आधारको सम्बन्धमा हेर्दा, मृतकको उपचारको क्रममा अस्पताल पुर्‍याउँदा  अभिलेखबाट पेट पोल्ने, बान्ता आउने भन्ने उल्लेख भई लास जाँच मुचुल्कामा मृतकको  मुखबाट सेतो फिँज आएको भन्ने उल्लेख भएकोसमेतबाट विष खाएको कारणले उपचारका लागि अस्पताल भर्ना भएको भन्ने देखिएको तथा भिसेराबाट समेत विष पाइएको भन्ने उल्लेख भई, पोस्टमार्टम गर्ने डाक्टर सूर्यबहादुर गुरूङको मिति २०६५/०८/१३ को कागजबाट विष खाएर मरेको भन्ने उल्लेख भएकोसमेतबाट विशेषज्ञको प्रतिवेदन तथा मृतकमा देखिएको लक्षणसमेतबाट विष खुवाएको भन्ने नै देखिएको हुँदा उपचारको क्रममा विष खुवाएको भन्ने मृतकले कसैलाई नभनेको भनी लिएको आधार स्वत: त्रुटिपूर्ण हुँदा बदर गरी प्रतिवादीलाई सुरू अभियोग मागदाबीबमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदनपत्र । 

नियमबमोजिम आजको दैनिक मुद्दा पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दाको मिसिलसमेत अध्ययन गरी वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री गंगा प्रसाद पौडेलले प्रतिवादीलाई अभियोग दाबीबमोजिम सजाय हुनुपर्छ भनी गर्नुभएको बहससमेत सुनियो । 

यसमा मेरी छोरी इन्दीरालाई ज्वाइँले विगतदेखि कुटपिट गर्ने, शारीरिक तथा मानसिक यातना दिने गरेको कुरा छोरीबाट जानकारी हुँदै आएकामा ज्वाइँसमेतलाई सम्झाई बुझाई आएकामा २०६५/०१/२७ गते ज्वाइँ रोहितकुमार कार्कीद्वारा छोरी बिरामी भै अस्पतालमा भर्ना गरेको जानकारी पाएकामा सोहीदिन बिहान ७ बजे काकाकी छोरी राधा खड्काले भोजपुरबाट छोरी इन्दिराको मृत्यु भएको खबर फोनमार्फत पाई भोजपुर आई छोरीको मृतलास हेर्दा छोरीको मृत्यु कालगतिले नभै ज्वाइँ रोहित कार्कीले विष सेवन गराई सुनियोजित तरिकाले मारेको हुँदा निज रोहित कुमार कार्कीलाई सजाय गरिपाउँ भन्ने जाहेरी भएकामा अभियुक्त रोहित कुमार कार्कीले आफ्नी पत्नी मृतक इन्दिरालाई ५ वर्ष अघिदेखि नाकमा विषादी सुँघाउने, शारीरिक तथा मानसिक यातना दिने गर्दै आएकाले पत्नीको जिल्ला प्रशासन कार्यालयमा उजुरीसमेत परेपछि पत्नीलाई सुनियोजित तरिकाले मार्न २०६५/०१/२६ गते खानामा विषादी मिसाई दिई सो विषादीयुक्त खाना खाएको कारण पेट पोल्ने बान्ता आउने भै अन्तमा उपचारकै क्रममा निज इन्दिरा कार्कीको मृत्यु भएको मिसिल संलग्न कागजबाट देखिन आएकाले निज रोहित कुमार कार्कीको कार्य मुलुकी ऐन ज्यानसम्बन्धीको १ नं. विपरीत कसुर गरेकाले सोही महलको १३(२) बमोजिम हदैसम्म सजाय गरिपाउँ भन्ने अभियोगपत्र भएकामा प्रतिवादी र मृतकबीचमा राम्रो सम्बन्ध नभएको, मृतकको अन्य कसैसित पनि रिसइवी रहेको नदेखिएको, प्रतिवादीले आफूलाई फसाउन जाहेरी दिएको भने पनि जाहेरवालाले बेलाबेलामा आवश्यक रकम दिने हेर विचार गर्ने गरेको कुरामा प्रतिवादीले स्वीकारै गरेको, मृत्युको सम्बन्धमा मिसिल संलग्न स्वास्थ्यकर्मीको मौकाको कागज तथा अदालतमा भएको बकपत्रसमेतको प्रमाणबाट मृतकको मृत्यु विषादीबाट भएको पुष्टि भएकाले प्रतिवादीलाई अभियोग दाबीबमोजिम सजाय हुने ठहर्‍याई भएको सुरू फैसलाउपर पुनरावेदन परेकामा पुनरावेदन अदालत, धनकुटाबाट सुरूको फैसला उल्टी भै प्रतिवादीले सफाइ पाउने ठहर्‍याई भएको मिति २०६७/१२/१५ को फैसलाउपर प्रस्तुत पुरावेदन पर्न आएको पाइयो । 

२. निर्णयतर्फ विचार गर्दा यी पुनरावेदक प्रतिवादी रोहितकुमार कार्कीले आफ्नी श्रीमती इन्दीरा कार्कीलाई पटकपटक दुर्व्यवहार गर्ने, विष सुँघाउने  जस्ता क्रियाकलाप गर्दै आएकामा २०६५/०१/२७ खानामा विष मिसाई खान दिएकाले मृतक इन्दीराको मृत्यु भएको भन्ने मुख्य अभियोग देखिन्छ । यी प्रतिवादी रोहित कुमार कार्की आफूले कसुर गरेमा इन्कार रही मौकामा अधिकारप्राप्त अधिकारी तथा अदालतमा समेत बयान गरेको देखिन्छ । यी प्रतिवादीलाई आफ्नी श्रीमती बिरामी भएको खबर टेलिफोनमार्फत जानकारी हुन आएकाले सदरमुकामबाट आफ्नो साथीसहित घरमा फर्केको  र बाटैबाट अ.हे.ब दिपेन्द्रलाई साथ लिई गरी घरमै सामान्य उपचार गराउँदा ठीक नभएपछि साँझ ५ बजेतिर उपचारको लागि भोजपुर अस्पतालमा ल्याएकामा उपचार गराउँदा गराउँदै ७ बजेतिर मृत्यु भएको भनी आफूले कसुर गरेकामा इन्कार रही प्रहरी तथा अदालतसमक्ष बयान गरेको पाइन्छ । मर्नुअगाडि मृतक स्वयम्‌ले आफ्नो जीउ ज्यानको सुरक्षा गरिपाउँ भनी जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको भन्ने देखिएको र मृत्युपूर्व गरिएको व्यवहारबाट समेत यी प्रतिवादीले आफ्नी श्रीमतीलाई सुनियोजित किसिमले मार्न खानामा विष मिसाई दिएको भन्नेसमेत अभियोग दाबीमा उल्लेख भए पनि यी प्रतिवादी वारदातको दिन बिहानै ६ बजे घरबाट सदरमुकामतर्फ गएको, श्रीमती पानी लिन धारामा गएको भन्ने प्रतिवादीको बयान र मौकामा कागज गर्ने कृष्णकुमारी आलेमगरले मृतक इन्दीराको श्रीमान्‌ बिहानै सदरमुकाम जानुभएको भनी इन्दीराले भनेको र सो दिन म र मृतक इन्दिरा कार्की एकै धारोमा आ-आफ्नो लुगा धोयौं । हामीलाई सर्बत पानी बनाएर खान दिनु भयो । दिउँसो १२ बजेतिर मृतककै घर गएर हलीलाई बोलाउन जाँदा मृतक इन्दीरा बान्ता हुन्छ, पेट पोल्छ, दिशा लाग्छ भन्दै घरको पेटीमा लडिरहेको देखी खाटमा सुताई धामी खोज्न गएँ । धामी नपाई फर्केर आउँदा ओछ्‌यानमा गै सुत्नुभएको रहेछ पछि रोहित आई उपचार गराउन अस्पताल लानुभएको भन्नेसमेत भनाई र मौकामा कागज गर्ने विन्दा आचार्यको समेत यस्तै व्यहोराको कागज रहेबाट  र घरबाट बिहानै घरदेखि बाहिर गएका यी प्रतिवादीले खानामा विष मिसाई दिएको भन्ने कुरा समर्थित हुन आउँदैन । मौकामा कागज गर्ने विन्दा आचार्यबाहेक अन्य व्यक्तिहरूले समेत मृतक इन्दिराको मृत्युको कारण यही हो हुनुपर्छ भनी भन्न सकेको अवस्था पनि देखिँदैन । अस्पतालमा पुग्दासम्म मृतक होसमै रही मर्नु केही अघिसम्म मात्र बोल्न छोडेको र आफ्नो मृत्युका सम्बन्धमा केही नभनी खाली पेट पोल्छ भनेको र के भएर पेट पोलेको हो भनी भनेको पनि देखिँदैन । Autopsy Report  मा The cause of death can be detected after viscera report भन्ने उल्लेख भै केन्द्रीय विधि विज्ञान प्रयोगशालाबाट भिसेरा परीक्षण भै आउँदा विष Negative भन्ने उल्लेख भएबाट पनि मृतकको मृत्युको कारण विषादीको कारणबाट भएको भन्ने देखिँदैन । उपचारमा संलग्न चिकित्सक गोविन्द कार्कीले अदालतमा बयान गर्दा पनि मृत्युको कारण विषादीबाट भएको भन्न नसक्नुको साथै Blood Pressure low भएको भनी जवाफ दिएको पाइन्छ भने भिसेरा परीक्षण गर्ने प्र.नि. उद्धव बलामी र उपेस कुमार चौधरीले राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले के पायो थाहा भएन हाम्रो परीक्षणमा इस्टोम्याक र लिभर परीक्षण गर्दा विषादी पाउन नसकेको भनी Viscera परीक्षण प्रतिवेदनलाई समर्थन हुने गरी बकपत्र गरेको पाइन्छ भने राष्ट्रिय विधि विज्ञान प्रयोगशालाकी विशेषज्ञ भिनुशोभा तुलाधरले जिङ्क फोस्फाइड भेटिएको र त्यो तत्त्व मुसा मार्ने विषमा हुन्छ जसको सेवनबाट मानिसको मृत्यु पनि हुन सक्छ भनी बकपत्र गरेपनि त्यसको सेवनबाट कस्तो किसिमको असर देखिन सक्छ भन्नेसम्बन्धमा खुलाउन सक्दिन भनी बकपत्र गरेबाट त्यस्तो परीक्षण प्रतिवेदनलाई प्रमाण लिई अनुमान गरी मृतकको मृत्यु विष सेवनबाट भएकै हो भन्न सकिने अवस्था पनि रहेन । 

३. यसरी यी प्रतिवादीउपर आफ्नी श्रीमतीलाई खानामा विष मिसाई दिने कर्तव्य गरी ज्यान मारेको भन्ने अभियोग भए पनि वारदात हुँदाका दिन बिहानै यी प्रतिवादी घरबाट बाहिर करिब २ घन्टाको दूरी सदरमुकाम गएको, त्यहाँबाटै फोनमार्फत श्रीमती बिरामी भएको खबर सुनी चिकित्सकसमेत बोलाई प्राथमिक उपचार गराउँदा ठीक नभएपश्चात् थप उपचारको लागि सदरमुकामसम्म लगेकोसमेतका यी प्रतिवादीका क्रियाकलापबाट आफ्नी श्रीमतीलाई मार्ने मनसाय थियो भन्न र खानामा विष मिसाई दिएको भन्ने पुष्टि हुन सक्दैन । अभियोजन गर्ने वादी पक्षले ठोस सबुत प्रमाण बिना प्रतिवादीले मृतक विरूद्ध पहिले गरेका व्यवहार र मौकामा कागज गर्ने र अदालतमा आई बकपत्र गर्ने जाहेरवालासमेतका व्यक्तिहरूले विष खुवाई मारेको शङ्का लाग्छ भन्दैमा भिसेरा परीक्षणसमेतबाट विषादी प्रयोग भएको नपाइएको स्थिति र मृतकलाई विष खुवाएको भन्ने ठोस सबुत प्रमाणबाट पुष्टि हुन नसकेको अवस्थामा अनुमान र शङ्काको भरमा कसुरदार ठहर गर्नु फौजदारी कानून र न्यायका सिद्धान्तको प्रतिकूल हुन जाने र वादी पक्षले आफ्नो अभियोगलाई सप्रमाण शङ्कारहित तवरबाट पुष्टि गर्न नसकेको यस अवस्थामा शङ्काको सुविधा अभियुक्तले पाउने नै हुन्छ । मृतकलाई विष खुवाएको भन्ने ठोस सबुत प्रमाणबाट पुष्टि भएको नदेखिएको र आफू बिरामी भै मृत्यु शैय्यामा पुग्दासम्म होसमै रहेको मृतकले समेत मृत्युको कारण नबताएको अवस्थामा अनुमानको भरमा र प्रतिवादीले मृतकप्रति गरेका पूर्व व्यवहारलाई ज्यान जस्तो फौजदारी अपराधमा अदालत आफैँले प्रमाणको सृष्टि गरी अभियुक्तलाई दोषी करार गर्नु विवेकपरक नहुनुको साथै न्यायको विपरीत हुन जाने हुँदा अभियोग माग दाबीबमोजिम सजाय हुन पर्छ भन्ने वादीको पुनरावेदन जिकिरसित सहमत हुन सकिएन । तसर्थ उपर्युक्त आधार प्रमाणबाट यी प्रतिवादीलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १ नं. विपरीतको कसुरको सोही महलको १३(२) बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय ठहर्‍याई भएको फैसलालाई उल्टी गरी अभियोग दाबीबाट सफाइ दिने ठहर्‍याई गरेको पुनरावेदन अदालत, धनकुटाको मिति २०६७/१२/१५ को फैसला इन्साफको रोहमा मिलेकै देखिँदा सदर हुने ठहर्छ । वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाइदिनू । 

 

उक्त रायमा सहमत छु । 

न्या. देवेन्द्र गोपाल श्रेष्ठ

 

इति संवत् २०७१ साल माघ १४ गते रोज ४ शुभम् ।

इजलास अधिकृत: उमानाथ गौतम 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु